कारबाही गर्ने प्रतिवद्धता गरेका मन्त्री मण्डलले दिए उन्मुक्ति

काठमाडौँ, असाेज १० । उपभोक्तालाई ठगेको आरोपमा २० दिनअघि सिल गरिएका दरबामार्गका विभिन्न व्यवसायीक फर्मलाई बिनाकारबाही छोडिएको भन्दै उपभोक्तावादीले विरोध जनाएका छन् ।

मन्त्री र उनीनिकट व्यक्तिले चलखेल गरेर व्यवसायीक फर्मलाई उन्मुक्ति दिएको उनीहरुको आरोप छ । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

आपूर्ति मन्त्री शिवकुमार मण्डल र आपूर्ति व्यवस्था विभागका महानिर्देशक कुमार दाहालको टोलीले २० दिन अघि अनुगमन गर्दा उपभोक्तालाई ठगी गरेको पाइएपछि ती फर्ममाथि सिल गरिएको थियो ।

मन्त्री मण्डलले ती फर्मलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गर्ने प्रतिवद्धता जनाए पनि कारबाहीबीनै सोमबारदेखि सञ्चालन गर्न निर्देशन दिएका हुन् ।

दशैं मान्न घर फर्किएका पाँचजना नेपाली भारतमा लुटिए

भीमदत्तनगर, असोज १० । दशैं पर्व मनाउन घर फर्किरहेका पाँचजना नेपाली सोमबार भारतमा लुटिएका छन् । भारतको बागेश्वरमा मजदुरी गरेर फर्किरहेका दैलेख तिलेपाटा नगरपालिका–५ का लक्ष्य नेपाली, नवराज नेपाली, भरत नेपाली, कमल नेपाली र रमेश सिजापति नगदसहित लुटिएका हुन् । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका अनुसार पाँचै जनालाई भारतको उत्तराखण्डको किच्छा भन्ने स्थानमा लुटिएका हुन् । किच्चा सीमावर्ती भारतीय वनबासा बजारबाट झण्डै ७० किलोमिटरको दूरीमा छ । जिल्ला प्रहरी कार्यालय कन्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले मजदुरी गरेर घर फर्किरहेका नेपालीलाई लुटेरा समूहले मादकपदार्थ सेवन गराएर लुटपाट गरेको प्रारम्भिक जानकारी आएको बताए । लुटिएका पाँचैजना सोमबार दिउँसो पश्चिमी नाका गड्डाचौकी पुगेर प्रहरीको सम्र्पकमा आएका थिए । प्रहरीले उनीहरुलाई हेल्प डेस्कको सहयोगबाट घर पठाउने गृहकार्य गरिरहेको जनाएको छ ।

दशैंको दिन सर्वसाधारणका लागि सेनाको निशुल्क बस सेवा

काठमाडौं, असोज ९ । यस वर्षको दशैंका दिन नेपाली सेनाले काठमाडौं उपत्यकामा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । टीकाका दिन उपत्यकामा सार्वजनिक सवारीका साधन कम सञ्चालन हुने भएकाले सेनाले सर्वसाधारणको सुविधाका लागि बस सञ्चालन गनृ लागेको जनाएको छ । नेपाली सेनाका अनुसार उपत्यकाका आठ वटा रुटमा बस सञ्चालन हुने छन । बिहान साढे ६ र ११ तथा अपरान्ह चार बजे भद्रकालीबाट सेनाका बस निःशुल्क सञ्चालन हुनेछन् । कुन–कुन रुटमा चल्ने छन त सेनाका बस रुट नं. १ भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, रत्नपार्क । रुट नं. २ भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानीलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर । रुट नं. ३ भद्रकाली, माइतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, थानकोट, स्वयम्भु, छाउनी, ताहाचल, टेकु, थापाथली । रुट नं ४ भद्रकाली, माइतीघर, बानेश्वर, तीनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकाली । रुट नं. ५ भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउँ, सातदोबाटो, तीनकुने, बानेश्वर, शहीदगेट । रुट नं. ६ भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, साँखु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली । रुट नं. ७ भद्रकाली, माइतीघर, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर, भद्रकाली । रुट नं. ८ भद्रकाली, माइतीघर, कोटेश्वर, सातदोबाटो, कलंकी, बालाजु, चाबहिल, गौशाला, तीनकुने, भद्रकाली । यसैगरी, यस वर्षपनि दशैंको विदामा घर जाने सैनिक र उनीहरुका परिवारका लागि सेनाले बस सेवा सञ्चालन गरिरहेको छ । ५ असोजबाट सुरु भएको त्यस्तो सेवा १२ गतेसम्म चल्ने छ ।

