पार्टी एकीकरणको खुसीयालीमा बालुवाटारमा भोज

काठमाडौं, फागुन ९ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले माओवादीसँग एकीकरणको प्रारम्भिक आधारमा हस्ताक्षर भएको खुसियालीमा पार्टीका नेतालाई रात्रिभोज दिएका छन् ।

मंगलबार साँझ भोजमा सहभागी हुन एमाले शीर्ष नेताहरूसहित स्थायी समिति सदस्य बालुवाटार पुगेका थिए ।

‘तपाईंहरूलाई कुनै औपचारिक बैठक या छलफलका लागि होइन, पार्टी एकीकरण गर्ने सहमतिको खुसियालीमा आयोजित डिनरमा बोलाएको हुँ,’ ओलीले संक्षिप्त धारणा राखेर डिनर लिन आग्रह गरेका थिए । ‘अनौपचारिक रूपमा खुसी साटासाटपछि हामी डिनर सकेर फर्कियौँ,’ स्थायी समिति सदस्य छविलाल विश्वकर्माले भने । -नयाँ पत्रिकाबाट

छ क्वीन्टल मासु प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । भारतबाट लुकाएर ल्याइएको अवैध मासु प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले कुखुराको ६ क्वीन्टल मासु नेपालगन्ज उप–महानगरपालिका ४ सल्यानी बगंलाबाट नियन्त्रणमा लिएको हो । मासुसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । भारतबाट थोरै थोरै परिमाणमा मासु ल्याएर गाडिमा अन्यत्र लैजाँदै गरेको अवस्थामा गाडीसहित मासु नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख प्रहरी निरीक्षक राजन गौतमले बताए । नियन्त्रित मासु नेपालगन्जको धम्बोझीमा रहेको डिके मिट सप्लायसको रहेको बताइएको छ । प्रहरी निरीक्षक गौतमका अनुसार डिके मिटका एक कर्मचारी र अर्का एक पनि नियन्त्रणमा छन् । डिके मिटले नेपालगन्जबाट पोखरा, काठमाडौं लगायतका शहरमा मासु पुर्याउने काम गर्छ । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि मासुसहित जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको प्रहरी निरीक्षक गौतमले बताए । बिना क्वारेन्टाइन चेक गरी मासु ल्याउँदा मानव स्वास्थ्यलाई हानी पुर्याउने भन्दै सीमामा कडा जाँच गर्न थालिएको छ । अन्नपूर्ण पोष्टबाट

चिनियाँ प्रतिनिधि र कांग्रेस सभापति देउवाबीच भेटवार्ता

काठमाडौं, फागुन ८ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभागका उपमन्त्री ये झाउले भेटवार्ता गरेका छन् । बूढानीलकन्ठस्थित सभापति देउवाको निजी निवासमा मंगलबार भएको भेटमा उनीहरुबीच आपसी हित र सम्बन्धमाबारेमा विचार–विमर्श भएको सभापति देउवाका परराष्ट्र सल्लाहकार डा। दिनेश भट्टराईले जानकारी दिए । भेटमा सभापति देउवाले नजिकको असल छिमेकी चीनसँगको सम्बन्ध उच्च प्राथमिकतामा रहेको बताउँदै पार्टीका संस्थापक बीपी कोइरालाको पालादेखि नै नेपाल र आफ्नो पार्टी एक चीन नीतिमा अडिग रहेको धारणा व्यक्त गरेका थिए । सो अवसरमा उपमन्त्री येले सभापति देउवाको नेतृत्वमा नेपालमा तीन तहका निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा बधाइ दिँदै कांग्रेसका संस्थापक बीपी कोइरालाको पालादेखि नै कांग्रेस र चीनबीचको सम्बन्धको स्मरण गरे । उनले आफूहरुले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबीच द्विपक्षीय सम्बन्ध थप विस्तार गर्न चाहेको बताउँदै सभापति देउवालाई चीन भ्रमणको निमन्त्रणासमेत दिएको परराष्ट्र सल्लाहकार डा। भट्टराईले बताए । रासस

