किन गर्न सकेन मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख र अस्थायी मुकामबारे निर्णय ?

काठमाडौं, पुस २८ । आजको मन्त्रिपरिषद बैठकले पनि प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी बारे निर्णय गर्न सकेन । यसअघि शुक्रबार मन्त्रिपरिषद बैठकले यसबारेमा निर्णय गर्ने बताइएको थियो ।

मन्त्रिपरिषद बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकामबारे कुनै निर्णय नभएको एक मन्त्रीले बताए ।

प्रदेशसभाको निर्वाचन परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने व्यवस्था संविधानमा भएकोले प्रदेश प्रमुख नतोकिँदा अझैसम्म निर्वाचन आयोगले आधिकारीक परिणाम बुझाउन पाएको छैन।

उता वाम गठबन्धनका एमाले र माओवादीले प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने जिम्मा सरकारको भएको भन्दै त्यसबाट पन्छिँदै आइरहेका छन् ।

बादी समुदाय भोक र चिसोको सन्त्रासमा, सरकारी सहयोगको आश

बझाङ, पुस २८ । बझाङको अति विपन्न बादी समुदायलाई भोक र चिसोले सताएको छ । आफ्नो जग्गा जमिन नहुँदा मजदुरी गरेर र मागेरै गुजारा चलाउने यो समुदाय सरकारी सहयोगको आशामा छ । बझाङको थलारा गाउँपालिकाको खोली र सदरमुकाम चैनपुरमा बस्दै आएका बादी समुदायका मानिस बझाङ कै अति विपन्न भनेर चिनिन्छन् । २८ परिवार थलारामा र १३ परिवार सदरमुकाम चैनपुर बस्दै आएका बादी समुदायका मानिसको जग्गा जमीन नहुँदा मागेर खाने गरेका छन् । गाउँगाउँ डुल्दै नाँचगान गर्ने र माग्दै खाने गरेका बादी समुदायलाई अहिले खान र लगाउनै समस्या भएको छ । यो समुदायका कतिपय बालबालिकाको अवस्था त झन् दयनीय छ । अभिभावकविहीन बालबालिकालाई समुदायलेसमेत बेवास्ता गर्दा अपहेलनाको शिकार हुनुपरेको छ । आफ्नो जग्गा नहुँदा खेतीपाती गर्न नपाउने र शीपसमेत नहुँदा यो समुदायका मानिसले विभिन्न समस्या खेप्दै आएका छन् । कतिपयले अरुको भारी बोकेर र ज्याला मजदूरी गरेर पनि जिविका चलाउँदै आएका छन् । तर, बुढेसकाल लागेपछि एक छाक खानाको जोहो गर्न सक्ने अवस्था समेत नरहेको उनीहरु बताउँछन् । हिउँदको चिसोमा रात काट्न यो समुदायका मानिसलाई समस्या भएको छ । विगतका वर्षहरुमा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले न्यानो कपडा वितरण गर्दै आए पनि यस पटक उनीहरुलाई कसैले सहयोग गरेको छैन ।

इटहरीमा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

सुनसरी, पुस २८ । सुनसरीको इटहरीमा गएराति मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । को१०प १७३० नम्बरको मोटरसाइकल चालक मोरङ कानेपोखरी ५ बस्ने वर्ष २२ का अरुण राईको दुर्घटनामा परी मृत्यु भएको हो । राति करिब ११ः३० बजेतिर प्रहरीको गस्ती टोलीले ईटहरी उपमहानगरपालिका ६ स्थित सयपत्री टोल जाने बाटोमा उनलाई घाइते अवस्थामा फेला पारेको थियो । बिजुलीको पोलमा राईको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको अवस्थामा भेटेपछि उनलाई उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याइएको प्रहरीले जनाएको छ । राईको सोही प्रतिष्ठानमा उपचार हुँदा हूँदै मृत्यु भएको हो । यता मोरङको बुढीगंगा गाउँपालिका २ बौराहामा साँझ ८ बजे मोटरसाइकलले ठक्कर दिंदा स्थानीय सोनादेवी माझी घाइते भएकी छिन् । माझीलाई दक्षिणबाट उतरतर्फ जांदै गरेको को१७प २३१८ नम्बरको मोटरसाइकलले साँझ ८ बजेतिर ठक्कर दिएको हो । मोटरसाइकलको ठक्करबाट सामान्य घाइते भएकी उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएको छ । मोटरसाइकलका चालक फरार रहेकाले प्रहरीबाट खोजी भई रहेको प्रहरीले जनाएको छ ।

