यस्तो हुनेछ आजको मौसम

काठमाडौं । देशका केही भू–भागमा आज हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

विभागले दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागले राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । 

उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु, पाँच जना घाइते

काठमाडौं । बाराको वर्कसपमा ग्यास सिलिण्डर पड्किँदा एक जनाको मृत्यु भएको छ। निजगढ नगरपालिका-५ का ४५ वर्षीय रेशम मगरको मृत्यु भएको हो। उनले सोही नगरपालिका-७ मा वर्कसप सञ्चालन गर्दै आएका थिए।  सोमबार दिउँसो १२ बजे लेथमा ग्यास वेल्डिङ गर्ने क्रममा ग्यास सिलिण्डर पड्किँदा घाइते भएका मगरको वीरगन्ज बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए। उनका अनुसार ५ जना घाइते भएका छन्।  सोही नगरपालिका वडा-५ का ४५ वर्षीय सूर्य बहादुर थापा, वीरगञ्ज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देमान, २० वर्षीय रितु रजत, ३५ वर्षीय भारतीय नागरिक राकेश जयसवाल, २० वर्षीय अरविन साह घाइते भएका डिएसपी न्यौपानेले बताए।  उनीहरूमध्ये ४ जनाको अवस्था गम्भीर छ भने एक जना भने सामान्य घाइते छन्। 

भरतपुरमा उद्यमशिलता विकास गर्न केन्द्रित छु : प्रमुख रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको उद्यमशिलताको विकास गर्न आफु केन्द्रित रहेको बताएकी छिन् । भरतपुर २२ को नवनिर्मित भवन, १६ शैयाको अस्पताल र प्रदर्शनी केन्द्रको संयुक्त रुपमा उद्घाटन गर्दै प्रमुख दाहालले भरतपुरमा पूर्वाधार विकास प्रयाप्त भएकाले आगामी कार्यभार धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित रहेको बताइन्। महानगरपालिकामा विगत ७ वर्षमा पूर्वाधार विकासमा उल्लेखिय काम भइसकेकाले अब भने भरतपुरवासीलाई उद्यमशिलतामा लाग्ने उनको भनाई छ । ‘भरतपुरमा एकै वडामा ५० किमीभन्दा बढी कालोपत्रे सडक निर्माण भइसेका छन्,उनले भनिन्,‘शिक्षा, स्वास्थ्य, पर्यटयन र कृषिमा पनि धेरै काम भएका छन् । अब भरतपुरमा रोजगारी सिर्जना गर्ने प्रमुख एजेण्डा हाम्रो छ ।’ वडा नम्बर २२ को वडा कार्यालय निर्माण भएपछि व्यवस्थित ढङ्गबाट सेवा प्रवाह हुने अपेक्षा लिएको प्रमुख दाहालले बताइन् । वडा कार्यालयसँगै निर्माण भएको १६ शैयाको अस्पताललाई विषेशज्ञ सेवासहित नगरस्तरीय वा वडास्तरीय अस्पतालको रुपमा विकास गर्न सकिने प्रमुख दाहालको भनाइ थियो । २ तल वडा कार्यालय निर्माण गर्न रु १ करोड ३२ लाख खर्च भएको वडा अध्यक्ष विष्णुराज महतोले जानकारी दिए। यस्तै वागमती प्रदेश सरकारको रु १ करोड ५५ लाख सहयोगमा घरेलु प्रदर्शनी केन्द्र निर्माण भएको हो । केन्द्र सञ्चालनमा आएसँगै स्थानीय उत्पादनको प्रदर्शनी गर्न सहज हुने अपेक्षा लिइएको छ । एशियाली विकास बैंक/जेएएफपिआरको अनुदान सहयोगमा नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत कोभिड–१९ रेस्पोन्स आयोजनामार्फत रु १ करोड ६६ लाखको लागतमा १६ शैयाको अस्पताल निर्माण भएको हो । यसको स्वमित्व सोमबार नै भरतपुर महानगरपालिकालाई हस्तान्तरण गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी क्षेत्रमा विगत ७ वर्षको अवधिमा धेरै विकास निर्माणको काम भइसकेको उल्लेख गरे । भरतपुर वडा नम्बर २२ ले पर्यटन, खेलकुद, कृषिलगायतका क्षेत्रमा प्राथामिकताका साथ काम गरिरहेको बताए । भरतपुर भ्रमण वर्ष २०२४ लाई सफल बनाउन पटिहानी क्षेत्रले विषेश कामहरु अगाडि बढाइरहेको उनको भनाई थियो । कार्यक्रममा महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारी, प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेललयागतले मन्तव्य व्यक्त गरेका थिए ।

