सातजनाको हत्या अभियोगमा मोष्ट वानटेड सकिललाई नेपाल ल्याइयो

काठमाडौं, फागुन २० । सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ ।

सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।

इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।

पक्राउ परेका हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

मुख्यमन्त्री र राजदूतबीच शिष्टाचार भेट

धनगढी । नेपालका लागि अमेरिकी राजदूत अलैना बी टेप्लिज र प्रदेश नं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आज शिष्टाचार भेट भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिनुभएको थियो । राजदूत टेप्लिज अमेरिकी सहयोग नियोग युएसएआइडीद्वारा सञ्चालित गतिविधिको अनुगमनका क्रममा यहाँ आइपुग्नुभएको मन्त्रिपरिषद्को कार्यालयका मुख्य सचिव लक्ष्मीराम पौडेलले जानकारी दिनुभयो । रासस

पिकअप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलाम नगरपालिका–४ खरखरेमा आइतबार अपराह्न पिकअप दुर्घटना हुँदा इलाम नगरपालिका–५ का २९ वर्षीय चालक टीका मुखियाको मृत्यु भएको छ । पुवाखोला छेउ (बेँसी) बाट बिब्ल्याँँटे आउँदै गरेको पिकअप दुर्घटनामा घाइते तामाङलाई इलाम अस्पताल ल्याउँदै गर्दा बाटामा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मे१ज १६७३ नंको पिकअप मेची राजमार्ग छेउ कच्ची सडकमा दुर्घटनामा परेको थियो । पिकअपमा पाँच जना सवार भए पनि अन्यको अवस्था सामान्य रहेको बताइएको छ । रासस

