कानून समितिको बैठक : प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं। संघीय संसद्को कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बुधबार बिहान बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी हुनेछन् ।
बैठक बुधबार बिहान ११ बजे सिंहदरवारस्थित समितिको सभाकक्षमा बस्ने समितिका सचिव अधि राज राईले जानकारी दिए । उनका अनुसार बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल र भारतबीच पछिल्लो समय भएका सम्झौताका विषयमा जानकारी गराउने कार्यसूची रहेको छ ।
गत शुक्रबार परराष्ट्र मन्त्रीस्तरीय संयुक्त बैठकमा सहभागी हुन नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरको भ्रमणका क्रममा भएका सहमति र सम्झौताका विषयमा समिति र सांसदहरूको राखेको चासोमा प्रधानमन्त्री प्रचण्ड आफैँ उपस्थित भएर सम्बोधन गर्न लागेका हुन् ।
तेस्तै बुधबारै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ ।
बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।
दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षको जिम्मेवारी नवराज अधिकारीलाई
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको कार्यवाहक अध्यक्षमा सदस्य नवराज अधिकारी तोकिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले यस्तो जानकारी दिएकी हुन् । बैठकले मंगलबार राजीनामा बुझाएका प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालको राजीनामा स्वीकृत गरेको छ । खनालको राजीनामापछि रिक्त अध्यक्ष पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोकिएको हो । नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
ट्रंक र डेडिकेटेड लाइनको विद्युत महशुल उठाउनुको विकल्प छैन : मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत प्राधिकरणसँग ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल उठाउनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको मङ्गलबार बसेको बैठकमा बोल्दै ऊर्जामन्त्री बस्नेतले यस्तो बताए । उनले उद्योगहरूले प्रयोग गरेको ट्रङ्क र डेडिकेटेड लाइनको विद्युत महसुल प्राधिकरणको तीन वटा बोर्ड र लेखा समितिको निर्देशन समेत भएकाले विद्युत उठाउनुको विकल्प नभएको बताए । उनले विद्युत प्राधिकरण र उद्योगहरू बिचमा महसुलको विवाद समाधानको लागि विद्युत नियमन आयोगले दिएको निर्देशनलाई महान्यायाधिवक्ता कार्यालयको व्याख्याअनुसार अगाडि बढ्ने गरी काम भइरहेको समेत जानकारी दिए । मन्त्री बस्नेतले लेखा समितिले प्राधिकरणको व्यवस्थापकमाथि दबाब दिँदै बक्यौताको महसुल उठाउन निर्देशन दिएको स्थिति समेत रहेको बताए । उनले प्राधिकरणले उठाउन बाँकी रहेको बक्यौता रकमलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउन पर्ने देखिएको दाबी गरे । उनले प्राधिकरणले ६१ उद्योगहरूबाट २२ अर्ब २४ करोड उठाउन बाँकी रकममध्ये १५ अर्ब बक्यौता बापतको रकम रहेको र थप रकम ब्याज र जरिवानाबापतको भएको उल्लेख गरे । मन्त्री बस्नेतले ट्रङ्क र डेडिकेटेड लाइनको विवादलाई तीन खण्डमा विभाजन गर्दा ६ अर्ब तत्काल उठाउनुपर्ने देखिएको भन्दै बाँकी पहिलो र तेस्रो खण्डको बक्यौताको विषयमा विद्युत नियमन आयोगले निर्णय गर्न आवश्यक रहेको बताए। उनले २०७२ साल माघ १ गतेदेखि २०७५ साल वैशाख मसान्त लोडसेडिङ रहेको र विद्युत महसुल निर्धारण आयोगले ट्रङ्क र डेडिकेटेड लाइन महसुल निर्धारण गरेको अवस्था रहेको बताए । उनले २०७५ साल जेठदेखि २०७७ साल असार १ गतेसम्मको अवधिमा विद्युत महसुल निर्धारण आयोग खारेज हुँदा विद्युत महसुल तोक्ने निकाय नहुँदा पहिला विद्युत निर्धारण आयोगले तोकेको विद्युत महसुल परिमार्जन नभएको बताए। मन्त्री बस्नेतले २०७७ मा विद्युत नियमन आयोग गठन भएर