नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द नहुने

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा रहेको तुइन खोलामा पुल बनाउनका लागि पहाड काट्न सुरू भएपछि दिउँसो चार घण्टा दैनिक बन्द हुँदै आएको  सडक आजदेखि बन्द नहुने भएको छ । 

चट्टान फुटाउने काम अन्तिम चरणमा पुगेकाले आवागमन नियमित गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।

आजदेखि २४ सै घण्टा आवागमन खुला रहने नागढुंगा–मुग्लिन सडक योजना (पश्चिम खण्ड)का सूचना अधिकारी कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

भारतीय कारको ठक्करबाट एकको मृत्यु, दुई घाइते

कैलाली। कैलालीमा गएराति भारतीय नम्बर प्लेटको कारको ठक्करले एक साइकल यात्रीको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार टीएस ०८ जीवी ६५३७ नम्बरको भारतीय कारको ठक्करबाट लम्कीचुहा नगरपालिका –१ का ६० वर्षीय कुलचन्द्र जोशीको मृत्यु भएको हो ।  गाडीको ठक्करबाट गम्भीर घाइते भएका उनको टीकापुर अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । लम्कीचुहा नगरपालिका –१० का ४२ वर्षीय भुवन जोशीले चलाएको सो कारले लम्कीचुहास्थित मोतीपुर चौकमा ठक्कर दिएको थियो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदैगर्दा सो कारले जोशीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलाली जनाएको छ । साइकलयात्रीलाई ठक्कर दिनुभन्दा अगाडि नै सोही कारले लम्कीचुहा नगरपालिका –६ मा दुई जनालाई ठक्कर दिएर भागेको थियो । ठक्करबाट ५५ वर्षीय मनीराम चौधरी र ५० वर्षीय ठग्गु चौधरी पनि घाइते हुन पगेका थिए ।  घाइतेमध्ये मनिरामको अवस्था गम्भीर रहेको जनाइएको छ । घाइते दुवै जनाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते मनिरामलाई आइसियुमा राखेर उपचार भइरहेको प्रहरीको भनाइ छ । 

दश दिनको अन्तरमा पुरिएको अवस्थामा फेला परे पाटे बाघ

नवलपुर। खाल्डो खनेर जंगलमा गाडेको अवस्थामा बयस्क पाटे बाघ भेटिएको छ । मध्यविन्दु नगरपालिका –१५ को नवदुर्गा सामुदायिक वनमा वयस्क पाटे बाघ मारेर गाडेको अवस्थामा फेला परेको हो ।  एक हप्ताको अवधिमा दोस्रो पटक बाघ मारिएको हो । १० दिनअघि पनि मध्यविन्दुकै १० नम्बर वडामा पनि बयस्क बाघ मरेको अवस्थामा भेटिएको थियो । पोष्टमार्टम नगरी गाडिएको बाघलाई अर्को दिन खाल्डोबाट झिकेर पोष्टमार्टम गरिएको थियो ।  त्यसको पोष्टमार्टमको रिपोर्ट अझै आइसकेको छैन । आज गाडिएको अवस्थामा भेटिएको भाले बाघको लम्बाई १०४ ईन्च र मोटाइ ४० ईन्च रहेको चोरमारा रेन्जपोष्टका सवडिभिजन अधिकृत दुर्गादत्त कँडेलले जानकारी दिए। सो बाघको भोलि पोष्टमार्टम गरिने उनले जनाकारी दिए । बाघको देब्रे खुट्टाको माथिल्लो भाग काटिएको अवस्थामा रहेको छ । नवदुर्गाको वनमा खाल्डो खनेर गाडिएको अवस्थामा रहेको बाघ गन्हाएपछि वन हेरालु दुर्गाबहादुर कुमालले देखेर अन्य हेरालुलाई खवर गरेको बताए ।  स्थानीय हरियाली सामुदायिक वनका उपाध्यक्ष धनकान्ति कँडेलले बिजुलीको पासो थापेर मारेको हुनसक्ने बताए । चितवन राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, प्रहरी, नेपाली सेना र सामुदायिक वनको रोहवरमा बाघको मुचुल्का उठाइएको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार यसअघि अरुङखोलामा मरेको र आज मरेको बाघको प्रकृति एउटै छ ।  बाघलाई ८–१० दिन अघि नै मारिएको हुनसक्ने डिभिजन वन कार्यालयले जनाएको छ । हाल देशभर ३५५ रोयल बेङ्लोर टाईगर (पाटे बाघ) रहेको पश्चिम सेक्टर अमलटारी रेञ्ज पोष्टका अधिकृत विष्णु पौडेलले जानकारी दिए ।

