संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संदसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियभाको बैठक सवा ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।
आजको राष्ट्रियभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको छ ।
संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८० माथि छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुनेछ भने अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा उठेका प्रश्नहरूको जवाफ दिनेछन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि प्रतिनिधिसभाबाट भएको संशोधनमाथि छलफलका लागि प्रस्ताव गर्ने र प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ ।
अर्थमन्त्री पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने बैठकको सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको सचिवालयले आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्न बाँकी छ ।
उपनिर्वाचनका लागि १० करोड रुपैयाँ विनियोजन
काठमाडौं । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका निम्ति सरकारले १० करोड रुपैयाँ उपलब्ध गराएको छ । निर्वाचन आयोगले पत्राचार गरेअनुसार १० करोड खर्च गर्न अनुमति दिइएको अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले जानकारी दिए । “मापदण्डअनुसार हामीले आयोगलाई १० करोड रुपैयाँ विनियोजन गरेका छौँ,” उनले भने, “मापदण्डभन्दा बढी अथवा घटी भयो भने त्यहीअनुसार खर्चको व्यवस्थापन हुन्छ ।” सुरक्षा निकायका निम्ति भने मन्त्रालयले बजेट नछुट्ट्याएको प्रवक्ता शर्माले बताए । वैशाख १५ गते प्रतिनिधिसभाअन्तर्गत इलाम क्षेत्र नम्बर–२ र प्रदेशसभाअन्तर्गत बझाङ क्षेत्र नम्बर–१ ‘क’मा उपनिर्वाचन हुँदै छ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनपछि रिक्त इलाम–२ मा उपनिर्वाचन गर्न लागिएको हो । यस्तै, सदूरपश्चिम प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्युपछि बुझाङ–१ ‘क’को प्रदेशसभा पद रिक्त छ । उपनिर्वाचनका निम्ति प्रतिनिधिसभातर्फ २० र प्रदेशसभातर्फ १९ दल दर्ता गरिएको आयोगले जनाएको छ ।
इजाजत पाएका हतियारको विवरण दिन गृहको निर्देशन
काठमाडौं । गृह मन्त्रालयले इजाजत दिइएका हतियारको विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले हालसम्म इजाजत दिइएका हतियारको विवरण २४ घन्टाभित्र उपलब्ध गराउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो । हतियार तथा खरखजना ऐन २०१९ ले स्थानीय प्रशासनसँग स्वीकृति लिएर हतियार राख्न पाउने प्रबन्ध गरेको छ । सोहीअनुसार मन्त्रालयले हालसम्मको इजाजत विवरण पठाउन पत्राचार गरेको हो । पत्रमा भनिएको छ, ‘हालसम्म हातहतियार तथा खरखजनाको इजाजतपत्र जारी गरिएका व्यक्ति, प्रयोजन, प्रकार तथा सङ्ख्यासहित नवीकरण भए/नभएको विवरण, त्यस्ता हातहतियार इजाजत विपरीत प्रयोग भए/नभएको विवरण र विना इजाजत प्रयोग गरिएको, नवीकरण नगरिएको र उद्देश्य विपरीत प्रयोग गरिएका कारण त्यस्ता हतियार बरामद गरिएको सो समेत खुलाई पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र उपलब्ध गराइदिनुहुन आदेशअनुसार अनुरोध छ ।’ सोमबार सर्वोच्च अदालतबाट इजाजत लिइएको हतियारसहित दुर्गा प्रसाईका दुई बडिगार्ड पक्राउ परेपछि गृहले यस्तो निर्देशन दिएको हो ।
