देउवाले बालुवाटार छोड्दै

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निवास बालुवाटारबाट आज निजी निवास सर्दै हुनुहुन्छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार नयाँ प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवा निजी निवास सर्न लाग्नुभएका हो ।

गत जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएपछि नेपाली काँग्रेसका सभापति देउवा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बस्दै आउनुभएको थियो । उहाँ आज दिउँसो बूढानीलकण्ठस्थित निजी निवास सर्न लाग्नुभएको उहाँका स्वकीय सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

धादिङमा दुर्घटना, गम्भीर घाइतेलाई काठमाडौं लगियो

धादिङ, फागुन ४ ।  गजुरी गाउँपालिका ५ घाटबेँसीमा आज बिहान ५ बजे बा ८१ प ६९८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २४ वर्षीय उपेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ। गजुरी गाउँपालिका ५ घाटबेँसीमा आज बिहान ५ बजे बा ८१ प ६९८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक एक जना घाइते भएका छन्। घाइते हुनेमा स्थानीय २४ वर्षीय उपेन्द्र श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका उनलाई उपचारका लागि काठमाडौं पठाइएको छ।

आज ग्याल्बो र सोनाम ल्होछार मनाइँदै, सार्वजनिक विदा

काठमाडौं, फागुन ४ । बौद्ध महायानी धर्मावलम्वीहरुले आज ल्होछार अर्थात नयाँ वर्ष मनाउँदैछन् । तामाङ, ल्होमोलगायतका समुदायले सोनाम ल्होछार र शेर्पालगायत हिमाली भेगमा बसोबास गर्ने समुदायले ग्याल्बो ल्होछार पर्व मनाउन लागेका हुन् । सोनाम कृषि ल्होथो अर्थात पात्रोअनुसार मलमास परेकाले यो वर्ष सोनाम र ग्याल्बो ल्होसार एकैदिन परेको छ ।   सरकारले माघ ४ गते नै सोनाम ल्होछारको विदा दिएपनि केही तामाङ समुदायले आफूहरुको तिथी र पात्रोअनुसार नमिलेको भन्दै मनाएका थिएनन् । सोनाम र ग्याल्बो दुवैले आज एकैदिन ल्होछार धुमधामका साथ मनाउँदैछन् । आज सरकारले सार्वजनिक विदा दिएको छ । यसअघि माघ ४ गते पनि सरकारले सार्वजनिक विदा दिएको थियो । ल्होछार मान्ने समुदायले आजबाट चरा वर्षको विदाइ गरी कुकुर वर्षलाई स्वागत गरेका छन् । हरेक वर्ष जनावर तथा पशुपंक्षीको नाममा ल्हो अर्थात वर्ष फेरिने मान्यताअनुसार यो वर्ष चरा वर्षको विदाइ गरी कुकुर वर्षको स्वागत गरिएको सोनाम ल्होछारका ज्ञाता खेन्पो सोनाम ग्युर्मेले जानकारी दिए । तीनकुनेमा विशेष कार्यक्रम, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने यसैबीच राष्ट्रिय सोनाम ल्होछार २८५४ को अवसरमा तामाङ समुदायमा रौनक छाएको छ । काठमाडौंको तिनकुने शुक्रबार र शनिबार सांस्कृतिक महोत्सव हुँदैछ । महोत्सवको आज दिउँसो २ बजे प्रधानमन्त्री केपी ओलीले उदघाटन गर्ने ल्होछार मूल समारोह समितिका संयोजक तथा नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले जानकारी दिए । उनका अनुसार औपचारिक कार्यक्रम शुरु हुनु अघि काठमाडौंको सिनामंगल, नयाँ बानेश्वर र ललितपुरको बालकुमारीबाट साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिँदैछ । आजको दिन बिहानै नुहाइधुवाइ गरी घरघरमा तथा गुम्बाहरुका गएर पूजापाठ गर्ने, नयाँ वस्त्र लगाएर शुभकामना आदानप्रदान गर्ने, मिठा परिकार खाने तथा सामुहिक नाचगान गरेर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस्तै आफूभन्दा ठूलाबडासँग टीका ग्रहण गरी आशिर्वाद थाप्ने प्रचलन छ । आजको दिन तरुल, फापरबाट बनेको आलुम र गेङ (रोटी), भटमास र गुन्द्रुक साँधेको, खाप्सी आदि मौलिक खाना खाने प्रचलन छ ।