४ स्थानीय तहको नतिजा आउन बाँकी, राजविराजमा माओवादीको अग्रता

काठमाडौं, असोज ९ । गएको असोज २ गते भएको प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमध्ये १ सय ३१ तहको नतिजा सार्वजनिक भएको छ । अब चार स्थानीय तहको नतिजा आउन बाँकी छ । अन्तिम नतिजा आउन बाँकी रहेका मध्ये २ नम्बर प्रदेशको एक मात्र महानगर पर्साको वीरगंज महानगरपालिका, बाराको कलैया उपनगरपालिका, बारागढी गाउँपालिका र सप्तरीको राजविराज नगरपालिकामा मतगणना जारी छ । मतगणना जारी रहेका मध्ये बीरगञ्ज महानगरपालिकामा संघीय समाजवादी फोरम अगाडि रहेको छ । करिब ८४ हजार भन्दा बढी मत खसेकोमा अहिलेसम्म ६३ हजार १ सय ४४ मत गन्दा संघीय समाजवादी फोरम नेपालले अग्रता लिइरहेको छ । पछिल्लो मतगणना अनुसार मेयरमा संघीय समाजवादी फोरम नेपालका विजयी सरावगीले १४ हजार ६ सय ७७ प्राप्त गरेका छन भने उनलाई पछ्याउदै नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १३ हजार ५ सय ५४ मत प्राप्त गरेका छन । त्यस्तै उपमेयर नेपाली कांग्रेसकी शान्ति कार्कीले १५ हजार ६ सय ६५ प्राप्त गरेकी छन । भने उनलाई संघीय समाजवादी फोरम नेपालकी पिंकी यादवले १३ हजार ९ सय ९१ मत ल्याउदै पछ्याइरहेकी छन । त्यसैगरी कलैया उपमहानगरपालिकाको प्रमुखमा नेकपा एमालेको अग्रता कायम छ । नेकपा एमालेका बिनोद साहले ९ हजार ४ सय १९ प्राप्त गरेका छन भने उनलाई नेपाली कांग्रेसका राजेश यादवले ९ हजार ४६ ल्याई पछ्याइरहेका छन । त्यस्तै उपमेयरमा एमालेकी प्रतिमा यादवले ९ हजार २ सय ३१ प्राप्त गरेकी छन । भने उनलाई नेपाली कांग्रेसकी रहिमा खातुनले ८ हजार ७ सय ६६ ल्याई पछ्याइरहेकी छन । त्यसैगरी, राजविराज नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका अनिस अन्सारीले अग्रता लिएका छन । अनिसले ९ सय ८७ मत प्राप्त गरी अगाडि छन भने उनलाई संघीय समाजवादी फोरम नेपालका भिमराज यादवले ८ सय ९२ मत गरी पछ्याइरहेका छन । त्यस्तै, उपमेयरमा राजपाको अग्रता रहेका छ । राजपाका साधना झाको १ हजार ६७ मत रहेको छ भने माओवादी केन्द्रका सुमित्रादेवी यादवको ९ सय ६७ रहेको छ । बारागढी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसको अग्रता कायमै रहेका छ । कांग्रेसका देवदत्तबछाड थारुले १ हजार ७ सय ३ मत प्राप्त गरेका छन भने उनलाई संघीय समाजवादी फोरमका अशोककुमार जयसवाल १ हजार २ सय ६ मत प्राप्त गरी उनलाई पछ्याइरहेका छन । त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसको अग्रता छ । काग्रेसकी चन्द्रावती चौधरीको १ हजार ५ सय ७५, संघीय समाजवादी फोरमको लक्ष्मीदेवी रायको १ हजार ६७ र एमालेकी धनमाया चौधरीको १ हजार ८२ मत रहेको छ ।  

