सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढ्यो
काठमाडौं । सुनको मूल्य फेरि बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मुल्य बिहीबार एकै दिन ११ सय रुपैयाँ प्रतितोला वृद्धि भएको हो।
यसअनुसार आज छापावाल सुन १ लाख २७ हजार ९ सय र तेजाबी सुन १ लाख २७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य पनि बढेर १ हजार ५ सय १० रुपैयाँमा कारोबार भएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस २ हजार १ सय ९३ अमेरिकी डलर पुगेको छ।
गरिमा बैंकको सीईओमा माधव प्रसाद उपाध्याय
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको बुधबार बसेको सञ्चालक समितिको ३०४ औं बैठकले उपाध्यायलाई ४ वर्षको लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी बैंकमै नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए । उनको सीईओको कार्यकाल वैशाख १ देखि लागू हुने गरिमा विकास बैंक सञ्चालक समितिका अध्यक्ष श्यामप्रसाद बस्यालले जानकारी दिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंक लिमिटेडमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रुपमा र विगत ११ वर्षदेखि नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत रहेका छन्। उनी बैंकिङ्ग क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन÷प्राध्यापन पेशामा संलग्न थिए । यो विकास बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएपछि उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो । बैठकले विकास बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई बिहीबारदेखि लागू हुने गरी विकास बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय पनि गरेको छ। काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ । गरिमा विकास बैंक छोटो समयमा स्थापित विकास बैंकको रुपमा रहेको छ ।
नेपाल ए र आयरल्यान्ड ए बीचको खेल वर्षाका कारण रद्द
काठमाडौं । नेपाल ए र आयरल्यान्ड ए बीचको पहिलो टी २० अभ्यास खेल रद्द भएको छ । बुधबार रातिदेखि नै पानी परेपछि खेल रद्द भएको हो । खेल रद्व हुने भएपछि दुवै टोलीका खेलाडी मैदान नै आएका थिएनन् । नेपाल क्रिकेट संघ (क्यान) ले खेलको अर्को तालिका बनाउने जनाएको छ । लगातार हल्क वर्षा भएपछि टीयु मैदानको पिच र आउटफिल्ड दुवै कभरले ढाकिएको छ । नेपाल ए र आयरल्यान्ड ए बीच समान तीन वटा टी २० र एक दिवसीय सिरिज हुने कार्यक्रम छ । यस खेलसहित क्यानले पुनस् नयाँ तालिका सार्वजनिक गर्नेछ ।
म्यानमारको सैनिक जन्टाले दुई युवालाई जिउँदै जलाए
काठमाडौं । म्यानमारको सैनिक जन्टाले दुई युवालाई जिउँदै जलाएको छ । जिउँदै जलाइनेमा २१ वर्षिय फो टे र २० वर्षिय थार हाउङ रहेका छन् । सैनिक सासनविरुद्ध विद्रोहि बनेका उनीहरुलाई दर्जनौं मानिसहरूको अगाडि यातना दिएर रगताम्मे पारी रूखमा झुण्डाएर मुनिबाट आगो लगाइएको थियो । आगो र धुवाँको मुस्लोले तिनीहरूलाई जलाउँदै गर्दा पीडामा चिच्याइरहेको भिडियो सार्वजनिक भएको छ ।भिडियोमा उनीहरूको अकल्पनीय पीडासहितको अन्तिम क्षण देख्न सकिन्छ । उनीहरुलाई आगो लगाउनु अगाडि म्यानमारका सेनाले माफि माग्न आग्रह गरेका थिए । तर ती युवाहरुले यो जुनीमा माफि नमाग्ने बताएका थिए । दक्षिणपूर्वी एसियाली देश म्यानमारमा शान्ति र प्रजातन्त्र ल्याउने आशामा उनीहरु २०२१ को सैनिक विद्रोहपछि स्थानीय सशस्त्र प्रतिरोध समूहमा सामेल भएका थिए । उनीहरु उत्तरपश्चिम म्यानमारमा आफ्नो पारिवार र घर खेत त्यागेर सो विद्रोहमा सामेल भएको सिएनएनले जनाएको छ । म्यानमारको सेनाले लामो समयदेखि म्यानमारका जनतालाई जिउँदै जलाउने, टाउको काट्ने,गाउँमा आगजनी गर्ने र ठूलो हवाई बमबारी अभियान चलाउने गर्दा झन्डै ३० लाख मानिस विस्थापित भएको बताइएको छ ।
गगन थापाले सुरू गरे दोस्रो चरणको अभियान
