अन्तर्राष्ट्रिय श्रवण दिवसः बहिरोपना रोकथामका लागि यस्ता छन् विशेषज्ञका १० सुझाव

काठमाडौं, २० फागुन । अन्तर्राष्ट्रिय श्रवण दिवसको अवसरमा सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपना रोकथामका लागि १० सुझावहरु दिएको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी श्रवण सम्बन्धी रोग र यसको रोकथामको उपाय जानकारी गराएको हो । 
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका महासचिव डा. योगेश न्यौपानेले आफूहरुको उद्देश्य श्रवण सम्बन्धि तथ्यहरु समाजमा पुर्याउने र त्यस सम्बन्धमा योगदान दिने रहेको बताए । उनले अन्धोपनाले मान्छेलाई संसारबाट छुट्याउने र बहिरोपनले भने मान्छेलाई मान्छेबाट नै छुट्याउने बताए । कानमा प्रयोग गरिने एयरफोन श्रवण शक्तिका लागि धेरै घातक रहेको उनको भनाइ छ । 
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालका अनुुसार धेरैजसो बहिरोपना रोक्न सकिने प्रकृतिका हुन्छन् । नेपालमा बहिरोपनबाट बच्न र बचाउनका लागि सरकारीस्तरबाट देशव्यापी रुपमा सर्वेक्षण हुन आवश्यक रहेको सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालको सुझाव छ । 
सोसाइटी अफ ओटोलारिन्गोलोजिस्ट अफ नेपालले बहिरोपन रोकथाम गर्नको लागि निम्न कुरामा ध्यान दिनुपर्ने सुझाएको छः 
१.संक्रमणबाट कानलाई बचाउनुपर्छ । कान पाकिहाले नजिकैको चिकित्सकसँग सल्लाह लिनुपर्दछ । रुघाखोकी लागेमा मध्यकान र नाकको पछाडि भाग जोडने नली बन्द हुन जान्छ । यो नली लामो समयसम्म बन्द भइरहेमा मध्य कानमा असर पर्छ । यो समस्या बच्चाहरुमा बढी देखा पर्ने भएकोले बच्चाहरुलाई रुघाखोकी लाग्नबाट बचाउनका लागि आमाको दुध खुवाउने, दुध खुवाउँदा बसालेर खुवाउने, घर वरिपरि पाइने ताजा खानेकुरा खुवाउने र जङ्क फुड नखुवाउने गर्नुपर्छ । रुघा लागेमा तातो, तातो झोल पदार्थ खुवाउनुपर्छ । निको नभएमा नजिकैको स्वास्थ्यचौकी वा अस्पतालमा लैजानु पर्छ ।
२.कानलाई चोटपटकबाट बचाउनुपर्छ । कान कोट्याउँदा कानको जालीमा असर पर्छ र जाली फुटने सम्भावना हुन्छ । त्यसैले कान कोट्याउनु हँुदैन भन्ने कुरा जनमानसमा सिकाउनुपर्छ । 
३. बच्चाको सुनाइ सम्बन्धि शंका लागेमा नजिकैको चिकित्सकको सल्लाह लिनु पर्छ । 
४.कानमा तेल अथवा अरु कुनै पनि झोल पदार्थ हाल्नु हुँदैन ।
५.गर्भवती भएको पहिलो तीन महिनासम्म आफुखुसी औषधिको सेवन गर्नु हुँदैन, गर्नै परेमा चिकित्सकको सल्लाह लिनुपर्छ । गर्भवती आमाले जाँडरक्सी र चुरोट सेवन गर्न हुँदैन ।
६.आफ्नो बच्चाले नसुन्ने शंका लागेमा सम्बन्धित चिकित्सकलाई जचाई सल्लाह लिनु पर्छ । 
७.सर्वसाधारणको जमघट हुने स्थानमा चर्को ध्वनी उत्पन्न हुने उपकरणको प्रयोग गर्नु हुँदैन । वाजाहरु पनि धेरै चर्को रुपमा बजाउनु हुँदैन । गाडीको हर्न निषेध गरिएको ठाउँमा चर्को हर्न बजाउनु हुँदैन ।
८. मोवाइल वा हेड फोन धेरै समयसम्म प्रयोग गर्नु हुँदैन । गर्नै परे चर्को सुन्नु हुँदैन । 
९. कलकारखानामा काम गर्ने व्यक्तिहरुले इएर प्लगको प्रयोग गरी कानलाई चर्को ध्वनीबाट बचाउन पर्छ । यस्ता ठाउँमा कम्तिमा वर्षको एकपटक श्रवण परीक्षण गर्ने व्यवस्था मिलाउनुपर्छ ।  
१०. श्रवण शक्तिलाई कसरी बचाउन सकिन्छ, श्रवण शक्तिको ह्रास भइहालेमा के कस्ता विधिहरु अपनाएर रोकथाम र्गा सकिन्छ र छिटोभन्दा छिटो बच्चामा श्रवण शक्तिको परिक्षण कसरी गर्न सकिन्छ भन्नेबारे सर्वसाधारणलाई विभिन्न माध्यमबाट शिक्षा दिनुपर्छ ।
 

