प्रदेश नम्बर १ मा प्रदेशसभा बैठकको भब्य तयारी: हतारमा हुँदैछ पूर्वाधार निर्माण

विराटनगर, माघ २१ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक माघ २२ गते बस्दैछ । प्रदेशसभाको पहिलो बैठक बस्ने सभा भवनको मर्मत गर्न चटारो छ ।

विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा बैठक बस्ने भएकाले तीव्र गतिमा भवन तयार गरिँदैछ । भवनको रंगरोगनदेखि पूर्वाधार निर्माणका काम अन्तिम चरणमा पुगेको छ ।

विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभा भवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्र गतिमा त्यसको मर्मतकार्य भइरहेको छ ।

रंगरोगनलगायतका काम सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी राख्ने लगायतका आवश्यक काम गरिने शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका इन्जिनियर विनोद सिंहले जानकारी दिए ।

सभा भवनको मञ्चमा सभामुख, संसद् सचिव र कार्य व्यवस्थाको कुर्सी राखिने निर्देशनअनुरुप व्यवस्था मिलाइएको उनले बताए ।

मञ्चको मुनी अघिल्लो पंक्तिमा उपसभामुख, उच्चपदाधिकारीका कुर्सी राखिनेछ । मञ्चबाहेक एकसय ४० वटा कुर्सीको व्यवस्था गरिएको छ ।

एकतर्फ सतापक्ष र अर्कोतर्फ प्रतिपक्षको कुर्सी राखिनेछ । प्रतिपक्षको पछाडिको भागमा सञ्चारकर्मीलगायतको कुर्सी राख्ने व्यवस्था मिलाइएको छ ।

ती कुर्सीमा सेतो रंगको भर र पिठँयूमा राख्ने क्याप आकासे रंगको हुनेछ । सभा भवनको मर्मतलगायत सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य बताउँछन् ।

प्रदेश नं १ को अस्थायी मुकाम विराटनगर भएपछि प्रदेश प्रमुख, मुख्यमन्त्रीको कार्यालय, आवास, मन्त्रालय, सभा भवनलगायत मर्मतका साथै सम्पूर्ण व्यवस्थापनका लागि सात करोड ५० रुपैँया विनियोजन भएको शहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख श्यामकिशोर सिंहले जानकारी गराए ।

उक्त रकमबाट सभाभवनको मर्मतका साथै यतिखेर मुख्यमन्त्रीको कार्यालय स्थापना हुने क्षेत्रीय कृषि निर्देशनालय र प्रदेश प्रमुखको कार्यालय स्थापना हुने क्षेत्रीय सिँचाइ निर्देशनालमा पनि मर्मत तथा रंगरोगनको काम शुरु भइसकेको छ ।

मन्त्रालय स्थापना हुने भनिएको खाद्य प्रविधि गुण नियन्त्रण कार्यालयको भवन, सुनसरी-मोरङ सिँचाइ आयोजनाको भवन, जल उत्पन्न तथा प्रकोप नियन्त्रण कार्यालयको भवनमा पनि मर्मत कार्य तीव्र गतिमा भइरहेको छ । – इमेजखबरबाट

दरबारमार्ग बलात्कार प्रकरण: चारै जना विरुद्ध किटानी जाहेरी

काठमाडौं, माघ २१ । दरबारमार्गको ल्यान्डमार्क होटलमा सामूहिक बलात्कारमा परेकी युवतीले आफ्नो प्रेमी शैलेश कार्कीसहित चार जनाका नाममा किटानी जाहेरी दर्ता गरेकी छन् । उनले शुक्रबार महानगरीय प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी हुन् । युवतीले आफ्नो प्रेमी भनिएका रामेछाप दुरडाँडा घर भई हाल राजधानी बस्दै आएका कार्की, उनका साथी दीपक श्रेष्ठ र अन्य २ जनाविरुद्ध किटानी जाहेरी दर्ता गराएकी हुन् । आजको कान्तिपुरमा खबर छ-यससँगै काठमाडौं परिसर र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त टोलीले चारै जनाको खोजी तीव्र पारेको छ । काठमाडौं परिसरले बलात्कार घटना आर्थिक लेनदेनका आधारमा गुपचुप मिलाएको भन्दै अनुसन्धान थालेपछि सुरुवाती बयानमा युवतीले इन्कारी बयान दिएकी थिइन् । जब कि घटनालगत्तै महानगरीय प्रहरी वृत्त, कमलपोखरी पुगेर उनैले आफू सामूहिक बलात्कारमा परेको बताएकी थिइन् । बिहीबारयता प्रहरीले युवती र उनकी आमालाई काउन्सिलिङ गर्दै पुनःबयान सुरु गरेको थियो । दोस्रो पटकको बयानमा भने युवतीले आफूलाई राति दुई युवाले पालैपालो बलात्कार गरेको आफूले थाहा पाएको र त्यसपछि आफूले होस गुमाएको बताएकी छन् ।

