रेशम चौधरीको धम्की -'सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या हुन सक्छ!'
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका पार्टीका संस्थापक रेशमलाल चौधरीले सुदूरपश्चिम सरकार ढले नागरिक उन्मुक्तिका नेताको हत्या समेत हुन सक्ने धम्कि दिएको उनकै पार्टीका केन्द्रीय सदस्यले बताएका छन् ।सो पार्टीका केन्द्रीय सदस्य समेत रहेका रमेश विश्वकर्माले चौधरीले आफूमाथि आक्रमण गरेको बताउँदै सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।
पत्रकार सम्मेलनमा टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारु, टीकापुर–४ का वडाध्यक्ष लालवीर चौधरी र टीकापुर–५ का वडाध्यक्ष बलवीर चौधरी समेत सहभागी थिए ।
“अनौपचारिक कुरा हुने क्रममा एउटा ढोकामा मात्रै चुकुल लगाइएको थिएन । त्यो घरबाट बाहिर निस्कने मेन ढोकामा बाहिरबाट बन्द गरेर ममाथि भौतिक आक्रमण भयो,” उनले पत्रकार सम्मेलनमा भने।
सोमबार बिहान ८ बजे अध्यक्ष रन्जीता श्रेष्ठ चौधरीले संस्थापक केन्द्रीय समितिको बैठक बोलाएकी थिइन् । बैठकअघि अनौपचारिक कुराकानीका क्रममा विवाद हुँदा आक्रमण गरिएको विश्वकर्माले बताए ।
सरकारका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न आफूहरू बालुवाटार जाने भनेपछि रेशमलालले पिट्ने चेतावनी दिएको उनले सुनाए । “आज प्रधानमन्त्रीलाई भेट्न जाने हो भन्दा यदि तिमीहरु बालुवाटार गयौ भने बालुवाटारबाहिरै पिट्छौँ भन्नुभयो । त्यसो भन्दा हामीले विरोध गर्यौँ,” उनले भने ।
सोही क्रममा रेशमलालले प्रतिव्यक्ति २५ हजार रुपैयाँ लिएर केन्द्रीय सदस्य बनाएको विषय उठाउँदा कुटपिट गरिएको उनको भनाइ छ । “यहाँभन्दा पहिले २५ हजार लिएर केन्द्रीय सदस्य बाँडेको छ । तर, निर्वाचन आयोगमा अद्यावधिक गर्न जानु भएन । त्यहाँ पार्टी चुक्यो कि चुकेन भन्ने जवाफ कसले दिने भन्ने प्रश्न उठाएपछि ममाथि, केही केटा कसरी आए थाहा भएन । भौतिक आक्रमण गरे,” उनले भने ।
विश्वकर्माले लालवीर र बलवीरले आफूलाई जोगाएको बताए ।हिजो (आइतबार)पनि रेशमलालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको सरकार ढले हत्या गर्ने चेतावनी दिएकाले आफूले असुरक्षित महसुस गरेको उनले उल्लेख गरे ।
“हिजो हामी रेशम दाइलाई पार्टी कार्यालयमा भेट्न जाँदा त्यो मिटिङमा म, टीकापुर नगरपालिकाका मेयर साप, वडा नम्बर–४ र वडा–५ का अध्यक्षज्यू संयुक्त रूपले बसेका थियौँ । उहाँ (रेशमलाल चौधरी)ले सिधै के भन्नुभयो भने– यदि, सुदूरपश्चिममा कमलबहादुर शाहको सरकार ढल्यो भने तिमीहरु चारैजनाको हत्या पनि हुनसक्छ भनेको हुनाले आज भौतिक आक्रमण हुँदा असुरक्षित छु कि भन्ने फिल गरेर पत्रकार सम्मेलन गर्न आइपुगेको हुँ,” विश्वकर्माले भने ।
त्यस विषयमा रेशमलालले सोमबार माफी भने मागेको उनले बताए। अध्यक्षसहित २० केन्द्रीय सदस्यमाथि कुटपिट, दुर्घटना वा केही भएमा त्यसको जिम्मेवारी चौधरीले लिनुपर्ने उनले बताए । हत्याको विषयलाई गम्भीर रूपमा लिन उनले पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीको ध्यानाकर्षण समेत गराए ।