दोश्रो कर्णाली चलचित्र कार्यशाला बुधबारबाट

काठमाडौं । दोश्रो कर्णाली चलचित्र कार्यशाला कर्णालीको सुर्खेतमा आयोजना हुने हुने भएको छ । सप्ताहव्यापी यो कार्यशाला यही २३ फागुनबाट २९ फागुनसम्म आयोजना हुन लागेको हो । कार्यशालाको तयारी तिब्र गतिमा भईरहेको आयोजक संस्था केवी इन्टरटेनमेन्ट प्रा।लि।का अध्यक्ष भुपेन्द्र कुमार खड्काले जानकारी गराएका छन् । आईतबार बिहान सुर्खेतमा पत्रकार भेटघाट आयोजना गरी खड्काले कार्यशालाको बिषयमा जानकारी गराए । उनका अनुसार कर्णालीमा दोश्रो पटक यो चलचित्र कार्यशाला आयोजना गर्न लागिएको हो । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसावले निकै सुन्दर छ । सांस्कृति विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा पुर्याउनकै लागि हामीले गत वर्षबाट कर्णाली चलचित्र कार्यशाला आयोजना गर्दै आएका हौं ।’ अध्यक्ष खड्काले भने । यस अघि २०७९ असारको दोश्रो साता पहिलो कर्णाली चलचित्र कार्यशाला सुर्खेतमा आयोजना गरिएको थियो । पहिलो कार्यशालामा चलचित्र सम्बन्धि वेशिक कोर्स सिकाईएको थियो । उनीहरु सहित अन्य नयाँ विधार्थीहरुलाई यसपटक चलचित्रबारे एडभान्स कोर्षको प्रशिक्षण दिन लागेको आयोजक संस्थाका अध्यक्ष खड्काले बताएका छन् । यो कार्यशलामा यसपटक चलचित्र विकाश बोर्डका अध्यक्ष तथा अग्रज अभिनेता भुवन केसीको मास्टर क्लास हुने भएको छ । यस्तै चलचित्र लेखक निर्देशक दयाराम दाहालले पनि चलचित्र निर्देशनबारे विशेष क्लास लिने भएका छन् । चलचित्र लेखक÷निर्देशक तथा सञ्चारकर्मी डब्बु क्षत्रीले स्कृप्ट लेखन र चलचित्र निर्देशनको प्रयोगात्मक सहितको कक्षा लिने भएका छन् । सोही कार्यशालामा अभिनेत्री सरिता गिरीले अभिनय सम्बन्धि प्रशिक्षण दिने छिन । कार्यशालामा छायाँकन र सम्पादन सम्बन्धि पनि प्रयोगात्मक कक्षा हुने छ । गायिका समेत रहेकी सञ्चारकर्मी तथा मेकअप आर्टिष्ट सरिता भारतीले यसपटक कार्यशालामा फिल्ममा क्यारेक्टर मेकअपको प्रयोगात्मक प्रशिक्षण दिने छिन् । उनले बिगत सात वर्षदेखि फिल्म मेकअप तथा स्पेशल इफेक्टको क्लास लिँदै आएकी छिन् । यो कार्यशालामा सहभागी विधार्थीहरुले तीन वटा बृत्तचित्र र तीन वटा लघू चलचित्र निर्माण गर्ने पनि अध्यक्ष भूपेन्द्र कुमार खड्काले जानकारी गराएक छन् । कर्णाली प्रदेशका १० वटा जिल्लाका २५ जना विधार्थीहरुले यो कार्यशालामा भाग दिने भएका छन् । चलचित्र विकाश बोर्ड सह आयोजक रहेको यो कार्यशालामा विधार्थीहरुले स्थानीय कलामा आधारित लघु चलचित्र निर्माण गर्नेछन् । यो कार्यशालाको सहयोगी संस्थामा युवा परिषद तथा सह प्रयोजकमा नेपाल टेलिकम, दुरसञ्चार प्राधिकरण र नेपाल पर्यटन बोर्ड रहेको पनि अध्यक्ष खड्काले जानकारी गराए ।

