नारायणगढका दुई स्थानमा शंकास्पद वस्तु फेला

चितवन, मंसिर १६ । मुख्य बजार नारायणगढमा दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ ।

स्थानीय पुल्चोक र शहीदचोकमा शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हाते ग्रिनेटजस्तो देखिने वस्तु निष्क्रिय गर्नका लागि नेपाली सेनाको टोली सो स्थानमा पुगिसकेको कार्यालयका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

सो ग्रिनेटमा इम्प्रोमाइस डिभाइस प्रयोग गरिएको हुन सक्ने उहाँले बताउनुभयो ।

सोका कारण केही समय बजार क्षेत्रमा यातायात अवरुद्ध बनेको छ ।

बारामा दम्पतीको हत्या

बारा, मंसिर १६ । जितपुर सिमरा उपमहानगरपालिका– ३ बजनीमा गाई फार्म सञ्चालक दम्पतीको हत्या गरिएको छ । सुवेदी गाई फार्मका सञ्चालक ३६ वर्षीय दीपक सुवेदी र उनकी श्रीमती ३२ वर्षीया दीपिका सुवेदीको हत्या भएको हो । आज बिहान प्रहरीले सुवेदी दम्पत्तिको शव फेला पारेको हो । इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टका अनुसार दीपकको शव फार्म नजिकैको खेतमा तथा दीपिकाको शव मार्फभित्र फेला परेको हो । घटनास्थलमा हतौडा, छड र बाँसको चिरपट फेला परेको छ । गएराति नै सुवेदी दम्पतीको हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।

विवाह पूर्व धेरै यौन पार्टनर हुनेको वैवाहिक जीवन राम्राे

विवाह पूर्व अघि दुर्इ वा सो भन्दा बढि सेक्स पार्टनर हुनु अत्युत्तम हुने एक अध्ययनले देखाएको छ ।पछिल्लो एक अध्ययनबाट विज्ञहरुको यो निष्कर्षमा पुगेका हुन् । अध्ययन अनुसार बिहे अघि धेरै यौन पार्टनरहरु भएका महिलाहरुमा बिहेपछि सम्बन्ध विच्छेदको घटना कम पाइएको छ । बिहे अघि दुइ जनासम्म मात्र सेक्स पार्टनरहरु भएका महिलाहरुमा भन्दा तीनदेखि नौ जनासम्म सेक्स पार्टनर भएका महिलाहरुमा डिभोर्सको दर निकै कम पाइएको हो । अध्ययनका अनुसार पछिल्लो समय वैवाहिक जीवन सुरु गरेका युवतीहरुमा विवाह पूर्व सेक्स सम्बन्धी अनुभव लिएकाको संख्या उच्च रहेको पाइएको छ । सन् १९७० को दशकमा २१ प्रतिशत अमेरिकी महिलाहरु भर्जिन अवस्थामै अर्थात् कुमारी अवस्थामै बिहे गर्दथे भने अहिले भर्जिन अवस्थामा बिहे गर्ने अमेरिकी महिलाहरुको संख्या केवल ५ प्रतिशत रहेको बताइएको छ । अर्थात् सयमा ९५ जना अमेरिकी युवतीहरुले बिहे अघि नै सेक्सको अनुभव गरिसकेका हुन्छन् । त्यस्तै पछिल्लो समयमा बिहे अघि केवल एक जनामात्र यौन पार्टनर भएका महिलाहरुको संख्यामा पनि गिरावट आएको पाइएको छ । अर्थात् बिहे अघि नै धेरैजना पुरुषसँग यौन सम्पर्कको अनुभव बटुल्ने महिलाहरुको संख्या बढिरहेको छ । बिहे अघि केवल एकजना सँगमात्र यौन सम्पर्क गर्ने अमेरिकी महिलाहरुको संख्या सन् १९८० को दशकमा ५० प्रतिशत भन्दा बढि थियो भने त्यो अहिले घटेर २८ प्रतिशतमा झरेको बताइएको छ ।

बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु

चितवन, मंसिर १३ । काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बस करिब ९ः१५ बजे त्रिशूली नदीमा खस्दा छ जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । लु २ ख २९१ नं को बस चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारबाट त्रिशूलीमा खसेको हो । प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बस त्रिशूलीमा डुबेको अवस्थामा छ । उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।

राजधानीकै मतदाता भन्छन्–“मतदान गर्न आउँदैन”