गुडिरहेको बसमा बम प्रहार, १२ जना घाइते

कपिलवस्तु ।  यहाँ गुडिरहेको बसमा बम प्रहार हुँदा १२ जना घाइते भएका छन् । काठमाडाैंबाट दाङका लागि छुटेको ना६ख ७९१० नंको बसमा आज दिउँसो शिवराज नगरपालिका–३ बेलनदी नजिक अज्ञात समूहद्वारा पेट्रोल बम प्रहार हँुदा बसमा सवार १२ जना घाइते भएका हुन् । घाइते तीन जनालाई थप उपचारका लागि बुटबल पठाइएको र अन्य घाइतेलाई सञ्जीवनी सामुदायिक अस्पताल चन्द्रौटामा उपचार भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक झवीन्द्र भट्टराईले जानकारी दिनुभयो । बसमा समान्य क्षति हुनाका साथै घाइतेको अवस्था मध्यम रहेको र केही उपचारपछि घर फर्केेको प्रहरीले जनाएको छ । कसले बम प्रहार गरेको भन्ने कुरा खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला शिक्षा कार्यालय खारेज हुँदै, अव के होला ?

काठमाडौं । आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय खारेज हुने भएपछि सोही कार्यालयबाट हुँदै आएका काम गर्न शिक्षा मन्त्रालयले चार विकल्पसहितको संरचना तयार पारेको छ । शिक्षामा देखिएका अन्योल हटाउन स्थानीय तहले गर्ने २३ वटाबाहेकका काम गर्न शिक्षा मन्त्रालयले विभिन्न विकल्प तयार पारेको हो । समन्वय नहुँदा परीक्षा प्रभावित हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जिशिका खारेजपछिको विकल्पमा तत्काल ठोस निर्णय नभए एसइई, कक्षा ११ र १२ को परीक्षा, तथा नतिजा सार्वजनिक गर्नसमेत समस्या हुने बताए । आइतबार शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले गरेको कार्यक्रममा अध्यक्ष पौडेलले संरचना परिवर्तन हुँदा अन्तरिम योजना नभएकाले अहिले धेरै अन्योल भएको बताए । ‘संघीयतामा जाँदा सबैभन्दा प्रभावित शिक्षा मन्त्रालय भएको छ, जिशिका खारेज भएपछि के गर्ने भन्ने ठोस विकल्प तत्काल ल्याउनुपर्छ,’ उनले भने, ‘परीक्षा नतिजा समयमै नगरी हुँदैन ।’ राष्ट्रिय परीक्षा बोर्डले स्थानीय तहलाई परिपत्र गर्ने अधिकार छैन, स्थानीय तहले बोर्डलाई विवरण बुझाउनुपर्ने व्यवस्था नभएकाले समस्या भएको उनको भनाइ छ । उनले भने, ‘स्थानीय तहले कक्षा सञ्चालन गर्ने अनुमति दिए पनि जानकारी गराउने प्रावधान नभएपछि बोर्डले कसको परीक्षा लिने ?’ समाधानमा संघीय मामिलाले सघाउने शिक्षा क्षेत्रमा देखिएको समस्या समाधानमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहयोग गर्ने भएको छ । संघीय मामिला मन्त्रालय विकेन्द्रीकरण शाखाका उपसचिव प्रह्लाद कार्कीले स्थानीय तहमा विषयगत मन्त्रालयका कामलाई व्यवस्थित बनाउन नमुना ऐन निर्माण गरिरहेको बताए । उनले संघीय मामिला र शिक्षा मन्त्रालयको समन्वयमा नमुना शिक्षा ऐन निर्माण गरिरहेको बताए । समस्या समाधानको पहल शिक्षा मन्त्रालयले गर्नुपर्ने र त्यसमा आवश्यक सहयोग संघीय मामिला मन्त्रालयले गर्ने कार्कीले बताए । काम गर्न कानुनी समस्या स्थानीय तहमा स्पष्ट कानुनी व्यवस्था नहुँदा शिक्षाका काम गर्न समस्या भएको कर्मचारीको गुनासो छ । काठमाडौं महानगरपालिकामा शिक्षा हेर्ने उपसचिव प्रह्लाद अर्यालले स्पष्ट कानुन, आवश्यक जनशक्ति तथा स्रोत–साधनको अभावले काम गर्न कठिन भएको बताए । कक्षोन्नतिका लागि आवेदन आएको, तर स्थानीय तहमा विवरण नहुँदा स्वीकृतिलगायतका कार्यलाई समस्या भएको बताए । आधारभूत तहभन्दा माथिको परीक्षा के गर्ने भन्ने जवाफ मागिएको, तर जवाफ दिन नसकेको बताए । शिक्षा मन्त्रालयले बनायो चार विकल्प शिक्षा मन्त्रालयले जिशिका खारेज भएपछि २३ वटाबाहेकका काम गर्नका लागि चार संरचना रहने गरी विकल्प तयार पारेको छ । शिक्षा मन्त्रालयका प्रवक्ता डा। हरिप्रसाद लम्सालले स्थानीय सरकार सञ्चालन ऐनमा उल्लेख भएका २३ वटाबाहेकका काम गर्न विकल्प तयार भएको बताए । स्थानीय तहले गर्न तोकिएका काममा शिक्षा मन्त्रालयले सहयोग गर्ने र नतोकिएका कामका लागि कुनै संरचना तयार पार्न विकल्प रहेकोे बताए । कक्षा १० देखि १२ सम्मको परीक्षा, अन्तरस्थानीय तहमा रजिस्ट्रेसनमा समन्वय, शिक्षकको बढुवा, विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसआरपी) जस्ता कामका लागि वैकल्पिक संरचना बन्ने बताए । त्यसका लागि जिल्ला समन्वय समितिअन्तर्गत जिम्मेवारी तोक्ने, स्थानीय तहमा क्लस्टर बनाएर काम गर्ने, प्रदेशको फिल्ड अफिस बनाउने वा संघकै फिल्ड अफिस रहने गरी विकल्प तयार पारेको बताए । एसइई परीक्षालगायत काम प्रभावित नहुने गरी कुनै एक विकल्पमा निर्णय हुने उनको भनाइ छ । नयाापत्रिकाबाट

