मतपेटिका बोकेको गाडीमा बम विस्फोट

सिन्धुली, मङ्सिर २१ । हरिहरपुरगढी गाउँपालिका–७ क्यानसिरमा आज साँझ बम विस्फोट भएको छ ।

आज भएको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको मतदान सम्पन्नपछि मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम पड्काइएको हो ।

हरिहरपुरगढी गाउँपालिका–७ भुताहा प्राविका क र ख मतदान केन्द्रका मतपेटिका ल्याउँदै गरेको सवारी साधनमा लक्ष्य गरी बम विस्फोट गराइएको थियो । सोही क्रममा ना ३ च ९४७१ नंको बोलेरोको सिसा सामान्य चर्किएको बताइएको छ । बम विस्फोटन गराइए पनि मतपेटिका बोकेको सवारी र सुरक्षाकर्मीलगायतको टोलीलाई भने कुनै असर नपुगेको सिन्धुलीका प्रजिअ जनकराज दाहालले जानकारी दिए ।

रिसको झोंकमा छोराले घरमै आगो लगाए

मोरङ, मंसिर २० । मोरङको बेलबारी नगरपालिका–८ मा मंगलबार दिउँसो बाबु छोराबीच झगडा हुँदा छोराले घरमा आगो लगाएका छन् । बेलबारी नगरपालिका–११ बस्ने केवालाल राजबंशी र निजको छोरा ३४ बर्षिय कुमार राजबंशीबीच घरायसी झगडा हुँदा छोराले लाईटर बाली घरमा आगो लगाएका थिए । आगो सल्किएर राजबंशीको दुई तले काठको घरको आधाभाग जलेर नष्ट हुँदा ६ लाख बराबरको क्षति भएको पीडितले बताए । आगो निभाउने क्रममा आगोले पोलेर ६५ बर्षीय केवालाल र सोही ठाउँका २३ बर्षीय लक्ष्मण ढुंगानाको शरीरको विभिन्न भाग जलेर घाईते भएका छन् । आगोले पोलेर घाईते राजबंशीलाई उपचारकालागि धरान घोपा पठाईएको छ भने ढुंगानाको नोबेल सामुदायिक अस्पताल बेलबारीमा उपचार भईरहेको छ ।

बसको ठक्करबाट बालकको मृत्यु

भापा, मंसिर १९ । मंगलबार झापामा यात्रुबाहक बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । पूर्वोत्तर झापाको खुदुनाबारीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ ख २२४६ नं बसको ठक्करबाट अर्जुनधारा नगरपालिका–३ का आइन्द्र लाम्गादेका आठ वर्षीय छोरा समीरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । तीव्र गतिमा आएको बसले पैदलयात्री बालकलाई अर्जुनधारा–२ झेलेनीमा ठक्कर दिएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते बालकको बिर्तामोडस्थित बीएण्डसी हस्पिटल ल्याउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

