रिटर्नी सेन्टरको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा
चितवन । रिटर्नी सेन्टर नेपालको प्रथम राष्ट्रिय सम्मेलन चितवनमा शुक्रबार सुरु हुँदैछ । विदेशबाट फर्किएका नेपालीहरुको संगठन रिटर्नी सेन्टरको प्रथम सम्मेलन बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ सेन्टरका अध्यक्ष देबेन्द्र सम्बाहाम्फेले चितवनको भरतपुरमा हुने सम्मेलनको तयारी पुरा भएको बताए ।
सम्मेलनका लागि सेन्टरले स्थानीय तह , जिल्ला र प्रदेश सम्मेलन गरिसकेको छ ।
‘एक रिटर्नी, एक उद्यम प्रविधिको माध्यम’ भन्ने मूल नारा सहित हुन लागेको प्रथम सम्मेलनमा देशभरबाट १ हजार ४९५ जना प्रतिनिधि सहभागी हुनेछन् । सम्मेलनमा कृषि तथा डिजिटल प्रविधिबारे वर्कसप समेत हुने बताइएको छ।
स्थापना भएको केही महिनामै ६० भन्दा बढी जिल्लामा संगठन निर्माण गरेको सेन्टरले विदेशमा सिकेको ज्ञान, सीप, प्रविधि एवम् पुँजीलाई उपयोग गरेर नेपालमा उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष राखेको छ।
सेन्टरले गत १० पुसमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटेर बन्द कलकारखाना हेटौँडा कपडा उद्योग र बुटवल धागो कारखाना संचालन गर्नुपर्ने, ७७ जिल्लामा किसानको बजार स्थापना गर्नुपर्ने, कोरियाली प्रविधि प्रयोग गरी ग्रीन इनर्जी इँट्टा उद्योग सन्चालन गर्नुपर्ने लगायत ५ बुँदे माग अगाडि सारेको छ।
बन्द कलकारखाना सन्चालन गर्न वैदेशिक रोजगारबाट फर्केका र वैदेशिक रोजगारीमा रहेका युवाहरुको परिवारको भूमिका हुनुपर्ने सेन्टरले बताएको छ । सेन्टरकै माग अनुसार प्रधानमन्त्रीले बन्द कलकारखाना सन्चालन गर्ने घोषणा गरिसकेका छन् ।
एभरेष्ट दैनिकले रिटर्नी सेन्टरको उद्देश्य र राष्ट्रिय सम्मेलनको विषयमा गरेको कुराकानी हेर्न यहाँ क्लिक गर्नुहोस ।
सूर्यदर्शन सहकारीपीडितले सभापति खतिवडालाई बुझाएको ज्ञापनपत्रमा के छ ?
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी पीडितले राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडालाई ज्ञापनपत्र बुझाएका छन्। बिहीबार सूर्यदर्शन बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठलगायतले सभापति खतिवडालाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा उक्त सहकारीले १८ हजार ७०० बचतकर्ताको लगभग १४० करोड रुपैयाँ निक्षेपकर्तालाई फिर्ता गर्नुपर्ने संघर्ष समितिको माग छ । विगत दुई वर्षयता कसैले पनि बचत फिर्ता पाउन नसकेको उनीहरूले बताएका छन् । रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गितेन्द्रबाबु (जीबी)राई पक्राउ नपरेको उनीहरूले उल्लेख गरेका छन् । उनीहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । सहकारीको पैसा गोर्खा मिडिया कम्पनीअन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा ३० करोड रुपैयाँ लगानी गरिएको देखिएको उनीहरूले बताएका छन् । यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने माग गरेका छन् । १९ विरुद्ध किटानी जाहेरी दिइए पनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका उनीहरूले बताए । गएको माघ २२ गते पूरक जाहेरीमार्फत हालका उपप्रधान एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक रवि लामिछानेमाथि पनि उजुरी दिइएको थियो । तर, छानबिन नगरिएको बताइएको छ। सूर्यदर्शन सहकारीमा लामिछानेको खाता नं. १०३९०००६६७५७ रहेको बचतपीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए । उक्त निवेदन बुझ्दै समितिका सभापति खतिवडाले राज्यले पीडितको समस्या समाधान गर्नुपर्नेमा जोड दिए । उनले सरकारले पीडितका पक्षमा न्याय गर्ने विश्वास पनि व्यक्त गरे । उनले गृहमन्त्री लामिछानेले