संसद् भवन प्रवेश गर्ने ४९ लघुवित्त पीडित प्रहरी नियन्त्रणमा

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद् भवनभित्र लघुवित्तपीडित छिरेका छन् । विभिन्न माग राख्दै काठमाडौं आएका पीडितहरू सोमबार संसद् भवन प्रवेश गरेका हुन् । संसद् भवन प्रवेश गर्ने ४८ महिला र एक पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए ।  उनीहरू भित्र बोलाएको भन्दै गेटबाट छिर्न खोज्दा पक्राउ परेका हुन् । केही प्रदर्शनकारी भने भित्र पुगेका थिए । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।   

विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस

काठमाडौं । विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० संघीय संसद्, राष्ट्रियसभासमक्ष पेस गरिएको छ । सभाको सोमबारको बैठकमा समितिका सभापति जयन्तीदेवी राईले प्रतिवेदन पेस गर्दै त्यसबारे सभालाई जानकारी गराएकी थिइन् । सभापति राईले एक वर्षमा समितिका ५४ बैठक सम्पन्न भएको जानकारी दिइन् । यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्द्वको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ सभासमक्ष पेस गरिन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाए । रासस

मोही किसानका माग पुरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले दाङमा चलिरहेको मोही किसानको आन्दोलनका मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार स्वर्गद्वारी गुठीका मोही किसानहरुले हलोजुवा र लालपूर्जासहित थालेको सडक आन्दोलनबारे ध्यानाकर्षण गराउन पुगेको दाङको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले आन्दोलन सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।  सो क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य रेखा शर्माले दाङमा मोही किसानहरुले गरिरहेको आन्दोलनबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। दाङमा मोही किसानहरुले जग्गा प्राप्तिको माग गर्दै लामो समयदेखि आवाज उठाउँदै आएको र गएको हप्तादेखि सडक सङ्घर्षमै उत्रिएको जानकारी गराउँदै मन्त्री शर्माले वार्ता समिति गठन गरेर सङ्घर्षरत किसानका मागहरु टेबल गरिदिन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए। तीन पुस्तादेखि जग्गा जोत्दै आएको र मोही हक समेत कायम रहेको प्रमाणपुर्जा हुँदा पनि हालसम्म अधिकार नपाएको भन्दै मोही किसानहरु आन्दोलनमा उत्रिएका छन्।

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक ११ः०१ बजे सुरु हुने संसद् सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्रहरूको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।  आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्ने र ‘विद्युतीय व्यापार विधेयक, २०८० माथि विचार गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा अर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  राष्टियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विधायन व्यवस्थापन समिति  सभापति जयन्ती देवी राईले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन, २०७९/८० सभा समक्ष पेस गर्ने सम्भावित कार्यसूची छ ।  राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति दिलकुमारी रावल थापा (पार्वती) ले ‘राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष र मध्यवर्ती क्षेत्रमा मानव र वन्यजन्तुबीचको द्वन्दको अवस्था अध्ययन प्रतिवेदन, २०८०’ पेस गर्ने, कार्यसूची छ ।  बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा छलफलका लागि प्रस्ताव गर्ने सम्भावित कार्यूची रहेको संसद् सचिवालयले जनाएको छ ।

देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहँदा बिहान कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।  विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का हिमपातको सम्भावना रहेको छ ।  

कारोबारको पहिलो दिन ओरालो लाग्यो नेप्से, कोरोबार कति ?

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज (आइतवार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६ दशमलव ८१ अंकले ओरालो लागेको छ। परिसूचक १ दशमलव ३३ प्रतिशतले घटेर १ हजार ९७९ दशमलव ०२ बिन्दुमा आएको हो। गत मंसिर अन्तिम साताको कारोबारयता आज पहिलोपटक नेप्से परिसूचक २ हजारको बिन्दुभन्दा तल झरेको हो। आज विभिन्न ३१७ कम्पनीका ८५ लाख ४६ हजार ९३० कित्ता शेयर ७१ हजार ८८० पटक खरिदबिक्री हुँदा ३ अर्ब आठ करोड ६९ लाख ५१ हजार रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। वित्त समूह र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेका छन्।  वित्त समूह १ दशमलव ४० र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ८० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै जलविद्युत् समूह २ दशमलव ४२ प्रतिशतले घटेको छ। बोटलर्स नेपाल (बालाजु) लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्त वित्तीय संस्था लिमिटेड र मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सबैभन्दा अगाडि देखिएको छ।  यो कम्पनीको २५ करोड १८ लाख १२ हजार २४२ रुपैयाँ बराबरको ४ लाख १५ हजार ९४९ कित्ता शेयर किनबेच भएको छ।

मिटरब्याज पीडितहरूको आन्दोलनलाई सम्बोधन गर्न पुगे पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आइतवार मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन मार्चपास गरेका छन्। उनले मिटरब्याज पीडितको मार्चपासमा सहभागी जनाउनुकासाथै सो मार्चपासलाई सम्बोधन समेत गरेका छन् । 

