बाम एकताको पहल बस्तुगत आबश्यकता :नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन

काठमाडौं, असोज १८ ।  नेपाल राष्ट्रिय बुद्धिजीवी संगठनको आज सम्पन्न केन्द्रीय कार्यालयको बैठकले घोषित बाम चुनावी तालमेल र एकताको पहल बस्तुगत आबश्यकताको उपज भएको निष्कर्ष निकालेको छ ।

उक्त बैठकले यो पहललाई सार्थक बनाउन जिम्मेवारीपूर्वक आ आफ्नो स्थानबाट योगदान गर्न सम्पुर्ण बामपन्थी, प्रगतिशिल, देशभक्त र अग्रगमनका पक्षधरहरुमा हार्दिक अपिल समेत गरेको छ ।

कफ्र्यु २३ घण्टापछि हट्यो

बर्दिया, असोज १७ । सदरमुकाम गुलरियाको लालपुर क्षेत्र आसपासमा लगाइएको कफ्र्यू २३ घण्टापछि हटाइएको छ । आइतबार राति ताजिया र मूर्ति विसर्जन गर्ने समूहबीच झडप भएपछि स्थिति सामान्य पार्न गुलरिया नगरपालिका– ११ को लालपुरदेखि गणेशपुरसम्मको क्षेत्रमा सोमबार बिहान १० बजेदेखि कफ्र्यू लगाइएको थियो । कफ्र्यू आज बिहान ९ बजेदेखि हटाइएको प्रजिअ नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

चितुवाको आक्रमणबाट मृत्यु

अर्घाखाँची, असोज १७ । सन्धिखर्क नगरपालिका, कुर बेंहोरेबाट सोमबार साँझ चितुवाले लगेको बालिका १३ घण्टापछि मृतावस्थामा फेला परेकी छन् । सन्धिखर्क नगरपालिका–२ व्यहोरेका अशोक नेपालीकी सात वर्षीया छोरी प्रतीक्षालाई चितुवाले आक्रमण गरी लगेको थियो । आज बिहान करिब ८ बजे बेंहोरेकोे जंगलमा बालिकाको शव फेला परेको हो । तीन वर्षमा चितुवाको आक्रमणबाट १२ बालबालिकाको ज्यान गइसकेको छ । सो चितुवाको पहिचान गरी मार्न जिल्ला प्रशासन कार्यालयले नेपाली सेना र नेपाल प्रहरीलाई निर्देशन दिएको प्रजिअ खिमराज भुसालले बताए । रासस

भक्तपुरको एक घरमा आगलागी

भक्तपुर, असोज १७ । भक्तपुर नगरपालिका– १ इताछेंस्थित एक घरमा आज बिहान आगलागी भएको छ । नवदुर्गा हल अगाडि रहेको कृष्णबहादुर बोयजूको घरको पाँचौँ तलामा रहेको भान्छामा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागी भक्तपुरको जुद्धवारुण यन्त्रले नियन्त्रणमा लिएको छ । आगलागीका कारण र क्षतिको विवरण नआएको प्रहरी परिषर भक्तपुरले जनाएको छ ।

भागवतबाट रु १८ लाख संकलित

भक्तपुर, असोज १७ । चाँगुनारायण नगरपालिका नगरकोटस्थित जालपादेवी मन्दिर परिसरमा चौँसठ्ठी ज्योर्तिलिङ्ग निर्माण गर्ने उद्देश्यले आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु १८ लाख संकलन भएको छ । संकलित रकमबाट मन्दिर परिसरमा विभिन्न देवीको मूर्ति निर्माण तथा मन्दिरको अन्य भौतिक संरचना मर्मत पनि गरिने जालपादेवी रामायण भजन संगितकला कुञ्जका अध्यक्ष हरिराम बजगाईंले जानकारी दिए । धार्मिक संरचना निर्माणका लागि रु ३५ लाख खर्च हुने बताइएको छ । निर्माणका लागि नपुग रकम नगरपालिका र स्थानीयवासीबाट जुटाइने छ । यही असोज ५ गतेदेखि शुरु भएर असोज १२ गते सम्पन्न महायज्ञमा कथा वाचन बालव्यासाचार्य पं रामहरि अधिकारीले गरेको थियो ।

