सहकारी र लघुवित्तलाई कडाइका साथ नियमन गर्छौँ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रचलित कानुन तथा नेपाल राष्ट्र बैङ्कबाट दिइएको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थाहरूलाई छानविन गरी कारबाहीको दायरामा ल्याइने बताएका छन् ।

संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले तोकेकोभन्दा बढी शुल्कभन्दा बढी शुल्क सम्बन्धित खातावालाई फिर्ता लिने काम भइरहेको जानकारी गराए। 

“तोकेभन्दा बढी लिइएको सेवा शुल्क फिर्ता गरी सम्बन्धित ऋणीको खातामा जम्मा गर्न दिएको निर्देशन कार्यान्वयन भइरहेको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “गुनासो सुनुवाइ र त्यसको समाधानका लागि लघुवित्त संस्था सुपरीवेक्षण विभागमा बेग्लै डेस्कको ब्यवस्था गरिएको छ ।” 

प्रधानमन्त्री प्रचण्डले दुग्ध किसानको भुक्तानी सहज बनाउन सरकार, सम्वन्धित उद्योगी–व्यवसायी र किसान सङ्गठनबीच वार्ता गराई किसानले पाउनुपर्ने पौष मसान्तसम्मको बक्यौता चैत्र २१ गतेभित्र भुक्तानी गरिसक्ने र अन्य नियमित भुक्तानी जारी राख्ने सहमति भएको बताए। उनले कपिलवस्तुको रामग्रामको जग्गा लिज सम्बन्धमा प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले दिएको निर्देशन लुम्बिनी विकास कोषको कार्यकारिणी समितिले कार्यान्वयन गरिसकेको जानकारी गराए । 

बचत तथा ऋणको मुख्य कारोबार गर्ने कुनै पनि प्रकृतिको सहकारी सङ्घ, प्रदेश र स्थानीय तहबाट दर्ता, कार्यक्षेत्र विस्तार र सेवा केन्द्रको स्वीकृतिमा रोक लगाइएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले वित्तीय सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक निकाय बनाउने कानुनको मस्यौदा अन्तिम चरणमा पुगेको जानकारी दिए । 

सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको १ लाख २५ हजार

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । लगातार बढिरहेको सुनको मुल्य बुधवार तोलामा १ लाख २३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । विहीबार छापावाल सुनको मूल्य बिहीबार थप १५ सय बढ्दै १ लाख २५ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार तोलामा १ लाख २३ हजार रुपैयाँ कायम भएको कीर्तिमान बनेको मूल्यमा बुधवार र बिहीबार थप बढेर उच्च बिन्दुमा पुगेको हो ।  यस्तै बिहीबार तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ ।  यस्तै बिहीबार चाँदी तोलामा १ हजार ४७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधवार चाँदीको मूल्य प्रतितोला १४ सय ४० रुपैयाँ कायम थियो ।

