भारतबाट हरेक दिन हजार लिटर दूध अायात, नेपाली व्यवसायी समस्यामा

नेपालगन्ज,असोज ३१ । अवैध रुपमा भित्रिने भारतीय दूधका कारण नेपाली व्यवसायी समस्यामा परेका छन् ।

गुणस्तर जाँचबिनै दैनिक करिब एक हजार लिटर दूध भारतबाट नेपाल आउने गरेको अन्नपूर्ण पोस्टमा खबर छ । भारतीय दूधको अवैध आयातले नेपाली व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संकटमा परेको दुग्ध व्यवसायी संघ बाँकेका अध्यक्ष बदरुद्दिन अन्सारीले बताए ।

उनले भने, -हाम्रा उद्योग धरासायी बनेको छ ।

-पशु हेटक्वारेन्टइन कार्यालयका अनुसार प्रत्येक दिन रुपौडिया नाकाबाट नौ सय ५० लिटर दूध नेपाल आउने गरेको छ । सहायक नाकाबाट पनि दुई देखि तीनसय लिटर दूध भारतबाट नेपालगन्जलगायत बाँकेका अन्य साना सहरमा पुग्ने गरेको छ ।

भारत सरकारले पशुपालक कृषकलाई विभिन्न किसिमका सहुलियत दिने भएकाले भारतीय कृषकले उत्पादन गरेको दूधको मूल्य सस्तो हुने गरेको छ ।

पुसमा पाँचौँ बागलुङ महोत्सव हुने

बागलुङ, असोज २९ । बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस दोस्रो साता पाँचौँ बागलुङ महोत्सव हुने भएको छ । व्यापार, पर्यटन प्रवद्र्धन र संस्कृति संरक्षणको उद्देश्य राखेर पुस १४ देखि २३ गतेसम्म महोत्सव आयोजना गरिएको संघका अध्यक्ष जयराम भारीले बताए । महोत्सव सम्पन्न गर्न अध्यक्ष भारीको संयोजकत्वमा मूल आयोजक समिति र विभिन्न २५ वटा उपसमिति गठन गरिएको छ । मेलामा राष्ट्रियस्तरको लोक दोहोरी, भलिबललगायतका प्रतियोगिता आयोजना गरिने भएको छ । स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री कक्षका साथमा सयौँ व्यापारिक कक्ष राखिनेछ । बागलुङको पहिचान झल्कने कला, संस्कृति र फोटो प्रदर्शनी र प्रतियोगिता पनि राखिने मूल संयोजक भारीले जानकारी दिए । यसअघि संघले चैत्राष्टमी पर्वको अवसर पारेर महोत्सव गर्ने गरे पनि पहिलोपटक पुस महिनामा गर्न लागेको हो । महोत्सव गर्नका लागि स्थान अभाव भएपछि संघले बिदाको समय पारेर धवलागिरि बहुमुखी क्याम्पसको प्राङ्गणमा महोत्सव गर्न लागेको हो ।