उधारोमा दशैँ मनाउँदै चेपाङ

चितवन, असोज ९ । अति सीमान्तकृत समुदाय चेपाङ उधारो तथा ऋण गरेर दशैँ मनाउने तयारीमा जुटेको छ । दशैँको मुख्य दिन आउन लागेकाले शक्तिखोर बजारमा सिद्धि, काउले र शक्तिखोरका पहाडी भेगका चेपाङको भीड लागेको छ । दलबहादुर चेपाङले पसलका साहुलाई पछि पैसा तिर्ने सर्तमा चामल, नून, तेल, मसला खरिद गर्नुभयो । पैसा नभएपछि उहाँले उधारोमा सामान लिनुभएको हो । कतिपय चेपाङ बोका, ठेकी, डोका, डाला बेचेर दशैँको जोहोमा जुटेका छन् भने केहीले गहत र मास फलेपछि त्यसबाट आएको पैसा दिने प्रतिबद्धता जनाएर उधारोमा चामल, तेल, नून, मसला खरिद गरेर लगेका स्थानीय लक्ष्मण चेपाङले बताए । केहीले दशैँ सकिएपछि ज्याला मजदुरी गरी उधारो तिर्ने बताएका छन् । ऋण तथा उधारोमै भए पनि मीठो मसिनो खाएर, नयाँ लुगा लगाएर रमाइलो गर्ने योजना बनाएको नेपाल चेपाङ संघका अध्यक्षसमेत रहेका लक्ष्मण चेपाङले बताएको छ । आफ्नो उब्जनीले चेपाङलाई वर्षभरि खान पुग्दैन । खोरियामा फलेको अन्न केही महिनाका लागि मात्रै हुन्छ । छ महिना अनिकाल र छ महिना सहकालमा जीवन गुजार्ने चेपाङ समुदाय चेली भेला गर्ने तथा बाहिर गएका आफन्त जमघट हुने भएकाले दशैँको जोहो गर्न जुटेको छ । नेपाल चेपाङ संघका केन्द्रीय कोषाध्यक्ष रवीन्द्र चेपाङका अनुसार नेपालमा करिब ७० हजार चेपाङको बसोबास छ । चितवन, मकवानपुर, गोरखा, धादिङ, लमजुङ र तनहुँमा विशेषतः चेपाङको बसोबास छ । मकवानपुरबाट गएका केही चेपाङ बाँके र बर्दियामा पनि बस्दै आएका छन् । खाना सकिएका बेला गिठा र भ्याकुर खोजेर खाने चेपाङले हिन्दूले झैँ घटस्थापनादेखि नै दशैँ नमनाउने गर्छन् । उनीहरुको छुट्टै सांस्कृतिक महत्व रहिआएको छ । संविधानसभाका सदस्यसमेत बनेका गोविन्द चेपाङ श्रीमान्–श्रीमती पक्का बनाउन गोडा फर्काउने चलन रहेको बताएको छ । श्रीमती ल्याएपछि माइती बुझाउने चलन दशैँमै गर्नुपर्ने तथा नसक्नेले माघमा गर्नुपर्ने चलन रहेको उनले बताए । विभिन्न संघसंस्थाले चेपाङका लागि कार्यक्रम चलाए पनि उनीहरुको दिगो आय आर्जनमा सहयोग पुग्ने कार्यक्रम खासै सञ्चालन हुने सकेका छैनन् । त्यसैले चेपाङको जीवनस्तर सोचे जसरी अघि बढ्न सकेको छैन ।

‘रौतहटमा गोली हानी एकको हत्या’

रौतहट, असोज ९ । रौतहटमा अज्ञात समूहले एक व्यक्तिको गोली हानी हत्या गरेका छन् । परोहा नगरपालिका २ जिंगडवामा सोमबार गोली हानी एक युवकको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मत्यु हुनेमा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको प्रहरीले जनाएको छ । उनी हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा हुन् । आफ्नै घरको आंगनमा सुतिरहेकको अवस्थामा बिहान करीब ४ बजे सोहेब उपर गोली प्रहार भएको पीडित परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । शरीरमा गोली लागेका घाइते सोहेबलाई उपचारको लागि जिल्ला अस्पताल गौरमा लैजाने क्रममा मृत्यु भएको हो । मृतको शव परीक्षणको लागि गौर अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालकको मृत्यु