सेयर बजार १९६० अंकमा, दुई समूहका मात्रै सूचक बढे

काठमाडौं, २० फागुन । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से १९६० अंकमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से ११.७८ अंक झरेको हो । दिनभरको उतारचढावका बीच बजार घटेको हो ।  आइतबार कुल २ अर्ब ८ करोडको कारोबार भएको छ । बिहीबार २ अर्ब ५९ करोडको कारोबार भएको थियो । कुल ६७ कम्पनीको मूल्य बढ्दा १७३ को घट्यो भने ८ को स्थिर रह्यो । दुई समूहका सूचक बढ्दा अरु सबै घटे । होटल तथा पर्यटन र उत्पादन समूह क्रमशः ०.५४ र ०.६६ प्रतिशत बढे । ब्यापार समूह भने सबैभन्दा धेरै २.५२ प्रतिशत घट्यो । बैंकिङ ६, विकास बैंक १७, फाइनान्स १३, हाइड्रोपावर २०, जीवन बीमा ९१, माइक्रोफाइनान्स १८, निर्जीवन बीमा ५६, अन्य १७ र ब्यापार समूह ७१ अंक घटे । होटल २७ र उत्पादन समूह ४४ अंक बढे । ग्लोबल आईएमई लघुवित्तको मूल्य सबैभन्दा धेरै ९.७ प्रतिशत बढ्यो । सीवाईसी लघुवित्तको ७.८, बोटलर्स नेपाल बालाजुको ५.६, गणपति लघुवित्तको २.८२ प्रतिशत बढे । चिरख्वा हाइड्रोपावरको ७.४, बीपीडब्लू लघुवित्तको ६.७, बोटलर्स नेपाल तराईको ५.६ तथा माथिल्लो मैलुङखोलाको मूल्य ५.२ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई र जोशी हाइड्रोपावर क्रमशः अगाडि रहे ।

काठमाडौंमा कवाडी व्यवसायीको प्रदर्शन

काठमाडौं, २० फागुन । काठमाडौं महानगरपालिकाविरुद्ध कवाडी व्यवसायीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । करिब एक सातादेखि आन्दोलनरत कवाडी व्ययवसायीहरूले आइतबार पानीमा रुझ्दै आन्दोलनलाई जारी राखेका हुन् । उनीहरूले महानगरपालिकाको पुरानो कार्यालय रहेको बागदरबार अगाडि प्रदर्शनसहित नारा जुलुस गरेका थिए । कवाडी व्यवसायीहरुले ‘फोहोर उठाउनेलाई सम्मान गर, कवाडमाथि डोजर चलाउन बन्द गर,’ जस्ता प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।  कवाडी व्यवसायी माथि महानगरपालिकाले दमन गरेको भन्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कतैपनि कवाडी व्यवसाय सञ्चालन गर्न नदिने भन्दै कवाडी संकलन केन्द्रका लागि बनाएको टहरामा डोजर चलाइहेको छ । महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेका अनुसार महानगर क्षेत्रभित्र मात्रै करिब १५ भन्दा कवाडी संकलन केन्द्रमा डोजर चलाइएको छ ।

