निसीखोला बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, घाइते २८ जनाको उपचार हुँदै

बागलुङ। बागलुङको निसीखोला गाउँपालिका(६ को जाउलेपानीमा सोमबार साँझ पख भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। मृत्यु हुने ५ पुरुष र ४ महिला छन्। घटनामा २८ जना घाइते भएका छन्।

दुर्घटनामा २८ जना घाइते भएका छन् ।जिल्ला प्रहरी रुकुम पूर्वका प्रहरी निरीक्षक हरि भट्टराईका अनुसार मृतक ३ महिला र ६ पुरुष छन् ।मृतकमध्ये रुकुम पश्चिम घर भएका बस चालक सुवास गौतम, बस मालिक बबि नेपालीको मात्रै सनाखत भएको छ ।७ जनाको पहिचान खुल्न बाँकी छ।

रुकुम पश्चिमबाट सोमबार बिहान साढे ११ बजे काठमाडौंका लागि छुटेको वाग्मती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस साँझ सवा ५ बजे दुर्घटनामा परेको हो। चालकसहित ३३ जना सवार बस सडकबाट १ सय ५० मिटर तल खसेको उद्धारमा खटिएका इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजकुमार विकले बताए। ओरालो घुम्तीबाट बस तल भीरको खोंचमा खसेकाले उद्धारमा कठिनाइ भएको उनले बताए।

दुर्घटनामा २८ जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए।

दुर्घटनामा दाङका १८ वर्षीय लक्की पुनमगर, पश्चिमरुकुम मुसिकोट–१ का २७ वर्षीया बिनिता केसी, रुकुमपश्चिम मुसिकोट नगरपालिका–२ रातामाटाका सवारी धनी बबिददेल नेपाली, मुसिकोट नगरपालिका–४ सोलाबाङका ३५ वर्षीया टीका केसी, मुसिकोट नगरपालिका–३ साँखकी कल्पना केसी, रोल्पा घर भएका गाडी चालक सुवास गौतम भनिने मानसिंह विक, गोर्खा घर भएकी गीता थापा, ललितपुरका सुजन महर्जन र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ रुमालबाराका २५ वर्षीय विक्रम परियारको मृत्यु भएको सूचना अधिकारी केसीले बताए।

दुर्घटनामा ज्यान गुमाएका अधिकांश रुकुमका हुन्। घटनास्थलमै मृत्यु भएका सात जनाको शव सोमबार राति नै रुकुम पठाएको उनले बताए। दुई जनाको शव भने बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमै राखिएको छ। बुर्तिबाङमा सबै घाइतेको उपचार सम्भव नभएपछि धवलागिरि अस्पताल बागलुङमा ‘रेफर’ गरिएको थियो।

दुर्घटनामा रुकुमपश्चिम मुसिकोट नगरपालिका–१ का ५२ वर्षीय दशरथ नेपाली, सोही ठाउँका ३० वर्षीय छकेन्द्रजङ्ग सेन, आठबिसकोट नगरपालिका–१ का २६ वर्षीय पुष्कर बुढा, गुल्मी मदाने गाउँपालिका–१ का २४ वर्षीय गोविन्द बोहरा, रुकुमपश्चिम मुसिकोट नपा–३ का ६५ वर्षीय हर्कबहादुर केसी, बोतलिवाङ–७ का ३५ वर्षीय हिमबहादुर पाण्डे, गुल्मी मालिका गाउँपालिका–१ का ५० वर्षीय बलबहादुर पुन, सुर्खेत पञ्चपुरी नगरपालिका–८ का २६ वर्षीय लक्ष्मण बोगटी, रुकुमपश्चिमका २२ वर्षीय टीकाराम विक, सोही ठाउँकी लक्ष्मी पुनमगर, बोतलिवाङ–११ की २२ वर्षीया सविना पुनमगर, रुकुमपश्चिमका ३८ वर्षीय हेमराज केसी घाइते भएका छन् ।