बेनीका बैंकमा तरलताको अभाव

म्याग्दी । जिल्लामा रहेका बैंकका शाखामा तरलताको अभाव देखिएको छ । बैंक तथा वित्तीय संस्थामा निक्षेपको दर घटेको र कर्जा लगानीको माग बढेकाले बचतकर्ता खोज्न बैंकले घरदैलो गर्न थालेका हुन् । विप्रेषणमा आश्रित जिल्लाको अर्थतन्त्रमा विप्रेषण घट्न थालेपछि बैंकहरूमा तरलता अभाव देखिन थालेको गण्डकी विकास बैंकका बेनी शाखा प्रबन्धक कुमार ढुङ्गानाले बताउनुभयो । “विप्रेषण घटेको र सरकारी खर्च अपेक्षाकृत नहुँदा बजारमा तरलता अभाव भएको हो”, उहाँले भन्नुभयो, “निक्षेप संकलनमा लक्ष्य पूरा गर्न सहकारीका बजार प्रतिनिधिको भन्दा धेरै दौडधुप छ ।” बेनीस्थित विभिन्न बैंकका १८ वटा शाखाले चालू आवको पहिलो छ महिनामा रु दुई अर्ब ३२ करोड ३६ लाख निक्षेप संकलन तथा रु तीन अर्ब २८ करोड २० लाख लगानी भएको जनाएका छन् । यो निक्षेप संकलनभन्दा ४१ प्रतिशतले बढी हो । बैंकमा जम्मा भएको निक्षेप संकलन लक्ष्यको ४० प्रतिशतको हाराहारी रहेको बैंकहरूले जनाएका छन् । राष्ट्रिय वाणिज्य बैंकमा असार मसान्तमा रु १५ करोड निक्षेप रहेकामा पुस मसान्तसम्ममा उल्टो ऋणात्मक भएर रु १२ करोड ९५ लाखमा खुम्चिएको छ । कृषि विकास बैंकको अवस्था पनि उस्तै छ । विप्रेषणको अधिकांश रकम खाद्यान्न र विलासी उपभोग्य क्षेत्रमा खर्च हुने गरेको छ । नेपालीको प्रमुख श्रम गन्तव्य खाडी मुलुक कतारको समस्याका कारण घटेको विप्रेषण जापान, अस्टे«लियालगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीमार्फत फिर्ता हुने क्रम बढेकाले जिल्लामा तरलताको अभाव भएको गरिमा विकास बैंकका बेनी शाखा प्रबन्धक कमल ढुङ्गानाले बताउनुभयो । जिल्लामा रहेका सबै बैंकको पहिलो कर्जा लगानी फेन्सी पसल, किराना पसल, गाडी र व्यक्तिगत ऋणमा गरेको अवस्था छ । कुनै पनि बैंकले ठूलो लगानी भएको औद्योगिक एवं व्यावसायिक क्षेत्रमा लगानी गरेका छैनन् । एकाध बैंकले कृषि, घर निर्माण, ठेक्कापट्टा र शैक्षिक कर्जामा लगानी गरेका छन् । कृषि क्षेत्रमा लगानी गरिएको भनिए पनि जिल्लामा व्यावसायिक कृषि फार्म नगन्य संख्यामा छन् । “स्थानीय तहमा जनप्रतिनिधि आएपछि विकास गतिविधि बढ्ने र अर्थतन्त्र चलायमान हुने अपेक्षा विपरीत सरकारी बजेट कम भयो । विप्रेषणबाट आएको रकम पनि बैंकको च्यानलमा नआई बाहिरिएपछि वित्तीय प्रणाली प्रभावित भएको हो”, माछापुच्छ«े बैंकका शाखा प्रबन्धक श्रीधर ढुंगानाले भन्नुभयो, “वित्तीय साक्षरता न्यून र सानो बजारमा सीमित ग्राहक तानातानको अवस्था छ ।” जिल्लामा भित्रिने विप्रेषणमध्ये बचेको रकम जिल्लाबाट पोखरा, चितवन र विदेशतर्फ पलायन भएकाले बैंकमा निक्षेप घटेको हो । बैंकको ब्याजभन्दा बचत तथा ऋण सहकारीले बढी ब्याज दिने भएकाले बचतकर्ता बैंकमा भन्दा सहकारीतर्फ आकर्षित छन् । सहकारीबाट कर्जा लिनसमेत सजिलो हुने भएकाले साना व्यवसायी बैंकको पहुँचमा छैनन् । म्याग्दी बहुमुखी क्याम्पसको अर्थशास्त्र विषयका प्रध्यापक भोलानाथ घिमिरेले तरलता अभावको समस्या समाधानका लागि सरकारी निकायले पूँजीगत खर्च वृद्धिसँगै वैदेशिक रोजगारीमार्फत भित्रिने विप्रेषणलाई जिल्लामै उत्पादनशील क्षेत्रमा परिचालन हुने वातावरण बनाउनुपर्ने बताउनुभयो । लिफ्ट प्रविधिको खानेपानी आयोजना मालिका गाउँपालिका–७ बिममा लिफ्ट प्रविधिको खानेपानी आयोजना निर्माण शुरु भएको छ । मालिका गाउँपालिकामार्फत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाअन्तर्गत रु एक करोड ४३ लाख एक हजारको लागतमा बिम लिफ्ट खानेपानी तथा सरसफाइ आयोजना निर्माण शुरु भएको हो । विसं २०७५ जेठ १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सो आयोजनाबाट बिमको नौरु, तल्लोगाउँ र अस्तवाङका १११ घरधुरी लाभान्वित हुने उपभोक्ता समितिका अध्यक्ष धनबहादुर जुक्जालीले बताउनुभयो । बिम गाउँको फेदीमा रहेको बिबोटखोला र जुगेपानीको मुहानको पानी सौर्य ऊर्जाको सहायताले पम्पिङ गरेर जोगीबिसौनामा निर्माण हुने रिजर्भ ट्याङ्कीमा पु¥याएर निजी धारामार्फत घर घरमा वितरण गरिनेछ । सामुदायिक विद्यालय, मन्दिर, आमा समूह, युवा क्लबको कार्यालयलगायत आठ ठाउँमा थप निजी धारा जडान गरिने भएको छ । बिबोटखोलाको मुहानदेखि जोगीबिसौनासम्मको उचाइ २४० मिटर छ । नेपाल सरकार, फिनल्याण्ड सरकार र गाउँपालिकाको अनुदानमा निर्माण हुने उक्त आयोजनामा उपभोक्ताको श्रम तथा वस्तुगत गरेर रु २७ लाख ६९ हजार बराबरको लागत रहेको परियोजनाले जनाएको छ । मुख्य र शाखा पाइपलाइन निर्माणका लागि श्रमदानमा जुटेका बिमका बासिन्दाले आयोजना निर्माण भएपछि राहत मिल्ने अपेक्षा गरेका उपभोक्ता बलबहादुर जुक्जाली बताउनुहुन्छ । दुईवटा इन्टेक, आठवटा पानी संकलन ट्याङ्की, ११९ धारा र नौ हजार ९०९ मिटर पाइपलाइन रहने परियोजनाले जनाएको छ । बिममा ४१६ घरधुरीको बसोबास छ । रासस