रूपन्देही । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका छन् ।ऐतिहासिक स्थल गुठि सूर्यपुरामा विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर उनले आज विहान नवलपरासीको गौरीगञ्जबाट संवाद यात्रा सुरु गरेका हुन्। यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट संवाद यात्रा गरेर माघ २२ गते नवलपरासीको गोपीगञ्जमा पुगेर रोकेका उनले फेरि अर्को यात्रा सुरु गरेका हुन् । दोस्रो चरणको संवाद यात्रा आज, भोली र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुनेछ । महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गरेका छन्। यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरिक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ । गगन निकट एक नेताका अनुसार आज महामन्त्री थापाको यात्रा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुदै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय, बेथरी सम्म पुग्ने छ । भैरहवामा उनले उद्योग व्यवसायीसँग संवाद गर्नेछन भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नेछन् । १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नेछ । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलबस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुदै चन्द्रौटासम्म संवाद गर्नेछ । त्यसैगरी १७ गते विहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उनले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नेछन् ।
जेलमा रहेका टोपबहादुरको मुटुमा समस्या, अस्पताल भर्ना
काठमाडौं । पूर्वमन्त्री एंव नेकपा (एमाले)का नेता टोपबहादुर रायमाझीलाई अस्पताल भर्ना गरिएको छ । रायमाझीको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि जेलबाट अस्पताल लगिएको हो। रायमाझीको मुटुमा समस्या देखिएपछि उपचारका लागि उनलाई मनमोहन अस्पताल भर्ना गरिएको छ। नक्कली भुटानी शरणर्थी प्रकरणमा जेल परेका रायमाझीलाई उक्त अस्पतालमा ४७८ नम्बरको वेडमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको थियो। उनको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।रायमाझीको मुटुको चालको निगरानी गर्न मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा चिकित्सकको निगरानीमा राखिएको छ । अर्घाखाँचीवाट संघीय संसद बनेका रायमाझीलाई असारदेखि केन्द्रीय कारागारको भद्रबन्दी जेलमा राखिएको छ।
एमाले कास्कीको अध्यक्षमा खगराज निकट अधिकारी निर्वाचित
कास्की । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी निर्वाचित भएका छन्। खगराज अधिकारीनिकट बैनबहादुरले पृथ्वीसुब्बा गुरुङनिकट माधव बास्तोलालाई २ सय ४ मतान्तरले हराएर विजयी भएका हुन्। बुधबार भएको निर्वाचनमा बैनबहादुरले ५ सय ५१ मत पाएका छन् भने माधवले ३ सय ४७ मत पाए । ९ सय ३६ मतदातामध्ये ९ सय १५ मत खसेको थियो । अन्तिम परिणाम केही बेरमा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ । अन्य पदाधिकारी र सदस्यहरूमा पनि बैनबहादुर अधिकारी कै प्यानलको वर्चस्व छ ।
चितवनको रामनगरमा बिहानै दुर्घटना : आठ जना घाइते
चितवन । नारायणगढ मुग्लिन सडकको रामनगरमा बिहीबार बिहान दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । बिहान ५ बजे भरतपुर मनपा १ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर अगाडी चेकिङको लागि रोकी राखेको झापाबाट काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ४८८८ नं. को यात्रु बसको पहाडी ग २ ख २२५ नं को हायस अनियन्त्रित भई ठक्कर खादा सो दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय कमलबहादुर न्यौपानेको घरमा सञ्चालित मोटरसाइकल ग्यारेज समेत क्षति पुगेको छ । दुर्घटनामा परी चितवन भरतपुर मनपा ११ बस्ने वर्ष ४४ की मिना सापकोटा, भरतपुर ५ बस्ने वर्ष ४० को केशर साह, भरतपुर २१ बस्ने वर्ष ४४ को मेकना तामाङ , भरतपुर १४ बस्ने वर्ष ५३ को हरिराम ढकाल, वर्ष ५१ की धनुमाया ढकाल, भरतपुर २ बस्ने बर्ष ३० को काशी उपरकोटी, भरतपुर, २० बस्ने वर्ष ४७ को तुल बहादुर घले र गोर्खा सिरान चोक गापा १ बस्ने वर्ष २६ की प्रीति रम्तेल घाइते भएका छन् । उनीहरूको भरतपुरका विभिन्न अस्पतालमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर छ ।