वातावरणीय योजना निर्माण अन्तिम चरणमा

बैतडी, असोज २९ । पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । नेपाल–भारत सीमामा बग्ने महाकाली नदीमा वातावरण विज्ञहरुको टोलीले प्रभावित क्षेत्रको निरीक्षण तथा स्थानीयवासीसँग छलफल गरी विस्तृत वातावरणीय व्यवस्थापन योजना निर्माण कार्य अन्तिम चरणमा पुर्याइएको हो । परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनल प्रालिले वातावरणविद्, कृषि विज्ञ र सामाजिक विज्ञको टोली अध्ययन अनुसन्धानबाट पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको वातावरणीय प्रभावबारे विस्तृत योजना बन्न लागेको हो । अध्ययन टोलीले यसअघि सन् २०१३ मा नेपाल सरकारले स्वीकृत गरेको आयोजनाको वातावरण प्रभाव मूल्यांकनको आधार मानेर उच्च बाँध निर्माणस्थलको अध्ययन अनुसन्धान गरी प्रतिवेदनलाई अन्तिमरुप दिने तयारी गरेको थियो । स्थानीयवासीको सुझाव संकलन नेपाली परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलले गत भदौमा आयोजनाको प्रभावित क्षेत्र बैतडी र दार्चुलाका स्थानीय तहमा गएर नागरिकसँग छलफल गरी सुझाव संकलन गरेको थियो । स्थानीयवासीको सुझावपछि प्रारम्भिक योजना बनाएको विज्ञहरुको टोलीले अहिले बैतडी र दार्चुला जिल्लामा जिल्लास्तरीय कार्यशाला गोष्ठीको आयोजना गरेर सरोकारवालाहरुको सुझाव संकलन गरेको हो । आयोजनाको विस्तृत वातावरणीय व्यवस्थापनको योजनालाई अब अन्तिमरुप दिने परामर्शदाता कम्पनी शाह कन्सल्ट इन्टरनेशनलका वातावरण विज्ञ अजयभक्त माथेमाले बताए । “एक्सपट टोलीबाट लामो समयपछिको अध्ययनपश्चात् यो योजनालाई अन्तिम रुप दिने तयारी गरेको छौँँ, उनले भने । जलाशय क्षेत्रमा व्यापक असर, २२ हजारभन्दा बढी विस्थापित हुने प्रारम्भिक प्रतिवेदनमा बैतडीको पञ्चेश्वरमा बन्ने विश्वकै दोस्रो उच्च बाँधस्थल क्षेत्रमा ठूलो र व्यापक वातावरणीय तथा सामाजिक असर पर्न सक्ने उल्लेख गरिएको छ । विशाल तथा जटिल निर्माणको चरण र आयोजना सञ्चालनको चरणमा बस्ती विस्थापन, करिब ९९४ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा पर्ने, भौतिक संरचना निर्माणको क्रममा वनजंगल नष्ट भई भूक्षय, भू–अस्थिरता, वन्यजन्तु र जडीबुटीको विनाश हुने तथा निर्माणस्थलमा विभिन्न महामारी हुन सक्ने खतरा औँल्याइएको छ । जलाशयको निर्माणले करिब दुई हजार ९२६ घरधुरीका २२ हजार ७६५ नागरिक स्थानान्तरण गर्नुपर्ने परामर्शदाता कम्पनीका सामाजिक विज्ञ शिव ढकालले बताए । यस्तै सो क्षेत्रका ऐतिहासिक, धार्मिक र सांस्कृतिक धरोहर नष्ट हुने ढकालले बताए । “आयोजना निर्माण र सञ्चालनका क्रममा सामाजिक र वातावरणीय क्षेत्रमा ठूलो हलचल हुन्छ”, उनले भने । उच्च बाँधको निर्माणपछि यस्ता फाइदा पञ्चेश्वर उच्च बाँधको निर्माणबाट आयोजना क्षेत्रका नागरिकलाई असरसँगै विभिन्न फाइदा पनि हुने विस्तृत वातावरणीय व्यवस्थापनको योजनामा उल्लेख गरिएको छ । बाँध निर्माणको क्रममा हजारौँ नागरिकले रोजगारी पाउनेछन् ,बाँध निर्माणका लागि आठ हजारभन्दा बढी कर्मचारीको आवश्यकता पर्ने बताइएको छ । यस्तै निर्माणकै क्रममा पनि होटल व्यवसाय पनि फस्टाउने छ भने आयोजना क्षेत्रमा बसोबास गर्ने नागरिकलाई लामो समय रोजगारी मिल्नेछ । जलाशय निर्माणपश्चात् पानीको सतहको क्षेत्रफल तथा आयतन बढ्दा मत्स्य उत्पादनमा वृद्धि हुने, पर्यटनको विकासमा टेवा पुग्ने, रोजगारी वृद्धि भई नागरिकलाई जीविकोपार्जन गर्न सहज हुने तथा गरिबी निवारणमा टेवा पुग्ने विज्ञहरुको भनाइ छ । “जलाशयबाट माछापालनको ठूलो सम्भावना छ”, कृषि विज्ञ गोपीकृष्ण सेंडाईले भन्नुभयोे, “पर्यटनको विकासले पनि फड्को मार्ने देखिन्छ ।” यस्ता छन् व्यवस्थापनका मुख्य योजना विस्तृत वातावरणीय व्यवस्थापन योजनामा असरहरु औँल्याएर समाधानका लागि पनि १० वटा मुख्य उपयोजना बनाइएको छ । निर्माण प्रभाव व्यवस्थापन योजना, जल ग्रहण क्षेत्र व्यवस्थापन योजना, प्रदूषण व्यवस्थापन योजना, वन संरक्षण तथा व्यवस्थापन योजना, वन्यजन्तु संरक्षण तथा व्यवस्थापन योजना, माछा व्यवस्थापन योजना, जडीबुटी व्यवस्थापन योजना, कृषि सहयोग योजना, पञ्चेश्वर सहयोग योजना र पर्यटन विकास योजना तयार गरिएको छ । यी योजनामा प्रभावित क्षेत्रमा देखिने सबै किसिमका असर तथा प्रभावबाट उत्पन्न समस्या समाधानका लागि गरिने कार्य तथा गतिविधि सूचीकृत गरिएको छ । विकास हुने संरचना निर्माणको क्रममा हुने वातावरणीय क्षतिलाई व्यवस्थापन गर्दै आयोजनालाई दिगो बनाउन यी योजना लागू हुने बताइएको छ । यो विस्तृत योजनालाई पञ्चेश्वर विकास प्राधिकरण र त्यसअन्तर्गतका एकाइ, परामर्शदाता, निर्माण ठेकेदार, विशेषज्ञ टोलीले कार्यान्वयन गर्नेछ ।

