सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग प्रधानमन्त्रीको अन्तरक्रिया
पोखरा। प्रधानमन्त्री एवं सहिद प्रतिष्ठान नेपालका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पोखरा-१४ कास्कीस्थित सहिद स्मृति विद्यालयका विद्यार्थीहरूसँग भेटघाट र अन्तरक्रिया गरेका छन्। सो अवसरमा प्रधानमन्त्रीले विद्यालयको निरीक्षण गर्नुका साथै शिक्षक र विद्यार्थीहरूसँग अन्तरक्रिया गरेका हुन्।
अन्तरक्रियाका क्रममा प्रधानमन्त्रीले सहिदका सन्ततिहरू पढ्ने विद्यालयमा आएर अन्तरक्रिया गर्न पाउँदा आफूलाई खुसी लागेको बताउँदै देशका पाँच ठाउँमा स्थापित सहिद स्मृति विद्यालयहरूको प्रवर्धन र विकासमा आफुले ध्यान दिने बताए। सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्वसांसद हरिराज अधिकारीले विद्यालयको अवस्थाबारे जानकारी गराएका थिए।




विदेशी पर्यटकको चाप बढेसँगै श्रीलंकाको अर्थतन्त्रमा सुधार
कोलम्बो । अकल्पनीय वित्तीय संकटको सामना गरेको श्रीलंकामा आर्थिक पुनरुत्थान भएको श्रीलंका सरकारले जनाएको छ । सन् २०२३ को चौथो त्रैमासिकमा पर्यटन आगमनमा वृद्धिसँगै आर्थिक पुनरुत्थान भएको सरकारको भनाई छ । श्रीलंकामा कृषि, उद्योग र सेवा क्षेत्रको विस्तार दर डिसेम्बरमा सकिएको त्रैमासिकमा ४.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा १२.४ प्रतिशतले सङ्कुचन भएको थियो । सन् २०२२ मा ७.८ प्रतिशतले सङ्कुचन भएको अर्थतन्त्र सन् २०२३ मा समग्रमा २.४ प्रतिशतमा झरेको छ । विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२३ मा श्रीलंकाको अर्थतन्त्रले द्वैधताको अनुभव गरेको छ, यस वर्षको पहिलो छ महिनामा ऋणात्मक वृद्धि भएको छ भने दोस्रो त्रैमासिकमा अर्थतन्त्रमा सुधार आएको छ । पर्यटनमा लामो समयदेखि प्रतीक्षा गरिएको सुधारको सन् २०२३ को अन्त्यतिर नतिजा आएको र कामदारको रेमिटेन्समा पनि सुधार आएको सरकारले जानकारी दिएको छ । गत डिसेम्बरमा श्रीलंका घुम्न आउने पर्यटकको सङ्ख्या दुई लाख १० हजार पुगेको छ । यो सङ्ख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो । अघिल्लो वर्ष ९१ हजार ९०० पर्यटक आएका थिए । श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोष (आर्एएमएफ) बाट चार वर्षका लागि २.९ अर्ब अमेरिकी डलरको जमानत कर्जा लिएको छ । ऋण पुनर्संरचनाको लागि विदेशी ऋणदाताहरूसँग श्रीलंकाले छलफल गरिरहेको छ । श्रीलंकामा सन् २०२२ मा आर्थिक संकटको शिखरमा पुगेको थियो । त्यतिबेला आयातका लागि भुक्तानी गर्न विदेशी मुद्रा सञ्चिति सकिएपछि महिनौँसम्म खाद्यान्न, इन्धन र औषधिको समेत अभाव भएको थियो । राष्ट्रव्यापी नागरिक आन्दोलनको क्रममा प्रदर्शनकारीहरूले सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षको सरकारी निवासमा आक्रमण गरेपछि उनले पदबाट राजिनामा दिएका थिए ।
त्रिविको त्रुटि : महिना ३० गतेसम्म मात्रै, परिक्षा ३१ गते पनि
काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) बल्खुले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ। चैत २८ गतेदेखि परीक्षा सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरिएको थियो। सार्वजनिक गरिएको तालिकामा भने चैतको ३१ गते पनि परीक्षा गर्ने भनिएको थियो । जबकि चैत महिना ३० गतेसम्मको मात्रै छ । तर, परीक्षा नियन्त्रण कार्यालयको लापरबाहीले चैत ३१ गते एमजीटी–२०९ माइक्रोइकोनोमिक्स फर बिजनेसको परीक्षा राखिएको हो । यतिबेला पनिकाले उक्त परीक्षा तालिका आफ्नो वेबसाइटबाट हटाइसकेको छ । उक्त परीक्षा तालिका मिस्टेक भएको भन्दै पनिकाले अब अर्को तालिका सार्वजनिक गर्नेछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार अब उक्त मिति सच्याएर पुनः परीक्षा तालिका सार्वजनिक गरिनेछ ।
बैंकको ऋण तिर्दिन भन्ने आपराधिक मनोवृत्ति सह्य हुँदैन : अर्थमन्त्री
काठमाडौं ।अर्थमन्त्री वर्षमान पुन अनन्तले आफ्नो सीमित स्वार्थ सिद्धिका लागि बैंक तथा वित्तीय संस्थाविरुद्ध अफवाह र अनास्था फैलाउने प्रवृत्ति सरकारका लागि सह्य नहुने चेतावनी दिएका छन् । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा आयोजना गरेको व्यवस्थापन सम्मेलन (म्यानेजमेन्ट समिट)–२०२४ लाई सम्बोधन गर्दै मन्त्री पुनले बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कालो सूचीमा परेकाहरूले फैलाएको अफवाहबाट नआत्तिन बैंकर्स सोसाइटी र निजी क्षेत्रलाई आग्रह गरे। मन्त्री पुनले बैंकहरुलाई नयाँ सुदखोर भनेर आरोपित गर्ने प्रवृत्तिसँग सहमत हुन नसकिने बताए। ‘बैंकहरुबाट ऋण लिने, कालो सूचीमा पर्ने अनि ऋण तिर्दिन भनेर हिँड्ने प्रवृत्ति छ’, मन्त्री पुनले भने, ‘आफ्ना सीमित स्वार्थ सिद्ध गर्न बैङ्किङ प्रणालीप्रति अनास्था फैलाउने प्रवृत्ति सरकारलाई कदापी स्वीकार्य हुन सक्दैन।’ मन्त्री पुनले नेपालको बैङ्किङ प्रणाली उत्कृष्ट रहेको भन्दै बैंकहरु जत्तिको व्यवस्थित रूपमा सञ्चालित कुनै पनि संस्था नेपालमा नरहेको चर्चा गरे। ‘नेपालमा यदि कुनै संस्था व्यवस्थित रूपमा सञ्चालनमा छ भने त्यो बैङ्किङ क्षेत्र हो । यो हामीले भनेको होइन।अन्तर्राष्ट्रिय संस्थाहरूले अध्ययन गरेर निकालेको निष्कर्ष हो’, मन्त्री पुनले भने, ‘आपराधिक मनोवृत्तिका मानिसले भ्रम फैलाउँदैमा कोही पनि डराउनुपर्ने अवस्था छैन ।’ कुनै बैंकर्सले गल्ती गरेको भए गल्ती गर्नेमाथि कारबाही हुने स्पष्ट गर्दै उनले आरोपित व्यक्तिका परिवार र बैङ्किङ क्षेत्रमा कार्यरत सबै खराब भन्ने प्रवृत्ति देखिएकामा चिन्ता जनाए। ‘कोही पनि व्यक्ति तथा परिवार कानून र संविधानभन्दा माथि छैन। एउटा बैंकर्सले गल्ती गर्दा सबै बैंकर्सलाई आरोपित गर्न मिल्दैन। एउटा व्यक्तिले गल्ती गर्दा सिंगै परिवार र संस्थालाई दोषी करार गर्ने प्रवृत्ति समाजमा घातक रूपमा अघि आएको छ’, उनले भने, ‘बैंक, निजी क्षेत्र वा नियामक निकायमा काम गर्ने व्यक्तिका कमजोरी हुन सक्छन्। तर, सम्बन्धित सेक्टरमा काम गर्ने सबैलाई आरोपित गर्न मिल्दैन ।’ बैङ्किङ क्षेत्र र व्यवस्थाविरुद्ध एउटै प्रवृत्तिले अनास्था फैलाएको टिप्पणी उनको थियो। सानातिना कमजोरी औँल्याएर राजनीतिक प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने तथा मिलेर बसेको समाजलाई विखण्डन गर्न खोज्ने प्रवृत्तिसँग सरकारको सहमति नरहेको मन्त्री पुनको स्पष्टोक्ति थियो। मन्त्री पुनले देशभित्रै बसेर केही सकारात्मक काम गर्छु भन्ने प्रवृत्तिलाई भने सरकारले सम्मान गर्ने बताए। ‘आफ्ना महत्त्वाकाङ्क्षा र स्वार्थ सिद्धिका लागि सानातिना कमजोरी खोजेर व्यवस्था, प्रणाली र नेतृत्वप्रति अनास्था फैलाउने प्रवृत्ति, मिलेर बसेको समाजलाई विखण्डन गर्न चाहने धार्मिक र सामाजिक अतिवादी प्रवृत्ति र दुनियाँभरका उदाहरण दिएर आफ्नो नेतृत्वलाई सराप्ने घातक प्रवृत्तिसँग हाम्रो सहमति छैन’, मन्त्री पुनले भने, ‘जसले आफ्नै माटोमा पसिना बगाउँछु भन्ने सोच र प्रवृत्ति राख्छ त्यससँग हाम्रो सहमति छ ।’ मन्त्री पुनले व्यवस्था कार्यान्वयनका क्रममा प्रणालीभित्र भएका कमजोरीबारे समीक्षा गर्न भने तयार रहेको उल्लेख गरे। नेपाली समाजमा सबै राजनीतिज्ञ, बैंकर्स, निजी क्षेत्र, निर्माण व्यवसायी, उद्योगी व्यवसायी, न्यायालय सबै खराब भन्ने डरलाग्दो भाष्य स्थापित गर्न खोजिएकामा समयमै सबै सचेत हुनुपर्ने औँल्याए। राजनीतिक दल र नेताहरूले नेपालमा धेरै सकारात्मक काम गरेको भए पनि त्यसको कहिल्यै चर्चा नहुने गरेको उनको टिप्पणी थियो। ‘राजनीतिज्ञ सबै बेठीक हुँदैनन्। राजनीतिक प्रणालीमा राजनीतिक दल र नेताहरूले धेरै राम्रा काम पनि गरेका छन् तर त्यसको कतै चर्चा हुँदैन।नकारात्मक मात्र चर्चा हुन्छ ।’ नेपाली समाजमा एकले अर्कालाई निन्दा गर्ने प्रवृत्ति झाँगिएको भन्दै मन्त्री पुनले त्यसको निष्कर्ष कोही पनि ठिक छैन भन्ने आउने आउने बताउदै राम्रोलाई राम्रो भन्न सक्नुपर्ने बताए।
विश्वव्यापीकरणसँगै विश्वमञ्चमा नेपालीहरूको राम्रो प्रगति छ : प्रधानमन्त्री
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।शनिबार बिहान काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, 'विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा.सूर्य सुवेदी पनि हो।' उनले थपे 'प्राडा.सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ।' लोकार्पणमा प्राडा.सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे।
जनमत पार्टीको बैठकमा नौलो गणतन्त्र बारेमा छलफल हुँदै
विरगंगज । जनमत पार्टीको केन्द्रीय कार्य समितिको बैठक वीरगन्जमा सुरु भएको छ । बैठकमा आगामी आन्दोलन, संगठन विस्तार, संगठन सुदृढीकरण, वडा अधिवेशन लगायतका विषयमा छलफल हुने पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले जानकारी दिए । उनले जनमत पार्टीले सुरु गरेको नौलो गणतन्त्रका लागि आन्दोलनको बारेमा बैठकमा छलफल हुने बताए । नौलो गणतन्त्रको बारेमा सो पार्टीका अध्यक्ष डा.सिके राउतले राजनीति प्रतिवेदन प्रस्तुत गर्नेछन् र सोही प्रतिवेदनमाथि छलफल गरी निष्कर्षमा पुग्ने उनको भनाई छ । ‘नौलो गणतन्त्र किन ?’ भन्ने शीर्षक राखेर जनमत पार्टीले पर्चा पनि बनाएको छ । पर्चाका बारेमा छलफल गरी भोलि वीरगन्जमा वितरण समेत गर्ने कार्यक्रम राखिएको छ । साथै बैठकमा अहिलेको वर्तमान सरकार तथा गठबन्धनको बारेमा पनि समीक्षा हुने बताइएको छ । जनमत पार्टी वर्तमान गठबन्धन र सरकारमा सहभागी भएको छैन । जनमत पार्टीले देशभर वडा समितिको अधिवेशन गरिसकेको छ ।
न्यूनतम साझा कार्यक्रम प्रधानमन्त्रीलाई बुझाइदै
काठमाडौं । सत्ता गठबन्धनको कार्यदलले तयार पारेको न्यूनतम साझा कार्यक्रम आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बुझाइने भएको छ । कार्यदलले न्यूनतम साझा कार्यक्रम टुंगो लगाएर प्रधानमन्त्रीलाई बुझाउन लागेको हो । बिहान साढे ९ कार्यदलको बैठक बस्ने र प्रधानमन्त्री प्रचण्ड लाई कार्यक्रम बुझाइने कार्यदलले जनाएको छ । कार्यदलले हिजो नै साझा न्यूनतम नीति तथा कार्यक्रमलाई अन्तिम रूप दिएको छ । गठबन्धनका शीर्ष नेताहरूसमक्ष छलफलका लागि प्रस्तुत गर्नु अघि कार्यदलका सदस्यहरू छलफलमा जुट्न लागेका हुन् । कार्यदलले मस्यौदा बुझाएसँगै शीर्ष तहमा नेताहरूले आन्तरिक छलफल गरी सरकारले मन्त्रिपरिषद्बाट पास गरेपछि साझा न्यूनतम कार्यक्रम कार्यान्वयनमा जाने छ । कार्यदलमा नेकपा (एमाले) बाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवहरु वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा. मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य छन् ।
सुप्रिम सहकारी ठगी छानविन गर्न दिपेश पुनलाई लगियो भैरहवा
काठमाडौं ।सुन तस्करी प्रकरणमा जोडिएका भपक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई भैरहवा लगिएको छ। शुक्रबार काठमाडौंस्थित टोखाबाट पक्राउ परेका दिपेशलाई शुक्रबार नै विमानमार्फत भैरहवा लगिएको प्रहरीले जनाएको छ। सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले दिपेशमाथि छानबिन गर्न सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको थियो। तर, उनीविरुद्ध भैरहवा सहकारी ठगीविरुद्ध उजुरी परेका उलनाई भैरहवा पठाइएको हो। उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय बुटवलको हिरासतमा राखिएको थियो । जीबी राईले सञ्चालन गरेको रूपन्देहीको सुप्रिम सहकारीविरुद्ध बचतकर्ताले जाहेरी दिएका थिए। सहकारीका पूर्वकोषाध्यक्ष रहेका दिपेशविरुद्ध जिल्ला अदालत रूपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो। यता, साठी किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका दावा छिरिङसँग उनको सम्बन्ध रहेको पाइएको छ।
यस्तो रहनेछ आज देशको मौसम
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ । अलिहे देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफ रहने छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ६ बजेर १२ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १३ मिनेटमा हुनेछ ।
अखिल (क्रान्तिकारी)लाई बिग्रिने छुट छैन : उपाध्यक्ष मैनाली
ललितपुर । अखिल क्रान्तिकारीका उपाध्यक्ष जीपी मैनालीले संगठनात्मक अराजकता र बेथिति बढ्दै गएको भन्दै गम्भिर चिन्ता व्यक्त गरेका छन् ।कान्तिपुर इन्टर नेशनल कलेज अफ इञ्जिनियरिङ ललितपुरले गरेको कार्यक्रममा उपाध्यक्ष मैनालीले संगठनलाई मजबुत, जनमुखी र विद्यार्थीको हकहितमा केन्द्रीत गर्नका लागि अनुशासन आवश्यक भएको बताए । मैनालीले माओवादी र अखिल (क्रान्तिकारी)लाई बिग्रिने छुट नभएको भन्दै कमजोरीहरु सच्याउनुपर्नेमा जोड दिए।शहीद पूर्ण पौडेल र बेनोज अधिकारीले बोकेको र उनीहरुको रगतले रंगिएको झण्डाको अपमान गर्ने छुट कसैलाई पनि नभएको उनले बताए। व्यक्ति केन्द्रीत स्वार्थकालागि अराजकता मच्याउने र समानान्तर संगठन चलाउने अधिकार पनि कसैलाई पनि नभएको भन्दै उनले आक्रोश व्यक्त गरे। काठमाडौं उपत्यकाका केही क्याम्पसमा समानान्तर कमिटी देखिएपछि मैनालीले त्यसको खुलेर विरोध गरेका हुन् । ‘ शहीदको अपमान गर्दै समानान्तर गतिविधि गर्ने र स्वार्थपुरा गर्ने अधिकार कसैलाई छैन उनले भने, शहीद पूर्ण पौडेल र बेनोज अधिकारीहरुको अपमान गर्ने क्रियाकलाप रोकिनुपर्छ ।’ माओवादी सकिँदा देश बन्ने कि नबन्ने भन्ने अवस्था सिर्जना हुने भन्दै मैनालीले माओवादीलाई कस्तो बनाउने भन्ने अखिल क्रान्तिकारीकै हातमा रहेको बताए। ‘माओवादी बन्नु र सकिनुसँग देशको भविष्य जोडिएको छ। माओवादी सकिँदा पछिल्ला सबै उपलब्धिसहित मुलुकका एक तिहाई जनजाति, त्यतिनै संख्याका मधेशी र करिब २४ लाख दलितको अधिकार जोखिममा पर्छ । सीमान्त ठाउँबाट राजनीतिमा आएकाहरु समस्यामा पर्छन ।’ मैनालीले भने, त्यसैले माओवादी बन्नुपर्छ। माओवादी भनेको देशको भविष्य हो र यसलाई हामीले त्यसै अनुसार अघि बढाउनुपर्छ।'