यसैगरी, रुकुमपश्चिमको मुसिकोट नगरपालिका–३ का २४ वर्षीय गणेश खड्का, काठमाडौँ टोखा नगरपालिका–३ की २३ वर्षीय सृष्टि गैरे, डोल्पा त्रिपुरासुन्दरी नगरपालिका–३ का २८ वर्षीय आविष्कार धराला, रुकुमपश्चिम मुसिकोट–३ का २७ वर्षीया सरिता खड्का, सोही ठाउँकी ज्ञानु ढकाल, ललितपुर महानगरपालिका–१४ का २४ वर्षीया अनुज्ञा भट्टराई, मुसिकोट–४ की ४६ वर्षीया बिना शर्मा, सोही ठाउँकी ४४ वर्षीया कमला केसी, २० वर्षीया लक्ष्मी पुनमगर, ५५ वर्षीया लीला केसी, ३० वर्षीय सशिराम खड्का, १८ वर्षीया सपना वली, मुसिकोट नगरपालिका–३ का ६० वर्षीय हर्कबहादुर जिसी, सानोभेरी गाउँपालिका–१ का २६ वर्षीय दिनेश खड्का, त्रिवेणी गाउँपालिका–१ का २८ वर्षीय हेमराज केसी र सिन्धुपाल्चोकको जुगाल गाउँपालिका–२ का २६ वर्षीय देवेन्द्र रिजाल घाइते भएका छन्।

नयाँ गठबन्धनको साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरिँदै

काठमाडौं । सत्तारुढ दलहरूले साझा न्यूनतम तयार गरी मङ्गलबार सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयका अनुसार दिउसो २ः०० बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिएको छ ।  नेकपा (एमाले)–नेकपा (माओवादी केन्द्र) सहित ६ दलको सहकार्यमा फागुन २१ गते सुरु भएको नयाँ गठबन्धन सरकारले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्न लागेको हो । यसैबिच मङ्गलवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डसँग सांसदहरूले प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको प्रमको सचिवालय जनाएको छ ।  

पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बस बागलुङमा दुर्घटना : आठको मृत्यु, २४ घाइते

काठमाडौं। बागलुङको निसीखोलामा बस दुर्घटना हुँदा आठजनाको मृत्यु भएको छ । पश्चिम रुकुमबाट काठमाडौं हिँडेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै सात जनाको मृत्यु भएको थियो । अर्का एकजनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ  ।  प्रहरीका अनुसार दुर्घटनामा २४ जना घाइते छन् । दुर्घटना स्थलमा घुमाउरो बाटो भएको कारण चालकको समेत मृत्यु भएको छ । बस सडकदेखि करिब तीन सय मिटर तल खसेको छ । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले गाडीमा ३२ जना यात्रु रहेको जानकारी दिए ।थप विवरण आउँन बाँकि छ ।