कुनै समय सहकारीपीडितको समस्या राज्यले समाधान गर्नुपर्ने भनेर बोलेको स्मरण गरे । आफैँ सरकारमा भएका बेलामा समस्या समाधान गरिदिए राम्रो हुने उनले उल्लेख गरे । “तपाईंहरूले प्रधानमन्त्रीलाई पनि भेट्नुभएको छ । पीडितहरूको समस्या समाधान गर्नुपर्छ । मैले सुनेको थिएँ, वर्तमान गृहमन्त्रीले पनि केही पहिला राज्यले नै भए पनि पीडितहरूको समस्या समाधान गर्छौँ भनेर काहीँ बोलेको सुनेको थिएँ,” उनले भने, “राज्यको संयन्त्रमा उहाँ हुनुहुन्छ, त्यसरी समाधान गरिदिनुभयो भने राम्रो भयो । हामीले पनि सरकारलाई आग्रह गर्नुपर्छ । हामीलाई विश्वास छ, जुनसुकै सरकार भए पनि पीडितको पक्षमा न्याय गर्छ भन्ने विश्वास लिएका छौँ । यी कुराहरू समाधान गर्न सरकारले लागोस् ।” उनीहरुको प्रश्न रहेको छ, “जीबी राई भनिने गितेन्द्र बाबु राईको समूहले नेपालको विभिन्न स्थानमा सञ्चालन गरेको सहकारीले आज लाखौँ बचतकर्तालाई पीडित बनाएको छ । यिनै समूहले लगानी गरेका विभिन्न मिडिया कम्पनीदेखि नेटवर्किङ कम्पनी आज बन्द हुन पुगेका छन् । यसरी हजारौँ लाखौँ जनताको बचत रकम जुन हिसाबमा यिनीहरुको समूहले जुन क्षेत्रमा लगानी र भोगचलन गरे त्यो क्षेत्रमा लगानी गर्न पाउने कुरा यो राज्यव्यवस्थाको कानुनमा उल्लेखित छैन । गोर्खा मिडिया कम्पनी अन्तगर्त ग्यालेक्सी टेलिभिजन जुन वर्तमान अवस्थामा बन्द छ । त्यस टेलिभिजनमा हाम्रो तिसौँ करोड लगानी भएको देखिन्छ । जस जसले यस विषयमा आर्थिक, नैतिक र व्यवहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने हो ति सबैजना मौन छन् । कोही कारागारको बन्द कोठामा मौन छन् भने कोही अझैसम्म हाम्रो प्रहरी प्रशासनको पहुँचदेखि धेरै टाढा छन् । आज लाखौँ जनताको घरमा चुल्हो बलेको छैन । छोराछोरीको शुल्क तिर्न नसक्दा विद्यालय जान र परीक्षाबाट बञ्चित हुनु परेको छ । धेरै परिवारका छोराछोरीले बाध्यताले विद्यालय नै परिवर्तन गर्नुपरेको छ । बिरामी हुँदा उपचार र औषधीको लागि पैसा नहुँदा कैयन बचतकर्ता मरिसके । परिवारमा कलह र झगडाले कैयन सम्बन्ध विच्छेद भइसके ।” सभापति खतिवडाले सो निवेदनउपर उपयुक्त समयमा समितिमा छलफल गराएर समस्या समाधानका निम्ति पहल गर्न सरकारलाई आग्रह गरिने पनि बताए ।
चूडामणि पौडेल सचिवमा बढुवा
काठमाडौँ । सरकारले वरिष्ठ सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार (आज) बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा कर्णाली प्रदेशका कायम मुकायम प्रमुख सचिव रहेका पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिको ५ गतेको बैठकले पहिलो नम्बरमा चूडामणि पौडेल दोस्रो नम्बरमा डा.हरि लम्साल र तेस्रो नम्बरमा केदारनाथ शर्माको नाम सिफारिस गरेको थियो। जसमध्ये पहिलो नम्बरमा सिफारिस पौडेललाई सरकारले सचिवमा बढुवा गरेको हो।
राष्ट्रिय योजना आयोगमा चार सदस्य नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको रिक्त चार सदस्य पदमा नियुक्तिको निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट काठमाडौंकी प्राध्यापक संगीता सिंह, जुम्लाका डा. कुसेन्द्रबहादुर महत, पाल्पाका शिवराज अधिकारी र ललितपुरका अरनिकोकुमार पाँडेलाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मानको पक्षमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । ५९औँ जातीय विभेद उन्मुलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका सन्दर्भमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध रहेको बताए। “इतिहासदेखि नै थिचिएका, मिचिएका र अपमानित जीवन व्यतीत गर्न बाध्य पारिएका नेपालका दलित समुदायलाई सरकारका तर्फबाट उच्च सम्मान व्यक्त गर्दछु,” प्रधानमन्त्री