सहिदको रगत, पसिना र त्यागको प्रतिफल गणतन्त्र हो  : रेखा शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको रगत, पसिना र त्यागको जगमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि कसैले चुनौती दिन नसक्ने बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)को सहिद सप्ताहका अवसरमा दाङको घोराही उपमहानगरपालिका–६ स्थित सहिद पार्कमा गणतन्त्र स्थापनाका लागि प्राण आहुति गरेका सहिदको सालिकमा माल्यार्पण गर्दै उनले अहिलेको व्यवस्था र परिवर्तनप्रति धेरै सहिदको त्याग र बलिदानलाई कोही कसैले पनि अवमूल्यन गर्न नमिल्ने बताइन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उन्नत व्यवस्था रहेको हुँदा व्यवस्था माथि प्रश्न उठाउने ठाउँ नरहेको उनले बताइन्। अहिले अस्थिरता चाहनेले विद्यमान व्यवस्थामाथि आलोचना गरे पनि गणतन्त्र स्थापनाको जग र यसको आयामलाई सबैले बुझ्न आवश्यक रहेको बताइन् । मन्त्री शर्माले मुलुकमा व्यवस्था परिवर्तनका लागि भएको लामो द्वन्द्वका कारण पीडामा परेका व्यक्ति, परिवारलाई न्याय दिलाउने काम अझै अधुरै रहेको हुँदा यसको छिनोफानो गर्न अब ढिलाइ गर्न नहुने बताइन् । “मुलुकमा शान्ति प्रक्रियाको थालनी भएको दुई दशक पुग्न थालेको छ, शान्ति प्रक्रियाको काम छ महिनामा टुङ्गो लगाउने कुरो थियो वास्तवमा निकै ढिलो भइसक्यो, अब शान्ति प्रक्रियाको बाँकी कामलाई विशेष प्राथमिकतामा राखेर चाँडोभन्दा चाँडो सार्थक टुङ्गोमा पु¥याउनुपर्छ, यसका लागि सरकार गम्भीररुपमा लागिपरेको छ”, उनले भनिन्, “सरकारको विशेष प्रक्रियामा रहेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई संसद्बाट पारित गर्ने प्रक्रियामै छौँ ।” उहाँले बेपत्ता योद्धाहरुको विषयलाई सम्बोधनका लागि विधेयक पारित नै महत्वपूर्ण विषय भएको उल्लेख गर्दै जनआन्दोलनका क्रममा घाइते भएका योद्धाको उपचारको सुनिश्चितासहितको कार्यविधि बनेको बताउनुभयो । माओवादीले हरेक वर्षको फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताहका रुपमा मनाउँदै आएको छ ।  

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक टीआरसीबारे छलफल

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक सिंहदरबारमा जारी छ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकमाथि छलफल भैरहेको छ । विधेयकमा सहमति जुटाउन आजै आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता केपी शर्मा ओली। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए । उक्त भेटमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक अघि बढाउन प्रधानमन्त्रीले नेताहरूसँग सहमति मागेका थिए । त्यसक्रममा एमाले अध्यक्ष ओलीले विधेयक अघि बढाउने सहमति दिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । एमाले प्रमुख सचेतक पदम गिरीले पनि सहमतिबाटै विधेयक अघि बढाउने सहमति भएको जानकारी दिए ।