सात प्रदेशमा ६ सय कर्मचारी खटाइयाे

काठमाडौं, माघ २१ । सरकारले करिब ६ सय कर्मचारीलाई प्रादेशिक संरचनाका कार्यालयमा काजमा खटाएको छ । सामान्य प्रशासन मन्त्रालयले शुक्रबारसम्म सातवटै प्रदेशका लागि कर्मचारी खटाएको जनाएको छ । प्रदेशमा पठाइएका कर्मचारीमा सहसचिव, उपसचिव, अधिकृतदेखि राजपत्रअनंकित तहका कर्मचारीसमेत छन् । उनीहरूलाई आवश्यकताअनुसार प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र विभिन्न मन्त्रालयमा खटाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । सामान्यले प्रदेशमा तत्कालका लागि स्थापना भएका प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्रीको कार्यालयसहित सात मन्त्रालय र प्रदेश सभा सचिवालयका लागि करिब २२ सय कर्मचारी आवश्यक पर्ने जनाएको छ । ती कार्यालयका लागि हरेक दिन कर्मचारी खटाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । प्रवक्ता न्यौपानेले प्रदेशमा मुख्यमन्त्री नियुक्त हुनुअघि नै सबै मन्त्रालयमा कर्मचारी व्यवस्थापन गरिसक्ने गरी तयारी भएको बताए । ‘अहिलेसम्म सातवटै प्रदेश प्रमुखको कार्यालय, मुुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा कर्मचारी खटाइसकेका छौँ,’ उनले भने, ‘अन्य मन्त्रालयमा पनि क्रमशः आंशिक कर्मचारी खटिएका छन्, चाँडै पूर्णता दिन्छौँ ।’ प्रशासन समूहबाहेकका कर्मचारी खटाउने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिएकाले प्रदेशमा खटिने कर्मचारीको संख्या त्यसभन्दा बढी हुनसक्ने उनको भनाइ छ । अन्य मन्त्रालयको प्रगति विवरण नआएकाले यकिन विवरण दिन नसकिएको प्रवक्ता न्यौपानेले बताए । कानुन मन्त्रालयले न्याय सेवाका ३५ कर्मचारी खटायो कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेशका विभिन्न कार्यालयमा कामकाजका लागि न्याय सेवाअन्तर्गतका ३५ कर्मचारी खटाइएको छ । मन्त्रालयले सातवटै प्रदेशमा सहसचिव, उपसचिव र अधिकृत तहका पाँच-पाँचजना कर्मचारी खटाएको हो । सामान्य प्रशासन मन्त्रालयले न्याय, स्वास्थ्य, लेखा, प्राविधिक र राजस्व सेवाका कर्मचारीलाई पनि प्रदेश मन्त्रालयमा तोकिएको दरबन्दीअनुसार खटाउन पत्र पठाएको थियो । त्यसमध्ये कानुन मन्त्रालयले सबैभन्दा पहिले न्याय सेवाअन्तगर्तको कर्मचारी खटाएको हो । मन्त्रालयले गत आइतबार सातजना सहसचिवलाई सातवटै प्रदेशको मुख्यमन्त्रीको कार्यालयमा कानुन सचिवका रूपमा खटाएको थियो । यस्तै, सबै प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक-एकजना गरी सातजना उपसचिव खटाएको छ । प्रदेशमा महत्वपूर्ण कानुनहरू बनाउनुपर्ने भएकाले उपसचिव तहको कर्मचारी खटाएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै प्रदेशको प्रदेश प्रमुखको कार्यालय, प्रदेशसभाको सचिवालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा एक-एकजना गरी २१ जना न्याय सेवाका अधिकृत खटाएको थियो । न्याय सेवाबाट खटाउन बाँकी कर्मचारी पनि क्रमशः चाँडै खटाउने जनाइएको छ । मन्त्रालयले संघीयता कार्यान्वयनलाई उच्च प्राथमिकता दिएर कर्मचारी खटाइएको जनाएको छ । प्रदेशको कुन कार्यालयमा कति कर्मचारी ? मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय : सचिवसहित २१ जना आन्तरिक मामिला तथा कानुन मन्त्रालय : सचिवसहित ४१ जना आर्थिक मामिला तथा योजना मन्त्रालय : सचिवसहित १८ जना भौतिक पूर्वाधार विकास मन्त्रालय : सचिवसहित २४ जना सामाजिक विकास मन्त्रालय : सचिवसहित ३० जना उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय : सचिवसहित २९ जना भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय : सचिवसहित २९ जना प्रदेश सभा सचिवालय : एकजना सचिवसहित २७ जना प्रदेश राजधानी हेटौँडा : आउनै मान्दैनन् कर्मचारी सरकारले खटाएका कर्मचारी प्रदेश कार्यालयमा नआउँदा कामकाज प्रभावित भएको छ । प्रदेश ३ को अस्थायी राजधानी हेटौँडामा धमाधम प्रदेश कार्यालय सञ्चालनमा आइरहेका छन् । सामान्य प्रशासन मन्त्रालयलले सरुवा गरेको एक साताभन्दा बढी भइसके पनि अनेक बहानामा कर्मचारी केन्द्रमै बस्न खोजेपछि प्रदेशमा कर्मचारीको समस्या हुन थालेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव रेश्मिराज पाण्डेले २० जनाभन्दा धेरै कर्मचारी हेटौँडा नआएको बताए । ‘प्रदेश कार्यालयका लागि सहसचिवसहित २० भन्दा धेरै कर्मचारी सरुवाको सूची प्राप्त भएको छ,’ उनले भने, ‘तर, अहिलेसम्म कर्मचारी प्रदेश राजधानीमा उपस्थित भएका छैनन् ।’ २४ माघमा हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनको आचार—संहिताका कारण कर्मचारी नआएको हुनसक्ने बताएको छ । काजमा आएका कर्मचारीले प्रदेश सभाको पहिलो अधिवेशन चलाए शिक्षा मन्त्रालयबाट काजमा आएका कर्मचारीले १८ माघमा प्रदेश सभाको पहिलो अधिवेशन चलाएका थिए । शिक्षा मन्त्रालयका सहसचिव डा.रोजनाथ पाण्डे, उपसचिव अधिराज राई, अधिकृत विनोद पौडेल, अधिकृत रामहरि पोखरेल काजमा आएका छन् । काजमा आएका धेरैजसो कर्मचारी माघ अन्तिममा फर्किने भएकाले समस्या हुन सक्ने सहसचिव डा. पाण्डेले बताए । दरबन्दीसहित आउने कर्मचारी संख्या एकदमै न्यून देखिएको उनको भनाइ छ । अहिले दरबन्दीसहित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव पाण्डे, मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रमेश सिवाकोटी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव बलदेव जोशीसहित केही नासु, खरिदार र कार्यालय सहयोगी मात्र आएका छन् । सामान्यले पठाएका कर्मचारी नआए जिल्ला र क्षेत्रीय कार्यालयका कर्मचारीले चलाउने सामान्य प्रशासन कार्यालयबाट समयमै कर्मचारी नआए जिल्ला कार्यालय र क्षेत्रीय कार्यालयमा कार्यरत कर्मचारीलाई काजमा तानेर कामकाज चलाउने प्रमुख सचिव पाण्डेले बताए । ‘मैले प्रदेशको कामलाई नियमित सञ्चालन गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सामान्य प्रशासन मन्त्रालयबाट कर्मचारी नआए जिल्ला र क्षेत्रीय कार्यालयका कर्मचारी प्रयोग गरी चलाउँछु ।’ -नयाँ पत्रिकाबाट ।