क्रान्तिकारीका नेतालाई सांघातिक हमला गर्ने अखिलका दुई कार्यकर्ता नियन्त्रणमा
काठमाडौँ । लैनचौरस्थित अस्कल क्याम्पसमा झगडा गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गणेश शाही र पंकज पाण्डेलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । पक्राउ पर्नेहरु एमाले निकट अखिलका कार्यकर्ताहरू हुन् । उनीहरूको आक्रमणबाट माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)का अस्कल इकाई अध्यक्ष जितेन्द्र भण्डारी र उपाध्यक्ष विश्राम शर्मा घाइते भएका छन् । भलिबल खेल्दा विवाद भएपछि आरोपीहरूले आक्रमण गरेको बताइएको छ । उनीहरुलाई सामान्य चोट लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।भण्डारीको मुख र नाकमा चोट लागेको छ भने शर्माको बाँया हातको बुढी औंलामा चोट लागेको छ । उनीहरुमाथि कुटपिट गरेको आरोपमा प्रहरी वृत्त सोह्रखुट्टेले दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी नियन्त्रणमा रहनेहरुमा अनेरास्ववियु अस्कल क्याम्पस इकाइ कमिटी अध्यक्ष पंकज पाण्डे र अस्कल इकाइ कमिटीका सदस्य गणेश शाही रहेका छन् । शाही जुम्लाका हुन् भने पाण्डे कन्चनपुरका हुन् । उनीहरु दुवै जना क्याम्पसकै होस्टलमा बस्दै आएको प्रहरीले बताएको छ । अखिल क्रान्तिकारीका बागमति प्रदेश अध्यक्ष सञ्जिव रेग्मीले अनेरास्ववियूको राजनीतिक संरक्षणमा आपराधिक पृष्ठभूमिका कमलराज जोशीको योजनामा आइतवार साँझ पंकज पाण्डेको नेतृत्वमा १०/१५ जनाको समुहले ज्यान मार्ने नियतले सांघातिक आक्रमण गरेको आरोप लगाएका छन् । सांघातिक आक्रमणबाट अमृत साइन्स क्याम्पस क्रान्तिकारीका अध्यक्ष कमरेड जितेन्द्र भण्डारी र उपाध्यक्ष कमरेड विश्राम शर्मा गम्भिर घाइते बनेको उनले जानकारी दिए । यस्ता आपराधिक घटना हुँदा राज्यका निकायहरु मुकदर्शक बनेर बस्नु आफैमा रहस्यमयी रहेको बताउँदै उनले सो घटनाप्रति घोर आपत्ति जनाएका छन्। उनले घटनाका योजनाकार जोशी र घटनामा संलग्न अन्य अभियुक्तहरु पाण्डे सहितको आपराधिक गिरोहलाई तत्काल कानुनी कारवाहीको दायरामा ल्याउन माग समेत गरेका छन् । आइतबार साँझ भलिबल खेल्ने क्रममा विवाद हुँदा उनीहरुबीच झडप भएको प्रहरीको भनाई छ ।कुटपिट गरेको आरोप लागेका खेम सिंह फरार रहेको पाइएको छ ।
बाग्मतीका मुख्यमन्त्रीलाई एकीकृत समाजवादीले पनि विश्वासको मत दिने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको पक्षमा विश्वासको मत दिने भएको छ । यथास्थितिमा विश्वासको पक्षमा नउभिने बताउँदै आएको एकीकृत समाजवादीले केन्द्रमा शीर्ष नेताहरूबीचको सहमतिअनुसार विश्वासको मत दिने भएको हो । एकीकृत समाजवादीले एउटा प्रदेशमा मुख्यमन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । उसले वाग्मतीको मुख्यमन्त्रीमा दाबी गरेको थियो । नेपाली कांग्रेसले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदै छन् । सरकार टिकाउन मुख्यमन्त्री जम्कट्टेललाई प्रदेशसभाका ५६ सदस्यको मत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एकीकृत समाजवादी)का सात, हाम्रो नेपाली पार्टीका दुई, कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका तीन सदस्य छन् । मुख्यमन्त्री जम्कट्टेलले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
