ट्याक्टर दुर्घटना हुँदा ५ जनाको मृत्य, २ घाइते
अछाम । अछामको मेल्लेख गाउँपालिका ७ नन्देगडाको सुयडीमा टयाक्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ।
दुर्घटनामा अन्य २ जना घाइते भएका प्रहरीले जनाएको छ।
मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ आउँदै गरेको ०१००२ त ४९७९ नम्बरको ट्याक्टर सुयडी नजिकै दुर्घटना भएको स्थानीय नवराज उपाध्यायले जानकारी दिएका छन् ।
मृत्यु हुने सबै पुरुष रहेका छन्। उनीहरुको सनाखत हुन बाँकी छ। घाइतेलाई उपचारको लागि बयालपाटा अस्पताल लगिएको अछाम प्रहरीले जानकारी दिएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।
एमाले सुर्खेतको अध्यक्षमा देवकोटा निर्वाचित
सुर्खेत । नेकपा (एमाले) सुर्खेतको अध्यक्ष पदमा कुलमणि देवकोटा निर्वाचित भएका छन् ।आइतबार भएको निर्वाचनमा देवकोटा निकटतम प्रतिद्वन्द्वी अमृतकुमार विसीलाई पराजित गर्दै अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप–सचिव (खुला)मा टिकाराम सोमै निर्वाचित भएको नेकपा (एमाले) सुर्खेतले जनाएको छ । महिला (सचिव)मा सुशीला विश्वकर्मा निर्वाचित भएकी छन् । सदस्य पदको मतगणना जारी रहेको निर्वाचन समितिले जनाएको छ।
आज तराईमा होली पर्व मनाइँदै
काठमाडौं। फागु पूर्णिमा अर्थात् होली पर्व आज तराईका जिल्लामा हर्षोल्लासका साथ एक आपसमा रङ र लोला खेली आपसी सद्भाव साटेर मनाइँदै छ । आइतबार हिमाली एवं पहाडी जिल्लाहरूमा सो पर्व मनाइयो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताका रूपमा मनाउने प्रचलन रही आएको छ ।
ललितपुरको ढोलाहिटीमा ग्याङ फाइट, दुईजनाको हत्या
काठमाडौं । ललितपुरको ढोलाहिटीमा दुईजनाको हत्या भएको छ । होली खेल्ने क्रममा विवाद हुँदा गएराति ९ बजे दुई समूहबीच ग्याङ फाइट हुँदा दुईजनाको ज्यान गएको हो । मृत्यु हुनेमा २८ वर्षका रेवाज राई र ३० वर्षका प्रजन राई रहेको प्रहरीले जनाएको छ । शव पाटन र सुमेरु अस्पतालमा राखिएको छ । घटनामा संलग्न भएको आशंकामा सातजना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौंमा बिहानै वर्षा, यस्तो रहनेछ देशको दिनभरको मौसम
काठमाडौं । देशका केही भू–भागमा आज वर्षा हुनेछ । पश्चिमी न्यूनचापीय प्रणाली तथा भारतको उत्तरपूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहँदा नेपालमा केही दिनदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहाज देशभर आंशिकदेखि साधारणतया बदली छ । वाग्मती र गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भएको छ । विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ । कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । काठमाडौंमा आज दिनभर बदली हुनेछ । घाम र बादल लाग्नेक्रम दिनभर हुने । काठमाडौंमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार राति कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोसी, वाग्मती, मधेस र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोसी र मधेस प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
ऐन महर फेरि एमालेको केन्द्रीय सदस्यमा मनोनीत
काठमाडौँ । नेकपा एमालेले ऐन महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । एकजना महिलासँगको सम्बन्धबारे अडियो सार्वजनिक भएपछि पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका महरले फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारितासाथ पार्टीमा काम गर्ने प्रतिबद्धता गरेपछि उनलाई पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने एमालेले निर्णय गरेको हो ।
होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा ९२ जना प्रहरी नियन्त्रणमा
काठमाडौं । होलीमा उच्छृङ्खल गतिविधि गरेको आरोपमा काठमाडौंबाट ९२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जबर्जस्ती रंग लगाइदिने, अमर्यादित गतिविधि गरेको पाइएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीका डीएसपी दिपेश बस्यालले जानकारी दिए । उनका अनुसार २०३ मोटरसाइकल नियन्त्रणमा लिइएको छ । होलीलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो ।
होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा
काठमाडौं ।काठमाडौं उपत्यकामा होलीको दिन ट्राफिक नियम उल्लंघन गर्ने ७८४ सवारी साधन कारबाहीमा परेका छन्। तीमध्ये १५ वटा चारपांग्रे सवारी साधन हुन् भने बाँकी दुई पांग्रे हुन् । उपत्यका ट्राफिक एसएसपी जीवन श्रेष्ठका अनुसार आज ललितपुरको चापागाँउ र भक्तपुरको ठिमीमा दुर्घटना भएको छ । ललितपुर दुर्घटनामा दुईजना गम्भीर घाइते भएको श्रेष्ठले बताए । भक्तपुरका घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
एमाले पार्टी कार्यालयमा ह्याप्पी होली !
