पर्सामा श्रमिक अस्पताल स्थापनाको तयारी

पर्सा, असोज ३ । पर्सा–बारा औद्योगिक करिडोरमा श्रमिक अस्पताल स्थापना गरिने भएको छ ।

श्रम मन्त्रालयले यो अस्पताल स्थापनाको गृहकार्य थालेको छ । श्रम कार्यालय वीरगंजका प्रमुख राधेश्याम झाका अनुसार– ‘अस्पतालका लागि आवश्यक जग्गाको सर्भे गर्ने प्रारम्भिक चरणको काम सकिएको छ ।’

करिडोरको जीतपुर सिमरा उपमहानगरपालिका अन्तर्गत राजेश मेटल उद्योगको पछाडी रहेको ८ बिघा ४ कठ्ठा ऐलानी जग्गाको नाप नक्शा सहितको सर्भे गरी केन्द्रमा पठाएको उनले बताए ।

श्रमिक तथा तिनका परिवारको उपचार लक्षित गरी स्थापना गर्न लागिएको अस्पताल अत्याधुनिक तथा सुविधा सम्पन्न हुने छ ।

मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्तरको कल्याणकारी कोषमा मजदुरका लागि अस्पताल, चमेना गृह लगायतका अन्य सुविधा उपलब्ध गराउने प्रयोजनले जम्मा गरिएको रकम १४ खर्ब पुगेको छ ।

तर कोषको रकम हाल सम्म उपयोगमा आउन नसकेको श्रम कार्यालय वीरगंजका प्रमुख झाको भनाई थियो ।

मतगणना अपडेट: केही तहमा गणना सुरु, कांग्रेसले लियो अग्रता

काठमाडौं, असोज ३ । प्रदेश नम्बर २ मा सोमबार भएको स्थानीय तह निर्वाचनको मतगणना सुरु भएको छ । निर्वाचन भएका ८ जिल्लाका १ सय ३६ स्थानीय तहमध्ये अधिकांशमा मतगणना शुरु भएको हो । मतपेटिका संकलन गर्ने काम सकिएलगत्तै सोमबार रातिबाटै मतगणना सुरु गरिएको हो । केही स्थानीय तहमा भने मतगणना संकलनको काममा ढिलाई हुँदा मंगलबारबाट मत मतगणना शुरु गरिने सम्बन्धित निर्वाचन कार्यालयहरुले जनाएका छन् । केही स्थानीय तहमा प्रारम्भिक मत परिणाम आउनसमेत थालेका छन् सिराहाको लाहान, कल्याणपुर, मिर्चैया, धनगढीमाई, कर्जन्हा, गोलबजार नगरपालिकामा मतगणना सुरु भएको छ । त्यसैगरी सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा पनि मतगणना जारी छ । रौतहटमा ११ वटा स्थानीय तहमा मतगणना शुरु भएको छ । १८ वटा स्थानीय तह रहेको रौतहटमा यमुनामाई गाउपालिकासहित ११ वटा नगरपालिकामा राती १ बजेबाट मतगणना शुरु भएको हो । सर्वदलीय सहमतिपछि रौतहटको चन्द्रपुर, गौर, गरुडा, परोहा, फतुवाबिजयपुर, गुजरा, माधवनारायण, बृन्दाबन, बौध्दिमाई, ईशनाथ नगरपालिकामा मतगणना शुरु गरिएको हो । अन्य ७ वटा स्थानीय तहमा भने सर्वदलीय सहमतिपछि आजबाट मात्र मतगणना शुरु गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यस्तै धनुषाको मिथिला, धनुषाधाम, क्षिरेश्वरनाथ नगरपालिकामा मतगणना सुरु भएको छ भने धनुषाकै जनकनन्दनी, मुखियापट्टी, हंसपुर, औरहीमा पनि गणना जारी छ । महोत्तरीका जलेश्वर, गौशाला र बर्दिबास नगरपालिकालगायत आठ स्थानीय तहको मतगणना जारी छ । बाराको देवताल, फेटा र बारागढी गाउँपालिकामा मतगणना सुरु भएको छ । तर, कलैया र जितपुर–सिमरा उपमहानगरपालिकामा भने बिहानदेखि मात्र मतगणना शुरु गरिने बताइएको छ । सर्लाहीका लालबन्दी नगरपालिकासहित ५ स्थानीय तहको मतगणना जारी छ । मलंगवामा भने मतगणना गर्ने तयारी भइरहेको छ । त्यस्तै सप्तरीको खडक नगरपालिका, सप्तकोशी नगरपालिका, तिलाठी, कृष्णसवरन र विष्णुपुरमा पनि मतगणना जारी छ । पर्साको पर्सागढी नगरपालिका सहित ६ वटा स्थानीय तहमा गणना सुरु भएको छ । वीरगन्ज महानगरपालिकामा भने मतगणना शुरु गर्ने तयारी भइरहेको छ ।