राजस्व अनुसन्धान विभागद्धारा ७९ करोड रुपैयाँको मागदाबी सहित मुद्दा दायर

काठमाडौं।राजस्व अनुसन्धान विभागले ७९ करोड रुपैयाँको मागदाबी लिई उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।दुई फरकफरक मुद्दामा विभागले कुल ७९ करोड रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो।  राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार विभागले दुई फरकफरक मुद्दामा कुल ७९ करोडको मागदाबी लिइएको हो। सूचना अधिकारीका अनुसार उनीहरुले नक्कली कारोबार देखाएको र भ्याट छली गरेको, नक्कली कारोबार देखाएर भ्याट रिटर्न लिएको लगायतको कसुरमा अनुसन्धान भई मुद्दा दायर भएको हो।  विभागले पहिलो मुद्दा संदिप ट्रेडर्सविरुद्ध दर्ता गराएको छ। स्थायी लेखा नम्बर ६१८७४५१०६ को बिजनेस फर्मले ६ लाख ४९ हजार ४ सय रुपैयाँको सामान खरिद गरी ६ करोड ५४ लाख २२ हजार ६६० रुपैयाँको सामान विक्री गरेको र भ्याट बिल बेचेको भन्दै मुद्दा दायर गरेको हो। उक्त बिजनेस फर्मका मुख्य कारोबारी दयाशंकर चौधरी र सञ्चालक विमलावती देवी चौधरीले राजस्व चुहावट गरेको भन्दै उनीहरुले राजस्व चुहावट गरेको ६ करोड ५४ लाख २२ हजार ६६० को व्यापार गर्दा ६ लाख ४९ हजार ४ सय रुपैयाँको मात्रै सामान खरिद गरेको देखिएको भन्दै विक्री भएको सामानबाट खरिद भएको सामान घटाई हुन आउने रकममा ब्याज, हर्जाना, जरिवाना आदि सबै रकम जोडेर १२ करोड ८५ लाख २६ हजार २८० रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरिएको हो।  त्यस्तै अर्को मुद्दामा विभिन्न बिजनेस फर्महरूले नक्कली भ्याट बिलको कारोबार गरेको लगायतका कसुरमा मुद्दा दायर गर्दै हदैसम्मको सजाय समेत मागदाबी  लिइएको छ। विभागको अनुसन्धानको क्रममा भिसिटिएस प्रणालीको अध्ययन गर्दा कैफियत भेटिएपछि भएको विस्तृत छानबिनमा राजस्व हिनामिना भएको पाइएको हो।  मुद्दा दायर गरिएका जया एण्ड जिया ईम्पेक्शका प्रोपाइटर राहुल कुमार दुवेदीले प्रविष्ट गरेको खरिद बिक्रीको विवरण, निजले आन्तरिक राजस्व विभागले सञ्चालन गरेको प्रणालीमा प्रविष्ट गरेको विवरणबाट प्राप्त गरेको भ्याट रिटर्न आदिको अध्ययन गर्दा कैफियत भेटिएको हो।  दुवेदीले गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियार, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारी, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तव, एस।पी। कन्सर्नका प्रोपाइटर प्रभुशंकर रौनियार र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग मिलेर भ्याट रिटर्न लिएको र राजस्व हिनामिना गरेको पाइएको हो। अनुसन्धानका क्रममा राहुल कुमार दुवेदी, सीताराम प्रसाद रौनियार, रिजवान अन्सारी, मिरा कुमारी श्रीवास्तव, प्रभुशंकर रौनियार, रामछत्री सा कलवार र बिरबलजी भनिने भारतीय नागरिकसमेतको मिलेमतो र संलग्नतामा भन्सार छली गरी ल्याउने गरेको पाइएको थियो। अनुसन्धानका क्रममा राजस्व हिनामिना भएको पाइएपछि जया एण्ड जिया ईम्पेक्शका प्रोप्राईटर राहुल कुमार दुवेदीलाई १७ करोड ३८ लाख ८० हजार २४० रुपैयाँ, श्री गुरु इम्पेक्शका प्रोप्राइटर सीताराम प्रसाद रौनियारलाई १ करोड ८२ लाख ९४ हजार ४७८ रुपैयाँ, शुभश्री इन्टरप्राइजेजका प्रोपाइटर रिजवान अन्सारीसँग २ करोड ११ लाख १९ हजार २३६ रुपैयाँ, न्यु कञ्चन इन्टरप्राइजेजका प्रोप्राइटर मिरा कुमारी श्रीवास्तवसँग २ करोड ११ लाख ८१ हजार ९०४ रुपैैयाँ, एस.पी.कन्सर्नका प्रोप्राइटर प्रभुशंकर रौनियारसँग १ करोड ७८ लाख ४० हजार २०० रुपैयाँ र न्यू एस कुमार इन्टरनेशनलका प्रोप्राइटर रामछत्री सा कलवारसँग १ करोड ७७ लाख २८ हजार ६६० रुपैयाँ बिगो कायम गरेको छ।उनीहरूसँग बिगो बराबरकै जरिवाना मागदाबी  लिइएको छ।  राजस्व अनुसन्धान विभागका महानिर्देशक नव राज ढुङ्गानाले विभागले पछिल्ला दिनहरूमा गम्भीर प्रकृतिका राजस्व छलीको घटनाका सम्बन्धमा अनुसन्धान अगाडी बढाएको बताउँदै त्यसको परिणाम पनि आउने दाबी गरेका छन्।