अनलाइन क्यासिनो गेम खेलाउने ४ जना पक्राउ
काठमाडौं । क्यास एप लगायतका एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ७ चावहिल मनमैजु बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका १० घर भएकी २६ वर्षीया सरिता लामा, सिन्धुपाल्चोक थाङपाल गाउँपालिका ८ घर भएकी २५ वर्षीया सारङ्गा गुरुङ, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ वेशीगाउँ बस्ने खोटाङ बाहुनीडाँडा गाउँपालिका ६ घर भएकी २३ वर्षीया पुर्णीमा राई र काठमाडौं गोकर्णेश्वर नगरपालिका ४ नामगेल बस्ने नुवाकोट शिवपुर गाउँपालिका १ घर भएका २८ वर्षीय तेम्बा लामा रहेका छन् । विभिन्न खेलहरूमा अनलाईन मार्फत बाजी राख्दा जितिन्छ भन्ने विश्वास दिलाई हारजीत हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको बाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन समेतबाट खटिएका प्रहरीले उनीहरूलाई अनलाइन गेम खेलाउन प्रयोग भएका ल्यापटप ५ थान र मोबाइल ११ थानसहित उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।
कांग्रेसले सुशासनको कुरा गर्न सुहाउँदैन : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका छन् । मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने बताएका हुन् । एउटा पुरक वा ठाडो उजुरीमा संसद अवरुद्ध गर्ने कांग्रेस दुधले नुहाएको पार्टी हो की होइन भन्ने जनताले मूल्याङ्कन गरेको लामिछानेले बताए । लामिछानले कांग्रेसलाई चार बर्ष नै संसद अवरुद्ध गर्न सुझाव दिदै सो अवधिमा आफुहरुको संयन्त्रले नेपालमा भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताए । उनले संसदमा विरोध गर्नु प्रतिपक्षीको अधिकार भएको र त्यसलाइ सम्मान गर्ने भन्दै छानविन आयोगको बिषय संसदको अधिकारको कुरा भएको जिकिर गरे ।
सङ्घीयता कार्यान्वयन सरकारको उच्च प्राथमिकताः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता कार्यान्वयन गर्न आवश्यक ऐन निर्माण कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभाको विधायन समिति र सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले दिएको सुझाव कार्यान्वयन गर्ने विषय सरकारको उच्च प्राथमिकतामा रहेको बताए । “निजामती कर्मचारीसँग सम्बन्धित ऐनलगायत कतिपय ऐनहरू मस्यौदा तयार भई सम्मानित सदनमा प्रवेश भइसकेका छन् र कतिपय मस्यौदाको चरणमा रहेका छन्,” प्रधानमन्त्री प्रचण्डले भने, “नेपाल प्रहरीको सञ्चालन र व्यवस्थापनलाई समयानुकूल बनाउन र प्रहरी समायोजनलाई व्यवस्थित गर्न नेपाल प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गर्ने विधेयक, प्रहरी समायोजन ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय० ऐन, २०७६ लाई संशोधन गर्ने विधेयक संसदको यसै अधिवेशनमा पेश गर्नेगरी तयार गरिएको छ ।” प्रधानमन्त्री प्रचण्डले सदनबाट कानुन पारित भएलगत्तै प्रहरी समायोजनको काम तुरुन्त अघि बढाइने गरी समायोजनको तयारी कार्य भैरहेको स्पष्ट पारे ।
म्यान्मारमा सेनाको हवाई आक्रमणबाट कम्तीमा २३ सर्वसाधारणको मृत्यु