खोटाङको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण

खोटाङ, पुस २८ । खोटाङको दिप्रुङ गाउँपालिकाले बतासेको भीरचुङ्मा डाँडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन प्रवद्र्धन गर्दै गाउँमा रोजगार सृजना गर्ने उद्देश्यले प्याराग्लाइडिङको परीक्षण गरिएको दिप्रुङ गाउँपालिकाका प्रमुख भुपेन्द्र राईले जानकारी दिए । भीरचुङ्मा डाँडाबाट उडेको प्याराग्लाइडर बतासेकै सुनकोशी किनारमा रहेको सानो भँडारेघाटमा झार्ने गरी सफल परीक्षण भएको छ । गाउँपालिकाले प्याराग्लाइडिङ र र्‍याफ्टिङका माध्यमबाट गाउँपालिकामा भित्रिने पर्यटकलाई धिप्लुङ झरनासम्म पु¥याउने लक्ष्य लिएको छ । बतासेको भीरचुङ्मा डाँडाबाट एकसाथ चार वटा प्याराग्लाइडरले प्याराग्लाइडिङ उडान भरेका थिए । यसअघि जिल्लाको धार्मिक तथा पर्यटकीयस्थल हलेसी, रुपाकोट मझुवागढी नगरपालिकाको खार्मी, हलेसी चुवाचुङ नगरपालिकाको भुम्जुडाँडालगायत ठाउँमा पनि अनौपचारिक रुपमा प्याराग्लाइड उडाइएको थियो ।

कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग

काठमाडौं, पुस २८ । कांग्रेसका जिल्ला सभापतिहरुले पार्टी नेतृत्व समक्ष जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन माग गरेका छन । बुधबार र बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित दुई दिने उपलब्ध जिल्ला सभापतीहरुको भेलाले पार्टी नेतृत्वलाई जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन आग्रह गरेको हो । मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले स्थानीय तह निर्वाचनदेखि जिल्ला सभापतिहरुको अधिकार केन्द्रिय तहबाट खोसिएको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएर आन्तरिक समिक्षा गर्न केन्द्रिय नेतृत्वसँग आग्रह गरिएको जानकारी दिए । ‘स्थानीय तह देखि नै केन्द्रिय नेतृत्वले जिल्लाको अधिकार खोसेर आफु अनुकुल निर्णय गरेको हामीले महसुस गरेका छौं, सोही निर्णयले गर्दा आज पार्टीले निर्वाचनमा यो परिणाम भोग्नु पर्यो,’ शाहीले भने,‘अब जिल्ला सभापतिहरुको भेला बोलाएर समिक्षा हुनु पर्छ ।,’ भेलाले १३ सदस्सीय राष्ट्रिय भेला समन्वय समिति समेत गठन गरेको छ । प्रत्येक प्रदेश बाट एक एक जना सदस्य रहने गरी सात जना र बाँकी अन्य जिल्लाका जिल्ला सभापति रहने गरी समिति गठन गरिएको शाहीले जानकारी दिए । बैठकमा सहभागी बर्दियाका पार्टी सभापति एवम सिंचाइ मन्त्री संजय गौतमले कांग्रेस कमजोर हुदै गरेको अवस्थामा लोकतन्त्र माथि समेत खतरा रहने भन्दै जिल्ला सभापतिहरु समेतको सहभगितामा निर्वाचनको परिणामका बारे छलफल हुनु पर्ने बताए । उनले निर्वाचनका समयमा टिकट वितरण गर्दा नेतृत्वबाट मनोमानी भएको र राष्ट्रिय मुद्धाका विभिन्न विषयमा पार्टी नेतृत्वले विगतमा सही निर्णय गर्न नसक्दा पार्टी कमजोर बनेको भन्दै जिल्लाका सभापतिहरु समेत कही कमजोर रहेको भए बैठकबाटै समीक्षा गर्न माग गरे । केन्द्रिय नेतृत्वले बैठक आह्वान नगरे जिल्ला सभापतिहरुले नै बैठक बोलाउने उनले बताए । भेलाले पार्टी सुदृढीकरणका लागि जिल्ला सभापतिहरु एक भएर अघि बढ्ने समेत निर्णय गरेको छ । यस्तै विभिन्न २२ जिल्लालाई दुर्गम क्षेत्र विकास समितिमा राख्न समेत सरकारसँग माग गरेको छ भने कर्णाली सहितका ९ जिल्लालाई पिछडिएको क्षेत्रमा कायम राख्न सरकारसँग माग गरेको छ । भेलामा शाही, गौतम र रुपन्देहीका सभापति तथा खानेपानी राज्यमन्त्री अब्दुल रज्जाक सहित १९ जिल्लाका जिल्ला सभापतिहरु सहभागी थिए ।

