सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस
काठमाडौं । सशस्त्र प्रहरीका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दिपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।
बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उपसमूहतर्फ रिक्त सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा गरिएको हो ।
सशस्त्र प्रहरी नियमावली, २०७२ को नियम ३९ को उपनियम (१)को (ख) बमोजिम बढुवा समितिको निर्णयानुसार अधिकारीलाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बढुवा सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवम् सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्र प्रकाश गौतमले सूचनामा मार्फत जानकारी दिए ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुले ऐ नियमावलीको नियम ५५ मा व्यवस्था भए बमोजिम ७दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्ने जनाएको छ ।
मन्त्री अर्याले गराए रसियाका लागि श्रम स्वीकृति दिने निर्णय
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्री डोल प्रसाद अर्यालले रुस (रसिया) मा नेपाली श्रमिक पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय गराएका छन् । युक्रेनसँग लडिरहेको सुरक्षा संवेदनशील मुलुक रसियाबाट बिदामा आएका नेपाली श्रमिकलाई पुनः श्रम स्वीकृति दिएर पठाउने निर्णय भएको वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विभागका अनुसार गत पुस १९ देखि रसियामा पठाउने श्रम स्वीकृति रोकिएकामा फागुन ९ गते पुनः श्रम स्वीकृति र चैत १६ गतेदेखि संस्थागत श्रम स्वीकृति दिने निर्णय सार्वजनिक भएको छ । ‘श्रम स्वीकृति रोकिएका कारण रसियामा विभिन्न पेसा व्यवसाय गरी नेपालमा बिदामा आएका श्रमिकको मागलाई सम्बोधन गरी नेपाल सरकार (सचिवस्तर) मिति २०८०/११/९ को निर्णयले पुनः श्रम स्वीकृति सुचारु गरिएको’ विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । साथै, रसियाको ब्लगोभेचेन्सेक सहरमा सिनोपी इन्जिनियरिङ रसिया एलएलसी कम्पनीमा श्रमिक पठाउने छनोट भई अन्तिम श्रम स्वीकृति लिन बाँकी रहेका श्रमिकको हकमा सचिवस्तरबाट फागुन १६ गते संस्थागत श्रम स्वीकृति दिने निर्णय भएको विभागले विज्ञप्तिमार्फत जानकारी गराएको छ । रसियामा धेरै नेपाली युवा गैरकानुनी बाटोबाट पुगेर त्यहाँको सेनामा भर्ना भई मृत्यु भइरहेको र सम्पर्कविहीन भइरहेका बेला सरकारले रसियाका लागि श्रम स्वीकृति रोकेको थियो । तर श्रम मन्त्रालयले सचिव स्तरिय निर्णय गर्दै फेरि औपचारिक रूपमा श्रमिक पठाउने निर्णय गरेको छ ।जुन निर्णय गर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई जानकारी समेत दिइएको देखिदैन । मन्त्रालयले पूर्वश्रममन्त्री शरत्सिंह भण्डारीकै समयमा फागुन ९ र १६ गते नै सो विषयमा निर्णय गरेको थियो । सो निर्णयलाई चैत १४ गते विभागको विज्ञप्तिमार्फत सार्वजनिक गरेकाे हाे ।
नेपालमा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम
काठमाडौं ।नेपालमा हिजोसम्म पश्चिमी न्यूनचापीय प्रणालीको असर रहे पनि आज भने स्थानीय वायुको मात्रै प्रभाव रहेको छ । वाग्मती प्रदेशसहितका केही स्थानमा आज वर्षाको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली हुनेछ । कोसी, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
रिब्दिकोटमा हत्या भएकी युवतिको छिमेकीकोमा भेटियो मोवाईल, रगत छेपिएको कपडा र खुर्पा