नेपाली शान्ति सेनाको प्रशंसा

काठमाडौँ । द्वन्द्वग्रस्त अफ्रिकी मुलुक दक्षिणी सुडानको येइ नगरका बासिन्दाले नेपाल र इथियोपियाका शान्ति सैन्यले बितेका महिनामा शान्ति सुव्यवस्था कायम गरेकामा प्रशंसा गरेका छन् । येइ आधार इलाकाबाट खटिएका राष्ट्र संघका शान्ति सेनाका कारण केही महिनायता नगर क्षेत्रमा तुलनात्मक रुपमा शान्तिसुरक्षाको अवस्था सुदृढ भएको अनुभूति उक्त नगरका बासिन्दाले प्रकट गरेको राष्ट्रसंघीय सूचना केन्द्रले आज जनाएको छ। गत पुसदेखि येइ क्षेत्रमा राष्ट्रसंघीय शान्ति सेनाले शिविर स्थापना गरी कार्यक्षेत्रमा नियमित गस्तीलगायत सुरक्षा सतर्कताका उपाय प्रभावकारी तुल्याउँदै आएको छ । रासस

प्रदेश नं ४ र ५ जोड्ने मार्ग खुला

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बर्दघाटदेखि नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) दुम्किवास जोड्ने मार्ग खोलिएको छ । प्रदेश नं ५ बर्दघाटदेखि प्रदेश नं ४ दुम्किवास जोड्ने भित्री पहाडी सडकको मार्ग खोलिएपछि पहाडी क्षेत्रमा आफूहरुलाई सहजता हुनेमा स्थानीयवासी आशावादी बनेका छन् । बर्दघाट नगरपालिका वडा नं १० अपरदीप टोल भुताहादेखि आमबास, संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवास जोड्ने १४ किमी मार्ग नगरपालिकाको रु १५ लाख लगानीमा सम्पन्न भएको बर्दघाट नगरपालिकाका प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने र दुम्किवास सडकखण्डको वैकल्पिक सडकका रुपमा ट्र्याकलाई स्तरोन्नति गरी विकास गर्न सकिने अवस्था छ । बर्दघाट १० अपरदीप टोल भुताहादेखि आमबास हुँदै संसारकोट हुक्सेदमार पटकके हुँदै विजयी त्रिवेणी गाउँपालिका दुम्किवाससम्म मार्ग खोलिएर सवारी साधन वारपार गर्न सकिने बनाइएको छ । विशेष गरी पहाडी क्षेत्रमा पर्ने सो सडकको स्तरोन्नति भएमा प्रदेश नं ४ र ५ जोड्ने नवलपरासीमा सबैभन्दा छोटो र भरपर्दो वैकल्पिक भित्री सडकका रुपमा विकास हुने सम्भावना देखिएको हो । सो सडकको स्तरोन्नति भएपछि प्रदेश नं ४ र प्रदेश नं ५ दुवै प्रदेशका पहाडी क्षेत्रमा उत्पादित कृषिजन्य वस्तुले पर्याप्त बजार पाउने छ । रासस

प्रधानन्यायाधीशलाई महाअभियोग नलगाए २९ गतेदेखि अनशन : डा केसी

काठमाडौं, फागुन १९ । प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न त्रिविका वरिष्ट चिकित्सक प्राडा गोविन्द केसीले सरकारलाई दस दिने अल्टिमेटम दिएका छन् । प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुनः सत्याग्रह सुरु गर्ने डा केसीले घोषणा गरेका हुन । न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको डा केसीले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस्तै, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा। केसीको माग छ । चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