आन्दोलनरत गुठीपीडित मोही किसानलाई वार्तामा आउन आह्वान, सरकारद्वारा समिति गठन

काठमाडौं। सरकारले दाङमा आन्दोलनरत स्वर्गद्वारी गुठीपीडित मोही किसानलाई आन्दोलन रोकेर वार्तामा आउन आह्वान गरेको छ । वार्ता गर्न सरकारले एक समिति पनि गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक विज्ञप्ति जारी गरी आन्दोलनका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर वार्तामा आउन आह्वान गरेको छ । स्वर्गद्वारी गुठीपीडित किसान संघर्ष समितिबाट विगत केही दिनदेखि दाङको घोराहीमा भइरहेको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाउँदै सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिका सदस्यहरुमा जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी, भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत, गुठी संस्थान र स्वर्गद्वारी आश्रमका एक एक जना प्रतिनिधि रहेका छन् ।  समितिले आन्दोलनरत पक्षसँग वार्ता गर्नुका साथै समस्याको वस्तुस्थिति, यस विषयसँग सम्बन्धित सर्वोच्च अदालतबाट विगतमा भएको आदेश, संघर्षरत पक्षको माग र अन्य सम्बद्ध पक्षसँगको छलफलको आधारमा विद्यमान समस्या समाधानका लागि कानुनसम्मत, व्यवहारिक र कार्यान्वयनयोग्य सुझाव प्रस्तुत गर्ने मन्त्रालयका प्रवक्ता गणेशप्रसाद भट्टले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।  दाङमा रहेको स्वर्गद्वारी आश्रमको जग्गाको भोगचलन गर्दै आएका किसानहरु केही दिनदेखि आन्दोलनमा छन् । दाङमा आन्दोलन सुरु भएलगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले प्रधानमन्त्रीलाई समस्या समाधानका लागि अनुरोध गरेकी थिइन् । उनले गत मन्त्रीपरिषदको बैठकमा पनि यो एजेन्डा उठाएकी थिइन् । लगातारको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष निर्देशनमा भूमिसुधार मन्त्रालयले वार्ता समिति गठन गरेको र अब आन्दोलनरत पक्ष वार्तामा आएर समस्या समाधानमा लाग्नुपर्ने मन्त्री शर्माले बताइन् । आन्दोलन सुरु भएलगत्तै आफूले निरन्तर आन्दोलन पक्षका आवाज सुनिरहेको जानकारी दिंदै उनले प्रधानमन्त्री र विभागीय मन्त्रीसँगको लगातारको छलफलपछि वार्ताको वातावरण बनेको र अब वार्ताबाटै समस्या समाधान हुने विश्वास व्यक्त गरिन्।

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक छिट्टै पारित छौं :  मन्त्री शर्मा

घोराही । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक संसदबाट छिट्टै पारित गर्ने बताएका छन् । आज घोराहीमा सहिदहरुको शालिक माल्यार्पन गर्दै मन्त्री शर्माले द्वन्द्वको समयमा भएका घटनाहरुलाई निक्र्योल गरी शान्ति प्रक्रिया टुङ्ग्याउन विधेयक संसदबाट पारित गरिने बताए । उनले क्रमणकालीन न्यायले पीडित, उनीहरुको परिवार र समुदायमा शान्ति ल्याउन सहयोग गर्ने विश्वास व्यक्त गर्र्दै न्याय प्रक्रियामा ढिलाइ भएकाले छिटोभन्दा छिटो यस विषयलाई टुङ्ग्याउने बताइन्।  अहिलेको सरकारको काम शान्ति प्रक्रियाका बाँकी काम पूरा गरेर सङ्क्रमणकालीन न्यायको काम पूरा भएपछि मात्रै शान्ति प्रक्रिया पूरा हुने र त्यसपछि सामाजिक, आर्थिक रुपान्तरणका काम गर्नैपर्ने बताइन् । यस्तै, लामो सङ्घर्ष, बलिदान र दृढ सङ्कल्पबाट प्राप्त भएको जनताको संविधानलाई बचाईराख्न आवश्यक रहेको बताइन् । अहिलेको प्राप्त उपलब्धि  माथिको सङ्कट हटाउन नसक्ने हो भने देशमा फेरि निरङ्कुशता लादिने सम्भावना बढ्ने पनि बताइन्।  उनले घोराही ६ र ७ नम्बर वडाका मृतक सहिद कृष्णी चौधरी (आस्था), अर्जुन चौधरी (क्षितिज) , निराजन चौधरी (सन्केत) शालिकराम चौधरी (सुवर्ण), हिमली चौधरी (दीक्षा), सितल चौधरी (सितल), गोवर्धन कोरि, लक्ष्मण उपाध्याय (राजन) , वसन्त सुवेदी (कुमार)को शालिक माल्यार्पन गरेसँगै जिल्लामा रहेका सहिद परिवारसँग भेटघाट भेटघाट पनि गरेकी थिइन्।