साउन १ गतेदेखि लागू हुनेगरी ट्रङ्क र डेडिकेटेड नरहने घोषणा गरेको बताउनुभयो । उहाँले नियमन आयोग २०७५ २०७७ को बिचको विषयमा नबोल्दा समस्या भएको बताए। मन्त्री बस्नेतले पञ्चेश्वर परियोजनामा नेपाल र भारतमध्ये कसले कति लगानी गर्ने भन्ने विषय टुङ्गो नलाग्दा आयोजना अघि बढ्न नसकेको उल्लेख गरे । उनले पञ्चेश्वर परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको भन्दै नेपाल र भारतबिच कसले कति लगानी लगाउने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । उनले परियोजनाबाट हुने लाभ दुवै मुलुकले बराबर लिने विषयमा स्पष्ट भए पनि लगानीको सम्बन्धमा टुङ्गिन नसकेको बताए । मन्त्री बस्नेतले सिँचाई र बिजुलीको लाभका आधारमा भारतको हिस्सा ठुलो भएकाले भारतले ठुलो लगानी गर्नुपर्ने नेपालको अडान रहेको तर भारतले लाभको हिसाब नगरी लगानी गर्नुपर्ने अडान राख्दा लगानीमा सहमति जुट्न नसकेको बताए ।
मुखमा टेप टासेर निषेधित क्षेत्र पुगेका डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा
काठमाडौं । डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । यसअघि गत शनिबार पनि केसीसहित उनका समर्थक गरी ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो । आज पुनस् निषेधित क्षेत्रमा प्रदर्शन गरिएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ । केसीले सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रिया टुंगो लगाउनुपर्ने, यसअघि सरकारसँग चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका क्षेत्रमा भएका सहमति कार्यान्वयन गर्नुपर्ने लगायत माग राख्दै आएका छन् ।
एनसेल सेयर किनबेच छानबिन समितिको म्याद १५ माघसम्म थप्न प्रस्ताव
काठमाडौं । एनसेलको सेयर खरिद–बिक्री सम्बन्धमा छानबिन तथा अध्ययन गर्न गठित उच्चस्तरीय समितिको म्याद सकिएको छ। २४ मंसिरदेखि काम थालेको समितिको म्याद मंगलबार सकिएको हो। तर, छानबिन अझै टुंगो नलागिसकेको समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यले जानकारी दिए। उनका अनुसार समितिले सरकारसमक्ष १५ माघसम्मको म्याद थप गर्न प्रस्ताव गरेको छ। सरकारले एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। समितिका सदस्यहरूमा नेपाल सरकारका तर्फबाट फणीन्द्र गौतम, अर्थ मन्त्रालयबाट रितेशकुमार शाक्य, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट बाबुराम भण्डारी र नेपाल चार्टर्ड एकाउन्टेन्स संस्थाका अध्यक्ष सुजनकुमार काफ्ले छन्। शाक्यले एनसेल सेयर खरिद–बिक्रीमा करको विषयमा केन्द्रित अध्ययन गरिरहेका छन् भने भण्डारीले दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारभित्रका विषयवस्तुमाथि अध्ययन गरिरहेका छन्।
सार्वजनिक यातायातमा पाकेट मार्ने पक्राउ
काठमाडौं । पाकेटमारीमा संलग्न रहेको आरोपमा काठमाडौंको महाराजगन्जबाट दुईजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–५ का ३५ वर्षीय क्रासाङ लामा र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ३५ वर्षीय विष्णु थापा छन् । लामा काठमाडौंको पेप्सिकोलामा र थापा काठमाडौंकै टोखामा बस्दै आएका थिए । महाराजगन्ज चोकमा सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रुपैयाँ पाकेटमारी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । कारबाहीका निम्ति उनीहरूलाई जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको प्रहरीले जनाएको छ ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालले दिए राजीनामा