डीडीसीमा अनियमितता : बिनाटेन्डर धूलो दूध र मख्खन खरिद

काठमाडौं, माघ २१ । नेपाल दुग्ध विकास संस्थान (डीडीसी) ले कमिसनको लोभमा टेन्डर बिनै करोडौं मूल्यबराबरको धूलो दूध (स्किम मिल्क पाउडर) र मख्खन खरिद गरेको छ। सार्वजनिक खरिद ऐन र संस्थानकै आर्थिक विनियमावली विपरित एकै व्यक्तिबाट बिना टेन्डर पटकपटक गरी ३० करोड ३३ लाख मूल्यबराबरको धूलो दूध र मख्खन खरिद गरिएको हो। सार्वजनिक खरिद ऐनले पाँच लाखसम्मको र संस्थानकै आर्थिक विनियमले एक पटकमा डेढ लाखसम्मको सामानमात्र सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ। तर, संस्थानले ती दुवै व्यवस्था विपरित टेन्डर बिनै तीन पटकमा गरी तीन सय ६० टन (तीन लाख ६० हजार किलो) धूलो दूध र दुई सय १० टन (दुई लाख १० हजार किलो) मख्खन खरिद गरेको पाइएको छ। संस्थानले पटकपटक गरी प्रतिस्पर्धा बिनै १५ करोड चार लाख ८० हजार मूल्यबराबरको तीन लाख ६० हजार किलो धूलो दूध खरिद गरेको छ। संस्थानले व्यवसायी अजय सरावगीसँग यस्तो दूध खरिद गरेको हो। मख्खन पनि सरावगीसँग १५ करोड २८ लाख ८० हजार रुपैयाँ बराबरको दुई लाख १० हजार किलो खरिद गरेको छ। स्रोत भन्छ, ‘प्रतिकिलो धूलो दूध र मख्खनमा चार रुपैयाँ कमिसनको खेलमा बिना टेन्डर खरिद गरिएको हो। धूलो दूध र मख्खन खरिदबाट संस्थानको नेतृत्वले करिब ५७ लाख रुपैयाँ कमिसन बुझेका छन्।’ झण्डै ५३ वर्ष पुरानो संस्थानले कुन समय दूध पर्याप्त हुन्छ र कुन समयमा अभाव हुन्छ भन्ने विषयमा पूर्वजानकारी लिएर कार्ययोजना तयार पार्नुपर्छ। सोही कार्ययोजनाका आधारमा समयमा टेन्डरमार्फत दूध र दुग्धजन्य पदार्थ खरिद गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन विपरित संस्थानका उच्च अधिकारी मिलेमतो गरी कमिसनको लोभमा बिना टेन्डर खरिद काम गर्दै आएका छन्। धूलो दूध र मख्खन खरिद प्रकरणमा पशुपंक्षी मन्त्रालय र आयोगले छानबिन थालेको छ। सार्वजनिक खरिद ऐनले पाँच लाखसम्मको र संस्थानकै आर्थिक विनियमले एक पटकमा डेढ लाखसम्मको सामानमात्र सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ। संस्थानको आर्थिक विनियमले खरिद गर्दा प्रतिस्पर्धा सीमिति हुने गरी टुक्रा टुक्रा पारी खरिद गर्न बन्देज लगाएको छ। आर्थिक विनियमले एक पटकमा एक लाख ५० हजार रुपैयाँबराबरको सोझै बजारबाट खरिद गर्न पाउने व्यवस्था गरेको छ। यस्तै एक पटकमा १० लाख रुपैयाँबराबरको सिलबन्दीमार्फत र १० लाखभन्दा बढीको खरिद गर्दा बोलपत्रमार्फत गर्नुपर्ने व्यवस्था गरेको छ। संस्थानको सञ्चालक समिति र महाप्रबन्धकले आर्थिक विनियमको ‘विशेष परिस्थिति’ सम्बन्धी व्यवस्थालाई दुरुपयोग गरी कमिसनको लोभमा यसरी खरिद गर्दै आएका छन्। विशेष परिस्थितिमार्फत आर्थिक विनियमले प्राकृतिक प्रकोपको समयमा प्रतिस्पर्धाका माध्यमबाट सोझै खरिद गर्न पाउने व्यवस्था गरेको छ। यही प्रावधानलाई आकर्षित गरी सञ्चालक समिति र महाप्रबन्धकले प्रतिस्पर्धा वेगर गत असारदेखि साउनमा सोझै दुग्धजन्य पदार्थ खरिद गरेको हो। ‘सञ्चालक समिति र महाप्रबन्धकले गत साउनमै आगामी असोज कात्तिकमा बाढी आउँछ भन्ने आकलन गरी विशेष परिस्थितिलाई आकर्षित गरी दुग्धजन्य पदार्थ खरिद गरेको भेटिएको छ’, संस्थानसम्बद्ध स्रोतले भन्यो,‘नियतवश विशेष परिस्थितिको व्यवस्थालाई दुरुपयोग गरी चलखेलका आधारमा खरिद कार्य भएको छ।’ संस्थानका निमित्त महाप्रबन्धक डा.इश्वरी अधिकारीले गत साउनमै धूलो दूध र मख्खन खरिद गर्न ग्लोबल टेन्र आह्वान गरिएको जानकारी दिए। ‘तर टेन्डरमा सहभागी भएर छनोट भएको इरानको कम्पनीसँग दुग्धजन्य पदार्थ आपूर्ति गर्न सकेनौं’, अधिकारीले भने, ‘अमेरिकाले इरानमाथि नाकाबन्दी गरेका कारण नेपाल राष्ट्र बैंकले एलसी खोल्न नमानेपछि छनोट भएका इरानी आपूर्तिकर्ताबाट ल्याउन सकिएन। त्यसपछि समय निकै कम भएकाले पुनः टेन्डर प्रक्रियामा जान सकेनौं।’ महाप्रबन्धक नियुक्ति अन्योलमा संस्थानमा महाप्रबन्धक नियुक्तिमा अन्योल देखिएको छ। महाप्रबन्धक गंगा तिम्लिसिनाको अवधि सकिएपछि नयाँ नियुक्त गर्न अन्योल सुरु भएको हो। तिम्लिसिना गत मंसिरमा तीन वर्षे कार्यकाल सकिएको छ। मन्त्रिपरिषद्को बैठकले २०७१ को मंसिरमा तीन वर्षका लागि महाप्रबन्धकमा तिम्लिसिनालाई नियुक्त गर्ने निर्णय गरेको थियो। तिम्लिसिनाको अवकाश पश्चात पशुपंक्षी मन्त्रालयले महाप्रबन्धक नियुक्त गर्न नयाँ मापदण्ड तयार गरेपछि नियुक्ति प्रक्रियामा अन्योल उत्पन्न भएको हो। तयार पारिएको मापदण्डले सीमित व्यक्तिलाई मात्रै महाप्रबन्धकमा नियुक्त गर्न सकिने ठहर गर्दै निवर्तमान महाप्रबन्धक तिम्लिसिनाले पाटनस्थित उच्च अदालतले मुद्दा दायर गरेका छन्। तिम्लिसिनाले दायर गरेको मुद्दामा उच्च अदालतले तत्कालका लागि नयाँ महाप्रबन्धक नियुक्ति प्रक्रियामा रोक लगाएको छ। – अन्नपूर्ण पोष्टबाट ।