सुनको भाउ एकैदिन २ हजार बढ्यो

काठमाडौं, २० फागुन । आइतबार सुनको मूल्य तोलामा २ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन तोलाको १ लाख १९ हजार रुपैयाँ रहेको सुन आइतबार एकै दिन १ लाख २१ हजार पुगेको हो । अन्तर्राष्ट्रिय बजारको कारोबारमा शुक्रबार मूल्य उच्च दरमा बढ्दा आइतबार नेपाली बजारमा प्रभाव परेको महासंघले बताएको छ । शनिबार सार्वजनिक विदा भएकाले त्यस दिन सुनको मूल्य समायोजन गरिँदैन । विगत केही दिनदेखि सुनको मूल्य निरन्तर बढिरहेको छ । त्यस्तै चाँदीको मूल्य पनि आइतबार तोलाको २० रुपैयाँ बढेको छ । अघिल्लो कारोबार दिन तोलाको १ हजार ३९० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४१० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हङकङमा हुने ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा, नयाँलाई अवसर

काठमाडौं । क्यानले हङकङमा हुने ट्वान्टी–२० शृंखलाका निम्ति नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।  नेपाली टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेका छन् । नेपाली टिममा आकाश चन्द र लोकेश बमलाई अवसर  दिइएको छ भने अनिल साह, आसिफ सेख, कुशल मल्ल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीलाई विश्राम दिइएको छ । नेपालले मार्च दोस्रो सातादेखि सुरु हुने ट्वान्टी–२० शृंखलाका लागि हङकङको भ्रमण गर्दैछ । मार्च ९ देखि १३ सम्म हुने शृंखलामा नेपाल र हङकङसँगै पपुवा न्युगिनी (पीएनजी) को सहभागिता रहने छ ।  यस्तो नेपाली टिम  रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुल्सन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द, अभिनाश बोहरा

नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदै, दर्शकलाई क्यानको फ्रि व्यवस्था

काठमाडौं । त्रिदेशीय ट्वान्टी–२० शृंखलाअन्तर्गत आज नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । आज बिहान साढे ११ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । आजको खेलका लागि क्यानले फ्रि टिकटको व्यवस्था गरेको छ । दर्शकहरुले नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा मैदानमा बिना टिकट फ्रि मै हेर्न पाउँनेछन् । नेदरल्यान्ड्स तीन खेलमा एकमा हार र दुईमा जितसहित चार अंकका साथ पहिलो स्थानमा छ भने नामिबिया समान तीन खेलमा एकमा जित र दुईमा हारसहित दुई अंकका साथ समूहमा तेस्रो तथा अन्तिम स्थानमा छ । नेपाल चार खेलमा दुई जित र दुईमा हारसहित चार अंकका साथ दोस्रो स्थानमा छ ।

संसदका ६ समितिको बैठक बस्दै

काठमाडौं । आज संसदका ६ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । सो बैठकमा भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका समस्या सम्बन्धमा छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै, बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ । बिहान ११ बजे नै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समिक्षा हुनेछ । बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा फलामे छडको कच्चा पदार्थको रुपमा रहेको स्पञ्ज आइरन र विलेट्सबीच भन्सार महशुल एवं अन्तःशुल्कका सम्बन्धमा समितिको मिति २०७९/३/६ गतेको निर्णय कार्यान्वयन सम्बन्धमा थप छलफल हुनेछ । त्यसैगरी, बिहान साढे ११ बजे नै बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि उपसमितिको प्रतिवेदनसहित छलफल हुनेछ । दिउँसो ४ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ६ वर्ष कार्यकाल पूरा गरी जाने सदस्यहरूको बिदाइ गर्ने कार्यक्रम रहेको छ ।

