सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्ने बताएका छन् । अमेरिकी चेम्बर अफ कमर्सका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भएको भेटमा उनले निजी क्षेत्रको मनोबल बढाउने गरी सरकारले काम गरिरहेको बताए । 

लगानी सम्मेलनको वातावरण बनाउन लगानीसम्बन्धी ऐनका दर्जन प्रावधानमा संशोधन गर्न लागिएको र उक्त संशोधन वैदेशिक लगानी आकर्षित गर्न मात्र नभई आन्तरिक लगानीको वातावरण निर्माणका लागिसमेत भएको मन्त्री पुनको भनाइ थियो । 

मुलुकमा तीव्र आर्थिक विकासका लागि आन्तरिक श्रोत परिचालन मात्र पर्याप्त नहुने भएकाले बाह्य लगानी आकर्षित गर्नैपर्नेमा अर्थमन्त्रीले जोड दिए। 
नेपालमा लगानीको वातावरण बनाउनुपर्छ भन्नेमा राजनीतिक दलहरुबीच मतैक्य रहेको पनि मन्त्री पुनले स्पष्ट गरे । ‘सरकारले निजी क्षेत्रलाई ‘ड्राइभिङ’ सिटमै राखेर काम गर्ने हो’, मन्त्री पुनले भने, ‘सरकार र निजी क्षेत्रबीच आपसी साझेदारी र विश्वासका साथ काम गरौं भन्नेमै सम्माननीय प्रधानमन्त्री र मेरो जोड छ ।’ लगानी वातावरणका लागि नीतिगत निरन्तरता र स्थायित्व हुनुपर्नेमा सरकार स्पष्ट गरेको चर्चा गर्दै उनले पछिल्लो डेढ देशकमा जलविद्युत र सिमेन्ट उद्योगको विकासमा भएको प्रगतिको कारण नीतिगत स्थायित्व भएको उल्लेख गरे ।

नेपाल नेत्रज्योति संघको अध्यक्षमा पुनः प्रा.डा.पन्त

नेपाल नेत्रज्योति संघको अध्यक्षमा प्रा.डा चेतराज पन्त निर्वाचित भएका छन् । भरतपुरको चितवनमा सम्पन्न २८ औँ केन्द्रीय सभा तथा अधिवेशनले प्रा.डा. पन्तलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । नेपाल नेत्रज्योति संघ चितवन शाखाको आतिथ्यतामा चैत्र २३ र २४ गते चलेको अधिवेशनले प्रा.डा. पन्तको नेतृत्वमा आगामी ४ बर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो । संघको विधान बमोजिम २७ सदस्यीय कार्यसमितिमध्ये १ जना अध्यक्ष, १२ जना खुला सदस्य र २ जना महिला सदस्य गरी १५ सदस्य अधिवेशन मार्फत निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यहरुमा कृष्ण कुमार गिरी, चिज कुमार मास्के, दिव्य प्रसाद पन्त, द्रोणप्रसाद गुरागाई, डा. नन्द श्रेष्ठ, नर वहादुर रोकाया, पद्म नारायण चौधरी, बिष्णुदत्त जोशी, श्यामकुमार पोखरेल, भरत बहादुर चन्द, भागवत राउत, वरिष्ठ अधिवक्ता हरि प्रसाद शर्र्मा, मन्जु कण्डेल र प्रा.डा. सविना श्रेष्ठ निर्विरोध निर्वाचित भए । निर्वाचित सदस्यहरुमध्ये बाट नै पदाधिकारीहरुको कार्यविभाजन गर्ने व्यवस्था बमोजिम अधिवेशन लगत्तै बसेको केन्द्रिय समिति बैठकले संघको बरिष्ठ उपाध्यक्षमा श्यामकुमार पोखरेल, महासचिवमा भरतबहादुर चन्द र कोषाध्यक्षमा चिजकुमार मास्केलाई जिम्मेवारी तोकिएको छ । त्यस्तै संघका सातवटै प्रदेशका प्रदेश सभापतिहरु केन्द्रिय कार्यसमितिको पदेन उपाध्यक्ष रहने व्यवस्था बमोजिम कोशी प्रदेश सभापति श्याम सुन्दर उदास, मधेश प्रदेश सभापति रबिन्द्रलाल चौधरी, वाग्मती प्रदेश सभापति ऋषिराम पौडेल, गण्डकी प्रदेश सभापति प्रा.डा.दिलबहादुर क्षेत्री, लुम्बिनी प्रदेश सभापति सागरप्रताप राणा, कर्णाली प्रदेशका सभापति तिलकबहादुर मल्ल र सुदुरपश्चिम प्रदेश सभापति चक्र बहादुर सिंह केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा चयन हुनु भएको छ भने बाँकी सदस्यहरु केन्द्रीय समितीले मनोनित गर्नेछ । संघ अन्तरगत देशभरमा २८ आँखा अस्पताल, १५६ आँखा उपचार केन्द्र तथा ४३ जिल्ला शाखाहरु संचालनमा छन् । स्थापना देखि हालसम्म संघको संजाल मार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिकहरु गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीहरुलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । त्यस्तै सभाले महासचिव र कोषाध्यक्षको प्रतिवेदन, गत आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन पारित गर्नुको साथै चालु आर्थिक वर्षका लागि लेखा परिक्षक नियुक्तिको प्रस्ताव समेत पारित गरिएको छ ।