भक्तपुर, मंसिर १३ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुन्नका लागि आम मतदाता मतदान गर्न आतुर छन्, तर डर छ, कतै आफूले गरेको मतदान बदर भएर खेर जाने त होइन ? प्याब्सनकी केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले मतदाता अन्यौलमा रहेको बताइन । तीन पटक मतदान गर्नुपर्छ भन्ने जनताले बुझे पनि चार ठाउँमा मतदान गर्नुपर्छ भन्ने बुझ्न सकेका छ्रैनन् । कुन रंगको मतपत्र कसका लागि हो भन्ने बुझ्न नसक्दा उनीहरु अन्यौलमा परेका छन् । निर्वाचन आयोगले देशव्यापी रुपमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेर गाउँ टोलमा टोली पठाए पनि प्रभावकारी हुनसकेको छैन । घरघरमा पुगेर मतदाता शिक्षा दिनुपर्ने प्रावधान भए पनि त्यसरी परिचालित हुननसक्दा मतदाता शिक्षा प्रभावकारी हुननसकेको गुनासो आएको हो । सूर्यविनायक नगरपालिका– १ सिरुटारकी प्रतिमा श्रेष्ठ कसरी मतदान गर्ने भन्ने अन्यौल भएको बताइन । उन भने,–“भोट हाल्ने दिन नजिक आइसक्यो, कसैले तीनवटा भोट हाल्नुपर्छ भन्छन्, कसैले चारवटा, तर कति पटक कसरी हाल्ने र कसरी खसाल्ने भन्ने कुरा जाने कै छैन ।” भक्तपुर नगरपालिका १ दूधपाटिका सरोज सुवालको भनाइ पनि यस्तै छ । “पहिला पनि भोट हालेकै हो, त्यसैगरी अहिले पनि भोट हालौला, तर कुन भोट कुन पदका लागि त्यो थाहा छैन, भोट हाल्ने ठाउँमै सोध्नु पर्ला”–उहाँले भन्नुभयो । मतदातालाई भोट हाल्ने ठाउँमा केही सोध्न पाइदैन भन्ने पनि थाहा छैन, यस्तो बेलामा मत बदर हुने सम्भावना हुन्छ । गत स्थानीय तहको निर्वाचनमा एउटै मतपत्रमा सात वटा छाप लगाएका मतदातामध्ये कतिपयले यसपटक पनि यस्तै होला भन्ने बुझेका छन् । चाँगुनारायण नगरपालिका– ३ का कोपिला खड्का एउटै मतपत्रमा चारवटा छाप लाउने भन्ने आफूले बुझेको बताइन । उनले भनिन्–“भोट हाल्न त आइहाल्छ नि, अस्तिको चुनावमा एउटै मतपत्रमा सात ठाउँमा छाप लगाए, अहिले चार ठाउँमा लाउनुपर्छ भन्ने सुनेको छु, त्यसैगर्छु ।” दलका नेता तथा कार्यकर्ताले पनि आफ्ना उम्मेदवारको चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेपनि कसरी मतदान गर्ने, कतिवटा मतपत्र हुन्छ, कतिवटामा छाप लगाउने भन्ने जानकारी मतदातालाई नगराउदा मतदाता अन्यौैलमा परेका हुन् । नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले मतदाता शिक्षा प्रभावकारी रुपमा घरदैलोमा नपुगेको बताउँदै यसमा बजेट सदुपयोग हुन नसकेकाले यसको जिम्मा दलले पाउनुपर्ने जिकिर गर्छन । यता एमालेका जिल्ला अध्यक्ष राजेन्द्र राजथला पनि चुनावप्रचार र घरदैलोमा व्यवस्त नेता कार्यकर्ताले मतदातालाई भोट हाल्न नसिकाएको बताउदै मतदाता शिक्षा प्रभावकारी हुननसकेको बताउछन । नेमकिपा भक्तपुरका केन्द्रीय सदस्य एवं क्षेत्र नं २ प्रदेशसभा क का उम्मेदवार सरोजराज गोसाइँ भने आफ्नो पार्टीले चुनावप्रचारसँगै मतदाता शिक्षा पनि दिएको बताए । मतदाता शिक्षा भन्दा पनि दलहरुले आफैले भोट हाल्न सिकाउदा मत बदर हुने सम्भावना कम हुने उनको भनाइ छ । यता जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले पनि मतदाता शिक्षा प्रभावकारी नभएको गुनोसो आएपछि खटिएका टोलीलाई प्रभावकारी रुपमा मतदाता शिक्षा दिन निर्देशन दिएको बताए । उनले भने,–“यस जिल्लाका लागि २०९ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरेका छौँ, घर÷घरमा गएर नमूना मतपत्रमा मतदान गर्न सिकाउन निर्देशन दिएका छौं, दलका प्रतिनिधिले पनि मतदाता शिक्षामा सहयोग गर्नुपर्ने आवश्यक छ ।” निर्वाचन आयोगले आउँदो २१ गतेको निर्वाचनका लागि तीन रंगका मतपत्र छपाइ गरेको छ । पहिलो हरियो रंगको मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको एउटा चिन्हमा, दोस्रो कालो रंगको मतपत्रमा आफूले रोजेको प्रदेशसभा सदस्यका एउटा चिन्हमा र तेस्रो रातो मतपत्रमा आफूले रोजेको प्रतिनिधिसभा सदस्यको समानुपातिक तर्फ माथिल्लो कोष्टको चुनाव चिन्हमा र प्रदेशसभा सदस्यको समानुपातिकका लागि तल्लो कोष्टको चुनाव चिन्हमा छाप लगाउनुपर्ने राईले जानकारी दिए । हरियो र कालो मतपत्रमा एक भन्दा बढी छाप लगाए रद्द हुने र रातो मतपत्रमा माथि र तल फरक÷फरक कोष्टमा एक÷एक वटा चिन्हमा छाप लगाउनुपर्छ भनेर बुझाउनु अत्यावश्यक रहेको उनको भनाइ थियो । मतदान गरेपछि मत खसाल्ने क्रममा प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिकको मत निर्धारित बाकसमै खसाल्नुपर्छ । अन्य बाकसमा खसाले त्यस्तो मत समेत बदर हुने भएकाले मतदाता शिक्षा प्रभावकारी हुनुपर्ने प्रमुख राईले बताए ।

कालिकोटमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु

कालिकोट, मंसिर १३ । कालिकोटको अस्पतालमोडमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मुगुबाट नेपालगन्ज जाँदै गरेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राती दुर्घटना भएको हो । दुर्घटनामा मुगुको भिई–७ का ४५ वर्षीय जयरुप बुमी, श्रीनगर–३ का ४६ वर्षीय नरबिक्रम मल्ल र जुम्लाको चन्द्रनाथ–१४ कार्तिकस्वामीका युदुराज न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भीर रहेको र उनको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।

