निजामती विधेयक संसदमा लैजाने तयारीमा छौं : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयक संसदमा लैजाने तयारी भइरहेको बताएका छन् ।

बिहीबार नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन समीक्षा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले निजामती कर्मचारी विधेयकलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारी भैरहेको बताएका हुन् ।

 प्रधानमन्त्री प्रचण्डले भने संघ, प्रदेश र स्थानीय तहको अधिकार र कार्यक्षेत्रमा रहेको द्विविधा र अस्पष्टतालाई सम्बोधन गर्ने गरी कार्यविस्तृतिकरण परिमार्जनलाई टुंगो लगाउन निर्देशन दिएका छन् ।


उनले अगाडि भने, ‘यो बैठकपछि नै हामी संघीय निजामती ऐनलाई अन्तिम रूप दिएर सदनमा लैजाने तयारीमा छौँ ।’

संसद् भवन परिसर छिरेर पक्राउ परेका लघुवित्त ऋणीहरू रिहा

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसर छिरेर पक्राउ परेका सबै लघुवित्त ऋणीहरू रिहा भएका छन् । पक्राउ परेका ४९ लघुवित्त ऋणीहरूलाई हाजिरी जमानीमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । गत शुक्रबार संसद बैठक चलिरहेका बेला लघुवित्त ऋणीहरूले प्रहरीलाई धकेल्दै संसद भवनभित्र प्रवेश गर्न खोजेका कारण सुरक्षार्थ ४९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । यही प्रकरणमा सुरक्षामा लापरवाही गरेको भन्दै संसद भवनको सुरक्षार्थ खटिएका प्रहरीहरुलाई त्यहाँबाट अन्यत्र सारिएको हो ।

राष्ट्रियसभा बैठक जारी (प्रत्यक्ष प्रशारण)

काठमाडौं । राष्ट्रियसभाको बिहीबारको बैठक संसद भवन नयाँ वानेश्वरमा जारी छ । बैठकमा मा ६ वर्षे पदावधि पूरा गरी बिदाइ हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आउँदा दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै सांसदलाई समय उपलब्ध गराएका छन् । आफ्नो कार्यकाल पूरा गर्न लागेका सदस्यले ६ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराएका हुन् । संवैधानिक व्यवस्थाअनुसार ६ वर्षे पदावधि पूरा गरी राष्ट्रियसभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदा हुन लागेका छन्।  राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजंग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा. विमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरी पदावधि पुरा गरी बिदा हुन लागेका हुन् ।

फागुन २१ गते शहिद प्रतिष्ठान नेपालले अन्तरक्रिया गर्दै

काठमाडौं । लामो समयदेखि जनयुद्धका शहिद, बेपत्ता तथा घाइतेहरुको क्षेत्रमा काम गर्दै आएको संस्था शहिद प्रतिष्ठान नेपालले 'शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति' भन्ने शिर्षकमा अन्तरक्रिया गर्ने भएको छ । यहीँ फागुन २१ गते दिउँसो ठिक ११ बजे हुने उक्त कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहनेछ । राष्ट्रिय सभागृहमा हुने उक्त खुल्ला अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा एकीकृत समाजबादीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल समाजबादी पार्टीका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री बाबुराम भट्टराई, क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरण, नेकपाका महासचिव एवम् समाजबादी मोर्चाका संयोजक विप्लव सि, जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी रहनेछ । वि.स. २०६५ मा पोष्ट बहादुर बोगटीको अध्यक्षतामा स्थापित शहिद प्रतिष्ठान नेपालको संरक्षकको रुपमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड रहेको छ । यस संस्थाले देशभरी ५ स्थानमा शहिद स्मृति आवासीय माध्यमिक विद्यालयहरु संचालन गर्दै आइरहेका छन् । डोटी, दाङ, पोखरा, दोलखा र सुनसरीमा रहेको उक्त विद्यालयहरुमा करिब २५ सय विद्यार्थीहरु अध्ययनरत छन् । यस विद्यालयले शहिद परिवार, बेपत्ता, घाइते, अल्पसंख्यक, दलित, बेसहारा सहित स्थानीय विद्यार्थीहरुलाई समेत निशुल्क शिक्षा दिदै आएको छ । पछिल्लो समय उत्पन्न राजनीतिक विवादले शान्ति प्रक्रिया नटुंगिने हो कि भन्ने शंका पैदा भइरहेको बेला शहिद प्रतिष्ठान नेपालले सबै प्रमुख राजनीतिक दलका प्रमुख नेताहरूलाई एउटै मंचमा खडा गरेर शान्ति प्रक्रियाको विषयमा बोल्नको लागि अन्तरक्रिया राखेको शहिद प्रतिष्ठान नेपालका महासचिव युवराज चौलागाईले बताए ।