टी–२० विश्वकपका लागि नेपालको नयाँ जर्सी सार्वजनिक

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी–२० विश्वकपका लागि राष्ट्रिय टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपालको नयाँ जर्सी सार्वजनिक गरेका हुन् । क्यानले विश्वकपमा केल्मीले निर्माण गरेको नयाँ जर्सी प्रयोग गर्ने भएको हो ।  टी–२० विश्वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ। नेपाली टोलीले सन् २०१४ पछि दोस्रोपटक विश्वकपमा सहभागिता जनाउन लागेको हो।  विश्वकपमा नेपालसहित २० टोलीले सहभागिता जनाउँदै छन्। नेपाल रहेको समूह डीमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन्। शीर्ष दुईमा रहने हरेक समूहका दुई दुई टोली सुपर आठ मा पुग्नेछन्।  

डोल्पामा डढेलो नियन्त्रणका क्रममा घाइते सैनिक जवानको निधन

काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित मस्टाभवानी सामुदायिक वनको लागेको डढेलो नियन्त्रणका क्रममा घाइते भएका नेपाली सेनाका एक जवानको निधन भएको छ । जिल्ला अस्पताल दुनैमा उपचारका क्रममा सैनिक जवान २८ वर्षीय हेमन्त रावलको निधन भएको हो । अर्का घाइते ३८ वर्षीय केशर मगरको अवस्था गम्भीर छ । उनीहरूलाई आजै हेलिकप्टरबाट सुर्खेत ल्याउने तयारी गरिएको थियो । तर, रात परेपछि हेलिकप्टर अवतरण नसक्दा सो सम्भव हुन सकेन । आइतबार दिउँसोदेखि वनमा लागेको डढेलो हुरीका कारण नियन्त्रणभन्दा बाहिर गएको थियो । नियन्त्रणमा लागि नेपाली सेनाको टोली खटिएको थियो ।

एपीएफको केन्द्रीय स्टोरमाआगलागी, छानबिन गर्न समिति गठन

काठमाडौं । काठमाडौंस्थित सतुंगलमा रहेको सशस्त्र प्रहरी बल (एपीएफ)को केन्द्रीय स्टोरमा भएको आगलागी सोमबार साँझ भएको छ । आगलागि लगत्तै त्यसबारे छानबिन गर्न समिति गठन गरिएको छ । सोमबार सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरिएको हो । सोमबार साँझ आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाएका थिए । आइतबार अपराह्नतिर भएको आगलागी विद्युत् सर्ट भएर हुन सक्ने आशंका गरिएको छ । आगो नियन्त्रणमा लागि नियन्त्रणका लागि आठवटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार स्टोरमा देशभरका सशस्त्र प्रहरीका लागि चाहिने जिन्सी सामान राखिएको थियो ।

भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम

भरतपुर । चितवनको भरतपुर महानगरपालिका र कालिकोट पचालझरना गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सोमबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच भगिनी सम्बन्ध कायम गरिएको हो । भरतपुर महानगर प्रमुख रेनु दाहाल र पचालझरना गाउँपालिका अध्यक्ष देवराज शाहीले समझदारी पत्रमा हस्ताक्षर गरे । दुई स्थानिय तहका प्रमुखले ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरेर भगिनी सम्बन्ध अगाडि बढेको जनाइएको छ ।दुई स्थानिय तहको विका स र समन्यवयका लागि दुई स्थानीय तह बीचमा औपचारीक कार्यक्रम गरेर भगिनी सम्बन्ध कायम गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन्। कार्णालीको सबैभन्दा विकट मानिएको पचालभरना गाउँपालिका र सुगम जिल्ला चितवनको भरतपुरबीच भगिनी सम्बन्ध स्थापित हुन एक ऐतिहासिक कार्य भएको प्रमुख दाहालले बताइन्। पचालभरना गाउँपालिका र भरतपुरबीच आर्थिक, साँस्कृतिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा सहकार्य र समन्यव गरी अगाडि बढ्ने प्रमुख दाहालको भनाई छ । कार्यक्रममा बोल्दै पचालझरना गाँउपालिकाका अध्यक्ष देवराज शाहीले भरतपुरमा भएका असल अभ्यासको सिको गर्दै गाँउपालिकाको थप विकास र समृद्धिका लागि अघि बढ्ने बताए। अध्यक्ष शाहीले गाँउपालिकालाई आउने समानिकरण बजेट न्युन रहेकाले आवश्यकता अनुसार विकास गर्न सम्भव नरहेको उल्लेख गरे । भरतपुर महानगरसँगको भगिनी सम्बन्धपछि गाँउपालिकाले विकास र समृद्धिको बाटो थप मद्दत पुग्ने विश्वास व्यक्त गरे। सो समझदारी पत्रमा भरतपुर महानगरपालिका र पचालझरना गाँउपालिकामा रहेका मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरुको महत्व र विशेषताका आधारमा दुवै स्थानीय तहबाट प्रचार–प्रसार गरिने उल्लेख गरिएको छ ।    दुई स्थानीय तहमा उत्पादित मौलिक कृषि उपजहरुलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरुलाई विभिन्न तालिम तथा भ्रमण लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने, उद्यमशीलतामा बृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्धमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउन विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रबर्द्धन र विकास गर्नेलगायतका विषय समझदारी पत्रमा उल्लेख गरिएको छ । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार राना, पचालझरना गाँउपालिकाका उपाध्यक्ष अल्किना बमलगायत दुबै पालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

गजामा युद्धविरामको तयारी, सेना फिर्ता

एजेन्सी । इजराइलले गजाको दक्षिणी भूभागबाट केही सेना फिर्ता गरेको छ।अमेरिका लगायत अन्य सहयोगी राष्ट्रहरूको चेतावनी र दबाबपछि इजराइलले आइतबार गजाको दक्षिणी खान युनिश सहरमा परिचालित थलसेनालाई फिर्ता गरेको हो। समाचार संस्था रोयटर्सका अनुसार अब त्यहाँ इजराइली डिफेन्स फोर्स (आइडिएफ)को एउटा ब्रिगेडमात्रै राखिने छ । गजा क्षेत्रमा युद्धविरामको तयारी गरीएको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले त्यस क्षेत्रमा युद्धविराम गर्ने प्रस्ताव पास गरेको थियो । युद्धविरामको इजिप्टले मध्यस्तता गर्ने तयारी भएको छ । इजरायलको प्रमुख सहयोगी राष्ट्र अमेरिकाले केही दिनअघि उसलाई गजामा हमासविरूद्ध आक्रमण गर्दा त्यहाँका नागरिकलाई क्षति नपुर्‍याउन र मानवीय सहायताका कार्यहरूलाई असुरक्षा पुर्याउने गतिविधि नगर्न चेतावनी दिएको थियो।  