पृथ्वीनारायण शाहको ‘अहिलेसम्मकै अग्लो’ शालिक

बैतडी, फागुन ८ । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।

पृथ्वीनारायण शाहको शालिक शिलान्यास

बैतडी । जिल्लामा पृथ्वीनारायण शाहको अहिलेसम्मकै अग्लो शालिकको शिलान्यास गरिएको छ । दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र थापाले पृथ्वीनारायण शाहको २१ फिट अग्लो शालिकको शिलान्यास गर्नुभएको हो । शालिक निर्माणका लागि चार रोपनी जग्गा बैतडी उद्योग वाणिज्य संघका अध्यक्ष नरबहादुर चन्दले दान गर्नुभएको ‘राष्ट्रियता संरक्षण अभियान’का अध्यक्ष तथा शालिक निर्माणका परिकल्पनाकार हेमबाबु लेखकले जानकारी दिनुभयो । दशरथचन्द नगरपालिका–५ सुन्दरखालीमा पृथ्वीबाटिकासहितको २१ फिट अग्लो शालिक र विशाल नेपालको नक्सा बनाइने लेखकले बताउनुभयो । निर्माणका लागि करिब रु एक करोड खर्च लाग्ने उहाँको भनाइ छ ।

महोत्सवमा पाँच करोडको कारोबार

पाल्पा । तानसेनमा जारी ‘१२औँ पाल्पा महोत्सव तथा व्यापार मेला’मा अहिलेसम्म रु पाँच करोड ५० हजार बराबरको कारोबार भएको छ । सोमबार मेलाको पाँचौँ दिनसम्म करिब एक लाख दर्शकले अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमितिका संयोजक दीपकप्रसाद पाण्डेले जानकारी दिनुभयो । पाँचौँ दिनसम्म आइपुग्दा सबैभन्दा बढी लत्ताकपडा र होटल रेष्टुरेण्टको कारोबार भएको छ । पाल्पा उद्योग वाणिज्य संघको मुख्य आयोजनमा शुरु भएको मेलामा ४०० व्यापारिक कक्ष रहेको छ । मेला अवधिभर रु दश करोड बराबरको कारोबार गर्ने तथा तीन लाख दर्शक भित्र्याउने अपेक्षा गरेको मूल आयोजक समितिका संयोजक तथा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष मोहनप्रसाद श्रेष्ठले बताउनुभयो । ‘पाल्पामा कृषि, पर्यटन, उद्योग र व्यापार, अवसर र सम्भावना छ अपार’ नाराका साथ गत फागुन ३ गतेदेखि शुरु भएको महोत्सव आउँदो फागुन १३ गतेसम्म चल्नेछ । महोत्सवमा पाल्पालाई झल्काउने फोटो प्रदर्शनी, धार्मिक तथा ऐतिहासिकस्थलको परिचय, काष्ठकला, स्थानीय घरेलु तथा कुटिर उद्योग, टर्की चरा, उँट, अस्ट्रिज चरा, भूकम्प प्रतिरोधी घर निर्माणको प्रदर्शनी, कृषि तथा वन्यजन्तु उत्पादनको प्रदर्शनी तथा बिक्री कक्ष राखिएको छ ।

राजधानीको तीनकुनेको शंकास्पद बस्तु सेनाले निष्क्रिय पार्यो

काठमाडौं, फागुन ८ । राजधानीको तीनकुनेमा रहेको वागमती पुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । महानगरीय प्रहरी वृत बानेश्वर कार्यालय नजिकै रहेको पुलमा राखिएको शंकास्पद वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको हो । वागमती पुलमा शंकास्पद बस्तु देखिएपछि अवरुद्ध बनेको बानेश्वर तीनकुने रुटमा केही समय अघिबाट सवारी साधन चल्न थालेका छन् ।

बन्दको हल्ला भएपनि सार्वजनिक साधन यथावतरुपमा सञ्चालन

काठमाडौँ । नेपाल बन्दको हल्ला गरिएपनि आज बिहानैदेखि सार्वजनिक साधन यथावत् सञ्चालन भइरहेको छ । बिहान केही समय यातायात कम चलेपनि कार्यालय समयपछि पूर्ववत् सवारी साधन सञ्चालनमा आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको थियो । उपत्यकामा सवारी साधन चलेपनि बाहिर जाने सवारी साधन भने कम रहेको महाशाखाका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले राससलाई जानकारी दिनुभयो । उपत्यका बाहिर केही स्थानमा बन्दको प्रभाव परेको जनाइएको छ । “सोमबार बेलुकी नै उपत्यका बाहिरबाट आएका सार्वजनिक यातायात बिहान उपत्यका भित्रिएका छन्, केही विद्यालय बन्द भएकाले पहेँलो रंगका सवारी साधन कम चलेका छन्, गल्कोपाखामा एउटा ट्याक्सी, पुरानो बानेश्वर माइक्रो बस र मध्यबानेश्वरमा सरकारी नम्बर प्लेटको एक सवारी साधनमा प्रदर्शनकारीले क्षति पुर्याएका छन्”–उहाँले भन्नुभयो । गल्कोपाखामा बा २ ज ४३६२ नं को ट्याक्सीको अगाडिको सिसा फुटाइएको छ । पुरानो बानेश्वरमा बा १ ज ६४०५ नं को सिनामंगल–मैतीदेवी–रत्नपार्क ‘रुट’ मा चल्ने माइक्रोको पनि अगाडिको सिसा फुटाइएको छ । मध्यबानेश्वरमा ओखलढुंगा जिल्ला अदालतको पार्क गरी राखिएको बा १ ज ८१८० नं को सरकारी नं प्लेटको सवारी साधनमा पनि क्षति पुर्याइएको महाशाखाले जनाएको छ । यसबाहेक सामान्य रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