मोरङ, असोज ९ । मोरङको उर्लाबारी–९ स्थित उर्लाबारी–बरडंगा सडक खण्डमा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को१८प ५३२६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक रतुवामाई नगरपालिका–९ का ३९ वर्षीय थिरप्रसाद सिग्देलको गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारी प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले जानकारी दिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका सिग्देलको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचारका क्रममा राति मृत्यु भएको हो ।

दोलखाका रेग्मी नुवाकोटमा मृत्त भेट्टिए

नुवाकोट, असोज ९ । दोलाखा साविक लाकुरीडाँडा गाविस वडा–३ का लोकप्रसाद रेग्मी नुवाकोटको विदुर नगरपालिका–१३ केसिंहस्वारामा मृत अवस्थामा भेट्टिएका छन्। व्यापारिक प्रयोजनको सिलसिलामा नुवाकोट आएका ३९ वर्षका रेग्मी सडक छेउमा आज बिहान मृत भेट्टिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिए । स्थानीयवासीका अनुसार खुद्रा सामग्रीको व्यापार गर्ने गरेका रेग्मी उधारो रकम उठाउन केही दिनअघि नुवाकोटमा आएका थिए । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ ।

पचली भैरव जात्रामा भक्तजनको भीड

काठमाडौँ, असोज ९ । काठमाडौँ महानगरपालिका–१२ टेकुस्थित पचली मन्दिरमा दर्शनका लागि भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष आजको दिन उक्त स्थानमा पचली भैरव जात्रा लाग्ने हुँदा काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट मेला भर्नेको घुइँचो लाग्ने गर्दछ । प्राचीन समयमा भैरव तिब्बतबाट नेपाल आउने क्रममा उक्त स्थानमा बास बसेको र स्थानीयवासीलाई आफ्नो दैवी शक्तिस्वरुपको रुप प्रकट गरी जमिनबाट विलय भएका कारण त्यसको स्मरणमा प्रत्येक वर्ष जात्रा निकाल्ने प्रचलन रहेको पचली भैरव संरक्षण समितिका कोषाध्यक्ष श्रीमिला सुवालले जानकारी दिए । जात्राको तयारीका क्रममा करिब एक साता अगाडि नै मन्दिरमा राखिएको घेम्पोलाई चित्रकारले विभिन्न श्रृगांरका सामग्री राखेर सजाएका थिए । पचली भैरवलाई खटजात्रा गरी भीमसेनस्थानस्थित थकालीका लगेर ल्याउने व्यवस्था छ । यहाँ आएर बास बसेर आजको जात्रामा सहभागी भएका छन् । सांस्कृतिक बजागाजासहित झाँकीसमेत जात्रामा प्रस्तुत गरिएको छ । त्यस क्षेत्रको संस्कृतिलाई नजिकबाट अध्ययन गरिरहेका राजनीतिज्ञ तीर्थराम डंगोलका अनुसार भैरव बास बसेको स्थानमा एकरात जागाराम बसेमा पारिवारिक शुख, शान्ति तथा समृद्धि प्राप्त हुने विश्वास छ । उनले कुनै सममा नेमुनि ऋषिले समेत सोही स्थानमा आएर तपस्या गरेको जानकारी गराए । मुलुकमा राष्ट्राध्यक्ष परिवर्तन भएपछि भैरवको खड्गसमेत साट्ने प्रचलन परापूर्वकालदेखि चलिआएको छ ।

करेन्ट लागेर मृत्यु

झापा, असोज ९ । झापाको भद्रपुर नगरपालिका – १० का ७१ वर्षीय डम्बरबहादुर लिम्बूको करेन्ट लागेर मृत्यु भएको छ । जंगली हात्ती लखेट्ने क्रममा उनलाई हिजोराति करेन्ट लागेको प्रहरीले जनाएको छ । लिम्बूले घरवरिपरि लगाएको करेन्टवालमा ठोक्किन पुग्दा उनलाई करेन्ट लागेको र उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