राजदुत टन्डनको बिदाई कार्यक्रम लाज्जस्पद

युएई, पुस २८ । युएईका लागि नेपाली राजदूत नेत्र बहादुर टन्डनको चार बार्षीय कार्यकाल सकिएको छ । उनी केही दिनमा नेपाल फर्कँदैछन् । उनको बदलामा कार्यवाहक राजदुतको रुपमा पररास्ट्र मन्त्रालयका सागर फुयाँल गत १० जनवरीमै युएई आईपुगेका छन् । आफ्नो कार्यकाल समाप्त गरि फर्कन लाग्दा आयोजना गरिएको बिदाई कार्यक्रम भने लाज्जस्पद देखिएको छ । लामो समय देखि बिबादास्पद बन्दै आएका टन्डनको बिदाइ कार्यक्रममा नेपाल पत्रकार महासघ युएई ,एनआरएनए युएई ,नेपाली जन प्रगतिशील मन्च युएई लगायतका दर्जनौ सघसस्थाले भने कार्यक्रम नै बहिष्कार गरेका छन । शुक्रबार दुबईको एक रेस्टुरेन्टमा गुल्मी सेवा समाजद्वारा आयोजना गरिएको कार्यक्रममा पत्रकारहरुको उपस्थिति नै नदेखेपछि आयोजक समेत निराश बनेको स्रोतले बताएको छ । विभिन्न कारणले पीडित भई न्यायको आसामा दूतावास पुग्ने पीडितलाई वास्तै नगरी दलाललाई संरक्षण गर्दै आएका राजदूतको कार्यकाल पुर्ण बिबादास्पद रूपमा सकियको र यस्ता राजदूतलाई सम्मान सहित बिदाइ गर्न नसकिने भन्दै कार्यक्रममा उपस्थिति नजनाएको जन प्रगतिशील मन्च युएईका महासचिव उत्तम बिकले बताएका छन । यस्तै पीडितका पक्षमा कलम चलाउदा कार्यक्रममा समेत बहिष्कार गरेको र पीत पत्रकार भन्दै अपमान गरेको कारण बिबादास्पद राजदूतलाई बिदाइ गर्न जान नसकिएको जानकारी नेपाल पत्रकार महासघ युएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताएका छन । केहि समय अघि दलालले युएईमा अलपत्र पारेका १९ जना नेपालीहरुलाई स्वदेश फर्काउने क्रममा समेत राजदूत टन्डनले असहयोग रहेको थिए भने दलाललाई कारबाहीको माग गर्दा बजेट अभाव भएको भन्दै बचाउन खोजे पछी युएईमा कार्यरत नेपाली हरुले दूतावास प्रति हेर्न दृस्टिकोणमा समेत फरक आएको छ। यसै बिच टण्डनले म्याद थपिमागेको पत्र बिबादास्पद छबी भन्दै पररास्ट्रबाट अस्वीकृत भएको छ । उनले पररास्ट्र मार्फत नेपाल सरकारलाई कम्तिमा ६ महिना देखि अर्को ब्यवस्था नभए सम्मको लागि पदको म्याद थामिदिन गरिएको अनुरोधलाई पररास्ट्रले अस्वीकृत गरेको हो ।

