बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश
काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसूति गृहबाट बच्चा चोरेको आरोप लागेकी महिलालाई एक लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश भएको छ।
काठमाडौं जिल्ला अदालतले उक्त आदेश गरेको हो ।
ती महिलाले आफू डिप्रेसनको बिरामी भएको र कसैलाई नभेटेपछि होस गुमेर बच्चा घर लिएर जान पुगेको बयान दिएकी छिन्।
दैलेखकी २७ वर्षीया मानकुमारी सिंहविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दामा अभियोग पत्र दायर भएको थियो ।
फागुन ११ गते राती मानकुमारी भक्तपुरबाट पक्राउ परेकी थिइन् । पूजन श्रेष्ठले आफ्नो नवजात शिशु अस्पतालबाटै चोरी भएको उजुरी गरेपछि तत्कालै प्रहरीले अनुसन्धान सुरु गरेको थियो।
पूजनको २६ दिनको छोरीलाई उपचारका लागि प्रसूति गृह ल्याउँदा फागुन ११ गते दिउँसो अस्पतालबाट एक महिलाले लगिरहेको सिसिटिभी फुटेजमा देखिएको थियो ।
मानकुमारीले आफू लगातार गर्भ खेर गएपछि डिप्रेसनमा गएको र होस् गुमाएर बच्चा घर लान पुगेको बयान दिएकी थिइन् ।
पोखरामा व्यावसायिक उडानका लागि पहल हुन्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले व्यावसायिक उडानका लागि सम्बद्व पक्षसँग नेपाल सरकारले आवश्यक पहल तथा समन्वय गर्ने प्रतिबद्ध व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको पोखराको सांस्कृतिक तथा आर्थिक विकासका लागि कोरोला–त्रिवेणी नाकालाई प्रभावकारी रूपमा सञ्चालन गर्न नेपाल सरकारले थप पहल तथा समन्वय गर्नेछ ।” उनले गण्डकी प्रदेशको विकासमा दुरगामी महत्त्व राख्ने मध्यपहाडी लोकमार्ग सम्पन्न गर्न तथा पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डमा निर्माणाधीन सडक निर्माण कार्यलाई तिव्रता दिन आवश्यक समन्वय तथा अनुगमनलाई प्रभावकारी बनाउँदै लगिने बताए। “पर्यटनको राजधानी पोखरालाई विश्वकै विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न हामी सबैले भूमिका खेलौँ,” प्रधानमन्त्री प्रचण्डले भने, “आन्तरिक पर्यटन प्रवर्द्धनमा सरकार, निजी क्षेत्र र नागरिक समाजबीच बलियो एकता र सहकार्यका साथ अगाडि बढौँ ।” लक्ष्यअनुसार पर्यटक भित्राउन खेल्नुपर्ने विशिष्ट भूमिकाहरू पूर्ण निष्ठा र इमानदारिताका साथ पूरा गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले त्यस कार्यका लागि सम्पूर्ण पोखरेली जनसमुदायमा अपील गरे।
‘सोर्स–फोर्स’ लगाउन खोजे मूल्यांकनमा ०.५ अंक घटाइन्छ : शिक्षा मन्त्री
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ अंक काटिने भएको छ । शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति यस्तो कार्य गरे अंक काटिने बताएकी छन्। “शिक्षा मन्त्रालय वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टी तथा कर्मचारीमार्फत वा कुनै पनि साइनो लाएर कुनै किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि सोर्स–फोर्स लाउन कसैले खोज्छ भने उसको मूल्यांकनमा ०.५ नम्बर घटाइनेछ,” मन्त्री श्रेष्ठको सचिवालयको फेसबुक पेजमा लेखिएको छ। यस्तै, भर्ना वा छात्रवृत्ति समेतका निम्ति समेत ‘सोर्स–फोर्स’ वा बार्गेनिङको गन्ध थाहा पाए स–प्रमाण उजुरी गर्न मन्त्री श्रेष्ठको अनुरोध छ । यस्ता कार्य गर्नेलाई अनुसन्धान गरी तत्काल कारबाही गर्ने उनको भनाइ छ।
मुख्यमन्त्री नपाए दुवै गठबन्धनमा नलाग्ने लौरोको निर्णय