दमकमा बाटो काट्ने क्रममा मोटरसाइकलको ठक्करबाट मृत्यु

दमक, असोज २९ । मोटरसाइकलको ठक्करबाट झापाको दमकमा आज बिहान एकजना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा दमक–९ का ५० वर्षीय विष्णु सुवेदी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । दमक–९ स्थित शान्तिमार्ग सडकखण्डमा बाटो काट्ने क्रममा तीव्र गतिमा आएको को७प नंको मोटरसाइकलले सुवेदीलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते सुवेदीको विराटनगरस्थित न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको इप्रका दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।

स्थानीयबाहेकका नागरिकलाई केरुङ जान रोक

रसुवा, असोज २९ । नेपालको उत्तरी सीमा रसुवागढी नाकाबाट स्थानीय बासिन्दाबाहेक अन्य नागरिकलाई केरुङ जान रोक लगाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी स्मीता पौडेलका अनुसार आगामी कात्तिक १ गतेदेखि चीनमा हुने नेशनल कंग्रेसको चुनावलाई मध्यनजर राखी फाटफुटरुपमा घुम्न केरुङ जाने नेपालीलाई मितेरी पुलबाट नछोड्न चिनियाँ अधिकारीले आग्रह गरेका कारण केही समयका लागि अस्थायी पास भएका व्यक्तिलाई केरुङ जान रोक लगाइएको हो । सामान लिने कन्टेनर र स्थायी पास भएका रसुवाली नागरिक भने निर्वाधरुपमा आवतजावत भइरहेको सहायक प्रजिअ पौडेलले बताइन् । नेपाली बजारका लागि सामान लिन केरुङ गएका ट्रक र कन्टेनर भने फाटफुटरुपमा भन्सार हातामा भित्रिरहेको बताउँदै जिल्ला प्रहरी प्रमुख शरतकुमार थापा क्षेत्रीले चिनियाँ पक्षले अन्य थप जानकारी सीमा क्षेत्रमा नगराएको बताए ।

धादिङमा लाखौं मुल्यका पुराना सवारी साधन अलपत्र

धादिङ, असोज २९ । जिल्ला प्रहरी कार्यालय धादिङ र मातहतका चौकीमा लाखौं रुपैयाँ पर्ने पुराना सवारी साधन अलपत्र अवस्थामा थन्किएर बसेका छन् । विभिन्न घटनामा बरामद गरिएका सवारी साधनको लिलामी प्रक्रिया झन्झटिलो भएका कारण अलपत्र परेका हुन् । कतिपय सवारी साधनका धनीहरु आफ्ना सवारी साधन लिन सम्पर्कमा नआउँदा वर्षौंदेखि प्रहरी चौकीमै अलपत्र अवस्थामा राखिएका छन् । बरामद सवारी साधनहरु जिल्ला प्रहरी कार्यालय आफैंले लिलाम बिक्री गर्न नपाउने र सम्वन्धित क्षेत्रका भन्सार कार्यालयले पनि लिलामीका लागी अनुमति नदिने भएकाले समस्या भएको हो । सरकारले त्यस्ता सवारीका साधनलाई प्रक्रिया पुर्‍याई लिलाम बिक्री गरे ठूलो मात्रामा राजश्व संकलन हुने सरोकारवाला बताउँछन् ।

अाज विश्व हात धुने दिवस, हात कसरी धुने ?

शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना पाएपछि, पकाउँदा र पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या पकाएको अनि पकाउँदै गरेको खानेकुरा छोएपछि र छुनु अघि, खाना अघि, टिस्यू पेपर या रुमाल प्रयोग गरेपछि, बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि ।  अक्टोबर १५ सन् २०१७  आफ्ना हातहरु सफा राख्नु स्वास्थको हिसाबले एउटा महत्वपूर्ण कदम हो । सफा हातले रोगव्याध लगायत अन्य संक्रमण र किटाणुहरुबाट समेत हामीलाई पर राख्दछ । विश्वभरि नै हात सफा नभएका कारणले नै बिभिन्न रोग अनि संक्रमणहरुका कारण लाखौंले मृत्यू भोगीसकेको तथ्याङ्कले भन्छ । स्मरण रहोस अहिले पनि प्रतिवर्ष विश्वभरि करिब १ करोड ८० लाख बालबालिकाको मृत्यु गराउने एक मुख्य कारण झाडापखाला पनि हो । सुन्दा अचम्म लाग्न सक्दछ हात धुने चलन र ब्यवहार मात्र पनि नियमित र प्रभावकारी गर्न सके करौडोंको संख्यामा जीवन बचाउन सकिने अवस्था छ । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ । खाना खानु अघि, खाएपछि, शौचालय प्रयोग पछि र अन्य आवश्यक अवस्थामा हात धुने बानी बच्चैदेखि बसाल्न जरुरी छ । यसरी हात धुँदा साबुन पानी ले मज्जाले मीचीमीची धुन जरुरी छ । विश्वमा हरेक ३ मध्ये एकजना नवजात बालबालिका झाडापखालाले औसतमा संक्रमण हुने तथ्याङ्क छ । राम्ररी हात धुने, सफा पानीको प्रयोग अनि साबुन पानीको प्रभावकारी उपयोग गर्नाले हात सफा भएर झाडापखाला लाग्दैन । शुरु शुरुमा माटोले हात धुने या खरानी पानीले हात धुने चलन नेपाली समाजमा रहेको थियो, तर माटो या खरानी पानीले भन्दा साबुन पानीको प्रभावकारीता धेरै रहेको छ । यसै तथ्यलाई मध्यनजर गर्दै विश्वमा बच्चा बुढा सबैलाई सरसफाई अनि स्वस्थपनाको जागरण दिलाउन हरेक बर्ष अक्टोबर १५ तारिखमा बिश्व हात धुने दिवस मनाइन्छ । सन् २००८ देखि यस दिवस मनाउन शुरु गरिएके हो । यस बर्षको अन्तराष्ट्रिय हात धुने दिवस को नारा हाम्रा हात हाम्रो भविष्य ‘Our Hands Our Future’ भन्ने रहेको छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । नेपालमा पनि नेपाल सरकार स्वास्थ मन्त्रालय अनि अन्य बिभिन्न गैर सरकारी संस्थाको अर्थपूर्ण सहभागीतामा यस दिवस भव्यताकासाथ मनाइन्छ । विश्व स्वास्थ संगठनका अनुसार निम्न अवस्थामा हात धुन जरुरी हुन्छः शौचालय गएपछि र बच्चाको न्यापीस या थाङ्गना चलाएपछि वा कोपरा फालेपछि, खाना खानुअघि र खाएपछि , पकाउँनु अघि, काँचो खानेकुरा छोएपछि या बिरामी हरुलाई भेट्न अघि र भेटेपछि, धुम्रपान गरेपछि, फोहोर छोएपछि या बगैंचामा काम गरेपछि, जनावरहरुलाई छोएपछि । हात कसरी धुने ? सर्वप्रथम सफा पानीले हात भिजाउने। हातमा साबुन हाल्ने, कम्तीमा २० सेकेन्ड साबुन पानीले मिच्ने । दुबै हत्केलालाई एकआपसमा दलेर अाैंलाका कापसम्म साबुन पूर्याउने | यसरी धुँदा हातको पछाडी, नगंका मुनी, औंलाका काप र नारी सम्म मिच्ने | यसरी धुँदा औंलाका औंठी र घडीहरु निकालेर हात सफा गर्ने, यसो हुँदा औंठी र घडी मुनीका सुष्म जिवाणुहरु पनि पखालेर सफा हुनेछन् । धारा खोलेर साबुनका हरेक अशंहरु पखाल्न पर्नेछ । सफा टाबल या कपडा प्रयोग गरेर हात सुकाउनु पर्नेछ । औंठी या घडीहरु पनि पूर्णतः नसुकेसम्म लगाउन हुँदैन । सामान्यतया हात धुँदा भाँडामा पानी राखेर भन्दा पनि धारा या फोहोराको पानी प्रयोग गर्न जरुरी छ । याद गर्नुहोस्, किटाणुहरु सबैतिर छन र हामी यी किटाणुहरुलाई देख्न सक्दैनौं । यि किटाणुहरुले हामीलाई बिरामी पार्दछन् । साबुन पानीले हात धुने गरेमा हामीलाई रोग या संक्रमणबाट जोगाउँदछ । हात नधोएकै कारण विभिन्न रोगको संक्रमणका कारण बिरामी भएर अस्पताल बस्नु भन्दा त हात धोएरै यस्ता रोगहरुबाट जोगिनु नै बुद्धिमता होला । -हाम्राेपात्राेबाट