अाँपको बगैंचामा सदायको शव फेला

लहान । सिरहाको धनगढीमाई नगरपालिका–१० श्यामपुर गाउँ नजिकै आँपको बगैँचामा फेला परेको मृतक पुरुषको पहिचान खुलेको छ । स्थानीय सागर मगरको आँपको बगैँचामा फेला परेको मृतक लहान नगरपालिका–२४, डाँडाटोल निवासी ३२ वर्षीय जोगी सदाय रहेको प्रहरीले जनाएको छ । सदायको शव मृतकका सालो राजकपुर सदायले सनाखत गरेपछि शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल ल्याइएको इलाका प्रहरी कार्यालय, लहानका प्रहरी नायब उपरीक्षक गणेश ठकुरीले जानकारी दिनुभयो । बगैँचामा भेटिएको सदायको शवको घाँटीमा निलडाम देखिएकाले कर्तव्य गरी हत्या भएको आशंका गरिएको प्रहरीको भनाइ छ । परीक्षणपछि मात्र यकिन भन्न सकिने प्रहरीले जनाएको छ । गाउँ नजिकै पर्ने खुट्टी खोलामा गिट्टी बालुवाको काम गरेर जीविका चलाउँदै आएका मृतक सदायकी श्रीमती लिखनीदेवी सदाय सुत्केरी हुने अवस्थामा रहेकी गाउँले बताउँछन् । चार छोराछोरीका बाबु सदाय पछिल्लो दुई महिनादेखि घर बाहिर बस्दै आएका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक ठकुरीले जानकारी दिनुभयो ।

बन्दकर्ताद्धारा बानेश्वरमा दूइ वटा बस र ट्याक्सीमाथि तोडफोड

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको बन्दको अबज्ञा गरेको भन्दै देशका विभिन्न ठाउँहरुमा दर्जनौं गाडिहरुमा तोडफोड गर्नुका साथै आगजनी गरेकाे छ । झापामा विहान खोलिएका विद्यालयहरु धमाधम बन्द गरिएका छन् । बन्दकर्ताले बन्दको अबज्ञा गरेको भन्दै झापाको विभिन्न स्थानमा १६ वटा सवारी साधनमा तोडफोड र आगजनी गरेका छन् । जिल्लाको सुरुङगा, विर्तामोड, केर्खा, चारपाने, मेचीनगर, काकँडभित्ता, झापा बजारलगायतका ठाउँमा बन्दकर्ताहरुले आफ्ना पार्टीका नेतालाई बिनाकारण गिरफ्तार गरेको आक्रोषमा तोडफोड र आगजनीलाई तीव्र पारेका छन् । विर्तामोडमा केही सवारी साधनमाथि तोडफोड गरिएको छ भने दमक बजारमा मात्रै १३ वटा सवारी साधनमाथि आगजनी र तोडफोड गरेको स्थानीयले जानकारी दिएका छन् । काठमाडौंको बानेश्वरमा पनि बन्दको अबज्ञा गरेको भन्दै दूइवटा माइक्रो बस र ट्याक्सीमाथि बन्दकर्ताले तोडफोड गरेको छ ।

अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढ्यो

बारा, फागुन ८ । अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन निर्माणको काम अघि बढेको छ । पाइप र प्राविधिक उपकरण भित्रिन थालेपछि पाइपलाइन निर्माणको काम अघि बढेको हो । नेपाल आयल निगमले बाराको पथलैयादेखि पाइप पिछ्याउने काम तत्काल शुरु हुने जनाएको छ । यो पाइपलाइन भारतीय सीमावर्ती शहर रक्सोलदेखि बाराको अमलेखगन्जसम्म ३६.२०६ किलोमिटर लामो हुनेछ । वीरगन्जको शंकराचार्य गेटबाट वीरगन्जकै गण्डक नहरसम्म बाईपास सडकको दायाँ भागबाट र त्यसपछि त्रिभुवन राजपथको गण्डक–अमलेखगन्ज खण्डमा सडकको बायाँ भागबाट पाइपलाइन निर्माण गर्न लागिएको हो । सडकको २५ मिटरभित्र पर्ने गरी पाइपलाइन निर्माण गर्न लागिएकाले मुआब्जा लगायतका अन्य अवरोध नहुने निगमले जनाएको छ । साढे तीन सय करोड भारतीय रुपैयाँमा निर्माण हुन लागेको पाइपलाइनमा भारतीय पक्षले २ सय करोड भारतीय रुपैयाँ र नेपाली पक्षले ७५ करोड भारतीय रुपैयाँ खर्च गर्ने सहमति भएको छ । अब केही दिनभित्र मेसिनरी सामग्री आउनेबित्तिकै पाइप बिछ्याउने काम शुरु हुने नेपाल आयल निगम रक्सोल–अमलेखगन्ज पेट्रोलियम पाइपलाईन प्रोजेक्ट सिमरा बाराका मेकानिकल ईन्जिनियर शरद पौडेलले जानकारी दिए । भारतको बिहार राज्यको पूर्वी चम्पारण जिल्लाको मोतिहारी बजार क्षेत्रको ११ कि.मी. उत्तरतर्फ सेमरा भन्ने स्थानमा प्वाइन्ट निर्माण गरी नेपालको अमलेखगन्जसम्म पेट्रोलियम पाइपलाइन निर्माण हुनेछ ।

क्यान्सरको औषधि नेपालमै उत्पादन हुने

काठमाडौं, फागुन ८ । नेपालमा क्यान्सर रोगी कति छन् भन्ने कुनै आधिकारिक तथ्यांक छैन । क्यान्सरको उपचार प्रदान गर्ने अस्पतालहरुमा आउने रोगीको संख्या पछिल्ला वर्षहरुमा बढिरहेको तथ्यांक छ । यसले मुलुकमा क्यान्सर रोगीको संख्या बृद्धि भइरहेको देखाउँछ । यसैबीच नेपालमै क्यान्सरको औषधि उत्पादन गर्ने उद्देश्यका साथ एक भारतीय औषधि कम्पनी प्रवेश गरेको छ । तिजिग फर्मा प्रालि नामको कम्पनीले ३५ करोड ११ लाख रुपैयाँ लगानी गरी भक्तपुरमा औषधि उत्पादन प्लान्ट स्थापना गर्दैछ । कम्पनीले यसका लागि उद्योग विभागबाट स्वीकृतिसमेत लिइसकेको छ । क्यान्सर रोग उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्ने यो नेपालमै पहिलो कम्पनी हुनेछ । स्वदेशी औषधि उत्पादकहरुले भने क्यान्सर प्रतिरोधी औषधि उत्पादन स्वदेशी मागका लागि मात्र हुन नसक्ने आशंका व्यक्त गरेका छन् । भारतीय कम्पनीले निर्यात गर्ने लक्ष्यका साथ लगानी गर्न लागेको हुन सक्ने उनीहरुको भनाइ छ । –नागरिक दैनिकबा

विप्लवकाे बन्दमा बिहानै २ ट्रकमा आगजनी

काठमाडौं, फागुन ८ । नेपाल कम्युनिस्ट पार्टीले फागुन ८ गते (मंगलबार) नेपाल बन्दको आव्हान गरेकोे दिन बिहानै विराटनगरकाे २ स्थानमा आगजनी गरेको छ । नेकपाका कार्यकर्ताले बन्दको अवज्ञ गरेको भन्दै मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा माल बाहक ट्रकमाथि कारबाहीको गरेको हो । उक्त पार्टीले आफ्ना नेता हेमन्तप्रकाश ओली ‘सुदर्शन’, पाेलिट ब्युराे सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपाल बन्द गर्न बाध्य भएको बताएको छ । घटनाको थप विवरण आउन बाकी छ । यसैबिच नेकपा सुनसरीले बन्दको अवज्ञा गर्ने जुनसुकैलाई नछोडने भनेर इटहरीको हल्गाडा रोडमा टायर बालेर आवत जावत अवरुद्ध गरेको समाचार प्राप्त भएकाे छ ।