यस्ता छन् नवनियुक्त मन्त्रीहरूका पहिलो निर्णय

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले बुधबार पदबहाली परेका छन् । राष्ट्रपति निवासमा शपथ ग्रहण गरे लगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्दै उनीहरुले पहिलो निर्णय गरेका हुन् ।  उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा देखिएका समस्या र सडकसम्बन्धी पूर्वाधार निर्माणमा भएको ढिलाइबारे अध्ययन गर्न सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेका छन् । १५ दिनभित्र सुुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदललाई निर्देशन दिइएको छ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीले नारायणकाजी श्रेष्ठले नेपाल र डोमेनिकन रिपब्लिकबीच द्विपक्षीय परामर्श संयन्त्र गठन गर्ने पहिलो निर्णय गरेका छन् ।  अर्थमन्त्री वर्षमान पुनले हरित जलवायु कोष (जिसिएफ)को ‘कन्ट्री प्रोग्राम’अन्तर्गत पाइपलाइनमा रहेका आयोजनाको अद्यावधिक गर्ने, हरित जलवायु कोषमार्फत सञ्चालन हुने आयोजनालाई दिगो र पूर्वाधारयुक्त बनाउन सम्बन्धित विषयगत मन्त्रालय र दातृ निकायलाई मार्गनिर्देश गर्ने, जलवायु कोषहरूबाट प्राप्त हुने स्रोत (अनुदान तथा सहुलियतपूर्ण सहायता) लाई मिलाई गरी सरकारी तथा निजी क्षेत्रलाई समेत परिचालन गर्ने निर्णय गरेका छन् । ‘अर्थतन्त्रमा संकट नै होइन । चलायमान कम भएको हो, खास–खास क्षेत्रमा । चुनौती छन् । प्रधानमन्त्रीजीले मुख्य कामका रूपमा खासगरी आर्थिक समृद्धि, सुशासन, सामाजिक न्याय कायम गर्ने प्राथमिकता निर्धारण गर्नुभएको छ । नयाँ सहकार्यले त्यसैलाई नै आत्मसात् गरेको छ’, पुनले भने । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेतले मन्त्रालयको जनरल नेटवर्क एक्सेस फ्रेमवर्कको अधीनमा रहेर विस्तृत रूपमा जनरल नेटवर्क एसेससम्बन्धी निर्देशिका तयार गर्ने निर्णय गरेका छन् । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले क्षमता विकाससँग सम्बन्धित तालिमका लागि सेनाका अधिकृतलाई जर्मनी पठाउने पहिलो निर्णय गरेका छन् । सञ्चारमन्त्री रेखा शर्माले नेपालमा ब्यान्डविथ प्लेटफर्म (अन्तर्राष्ट्रिय इन्टरनेट गेटवे)को सम्भावना अध्ययनका लागि समिति गठन गर्ने निर्णय गरेकी छन् । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सुर्खेतको कालिका माविका लागि ६ रोपनी वनको जग्गाको भोगाधिकार र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनका लागी राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय गरेका छन् । कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना कार्यान्वयन गर्नेसम्बन्धी कार्यविधि स्वीकृत गरेकी छन् । मन्त्रालयले गत आवदेखि सञ्चालन गरेको यो परियोजनाको कार्यान्वयनबाट पहाडी तथा हिमाली क्षेत्रमा १० हजार हेक्टर क्षेत्रफलमा फलफूल खेती विस्तार गर्ने योजना बनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले एकद्वार प्रणालीबाट श्रमिकको समस्या सुन्न प्रभावकारी कल सेन्टर स्थापना गर्ने । र, मलेसियासँगको श्रम सम्झौता नवीकरणका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले हवाई नीति–२०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवं सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णय गरेका छन् । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मन्त्रालयअन्तर्गतका सातवटा महाशाखा र विभिन्न निकायमा रहेका कर्मचारीको दरबन्दी नबढ्ने गरी समायोजन गर्न सुझावसहितको अध्ययन गरी प्रतिवेदन तयार गर्ने पहिलो निर्णय गरेका छन् । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलाडीहरूलाई खेल मैदानसँग जोडिरहन, मनोबल बढाउन र खेलमार्फत राष्ट्रको गरिमा उच्च राख्न, राष्ट्रियस्तरमा हुने खेलकुद प्रतियोगितालाई व्यावसायिक बनाउन तालिका क्यालेन्डरसहितको कार्ययोजना बनाई समन्वयात्मक रूपमा कार्यान्वयन गर्न खेलकुद विकास ऐन २०७७ को दफा ५१ बमोजिम राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिने निर्णय गरेका छन् । शिक्षामन्त्री सुमना श्रेष्ठले नेपाली युवालाई नेपालमै गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न त्रिभुवन विश्वविद्यालयलगायत संघीय कानुनअन्तर्गत स्थापना तथा सञ्चालनमा रहेका मौजुदा तेह्रवटा विश्वविद्यालयमध्ये एघारवटा विश्वविद्यालयमा रहेको कुलपति तथा सहकुलपतिको व्यवस्थालाई समसामयिक रूपमा परिमार्जन गरी विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्याक्तित्वबाट हुने गरी कानुनी प्रवन्ध गर्न आवश्यक भएकाले मौजुदा विश्वविद्यालयसम्बन्धी ऐन तथा उच्च शिक्षासम्बन्धी कानुनमा सोही बमोजिमको सुधार गर्न आवश्यक व्यवस्थाका लागि प्रारम्भिक काम कारवाही अगाडि बढाउने निर्णय गरेकी छन् ।