बालविवाह रोके बोको बलि दिने धम्की

बैतडी, असोज २९ । बालविवाह न्यूनिकरणको अभियानमा लागेका किशोरीविरुद्ध बोकाको बलि दिने धम्की आउन थालेको छ । बालविवाह रोकेमा मन्दिरमा बोकाको बलि दिने स्थानीयको धम्की आउने गरेको सुर्नया गाउँपालिका–५ शैलेश्वर चम्किला तारा किशोरीबृत्तकी सचिब जानकी चन्दले बताइन् । गाउँमा बालविवाह रोक्दा जसको विवाह रोकियो उसका अभिभावकले मन्दिरमा बोकाको बलि चढाउने धम्की दिने गरेको उनले बताइन् । उनले बोकाको बलि दिन्छौ भन्ने कुराले आफूहरुलाई सताएको सुनाइन । यस्तै बालविवाह न्यूनिकरण अभियानमा लागेका किशोरीहरुलाई मन्दिरमा बोकाको बलि दिई घात गर्छु भनी गाउँलेहरुले धम्काउने गरेको मेलौली गाउँपालिका–२ सलेनाकी कुन्ती भट्ट भनाइ छ । -राजधानी दैनिकबाट  

बाख्रा, बोकाको शारीरिक विकासको लागि मकवानपुरमा स्विमिङपुल

हेटौंडा, असोज २९ ।  मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरुले स्विमिङपुल (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् । कान्तिपुरमा खबर छ । पशुसेवा कार्यालय मकवानपुरले पुल निर्माणकबा लागि प्रत्येकलाई २० हजारको दरले चार लाख रुपैयाँ अनुदान सहयोग गरेको कार्यालय प्रमुख रामप्रकाश प्रधानले बताए । मकवानपुरगढी ३ मक्रान्चुलीमा क्रियाशिल एउटा सहकारी संस्थाले पशुसेवाको सहयोगमा बाख्रा बोकाको लागि स्विमिङपुल निर्माण गरेको हो । उक्त स्विमिङपुलमा गाउँका बाख्रा, बोका, पाठापाटीलाई पौडी खेलाउने गरिन्छ । ती चौपायाका शरस्रबाट जुम्रा, किर्ना र उपियाँजस्ता बाह्य परजीवी हटाएर शारीरिक विकासमा सहयोग गर्न फरक फरक औषधिमिश्रित पानी राखिएको स्विमिङपुलमा बाख्रा र बोकाहरुलाई चुर्लुम्म डुबाउने गरिउको छ ।

दाजुभाईबीच खुकुरी हानाहान, दुईको ज्यान गयो, एक गम्भिर

काठमाडौं, असोज २९ ।  दाजुभाईको परिवारबीच कुखुरी हानाहान हुँदा दुईजनाको ज्यान गएको छ । एकजना गम्भीर घाईते भएका छन् । बाजुराको त्रिवेणी नगरपालिका ८, कालपानीमा जग्गा विवादलाई लिएर शुक्रबार बिहान दाजुभाईबीच झडप भएको हो । स्थानीय मोहन गिरी र उनका भाई गोरख गिरीको परिवारका सदस्यीबीच खुकुरी हानान हुँदा दुईजनाको ज्यान गएको बाजुराका निमित्त प्रहरी प्रमुख निरीक्षक जगदिश भट्टले जानकारी दिए ।,  अन्नपुर्ण पोष्टमा  खबर छ ।