आठ जना डिएसपी एसपीमा बढुवा गर्न सिफारिस
काठमाडौं। नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ८ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले सूचना प्रकाशन गरी ८ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरिएको जानकारी दिए । बढुवामा सिफारिस हुनेहरूमा प्रहरी प्रधान कार्यालयको आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालय बजेट शाखामा कार्यरत डिएसपी ढेकेन्द्र खतिवडा, जिल्ला प्रहरी परिसर काठमाडौँको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा कार्यरत डिएसपी अङ्गुर जिसी, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नेपाल प्रहरी आत्मरक्षा तथा खेलकुद प्रशिक्षक समूह महाराजगन्जमा कार्यरत डिएसपी यादव ढकाल र नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण काठमाडौँमा कार्यरत डिएसपी सन्तोष तामाङ छन्। त्यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, केन्द्रीय कार्यालय टंगालमा कार्यरत डिएसपी श्यामबाबु ओलिया, नेपाल प्रहरी विद्यालय साँगामा कार्यरत डिएसपी निरञ्जन दत्त भट्ट , प्रहरी प्रधान कार्यालय प्रदेश अपराध समन्वय शाखा नक्सालमा कार्यरत डिएसपी राजन लिम्बू र नेपाल प्रहरी पहरा गण मुख्यालय सामाखुसी काठमाडौँमा कार्यरत डिएसपी विनोद घिमिरे एसपीमा बढुवाका लागि सिफारिस भएका छन्।
टी २० सिरिज : नेपाल र आयरल्याण्ड ‘ए’बीच खेल हुँदै
काठमाडौं । नेपाल भ्रमणमा रहेको आयरल्याण्ड ‘ए’सँग बिहीबारदेखि नेपाल ‘ए’ले टी–२० सिरिज खेल्दैछ। पलिलो खेल बिहीबार दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ। आयरल्याण्ड ‘ए’ सँग नेपाल ‘ए’ टिमले तीन–तीन खेलको टी–२० र एक दिवसीय सिरिज खेल्न लागेको हो। आयरल्यान्डसँग खेल्ने टी–२० र एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले विनोद भण्डारीको कप्तानीमा टिम घोष्णा गरेको छ। नेपाल ‘ए’ ले कीर्तिपुरस्थित त्रिवि मैदानमा आयरल्यान्डसँग आज पहिलो खेल हुनेछ । दोस्रो खेल शुक्रबार र अन्तिम खेल शनिबार हुने क्यनले जनाएको छ । आयरल्याण्ड ‘ए’सँगको एक दिवसीय सिरिज भने चैत २१ गते सुरु हुँदैछ। एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र अन्तिम अर्थात् फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ। आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।
यस्तो छ आजको विनिमय दर
काठमाडौं । आज २०८० साल चैत १५ गते बिहीबार सन् २०२४ मार्च २८ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ ।युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र बिक्री दर १४४ रुपैयाँ ८४ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ १९ पैसा र बिक्री दर १६८ रुपैयाँ ९४ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५० पैसा र बिक्री दर ३६ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
आजको मौसम : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बाँकी भूभागका एकदुई स्थानमा वर्षाको सम्भावना रहेको छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला
काठमाडौं । द हिडन ट्रेजरले मिस नेपाल २०२४ प्रतियोगिताको आवेदन खुला गरेको छ । प्रतियोगिताका लागि इच्छुक नेपाली युवतीले जेठ १ गतेसम्म आवेदन दिन सक्नेछन् । मिस नेपाल २०२४ को ग्रान्ड फिनाले साउन १९, गते गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा हुनेछ । प्रतियोगितामा न्यूनतम ५ फिट ३ इन्च उचाइ भएका १८ देखि २७ वर्षका अविवाहित नेपाली युवतीले आवेदन दिन सक्नेछन् । प्रतियोगितामा भाग लिन आवेदनको कुनै पनि शुल्क नलाग्ने द हिडन ट्रेजरले जनाएको छ । मिस नेपाल प्रतियोगिताका लागि सहभागीहरूको खोजी बिर्तामोड, इटहरी, वीरगन्ज, चितवन, भैरहवा, नेपालगन्ज, पोखरा, सुर्खेत र काठमाडौंलगायत विभिन्न सहरमा हुनेछ । फाइनल अडिसन मे १८, २०२४ मा काठमाडौंमा हुनेछ । जसबाट छानिएका प्रतियोगिहरूले ग्रान्ड फिनालेको तयारीका लागि प्रशिक्षण लिनेछन् । यस वर्षको प्रतियोगितामा तीन मुख्य विजेता मिस नेपाल वर्ल्ड, मिस नेपाल अर्थ र मिस नेपाल इन्टरनेसनल हुने द हिडन ट्रेजरले जनाएको छ ।