यी हुन् प्रदेश सभा बस्ने सम्भावित भवन / संसद् नहुँदा पनि कर्मचारीलाई ८०% भत्ता

काठमाडौं,मंसिर १३ । सरकारले प्रदेश सभा बस्ने र प्रदेश सरकारका लागि आवश्यक कार्यालय भवनको खोजी गर्न थालेको छ । सहरी विकास मन्त्रालयका प्राविधिक कर्मचारी खटाएर सातवटै प्रदेशमा तत्काल आवश्यक पर्ने भवनको खोजी तीव्र पारिएको छ । दुई चरणमा हुने निर्वाचनबाट प्रदेश सभा सदस्य निर्वाचित भएर आउन अब एक महिना पनि बाँकी छैन । तर, सरकारले प्रदेश सभाका जनप्रतिनिधिलाई शपथ खुवाउने, प्रदेश सभा बस्ने र प्रदेशका कार्यालय राख्ने भवनको टुंगो लगाउन सकेको छैन । समय थोरै भएकाले सरकारले हतारहतारमा आवश्यक भवन खोजी गरिरहेको छ । सहरी विकास मन्त्रालयअन्तर्गतको प्राविधिक टोलीले केही ठाउँमा भवन छनोट गरी अध्ययन गरिरहेको सहरी विकासमन्त्री दिलनाथ गिरीले बताए । एक साताभित्र सातवटै प्रदेशमा अस्थायी कार्यालय सञ्चालनका लागि तत्काल चाहिने भवनको टुंगो लगाइने उनले बताए । ‘मन्त्रालयबाट खटिएको प्राविधिक टोलीले सातवटै प्रदेशमा प्रयोग गर्न सकिने सरकारी तथा निजी भवन र अन्य विभिन्न संघसंस्थाका भवन खोजी गरिरहेको छ,’ मन्त्री गिरीले भने, ‘उनीहरूले दिएको प्रतिवेदनका आधारमा मन्त्रिपरिषद्ले कार्यालयको टुंगो लगाउँछ ।’ सहरी विकास मन्त्रालयले प्रारम्भिक अध्ययनमा केही भवन फेला पारेको छ । प्रदेश नम्बर १ : सहरी विकास मन्त्रालयले प्रदेश नम्बर १ का लागि इटहरी, धरान र विराटनगरमा प्रदेश कार्यालय र प्रदेश सभा बस्न सक्ने सम्भावित भवनको खोजी गरेको छ । त्यसमध्ये पहिलो प्राथमिकतामा पूर्वाञ्चल विश्वविद्यालयका लागि बनाइएको मोरङस्थित गोठगाउँको भवन परेको छ । सो भवन इटहरी बजारबाट करिब ९ किलोमिटरको दूरीमा छ । यस्तै, धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालय पनि सम्भावित प्रदेश सरकारको कार्यालय बनाउनेबारे पनि अध्ययन भइरहेको छ । यसबाहेक विराटनगरमा रहेको कृषि कार्यालय र सभागृह भवनको पनि अध्ययन भइरहेको मन्त्री गिरीले बताए । प्रदेश नम्बर २ : प्रदेश नम्बर २ का लागि जनकपुर चुरोट कारखानाको भवन प्रयोग गर्ने करिब–करिब निश्चितजस्तै भएको मन्त्रालयले जनाएको छ । ‘त्यसआसपास अन्य ठूला भवन भेटिएको छैन,’ मन्त्रालयका एक सहसचिवले भने, ‘जनकपुर चुरोट कारखाना रहेको भवनबारे अध्ययन भइरहेको छ । त्यही भवनमा तत्काल कार्यालय स्थापना गर्ने र सभाहल व्यवस्था गर्नुपर्ने देखिन्छ ।’ प्रदेश नम्बर ३ : सरकारले प्रदेश नम्बर ३ को प्रदेश सभा र सरकारका लागि काठमाडौं, बनेपा र हेटौँडाका भवनहरूको अध्ययन गरेको छ । अहिलेसम्म ललितपुरको जावलाखेलस्थित स्थानीय निकाय प्रशिक्षण प्रतिष्ठानको भवन प्रयोग हुने सम्भावना धेरै रहेको मन्त्रालयले जनाएको छ । त्यससँगै पुल्चोकस्थित पहिले स्थानीय विकास मन्त्रालय रहेको भवनलाई पनि प्रयोग गर्न सकिने विकल्प मन्त्रालयले अघि सारेको छ । तर, प्रदेश कार्यालय र सभा राजधानीबाहिर राख्नुपरे बनेपास्थित सूचना प्रविधि पार्कको भवनको सम्भावना बढी छ । हेटौँडामा रहेको मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको अध्ययन भए पनि भौगोलिक रूपमा कोल्टो पर्ने भएकाले त्यसको सम्भावना कम रहको मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ४ : प्रदेश नम्बर ४ का लागि पश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय र पोखरा सभागृहलाई प्रयोग गर्ने करिब निश्चित भइसकेको मन्त्रालयले जनाएको छ । प्रदेश ४ को राजधानीका रूपमा पोखरा निर्विकल्प रहेकाले क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश सरकारको कार्यालयका रूपमा प्रयोग गर्ने र सभागृहलाई प्रदेश सभा कार्यालयका रूपमा प्रयोग गर्ने तयारी भएको मन्त्री गिरीले बताए । प्रदेश नम्बर ५ : सरकारले प्रदेश नम्बर ५ का लागि कपिलवस्तुको चोरमारा, दाङको घोराही, रूपन्देहीको बुटवलमा प्रदेश सभा, प्रदेश प्रमुख तथा मुख्यमन्त्री र विभिन्न मन्त्रालयका लागि भवनको खोजी गरिरहेको छ । त्यसमध्ये तत्कालका लागि घोराहीस्थित संस्कृत विश्वविद्यालयको भवन प्रयोग गर्ने सम्भावना बढी रहेको प्राविधिक टोलीका एक सदस्यले बताए । ‘हामीले अस्थायी कार्यालय खोज्ने हो, प्रदेश सभाले प्रदेश राजधानी तोकेपछि प्रदेशको राजधानीमा कार्यालय खोज्नुपर्ने हुन्छ,’ ती सदस्यले भने । प्रदेश नम्बर ५ को राजधानीका लागि दाबी गरिएको बुटवलमा प्रदेशका लागि आवश्यक पर्ने भवन नभेटिएको स्रोतले जनाएको छ । प्रदेश नम्बर ६ : सरकारले सुर्खेतस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको भवनलाई प्रदेश सरकारको कार्यालयका रूपमा प्रयोग गर्नेबारे अध्ययन गरेको छ । त्यसबाहेक शैक्षिक तालिम केन्द्रको भवनलाई पनि प्रदेश कार्यालयका रूपमा प्रयोग गर्न सकिने सहरी विकास मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर ७ : प्रदेश नम्बर ७ को प्रदेश सरकारको कार्यालय डोटीको दिपायलस्थित सुदूरपश्चिम क्षेत्रीय प्रशासन कार्यालयको भवनमा बनाउने तयारी भएको छ । त्यस्तै, शैक्षिक तालिम केन्द्र र सिटिइभिटीको कार्यालयलाई प्रदेश सभाका लागि प्रयोग गर्न सकिने मन्त्रालयले जनाएको छ । संसद् नहुँदा पनि कर्मचारीलाई ८०% भत्ता संसद् नहुँदा फुर्सदिला बनेका कर्मचारीको भत्ता र खाजाखर्चमै मासिक ७० लाख खर्च  कृष्ण कट्टेल काठमाडौं, ८ मंसिर संसद् नै नहुँदा पनि यहाँ कार्यरत कर्मचारीले ८० प्रतिशतसम्म भत्ता लिँदै आएका छन् । यसबाहेक खाना–खाजाका लागि थप दैनिक २५० रुपैयाँ सुविधा उनीहरूले पाउने गरेका छन् । राज्यकोषबाट सचिवालयका कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख ५० हजारभन्दा बढी खर्च हुन्छ । गत २८ असोजदेखि संसद्को कार्यकाल सकिए पनि आगामी ७ माघसम्म कर्मचारीले तलबसहित भत्ता र खाना–खाजा खर्चलगायतका सुविधा पाउनेछन् । यस अवधिमा कर्मचारीको भत्तामा मात्रै दुई करोड १० लाखभन्दा बढी खर्च हुनेछ । संघीय संसद्मा थप सुविधा संविधान जारी भएपछि रूपान्तरित संसद्को बैठक संविधानसभा जस्तो दिनरात बसेन । सचिवालयका कर्मचारी पनि फुर्सदिला भए । २८ असोजमा संसद्को कार्यकाल पनि सकियो । तर, सचिवालयका २२४ स्थायी कर्मचारीले ८० प्रतिशत भत्ता र दैनिक खाना–खाजालगायतका सुविधा भने लिदै आए । कति पाउँछन् संसद्का कर्मचारीले तलब र भत्ता ? आर्थिक वर्ष ०७३÷७४ मा सरकारी कर्मचारीको तलब २५ प्रतिशतले बढेको हो । जसअनुसार मुख्य सचिवले मासिक ५४ हजार पाँच सय, सचिवले ५१ हजार ४१२, सहसचिवले ४० हजार ३७, उपसचिवले ३४ हजार २१२, शाखा अधिकृतले ३० हजार पाँच सय, नायब सुब्बाले २५ हजार पाँच सय, खरिदारले २२ हजार १६२ र कार्यालय सहयोगीले २३ हजार १७ रुपैयाँ तलब पाउने गरेका छन् । संसद् सचिवालयका महासचिवले मुख्यसचिवसरह र अन्य तहका कर्मचारीले निजामती कर्मचारीले पाउने बराबर नै तलब पाउँछन् । तर, ८० प्रतिशत भत्ता र दैनिक खाजाखर्चबापतको सुविधा जोड्दा निजामति कर्मचारीको भन्दा संसदका कर्मचारीले पाउने रकम दोब्बर बराबर हुन्छ । कति छन् संसद् सचिवालयमा कर्मचारी ? संघीय संसद् गठन हुनुअघिको व्यवस्थापिका संसद् सचिवालयमा कर्मचारी दरबन्दी ४३५ थियो । हाल २२४ स्थायी र करारसहित करिब तीन सय कर्मचारी कार्यरत छन् । अहिले संसद्मा एक महासचिव, दुईजना सचिव, ११ सहसचिव, ३४ उपसचिव, ४१ शाखा अधिकृत रहेको कर्मचारी प्रशासन शाखाका अधिकृत त्रिविक्रम पराजुलीले बताए । सचिवालयमा नायब सुब्बा ३० र २० जना खरिदार कार्यरत छन् । तीबाहेक मुद्रण अधिकृत, प्राविधिक अधिकृत, लेखा अधिकृत, प्राविधिक सहायक, कार्यालय सहयोगी गरी अन्य ८५ जना स्थायी कर्मचारी कार्यरत छन् । संविधान जारी भएयता कर्मचारीलाई दोहोरो सुविधा संविधान जारी भइसकेपछि रूपान्तरित व्यवस्थापिका–संसद्का कर्मचारीले दोहोरो सुविधा पाउँदै आएकोमा कटौती गर्न अर्थ मन्त्रालयले गत साउनमा सचिवालयलाई पत्र पठाएको थियो । साउनसम्म सचिवालयका कर्मचारीले खाना–खाजाबापत शनिबार ७५० र अन्य दिन ६ सय रुपैयाँ बुझ्दै आएका थिए । अर्थ मन्त्रालयबाट खर्च कटौती गर्न पत्र प्राप्त भएपछि व्यवस्थापन समितिले दैनिक खाना–खाजाको खर्च घटाएर २५० पु¥याएको हो । तलबको ८० प्रतिशत भत्ता भने कर्मचारीले अहिले पनि पाइरहेका छन् । कर्मचारीको भत्तामा मात्रै मासिक ७० लाख खर्च कर्मचारी कार्यरत छन् । जसमध्ये २२४ स्थायी कर्मचारीले ८० प्रतिशत भत्ता पाउँछन् । महासचिवको मासिक भत्ता ५१ हजार एक सय छ । उनले तलबभत्तासहित मासिक एक लाख पाँच हजारभन्दा बढी रकम बुझ्ने गरेका छन् । दुई सचिवको मासिक भत्तामा मात्रै ९७ हजार २६०, ११ सहसचिवका लागि चार लाख ३५ हजार ७१०, ३४ उपसचिवका लागि ११ लाख ८५ हजार र ४१ शाखा अधिकृतका लागि मासिक १३ लाख आठ हजार खर्च हुन्छ । सचिवालय स्रोतका अनुसार नायब सुब्बाहरूको भत्तामा मासिक आठ लाख ३७ हजार र खरिदारहरूका लागि मासिक पाँच लाख पाँच हजार रुपैयाँ खर्च हुन्छ । बाँकी ८५ जना स्थायी कर्मचारी र कार्यालय सहयोगीको मासिक भत्तामा २२ लाख ५७ हजार खर्च हुन्छ । सचिवालयमा कार्यरत ५० भन्दा बढी करार कर्मचारीले भने ८० प्रतिशत भत्ता पाउँदैनन् । उनीहरूले पाउने दैनिक खाजाखर्चबापतको भत्तामा झन्डै तीन लाख ७५ हजार रुपैयाँ खर्च हुने गरेको सचिवालय स्रोतले जनाएको छ । -नयाँ पत्रिकाबाट