भारतीय सिमाबाट अाधाजस्तो नेपाली सीमास्तम्भ गायब

जनकपुरधाम, काठमाडौं, पुस २८ । नेपाल र भारत दुई देशलाई छुट्टयाउने सीमास्तम्भमध्ये आधाजसो गायब भएका छन् । सिमाना सुरक्षामा खटिएका दुवै देशका सुरक्षा अधिकारीहरूको सहभागितामा नेपाल र भारतको संयुक्त प्राविधिक टोलीले सीमा सर्वेक्षण सुरु गर्दा ५० प्रतिशत सीमा स्तम्भहरू हराएको पाइएको हो । सर्वेक्षणको प्रारम्भिक अनुगमनका क्रममा सिमानामा रहेका पिलरमध्ये ३० प्रतिशत मात्र काम लाग्ने अवस्थामा रहेको पाइएको छ । सप्तरीको कोशी नदीदेखि रौतहटसम्म दुई हजार दुई सय ७० वटा ठूला, साना र मझौला पिलर गाडिएका थिए । तर सर्वेक्षणका क्रममा ५० प्रतिशत पिलर नभेटिएको र २० प्रतिशत जिर्ण रहेको नापी विभाग काठमाडौंका सर्वेक्षक रञ्जन ढुंगानाले जानकारी दिए। सप्तरीदेखि धनुषासम्म गाडिएका १५ सय २९ पिलरमध्ये जंगी, प्रमुख, मझौला, साना, ‘सवसिडरी’ र ‘आइरन’ पिलर छन् । सर्वेक्षणमा जंगे पिलर १० देखि १५ वटासम्म मात्र भेटिएका छन् । सीमामा रहेको दशगजा क्षेत्रमा मुसहर तथा विभिन्न जातिको बसोबास भएपछि पिलरहरू भाँचिएको र कतिपय उपयोगविहीन भएको भारतको तर्फबाट नापी विभागका सर्वेक्षक धनसिंह अश्वालले बताए । कतिपय पिलरहरू नदीमा आएको बाढीले बगाउँदा बालुवा–माटोले पुरिएको र कतिपय पिलर मानिसले उखेलेर फालिदिएको कारण पिलरहरू पुनर्निर्माण गर्नुपर्ने देखिएको छ। अब ‘सब्सिडरी पिलर’ बनाइने छ। यो पिलर २।४ मिटरको हुनेछ। यसको आधा भाग जमिनमुनि गाडिने छ। सीमा सर्वेक्षणका लागि मेचीदेखि महाकालीसम्म छुट्टाछुट्टै चारवटा टोली खटिएका छन् । पुस १० गतेबाट सप्तरीदेखि चितवनसम्मको सर्वेक्षण थालिएको टोली नम्बर २ ले कोशी नदीको २ सय ११ नम्बरको प्रमुख पिलरदेखि सुरु गरेको सर्वेक्षण चितवनको ३ सय ५६ नम्बरको पिलर सम्म सर्वेक्षण गर्ने जिम्मेवारी पाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