उपचार अभावमा पाँच वर्षदेखि फलामे खोरमा

तेह्रथुम, असोज ९ । एउटा मानिस आफ्नै घरमा फलामको खोरमा रहेको सुन्दा जोसुकैलाई अचम्म लाग्न सक्छ तर यो यथार्थ हो । तेह्रथुमको आठराई गाउँपालिका–६ चुहानडाँडा, बोखीका उदयनारायण दाहाललाई पाँच वर्षदेखि फलामको खोरमा थुनेर राखिएको छ । घरको एउटा कुनामा राखिएको फलामे खोरसम्म, ३४ वर्षीय दाहाललाई वैदेशिक रोजगारीले नै पुर्याएको हो । वैदेशिक रोजगारीका लागि दाहाल विसं २०६३ मा दुवई गएको थियो । दाहाललाई कक्षा ८ मा पढ्दापढ्दै कमाउन विदेश जाने हावाले छोयो । बुबाआमाले रु एक लाख ५० हजार खर्च गरेर दुवई पठाए । छ महिनापछि उनले पहिलो कमाइ रु ७० हजार घर पठाए । वैदेशिक रोजगारीका क्रममा दुवई पुगेका दाहालले १० महिनापछि मानसिक सन्तुलन गुमाएर घर फर्किनुपर्यो । दसौँ महिनामा बिरामी भएको खबर आयो, काठमाडौँ ल्याएर उपचार ग¥यौँ । बुबा चूडामणि दाहालले भने, “छ महिनासम्म औषधि खाएपछि सन्चो भयो ।” निको भएपछि उदयनारायण पुनःभारतको मद्रास गए । दुई महिना नपुग्दै फेरि बिरामी भएर फर्किनुप¥यो । बुबाआमाले ललितपुरको मानसिक अस्पताल उपचारका गराए । अस्पतालमा डाक्टर सुरेन्द्र शेरचनले उदयनारायणलाई ‘बाइपोलार डिस्अर्डर’ रोग लागेकाले लामो समयसम्म नियमित औषधि सेवन गर्नुपर्ने सल्लाह दिए । आमा मैनाले भने, “औषधि उपचारमा करिब रु पाँच लाख खर्च भयो । “ऋण लिएर औषधि उपचार गरियो, एक वर्ष नबित्दै एक दिन अचानक रोग बल्झेछ । घरमा काम गरिरहेका बुबालाई काठको मुंग्रोले हिर्काएर लडायो । बुबा बेहोस भएपछि एम्बुलेन्स झिकाएर उपचार गर्न लगेका छन् ।” थप उपचारका लागि खर्चको अभावमा उपचार गर्न नसकेपछि छोरालाई खोरमा राख्न बाध्य भएको विरक्तिँदै बुबा चूडामणिले बताए । “नियन्त्रणमा नराखे थप क्षति हुने देखेर छिमेकी जिल्ला पाँचथरको फिदिम पुगेर रु ३५ हजारमा फलामको खोर अर्डर गर्र्यौं । अहिले त्यही खोरमा थुनेर राखिएको छ ।” छोरालाई थुनेर राख्नुपर्दा कुन बाबुआमाको मन नरोला र ?” उदयनारायण खोरभित्रै खानेकुरा थापेर खानुहुन्छ । कपडा फेर्न, कपाल, दाह्री काट्न दुई÷चार जना लाठे खोजेर उहाँलाई बाहिर निकाल्नुपर्छ । खोरभित्रै शौचालयको प्रबन्ध मिलाइएको छ । बेलाबेला सामान्य अवस्थामा उहाँ आउनुहुन्छ र कुरा गर्नुहुन्छ । सामान्य अवस्थामा आउँदा उदयनारायणले भने, “औषधि गर्न पाए ठीक हुन्थें होला १” उदयनारायणले राम्रो उपचार पाए पहिलेकै अवस्थामा आउने परिवारको आशा छ । छोराको उपाचारका लागि दाहाल परिवारले आवश्यक सहयोगको याचना गरेको छ ।