सप्तरीमा एक नक्कली मतदाता पक्राउ

राजविराज, असोज २ । प्रदेश नं।२ अन्तर्गत आज भइरहेको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आज एक नक्कली मतदाता पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए । सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

वीरगन्जबाट सात रोहिंग्या मुस्लिम पक्राउ

काठमाडौं, असोज २ । अध्यागमन विभागले म्यान्मारबाट विस्थापित भई बंगलादेशबाट भारत हुँदै नेपाल छिर्ने क्रममा पक्राउ परेका सात रोहिंग्या मुस्लिमलाई फिर्ता(इन्ट्रि रिफ्फूज) गरेको छ । नेपाल छिर्न खोजेका उनीहरुलाई वीरगन्ज अध्यागमन कार्यालयले भारततिरै फिर्ता गरिदिएको हो । सीमा र वीरगन्ज भन्सार सुरक्षामा खटिएको शसस्त्र प्रहरी बलले वीरगन्ज नाका हुँदै नेपाल प्रवेश गर्ने तयारीमा रहेका सात रोहिंग्या मुस्लिमहरुलाई गत विहीबार पक्राउ गरी वीरगन्जस्थित अध्यागमन कार्यालयमा बुझाइएको छ । गृह मन्त्रालयका अनुसार फिर्ता गरिएका ३३ देखि ६७ बर्ष उमेर समूहका छन् । शसस्त्रले बुझाएका रोहिंग्यालाई अध्यागमन कार्यालयले इन्ट्रि रिफ्युज गरेको हो । -अन्नपूर्ण पोष्टबाट

चट्याङ लागेर एकको मृत्यु

संखुवासभा, असोज १ । पानीसँगै आएको चट्याङ लागेर खाँदबारी नगरपालिका–६ पाङ्ठामा एक जनाको मृत्यु भएको छ । आज राति ११ बजे परेको चट्याङ लागेर ४५ वर्षीया हर्कमाया तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक सन्तोष खड्काले बताए । पानी परेसँगै गड्याङगुडुङ गरेपछि बिजुली निभाउन जाने क्रममा उनलाई चट्याङ लागेको थियो । जिल्ला अस्पताल खाँदबारीमा शव परीक्षण गरिएको छ ।

सुदुरपश्चिमकाे ‘बुढी पोल्ने’ पर्व

कैलाली, असोज १ । सुदूरपश्चिमका बिभिन्न पहाडी जिल्लामा आज बुढी पोल्ने पर्व मनाइँदैछ । धुमधामका साथ मनाइने यो पर्व विजय उत्सवको रुपमाबुढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ । किंवदन्ती अनुसार भगवान श्री कृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला (गोठाला)हरुले पुतनाको शव दहन गरेको कथन छ । द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्री कृष्ण दुध चुसी मारेको र भगवान श्री कृष्णले बाँचेको खुशियालीमा यो पर्व मनाईने गरिएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ । सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काँक्रा खांदै लुतो बाँड्ने प्रचलन छ । त्यस्तै बुढी पोलेर घर फर्किने क्रममा बाटो–बाटोमा बलेको दियो पनि गाड्दै जाने प्रचलन छ । यस पर्वमा रातभरी देउडा, भुवा जस्ता साँस्कृतिक कार्यक्रम गरिने चलन पनि रहेको छ ।