काठमाडौं । नेपाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन्। स्रोतका अनुसार खनालले आफ्नो राजीनामा पत्र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई मंगलबार बिहान बुझाएका हुन् । दूरसञ्चारको क्षेत्रमा हुने गैरकानुनी कार्य अनुगमन तथा भ्वाइस र डेटाको कुल भोल्युम परीक्षण गर्ने प्रविधि (टेरामक्स) मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमए) र इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले राजस्व छलेको भन्दै प्रश्न उठेको थियो । अहिले प्राधिकरणले खरिद गरेको प्रविधि, स्मार्ट टेलिकमको लाइसेन्स विवाद र एनसेल किनबेचको विवाद चलिरहेको छ। यिनै विवादबीच खनालको राजीनामा आएको हो।
बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरी ठग्ने सहकारीका सञ्चालक प्रहरी नियन्त्रणमा
काठमाडौं । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् । गोकर्णेश्वर नगरपालिका–४, चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्वअध्यक्ष एवं संरक्षक भनिने प्रेम श्रेष्ठ, कोषाध्यक्ष शेरलाल श्रेष्ठ र सह–व्यवस्थापक राजेन्द्र श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त बौद्धले पक्राउ गरेको हो । सहकारीका सबै सञ्चालक एउटै टोलका दाजुभाइ हुन् । सहकारीको रकम ठगी गरेको कसुरमा पक्राउ परेकालाई वृत्त अन्तर्गतको गोकर्ण प्रहरी प्रभाग भवनमा रहेको थुनुवा कक्षमा राखिएको छ । बौद्धमा थुनुवालाई राख्ने ठाउँ नपुगेर गोकर्णको थुनुवा कक्षमा राखिएको प्रभागका वरिष्ठ प्रहरी नायब निरीक्षक राजेश कार्कीले जानकारी दिए। सहकारी सञ्चालक समितिका सचिव समेत रहेका प्रबन्धक रामदास श्रेष्ठ, सदस्य अनिरुद्र श्रेष्ठ, सदस्य राधेश्याम श्रेष्ठ र लेखा समिति संयोजक गोकर्णेश्वर महादेव अंग्रेजी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रप्रसाद पौडेल फरार रहेको जनाइएको छ । यी सबैका नाममा प्रहरीले पक्राउ पूर्जी जारी गरेको छ । सहकारीका सञ्चालकले सात हजार ७०० बचतकर्ताको एक अर्ब २१ करोड हिनामिना गरेको पीडित संघर्ष समिति अन्तर्गतको कार्यदलका अध्यक्ष राजेशकुमार विष्टले जानकारी दिए । रासस
माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको ऋण सम्झौता
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीमार्फत कास्कीको अन्नपूर्ण गाउँपालिकामा निर्माण गर्न लागिएको ४२ मेगावाट क्षमताको माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । निर्माण अवधिको ब्याजसहित १० अर्ब ५७ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७० प्रतिशत ऋणबाट र ३० प्रतिशत स्वपुँजी (इक्विटी)बाट जुटाइएको छ । इक्विटीमा प्राधिकरण र सर्वसाधारणको लगानी रहनेछ । एनएमबी बैंक र हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी एचआईडीसीएल०ले सहवित्तीयकरणमार्फत आयोजनामा निर्माण अवधिको ब्याजसहित सात अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । कुल ऋणमध्ये एनएमबी बैंकको चार अर्ब ४० करोड र एचआईडीसीएलको ती अर्ब रुपैयाँ रहने प्राधिकरणले जनाएको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा आयोजनाको प्रवर्द्धक मोदी जलविद्युत् कम्पनी, एनएएमबी बैंक र एचआईडीसीएलका अधिकारीबीच त्रिपक्षीय ऋण सम्झौतापत्रमा हस्ताक्षर भएको छ । माथिल्लो मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु भएको चार वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजना निर्माण तयारीका काम जारी छ । निजी जग्गा अधिग्रहण र वन क्षेत्रको जमिन प्रयोगका निम्ति स्वीकृति प्राप्त भइसकेको प्राधिकरणले जानकारी गराएको छ । आयोजनाको निर्माण सुपरीवेक्षण परामर्शदाताका निम्ति एनईए इन्जिनियरिङ कम्पनीसँग सम्झौता भइसकेको छ । कम्पनीले १८.२ मेगावाटको माथिल्लो मोदी जलविद्युत् आयोजनाको समेत निर्माण गर्ने प्राधिकरणले जनाएको छ ।
सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २०० रुपैयाँले घटेको हो । महासङ्घका अनुसार मंगलबार छापावाल सुन एक लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलाको १४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