स्वास्थ्य मन्त्री बन्दै उपेन्द्र यादव आजै शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी अध्यक्ष उपेन्द्र यादव नेपाल सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बन्दै छन् । अहिले बसिरहेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अर्का मन्त्रीको नाम टुंग्गो लागाएपछि  जसपा नेपालले सरकारमा सहभागी हुनेछ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आज बिहान ८ देखि बैठक बसिरहेको छ । उपेन्द्र यादव सहित उनको पार्टीबाट बन्ने मन्त्रीलाई आजै शपथ गराउने तयारी छ ।  जसपा १५ संघीय सांसद रहेकाे जसपाले सरकारमा सहभागी हुने निर्णय यसअघि नै गरिसकेको छ ।  

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवैको बैठक आज बस्न लागेको हो ।  प्रतिनिधिसभा ११ बजे र राष्ट्रियसभाको बैठक १ः १७ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । यसअघि फागुन २१ गते  बोलाइएको बैठक सूचना टाँसेर स्थगन गरिएको थियो । सो बैठकमा सांसदहरुको प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने कार्यक्रम रहेको थियो । अहिले प्रश्न गर्नेहरु नै सरकारमा आइसकेपछि संसद नयाँ कायसूची अनुसार सञ्चालन हुनेछ । प्रतिनिधिसभाको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापतिले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रियसभाको बैठकमा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति र कार्यभारसम्बन्धी पत्रबारे जानकारी गराउने, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोक सेवा आयोगको ६४औँ वार्षिक प्रतिवेदन’ पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘अनुगमन तथा मूल्यांकन विधेयक, २०७६’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी बैठकमा गराउने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

आज देशकका केही भू-भागमा बदली र हिमपात हुने

काठमाडौं । देशका केही भू–भागमा आज बदली र हिमपात हुनेछ । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक मात्रै प्रभाव रहेका कारण वर्षाको भने सम्भावना छैन । उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागको मौसम मुख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ । विभागले राति देशको पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पर्यटन मन्त्री हितबहादुर तामाङद्धारा पदभार ग्रहण

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले पदभार ग्रहण गरेका छन् । सिंहदरवारस्थित मन्त्रालयमा पुगेर मन्त्री तामाङले पदभार ग्रहण गरेका छन् ।  पदभार ग्रहण गर्ने क्रममा उनले हवाई नीति २०६३ संशोधन गर्न सुझाव दिनका लागि सम्बन्धित महाशाखा प्रमुख एवम् सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा कार्यदल गठन गर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।

शेयर लगानीकर्ताको हित रक्षा गर्ने अर्थमन्त्री पुनको प्रतिबद्धता

काठमाडौं । नव नियुक्त अर्थमन्त्री वर्षमान पुनले शेयर लगानीकर्ताहरुको हित रक्षा गर्ने प्रतिबद्धता जनाएका छन् ।आज शपथ ग्रहण पश्चात सिंदरबारमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् । शेयर बजारमा ६० लाख भन्दा बढि जनताको लगानी रहेको उल्लेख गर्दै यस क्षेत्रको अन्योलता चिरेर काम गर्ने बताए । मन्त्री पुनले शेयर बजारमा ६० लाख जनताको लगानी रहेको शेयर बजारमा चलखेल हुन नदिने बताउँदै शेयर बजारमा तलमाथि गर्ने जस्तो प्रवृत्तिहरु निरुत्साहित गरिने उनले बताए । मन्त्री पुनले लगानीकर्ताको मनोबल उच्च बनाएर काम गर्ने वातावरण बनाउने समेत बताए ।   

सञ्चार तथा सूचना प्रविधिमन्त्रीद्वारा पदभार ग्रहण

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शपथ लगत्तै सिंदरबारमा पुगेर पदभार ग्रहण गरेकी छिन् ।  राष्ट्रपति भवनमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै उनी सिंहदरबारस्थित सञ्चार मन्त्रालय पुगेकी हुन् । सञ्चार मन्त्रालयमा सचिव तथा उच्च अधिकारीले स्वागत गरेपछि सञ्चारमन्त्री शर्माले पदभार ग्रहण गरिन। निवर्तमान सञ्चारमन्त्री शर्मा बुधबार दिउँसोमात्र मन्त्रालयमा बिदाइ कार्यक्रम गरेर बाहिरिएकी थिइन् । बिदाइ कार्यक्रम हुँदै गर्दा उनलाई पुनः सञ्चारमन्त्रीकै रुपमा शपथका लागि निम्तो पुगेको थियो । 

जनयुद्दकालीन डायरीहरुले सम्झायो युद्धका दिनहरु

नेपालगञ्ज । पत्रकार मनऋषि धितालले लेखेका सात वटा पुस्तकको बारेमा नेपालगञ्जमा संबाद कार्यक्रम भएको छ । धितालले लेखेका जनयुद्धकालिन डायरीहरुको संगालो सात वटा पुस्तकमाथि नेपालगञ्जमा संबाद कार्यक्रम बुधबार सम्पन्न भएको हो । सो क्रममा फेरि पनि जनयुद्धका दिनहरुको स्मरण भएको छ । प्रेस सेन्टर लुम्बिनी प्रदेशको आयोजनामा भएको सम्बाद कार्यक्रममा पत्रकार धिताललाई सम्मान पनि गरिएको छ ।  कार्यक्रममा सात वटा पुस्तक माथि फरक फरक बत्ताहरुले समिक्षा गरेका छन् ।  धितालले लेखेको डायरी जेल यात्रा पुस्तकको बारेमा पत्रकार तुला अधिकारीले समिक्षा गरेका छन् । यस्तै, अर्को पुस्तक बेनी यात्राका विषयमा साहित्यकार महानन्द ढकालले, आधार यात्रा पुस्तकको बारेमा पत्रकार शंकर खनालले, राजमार्ग यात्राको बारेमा साहित्यकार लेक प्याकुरेलले समिक्षा गरेका छन् ।  यसैगरी, पिली यात्राको बारेमा राजनीतिककर्मी दुर्गा बहादुर थारुले, गण्डक यात्राको बारेमा बरिष्ठ पत्रकार नरेन्द्रजंग पिटरले र गुफाप्रेसका चिठ्ठीमाथि साहित्यकार शशिराम कार्कीले समिक्षा गरेका छन् ।  नेपालगञ्जको सुनाखरी रेस्टुरेन्ट बिपि चौकमा भएको कार्यक्रममा समिक्षकहरुले पत्रकार धितालले लेखेका पुस्तकले जनयुद्धको दस्तावेजको काम गरेको बताएका थिए । उनीहरुले यो डायरीहरुबाट सत्यकथामा आधारित उपन्यास बनाउन पनि सकिने बताए । समिक्षकहरुले कृति यथार्थपरक रहेको पनि बताए ।उनीहरुले एकैपटक यति धेरै डायरीहरु प्रकाशन गर्नु ऐतिहासिक काम भएको समेत बताए ।  समिक्षकहरुले जनयुद्धमा भएका वास्तविक घटनाक्रमहरुलाई जस्ताको तस्तै उतार्न पुस्तक सफल भएको टिप्पणी पनि गरे । पत्रकार धितालले जनयुद्धको समयमा भएका घटनाक्रमहरुलाई टिपोट गर्ने गरेको र अहिले त्यसलाई पुस्तकको रुपमा प्रकाशन गरिएको जानकारी दिए । पत्रकार धितालका सात पुस्तक गएको फागुन १ गते जनयुद्ध दिवशको अवसरमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेका थिए । बरिष्ठ पत्रकार धिताल जनयुद्धकालका मोर्चाहरुमा समेत प्रत्यक्ष रुपमा पत्रकारितामा संलग्न रहेका थिए । 

सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक :  एकीकृत समाजवादी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा जान सकारात्म देखिएको छ । आफूहरूका सर्तहरू मान्न तयार भए एकीकृत समाजवादी सरकारमा सहभागी हुन तयार रहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार पार्टीको आज बसेको सचिवालय बैठकले प्रधानमन्त्री र सत्ता गठबन्धनबाट आएको प्रस्तावमा सकारात्मक भएको निष्कर्ष निकालेको छ । पार्टीका माग राख्न पार्टी अध्यक्ष माधव नेपाल‚ महासचिव घनश्याम भुसाल र उपाध्यक्ष प्रमेश हमाल गठबन्धनका नेताहरूसँग छलफल गर्न गएका छन् ।

रास्वपाका ४ मन्त्री यी हुन् मन्त्रालय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चार मन्त्रालय लिने भएको छ । बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार रास्वपाले गृह, खेलकुद, शिक्षा र श्रम मन्त्रालय लिने भएको हो ।  बुधबार दिउँसो टुंगिएको भागबन्डाअनुसार पार्टीबाट रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने भएका छन् । पार्टी रविकै नेतृत्वमा सरकार जाने भएको हो ।  पार्टीका एक नेताले दिएको जानकारीअनुसार डीपी अर्याल श्रममन्त्री बन्ने भएका छन् । यस्तै, संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ खेलकुदमन्त्री बन्दा सहमहामन्त्री सुमना श्रेष्ठ शिक्षामन्त्री बन्ने पक्का भएका हुन् ।

माओवादीका ५ मन्त्री जसले नेतृत्व गर्दैछन् यी मन्त्रालय

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट जाने मन्त्रीको मन्त्रालय टुंगिएको छ । सत्तागठबन्धनमा भागबन्डा टुंगाएपछि माओवादीले पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाएको हो । माओवादीले यसअघि उपप्रधान तथा गृहमन्त्री रहेका नारायणकाजी श्रेष्ठलाई परराष्ट्र, वर्षमान पुनलाई अर्थ, शक्ति बस्नेतलाई उर्जा, रेखा शर्मालाई सञ्चार र हितबहादुर तामाङलाई पर्यटन मन्त्रालयमा पठाइने भएको छ । माओवादीले सुदन किरातीबाहेक सबै दोहोरिने मौका पाएका छन् उपमहासचिवसमेत रहेका पुनलाई नयाँ ल्याइएको छ । आज बसेको गठबन्धनको बैठकमा नेकपा एमालेलाई ८, माओवादी केन्द्रलाई ५, रास्वपालाई ४ र जसपालाई २ मन्त्रालय दिने समझदारी बनेको छ।

धादिङ बस दुर्घटना :  सातमध्ये २ मृतकको सनाखत, नदीमा अझै केही बेपत्ता भएको आशंका

काठमाडौं । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा आज बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने सातजनामध्ये अहिलेसम्म दुई जनाको मात्रै सनाखत भएको छ।  दुर्घटनामा मृत्यु भएका सातमध्ये दुई जनाको मात्रै सनाखत भएको छ ।बाँकि ५ जनाको सनाखत हुन सकेको छैन । सनाखत हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका २ की ३२ वर्षीया रुबी श्रेष्ठ र काठमाडौँको चन्द्रागिरि नगरपालिका १० का ५५ वर्षीय देखा कटुवार रहेका रहेका छन् । अझै त्रिशूली नदीमा केही मानिस बेपत्ता भएको आशंकामा खोजी कार्य पनि जारी छ ।   

माओवादीद्धारा लुम्बिनी प्रदेश सरकारको समर्थन फिर्ता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  पार्टी संसदीय दलका नेता जोखबहादुर महरा र प्रमुख सचेतक इन्द्रजीत थारुले विज्ञप्ति जारी गर्दै लुम्बिनी प्रदेश सरकारलाई दिइएको समर्थन फिर्ता लिइएको जानकारी दिएका छन् ।  लुम्बिनीमा नेपाली कांग्रेस नेतृत्वमा सरकार छ ।

माओवादीद्धारा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पनि नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। धनगढीमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको सांसद ओम विक्रम भाटले जानकारी दिए। केन्द्रमा बनेको नयाँ समीकरणको असर सुदूरपश्चिममा पनि देखिएको हो। सुदूरपश्चिममा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्री छन्। उनले हिजो नै माओवादीका दुई मन्त्री र एक राज्यमन्त्री बर्खास्त गरेका थिए। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामी, सामाजिक विकास मन्त्री झपट साउँद र उद्योग राज्यमन्त्री गीतादेवी माललाई बर्खास्त गरेपछि माओवादीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। ओवादीले समर्थन फिर्ता लिए पनि एकीकृत समाजवादीले साथ दिए कांग्रेस नेतृत्वको सरकार सुरक्षित छ। ५३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस, एकीकृत, समाजवादी, र नागरिक उन्मुक्तिका सांसद मिले २९ सांसदको समर्थन जुट्नेछ। अब मुख्यमन्त्रीको भविश्य एकीकृत समाजवादीको निर्णयमा भर पर्नेछ।