सामुदायिक विद्यालयहरूको स्तर निजी विद्यालय सरह बनाउनु पर्ने– रेणु दाहाल

गीतानगर । सामुदायिक विद्यालयहरूले देशका लागि चाहिने योग्य र दक्ष जनशक्ति उत्पादन गर्ने सवालमा विशिष्ट भूमिका खेलेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताउनु भएको छ । श्री शहीद स्मृति माध्यामिक विद्यालय भरतपुर ६, पारसनगरको ५१ औं वार्षिक उत्सव तथा अभिभावक दिवसको शनिबार उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो । उहाँले विद्यालयलाई ५१औं वार्षिक उत्सव मनाउन सफल भएकोमा शुभकामना ब्यक्त गर्नुभयो । प्रमुख अतिथि दाहालले सामुदायिक विद्यालयहरूको स्तरोन्नति देशकै समस्याको रूपमा रहेको भन्दै महानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक विद्यालयहरूको क्षमता विकास र बिस्तारमा महानगरपालिकाले विशेष पहल गर्ने बताउनु भयो । उहाँले अधिकांश निम्न र मध्यम वर्गीय परिवारका विद्यार्थीहरू पढ्ने सामुदायिक विद्यालयहरूको स्तर निजी विद्यालय सरह बनाउनु पर्नेमा जोड दिनुभयो । महानगर प्रमुख दाहालले शिक्षा क्षेत्रको विकासबिना समाजको विकास र सभ्यताको कल्पनै गर्न नसकिने बताउँदै शिक्षा क्षेत्रको विकासमा सबैको सामूहिक सहयोग, चिन्ता र चासो हुनुपर्ने बताउनु भयो । सामुदायिक विद्यालयहरूले राष्ट्रका लागि आवश्यक योग्य जनशक्ति उत्पादन गरिरहेको बताउँदै उहाँले अबको शिक्षा सीपमूलक र जीवनोपयोगी हुनुपर्ने बताउनु भयो । उहाँले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरू पनि प्रतिस्पर्धी र इमानदार हुनु पर्नेमा जोड दिनुभयो । ‘जे भयो भइसक्यो, अब नयाँ ढंगले अगाडि बढ्नुपर्छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘अबको मुख्य कार्यभार शैक्षिक गुणस्तर सुधार हो । त्यसका लागि तपाइँहरू योजना ल्याउनुहोस्, महानगर सक्दो सहयोग गर्न तयार छ ।’ महानगरको ऐतिहासिक नगर परिषद भर्खरै सम्पन्न भएको प्रसंग उल्लेख गर्दै दाहालले नगर परिषदबाट पारित विकास निर्माण, निती तथा कार्यक्रमहरू महानगरबासीहरूले अनुभूति गर्ने गरी गरेर देखाउने प्रतिवद्धता ब्यक्त गर्नुभयो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष विष्णु तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका विशिष्ट अतिथि भरतपुर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष हरिविलास कोइरालाले विद्यालयको क्षमता बिस्तारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको थियो । कार्यक्रममा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो । उक्त अवसरमा विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम र पिटी प्रस्तुत गरेका थिए । वार्षिक उत्सवको अवसरमा विद्यालयका पूर्वविद्यार्थी तथा समाजसेवी झलक केसीले स्वर्गीय बुबाआमाको स्मृतिमा एक लाख रूपयाँको असहाय विद्यार्थी अक्षयकोष स्थापनाको घोषणा गर्नुभएको थियो । विद्यालयका प्रधानाध्यापक दिपेस पौडेलले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । वार्षिकोत्सव समारोहमा चन्दादाता, अक्षयकोष स्थापनाकर्ता तथा सहयोगीहरूलाई सम्मान गरिएको थियो । विद्यालयमा शिशुदेखि १० कक्षासम्म छात्रा २ सय ७ र छात्र २ सय ३४ गरी ४ सय ४१ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

जिल्ला प्रशासनमै भेटियो पाँच सय रुपैयाँको नक्कली नोट

नुवाकोट, माघ २०। जिल्ला प्रशासन कार्यालय नुवाकोटमा पाँच सय रुपैयाँको नक्कली नोट फेला परेको छ । शुक्रवार प्रशासन कार्यालयमा राहदानीमार्फत संकलन भएको राजश्व रकम नेपाल बैंक लिमिटेडमा दाखिला गर्ने क्रममा पाँच सयको एक थान नोट नक्कली पाइएको हो । राजश्व दाखिला गरिएको रकम बैंकले गणना तथा जाँच गर्ने उपकरणमार्फत परीक्षण गर्दा नक्कली नोट भएको पुष्टि भएको प्रशासन कार्यालयका लेखापाल रामजी लम्सालले जानकारी दिए । नक्कली नोटको नंं ग ९४६० ०३६८६० रहेको छ । झट्ट हेर्दा सक्कली जस्तै देखिने नक्कली नोट प्रशासन कार्यालय र बैंकका कर्मचारीले गणना गर्ने क्रममा समेत थाहा नभएको र उपकरणमार्फत गणना तथा जाँच गर्ने क्रममा पत्ता लागेको हो । नक्कली नोट केही बाक्लो रहेको भए पनि प्रयोगमा आएर पुरानो भइसकेकाले सक्कल सरह देखिएकाले सहज रुपमा पत्ता लाग्न कठिनाई देखिएको लेखापाल लम्सालले बताए । बैंककाअनुसार नक्कली नोटमा सक्कल जस्तै देखिने गरी सुरक्षा सिल -तार जाली) समेत लगाइएको छ भने आकार र रंग उस्तै रहेको छ । नक्कली नोट भेटिएपछि सचेत भएको प्रशासन कार्यालयले नोटको जाँच तथा परीक्षणको लागि उपकरण खरिद गर्ने तयारीमा लागेको प्रमुख जिल्ला अधिकारी वीरेन्ऽकुमार यादवले जानकारी दिए । रासस