राजीनामा दिने कर्मचारीको लर्को – ईन्जिनियरदेखि कार्यालय सहयोगीसम्म

काठमाडौं, फागुन ४ । नुवाकोट जिल्लाको आधा दर्जन कर्मचारीले राजीनामाका लागि जिल्ला प्रशासन कार्यालयमा नाम दर्ता गराएका छन् । ती कर्मचारीमा जिल्ला प्राविधिक कार्यालय प्रमखु ईन्जिनियर सुनीलराज गिरी, कारागार कार्यालयका प्रमुख टंकराज चिमोरिया, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालयका निमित्त प्रमुख वेदप्रसाद गौडेल, मेघाङ गाउँपालिकामा कार्यरत लेखापाल खगराज ढंगाना, सचिवहरु रामकृष्ण श्रेष्ठ र किरणमणि श्रेष्ठ, प्राविधिक कार्यालयका सहयोगी सौदा तामाङ छन् । यो संख्या अझै बढ्छ होला, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्माले भने ।, – कान्तिपुरमा खबर छ ।

अाेली प्रधानमन्त्री बने लगत्तै महान्यायाधिवक्ता भण्डारीले राजीनामा दिए

काठमाडौं, फागुन ४ । महान्यायाधिवक्ता वसन्तराम भण्डारीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाएका छन् । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ अधिवक्ता भण्डारीलाई गत भदौ २ गते महान्यायाधिवक्ता नियुक्त गरेका थिए । प्रधानमन्त्रीलाई राजीनामा दिएको छु, भण्डारीले भने । भण्डारीले सहयोगका लागि सबैलाई धन्यवाद दिए । अन्नपूर्ण पोस्टमा खबर छ ।

भारतीय गाडीमा गाउँपालिका प्रमुख !

कपिलवस्तु, फागुन ४ । कपिलवस्तुको यशोधरा गाउँपालिकाले चालु बर्षको माघसम्ममा ८ लाख ४० रुपैयाँ गाडीभाडा तिरेको छ । गाउँपालिका प्रमुख गिरजेशकुमार पाण्डेले भारतीय नम्बर प्लेट युपी ५५ डब्लु ९३६७ नं. को स्कार्पियो गाडी भाडामा लिएर चलाउँदा उक्त रकम भाडा उठेको हो । दैनिक ४ हजार तिर्ने गरी गाडी भाडामा लिएको गाउँपालिकाले जनाएको छ । मासिक १ लाख २० हजार रुपैयाँ भाडावापत तिर्दै आएको छ । तेल खर्च पनि पालिकाले नै ब्याहोर्ने हो । अध्यक्ष पाण्डेले गत साउनदेखि माघसम्म यही गाडी प्रयोग गरेका छन् ।, कान्तिपुरमा खबर छ । पत्रपत्रिकाबाट

यसकारण कार्यकक्षमै थुनिए वडाध्यक्ष

खोटाङ, फागुन ४ । सडक निर्माण उपभोक्ता समिति गठनमा असन्तुष्टि जनाउँदै रुपाकोट मझुवागढी नगरपालिका १५ विजयखर्कका वडाध्यक्ष वीरेन्द्र ढकाललाई बिहीबार एक समहुले कार्यकक्षमै थुनेको छ । ३० लाखको लागतमा निर्माण हुने बुईपा विजयखर्क वडा कार्यालय हुँदै जोड्ने सडक निर्माणका लागि उपभोक्ता समिति गठनमा असन्तुष्ट जनाउँदै उक्त समहुले वडाध्यक्ष ढकाल कार्यालयभित्र रहेको समयमा ताल्चा लगाएको जानकारी आएको प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले दिए । प्रहरी चौकी बुईपाबाट गएका सुरक्षाकर्मीले वडा कार्यालयमा लगाईएको ताल्चा केही समयपछि खोलेका थिए । -नागरिक दैनिकमा खबर छ ।