बम विष्फोटबाट घाइते भएका म्यादी प्रहरीको ज्यान गयो

ताप्लेजुङ,मंसिर १३ । दाङको तुलसीपुरमा अज्ञात समुहको बम विष्फोटबाट मंगलबार घाइते भएका म्यादी प्रहरी विनोद चेोधरीको ज्यान गएको छ । मंगलबार अपरान्ह भएको बम बिस्फोटमा परी घाइते भएका चेोधरीको उपचारका क्रममा बुधबार बिहान २:३० बजे कोहलपुर मेडिकल कलेजमा ज्यान गएको दाङका प्रहरी प्रमुख एसपी दुर्गा सिँहले जानकारी दिए । बम बिस्फोटबाट घाइते भएका मध्ये तीनजनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । बाँकी पाँचजनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । दाङको तुलसीपुरमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कांग्रेसको चुनावी आमसभालाई लक्षित गर्दै अज्ञात समूहले बम विस्फोट गराउँदा नौजना घाइते भएका थिए । आमसभास्थलको झन्डै पाँच सय मिटरको दूरीमा रहेको तुलसी बोर्डिङनजिकै बम विस्फोट भएको थियो । मोटरसाइकलमा आएका दुईजनाको समूह बम फालेर भागेको थियो । प्रहरीले बम विस्फोट गराउने व्यक्तिको खोजी गरिरहेको जनाएको छ ।

सवारी नियम उल्लंघन गर्ने १ हजार ८५२ चालक कारवाहीमा

काठमाडौं, मंसिर १३ । काठमाडौं उपत्याकामा मंगलबार सवारी नियम उल्लंघन गर्ने एक हजार ८ सय ५२ चालक कारवाहीमा परेका छन् । अघिल्लो दिनको तुलनामा भने कारवाहीमा पर्ने चालकको संख्यामा सामान्य कमी देखिएको छ । सोमबार १ हजार ९ सय १५ चालक कारवाहीमा परेका थिए । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी निरीक्षक कृष्णदत्त भट्टका अनुसार सवारी नियम उल्लंघन गरेको कसुरमा राजधानीमा विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको हो । कारवाहीमा पर्नेमा मिटरमा जान नमान्ने ट्याक्सी तथा लेन अनुशासन उल्लंघन गर्ने सवारी चालकको संख्या ४ सय १७ छ । त्यस्तै जभाभावी पार्किङ गर्ने ९६ चालक, मापसे गरी सवारी चलाउने ७४ जनालाई पनि कारवाही गरिएको छ । मंगलबार राजधानीका विभिन्न स्थानमा १८ वटा दुर्घटना भएका छन् । ती दुर्घटनामा सातजना सामान्य घाइते भएको महाशाखाले जनाएको छ ।

साम्यवादको युग अन्त्य भयो : पौडेल

कपिलवस्तु, मंसिर १२ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनले विश्वबाटै अन्त्य भएको साम्यवाद ल्याउन खोजेको बताएका छन । कपिलवस्तुको तौलिहवामा मंगलबार काँग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले अबको युग भनेको प्रजातान्त्रिक समाजवादको भएको बताउर्दै कसैको धाँक–धम्कीले अधिनायकवाद नआउने बताए । नेपाली काँग्रेसले लोकतन्त्रलाई बलियो बनाई निमुखा जनताको अधिकार सुनिश्चत गर्ने बताउँदै सुकुम्वासी समस्या, गरिबी, बेरोजगारी समस्याको समाधान काँग्रेसले गर्ने उनको दावी छ ।

ओलीले सम्बोधन गरिरहेको समयमा लगनखेलको सभा नजिक विष्फोटन

ललितपुर, मंसिर १२ । वाम गठबन्धनको चुनावी सभा भइरहेको समयमा लगनखेलको बटुक भैरव मन्दिर र नमूना मछिन्द्र मावि नजिकै विष्फोट भएको छ । लगनखेलमा चुनावीलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा सभास्थल नजिकै विष्फोट भएको हो । विष्फोटबाट कुनैपनि मानवीय क्षेत्री भएको छैन तर नमूना मच्छिन्द्र विद्यालयका झयालहरु फुटेका छन् । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको महानगरिय प्रहरी वृत ललितपुरले जनाएको छ ।