प्रचण्डले भने, “दलित समुदायको आत्मसम्मान, समानता र सामाजिक न्यायको पक्षमा सरकार प्रतिबद्ध छ ।” यस वर्ष नेपालको नारा ‘आत्मसम्मान, समानता र सामाजिक न्यायसहितको समृद्धका लागि राजनीतिक हक जातीय छुवाछूत तथा सबै प्रकारका विभेद अन्त्यका लागि दलितअधिकार दशक’ रहेको छ । संयुक्त राष्ट्रसङ्घले सबै प्रकारका जातीय भेदभाव उन्मूलन गर्ने संयुक्त राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय महासन्धि, १९६५ पारित गरी २१ मार्चलाई सन् १९६६ मा अन्तर्राष्ट्रिय रङ्गभेद उन्मूलन दिवसको रूपमा मनाउने घोषणा गरेको थियो ।
पाकिस्तानमा राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने
इस्लामावाद । देशको आर्थिक अवस्था खराब हुँदै गएपछि पाकिस्तानमा सरकारी पदमा रहेकाहरुले तलब नलिने घोषणा गर्ने क्रम बढेको छ । स्वतन्त्र भए यताकै खराब आर्थिक सङ्कटबाट गुज्रिरहेको पाकिस्तानको अर्थतन्त्रलाई टेवा दिन भन्दै त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुले तलब नलिने घोषणा गरेका छन् । केही दिन अघि त्यहाँ नवनियुक्त राष्ट्रपति आसिफ अली जरदारीले तलब नलिने घोषणा गरेका थिए । अहिले प्रधानमन्त्री शाहबाज सरिफ र उनका मन्त्रीहरूले पनि देशको कमजोर आर्थिक अवस्थालाई विचार गरेर तलब नलिने घोषणा गरेका हुन् । प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्ति अनुसार सरकारले अनावश्यक खर्चमा कटौती गर्ने निर्णय पनि गरेको छ । सरकारको मितव्ययि नीतिअनुसार सबै मन्त्रीहरूले तलब र त्यससँग सम्बन्धित सबै सुविधा छाड्ने निर्णय मन्त्रिपरिषद् बैठकले नै गरेको हो । यस्तै, आर्थिक संकटको गम्भीरतालाई ध्यानमा राख्दै मन्त्रिपरिषद्ले सरकारी खर्चमा विदेशी भ्रमणमा प्रतिबन्ध लगाउने घोषणा समेत गरेको छ । सरकारले संघीय मन्त्री, सांसद र सरकारी अधिकारीहरूलाई विदेश भ्रमणमा नजान निर्देशन दिएको हो । यात्राका लागि सरकारी कोष प्रयोग गर्नै पर्ने भए शहबाज सरिफको सरकारबाट पूर्व स्वीकृति लिनुपर्ने निर्णय भएको छ । गत हप्ता राष्ट्रपति जरदारी र गृहमन्त्री मोहसिन नकवीले तलब नलिने घोषणा गरेपछि अहिले मन्त्रिपरिषदबाट नै अन्य सबै मन्त्रिले तलब नलिने घोषणा भएको हो । (एजेन्सीको सहयोगमा)
भारतमा ४.५ म्याग्निच्युडको भूकम्प
काठमाडौं । भारतको महाराष्ट्र राज्यस्थित हिंगोलीमा बिहीबार बिहान ४.५ म्याग्निच्युडको भूकम्प गएको छ । त्यहाँको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार, बिहान ६ बजेर ८ मिनेट (स्थानीय समय)मा सो क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । १० किलोमिटर गहिराइमा भूकम्प गएको थियो । भूकम्पपछि बिहान ६ बजेर १९ मिनेट (स्थानीय समय)मा ३.६ म्याग्निच्युडको परकम्प मापन गरिएको थियो
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते
मध्यविन्दु । नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु ७६ प १६२१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ भने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो, भने दुईजना घाइते भएका थिए ।
महरासँग आज पनि बयान लिइने
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जनाएको छ । कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान लिन सुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा नै राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भए अनुसार महरालाई नर्भिक अस्पतालमा राखिएको छ । महरालाई सिआइबीको नियन्त्रणमा राखेर अनुसन्धान गर्न दिइएको म्याद आज समाप्त हुने भएकाले बयान र अनुसन्धान नसकिए पुन म्याद थप गरिने सिआइबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए । गत साउन २ मा ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोटमा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ । त्यसबेला सिआइबीले उनीसँग बयान कागज गरेर मात्रै छाडेको थियो । यो प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन् । राहुल हाल पुर्पक्षका लागि अहिले पनि थुनामा छन् ।