भारतमा ट्याक्टर ट्रली पल्टँदा २२ जनाको मृत्यु, १०  जना घाइते

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा शनिबार ट्याक्टर ट्रली पल्टिएर पोखरीमा खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ । १० जना घाइते छन् । उक्त दुर्घटना उत्तर प्रदेशको राजधानी लखनउबाट २६६ किलोमिटर उत्तरपश्चिममा पर्ने कासगञ्ज जिल्लाको पटियाली क्षेत्रमा भएको हो । “अहिलेसम्म दुर्घटनामा २२ जनाको मृत्यु भइसकेको छ र घाइते भएका १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ,” कासगञ्जका प्रमुख मेडिकल अफिसर राजीव अग्रवालले सञ्चारमाध्यमलाई बताएका छन् । प्रहरीकाअनुसार, पीडित गंगास्नान गर्न कादरगञ्ज जाँदै थिए । पीडितमध्ये अधिकांश महिला र बालबालिका छन् । उद्धारकर्ताले घटनास्थलबाट शव निकालेर शवगृहमा राखेको र पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने प्रहरीले जनाएको छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले पीडित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । ट्याक्टर चालकले अर्को गाडीलाई ‘ओभरटेक’ गर्न खोज्दा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । भारतमा घातक सडक दुर्घटना प्रायः ‘ओभरलोडिङ’, सडकको खराब अवस्था र लापरवाह ड्राइभिङका कारण हुने गरेको पाइएको छ । सडक दुर्घटनामा प्रत्येक वर्ष लगभग एक लाख ५० हजार मानिसको मृत्यु हुने गरेको छ । रासस/सिन्ह्वा

प्रधानमन्त्री प्रचण्डद्वारा पुल शिलान्यास

धनुषा ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धनुषा र सिरहा जोड्ने पक्की पुलको शिलान्यास गरेका छन् । धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको आज  शिलान्यास गरेका हुन् । एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० मिटर छ । डबल लेनको यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा  सहयोग पुग्नेछ ।

अरूको खुट्टा तान्ने काममा व्यस्त भएर मुलुक बन्दैन  : मन्त्री राई

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले मानिसको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् । उनले अरूको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने उल्लेख गरे ।सरकारमा बसेका मन्त्रीहरूको सोचले मात्र देश परिवर्तन गर्न सम्भव नहुने बताए । राष्ट्रको सोचलाई उत्पादन, उद्योग र श्रममुखी दिशामा लैजान आवश्यक रहेकामा उनले जोड दिए । “हामीले निर्यात गर्न नसकौँला, तर आयात मात्रै प्रतिस्थापन गर्‍यौँ भने पनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ,” उनले भने । मुलुक २५ मन्त्री र पाँच÷सात राजनीतिक दलले मात्र बनाएर नबन्ने उनले बताए । “मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । यो पाँच÷सातवटा पार्टीले मात्रै बनाएर बन्ने होइन,” उनले भने, “तीन करोड नेपालीका ६ करोड हातहरू संयमित रूपमा क्रियाशील हुनुपर्छ ।” मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।

प्रधानमन्त्रीद्वारा कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको उद्घाटन

धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको आज उद्घाटन गरेका छन् । सिराहा नगरपालिका वडा नं १३ मल्हनीया र जनकनन्दिनी गाउँपालिका वडा नं ६ कठाल जोड्ने गरी निर्माण गरिएको कठाल–मल्हनिया–मल्टिस्पान झोलुङ्गे पुलको प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । करिब रु २५ करोड ८० लाख र कार्यालयबाट उपलब्ध गराइएको रु तीन करोड ५ लाख बराबरको लठ्ठा र बुल्डग ग्रिप्सको लागतमा सम्पन्न भएको सो झोलुङ्गे पूलको भारवहन क्षमता ५४० मेट्रिक टन (करिब ३८८६ पदयात्री) रहेको छ ।  झोलुङ्गे पूलको चौडाई ४ फिट रहेकोले मानिस, चौपाया, साइकल र मोटरसाइकलले प्रयोग गर्न सक्ने भए पनि झोलुङ्गे पूलको आयु लम्ब्याउन मोटरसाइकल तार्दा कम गतिमा वा डोर्‍याएर तार्न र टेम्पो तार्नेजस्ता कार्य नगर्न सस्पेन्सन बृज डिभिजनले अनुरोध गरेको छ ।