चुरे बोर्ड पदाधिकारीको विज्ञतामा प्रश्न

काठमाडौं, पुस २८ । महालेखा नियन्त्रकको कार्यालयले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण विकास समितिका अध्यक्षसहित पाँच पदाधिकारीको शैक्षिक योग्यता र विज्ञतामा प्रश्न उठाएको छ । समिति बोर्डमा अध्यक्ष र चार सदस्य छन् । आजको नागरिक दैनिकमा खबर छ । पुष्पकमल दाहाल नेतृत्वको सरकारले ०७३ फागुन पहिलो साता अध्यक्ष र सदस्य नियुक्त गरेको थियो । महालेखा नियन्त्रकको कार्यालयले समितिका अध्यक्षसहित सदस्यको शैक्षिक योग्यता र विषयगत अनुभव विवरण समिति र वन मन्त्राचलयले उपलब्ध नगराउँदा अध्ययन र विश्लेषण गर्न नपाइएको प्रारम्भिक प्रतिवेदनमा उल्लेख छ । लेखा परीक्षकलाई समितिका पदाधिकारीहरुको योग्यता र अनुभव विवरण उपलब्ध नगराइनुले उनीहरुको शैक्षिक योग्यता र विषयगत ज्ञानमा आशंका उत्पन्न भएको हो ।

सुटिङको क्रममा भक्कानिए कलाकार !

काठमाडौँ, पुस २८ । कवि तथा गीतकार विन्दु अधिकारी ढकालद्वारा रचित तथा सङ्गीतकार आनन्द राईद्वारा सङ्गीतद्ध र गायिका मिलन अमात्यको स्वरमा सुसज्जित ‘बुबा जनम यो यस्तै भयो’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन सम्पन्न भएको छ । मेघराज बस्नेतको निर्देशनमा भक्तपुरको पिखेल, मध्यपुर ठिमी, मनोहरा लगायतका विभिन्न स्थलमा छायाङ् गरिएको उक्त म्युजिक भिडियोमा प्रसिद्ध अभिनेता सूरवीर पन्डित र नायिका मेलिना ठकुरीले जीवन्त अभिनय गरेका छन् । एग्रील्यान्ड नेपाल प्रा.लि., अनामनगरमा दृश्यसम्पादक सृष्टि गुरुङद्वारा सम्पादन भइरहेको म्युजिक भिडियोको छायाङ्कन अशोककुमार बस्नेतले गरेका हुन् । गत वर्ष मात्रै ‘विन्दुहरू’ नामक कविता सङ्ग्रह निकालेकी गीतकार ढकालले उक्त गीत आफ्ना दिवंगत पिता बालकृष्ण अधिकारी ‘धनकुटे’को स्मृतिमा रचना गरेकी हुन् । गीत रेकर्डिङका क्रममा गायिका अमात्यले ‘आमाबारे धेरै गीत लेखिए पनि बुबाबारे संभवतः पहिलो गीत भएको’ भन्दै आफू अत्यन्त भावुक भएको बताएकी थिइन् । संयोग त्यस्तै भयो कि भिडियो सुटिङका क्रममा चिताको दृश्यको छायाङ्कन भइरहँदा दर्शकहरू भावुक भएर रोएका थिए भने छायाङ्कनपछि कलाकारहरूसमेत भक्कानिएका थिए ।

