राजपा कार्यकताले कांग्रेसका उम्मेदवार कुटे

काठमाडौं, असोज १ । राजपा कार्यकर्ताले कौडेना गाउँपालिका १ को वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवारी दिएका मनोज साहलाई आक्रमण गरी घाईते बनाएका छन् ।

साहमाथि बिहीबार राति आक्रमण भएको हो ।

घरदैलो कार्यक्रम सकेर फर्कदैँ गर्दा रजपा कार्यकर्ताले साहमाथि लक्ष्मीपुरमा आक्रमण गरेका थिए ।

आक्रमणमा घाईते भएका साहको जिल्ला अस्पताल मंगलवामा उपचार भईरहेको छ ।

उनको अनुहार र निधारमा चाटे लागेको आफन्तले जनाएका छन् ।

उपत्यकाबाट ६७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, भदौ ३१। वाग्मती सफाइ महाअभियान शुरु भएको २२७ औँ हप्तामा उपत्यकाबाट सबैभन्दा बढी ६७ मेट्रिक टन फोहर व्यवस्थापन भयो । वाग्मती सफाइको २२७ औँ हप्तामा आज बानेश्वर क्याम्पसअघि जनचेतनामूलक अभियानसहित सफाइ गरियो । वाग्मती सफाइबाट आज सात मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, काठमाडौँ महानगरपालिकालगायत संस्थाका ४५० अभियन्ताको सहभागिता रहेको प्रवक्ता उमेश बोहराले बताए । गुह्येश्वरीमाथिको वाग्मती सफाइको १८९ औँ हप्तामा आज गोकर्णेश्वर नगरपालिकास्थित हनुमानघाट क्षेत्रमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनीमैत्री समाजलगायत संस्थाका १०० अभियानकर्मीको सहभागिता थियो । रुद्रमती सफाइको १८७ औँ हप्तामा कमलपोखरीदेखि गौशाला चोकसम्मको सडकमा मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्दाउँदा जम्मा भएको धुलो सफाइ गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए । सांसद गीता राणा, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्मा र काठमाडौँ महानगरपालिका–३० का वडा अध्यक्ष दलबहादुर कार्कीको नेतृत्वमा भएको सफाइबाट १२ मेट्रिक टन धूलो व्यवस्थापन गरियो । धूलो व्यवस्थापनका लागि स्काभेटर, जेसिबी र ट्रिपर पनि प्रयोग गरिएको थियो । विष्णुमती सफाइको १५८ औँ हप्तामा माछापोखरी–बालाजु सडक किनारमा ट्राफिक प्रहरीले सम्याउँदा जम्मा भएको १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ५०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । तिलगंगा महिला समूहले तिलगंगा क्षेत्रको वाग्मती नदीमा गरेको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी चक्रपथ सफाइको २३ औँ हप्तामा वसुन्धरादेखि महाराजगञ्जसम्म सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा ८०० भन्दा बढी अभियन्ताको सहभागिता थियो । मीनभवनस्थित आलोकनगरमा सकारात्मक मातृशक्ति आवाजले गरेको २३ औँ हप्ताको सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन भयो । सफाइमा १०० भन्दा बढी महिलाको सहभागिता थियो । सो अवसरमा वाग्मती नदी किनारमा निर्माण सम्पन्न गरिएको प्रतिक्षालयको पनि उद्घाटन गरियो । यसैगरी बल्खुस्थित इन्द्रमती नदी सफाइको तेस्रो हप्तामा आज खड्कुलो पुलमुनिको नदी क्षेत्रमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । मनोहरा नदीको तेस्रो हप्ताका सफाइ कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटी आवास गृहअघि गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन भयो । यसैगरी वाग्मती सफाइ महाअभियानको नेतृत्वमा शुरु भएको पशुपति क्षेत्र सफाइ १०० दिनसम्म निरन्तर जारी रहने प्रवक्ता उमेश बोहराले जानकारी दिए । पशुपतिमा आइतबारदेखि दैनिक तीनचरणमा सफाइ गरिनेछ । बिहान पाँच बजेदेखि राति २ बजेसम्म तीन समूह बनाइ सफाइ एवं ढुंगामा पालिस लगाएर चम्काइनेछ । दैनिक तीन चरणमा गरिने सफाइमा स्वयंसेवीका रुपमा काम गर्न चाहनेले सफाइ महाअभियानमा सम्पर्क गर्नसक्ने उहाँले बताउनुभयो । पशुपति सफाइमा पशुपति क्षेत्र विकास कोष र हेम्स क्लिनिङको पनि सहयोग रहदै आएको छ । रासस