निर्वाचन विरोधी गतिविधिमा संलग्न ४६ पक्राउ

चितवन, मंसिर १९ । चितवनमा मंसिर २१ गते हुने चुनावलाई शान्तिपूर्ण बनाउन निर्वाचन सुरक्षामा तालिमप्राप्त कुकुरको प्रयोग गरिएको छ । चितवनका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार सोमबारदेखि हेटौंडाबाट तालीम प्राप्त कुकुर ल्याएर सुरक्षा कडा पारिएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनलाई सुरक्षित र भयरहितरुपमा सम्पन्न गर्न जिल्ला प्रहरी कार्यालय चितवनले अवलम्बन गरेका सुरक्षा रणनीतिअनुसार जिल्लाको शंकास्पद वस्तु खोजीका लागि कुकुरको प्रयोग गरिएको हो । विभिन्न सात स्थानमा खोजी अभियान चलाउँदा भरतपुर महानगरपालिका वडा नं ५ कल्याणपुरस्थित नहरको झाँडीमा लुकाइ राखेको अवस्थामा कटुवा बन्दुक एक नाल बरामद गरिएको ढकालले जानकारी दिए । उक्त बन्दुकमा प्रयोग हुने गोली एक राउण्ड र बम बनाउन प्रयोग हुने बारुदको धुलो १५ ग्रामसमेत फेला पारिएको छ । सो घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । निर्वाचनपूर्वको सुरक्षा रणनीतिअनुसार जिल्ला सुरक्षा समितिले शुरु गरेको खोजी अभियानका क्रममा विभिन्न आपराधिक क्रियाकलाप र निर्वाचन विरोधी गतिविधिमा संलग्न गरी ४६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । त्यसमा निर्वाचन विरोधी गतिविधिमा संलग्न विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २५ जना रहेको ढकालले जानकारी दिए । विभिन्न ठाउँमा नक्कली बम राखेर तर्साउने क्रम बढिरहेको भन्दै उनले मतदातालाई ढुक्कसँग निर्वाचनमा भाग लिने वातावरण तयार गर्न प्रहरीले कुनै कसर बाँकी नराख्ने बताए ।

कुवेत–काठमाडौं–कुवेत सिधा उडान भोलिदेखि

काठमाडौं, मंसिर १९ । भोलिदेखि कुवेत–काठमाडौँ–कुवेत सिधा उडान शुरु हुँदैछ । कुवेतको वातानिया एयरवेजले बिहीबारबाहेक साताको ६ दिन कुवेत–काठमाडौँ प्रत्यक्ष उडान शुरु गर्न लागेको हो । उक्त विमान सेवाले यात्रुलाई प्रदान गर्ने सेवासुविधाबारे विमान कम्पनीका उच्चअधिकारीसँग आज कुवेतका लागि नेपालका राजदूत यज्ञबहादुर हमालले छलफल गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । काठमाडौं–कुवेत सिधा उडानबाट नेपाल–कुवेत सम्बन्ध सुदृढीकरणका साथै कुवेतमा रहेका नेपाली र कुवेती नागरिकलाई नेपाल भ्रमण गर्न सहज हुने अपेक्षा गरिएको छ । रासस

निर्वाचनको तयारी पूरा

बुटवल, मंसिर १९ । प्रतिनिधि र प्रदेशसभाका लागि यही मंसिर २१ गते हुने निर्वाचनको रुपन्देहीमा सबै तयारी पूरा भएको छ । जिल्लामा २०८ मतदान केन्द्रका ५९८ मतदान स्थल तोकिएको छ । प्रत्येक मतदान केन्द्रमा आठ कर्मचारी र चारजना स्वयसेंवक खटाइएको जिल्ला निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी गोपाल अर्यालले बताए । उनका अनुसार मतपेटिका, स्वस्तिक छाप, शील, स्टेस्नरीलगायत सबै सामग्री केन्द्रमा पुगिसकेका छन् । मतदानका लागि कालो र सेतो गरी दुई प्रकारका मतपेटिकाको व्यवस्था गरिएको छ । निर्वाचन आयोगका अनुसार आज र भोलि नयाँ मतदातालाई सम्बन्धित मतदान केन्द्रबाट नै परिचयपत्र वितरणको व्यवस्था गरिएको छ । अन्य मतदाताले यसअघि स्थानीय निकाय निर्वाचनमा वितरण गरिएको परिचयपत्रका आधार मदतान गर्न सक्नेछन् । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न जिल्लामा नेपाल प्रहरी एक हजार ६६३, सशस्त्र प्रहरी एक हजार ४८ , नेपाली सेना ९००, राष्ट्रिय अनुसन्धान र म्यादी प्रहरी दुई हजार ३७८ गरी करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए । उहाँले जिल्लाका प्रतिनिधिसभा सदस्य पाँच र १० प्रदेशसभा सदस्यका लागि २०८ तोकिएका मतदानस्थलमध्ये सुरक्षका दृष्टिकोणले ७५ अति संवेदनशील, ४५ संवेदनशील र ८८ मतदान स्थल सामान्य रहेको र सोही अनुरुप जिल्लाको सुरक्षालगायत निर्वाचनको व्यवस्थापन गरिएको बताउनुभयो । जिल्लामा प्रतिनिधिसभाका लागि पाँच र प्रदेशसभाका लागि १० निर्वाचन क्षेत्र छन् । जिल्लामा पाँच लाख २२ हजार ६०२ जना मतदाता छन् । निर्वाचनको सुरक्षालाई मध्यनजर गरी नेपाल–भारत सीमा नाका गत मध्यरातिबाट बन्द गरिएको छ । नेपाल तथा भारत दुवै देशका सीमा क्षेत्रका उच्च सरकारी अधिकारीको संयुक्त बैठकको निर्णयअनुसार सीमानाका ७२ घण्टासम्मका लागि बन्द गरिएको सहायक प्रजिअ रेग्मीले जानकारी दिनुभयो । उहाँले जिल्लामा सुरक्षाका दृष्टिले कुनै समस्या नभएकाले ढुक्कसंग मतदान गर्न आग्रह गरे ।