घरजग्गाको मूल्य आकासियो

तेह्रथुम, फागुन ४ । ग्रामिण क्षेत्रका बजारलाई केन्द्र बनाएर सरकारले तेह्रथुमका स्थानीय तहको पुनसंरचना गरेपछि घरजग्गाको मूल्य आकासिएको छ । गाउँपालिका केन्द्र तोकिएको स्थान र आसपासका क्षेत्रमा हाल घर घडेरीको किनबेच र घर निर्माण कार्य तीव्र रुपमा हुन थालेका छन् । फलस्वरुप जग्गा र घडेरीको मूल्य पहिलेको भन्दा दोब्बर तेब्बरले बढेको छ । पुनर्संरचनापछि सदरमुकाम म्याङलुङमा मात्रै केन्द्रित भएको सरकारी सेवा सुविधा गाउँ गाउँमा रहेका बजारसम्म पुगेको छ । केही महिनाअघिसम्म असुविधायुक्त भनिएका बजारहरु नै अहिले सेवाग्राहीको गन्तव्य बनेको खबर आजको कारोबारमा छापिएको छ । केन्द्र तोकिएका बजारमा चहल पहल बढ्दो छ । ती बजारमा घरजग्गाको कारोबारसमेत आकासिएको छ ।

मिर्गौला पीडित गायिका जलजलाको उपचारका लागि संकलित सहयोग रकम हस्तान्तरण

सोलुखुम्बु, माघ २७ । मिर्गौला पीडित गायिका जलजला परियारलाई सोलुखुम्बुका दलित युवाहरुले आर्थिक सहयोग गरेका छन् । दुबै मिर्गौला फेल भएर उपचार गराइरहेकी परियारलाई प्रथम दलित सगरमाथा आरोही विजय घिमिरे प्रतिष्ठान र लौरश्वर दलित युवा समाज तिङला सोलुखुम्बुकोे संयुक्त पहलमा सोलुखुम्बुमा सङ्कलन गरिएको ५३ हजार २५० रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । राजधानीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा उपचार गराइरहेकी परियारको उपचारमा थप मद्दत पुगोस् भनेर पीडितका बुबा नारायणबहादुर दर्जीलाई रकम हस्तान्तरण गरिएको दलित समुदायबाट पहिलो पटक सगरमाथा आरोहण गर्ने विजय घिमिरे विश्वकर्मा र लौरश्वर दलित युवा समाज सोलुखुम्बुका अध्यक्ष नीरकुमार नेपालीले बताए । जलजलाको उपचारमा करिब २५ लाख रुपैयाँ लाग्ने भएकाले सहयोग जुटाउन पहल भइरहेको हो । सानो सहयोगले एउटा कलाकारको ज्यान बचाउन सकिन्छ भनेर रकम सङ्कलन गरी पठाइएको उनीहरुको भनाइ छ । अर्घाखाँची ढाकावाङ–८ निवासी २१ वर्षीया जलजला परियार नेपाली तारा सिजन–३ को उत्कृष्ट ४ सम्म पुगेकी थिइ भने रेडियो नेपालद्वारा आयोजित देशव्यापी गायन प्रतियोगितामा दोस्रो भएकी थिइन् ।

धनगढी विमानस्थलमा भिओर/डिएमई उपकरण जडानका लागि अध्ययन सुरु

कैलाली, माघ २७ । कैलालीको धनगढी विमानस्थलमा भिओर/डिएमई उपकरण जडानका लागि अध्ययन सुरु भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण र निर्माण कम्पनी नेपाल ईको चार्ली (एनईसी)ले अध्ययन सुरु गरेका हुन् । प्राधिकरणका उपनिर्देशक सञ्जिव सिंह कठायतसहित निर्माण कम्पनी एनईसीको प्राविधिक टोलीले धनगढीमा अध्ययन सुरु गरेका हुन् । प्राधिकरणसँग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाईकाले दुई वर्षअघि नै धनगढी विमानस्थलमा भिओर/डिएमई र एप्रोच लाईट जडानको सम्झौता गरेको थियो । सम्झौता बमोजिम त्यसको अध्ययनपछि मेसिन जडान गर्ने उद्देश्यका साथ उक्त टोली आएको विमानस्थल प्रमुख छविसिंह ठकुल्लाले बताए । टोलीले विमानस्थल टावर र मेसिन कहाँ, कसरी र कुन ठाउँमा जडान गर्ने भन्नेबारे अध्ययन गर्ने छ । आगामी वर्षको हिउँददेखि धनगढी विमानस्थलमा जहाजको दिशा निर्देश गर्ने उपकरण भिओर, पाइलटलाई विमानस्थल र जहाजको दुरीको निर्देश गर्ने डिएमई र रात्रीकालीन उडानका लागि एप्रोच लाईट जडान कार्य सुरु हुनेछ ।