सुनको मूल्य प्रतितोला एक हजार छ सयले बढ्यो
काठमाडौं। स्थानीय बजारमा पहेँलो धातुको मूल्य प्रतितोला एक हजार छ सयले वृद्धि भएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार एक लाख ३० हजारमा कारोबार भएकामा सोमबारका लागि भने प्रतितोला एक लाख ३१ हजार छ सय कायम भएको छ। यस्तै, तेजाबी सुन आइतबार एक लाख २९ हजार चार सयमा कारोबार भएकामा सोमबारका लागि भने एक लाख ३० हजार नौ सय ५० मा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्य प्रतितोला १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला प्रतितोला एक हजार पाँच सय ३५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।
झण्डै २८ लाख नगद सहित २ हुण्डी कारोबारी पक्राउ
सर्लाही । सर्लाहीबाट दुईजना हुण्डी कारोबारी झण्डै २८ लाख रुपैयाँ सहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीले स्रोत नखुलेको नगद २७ लाख ७५ हजार ९ सय ७० रुपैयाँसहित उनीहरु पक्राउ परेका हुन्। सदरमुकामसमेत रहेको मलंगवा नगरपालिका ९ बाट मलंगवा ३ का २४ वर्षका कमर राजा हुसेन र मलंगवा ९ का उमेर नखुलेका आरिफ अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सविनकुमार कार्कीले जानकारी दिए । उनीहरु अवैध हुण्डी कारोबारमा संलग्न भएको सूचनाको आधारमा कारबाही अघि बढाएको उनले बताए । उनीहरुमाथि थप आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।
प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु
काठमाडौं। प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको सोमबारको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।
रुसी सेनामा कार्यरतको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्ने पक्राउ
काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सोमबार सिंहदरबारको दक्षिण गेट अगाडि प्रदर्शन गर्ने १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सचेतना अभियानकी अभियन्ता कृतु भण्डारीको नेतृत्वमा सिंहदरबार अगाडि प्रदर्शन गरिरहेका उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “सिंहदरबार अगाडि प्रदर्शन गर्ने १० पुरुष र पाँच महिला गरी १५ जनालाई नियन्त्रणमा लिइएको छ ।” नियन्त्रणमा लिइएकाहरुलाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । रुसी सेनामा भर्ना भएर मृत्यु भएकाहरुको शव फिर्ता, सम्पर्कविहीन भएकाको खोजी एवम् अलपत्र परेका नेपालीहरुको उद्धारको माग राख्दै उनीहरुले प्रदर्शन गरेका थिए ।
को हुन् बझाङ प्रदेश सभा क्षेत्र १ का माओवादी उम्मेदवार बुढा ?