बस र कन्टेनर ठोक्किँदा ११ जना घाइते

नुवाकोट, असोज १७ । विदुर नगरपालिका–५ माझीटारमा आज बिहान बस र कन्टेनर एकापसमा ठोक्किँदा ११ जना यात्रु घाइते भएका छन् । त्रिशूलीबाट काठमाडौँ जान लागेको ना ६ ख ८१४७ नंको बस र काठमाडौँबाट नुवाकोट हुँदै केरुङ जान लागेको बा ३ ख नं कन्टेनर ठोक्किँदा दुवै सवारी साधनका चालकसहित ११ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, नुवाकोटका इञ्चार्ज प्रहरी नायब निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । दुर्घटनामा कन्टेनर चालक रसुवा जिल्ला धैबुङका २४ वर्षीय कुमार न्यौपाने, बस चालक नुवाकोट गणेशस्थानका ३४ वर्षीय सन्तोष अधिकारी र अन्य नौ यात्रु घाइते भएकाले उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेको अहिले जिल्ला अस्पताल, त्रिशूली, सिटी अस्पताल विदुर र सञ्जिवनी अस्पताल, बट्टारमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको शल्यक्रियासमेत गर्नुपर्ने भएकाले थप उपचारका लागि काठमाडाँै पठाइने जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक वीरेन्द्र बस्यालले बताए । बस आज बिहान ३५ जना यात्रु लिएर त्रिशूलीबाट काठमाडौँ जान लागेको थियो ।

प्रतिबन्ध खुल्ला भएपछि पर्यटक खुशी

इलाम, असोज १७ । भारतीय सीमावर्ती सिंहलीला नेसनल पार्कले रेडपाण्डाको प्रजनन समयमा पर्यटकको आवागमनमा लगाएको प्रतिबन्ध खुल्ला गरेको छ । गत जुन १५ तारिखदेखि तीन महिनासम्मका लागि पार्कले लगाएको प्रतिबन्ध खुल्ला गरेको हो । पार्कले सेप्टेम्बर १५ तारिखदेखि रेडपाण्डा हेर्न पर्यटक र सर्वसाधारणका लागि खुल्ला गरेको जनाएको छ । पार्कले इलामको तुम्लिङदेखि पा“चथरको फालोटसम्मको सीमाक्षेत्रमा नेशनल पार्कक्षेत्र भित्रको पदमार्गमा पर्यटक हिँडडुलमा प्रतिबन्ध लगाएको थियो । रेडपाण्डा हेर्नका लागि अहिले पर्यटक आउन थालेको स्थानीय जमुनाका कुमार गुरुङले बताए । दुर्लभ रेडपाण्डालगायत विश्वमा लोपोन्मुख वन्यजन्तु र चराचुरुङ्गीको प्रजनन र यौन क्रियाकलापको समय भएको भन्दै पार्कले प्रतिबन्ध लगाएको थियो । तीन महिनामा रेडपाण्डाले प्रजनन समय पार गरिसकेको जनाउ“दै पर्यटकलाई रेडपाण्डा हेर्न खुल्ला गरिएको पार्कले जनाएको छ । कञ्चनजंघा बेस क्याम्प जान भारतले सीमा क्षेत्रमा पशुपतिनगरको मानेभञ्ज्याङदेखि पर्यटन पदमार्ग निर्माण गरेको छ । पर्यटन पदमार्ग भएर सीमा क्षेत्रका नेपाली पर्यटकीयस्थलमा ट्रेकिङका लागि भारतलगायत तेस्रो मुलकका सयौँ पर्यटक आउजाउ गर्दै आएका छन् । पार्क खुल्ला हुनुअगावै पर्यटक आउन थालेपछि उत्तरी क्षेत्रका होटल भरिभराउ हुन थालेका छन् । पर्यटकको जमघट शुरु भइसकेको माईजोगमाई–२ स्थित तुम्लिङका होटल व्यवसायी तिलक गुरुङले बताए । “तीन महिनादेखिको सुनसान ठाउँमा पर्यटकको चहलपहल बढेको छ”, उनले भने । पर्यटकीयस्थल मानेभञ्ज्याङ, चित्रे, मेघ्मा, तुम्लिङ, जौवारी, गैरिवास, कैँयाकट्टा, कालपोखरी, बिर्खभञ्ज्याङ र सन्दकपुर क्षेत्रमा वर्षौंदेखि भारत भएर पर्यटक आउने गरेका छन् । कञ्चनजंघा, सगरमाथालगायतका हिमशृङ्खला, राष्ट्रिय फूल लालीगुराँस, लोपोन्मुख जडीबुटी, हिमाली जीवनशैलीको अवलोकन गर्न सकिने सीमावर्ती नेपाली पर्यटकीय क्षेत्रमा विकासको अभावमा पार्कको प्रतिबन्ध खुल्लापछि स्थानीयवासी र पर्यटक खुशी भएका छन् ।