फिल्मी शैलीमा चिट चोरी ! चार परीक्षार्थीसहित १४ जना पक्राउ

काठमाडौं, असोज २९ । राजीवकुमार सिंह चिकित्सकशास्त्र अध्ययन संस्थानले लिएको एमबिबिएसको प्रवेश परीक्षा गज्जव भएकोमा दंग थिए । जोरपाटीमा रहेको नामी कलेजमा उनको परीक्षा केन्द्र तोकिएको थियो । शनिबार बिहान ८ बजे देखि १० बजेसम्म चलेको परीक्षा सकाएर घर फर्कदै गरेका उनले परिवारसंग खुसी बाँड्न भने पाएनन् । उनी तीनकुनेबाट सीधै टुकमा रहेको महानगरीय प्रहरी अपराध महाशाखाको कार्यालय पुर्याईए । बौद्धको अरुणीमा माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका शिखा झा र राहुल झाको अवस्था पनि सिहंकै झै भयो । यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी झैं भयो । परीक्षा दिएर उनीहरु घर हैन, प्रहरी कार्यालय पुगे । उनीहरुसँगै अर्का परिक्षार्थी सक्षमराज भण्डारी पनि थपिए । केहीबेरमै ज्ञानेन्द्र ठाकुर थपिए, जो अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेजमा एमबिबिएस पढ्दै थिए । त्यसलगत्तै सन्जयकुमार यादब, हिरेन्द्र शर्मा, अजयकुमार यादब, आशुतोषकुमार झा र शैलेसकुमार झासमेत थपिए । यी सबै पक्राउ पर्नुको कारण बडो फिल्मी छ । १४ बर्षअगाडी भारतमा डाक्टर बन्न लालायित एक डुन्डामा आधारित फिल्म बनेको थियो मुन्नाभाई एमबिबिएस । निर्देशक राजकुमार हिरानीले बनाएको उक्त हास्य फिल्म बाबुको डाक्टर बन्ने सपना पुरा गर्न आपराधिक गतिविधिमा लागको एक ब्यक्ति मुन्नाभाईले अपनाएको उपायमा आधारित छ । त्यस्तै शनिवार पक्राउमा परेको सबले मुन्नाभाई फिल्मको शैलीमा चिट चोर्ने चोराउने गरेका थिए । नागरिक दैनिकबाट

५५ किमी पाइप बिच्छ्याउन अझै बाँकी

काठमाडौँ, असोज २० । मेलम्चीको पानी उपत्यकामा वितरण गर्न ६७० किमी पाइप बिच्छ्याउनुपर्नेमा ५५ किमीको काम बाँकी छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले उपत्यकामा पानी वितरणका लागि पाइप बिच्छ्याउने जिम्मेवारी पाएको छ । असोजमै पानी ल्याइसक्ने सरकारको लक्ष्य थियो । सुरुङको काम नसकिएकाले र वर्षा याममा सडक हिलाम्मे हुने भएपछि निर्देशनालयले उपत्यकाका मुख्य सडकमा पाइप बिच्छ्याउने काम केही समयलाई रोकेको थियो । वर्षा याममा सडक खनेर पाइप बिच्छ्याउँदा धुलो र हिलोका कारण आवतजावतमा समस्या भएपछि वर्षा नसकिएसम्मका लागि रोकिएको काम पुनः शुरु गरिएको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए । “पानी वितरणका लागि ६० किमी थोक वितरण प्रणालीको पाइप बिच्छ्याइएको छ, ६० किमीमध्ये पाइप जोड्नुपर्ने स्थानबाहेकमा काम सकिएको छ, वितरण सञ्जालको ५५ किमी पुस मसान्तसम्म सक्ने योजना छ”, उनले भने । पुस मसान्तसम्म पहिलो चरणमा पानी वितरण गरिने स्थानमा पाइप बिच्छ्याइसक्ने योजना रहेको निर्देशनालयले जनाएको छ । पाइप बिच्छ्याइएको स्थानमा पाइप परीक्षण पनि शुरु गरिएको छ । सुन्दरीजलबाट बाग्मतीको पानी प्रशोधन केन्द्रमा लगेर पाइप परीक्षण गरिएको हो। बाँकी करिब डेढ किमी सुरुङ निर्माण सकेर चैत मसान्तसम्म पानी काठमाडौँ ल्याई वितरण गरिसक्ने मेलम्ची खानेपानी आयोजनाको लक्ष्य छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाट २७ किमी सुरुङ निर्माण गरेर उपत्यकामा मेलम्ची खोलाको पानी ल्याउने अन्तिम तयारी भइरहेको छ ।

