कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाईकल चालकको मृत्यु

जनकपुरधाम । धनुषामा कार र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको लोहारपट्टी नगरपालिका ४ बस्ने करिब २५ वर्षका रामबाबु साह रहेका छन् ।

आज बिहान सवा ६ बजेतिर लक्ष्मीनियामा प्रदेश २ ०२ ००४ प ६९४७ मोटरसाइकललाई बी एल १२ सी ०९४४ भारतीय नम्बरको कारले पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका साहको लक्ष्मीनियाको सेन्ट्रल हस्पिटलमै उपचारको क्रममा आज बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रक्ता रञ्जन अवाले जानकारी दिए ।

कार चालक दुर्घटनापछि फरार भएको र उनको खोजी जारी रहेको डिएसपी अवाले बताए ।

आयरल्यान्ड वुल्भ्ससँग दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । पाँच खेलको ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखलाका लागि नेपाल भ्रमणमा आएको आयरल्यान्ड वुल्भ्ससँग आज नेपालले दोस्रो ट्वान्टी–२० खेल खेल्दै छ ।  खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा  दिउँसो १ बजे सुरु हुनेछ । ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्ध ६ विकेटको सहज जित हासिल गरेको छ ।  सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा आयरल्यान्ड वुल्भ्सले प्रस्तुत गरेको १२२ रनको लक्ष्य नेपालले १६.१ ओभरमा चार विकेट गुमाएर भेट्टाएको थियो । नेपाल ‘ए’ ले आयरल्यान्ड वुल्भ्ससँग पाँच ट्वान्टी–२० र तीन एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । जसअन्तर्गत सुरुका दुई ट्वान्टी–२० खेल रोहितकुमार पौडेलको नेपाली सिनियर टिमले खेल्दा बाँकी खेल भने विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ ले खेल्नेछ ।  आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।  

पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ।देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । केही स्थानमा बिहानैदेखि वर्षा भइरहेको छ ।  आज बिहान कोसी र मधेस प्रदेशमा साधारणतया बदली रहेको छ । बाँकी पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । हाल कोसी प्रदेशका केही स्थानमा, मधेस प्रदेशका थोरै स्थानमा र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी र मधेस प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।  कोसी प्रदेशका थोरै स्थानमा तथा मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशभर आंशिक बदली रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको विभागले जनाएको छ ।

गृहमन्त्री लामिछाने र इजरायलका राजदूत गोदरबिच भेट

काठमाडौं। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र नेपालका लागि इजरायलका राजदूत हनान गोदरबिच भेटवार्ता भएको छ । भेटमा राजदूत गोदरले गृहमन्त्री नियुक्त भएकोमा लामिछानेलाई बधाई ज्ञापन गरेका छन् । सोमबार गृहमन्त्रालयमा भएको उक्त भेटमा नेपाली नागरिकको इजरायलमा हालको अवस्था, नेपाली विद्यार्थीका लागि छात्रवृत्ति साथै विपिन जोशीको सुरक्षित नेपाल फर्काइ लगायतका विविध विषयमा छलफल भएको गृहमन्त्रीको सचिवालयले जानकारी दियो । गृहमन्त्रीले इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्वको शान्तिपूर्ण समाधान होस् भन्ने कामना गरे। राजदूतले त्यहाँको अवस्थाको मूल्याङ्कनका आधारमा परिवारको पुनर्मिलन र भ्रमणका लागि सहजीकरण गरिने विषयमा छलफल गरी ठोस कदम चालिने बताए। त्यस्तै, राजदूतले विविन जोशीको अवस्थाबारे इजरायल सरकार पनि चिन्तित रहेको बताउँदै उनीसहित ज्यान गुमाउने १० जना नेपालीको परिवारलाई इजरायल सरकारले राहत स्वरूप भत्ता उपलब्ध गराउन थालेको जानकारी दिए। उनीहरूबिच कृषि, सूचना प्रविधि, रोजगारी सिर्जनालगायत क्षेत्रमा सहकार्य र नेपाल–इजरायलको सम्बन्ध विस्तार र सुदृढका लागि थप सहकार्यबारे पनि छलफल भएको थियो ।

