शहीद सप्ताह शुरु, शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा गरियो स्मृति सभा

काठमाडौं । विभिन्न राजनीतिक आन्दोलनका क्रममा जीवन बलिदान दिने शहीदहरुको सम्झनामा आजबाट शहीद सप्ताह शुरु भएको छ ।

शहीद शुक्रराज शास्त्रीले मुलुकमा प्रजातन्त्र स्थापनाका लागि टेकुको पचलीमा माघ १० गते आफ्नो जीवन बलिदान दिएका थिए । सोही दिनको स्मरण गर्दै उनको टेकुस्थित शालिकमा माल्यार्पण र पुष्पगुच्छा अर्पण गर्दै आजदेखि शहीद सप्ताह शुरु गरिएको हो ।

सहिद सप्ताह मूल समारोह समितिले शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गर्नुभएको स्थान, काठमाडौँको टेकु, पचलीमा स्मृति सभा आयोजना गर्‍यो ।

सो अवसरमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले शास्त्रीको शालिकमा माला र पुष्पगुच्छा अर्पण गरिन। तत्कालीन जहानियाँ राणा शासकले विक्रम सवतं १९९७ माघ १० गते शास्त्रीलाई पचलीस्थित रुखमा झुन्डाएर मृत्युदण्ड दिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्त माथेमा तथा माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएका थिए ।
सात दिन शहीद सप्ताह मनाएपछि माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख डंगोलले शुक्रराज शास्त्री नेपाल भाषाको व्याकरणमा कमल चलाउने पहिलो व्यक्ति भएको बताइन् । उनले शास्त्री राजनीतिक आन्दोलनसँगै साहित्यमा पनि रुची राख्ने व्यक्ति रहेको बताइन् ।

साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर कलम चलाउने पहिलो व्यक्ति पनि शास्त्री नै रहेको उपप्रमुख डंगोलले बताइन् । उनले जीवन आफ्ना लागि मात्रै नभइ देशकै लागि समर्पण गर्न जान्नुपर्ने र देशका लागि योगदान दिनुपर्ने आवश्यकता रहेको बताइन् ।

उपप्रमुख डंगोलले भनिन् ‘शुक्रराज शास्त्रीको योगदान साहित्यमा पनि उत्तिकै रहेको छ । नेपाली र नेपाल भाषामा उहाँले कलम चलाउनुहुन्थ्यो । विशेष गरी नेपाल भाषाको व्याकरण भने लेख्नुहुने पहिलो व्यक्ति पनि शुक्रराज शास्त्री नै हुनुहुन्छ । त्यस योगदानलाई पनि हामी स्मरण गर्न चाहन्छौँ । बाल साहित्यमा कलम चलाउने पहिलो व्यक्ति हुनुहुन्छ । साहित्यका विभिन्न विधामा बालसाहित्यलाई पनि अघि सार्नुपर्छ भनेर उहाँले कलम चलाउनुभएको छ । उहाँको योगदानलाई कदर गर्दै उहाँले दिनुभएको उहाँको आफ्नो जीवन आफ्ना लागि मात्रै होइन सारा नेपालीका लागि हो भनेर उहाँले जसरी आफ्नो जीवन दिनुभएको छ, त्यसलाई स्मरण गर्न चाहन्छौँ ।’

प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका लागि भएका राजनीतिक आन्दोलनहरुमा धेरै व्यक्तिहरुले सहादत प्राप्त गरेका छन् । उनीहरु सबैको योगदानलाई सप्ताहका कार्यक्रममा सम्झना गर्ने तथा कदर स्वरुप स्मृति सभा गरिँदै आएको छ ।

सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रम सरकारको प्राथमिकतामा : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सशस्त्र प्रहरी बलको सीमा विकास कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् । सशस्त्र प्रहरी दिवसको २३ औँ वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले देशको सुरक्षा र स्वाभिमानका निम्ति सशस्त्रले पुर्‍याएको योगदानबारे आफू जानकार रहेको उल्लेख गर्दै संगठनका कार्यक्रमलाई सरकारले प्राथमिकता दिने बताएका हुन् । “सीमा सुरक्षा र व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरी बलले अगाडि बढाएका कार्यक्रमले विद्यमान समस्या र चुनौतीहरू सम्बोधन गर्दै देशको स्वाभिमान र सीमा सुरक्षामा गुणात्मक योगदान पुर्‍याउने विश्वास लिएको छु,” प्रधानमन्त्री प्रचण्डले भने, “संगठनले प्रस्ताव गरेका सीमा विकास कार्यक्रमलाई प्रथमिकतामा राखी अगाडि बढाउन सरकार प्रतिबद्ध छ ।” हिमालदेखि तराईसम्मका कठिन भौगोलिक तथा वातावरणीय प्रतिकूलता तथा सीमित पूर्वाधारका वावजुद राष्ट्रसेवाको भावनासहित कार्यक्षेत्रमा परिचालित भएर सशस्त्र प्रहरीका जवान तथा अधिकृतहरूको योगदान महत्त्वपूर्ण योगदान गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बललाई श्रोतसाधनको व्यवस्थासहित थप प्रभावकारी रूपमा परिचालन गर्न सरकार प्रतिबद्ध बताए । तपाईंहरूले आफूलाई प्राप्त सबै प्रकारका जिम्मेवारीहरूमा अदम्य साहस, इमान्दारीता एवं व्यावसायिकताका साथ सम्पादन गरिरहेकामा आफू जानकार रहेको बताउँदै प्रधानमन्त्रीले भने, “सीमा सुरक्षाका साथै तपाईंहरूले राजस्व सङ्कलनमा पुर्‍याउनुभएको योगदान, महत्त्वपूर्ण व्यक्ति तथा संरचनाको सुरक्षा, आन्तरिक सुरक्षा, कानुन कार्यान्वयन, देशमा शान्ति, सुरक्षा, अमनचयन, कायम गर्ने तथा जनताको जीउधनको सुरक्षा गर्ने कार्यमा पुर्‍याउनुभएको योगदानप्रति सम्मान व्यक्त गर्दछु ।” देशको सुरक्षा र स्वाभिमानका निम्ति दिलोज्यानले क्रियाशील सशस्त्र प्रहरी बलका अधिकृतहरूको वृत्तिविकास एवं प्रोत्साहनमा देखिएका समस्याप्रति आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “मैले सरकारको नेतृत्व गरेपश्चात सकल दर्जाका करिब छ हजार अधिकृत र जवानहरूको पदोन्नतिको प्रक्रिया सम्पन्न भएको छ । साथै बललाई विगतमा प्राप्त गरेको जिम्मेवारीका अतिरिक्त केही नयाँ जिम्मेवारीसमेत प्रदान गरिएको छ ।” उनले आगामी दिनमा बाँकी समस्याका विषयमा छलफल गरी आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए । प्रधानमन्त्री प्रचण्डले संगठनमा आवद्ध अधिकृत र जवानहरूको वृत्ति विकास, सेवा सुविधा, सुरक्षा, हातहतियार र अन्य लजिष्टिक सामग्रीहरूको उपलब्धता सरकारले उच्च प्राथमिकतामा दिने बताए । उनले वार्षिकोत्सवका अवसरमा एपिएफ लाइफ टाइम एचिभमेन्ट अवार्ड, एपिएफ विशेष सम्मान तथा उत्कृष्ट बाहिनी रनिङ्ग ट्रफीबाट सम्मानित हुने व्यक्ति एवं इकाइप्रति हार्दिक बधाइ ज्ञापन गरे ।