शालीनको मृत्युबारे गम्भीर छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शालीन पोखरेलको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्न निर्देशन दिएका छन्। चितवनको एकता शिशु निकेतन स्कुलको होस्टेलको कोठामा मृत भेटिएकी शालिनको हत्या कि आत्माहत्या भन्ने विषयमा छानबिन चलिरहेका बेला प्रधानमन्त्री प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। साथै प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध रहेको समेत उल्लेख गरेका छन्। प्रचण्डले सामाजिक सञ्जालमा लेखका छन्, ‘होस्टेलमा मृत अवस्थामा फेला परेकी १४ वर्षीय बालिका शालीन पोखरेलको मृत्युले मलाई गम्भीर र दुखी तुल्याएको छ। घटनाको गहन छानविन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानविन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिवद्ध छ।’

आजको मौसम :  हल्का वर्षा र हिमपातको सम्भावना

  काठमाडौं । जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले ।हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही  बागमती, कर्णाली, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा र मधेश प्रदेश सहित बाँकी तराईका थोरै स्थानहरूमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको साथै बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ । वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

कारागारमा विपश्यना ध्यान शिविरको समापन

काठमाडौं। कारागार कार्यालय, नक्खुमा १२ दिन अघि सुरु भएको विपश्यना ध्यान शिविर आज समापन भएको छ।समारोहमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेत उपस्थित रहेका थिए । शिविरमा ४३ जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी सहभागी थिए । सहभागीलाई आचार्य ज्ञानदर्शन उदास लगायतले ध्यान सिकाए ।  कारागार कार्यालय, नक्खुमा निर्मित विपश्यना केन्द्र ुधम्मासयुको उद्घाटनसँगै शिविर सुरु भएको हो। नेपाल विपश्यना केन्द्रको सहयोगमा सो केन्द्रको निर्माण भएको हो। शिविरको समापन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले सामाजिक न्याय, सुशासन र समृद्धिको सरकारको अभियानमा जेल सुधार पनि एक महत्वपूर्ण पक्ष भएकोले कैदीबन्दीको अधिकार एवम् रुपान्तरणलाई सरकारले ध्यान दिएको बताए। ध्यानले आफ्नै रुपान्तरण गर्ने भएकोले  १२ दिनसम्म सिकेको यस बिधिलाई दैनिक र जीवनभर प्रयोगमा ल्याएर उदाहरणीय बन्न उनले कैदीबन्दीहरूलाई आग्रह गरे। सहभागीमध्येले शिविर अवधिका अनुभव सुनाउँदै ध्यानले सकारात्मक सोच्न र सच्चिन धेरै मद्दत गर्नसक्ने बताए।

हत्या अभियोगमा दम्पत्ती पक्राउ

नुवाकोट, १९ फागुन । नुवाकोटको किस्पाङ गाउँपालिका बस्ने रसुवा उत्तरगया गाउँपालिका ३ डाँडागाउँ घर भएका ७१ वर्षीय भुन्टे भन्ने टेकप्रसाद भट्टको हत्या गरेको आरोपमा प्रहरीले एक दम्पत्तीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा रसुवाको कालिका गाउँपालिका २ धैबुङका ४१ वर्षीय अनिल भुषाल र उनकै श्रीमती ३१ वर्षीया दिपा भट्ट भुषाल रहेका छन्। किस्पाङ गाउँपालिका ५ खत्रीकुना जंगलमा टेकप्रसाद भट्ट मंगलबार बिहान मृत अवस्थामा फेला परेको घटनाको अनुसन्धानमा घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। कार्यालयका अनुसार भुषाल दम्पत्ती काठमाडौं महानगरपालिका १६ बालाजु, बाइपासमा भएकाले उनीहरूलाई त्यहिँबाट पक्राउ गरेर नुवाकोट ल्याइएको हो। उनीहरूले विगतको रिसईवीको कारणले भट्टलाई किस्पाङ गाउँपालिकाको खत्रिकुना जंगलमा लगेर दाउरा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ। उनीहरू माथि जिल्ला अदालत नुवाकोटबाट सात दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।