विराटनगरका होटल राति १२ बजेसम्म खुल्ने

विराटनगर, १७ फागुन । विराटनगर महानगरपालिका भित्रका होटल राति १२ बजेसम्म खुल्ने भएका छन् ।  यसअघि प्रशासनले राति १० बजेदेखि होटल बन्द गराउँदै आएकोमा सरोकारवालाको बैठकले १२ बजेसम्म होटल व्यवसाय सञ्चालनका लागि समय तोकेको हो । विराटनगर महानगरपालिकाको समन्वयमा बसेको बैठकले विराटनगरको आर्थिक गतिविधि चलायमान बनाउन राति १२ बजेसम्म होटल र १० बजेसम्म अन्य व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको महानगरका मेयर नागेश कोइरालाले जानकारी दिए । व्यवसायीले रात्रिकालीन व्यवसाय सञ्चालनका लागि महानगरपालिकालाई आग्रह गर्दै आएका थिए । व्यवसायीको गुनासो सम्बोधन गर्न महानगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार संघ, होटल व्यवसायी संघ, उपभोक्तासँग सम्बन्धित संस्थासहित सरोकारवालाको बैठक आयोजना गरेको थियो । बैठकले रात्रिकालीन व्यवसाय सञ्चालन गर्न आवश्यक पर्ने सुरक्षा सहितका अन्य मापदण्ड तय गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । जसअनुसार जिल्ला सुरक्षा समितिले होटल र अन्य व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सुरक्षालगायतका मापदण्ड समेटेर कार्यविधि बनाउने भएको छ ।

वाफ वुमन्स च्याम्पियनसिपको उपाधि लागि नेपाल र जोर्डन खेल्दै

काठमाडौं, १७ फागुन । साउदी अरेबियामा आज नेपाली महिला फुटवल टोलीले वाफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि जोर्डनसँग प्रतिस्पर्धा गर्दैछ । नेपाली राष्ट्रिय महिला फुटबल टोली ऐतिहासिक उपलब्धि नजिक पुगेको हो । खेल नेपाली समय अनुसार राति पौने १० बजे जेद्दाहमा रहेको प्रिन्स अब्दुल्लाह अल(फैसल स्पोर्ट्स सिटी मैदानमा हुनेछ । नेपाल पहिलोपटक वाफको प्रतियोगितामा सहभागी भएको छ भने जोर्डनले अहिलेसम्म भएका ७ मध्ये ५ संस्करणको उपाधि जितेको छ । जोर्डन डिफेण्डिङ च्याम्पियन समेत हो । प्रतियोगिता खेलेका ८ टिम मध्ये नेपाल भने १०५ औं स्थानमा रहँदा जोर्डन सबैभन्दा माथि ७३ औं स्थानमा छ ।  सन् २००५ मा सुरु भएको वाफ वुमन्स च्याम्पियनसिपको सुरुका दुई संस्करण जितेको जोर्डनले २०१४ देखि पछिल्ला तीन संस्करणको उपाधि पनि जितेको छ । जोर्डनले २०१४ र २०१८ मा एएफसी वुमन्स एसिया कप पनि खेलेको थियो । यस्तै तीनपटक एसियन गेम्स समेत खेलेको छ । जोर्डनलाई पराजित गर्दै नेपाल पहिलो पटक महिला फुटबलको अन्तर्राष्ट्रिय उपाधि जित्ने लक्ष्यमा रहेको छ । यद्यपि जारी प्रतियोगितामा एक ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसकेकी टोलीकी मुख्य सदस्य सावित्रा भण्डारी फ्रेन्च क्लब इए गुइगाम्पको खेलका कारण फ्रान्स फर्कनु परेपछि नेपालको फाइनल खेल गुमाउने भएकी छन् ।

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे छलफल हुने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति जयन्तीदेवी राईले स्थानीय तहको कानुन निर्माण प्रक्रिया एवं अभ्यास सम्बन्धमा स्थलगत अध्ययन, अनुगमन एवं अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यसैगरी, आगामी आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभामा छलफल हुने सम्भावित कार्यसूची रहेको छ ।