१६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्छः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राज्यको प्राथमिकता र लगानी सूचना प्रविधिमा केन्द्रित गर्नुपर्ने बेला आएको बताएकी छिन् । १६ औं राष्ट्रिय योजना निर्माणको सवालमा मन्त्रालयमा भएको राष्ट्रिय योजना आयोगसँगको छलफलमा उहाँले डिजिटल रुपान्तरणविना मुलुकको समृद्धि संभव नभएकाले अब राज्यको प्राथमिकता र लगानी यसमा केन्द्रित हुनुपर्ने बताइन् । १६ औं राष्ट्रिय योजनालाई डिजिटल रुपान्तरणको योजना बनाउनुपर्ने भएकाले डिजिटल पूर्वाधारलाई प्राथमिकताका साथ अघि सार्न पनि उनले राष्ट्रिय योजना आयोगलाई आग्रह गरिन । डिजिटल नेपाल फ्रेमवर्कका आठ क्षेत्र डिजिटल पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन, वित्त र शहरी पूर्वाधारमध्ये डिजिटल पूर्वाधारको क्षेत्र सञ्चार मन्त्रालयको कार्यक्षेत्रभित्र रहेको र बाँकी सात वटा क्षेत्र सम्बन्धित मन्त्रालयका कार्यक्षेत्रभित्र रहेकाले डिजिटल नेपाल निर्माणका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वय गर्न सबै मन्त्रालय र निकायको प्राथमिकता निर्धारण गर्ने गरी आगामी योजना बनाउनुपर्नेमा जोड दिइन् । सबै क्षेत्रलाई एकैसाथ अगाडि बढाउने हो भने डिजिटल नेपाल निर्माणमा धेरै काम गर्न सकिने छ– मन्त्री शर्माले भनिन्– संघीय वा प्रदेश राजधानीमा रहेका राम्रा विद्यालयबाट देशभरि स्मार्ट क्लास चलाउन सकिन्छ, काठमाडौंको वीर अस्पतालबाट मात्रै पनि दुर्गमका स्वास्थ्य संस्थामार्फत टेलिमेडिसिन सुरु गर्न सकिन्छ । यी सबै कामका लागि डिजिटल नेपाल फ्रेमवर्क कार्यन्वायन सबैको प्राथमकता बन्नुपर्छ । नेपालमा बजेटको भन्दा पनि उपयुक्त सोंच र योजनाको अभावले विकास हुन नसकेको औल्याउँदै मन्त्री शर्माले अब योजना बनाउँदा गर्न सकिने र गर्नैपर्ने कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन् । त्यसका लागि परियोजना बैंकको अवधारणा अघि सार्न सकिने पनि उनले स्पष्ट गरिन् । परियोजना बैंक बनाएर त्यसलाई कार्यान्वायन गर्न सरकारले कति लगानी गर्ने, दातृ निकायको कति लगानी खोज्ने र जनश्रमलगायत अन्य स्रोतको पहिचान कसरी गर्ने भनेर पनि योजना बनाउँदा नै ध्यान दिन उनले सुझाव दिइन्। छलफलमा राष्ट्रिय योजना आयोगका सदस्यहरु डा. प्रभु बुढाथोकी र डा. अनिता शाह ढुंगाना, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीसहित मन्त्रालय र आयोगका अधिकारीहरुको सहभागिता रहेको थियो ।

एनसेल खरिद बिक्री प्रकरण : अन्तरिम आदेशलाई निरन्तरता

काठमाडौं । उच्च अदालत पाटनले एनसेलको खरिद बिक्री सम्बन्धी विवरणको अभिलेख नगर्ने सरोकारवाला निकायलाई दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय शालिग्राम कोइराला र श्यामकुमार भट्टराईको संयुक्त इजलासले एनसेलको सेयर खरिद बिक्रीका विषयमा मंसिर २१ मा दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । एनसेल आजियाटाले ८० प्रतिशत स्वामित्व रहेको रेनल्ड होल्डिङको सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गरेको थियो । त्यसविरुद्ध बाजुराका गोकुलबहादुर रोकायाले रिट दायर गरेका थिए ।