भरतपुर भ्रमण वर्ष प्रचारका लागि 'भरतपुर च्याम्पियनसिप' हुँदै

चितवन । चितवन ११ फुटबल क्लबको आयोजनामा प्रथम भरतपुर च्याम्पियनसिप २०८० हुने भएको छ । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता हुन लागेको हो । फागुन २५ गते बाट सुरु हुने प्रतियोगिता चैत १० गतेसम्म चल्ने क्लबका अध्यक्ष सुशील कार्कीले जानकारी दिए । प्रतियोगितामा १२ टोली सहभागी हुने कार्कीले बताए । चितवनका केही तथा विभागीय र मफोसलका उत्कृष्ट क्लबहरु प्रतियोगितामा सहभागी हुने कार्कीले जानकारी दिए । उनका अनुसार सहभागी हुने क्लबहरुको नाम केही दिनमा सार्वजनिक गरिनेछ । प्रतियोगिताका खेलहरु नेपाल प्रहरी शिक्षालय (तालिमकेन्द्र) को मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले तीन लाख तीन हजार रुपैयाँ तथा उपविजेताले एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । विधागत उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको प्राविधिकलगायतका तयारी तीव्र पारिएको छ । फागुन १८ देखि सुरु हुने भरतपुर भ्रमण वर्ष २०२४ को प्रवर्द्धन र प्रचारका लागि प्रतियोगिता आयोजना गरिएको अध्यक्ष कार्कीको भनाइ छ । खेलको माध्यमबाट भ्रमण वर्ष र भरतपुरका पर्यटकीय क्षेत्रको प्रचार गर्न यस प्रतियोगिताले भूमिका खेल्ने उनको विश्वास छ । यसले भरतपुर भ्रमण वर्ष सफल बनाउन पनि मद्त मिल्ने उनको भनाइ छ । फागुन १८ गते नारायणगढस्थित नारायणी नदी किनारमा ठूलो संख्या मा स्थानीय र अतिथिको उपस्थितिमा भ्रमण वर्ष घोषणा गरिँदैछ ।

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

बलेवा । सुक्खा पहिरोका कारण गएरातिदेखि कालीगण्डकी करिडोरको बागलुङ–गुल्मी सडकखण्ड अवरुद्ध भएको छ । बागलुङ र गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका–८ बरालवाको भिरमा गएराति सुक्खा पहिरो खसेको हो ।  पहिरोले बागलुङ–गृल्मीखण्डअन्तर्गत मालढुङ्गा–अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । बागलुङको मालढुङ्गादेखि गुल्मीको अर्बेनीसम्म ४४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ । काम चलिरहेकै बेला गएराति पहिरो खसेपछि सडक अवरुद्ध भएको र काम रोकिएको कालोपत्रेको काम गरिरहेको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इञ्जिनियर छकबहादुर गुरुङले जानकारी दिए ।   “दुवैतर्फबाट डोजर लगाउँदा पनि कम्तीमा एक साता पहिरो पन्छाउन लाग्छ”, उनले भने, “ढुंगा खसिरहेकाले पन्छाउने काम गर्न सकिएको छैन ।” पहिरोको विषयमा कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पालाई जानकारी गराइएको उनले बताए ।  सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् । सदरमुकाम बागलुङ बजार, जैमिनी र बरेङ गाउँपालिकाबाट बुटवललगायतका ठाउँमा चल्ने सवारीसाधन बाटोमै रोकिएका छन् । भिरालो जमिन रहेको उक्त स्थानमा बेलाबेलामा सुक्खा पहिरो जाने गरेको छ । रासस

तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहमा पठाउँछौँ  : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले तीन करोडभन्दा साना योजना सङ्घमा नराखी प्रदेश र स्थानीय तहमा पठाइने बताएका छन् ।  शनिबार बिहान सिंहदरबार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सङ्घीयतालाई बलियो बनाउन वित्तीय हस्तान्तरणमा जोड दिइएको बताए । प्रधानमन्त्रीले भने, -'बजेटमा कनिका छर्ने तरिकाले विकास र समृद्धि हासिल गर्न सकिँदैन। अलि रणनीतिक महत्वका योजना मात्र सङ्घमा राख्छौं। तीन करोडभन्दा साना योजना प्रदेश र स्थानीय तहले नै गर्छन्। बजेटको क्षेत्र तोकेर पठाइन्छ। आयोजना छनोटको अधिकार प्रदेश र स्थानीय तहलाई नै दिइन्छ।' नयाँ योजना धेरै नथपिकन पूरा हुन बाँकी पुराना योजनामा बजेट बिनियोजन गरिने बताए। प्रधानमन्त्रीले भने, 'खर्च गर्न नसकिने शीर्षकमा बजेट थुपार्ने, अत्यावश्यक आयोजनामा बजेटका अभाव हुने बेथिति अन्त्य गर्नुपर्छ। पुराना योजना सम्पन्न गर्ने कुरामा सरकारको पुरै जोड रहन्छ।' बैठकमा प्रधानमन्त्रीले बालकुमारी घटनाको प्रतिवेदन आफूले प्राप्त गरिसकेको र अध्ययनकै क्रममा रहेको जानकारी गराए। उनले भने, 'बालकुमारी घटनाको प्रतिवेदन अध्ययन गरेर निर्णय गरिन्छ। आयोग बनाएर छानविन गर्ने निर्णय सरकारकै हो। प्रतिवेदन अध्ययनको प्रक्रियामा छ। अध्ययनपश्चात् आवश्यक निष्कर्षमा पुग्छौं। यो सरकारको क्षेत्राधिकार हो। प्रतिपक्षले राजनीतिक संस्कार देखाउनुपर्छ।' आगामी मन्त्रिपरिषद बैठकपछि सरकारको तर्फबाट संसदमा विधेयकहरू प्रस्तुत गर्ने भएकाले प्रस्तुत विधेयकहरू पारित गराउन सांसदहरूलाई प्रधानमन्त्रीले निर्देशित समेत गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले भने आउने क्याविनेट बैठकमा छलफल गरेर संसदमा विधेयकहरू पेश गर्ने सरकारको तयारी छ। विधेयकहरू पारित गराउन तपाईहरूले प्रभावकारी भूमिका खेल्नुहोस्। माओवादी केन्द्रको संसदीय दलको बैठकमा नेपाल सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटबारे सांसदहरूलाई अभिमुखीकरण गर्ने कार्यसूचि रहेको छ।

गाँजाको प्रयोगलाई वैधानिकता दिंदै जर्मनी

बर्लिन । जर्मनीले गाँजाको प्रयोगलाई वैधानिकता दिने भएको छ । औषधिको रुपमा मात्रै नभएर मनोरञ्जनको रुपमा समेत गाँजा प्रयोग गर्न पाउँने सम्बन्धि विधयेक जर्मनीको तल्लो सदनेले पास गरेसँगै जर्मनीमा गाँजा वैध हुने निश्चित भएको हो । जर्मनीको संसदको तल्लो सदनले विपक्षी र चिकित्सा अधिकारीहरूको चेतावनीको बाबजुद शुक्रबार सीमित मनोरञ्जन प्रयोगको लागि गाँजालाई वैधानिक दिने पक्षमा मतदान गरेको हो । गाँजाको उपयोग सम्बन्धि नयाँ नियम अनुसार अब जर्मनमा वयस्कहरूले व्यक्तिगत प्रयोगको लागि थोरै मात्रामा गाँजा राख्न सक्छन् तर औषधिको रुपमा प्रयोग गर्नका लागि भने १८ वर्ष मुनिका लागि प्रतिबन्ध कायम नै रहेको छ । गाँजाको उपयोग बारे गरिको मतदानमा जम्मा ४०७ जना जर्मन सांसदले नयाँ नियमको पक्षमा मतदान गरे भने २२६ सांसदले विपक्षमा र चार सांसदले शुक्रबारको मतदानबाट अनुपस्थित रहे । यो विधेयक पारित भएसँगै जर्मनीमा गाँजालाई औषधिको रुपमा उपयोग गर्न सजिलो पहुँचको फाइदाबारे र बेफाइदाबारे पक्ष विपक्षमा राष्ट्रिय बहस भैरहेको छ । यो विधयेक पारित भएसँगै गाँजा खुला गर्ने माल्टा र लक्जमबर्ग पछि जर्मनी युरोपको तेस्रो देश बन्ने  छ ।  