संसदको अवरोध हटाउन सभामुख र शीर्ष नेताहरूको बैठक जारी

काठमाण्डौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक अवरुद्ध हुन नदिन प्रमुख दलका नेताहरूसँग परामर्शमा छन् ।आज दिउँसो २ बजेदेखि सिंहदरबारमा बोलाइएको बैठकमा नेताहरूसँग छलफल भइरहेको छ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सदनमा निरन्तर गृहमन्त्री रवि लामिछानेको सहकारी संलग्नता सम्बन्धमा संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दैआएको छ । सो माग पूरा नभए चैत २७ देखि संसद् बैठक अवरुद्ध गर्ने चेतावनी सो दलले दिएको छ । बैठक अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रमुख चार दलका नेताहरूसँग छलफल भइरहेको सभामुखको सचिवालयको भनाइ छ । सभामुखले अहिले प्रधानमन्त्रीसहित प्रमुख चार दलका शीर्ष नेताहरूसँग छलफल गरिरहेको सचिवालयका सदस्यहरूको भनाइ छ । बैठक सभामुखको कार्यकक्ष सिंहदरबारमा बसिरहेको छ ।

डढेलो निभाउने क्रममा सेनाका चारजना गम्भीर घाइते

काठमाडौं । डोल्पाको दुनही सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा सोमबार चार सुरक्षाकर्मी घाइते भएका छन् । डढेलो निभाउन गएका सेनाका चारजना घाइते भएको डोल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिकृष्ण केसीले जानकारी दिए । उनीहरू गम्भीर घाइते छन् । घाइतेहरूको उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी भइरहेको केसीले बताए । डढेलो निभाउन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खटिएका छन् । 

जनतामा आशा जगाउने काम गर्छौं : मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम गर्ने बताएका छन्।  प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री गिरीले भने– “केही वर्षयता सरकार र राजनीतिक पार्टीप्रति जनतामा पैदा भएको निराशालाई मेटेर सरकार र दलहरूप्रति हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने छौँ ।” सङ्कटमा आएको सरकार भएकाले जनतामा आशा जगाउने काम गरेरै छाड्ने उनको भनाइ थियो ।  देशको अर्थतन्त्र धराशायी, विकास निर्माणको काम सुस्त, सुशासन प्राप्त गर्न नसक्नु, निर्माणाधीन काम अलपत्र र व्यवसायी सङ्कटमा परेको वर्तमान अवस्थामा यसलाई कसरी सुधार गरेर अगाडि बढ्ने भन्ने बारेमा सरकार चिन्तित रहेको मन्त्री गिरीले बताए। उनले भने, “देशको अर्थतन्त्रलाई चलायमान र जनतामा समृद्धि ल्याउन सरकार सक्रिय भएर लाग्छ ।”  सङ्घीय सरकारद्वारा अधिकांश कानुन बनाउन बाँकी रहेको अवस्थामा संसदीय समितिलाई सक्रिय बनाउँदै छिटोभन्दा छिटो सङ्घीयता र नेपाली जनतालाई अनुकूल हुने ऐन कानुन ल्याउने मन्त्री गिरी बताए । उनले ऐन कानुन निर्माण गर्दा नेपाली जनताका सुझाव पनि सङ्कलन गरिने र उपयुक्त सुझावलाई समेट्ने जानकारी पनि दिए।  वर्तमान समयमा सहकारी संस्थामा देखापरेको बचतकर्ताको पैसा अपचलनका बारेमा संसद्मा नेपाली कांग्रेसका सांसदहरुले संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग राख्दै आएको उल्लेख गर्दै मन्त्री गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताए। “संसदीय छानबिन समिति सहकारीको हिसाब किताब मिलाउन हिँड्ने हैन, त्यो अधिकार राज्यका अन्य निकायलाई छाडौँ”, उनले भने, “सहकारीका दोषीलाई कारबाही गरी सम्पूर्ण बचतकर्ताको रकम जस्ताको तस्तै उनीहरुलाई फिर्ता दिनुपर्छ ।” 