चुनाव विरोधी गतिविधि गर्ने ५५० काठमाडौंबाट पक्राउ

काठमाडौं, मंसिर १९ । चुनाव विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले राजधानीबाट ५ सय ५० जनाभन्दा बढीलाई पक्राउ गरी मुद्दा चलाएको जनाएको छ । राजधानीका विभिन्न स्थानबाट चुनाव विरोधी गतिविधिमा संग्लन भएको आरोपमा पक्राउ परेका ५ सय ५० जनालाई मुद्दा चलाइएको महानगरीय प्रहरी जनाएको छ । मंसिरमा मात्रै शंकास्पद गतिविधि गर्ने १७ सय ५४ जना पक्राउ परेको महानगरीय प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ५ सय ५० जना बाहेक अन्यलाई सोधपुछ र अनुसन्धान पछि छोडिएको बताइएको छ । चुनावी गतिविधि सुरु भएसँगै ठाउँ ठाउँमा बम विस्फोट हुन थालेपछि प्रहरीले विभिन्न शंकास्पद गतिविधि गर्नेलाई निगरानी गरिरहेको छ । बम विष्फोटनका गतिविधिमा संग्लनको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ का दर्जनौ कार्यकता प्रहरीले नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ । तर अहिलेसम्म कुनै पनि समूहले घटनाको औपचारिक रुपमा जिम्मेवारी लिएको छैन । विष्फोटनका घटना र विष्फोटक पदार्थसहित केही भारतीय नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो सँगै चुनाव विराधी गतिविधिमा अमुक समूहको संलग्नता रहेको आशंका गरिएको छ ।

गृहले भन्यो- शंकास्पद बस्तु देखेमा १०० मा खबर गर्नू

काठमाडौं, मंसिर १९ ।  अपरिचित व्यक्ति वा शंकास्पद बस्तु देखेमा प्रहरीलाई खबर गरेर सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ । देशभर भइरहेका बम विष्फोटका घटनाबाट निर्वाचनमा अवरोध पुगेको भन्दै सरकारले सार्वजनिक सूचना नै निकालेर सर्वसाधारणको सहयोग मागेको हो । गृह मन्त्रालयले ‘अत्यन्त जरुरी’ भनेर सार्वजनिक सूचना जारी गरेको छ जसमा अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद बस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ । सार्वजनिक सूचनामा ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटनाहरु घटाउने, सर्वसाधारणहरुलाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउन्डमा बम विस्फोटन गराउने जस्ता गतिविधिहरु गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख छ । पूर्वमन्त्री, चुनावका उम्मेदवार र सर्वसाधारण नै घाइते हुने गरी बम आक्रमण भइरहे पनि सरकारले यी घटनामा कसको संलग्नता छ भनेर एकीनका साथ भन्न सकेको छैन । निर्वाचनको विरोध गर्दै विप्लव समूहको यस्ता घटनामा संलग्नता रहेको सुरक्षा संयन्त्रको अनुमान छ । तर, गृह मन्त्रालयले बम विष्फोटका घटनामा ‘निर्वाचन विरोधी’को संलग्नता मात्र भनेको छ ।