‘अध्ययन नगरी धरानमा हवाईमैदान बनाउन सकिँदैन’

धरान । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मिहिन ढंगले अध्ययन नगरी धरानमा तत्काल हवाईमैदान बनाउन नसकिने बताएका छन् ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको धरान एक्स्पो, २०८० को उद्घाटन गर्दै मन्त्री किरातीले राम्रोसँग अध्ययन नगरी बनाइएका कारण देशभर २२ हवाईमैदान अलपत्र अवस्थामा रहेका कारण धरानमा पनि हवाईमैदानको सम्भाव्यताका लागि मिहिन ढंगले अध्ययन भइरहेको बताए ।  प्राविधिकले धरानमा हवाईमैदानका लागि अध्ययन भइरहेको स्थानमा एकतर्फी मात्र उडान अवतरण गर्न मिल्ने जानकारी दिएको उल्लेख गरे ।  मन्त्री किरातीले भने, “जहाज उडान भर्न सकिन्छ कि सकिँदैन भन्ने बुझेर मात्र हवाईमैदान बनाउनुपर्छ ।”  उनले धरानमा स्थानीय उत्पादन, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि धरान एक्स्पो आयोजना गरिएकाले सहभागी हुन सबैमा आग्रह गरे । विकासका लागि धरान एक्लै अघि बढ्न नसक्ने उल्लेख गर्दै मन्त्री किरातीले धरानले चतरा, बराहक्षेत्र, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायत ठाउँका धार्मिक तथा पर्यटकीयस्थललाई ध्यानमा राखेर सरोकारवाला निकायसँग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । रासस

प्रधानमन्त्री प्रचण्ड आज सर्लाही आउँदै

सर्लाही। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज (शनिवार) सर्लाही आउँदै छन् । बागमती नगरपालिकाले पहिलो पटक आयोजना गरेको बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड सर्लाही आउन लागेका हुन् । बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको सम्पूर्ण तयारी भइसकेको जानकारी दिए ।  नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत तीन हजार विद्यार्थी र करिब १५ हजार अभिभावकलाई सहभागी गराई आज एक दिनको शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गरिएको बागमती नगरपालिकाले जनाएको छ । बागमती नगरपालिका–११, कर्मैयास्थित स्वर्गीय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजित महोत्सव बिहान ११ः३० बजे सुरु हुने र प्रधानमन्त्री प्रचण्डले दिउँसो २ बजे सम्बोधन गर्ने प्रमुख प्रशासकीय अधिकृत पुरीले बताए ।  नेपाली सेनाको हेलिकप्टरमार्फत आउने प्रधानमन्त्री प्रचण्ड बागमतीस्थित सेनाको क्याम्पमा अवतरणपछि कार्यक्रम स्थलमा पुग्नुहुने छ । विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरूको विकासका लागि समाजको मौलिकता, संस्कार, संस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा सांस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।  महोत्सवमा तीन हजार विद्यार्थीले सातै प्रदेशको संस्कार, संस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् । 