धनगढी। नेकपा (माओवादी केन्द्र)ले बझाङको प्रदेश सभा क्षेत्र १ मा हुन लागेको उपनिर्वाचनका लागि पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी सचिव जनक बुढालाई उम्मेदवार बनाउने घोषणा गरेको छ । आइतबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा माओवादीका उपमहासचिव एवं सुदूरपश्चिम इन्चार्ज गिरिराजमणि पोखरेलले बुढालाई उम्मेदवार बनाइने बताए।उनका अनुसार माओवादीको प्रदेश सचिवालय बैठकले उम्मेदवारका लागि बुढाको एकल नाम सर्वसम्मत पार्टी केन्द्रमा सिफारिस गर्ने निर्णय गरिएको छ । बझाङ क्षेत्र नम्बर १ बाट काङ्ग्रेसबाट निर्वाचित प्रदेश सरकारका तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। प्रदेश सचिव बुढा २०७० को संविधानसभा सदस्य हुन् । २०५६ सालमा महेन्द्रनगरको सिद्ध नाथ बहुमुखी क्याम्पसमा माओवादीनिकट अखिल क्रान्तिकारीमा आबद्ध भएका बुढा २०५८ देखि भूमिगत हुनु भएको थियो । उनले २०६२ सालमा माओवादीको बाजुरा जिल्ला सचिव र २०६४ मा बैतडी जिल्ला सचिव भएर काम गर्नु भएको छ । २०६४ देखि २०७० सालसम्म बुढा बझाङ जिल्ला अध्यक्ष तथा इन्चार्जको जिम्मेवारीमा समेत हुन्। २०५८ देखि २०६० सालसम्म अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य रहनु भएका बुढाकी श्रीमती २०५८ सालमा तत्कालीन शाही नेपाली सेनाबाट मारिइन् भने घरमा आगजनी गरिएको थियो। माओवादीको बैठकले सङ्घीय गठबन्धन अनुसार प्रदेशमा समेत सरकार बनाउन पहल गर्ने निर्णय गरेको इन्चार्ज पोखरेलले बताए। यस्तै, गरेर माओवादी प्रदेश सचिवालय बैठकले सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
सेलिङको कविताकृती ‘सेप्म्माङलक’ र ‘आयोमा दर्पण’ पुस्तक बिमोचन
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ.श्री भिम कुमार सेलिङको ‘शिक्षामा चौवालीस बर्ष’ पुस्तक केही बर्ष अगाडि प्रकाशित गरिसकेका छन् । त्यसैगरि आफ्नो कलमलाई निरन्तरता दिंदै पुन ओयाम दर्पण कृति र साथमा उनकै छोरी लेखिका, समाजसेवि, गीतकार अन्य धेरै विधानमा आफ्नो कार्यकौशल प्रस्तुत गर्दै आएकी लीला सेलिङ माबोको कविताकृति सेप्माङ्लक को संयुक्त रुपमा बिमोचन गरिएको हो । उक्त कृतिको हिजो आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वकुलपति तिलविक्रम नेम्वाङ ‘वैरागी काइँला’ ले विमोचन गरेका हुन् ।आधा दर्जन गीत रेकर्ड गरिसकेकी लिलाले केही अन्यपुस्तकहरुपनि बजारमा ल्याईसकेकी छन् । ‘मेमोरिज अफ अ गोर्खा ड्युरिङ लकडाउन’, संगै सुब्बा सुभाङी र निशान बारे खोजमुलक लेखहरु लेखेकी छिन् । सामाजिक काममा समेत अग्रसर लिलाले विभिन्न पुरस्कारहरु समेत पाएकी छन् ।
२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ। सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो। स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका दुई र चीनको एक कम्पनीसमेत छन् । बाँकी सबै नेपाली कम्पनीहरु छन् । यो स्पष्टीकरण चित्तबुझ्दो नभए सार्वजनिक खरिद अनुगमन कार्यालयले कालोसूचीमा राख्छ । कालोसूचीमा परेमा कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको खरिद प्रक्रियामा सहभागी हुन पाइँदैन । कार्यालयले सात दिने स्पष्टीकरण मागेका कम्पनीहरुमा चीना श्रेष्ठको रोशिस कन्सट्रक्सन रौतहट, दीपेन्द्र विकको उमंग ट्रेडर्स रौतहट, रुपेश पण्डितको पौराई बाबा कन्स्ट्रक्सन रौतहट राजेन्द्र चाईको साहनी विल्डर्स रुपन्देही, दिपेश कर्माचार्यको न्यू जगतदेवी निर्माण सेवा नवलपरासी, रमेश राईको विवश इन्टरनेसनल कन्स्ट्रक्सन एण्ड सप्लायर्स काठमाडौं, मदन खड्काको एमडी ब्रो कन्स्ट्रक्सन इलाम, पुष्पनाथ यादवको शोभा विल्डर्स एण्ड सप्लायर्स भक्तपुर, विजयकुमार मोक्तानको नेपाल भूमि कन्स्ट्रक्सन काठमाडौं लगायत छन् । यसैगरी सन्तोष प्रसाद भट्टको युसब कन्स्ट्रक्सन डडेलधुरा, ललितबहादुर बोहराको न्यु कालिका निर्माण सेवा बझाङ, दिलबहादुर भण्डारीको तुल्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स डोटी, सतिश आचार्यको सुप्रभात निर्माण सेवा बाँके, कृष्णप्रसाद ओलीको वेष्टर्न डेभलपमेन्ट कन्स्ट्रक्सन बाजुरा, घनश्याम बस्नेतको भुमा निर्माण सेवा दाङ, साविर मियाको मान्यता निर्माण सेवा सुर्खेत, गुनेश्वर साहको जी।