१२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्ने कानून बनाउन माग

बैतडी, मंसिर १९ । पछिल्लो समयमा बैतडीमा बालविवाहको मुख्य कारण सञ्चारका साधन तथा सामाजिक सञ्जाल बन्न थालेका छन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । फेसबुक, मोबाइललगायत सञ्चारका साधनले गर्दा बालविवाह न्यूनीकरणमा समस्या बढ्दै गएकोे किशोरी अभियन्ताहरुको भनाइ छ । आधारभूत तहदेखि नै किशोरकिशोरीको हातहातमा मोबाइल हुने भएकाले सञ्चारको दूरुपयोग गर्दा यो समस्या निम्तिएको अभियन्ताहरुले बताएका हुन् । बैतडीमा फोन र फेसबुकको माध्यमबाट सम्पर्क गरेर किशोरीहरु भाग्ने चलन बढिरहेको बालबालिकाका क्षेत्रमा काम गर्ने संघसस्थाले जनाएका छन् । अब बैतडीका किशोरीलाई १२ कक्षा नपढुञ्जेलसम्म मोबाइल बोक्न बन्देज गर्नेगरी स्थानीयस्तरमा कानून बनाउनुपर्ने युवा सञ्जाल बैतडीका सदस्य सपना रानामगरले बताइन् । सञ्चारका साधनले बालविवाह न्यूनीकरणमा सक्रिय किशोरीहरु पनि भागेर जाने गर्दा झनै समस्या भएको किशोरी रेजिना टेलरले बताइन् । उनले भनिन्, ‘पछिल्लो समय जिल्लामा सक्रिय किशोरी नै फोन र फेसबुकबाट कुरा गरेर भागेर जाने चलन रहेको छ ।’ अहिले जिल्लामा सबैभन्दा बढी किशोरी मोबाइलका कारण बलात्कारको शिकार हुनुपरेको समेत उनले बताइन्। बैतडी भारतसँगै जोडिएको जिल्ला भएकाले फोनमा फेसबुकमा कुरा गरेर भागेर भारत जाने गरेको उनकाे भनाइ छ । बैतडीको सीमा—नाका झुलाघाटबाट चालु आर्थिक वर्षमा हालसम्म २४ जना किशोरकिशोरीको उद्धार गरेको प्रहरीले जनाएको छ । यसैबीच, बैतडीमा बालविवाह अन्त्यका लागि रणनीतिक कार्ययोजना पनि तयार पारिएको छ । सन् २०३० मा नेपाललाई बालविवाह मुक्त घोषणा गर्ने सरकारको लक्ष्यअन्तर्गत बैतडी जिल्लालाई पनि बालविवाहमुक्त घोषणा गर्नुपर्ने भएकाले जिल्लामा रणनीतिक कार्ययोजना तयार पारिएको हो । बैतडीका १० वटै स्थानीय तहका उपप्रमुख, उपाध्यक्ष, किशोरीवृत्त, प्रतिष्ठित धामीसमूह, पत्रकारलगायत सरोकारवालाले बालविवाहमुक्त घोषणा गर्नका लागि कस्ता क्रियाकलाप गर्ने भन्नेबारेमा छलफल गरी रणनीतिक कार्ययोजना तयार पारेको संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषका जिल्ला कार्यक्रम अधिकृत गणेश शाहीले जानकारी दिए । बैतडीमा किशोरी सञ्जाल, किशोरी समूह, किशोरी वृत गठन गरी बालविवाह न्यूनीकरण गर्नका लागि किशोरी सक्रिय रहेका छन् ।