काठमाडौं । म्यान्मारको रखाइन प्रान्तका ग्रामिण इलाकामा जारी हवाई आक्रमणबाट आफू चिन्तित भएको संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेर्रेसले बताएका छन्। स्थानीयले एएफपीलाई बताएअनुसार सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा २० जनाको मृत्यु भएको थियो। म्यान्मारको पश्चिमी राखिन राज्यमा गत नोभेम्बरमा अराकान आर्मी (एए) ले सुरक्षा फौजमाथि आक्रमण गरेपछि झडप भएको थियो। महासचिव गुटेर्रेसले सोमबार जारी वक्तव्यमा भनिएको छ, ‘सेनाले मिनब्या बजारमा गरेको हवाई आक्रमणमा कैयौँ सर्वसाधारणको मृत्यु भएको र दर्जनौँ घाइते भएको खबरले आफूलाई चिन्तित तुलाएको छ।’ हालका हप्ताहरूमा अराकन लडाकुहरूले मिनब्याको राजधानी सिट्वेको पूर्वमा अवस्थित उक्त बजारमा आक्रमण गरी केन्द्रको बजारसँगको सम्पूर्ण सम्बन्ध विच्छेद् गरिदिएका छन्। थार डार गाउँमा सोमबार राति १ः४५ बजे भएको हवाई आक्रमणमा १० पुरुष, चार महिला र १० बालबालिकाको मृत्यु भएको एक स्थानीयले एएफपीलाई जानकारी दिएका छन्। सुरक्षाको कारण देखाउँदै नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘हाम्रो गाउँमा कुनै झडप भएको थिएन । उनीहरूले हामीमाथि सिधै आकाशबाट बम प्रहार गरेका थिए ।’ अर्का स्थानीयले विस्फोटमा परी २३ जनाको मृत्यु भएको र १८ जना घाइते भएको बताएका छन्। सन् २०१७ मा भएको सैन्य कारबाहीका कारण रखाइनमा दशौँ हजार रोहिङ्ज्या समुदाय भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए। जुन्टा सेनाले सिट्वेलाई आफ्नो नियन्त्रणमा राखेको छ तर हालैका हप्ताहरूमा अराकन लडाकुहरूले वरपरका जिल्लाहरूमा सफलता प्राप्त गरेका छन्। छिमेकी मुलुक भारत र बङ्गलादेशमा पनि युद्ध फैलिएको छ। गत महिना पनि बङ्गलादेशमा भएको झडपका क्रममा म्यान्माबाट मोर्टार प्रहार हुँदा कम्तीमा दुई जनाको मृत्यु भएको थियो। सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएदेखि नै स्वायत्तता र आकर्षक स्रोतसाधनको नियन्त्रणका लागि सेनासँग लडेका म्यान्माको सीमावर्ती क्षेत्रका थुप्रै सशस्त्र जातीय अल्पसङ्ख्यक समूहमध्ये अराकन आर्मी पनि एक हो।
धनगढीमा श्री एयरलाइन्सको विमानमा प्राविधिक समस्या
धनगढी । काठमाडौंबाट धनगढी आएको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ । एएनएच २२७ उडान नम्बरको श्री एयरलाइन्सको विमान सोमबार साँझ धनगढी आइपुगेको थियो । उक्त विमानको अगाडिको चक्कामा समस्या देखिएपछि मंगलबार उडान गर्न नसकिएको विमानस्थल कार्यालयले जनाएको छ । विमानको अगाडिको चक्कामा समस्या देखिएकाले उडान हुन नसकेको श्री एयरलाइन्सका धनगढी प्रमुख गजेन्द्रबहादुर शाहीले जानकारी दिए । साँझ विमानस्थलमा अवतरण गरेर सबै यात्रु उत्रिएपछि विमानको चक्कामा प्राविधिक समस्या देखिएको थाहा भएको र अहिले विमानलाई ग्राउन्डेड गरिएको उनले बताए । काठमाडौंबाट आएको प्राविधिक टोलीले त्यसको निरिक्षण गर्दैछ । धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेशबहादुर सिंहले विमानको प्राविधिक जाँचपछि मात्रै उडान अनुमति दिइने जानकारी दिए ।