नेका केन्द्रीय समिति बैठकः काँग्रेस हतोत्साहित र विचलित भएको छैन

काठमाडौँ, असोज २० । नेपाली काँग्रेस केन्द्रीय समितिको आजको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ । पार्टीले उम्मेदवार छनोट र मापदण्ड तय गर्दा स्थानीय निर्वाचनमा उम्मेदवार भएका, सो निर्वाचनमा आफ्ना उम्मेदवारविरुद्ध उठेका, उनीहरुलाई सहयोग नगरेका र यस अगाडि समानुपातिक सांसद रहेकालाई आगामी निर्वाचनमा टिकट नदिने विषयमा केन्द्रीय समितिको पहिलो चरणको बैठकमा मोटामोटी सहमति जुटेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा धारणा राख्ने अधिकांश केसले प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचनमा पार्टीको उम्मेदवार छिटोभन्दा छिटो छनोट गर्न जोड दिएको थियो । उनीहरुले वाम एकताले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान कार्यान्वयनलाई नै कमजोर पार्ने चिन्ता व्यक्त गर्दै आगामी दिनमा प्रजातान्त्रिक–लोकतान्त्रिक एकताको खाँचो औँल्याएको थियो । बैठकले यही असोज २५ गतेभित्र उम्मेदवारको टुंगो लगाइसक्न नेतृत्व वर्गलाई सुझाव दिएको नेकाका केन्द्रीय सदस्य दिलेन्द्र बडूले सञ्चारकर्मीलाई जानकारी दिए । उनले भने, “नेकाको आजको केन्द्रीय समितिको बैठकमा आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा÷प्रदेशसभा निर्वाचनमा पार्टीका उम्मेदवारको छनोट प्रक्रिया र मापदण्डका विषयमा छलफल शुरु भएको छ ।” वाम एकता र ध्रुवीकरणले अगामी निर्वाचन समयमै सम्पन्न नहुने हो कि भन्ने आशंका बैठकमा उठेको जानकारी दिँदै नेता बडूले यसलाई चिर्न निर्वाचन समयमै सम्पन्न गर्ने र बृहत् लोकतान्त्रिक गठबन्धन निर्माण गर्ने आवश्यकताको बोध बैठकमा भएको बताए । बैठकपछि नेकाका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले वाम एकता प्रजातान्त्रिक मूल्य, मान्यता र आदर्श विपरीत रहेको प्रतिक्रिया दिँदै यो एकता उनीहरुको सत्ता प्राप्तिको साधन मात्र हो भने । उनले भने, “वाम एकताले नेका विचलित र हतोत्साहितसमेत हुने छैन, बरु नेकाको नेतृत्वमा वामबाहेकका शक्तिबीच बृहत् लोकतान्त्रिक प्रजातान्त्रिक एकता र सहकार्य आगामी निर्वाचनमा हुनेछ ।” अर्का केन्द्रीय सदस्य महेश आचार्यले वाम एकताले शान्ति प्रक्रियाका बाँकी काम र संविधान कार्यान्वयनमा जटिलता थपेको उल्लेख गर्दै यसले अतिवादी सोचलाई प्रश्रय दिएको धारणा व्यक्त गरे । उनले भने, “नेका आगामी निर्वाचनलाई समयमै सम्पन्न गर्न र राष्ट्रिय एकतालाई बलियो बनाउँदै सबैको भावनालाई समेटी अगाडि बढ्न चाहन्छ ।” अर्का केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले वाम एकताले लोकतन्त्रलाई नै समाप्त गर्ने हुँदा लोकतन्त्रलाई बचाउने दायित्व पुनः काँग्रेसको काँधमा आएको बताउनुभयो । उनले भने, “संविधान कार्यान्वयन गर्न सहमति, सहकार्य र एकताको जरुरी छ, यसका लागि काँग्रेस गम्भीर छ ।” बैठकको शुरुमा नेका सभापति एवं प्रम देउवाले पछिल्लो राजनीतिक घटनाक्रमको संक्षिप्तरुपमा जानकारी दिएको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशाङ्क कोइराला र कोषाध्यक्ष सीतादेवी यादवको पनि उपस्थिति रहेको थियो । केन्द्रीय समितिको अर्को बैठक आज साँझ पुनः बस्नेछ ।