प्रमुख दुई राजमार्ग मर्मतको काम अलपत्र, यात्रा गर्न कष्ट

सर्लाही, मंसिर १९ । सर्लाहीको प्रमुख दुई राजमार्ग मर्मतको काम अलपत्र परेको छ । नियामक निकायको बेवास्ताका कारण पूर्व पश्चिम राजमार्गसँग जोडिने २६ मिलोमिटर नवलपुर–मलंगवा र ४२ किलोमिटर नयाँरोड-मधुवनी सडक निर्माण अलपत्र परेको हो । सडक मर्मतमा ढिलो हुँदा धुलोका कारण सडक आसपास घर भएका स्थानीय बासिन्दा र विभिन्न काम लिएर सदरमुकाम मलंगवा ओहोरदोहोर गर्नुपर्ने सर्वसाधारण मारमा परेका छन् । ठेकेदारले विभिन्न बहानामा मर्मतको काम रोकेपछि यी दुबै सडकको अवस्था जीर्ण बनेको हो । ठेक्का लागेको महिनौं हुँदा पनि काम नहुँदा दुबै सडक भएर यात्रा गर्न निकै कष्ट ब्यहोर्नु परेको गुनासो यात्रुले गरेका छन् । सडकमा ठुल–ठुला खाल्डाखुल्डी भएकाले दैनिकजसो सवारी दुर्घटना बढेका छन् भने सदरमुकामबाट गम्भीर किसिमका बिरामीलाई अन्यत्र उपचार गर्न लानुपरे समस्या परेको छ । वर्षौदेखि बिग्रिएर जीर्ण बनेको यी दुई सडक मर्मतका लागि वर्षैपिच्छे ठेक्का लागे पनि काम पूरा नहुँदा जिल्लावासी हिउँदमा धुलो र बर्खायाममा हिलोको मार खेप्न बाध्य भएका छन् । यही सडक कालोपत्रे गर्ने झूठा आश्वासन दिँदै धेरै नेता सत्ता सम्हाल्न पुगेपनि सडकको अवस्था भने सुधार भएको छैन ।

आज नारायणगोपालको स्मृति दिवस मनाईंदै

काठमाडौं, मंसिर १९ । स्वर सम्राट स्वर्गीय नारायणगोपालको २७ औं स्मृति दिवस आज बिभिन्न कार्यक्रम गरी मनाईंदै छ । ‘एउटा मान्छेको मायाले कति’, ‘स्वर्गकी रानी’, ‘आँखाको भाका आँखैले’, ‘मलाई नसोध कहाँ दुख्छ घाउ’ जस्ता सयौं कालजयी गीत गाएका सुमधुर स्वरका धनी नारायण गोपाल गुरुवाचार्यको जन्म विक्रम संवत १९९६ मा काठमाडौंको किलागलमा भएको थियो । उनका कालजयी गीत आज पनि उत्तिकै लोकप्रिय छन् । स्वर सम्राट नारायण गोपालले २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्कृष्ट संगीतकार पुरस्कार, २०२४ सालमा सर्वोतकृष्ट गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिण बाहु चौथो, २०४० सालमा इन्द्रराज्यलक्षमी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बा श्री, २०४७ सालमा उर्वशी रङ, २०४८ सालमा मरणोपरान्त त्रिशक्तिपट्ट तेस्रो जस्ता दर्जनौ पुरस्कार पाएका थिए । बागीना पत्रिकाको सम्पादक तथा सांस्कृतिक संस्थानका महाप्रबन्धक एवं सञ्चार मन्त्रालयका सल्लाहकारसमेत रहेका स्वर सम्राट नारायण गोपालको २०४७ मंसिर १९ गते निधन भएको थियो ।