दुई महिनामा आठ अर्ब मूल्य बराबरको सवारीसाधन नेपाल भित्रिए

वीरगञ्ज, असोज ९ । नेपालीको महान् चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गरी व्यापारीले चालु आवको साउन, भदौ महिनामा छिमेकी मुलुक भारतबाट आठ अर्ब मूल्य बराबरको भारतीय सवारी साधन नेपाल भित्र्याएका छन् । यसबाट वीरगञ्ज भन्सार कार्यालयलाई कूल राजश्वमध्ये ३० प्रतिशत राजश्व भारतीय सवारी साधनबाट उठेको सूचना अधिकारी सन्तोष यादवले बताए । वीरगञ्ज भन्सार कार्यालयका अनुुसार चालु आवको साउन, भदौ महिनामा भारतबाट रु दुई करोड सात लाख तीन हजार मूल्य बराबरको ३० वटा बस, रु १२ करोड ७७ लाख ८६ हजार मूल्य बराबरको ६३ थान मिनी बस, रु २१ लाख मूल्य बराबरको एक थान माइक्रो बस, रु तीन अर्ब ६२ करोड ७१ लाख ३६ हजार मूल्य बराबरको दुई हजार २८५ थान जिपकार भ्यान, रु २७ करोड २५ लाख मूल्य बराबरको २१८ थान डबल क्याप पिकअप, रु २० करोड १६ लाख मूल्य बराबरको २८७ थान सिंगल क्याप पिकअपजस्ता सवारीसाधन नेपाल भित्र्याएको हो । यसैगरी सोही अवधिमा भारतबाट रु २५ करोड ४६ लाख ४१ हजार मूल्य बराबरको २८३ थान ट्रक मिनी ट्रक, रु ४८ करोड ८७ लाख ४४ हजार मूल्य बराबरको ६३४ थान बस, ट्रकको चेसिस तथा रु दुई अर्ब ७१ करोड ६७ लाख ५१ हजार मूल्य बराबरको ३५ हजार ८१४ थान विभिन्न कम्पनीको मोटरसाइकल नेपाल भित्र्याएको छ । दशैँ, तिहार तथा छठमा बिक्रेताले विभिन्न प्रकारका उपहारको स्कीम राख्ने भएकाले बिक्री बढ्न जाँदा वीरगञ्ज नाकाबाट दुई महिनाभित्रै यति ठूलो परिणाममा सवारीसाधन नेपाल भित्र्याएको छ । अन्तःशुल्क, भन्सार र भ्याटसमेत विभिन्न प्रकारका गाडीमा २२६ प्रतिशत कर लाग्ने भए पनि यस वर्ष अघिल्लो वर्षको तुलनामा बढी सवारीसाधन वीरगञ्ज नाका भएर भित्रिएको हो । विलासिताको श्रेणीमा गाडी आउने र ग्राहक पनि बढ्न गएकाले गत वर्षको तुलनामा यस वर्ष गाडी आयातमा उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्षको साउन, भदौ महिनामा रु छ अर्ब ५० लाख मूल्य बराबरको विभिन्न प्रकारका गाडी नेपाल भित्रिएका थिए ।