सुनसरीका दुईवटा पालिकामा फेरि कर्फ्यु

काठमाडौं । तनाब नघटेपछि सुनसरीका दुई गाउँपालिकामा फेरि पनि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। हरिनगर गाउँपालिका क्षेत्र र देवानगन्ज गाउँपालिका क्षेत्रमा अर्को सूचना जारी नभएसम्मलाई कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जानकारी दिएको छ। शुक्रबारदेखि जारी गरिएको कर्फ्युलाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। सामाजिक, धार्मिक, राजनीतिक सभा, –याली तथा भेला एवम् प्रदर्शन गर्ने लगायतका कुनै पनि कार्यक्रम नगर्नेरनगराउने गरी कर्फ्यु आदेश जारी गरिएको हो। यसअघि इनरुवा नगरपालिका क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिका क्षेत्र र कोशी गाउँपालिका क्षेत्रमा बिहान १० बजेसम्मका लागि कर्फ्यु जारी भएको थियो। हिन्दु र मुस्लिम समुदाय झडपमा उत्रिएपछि बनेको अवस्थालाई नियन्त्रणमा लिन शुक्रबारदेखि नै जिल्लाका विभिन्न स्थानमा कर्फ्यु जारी भएको थियो। इनरुवा नगरपालिका, भोक्राहा गाउँपालिका र कोशी गाउँपालिका क्षेत्रमा भने स्थानीय प्रशासनले सोमबार बिहान १० बजेदेखि कर्फ्यु खुकुलो बनाएको छ । 

भिक्षुमाथि लात्ती हान्ने प्रहरीलाई विभागीय कारबाही हुने

काठमाडौं । शनिबार काठमाडौंको भद्रकालीमा राजेन्द्र महतोको नेतृत्वमा भएको प्रदर्शनका क्रममा बौद्ध भिक्षुहरूमाथि लात्ती(मुक्का हान्ने प्रहरीलाई विभागीय कारबाही हुने भएको छ। महतो नेतृत्वको समूहले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा प्रहरीमाथि ढुंगामुढा भए पछि भिड नियन्त्रणमा खटिएको प्रहरीले प्रदर्शनकारीलाई लखेटेका थिए। लखेट्ने क्रममा भिक्षुको भेषमा रहेका केही व्यक्तिमाथि लात्ती(मुक्का हानिएको थियो।  भिक्षुको भेषमा रहेकाहरूलाई दुर्व्यवहार र कुटपिटमा संलग्न प्रहरीमाथि विभागीय कारबाहीमा गरिने प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।  भिक्षुमाथि दुर्व्यवहार गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही प्रक्रिया अगाडि बढाइएको नक्सालले आज सोमबार जनाएको हो।  प्रहरी प्रधान कार्यालयले त्यस प्रकरणबारे गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता घटना पुनरावृत्ति हुन नदिन गम्भीर रहेको पनि जनाएको छ । शनिबार दिउँसो राजेन्द्र महतो र सुमन सायमी नेतृत्वको राष्ट्रिय मुक्ति अभियानले निषेधित क्षेत्र भद्रकालीमा प्रदर्शन गरेको थियो। निषेधित क्षेत्र तोड्ने क्रममा भएको झडपमा प्रहरीमाथि प्रदर्शनकारी जाइ लागेपछि प्रहरीले बल प्रयोग गरेको थियो । सोही क्रममा एकजना भिक्षुलाई प्रहरीले लात्ती र मुक्का बर्साएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