खोलाले बगाउँदा ५ वेपत्ता, एकको शव भेटियो

सर्लाही, असोज १७ – सर्लाहीमा खोलाले बगाउँदा ५ जना वेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । लालबन्दी नगरपालिका २ मा लखन्देही खोलाले बगाउँदा ३ बालबालिकासहित ५ जना बेपत्ता भएका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसअघि ४ जना वेपत्ता भनिए पनि ५ जना हराएको पुष्टि भएको प्रहरीले जनाएको छ । चुरे क्षेत्रमा ठुलो पानी परेकोले उनीहरुले बाढीको पत्तो नपाएर खोला तर्दा बाढीमा बगेको प्रहरीले जनाएको छ । पर्साको गढी नगरपालिकाबाट सर्लाही जाँदै गरेका ६ जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ । लालबन्दी नगरपालिका २ नेत्रगञ्ज घर भएकी भिममाया काफ्लेको भने शव भेटिएको छ । सर्लाहीको हरिपुरनगरपालिका ९ का रामदेव साहसहित पर्साको गढी नगरपालिकाकी ४ बर्र्षकी कृतिका ढुंगाना, ७ बर्षका किस्मत ढुंगाना, डेढ बर्षकी कृतु ढुंगाना र भवानी ढुंगाना वेपत्ता भएको प्रहरीले जनाएको छ । चुरे क्षेत्रमा ठुलो पानी परेकोले उनीहरुले बाढीको पत्तो नपाएर खोला तर्दा बाढीमा बगेको प्रहरीले जनाएको छ । symbolic photo

बेगखोलामा आएको बाढीले ट्याक्सी बगायो

बाबियाचौर, म्याग्दी, १७ असोज (रासस)  म्याग्दीको रघुगंगा गाउँपालिका–१ मा रहेको बेगखोलामा आएको बाढीले सोमबार साँझ ट्याक्सी बगाएको छ । बाढीका कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक पनि अवरुद्ध बनेको छ । पोखरेबगरदेखि बेनीतर्फ आउँदै गरेको ध १ ज ४०५ नंको ट्याक्सी बाढीले बगाएको प्रहरीले जनाएको छ । खोला तर्नेक्रममा बाढी आएर फसेको ट्याक्सी धकेलेर खोला पार गराउने क्रममा बगाएर कालीगण्डकीमा पु¥याएको जिल्ला ट्राफिक प्रहरी प्रमुख शिवप्रसाद पाठकले जानकारी दिनुभयो । feature photo symbolic only