पाल्पा । विभत्स हत्या गरी खरवारीमा फालिएको अवस्थामा भेटिएकी ख्याहा पाल्पाकी १९ वर्षिया पद्मा सुनारको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका छिमेकी सागर नेपालीको घरमा रगत छेपिएको कपडा, मृतकको मोवाईल र खुर्पा भेटिएको छ। घटनामा संलग्न रहेको आरोपमा रिब्दीकोट गाउँपालिका १ ख्याहाको कराङ्दी स्थित लप्सीखोलाका १९ वर्षिय सागर नेपाली भनिने देवालाल सार्कीलाई प्रहरीले पक्राउ गरेको हो । पद्माको मंगलबार दिउँसो १२ बजेको समयमा हत्या भएको खुलेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। घर नजिकैको धारामा नुहाउन गएको बेला सोही धारामा पुगेका देवलालबीच विवाद भएको प्रहरीले जनाएको छ। विवादपछि धोएका लुगा डोकोमा बोकी घर फर्किएकी पद्मालाई पछाडिबाट खुलखुले गैरामा धारिलो हतियार प्रहार गरेको खुलेको प्रहरीले बताएको छ। घटनामा संलग्न भएको संकामा प्रहरीले उनीमाथि अनुसन्धान गर्ने क्रममा शुक्रबार दिउँसो उनको घरबाट मृतकको मोबाईल, रगत लटपटिएको कपडा र खुर्पा भेटेको हो। रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका देवलाल केही महिना अघि मात्र नेपाल आएका थिए। मंगलबार बिहान ९ः३० बजे तिर नुहाउन गएकी पद्मा दिउँसो तीन बजेसम्म पनि घर नफर्किएपछि आमा र भाईले खोजी गरेका थिए। खोजी गर्ने क्रममा घरभन्दा केही पर बाटोमा उनले बोकेको डोको, बाटा, बाल्टिन र भुईमा फालिएको कपडा फेला परेको थियो। बाटोभन्दा तल खरबारीमा उनको शव क्षतविक्षत अवस्थामा फेला परेको थियो। शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वाग्मतीको मुख्यमन्त्रीमा जम्कट्टेललाई निरन्तरता दिने चार दलीय सहमति
काठमाडौं । सत्ता गठबन्धनमा रहेका चार दलबीच वाग्मती प्रदेशमा सरकार निर्माण गर्ने सहमति भएको छ । बिहीबार नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीबीच पाँचबुँदे सहमति भएको छ । उनीहरूबीच प्रदेशसभाको बाँकी पूरै कार्यकालका लागि सहकार्य गर्ने सहमति भएको छ । सहमति पत्रमा सरकारको नेतृत्व केन्द्रको निर्णयअनुसार सहकार्य गरेर गर्ने भनिएको छ । दलहरूबीच सरकार सञ्चालनका लागि प्रदेशस्तरीय संयन्त्र गठन गरेर साझा न्यूनतम नीति कार्यक्रम बनाउने पनि सहमति भएको छ । सहमतिपत्रमा एमाले वाग्मती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया, माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल, एकीकृत समाजवादीका राजेन्द्रमान श्रेष्ठ र हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्रचार्यले हस्ताक्षर गरेका छन् । एकसय १० सदस्यीय वाग्मती प्रदेश सभामा बहुमतका ५६ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धनका दलमध्ये एमालेका २७, माओवादी केन्द्रका २१ र एकीकृत समाजवादीका ७ सांसद छन् । हाम्रो नेपाल पार्टीका दुई सांसद थपिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकारलाई बहुमत पुगेको छ । हेर्नुहोस् सहमतिपत्र
धादिङ अस्पतामा कार्यरत सर्जन डा.प्रतिभा काठमाडौँको छाउनीमा मृत फेला
काठमाडौँ । काठमाडौँको छाउनीमा एकजना चिकित्सक मृत अवस्थामा फेला परेकी छन् । काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा.प्रतिभा धौभडेल मृत भेटिएकी हुन् । उनी जिल्ला अस्पताल धादिङमा कार्यरत थिइन् । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् । ३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौँ आएकी हुन् । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ ।
अहिलेको सत्ता समीकरण स्वार्थको गठबन्धन होइन : अध्यक्ष ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बनेको सत्ता समीकरण स्वार्थ सिद्धिका लागि गरिएको गठबन्धन नभएको बताएका छन् । उनले सरकारमा सामेल दलहरू मुलुकको समृद्धिप्रति प्रतिबद्ध भएको बताए। नेकपा (एमाले) झापाको ११ औँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न वर्तमान सरकार क्रियाशील रहेको बताए । समीकरणमा सामेल दलहरूले जारी गरेको साझा सङ्कल्पको सातौँ बुँदामा समृद्ध नेपाल र सुखी नेपालीको नारा साकार पार्ने सरकारको गन्तव्य प्रष्ट रुपमा उल्लेख रहेको उनले स्मरण गराए । उनले यसअघि नेपाली काँग्रेसको नेतृत्वमा बनेको गठबन्धनको एमालेलाई जसरी पनि घेराबन्दी गर्ने लक्ष्य रहेको दाबी गरे । उनले एमाले र काँग्रेसबिच समीकरण बन्न नसक्ने स्पष्ट पार्दै उनीहरुबीच स्वस्थ राजनीतिक प्रतिस्पर्धा हुनुपर्ने धारणा व्यक्त गरे । “अमेरिकामा हेर्नुहोस्, त्यहाँ दुई पार्टी छन्,” उनले भने–“चार वर्षमा चुनावी प्रतिस्पर्धा गर्छन् । दुवै दल मिलेर सरकार चलाएको त्यहाँ कुनै उदाहरण छैन ।” उनले महाभारतयुद्धमा अर्जुनले चराको आँखालाई अर्जुनदृष्टि बनाए झैँ एमालेले अरु सबै कुरा छाडेर भए पनि ‘मिसन ८४’ लाई हेरिरहेको बताए । वि.सं. २०८४ को आम चुनावमा एमालेले कसैले ढाल्न नसक्ने गरी एकल बहुमतको सरकार बनाउन चाहेको बताए। काँग्रेसले विगतमा एमालेप्रति निषेधको राजनीति गरेको जनाउँदै उनले एमालेले कहिल्यै पनि निषेध, हिंसाको राजनीति नगर्ने धारणा व्यक्त गरे ।