बिना झन्झट लुगा धुन सकिने वासिङ्ग मेसिन

काठमाडौं, मंसिर १२ । बढ्दो जाडोमा चिसो पानीमा लुगा धुने झन्झटबाट अब मुक्त हुनुहोस् । कुनै झन्झट विना नै आफ्नो मुलायम हातहरुलाई आराम दिन तपाईहरुले ढुक्कसँग सिजीका १० वर्षे वारेन्टी भएको वासिङ्ग मेसिन आफ्नो घरमा राख्न सक्नेछ । हालैमात्र सिजीले उपभोक्ता–ग्राहकलाई लक्षित गर्दै विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको मोटरमा १० वर्ष वारेण्टी भएको वासिङ्ग मेसिनहरु बजारमा ल्याएको छ । यसमा वाटर क्युब, वासर तथा ड्रायर जस्ता रहेका छन् । जसको कारण अब तपाईहरुले केवल एक बटन थिचेर आफ्नो सबै घरको लुगाहरु सजिलैसँग धुने र सुकाउने झन्झट विना गर्न सकिन्छ । वाटर म्याजिक क्युब अन्तर्गत सुपर ‘एस’ उइङ्ग र वाटर क्युव ड्रम रहेका छन् । यसले अरु वासिङ्ग मेसिनभन्दा ३३% कम पानीको खपत गर्दछ । सिजीका वासिङ्ग मेसिनले समय र शक्ति बचाउनुका साथै दैनिक कार्यमा सहजता ल्याउने गर्दछ ।

सेनाले शक्तिशाली टाइम बम निस्कृय पार्‍यो

सप्तरी, मंसिर १२ । सप्तरीको राजविराज–कुनौली सडकखण्डस्थित रन्जितपुरमा फेला परेको शक्तिशाली टाइम बमलाई नेपाली सेनाकोे टोलीले निस्कृय पारेको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय नजिकै फेला परेको शक्तिशाली बमलाई सेनाले निस्कृय पारेको हो । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम पड्काउने योजना बनाइरहेको अवस्थामा स्थानीय नहर छेउबाट प्रहरीले सोमबार राती बम बरामद गरेको थियो । गोप्य सूचनाका आधारमा प्रहरीले शंकास्पद दुई जनालाई चेकजाँच गर्दा उनीहरुका साथबाट अत्याधुनिक रिमोट फेला परेको र उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दै जाँदा बम फेला परेको प्रहरीले जनाएको छ । बमसँगै आरडिएक्स नामक विष्फोटक पाउडर करिब दुई किलो बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । राजविराज नगर क्षेत्रमा कुनै व्यक्तिको घरलाई लक्षित गरी विस्फोट गराउने योजना रहेको हुनसक्ने प्रारम्भिक आशंका प्रहरीले गरेको छ । सो बम करिब एक किलोमिटरको दुरीबाट रिमोट थिचेर विस्फोट गराउन सक्ने खालको भएको प्रहरी उपरीक्षक सिंहले बताए ।  

भारतको विकल्पका रुपमा चीनतर्फ अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि प्रस्ताव पठाइँदै

काठमाडौं, मंसिर ६ । तिब्बतको केरुङ हुँदै नेपालको रसुवागढी जोड्ने अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न प्राविधिक रुपमा उपयुक्त भएको प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउने तयारी ऊर्जा मन्त्रालयले गरेको छ । नेपाल विद्युत प्राधिकरणले उक्त क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्राविधिक रिपोर्ट ऊर्जा मन्त्रालयमा बुझाएको थियो । मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले उक्त प्रस्ताव परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारलाई पठाउन लागेको जानकारी दिए । बिजुली आयात तथा निर्यात भारततर्फ मात्र हुने गरेकोमा त्यसको विकल्पका रुपमा चीनतर्फको यो प्रसारण लाइन निर्माणलाई प्राथमिकता दिन थालिएको हो । उक्त प्रसारण लाइन निर्माण प्राविधिक रुपमा उचित ठहर भए पनि कति रकम लाग्ने भन्नेबारे अझै अध्ययन हुन बाँकी रहेको प्राधिकरणको भनाइ छ । –नागरिक दैनिकबाट

थला परेका रानालाई अमेरिकाबाट सहयोग

प्रेम सुनार गुल्मी, मंसिर ५ । भारतमा दुर्घटनामा परी मेरु दण्ड गुमाएर गत ८ वर्ष अघि देखि घरमा आई थला परेका गुल्मीको तुराङका मनबहादुर रानालाई अमेरिकाबाट सहयोग पठाईएको छ । चन्द्रकोट गाउँपालिका वडा नं.८, साविकको तराङ गाविसको कुमाल गाउँका ३० वर्षिय रानालाई रेसुङ्गा नगरपालिका १ तम्घास भिमचोक निवासी एकमाया उपाध्यायका छोरा धर्मराज उपाध्यायले अमेरिकाबाट ३० हजार सहयोग रकम पठाएका हुन् । उनले उपल्लो तम्घासका भतिजा सुवास मरासीनी मार्फत उक्त रकम पठाएका थिए । मरासनी सहित उनिहरुको घरमा पुगी गुल्मी क्षेत्र नम्वर १ का प्रतिनिधी सभा उमेदवार तथा नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको रोहवरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो । मेरुदण्ड गुमाएका रानाको पछाडी पट्टि शरिर कुहिदै गएको छ । विस्तरामा कस्टकर जिवन विताए पनि उनले विस्तारा मै जाल बुनेर श्रीमति र छोरा छोरीलाई खर्च जुटाउँदै आएका छन् । ओझेलका खवरमा उनको विचल्लीको कथा प्रशारण भए पछि अन्य थुप्रै व्यक्तिहरुले पनि सहयोग गर्दै आएका छन् । तम्घासका उपाध्यायले अमेरिकामा बसेर कमाएको कहि हिस्सा समाज सेवामा खर्चिदै आएका छन् ।  