केराखेतीतर्फ किसानको आकर्षण बढ्दो

बर्दिवास, फागुन १९ । महोत्तरी जिल्लाका उत्तरवर्ती क्षेत्रका किसान ‘व्यावसायिक केराखेती’तर्फ आकर्षित भएका छन् । कम लागतमा बढी उत्पादन दिन थालेपछि जिल्लाका बर्दिवास, भंगाहा, गौशाला र औरही नगरपालिकाका किसान व्यावसायिक केराखेतीतर्फ आकर्षित भएका हुन् । उन्नत् जातको केराखेती गरेर उनीहरु राम्रो आम्दानी लिन थालेका छन् । परम्परागत रुपमा लगाइँदै आइएका मिर्चमान, झपरी, बत्तिसा र स्थानीय मालभोगलगायतका केराको ठाउँमा अब किसान खासगरी रोवेष्ट्रा र उन्नत् मालभोग जातको केराखेतीतर्फ बढी आकर्षित भएका छन् । सानो रुख, धेरै हाता लाग्ने ठूलो घरी र स्वादिष्ट भएकाले रोवेष्ट्रा जातको केरा धेरै किसानको रोजाइँमापर्ने गरेकोछ । पछिल्ला पाँच वर्षदेखि व्यावसायिक केराखेती गर्दैआएका भंगाहा–४ का किसान सत्यनारायण यादवले आफ्नो प्लटमा उन्नत् मालभोग र रोवेष्ट्रा जातको केरामात्र रहेको बताउनुभयो । अहिले एक बिघा क्षेत्रफलमा केराखेती गर्नुभएका यादवले पछिल्ला तीन वर्षमा बर्सेनी रु एक लाखभन्दा बढी आर्जन भएको जानकारी दिनुभयो । रोवेष्ट्रा जातको केराको सानो रुख भएका कारण हावाहुरु र फल लाग्दा ढल्ने सम्भावना कम हुने तथा स्वादिष्ट हुनेहुनाले यसको बजार माग बढेको किसानको दाबी छ । रोपेको नौ महिनामा नै पहिलो उत्पादन लिन सकिने भएकाले रोवेष्ट्रा केरा व्यवसायिक खेतीका लागि उपयुक्त भएको किसानको भनाइ छ । एक कठ्ठामा ८० वटा रुख लगाउन सकिने यो केरा स्वादकै कारण उपभोक्ताको पहिलो छनोटमापर्ने भएकाले बिक्रीमा कुनै समस्या भोग्नु नपरेको भंगाहा—६ हतिसर्वा झपौलका किसान छठु महरा बताउनुहुन्छ । कम मेहनत र थोरै लगानीमा गर्न सकिने केराखेतीमा पछिल्लो पुस्ताका युवा किसान बढी सक्रिय भएको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ । जिल्लाका बर्दिवास नपाका पशुपतिनगर, पुूलबारीटोल, भंगाहा नपाको रामनगर, हतिसर्वा, गौशाला नपाको बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर तथा औरही नपाका भोइल, सोनामाइ र श्रीपुरसहितका बस्ती केराखेतीका लागि पकेट क्षेत्र मानिन्छन् । अहिले जिल्लामा करिब १०० हेक्टर जग्गामा व्यावसायिक रुपमा केराखेती हुँदै आएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत ओमप्रकाश विराजीले बताउनुभयो । एकपटक लगाएको केराले काँटछाँट र उपचार पाइरहे पाँच वर्षसम्म उत्पादन दिने फलपूmल विज्ञको भनाइ छ । जिल्लामा अहिले दैनिकजसो केराखेतीबारे परामर्श लिने किसान बढी रहेका छन् । केरा खेतीमा किसानको अभिरुचि र चासो बढ्न थालेकाले अन्य उन्नत् जातका केराका बिरुवासमेत कार्यालयले खोजी गरेर किसानलाई उपलब्ध गराउने तयारी शुरु गरेको वरिष्ठ कृषि विकास अधिकृत विराजीले जानकारी दिनुभयो । केरा तरकारी र फलका रुपमा खाइने भएकाले दुबै उद्देश्यका लागि फरक÷फरक जातका केरा लगाइनुपर्ने विज्ञले जनाएको छ । केरा तरकारीका लागि स्वादिष्ट, स्वास्थ्यवर्धक र आम उपभोक्ताको रोजाइँमापर्ने भएकाले यो प्रयोजनका लागि बत्तीसा र झपरी जातका स्थानीय केराको खेती उत्तम हुने लामो समयसम्म कृषि सेवामा संलग्न रही अवकास लिनुभएका भंगाहा—६ हतिसर्वा सग्रामपुरका किसान जासर यादवको अनुभव छ । फलका लागि भने आम उपभोक्ताको जिब्रोमा स्थानीय मालभोग जातको केरा झुण्डिएकाले यसको व्यावसायिक विकासका लागि जिल्ला कृषि विकास कार्यालयले थप पहल गरिदिनुपर्ने आवश्यकता देखिएको किसान जासरको सुझाव छ । उन्नत् जातमा भने जिल्लाको हावापानीमा रोवेष्ट्रा खुबै फस्टाएको र यस्को बजार माग पनि राम्रो रहेको कृषि विज्ञ र किसान दुबैले बताएका छन् । फल खाने प्रयोजनमा मालभोगको माग र भाउ दुबै उच्च भए पनि बोटमा अतिनै रोगको संक्रमण हुने भएकाले यस्को खेतीमा निक्कै जोखिम रहेको किसानको गुनासो छ । जिल्लामा कृषि कार्यमा समूचित सल्लाह, रेखदेख, अनुगमन र उपचार सेवाका लागि जिल्ला कृषि कार्यालय, कृषि सेवा केन्द्र र उपकेन्द्र भए पनि ती कार्यालयबाट नियमित अनुगमन नभएको, सल्लाह सुझावका लागि खोज्दा विज्ञ फेला नपर्ने गुणासो किसानको छ । केराखेतीलाई व्यावसायीकरण गर्न तरकारी र फलका लागि छुट्टै योजना बनाएर किसानलाई अभिपे्ररित गर्न प्रामाणिक बिरुवा उपलब्ध गराइदिन, खेतीको प्रविधि सिकाउन, उत्पादन भण्डारणको समुचित प्रबन्ध मिलाउन र बजार व्यवस्थापनमा सहयोग पु¥याउन जिल्ला कृषि विकास कार्यालयले प्रत्यक्ष नेतृत्व लिइदिनुपर्ने किसानको माग छ । किसानले खोजेका बेला कार्यालयबाट प्रवाहित हुने खेती सम्बन्धी सबै सहयोगका लागि जिल्ला कृषि विकास कार्यालय तयार रहेको जनाएको छ ।