‘जनकारबाही’ भन्दै वडा सदस्यलाई मोसो

नुवाकोट, असोज १ । नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले नुवाकोटका एक वडा सदस्यलाई जनवारवाहीको नाममा कालोमोसो दलेका छन् । नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित शिवपुरी गाउँपालिका वडा नं ४ सिक्रेका वडा सदस्य उद्धवबहादुर थापालाई पदीय जिम्मेवारी पूरा नगरेको र शक्तिको दुरुपयोग गरेको भन्दै शुक्रबार राति मोसो दलेर दुव्र्यवहार गरेका छन् । कालोमोसो दलेपश्चान ‘जनकारबाही’ गरेको भन्दै नेकपाका जिल्ला सेक्रेटरी सागर तिमिल्सिनाको हस्ताक्षरमा एक विज्ञप्ति सार्वजनिक गरिएको छ । पूर्व प्रहरी हवल्दारसमेत रहेका थापालाई घरमै बसिरहेको समयमा कालोमोसो दलेका हुन् । थापाले गाउँमा सञ्चालन गरेको औषधि पसल अवैध रहेको र त्यसबाट बिरामीको स्वास्थ्यमाथि खेलबाड गरेको र आव २०६३/६४ मा झोलुङ्गे पुल निर्माणका लागि निर्माण समितिको अध्यक्ष बनेर प्राप्त बजेट अनियमितता गरी पुलको निर्माण अझै शुरु नगरेकाले जनताबाट आएको उजुरीका आधारमा पहिलो चरणमा सचेतस्वरुप मोसो दलेको र नसच्चिए थप कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ । गत शुक्रबार पनि नेकपाको विद्यार्थी भ्रातृ संगठन अखिल क्रान्तिकारीले दुप्चेश्वर गाउँपालिका–१ स्थित इन्द्रेणी प्राविका शिक्षक रामकृष्ण श्रेष्ठलाई नियमितरुपमा विद्यालयमा अध्यापन गराउन नगएको भन्दै कारबाहीस्वरुप मोसो दलेका थिए ।

मनाङमा बल्ल कृषकले स्याउ टिप्न थाले

पोखरा, असोज १ । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यसवर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल र सिँचाइको व्यवस्थाबाट स्याउ उत्पादनमा वृद्धि हुन गएको कृषि विकास कार्यालयका प्राविधिक सहायक यौवनकुमार सुनुवार बताए । जिल्लामा गत वर्ष ६६५ मेट्रिक टन स्याउ उत्पादन भएको थियो । उत्पादित स्याउ बिक्रीबाट कृषकले झण्डै रु एक करोड ८० लाख कमाइ गरेका थिए । यस वर्ष जिल्लामा ८२५ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ । जिल्लाको कूल २०५ हेक्टर स्याउको उत्पादन क्षेत्र मानिएपनि कृषकले ८७ हेक्टर जमिनमा स्याउ लगाएका छन् । जिल्लाका चार गाउँपालिकामध्ये नेस्याङ, चामे र नास्योङ गाउँपालिकामा मात्रै स्याउ खेती गरिन्छ । उत्पादित अधिकांश स्याउ आन्तरिकरुपमा नै खपत हुने गर्दछ । बाँकी भएको स्याउ जिल्लामा आउने पर्यटक, कर्मचारी र अन्य व्यक्तिले नै खरिद गर्ने गर्दछन् भने केहीले लमजुङको बँेसीशहर र काठमाडौँमा लगेर बिक्री गर्ने गर्दै आएका छन् । जिल्लामा अहिले स्याउको मूल्य प्रतिकिलो रु १०० देखि १५० सम्ममा बिक्री हुने गरेको छ । जिल्लामै स्याउका बेर्ना उत्पादन गर्न नर्सरी बनाउन थालिएको छ । यसअघि बैतडी र जुम्लाबाट बेर्ना ल्याई रोप्ने गरिएको थियो ।