४० किलो चरेससहित २ पक्राउ

नेपालगन्ज, माघ २० । सुर्खेतबाट प्रहरीले ४० किलो अवैध लागुऔषध चरेससहित २ जनालाई पक्राउ गरेको छ । ६ नम्बर प्रहरी अनुसन्धान व्यूरो र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको टोलीले सीम्ता गाउँपालिका वडा ६ बाट चरेससहित २ जनालाई पक्राउ गरेको हो । पक्राउपर्नेमा जाजरकोट बारेकोट गाउँपालिका १ का अम्मर बहादुर शाही र सल्यान बनगाड कुपिण्डे नगरपालिका १ बस्ने जीवन बस्नेत रहेको ६ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी रणबहादुर चन्दले जानकारी दिए । उनका अनुसार भेरी नदीको किनारमा चरेसको कारोवार हुदै छ भन्ने बिशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ४० किलो अवैध लागुऔषध चरेशसहित २ जनालाई पक्राउ गर्न सफल भएको हो । उनीहरुलाई अवैध चरेशसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको छ । केही दिनअघि मात्र रोल्पाको थवाङ गाँउपालिका ३ घर्तिगाँउबाट ५० किलो अवैध लागुऔषध चरेशसहित प्रदेश नम्बर ५ प्रहरी कार्यालयको विषेश ब्युरोले २ जनालाई पक्राउ गरेको थियो ।

माअोवादी नेता जनार्दन शर्माको गाडी पल्टियो

ललितपुर, माघ २० ।नेकपा माअोवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी दुर्घटना भएको छ । शनिबार बिहान ललितपुरको पुल्चोकमा गाडी दुर्घटना भएको हो । बा १५ च १४९३ नम्बरको पल्टिएको स्यान्ट्रो कारमा जनार्दन भने थिएनन्, । जनार्दनको छोरा प्रकाश शर्मा र चालक गाडीमा सवार थिए । आज बिहान तरकारी किन्न भनेर जावलाखेलस्थित निवासबाट निस्किएको गाडी दुर्घटना हुँदा सामान्य क्षती पुगेको छ तर उनीहरू सकुशल भएको बताइएको छ । गाडी दुर्घटनाको कारण भने खुलेको छैन ।

एक वर्षअघि माअोवादी नेतालाई गोली हान्ने पक्राउ

काठमाडौं, माघ २० । एक वर्षअघि सिरहाको मिर्चैया स्थित मझौलिया–४ का माओवादी केन्द्रका नेता लालु खानलाई गोली हानेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएलका सिराहा क्षेत्र नम्बर ६ का इन्चार्ज रहेका खानलाई गोली हानेको आरोपमा धनुषाको कमला नगरपालिका–८ सोनापाराका २० वर्षीय सुनिलकुमार यादवलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका यादव सशस्त्र भूमिगत संगठन मधेश राष्ट्र जनतान्त्रिक पार्टीमा आबद्ध तथा घटनाका मुख्य सुटर रहेको प्रहरीको दाबी छ। लामो समयदेखि फरार रहेको र प्रहरीको ‘मोस्ट वाण्टेड’ सूचीमा रहेका यादवलाई आवश्यक कारवाहीका लागि सिरहा जिल्लाको इलाका प्रहरी कार्यालय मिर्चैयाको लगाइएको धनुषा प्रहरीले जनाएको छ। २०७३ फागुन १ गते मल्हनीयाबाट मोटरसाइकलमा मिर्चैया बजार जाने क्रममा भारतीय अनटेष्ट नम्बरको मोटरसाइकलमा आएका ४ जनाले खानलाई प्रहार गरेका थिए। ४ मध्ये २ गोली लागेर खान घाइते भएको थिए। खानको बायाँ कोखा र घाँटीको दाहिने भागमा गोली लागेको थियो भने, घटनाको जिम्मेवारी मधेस राष्ट्र जनतान्त्रिक (क्रान्तिकारी)ले का केन्द्रिय अध्यक्ष चाणक्य मधेसीले घटनाको जिम्मेवारी लिएका थियो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले यस अघि नै ४ जनालाई पक्राउ गरिसकेको छ। अर्का एक पक्राउ यसैबीच इलाका प्रहरी कार्यालय धनुषा ढल्केवरले एक जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–५ बस्ने अन्दाजी वर्ष २२ को जंगे भन्ने जंगबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेको घिसिङको साथबाट कटुवा पेस्तोल र आर.पी.पी ३०३ लेखिएको एक राउण्ड गोली बरामद गरेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिए।

“आर्केस्ट्रा” मा बेचिँदै नेपाली चेली

पर्सा, माघ २० । रौतहट गमहरियाकी १८ वर्षीया रविना खातुन र उदयपुर गाईघाटकी १६ वर्षीया राधा चमार (दुवै नाम परिवर्तन) लाई प्रहरीले वीरगन्जस्थित नेपाल–भारत सीमामा फेला पार्‍यो । रविनालाई अर्जुन कलवारले घरायसी काममा लगाइदिन्छु भन्दै वीरगन्ज बोलाएका थिए । रविना १४ वर्षीया अर्की साथीका साथ सीमान्त सहर आइपुगेकी थिइन् । तीनैजना युवतीलाई वीरगन्ज नाकाबाट केही पर गाउँको बाटो हुँदै भारत लगियो । त्यहाँको अज्ञात गाउँमा लगेर स्थानीय पारस बैठाले सञ्चालन गरेको अर्केस्ट्रा (पेसेवर नृत्य समूह) मा जोडियो । पहिलो साता राम्रै व्यवहार भयो । पछि उनीहरूलाई कुटपिट गर्दै नृत्यको तालिम दिन थालियो । बैठाको समूहले युवतीलाई जबर्जस्ती वैवाहिक तथा अन्य समारोहमा नाच्न लगाउँथे । छोटा कपडा लगाएर नृत्य गर्नुपथ्र्यो । एक दिनको भारु १ हजार ५ सय रुपैयाँ आम्दानी हुन्छ भनेर प्रलोभन देखाए पनि पारिश्रमिक भने पाएनन् । ज्यादती बढेपछि युवतीले स्वदेश फर्कन खोजे । तीनैजनाले पारिश्रमिक माग्दा पाएनन् । खेतको बीचमा झुप्रो बनाएर राखिएको थियो । राति अपरिचित युवा आएर दुव्र्यवहार गर्थे । भाग्न खोज्दा कुटपिट गर्थे । एक रात भाँडा माझ्ने बहानामा रविना र राधा भागेर नेपाली सीमासम्म आइपुगे । रविनासँगै आएकी किशोरी अहिले पनि सीमापारि अर्केस्ट्रा समूहकै चंगुलमा छिन् । रविना र राधालाई भने माइती नेपाल वीरगन्ज शाखाले अभिभावक बोलाएर जिम्मा लगाएको छ । उनीहरूले अब कहिल्यै कामको लोभमा भारत नजाने बताए । स्याङ्जा वालिङ घर भएकी नाम मात्र लेख्न सक्ने सोनी मगर (नाम परिवर्तन) को कथा-व्यथा पनि उस्तै छ । गाउँकै तारा भनिने एक महिलाले मैनबत्ती उद्योगमा काम पाइन्छ भनेर उनलाई भारत विहारको बगाहा पुर्‍याइदिइन् । तर मैनबत्ती उद्योगमा नभई अर्केस्ट्रामा काम गर्नुपर्‍यो, उनले । त्यहाँ नारकीय यातना भोगिन् । माइती नेपालले भारतीय प्रहरीसँग समन्वय गरी बगाहा पुगेरै उनलाई उद्धार गरेर स्वदेश ल्यायो । यी प्रतिनिधि घटना मात्र हुन् । यसले अर्केस्ट्राका नाममा चेलीबेटी बिक्री हुने गरेको नयाँ तथ्य सार्वजनिक भएको छ । भागेर आउने आँट नभएका र माइती नेपाल तथा भारतीय प्रहरीको नजरमा नपरेका थुप्रै नेपाली चेली अहिले सीमावर्ती भारतीय बजारमा फस्टाएको अर्केस्ट्रा व्यवसायमा काम गर्न बाध्य छन् । कान्तिपुरमा खबर छ ।