माटोको ढिस्कोले पुरिएर दुईको मृत्यु

बझाङ, फागुन १९ । बझाङको खप्तड छान्ना गाउँपालिका ३ मा माटोको ढिस्कोले पुरिएर दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तडछान्ना गाउँपालिका–३ की ३० वर्षीया रतनादेवी पाध्या र वडा नम्बर २ की २८ वर्षीया सरितादेवी जोशी रहेका छन् । घर लिप्ने माटो लिन गएकाहरुलाई माटोको ढिस्कोले पुरेको हो । घटनामा सरस्वती पाध्या र किरणी पाध्या घाइते भएका छन् । सरस्वतीको अवस्था चिन्ताजनक रहेको बताइएको छ । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल चैयनपुरमा भर्ना गरिएको छ ।

कर्णाली प्रदेशमा “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ

सुर्खेत, फागुन १९ । कर्णाली प्रदेशले समृद्धिका लागि सुरक्षा अभियान अन्तर्गत “सडक सुरक्षा कार्यक्रम” आज विधिवत् शुभारम्भ गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरसहित १० वटै जिल्लामा एकैसाथ “सडक सुरक्षा कार्यक्रम” को शुभारम्भ गरिएको हो । सो कार्यक्रमको उद्घाटन प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री शाहीले मान्छेको जीवन सुरक्षित नभएसम्म कुनै पनि कामको विकास र प्रगति नहुने बताउनुभयो । उहाँले यो प्रदेशले आफ्नो समृद्धिका लागि सुरक्षा अभियान अघि बढाएको छ, नागरिकको जीउधनको सुरक्षाको प्रत्याभूति गराउनेछ भन्नुभयो । उहाँले हरेकलाई आफैभित्रबाट सोंच, बानी र संस्कार बदल्न आग्रह गर्नुभयो । आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले समृद्धिको लागि शान्ति सुरक्षा कायम गरेर कर्णाली प्रदेशलाई देशको नमूना प्रदेश बनाउने बताउनुभयो । कर्णाली प्रदेशका ग्रामीण भेकमा रहेका ज्येष्ठ नागरिक, असक्त, असाहय र पहुँच भन्दा बाहिर रहेका नागरिकका लागि घरमै पुगेर शान्ति सुरक्षाको सेवा दिने प्रदेश सरकारको योजना रहेको उहाँको भनाइ थियो । उहाँकाअनुसार डिजिटल प्रदेश निर्माणका लागि प्रविधिसँग सुरक्षालाई जोडेर आजबाट यो प्रदेशका २१५ वटै प्रहरी इकाइमा एकैपटक “सडक सुरक्षा कार्यक्रम” शुभारम्भ गरिएको छ ।