काठमाडौंको गोंगबु क्षेत्रमा विद्युत सेवा अवरुद्ध हुने

काठमाडौं । काठमाडौंको गोंगबु क्षेत्रमा आज विुद्य्त सेवा अवरुद्ध हुने भएको छ । गोंगबु र सामाखुसी फिडरबाट विद्युत सेवा वितरण भएका क्षेत्रमा आज बिजुली उपलब्ध नहुने भएको हो । नेपाल विद्युत् प्राधिकरणका अनुसार गोंगबु, सामाखुसी र टाउनप्लानिङ क्षेत्रमा आज बिजुली जानेछ । बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ । हिजो (फागुन १६ गते) देखि यही फागुन २२ गतेसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।  प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्य भइरहेकाले विद्युत् लाइन अवरुद्ध गर्नु परेको हो । 

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साथै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ।

समाचार हुबहु सार्नेलाई चोरीअन्तर्गत कारबाही

काठमाडौं ।बिनाअनुमति समाचार हुबहु सार्ने विभिन्न १ सय ८३  अनलाइन मिडियालाई प्रेस काउन्सिल नेपालले समाचार चोरीअन्तर्गत कारबाही गरेको छ ।   काउन्सिलले आज एक विज्ञप्ति मार्फत गत आव यता हालसम्म समाचार हुबहु चोरी गरी सार्ने (कपि एन्ड पेस्ट गर्ने), अनुमति नलिने १८३ अनलाइन सञ्चारमाध्यम तथा वेब पोर्टललाई कारबाही गरिएको जानकारी दिएको छ ।  कारबाहीमा परेकामध्ये १४३ सञ्चार माध्यमलाई स्पष्टीकरण सोधिएको, ११ वटालाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख छ ।  काउन्सिलका सह प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा भनिएको छ  ‘स्पष्टीकरण सोधिएका अधिकांश मिडियाबाट आगामी दिनमा त्यस्तो कार्य नगर्ने भनी प्रतिबद्धतासहित जवाफ पेस भएको थियो । मिडियाका रूपमा दर्ता सूचीकरण नभएका २९ वेव पोर्टललाई आवश्यक कारबाहीका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भइसकेको छ ।’  बुधवार प्रेस काउन्सिल पत्रकार आचारसंहिता अनुगमन उपसमितिको बैठकसमेत बसेको थियो । बैठकले समाचार हुबहु सार्ने प्रवृत्ति निरुत्साहित गर्न थप कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । काउन्सिल बैठकले ८९ वटा मिडियालाई सचेत गराउने निर्णय समेत गरेको छ ।  काउन्सिलले मूल स्रोतको अनुमति बिना स्रोत उद्धृत नगरी सामग्री हुबहु सम्प्रेषण नगर्न/नगराउन सञ्चार माध्यम, आम पत्रकार, सञ्चारकर्मीलाई आग्रह गरेको छ । यस्तो छ काउन्सिलद्धारा जारी विज्ञप्ति 

उपप्रधानमन्त्री श्रेष्ठ र लेबनानका राजदूतबीच शिष्टाचार भेट

काठमाडौं। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि लेबनानका राजदुत भेरोनिक लोरेन्जोबीच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेट भएको छ।  भारत र नेपाल समेतका लागि लेबनानका राजदूत लोरेन्जोले यो आफ्नो कार्यकालको चौथो नेपाल भ्रमण रहेको र हरेक पटकको भ्रमणले आफू निकै उत्साहित भएको बताएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।   गृहमन्त्रीको सचिवालका अनुसार नेपाल र लेबनानबीच सन् १९६३ मा दौत्य सम्बन्ध कायम रहेको र हालसम्म यो सुमधुर रहेकोमा उनले खुशी व्यक्त गरे। विभिन्‍न अन्तराष्ट्रिय मामिलामा नेपाल र लेबनान एकै स्थानमा उभिएको दृष्तान्त समेत उनले दिए।   नेपालका सेनाले लेबनानमा शान्ति कायम गर्न पुर्‍याएको योगदानप्रति उनले आभार व्यक्त गरे। उनले नेपालीले लेबनानमा लगानी गर्नसक्ने सुविधा रहेको समेत जानकारी गराए। नेपालको सुरक्षा संयन्त्र अब्बल रहेको र नेपालीको प्रवृत्ति शान्त रहेकोमा उनले प्रशंसा गरे। भेटमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले लेबनानले आवश्यक ठाने थप शान्ति सेनाको प्रबन्ध गर्न सकिने जानकारी दिए। लेबनानको जस्तै नेपालको उद्देश्य पनि आर्थिक र समन्यायिक सामाजिक रुपान्तरण रहेको र त्यसका लागि लेबनानबाट आउने वैदेशिक लगानीलाई प्रोत्साहन गरिने जानकारी उनले गराए।  उपप्रधानमन्त्री श्रेष्ठले ६० वर्षभन्दा लामो आपसी सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताउँदै लेबनान र लेबनानी जनताको शान्ति तथा समृद्धिको लागि विशेष शुभकामना दिए।