माओवादी केन्द्र फलेबास–काठमाडौं सम्पर्क समितिमा रिजाल

काठमाडौं, भदौ ३१ । नेकपा (माओवादी केन्द्र) फलेबास–काठमाडौं सम्पर्क समितिको अध्यक्षमा कमल रिजाल चयन भएका छन् । शनिबार बिहान काठमाडौंमा सम्पन्न भेलाले रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको सुवास लामिछाने, सदस्यहरुमा सञ्जिव सुवेदी, एकनारायण रिजाल, सुरेश क्षेत्री, समीक्षा भुसाल, ध्रुव भुसाल, विकास सोनी, सुजन केसी, सन्देश पौडेल, बिमल पौडेल, मञ्जु भुसाल, सुशील शर्मा, सोम बहादुर थापा, अर्जुन श्रेष्ठ, अशोक पौडेल, सुस्मिता पाण्डे, लिलामणि गौतम, संगम भुसाल, सभित भुसाल, रमेश बि.क., दीपक गौतम, सौरभ क्षेत्री, सञ्जु क्षेत्री रहेका छन् । भेलाले अमृता रेग्मी, नारायण प्रसाद शर्मा, दयाराम सापकोटा, सफल क्षेत्री, दीपक तिवारी र नारायण पाठकलाई सल्लाहकार चयन गरेको छ । भेलामा माओवादी केन्द्र पर्वतका सह–ईन्चार्ज गुप्तबहादुर हमाल, मनहरि तिमिल्सिना, निलकण्ठ तिवारी, गोविन्दराज केसी, यामनाथ गिरी लगायतका वक्ताहरुले मन्तव्य राखेका थिए ।

धुलोले असर गरे निःशुल्क उपचार गराउन सर्वाेच्चकाे अादेश

काठमाडौं, भदौ ३१ । धुलो, धुवाँ, वायु प्रदुषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निश्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश दिएको छ । सरकारी निकायले प्रदुषण नियन्त्रणका लागि तत्काल र दीर्घकालिन रुपमा गर्नुपर्ने कामको सूची नै तोकेर परमादेश जारी भएको हो । वातावरण स्वच्छ राख्ने जिम्मेवारी सरकारको रहे पनि सम्बद्ध निकायले नियन्त्रण गर्न नसकेका कारण कसैलाई गम्भीर क्षति पुगे सरकारले नै निःशुल्क उपचार गर्नुपर्ने चेतावनीसमेत सर्वोच्चले दिएको छ । खासगरी विनाशकारी भूकम्पपछि राजधानी लगायत मुलुकका सहरमा धुलो र धुवाँको प्रकोप बढेको, मुलुकको मौलिकता जोगाउने पुरातात्विक, सांस्कृतिक एवं पुरातात्विक महत्वका ऐतिहासिक सम्पदा नासिएको तथा फोहोरमैलाका कारण असाध्य रोगको प्रकोप बढ्ने खतरा उत्पन्न भए पनि सरकारका निकायले ठोस कदम नचालेको प्रश्न उठाउँदै अधिवक्ता अमिता गौतम पौडेलद्वारा रिट दायर भएको थियो । अन्नपूर्ण पोस्ट दैनिकबाट

मन्त्रीले भनेको नमान्दा महानिर्देशकलाई स्पष्टीकरण !