गोरखामा कारको ठक्करबाट बालिकाको मृत्यु

गोरखा, १७ असोज (रासस) ः गुडिरहेको कारले बालिकालाई ठक्कर दिँदा गोरखा नगरपालिका–१३ की चार वर्षीया बालिका मेविसा गुरुङको मृत्यु भएको छ । बा १ ज ४३४९ नंको कारले आँबुखैरेनी–गोरखा सडकखण्डको तीनकिलोमा सोमबार बेलुकी बालिकालाई ठक्कर दिई गम्भीर घाइते बनाएको थियो । घाइतेलाई उपचारका लागि पोखरातर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जनचेतनादेखि देशकै नमूना गाउँ बनाउने महोत्तरीका जनप्रतिनिधिको उदघोष

महोत्तरी, असोज १३ । महोत्तरीमा सम्पन्न भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका प्रमुखहरुले एकसय दिनको अवधिमा स्थानीय तहमा आफूले चुनावी घोषणापत्रमा उल्लेख भएकामध्येका सामाजिक परिवर्तन गरेर देखाउने अठोट लिएका छन् । बीस वर्षपछि स्थानीयस्तरको विकास गर्नका लागि जनताद्वारा चुनिएका महोत्तरीका नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले अबको एकसय दिनको अवधिमा जनतालाई उपहार दिन तत्परता देखाएका छन् । जिल्लाको सदरमुकाम एवं सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रहेको जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अब नगरभित्रका हरेक गल्लीमा एम्बुलेन्स, शववाहन, प्रहरीको गाडी, वारुणयन्त्रजस्ता सवारीसाधन सुलभरुपमा ओहोरदोहोर गर्नका लागि तत्कालै बाटो मर्मत गर्न लगाएको जानकारी दिए । शहीद परिवारका लागि अक्षय कोष स्थापना गरी स्थानीयस्तरको हरेक निकायलाई भ्रष्टाचारमुक्त क्षेत्र बनाइने घोषणा उनले गरे। यता नेपालमै प्रसिद्ध रहेको एकीकृत नमूना मुसहर बस्ती भएको बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले आगामी दिनमा नमूना काम गरेर देखाइने प्रतिबद्धता जनाए । अब बर्दिबासमा नयाँ शिराबाट नमूना कामको थालनी गर्ने उनले बताए । त्यस्तै, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगर सरसफाइ गर्ने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिए । भ्रष्टाचार र गुण्डागर्दीमुक्त नगरलाई विकसित गरी नगरभित्रमा नै नगर यातायात सञ्चालन गरिने प्रतिबद्धता जाहेर गर्नुभयो । जनताको नोकर भएर काम गर्ने भन्दै अवश्य नै जनताको हकहितमा नै हरपल अगाडि बढ्ने बताए । बीस वर्षपछि जनताले आफूलाई चुनेकाले अब जनतालाई स्थानीयस्तरबाटै सिंहदरबारको कामकाज हरेक वडा कार्यालयबाट छिटोछरितो तवरले गराइने मनरा सिस्वा नगरपालिकाका प्रमुख विनोदकुमार सिंहको भनाइ छ । अबको एकसय दिनमा स्थानीय शासन पूर्णरुपमा लागू गरिने सिंहले बताए । जिल्लाकै अति नै पिछडिएको क्षेत्रका रुपमा परिचित भंगहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइको अनुभूति हुनेगरी कामकाज गरिने प्रमुख सञ्जीवकुमार साहले बताए । विद्यालय सुध्रिए हरेक तह आफैँ सुध्रिने भएपछि आफ्नो पहिलो कर्तव्य शिक्षालाई सुधार्ने योजना रहेका उनले बताए । पिपरा गाउँपालिकाको हरेक चोकचोकबाट अबको १५ दिनभित्र मदिरा, गाँजा सेवन गर्ने कार्य पूर्णरुपमा रोकथाम गरिने प्रमुख विनोद चौधरीले बताए । यस्ता कुलतमा फसेर युवायुवती गलत संगतमा फस्दै गएकाले भविष्यका कर्णधारलाई बचाउन हरेक किसिमले आफैँले रोकथामका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाए । भ्रष्टाचारी र काममा अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याएर जनतालाई सुलभ र भरपर्दो सुविधा कार्यालयबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने वलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले प्रतिबद्धता व्यक्त गरे । समाजमा जरा गाडेको सामाजिक कुरीति बालविवाह, बहुविवाह, जातीय भेदभाव, छुवाछूतलाई अन्त्य गर्नका लागि दशैँ सम्पन्न भएलगत्तै ठोस कार्यनीति अवलम्बन गरी गाउँपालिकाभित्र जनचेतनामूलक कार्यक्रम अगाडि बढाइने प्रमुख राजकुमार यादवले बताए । घर घरमा जनचेतनामूलक कार्यक्रम ल्याएर यस्ता कुरीतिलाई आफ्नो कार्यकालभित्र न्यूनीकरण गरेर छाड्ने यादवले धारणा राख्नुभयो । त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीको गृहनगर औरही नगरपालिकाको प्रमुखमा निर्वाचित सुनिलकुमार यादवले हरेक जनताले प्रत्यक्षरुपमा लाभान्वित हुने गरी कार्यसम्पादन गरी परिवर्तन गरिने बताए । इतिहासमै नगरेका कार्य आफ्नो कार्यकालमा गरेर औरहीलाई विकासको दृष्टिकोणले देशभरिमा नै परिचित गराउने उनले दावी गरे । रासस

तनहूँस्थित ढोरवाराहीमा रहस्यमय प्राकृतिक ‘लहरी’

पोखरा, असोज १३ । मन्दिर छेउमै रहेको कुण्डमा पानी कम थियो । माछामा विचलन आएको जस्तो देखिन्थ्यो, केही समयमा सबै माछा पानी आउने मुहानतिर एकीकृत भएलगत्तै चट्टानको भित्रबाट पानीको ठूलो भल्को आउनासाथ व्यग्र प्रतीक्षामा रहेका पर्यटक एवं भक्तजनमा खुशियाली छायो । सयौँ वर्षदेखि ठूलो पहाडको भित्रबाट पहरो छिचोल्दै प्रत्येक दुई घण्टाको अन्तरालमा आएको पानीको भल्कोले मन्दिरको नजिकै रहेको कुण्डमा पानी भरिने र तल्लो भागमा मनोरम झरना बन्ने रहस्यमय ‘लहरी’ चल्ने सो मनोरम तथा अकल्पनीय दृश्य तनहूँ जिल्लास्थित ढोरवाराही मन्दिर परिसरको हो । ‘प्राकृतिक तथा सांस्कृतिक नयाँ गन्तव्यको पहिचान’ भन्ने नारासहित ३८औँ विश्व पर्यटन दिवसका अवसरमा पर्यटन प्रवद्र्धन सम्भाव्यता अध्ययन अवलोकनका लागि ढोरवाराही मन्दिर परिसरमा पुगेको विज्ञसहितको पोखराका पर्यटन व्यवसायी र सञ्चारकर्मीको टोलीलाई सो लहरीले भव्य स्वागत गरेको थियो । नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण शाखाको आयोजना तथा पर्यटन बोर्ड प्रवद्र्धक र मिलेनियम ट्रेक व्यवस्थापन समितिको समन्वयमा ढोरवाराही मन्दिर परिसरमा टोली पुग्नासाथ चलेको लहरीले भरिएको कुण्ड र झरनाले स्वागत गरेको मन्दिर व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामराजा महतले बताए । उहाँका अनुसार लहरी (पानीको ठूलो भल) आउनुभन्दा केही समयअघि कुण्डमा रहेका माछा पानी आउने मुहानतर्फ जम्मा भएर दृश्यावलोक गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकलाई भित्रबाट पानी आउँदैछ भन्ने सूचना गर्नु यहाँको अनौठो विशेषता रहेकोछ । कुण्डमा देवीको नाउँमा बलि तथा पञ्चबलि दिने प्रचलन परस्परागतरुपमा रहँदै आएको बताउँदै महत भन्नुहुन्छ, “बलि चढाउँदा निस्केको रगत र मासुका स–साना टुक्रा र प्राकृतिक आहारबाट त्यहाँ रहेका माछा जीवित रहन्छन्”, कुण्डका माछाले अन्न भने खाँदैनन् । विशेषगरी ढोरवाराही देवीको उत्पत्ति श्रीपञ्चमीका दिन भएकाले उक्त दिनका साथै नयाँ वर्ष र अन्य चाडपर्वका बेला भक्तजनको भीड लाग्ने गरेको छ । अन्य दिनमा पनि तीनसय भन्दा बढी भक्तजन तथा दर्शक लहरी हेर्न र कुण्डमा स्नान गर्न आउने गरेका छन्, उनले बताए । कुण्डमा रहेको ठूलो शिलामा बलि चढाउने गरिएको सो धार्मिक क्षेत्रमा दैनिक २० देखि ५० वटासम्म पाठापाठी बलि दिने गरेको र बलि दिएका जनावरको टाउको जिम्मा लिन र सरसफाइ गर्न वार्षिक रु २० लाखमा शुक्लागण्डकी नगरपालिकाले ठेक्कामा दिएको छ । ढोरवाराही देवीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी नभए पनि मन्दिरमा नेपाल संवत् ९११ सालमा चढाएको घण्ट अहिले पनि सुरक्षित रहेको पुजारी चिरञ्जीवी लम्साल बताए । पहाडभित्र रहेको ठूलो पानीको तलाउमा छाल चल्दा पानीसँगै सो स्थानमा बाहिर निस्केको बहाव लहरी बन्ने गरेको हुनसक्ने टोलीमा संलग्न भूगोलविद् प्रा डा कृष्ण केसीको धारणा रहेको छ । यसको थप अध्ययन अनुसन्धान गर्नु आवश्यक रहेको बताउँदै उनले भने, “अनुकरणीय प्राकृतिक स्रोतको विश्वबजारमा बिक्री गरी आन्तरिक एवं बाह्य पर्यटक प्रवद्र्धन गर्नु आवश्यक छ ।” सेतीनदी किनारामा अवस्थित रकगार्डेन, तिब्बतीयन क्याम्प, ढोरवाराही मन्दिर र रहस्यमय लहरीलाई समेटेर आन्तरिक एवं बाह्य पर्यटकका लागि एकदिने यात्राको तयारीमा जुटेको नेपाल एक्स एण्ड एक्सपिडिसन प्रालिका प्रबन्ध निर्देशक जीवन सापकोटा बताए । पृथ्वी राजमार्गखण्डको तनहुँस्थित गाछेपानीबाट सेतीनदी पार गर्दै लगभग पाँच किमी दूरीमा रहेको ढोरवाराही मन्दिरसम्म पुग्ने बाटो पक्की गर्ने कार्य भइरहेको शुक्लागण्डकी कार्यपालिका सदस्य गीता महतले जानकारी दिए । नगरपालिकाले गत आवमा रु ६० लाखको लागतमा मन्दिरस्थलसम्म बाटो विस्तार तथा एकतर्फी ढल बनाउने कार्य सम्पन्न भइसकेको बताउँदै उनले भने, “यस वर्ष रु एक करोड छुट्याएर कालोपत्र गर्ने कार्यसमेत शुरु गरिएको छ ।” रासस