यी हुन् पर्यटन बोर्डमा नियुक्त हुने तीन सदस्य
काठमाडौँ । नेपाल पर्यटन बोर्ड (एनटीबी) को रिक्त तीन सदस्यको पदपूर्ति भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटा (कमल)लाई सदस्यमा नियुक्त गरेको हो । पर्यटन व्यवसायी ठाकुरराज पाण्डेको नेतृत्वमा गठित बोर्ड सदस्य छनोट तथा सिफारिस समितिले मंगलबार ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । समितिले पर्यटन व्यवसायी अभिषेक विक्रम शाह (काठमाडौँ), अम्बर जंग गुरु (लम्जुङ्ग), राजेन्द बहादुर लामा (काभ्रेपलाञ्चोक), ऋषी भण्डारी (कास्की) र राम प्रसाद सापकोटा (कमल) धादिङ्गलाई अन्तिम ५ मा सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले सोमध्येबाट भण्डारी, लामा र सापकोटालाई बोर्ड सदस्यमा मनोनयन गरेको हो ।
रास्वपाबाट इलाम २ को उम्मेदवार मिलन लिम्बू
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मिलन लिम्बूलाई टिकट दिएको छ। बुधबार मात्रै प्राइमरी इलेक्सनका लागि भन्दै सार्वजनिक गरिएका ६ वटा नाममध्ये लिम्बूलाई रास्वपाले सर्वसम्मत उम्मेदवार बनाउने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठक
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक सिंहदबारमा बसिरहेको छ । यो नियमित बैठक हो ।
राष्ट्रपतिलाई रनिङ सिल्डको निमन्त्रणा
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा हुने १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरिएको छ। राखेपका सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति पौडेललाई निमन्त्रणा पत्र प्रदान गरे। सो अवसरमा राखेपका उपाध्यक्ष शिव कोइराला, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मा र आर्थिक प्रशासन शाखाका प्रमुख ऋखिराम पोख्रेलको उपस्थिति रहेको थियो । राष्ट्रपति रनिङ सिल्ड बैशाख ४ गतेदेखि ६ गतेसम्म काठमाडौँमा हुने तय भइसकेको छ। उद्घाटन त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशबाट आठ सय पाँच खेलाडीको सहभागिता रहने छ । जसमा ५० स्वर्ण, ५० रजत र ६६ कांस्य गरी जम्मा एक सय ६६ पदकका लागि प्रतिस्पर्धा हुनेछ । लुम्बिनी प्रदेश गत संस्करणमा पनि टिम च्याम्पियन बन्दै लगातार तेश्रोपटक उपाधि जित्न सफल भएको थियो ।
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालको राजीनामा
काठमाडौं । राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिनुभएको छ । बिहीबार राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा बुझाएकी छिन् । उहाँले संविधानको धारा ९२ को उपधारा (६) को खण्ड (ख) तथा राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १८५ को उपनियम (१)बमोजिम राष्ट्रिय सभाको उपाध्यक्ष पदबाट राजीनामा दिए ।सत्ता गठबन्धन दलबिचको सहमति अनुसार अर्यालले बिहीबार राजीनामा दिएकी हुन्। राष्ट्रिय सभाको उपाध्यक्षमा अर्याल २०७९ माघ २३ गते र्निविरोध निर्वाचित भएकी थिइन् । उनी २०७८ माघ १२ गते राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी हुन् । उनी नेकपा (माओवादी केन्द्र)का नेत्री हुन् ।