मन्दिरबाट देउता नै चोरिए !

बनेपा, माघ १५ । काभ्रेप्लाञ्चोकको बनेपा–४ उग्रचण्डीनालास्थित करुणामाई मन्दिरमा रहेका मूल्यवान् चाँदीका गरगहना चोरी भएका छन् । आईतबार राति चाँदीका पाउजु, सिक्री, ताज मुकुट चोरी भएको इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक सुनिलजङ शाहले जानकारी दिए । उनका अनुसार मन्दिरबाट रु दुई लाख बराबरको गरगहना चोरी भएको अनुमान छ । स्थानीयवासीका अनुसार नेवारी समुदायको तान्त्रिक देउता आन्नदेव पनि चोरी भएको छ । सो मन्दिरमा भक्तजनले चाँदीका गहना चढाउँछन् । आज बिहान भक्तजनले त्यहाँ पुग्दा चोरी भएको थाहा भएपछि प्रहरीलाई जानकारी दिएका थिए । प्रहरी निरीक्षक शाहले घटनाको विस्तृत अनुसन्धान भइरहेको बताए ।

नख्खु कारागारमा मनोसामाजिक अस्पताल

ललितपुर, माघ १५ । नख्खु कारागारमा मनोसामाजिक अस्पताल बनेको छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेकाले केही महिनापछि नै अस्पताल सञ्चालनमा आउने जनाइएको छ । यो अस्पताल कारागारमा सञ्चालित पहिलो मनोसामाजिक अस्पताल हुनेछ । यस कारागारमा रहेका झण्डै ८०० जना कैदी÷बन्दीमध्ये करिब २०० जना मानसिक रोगी रहेको जेलर टेकबहादुर केसी बताए । उनले भने, “मानसिक अस्पताल लगनखेलमा भएकाले पहिलेदेखि नै यहाँ मानसिक रोगी धेरै हुने गरेको पाइन्छ ।” जेलर केसीका अनुसार, कारागार र कैदी÷बन्दी दुवैले यहाँ सरुवा खोजेका छन् । धेरै कारागारले मानसिक रोगीलाई सरुवा गरेर पठाएको उनले बताए । पहिले धुलिखेलस्थित कारागारमा मानसिक रोगीको चाप बढी हुने गरेकामा अहिले नख्खु कारागारमा चाप बढेको छ । कारागारमा अहिले भएका मानसिक रोगीमध्ये कति कडा त कति नरम खालका मानसिक रोगबाट पीडित छन् । कतिपयले नियमित रुपमा औषधि खाइरहेका छन् । कतिलाई भने समस्या आउँदा तुरुन्त अस्पताल पु¥याउनुपर्छ । उनले भने, “हामी दैनिक तीन÷चार पटकसम्म मानसिक रोगी लिएर अस्पताल गइरहेका छौँ ।” मानसिक अस्पतालमा अहिले अहेबले सामान्य उपचारबाहेक अरू सेवा छैन । अरू रोगका बिरामी समेत विभिन्न अस्पतालमा जाँच र कहिले भर्ना हुने गरेका छन् । मनोसामाजिक अस्पतालमा अरू सामान्य उपचारसमेत हुँदा सहज हुने जेलर केसी बताए ।

५० हजार मेट्रिक टन चिनी नपुग

काठमाडौं। नेपाल चिनी उद्योग संघले यस वर्ष देशभर करिब ५० हजार मेट्रिक टन चिनी नपुग हुने जनाएको छ । मुलुकमा करिब दुई लाख २५ हजार मेट्रिक टन चिनीको माग भएको भए पनि स्वदेशी उत्पादनबाट करिब एक लाख ७५ हजार मेट्रिक टन चिनी उत्पादन हुने अनुमान गरिएको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष राजेश केडियाले २० लाख मेट्रिक टन उखु उत्पादन हुने बताउँदै सो परिणाम बराबर रु एक अर्ब १० करोड कृषकलाई भुक्तानी गरिने जानकारी दिनुभयो । उक्त संघले स्वदेशी कृषिजन्य चिनी उद्योगलाई प्रवद्र्धन गर्नका लागि भारतलगायत मुलुकबाट आयात हुने चिनीको भन्सार वृद्धि गर्न माग गरेको छ । चिनीमा १५ प्रतिशत भन्सार महसुल कायम रहेकामा ३५ प्रतिशत थप गरी ५० प्रतिशत पु¥याउन व्यवसायीले आग्रह गरेका छन् । गत वर्ष उखुप्रति क्विन्टल रु ५३१ कायम गरिएको संघले जनाएको भए पनि कृषकले रु प्रतिक्विन्टल रु ४६६ मात्र प्राप्त गरेको बताएका छन् । देशभर अहिले १३ उद्योग सञ्चालनमा छन् भने एक लाख कृषक तथा दुई लाख मजदुरलाई रोजगारीमा संलग्न रहेको बताइएको छ ।