रात्रिभोजमा महिलालाई अंगालो हालेपछि राष्ट्र बैंकका निर्देशकको जागिर चैट

काठमाडौँ । नेपाल राष्ट्र बैंककी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा बैंकका निर्देशक थानेश्वर आचार्यको जागिर चैट भएको छ।  गत पुस २७ गते बैंकले नगरकोटमा आयोजना गरेको एक कार्यक्रमपश्चात रात्रिभोजको समयमा निर्देशक आचार्यले आफूलाई पछाडिबाट अंगालो हालेर यौन  दुर्व्यवहार गरेको ति महिला कर्मचारीले आरोप लगाएका थिइन् ।उनले आचार्यविरुद्ध गर्भनर महाप्रसाद अधिकारीसमक्ष लिखित उजुरी दिएकी थिइन् । उनले घटनामाथि छानबिन र दोषीमाथि कारबाही हुनुपर्ने माग गरेकी थिइन् ।  उनको उजुरीपश्चात छानबिन हुँदा आचार्य ति महिला कर्मचारीमाथि  दुर्व्यवहार भएको खुलेसँगै मंगलबारबाट उनलाई सेवाबाट बर्खास्त गरिएको हो। निर्देशक आचार्य यसअघि पनि यस्तै यस्तै विवादमा आइराख्ने पात्र भएको राष्ट्र बैंककै एक कर्मचारीले जानकारी दिए । उनलाई राष्ट्र बैंकको कर्मचारी सेवा विनियमावली,२०६८(तेस्रो संशोधन, २०७४ समेत मिलाइएको रूपमा) को विनियम १४५ को खण्ड (ख) को (१) बमोजिम भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको हो। 

लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ

काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ परेका छन् । देशका विभिन्न स्थानमा खानतलासीका क्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।  झापाको कन्काई नगरपालिका ८ बस्ने २३ वर्षीय मनिष चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ६० मिलिग्रामसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही ठाउँ बस्ने बिशाल राईसँग खरिद गरेको खुल्न आएपछि बिशालको घर तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ४० मिलिग्राम प्रहरीले बरामद गरेको छ । हाल फरार बिशालको प्रहरीले खोजी गरिरहेको छ ।  यसैगरी झापा, दमक नगरपालिका ८ डाँफे मुनालबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका ८ वालुवाटार बस्ने १९ वर्षीय शेखर परियार र २१ वर्षीय रोहित साह रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  कपिलवस्तुको वाणगंगा नगरपालिका ११ मर्थीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम १ सय ५० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रूपन्देही कंचन गाउँपालिका ६ बस्ने ३० वर्षीय बिशाल राना र २१ वर्षीय सुरज बिक रहेका छन् । अस्थायी प्रहरी पोष्ट ओदारीबाट खटिएको प्रहरीले लु ५९ प ७०९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।      बाँकेको नेपालगंज उपमहानगपरालिका १९ सुर्जगाउँ बस्ने ४६ वर्षीय साबिर अली बेहनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ३ सय मिलिग्रामसहित आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनलाई पक्राउ गरको हो ।  पर्साको बिन्दवासिनी गाउँपालिका ३ झौवा गुठी बस्ने ५६ वर्षीय मिरहसन देवानलाई अवैध लागूऔषध गाँजा ९ सय ग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बजेटमा ‘बेवारिसे’ शैली फेरौँ : सांसद पौडेल

काठमाडौं ।प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले बजेटमा ‘बेवारिसे’ किसिमको भाषाशैली फेर्नुपर्ने बताएका छन्। विनियोजन विधेयकमा समेटिएका दिगो विकास, सार्वजनिक वित्त संकलन, मौद्रिक नीतिको लचकता, सार्वजनिक ऋणको भुक्तानलगायत विषय महत्त्वपूर्ण भएको उनले उल्लेख गरे। आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक)का विषयमा प्रतिनिधिसभा बैठकमा छलफलका क्रममा सोमबार उनले यस्तो बताएका हुन् । “तर, बढाइनेछ, गरिनेछ, दिइनेछ, बनाइनेछ, विश्वास गरेको छु भन्ने कुराहरू धेरै ठाउँमा छ। यो बेवारिसे छ।करेक्सनका लागि मैले आग्रह गर्दछु,” उनले भने।यो यो गरिनेछ भन्ने विषय अर्थमन्त्रीले प्रस्ट रूपमा किटान गरेर ल्याउनुपर्नेमा उनले जोड दिए। उनले भने, “यस किसिमका भाषा, ढंग र शैलीभन्दा फरक ढंगले हामी अघि बढ्नुपर्नेछ।”  