सहकारी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताको प्रमाण देखिएन : महानिरीक्षक कुँवर
काठमाडौं। नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार प्रमाण नदेखिएको बताएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नताको आधार, प्रमाण नरहेको बताए । उनले गृहमन्त्री लामिछानेको सम्बन्धमा ठाडो उजुरी आएको र अनुसन्धान गर्दा तथ्य प्रमाण नभेटिएको बताए।उनले जिबी राईको सम्बन्धमा नेपाल प्रहरी संवेदनशील रहेको र सोही अनुरुप पक्राउ गर्ने प्रक्रियामा लागेको बताए।राई मलेसियामा भए पनि नेपाल र मलेसियाका बिचमा सुपुर्दगी सन्धि नभएका कारण नेपाल पठाउन मलेसिया सरकार बाध्य नभएको बताए । महानिरीक्षक कुँवरले प्रहरीले पक्राउ गरी बयान गराउँदा सांसद विनोद चौधरीको व्यक्तिगत स्वतन्त्रतामा अतिक्रमण हुने ठानेर प्रहरी अतिरिक्त सचेत बन्दै संसदलाई पत्र पठाएको स्पष्ट पारे।उनले चौधरीमाथि किर्ते प्रकरणमा अनुसन्धान जारी रहेको र सो अनुसन्धान एक वर्षसम्म चल्ने बताए। महानिरीक्षक कुँवरले पूर्वसभामुख कृष्णबहादुर महराले सुन तस्करी प्रकरणको अनुसन्धानमा नसघाउने देखेर पक्राउ गर्नुपरेको बताए।महराले गाडी र पिएसओ समेत छोडेर हिँडेपछि पक्राउ गर्नुपरेको बताए।महराको स्वास्थ्य अवस्थाका कारण रिहाइ गरिएको भन्दै उनले कुनै दबाब र प्रभावमा नगरिएको बताए। महानिरीक्षक कुँवरले जीवन चलाउनेले प्रहरीमाथि लगाएको आरोपको सन्दर्भमा सम्बन्धित व्यक्ति पक्राउ नहुँदासम्म सो कुरालाई तथ्यको रुपमा लिन नसकिने बताए।
मिस इकलेज २०२४ को ताज आर्जु पौडेलको शिरमा
काठमाडौं । सिजन मिडयाद्धारा आयोजित ‘मिस इकलेज २०२४’ को ताज आर्जु पौडेल पहिरिन् । राष्ट्रिय नाचघरमा भएको अन्तिम प्रतिस्पर्धामा १५जना प्रतियोगी लाई पछि पार्दै पौडेलले मिस पपुलर अवार्डको टाइटल पनि हात पार्न सफल भइन विजेता पौडेललाई एक थान ल्यापटप र रु ३५ हजार राशिको गिफ्ट भौचर लगायत विभिन्न पुरस्कार जित्न सफल भइन् । यस्तै प्रतियोगितामा फष्ट रनर अप रसिला थापा, सेकेण्ड रनर अप स्वस्तिका बज्राचार्य, थर्र्ड रनर अप जेनिसा बज्राचार्य भएका थिए। त्यसैगरी अन्य विभिन्न विधा मिस चार्मिङ इप्सा मानन्धर, मिस प्रर्सनालीटी सुमित्रा सापकोटा, भिर्योस च्वाइसमा कुमारी कटुवाल, मिस कन्फीडेन्टमा सृष्टि साही, मिस फोटोजेनीक अर्चना चौधरी, मिस इनोसेन्ट अन्जली चौधरीले जित्न सफल भइन भने मिस ट्यालेन्टको अवार्ड स्वस्तीका वज्रचार्यले जितिन । उक्त कार्यक्रममा निर्णायक मंडलमा फिल्म निर्माता तथा नायक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक, न्यू मिलेनियम स्कुलकी प्रिन्सिपल कविता अर्याल, व्यवसायी अमित शर्मा, गायीका वविना भट्टराई र नेपाल एयरलाइन्सका वरिष्ठ निर्देशक रमेश पौडेल रहेको आयोजक सस्थाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।
स्याङ्जा किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिदै
स्याङ्जा । स्याङ्जा जिल्लाको किचनासमा निःशुल्क स्वास्थ्य शिविर गरिने भएको छ । स्याङ्जा किचनास कल्याणकारी समाज भरतपुर, चितवन र बिरुवा गाउँपालिका स्याङ्जाको संयुक्त आयोजनामा सो शिविर गर्न लागिएको माओवादी केन्द्रका नेता धु्रवराज वाग्लेले जानकारी दिए । स्वास्थ्य शिविर २०८० साल चैत्र ३० गते र २०८१ बैशाख १ गते श्री नवज्योति मा.वि. बिरुवा, स्याङ्जाको प्राङ्गणमा हुने छ । स्वास्थ्य शिविरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नीजि चिकित्सक प्रा.डा. युवराज शर्मा वाग्ले नेतृत्वका चिकित्सकहरुले सेवा गर्ने वाग्लेले जानकारी दिए ।