एमाले सुर्खेतको अधिवेशन आजदेखि
सुर्खेत । नेकपा (एमाले) सुर्खेतको नवौं जिल्ला अधिवेशन आज देखि सुरू हुँदैछ। बिहीबार बिहान ११ बजे वीरेन्द्रनगरमा जिल्ला अधिवेशनको उद्घाटन पार्टीका महासचिव शंकर पोखरेलले गर्ने एमालेका नेता मोहन बडुवालले जानकारी दिए। बुधवार बसेको जिल्ला कमिटी बैठकले नवौं अधिवेशनमा पेश गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदन पास गरेको छ । अधिवेशनको सबै तयारी पूरा भएको र अधिवेशनमा ४९५ जना प्रतिनिधिहरु सहभागी हुने बडुवालले जानकारी दिए । अधिवेशनअन्तर्गत् बिहिबार नै राजनीतिक तथा आर्थिक प्रतिवेदन पेश गर्ने तालिका रहेको छ। यस्तै बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुनेछ । शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने र सहमति नभए निर्वाचनबाटै आइतबारसम्म जिल्लाको नयाँ कमिटी घोषणा गरिसक्ने तयारी छ ।
जलेर घाइते बाबु–छोरीको उपचारका क्रममा मृत्यु
सुर्खेत । कालीकोटमा आगोमा जलेर घाइते भएका बाबु छोरीको उपचारका क्रममा मृत्यु भएको छ । खाँडाचक्र नगरपालिका ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा जलेर गम्भीर घाइते भएका सोही ठाउँका ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्तीको उपचारकै क्रममा मृत्यु भएको हो । चैत २ गते बाख्रा चराउन गएको बेला गाउँ नजिकैको सामुदायिक वनमा लागेको डढेलोमा परेर बाबुछोरी घाइते भएका थिए । उनीहरुलाई उपचारको लागि गत शनिबार साँझ हेलिकोप्टरबाट कर्णाली प्रदेश अस्पतालमा सुर्खेत लगिएको थियो । तर उपचारकै क्रममा सोमबार दिउँसो छोरीको र बुधबार बेलुका बुवाको उपचारको क्रममा मृत्यु भएको प्रदेश अस्पतालका अफिस सेक्रेटरी दिपक गिरीले जानकारी दिए ।
सरकारी वकिलको रहोबरमा सीआईबीमा विनोद चौधरीको बयान
काठमाडौं।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रतिनिधिसभाका सांसद, कांग्रेस केन्द्रीय सदस्य तथा उद्यमी विनोद चौधरीसँग बयान लिइरहेको छ। सीआईबीले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको अधिकारीको रहोबरमा बयान लिइरहेको हो। अहिले पनि बयान जारी छ। स्रोतका अनुसार उनी सरकारी वकिलको कार्यालयमा आफैं उपस्थित भएका थिए। यसअघि सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो । त्यसलगत्तै बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा उनको बयान लिन थालिएको हो । चौधरीलाई बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको नाममा दर्ता भएको १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा स्वामित्व हस्तान्तरण गरिएको विषयमा अनुसन्धान थालिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो स्रोतका अनुसार चौधरीको बयान जारी रहेको बताए ।बयान सकिएपछि के हुन्छ भन्नेबारेमा अहिले केही बताउन नसकिने सीआईबी स्रोतले जानकारी दियो ।
फिफा विश्वकप–२०२६ छनोट : नेपाल र बहराइनबीच प्रतिस्प्रर्धा हुँदै