प्रहरीको विकल्प सुधारिएको प्रहरीः गृहसचिव अर्याल

काठमाडौं । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्दै प्रहरीलाई निर्देशन दिएका छन् । गृहसचिव एकनारायण अर्याललाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले स्वागत गरेका थिए  कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको बताए ।  नेपाल प्रहरीको विकल्प भनेको सुधारिएको नेपाल प्रहरी नै रहेको भन्दै गृहसचिव अर्यालले भने, “समग्र गृह प्रशासनलाई समसामाहिक हिसाबमा रूपान्तरण गर्नुपर्ने छ । अहिले भएका कार्यसम्पादनबाट हामी आफै पनि सन्तुष्टि छैनौं । जनताहरू पनि सन्तुष्टि भएका अवस्था छैनन् । हाम्रा कार्यशैलीमा परिवर्तन गर्नुपर्ने छ र अबका दिनहरूमा गृह प्रशासनमा नयाँ ढंगले काम गर्नुपर्छ भन्ने आफ्नो मन र मस्तिष्कमा राख्नुहोला ।”   गृहसचिव अर्यालले मुलुकको आन्तिरक सुरक्षा र व्यवस्थालाई सबल र प्रभावकारी बनाएको खण्डमा नागरिकहरूले स्वतन्त्रता पूर्वक आफ्नो व्यक्तित्व निर्माण गर्नका लागि शान्तिपूर्ण वातावरण सिर्जना भई आम नागरिकमा सुरक्षाको अनुभूति हुने बताउँदै विकास र सुरक्षालाई सँगसँगै लैजानुपर्नेमा जोड दिए ।  प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्ति विकासमा सांगठनीक प्रणाली अन्तर्गत हुनुपर्ने उल्लेख गर्दै प्रहरी कर्मचारीहरूको पिरमर्का, गुनासोहरूको सम्बोधनको लागि सम्बन्धित कार्यालय प्रमुखहरू क्रियाशील हुनुपर्ने उनले बताए । नागरिकसँग सम्बन्धित ऐन, कानूनको अध्ययन गरी सेवाग्राहीलाई सोही अनुरूपमा सेवा प्रदान गर्नुपर्नेमा उनले जोड दिए ।  गृहसचिव अर्यालले शून्य सहनशिलताको नीतिलाई अबलम्बन गर्नुपर्ने, चेन अफ कामण्डको उचित कार्यान्वयन गर्नुपर्ने बताउँदै तस्करी नियन्त्रण एवम् राजश्व चुहावट नियन्त्रणमा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै थप सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताए ।  नैतिकवान र प्रविधियुक्त प्रहरी आवश्यक रहेको चर्चा गर्दै उनले भने, “राम्रो काम गर्नलाई डराउनुपर्दैन । व्यावसायिक, उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुहोस् ।”  कार्यक्रममा गृहसचिव एकनारायण अर्याल समक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको कार्ययोजना, २०८०, लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना, २०८०र०८१, प्रहरी कर्मचारीको सरूवा सम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको संग्रह भाग १ र भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन पुस्तक प्रदान गरे  ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यका प्रचलित ऐन कानूनको कार्यान्वयन, नागरिकको जीउ, धन र संवैधानिक हक अधिकारको संरक्षण र आम नागरिकमा कानुनको सर्वोच्चता र शान्ति सुरक्षाको प्रत्याभूति गराउँदै न्यायपूर्ण व्यवस्था कायम गर्न तालुक गृह मन्त्रालयको प्रत्यक्ष सुपरिवेक्षणमा रही समृद्ध, समुन्नत र न्यायपूर्ण नेपाल निर्माणमा, समग्र नेपाल प्रहरी संगठन र आबद्ध सकल दर्जा कटिबद्ध रहेको बताए ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