करेन्ट लागेर एकको मृत्यु

भक्तपुर, असोज १ । चाँगुनारायण नगरपालिका– ४ नारायणटारमा करेन्ट लागेर आज एक कामदारको मृत्यु भएको छ । नारायणटारमा रहेको विद्युत्को ट्रान्सफर्मरमा अचानक विद्युत् चुहिएर नजिकै अनिल ढुंगानाको बनाउँदै गरेको ट्रसमा विद्युतीकरणको काम गर्दै गरेका सिन्धुपाल्चोक तौथली– ५ का १९ वर्षीय सन्तोष श्रेष्ठको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएलगत्तै उपचारार्थ मध्यपुर अस्पताल लगिएकमा उपचारकै क्रममा उनको मृत्यु भएको र घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिनुभयो । यसैबीच प्रहरीले जिल्लाका विभिन्न ठाउँमा उम्रिएका गाँजाको बोट आज नष्ट गरेको छ । सार्वजनिकस्थानमा उम्रिएका गाँजा लिन युवा आउने जाने गर्न थालेपछि ३९ जनाको प्रहरी टोलीले गाँजा फँडानी गरेको हो । प्रहरीले चाँगुनारायण नगरपालिका–९ स्थित खावा र ढुवाल गाउँ तथा मध्यपुर थिमि नगरपालिका–१ लोकन्थली मनोहराबाट नीलोपुल हँुंदै हनुमन्ते खोला दोभानसम्म करिब दुई हजार गाँजा बोट फँडानी गरेको प्रसार्इंले जानकारी दिए ।

सुनसान बन्यो रानीमहल

पाल्पा, असोज १ । तानसेन नगरपालिकाको बौघागुम्बास्थित ‘नेपालको ताजमहल’मा पर्यटक आगमनमा कमी भएपछि सुनसान बनेको छ । आन्तरिक तथा बाह्य पर्यटक आगमनमा कमी भएपछि रानीमहल अहिले सुनसान बनेको छ । वर्षा र सडक बिग्रीएका कारण ताजमहलसम्म आउने पर्यटकको संख्यामा ज्यादै कमी आएको हो । कालीगण्डकी नदीको भिरालो चट्टानमा अवस्थित ताजमहल हेर्नलायकको पर्यटकीयस्थल हो । ऐतिहासिक पुरातात्विक हिसाबले महत्वपूर्ण मानिएको ताजमहल पर्यटक आकर्षणको लोभ लाग्दो सम्पदा हो । गत वर्ष भदौ असोज महिनामा पर्यटकको ओइरो लाग्ने ताजमहलमा अहिले पर्यटक पाँच÷१० जना पनि नआउने गरेको स्थानीय बासिन्दा बताउँछन् । पहिला यही मौसममा ५० देखि १०० को बीचमा पर्यटक आउने गरे पनि अहिले आन्तरिक तथा बाह्य पर्यटक देख्न मुस्किल भएको स्थानीय बासिन्दा ताराबहादुर थापाले बताउनुभयो । साउनदेखि भदौ महिना वर्षाका कारण पहिरो खसेर अवरुद्ध सडक केही दिनअघिदेखि सञ्चालनमा आए पनि वर्षाका कारण पहिरो खस्ने र सडकमा खोलाखाल्सीले यात्रा कठिन भएको छ । ऐतिहासिक, पर्यटकीय, धार्मिक, पुरातात्विक, सांस्कृतिकरुपमा अत्यन्त महत्वपूर्ण मानिएकोे ताजमहल दरबार क्षेत्रमा अध्ययन, अनुसन्धानका अलवा धार्मिक पर्यटक भ्रमण गर्न आउने गरेका छन् । रासस

पर्वतको दुर्लुङमा छाँगावरोहण खेल सञ्चालन हुँदै

पर्वत, असोज १ । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवं विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेल पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङस्थित महभीर झरनामा सञ्चालन हुने भएको छ । जिल्लाकै मनोरम खोला र बाह्रैमास एकैकिसिमले बगिरहने उक्त खोलामा क्यानोनिङ सञ्चालन गर्ने तयारी गरिएको हो । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने सम्भावनालाई लक्षित गर्दै धौलागिरिमै पहिलो पटक क्यानोनिङको तयारी गरिएको सञ्चालक उद्धिमबहादुर गुरुङले जानकारी दिए । क्यानोनिङका लागि उक्त खोलामा सम्भाव्यता अध्ययन भइसकेको र दशैँलगत्तै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले बताउनुभयो । पर्वत सदरमुकाम कुश्माबजारबाट झण्डै सात किमीको दूरीमा अवस्थित उक्त स्थानमा गुरुङ बस्तीको बाहुल्यता रहेको छ । स्थानीय चनौटेमा होमस्टे विस्तार र महभिर खोलामा क्यानोनिङ एकैपटक शुरु गरिने गुरुङले जानकारी दिए । उक्त स्थानसम्म पुग्नका लागि ग्राभेलिङ सडकको व्यवस्था रहेको छ । कुश्मा बजारबाट आधा घण्टामै पुग्न सकिने तथा नेपालको मुख्य पर्यटकीय शहर पोखराबाट समेत साढे दुई घण्टाको दूरीमा उक्त स्थानमा पुग्न सकिने भएकाले आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्ने गुरुङको विश्वास रहेको छ । यहाँ गुरुङ समुदायमा रहेको होमस्टेमा अर्गानिक खाना, दिउँसोमा क्यानोनिङलगायत उक्त क्षेत्रमा रहेका वनजंगल, जडीबुटी र वन्यजन्तु शिकारलगायतका प्याकेज कार्यक्रम बनाउनेसमेत तयारी भएको बताइएको छ ।