मिटरब्याज पीडित र सरकारबीचको वार्ता निष्कर्षमा पुग्न बाँकि

काठमाडौं । लगातार तीन दिनसम्म वार्ता जारी रहेपनि मिटरब्याज पीडित र सरकारबीचको वार्ता टुंग्गोमा पुग्न सकेको छैन् । बुधबार गृह मन्त्रालयमा भएको मिटरब्याज पीडित र सरकारबीचको तेस्रो दिनको वार्ता सकारात्मक भएपनि समस्या समाधानका लागि ठोस निष्कर्षमा पुग्न नसकेको हो । वार्ता पछि सञ्चारकर्मीहरूमाझ मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति नेपालका अध्यक्ष अवदेश कुसवाहले सरकारले मिटरब्याज पीडितको समस्यालाई गम्भीरतापूर्वक लिएको, वार्ता सकारात्मक भएको भए पनि समस्या समाधान गर्ने विषयमा निष्कर्ष ननिस्किएको जानकारी दिए ।  उनले वार्तासँगसगै आफूहरूको आन्दोलन जारी रहने पनि बताए ।उनीहरुले फर्जी लिखत्, तमसुक, दृष्टिबन्धक, छिनुवा, चेक सम्पूर्णलाई अवैध घोषणा गर्नुपर्ने, साहुले जफत गरेका सम्पूर्ण सम्पत्ति फिर्ता गर्नुपर्ने, अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरिरहेका छन् ।  साथै, साहुहरूको सम्पत्ति शुद्धीकरण गर्नुपर्ने पनि उनीहरुको रहेको  छ ।

२ हजार अंकमा रोकियो सेयर बजार

काठमाडौं, १६ फागुन  ।  बुधबार सेयर बजार २ हजार अंकमा रोकिएको छ । अघिल्लो दिन २००१ मा रहेको बजार बुधबार ०.८७ अंकले घटेको हो । १२ः२० बजे बजार १९९२ अंकसम्म झरेको थियो भने २ः३५ बजे २००९ अंकसम्म पुगेको थियो । बुधबार कुल २ अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १ अर्ब ८६ करोडको कारोबार भएको थियो । कुल ७१ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने ७ को स्थिर रह्यो । ब्यापार र उत्पादन समूह उच्च दरमा बढे । ब्यापार ५.५१ र उत्पादन समूह ४.९६ प्रतिशत बढे । विकास बैंक समूह सबैभन्दा धेरै १.१ प्रतिशत घट्यो । बैंकिङ ७, विकास बैंक ४३, फाइनान्स १७, हाइड्रोपावर २१, माइक्रोफाइनान्स ५, निर्जीवन बीमा ३७ अंक घटे । ब्यापार १५०, अन्य २, उत्पादन ३१७ र होटल तथा पर्यटन समूह २ अंक बढे । विशाल बजार कम्पनी, बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । चिरख्वा हाइड्रोपावरको ९.६, नेस्डो लघुवित्तको ६.८, युनिलिभरको ५ प्रतिशत मूल्य बढ्यो । सामलिङ पावरको ६.६, गुराँस लघुवित्तको ५.९, मिडसोलु हाइड्रोपावरको ५.२, जाल्पा सामुदायिक लघुवित्तको ३.७ र सामुदायिक लघुवित्तको मूल्य ३.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, बोटलर्स नेपाल तराई, शिवम् सिमेन्ट र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।