हेटौंडा । बागमती प्रदेशमा हाम्रो नेपाली पार्टी (लौरो) ले मुख्यमन्त्रीको दाबी गरेको छ । शालिकराम जम्मकट्टेल नेतृत्वको सरकार जोगाउन निर्णायक मानिएको लौरोले आफुले नै मुख्यमन्त्री पाउनुपर्ने दावी गरेको हो । हिजो र आज बसेको पार्टीको बैठकले मुख्यमन्त्री नपाए कुनै पनि दल वा गठबन्धनको पक्ष वा विपक्षमा नलाग्ने निर्णय पनि गरेको पार्टी प्रवक्ता ई रोहन कार्कीले जानकारी दिए । ‘कुनै गठबन्धनमा नलागी देश र जनताको पक्षमा रहने निर्णय गभएको छ । लोकतान्त्रिक पद्धति र जनताको विश्वासलाई कायम राख्न बागमती प्रदेश सरकारको नेतृत्व गर्नका लागि हाम्रो नेपाली पार्टी तयार छ’, उनले भने । प्रवक्ता कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘आम नागरिकले देख्न चाहेको जस्तो वास्तविक नयाँ दलका रूपमा अग्लो भएर उभिनेछौं । नो नट अगेन भनेकाहरूलाई नै काँध हालेर अर्को त्यस्तै प्रवृतिलाई बागमती प्रदेश सरकारको शिरमा राख्न हामी हाम्रो काँध प्रयोग हुन दिने छैनौं तर लोकतान्त्रिक र नयाँ चरित्रकारूपमा हामीलाई नेतृत्व दिएर सुशासन र पारदर्शीतासहितको नयाँ बाटो हिँड्न चाहेमा हामी सबै पार्टीहरूसँग सहकार्य गरेर प्रदेश सरकारको नेतृत्वदायी भूमिका अपनाउन सक्षम छौं । यसमा पछि हट्ने छैनौं’, उल्लेख छ । सत्ता समीकरण फेरिएसँगै नेपाली कांग्रेसले आफ्ना ६ जना मन्त्रीहरूलाई बोलाएसँगै एमाले–माओवादी–नेकपा एससहितको गठबन्धन अल्पमत परेको छ । यससँगै वाग्मतीमा लौरो निर्णायक मानिएको छ । केन्द्रीय गठबन्धनमा भएका दलमध्ये बागमती प्रदेशसभामा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीको मात्र सहभागिता रहेको छ । तर, यी दलको मात्र बहुमत पुग्दैन । ११० सांसद रहेको बागमतीमा सरकार गठनको लागि ५६ प्रदेशसभा सदस्यको साथ चाहिन्छ । यहाँ नयाँ गठबन्धसँग एमालेका २७, माओवादी केन्द्रका २१ र नेकपा एसका ७ गरी ५५ जनामात्र छन् । हानेपाबाट वाग्मतीमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी २ जना सांसद छन् । मुख्यमन्त्रीनिकट स्रोतकाअनुसार दुवैजनालाई मन्त्रीको अफर गरिसकिएको छ । यहाँ कांग्रेसका ३७, राप्रपाका १२ र नेकपा एसका ७ सांसद छन् ।
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभु लामाटार भुजुङ्गे चोकबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । स्थानीय ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाई समेत ११ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
२७ किलो गाँजासहित ७ जना पक्राउ
काठमाडौं । करिब २७ किलो गाँजा सहित विभिन्न स्थानबाट सात जना पक्राउ परेका छन् । छुट्टाछुट्टै स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका १० नामटार घर भई हेटौंडा उपमहानगरपालिका १९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा प्र ०३ ००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । यस्तै, कास्कीको पोखरा महानगरपालिका १२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका ९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । यसैगरी, रूपन्देहीको बुटवल उपमहानगरपालिका १३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका ५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु २ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
अन्सारीप्रति शोक प्रस्ताव पारित गर्दै संसद बैठक स्थगित
काठमाडौं । प्रतिनिधि सभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरे सँगै प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । शोक प्रस्ताव पारित गरेर स्थगित भएको प्रतिनिधि सभाको अर्को बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । ६० वर्षकी अन्सारीको आइतबार बिहान निधन भएको हो । उनको उपचारको क्रममा काठमाडौंको सिभिल अस्पतालमा निधन भएको थियो । उनी जनता समाजवादी पार्टी, नेपालको पोलिटब्यूरो सदस्य थिइन् । २०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ चैत १९ गते प्रतिनिधि सभा सदस्य चयन भएकी थिइन् ।