सिंचाइ सचिव चढेको जीप भेटियो, बेपत्ता तीन जनाको खाेजी जारी

धादिङ, माघ २७ । सिँचाइ मन्त्रालयका सचिव रामानन्द प्रसाद यादव चढेको जीप त्रिशुली नदिमा भेटिएको छ । जीप दुर्घटना स्थलभन्दा करिव २० फिट तल फेला परेको प्रहरीले जनाएको छ । जीप सडकबाट अन्दाजी ९० मिटर तल खसेको छ । जीप निकाल्ने प्रयास भइरहेको घटना स्थलमा रहेका प्रहरी सहायक निरिक्षक पूर्णबहादुर लामाले जानकारी दिए । गाडी पानीबाट बाहिर निकालेपछि मात्र थप भन्ने सकिने उनले बताए । कपिलवस्तुबाट छोरी डाक्टर रञ्जनाको बिहेको कुरो छिनेर फर्केका सचिव यादवसँग उनका २२ वर्षीय छोरा सन्तोष पनि रहेको बताइएको छ । अर्का एक जनाको नाम खुल्न सकेको छैन । बिहान पौने ३ बजे बा १ झ ३१४० नम्बरको सरकारी जीप पृथ्वी राजमार्ग अन्तर्गत बेनिघाट रोलाङबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घाइते भएका सर्लाहीका चालक निरन्जन यादवको काठमाडौंमा उपचार भइरहेको छ ।

प्रदेश नम्बर ३ र ७ मा आज सभामुख र उपसभामुख चयन हुँदै

काठमाडौं,माघ २७ । प्रदेश नम्बर ३ र ७ को प्रदेशसभाले शनिबार आफ्नो सभामुख उपसभामुख चयन गर्दैछ । हेटौंडामा बस्ने प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकले आफ्नो पहिलो सभामुख चयन गर्न लागेको हो । सभामुखमा वाम गठबन्धनबाट एमालेका सानु श्रेष्ठ र उपसभामुखमा माओवादी कन्द्रकी राधिका तामाङ्गको नाम तय भएको छ । कांग्रेसले भने सभामुख र उपसभामुख दुवैजनाको विपक्षमा मतदान गर्ने तर आफ्नो उम्मेद्वार भने नउठाउने बताएको छ । प्रदेश नम्बर ७ को सभामुखको चयन पनि शनिबार नै हुँदैछ । ७ नम्बर प्रदेशको सभामुखका लागि वाम गठबन्धनका तर्फबाट एमालेका अर्जुनबहादुर थापालाई सभामुखको उम्मेदवार बनाउने तय भएको छ ।

जातीय विभेद: शिक्षक दम्पतीको जागिर खोसियो, घर जलाइयो र गाउँबाट लखेटियो

बैतडी, माघ २७ । नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी कार्यालय धाइरहेको यो दम्पती बिचल्लीमा छ । यो दम्पतीलाई गत चैतमा स्थानीय बासिन्दाले शिक्षकबाट निकालेका थिए । त्यसपछि घरमा आगो लगाए भने ज्यान मार्ने धम्की दिए । चार छोराछोरीसहित बैतडी सदरमुकाम शाहीलेकमा बस्दै आएका रानादम्पती कसैले वास्ता नगरेको गुनासो गर्छन् । करनले भने, ‘रोजीरोटी खोसियो, घरमा आगो लगाइयो । गाउँबाट विस्थापित गरियो । सबै ठाउँ धाउँदाधाउँदा थाकिसकेँ । अब त मुद्दा लड्ने पैसा पनि छैन । छोराछोरीलाई स्कुल पठाउन पाएको छैन ।’  नयाँ पत्रिकामा खबर छ । सरोकारवाला चुपचाप किशोरीका बवा रानादम्पतीले छोरीलाई बेच्न खोजेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘सुरुवातमा छोरीलाई डराएर आफूखुसी गएकी हुँ भन्ने बयान दिन लगाए । घरमा ल्याएर थाहा भयो, उसलाई त बेच्न भारत लैजान खोजिएको रहेछ ।’ प्रहरीले बेचबिखनको मुद्दा दर्ता नगरेपछि आक्रोशित भएर घरमा आगजनी गरेको किशोरीका बुवाको भनाइ छ । जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) हेरम्ब शर्मा किशोरीले आफूखुसी भागेर गएको भन्ने बयान दिएपछि अभिभावकले स्वीकार गरेर घर लगेको र मेलमिलाप भएको बताए । केही दिनपछि फेरि बेचबिखनको उजुरी आए पनि दर्ता नगरिएको उनको भनाइ छ । डिएसपी शर्माले भने, ‘बेचबिखनसम्बन्धी कुनै प्रमाण फेला नपरेपछि उजुरी दर्ता गरिएन ।’ उजुरी दर्ता गरिएपछि पुर्पक्षका लागि थुनामा राख्नुपर्छ भने आफू निर्दोष भएको दोषीले थुनामै बसेर प्रमाण जुटाउनुपर्छ । आगजनीको मुद्दा अदालती प्रक्रियामा रहेकाले केही बोल्न नमिल्ने उनको भनाइ छ । जिल्ला प्रशासनले भने यस विषयमा समन्वयको प्रयास गर्दै आएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीपक आचार्यले भने, ‘यो केसमा गम्भीर छाँ, सबैसँग बसेर छलफल गर्दैछौँ ।’ जिल्ला शिक्षा कार्यालयले पनि समन्वय गरिरहेको जनाएको छ । जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले अन्य विद्यालयसँग समन्वय गरेर रानादम्पतीलाई काजमा खटाउने प्रयास भइरहेको बताए । उनीहरूलाई गाउँमा फर्काउने विषयमा भने स्थानीय तहका जनप्रतिनिधि सकारात्मक देखिँदैनन् । शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउदले गाउँको वातावरण बिग्रिएकाले रानादम्पतीको सुरक्षाको जिम्मेवारी लिन नसक्ने बताए । उनले भने, ‘समाजले पचाउन नसक्ने घटना भयो, किशोरीका परिवार आक्रोशित छन् । वातावरण मिलाउने प्रयास गरिरहेका छौँ ।’ अधिकारकर्मी भने जातीय विभेदका कारण यस्तो घटना हुँदा पनि प्रशासनले वास्ता नगरेको आरोप लगाउँछन् । अधिकारकर्मी करन दयालले भने, ‘दलित भएकै कारण यस्तो विभेद हँुदा पनि राज्य मौन छ ।’ यसरी गरियो विस्थापित राजु गाउँकै कृष्ण निमाविमा शिशु कक्षा पढाउँथिन् भने करन छिमेकी हिरापुर माविमा राहत कोटामा निमावि शिक्षक थिए । गाउँकै गैरदलित १५ वर्षीया किशोरी र दलित युवक बिहे गर्नका लागि गाउँबाट भागे । किशोरीका परिवारले भगाउनमा राजुले सहयोग गरेको आरोप लगाए । त्यसपछि गाउँलेको दबाबमा दुवै विद्यालयले दम्पतीलाई शिक्षकबाट हटाए । केही दिनपछि किशोरी सम्पर्कमा आइन् । उनले प्रहरीसँग राजुको कुनै हात नरहेको र आफूखुसी दुवैजना बिहे गर्न भागेको बताइन् । केही दिनमा विवाद साम्य भयो । किशोरी पनि घर फर्किन् । फेरि केही दिनपछि किशोरीका परिवारले बेचबिखन गर्न खोजेको अरोप लगाएर प्रहरीमा उजुरी दिए । प्रहरीले उजुरी त दर्ता गरेन, तर दुवै विद्यालयले उनीहरूलाई काम गर्न दिएनन् । त्यसपछि गत असोजमा एक समूहले रानादम्पतीको घरमा आगो लगायो । घरका पूरै सरसामान जलेर नष्ट भए । करनले गाउँकै ६ जनाविरुद्ध प्रहरीमा उजुरी दिए र उनीहरूलाई प्रहरीले पक्राउ पनि ग-यो । तर, उनै किशोरीले आफूले आगो लगाएको बताएपछि प्रहरीले सबैलाई छोड्यो भने उनलाई नियन्त्रणमा लियो । बैतडी जिल्ला कारागारमा राख्ने ठाउँ नभएपछि किशोरीलाई पुर्पक्षका लागि कैलाली जिल्ला कारागारमा राखिएको छ ।