छुट्टाछुट्टै घटनामा एक बालकसहित दुईको मृत्यु

लहान, असोज २० । सिरहाको कर्जन्हा नगरपालिकास्थित कमला नदीको नहरमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्जन्हा नगरपालिका–५ का रवीन लामाको १० वर्षीय छोरा सम्भोग लामा वाइवाको मृत्यु भएको हो । भाइ र साथीसँग कमला नदीको नहरमा पौडी खेल्ने क्रममा सिकिस्त भएका सम्भोगको कर्जन्हास्थित फूलकुमारी मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । यसैगरी पानी तान्ने मोटरमा करेन्ट लागेर आज बिहान सिरहाको बरियारपट्टी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरियारपट्टी गाउँपालिका– ५ गोविन्दपुरका ५० वर्षीय मुनेश्वर राम रहेको छ । आफ्नै खेतमा मोटरबाट पानी तानी सिँचाइ गर्ने क्रममा करेन्ट लागेर रामको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

हवाई टिकटमा व्यापक अनियमितता

बाजुरा, असोज २० । कोल्टी विमानस्थलबाट उडान हुने विमान कम्पनीले मनोमानी भाडा असुल गर्ने गरेका छन् । कम्पनीले दशैँ बिदामा घर जाने यात्रुबाट मनोमानी भाडा असुल गर्ने गरेको यात्रुले बताएका छन् । रु.तीन हजार ७६० भाडा कायम गरिएको भए पनि कसैले कार्यान्वयन गरेका छैनन् । दशैँको मुखमा आएर दोब्बरले भाडा वृद्धि गरेका छन् । उनीहरुले बाजुराको कोल्टीबाट नेपालगञ्जसम्म रु पाँच हजारदेखि सात हजारसम्म भाडा लिने गरेको पाइएको छ । जागिर र अन्य व्यवसायको सिलसिलामा हुम्ला, मुगु बाजुरामा बस्दै आएका शिक्षक, व्यापारी, कर्मचारीलगायतबाट खुलेआम मोटो रकम असुल गर्ने गरेका भए पनि सम्बन्धित निकाय भने मौन रहेको सर्वसाधारणको गुनासो छ । कोल्टी विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतमा चल्ने गोमा, काष्ठमाण्डप, मकालु, सीता, सिम्रिक नेपाल एयर लाइन्सका ट्वीनेटर विमान नियमित उडान हुने गरेका छन् । हप्तामा कम्तीमा एक सहुलियत उडान दिनुपर्ने हुन्छ । तर बाजुरामा यो सेवा यी एयरलाइन्सले दिइरहेका छैनन् । कम्पनीले खुलेआम ठगी गर्ने गरेको पत्रकार अनिल शाहीले बताउनुभयो । नगरपालिका र स्थानीय प्रशासनको मौनता र बेवास्ताकै कारण मनोमानी बढेको सेवाग्राहीको आरोप रहेको छ । आफू अनुकूल उडान भर्ने र मनोमानी भाडा असुल्ने कार्य भइरहँदा नागरिक उड्डयन कार्यालय कोल्टी पनि मौन छ । महँगो भाडाका कारण मारमा परेको सर्वसाधारण उडान अनियमित हुँदा थप सास्ती भोग्न बाध्य छन् । चार्टर गर्नुपर्ने र नेपालगञ्जबाट खाली आउनुपर्ने बहाना बनाएर विमान कम्पनीले मोटो रकम असुल्ने गरेका छन् ।

नौ वर्षीय बालक एक सातादेखि बेपत्ता

डडेल्धुरा, असोज २० । डडेल्धुराको परशुराम नगरपालिका–९ सत्घाटका ९ वर्षीय एक बालक एक सातादेखि बेपत्ता भएका छन् । असोज १४ गते सत्घाट नजिक पर्ने खानीडाँडामा दशैँको मेला हेर्न गएका बालक विवस बोहरा घर नफर्केको उनका आमाबुबाको भनाइ रहेको छ । मेला हेर्न गएको छोरा बेलुका नै फर्केला भन्ने सोचेको थिए तर करिब साता बितिसक्दा पनि केही पत्ता नलागेको विवसका बुबा केशव बोहराले बताउनुभयो । आफन्त कहाँ गयो कि भनेर सबै ठाउँमा खबर गरी सक्दा पनि कतै नभएको खबरले आफूहरूलाई छटपटी बढिरहेको विवसकी आमा चन्द्रादेवी बोहराले बताए । प्रहरीलाई पनि खबर गर्दासमेत कहीँकतै नभएको जानकारी आएको केशवको भनाइ रहेको छ । कहीबाट छोराको खबर नपाउँदा विवसका आमाबाबुलाई दिन प्रतिदिन चिन्ता बढदै गएको छ । छोराको खोजी गरिदिनका लागि बोहरा दम्पतीले सबैलाई आग्रह गरेका छन् ।