जग्गाधनी प्रमाणपत्र वितरण शीघ्र सम्पन्न हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार भएका जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न गरिने बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले विभिन्न कारणले जग्गाधनी प्रमाणपत्र नभएकाहरूलाई उपलब्ध गराइने जानकारी दिए । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाको बडा नं ७ र ८ का जनताले नापीको समस्याका कारणले ५० वर्षदेखि जग्गाधनी प्रमाणपत्र पाउन नसकेको विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जग्गाधनी प्रमाणपत्र वितरण गर्न तथा बाँकी काम शीघ्र सम्पन्न निर्देशन दिइसकेको बताए । “त्यस क्षेत्रमा २०३२र३३ सालतिर नापी हुँदा फिल्डबुकमा ९० प्रतिशतसम्म दर्ता भैसक्दा पनि सिमाना विवादलगायत कारणले स्थानीयबाट विरोध हुँदा प्रमाणपत्र दिने काम हुन सकेको थिएन,” प्रधानमन्त्री प्रचण्डले भने, “पछिल्लो समयमा यातायात पूर्वाधार निर्माण, अनौपचारिक रूपमा जग्गाको स्वामित्व हस्तान्तरणलगायत कारणले साविकमा नापजाँच हुँदा र अहिलेको अवस्थामा फरक हुन आएको कारण दर्तामा समस्या देखिएको रहेछ ।” उनले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको दुईवटा भवन मकवानपुरको चित्लाङमा निर्माण भएको र पाँचखाल नगरपालिकामा संरचना निर्माणका लागि विश्विद्यालय अनुदान आयोगको सिफारिस समेतका आधारमा मित्रराष्ट्र चीन सरकारको सहयोगमा संरचना निर्माणका लागि प्रक्रिया अघि बढाइसकिएको बताए । सुनकोशी तेस्रो जलविद्युत आयोजना संयुक्तरूपमा कार्यान्वयनका लागि नेपालका तर्फबाट नेपाल विद्युत प्राधिकरण तथा बङ्गलादेशका तर्फबाट बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डलाई लाइन एजेन्सी तोकिएको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले दुई देशबीचको सचिवस्तरीय बैठकको निर्णयानुसार संयुक्त लगानीको कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढेको स्पष्ट पारे ।
ऐनका व्यवस्था कार्यान्वयनका लागि सैद्धान्तिक सहमति लिन अर्थमा पठाएका छौं : मन्त्री अधिकारी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले अर्थतन्त्रको विकासका लागि सहकारी महत्वपूर्ण पाटो भए पनि पछिल्लो समय सहकारी क्षेत्रलाई बदनाम गर्ने काम भएको बताएका छन् । आज नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का प्रतिनिधिसँग मन्त्रालयमा छलफल गर्दै उनले एकाध सहकारीले गलत गरेको भए पनि सबै सहकारी त्यस्तै हुन् मानसिकताको विकास भएर जानु गलत भएको औंल्याए । ‘जबसँग यो मान्यताबाट अलग रहन सकिँदैन, तबसम्म सहकारी अभियान माथि जान सक्दैन’, मन्त्री अधिकारीले भने । सहकारीमाथिको विश्वसनियता घट्दै गएको प्रति चासो देखाउँदै मन्त्री अधिकारीले त्यसतर्फ मन्त्रालयको ध्यानाकर्षण भएको बताए । सहकारीको संख्या ३१ हजार भने पनि मन्त्रालयसँग समेत यकिन तथ्याङक नरहेको भन्दै उनले वास्तविक तथ्याङक निकाल्न प्रयास गर्ने बताए । सहकारीहरु संघ, प्रदेश र स्थानीय तहबाट दर्ता तथा अनुगमन हुने भन्दै उनले जुन निकायले उत्पत्ति गराएको हो, त्यहि निकायले प्रभावकारी नियमन गर्नुपर्नेमा जोड दिए । सहकारी संख्या धेरै भएको र दर्ता भएका सहकारी संस्थाले समेत कारोबार गर्न नसकिरहेको अवस्थामा नयाँ संस्था दर्ता बन्द गरेर जानुपर्ने उनको धारणा छ । आवश्यकता, जनसंख्या र भूगोलको आधारमा सहकारी दर्ता गर्न सकिए व्यवस्थित गर्न सकिने उनको भनाई छ । संघ मातहत रहेका सहकारी संस्था मध्ये कति संस्थाले सदस्यको बचत दुरुपयोग गरेको छन्, तिनको वर्गिकरण गर्न आवश्यक रहेको उनको बुझाई छ । सहकारीको उघेश्य के हो, यसको पहिचान गर्न आवश्यक रहेको मन्त्री अधिकारीले बताए । सहकारीमा आवद्ध भएका सदस्यहरुको जीवनस्तर माथि उकास्ने वातावरण बनाउनु पर्नेमा उनले जोड दिए । कर्जा सूचना केन्द्र, बचत तथा ऋण असुली न्यायाधिकरण र दोस्रो तहको नियमाक निकाय गठनको सैद्धान्तिक अनुमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको मन्त्री अधिकारीले जानकारी दिए । अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि प्रक्रिया अगाडि बढाइने छ । गलत गर्ने सहकारीलाई कारबाही हुन्छ भन्ने सन्देश दिन र राम्रो काम गर्ने सहकारीलाई प्रोत्साहित गर्न आवश्यक रहेको उनले जनाए । सहकारी पीडितको समस्या समाधान गर्न सरकारले वार्ता टोली बनाइसकेको र उनीहरुको मागप्रति राज्य गम्भिर भएको समेत उनले बताए ।
सिंहदरबार बाहिर प्रदर्शन गर्ने नेविसंघ कार्यकर्ता नियन्त्रणमा
काठमाडौं । नेपाली कांग्रेसनिकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका १५ जना कार्यकर्ताहरु पक्राउ परेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेपछि नेविसंघका कार्यकर्ताहरु काठमाडौंको सिंहदरबार बाहिरबाट पक्राउ परेका हुन् । नेविसंघका कार्यकर्ताहरुले गृहमन्त्री लामिछानेको नैतिकता खै ? दुलोभित्र पसेको हो ?, सहकारी पीडितलाई न्याय खै ? लगायतका व्यानर बोकेर सिंहदरबार बाहिर प्रदर्शन गरेका थिए । प्रदर्शनकै क्रममा उनीहरु पक्राउ परेका हुन् । सिंहदरबार वरपर निषेधित क्षेत्र घोषणा गरिएकाले प्रदर्शन गर्न निषेध छ ।
बाँदर धपाउन कर्मचारी नियुक्त
पर्वत । पर्वत जिल्लाका केही भागमा बाँदर आतङ्क बढेपछि दक्षिण पर्वतको पैंयुँ गाउँपालिकाले बाँदर धपाउन कर्मचारी नियुक्त गर्ने भएको छ । गाउँपालिकाका सातवटै वडामा बाँदरको आतङ्क बढेपछि कर्मचारी नै नियुक्त गरेर बाली जोगाउन प्रयास थालिएको हो । पैंयुँ गाउँपालिकाको सोमबार सम्पन्न १३औँ गाउँसभाले सातवटै वडामा बाँदर हेरालु कर्मचारी नियुक्त गर्ने निर्णय पारित गरेको प्रमुख प्रशासकीय अधिकृत राजीव रिमालले जानकारी दिए । उनका अनुसार अहिलेलाई यति नै सङ्ख्यामा कर्मचारी नियुक्त गर्ने भन्ने निर्णय नभए पनि न्यूनतम पाँच–पाँच जनाका दरले कर्मचारी राख्ने तयारी भएको छ । हरेक वडामा पाँच जनाका दरले ३५ कर्मचारी नियुक्त गर्ने, उनीहरूलाई सेवासुविधा के–कति निर्धारण गर्ने भन्ने विषयमा कार्यपालिकाको बैठकले निर्णय गर्नेछ । केही वर्षअघिदेखि बाँदर नियन्त्रणका लागि सबै वडाका खेतीयोग्य जमिन र बस्ती वरिपरिका रुख कटान अभियान थालिएको भए पनि नियन्त्रण हुन नसकेपछि कर्मचारी नै नियुक्त गरेर बाँदर धपाइने गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले राससलाई जानकारी दिनुभयो । बाँदर नियन्त्रण योजना कार्यान्वयन गर्न चालु आर्थिक वर्षमा पालिकाले रु सात लाख विनियोजन गरेको छ । तेह्रौँ गाउँसभाले बाँदर नियन्त्रणसँगै राँगा पाल्ने किसानलाई जनही रु २० लाख अनुदान दिने निर्णय गरेको छ । पछिल्लो समय रैथाने जातका लिमे र पाराकोटे भैँसी लोप हुँदै गएपछि राँगा पाल्न प्रेरित गर्ने उद्देश्यले अनुदान दिने निर्णय भएको अध्यक्ष ठकुरीले बताए । यसैगरी सरकारले कक्षा ५ सम्म दिने दिवाखाजा कार्यक्रमलाई पैंयुँ गाउँपालिकाले कक्षा ६ सम्म विस्तार गर्ने निर्णय गरेको छभने पालिकास्तरीय चिस्यान केन्द्र सञ्चालन गरिने भएको छ । कक्षा ८ को पालिकास्तरीय परीक्षालाई ‘एसइई’ ढाँचामा सञ्चालन गर्ने निर्णय भएको छ ।