काठमाडौं । नेकपा(एमाले)का नेताहरुले होली पर्व मनाएका छन् । सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीले नेताहरुलाई रङ लगाइदिएका थिए । नेकपा(एमाले)को सचिवालय बैठकअघि आइतबार मध्याह्न च्यासलमा रङ लगाएर होली पर्वको शुभकामना आदानप्रदान गर्दै नेताहरू । तस्बिरहरू: केपी शर्मा ओलीको सचिवालय ।
एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने
काठमाडौं । नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एमालेबाट इलाम २ मा सुहाङ नेम्वाङ उम्मेदवार
काठमाडौं । इलामको क्षेत्र नम्बर २ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले उम्मेदवार टुंगो लगाएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको हो । सुवास नेम्वाङको भदौ २५ गते निधन भएपछि २०८१ बैशाख १५ गते त्यहाँ उपनिर्वाचन हुन लागेको छ । सुहाङ, ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुहाङ एमाले कानुन विभाग सदस्य छन्। एमाले इलामले कोशी प्रदेश कमिटीमा उम्मेदवारका ६ जना आकांक्षीको नाम पठाएको थियो। ती नाम केन्द्रमा आएपछि सुहाङलाई उम्मेदवार बनाइएको हो। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यतालिका निर्वाचन आयोगको छ। बझाङ १ को १ मा भने एमालेबाट ३ जना आकांक्षी थिए। बझाङ क्षेत्र नम्बर १ को (१) मा २०७९ को चुनावमा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी भएका थिए। दुर्घटनामा उनको निधन भएपछि यो क्षेत्र रिक्त छ। यस्तै सचिवालय बैठकले ऐन महरलाई पुन: केन्द्रीय सदस्यको जिम्मेवारीमा फर्काउने निर्णय पनि गरेको छ।
करेन्ट लागेर एक जनाको मृत्यु
स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारीमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । करेन्ट लागेर ५२ वर्षीय स्थानीय हर्कबहादुर थापाको मृत्यु भएको हो । अर्जुनचौपारी गाउँपालिका– ६ भेडाबारीस्थित झाक्रिस्थानमा लत्रिएको बिजुलीको तारमाथि घोप्टो परेको अवस्थामा थापा मृत भेटिएको प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मस्को आक्रमणमा संलग्न चार बन्दुकधारी पक्राउ, यस्तो छ पुटिनको प्रतिक्रिया
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोको एक कन्सर्ट हलमा घातक हमला गर्ने चार जना बन्दुकधारीलाई पक्राउ गरिएको बताएका छन् । कन्सर्ट हलमा आक्रमणकारीहरूले अन्धाधुन्ध गोली चलाउँदा र त्यसपछि आगजनी गर्दा कम्तीमा १३३ जनाको मृत्यु हुनुका साथै १४० भन्दा बढी घाइते भएका थिए । सो घटनामा संलग्न ११ जनालाई हिरासतमा लिएको र चार बन्दुकधारीहरूलाई युक्रेनतर्फ जाँदै गर्दा पक्राउ गरिएको रुसी अधिकारीहरूले बताए। इस्लामिक स्टेट (आईएस) समूहले आक्रमणको पछाडि आफ्नो हात रहेको बताएको छ ।शनिवार अमाक, टेलिग्राम मार्फत आईएस च्यानलले मुखौटा लगाएका चार जना व्यक्तिहरूको तस्बिर पोस्ट गरेको थियो । उक्त च्यानलले आक्रमणमा उनीहरू संलग्न रहेको दाबी गरेको छ।तर रुसले अहिलेसम्म आईएसको दाबीमा कुनै प्रतिक्रिया दिएको छैन । शुक्रबार स्थानीय समय अनुसार करिब ८ बजे आक्रमण भएको थियो । सो समयमा रक कन्सर्टको लागि त्यहाँ ६,२०० जना जम्मा भएका थिए। घटनालाई लिएर रुसी पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भनाभन भएको छ ।रुसी पुटिनले रूसमा लगभग २० वर्षको सबैभन्दा ठुलो घातक एंव बर्बर आतंकवादी आक्रमण गरी आक्रमणकारीहरू युक्रेनमा भाग्ने प्रयास गरेको दोह्याएका छन् ।भने युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसी राष्ट्रपति पुटिन आक्रमणका कारण पिडामा रहेका नागरिकको सेवामा भन्दा घटनामा कसरी युक्रेनलाई जोड्न सकिन्छ भनेर लागेको आरोप लगाएका छन् । आक्रमणबाट निधन हुनेहरुको शोकमा राष्ट्रपति पुटिनले आइतबारलाई राष्ट्रिय शोकको दिन घोषणा गरेका छन् र रसियाभर यस हप्ताका कार्यक्रमहरू रद्द गरिएको छ।