गुल्मीमा वडाध्क्ष र महिला सदस्य समातिए

प्रेम सुनार गुल्मी, मंसिर ५ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं.२ साविकको मुसिकोट गाविसमा रहेको एक सामुदायिक वनमा उपभोक्ता समितिको सेटिङ्गमा काठ तस्करी गरेको नाला आरोपमा त्यस वडाध्यक्ष सहित १३ जनालाई शनिवार प्रहरीले समातेर हिसासतमा राखेको छ । मुसिकोटको श्रृङ्गेश्वर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तथा त्यस वडाध्यक्ष लक्ष्मण खत्री, महिला सदस्य शान्ति नेपालीसहित १३ जनालाई हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डिएसपी गंगबहहादुर थापाले जानकारी दिए । अध्यक्ष सहित समितिका पदाधिकारीको मिलोमोतोमा त्यस बनको खण्ड नम्वर ५ अर्मजाको झाँतेखोला भन्ने स्थानमा अखडा बनाई साल काठ र सल्लो काठ ठुलो परिमाणमा तस्करी हुने गरेको खुलासा ईलाका वन कार्यालय तम्घासले गत भाद्र महिनाको दोश्रो सातामा गरेको थियो । वडाध्यक्ष खत्रीले स्थानिय तहको निर्वाचन ताका उपभोक्ता समितिले राष्ट्रिय वाणिज्य गैरबैंकको खातामा राखेको २ लाख ४० हजार रुपैयाँ पदाधिकारीलाई झुक्काएर हस्ताक्षर गराई निकालेर हिनाविना गरेको समेत खुलेको छ । उक्त कुरा स्वयमले समेत स्वीकार गरी सकेका छन् । जिल्ला अदालतका श्रेस्तेदार दुर्गाप्रसाद बस्यालका अनुसार उनिहरुलाई वन मुद्धा लागेको आरोपमा हिजो प्रहरीले अदालतमा पेश गरेको थियो तर समय अभावका कारण आज पेश गर्ने गरी प्रहरीको न्याययिक हिरासतमा पठाईएको हो । वन सम्वन्धि मुद्दामात्र अदालतले हेर्ने भएकोले वडाध्यक्षमाथि लागेको रकम अपचलन सम्वन्धी मुद्दा जिल्लाको अख्तियार प्रमुख भएकोले प्रमुख जिल्ला अधिकारीले हेर्ने उनले बताए । पक्राउ पर्नेमा उपभोक्ता समितिका उपाध्यक्ष केशव रायमाझी, सचिव कमला अचार्या , कोषाध्यक्ष महेन्द्र सिहं, सहसचिव दुर्गाबहादुर खत्री, सदस्यहरु क्रमशः वावुराम सिंह , शान्ति नेपाली धर्मकुमारी महत , ललिता चालिसे , शिवबहादुर नेपाली, राजकुमारी माझी, झकला माझी रहेका छन् । यसरी उठान गरेका थियौं हामीले भाद्र २७ गते उक्त वनकाण्डको समाचार वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीका नजिकका मानिस मानिएका शिवबहादुर नेपालीलाई त्यस वन नजिकै अवैध फर्निचर सञ्चालन गर्न लगाई काठ कटानी चिरानी गर्दै वामीटक्सार र बाग्लुङ्गको खर्वाङ्ग लगायतका स्थानमा तस्करी हुँदै आएको सुराकी पाए पछि शनिवार ईलाका वन कार्यालय तम्घासले छापा मार्दा यस्तो खुलासा भएको हो । १ सय ३५ हेक्टर क्षेत्रफल रहेको श्रृङ्गाको वन क्षेत्र मध्ये अत्यन्त गोप्य स्थान खण्ड नम्वर ५ अर्मर्झालाई अखडा बनाई लामो समय देखि बन एैनले बर्जित गरेको साल काठ तस्करी हुँदै आएको स्थानियले सुराकी दिए पछि आफुहरु छापा मार्न जाँदा त्यस्तो पाईए पछि कटानी र चिरानी भएका काठहरु बरामद गरिएको ईलाका वन कार्यालयका बन रक्षक वावुराम खनालले बताए । उनले उक्त काठ तस्करी समितिकै मिलोमोतोमा हुने गरेको बताए । ‘समितिका सिमित ब्यक्तिको मिलोमोतो नभई त्यस्तो हुनै सक्दैन हामीले ति काठहरु नाप जाँच गरी वन कार्यालयको अनुमति विना त्यही राख्ने गरी उपभोक्ताहरुको जिम्मा लगाएर आएका छौं’– खनालले भने–‘ यस कार्यालयका प्रमुख पन्नलाल भट्टराईज्यु यति वेला जिल्ला बाहिर भएकोले कार्वाही प्रकृया अगाडी बढ्न सकेको छैन् ।’ उनका अनुसार ७ फुट लम्वाई ४२ थान चिरानी साल काठ र साल कै २६ थान गोलिया काठ एक स्थानबाट वरामद गरिएको छ भने अवैध फर्निचर सञ्चालन गर्दै आएका शिवबहादुर नेपालीबाट १०३ क्युफिट सल्ला काठ वरामद गरिएको छ । वन रक्षक खनालका अनुसार साल काठ कुल १ सय ४४ क्युफिट हुन आउछ । चुनाव हुनु भन्दा केहि महिना अघि देखि सञ्चालन गरिएको शिवबहादुर नेपालीको अवैध फर्निचर वन उपभोक्ता समितिका अध्यक्ष लक्ष्मण खत्रीको संकेतमा सञ्चान गरिएको त्यहाँका राजनैतिक दलका नेताहरुले आरोप लगाउँदै आएका छन् । अध्यक्ष खत्री विरुद्ध