निसीखोला दुर्घटनामा अस्ताए पत्रकार परियार
काठमाडौं । मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमपूर्वका पत्रकार विक्रम परियारको पनि निधन भएको छ। बस दुर्घटनामा अहिलेसम्म ज्यान गुमाउने ९ जनामध्ये एकजना पत्रकार परियार हुन्। पूर्वीरुकुमबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस मंगलबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो। अन्नपूर्ण पोष्ट र रेडियो पूर्वी रुकुममा कार्यरत पत्रकार परियार राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काठमाडौँ जाँदै गर्दा दुर्घटनामा परेका हुन्। २५ वर्षीय पत्रकार परियार रुकुमपूर्वको नेपाल पत्रकार महासंघ जिल्ला शाखाको सहसचिव र प्रेस सेन्टरको जिल्ला उपाध्यक्षसमेत थिए।
सत्ता गठबन्धनको 'साझा संकल्प' दिउँसो २ बजे सार्वजनिक गरिने
यसलाई गठबन्धनका पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् ।
माओवादी पदाधिकारी बैठक, के गर्ला निर्णय ?
काठमाडौं । सत्तारुढ दल नेकपा(माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बसेको छ । बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ। साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ । माओवादी केन्द्रले चैत्र १५ देखि १५ दिन तराई मधेस जनजागर अभियान वैसाख १५ देखि १५ दिन हिमाल पहाड जनजागर अभियान सञ्चालन गर्ने तय गरेको थियो । सो अभियान केही समय पछाडि सार्ने पनि निर्णय गर्नेछ ।
कथाकार परशु प्रधानको निधन
काठमाडौं । कथाकार परशु प्रधानको निधन भएको छ । ८० वर्षको उमेरमा गएराति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो ।परशु प्रधानका दुई छोरा र दुई छोरी रहेका छन् । निधन भएका प्रधानको अहिले बिहान ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ । परशु प्रधानको जन्म २००० सालमा भोजपुरमा भएको हो । नेपाली साहित्य र राजनीति शास्त्रमा एमए अध्ययन गरेका प्रधानले २०१६ सालबाटै नेपाली साहित्यमा कलम चलाउन थालेका थिए । प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेका थिए । २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् । बक्ररेखा, फेरी आक्रमण, यौटा अर्को दन्त्यकथा, असम्बद्ध, समुद्रमा अस्ताउने सूर्य, प्रतिनिधि कथाहरु, यौटा क्रान्तिपुरुषको जन्म, कथा र रचनागर्भ, उत्तरार्ध, द लिटिल बुद्ध इन टोकियो, परशु प्धानको उत्कृष्ट कथा, नेपलिज लभ स्टोरी र धनिया कथा संग्रह हुन् । सीताहरु र घर कथोपन्यास पनि प्रकाशित भएका छन् । करिब एक दर्जन बाल कथाहरु पनि प्रकाशित भएका छन् । नानीको कथा, सुनको छाती, रीताको स्कूललगायतका बालकथा संग्रह प्रकाशित भएका छन् ।प्रारम्भमा परशु प्रधान र भूमिकै भूमिकामा परशु प्रधान भन्ने भूमिका संग्रह पनि प्रकाशित भएका छन् । त्यसैगरी भोजपुरः एक अध्ययन, सजिलो नागरिक शास्त्र, सगरमाथा अञ्चलको भूगोल, सामान्य ज्ञान डाइजेस्ट (२) संस्करणसम्म प्रकाशित भएका छन् । प्रधानलाई नेपाल साहित्य संस्थान पुरस्कारसहित दुई दर्जन पुरस्कारबाट सम्मान गरिएको थियो ।