काठमाडौं । फिफा विश्वकप–२०२६ छनोटको दोस्रो चरणको खेलमा आज नेपाली राष्ट्रिय टिम र बहराइनबीच प्रतिस्प्रर्धा हुँदैछ। पहिलो चरणको खेलमा लाओसलाई १–० ले हराएर नेपालले दोस्रो चरणमा स्थान बनाएको हो। दोस्रो चरणमा नेपाल समूह ‘एच’ मा छ। दोस्रो चरणमा दुई खेल खेलिसके पनि नेपाल अझै अंकविहीन छ। यसैकारण बहराइनसँग पहिलो लेग खेल्दा भिन्चेन्सो अल्बर्टो एनेसको प्रशिक्षणमा रहेको नेपाली टिम आज पहिलो अंक जोड्ने लक्ष्यमा हुनेछ। बहराइनलसँगको पहिलो लेग घरेलु मैदानमा हुने तालिका थियो । तर, अन्तर्राष्ट्रिय स्तरको एकमात्र दथरथ रंगशालाको स्तर खेल्नलायक नभएपछि पहिलो र दोस्रो दुवै लेग बहराइनमा हुने भएको हो। बहराइनको बहराइन राष्ट्रिय रंगशालामा हुने पहिलो लेग राति १२ः४५ बजेदेखि सुरु हुनेछ । तालिकाको पुछारमा रहेको नेपाल अंकविहीन छ। यो समूहमा नेपालसँगै बहराइन, यमन र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। नेपालले यसअघि पहिलो खेलमा यूएईसँग ४–० को र दोस्रो खेलमा यमनसँग २–० को हार व्यहोरेको थियो। यता, बहराइनले पनि यसअघि दुई खेल खेल्दा एकमा जित र अर्कोमा हार बेहोरेको छ। तीन अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको बहराइनले यसअघि यूएईसँग २–० को हार व्यहोर्दा दोस्रो खेलमा यमनलाई २–० ले हराएको थियो।
आज ६ संसदीय समितिको बैठक बस्दै, मन्त्रीहरूसँग छलफल हुने
काठमाडौँ । आज एकैपटक ६ वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्त (कर प्रस्ताव बाहेक) सम्बन्धमा अर्थ मन्त्रीसँग छलफल हुनेछ। त्यस्तै साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उदयपुर र हेटौँडा सिमेन्ट उद्योगका सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट समितिमा प्राप्त प्रतिवेदन माथि छलफल हुनेछ। बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपालको बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी एवं थुनुवाहरूको मानव अधिकारको अवस्थाको स्थलगत अध्ययन भ्रमण सम्बन्धमा, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल हुनेछ। त्यस्तै, साढे १० बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पास हुनेछ। बिहान ११ बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा समितिको समितिको कार्यक्षेत्र र कार्य योजनाको बारेमा छलफल हुनेछ। बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एवं अनुदानमा आधारित कृषि तथा पशुपालन व्यवसाय सम्बन्धी विषयमा रहेका कार्यक्रमहरुको सम्बन्धमा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका मन्त्री/सचिव एवं परियोजना प्रमुखसँग छलफल गर्ने र योजनाको बारेमा छलफल हुनेछ।
आज देशका पहाडी भूभागमा हल्का वर्षा हुने
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भूभागमा हल्का वर्षा हुनुका साथै बाँकी भागको मौसम सफा रहेको छ । यस्तै, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षा तथा उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेश र बागमती प्रदेशका केही स्थानका साथै पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेश सहित देशको पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
एकीकृत समाजवादीले मनाङेलाई स्पष्टीकरण सोध्ने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी गण्डकीका स्वतन्त्र सांसद तथा हाल कांग्रेस नेतृत्वको सरकारमा मन्त्री भएका दीपक मनाङेलाई स्पष्टीकरण सोध्ने भएको छ। बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले मनाङेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। दीपक मनाङे पहिला आफ्नो पार्टीमा प्रवेश गरेको र पार्टी प्रवेश गरेकाले आफूहरूले मन्त्रीसमेत बनाएकोमा अहिले कुनै छलफल नै नगरी समीकरण बदलिएको अवस्थामा मन्त्री बन्न गएकाले स्पष्टीकरण सोध्नु परेको सचिव जीवनराम श्रेष्ठले बताए। उनलाई प्रदेश कमिटीलाई स्पष्टीकरण सोध्न निर्देशन दिइएको छ। २०७९ को निर्वाचनमा मनाङे प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर मनाङ १ (ख) बाट निर्वाचित भएका थिए।