काठमाडौं, भदौ ३१ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पष्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इन्कर्पोरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ । गत आइतबार बेलुका ५ बजे प्राधिकरणको करिब ४३ अर्ब रुपैयाँको बजेट पारित गर्न सञ्चालक समितिको बैठक बस्ने तय भएको थियो । सञ्चालक समितिको सदस्यसमेत बैठकमा उपस्थित नभएपछि कोरम नपुगी बैठक बस्न सकेको थिएन । स्रोतका अनुसार, यती इन्कर्पोरेटका मालिक आङछिरिङ शेर्पाका नाममा रहेको उक्त जग्गा किन्ने रकम बजेटमा नपरेपछि सहसचिव आचार्य बैठकमा सहभागी नभएको र पर्यटनमन्त्री जितेन्द्रनारायण देवलाई बाटोबाटै फर्काइएको थियो । उक्त जग्गा किन्न ३ अर्ब रुपैयाँभन्दा माथि लाग्ने अनुमान छ । शेर्पाले २०६९ सालतिर निकै सस्तो मूल्यमा उक्त जग्गा किनेका थिए । सो जग्गा उनलाई ठूलो नाफा हुनेगरी प्राधिकरणको नाममा किनाउन गौतममाथि राजनीतिक दबाब परेको छ । यसरी जग्गा बेचाउन सकेको भए नेपाल आयल निगममा भएको जग्गा घोटाला काण्डको पुनरावृत्ति हुने थियो । स्रोतका अनुसार उक्त जग्गा किनाउन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष रहेका संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय गच्छदारको दबाब छ । मन्त्री देव पनि लोकतान्त्रिक फोरमका तर्फबाट सरकारमा सामेल छन् । नागरिक दैनिकबाट

राजपा कार्यकर्तामाथि कांग्रेस कार्यकर्ता खनिए, तीन घाइते

काठमाडौ, भदौ ३१ । कांग्रेस कार्यकताहरूले राष्ट्रिय जनता पार्टी नेपालको जनपुर उपमहानगरपालिका वार्ड नम्बर ४ मा रहेको सम्पर्क कार्यालयमा आक्रमण गरेका छन् । मुरली चौकस्थित सम्पर्क कार्यालयमा बसिरहेका आफूहरुमाथि गाडीमा आएका कांग्रेस कार्यकताले आक्रमणसमेत गरेको आरोप राजपा कार्यकर्ताले लगाएका छन् । आक्रमणबाट राजपाका तीनजना कार्यकता घाइते भएका छन् भने राजपाको सम्र्पक कार्यालयका केही थान टेवल कुर्सी तोडफोड भएको छ । यता, निर्वाचन प्रचार प्रसारको अन्तिम दिन कांग्रेसले गरेको क्रियाकलपामाथि राजपा धनुषाले भर्त्सना गरेको छ । शान्तिपूर्ण रूपमा नारा जुलुस लगाइरहेका आफ्ना कार्यकर्तामाथि आक्रमण गर्ने कांग्रेस कार्यकर्तामाथि कारबाही नभए आन्दोलनमा उत्रिने चेतावनी राजपाले दिएको छ । घटनापछि त्यसक्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रवीण धितालले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । नयाँ पत्रिका दैनिकबाट

साझाका विवादित अध्यक्ष शर्माले भने, ‘मलाइ दशै अघि नै सरकारले ४० करोड दिनुपर्छ’

काठमाडौँ । साझा प्रकाशनका विवादित अध्यक्ष डोलिन्द्र प्रसाद शर्मासहित सञ्चालक समितिका केही सदस्यले शिक्षा मन्त्रालयसँग ४० करोड रुपैयाँ माग गरेका छन् । अध्यक्ष शर्मा तथा मनोनित सदस्य एवं पूर्वशिक्षामन्त्रीहरु प्रदीप नेपाल र दिनानाथ हर्माले दशैंपहिले नै उक्त रकम उपलब्ध गराउन दबाब दिएको खुलेको छ । शिक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री गोमालमान श्रेष्ठले भने, ‘उनीहरु हालै मन्त्रालयमा आएर अवकाशप्राप्त कर्मचारीलाई दिनुपर्ने भन्दै ४० करोड रुपैयाँ माग गरेका थिए । साझाको विवाद नटुंगिएसम्म एक पैसा पनि उपलब्ध गराउन सकिदैन भनेर जवाफ दिएँ ।’ अध्यक्ष शर्मालाई कारबाही तयारी भइरहेको पनि मन्त्री श्रेष्ठले बताए । नागरिक दैनिकबाट  

अर्घाखाँचीमा चितुवा आतंक, सेना र प्रहरी परिचालन

अर्घाखाँची, अर्घाखाँचीमा पछिल्लो तीन वर्षमा नरभक्षी चितुवाले ८ जनाको ज्यान लिएको छ। पटक पटक चितुवाको आक्रमण परेपछि यहाँका बासिन्दा अत्यन्तै त्रसित बनेका छन्। दिउँसै चितुवाले आक्रमण गर्न थालेपछि अहिले वालवालिकालाइ विद्यालय पठाउन पनि अभिभावकले छाडेका छन। स्थानीय त्रसित बनेपछि चितुवा मार्न हतियार सहति सेना र प्रहरी परिचालन गरिएको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ। जिल्लाका विभिन्न स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक एकनारायण कोइरालाले बताए। चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले विहिबारदेखि चितुवा मार्नका लागि सेना र प्रहरीको विशेष टोली परिचालन गरेको छ। जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक प्रदीप डिसीको नेतृत्वमा ३२ जनाको हतियार सहितको टोली खटाइएको छ। गएको मंगलबार साँझ सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ प्रगतीनगर का ४ वर्षिय मनिष केसीलाई चितुवाले खाएपछि जिल्ला सुरक्षा समितिको आपतकालिन सुरक्षा बैठकले चितुवा नियन्त्रणमा लिनका लागि सेना र प्रहरी परिचालन गरेको सहायक प्रमुख जिल्ला अधिकारी नारायण खत्रीले बताए। चितुवा मार्नका लागि सदरमुकाम सन्धिखर्कको कुर, किमडाँडा, नुवाकोट, ढिकुरा र खाँचीकोट लगायतका क्षेत्रमा हतियारसहित सेना, प्रहरी र जिल्ला बनको टोली परिचालन गरिएको छ। जिल्लामा गएको ३ वर्षभित्र १४ जना वालावालिकालाइ चितुवाले आक्रमण गरेको छ । जस्का कारण ८ जनाको ज्यान गयो। विद्यालय आउँदा जाँदा होस् कि साँझ विहान घरको आगनमा खेल्दा होस् यहाँ बच्चाहरुको सुरक्षा छैन। आतंक बढ्दै गएपछि खाचिकोट, ढिकुरा, नुवाकोट, सन्धिखर्क, किमडाँडा लगायतका स्थानिय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ३ वर्ष देखि बारम्बार जिउधनको रक्षाको लागि आग्रह गरिरहेका छन्। उनीहरुले नरभक्षी चितुवालाई पक्रिएर जनताको शान्तिसँग बाँच्न पाउने अधिकार सुरक्षित गर्न माग गरेका छन्। सन्धिखर्क, खाचिकोट, ढिकुरा लगायतका स्थानियबासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठुलो मानविय क्षती भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन्। सरकारले बाघलाई पक्रन वा मार्नको निम्ती पहल नगरे गाउँ छाड्न बाध्य हुने उनीहरुको भनाई छ। चितुवा मार्न सेना र प्रहरी परिचालन गरिएपनि चितुवा फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक कोइरालाको भनाइ छ। प्रभावित क्षेत्रका बासिन्दालाई चितुवा देखेमा प्रहरीलाइ खबर गर्न पनि उनले आग्रह गरेका छन् ।

थ्रेसहोल्डको व्यवस्था खारेज गर्न सर्वोच्चमा रिट

काठमाडौँ, भदौ ३० । सर्वोच्च अदालतमा केन्द्र र प्रदेशको निर्वाचनमा ३ प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता नदिने गरी ल्याइएको प्रावधान संविधानविपरीत भएको दाबी गर्दै आज रिट निवेदन दायर गरिएको छ । राष्ट्रिय एकता मञ्चका अध्यक्ष विजेन्द्रलाल जोशीद्वारा दायर गरिएको रिट निवेदनमा कानूनमा भएको तीन प्रतिशत थ्रेसहोल्डको प्रावधान संविधानविपरीत भएको ठहर गरी सो व्यवस्थालाई खारेज गर्न माग गरिएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९११० र ९१२० तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० को उपदफा ९९० र ९१०० मा थ्रेसहोल्डको व्यवस्था गरिएको छ । सो प्रावधानमा निर्वाचनमा तीन प्रतिशत मत नल्याउने पार्टीलाई राष्ट्रिय मान्यता नदिने उल्लेख गरिएको छ । निवेदनमा उक्त व्यवस्था संविधानमा भएको राजनीतिक दल खोल्न पाउने स्वतन्त्रताविपरीत भएको उल्लेख गर्दै अधिकांश साना र क्षेत्रीय राजनीतिक दललाई राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व हुनबाट बञ्चीत गराउने खालको भएको बताइएको छ । कानूनमा भएको त्यस्तो व्यवस्था समानुपातिक, समावेशी, लोकतन्त्र, बहुदलीय शासन प्रणालीलगायत मौलिक हकमा भएका अन्य व्यवस्थाविपरीत भएको जनाइएको छ । रासस