कांग्रेस संसदीय दलको बैठक मंगलबार बस्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक मंगलबार बिहान बस्ने भएको छ । संसदीय दलको बैठक बस्नुअघि मंगलबार बिहान कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मंगलबार बिहान साढे ७ बजे बस्ने काङ्ग्रेसले जनाएको छ। संसदीय दल कार्यसमितिको बैठकले एजेन्डा तय गरेपछि दलको बैठक बिहान ८ बजे  नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने बताइएको छ ।

शीर्ष नेताहरूसँग छलफल गर्दै सभामुख

काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेताहरूलाई छलफलको लागि बोलाएका छन् ।  आजै बिहान साढे १० बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आह्वान गरिएको थियो । तर, विभिन्न कारणले बैठक दिउँसो २ बजे बस्ने भएको सभामुखको सचिवालयले जानकारी गराएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठक अवरुद्ध गर्ने चेतावनी दिएका विषयमा सभामुखले प्रमुख चार दलका शीर्ष नेताहरूसित छलफल गर्न लागेका हुन् । छलफलका निम्ति सभामुखले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बोलाएका छन् । सहकारीको रकम ठगी प्रकरणमा गृहमन्त्री लामिछाने मुछिएको भन्दै कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ । छानबिन समिति नबनाइए भोलिदेखि संसद् बैठक अवरुद्ध गर्ने कांग्रेसले चेतावनी दिएको छ ।सभामुखले बोलाएको बैठकबारे रास्वपाले हिजो संसदीय दलमा छलफल गरेका थिए ।

प्रदर्शन नरोकिएपछि सुनसरीमा कर्फ्यु कायमै

काठमाडौं । सुनसरी जिल्लाका विभिन्न पालिकामा लगाइएको कर्फ्यु आंशिक रूपमा कायमै छ । हरिनगर गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नम्बर १ र ७ मा कर्फ्यु कायमै राखिएको छ । इनरुवा नगरपालिका, कोशी गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका र देवानगन्ज गाउँपालिकाको वडा नं. २, ३, ४, ५ र ६ मा सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । आइतबार दिउँसो फेरि प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले कर्फ्युको समय थप गरेको हो । हरिपुरमा प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाईफायर र २९ सेल अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुंगामुढा प्रहार गर्नुका साथै कुटपिट गर्दा प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीसहित नौ प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले हरिनगर बजारको एउटा घरमा तोडफोड गर्नुका साथै आगो लगाउने प्रयास गरेका थिए । प्रदर्शनमा घुसपैठ तथा हिंसात्मक हुन थालेपछि शान्ति सुव्यवस्था कायम राख्न सुरक्षा कडा पारिएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए । गत बिहीबार हरिनगर गाउँपालिकामा दर्जनभन्दा बढीको संख्यामा रहेको समूहले स्थानीय युवालाई मरणासन्न हुने गरी कुटपिट गरेपछि अवस्था असामान्य बनेको हो । दुई समूहबीच भएको कुटपिटका कारण सामाजिक सद्भाव भड्किन नदिन बिहीबारदेखि कर्फ्यु लगाइएको हो । 

काठमाडौं उपत्यकामा आज घोडेजात्रा मनाइँदै

काठमाडौं । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदैछ । हरेक वर्ष चैत कृष्ण औँसीका दिन विभिन्न कार्यक्रम गरी घोडेजात्रा पर्व मनाउने परम्परा रहि आएको छ । घोडेजात्राका अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गर्नेछ । नेपाली सेनाले आयोजना गर्ने विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता हुने गर्दछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको मान्यता छ । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने राजधानीवासीमा विश्वास छ । घोडेजात्राको अवसरमा सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ ।