जनप्रतिनिधिहरुकाे बधाई कार्यक्रममा प्रचण्डले संवाेधन गर्दै

काठमाडौं, पुस ५ । काठमाडौं जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन राष्ट्रिय सभागृहमा अायाेजित कार्यक्रममा अध्यक्ष प्रचण्डले संवाेधन गर्दैछन् । बधार्इ कार्यक्रम अाज दिउँसाे २ बजे राखिएकाे छ ।

मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीबीचको संवादहीनताका कारण राजनीतिक सहमति जटिल बनिरहेका बेला एमालेनिकट बुद्धिजीवी परिषदले काठमाडौं जिल्लाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई दिन कार्यक्रम राखेकाे हाे ।

राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हो ।

कांग्रेस सत्ता हस्तान्तरण अघि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरी सभा गठनको बाटो खोल्नुपर्ने अडानमा छ । कांग्रेसले सत्ता लम्ब्याउन आफू अनुकुल कानुन बनाउन खोचे थापेको आरोप एमालेले लगाएपछि सत्ता हस्तान्तरण प्रक्रिया जटिल बनेको हो ।

कांग्रेस–एमालेबीच यही आरोप–प्रत्यारोपका कारण प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको अवस्थामा पनि नयाँ सरकार गठनको बाटो खुलेको छैन ।

सहमतिको खोजीमा लाग्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल तत्पर देखिए पनि एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भने महिना दिनयता संवादसमेत भएको छैन ।

दाहाल भने ओली–देउवा दुवैसँग छलफलमा छन् । वाम गठबन्धनका कारण पनि ओलीसँग उनको हिमचिम बढी नै छ । प्रधानमन्त्री देउवासँगको भेटघाटलाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

सरकारले एकल संक्रमणीय प्रणालीका आधारमा राष्ट्रियसभा सदस्य चुनिने गरी दुई महिनाअघि राष्ट्रपतिकहाँ अध्यादेश पठाएको थियो ।

राष्ट्रपतिले विधेयक स्वीकृत नगर्नुमा एमालेको उक्साहट दोषी रहेको आरोप कांग्रेसको छ । उता, एमालेले राष्ट्रपतिलाई प्रधानमन्त्रीको कुर्सीबाट असंवैधानिक काम गर्न उक्साउने काम कांग्रेसले गर्न खोजेको आरोप लगाइरहेको छ ।

उपेन्द्र यादव पार्टीसहित एमालेमा प्रवेश गर्न लागेकाे हल्ला

काठमाडौं, पुस ५ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राजपा नेपालका अध्यक्ष महन्थ ठाकुरसँग पार्टी एकताको लागि प्रस्ताव गरेका छन् । उनले ठाकुरसँग अब दुई पार्टी मिलेर जानुको विकल्प नभएको भन्दै यस्तो प्रस्ताव गरेका हुन् । अध्यक्ष यादवले पार्टी एकताको लागि आफू पूर्ण तयारी अवस्थामा रहेको भन्दै यस्तो खुलासा गरेका छन् । २ नम्बर प्रदेशमा आफूहरुलाई जनताले अध्यधिक विश्वास गरेकोले यहाँको समृद्धिको लागि अब आफूहरुले काम गर्ने उनको भनाई थियो । त्यस्तै उनले राजपा नेपालसँग पार्टी एकता हुन नसके एमालेसँग एकतामा जाने समेत खुलासा गरेका छन् । उनले थपे,‘हाम्रो हर कोशिस भनेको नै राजपा नेपालसँग एकता गर्ने नै हो, मधेशी जनताले दुई पार्टीलाई मिल्नको लागि जनादेश दिएका छन्, यदि भएन भने हामी एमालेसँग सहकार्य गरेर जान्छौं।’ उनले थपे,‘मधेशको अधिकारको लागि यहाँका जनताले हामीलाई जिताएका हन् । प्रदेशमा हाम्रो सरकार बन्छ, अब विकास हामी गर्छौ, मधेशमा विकासको लहर आउँछ।’ उनले मधेशमा आफ्नो पार्टीको नेता मुख्यमन्त्री बन्ने पनि जिकिर गरे । उनले थपे,‘२ नम्ब प्रदेशमा सबैभन्दा ठूलो दल हामी हौं, त्यसैले सरकार हामी बनाउँछौं।’ त्यस्तै उनले आफूहरुको कारण कांग्रेसले मधेशमा धेरै ठाउँमा चुनाव जितेको पनि दाबी गरे । उनले थपे,‘मैले ज्ञानेन्द्र बहादुर कार्कीलाई जिताएको हुँ, सुनसरीमा हाम्रो प्रभावको कारणले उहाँले चुनाव जित्नु भयो, तर कांग्रेसले तालमेल गर्न चाहेको थिएन ।’ अध्यक्ष यादवले एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले प्रस्ताव गरे अब बन्ने सरकारमा समेत सहभागी हुने जनाए । उनले थपे,‘उहाँहरुले प्रस्ताव गर्नुभएको छैन, यदि गर्नुभयो भने हामी यसबारेमा सकारात्मक छौं, सरकारमा जान्छौं।’

११ दिनकै निगमले फेरि बढायो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

काठमाडौं, पुस ५ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी केही पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक÷एकका दरले मूल्यवृद्धि गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले राससलाई जानकारी दिए । पछिल्लो मूल्यवृद्धिसँगै अब प्रतिलिटर पेट्रोलको रु १०१ तथा डिजेल र मट्टीतेलको रु ७८ मूल्य कायम हुनेछ । पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि भएसँगै स्वचालित मूल्य प्रणालीअनुरुप मूल्य समायोजन गरिएको प्रवक्ता गोइतले जानकारी दिए । पछिल्लो मूल्य समायोजनसँगै निगमको मासिक घाटा रु ११ करोड ३९ लाखमा झर्ने जनाइएको छ । हाल निगमको मासिक घाटा रु १९ करोड रहेको बताइएको छ । आयोगले यसअघि मंसिर २२ गते मूल्यवृद्धि गरेको थियो ।

काठमाडौंमा मात्रै ३१३ उम्मेदवारको जमानत जफत

काठमाडौं, पुस ४ । गत मंसिर २१ गते भएको प्रतिनिधि र प्रदेशसभामा काठमाडौँ जिल्लामा मात्रै ३१३ उम्मेदवारको जमानत जफत भएको छ । प्रतिनिधिसभातर्फ १४४ र प्रदेशसभातर्फ १६९ उम्मेदवारको धरौटी जमानत जफत भएको क्षेत्रीय निर्वाचन अधिकारी विनोदकुमार दाहालले जानकारी दिए । प्रतिनिधिसभामा १७१ र प्रदेशसभामा २२२ जना उम्मेदवार रहेका थिए । उहाँले सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको घरौती जफत हुने व्यवस्थाअनुसार नै उनीहरुको धरौटी जफत भएको बताए । प्रतिनिधिसभातर्फ रु १० हजार र प्रदेशसभाका उम्मेदवारले रु पाँच हजार उम्मेदवार दर्ता गराउँदा शुल्क बुझाउनुपर्ने हुन्छ । काठमाडौँ जिल्लामा १० निर्वाचन क्षेत्र रहेको छ । प्रायः सबै जिल्लामा विजयपछिको निकटतम प्रतिद्वन्द्वी उम्मेदवारबाहेक सबैको धरौटी जफत भएका छन् ।

नेप्से दोहोरो अंकले ओरालो

काठमाडौं, पुस ४ । धितोपत्र बजारमा नेप्से आज दोहोरो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार आज बजार १४.४९ बिन्दुले ओरालो लागेर एक हजार ४९३ अंकमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत आज ३।०५ बिन्दुले ओरालो लागेको छ । आज कूल १६६ कम्पनीको १४ लाख पाँच हजार ९७१ कित्ता शेयर रु ५९ करोड ९३ लाख ७६ हजार ३२२ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ । आज बैंकिङ ७.३६, व्यापार ०.९३, होटल ३२.९, विकास बैंक ७.२७, जलविद्युत् १४.४६, फाइनान्स ४.०७, बीमा ५९.६७, उत्पादन १७.१९, अन्य समूह ३६.४४ र माइक्रोफाइनान्स समूह २०.२३ बिन्दुले आरोलो लागेको छ । विस्तारै सङ्लिन्छ बजार शेयर बजारका विश्लेषक निरव पुडासैनीले राजनीतिक अन्योलता कायम रहेका कारण बजार प्रभावित भएको जानकारी दिए । वाम गठबन्धनले बहुमत प्राप्त गरेपछि बजारमा अनावश्यक हल्ला चलाइएको र उक्त हल्लाको सम्बोधन गर्ने प्रयास नभएका कारण पनि बजार प्रभावित भएको उनको भनाइ छ । सामान्य अवस्थामा पुसदेखि चैतसम्म बजार घट्ने नै भए पनि यसपटक राजनीतिक विषयकै कारण बढी प्रभावित भएको उनले टिप्पणी गरे । नयाँ सरकार गठनलगत्तै बजार सङ्लिएर सहज अवस्थामा पुग्ने तथा अनेकन हल्ला र आशंकाको समेत समाधान हुने पुडासैनीले विश्वास व्यक्त गरे । शेयर दलालले भने नेपाल धितोपत्र बोर्डले बजारको उतारचढावका बारेमा नबोल्न कडा निर्देशन जारी गरेका कारण प्रतिक्रिया दिन चाहेनन् । ‘क’ वर्गका बैंक तथा वित्तीय संस्थाले रु आठ अर्ब रकम पु¥याइसकेको, बजारमा शेयरको फ्लो बढे पनि कारोबारमा भने कटौती भएको दलालहरुको टिप्पणी छ ।

उपत्यकासहित तराई क्षेत्रमा हुस्सु, जनजीवन प्रभावित

काठमाडौं, पुस ३ । काठमाडौं उपत्यकासहित तराईका अधिकांश भागमा बाक्लो हुस्सु लागेको छ । काठमाडौं उपत्यकामा बिहान ६ बजे हुस्सुका कारण ‘भिजिबिलिटी’ ५० मिटरमात्र रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यसैगरी पूर्वी, मध्य तथा पश्चिम तराईमा पनि बाक्लो हुस्सु लागेको छ । पूर्वी क्षेत्रमा आंशिक बदली हुने तथा पश्चिम तराईमा दिनभर हुस्सु लाग्ने पनि महाशाखाले जनाएको छ । मध्य तथा पूर्वी तराईमा भने दिउँसो हुस्सु हट्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जनाकारी दिए । तराई क्षेत्रमा केही दिनदेखि हुस्सुका कारण जनजीवन प्रभावित हुँदै आएको छ । हुस्सुका कारण आलु, टमाटरजस्ता तरकारी बालीमा नोक्सान भइरहेको कृषकको गुनासो छ ।

उपराष्ट्रपति छाेरा दिपेश पुन डिस्चार्ज

काठमाडौं, पुस ३ । उपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दिपेश पुन एक साता लामो उपचारपछि अस्पत्तालबाट डिस्चार्ज भएका छन् । मंसिर २४ गते रोल्पाबाट विजय जुलुस सकेर काठमाडौं फर्किने क्रममा रोल्पाको सातदोबाटोमा दुर्घटना हुँदा टाँउकोमा चोट लागि घाइेत भएका पुनको राजधानीको ग्राण्डि अस्पतालमा उपचार भइरहेको थियो । तीन दिन आइसियुमा राखेर उपचार गरे पश्चात उनलाई मंसिर २७ गते अस्पतालको आइसियुबाट बाहिर वार्डमा सारिएको थियो । उपचार सकिएपछि आइतबार उनलाई डिस्चार्ज गरिएको हो ।

अख्तियार वार्षिक प्रतिवेदन – बिगो मागदाबीमा नयाँ रेकर्ड

काठमाडौं, पुस ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारका मुद्दा दायर गर्ने क्रममा हालसम्मकै बढी बिगो मागदाबी गरेको छ । दुई दिनअघि राष्ट्रपतिलाई बुझाइएको वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७३/७४ मा अख्तियारले हालसम्मकै बढी मागदाबी लिएको उल्लेख छ । विशेष अदालतमा दायर यी मुद्दामध्ये अधिकांशको फैसला आउन बाँकी छ । गत आर्थिक वर्षमा विशेष अदालतमा मुद्दा दायर गर्ने क्रममा ११ अर्ब ५२ करोड ११ लाख रुपैयाँ बिगो मागदाबी गरेको प्रतिवेदनमा उल्लेख छ । कर फस्र्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव चूडामणि शर्माविरुद्ध राजस्व छलीको आरोपमा दायर भ्रष्टाचार मुद्दाका कारण वार्षिक बिगोको आकार झन्डै सात गुणाले बढेको हो । आर्थिक वर्ष २०७२/७३ मा कुल बिगो मागदाबी एक अर्ब ३३ करोड र २०७१/७२ मा एक अर्ब ३९ करोड रुपैयाँ थियो । गत वर्ष कर फस्र्याेट आयोगका पदाधिकारीविरुद्ध मात्रै १० अर्ब २ करोड रुपैयाँका दरले बिगो मागदाबी गरिएको थियो । -कान्तिपुरबाट

आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौं, पुस ३ । नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रुपैयाँ बराबरको सेयर जारी गर्ने भएको छ । चुक्ता पूँजी बृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो । हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छ । चुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ । निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको छ । -कान्तिपुर दैनिकबाट

ट्र्याक्टर पल्टिदा एकको मृत्यु

कपिलवस्तु, पुस २ । ट्र्याक्टर पल्टिँदा आइतबार एक युवकको मृत्यु भएको छ । जिल्लाको बाणगंगा नगरपालिका–६ झरनी भगलापुरमा लु ३ त ५२१५ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्तिदा २४ वर्षीय सुरेश थारूको घटनास्थलमै मृत्यु भएको हो । ट्र्याक्टर दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको र अन्य पाँच जना भने हाम्फालेर बाँच्न सफल भएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाईते भएका अशोक खत्रीलाई थप उपचारका लागि बुटबल पठाइएको प्रहरीले जनाएको छ ।

आचारसंहिता मंसिर २७ गतेदेखि हटाइएको हो : आयोग

काठमाडौं, पुस २ । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि भदौ १४ गतेदेखि लागू गरेको निर्वाचन आचारसंहिता मंसिर २७ गतेदेखि नै हटाएको जानकारी गराएको छ । आयोगको मंसिर २६ गतेको बैठकले निर्वाचन आचारसंहिता लागू नरहने निर्णय गरेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । निर्वाचन आचारसंहिताअनुसार आयोगले तोकेका निकायका लागि तोकिएको अवधिभर संहिता लागू हुनेछ । नेपाल सरकार र नेपाल सरकारका मन्त्री, स्थानीय तह, स्थानीय तहका कर्मचारी, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सरकारी तथा अर्धसरकारी संस्थाको कार्यालय तथा कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा तत्तत् निकायमा कार्यरत सुरक्षाकर्मी, निर्वाचनको काममा संलग्न कर्मचारी र सार्वजनिक पद धारण गरेका व्यक्तिका लागि आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि भदौ १४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको थियो । उम्मेदवारको हकमा भने मनोनयन दर्ता गराएको मितिदेखि निर्वाचन आचारसंहिता लागू भएको थियो ।

स्थानीय तहमा शिक्षाका कर्मचारी गएनन्

बैतडी, पुस २ (रासस) । जिल्लाका स्थानीय तहमा शिक्षाका कर्मचारी नहुँदा शिक्षा कार्यक्रम प्रभावित भएको छ । जिल्लाका पाँचवटा स्थानीय तहमा शिक्षाका कर्मचारी खटाइए पनि ती ठाउँमा अझै कर्मचारी गएका छैनन् । जिल्लाका दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, डिलाशैनी गाउँपालिका र मेलौली नगरपालिकामा शिक्षाका कर्मचारी खटाइए पनि कर्मचारीको पदीय मार्यादाक्रम नमिल्दा उनीहरू नगएका हुन् । स्थानीय तहमा नासु तहकालाई कार्यकारी जिम्मा दिइँदा शिक्षाका अधिकृतस्तरका कर्मचारी उनीहरुको मातहतमा बस्नुपर्ने भएकाले उनीहरू जान नमानेको जिल्ला शिक्षा कार्यालयका विद्यालय निरीक्षक शंकरदत्त भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “स्थानीय तहमा शिक्षाका कर्मचारी नजाँदा शिक्षाका कार्यक्रम सञ्चालनमा समस्या भएको छ ।” दलित छात्रवृत्ति, अपांग छात्रवृत्ति र भौतिक निर्माणका कामबाहेक सबै स्थानीय तहले गर्ने र त्यसमा शिक्षाका कर्मचारीको प्रतिनिधित्व हुनु आबश्यक थियो तर स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउने विषयमा केन्द्रमै सहमति हुन बाँकीे छ । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह छन् ।

यात्रुवाहक बस दुर्घटना हुँदा दुईको मृत्यु

धनगढी, पुस २ (रासस) । टीकापुरबाट धनगढी आउँदै गरेको कर्णाली रिभर यातायातको से१ख ११९२ नंको यात्रुवाहक बस आज पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने कैलालीको राजीपुर सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । विपरीत दिशाबाट आइरहेको अर्को बसलाई बाटो दिने क्रममा अनियन्त्रित भई सडकमै पल्टिँदा ठेगाना खुल्न नसकेका सोही बसका सहचालक १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा बसमा सवार छ जना घाइते भएकामा स्थानीय पद्मा अस्पतालमा उपचार भइरहेको छ । यस्तै कैलालीको घोडाघोडी नगरपालिका–९को फाराम गाउँको एक कच्ची घरमा गए राति आगलागी हुँदा जलेर ७५ वर्षीया मन्धरा धामीको मृत्यु भएको छ । आगलागी हुँदा घरमा उहाँबाहेक अन्य कोही थिएनन् ।

सीजी इलेक्ट्रोनिक्स ट्रिप ईजीवाईपीटी

काठमाडौं, पुस २ । सीजी इलेक्ट्रोनिक्सले ‘Enjoy and Have a Great Trip To Egypt 2017’ भन्ने आवाजका साथ आफ्ना ८५ वटा डिलरहरुलाई इजीवाईपीटी भ्रमण गर्न लगेको कुरा कम्पनीले जनाएको छ । प्रत्येक वर्ष नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका डिलरहरुलाई मनोरञ्जन प्रदान गर्नका लागि साथसाथै ब्राण्डको प्रबद्र्धनको लागि प्रोत्साहन गर्नको लागि विदेश भ्रमणको अवसर प्रदान गर्दै आएको छ । यस परम्परालाई निरन्तरता दिने उद्देश्यका साथ सीजी इलेक्ट्रोनिक्सल हरेक वर्षझैं यसपालि पनि आफ्ना डिलरहरुलाई ईजीवाईपीटी भ्रमण लगिएको कुरा जनाएको छ ।  

सिंहदरबारमा कर्मचारीले नै चोरी गरेको खुलासा

काठमाडौं, पुस २ । शुक्रबार सिंहदरबारभित्र पार्किङ्ग गरी राखिएको गाडीको पाङ्ग्रा शनिबार चाेरी भएको छ । उक्त गाडीको टायर त्यहीको कर्मचारीले नै चोरी गरेको खुलासा भएको छ। चोरी भएका टायर बरामद गरी चोरीमा संलग्न सरकारी चालकमाथि प्रहरी अनुसन्धान अघि बढाइएको छ। चोरी भएका चारैवटा टायर प्रहरीले शंखमूलस्थित बाराही टायर सेन्टरबाट बरामद गरेको छ। सिसिटिभीको आधारमा अनुसन्धान गरी चोरी घटना पत्ता लागेको हो। ‘चोरी भएका चारै वटा टायर ग्यारेजमा भेटिसकेका छौं’, सिंहदरबारस्थित सुरक्षा गणका डिएसपी प्रेम जोशीले भने, ‘चोरी गर्ने व्यक्ति पनि पत्ता लागिसकेको छ, पक्राउ गर्ने क्रममा छौं।’ चोरी गर्ने व्यक्ति सिंहदरबारभित्रै काम गर्ने चालक भएको अनुसन्धानमा खुलेको छ। स्थानीय विकास मन्त्रालयको परिसरमा रहेको टोयोटा हाइलक्स गाडीको चार वटै टायर चोरी भएका हुन्। डिएसपी जोशीका अनुसार, शनिबार साँझ टायर चोरी गरेको र आइतबार बिहान लगेर ग्यारेजमा बिक्री गरेको खुलेको छ। ग्यारेजका सञ्चालकलाई समेत प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको छ। सिंहदरबारमा विगतमा पनि पटक(पटक चोरी हुँदै आएको छ। पाँच वर्षअघि एक उपसचिव नै सिंहदरबारभित्र चोरीको आरोपमा कारबाहीमा परेका थिए।

स्वास्थ्य चौकीलाई जग्गादान

म्याग्दी, पुस २ (रासस) । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ६ घारका बासिन्दाले स्वास्थ्य चौकीलाई रु १० लाखभन्दा बढी मूल्य पर्ने जग्गा उपलब्ध गराएका छन्। साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको स्वास्थ्य चौकीको नयाँ सुविधा सम्पन्न भवन निर्माणका लागि स्थानीयवासीले दान र आर्थिक सहयोग जुटाएर जग्गाको व्यवस्था गरेका हुन् । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष ठगराज बरुवालले बुबा अमरबहादुरको नाममा एक रोपनी र स्थानीय गोविन्द खड्काले आठ आना जग्गा निःशुल्क उपलब्ध गराउनुभएको छ । यसैगरी स्थानीयस्तरमा रु आठ लाख जुटाएर दुई रोपनी नौ आना जग्गा खरिद गरी स्वास्थ्य चौकीलाई उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताउनुभयो । घारको निमरुख भन्ने ठाउँमा स्थानीयले उपलब्ध गराएको चार रोपनी एक आना क्षेत्रफल जग्गामा नयाँ भवन निर्माणको काम शुरु भएको छ । सो जग्गाको मूल्य स्थानीय बजारभाउअनुसार रु १० लाखभन्दा बढी पर्ने जनाइएको छ । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेक्कामार्फत स्वास्थ्य चौकीको भवन निर्माण शुरु गरेको छ । निर्माण कम्पनीले कार्यक्षेत्रमा प्रारम्भिक चरणको काम शुरु गरेको छ । पन्ध्र श्यया क्षमता बराबरको दुईतले भवन निर्माणका लागि रु एक करोड ५६ लाखको इस्टिमेट गरिएको छ । विसं २०७५ जेठ महिनाभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य छ । हाल घारस्थित गाउँ संरक्षण व्यवस्थापन समितिले उपलब्ध गराएको एउटा कोठाबाट स्वास्थ्य चौकी सञ्चालन हुँदै आएको छ । बिरामीको स्वास्थ्य परीक्षण गर्ने, औषधि भण्डारण गर्नेदेखि प्रशासनिक काम एउटै कोठाबाट गर्नुपर्दा समस्या भएको छ । आवश्यक पूर्वाधारको अभावमा सेवा प्रवाहमा कठिनाइ भएको छ । यसैबीच घार स्वास्थ्य चौकीमा टेलिमेडिसिन सेवा सञ्चालनको तयारी भएको छ । काठमाडौं मोडल अस्पतालसँग सहकार्य गरेर टेलिमेडिसिन सेवा सञ्चालनका लागि पूर्वाधार जुटाउन पहल थालिएको व्यवस्थापन समितिका अध्यक्ष बरुवालले बताउनुभयो ।