२ अर्ब ६२ करोडको कारोबार हुँदा नेप्से ४.७८ अंक बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकले सुधार भएको छ । बिहीबार बजार परिसूचक नेप्से ४.७८ अंकले बढेर २०३५.६४ को बिन्दुमा बन्द भएको छ । सातामा चार कारोबार दिन बजार खुलेको थियो । मंगलबार र बिहीबार नेप्से बढेर बन्द हुँदा सोमबार र बुधबार भने दोहोरो अंकले घटेको थियो । बिहीबार बैंकिङ, होटल तथा पर्यटन सहित लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसूचकमा गिरावट भयो । त्यसबाहेकका विहीबार सबै उपसूचक बढेका छन् । निर्जीवन बीमा उपसूचक सर्वाधिक ०.६६ प्रतिशतले गिरावट हुँदा लघुवित्त उपसूचक ०.४८ प्रतिशतले गिरावट भयो । उत्पादन तथा प्रशोधन उपसूचक २.४० प्रतिशतले बढेको छ । नेप्सेमा सामान्य वृद्धि देखिए पनि ‘क’ वर्गका कम्पनीलाई मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने ०.३६ अंकले घटेर ३५९.०९ को बिन्दुमा घटेको छ । नेप्सेमा सामान्य वृद्धि हुँदा २ अर्ब ६२ करोड ४० लाख रुपैयाँको सेयर कारोबार भएको छ । ५३ हजार १ सय ११ कारोबारमा ६५ लाख ४७ हजार ६ सय ३४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा यो रकमको कारोबार भएको हो । बिहीबार सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक १९ करोड ३८ लाख रुपैयाँको कारोबार भयो । नेप्सेमा सूचीकृत भएपछि लगातार सातौं दिन पनि सेयर मूल्य १० प्रतिशतले बढेको सर्वोत्तम सिमेन्टको सेयर मूल्य १ हजार कटे पनि बिहीबार सबैभन्दा धेरै रकमको कारोबार भएको छ । यस्तैगरी, गोर्खाज फाइनान्सको १६ करोड २० लाख र शिवम् सिमेन्टको १५ करोड ३९ लाखको सेयर कारोबार भएको छ । आज भएको कारोबारमध्ये हिमालयन ऊर्जा विकास कम्पनीको सेयर मूल्य १० प्रतिशत र सर्वोत्तम सिमेन्टको सेयर मूल्य ९.९६ प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा बन्द भएको छ । यस्तै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ८.७३ प्रतिशतले बढ्दा उन्नति सहकार्य लघुवित्त र धौलागिरि लघुवित्तको सेयर मूल्य १० प्रतिशतले गिरावट भएर नकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।
अबैध विदेशी मुद्रासहित तीन जना पक्राउ
काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपाली मुलका क्यानेडियन नागरिकहरू ५१ वर्षीय पेमा दोर्जे दोथार, ३४ वर्षीय तेन्जिङ देलेक र नेपाली नागरिक ७२ वर्षीया नग्वाङ पाल्मु लामा रहेका छन् । ईण्डिगो एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै क्यानाडा जान लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा ह्याण्ड ब्यागमा विभिन्न दरका गरी जम्मा २७ हजार ४ सय २८ अमेरिकी डलर, विभिन्न दरका गरी जम्मा १ हजार ४ सय ८० क्यानेडियन डलर र नेपालमा प्रतिबन्धित भारतीय रूपैयाँ ५ सय दरका १ सय १० थान गरी जम्मा ५५ हजार भारतीय रूपैयाँ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कानूनी कारवाहीको राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइने छ ।
क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई क्रोएसिया र पोर्चुगल पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका १० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका ५ घर भई ललितपुर, ललितपुर महानगरपालिका २५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी रहेका छन् । पक्राउ मध्ये मिङमारले क्रोएसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र प्रकाशले पोर्चुगल पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ११ लाख २७ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मिङमारलाई काठमाडौं बौद्धबाट र प्रकाशलाई काठमाडौं बालुवाटारबाट पक्राउ गरको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
कांग्रेस नेतृ डा आरजु राणाको दिल्लीमा शल्यक्रिया
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा.आरजु राणा देउवाको हाइपर प्याराथाइरोइड्इजमको शल्यक्रिया सम्पन्न भएको छ । गत चैत २ गते स्वास्थ्य उपचारका लागि भारत गएकी उनको दिल्लीस्थित म्याक्स अस्पतालमा चैत १४ गते बुधबार शल्यक्रिया भएको उनको सचिवालयले जनाएको छ । शल्यक्रियापछि उनको स्वास्थ्य सुधारोन्मुख रहेको र केही समय अस्पतालमै उपचार गर्नुपर्ने चिकित्सकले सल्लाह दिएको उनको सचिवालयले जनाएको हो ।