सर्वसाधारणलाई सडक सुरक्षा तथा ट्राफिक सचेतना

नेपालगन्ज । दुर्घटना न्यूनीकरणको मुख्य उद्देश्यका साथ बाँकेमा जारी रहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत दैनिकजसो जिल्लाका विभिन्न स्थानमा विभिन्न कार्यक्रम भइरहेका छन् ।  जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख गोपीकृष्ण सुवेदीले दुर्घटना न्यूनीकरणका लागि चलिरहेको ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत विभिन्न ठाउँमा पुगेर विभिन्न सवारी साधनका चालक, सर्वसाधारण र विद्यार्थीलाई सचेत पार्ने कार्य भइरहेको बताए ।   उनले सोहीक्रममा बाँकेको हवलदारपुर र शम्सेरगन्जमा सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम गरिएको जनाउँदै ती कार्यक्रममा ४०० बढी विद्यार्थी र सर्वसाधारणको उपस्थिति रहेको बताए ।  जिल्लामा सबैभन्दा बढी दुर्घटना हुने स्थानका रूपमा परिचित मुख्य राजमार्गमा रहेको हवलदारपुर र शम्सेरगन्जमा करिब ४०० विद्यार्थी र अन्य सर्वसाधारणको उपस्थितिमा सडकमै ट्राफिक नियमको बारेमा जानकारी गराइएको हो ।  सो अवसरमा उनीहरूलाई जेब्रा क्रसिङ नभएको ठाउँमा सडक पार गर्ने तरिका सिकाउनुका साथै पार गर्न लगाइएको, सडकको छेउमा कसरी हिँड्ने, सडकमा हिँड्दा कुन साइडबाट हिंड्नेलगायतका बारेमा विस्तृत रूपमा सिकाइएको थियो ।  यसैगरी, लामो दूरीका सवारी साधनका चालक र सहचालकको स्वास्थ्य परीक्षण गरेर उनीहरूको स्वास्थ्य अवस्था बुझ्नुका साथै समस्या देखिएका तत्काल उपचारका लागि रिफर गर्ने गरिएको पनि सो कार्यालयले जनाएको छ ।  गत बिहीबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह सचिव दिनेश भट्टराई, नेपाल प्रहरीका आइजिपी वसन्त कुँवर, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेलगायतको उपस्थितिमा नेपालगन्जमा ट्राफिक सप्ताह कार्यक्रम शुभारम्भ गरेका थिए । 

वडा कार्यालयको सभाहलभित्र महिलाको शव फेला, अनुसन्धान जारी

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा कार्यालयभित्र एक महिला मृत्त फेला परेकी छन् । वडा नं १८ को  कार्यालयको सभाहलभित्र महिलाको शव भेटिएको हो । कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार दार्चुलाकी २० वर्षीया प्रमिला धामीको शव फेला परेको हो । धामीले एक नगरप्रहरीसँग विवाह गरेर कञ्चनपुर आएको खुलेको छ । उनको शव भुन्डिएको अवस्थामा फेला परेका कारण आत्महत्या गरेको आशंका गरिएको छ । प्रहरीले वडाकार्यालयको सीसीटीभीमार्फत अध्यनन सुरु गरेको जनाइएको छ ।  

नेदरल्यान्ड्स र नेपालबीचको विश्वकप लिग–२ जारी

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेल जारी छ । जारी खेलमा नेपालले नेदरल्यान्ड्सविरुद्ध चौथो विकेट गुमाएको छ ।  आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा आएको नेपालले कप्तान रोहितकुमार पौडेललाई २४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको स्कोरबोर्डमा १७ रन थपे ।  जारी खेलको २५ ओभर समाप्त हुँदा नेपालले चार विकेट गुमाएर ८७ रन बनाएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजेलाई सर्‍यो

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकको समय परिर्वतन भएको छ ।  आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेका लागि सारिएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्षलाई पूर्णता दिएर विधान ल्याउने, समसामयीक राजनीतिक लगायतकाविषयमा छलफल हुने नेताहरुले बताएका छन् ।  माओवादी केन्द्रले  विशेष रूपान्तरण अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्दै,  ५७ लाख बालबालिकालाई दिइँदै