तल्लो तहदेखि नै काँग्रेस संगठन हेरफेर गर्नुपर्छ : नेता रिजाल

नगरकोट । नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले अब काँग्रेसले संघीयतामा रहेर प्रदेश तहबाटै संगठनको हेरफेर गर्नुपर्ने बताउनुभएको छ । रफत सञ्चार क्लबमा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा नेता रिजालले यसका लागि महासमितिको बैठक तत्काल बोलाउनुपर्ने बताउनुभयो । बैठकले पार्टीको विधान परिवर्तन गरेर अघि बढ्नुपर्ने बताउँदै नेता रिजालले आगामी महाधिवेशनबाट अहिलेको नेतृत्वले नयाँ पुस्तालाई पार्टी नेतृत्व जिम्मा लगाउनुपर्ने बताउनुभयो । काँग्रेस अब कार्यकर्तामा होइन आम जनतामा आधारित, आम जनताको पार्टीको रुपमा रुपान्तरित हुनुपर्नेमा नेता रिजालले जोड दिनुभयो । सरकार गठनपछि काँग्रेस प्रतिपक्षको भूमिकामा बसेर देश विकासका लागि रचनात्मक भूमिकामा रहने उहाँले बताउनुभयो । वाम गठबन्धनलाई काम चलाउ सरकारले गरेका निर्णयमा भन्दा पनि सरकार गठन प्रक्रियामा अघि बढ्न उहाँले आग्रह गर्नुभयो । उहाँले राष्ट्रियसभाको निर्वाचन तोकिएकै समयमा हुने बताउनुभएको छ । राष्ट्रियसभाको निर्वाचनलगत्तै नयाँ सरकार निर्माण हुने पनि उहाँले बताउनुभयो । मुलुकको सीमा मिचिएको विषय एकदमै जटिल भएका कारण यसका विषयमा सबै दलले गम्भीर भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

१८ वटा विमानस्थलको कमार्इ न्यून, खर्च जुटाउन प्राधिकरणलाई धौधौं

काठमाडौं । देशभर सञ्चालनमा रहेका कुल २९ विमानस्थलमध्ये ११ वटा विमानस्थलको मात्रै कमाइ रु एक करोडभन्दा माथि छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार १८ वटा विमानस्थलको कमाइ कम हुँदा सञ्चालन खर्च चलाउनसमेत नपुग्ने अवस्थामा रहेको छ । सरकार र राजनीतिक दलले मुलुकका विभिन्न स्थानमा नयाँ विमानस्थल खोल्ने तयारी गरिरहेका बेला सञ्चालनमा रहेका विमानस्थलको कमाइ नै कमजोर देखिएको हो । सञ्चालनमा नै रहेका विमानस्थलको कमाइ न्यून हुँदा सरकारलाई ती विमानस्थल सेतो हात्तीका रुपमा पालिराख्नुपर्ने बाध्यता आइलागेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले नै अधिकांश विमानस्थल सञ्चालन गर्नुपर्ने र अन्य कामसमेत गर्नुपर्ने अवस्था देखिएको छ । प्राधिकरणले सार्वजनिक गरेको सन् २०१७ को प्रतिवेदनका आधारमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले रु छ अर्ब ६२ करोड ८१ लाख २० हजार ६४ आम्दानी गरेको छ । चन्द्रगढी विमानस्थलले रु दुई करोड १९ लाख ६० हजार कमाइ गरेको छ । यस्तै विराटनगर विमानस्थलले रु पाँच करोड ६४ लाख ७७ हजार ७९७, तेन्जिङ हिलारी विमानस्थलले रु एक करोड ८६ लाख ९८ हजार ५७६, सिमराले रु एक करोड २३ लाख ३९ हजार २३२, भरतपुर विमानस्थलले रु दुई करोड, ३८ लाख १४ हजार १४ हजार ८८, पोखरा विमानस्थलले रु ६ करोड ३९ लाख १९ हजार ५०७, गौतमबुद्ध विमानस्थलले रु तीन करोड ७३ लाख ५१ हजार ७०६ कमाइ गरेका छन् । प्राधिकरणका अनुसार नेपालगञ्ज विमानस्थलले रु चार करोड ५६ लाख ९६ हजार २३९, सिमीकोटले रु एक करोड, ५४ हजार ११४, धनगढी विमानस्थलले रु एक करोड २१ लाख ११ हजार कमाइ गरेका छन् । प्राधिकरणका अनुसार थामखर्क विमानस्थलले रु १४ हजार ३४६ मात्रै कमाइ गरेको छ । चितवनको मेघौली विमानस्थलले रु २१ हजार ९७७ कमाइ गरेको छ । लामो समयदेखि व्यस्त मानिने जुम्ला विमानस्थलको कमाइ पनि रु आठ लाख ७६ हजार ८१० मात्रै कमाइ गरेको छ । भोजपुर विमानस्थलले रु १२ लाख कमाइ गर्दा लामीडाँडा विमानस्थलले भने रु ८६ हजारमात्रै आम्दानी गरेको छ । व्यस्त रहने जनकपुर विमानस्थलको कमाइसमेत रु ६१ लाखमा सीमित भएको छ । रामेछाप विमानस्थलको रु पाँच लाख ४० हजार ४६१, तुम्लिङ्टार विमानस्थलको रु २२ लाख २० हजार ५३३, रुम्जाटारले रु एक लाख २८ हजार ११७ मात्रै आम्दानी छ । मनाङको विमानस्थलले रु एक लाख २४ हजार ८५४, सुर्खेत रु ४८ लाख ९५ हजार ४६३, रुकुम सल्ले रु एक लाख ४३ लाख ७४१, रुकुम चौरजहारी रु एक लाख ११ लाख १०६, डोल्पा रु चार ८० हजार ३०८, बाजुरा विमानस्थलको रु छ लाख १७ हजार ८९८ कमाइ छ । रारा विमानस्थलले रु १७ लाख ३६ हजार ८२ कमाइ गर्दा फाप्लु विमानस्थलले रु २६ लाख ९० हजार आम्दानी गरेको छ । प्राधिकरणले गत पुसको अन्तिम सातादेखि दाङको टरिगाउँ विमानस्थल सञ्चालनमा ल्याएको छ । निकट भविष्यमा नै बागलुङको बलेवा विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । सप्तरीको राजविराजमा रहेको विमानस्थल पनि सञ्चालनमा ल्याउने तयारीमा छ । यस्तै प्रदेश नं ७ को कञ्चनपुर, बैतडीको गोकुलेश्वर विमानस्थल पनि सञ्चालनमा ल्याइने तयारीमा छ । कालीकोट, ओखलढुंगाको खिजी चण्डेश्वरी, गुल्मीको सिमीचौर, इलामको सुकीलुम्बा, अछामको कमलबजार, अर्घाखाँची र लम्जुङमा समेत विमानस्थल निर्माणमा रहेका र निकट भविष्यमा नै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । कालीकोट विमानस्थलको धावनमार्ग निर्माण सम्पन्न भई गत वर्ष नै परीक्षण उडानसमेत भइसकेको छ । अरु विमानस्थल निर्माणको क्रममा छन् । सञ्चालनमा रहेकामध्ये २९ वटा विमानस्थल कालोपत्र छन् । लामीडाँडा, थामखर्क, राजविराज, डोटी दिपायल, बैतडी र साँफेबगर विमानस्थल कालोपत्र गर्ने क्रम जारी छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले अन्तर्राष्ट्रिय विमानस्थल र अरु केही विमानस्थलमात्रै सञ्चालन नाफामा रहेको र धेरैजसो विमानस्थल घाटाको व्यापार गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थलको कमाइले मात्रै अरु विमानस्थल सञ्चालन गर्नुपरेको छ । त्यसले आर्थिक रुपमा समेत असन्तुलन कायम गरेको छ ।” विमानस्थल निर्माणको माग बढ्दै गएको र सञ्चालनमा समेत घाटा व्यहोर्नुपरेपछि प्राधिकरण पनि के गर्ने भन्ने मेसो पाउन सकेको छैन । राजनीतिक दबाबका आधारमा निर्माण हुने र सञ्चालन गर्नुपर्ने बाध्यतालाई प्राधिकरणले नकार्न सकेको छैन । प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले पूँजीगत लगानीका आधारमा सञ्चालनमा रहेका धेरै विमानस्थलले नाफा कमाउने सम्भावना नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कतिपय विमानस्थल सामाजिक उत्तरदायित्वका हिसाबले मात्रै चलिरहेका छन् । नाफाभन्दा पनि सेवामूलक ढंगले मात्रै चलिरहेका छन् ।” सरकारले जनतालाई सेवा दिने लक्ष्यका साथ सञ्चालनमा ल्याएका विमानस्थलको दायित्वसमेत प्राधिकरणको काँधमा रहेको उहाँको भनाइ छ । हाल पोखरा, गौतमबुद्ध विमानस्थल निर्माणका क्रममा छ ।