अख्तीयार अनुसान्धान आयोगमा समेत स्थानिय उपभोक्ताले उजुरी दिएको र जिल्ला प्रशासन कार्यालय गुल्मीमा समेत पत्र पेश गरिएको बताईएको छ । अध्यक्षद्धारा कसैलाई सुईको नदिई बैंकबाट साढे दुई लाख झ्याम काठ तस्करीको सेटिङ्ग मिलाएको आरोप खेपेका अध्यक्ष खत्रीको फेरी अर्को काण्ड बैकमा समितिका कुनै व्यक्तिलाई थाह नदिई चुनाव ताका २ लाख ५० हजार रकम निकासी गरेर हिनामिना गरेको समेत खुलेको छ । नेकपा उमालेबाट मुसिकोट नगरपालिका वडा नम्वर २ का वडाध्यक्षका उमेदवार रहेर विजयी भएका खत्रीले वन समितिका सचिव कमला आचार्य र कोषाध्यक्ष महेन्द्रसिह ठकुरीलाई झुक्काएर हस्ताक्षर गर्न लगाई उक्त रकम निकालेको तव मात्र थाह भयो जव सदरमुकाम तम्घास आई समितिले अडिट गराउनका लागि बैंकको स्टेटमेण्ट निकाल्नु पर्यो । उनले राष्ट्रिय बाणिज्य बैंक गुल्मी शाखामा त्यस वन उपभोक्ता समितिको खाता नम्वर ३०१००००५०८०१÷सि ५०८ बाट २ लाख ४० हजार रुपैयाँ निकालेको खुलासा भएको छ । ‘उक्त रकम निकालेको तव थाह पाईयो जव हामी आर्थिक वर्ष २०७३ ÷०७४ को लेखा परिक्षण गर्न तम्घास गईयो’–समितिकी सचिव कमला आचार्यले भनिन–‘बैंकबाट स्टेटमेण्ट माग्दा त साढे दुई लाख अध्यक्ष खत्रीले हामी कसैलाई जानकारी नदिई झिकी सक्नु भएको रहेछ । चेक सकियो , नयाँ चेक बनाउनु प¥यो भनेर हस्ताक्षर गराउनु भएको थियो तर उहाँले त्यस्तो वाहना बनाएर हामीलाई झुक्काउनु भयो सचिव आचार्यले भनिन त्यो रकम निकाल्ने कुनै निर्णय नै भएको छैन ।’ अध्यक्ष सहित ३ जना खातावाला मध्येका कोषाध्यक्ष महेन्द्रसिंह ठकुरीले पनि समितिका कुनै पनि ब्यक्तिलाई सुईको नदिई अध्यक्ष खत्रीले उक्त रकम निकालेको र वनमा काठ तस्करी समेत हुने गरेको आफुहरुले बल्ल अहिले आएर चाल पाएको बताए । सह सचिज दुर्गाबहादुर घर्तिले पनि आफुहरु कसैलाई सुईको नदिई गरिएको यस्तो अनियमित कार्यको भत्र्सना गरे । यी तिन जना पदाधिकारी सहित समितिका सात जनाले अध्यक्ष खत्रीको अनियमति कार्य विरुद्ध भदौं १ गते समितिबाट राजिनामा दिएका छन् । राजिनामा दिने सदस्यहरुमा वावुराम घिमिरे , धर्मकुमारी महत , रना नेपाली र ललिता चालिसे समेत रहेका छन् । ईलाका वन कार्यालय तम्घासले समितिले गत आर्थिक वर्षमा गरेको लेखा परिक्षणको खर्च विवरणमा समेत आशंका गरी समितिलाई सक्कली विल भर्पाई सहित कार्यालयमा उपस्थित हुन भदौ २१ गतेका दिन पत्र काटेको छ । वन उपभोक्ता समितिले आयमुलक कार्यक्रम मौरीपालन , वाख्रापालन, अदुवा र वेसार खेती गर्दा बन कार्यालयको सहमति विना र उपभोक्ता समितिको कार्ययोजना विना उक्त कार्यक्रममा गरिएको भनिएको खर्च स्पष्ट नभएको पत्रमा उल्लेख छ । अध्यक्ष खत्रीले भने जानकारी दिएरै रकम निकालेको दावि गरे । के प्रयोजनका लागि निकाल्नु भएको हो र निकाले पछि किन जानकारी दिनु भएन त समितिलाई भन्ने प्रश्नमा उनले भने सामुदायिक वनको भवन बनाउन पर्ला भनेर निकालेको हो क्यारे बेलामा बनाउन नसिकएकोले उक्त रकम मैले नै राखेको छु ’–खत्रीले भने । उनले काठ तस्करीमा पनि आफ्नो संलग्नता नभएको बताए । बन भित्रै फर्निचर त्यस सामुदायिक वन अन्तरगत निकै विकुनो झाडीमा वन्चरो , काठ चिर्ने आरो लगायतका सामग्री राख्ने, रातीमा रुख ढलाउने र अलग अलग गेंडी बनाएर अलग अलग झाडीहरुमा लुकाउने गरिएको प्रत्यक्ष देख्न पाईन्छ । त्यहाँका शिवबहादुर नेपालीले दर्ता नगरी फर्निचर सञ्चान गर्दै आएको वन कार्यालयका वावुराम खनालले बताए । उनले दर्ताको कागज पत्र पेश गर्न नसके पछि उक्त फर्निचर अवैध रुपमा सञ्चालन गरेको पाईएको छ । उनको फर्निचरबाट पनि त्यसै बनको सल्ला काठ वराबद भए पछि उनि समितिका सिमित मानिसहरुको मिलोमोतोमा उनि तस्करीमा संलग्न भएको पाईएको खनालको भनाईले स्पष्ट पारेको छ । समितिका सिमित व्यक्तिको मिलोमोतो विना वन छेउँवैमा फर्निचर र धमाधम वन भित्रै काठ चिरानी चल्नै नसक्ने त्यहाँका आम सर्वसाधरण उपभोक्ताको भनाई छ ।