पृथ्वीनारायण शाहको जन्म दिन भोलिको विदा फिर्ता लिन महासंघको माग

काठमाडौं, पुस २६ । नेपाल आदिवासी जनजाति महासंघले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले राजा पृथ्वीनारायण शाहको जन्मजयन्तीको नाममा भोलि (पुस २७) गते राष्ट्रिय एकता दिवसका रुपमा मनाउने र सार्वजनिक बिदा दिने भनी गरेको निर्णयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले आज एक विज्ञप्ति जारी गरी बहुलता र विविधतायुक्त नेपाली समाजको यथार्थताबमोजिम परिवर्तनलाई संस्थागत गर्नुपर्नेमा आमजनताको चाहना र भावनालाई चोट पुग्ने गरी षडयन्त्रपूर्ण ढंगले एकल जाति/नश्ल, एकल संस्कृति, एकल धर्म र सम्प्रदायको वर्चस्व झन् भन्दा झन् स्थापित गराउने गरी एकल जातिवादी र नश्लवादी राज्यको पक्षपोषणमा नेपाल सरकार र यसका संयन्त्रहरु पछिल्ला दिनहरुमा क्रमशः अघि बढिरहेको यस निर्णयले थप पुष्टि गरेको महासंघको ठहर रहेको जनाउनुभएको छ । आम आदिवासी जनजातिको राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक हकअधिकार, मूल्य र मान्यतालाई बलात् गर्दै आन्तरिक औपनिवेशीकरणको शैलीमा राज्य विस्तार गर्ने व्यक्तिको जन्मदिनमा दिइएको सार्वजनिक विदा अविलम्ब फिर्ता लिन पनि महमसंघले माग गरेको छ ।

डोल्पामा भीषण आगलागी

डोल्पा, पुस २६। डोल्पाको मुड्केचुला गाँउपालिका–९ को होर्त गाउँमा आज साँझ भीषण आगलागी हुँदा सात घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । आगलागीबाट सातघर पूर्णरुपमा जलेर नष्ट भएको र आगलागी अझै जारी रहेकाले नियन्त्रणका लागि प्रहरीको टोली पुगसिकेको जिप्रका डोल्पाका प्रहरी नायब निरीक्षक यमबहादुर मल्लले जानकारी दिनुभयो । प्रहरी र विभिन्न गाँउबाट आएका सर्वसाधारणले संयुक्तरुपमा आगलागी नियन्त्रणको प्रयास भइरहे पनि अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट मानवीय क्षति भने नभएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी दिनुभयो । आगलागी कसरी भयो भन्ने कुनै जानकारी नआएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

३३ वर्षपछि अभियुक्त पक्राउ

नुवाकोट, पुस २६ । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका तीनजना फरार अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दामा नुवाकोट जिल्ला अदालतबाट दोषी ठहर भई फरार रहेका शिवपुरी गाउँपालिका–८ का लालवहादुर तामाङ, कामी तामाङ र काले तामाङलाई पक्राउ गरी आज नुवाकोट जिल्ला अदालत बुझाइएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तवहादुर कुँवरले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा नुवाकोट अदालतबाट २०४१ साल असार ६ गते उनीहरुमाथि कैदको फैसला भएको थियो । अदालतले लालबहादुरलाई १८ महिना तथा कामी र काले तामाङलाई छ÷छ महिना कैदको सजाय तोकेको थियो । अदालतले तीनैजनालाई आजै कैद भुक्तानका लागि नुवाकोट जिल्ला कारागार चलान गरेको छ । रासस

तत्काल ५ नं प्रदेशको राजधानी दाङ तोकिनुपर्छ : पोखरेल

दाङ, पुस २६ । नेकपा एमालेका नेता तथा दाङ क्षेत्र नं २ को १ बाट प्रदेशसभा सदस्यमा निर्वाचित सांसद शंकर पोख्रेलले जनताले आफ्नो नेता चुनेर पठाएको एक महिना बितिसक्दा पनि राज्यले आफूहरूलाई चिन्न नसक्नु विडम्बना भएको बताएका छन् । रिपोर्टर्स क्लव दाङले बुधबार दाङको टरिगाउँ विमानस्थलमा गरेको साक्षात्कार कार्यक्रममा उनले प्रदेशको अस्थायी राजधानी तोक्न सरकारलाई कुनै पनि अप्ठ्यारो नरहेको बताए । उनले दाङलाई प्रदेश नं ५ को अस्थायी राजधानी तत्काल तोक्न सरकारलाई आग्रह गरे । पार्टी एकताका लागि आज दुई पार्टीको नेतृत्वबीच कार्यदलसहितको महत्वपूर्ण छलफल भएको उनको भनाइ थियो ।