पूर्व सभामुख महरालाई सरकारी वकिल कार्यालय लगियो

काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको छ । म्याद थपका लागि अनुमति लिन अदालत लैजानुअघि महरालाई सरकारी वकिलको कार्यालय, रामशाहपथ पुर्‍याइएको हो । भेपमार्फत गरिएको करिव ९ किलो सुन तस्करीको पुनः अनुसन्धानका क्रममा प्रहरीले महरालाई सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । 

दुर्गा प्रसाईंका बडिगार्ड सर्वोच्च अदालत परिसरबाट बन्दुकसहित पक्राउ

काठमाडौं । सर्वोच्च अदालत परिसरबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना बडिगार्ड हतियारसहित पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालत पुगेका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।  पक्राउ पर्नेमा बडिगार्डहरू दीपक खड्का र रामकुमार धिमाल छन् ।  उनीहरू बिहान पौने ११ बजे दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि सर्वोच्च अदालत प्रवेश गर्ने क्रममा बन्दुक भेटिएको हो ।  सर्वोच्च अदालतको मूलगेटमा रहेका प्रहरी निरीक्षक विजय भण्डारी सहितको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरूबाट बन्दुक बरामद गरेको हो । उनीहरुको साथबाट ‘ठूले स्वीडेन’ लेखिएको कालो र‌ङको झोलाभित्र स्वचालित हतियार एउटा, सानो दुई वटा म्यागजिन, दुई वटा ठूलो म्यागजिन, एउटा म्यागजिन होल्डर, १०० राउण्ड गोली पनि बरामद भएको छ। प्रहरीका अनुसार बरामद भएको हतियार जिल्ला प्रशासन कार्यालय झापाबाट इजाजत लिइएको छ ।

बढ्यो सेयर बजार, ५ कम्पनीमा १० प्रतिशत वृद्धि

काठमाडौं । अघिल्ला ३ कारोबार दिनसम्म लगातार झरेको सेयर बजार सोमबार भने बढेको छ । आज अन्तिम ४० मिनेटपछि बजार सम्हालिएर बढेको हो । अघिल्लो दिन २०७० अंकमा बन्द भएको सेयर बजार सोमबार २०७३ अंकमा बन्द भयो । अघिल्लो दिनको तुलनामा सामान्य अंकले बजार बढ्दा कारोबार रकम भने खुम्चिएको छ । आइतबार ३ अर्ब ३८ करोडको कारोबार भएकोमा सोमबार २ अर्ब ८८ करोडमा खुम्चियो । कुल १४८ कम्पनीको मूल्य बढ्दा ८५ को घट्यो भने १० को स्थिर रह्यो । विकास बैंक समूह सबैभन्दा धेरै १.३ प्रतिशत बढ्यो । त्यस्तै फाइनान्स समूह १ प्रतिशत बढ्यो । ती बाहेकका समूह सामान्य दरले घटबढ भए । बैंकिङ ०.३७, लगानी ०.३५, उत्पादन ५७ तथा निर्जीवन बीमा ११ अंकले घटे । ब्यापार १४, अन्य ६, माइक्रोफाइनान्स २४, जीवन बीमा ६, हाइड्रोपावर ४, होटल तथा पर्यटन ४७, फाइनान्स २० र विकास बैंक समूह ५२ अंकले बढे । गोर्खाज फाइनान्स, सप्तकोशी विकास बैंक, पिपुल्स पावर, धौलागिरि लघुवित्त र पिपुल्स हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । मानुसी लघुवित्तको ५, एनएमबी बैंकको २.७, सिंगटी हाइड्रोको २.४, माण्डु हाइड्रोको २.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा गोर्खाज फाइनान्स, शिवम् सिमेन्ट, सोनापुर सिमेन्ट, माथिल्लो तामाकोशी र घोराही सिमेन्ट क्रमशः अगाडि रहे ।

नेविसंघले गृहमन्त्री लामिछानेको पुत्ला जलायो

काठमाडौं । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको पुत्ला जलाएको छ । नेविसंघ पशुपति क्‍याम्पस इकाइ समितिको अगुवाईमा सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी समेत गरिएको छ । उनीहरुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग पनि गरेका छन् ।  प्रदर्शनकारीले ‘सहकारी पीडितहरूलाई न्याय दे’ भन्दै नाराबाजी पनि गरेका छन् ।