दुई महिनासम्म पनि विद्युत् सेवा सञ्चालन भएन

गुल्मी, असोज १ । दुई महिनादेखि अवरुद्ध रहेको परोपकार सहकारी जलविद्युत् परियोजनाको विद्युत् सेवा अझै सञ्चालन हुन सकेको छैन । परोपकार बहुउद्देश्यीय सहकारी संस्था लिद्वारा सञ्चालित परोपकार सहकारी जलविद्युत् परियोजनाअन्तर्गत रहेको मुसिकोट नगरपालिका–१ पौदीअमराईमा गत असार २९ गते जलेर अवरुद्ध बनेको ५० केबीको ट्रान्समिटर मर्मत सम्भार नहँुदा विगत लामो समयदेखि बिजुली बत्ती बाल्न नपाउँदा आफूहरुलाई निकै समस्या भइरहेको स्थानीय समाजसेवी युवा प्रकाश श्रेष्ठले बताउनुभयो । विद्युत् सेवा अवरुद्ध भएसँगै सोही वडाका करिब ३५० घरधुरीका उपभोक्ता विगत दुई महिनादेखि अन्धकारमा बस्दै आएका छन् भने विद्युत् सेवा बन्द भएपछि बिजुली बत्ती, उद्योगधन्दा, कुटानी पिसानीलगायत विद्युतीय यन्त्रसमेत ठप्प भएका छन् । लामो समयदेखि विद्युत् सेवा ठप्प भएपछि विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई घरमा बिजुली बत्ती नहुँदा लेखपढमा समस्या हुनाका साथै मोबाइल फोन सेवा बन्द हुँदा निकै समस्या भइरहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । विद्युत्को ट्रान्समिटर चेकजाँच र विद्युत् सञ्चालन गराउनका लागि भोलिसम्म विद्युत्का इन्जिनियर आइपुग्ने र त्यसपछि ट्रान्समिटर जाँच, प्राविधिक समस्या समाधान गर्ने र विद्युत् सेवा सञ्चालन हुने विद्युत् सञ्चालक समितिका अध्यक्ष धर्मेन्द्रकुमार मल्लले जानकारी दिनुभयो ।

१४ जिल्लामा आजदेखि हर्न निषेध

ताप्लेजुङ, असोज १ । प्रदेश नं १ मा पर्ने ताप्लेजुङसहित १४ जिल्लामा आजदेखि अनावश्यकरुपमा सवारीसाधनका हर्न बजाउन नपाइने भएको छ । प्रदेश नं १का १४ वटा जिल्लामा स्थानीय प्रशासनको निर्णयानुसार पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले हर्न निषेधित क्षेत्र बनाएको हो । ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र उदयपुरमा हर्न बजाउन नपाइने नियम आजदेखि लागू गरिएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यी जिल्लामा हर्न बजाउन नपाइने नियम लागू गर्न यसअघि पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले मातहतका ट्राफिक प्रहरी कार्यालयमा पत्राचार गरेको थियो । सोहीअनुरुप सबै जिल्लामा हर्न निषेधित क्षेत्र लेखिएका बोर्ड राखिएको छ भने यातायात व्यवसायीलाई समेत पत्राचार गरी कार्यान्वयनका लागि अनुरोध गरिएको छ । यस्तै यो नियम लागू गर्नका लागि सबै जिल्लामा ट्राफिक प्रहरीले सचेतनामूलक कार्यक्रमसहितको अभियान नै सञ्चालन गरेको छ । यातायात व्यवस्था विभाग, सडक विभाग, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त निर्णयमा हर्न निषेधित क्षेत्र बनाउने यसअघि निर्णय भएको थियो । सामान्य अवस्थामा पनि चालकले अनावश्यक हर्न बजाएर ध्वनि प्रदूषण गर्ने गरेकाले यसलाई निषेध गर्न लागिएको हो । यो नियम लागू भएपछि मान्छे बोलाउनका लागि अनावश्यक रुपमा हर्न बजाउन पाइने छैन । तर घुम्ती, सवारीसाधन ठोक्किनै लागेको अवस्थामा र यात्रु किचिने अवस्थामा भने हर्न बजाउन पाइनेछ । नियम पालना नगरे पहिलोपटक रु ५००, त्यसपछि क्रमशः रु एक हजार र रु एक हजार ५०० सम्म जरिवाना गर्न सकिने ताप्लेजुङ ट्राफिक प्रहरी प्रमुख टंक न्यौपानेले बताए । रासस