माघीको रौनक: कतै हर्ष, कतै बिलौना

नेपालगञ्ज, पुस २६ । ‘माघ लहइली सुरिक शिकार खइली रे हाँ सखी अइ हो माघ के पिली गुरी गुरी जाँर सकिरी गलियावामा लगल बजरिया रे हाँ सखी अइ हो लानी दे हो भाटु नथिया बजार सालिक नथिया भै ल रे महान्।।।’ यो थारु गीत अहिले पश्चिम क्षेत्र जिल्लामा बसोबास गर्ने थारु समुदायका घरआँगन अनि बस्तीमा उल्लासपूर्ण रुपमा गुञ्जायमान भएको सुन्न पाइन्छ । आप्mना वर्षभरिको दुःख, पीडा बिर्संदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिँगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमंगले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छोपेको छ । औपचारिकरूपले पुस २९ गतेबाट शुरु हुने सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै प्रारम्भ भइसकेको छ । माघी पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने गाउँघरको सरसफाइ गर्ने काम धमाधम गरिरहेका छन् । माघी पर्वका अवसरमा सो समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नाका साथै परिवारका सदस्यको कामको बाँडफाँडसमेत गर्छन् । यस अवसरमा ढिकरी, तरुल, सखरखण्ड, फर्सी उसिनेर खाने थारु अगुवा पत्रकार विश्वराज पछलडंग्या बताउनुहुन्छ ।उहाँका अनुसार, माघीको अघिल्लो रात सुँगुर काटी मासु खाने गरिन्छ, जसलाई थारु भाषामा ‘जिता मरना’ भनिन्छ । त्यसरात थारु समुदाय मासु, जाँड र ढिकरी खाई रातभर जाग्राम बसी ‘सखिया’ नृत्यमा रमाउने गर्छन् । माघीका दिन ९माघ १ गते० बिहान अँध्यारो छँदै उठेर नदी, जलाशयमा गई लोटामा सिक्का ९पैसा० राखिएको पानीले नुहाउने र नुहाइसकेपछि सो सिक्का लुटाउने प्रचलन छ । माघीमा तिलको आगो ताप्नाले वर्षभरि अनजानवश गरिएको पाप नाश हुने धार्मिक विश्वास थारु समुदायमा छ । यस पर्वका अवसरमा उनीहरूले आ–आफ्ना गाउँको बडघर ९अगुवा० र चौकीदारसमेत चयन गर्छन् । त्यस अवसरमा बर्दिया जिल्लाको ठाकुरद्वारा, बढैयाताल, बाँकेको बैजापुरस्थित भुँवरभवानी मन्दिरलगायतका धार्मिकस्थलमा ठूलो मेला लाग्ने गर्छ । माघी पर्वका अवसरमा वर्षभरिको दुःख बिसाएपनि मुक्त कमैयाको मुहारमा अभैm थुप्रै पीडा पनि उजागर भएको पाइन्छ । कमैया मुक्ति घोषणाको आठ वर्ष प्रवेशको अवधिमा पनि मुक्त कमैयाको समुचित पुनःस्थापना अझै हुन नसक्दा उनीहरु माघी पर्वमा अझै रमाउन भने सकेका छैनन् । गाँसबाँसको समस्या अझै झेलिरनु परेकाले चाँडपर्व पनि उत्साहजनक हुन नसकेको उनीहरु बताउँछन् । सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेर जग्गा उपलब्ध गराए पनि मुक्त कमैयाको समुचित जीवनयापन सहज हुन सकेको छैन । “जग्गा मात्र भएर के गर्ने, सरकारले उचित जीवनयापनका लागि ठोस कार्यक्रम हाम्रा लागि नल्याएपछि हामी बिचल्लीमा परेका छौँ”, बर्दिया जिल्ला बबई नगरपालिका निवासी मुक्त कमैया सोहन थारुको गुनासो छ । जिल्ला भूमिसुधार कार्यालयले यहाँका करिव एक हजार ८३६ मुक्त कमैयालाई जग्गाधनी लालपूर्जा उपलब्ध गराएपछि सरकारले २०६६ सालमा ‘कमैया नभएको जिल्ला’ घोषणा गरेको थियो । सरकारको निर्णयअनुसार, त्यसबेला उक्त कार्यालयले जिल्लाका मुक्त कमैयालाई जग्गा नभएका, ऐलानी जग्गामा बसेका, दुई कट्ठाभन्दा कम जग्गा भएका र दुई कट्ठाभन्दा बढी जग्गा भएका भनी चार श्रेणीमा विभाजन गरी कूल दुई हजार २६७ मुक्त कमैयामध्ये माथिल्लो दुई श्रेणीका मुक्त कमैयालाई मात्र पाँच धुरदेखि पाँच कट्ठासम्म जग्गा उपलब्ध गराएर यस जिल्लालाई कमैया नभएको जिल्ला घोषणा गरेको थियो । गाउँका छिमेकीको घरमा माघीको उत्साह देख्दा मुक्त कमैया भने आफ्नो भाग्यलाई नै दोषी मान्छन् । “के गर्ने हजुर भाग्यमा जे छ त्यसैलाई स्वीकार्नुको अरु विकल्प के नै हुन्छ र”, स्थानीय बैजापुर धामपुरका मुक्त कमैया रामआसरे चौधरीको बिलौना छ । मुक्त कमैयाको सम्मानजनक गाँस, बास, कपासको व्यवस्था हुनुपर्ने, ऐलानी, जंगलाद, गुठी, कम्पनी, नगर विकास, बाँझो जग्गामा बसोबास गर्दै आएका मुक्त कमैयालाई सरकारले पुनःस्थापना गर्नुपर्ने जस्ता आफ्ना माग पुरा भए आगामी वर्ष माघी पर्वको रौनक घनीभूत हुने उनीहरूको अपेक्षा छ ।