नेपालको लेखा प्रणाली उत्कृष्ट : विश्व बैंक उपाध्यक्ष

काठमाडौं । विश्व बैंकले नेपालको लेखा प्रणाली धेरै उत्कृष्ट रहेको बताएको छ । विश्व बैंककी उपाध्यक्ष एवं फाइनान्स र अकाउण्ट हेर्ने निर्देशक पामेला ओ कोनेलले सोमबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको भेटमा नेपालको लेखा प्रणाली विश्वसनीय र व्यवस्थित रहेको बताएकी हुन् । पामेलाले भनिन्,'मैले केही दिनअघि महालेखा परीक्षकको कार्यालय र कोष तथा लेखा नियन्त्रण कार्यालयको भ्रमण गरेकी थिएँ । नेपालको लेखा प्रणाली धेरै विश्वसनीय र उत्कृष्ट रहेको पाएँ ।’ लेखा प्रणालीमा अपनाइएको पेपरलेस पद्धतिले सुशासनका लागि प्रभावकारी काम गर्ने उनको भनाइ थियो । जवाफमा मन्त्री पुनले १२ वर्षअघि आफू पहिलोपटक अर्थमन्त्री भएका बेला राजश्व र लेखामा कम्प्युटरमा हिसाब राख्ने प्रविधि लागू गरेको स्मरण गर्दै परिवर्तित सन्दर्भमा थप प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने गरी सुधार गर्ने उल्लेख गरे । मन्त्री पुनले नेपालको खर्च गर्ने क्षमता बढाउनुपर्ने आवश्यकता रहेको भन्दै त्यसका लागि जनशक्ति विकाससहित कार्यशैली सुधारका काम गर्ने कार्ययोजना मन्त्रालयले बनाएको जानकारी दिए । विकास आयोजनाका काम अघि बढाउने सिलसिलामा आउने समस्या समाधानका लागि अन्तर मन्त्रालय समन्वयका काममा पनि वर्तमान सरकार बनेयता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष ध्यान दिँदै आएको उनको भनाइ थियो ।

भरतपुर भ्रमण वर्ष : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल

चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा भरतपुरमा खेल गतिविधिहरु निरन्तर भइरहेका छन् ।भ्रमण वर्ष अवधिभर भरतपुरमा हुने कार्यक्रमलाई प्रोत्सहान एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा समारोह आयोजना गर्न महानगरपालिकाले अनुरोध पनि गरेको छ । भ्रमण वर्षलाई मध्यनजर राख्दै निर्माणधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल नै खेल भइरहेका छन् । जिल्ला खेलकुद विकास समिति चितवनका अनुसार पुस १७ गतेदेखि निरन्तर क्रिकेट प्रतियोगिता भइरहेका छन् । प्रधानमन्त्री कपमा भाग लिन वागमती प्रदेशस्तरीय महिला छनोट प्रतियोगिता भएको थियो । जहाँ वागमती प्रदेशका ४ वटा महिला क्रिकेट टिमबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि रंगशालामा खेलकुद गतिविधि विषेश गरी क्रिकेट प्रतियोगिता भइरहेका छन् । समितिकाले तथ्याङक अनुसार वागमती प्रदेशस्तरीय महिला एलिट क्रिकेट प्रतियोगिता, भिजिट भरतपुर कप, सिनियर वागमती प्रदेश छनोट प्रतियोगिता, वडास्तरीय क्रिकेट प्रतियोगिता, मैयाँदेवि मेमोरियल यू–१९ महिला क्रिकेट, चितवन भर्सेज नवलपुर क्रिकेट प्रतियोगिता, अन्तर विद्यालयस्तरीय मेर्यस कप क्रिकेट प्रतियोगिता भइसकेको छ भने इण्डो नेपाल टि–२० क्रिकेट प्रतियोगिता भइरहेको छ । वागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीच अधुरो क्रिकेट रंगशाला निर्माणका क्रममा वागमती प्रदेशका प्रतियोगिता भरतपुरमै गर्ने सहमति पनि भएको थियो । आगामी चैत्र २५ गतेदेखि भरतपुरमा फेरि पनि वागमती प्रदेशले विभिन्न ९ विद्याको खेल भरतपुरमा गर्दैछ । जसमा क्रिकेट, भलिबल, फुटबल, स्वीमिङ, तेक्वान्दोलगायतका खेलहरु हुन लागेको प्रदेश खेलकुदका सदस्य सचिव सुर्यलाल भण्डारीले जानकरी दिए। यो प्रतियोगितामा नेपालभरका ५ हजारभन्दा बढी खेलाडी भरतपुर आउने छन् । प्रतियोगितको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बाहेक भरतपुर फुटबल, साईकलिङ प्रतियोगिता, ब्याटमिन्टन प्रतियोगितालगायतका खेलकुदहरु भइरहेका छन् । भरतपुर महानगरपालिका नेपालको ७५३ वटा पालिका मध्ये सबैभन्दा धेरै खेल गतिविधि गर्ने पालिकाका रुपमा राष्ट्रिय खेलकुद परिषदबाट सम्मानित भइसकेको छ । भरतपुर भ्रमण वर्ष चलिरहेको र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको पक्का भएसँगै भरतपुरमा खेल गतिविधिहरु दिनप्रति दिन वृद्धि हुँदै गईरहेको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी सन् २०२७ मा हुने यू १९ महिला विश्वकप क्रिकेट यही भरतपुरको रंगशालामा गराउने गरी पहल गरिरहनु भएको छ । प्रमुख दाहालले यसका लागि खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद, नेपाल क्रिकेट संघलाई अनुरोध गरिसक्नु भएको छ। रंगशालाको टेण्डर आह्वान भइसकेकाले यू १९ महिला विश्वकप क्रिकेट बन्द प्रशिक्षण यही गर्न क्यान पनि सकारात्मक देखिएको छ ।भरतपुर महानगरले विद्यालयस्तरीय क्रिकेट लिग प्रतियोगिता सम्पन्न गरिसकेकाले आगामी वैशाखमा फुटबलको लिग प्रतियोगिता पनि गर्दैछ ।

वन तथा वातावरण राज्यमन्त्रीमा दीपक कार्कीले लिए शपथ

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका सांसद दीपक कार्की वन तथा वातावरण राज्यमन्त्री नियुक्त गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ले आज दिउँसो ३ बजे कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदवारमा राज्यमन्त्रीको शपथ खुवाए । जसपाले यसअघि नै धनुषा १ बाट निर्वाचित कार्कीलाई राज्यमन्त्री बनाउने निर्णय गरेको थियो ।  

गृह सचिव, प्रहरी प्रमुख र सीआईबी प्रमुखलाई राज्य व्यवस्था समितिले बोलाउने

काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले गृह मन्त्रालय सम्बद्ध विषयमा छलफल गर्न केही उच्च अधिकारीलाई बोलाउन लागेकाे छ । गृहसँग सम्बद्ध केही विषयमा गम्भीर रुपमै छलफल गर्नुपर्ने भएकाले गृह सचिव, नेपाल प्रहरीका महानिरीक्षक र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईवी) प्रमुखलाई यही १४ गते समितिमा बोलाउन लागिएको सचिवालयले जानकारी दिएको छ । राज्य व्यवस्था समितिका सदस्य रहीसकेका सांसद रवि लामिछाने अहिले गृह मन्त्रालयको नेतृत्वमा छन् । गृहमा उनकै विरुद्धमा कारबाहीको माग गर्दै केही निवेदनहरु परेका छन् । त्यसबाहेक सुशासनसँग सम्बन्धित केही ऐन संशोधन गर्न तयार भएका विधेयक पनि छलफल गरेर टुंगो लाउनुपर्ने अवस्थामा रहेका सचिवालयले जनाएको छ । समितिका तीन सदस्य त वर्तमान सरकारमा उपप्रधानमन्त्री छन् । गृहमन्त्री लामिछाने, उपेन्द्र यादव र रघुबीर महासेठ उपप्रधानमन्त्री छन् ।

इलाम २ का लागि कांग्रेस प्रदेश समितिबाट ७ जनाको नाम सिफारिस

काठमाडौं । नेपाली कांग्रेस कोसी प्रदेश कार्यसमितिले इलाम क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ७ जनाको नाम केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको छ । इलाम २ का लागि आंकाक्षीहरूमध्ये पहिलो नम्बरमा भेषराज आचार्यलाई सिफारिसमा राखिएको छ। दोस्रो स्थानमा पूर्वसांसद केशव थापा र तेस्रोमा जिल्ला सभापति डम्बर खड्काको नाम रहेको छ।  खड्का २०७९ को निर्वाचनमा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङसँग ११४ मतले पराजित भएका थिए । गत भदौ २५ गते राति नेम्वाङको निधन भएपछि यो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । पहिलो नम्बरमा नाम सिफारिस भएका आचार्य २०७० को निर्वाचनमा पराजित भएका नेता हुन् । कांग्रेसले नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेको छ । नेपाली कांग्रेसको विधानमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने व्यवस्था छ। इलाम २ को उपनिर्वाचनका लागि एमालेबाट दिवंगत नेता सुवासचन्द्र नेम्बाङका पुत्र सुहाङ उम्मेदवारका रुपमा खडा हुँदैछन् ।

यस्तो छ उम्मेदवार बनेपछि सुहाङ नेम्वाङको बकपत्र

काठमाडौँ । नेकपा एमालेको तर्फबाट इलाम-२ का उम्मेदवारी पाएका सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङ पार्टीले टिकट दिएपछि खुशी र उत्साही भएको बताएका छन्।आइतबार बसेको एमालेको सचिवालयको बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेपछि बुबा सुवास नेम्वाङको सपना पूरा गर्ने बताएका छन्। उनले भनेका छन्, ‘बुवाले देख्नुभएको सपना र गर्नुभएको सङ्कल्प पुरा गर्न अधिकतम योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरूले र कलिला नानीहरूले देखेका सपनाहरू पूरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ हार्दिक आभार तथा धन्यवाद  आगमी १५ वैशाख २०८१ मा इलाम क्षेत्र नं.२ को उप–निर्वाचनको लागि गौरवमय इतिहास बोकेको नेपाली जनताको प्रिय पार्टी नेकपा (एमाले)ले मलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । म खुशी र उत्साही छु । यो महत्वपूर्ण अवसरको निम्ती हाम्रो पार्टी नेकपा (एमाले) र श्रद्धेय अध्यक्ष कमरेडप्रति आभारी छु । उम्मेदवारको लागि सिफारिस गर्ने नेकपा ९एमाले० इलाम जिल्ला कमिटी, उम्मेदवार सिफारिस कार्यदल, इलामका सबै आदरणीय नेता कमरेडहरुप्रति आभारी छु । मलाई उम्मेदवार बन्नका लागि प्रेरित गर्नुहुने इलामका सबै आदरणीय अभिभावक, प्रियजन र नौजवान साथीहरुप्रति कृतज्ञ छु । तपाईहरुको माया, साथ र शुभेच्छा मेरा लागि अजस्र शक्तिको स्रोत र अमुल्य सम्पति हो । अप्ठ्यारो परिस्थीतिमा मलाई हौसला, उर्जा र साहस प्रदान गर्दै अघि बढ्नका लागि प्रेरित गर्नुहुने सबै आदरणीय व्यक्तित्वहरुलाई धन्यवाद भन्छु । आभार । पार्टीले मलाई उम्मेदवार बनाउने निर्णयपछि विभिन्न माध्यमबाट बधाई र शुभकामना दिनु हुने यहाँहरु सबैप्रति म असाध्यै आभारी छु । एक मुष्ठ धन्यवाद भन्न चहान्छु । यहाँहरुलाई थाहा छ, इलाममा विशेष अवस्थामा उपनिर्वाचन हुदैछ । प्रतिनिधिसभा निर्वाचन–२०७९ मा इलामेली आदरणीय जनताहरुले मेरो बुवा उहाँहरुको प्रिय नेता सुवासचन्द्र नेम्वाङलाई जिताएर पठाउनु भएको थियो । तर, हामीलाई अकल्पनीय ब्रजपात आइलाग्यो । भौतिक रुपमा हामीलाई छोडेर जानुभयो । उहाँको सिद्धान्त, विचार, सपना र संकल्पहरु हाम्रो साथमा रहे पनि भौतिक साथ छुट्यो । उपनिर्वाचनको परिस्थीति आइलाग्यो । गएको निर्वाचनमा म बुवाको साथमा चुनावी अभियानमा थिएँ । यस क्रममा मैले बुवालाई आशीर्वाद दिने इलामेली वृद्ध बुवाआमाहरूको भावना नजिकबाट सुनेको थिएँ । उहाँहरुको सुखदुःख थाहा पाएको थिएँ । भबिष्यप्रतिको उज्यालो आशा सहित अहोरात्र निर्वाचनमा खट्नु भएका इलामेली नौजवान साथीहरुको अपेक्षा र चाहना बुझेको थिएँ । बुवाप्रतिको उचो विश्वास र भरोषा सहित उहाँले भबिष्यप्रति राख्नु भएको आशा असाध्यै नजिकबाट थाहा पाएको थिएँ । बुवाको काखमा आएर लुटपुटिदै ‘अल द बेस्ट’ भन्ने कलिला नानीहरुका आँखामा दौडिएको मायालाई नजिकबाट छोएको थिएँ । गएको निर्वाचनको क्रममा बुवाप्रति इलामेली जनताहरुले देखाउनु भएको त्यो आशा, अपेक्षा, भरोषा र विश्वास मेरो लागि कति भव्य थियो रु त्यो म यहाँ लेखेर उल्लेख गर्न सक्दिन । मलाई लागेको थियो, ‘अझै थुप्रै बर्षहरु बुवाको साथमा रहनेछु । सिक्नेछु । बुझ्नेछु । जान्नेछु । ‘लो प्रोफाइलमा’ बसेर बुवाले देख्नु भएको सपना र गर्नु भएको संकल्प पुरा गर्न अधिकतम् योगदान गर्नेछु । इलामेली वृद्ध बुवाआमाहरुले, नौजवान साथीहरुले र कलिला नानीहरुले देखेका सपनाहरु पुरा गर्न बुवालाई दरिलो साथ दिनेछु ।’ म उहाँको लागि दरिलो सहयोगी बन्नेछु । तर बिडम्बना मेरो जीन्दगीमा पनि अकल्पनीय ‘आकस्मिकता’ आइलाग्यो । अकल्पनीय ब्रजपात आइलाग्यो । बुवाले देखाउनु भएको बाटो र दिनु भएको उज्यालो समातेर उहाँका ती सपनाहरु पुरा गर्न तयार हुनुपर्ने अवस्था आयो । हो, बुवालाई राजनीतिमा साथ दिदै खेलकुद, सामाजिक अभियान र वकालतमा सक्रिय थिएँ । यसो भनौ, ‘आफ्नो बाटो आफै खन्दै थिएँ ।’ मेरा लागि जनसेवाका अनेकन सजिला र फराकिला बाटाहरु स्वागतको लागि तयार थिए । तर, निर्वाचनको क्रममा देखेको बुवाप्रतिको इलामेली जनताहरुको आशा, भरोषा र विश्वासले मलाई पक्रिरह्यो । बुवासँग जोडिएका इलामेली जनताको सपना, संकल्प र अपेक्षाले मलाई पछ्याइरह्यो । आदरणीय इलामेली जनताहरुले हामीप्रति देखाउनु भएको माया, सद्भाव र शुभेच्छाले अरुतिर जाने अनुमति दिएन । र भनीह्यो, ‘सुहाङ तिमिलाई भाग्न मिल्दैन है ।’ त्यसैले म उम्मेदवारको लागि तयार भएँ । म उम्मेदवार बन्दै गर्दा आफ्नो जीन्दगीको उर्वर समय पार्टीको बिकास, विस्तार र आन्दोलनका लागि खर्चिनु भएका इलामका आदरणीय नेताहरुको भावनालाई शिरमा राखेको छु । उहाँहरुको कष्टसाध्य संघर्ष, अभूतपूर्व त्याग र असाधरण योगदानप्रति सधैं नतमस्तक छु । उहाँहरुप्रति असाध्यै ऋणी छु । रहनेछु । हो १ म असजिलो र अप्ठ्यारो अवस्थामा तयार भएँ । यहाँनिर फेरि स्पष्ट गर्न चहान्छु, केवल परिस्थीतिजन्य हिसाबले मात्रै म तयार भएको भने कदापी होइन । मन, वचन र कर्मले इलामको सेवा गर्ने संकल्प सहित उभिएको छु । त्यो प्रतिबद्धता र अठोट सहित तयार भएको छु । इलामको लागि स्पष्ट योजना र मार्गचित्र सहित यात्राको लागि तयार भएको हुँ । तपाईहको माया, साथ र सहयोग अझै धेरै चाहिएको छ । फेरि पनि सबैप्रति आभार र धन्यवाद । धन्यवाद । नमस्कार ! सुहाङ नेम्वाङ नेकपा (एमाले)को तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार इलाम क्षेत्र नं.२

आयरल्यान्ड ‘ए’ विरुद्व नेपाललाई १२२ रनको चुनौती

काठमाडौं। कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी पहिलो टी–२० क्रिकेटमा सोमबार नेपालले आयरल्यान्ड ‘ए’ सामु जितका लागि एक सय २२ रनको लक्ष्य पाएको छ ।  आयरल्यान्ड ‘ए’ ले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएपछि नेपालले जितका लागि १२२ रनको लक्ष्य पाएको हो ।  नेपालका लागि ललित राजबंशी, गुल्सन झा र कुशल भुर्तेलले समान २ २ विकेट लिदा करण केसी र कुशल मल्लले समान १ १ विकेट लिए ।  आयरल्यान्ड ‘ए’ ले टस जिती पहिले ब्याटिङ गर्ने निणर्य लिएको लिएको थियो ।

कृषिमा आत्मनिर्भर हुनेगरी बजेट तय हुन्छ : कृषिमन्त्री साह

काठमाडौं।कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषि क्षेत्रको आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे सुझाव दिन सांसदहरुलाई आग्रह गरेकी छन् ।  सोमवार सिंहदरबारमा सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री साहले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने, युवाहरूलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने खालको रणनीतिक योजना सरकारले तय गर्न लागेकाले त्यस सम्बन्धमा सांसदहरूले दिएको सुझाव महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरिन् । उनले भू-बनावट अनुसारको योजना तय गरी आयात हुने कृषि उपजहरुलाई प्रतिस्थापन गरी निर्यात व्यापारलाई बढवा दिने काममा सांसदहरूले दिएको सुझाव फलदायी हुने पनि बताइन् ।  मन्त्री साहले सिँचाइका असुविधाहरू भएको ठाउँमा देखिएको समस्या हल गर्ने कुरामा पनि सांसदहरूले दिएको सुझाव सरकारका लागि धेरै उपयोग हुने स्पष्ट पारिन् । 

आयरल्यान्डसँग नेपालले टस हार्‍यो, पहिला बलिङ गर्ने

काठमाडौं । नेपालले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए (वल्भ्सविवरुद्ध) टस गरेर पहिला बलिङ गर्ने भएको छ। टीयू क्रिकेट मैदानमा भर्खर सम्पन्न टसमा आयरल्यान्डका कप्तान निल रकले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपालले आजको खेलमा प्रतिश जि.सी, विवेक यादव, अनिल कुमार शाह र आकाश चन्दलाई बेन्चमा राखेको छ।नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ । त्यसपछि नेपाल भारत भ्रमणमा जानेछ ।नेपाल ए र आयरल्यान्ड ए बीच भने समान तीन टी–२० र एकदिवसीय अभ्यास खेल हुनेछन् । आयरल्यान्डको सिनियर टोलीबाट खेलेका ९ खेलाडी यस टोलीमा छन् । सिनियर टोलीका पिटर मुर, ग्यारेथ डेलानी र बेन ह्वाइट जस्ता स्टार खेलाडी आयरल्यान्डका मुख्य हतियार हुन् । नेपालको प्लेइङ ११  : रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा आयरल्यान्ड ए प्लेइङ ११  : निल रक (कप्तान), रस आदिर,केड कार्माइकल, ग्यारेथ डेलानी, स्टीफन डोहेनी, फिन हृयान्ड, म्याथ्यू हम्फ्रेज, थोसम मेयस, लियाम म्याककार्थी, मोर्गन टोप्पिङ र बेन हृवाइट ।

सुनको मूल्य २ सय रुपैयाँले बढ्यो

काठमाडौं। शुक्रबारदेखि एकैपटक सोमबार खुलेको बजारमा सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।  सोमबार नेपाली बजारमा छापावाला सुन प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोमा समान तेजाबी सुनको मूल्य पनि दुई सय रुपैयाँले नै बढ्दै १ लाख २६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।  चाँदीको मूल्य गत शुक्रबारको मूल्यमा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

गृहमन्त्री लामिछानेले भने–‘महाजात्राले मलाई ऊर्जा दियो’

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपाल चलचित्र महाजात्रा हेरेपछि आफुलाई थप उर्जा मिलेको बताएका छन् ।  राजनीतिज्ञका रूपमा फिल्म हेरेपछि झनै ऊर्जा थपिएको उनको भनाइ छ । पत्नी निकिता पौडेललाई लिएर आइतबार राति चलचित्र  ‘महाजात्रा’ हेरेपछि उनले फिल्ममा मनोरञ्जनसँगै राजनीतिक विषय र देशको इस्युलाई समेटिएको बताए । लामिछानेले भने, ‘मैले त्यो हेरिरहँदा झनै ऊर्जा महसुस गरेँ । म र मेरो पुस्ताका नेताको उदय नै भ्रष्टाचार कम गर्न भएको हो ।’  उपप्रधानमन्त्री लामिछानेले आफू जात्रा सिक्वेलको नियमित दर्शक भएकाले हलसम्म आएको बताए। आम दर्शकसँगै बसेर चलचित्र हेरेपछि लामिछानेले यही शृङ्खलाका अघिल्ला दुई फिल्म पनि नै मन परेको भन्दै निर्देशक प्रदीप भट्टराई, अभिनेता विपिन र रवीन्द्रले गर्ने अभिनयको आफु फ्यान भएको बताए । उनले भने ‘आज फुर्सदको समय सदुपयोग गर्दै फिल्म हेरेको हुँ ।’ उनले नेपाली फिल्म हलमै आएर हेर्ने बानी बसाल्न दर्शकलाई सुझाव पनि दिएका थिए । लामिछानेले फिल्मको विषय प्रहरी र अनुसन्धानसँग जोडिएको हुँदा आफू थप आकर्षित भएको बताए ।  चैत ९ गतेदेखि नेपालसँगै विश्वका विभिन्न देशमा प्रदर्शन भइरहेको महाजात्रामा पहिलो दिनदेखि नै दर्शकको चाप देखिएको छ ।

किमाथाङ्का–खाँदबारी सडक बनाउन बजेटको अभाव छैन : उपप्रधानमन्त्री महासेठ

किमाथाङ्का ।  उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् ।सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजित प्रथम भोटखोला महोत्सवको आइतबार समापन समारोहमा सहभागी हुँदै उपप्रधानमन्त्री महासेठले उक्त आयोजनाका लागि बजेट अभाव नभएको उल्लेख गरे।  कार्यक्रममा रक्षामन्त्री हरि उप्रेतीले किमाथाङ्का नाका चाँडै खोल्ने प्रतिबद्धता व्यक्त गरे। उपप्रधानमन्त्री महासेठ र मन्त्री उप्रेतीले किमाथाङ्का नाका र राजमार्गको अवलोकन गर्नुभयो । मन्त्रीद्वयसमक्ष भोटखोलाका अध्यक्ष वाङ छेदर लामाले गाउँपालिकाको विकासका लागि मागपत्र पेस गरेका थिए ।  राष्ट्रिय गौरवको किमाथाङ्का–खाँदबारी सडकखण्डको १४ किलोमिटर क्षेत्रमा ट्र्याक खोल्न नेपाली सेनालाई जिम्मा दिइएको थियो । भौगोलिक हिसाबले किमाथाङ्का–खाँदबारी सडकको ट्रयाक खोल्न सकस भएको हो। खाँदबारी–किमाथाङ्का एक सय ६२ किलोमिटर खण्डमा आव २०६५/६६ मा ट्र्याक खोल्न सुरु गरिएको थियो। भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको थप १४ किलोमिटर सडक ट्र्याक खोल्ने काम नेपाली सेनाले गरिरहेको छ । सो सडक निर्माण सम्पन्न भए कोशी प्रदेशका मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् ।