अन्नपूर्ण काठमाडौं समाजको साधारण सभामा प्रचण्ड

काठमाडौं, फागुन १९ । नेकपा माअाेवादी केन्द्रका अध्यक्ष एव‌ं चितवनका प्रतिनिधिसभा सदस्य पुषपकमल दाहाल प्रचण्डले अन्नपूर्ण काठमाडौं समाजको प्रथम साधारण सभाकाे उद्घाटन गर्दैछन् । अध्यक्ष प्रचण्ड जन्मिएकाे ढिकुरपोखरी गाऊँ हाल अन्नपूर्ण गाउँपालिकाका काठमाँडौमा रहेकाहरुको संस्था हाे, अन्नपूर्ण काठमाँडौ समाज ।

२५ लाखको लट्री परेको भन्दै इमोमा ठगी

अर्घाखाँची, फागुन १९ । भूमिकास्थान नगरपालिका वडा नं ७ स्थायी बसोबास गर्ने सुनिल परियार सामाजिक सञ्जाल इमोमार्फत ठगिन पुगेका छन् । यही फागुन १० गते रोजगारीको सिलसिलामा युनाइटेड अरब दुबईमा रहेका प्रताप रानाले परियारलाई तपाईँलाई लट्री परेको छ भनी इमोमार्फत जानकारी गराएका थिए । रानाले परियारलाई “ २५ लाख लट्री परेको छ, नागरिकताको फोटोकपी पठाउनुस्”, भन्दै बैंकको खाता नं मागेका थिए । सबै कुराकानी भइसकेपछि सोे पैसा प्राप्त गर्न केही कर पठाइदिन भनेपछि परियारले विश्वास गरी आइएमइमार्फत ३६ हजार रुपन्देहीका शैलेन्द्रकुमार बहराईलाई पठाइदिए । गत बिहीबार अपराह्न ३ बजेतिर साथी बचत तथा ऋण सहकारी संस्थामार्फत आइएमइ गरेको एक घण्टापछि २५ लाख प्राप्त गर्नका लागि रु ७५ हजार पठाउन भनेपछि परियार दोधारमा परे । उनले दाजु रमेशलाई सो कुरा बताएपछि आफू ठगिएको थाहा पाए । उनका दाजुले पैसा नपठाउन आग्रह गरे । पहिला आफू ठगिएको थाहा पाएपछि अर्को दिन आफूले पठाएको ३६ हजार कसरी पाउन सकिन्छ भन्दै दुई भाइ रुपन्देही गए । इलाका प्रहरी कार्यालय लुम्बिनीमा शैलेन्द्रकुमारको नाममा ठगीको जाहेरी दर्ता गरेपछि प्रहरीले बहराईलाई पक्राउ गरी रकम असुली गरेको छ । जाहेरी दिएको २४ घण्टा नबित्दै इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी सहायक निरीक्षक विजय धवालले साधारण पोशाकमा प्रहरी पठाई ठगी गर्ने भनिएका बहराईलाई पक्राउ गरे । इलाका प्रहरी कार्यालयमा पक्रिएर ल्याइसकेपछि हिरासतमा राखेर ठगी गरेको ३६ हजार असुल भएकोे छ ।