रास्वपाले परिवादबादलाई निषेध गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राजनीतिक नियुक्तिमा परिवारवाद निषेध गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रास्वपाको बैठकले परिवारवादलाई निषेध गर्ने र मेरिटोक्रेसीलाई प्रधान मान्ने निर्णय गरेको हो । बैठकपछि रास्वपाका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले ‘राजनीतिक नियुक्तिमा परिवारवादलाई पूर्ण निषेध गरिएको छ । यस्ता नियुक्ति जान्नेलाई छान्ने पार्टीको अवधारणा अनुसार समावेशितालाई मध्यनजर गरी मेरिटोक्रेसीलाई प्रधान मानी अघि बढाइने छ ।’ उनले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरुलाई सघाउन विज्ञ समूह बनाउने निर्णय पनि गरेको जानकारी दिए । सो समूहमा सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरुलाई राख्ने रास्वपाले जनाएको छ । पार्टी र मन्त्रीहरुबीच समन्वय गर्ने उद्देश्यले गठन गरिएको समन्वय समितिले मन्त्रीहरुको काम प्रभावकारी बनाउन विज्ञ समूह बनाउने निर्णय गरेको ढकालले जानकारी दिए । मन्त्रीहरु र पार्टीबीच समन्वय गर्न डा. स्वणिर्म वाग्लेको नेतृत्वमा महामन्त्री ढकाल र शिशिर खनाल रहेको समन्वय समिति गठन गरिएको छ । समितिको सचिवको जिम्मेवारी शिशिर खनालले पाएका छन् । यो समितिको बैठक प्रत्येक आइतबार बस्ने गरेको छ । आजको दोस्रो बैठकले सरूवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी खारेजसम्म गर्न सकिने निर्णय पनि गरेको प्रबक्ता ढकालले बताए । उनका अनुसार बैठकमा मन्त्रालयहरूको एक हप्ताको काम, अनुभव र कमजोरीबारे समीक्षा गर्नुका साथै मन्त्रालयका बजेट, नीति तथा कार्यक्रम र तत्कालका लागि संशोधन गर्नुपर्ने नियम एवं साझा न्युनतम कार्यक्रमबारे समेत छलफल भएको छ । वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।
टी–२० विश्वकप देखि यसरी हुँदैछ ५ रन कटौती
काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप सुरु हुनुअघि अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नयाँ नियम लागू हुने भएको छ । आगामी जुनमा आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौ संस्करण हुँदैछ । यही टी–२० विश्वकप देखि नयाँ नियम सुरु हुने भएको छ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट, टी–२० अन्तर्राष्ट्रिय क्रिकेट लगायतका सिमित ओभरका प्रतियोगितामा नयाँ नियम लागू गरिने भएको हो । हालै दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को बैठकले यस्तो निर्णय गरेको हो । आगामी जुन १ तारिखदेखि नयाँ नियम लागू हुने भए पछि टी–२० विश्वकपमा यही नियम प्रयोग हुने भएको हो । आइसीसी बैठकको निर्णय अनुसार सिमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरले घडीको प्रयोग गर्नेछन् । प्रत्येक ओभरको समाप्तिपछि फिल्डिङ गर्ने पक्षले अर्को ओभर सुरु गर्न ६० सेकेन्ड मात्रै समय पाउँछ । फिल्डिङ गर्ने टोलीले पहिलो ओभर सकिएको ६० सेकेन्डभित्र अर्को ओभर बलिङ नगरेमा अम्पायरले दुईपटक सम्म चेतावनी दिनेछन् । र दुईपटक चेतावनी दिँदा समेत फिल्डिङ गर्ने पक्षले त्यही गल्ति गरेमा जरिवानाका रुपमा पाँच रन कटौती हुनेछ । यो नियम लागू भएपछि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको प्रत्येक खेलमा कम्तिमा २० मिनेट समय जोगिने आईसीसीले विश्वास लिएको छ । सन् २०२३ मा वेस्ट इन्डिज र इङ्ल्यान्डबिच भएको टी–२० अन्तर्राष्ट्रिय शृंखलामा यो नियम परीक्षण गरिएको थियो ।
सुनको मूल्य फेरि घट्यो, चाँदीको बढ्यो
काठमाडौँ । आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत साताको शुक्रबारको तुलनामा आज मूल्य घटेर कारोबार सुरु भएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार रुपैयाँ कायम छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ४०० रुपैयाँ कायम छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख २४ हजार ८०० रुपैयाँ कायम थियो । अघिल्लो साता सुनको मुल्य उच्च विन्दुमा एक लाख २६ हजार पुगेको थियो । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले गत साताको शुक्रबारको तुलनामा चाँदीको मूल्य १५ रुपैयाँले बढेर कारोबार सुरु भएको जनाएको हो । यससँगै, आज चाँदीको मूल्य तोलामा १५ सय ३० रुपैयाँ कायम छ । गत साताको शुक्रबार चाँदीको १५ सय १५ रुपैयाँ कायम थियो ।
रसुवामा भूकम्पको धक्का महसुस