बसको ठक्करबाट २ को मृत्यु भएपछि दाङमा राजमार्ग अवरुद्ध
दाङ । दाङ देउखुरीको राजपुरमा बसको ठक्करबाट दुई जनाको मृत्यु भएपछि स्थानीयवासीले सडक अवरुद्ध पारेका छन् । पीडित परिवारलाई राहत र दोषीलाई कारबाहीको माग गर्दै स्थानीयले प्रदर्शन गर्दै राजमार्ग अबरुद्व पारेका हुन् । हातमा लाठी बोकेका स्थानीयले सडकमा टायर बाल्दै प्रदर्शन गरेका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही नगरपालिका ८ जहरेचोकमा स्थानीयको अवरोधका कारण सवारी साधन बन्द छन् । राजमार्ग खुलाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । शनिबार साँझ हुलाकी राजमार्गअन्तर्गत राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवा र नौसरा बीचमा रहेको कोरिया खोला पुल नजिक रा १ ख २३६० नम्बरको बस र रा ७ प २०७ नम्बरको मोटरसाइकल ठोक्किंदा मोटरसाइकलमा सवार राजपुर गाउँपालिका–५ नौसरा बस्ने २४ वर्षका प्रमोद यादव र २४ वर्षकै प्रदिप यादवको मृत्यु भएको थियो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएको छ ।
कमेडी च्याम्पियनका निर्देशक भण्डारी रिहा
काठमाडौं । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका ‘कमेडी च्याम्पियन’ का निर्देशक विशाल भण्डारी रिहा भएका छन् । टेलिभिजन रियालिटी शो ‘कमेटी च्याम्पियन’ का निर्देशक भण्डारी शनिबार साँझ घाइतेका परिवारसँग कागज गराएपछि हाजिरी जमानीमा हिरासतमुक्त भएका हुन् । जिल्ला प्रहरी परिसर भक्तपुरका एसपी वेद विष्टले घाइतेका परिवारसँग राखेर छलफल गरी सम्पूर्ण उपचार खर्च बेहोर्ने गरी कागज भएपछि भण्डारी हाजिर जमानीमा छुटेको जानकारी दिए । दुर्घटनामा कारमा सवार कमेडियन सुशान्त बस्याल गम्भीर घाइते भएका छन् । उनको टाउकाको अपरेसन गरिएको र अहिले पनि आईसीयुमै रहेका छन् । एसपी विष्टले दुर्घटनाका घाइतेको अवस्था सुधारोन्मुख देखिएकाले छाडिएको र भोलि तलमाथि भएको अवस्थामा सवारी ज्यानको मुद्दा समेत चल्न सक्ने बताए । बिहीबार निर्देशक भण्डारीले चलाएको बा १ २६ ३५९ नम्बरको कार नगरकोटबाट फर्किंदै गर्दा भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार रहेकोमा बाँकी सबैको अवस्था सामान्य भएर डिस्चार्ज भए पनि सुशान्तको अवस्था अझै गम्भीर रहेको छ ।
एमालेको सचिवालय बैठक बस्दै, उपनिर्वाचनको उम्मेदवारबारे छलफल हुने
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बस्नेछ। बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद बैठकको तयारी तथा वैशाख १५ गते हुने उपनिर्वाचनलगायतका विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। इलाम-२ को प्रतिनिधि सभा र बझाङ-१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुन लागेको छ ।इलाम-२ का लागि एमालेबाट ६ जनाको नाम सिफारिस भएर आएको छ भने बझाङ(१ मा तीन जनाको नाम सिफारिस छ। यी नामहरूमाथि आजको बैठकमा छलफल हुनेछ । यस्तै, नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए पछिको परिस्थितिका बारेमा पनि बैठकमा छलफल हुने जनाइएको छ।