अब सामाजिक सञ्जालसम्बन्धी गुनासो अनलाइनबाट दर्ता गर्न पाइने

काठमाडौं ।सामाजिक सञ्जालको दुरुपयोग बढ्दै गएको बेला नियमनलाई सहज बनाउन सरकारले अनलाइनबाटै गुनासो दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ । सरकारले गत मंसिर ११ गते सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० जारी गरेको थियो । सोही निर्देशिकाको आधारमा अनलाइनबाट गुनासो दर्ताको प्रक्रिया सुरु गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जानकारी दिएको छ । प्रयोगकर्ताको गुनासो सुनुवाईलाई सहज बनाउन मन्त्रालयले निर्देशिकाको आधारमा सामाजिक सञ्जाल व्यवस्था इकाई स्थापना गरिसकेको छ । सामाजिक सञ्जालको दुरुपयोग रोक्न निर्देशिकाका आधारमा सामाजिक सञ्जाल व्यवस्थापन इकाई स्थापना गरेर अनलाइन गुनासो लिन सुरु गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव एवं सामाजिक सञ्जाल व्यवस्थापन इकाईका संयोजक रमेश पाण्डेयले जानकारी दिए। मन्त्रालयको वेबसाइटमा गएर ‘सामाजिक सञ्जाल गुनासो दर्ता’ आइनमा क्लिक गरेर वा सोझै https://mocit.gov.np/socialplatformcomplaint मा गएर गुनासो दर्ता गर्न सकिने संयोजक पाण्डेयले जानकारी दिए। प्राप्त गुनासोहरुको अध्ययन गरेर साइबर अपराधसँग सम्बन्धित भए प्रहरीमा लेखी पठाउने र सामाजिक सञ्जाल प्लेटफर्मले समाधान गर्नुपर्ने विषय भए सम्बन्धित प्लेटफर्मको सम्पर्क व्यक्तिलाई लेखी पठाउने उहाँले जानकारी दिए । सरकारले गत मंसिर ११ गते निर्देशिका जारी गर्दै नेपालमा सामाजिक सञ्जालको रुपमा सञ्जालनमा रहेकासबै प्लटेफर्महरुलाई तीन महिनाभित्र सूचिकरण गर्न सूचित गरेको थियो । सामाजिक सञ्जाल प्लेटफर्म जुनसुकै देशबाट सञ्चालन भएको भए पनि नेपालमा सम्पर्क व्यक्ति तोक्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । प्लेटफर्मले तोकेका सम्पर्क व्यक्तिमार्फत प्रयोगकर्ताको गुनासो सम्बन्धित प्लेटफर्ममा पठाइने संयोजक पाण्डेयले जानकारी दिए ।

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन पेस

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन पेस भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार आयोजित समारोहबिच राष्ट्रपति पौडेलसमक्ष महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले वार्षिक प्रतिवेदन पेस गरेका हुन् । नेपालको संविधानअनुसार महान्यायाधिवक्ता कार्यालयको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार उक्त प्रतिवेदन पेस गरिएको हो ।

माघ २२ गते संसद्को हिउँदे, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

काठमाडौं । सरकारले संसद्को हिउँदे अधिवेशनको आह्वान गर्न सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते संघीय संसद्को दुवै सदनको बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । “माघ २२ गते अपराह्न ४ बजे संसद् अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भयो,” सरकारकी प्रवक्ता रेखा शर्माले भनिन् । यसअघि कार्तिक १६ गते संसद्को बजेट अधिवेशन अन्त्य गरिएको थियो । यी हुन् २०८० माघ ९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरुः १. जापान सरकारबाट Koteshwor Intersection Improvement Project कार्यान्वयनका लागि प्रस्तावित चौतिस अर्ब उनन्पचास करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ)बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने । २. राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गर्ने । ३. २०८० माघ २२ गते ४:०० बजे संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गर्न सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।  

काठमाडौं महानगरको निर्णयविरुद्ध व्यापारीहरू सडकमा

काठमाडौं । न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाउने काठमाडौं महानगरपालिकाको निर्णयविरुद्ध व्यापारीहरू आन्दोलित भएका छन् । महानगरले मंगलबारदेखि न्युरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेपछि त्यहाँका व्यवसायीले विरोध जनाएका हुन्। पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै व्यवसायीले सटर बन्द गरेर विरोध जनाएका हुन्। न्युरोड क्षेत्रमा मंगलबार बिहान पार्किङ गरिएका सवारी साधन महानगर प्रहरी टोलीले हटाएका थिए। महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको जानकारी दिएको छ । महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी  (वरिष्ठ उपरीक्षक) राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । महानगरले न्युरोड क्षेत्रका सडकमा ‘नो पार्किङ’ लेखिएको संकेत चिह्न राखेको छ । प्रदर्शनमा उत्रिएका व्यापारीले नेपालको ७७ वटै जिल्लाको व्यापारिक केन्द्रको मुटु रहेको न्युरोडमा महानगरले व्यवसायीसँग कुनै छलफल नै नगरी पार्किङ निषेध गरिएको भन्दै आपत्ति जनाएका छन् । उनीहरूले व्यवसायीले तिरेको करले नै देश चलेको भन्दै निर्णय फिर्ता नलिए महानगरलाई कर नतिर्ने चेतावनी दिएका छन् । यसअघि महानगरपालिकाले झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकेको छ भने दरबारमार्ग क्षेत्रको सडक किनारमा पनि पार्किङ निषेध गरेको थियो । सो क्षेत्रका व्यापारीहरू त्यसको विरोधमा उत्रिए पनि महानगरपालिकाले पार्किङ निषेधको निर्णय फिर्ता लिएको छैन ।