एस।एण्ड एम।एस। कन्स्ट्रक्सन, अजित शाक्यको मुस्कान कन्स्ट्रक्सन पर्सासँग पनि लिखित स्पष्टीकरण माग गरिएको छ । स्पष्टीकरण माग गरिएका अन्य कम्पनीहरुमा पदमबहादुर तामाङको मस्टा जे.बी.डी. कन्स्ट्रक्सन काठमाडौं, प्रदीप पन्त र आशिष गौतमको समृद्धि यशहश्वी कन्स्ट्रक्सन काठमाडौं, सुन्दर श्रेष्ठको जलेश्वर महादेव यासवि कन्स्ट्रक्सन काठमाडौं, कृष्ण पौडेलको कृशव निर्माण सेवा रुपन्देही, रामु खनालको खनाल कान्छा सप्लायर्स रुपन्देही, दीपेन्द्रबहादुर शाहीको सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन, राजिव गर्गको भारत कन्स्ट्रक्सन, अभिषेक गुप्ताको गुप्ता पावर इन्फ्रास्ट्रक्चर भारत र सु फुगुईको शुफा एन्हे ग्रुप सिचुवान (चीन) छन् । हेर्नुहोस् सूचना
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले राष्ट्रियसभामा उत्पत्ति भएको विद्युत व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।
उपप्रधानमन्त्री श्रेष्ठ आज स्वदेश फर्कदै
काठमाडौं । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज स्वदेश फर्कदै छन्। उनी ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण हुनेछन् । विमानस्थलमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीन भ्रमणबारे जानकारी गराउने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ जनराजनीतिक परामर्श सम्मेलन (सिपिपिसिसी)का अध्यक्ष वाङ हुनिन, चिनियाँ समकक्षी वाङ यीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरे। भेटवार्तामा उनीहरुबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा विचारविमर्श भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ। सो क्रममा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल तीव्र आर्थिक विकासको यात्रामा अघि बढिरहेको जानकारी दिँदै त्यसका लागि छिमेकी मुलुक चीनको सहयोग महत्वपूर्ण हुने बताए । उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उपमन्त्री सुन हाइयानसँग पनि भेट गरेका थिए। सो भेटवार्तामा उनीहरुबीच नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । उपप्रधानमन्त्री श्रेष्ठ माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्ष एवं विदेश विभाग प्रमुखसमेत हुन् । बेइजिङमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले नेपाली दूतावासमा आयोजित पूर्वलगानी सम्मेलनलाई सम्बोधन गरे । सो क्रममा उनले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान गरे। सोही दौरान उनले चीनकै दक्षिण पश्चिमी सहर छोनछिन नगरपालिकाको अवलोकन भ्रमण गरे । सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ कम्युनिष्ट पार्टी छोनछिन कमिटीका सचिव युयान जाइजुनबीच प्रतिनिधिमण्डलस्तरमा भेटवार्ता भएको थियो । उक्त भेटमा उपप्रधामन्त्री श्रेष्ठले नेपाल र चीन आर्थिक समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए। यसैगरी उपप्रधानमन्त्री श्रेष्ठले चीनको सिजाङ्ग स्वायत्त क्षेत्रका पार्टी सचिव वाङ झुङहेङसँग भेट गरी नेपाल–चीन सीमा क्षेत्रका नागरिकले व्यहोर्नुपरेको समस्या समाधान गर्न आग्रह गरे । उनले ल्हासास्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरी आर्थिक कूटनीतिमा ध्यान दिन निर्देशन