दिनप्रतिदिन उपभोक्ताहरु तौलमा ठगिँदै

बर्दिवास । स्थानीय उपभोक्ता खरिद गरिएका सामानको तौलमा दिनदिनै ठगिदै आएका छन् । जिल्लाका बजार र गाउँनगर बस्तीका पसलमा व्यापारीले परम्परागत काठे तराजु र ढुंगे ढकको प्रयोग अझैसम्म नछाडेकाले उपभोक्ता ठगिएका हुन् । खासगरी तौलेर लिइने सामानमा किराना पसलेबाट दैनिक प्रयोजनका वस्तु र तरकारी किन्दा तौलमा ठगिने गरेको उपभोक्ताको गुनासो छ । बजारबाट किनेर ल्याइएको चिनी, चामल, पिठोलगायतका दैनिक प्रयोजनका सामान र तरकारी घरमा ल्याएर तौलिदा सधैँ तौल कम भएको पाइएको बर्दिवास नगरपालिका–२ की पवित्रा खड्काले गुनासो गर्दै भन्नुभयो, “बजारबाट ल्याएको एक किलो तरकारी घर ल्याएर तौलँदा २०० ग्राम घट्छ त्यस्तै हाल किराना पसलबाट ल्याइएका सामानको पनि छ ।” बजारका स्थायी पसल र साप्ताहिक हटियामा ढुंगे ढक र परम्परागत तराजुको प्रयोगमा प्रतिबन्ध लगाएर कारबाही नगरेसम्म व्यापारीहरूले तौलमा ठगिनै रहने यहाँका उपभोक्ता बताउँछन् । बजारक्षेत्र र गाउँनगर बस्तीका स्थायी पसलमा फलामे ढक प्रयोग गर्ने व्यापारी भेटिए पनि तिनले प्रयोग गर्ने ढक पनि अप्रमाणिक र कम तौलको पाइएको भङ्गाहा नगरपालिका–५ राजपुरकी सामाजिक कार्यकर्ता हरिप्रिया कुशवाहाले बताउनुभयो । बजार र पसलमा नापतौल व्यवस्थापन, अनुगमन गर्ने निकाय स्थानीय प्रशासन, उद्योग वाणिज्य संघ र नापतौल तथा गुणस्तर कार्यालयले यसप्रति चासो नदेखाएकाले उपभोक्ता ठगिने क्रम नरोकिएको उहाँले उल्लेख गर्नुभयो । नेपाली काँग्रेस बर्दिवास नगर समितिका सचिव युवराज पोखरेल भन्नुहुन्छ “निश्चित दायित्व निर्वाह गर्ने कुरामा हल्लाखल्ला नभएसम्म कतैबाट वास्ता गरिँदैन ।” यता बर्दिवास उद्योग वाणिज्य संघले नापतौलका लागि प्रमाणिक ढक, तराजु वितरणका लागि जिल्ला प्रशासन कार्यालय र नापतौल तथा गुणस्तर कार्यालयसँग समन्वय गरेर प्रामाणिक ढक, तराजु लिन व्यापारीलाई आग्रह गरे पनि व्यापारी सम्पर्कमा नआएको जनाएको छ । यता किराना र तरकारी व्यापारीहरूले भने प्रामाणिक ढक, तराजु निकै महँगो पर्ने भएकाले किन्न नसकिएको बताएका छन् । प्रामाणिक ढक, तराजु किन्न आग्रह गर्दा पनि सम्बन्धित व्यापारीले ध्यान नदिएकाले अब स्थानीय प्रशासनको समन्वयमा बजार अनुगमन गरी कारबाही बढाइने संघका महासचिव भवनाथ खतिवडाको भनाइ छ ।