नेपालीको पीडा बन्दै कोशी

काठमाडौँ, भदौ ३० । कोशी नदी नेपालीको पीडा बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल इतिहास संघले आयोजना गरेको ‘कोशी बाढी प्रकोप र अन्तर्राष्ट्रिय कानून तथा सन्धी सम्झौता’ विषयक बृहत् अन्तक्र्रियामा विभिन्न क्षेत्रका व्यक्तिले विहारको पीडाका रुपमा रहेको कोशी नदी पछिल्लो समय नेपालीको पीडाका रुपमा देखा परेको भन्दै चिन्ता व्यक्त गरेका हुन् । अन्तक्र्रियामा सीमाविद बुद्धिनारायण श्रेष्ठले भारतले बनाएका संरचनाका कारण नेपालको तराई क्षेत्र डुबानमा परेको र नेपाली जनतालाई पीडा थपिदिएको बताए । “भारतले नेपालका २० स्थानमा ड्याम, ब्यारेज, तटबन्ध, बनाएको छ, उक्त संरचनाले गर्दा नेपालको भू–भागमा बाढी पसेको छ”– उनले भने । श्रेष्ठले नेपाल र भारत दुवै क्षेत्रमा बाढी तथा पहिरोले क्षति नपुगोस् भन्नका लागि विभिन्न नदीमा चेक ड्याम निर्माण गर्न सुझावसमेत दिए । ‘तराईको डुबान समस्या र समाधानका उपाय’बारे कार्यपत्र प्रस्तुत गर्दै प्रा डा सुरेन्द्र केसीले कोशी व्यारेज बन्दका कारण नेपालले ठूलो क्षति व्यहोर्नुपरेको बताए । उनले नेपालका १५० नदीनाला नेपालबाट भारत बग्ने गरेको र उक्त नदीनालामा बाँध निर्माण गर्दा नेपालमा विभिन्न समयमा डुबान हुँदै गएको उल्लेख गरे । प्रा डा केसीले दुई पक्षीय वार्तामार्फत पानीको बहाब निर्वाधरुपमा बग्ने वातावरण बनाउने, नदीनाला भएका हरेक क्षेत्रमा पक्की तटबन्ध निर्माण गर्ने, चुरे र महाभारत क्षेत्रमा वृक्षरोपण गर्ने, हरेक वर्ष पिँधमा गएर बसेको माटो हटाउनसके केही हदसम्म कोशीको समस्या समाधान हुने स्पष्ट पारे । कार्यक्रममा ‘दशगजा, नेपाल–भारत डुबान क्षेत्रको समस्या र अन्तर्राष्ट्रिय कानुन’सम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै रतन भण्डारीले सीमा क्षेत्रमा भारतद्वारा निर्मित गैरकानुनी संरचनाका कारण बाढी, डुबान र कटानको समस्या सिर्जना भएको बताए । उनले भारतद्वारा निर्मित कोशी, गण्डक, महाकालीलगायतका तटबन्धको अवस्था निर्माणका अभिलेखलाई एकमुष्ट लेखाजोखा राखिनुपर्ने बताए । भण्डारीले दुई देशबीच बग्ने नदीको उपयोगको विषयमा जारी विवाद समाधानार्थ अन्तर्राष्ट्रिय जल प्रवाह गैर जलपारवहन प्रयोग कानूनसम्बन्धी महासन्धी सन् १९९७ लाई दुवै देशले अनुमोदन गरी राष्ट्रिय कानूनसरह कार्यान्वयनमा ल्याए समस्याको समाधान हुने बताए । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बाढीपहिरोका घटना नियमित प्रक्रिया भएकाले यसका निम्ति सचेत रहनुपर्ने बताए । उनले तराई क्षेत्रको समस्याको समाधानका लागि राजनीतिक पहल नै आवश्यक रहेको उल्लेख गरे । रासस