शक्तिपीठमा दर्शनार्थीको घुइँचो

नवलपरासी, असोज १३ । नवलपरासीका विभिन्न धार्मिक शक्तिपीठहरुमा आज नवमीका दिन बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । जिल्लाको विशेषगरी मौलाकालिका, दाउन्ने र पाल्ही भगवती मन्दिरलगायतका शक्तिपीठमा दर्शनार्थीको घुइँचो लागेको हो । दशैँ शुरु भएदेखि नै जिल्लाका विभिन्न धार्मिक शक्तिपीठमा पूजाआजा र दर्शनका लागि दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । विशेषगरी यतिबेला ती शक्तिपीठमा नेपालीसहित छिमेकी भारतीय दर्शनार्थीको समेत उल्लेखनीयरुपमा सहभागिता देख्न सकिन्छ । पारिवारिक सुख शान्तिसहित मनोकामना पूरा हुने आशामा दर्शनार्थी विभिन्न धार्मिक शक्तीपीठमा पूजाआजासहित दर्शनका लागि आउने गर्छन ।

असोज १७ गतेबाट अन्तिमपल्ट डीभी चिट्ठा खुल्ने, यस्ता छन नयाँ नियम

अमेरिकाको रास्ट्रपतीमा अनुदारवादी डोनाल्ड ट्रम्पको जीतपछि अन्यौलमा रहेको अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी)को आवेदन खुल्ने भएको छ । ट्रम्प प्रशासनले आप्रवासी कामदारबारे कडा नियम सार्वजनिक गरेपछि डीभीको भविष्य संकटमा परेको थियो । अमेरिकाको डिपार्टमेन्ट अफ स्टेटले एक सूचना जारी गरि पूनः एक पटक डिभी लोटरी खोल्ने निर्णय गरेको छ । अन्तिम पटक खोल्न लागिएको भनिएको उक्त डिभी अक्टोबर ३ तारिख अर्थात् असोज १७ गतेबाट आवेदन गर्न सकिनेछ । बिज्ञप्ति अनुसार डिभीका नियममा यसवर्ष कुनै पनि परिवर्तन गरिएको छैन । अन्तिम म्याद नोभेम्बर ७ तारिखसम्म रहेको यस वर्षको आवेदन समयमा नै भर्न अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अन्तिम समयसम्म कुर्दा प्राविधिक समस्या आउने हुँदा चाँडै नै भर्न आग्रह गरेको हो । दूतावासका अनुसार डिभी चिट्ठाका लागि कात्तिक २२ गते रातको पौने एघारसम्म आवेदन दिन सकिनेछ। करिब एक महिनाको अवधि दिएर सार्वजनिक गरिएको डीभी चिट्ठा भर्न कुनै शुल्क नलाग्ने दूतावासले जनाएको छ। दूतावासले फाराम भर्न कुनै परामर्शदाताको सहयोग नलिनसमेत आग्रह गर्दै आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिने सुझाव दिएको छ। सन् २०१८ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई डि भी) आवेदन फारम भर्न सक्नेछन्। यस वर्षको डिभीको नतिजा मे महिनाको पहिलो हप्ता नै प्रकाशित हुनेछ । त्यस्तै डिभी पर्नेहरुले सन् २०१८ को अक्टोबरबाट भिसा पाउन थाल्छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको कार्यनिति आप्रबासीमाथि कडा रुपमा प्रस्तुत भए पनि अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधेयक पारिद गर्न नसक्दा डिभीको अवधी एक वर्ष लम्बिएको हो । आउँदो आर्थिक वर्षमा यदी विधेयक पारिद भएमा डिभी बन्द हुनेछ । डिभी तलको लिकं क्लिक गरेर भर्न सकिनेछ । तर यो साईटमा डिभी फारम डिभी खेलेपछि मात्र देखिनेछ ।