काठमाडौं । सरकारले आजदेखि दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गर्दै छ । अभियानअन्तर्गत ५७ लाख ४२ हजार ९९३ जना बालबालिकालाई खोप दिने लक्ष्य राखिएको छ । अभियान सफल पार्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी करिब १० हजार जनशक्ति खटाइने स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप शाखाले जनाएको छ । आजदेखि चैत ७ गतेसम्म चल्ने अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकालाई खोप दिने लक्ष्य राखेको छ । दादुरा–रुबेलाविरुद्धको खोप दिने दुई वर्ग छुट्याइएको छ । भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा सरकारले यसअघि नै सो खोप दिइसकेको छ । आजदेखि सञ्चालन हुने अभियानमा तराईका २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा बालबालिकालाई खोप दिइनेछ । जसमा झापा, मोरङ सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, काठमाडौं, भक्तपुर र ललितपुर छन् । यी जिल्लामा दादुराको जोखिम बढी भएकाले १५ वर्षसम्मका बालबालिकालाई खोप दिन लागिएको हो । कोभिडकालमा भएको एक सर्वेक्षणमा ती जिल्लाका १५ वर्षमुनिका बालबालिकामा रोग प्रतिरोधी क्षमता कम भएको पाइएको खोप शाखा प्रमुख डा। अभियान गौतमले बताए । यीबाहेक अन्य जिल्लामा ९ देखि १५ महिनासम्मका बाललिकालाई खोप दिइने खोप शाखाले जनाएको छ  । करिब एक महिना चल्ने अभियानका लागि सरकारले ४८ हजार ७९८ वटा खोप केन्द्र तोकेको छ । बढी जोखिममा रहेका २४ जिल्लामा भने विद्यालयबाटै खोप दिइने डा. गौतमले बताए । अन्य जिल्लामा भने नियमित खोप दिइने स्थानहरू र बस्तीको पायक पर्ने स्थानलाई खोप केन्द्र तोकिएको छ । आश्रम, इँटा भट्टा, बाल मन्दिर आदि स्थानको नजिक पारेर केन्द्र तोकिएको डा। गौतमले बताए । देशभर खोप अभियान सञ्चालन गर्न स्वास्थ्यकर्मी र स्वयंसेवक गरी ३० हजार बढी जनशक्ति खटाइने उनको भनाइ छ । अभियानअन्तर्गत नियमित खोप छुटेका बालबालिकालाई पनि खोप दिइनेछ । १५ महिनाभित्र लगाउनुपर्ने नौवटा खोपका १८ मात्रामध्ये कुनै पनि खोप छुटेको भए सोही केन्द्रबाट उपलब्ध गराइनेछ । डी।पी।टी र हेप बी खोप सोही केन्द्रबाट दिइने र उपलब्ध नभए स्वास्थ्य संस्था रिफर गरिनेछ । खोप शाखाको तथ्यांकमा डी।पी।टी र हेप बी खोपका पहिलो मात्रा लगाउन लगाउन छुटेका बालबालिकाको संख्या एक लाख ६९ हजार ७९० छ । त्यस्तै, दुई लाख १२ हजार २८७ जनाले दोस्रो मात्रा नलगाएको र दुई लाख २५ हजार ९ बालबालिकाले तीनवटै मात्रा नलगाएको शाखाको तथ्यांक छ । यसकारण लगाउने दादुरा–रुबेलाको खोप नियमित खोपअन्तर्गत दुई खोप लगाएको भए पनि अभियानका बेला अनिवार्य दादुरा–रुबेलाको खोप लगाउन सरकारले अनुरोध गरेको छ । सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला रोग निवारण गर्ने सरकारको लक्ष्य छ । गतवर्ष २१ जिल्लामा फैलिएको दादुराबाट एक हजार ३४९ जना संक्रमित भइ एक जनाको मृत्यु भएको थियो । यो संक्रमण एक व्यक्तिबाट १८ जनासम्ममा सर्नसक्ने डा। गौतम बताउँछन् । गर्भावस्थामा दादुरा–रुबेला संक्रमण भए शिशुमा अपांगता हुनसक्ने, मुटुमा समस्या हुने साथै शिशुको मृत्यु समेत हुनसक्ने जोखिम रहन्छ । दादुराले वाल्यवस्थामा पनि अपांगता तथा मृत्यु गराउनसक्छ । यसको निश्चित औषधि उपचार नभएकाले खोप नै संक्रमणबाट जोगिने एकमात्र उपाय भएको डा। गौतमले बताए ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ। आज दिउँसो ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने माओवादी केन्द्रले जनाएको छ । बैठकमा विधान अधिवेसनका निष्कर्षलाई पूर्णता दिएर विधान ल्याउने, समसामयीक राजनीतिक लगायतकाविषयमा छलफल हुने नेताहरुले बताएका छन् ।  माओवादी केन्द्रले  विशेष रूपान्तरण अभियानअन्तर्गत राम्रो काम गर्नेलाई सम्मान र काममा नखटिएकाहरूलाई कारबाहीका साथै सम्मानित र कारबाहीमा परेका तीन तीनजनाको नाम सार्वजनिक गरिने बताइएको छ सो विषयमा पनि बैठकमा छलफल हुने नेताहरुले बताएका छन् ।