योग साधनाप्रति पूर्णरूपमा समर्पित हुनुस्: प्रधानसेनापति क्षत्री

काठमाडौँ, असोज १ । प्रधानसेनापति राजेन्द्र क्षत्रीले योग साधनाप्रति पूर्णरूपमा समर्पित हुन आग्रह गरेको छ । पतञ्जलि योग पीठ समितिद्वारा सैनिक मुख्यालय जंगी अड्डामा सञ्चालित एकसाता अवधिको योग विज्ञान शिविरको आज आयोजित समापन कार्यक्रममा उनले योगाभ्यासले मानसिक र शारीरिकरूपमा सन्तुष्टि ल्याउन योगदान पुग्ने विश्वास व्यक्त गरे । प्रधानसेनापति क्षत्रीले भने, “समाजमा एकाग्रह, सोच र चिन्तनमा कमी हुँदै आएका बेला योगाभ्यासको माध्यमबाट मन, मस्तिष्क र स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ, सुरक्षा निकायमा पनि योगाभ्यास क्रमशः विस्तार हुँदै गएको छ । पतञ्जलि योग पीठ नेपालका संरक्षक पूर्व प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्रबहादुर महतले योगले मानिसको जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने धारणा व्यक्त गरे । पतञ्जलि योग पीठ नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्रले योगाभ्यासले मनोबल उच्च बनाउनाका साथै शारीरिक र मानसिक तनावबाट मानिसलाई छुटकार दिलाउन सहयोग पुर्याउँछ भने । उक्त शिविरमा नेपाली बलाधिकृत रथी बलदेवराज महत, रथी बृन्ददेखि सकलदर्जा, सैनिक परिवारजनसमेत गरी ४०० जनाको सहभागिता रहेको थियो । शिविरमा योग र प्राणायमसम्बन्धी ज्ञान दिइएको थियो । योग शिविर बिहान ६ देखि ८ बजेसम्म दैनिकरूपमा सञ्चालन भएको नेपाली सेनाले जनाएको छ ।

आज विश्वकर्माको पूजा आराधना गरिदैं

काठमाडौं, असोज १ । आश्विन संक्रान्तिका दिन आज विश्वकर्मा पूजा गरिँदै छ । प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ । समुद्र मन्थनबाट निस्किएको मानिएका विश्वकर्माले नै कृष्णको द्वारका, पाण्डवको मयसभा र देवताका हातहतियार बनाएको मानिन्छ । नयाँ सवारी साधन किन्नेले विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने भएकाले आज काठमाडौंका भद्रकाली, दक्षिणकालीलगायत मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । विवाह, यज्ञ, गृहप्रवेश आदि कार्यमा पनि विश्वकर्माको पूजा आराधना गर्ने चलन छ । विश्वकर्माको पूजा गर्नाले शान्ति र आफ्नो रक्षा हुने विश्वास छ । आजको दिनलाई वास्तु शास्त्रीले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । नेपालको आफ्नो मौलिक परम्परामा चाहिं बडादशैंको नवमीको दिन हातहतियार, औजार, सवारीसाधनलगायतको पुजा गर्ने चल

‘मौन अवधिमा पनि मत माग्दै उम्मेदवारहरु’