डेढ लाख बालबालिकालाई खोप लगाइने

सुर्खेत। कर्णाली प्रदेशका नौ महिनादेखि पाँच वर्षमुनिका झन्डै डेढ लाख बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ । जाजरकोट र रुकुमपश्चिमबाहेक कर्णाली प्रदेशका आठ जिल्लाका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार ४४४ जना बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।  प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार फागुन १३ देखि चैत ७ सम्म सो खोप लगाइने छ । आठ जिल्लाका झन्डै दुई हजार खोप केन्द्रबाट खोप लगाइने छ । १२५ बालबालिका बराबर एक स्वास्थ्यकर्मीले खोप लगाउने छन् । युनिसेफका प्रतिनिधि कृष्णहरि मैनालीका अनुसार रुकुमपश्चिम र जाजरकोटमा भूकम्पपछि पुसमा दादुरा रुबेलाको खोप लगाइसकिएकाले यस पटक ती दुई जिल्लाबाहेक कर्णालीका सुर्खेत, दैलेख, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा यो खोप लगाइने छ । लक्षित समूहले अधिक खोप लगाउनका लागि विभिन्न गतिविधि गरिने जनाइएको छ । अभिभावकलाई खोप लगाउन निमन्त्रणा कार्ड पठाइने, खोप लगाएपछि खोप कार्ड वितरण गरिने, ब्यानरलगायतका प्रचार गर्ने, माइकिङ गर्ने, धामीझाँक्रीसँग पत्राचार गर्ने, धेरै प्रश्न सोधेर जानकारी गराउने योजना छ । दादुरा–रुबेला निकै जोखिमपूर्ण रोग भएकाले एक जनाबाट १८ जनामा सङ्क्रमण सर्न सक्ने उनको भनाइ छ । यस खोपको कुनै असर नहुने, पहिले लगाएकाले पनि पुनः लगाउन मिल्ने जनाइएको छ । बढी कुपोषित भएका, उच्च ज्वरो आएको बालबालिकालाई भने यो खोप लगाउन हुँदैन । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलका अनुसार ‘खोज र खोप’ रणनीतिबमोजिम सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्य छ ।  उनले कर्णालीमा पूर्ण खोपको कभरेज ८५ प्रतिशत रहेको र अन्य जिल्लामा खोप लगाउन छोड्ने दर पनि कायमै रहेको बताए । भौगोलिक कठिनाइ, मौसमी बसाइँसराइ, कहिल्यै खोप नलगाउने राउटे समुदायका कारण पूर्ण खोपको चुनौती खेप्नु परेको उनको भनाइ छ ।  प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्ड चेन अधिकृत देवीराम पौडेलले कर्णालीका आठ जिल्लामा १३ हजार ४५३ भाइल  दादुरा–रुबेलाको खोप सम्बन्धित जिल्लामा आपूर्ति गरिसकिएको बताए । एक भाइलमा १० डोज हुन्छ । यस्तै एक लाख ३४ हजार पाँच सय सिरिन्ज र १४ हजार ९३६ घोलक पनि पठाइसकिएको छ । विश्व स्वास्थ्य सङ्गठनका डा.तारा बानियाँले नयाँ आप्रवास बस्ती, सुकुमवासी बस्ती, राउटे, कुसुन्डालगायतका बालबालिका खोपबाट छुटेका हुँदा तिनलाई पनि खोपको दायराभित्र ल्याउन आह्वान गरे । प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले खोप अभियान सफल बनाएपछि मात्रै नेपालको खोपको प्रतिशत दर वृद्धि हुने बताए ।  हिउँ छिचोल्दै खोप  हुम्ला समाचारदाताका अनुसार हिमाली जिल्लाका स्वास्थ्यकर्मीलाई नियमित खोप लगाउन हिमपातका कारण कठिन भएको छ । हिउँको जोखिमसँगै स्वास्थ्यकर्मीले खोप लगाइरहेका छन् । एक वर्ष तीन महिनाभित्र बालबालिकालाई लगाउनुपर्ने खोप लगाउन हिमपातका कारण समस्या परेको छ ।

बालविवाह रोक्न धामी सक्रिय

बैतडी । बालविवाह तथा लैङ्गिक हिंसा रोक्न पाटन नगरपालिकाका धामी समूहलाई सक्रिय पारिने भएको छ । ग्रामीण भेगमा धामीझाँक्रीका कुरामा विश्वास गरिने भएकाले बालविवाह तथा लैङ्गिक हिंसा नियन्त्रण गर्न यस्तो उपाय अपनाइएको हो । सामाजिक विकास कार्यालय बैतडीको अगुवाइमा पाटन नगरपालिकामा गठन गरिएको प्रतिष्ठित धामी समूहले बालविवाह जस्ता प्रचलन नियन्त्रणका लागि धामीझाँक्रीसँग अन्तर्क्रिया गरिएको छ । सामाजिक विकास कार्यालय बैतडीका प्रमुख शङ्करदत्त जोशीका अनुसार प्रतिष्ठित धामी समूहले जिल्लाका विभिन्न पालिकामा पुगेर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।  बालविवाह र लैङ्गिक हिंसाका कारण पर्ने असरका विषयमा धार्मिक अगुवाले जानकारी दिनुपर्ने भएकाले आफूहरू सचेतना अभियानमा सहभागी भएको प्रतिष्ठित धामी समूहका सचिव हरिप्रसाद जोशीले जानकारी दिए।   सामाजिक विकास कार्यालय बैतडी प्रमुख शङ्कर जोशीका अनुसार बैतडीमा ४२ प्रतिशत बालविवाह हुने गरेको छ । 

आजको मौसम : आंशिक बदली हुने, मुख्यतया सफा रहने

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।  गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।  छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राती गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक(दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।