कृषक दम्पतीको हत्याबारे सिआइबीले अनुसन्धान थाल्यो

बारा, मंसिर १६ । जितपुर सिमरा उपमहानगरपालिका–३ बजनीमा व्यावसायिक गाईपालन गर्दै आएका दीपक सुवेदी र उनकी श्रीमती दीपा सुवेदीको वीभत्स हत्याबारे केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआइबी०ले अनुसन्धान थालेको छ । घटनाबारे सत्यतथ्य पत्ता लगाउन काठमाडौँबाट सिआइबीको टोली बारा आएको बारा प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिनुभयो । घरबाट करिब डेढ किलोमिटर टाढा रहेको गाईफार्म सञ्चालन गर्दै आएका सुवेदी दम्पतीको शव आज बिहान फेला परेको हो । छत्तीस वर्षीय दीपकको शव घरबाट करिब ४० मिटर टाढा तथा ३२ वर्षीया दीपिकाको शव घरभित्र फेला परेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार लुटेरा समूहले लुटपाटपछि सुवेदी दम्पतीको हत्या गरेको अनुमान गरिएको छ । शव क्षतविक्षत अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक भुवन भट्टले बताउनुभयो ।

धान्य पूर्णिमा मेलास् दुप्चेश्वर मन्दिरमा भक्तजनको घुइँचो

नुवाकोट, मंसिर १६ । राउतबेंसीस्थित दुप्चेश्वर महादेवको मन्दिरमा धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनक जारी छ । मन्दिरमा लाग्ने मेलाको मुख्य दिन आज शनिबार साँझ र आइतबार पूर्णिमाको बिहानी प्रहरमा पूजाराधना गर्ने भक्तजनको सहभागिता उल्लेख्य छ । एकादशीदेखि नै शुरु भएको घुइँचो लगातारको बिदाले अघिल्लो वर्षभन्दा यस वर्ष वृद्धि भएको मन्दिरका पुजारी भगवानहरि धितालले जानकारी दिए । राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् । भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ । मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन् । दुप्चेश्वर गाउँपालिका–६ राउतबेंसीमा अवस्थित मन्दिरमा धान्य पूर्णिमाका अवसरमा एकादशीदेखि शुरु भएको मेला चतुदर्शीको रात र पूर्णिमाको दिन बिहान लाग्ने भए पनि सार्वजनिक बिदा परेकाले यस वर्ष शुक्रबार त्रयोदशीसम्म नै दर्शन र पूजाराधना गर्ने भक्तजनको सङ्ख्या ३० हजार पुगेको दुप्चेश्वर क्षेत्र विकास कोषले जनाएको छ । गाउँपालिकाले कोष स्थापना गरी त्यसका अध्यक्षमा वडा नं ६ का वडाध्यक्ष किशोर आचार्य र संरक्षकमा गाउँपालिका अध्यक्ष योवीन्द्रसिंह तामाङ र उपाध्यक्षमा अञ्जु आचार्यलाई तोकेर जात्रा व्यवस्थापनमा क्रियाशील भएको छ । कोषका संरक्षक तामाङका अनुसार मन्दिरमा दर्शन गर्न पुग्ने भक्तजनलाई यातायात, स्वास्थ्य शिविर, विशेष पूजाको व्यवस्था, खाना र बासको सहजता मिलाइएको छ ।