अाज ७५ हजारको उपस्थितिमा टुँडिखेलमा ‘बुद्ध वचन’ वाचन गिरँदै

काठमाडौं, फागुन १९ । ‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने तथ्य सन्देश दिन आज काठमाडौंको टुँडिखेलमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रम हुँदैछ । कार्यक्रममा ७५ हजार मानिसको उपस्थित हुने आयोजकले जनाएको छ । बुद्धका बारेमा फिजाईएका भ्रमहरुलाई मेट्नको लागि ७५ हजार मानिसले एउटै स्वरमा बुद्ध श्लोक वाचन गरेर विश्वलाई सुनाईने कार्यक्रम रहेको छ । विश्वका ६ वटा देशका पाठ्यपुस्तकमा बुद्ध भारतमा जन्मिभएका हुन भनेर लेखिएकोले त्यस प्रकारका भ्रमहरुलाई चिर्न कार्यक्रम गर्न लागिएको हो । विश्व किर्तिमानी परिषद नेपालले गर्न लागेको कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने बताइएको छ ।

ताप्लेजुङमा हिउँ पर्न छाड्यो, हिमाल ‘काला पहाड’ जस्तै देखिन थाले

ताप्लेजुङ, फागुन १९ । जलवायु परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि केही वर्ष अघिसम्म चाँदीझैँ टल्किने ताप्लेजुङका हिमाल अहिले काला पहाडमा परिणत हुँदै गएका छन् । वर्षभरि नै हिउँले ढाकिएर टक्लिँदै आएका हिमालमा समेत हिउँ घट्न थालेको छ । दुई दशकअघिसम्म ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा हिउँदका तीन महिना सधैंजसो हिमपात हुन्थ्यो । सुकेटार विमानस्थलमा हवाई सेवा नै लामो समयसम्म अबरुद्ध हुन्थ्यो । ३ हजार ७ सय ९४ मिटरको उचाईमा रहेको पाथीभरा क्षेत्रमा त असोजदेखि फागुन अन्तिमसम्म नै हिउँले ढाक्थ्यो । तर अहिले परिस्थिति फेरिएको छ । ताप्लेजुङबासीले मजाले हिउँमा खेल्न पनि पाउन छाडेका छन् । वर्सेनि हिमपात हुने क्रम घटेसँगै ताप्लेजुङका हिमाल काला पहाडमा परिणत हुन थालेका छन् । विश्वकै तेस्रो अग्लो कञ्चनजंघासहित कुम्भकर्णलगायतका हिमालमा पनि हिउँ पर्न छाडेको छ । हिउँ नै पर्न छाडेपछि हिमाली क्षेत्रको सुन्दरता मात्रै घटेको छैन, हिमाली क्षेत्र उराठलाग्दो पनि बन्दै गएको छ । हिमाल हेर्न र हिउँ खेल्न ताप्लेजुङमा पुग्ने गरेकाहरु पनि अहिले निराश भएर फर्कन थालेका छन् । हिउँ नपर्दा हिमाली क्षेत्रको सुन्दरता त मेटिएको छ नै यसले वातावरणमा पार्ने प्रभाव पनि निकै खतरनाक छ । हिउँ नपर्दा हिमाली क्षेत्रका बन्यजन्तु र बनस्पतिलाई प्रत्यक्ष असर पारेको छ । कतिपय वनस्पति लोप हुने अवस्थामा पुगेका छन् । हिउँसँग आश्रित किसानको जिविकोपार्जनमा समेत समस्या आउन थालेको छ । विश्व ताममान वृद्धिका कारण हिउँ नपर्ने, खडेरी पर्ने, समयमा वर्षा नहुने जस्ता समस्या देखिएका छन् । यस्ता समस्या समाधान गर्न सम्बन्धित सरोकारवाला पक्षले ध्यान दिनु जरुरी भएको छ ।

दलाइ लामाले भने : ‘भारत बुद्धको जन्मस्थल हो’