  प्रदेश नम्बर २ मा सोमबार हुने स्थानीय चुनावका लागि मौन अवधि शुरु भइसकेकाले कुनै चुनावी प्रकारको प्रचारप्रसार नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। तर मतदातालाई प्रभावमा पार्ने उद्देश्यका साथ उम्मेदवारहरुले मौन अवधिमा पनि घरदैलोमा पुगेर मत मागिरहेको मतदाताले बताएका छन्। प्रदेश नम्बर २ मा हुने स्थानीय तह चुनावका लागि शुक्रबार राति १२ बजदेखि असोज २ गते १२ बजेसम्म मौन अवधि तोकिएको छ। मौन अवधि शुरु भएदेखि चुनाव नसकिएसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी, स्वतन्त्र उम्मेदवार लगायत कसैले पनि चुनावी प्रचारप्रसार गर्न पाउँदैनन्। भोजभतेर तर प्रदेश नम्बर २ को पर्सा जिल्लामा मौन अवधिमा पनि उम्मेदवारहरु मत माग्न मतदाताको घरदैलोमा पुगिरहेको पाइएको छ। नेताहरु बिहानैदेखि आउँछन्। विभिन्न कुराको लोभ देखाउँछन् अनि आफूतिर मत तान्ने प्रयास गर्छन्। एकजना मतदाता उम्मेदवारहरु घरदैलोमा पुगेर मतदातालाई आकर्षित पार्ने प्रयास गर्ने गरिरहेको वीरगञ्ज महानगरपालिकाका मतदाता बताउँछन्। एकजना मतदाताले भने, “नेताहरु बिहानैदेखि आउँछन्। विभिन्न कुराको लोभ देखाउँछन् अनि आफूतिर मत तान्ने प्रयास गर्छन्।” मौन अवधिमा प्रचारप्रसार नगर्न आयोगले सचेत गराए पनि वीरगञ्जमा राजनीतिक दलका नेता, कार्यकर्ता र उम्मेदवारले घरदैलोमै पुगेर भोट मागिरहेका छन् भने कतै भोजभतेरको पनि आयोजना गरेको पाइएको छ। अनुगमन त्यो कुरा निर्वाचनको अनुगमन गर्न पर्सामा निर्वाचन आयोगले खटाएको निर्वाचन अनुगमन टोलीका प्रमुख खेमराज ज्ञवालीले पनि स्वीकार गरे। उनले भने, “अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ।” मौन अवधिमै मतदातालाई प्रभावमा पार्न बढी चलखेल हुने गरेको राजनीतिक विश्लेषकहरु बताउँछन्। अनुगमनका क्रममा झण्डा प्रयोग गरेर मोटरसाइकल, सवारीसाधनहरु प्रयोग गरेको पाइयो। हामीले यो गर्न हुँदैन, आचासंहिता विपरीत हो भनेर उनीहरुलाई चेतावनी दिएको अवस्था छ। खेमराज ज्ञवाली, अनुगमन प्रमुख, वीरगञ्ज यस्तो अवस्थामा जिल्लामा खटिएका अनुगमन टोलीले कारबाहीका लागि आवश्यक रणनीति बनाएर अघि बढेको निर्वाचन अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए। प्रचार सामाग्री उनले भने, “सूक्ष्म अनुगमनकर्ता गाउँ-गाउँमा खटिएर गोप्य रुपमा काम गरिरहेका छन्। र, हामीले विभिन्न संयन्त्रहरु प्रयोग गरेर त्यो मौन अवधिमा निर्वाचन आचारसंहिता विपरीतका गतिविधिलाई तत्काल रोकेर कारबाही प्रक्रिया अगाडि बढाउने रणनिती बनाएका छौँ।” मौन अवधिमा सामाजिक सञ्जालबाट पनि चुनावको प्रचारप्रसार गर्न नपाइने भएपनि उम्मेदवार र उनीहरुका समर्थक कार्यकर्ताले भने सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै मत मागिरहेका छन्। मौन अवधि शुरु हुनुअगावै मतदान केन्द्रको ३ सय मिटर वरपर राखिएका प्रचार सामाग्री हटाउनुपर्ने भएपनि अहिलेसम्म हटाइको देखिंदैन। तर हटाउन निर्देशन दिइसकेको अनुगमन टोलीका प्रमुख ज्ञवालीले बताए। -बिबिसिबाट