कम्युनिस्ट राजनीतिमा ‘ब्रेक थ्रु’ मिले एमाले-माओवादी केन्द्र

काठमाडौं, फागुन ८ । नेपालका दुई शक्तिशाली कम्युनिस्ट पार्टी नेकपा एमाले-माओवादी केन्द्रले पार्टी एकताको औपचारिक घोषणा गरेका छन्।हालै सम्पन्न निर्वाचनमा संसद्मा पहिलो र तेस्रो ठूलो दल बनेका यी दुवै पार्टीका अध्यक्षसहित एकता संयोजन समितिमा रहेका सबै नेताले एकताको सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गर्दै सोमबार मध्यराति पार्टी एकता घोषणा गरेका हुन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको एकता संयोजन समिति बैठकमा पार्टी नेतृत्व, कार्यदिशालगायत विषयमा सहमति जुटेपछि एउटै कम्युनिस्ट केन्द्र निर्माण गर्ने अठोटसहित नेताहरूले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकतापछि एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद-लेनिनवाद बनाउने गरी दुई पार्टीले कम्युनिस्ट आन्दोलनकै इतिहासमा ‘आइस ब्रेक’ गरेका हुन्। कम्युनिस्ट पार्टी स्थापनाको ६८ वर्षको इतिहासमा एमाले-माओवादीको एकता ठूलो परिघटना हो। एकताको प्रारम्भिक आधारको सहमतिपत्रमा हस्ताक्षरपछि नेताहरूले यसलाई कम्युनिस्ट आन्दोलनमा मात्र नभई देशको सुशासन, स्थायित्व र विकासकै लागि ऐतिहासिक परिघटना भनेका छन्। २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको थियो। तर २०१९ सालको तेस्रो महाधिवेशनसँगै कम्युनिस्ट पार्टीमा विभाजनको शृंखला कोरिएपछि यी दुई पार्टीले फरक-फरक स्कुलिङमा पार्टी चलाउँदै आएका थिए। सोमबार एकताको घोषणा गरेका यी दुई पार्टीको ५५ वर्षपछि पुनर्मिलन भएको हो। संयुक्त नेतृत्व, आलोपालो प्रधानमन्त्री एकीकृत पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्त रूपमा गर्ने भित्री समझदारी पनि यी दुई पार्टीले बनाएका छन्। लिखित समझदारीमा यो विषय उल्लेख नभए पनि नेताहरूबीच समझदारी भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले बताए। ‘पार्टीको बैठकमा आलोपालो अध्यक्षता गर्र्ने र सरकारमा साढे दुई-साढे दुई वर्ष आलोपालो नेतृत्व लिने सहमति हामीबीच भएको छ,’ बैठकपछि नेता खनालले अन्नपूर्णसँग भने, ‘पार्टी एकताकै लागि यो एउटा महत्वपूर्ण ब्रेक थु्र हो।’ दुई कार्यदल गठन एमाले-माओवादीले एकीकृत पार्टी सञ्चालन गर्न दुई छुट्टाछुट्टै कार्यदल पनि सोमबारको बैठकबाटै गठन गरेका छन्। एकीकृत पार्टीको अन्तरिम राजनीतिक प्रतिवेदन तयार पार्न नौ सदस्यीय समिति गठन भएको छ। समितिमा माधव नेपाल, भीम रावल, प्रदीप ज्ञवाली, रघुजी पन्त, नारायणकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुसाल र देवेन्द्र पौडेल छन्।