अन्तर्राष्ट्रिय सौर्य गठबन्धन स्थापनासँग सम्बन्धित सम्झौता प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभामा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरिएको छ।प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए) को स्थापनासँग सम्बन्धित सम्झौता पेस गरेका हुन्।  सम्झौता संसद्मा पेश गर्दै मन्त्री बस्नेतले सौर्य ऊर्जा प्रविधि प्रयोग गरी सदस्य राष्ट्रहरुमा ऊर्जा पहुँच बढाउन ऊर्जा सुरक्षा सुनिश्चित गर्न, ऊर्जाको विकासलाई निर्देशित गर्न र जलवायु परिवर्तन कम गर्न भारत र फ्रान्सको संयुक्त प्रयासमा स्थापित आईएसएसँग सम्बन्धित करार सम्झौता भएको जानकारी दिए।उनले यो सम्झौताबाट नेपाललाई पनि फाइदा हुनसक्ने देखि उक्त सम्झौतामा नेपालले पनि हस्ताक्षर गरिसकेकोले आईएसएको सम्झौताको अनुमोदन गर्न संघीय संसद्मा पेश गर्ने प्रयोजनको लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट २०८० वैशाख १९ मा स्वीकृत भएको बताए । मन्त्री बस्नेतले प्रतिनिधिसभा नियमावली, २०७९ को निमय २२५ बमोजिम अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता संघीय संसद् प्रतिनिधिसभा समक्ष प्रस्तुत गरेका हुन् । उक्त सम्झौता अब सभाबाट पारित हुनुपर्नेछ।

रुसी सेना र युक्रेनी नियन्त्रणमा रहेका नेपालीलाई फिर्ता ल्याउन क्रियाशील छौं :  परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा संलग्न भई युक्रेनमा बन्दी बनाइएका नेपालीलाई स्वदेश फर्काउन सरकार क्रियाशील रहेको बताएका छन्।प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा परराष्ट्रमन्त्री श्रेष्ठले सरकारले रुसी सेनामा रहेका र युक्रेनमा बन्दी बनाइएकालाई नेपाल फर्काउन क्रियाशीलता बढाएको बताएका छन्। आफूले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रुसी विदेशमन्त्रीसँग कुराकानी गरेको र नेपालका लागि रुसी राजदूतसँग पटकपटक छलफल गरेको श्रेष्ठले बताए। 'युक्रेनमा बन्दी भएका युद्धबन्दीका बारेमा यस मन्त्रालयले पहिला नै नामहरू सार्वजनिक गरिसकेको छ।हिजोमात्र रुसी सेनामा कार्यरत रहेको अवस्थामा युक्रेनमा बन्दी बनाइएकामध्ये पाँच जनाको नाम र फोटो फेरि सार्वजनिक भएको छ,' उनले भने, 'नेपाल सरकारको निरन्तर कूटनीतिक प्रयासपछि यो सम्भव भएको छ ।मन्त्रालय यथाशीघ्र उहाँहरूलाई नेपाल फर्काउनका लागि उच्च प्राथमिकताका साथ क्रियाशील छ।' रुस सरकारले त्यहाँको सेनामा भर्ना भई मृत्यु भएका नेपाली परिवारलाई क्षतिपूर्ति दिन सहमत भएको र अहिले पनि त्यहाँ कार्यरत रहेका नेपालीलाई फिर्ता पठाउन तयार भएको श्रेष्ठले जानकारी दिए ।मन्त्री श्रेष्ठले भने- 'रुसी विदेश मन्त्रालयले रुसी सेनामा भर्ना भएका नेपालीमध्ये घर फर्कन चाहनेलाई करार रद्द गर्न आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ।त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ। यस बारेमा रुसमा रहेको नेपाली दूतावासले निरन्तर फलोअप गरिरहेको छ।' रुस र युक्रेनको बीचमा जारी युद्धमा रुसको पक्षबाट सेनामा रहेका नेपालीका समस्या समाधान गर्न सरकार तयार रहेको र क्रियाशील भइरहेको श्रेष्ठले बताए ।