पेट्रोल र डिजेलको मूल्य घट्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आज राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ र डिजेल प्रतिलिटर दुई रुपैयाँले घटाएको हो ।
एआईजी किरण बज्राचार्यलाई तानियो प्रहरी प्रधान कार्यालय
काठमाडौं।केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय तानिएको छ । शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकको निर्णय पछि सरकारले सीआईबी प्रमुख बज्राचार्यलाई प्रहरी प्रधान कार्यालय तानेको हो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) की प्रमुख एआईजी किरण बज्राचार्यले सुन तस्करीको छानबिनका क्रममा लापरबाही गरेको ठहर गरेको थियो ।
सीआईबी प्रमुखको जिम्मेवारीमा श्यामलाल ज्ञवाली
सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई पठाएको छ ।
‘सुरक्षित कारोबार विधेयक २०८०’ राष्ट्रिय सभामा पेस
काठमाडौं। सरकारले राष्ट्रिय सभामा ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक-२०८०’ पेस गरेको छ । शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो विधेयक पेस गरेका हुन् । बैठकमा सांसद्हरुले सो विधेयकको सैद्धान्तिक पक्षमाथि छलफल शुरु भएको छ । छलफलमा भाग लिँदै एमालेकी सांसद भगवती न्यौपानेले सूचना र प्रविधिमा आएको परिवर्तनलाई ध्यानमा राखेर सो ऐन संशोधन गर्नुपर्ने बताए ।
रबि गृहमन्त्री बनेकोमा कांग्रेसको संसद अवरोध, माओवादीको नियमापत्ति
काठमाडौं । शुक्रबार नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै अवरोध गर्दा सत्तारुढ दल नेकपा माओवादी केन्द्रले नियमापत्ति गरेको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानको घेरामा रहेको भन्दै कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफ माग गर्दै शुक्रबार संसद् अवरोध गरेको हो । तर, कांग्रेस सांसदहरू सिटबाट उठेर अवरोध गरेका बेला माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गरे । संसदीय क्यालेन्डरसमेत बनेको र त्यसअनुसार अगाडि बढ्नुपर्नेमा त्यसो हुन नदिनु प्रतिनिधिसभा नियमावली विपरीत हुने पाण्डेले बताए । ‘प्रतिनिधि सभा नियमावलीको नियम २६ अन्तर्गत म नियमापत्ति गरिरहेको छु । हाम्रो नियमावलीको नियम २० को झ पालना भएन’ पाण्डेले भने, ‘चैत ६ गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम छ । व्यवस्थित रूपमा सदन अगाडि बढाइरहेको अवस्थामा सदनको कामकारबाही अगाडि बढाउन नदिइकन जसरी रोक्न खोजिएको छ यसमा नियमापत्ति छ ।’ शुक्रबारको बैठकमा उपप्रधान तथा गृहमन्त्री लामिछानेले राजनीतिक दल सम्बन्धी ऐनको संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो। यो कार्यसूचीमा सभामुख देवराज घिमिरे प्रवेश गर्ने बित्तिकै कांग्रेसका सांसदहरूले उठेर बैठक अवरोध गरेका हुन्। प्रतिपक्ष उभिएको बेला सत्तापक्षले नियमापत्ति गर्ने विषय सदनमा देखा परेको भन्दै उनले संसदीय मर्यादा ख्याल गर्न सभामुख र सत्तारुढ दलहरूलाई आग्रह गरे ।सत्तारुढ दलको मुख्य सचेतकले नै नियमापत्ति गरेपछि कांग्रेसका सांसदहरूले फेरि सभामुख घिमिरेसँग समय मागे । सभामुखले समय दिएपछि बोल्दै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूलाई वेलमा आउन बाध्य नपार्न चेतावनी दिए । साथै उनले प्रधानमन्त्रीको जवाफ नआउँदासम्म लामिछानेलाई गृहमन्त्रीको रूपमा रोष्ट्रममा बोल्न नदिने बताए ।कांग्रेसको अवरोधपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
संसदमा काँग्रेसको निसाना गृहमन्त्री रवि लामिछाने
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदमा गृहमन्त्री रवि लामिछानेको निरन्तर राजीनामा माग गरिरहेको छ । नयाँ सत्ता समिकरण बनेको दिनदेखि नै कांग्रेसमा सांसदहरुले गृहमन्त्री रबि लामिछानेको राजिनामा माग्दै आएका हुन् । शुक्रवारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले गृहमन्त्रीमाथि विभिन्न प्रश्नहरु उठेको भन्दै नैतिकताको आधारमा राजीनामा दिन माग गरेका हुन् । सांसद पौडेलले लामिछानेले आफूमाथि प्रश्न बोकेर गृहमन्त्री हुनु नहुने बताए । उनले प्रधानमन्त्रीले पनि प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु नहुने बताए । सांसद पौडेलले हाल ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता रहेको उल्लेख गर्दै सहकारी पीडितहरुले आफ्नो बचत फिर्ताको माग गरिरहेको बताए। अनुसन्धानको घेराभित्रै रहेका गृहमन्त्रीले सहकारी पीडितहरुको माग कसरी सम्बोधन गर्नसक्छ भनेर उहाँले प्रश्न गर्नुभयो । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई समाधान गर्न नसक्ने उनको भनाइ थियो । सांसद पौडेलले भने – ‘प्रधानमन्त्रीले प्रश्न भएको मानिसलाई गृहमन्त्री बनाउनु हुँदैन थियो । आज ३१ हजार सहकारीमा ७३ लाख वचतकर्ता छन् । त्यो वचतकर्ताको माग छ, सहकारी सञ्चालकको सम्पतीबाट हाम्रो वचत फिर्ता दिनुपर्छ भन्ने उनीहरुको माग छ । त्यस्तै अनुसन्धानको घेराभित्र रहेको व्यक्ति सरकारको मुख्य पदमा रहँदा सहकारी पीडितहरुको माग कसरी पूरा हुन्छ ? म प्रश्न गर्न चाहन्छु । पीडितहरुको विश्वास जित्न नसकेको सरकारले वित्तिय संकटलाई कसरी समाधान गर्नसक्छ रु पीडितहरुले आन्दोलनबाट सिर्जना गर्ने अस्तव्यस्ततालाई उसले कसरी थेग्न सक्छ ? म आग्रह गर्न चाहन्छु मेरो मित्र माननीय गृहमन्त्रीज्युलाई उच्च नैतिकताको आधारमा राजीनामा दिएर उदाहरण प्रस्तुत गर्नुस् ।’ सांसद पौडेलले गृहमन्त्रीकै मातहतमा रहेको प्रहरीले सुन प्रकरणमा राजनीतिक मान्छेलाई छानवीनको दायरामा ल्याउन नसकेको भन्दै गृहमन्त्रीमाथि पनि प्रश्न उठाए । उनले प्रश्नै प्रश्नले घेरिएका मान्छेको बिचमा बसेर प्रधानमन्त्रीले सुशासन कायम गर्न नसक्ने बताए। रास्वपाले भने नयाँ समिकरण बन्नै लाग्दा प्रधानमन्त्रीको अफर गरेका आफ्ना सभापतिविरुद्ध नाजायज प्रश्न गरिएको बताउँदै आएको छ ।संसदमा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेताहरुले रबि लामिछानेको विषयमा डबल स्टान्र्डर देखाएको बताएका थिए । आफसँग हुँदा प्रधानमन्त्री पनि बनाउन तयार रहेका व्यक्तिलाई गृहमन्त्री बनाउन हुँदैन भनेर प्रश्न गर्नु नैतिक नहुने उनको भनाइ थियो ।