जब गुरु नै भ्रम सिर्जना गर्न उद्यत हुन्छ भने त्यस्ता गुरुका चेला कस्ता होलान् ? अहिले यस्तै प्रश्न उठाएका छन् बौद्ध धर्मगुरु भनेर चिनिने भारत निर्वासित तिब्बती धर्मगुरु दलाई लामाले । लामाले बुद्धको जन्मथलोका बारेमा भारतमा बसेर भ्रामक अभिव्यक्ति दिएका छन् । विश्व शान्तिका अग्रतूत, गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ध्रुवसत्य कुरा हो । तर भारतले बुद्ध भारतमा जन्मिएका हुन् भनेर गलत प्रचार गरिरहेको छ । विश्वका विभिन्न मुलुकका पाठ्यक्रममा बुद्ध भारतमै जन्मिएका भनेर पढाइन्थ्यो । अहिले यो कमजोर बनेको छ । भारतीय संचार माध्यमहरुले पनि यसलाई सच्याउँदै आएका छन् र विश्वव्यापी रुपमा रहेका नेपालीहरुको अथक प्रयासले यो भ्रमम भ्रामक प्रचार चिरिएको छ । तर, बौद्ध धर्मका अनुयायी मात्र नभएर बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधीशत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला मान्ने दलाई दामाले एउटा कार्यक्रममा बुद्ध लुम्बिनीमा जन्मेको नभै महान भारतमा जन्मेका भनेर भनेपछि अहिले यसको व्यापक आलोचना भएको छ । दलाई लामालाई विश्वभरीका तिब्बती बौद्ध धर्मावलम्बीहरु बोधीशत्व आर्य अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ । दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यतः गेलुक सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रुपमा श्रद्धा गरिन्छ । यिनै दलाई लामाले बुद्धकोजन्मथलोका बारेमा दिएको भ्रामक अभिव्यक्तिले उनको कद अरु घटेको छ । बुद्ध नेपालमा जन्मिएका नभएर भारतमा जन्मिएका हुन भन्दै भारतीय प्रधानमन्त्री समेतले पश्चिमा मुलुक र राष्ट्रसंघमा भाषण गर्न थालेपछि गैरआवासीय नेपालीहरुले विश्वव्यापी रुपमा बुद्ध नेपालमा जन्मेका हुन् भन्दै अभियान चलाए र यो क्रम अहिले पनि जारी छ । तर बुद्धअवतारका रुपमा आफूलाई चिनाउने १४ औं दलाई लामाले बुद्ध लुम्बिनीमा जन्मेको हैन भनेर भाषण गर्नुको भित्री कारण भारत र पश्चिमा मुलुकलाई रिझाउनु बाहेक केही हैन । वुद्ध धर्मका धर्मगुरु दलाई लामाले बुद्धकै बारेमा भ्रम फैलाउनु उनको अज्ञानता हैन उनलाई पालन पोषण गर्ने शक्तिहरुको स्वार्थ हो । -बराहन्युजबाट

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग

काठमाडौँ, फागुन १९ । विसं २००७ को प्रजातान्त्रिक जनक्रान्तिका योद्धा एवं जननायक रामप्रसाद राईको १०९औँ जन्मजयन्तीका अवसरमा स्थानीय माइतीघर मण्डलमा शुक्रबार १०९ मैनीबत्ती प्रज्वलन गरी राईको योगदानको स्मरण गरिएको छ । रामप्र्रसाद राई स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष देवी घिमिरे, महासचिव देवान राई र सल्लाहकार जय छाङ्छाले विसं २००७ को क्रान्तिमा जननायक राईको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै सरकारले उनलाई यथाशीघ्र राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने माग गरे । विसं १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका राई १५ वर्षकै उमेरमा विसं १९८० मा इष्टइन्डिया कम्पनीमा भर्ना भएका थिए । नौ वर्ष सैन्यसेवामा कार्यरत उनी पाकिस्तानको क्वेटाबाट राजीनामा दिई स्वदेश फर्किएका थिए । स्वदेश फर्किएपछि नेपाली सेनामा प्रवेश गरेका राई पछि राणा विरोधी जनक्रान्तिमा होमिनुभएको थियो । सिंहदरबार विद्रोहपछि राई रहस्यमय ढंगले बेपत्ता पारिएका थिए । दीप प्रज्वलन कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र सल्लाहकार पारुहाङ राई, राष्ट्रपति कार्यालयका अर्थविज्ञ धनहर्क राई, भोजपुरे सेवा समाज काठमाडौँका अध्यक्ष पासाङदोर्ची शेर्पा, नेकपा(एमाले) भोजपुर–काठमाडौँ सम्पर्क मञ्चका निवर्तमान अध्यक्ष रेजीन श्रेष्ठलगायतको सहभागिता रहेकोे साहित्यकार शशि लुमुम्बुले जानकारी दिइन् ।