सांसद शर्माको निधनप्रति शोक प्रस्ताव पारित

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)क सांसद मन्जु शर्मा अन्सारीको निधन भएकामा राष्ट्रियसभाबाट शोक प्रस्ताव पारित गरिएको छ । सोमबार बसेको राष्ट्रियसभा बैठकबाट शोक प्रस्ताव पारित गरिएको हो । अन्सारीको परिवारजनमा समवेदना समेत व्यक्त गरिएको छ । उनीप्रति श्रद्धाञ्जलीस्वरूप सभाका सदस्यले एक मिनेट मौन धारण गरे । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले भने, “संघीय संसद् प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको निधन भएकोमा शोक प्रस्ताव प्रस्तुत गर्दछु । वि।सं। २०२० साल माघ १९ गते जन्मनुभएकी प्रतिनिधिसभा सदस्य मन्जु शर्मा अन्सारीको मिति २०८० साल चैत्र ४ गते आइतबार उपचारको क्रममा असामयिक निधन भएकोमा राष्ट्रियसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ । स्व। अन्सारी जनता समाजवादी पार्टी, नेपालबाट विक्रम संवत् २०७९ सालको प्रतिनिधिसभामा समानुपातिक सदस्यको रूपमा निर्वाचित हुनुभएको थियो । यो बैठक स्व। अन्सारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछ ।” राष्ट्रियसभाको अर्को बैठक यही चैत ७ गते बिहान सवा ११ बजे बस्ने गरी बोलाइएको छ ।

सहकारी ठगीसम्बन्धमा निष्पक्ष छानबिन गर्न कांग्रेसको ध्यानाकर्षण

काठमाडौं।प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीका सम्बन्धमा निष्पक्ष छानबिनको विश्वास दिलाउन सरकारसँग माग गरेको छ । आजको बैठक आरम्भ हुनासाथ नेपाली कांग्रेसका सांसदहरु आफ्नो स्थानबाट उठेपछि सभामुख देवराज घिमिरेले सो पार्टीका महामन्त्री गगनकुमार थापालाई बोल्न समय दिए। महामन्त्री थापाले सहकारी ठगीलगायत विभिन्न भ्रष्टाचारका प्रकरणमा जस्तोसुकै ठूला व्यक्ति भए पनि निष्पक्ष अनुसन्धान भई कानुनी कारबाही हुनुपर्नेमा जोड दिए। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीसम्बन्धी विवादमा मुछिएकाले रवि लामिछाने पदमा रहन उपयुक्त नहुने थापाको भनाइ थियो ।   नेता थापाले उपप्रधानमन्त्री लामिछानेसमेत सूर्यदर्शन र सुप्रिम सहकारीको विवादमा तानिएकाले विवादको छानबिन नहुँदासम्म लामिछानेलाई मन्त्री बनाउन नहुने तर्क गरे। “उहाँ दोषी हो÷होइन हामीलाई थाहा छैन । भोलि छानबिनले प्रमाणित गर्ला तर जो आफैँ मुछिएको छ।उसले कसरी निष्पक्ष अनुसन्धान गर्छ भन्ने प्रश्न उठेको छ”, उनले भने, “सहकारीबाट ठगिएकाहरुको पैसा फिर्ता गराउन हामीले सहज वातावरण गर्नुपर्छ । त्यो वातावरण बनाउनेबारे हामीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जवाफ चाहिएको छ ।” उनले सदन चलोस् भन्ने आफूहरुको चाहना भएको तर आफूहरुले उठाएको प्रश्नको जवाफ नआएकाले चिन्ता बढेको बताउँदै सुन तस्करीका घटनामा शक्तिशाली नेताहरूलाई लुकाउने प्रपञ्च रहेछ भन्न यसअघिका प्रतिपक्षका आरोप सही नहोस् भन्ने पनि ध्यानाकर्षण गराए। महामन्त्री थापाले बोलेपछि सभामुख घिमिरेले सदनमा उठेका विषयमा सरकारको ध्यानाकर्षण भएको होला भन्ने विश्वास व्यक्त गर्दै आफ्नो पनि ध्यानाकर्षण भएको बताए।