खोटाङमा सवारीसाधनको भाडादर घट्यो

खोटाङ । खोटाङ जिल्लामा सञ्चालन हुने लामो तथा छोटो दूरीका सबै सवारीसाधनको भाडादर घटाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको नेतृत्वमा यातायात व्यवसायी, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय र सरोकारवाला निकायको संयुक्त पहलमा यसअघि लिने गरिएको भाडादरलाई घटाएर नयाँ भाडादर कायम गरिएको हो । जिल्लामा सञ्चालित बस, सुमो (जीप), अटो र भ्यान सञ्चालकसँग छुट्टाछुट्टै छलफल गरेर सवारीसाधनको भाडादर घटाइएको प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश शाहले जानकारी दिए । ‘जिल्लामा सञ्चालित सबै सवारीले आफूखुसी भाडा लिने गरेका थिए । यसलाई व्यवस्थित गर्न पहिलो चरणमा बसको एकतर्फी भाडा तीन सय १० रुपैयाँसम्म घटाइएको छ’, उनले भने, ‘भाडादरलाई अझ स्थायी बनाउन केही दिन लाग्ने भएको छ ।’ बसमा दिक्तेल–खुर्कोट नौ सय ५०, दिक्तेल–काठमाडौँ एक हजार तीन सय, दिक्तेल–रसुवा–गाईघाट–धरान खडकखण्डमा दिक्तेल–गाईघाटको एक हजार, दिक्तेल–इटहरीको एक हजार तीन सय, दिक्तेल–धरान एक हजार तीन सय ५० रुपैयाँ निर्धारण गरिएको छ । यस्तै, दिक्तेल–कटारी–धरान–विराटनगर–काँकडभिट्टा सडकखण्डमा दिक्तेल–कटारी एक हजार, दिक्तेल–मिर्चैया एक हजार एक सय, दिक्तेल–लहान एक हजार दुई सय, दिक्तेल–इटहरी एक हजार चार सय ५०, दिक्तेल–धरान एक हजार पाँच सय, दिक्तेल–विराटनगर एक हजार पाँच सय ५० र दिक्तेल–काँकडभिट्टा एक हजार सात सय ५० नयाँ भाडार कायम गरिएको छ । दिक्तेल–भोजपुरअन्तर्गत दिक्तेल–चखेवा पाँच सय ५०, दिक्तेल–भोजपुर आठ सय, दिक्तेल–मानेभन्ज्याङ पाँच सय ३०, दिक्तेल–रोक्सिम भन्ज्याङ छ सय, दिक्तेल–खोटाङबजार सात सय भाडादर तोकिएको छ । यात्रुको सहजताका लागि जिल्लाभित्र तथा बाहिर सञ्चालन हुने सबै स्थानको भाडा घटाइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले जानकारी दिए । लामो दूरीमा चल्ने सुमोले सबै ठाउँको एक सय भाडा घटाउने र भ्यानले दिक्तेलबाट मुडेसम्मको एक सय, हुर्लुङ एक सय ५०, नुनथला दुई सय, महुरे दुई सय ५०, अर्खौले तीन सय र हलेसी तीन सय ५० रुपैयाँ भाडा लिनुपर्ने जनाइएको छ । भ्यानले दिक्तेलबाट हलेसी रिजर्भ जाँदा तीन हजार पाँच सयमात्रै लिन पाउनेछन् । अटोले सेवा दिइरहेको ठाउँमा ५० घटाउने र दिक्तेलको रत्नपार्कबाट जिल्ला अस्पतालसम्म बिरामी लानुपरेमा बिरामी र सहयोगीको दुई सय ५० र बिरामीसहित तीनजना भएमा तीन सय ५० लिने निर्णय भएको छ । जिल्लामा सञ्चालन हुने अटोले सबैभन्दा बढी मनपरी भाडा लिने गरेको यात्रुको गुनासो छ ।