बिहानै दुखद खबर – सिंचाई सचिव यादव चढेको जिप त्रिशूलीमा बेपत्ता

धादिङ, माघ २७ । धादिङको बेनीघाट गाउँपालिका–४ सलाङघाटबाट एउटा जिप त्रिशूली नदीमा खस्दा सिंचाई मन्त्रालयका सचिव रामानन्दप्रसाद यादवसहित तीन जना बेपत्ता भएका छन् । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बा २ झ ३१४० नम्बरको जिप आज बिहान अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको हो । जिपमा सवार सिंचाई मन्त्रालयका सचिव यादवसहित उनका छोरा सञ्जय र एक जना आफन्त बेपत्ता भएका छन् । गाडी चालक निराजन यादवलाई भने उद्दार गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक सञ्जय तिमिल्सिनाले जानकारी दिए । बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।

४० वर्षदेखि एक्लो जीवन बिताउँदै आएका दोर्जेलाई सहयोग

इलाम, माघ २७ । माइखोलामा ४० वर्षदेखि एक्लो जीवन बिताइरहेका एक बृद्धलाई इलाम नगरपालिका–९ गोलाखर्कका युवा समाजसेवी दिपेश अधिकारीले लत्ताकपडा र खाद्यान्न वितरण गरेका छन् । उनले सिरक, डस्ना, सिरानी, चामल, तेल, साबुन लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । गत माघ २१ गते इमेज खबर डटकम मा ‘बगरमै बित्दैछ दोर्जेको जीवन : बगरमै कमाउँछन् मासिक १२ सय’ शीर्षकमा समाचार प्रकाशन भएपछि दोर्जेको बारेमा थाहा पाएका अधिकारीले शुक्रबार दोर्जेकै निवास माइखोलामा इमेजकर्र्मी लगायतका सञ्चारकर्र्मी र स्थानीयको उपस्थितिमा राहत सामाग्री हस्तान्तरण गरेका हुन् । राहत पाएपछि खुसी हुँदै दोर्जेले अधिकारीलाई यसैगरी गरिब र असहायलाई दिइरहन पुगोस् भन्दै आशिर्वाद दिएका थिए । विभिन्न संघसंस्थामा संलग्न अधिकारीले दोर्जेजस्ता धेरैलाई सहयोग गरिसकेको बताए । उनले सञ्चारमाध्यमबाट नै दोर्जेको कहालीलाग्दो जीवन कहानी पढेपछि प्रभावित भएर आफूले सहयोग गरेको बताए । ७७ वर्षीय दोर्जे माइखोलाको किनारामा गिट्टी र बालुवा चालेरै जीविकोपार्जन गरिरहेका छन् । परिवार र आफन्त कोही नभएका उनी पाको शरीर थर्थर काप्दै भएपनि बिहान–बेलुकाको छाक टार्न काममा तल्लिन छन् । घर–जग्गासमेत नभएका उनलाई ओत लाग्नका लागि स्थानीयहरुले सानो छाप्रो बनाइदिएका छन् ।

शारीरिक सम्पर्क गर्न नमानेको भन्दै श्रीमती कुट्ने श्रीमान् जेल चलान

भक्तपुर, माघ २७ । आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक–पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ । भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानुनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृतबहादुर बोहराले जानकारी दिए । आफूलाई श्रीमती परपुरुषसँग लागेको शंका भइ पटक–पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन् । श्रीमती जयन्तीले भने वि.सं. २०६२ मा विवाह भइ एक छोरी र एक छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेलाबेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन् । पुस २६ गते पनि आवेगमा आएर श्रीमान्ले स्टिलको पाइपले टाउकामा हानेर बेहोस र मरणासन्न अवस्थामा पुर्‍याइ कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पुर्‍याएको प्रहरीको भनाइ छ । घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ । बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत् सुमनविरुद्ध जाहेरी दिएका थिए । दोषी ठहर भए सुमनलाई पाँचदेखि १० वर्षसम्म कारागार सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिए ।