हर्क, बालेन र रबीहरूको परिवर्तनका नेता प्रचण्ड  :  मैनाली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले बालेन्द्र शाह, हर्क सामपाङ र रबी लामिछानेहरूको परिर्वतनको नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नै भएको टिप्पणी गरेका छन् । ह्वइट हाउस इन्टरनेश्नल कलेजले पुतलीसडकमा शुक्रवार क्विज कन्टेन्ट सञ्चालन कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित मैनालीले यो देशको परिवर्तनको नेतृत्वकर्ता प्रचण्ड भएकाले त्यसका बाईप्रडक्ट रूपमा अरू भएको उल्लेख गरे । 

‘जुनसुकै पार्टीको राजनीति गरे पनि प्रगतिशील र क्रान्तिकारी राजनीति गर्नुस् । यसरी नै रबी लामिछाने, बालेन शाह र हर्क सामपाङ्गले गरे’ उनले भने, ‘पछिल्ला जति पनि आन्दोलनहरू भए त्यसको नेतृत्व प्रचण्डले गरे । हर्क, बालेन र रबीहरूको परिवर्तनको नेता प्रचण्ड हुन । त्यस्तै परिवर्तनगामी नेता बन्ने सपना देख्नुस् ।’ 

यो देशको युगान्तकारी परिवर्तन गर्न १० वर्षे जनयुद्ध गर्न बन्दुक उठाएको उनले जिकिर गरे । ‘यो देशमा महिलाले जोत्नु हुँदैन किरिया बस्नु हुँदैन भन्नेलाई माओवादीले बन्दुक बोकाएर यो मुलुकको रूपान्तरणमा लगायो। सामन्ती राजतन्त्रको जरो नै उखालेर देशमा गणतन्त्र स्थापना ग¥यो’ उनले भने, “बालेन कुनै बेला अखिल क्रान्तिकारीको सदस्यता बोकेको मान्छे हो। अखिल क्रान्तिकारीमा सङ्गठित भएको मान्छे हो। उहाँ आफ्नैढङ्गले अघि बढेर महानगर प्रमुख भए ।’ यो देशको राजनीति खराब छ भनेर विद्रोेह गरेर काठमाडौँको मेयर हुन सफल भएको उल्लेख गरे ।

उनले कार्यक्रम  ह्वाइ हाउस कलेजले यो प्रदेशको नमुना बनाउने मुख्यमन्त्री जन्माओस् भन्दै शुभकामना दिए । माओवादीले यो देशको १८ घण्टे लोडसेडिङदेखि भ्रष्टाचारका सुशासनको पक्षमा कदम चालेको उनले उल्लेख गरे ।

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेले सचिवालयको बैठक बोलाएको छ। आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका हुन्। बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने सचिव योगेश भट्टराईले बताए। आज बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि भित्र्याउन प्रयास गर्ने निर्णय गरेको छ। त्यसबारे अहिलेसम्म कुनै छलफल नभएकाले त्यही बैठकमा हुनसक्ने उनले बताए।

नेपाल प्रहरीकाे कमाण्डो तालिम दिक्षान्त समारोह सम्पन्न

नवलपरासी पश्चिम । नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ। समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गरे। प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिए। नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको सराहना उनले गरे।  प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गरे। तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उनले उल्लेख गरे ।  समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गरेका थिए। उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरे।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिए। उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

छुटे कृष्णबहादुर महरा

काठमाडौं । कृष्णबहादुर महरा हाजिर जमानीमा छुटेका छन्।इलेक्ट्रिक चुरोट (भेप) मार्फत ९ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका थिए ।  सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले महरालाई हाजिर जमानीमा छाड्ने आदेश दिएका हुन्। महरा उनका छोरा निर्मलको जमानीमा छुटेका हुन्। महरा विभिन्न रोगका बिरामी रहेको हुँदा छाड्न आदेश दिइएको कटुवालले बताए।फोन सम्पर्कबाहेक अरु प्रमाण नभेटिएको सीआईबीले जनाएको छ ।सीआईबीका एक उच्च अधिकारीले भने महरालाई मुद्दा चलाउन बलियो प्रमाण नै नरहेको बताए। बलियो प्रमाण पनि नरहेको र उनको स्वास्थय अवस्थामा देखिएको समस्याकै कारण रिहा गर्नु परेको सीआईबीले जनाएका छन्। उनका अनुसार मुलुकी फौजदारी कार्यविधि, २०७४ को दफा १५ अनुसार महरालाई छाडिएको हो। 

अर्थमन्त्री पुन र कोरियाका राजदूत टेयोङबीच

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्त र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयोङबीच  सिंहदरबारस्थित मन्त्रालयमा शिष्टाचार भेट भएको छ।  भेटमा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको अर्थमन्त्री पुनको सचिवालयले जनाएको छ ।

कतारका अमिर तमिमको वैशाखमा नेपाल भ्रमणकाे मिति तय

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको २०८१ वैशाख १२ र १३ गते नेपालको भ्रमण तय भएको छ।यसअघि एक पटक स्थगन भएको उनको नेपाल भ्रमण पुन तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र स्रोतका अनुसार कतारका अमिर तमिमको नेपाल भ्रमणको समयमा नेपाल र कतारबीच नौवटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी गरिएको छ ।  दुई देशबीच कूटनीतिक तालिम र शिक्षा सम्बन्धी समझदारीपत्र, सांस्कृतिक क्षेत्रमा एक–आपसमा सहयोग आदानप्रदान सम्बन्धी समझदारीपत्र, युवा तथा खेलकुदसम्बन्धी समझदारी, छापा तथा सूचना सम्बन्धी पोर्टोकल, विकास साझेदारी सम्बन्धी समझदारी, महान्यायाधिवक्ताको कार्यालय र कतारको यस्तै निकायबीच सहकार्य गर्ने समझदारीपत्र, संशोधित श्रम सम्झौता लगायतका समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ।  घरेलु कामदार लैजाने र कतार प्रहरीमा नेपालीलाई लिने सम्बन्धी विषयमा पनि अहिले दुई देशबीच छलफल भइरहेको छ। कतार फन्ड फर डेभलपमेन्टबाट नेपालले सहायता लिने विषयमा पनि छलफल चलिरहेको दाबी स्रोतको छ। 

फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान

काठमाडौं।काठमाडौँ महानगरपालिकाले फोहोर बिक्रीका लागि प्रस्ताव आह्वान गरेको छ । महानगरले आज एक सूचना जारी गर्दै ३० दिनभित्र प्रस्ताव पेस गर्न आग्रह गरेको हो।आन्तरिक राजस्व कार्यालयमा भ्याट दर्ता भएका व्यक्ति, कम्पनी वा फर्महरूले सुख्खा फोहोर खरिदका लागि प्रस्ताव गर्न सक्नेछन् ।  महानगरले विभिन्न वडाबाट टेकु ट्रान्सफर स्टेसनमा दैनिक रूपमा सङ्कलन हुने सुख्खा फोहोरको बिक्रीका लागि प्रस्ताव आह्वान गरेको सूचनामा उल्लेख छ।  प्राप्त प्रस्तावहरू आगामी बैशाख १० गते दिउँसो २ बजे कार्यालयको वातावरण व्यवस्थापन विभागमा कर्मचारी एवं उपलब्ध प्रस्ताव दाताहरूको रोहवरमा खोलिने जनाएको छ।सो विषयमा थप जानकारी काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागबाट लिन सकिनेछ।

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही चैत ११ गते आइतबार महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ। बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान प्रतिवदेनलाई सचिवालयले अनुमोदन गरेपछि दस्तावेजमा समावेश गरिने पार्टी उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।  पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ। बैठकमा पार्टीको आसन्न महाधिवेशनका लागि मूल व्यवस्थापन कमिटी तथा अन्य कमिटीबाट भएका कामको समीक्षा हुनेछ। सचिवालय बैठकले आगामी वैशाखमा इलाम र बझाङमा हुने उपनिर्वाचनमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित निर्वाचन कमिटीबाट  सिफारिस भएका नाममा  छलफल पनि गर्ने प्रचारविभाग प्रमुख खतिवडाले बताए। आगामी जेठ देखि ७ गतेसम्म काठमाडौँमा आयोजना हुने राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष नेपालको संयोजकत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १२ कमिटी गठन गरिसकेको छ। 

महराको बयान सकियो, हाजिर जमानीमा छोड्न सक्ने !

काठमाडौं ।माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराको बयान सकिएको छ। सीआईबी र सरकारी वकिलको कार्यालयले महराको बयान लिएको हो । सुन तस्करी प्रकरणमा जोडिएको आरोपमा पक्राउ परेका उनलाई सरकारी वकिल कार्यालय र सीआईबी दुबईतर्फबाट बयान तथा सोधपुछ गरिएको हो । कपिलवस्तुबाट सोमबार पक्राउ परेका महराको अनुसन्धानका लागि ४ दिनको म्याद हिजो सकिएको छ । आज शुक्रबार उनलाई म्याद थप्ने या हाजिरी जमानी छाड्ने भन्नेबारे टुङ्गो लगाइने सीआईबीको भनाइ छ । उनी बिरामी भएकाले हाजिर जमानीमा छाड्ने सम्भावना रहेको छ । 

आज तीन वटा संसदीय समितिको बैठक बस्ने

काठमाडौँ ।आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार पूर्वाधार विकास समितिको बैठक मध्यान्ह १२ बजे बस्ने छ । बैठकमा कोशी प्रदेशको स्थलगत भ्रमण प्रतिवेदन माथि छलफल हुनेछ । त्यस्तै दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।  त्यसैगरी दिउँसो १ बजे नै बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनेछ ।

लुम्बिनी बौद्ध दर्शनको उद्गमस्थल :  उपप्रधानमन्त्री श्रेष्ठ

लुम्बिनी । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले लुम्बिनी बुद्ध जन्मस्थल मात्र नभई बौद्ध दर्शनको उद्गमस्थल भएको बताएका छन् । अवैतनिक वाणिज्य दूतहरूको संस्था (एचसिसीएन) ले यहाँ आयोजना गरेको समृद्धिका लागि विश्व शान्ति सम्मेलनको बिहीबार उद्घाटन गर्दै परराष्ट्रमन्त्री श्रेष्ठले बुद्ध र लुम्बिनीलाई बुद्धका शिक्षाले विश्वमा शान्ति स्थापनाका निम्ति सन्देश प्रवाह गरेका बताए। उनले विश्वशान्ति स्थापनामा जोड दिँदै संसारका विभिन्न देशमा बढेका द्वन्द्वले आर्थिक संकटसँगै अन्य समस्या पनि बढाइरहेको बताए। शान्ति र समृद्धिका विषयमा बहस गर्ने सबैभन्दा उत्तम स्थान लुम्बिनी भएको बताउँदै एचसिसीएनले यहाँ सम्मेलन आयोजना गरेकामा त्यसको सराहना गर्नुभयो । परराष्ट्रमन्त्री श्रेष्ठले चार महिनाअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले लुम्बिनी भ्रमण गरेको स्मरण गर्दै भगवान् बुद्धका शिक्षाको पालनाबाट विश्वशान्ति स्थापनामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।  सम्मेलनमा नेपालका लागि  अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मङ्गोलिया, इन्डोनेसिया, सेसेल्स्, तान्जानिया,  सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लाद्भिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन  रिपब्लिक रोमानियाका गैरआवासीय राजदूत सहभागी छन् ।  सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायत विषयमा छलफल हुनेछ । 

अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सचेत छौं : गृहमन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति सदैव सचेत रहेको बताएको छ। बिहीबार विज्ञप्ति सार्वजनिक गर्दै मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले यस्तो बताएका हुन् ।  उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रताको अधिकारप्रति मन्त्रालय सदैव सचेत रहेको र यसको पूर्ण पालनाप्रति मन्त्रालय प्रतिबद्ध रहेको व्यहोरा अनुरोध छ।’  मन्त्रालयले चैत ६ गते ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको परिपत्रको मस्यौदाको बुँदा नम्बर १ को १।३ र बुँदा नम्बर २ को २।१ मा उल्लेख भएको विषयमा आमसञ्चारकर्मी र सम्वद्ध पक्षले व्यक्त गरेको चासो र सरोकारप्रति ध्यानाकर्षण भएको जनाउँदै प्रवक्ता भट्टराईले यस्तो बताए।  उनले सार्वजनिक गरेको विज्ञप्तिमा उक्त परिपत्रको मस्यौदामा उल्लेख भएका केही बुँदा अटाएर अन्य विषय मात्र समावेश गरेर बिहीबार परिपत्र गरेकोसमेत जानकारी गराएका छन्। 

बहराइनसँग नेपाल ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५–० ले पराजित भएको छ ।  बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा घरेलु टिमलाई जित दिलाउन माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक–एक गोल गरे । खेलको दोस्रो मिनेटमा नै अल हुमाइदानको गोलमा बहराइनले अग्रता बनाए । नवौँ मिनेटमा नै सायद बाकरले गोल थप्दै घरेलु टिमको अग्रता दोब्बर पारे। यस्तै, पहिलो हाफको इन्जुरी समयमा अली मादानले गोल गरेपछि बहराइनले अग्रतालाई ३–० को अग्रता लियो । पहिलो हाफमा तीन गोल बेहोरेको नेपालले दोस्रो हाफमा थप दुई गोल बहोर्‍यो । खेलको निर्धारित समय सकिन तीन मिनेट बाँकी रहँदा इब्राहिम अल खतलले गोल गरेपछि बहराइनले ४–० को अग्रता बनाएको थियो। यस्तै, इन्जुरी समयमा प्राप्त पेनाल्टीलाई इस्माइल अब्दुल्लातिफले सदुपयोग गरेपछि बहाइनले ५–० को फराकिलो जित सुनिश्चित गरेको हो । सुरुआतदेखि नै बहराइनको आक्रमण झेलेको नेपालले १६औँ मिनेटमा चोटका कारण फरवार्ड अञ्जन विष्टलाई परिवर्तन गरेको थियो । अञ्जनको स्थानमा दिनेश हेन्जन मैदान प्रवेश गरेका थिए । जितसँगै तीन खेलबाट ६ अंक जोडेको बहराइन समूह ‘एच’को दोस्रो स्थानमा उक्लिएको छ । समान खेल खेल्दा पनि अंकविहीन नेपाल भने तालिकाको पुछारमा छ । यस समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स ९यूएई० छन् । नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार बेहोरेको थियो । यता, बहराइनले यसअघि यूएईसँग २–० को हार बेहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो । यी दुई टिमबीचको दोस्रो लेग बहराइनमै मार्च २७ मा हुनेछ ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं । भारतको राजधानीसमेत रहेको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । मदिरा घोटाला प्रकरणमा उनी पक्राउ परेका हुन् । मुख्यमन्त्री केजरीवाल दिल्लीको सत्तारुढ दल आम आदमी पार्टीका मुख्य नेता समेत हुन् ।यसअघि भारतको इन्फोर्समेन्ट डिरेक्टोरेट (इडी)ले भ्रष्टाचारका सम्बन्धमा बयानका लागि उपस्थित उनलाई पूर्जी जारी गरेको थियो । भ्रष्टाचारविरोधी अभियानबाट राजनीतिमा उदाएको आम आदमी पार्टीका नेता केजरीवालमाथि मदिरा बिक्रीसम्बन्धी नीतिमा भ्रष्टाचार आरोप लागेको छ। आर्थिक अनियमितता र भ्रष्टाचारमाथि छानविन गर्न बनेको ईडीले केजरीवालालई नवौं पटकको प्रयासपछि वयानका लागि विहीबार साँझ गिरफ्तार गरेको बताइएको छ। लोकसभा चुनाव घोषणा भइसकेको स्थितिमा विपक्षी नेताहरूमध्येका बलिया र चर्चित व्यक्ति केजरीवालको गिरफ्तारीले विपक्षी गठबन्धनलाई धक्का पुग्ने बताइएको छ । १९ अप्रिलबाट १ जुनसम्म सात चरणमा भारतमा लोकसभाको १८ औं चुनाव हुँदै छ । देश चुनावमा होमिएका बेला विपक्षी गठबन्धन ‘इन्डिया’ का प्रभावशाली नेता केजरीवाल पक्राउ परेका हुन् । दुई महिनाको बीचमा भ्रष्टाचारको आरोपमा पक्राउ पर्नेमा केजरीवाल विपक्षी गठबन्धनका दोस्रो बहालवाला मुख्यमन्त्री हुन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनलाई ईडीले केही समयअगाडि उनको राँचीस्थित सरकारी निवासबाटै नियन्त्रणमा लिएको थियो । सोरेनमाथि सरकारी जमिन खरिद बिक्रीमा भ्रष्टाचार गरेको आरोप छ । मुख्यमन्त्री केजरीवाल र आम आदमी पार्टी (आप) ले ईडीले भाजपाबाट निर्देशित भएर विपक्षी नेताहरुलाई अनेक आरोप लगाइ धरपकड गरेको आरोप लगाएका छन् । भाजपा नेतृत्वको केन्द्रीय सरकारले सरकारी जाँच एजेन्सीका अन्य दल र नेताविरुद्ध प्रयोग गरेको आरोप लगाएका छन् । चुनावभन्दा अगाडि विपक्षी पार्टीको आवाज कमजोर गर्न भाजपाले षड्यन्त्र गरिरहेको आपका नेताहरूले बताएका छन् ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । काठमाडौंसहित देशका विभिन्न भागमा हल्का वर्षा भएको थियो । आज पनि देशका पहाडी भू–भागका थोरै स्थानमा तथा तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यस्तै, कोसी, वाग्मती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

महराको बयान  -'म नेता हुँ विभिन्न मान्छेसँग फोन हुन्छ, मलाई यसै सुन तस्कर बनाए'

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराको बयान सकिएको छ । सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको हो । दुई दिन जिल्ला सरकारी वलिक कार्यालयमा गरेको बयानमा उनले सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको बताए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बयान लिएको हो । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् । उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।मलाई यसै सुन तस्कर बनाइयो ।”  ०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत नौ किलो सुन ल्याएका थिए । सोही प्रकरणमा  उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा गत भदौमा पक्राउ परेका उनका छोरा राहुल भने पुर्पक्षका निम्ति थुनामा छन् । पूर्वसभामुख समेत रहेका महरा भने सुन तस्करीसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले कारबाहीको सिफारिस गरेपछि पक्राउ परेका हुन् । बयान सकिएसँगै अदालत पठाउने सीआईबीको तयारी छ ।