फाराम भरेका सेवाग्राहीलाई लाइसेन्स दिइहाल्नुस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरेका सेवाग्राहीलाई तुरून्तै लाइसेन्स दिने व्यवस्था मिलाउनुपर्ने बताएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफलमा प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । प्रधानमन्त्रीले १४ लाख सेवाग्राहीले सवारी चालक अनुमतिपत्र फाराम भरेर परीक्षासमेत उत्तीर्ण गरिसक्दा पनि लाइसेन्स नपाउनु गम्भीर विषय भएको बताउँदै यातायात व्यवस्था विभागले ती सेवाग्राहीलाई तत्काल लाइसेन्स उपलब्ध गराउन सचेत गराए । प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरबारमा सवारी चालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र र राहदानीसँग सम्बन्धित विषयमा भएको एकीकृत छलफल बैठकमा प्रधानमन्त्रीले भने, “अहिलेको युग प्रविधिको युग हो। त्यसमा पनि सूचना–प्रविधि महत्वपूर्ण छ। हामीले इन्टिग्रिटेड टेक्नोलोजीमा केन्द्रित भएर परिणाम दिनुपर्छ। त्यसका लागि राज्यका संयन्त्रबीच एकीकृत र समन्वयात्मक काम गर्नुपर्छ।” प्रधानमन्त्रीले थपे, “सबै कार्यालयमा मैले काम गर्ने होइन, काम त तपाईहरूले गर्ने हो। मैले नीति निर्माण र योजनाको काम गर्ने हो, कर्मचारीतन्त्रलाई परेको अप्ठ्यारोमा गाँठो फुकाउने हो। नीतिगत निर्णय लिने हो। त्यसैअनुसार काम गर्नुस्।” “१४ लाख युवाले फाराम भरेर पनि लाइसेन्स पाएका छैनन्। उनीहरूलाई लाइसेन्स दिने काम तपाईहरूको हो। त्यसका लागि नीति र बजेटमा अभाव भए त्यसको समाधान म खोज्छु” प्रधानमन्त्रीले भने, “काम तपाईहरूले नगर्ने गाली चाहिँ मैले खाने भइरहेको छ। लाइसेन्स नपाएका युवाले सरकार खत्तम देख्छन्। प्रधानमन्त्रीको आलोचना गर्छन्। तर, काम नगरेको प्रधानमन्त्रीले होइन, विभागले हो भन्ने बुझ्दैनन्। त्यो बुझ्ने कुरा पनि भएन नि। लाइसेन्स पाउने उनीहरूको अधिकार हो। यसमा लापरवाही नगर्नुस्।” “म प्रधानमन्त्री भएलगत्तै सेवा प्रदायक कार्यालयका लामालामा लाइन हटाउने प्रतिवद्धता गरेको थिएँ” प्रधानमन्त्रीले भने, “एक वर्षको अवधिमा देखिने गरी सुधार त भएको छ। तर, पूरै सुधार भएको छैन। त्यसमा गम्भीर रूपमा ध्यान दिनुस्। विभाग र सेवाप्रदायक कार्यालयहरूको कार्यक्षमता बढाउनुस्।” “सोर्सकोड हाम्रो आफ्नै कहिलेदेखि हुन्छ, हाम्रो आफ्नै सफ्टवेयर कहिले हुन्छ ? हामी सबैले यतातर्फ गम्भीर भएर सोचौँ” प्रधानमन्त्रीले भने, “स–साना प्राविधिक समस्या सुल्झाउन पनि विदेशीहरू नै बोलाउनुपर्ने स्थिति छ। रातरात सबै कुरा परिवर्तन सकिँदैन, योजनावद्ध काम गर्दा क्रमशः बदल्न सकिन्छ। इञ्जिनियरहरू आफै पढाउनुपर्छ। आफै तालिम दिनुपर्छ। देशलाई आवश्यक पर्ने जनशक्ति योजनावद्ध तरिकाले उत्पादन गर्नुपर्छ। यसमा हामीले गम्भीर भएर सोचौँ र योजना बनाऔँ।” बैठकमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सेवाप्रदायक कार्यालयहरूले उच्च प्रविधिको प्रयोगमार्फत शीघ्र सेवाप्रवाह गर्न प्रधानमन्त्रीको चासो र दिनुभएको निर्देशनलाई गम्भीर रूपमा लिई कार्यसम्पादन गर्न निर्देशन दिए । त्यस्तै मुख्यसचिव डा. बैकुण्ठ अर्यालले एकीकृत डाटा प्रणालीका लागि सेवाप्रदायक परामर्शदातासँग अन्तरक्रिया आवश्यक रहेको बताउँदै विद्यमान डाटा प्रणालीलाई व्यवस्थित गरी सकेसम्म छिटो, प्रभावकारी र एकीकृत सेवा प्रवाह गर्नुपर्ने बताए। पासपोर्टका लागि जनशक्ति कम भएकाले सेवाप्रवाह प्रभावित भइरहेको बताउँदै मुख्यसचिव अर्यालले संगठन तथा व्यवस्थापन सर्भे प्रक्रिया अगाडि बढाउन विभागलाई निर्देशित गरे । बैठकमा निर्देशकहरूले राष्ट्रिय परिचयपत्र, राहदानी र सवारी चालक अनुमतिपत्रको वर्तमान अवस्था, सेवाप्रदायक कार्यालयहरूका समस्या र आगामी कार्ययोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरे । बैठकमा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अर्को हप्तादेखि लाइसेन्स छपाइको प्रक्रिया अगाडि बढ्ने बताउँदै नयाँ छपाइको प्रक्रियाका लागि टेन्डर प्रक्रियाको अध्ययन भइरहेको बताए। उनले विभागको कामकार्वाहीमा पारदर्शिताको विषयलाई लिएर प्रश्न उठेकोमा सिआइबी र अख्तियारको समेत प्रत्यक्ष सहभागितामा छानविन भइरहेको जानकारी दिए । त्यसैगरि राहदानी विभागका महानिर्देशक लक्ष्मण खनालले दशैंयता राहदानी विभागमा सेवाग्राहीहरूको भीड नरहेको बताउँदै रातिसम्म काम गरेर सिफ्ट प्रणालीमा द्रूत सेवामा काम भइरहेको बताए। उनले जिल्ला प्रशासन कार्यालय लगायत ९४ वटा सरकारी निकायबाट राहदानी सेवाको काम भइरहेको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयका राहदानी शाखालाई थप व्यवस्थित बनाउनुपर्ने बताए । त्यस्तै राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक युवराज कटेलले राष्ट्रिय परिचयपत्र बितरणमा प्रगति भएको बताउँदै एकीकृत डाटा प्रणालीलाई व्यवस्थित गरेर लैजानुपर्ने बताए । बैठकमा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, भौतिक मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायत सम्बन्धित विभागका महानिर्देशकहरू लगायतका अधिकारीहरू उपस्थित रहेका थिए ।

मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा झडप हुँदा शिक्षामन्त्री घाइते

काठमाडौँ । सप्तरीको राजविराजमा मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा जनमत पार्टीले विरोध गरेपछि झडप हुँदा प्रहरीले लाठीचार्ज गरेको छ। जनमतका नेता कार्यकर्ताले विरोध गर्दै सुरक्षा घेरा तोडेपछि झडप भएको थियो भिड नियन्त्रण गर्न लाठीचार्ज गरिएको सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डिराज न्यौपानेले जानकारी दिए। प्रहरीको लाठी चार्जबाट मधेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री महेश यादवलगायत घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको छ । सुरक्षा घेरा तोडेर मन्त्रीसहित जनमतका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि अवस्था नियन्त्रणमा लिन लाठीचार्ज गरेको प्रहरीले दाबी गरेको छ

फुटपाथ व्यवसायीद्धारा काठमाडौं महानगर अगाडि प्रदर्शन

काठमाडौं । काठमाडौं महानगरपालिका अगाडि फुटपाथ व्यवसायीले प्रदर्शन गरेका छन् । महानगर प्रहरीले फुटपाथ व्यवसायीहरुको ठेलागाडा, साइकल, डोको लगायतका सामान जफत गरेपछि उनीहरुले सोमबार महानगर कार्यालय काठमाडौं प्लाजा अगाडि प्रदर्शन गरेका हुन् । पछिल्लो समय नगर प्रहरीले थप कडाइ गरेपछि व्यवसायीहरु आन्दोलनमा उत्रेका हुन् । फुटपाथ तथा साना व्यवसायीहरुले अहिले काठमाडौं प्लाजाको पुतली सडक तर्फ रहेको मुलगेटमा धर्ना दिइरहेका छन् । महानगरको विभिन्न स्थानबाट फुटपाथ व्यवसायीका ३८ थान ठेलागाडा र ३९ थान साइकल नगर प्रहरीले जफत गरेको थियो ।

अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न

काठमाडौं। भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्राण प्रतिष्ठा कार्यक्रममा मुख्य भूमिका निर्वाह गरेका थिए । मन्दिरको गर्भ गृहमा मुख्य पूजासहित प्राण प्रतिष्ठा गरिएस्को हो । प्राण प्रतिष्ठा लगत्तै भारतीय वायुसेनाको हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । कार्यक्रमको सुरुवातमा सोनु निगम, अनुराधा पौडवाल, शंकर महादेवन लगायतका गायक–गायिकाले राम भजन गाएका थिए ।

सहकारी पीडितको रकम ठगेको समूहले नै फिर्ता गर्नुपर्छ : आरजु राणा

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छिन् । आइतवार समितिको बैठकमा बोल्दै सभापति राणाले सहकारी पीडितहरुको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरु बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरुको रकम अपचलन गर्नेहरुले गर्नुपर्ने बताएकी हुन् । सभापति राणाले राज्यले सबै पीडितहरुको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरुबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन् । उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताइन् । उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने भन्दै समस्या समाधानका लागि नीतिगत सुधार गर्न प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन् । सभापति राणाले प्रधानमन्त्री तहबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्ने अवस्था रहेको बताइन् । उनले सहकारी ठगी र बचतकर्ताको रकम अपचलन वचतकर्ताहरुको जीवनसँग जोडिएकाले सरकारले गम्भीर भएर दोषीलाई कानून बमोजिम कारबाही गर्नुपर्ने बताइन् । राणाले भने,‘ सहकारी समस्याको समाधान सरकारले दिने होइन । सरकारले के–के लाई समाधान दिन्छ । जसले ठगेको छ । त्यही समूहले सहकारी वचतकर्ताको रकम फिर्ता गर्नुपर्छ । सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्नुपर्छ । त्यहाँबाट नै सहकारी समस्या समाधानको उपाय निकाल्न सक्छन् । सहकारी ठगी र रकम हिनामिना मानिसहरुको जीवनसँग जोडिएको छ ।’ उनले नेपालमा बैंक स्थापना गर्न अफ्ठ्यारो तर सहकारी स्थापना गर्नु भनेको चोर बाटो भन्ने बुझाइले धेरै सहकारी दर्ता गरी सजिलै पैसा राख्ने र झिक्न सकिने भएको बताइन् । जुन सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरित रहेको उनले बताइन् । उनले २०७४ सालको सहकारी ऐनले वचत तथा ऋणको कारोबार पाउने गरी आएको ऐनलाई टेकेर सहकारीमा भएका ठगीहरु रोक्न कानूनलाई सच्याउन आवश्यक रहेको बताइन् ।

महिलाको हत्याका आरोपी पक्राउ

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा एक महिलाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने भारतको दर्भङ्गा लालाबाग थाना घर भएका ४३ वर्षीय इकरामुल हक अन्सारी रहेका छन । तनहुँ भिमादकी ५१ की सफिना मियाँको हत्या गरेको आरोपमा अन्सारी पक्राउ परेका हुन । तीन महिनाअघि शोभा भगवतीस्थित कोठामा हत्या गरी फरार भएका उनी भारत पुगेको र अहिले काठमाडौं आएको मौका पारी पक्राउ गरेको प्रहरीले जनाएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरको विशेष टोली र प्रहरी वृत स्वयम्भुको संयुक्त टोलीले उनलाई कालिमाटीबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख भुपेन्द्र खत्रीले बताए । नौ वर्षदेखि काठमाडौंका विभिन्न गार्मेन्टमा सिलाइ कटाइको काम गर्दै आएका अन्सारी र हत्या गरिएकी महिला लिभिङ टुगेदरमा रहेको र उनीहरुबीच पछिल्लो समय मनमुटाव हुँदा अन्सारीले हत्या गरेको अनुसन्धानबाट खुलेको पनि प्रहरीले बताएको छ ।

दुई संसदीय समितिको बैठक जारी

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक जारी छ । जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान साढे ११ बजे देखि जारी छ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पुँजीगत खर्चको सम्बन्धमा र मन्त्रालयसँग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका सम्बन्धमा छलफल हुनेछ । त्यस्तै, मध्यान्ह साढे १२ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको वार्षिक प्रतिवेदन सम्बन्धी, त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ अन्तर्गत बनेका प्रत्यायोजित विधायनहरूको अध्ययनबाट देखिएका विषयहरूको प्रारम्भिक अध्ययन प्रतिवेदन सम्बन्धी छलफल हुनेछ ।