दिए । उपप्रधानमन्त्री श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले तिब्बतमा रहेको कैलाश मानसरोवर क्षेत्रको अवलोकनसमेत गरे । भ्रमणका क्रममा सिचुवान प्रान्तको छेन्दु आइपुगेका उनले सिचुवान जनसरकारका गभर्नर हुवाङ सियाङसँग पनि भेट गरी नेपालमा चिनियाँ लगानीका लागि आग्रह गरे। नेपाली प्रतिनिधिमण्डलमा चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयको उत्तर पूर्व एसिया महाशाखाका प्रमुख एवं सहसचिव कृष्ण ढकाल, बेइजिङस्थित नेपाली दूतावासका डेपुटी चिफ अफ मिसन सुरेन्द्र यादव, उपप्रधानमन्त्रीका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठ, नायब शिष्टाचार महापाल उत्तमकुमार शाही, परराष्ट्र मन्त्रालयका उपसचिव अरुणा घिसिङलगायत सहभागी थिए । उपप्रधानमन्त्री श्रेष्ठ चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा यही चैत १२ गते चीनको भ्रमणमा निस्केका थिए ।
यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल चैत १९ गते सोमबार सन् २०२४ अप्रिल १ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा पुगेको छ।युरो एकको खरिद दर १४३ रुपैयाँ ७४ पैसा र बिक्री दर १४४ रुपैयाँ ३८ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १० पैसा र बिक्री दर १६८ रुपैयाँ ८६ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर
यस्तो रहनेछ आजको मौसम
काठमाडौ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा आंशिक बदली रहने छ । गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती भने कर्णाली र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ। गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ५ बजेर ५४ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २१ मिनेटमा हुनेछ ।
अन्लाईनमार्फत ठगी गर्ने चीनियाँ गिरोह पक्राउ
काठमाडौं । अन्लाईन लोटरी र अन्लाईन सपिङ जस्ता विभिन्न प्रलोभन देखाई ठगि गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाली तथा विदेशी व्यक्तिहरूलाई ठगी गर्ने गिरोह सक्रिय रहेको सूचनाको अनुसन्धान गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साले १२० थान कम्प्युटर, ल्यापटप, ३५ थान मोबाईल फोन र अन्य विधुतिय उपकरणहरू समेत ३ जना चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको हो । उनीहरुले सामाजिक सञ्जाल र मोबाइल फोनमार्फत नेपाल, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिकलाई विभिन्न प्रलोभनमा पारेर अनलाइन ठगी गर्दै आइरहेका थिए ।गिरोहमा अन्य कोको संलग्न छन भन्नेबारे थप अनुसन्धान अगाडी बढाएको प्रहरीले जनाएको छ ।
युवती बेचबिखनमा ९० वर्षको कैद सुनाइएका २ जना पक्राउ
काठमाडौं । एक लाख रुपैयाँका दरले तीन युवतीलाई बेचेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–४ घर भएका ३८ वर्षीय बच्चु विक सुनार र सोही ठाउँका ४७ वर्षीय दावा तामाङ भनिने दावा लामा रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बच्चुलाई ५ चैतमा कपनबाट र दावालाई १६ चैतमा टिकाथलीबाट पक्राउ परेको हो । उनीहरुले आकर्षक रोजगारीमा विदेश पठाइदिने भन्दै सिन्धुपाल्चोकका तीन युवतीलाई भारत लगेर १–१ लाख रुपैयाँका दरले बेचेको पाइएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले बताए । उनीहरुले ५ माघ २०६४ मा तीन जना युवतीहरुलाई काठमाडौंबाट वीरगञ्ज हुँदै भारतको शहिदनगर लगेर बेचेको आरोप छ । मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा उनीहरुविरुद्ध १ फागुन २०७८ मा फैसला भएको थियो । तीन वटा फरक–फरक मुद्दामा बच्चुलाई ३० वर्ष कैद र ३ लाख जरिवाना र दावालाई ६० वर्ष कैद र ६ लाख रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