थारु गाउँमा दशैँको रमझम, सखिया नाचले गाउँघर गुञ्जयमान

बर्दिया, असोज ९ । पश्चिम नेपालका थारु गाउँबस्तीमा अहिले सखिया नाचको रौनक छ । प्रायः हरेक थारु गाउँमा दशियामा सखिया नाच नाचिन्छ । सखिया नाच नभएको गाउँ सुनसान र दशैँ नआएको जस्तो महशुस हुने गरेको थारु अगुवाको बुझाइ छ । दशैँको टीका होस् कि शुभकामना आदानप्रदान गर्ने कार्यक्रम होस् सबै ठाउँमा थारु युवतीको छमछमी नाचले गाउँघरको परिवेश नै बेग्लै हुने गर्छ । ढिक्री पुज्ने ढिक्रहवा र टीकाका दिन थारु युवतीले रातभरि सखिया नाच नाच्ने गर्छन् । प्रायः पुरुषले मादल बजाउने र युवतीले नाच्ने प्रचलन थारु गाउँमा हुन्छ । रंगीविरंगी थारु पहिरन लगाएर छमछमी नाच्ने सखिया नाचको महत्वले दशैँको गरिमालाई समेत बढाउने गर्छ । मादलको तालमा नाचिने नचनिया कम्मर मर्काईमर्काई नाच्ने गर्छन् । थारु समुदायको सखिया नाचको आकर्षणले आन्तरिक तथा बाह्य पर्यटकसमेत थारु गाउँबस्तीमा पुग्ने गर्छन् । थारु सांस्कृतिक कार्यक्रमले पर्यटकलाई गाउँबस्तीसम्म तान्ने गर्छ । यसले थारु गाउँको मात्र हैन त्यहाँको जनजीवन नै गौरवान्वित हुने गर्छ । दशैँमा थारु समुदायले सामूहिकरुपमा टीका ग्रहण गर्ने गर्छन् । सखिया नाच नाच्दै अभिभावकसँग सामूहिक टीका ग्रहण गरेर एकापसमा रमाएर थारु समुदायले दशैँ मनाउने गर्छन् । दशैँले एकअर्काको सम्बन्धलाई जोड्ने र मायालाई अटुटरुपमा कायम राख्ने विश्वास गरिन्छ । थारु गाउँबस्तीमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि त्यसलाई नाचका रुपमा नचनियासँगै गाउने काम भने दशैँमा हुने गर्छ । गीतको भाका लामो भएकाले कुनैकुनै गाउँमा तिहारसम्म पनि सखिया नाच नाच्ने प्रचलन छ । प्रायःसाँझको खाना खाएपछि भलमन्साको घरमा जम्मा भएर सामूहिकरुपमा सखिया नाच्ने प्रचलन छ । थारु समुदाय कृषि काममा व्यस्त रहने समुदाय भएकाले दिनभरि घरको काम गर्ने र साँझको फुर्सतको समयमा सखिया नाच नाच्ने गर्छन् । पूर्वका थारुले सखिया नाच नाच्ने गर्दैनन् । उनीहरु दशैँ पनि खासै मनाउँदैनन् । तर पश्चिम नेपालका थारुले दशैँलाई धुमधामका साथ मनाउँछन्।

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको विजेता घोषित

सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको दोस्रो साता को बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा प्रेम बहादुर आले मगर्, ललिता राई, लोक राज शर्मा, राम प्रीत केवत्, शोभा थापा मगर्, अनुजा भट्टराई, समझना ढकाल, सुनिता महर्जन छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा चिरा कुमारी शर्मा छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेकोे छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दूबै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

कार्यकक्ष नपुगी बाटोबाटै हराएका सात हजार कर्मचारी खोज्न कार्यदल !

काठमाडौं, असोज ९ । स्थानीय तहमा खटिएका कर्मचारी कार्यालयमा नपुगेपछि उनीको खोजी गर्न सरकारले आइतबार उच्चस्तरीय अनुगमन टोली गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिवको नेतृत्वमा सामान्य प्रशासन मन्त्रालयका उपसचिव र महालेखा नियन्त्रक कार्यालयका उपसचिव सदस्य रहेको अनुगमन टोली गठन गरेको हो । सामान्य प्रशासन मन्त्रालयका अनुसार सरकारले विभिन्न मन्त्रालय र निकायबाट देशभरका स्थानीय तहमा १२ हजारभन्दा धेरै कर्मचारी खटाए पनि करिब ५ हजार कर्मचारीमात्र कार्यालयमा पुगेका छन् । बाँकी ७ हजार कर्मचारी कहाँ छन् सम्बन्धित सरकारी अधिकारीलाई कुनै जानकारी छैन । खटाइएको कार्यालयमा नपुगेका कर्मचारी खोजी गर्न र अवस्था पत्ता लगाउन अनुगमन टोली गठन गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ । –अन्नपूर्ण पोस्ट दैनिकबाट

लाजिम्पाटको होटल सांग्रिला अगाडि भेटिएको बम निस्कृय

काठमाडौं, असोज ९ । काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि राखिएको बम निस्कृय पारिएको छ । आइतबार राती ९ बजेतिर निलो झोलाभित्र अज्ञात समूहले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय पारेको हो । बम राखिएको फेला परेपछि प्रहरीले आसपासको क्षेत्र सिल गरेर सेनाको टोलीलाई खबर गरेको थियो । सो सुतली बम भएको र सेनाले निष्कृय पारेको प्रहरीले जनाएको छ । बम भेटिएपछि त्यस क्षेत्रका स्थानीय त्रसित भएका थिए । सर्वसाधारण नागरिकलाई आतंकित पार्न कसैले बम राखेको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बम राख्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।