जिल्लालाई खुल्ला दिसामुक्त गर्न सहयोग समिति गठन

झापा, मंसिर १६ । जिल्लामा सञ्चालित खुल्ला दिसामुक्त अभियानलाई सहयोग पुर्याउन जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले चार सहयोग समिति गठन गरेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति, कार्यदलको बैठकले सहयोग समिति गठन गरेको हो । सन् २०१७ मा झापा जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने सरकारको लक्ष्य पूरा हुने नदेखिएपछि सम्बन्धित निकायले यस कार्यलाई पूरा गर्न यस्तो समिति निर्माण गरेको हो । राजनीतिक एवं सामाजिक क्षेत्रको परिचालनका लागि जिल्ला समन्वय समिति झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलको संयोजकत्वमा राजनीतिक एवं सामाजिक क्षेत्र परिचालन सहयोग समिति गठन गरिएको छ । स्थानीय तहसम्म खुल्ला दिसामुक्त अभियानमा प्राविधिक सहयोग गर्नका लागि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यसचिव एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख इ सीताराम काफ्लेको संयोजकत्वमा प्राविधिक समिति गठन गरिएको छ । यसैगरी, सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रशासनिक क्षेत्र परिचालन सहयोग समिति र उपजिल्ला शिक्षा अधिकारीको संयोजकत्वमा क्षेत्रगत परिचालन सहयोग समिति गठन गरिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका सरसफाइ फोकल पर्सन रुद्रबहादुर न्यौपानेले जानकारी दिनुभयो । आसन्न संघ र प्रदेशसभाको निर्वाचनलगत्तै जिल्ला शिक्षा कार्यालय स्रोत केन्द्रमार्फत खुल्ला दिसामुक्त अभियान प्रवद्र्धन र घरायसी शौचालय निर्माणका लागि सम्पूर्ण विद्यालय क्षेत्रलाई परिचालन गरिने उपजिल्ला शिक्षा अधिकारी उद्धव विष्टले बताउनुभयो ।

ठिमीमा बम भटियो, सेनाको टोलीद्वारा डिस्पोज

भक्तपुर, मंसिर १६ । मध्यपुर ठिमी नगरपालिका–४ माउण्ट सिनाइ इङ्लिस स्कुल पछाडि पाखोमा भेटिएको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । आज बिहान खतरा लेखेर राखिएको शंकास्पद पोको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एउटा सिसीभित्र खतरा लेखिएर राखेको शंकास्पद वस्तु भेटिएपछि बम भएको आशंका गरिएको थियो । स्थानीय विष्णुवीर मन्दिर नजिकै रहेको उक्त पाखोलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएर चार घण्टाको प्रयासपछि नेपाली सेनाको बम डिस्पोजल टोली आएर डिस्पोज गरेको हो । स्थानीयलाई आतंकित पार्ने प्रयासस्वरुप विद्यालयको पछाडि पाखोमा विस्फोटक पदार्थ राखिएको पाइएको प्रहरीले जनाइएको छ ।

मध्यरातमा उम्मेदवारको घरमा बम विस्फोट

कपिलवस्तु, मंसिर १६ । कपिलवस्तुमा शुक्रबार राति संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) का प्रतिनिधिसभा १ प्रदेशसभा (१) का उम्मेदवार दिनेश जयसवालको घरमा बम विस्फोट भएको छ । बम प्रहारबाट घरका जस्तापातामा प्वाल परेको छ । बाणगंगा नगरपालिका–१० कोरिया चोकमा अज्ञात समूहले दुई पटकसम्म बम विस्फोट गराएको स्थानीयले बताएका छन् । घरमा लक्षित गरी प्रहार गरिएको बमबाट कुनै मानवीय क्षति नभए पनि जस्तापातामा प्वाल परेको उम्मेदवारका दाजु शिवगुलाम कलवारले बताउनुभयो । राति करिब १ बजेको समयमा तीन चार जनाको समूहमा आएका अज्ञात समूहले घर तोडफोड गर्न थालेपछि आफूहरुले रोक्न खोज्दा बम प्रहार गरेको कलवारले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक प्रल्हाद अधिकारले उम्मेदवारको घरमा विस्फोट गराइएको बम तर्साउनका लागि हुनसक्ने भन्दै उक्त विषयमा अनुसन्धान गरिरहेको बताउनुभयो । उम्मेदवार कलवारलाई संघीय समाजवादी फोरम नेपालले प्रदेशसभामा सघाएको छ । शुक्रबार दिउँसो पनि शिवराज नगरपालिका–९ भगवानपुरमा नयाँ शक्ति नेपाल पार्टीका प्रतिनिधिसभा ३ का उम्मेदवारलाई लक्षित गरी रिमोट बम प्रहार भएको थियो ।