ट्राफिक पुलिसले फेला पार्याे हराएका १६ मोटरसाइकल

काठमाडौँ, भदौ ३० । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न समयमा विभिन्न व्यक्तिका हराएका १६ थान मोटरसाइकल फेला पारी आज सम्बन्धित धनीलाई बुझाएको छ । मोटरसाइकल हराएका सम्बन्धित धनीलाई महाशाखामा बोलाएर मोटरसाइकल बुझाइएको हो । महाशाखाले सुरेन्द्रबहादुर कार्की, कान्छा डंगोल, अर्जुन बस्नेत, दास्टेम्वा शेर्पा, प्रवीण थापा, विष्णुबहादुर लामा, बीमा भुक्तान, रञ्जितनारायण श्रेष्ठ, राजेश गुरुङ, शेखरप्रसाद प्रधान, जनक खड्का, अविश लामिछाने, सुजन नेपाल, कृष्णबहादुर लामा, विकास जोधानी र भीमबहादुर तामाङको मोटरसाइकल बुझाएको हो । मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाउँदै महाशाखाका प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनालले अस्पताल, विमानस्थल, बसपार्कलगायत क्षेत्रबाट बढी मोटरसाइकल हराउने गरेको बताएका हुन् । “सवारी पार्किङ गर्दा विचार पु¥याएर गर्नुहोस्, जथाभावी पार्किङ गर्दा धेरै मोटरसाइकल हराएको महाशाखाले पाएको छ,”, प्रमुख खनालले भने। महाशाखाले पाँच वर्ष पहिलेदेखि हराएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको हो । रासस

मालपोत कार्यालय प्रमुखमाथि कुटपीट

कपिलवस्तु, भदौ ३० । कार्यालय समय सकिएर घर फर्किने क्रममा जिल्ला मालपोत कार्यालयका प्रमुख ईश्वरीप्रसाद शर्मामाथि नचिनेका मान्छेको समूहले आक्रमण गरेको छ । तौलिहवा जितपुर सडक खण्डको पचेहरा र मर्थीको बिच सडकमा नचिनेका दुई जना मान्छेको समूहले शर्मामाथि अक्रमण गरेको हो । आक्रमणबाट शर्मा घाइते भएका छन् । कार्यालय प्रमुख शर्मालाई मोटरसाइकल चलाएकै अवस्थामा लाट्ठी प्रहार गरिएको थियो । मोटरसाइकल अनियन्त्रित भई पल्टदा शर्मामाथि थप कुटपिट समेत गरेका प्रहरीले जनाएको छ । कार्यालय प्रमुख शर्माको हातमा चोट लागेको र अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रेमा स्वाइनफ्लुबाट एक जनाको मृत्यु

काभ्रे, भदौ ३० । स्वाइनफ्लु रोगको संक्रमणबाट काभ्रेपलाञ्चोकमा शुक्रबार एक जनाको ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा अर्जुन सापकोटाकाअनुसार स्वाइनफ्लुुका कारण पनौती नगरपालिका– ७ की ४० वर्षीया चाँदनी नेवाको ज्यान गएको हो । ‘केही दिनअघि एक महिनाका लागि भारतका विभिन्न धार्मिकस्थलमा तीर्थयात्रा गरेर घर फर्केको र फर्केलगतै बिरामी भएर अस्पताल भर्ना भएको’ डा अर्जुन सापकोटोले बताए । चाँदनी नेवाको ज्यान गएपछि अहिले जिल्ला स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकले भने मृतकको घर नजिकका समुदायमा आवश्यक सर्तकता अपनाउन स्वास्थ्यकर्मी परिचालन गरेको कार्यालयका प्रमुख डाक्टर अर्जुन सापकोटाले जानकारी दिए ।  रासस

विद्यार्थी हत्याको विरोधमा प्रदर्शन

भीमदत्तनगर, भदौ ३० । विद्यार्थी हत्याको विरोधमा कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका स्थानीयवासीले विरोध प्रदर्शन गरेका छन् । प्रहरी र स्थानीयवासीबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । यस क्रममा प्रहरीले नौ राउण्ड अश्रुग्यास समेत प्रहार गरेको प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले जानकारी दिनुभयो । गत आइतबार स्थानीय महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा–८ मा अध्ययरत १३ वर्षीय तिलक चन्द विद्यालयबाट बेपत्ता भएका थिए । प्रहरीले उनको शव बुधबार राति हल्दुखाल नजिकैको खोलामा भेटाएको थियो । चन्दको हत्यामा संलग्न रहेको आशंकामा उनकै साथी आशिष अधिकारीलाई प्रहरीले पक्राउ गरेको थियो । अधिकारीले चन्दको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । हत्यामा संलग्न अधिकारीको घरमा आज स्थानीयवासीले तोडफोड गरेका छन् । उनीहरुले अधिकारीको गोठमा आगजनीसमेत गरेका छन् । अहिले हल्दुखाल क्षेत्र तनावग्रस्त बनेको छ । स्थानीय प्रशासनले साँझ ८ बजेसम्मका लागि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । चन्दको कानमा लगाएका सुनको मुन्द्राको लोभमा अधिकारीले उनको हत्या गरेको खुलेको छ । चन्दका सहपाठी आशिष अधिकारी, रमेश खड्का, विशाल चन्द र प्रकाश थापालाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक चन्दले बताउनुभयो ।