काठमाडौं । रसुवामा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान पौने १० बजे ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार जिल्लाको जुरे ढुंगा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भुकम्पको धक्का महसुस रसुवा र आसपासमा सामान्य गरिएको थियो ।
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छ : प्रधानमन्त्री
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्द्धन र हितका निम्ति सञ्चार माध्यमको व्यावसायिक र संस्थागत विकास गरिने बताए। “वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेण्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण गर्नुका साथै कानुनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्री प्रचण्डले भने, “आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउने गरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ ।”
प्रविधिको प्रयोगबाट मात्रै समृद्धि प्राप्त हुन्छ : प्रधानमन्त्री
पोखरा ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको प्रयोगबाट समृद्धि प्राप्त हुन्छ भन्ने वर्तमान सत्यलाई आत्मसात गर्नुपर्ने बताएका छन्। प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आजको युग विज्ञ–प्रविधि र मुख्यतः सूचना प्रविधिको युग भएको बताए। “आज दुनियाँमा त्यस्तो कुनै क्षेत्र छैन, जहाँ सूचना–प्रविधिको निर्णायक भूमिका नहोस्,” प्रधानमन्त्री प्रचण्डले भने, “हिजो सूचना सम्प्रेषणको माध्यमका रूपमा विकसित प्रविधिको क्षेत्र ज्ञान–विज्ञान, उत्पादन, निर्माण, ज्ञान उत्पादन, सम्प्रेषणसहित अर्थतन्त्रको निर्णायक क्षेत्रका रूपमा उपस्थित छ ।” सूचना–प्रविधिको विकास र यसबाट सिङ्गो विश्व र राष्ट्रिय जीवनमा पारेको प्रभाव एवं राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक रहेको प्रधानमन्त्रीको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले भने, “चौंथो औद्योगिक क्रान्तिका रूपमा विकसित सूचना प्रविधिले मानव जाति र सामाजिक जीवनका सम्पूर्ण अवयवहरूमा सकारात्मक प्रभाव मात्र पारेको छैन, अपितु सूचना–प्रविधिभन्दा बाहिरबाट मानव जातिको अस्तित्वको कल्पना नै गर्न नसकिने ठाउँमा सिङ्गो विश्व आइपुगेको छ ।”
मोरङको पथरीमा आगलागी, डेढ करोडको क्षति
पथरी । मोरङको पथरी शनिश्चरे वडा नं.१ बुद्ध चोकमा रहेको कोसी चिउरा मिलमा गएराति आगलागी भएको छ । आगलागीबाट एक करोड ५० लाखको क्षति भएको छ। राति १२ बजे मिलमा आगलागी मिलका मेसिनरीसहित त्यहाँ राखिएको अन्न खरानी भएको स्थानीयले बताए । मिलमा आगो सल्केको दुई घण्टापछि मात्र स्थानीयले थाहा पाएका थिए। स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सहयोगमा आगो निभाइएको थियो। मिलमा कोही नबस्ने भएकाले मानवीय क्षति भने भएन । आगो निभाउन पथरीशनिश्चरे, उर्लाबारी, कानेपोखरी र बेलबारी नगरपालिकाका दमकल प्रयोग गरिएको थियो । आगलागीको कारणबारे यकिन जानकारी प्राप्त नभएको प्रहरी कार्यलय पथरीले जनाएको छ ।
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। महाशाखाका अनुसार अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहेको छ। आइतबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले बताएको छ। राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् जनाएको छ।
त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका सच्चिएर पुनः प्रकाशित
काठमाडौं। त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले स्नातक तह दोस्रो वर्षको परीक्षा तालिका पुनः प्रकाशित गरेको छ। यसअघि सार्वजनिक गरेको परीक्षा तालिकामा त्रुटि भेटिएपछि पनिकाले सच्याएको हो। यसअघि शुक्रबार सार्वजनिक गरेको सूचना अनुसार चैत २८ गतेदेखि हुने भनिएको परीक्षामा चैत ३१ गते पनि परीक्षा राखिएको थियो । जबकि चैत महिना ३० गतेसम्म मात्रै छ। त्रुटिपूर्ण तालिकाबारे विरोध सुरु भएपछि पनिकाले आफ्नो वेबसाइटबाट हटाएको थियो।