एमाले सचिव योगेश भट्टराईको चुनावी खर्च १७ लाख

ताप्लेजुङ, पुस २६ । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित एमाले सांसद योगेश भट्टराईले निर्वाचनमा १७ लाख २५ हजार रुपैयाँ खर्चको विवरण बुझाएका छन्। भट्टराईले जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा मंगलबार खर्चको विवरण बुझाएका हुन । विवरणअनुसार उनले कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय संचालनमा ३ लाख ५० हजार र सवारी सधानमा ३ लाख खर्च गरेको उल्लेख छ। त्यस्तै प्रतिनिधि परिचालनमा १ लाख ४० हजार प्रचार सामाग्रीमा एक लाख २० हजार अन्य विविध खर्च अन्र्तगत ९० हजार रुपैयाँ खर्च गरिएको उल्लेख गरेका छन्। उनले प्रचार सामग्रीमा एक लाख २० हजार खर्च भएको र अन्य ९० हजार खर्च भएको उल्लेख गरेका छन्।

सर्वोच्चमा अवहेलना मुद्धामा बहस जारी, माइतीघरमा डा केसीको रिहाको माग गर्दै नाराबाजी

काठमाडौं, पुस २६ । डा. गोविन्द केसीविरुद्ध अवहेलना मुद्दामा सर्वोच्च अदालतमा बहस जारी छ । साथै उनको समर्थनमा माइतीघर मण्डलामा केसीको रिहाको माग गर्दै नाराबाजी भइरहेको छ । न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा बहस भइरहेको छ । डा केसी इजलासमा उपस्थित भएर आफ्नो कुरा राखेका छन् । सर्वोच्चमा बहस भइरहँदा नजिकै माइतीघर मण्डलामा भने डा केसीलाई रिहा गर्न माग गर्दै नाराबाजी भइरहेको छ । नयाँ शक्ति पार्टीका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् ।