काँग्रेसको नेतृत्वमा मात्र समृद्धि सम्भव: नेता पौडेल

पर्सा, भदौ ३० । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकताले नै राष्ट्रलाई बलियो र विकसित बनाउने बताउनुभएको छ । पर्साको पोखरिया नगरपालिकामा आज नेपाली काँग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले हिमाल पहाड र तराईबीचको एकताले नै राष्ट्रको समृद्धिमा ठूलो भूमिका खेल्ने छ भन्नुभयो । नेता पौडेलले उग्र पहाडवाद र मधेसवादको नारा लगाएर केही दलले राष्ट्रलाई कमजोर पार्न खोजिरहेको आरोप लगाउँदै सबै नेपालीको अधिकार प्रवद्र्धन गर्ने एक मात्र पार्टी काँग्रेसका उम्मेदवारलाई मतदान गर्न सबैमा आग्रह गर्नुभयो । ‘काँग्रेसकै नेतृत्वमा आयो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, अब काँग्रेसकै नेतृत्वमा बघि बढ्छ समृिद्धको अभियान’ भन्ने नारा लगाउँदै उहाँले देशको विकासका लागि नेपाली काँग्रेसको नेतृत्व अपरिहार्य रहेको बताउनुभयो । नेता पौडेलले मुलुकको हरेक परिवर्तनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दैआएको नेपाली काँग्रेसको नेतृत्वमा नै लोकतान्त्रिक नेपालको समुचित विकास र समृद्धिको अभियान अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं सांसद राजेन्द्रबहादुर अमात्य, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय चौरसिया, पूर्व जिल्ला सभापति जनार्दन सिंहक्षेत्रीलगायतले कांग्रेसका उम्मेदवारलाई मतदान गर्न सबै मतदातामा अपिल गर्नुभयो ।

निर्वाचनमा सूचना प्रबाह प्रभावकारी बनाउन निर्देशन

सप्तरी, भदौ ३० । मुख्य निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले स्थानीय तहको निर्वाचनमा सूचना प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ । निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आज यहाँ आयोजित छलफलमा सहभागी निर्वाचन अधिकृतहरुलाई उहाँले यो निर्वाचनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय सञ्चार माध्यम तथा अन्य निकायले विशेष चासो दिएकाले सूचना प्रबाह छिटोछरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो । निर्वाचनको सम्पूर्ण तयारी भइसकेको र मतदान अधिकृतसमेत खटिसकेको मुख्य निर्वाचन अधिकृत कोइरालाले जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेले निर्वाचनका लागि पूर्णरूपमा सुरक्षा व्यवस्था मिलाइएको छ भन्नुभयो । निर्वाचन आयोगबाट अनुगमनमा खटिएका सहचिवद्वय सञ्जीवराज रेग्मी र छबिन्द्र पराजुलीले निर्वाचन आचारसहिता पालना गर्न गराउन र मतदाता,मतपेटिका तथा मतदान केन्द्रको सुरक्षामा ध्यान केन्द्रित गर्न जोड दिनुभयो । सप्तरीमा ९ नगरपालिका र ९ गाउँपालिकासहित १८ वटा स्थानीय निकायमा यही असोज २ गते निर्वाचन हुने भएको छ । यसैबीच प्रदेश नं– २ अन्तर्गत सप्तरीमा असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा शान्ति र सुरक्षा कायम गराउन आज यहाँ सुरक्षा निकायको बैठक बस्यो । बैठकमा आपाराधिक क्रियाकलाप रोक्न तथा निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष तथा धाँधलीरहित बनाउन निर्णयसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेको अध्यक्षतामा बसेको बैठकमा मतदान केन्द्र मतपेटिका र मतदाताको सुरक्षाको सम्बन्धमा छलफल भएको सो बैठकमा सुरक्षा निकाय र निर्वाचन कार्यालयका प्रमुखको सहभागिता थियो ।