नेदरल्याण्डस् सँग नेपाल २ रनले पराजित

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई दुई रनले हराएको छ ।  टीयु क्रिकेट मैदानमा भएको खेलमा निर्धारित २० ओभरमा नेदरल्याण्डस्ले चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेपाल भने २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ८२ रनमा समेटियो ।  रोमाञ्चक खेलमा नेपालले अन्तिममा खेल गुमाउन पुगेको हो । नेपालको स्कोर १२६ रन हुँदा सोमपाल कामी छैटौं विकेटका रुपमा डक आउट भएका थिए । त्यसपछि क्रिजमा रहेका दिपेन्द्रसिंह ऐरी र करण केसीले जित तर्फ अग्रसर गराएका थिए । तर अन्तिम ओभरमा दुबै जना आउट भएसँगै नेपाल एक सय ८२ रनमा सीमित भयो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले पारी सम्हाल्दै ३४ बलमा ६३ रन ल्याएपनि पर्याप्त भएन । उनलाई साथ दिइरहेका करण केसी पनि ११ रन बनाउँदै रनआउट भएका थिए । त्यसअघि सन्दीप जोरा व्यक्तिगत ८ रनमा आउट भए । रोहित पौडेल अर्धशतक पूरा गर्दै आउट भएका थिए । कुशल मल्ल ११ र आशिफ शेख ३४ रनमा आउट भए कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका थिए । त्यसअघि नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब थियो । अब अन्तिम दुई जितसँगै नेटरनरेटमा भर पर्नुपर्ने भएको छ ।

४५ किलो चरेस र ३८ किलो गाँजासहित छ जना पक्राउ

काठमाडौं, १६ फागुन । मकवानपुरको भिमफेदी गाउँपालिका २ भैँसेबाट अवैध लागूऔषध चरेस ४५ किलो र गाँजा करिब ५ किलोसहित ३ जना पक्राउ परेका छन्। थाहा नगरपालिका –८ आग्रा बस्ने ३० वर्षीय बिमल स्याङतान, कैलाश गाउँपालिका–१ खोलाखर्क बस्ने ५२ वर्षीय चन्द्र बहादुर घलान र भिमफेदी गाउँपालिका(१ किटनी बस्ने ३२ वर्षीय नवराज तामाङ चरेर ओसारपसारमा संलग्न रहेको प्रहरीले जनाएको छ। त्यसैगरी, ३२ किलो गाँजा बोकेर बिक्री गर्न हिँडिरहेका बारा, सिम्रौनगढ नगरपालिका –४ गंगानगरबाट अवैध लागूऔषध गाँजा करिब १५ किलोसहित रौतहट फतुवा विजयपुर नगरपालिका–३ बस्ने ५० वर्षीय रामानन्द साह समेत ३ जना पनि प्रहरी नियन्त्रणमा परेका छन्। यस्तै, धादिङको गल्छी गाउँपालिका –७ सिमबजारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित २ जना पनि पक्राउ परेका छन्। सोलामोदिन शेक र राम्जन आली पक्राउ परेका हुन्। यसैगरी, सर्लाहीको लालबन्दी नगरपालिका१ लखनदेही पुलस्थित सडकबाट ७ किलो बोकेर हिँडिरहेका भारतका छोटु पासवान पनि प्रहरीको नियन्त्रणमा परेका छन्।

खाता नखोल्दै भुर्तेल आउट

काठमाडौं, १६ फागुन । त्रिकोणात्मक टी–२०आई सिरिज अन्तर्गत दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाल सामु दिएको एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ । टीयु क्रिकेट मैदानमा जारी खेलमा नेपालका भरपर्दा ब्याट्स्म्यान कुशल भुर्तेल नेपालले खाता नै नखोल्दै आउट भए । लगातार दोस्रो खेलमा कुशल भुर्तेल डक आउट भएका हुन् । उनी पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए । नेदरल्यान्ड्सका तीव्र गतिका बलर किंग्माको एन्थ बलमा एज लागेर विकेटकिपर स्कर्टबाट भुर्तेल सहज क्याच आउट भए ।  क्रिजमा आशिफ सेख र कप्तान रोहित पौडेलले रनका लागि संघर्ष गरिरहेका छन् ।  यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेदरल्याण्डस्ले निर्धारित २० ओभरमा चार विकेट गुमाएर एक सय ८४ रन बनाएको थियो । नेदरल्याण्डस्का लागि मिचेल लेभिटले ५४, स्याब्रान्ड एंगेलब्रेक्टले ४९, स्कट इडवार्डस्ले ३३, तेजा निडामानिरुले ३१ र म्याक्स ओडोउडले चार रनको योगदान गरे । नेपालका करण केसी र कुशल मल्लले समान एक एक विकेट लिए भने अन्य दुई खेलाडी रन आउट भएका थिए ।  पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो । शीर्ष दुईमा रहँदै फाइनल खेल्न नेपाललाई आजको खेल जित्नुपर्ने दबाब रहन्छ । अन्यथा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने हुनसक्छ ।