धर्मको नाममा एकै रातमा १२ हजार बोकाको बलि

महेन्द्रनगर, धनुषा, १३। सर्वोच्च अदालतले बलिप्रथामा रोक लगाए पनि देशका बिभिन्न मंदिरमा बोका र रांगाको बलि दिने चलन हटेको छैन । पुरानो परम्परालाई निरन्तरता दिन जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गए राति १२ हजार ३०७ बोकाको बलि दिइएको छ । राति ८ः१९ मिनेटमा शुरु भएको बलिको कार्यक्रम ३ बजेर २१ मिनेटसम्म चलेको थियो । गत साल मन्दिरमा १४ हजार ६१७ बोकाको बलि दिइएको राजदेवी पूजाका मूल आयोजक महावीर युवा कमिटीका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले बताउनुभयो । निष्ठापूर्वक राजदेवीको पूजा गर्दा मनोवाञ्छित फल प्राप्त हुने विश्वास छ । नवमीका दिन आज बौद्धीमाई मन्दिरमा पनि बलि प्रदान गरिने पूजा मूल समितिका संयोजक एवं राम युवा कमिटीका अध्यक्ष शम्भुप्रसाद साह प्रेमीले दिनुभयो । file photo –––

को परे त बझाङ कांग्रेसको उम्मेदवार सूचिमा, दलित उपेक्षित, महिला न्यून

काँग्रेस बझाङले प्रदेश र संघका लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि काँग्रेसले बिहीबार उम्मेदवारहरुको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो । सिफारिस गरिएको सूचीमा प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ चन्द्रादेवी जोशी, हर्कजंगबहादुर सिंह, पृथ्वीबहादुर सिंह र डा. अम्मरराज जोशीको नाम छ । यीमध्ये चन्द्रादेवी अहिले पनि व्यवस्थापिका–संसद् सदस्य छिन् भने हर्कबहादुर सिंह जिल्ला पार्टी सभापति हुन् । समानुपातिकतर्फ शिद्घराज जोशी, भक्तराज जोशी, हरिप्रसाद उपाध्याय, दिपकराम जोशी, प्रकाश स्नेही र प्रभालक्ष्मी बजालको नाम सिफारिस भएको छ । यसैगरी, प्रदेशसभामा प्रत्यक्षतर्फ जगतप्रसाद जोशी, चेतराज बजाल, नन्दकृष्ण जोशी र ध्रुवराज उपाध्यायको नाम सिफारिस भएको छ भने समानुपातिकतर्फ उत्तम रोकाया, खड्क बोहरा, उमाशंकर जोशी, विष्णुकुमार सिंह ( जगत), सम्मशेर बम्म, रामबहादुर महर, शिद्घराज जोशी, नारायण हमाल, विष्णु ऐडी, खगेन्द्रप्रसाद जोशी, शान्ति पुजारा, देवीकुमारी सेटी, सुनीता थापा, हीरादेवी रोकाया खत्री र पार्वती विष्ट रहेको जिल्ला कार्यसमिति सदस्य उत्तम रोकायाले जानकारी दिए । क्षेत्र नम्बर २ मा भने काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार नछुट्याई एकमुष्ट १९ जनाको नाम सिफारिस गरेको छ । नरेशबहादुर सिंह, डा. सुरेश मल्ल, प्रताप गुरुधामी, रमेश भण्डारी, विष्णु दौल्याल, गुणाकर जोशी, गणेश भण्डारी, मीनादेवी रावल, शान्तिकुमारी महत, मनीषा धामी, कुमारजंगबहादुर सिंह, केशवराज जोशी, कविराज गिरी, सूर्यप्रकाश जोशी, देवराज शर्मा, ईश्वर मल्ल, मनजीत ताम्राकार, नरेश थापा र कवि जप्रेलको नाम केन्द्रमा सिफारिस भएको छ । आगामी १० मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले उम्मेदवारको नाम करिब करिब टुंंगो लगाइसकेको छ भने एमाले आन्तरिक छलफलमा छ । स्थानीय तहको निर्वाचनपछि सुस्ताएको राजनीतिक चहलपहल फेरि बढ्दै गएको छ । नयाँ पत्रिकाबाट