विद्युत महसुलको बक्यौता किस्ताबन्दीमा तिर्न प्राधिकरणको आह्वान
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र टंक लाइनबाट बिजुली प्रयोग गरी महसुलको बक्यौता तिर्न बाँकी रहेका ग्राहकहरुलाई किस्ताबन्दीमा बक्यौता बुझाउन आग्रह गरेको छ । प्राधिकरणले मंगलबार सार्वजनिक सूचना प्रकाशित गर्दै त्यस्तो प्रयोजनका लागि एक महिनाभित्र निवेदन दिन भनेको हो । प्राधिकरणका विभिन्न संरचनाहरूबाट विद्युत् सेवा प्राप्त गरेका उपभोक्ताहरूसँग विगतदेखि रहेको बक्यौता विद्युत् महसुल रकम असुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दी दिने व्यवस्था गरिएको सूचनामा उल्लेख छ । प्राधिकरणले विलको भुक्तानी नगरेको भन्दै केही उद्योगहरुको बिजुली काटेको छ । सोमबार पनि हुलास स्टिलको लाइन काटिएको छ भने बक्यौता नतिरेका अरु ग्राहकको पनि लाइन काट्ने प्राधिकरणले चेतावनी दिँदै आएको छ ।
यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । आज २०८० साल पुस २४ गते मंगलबार तदनुसार सन् २०२४ जनवरी ९ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ७३ पैसा र बिक्री दर १३३ रुपैयाँ ३३ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ २५ पैसा र बिक्री दर १४५ रुपैयाँ ९० पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७२ पैसा र बिक्री दर १६९ रुपैयाँ ४८ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४२ पैसा र बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
राष्ट्रियसभा निर्वाचन : आज दाबीविरोध र उजुरीको समय
काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवारविरुद्ध आज दाबीविरोध र उजुरी दिन मिल्ने छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ । २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिन मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् । माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।निर्वाचनमा सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई मतदान केन्द्र कायम गरिएको छ । स्थायी सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभाका एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा सकिन्छ । निर्वाचनमा विभिन्न प्रदेश र क्षेत्रबाट महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य समुदायबाट सदस्यको चयन हुनेछ ।
नेपालमा भेटियो कोरोनाको नयाँ सब भेरियन्ट, सचेत रहन आग्रह
काठमाडौं । नेपालमा पहिलोपटक कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार एक विज्ञप्तिमार्फत नेपालमा पहिलोपटक सातजनामा जेएन.१ को संक्रमण भेटिएको जनाएको हो । देशका विभिन्न भागका फरकफरक उमेर समूहका व्यक्तिहरूबाट संकलित १६ वटा नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला गरिएको जिन सिक्विन्सिङका क्रममा सात जनामा नयाँ सब भेरियन्ट पाइएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जनाएका छन् । संक्रमणको फैलावट रोकथामका लागि जनस्वास्थ्यको मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ । यसअघि जेएन.१ विश्वका विभिन्न देशमा देखिइसकेको छ ।
रेलवे प्रभावितले राखे तीनबुँदे माग
काठमाडौँ । रेलवे प्रभावित तथा मुआब्जा समन्वय समिति कोशी प्रदेशले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर लिखित रूपमा तीनबुँदे माग राखेको छ । सोमबार बिहान प्रधानमन्त्री ‘प्रचण्ड’लाई बालुवाटारमा भेटेर माग प्रस्तुत गरिएको हो । पूर्वपश्चिम विद्युतीय रेलमार्ग काँकरभिट्टा–इनरूवा खण्डको प्रभावितहरूको तर्फबाट झापा, मोरङ, सुनसरी जिल्लाको जिप्रकामार्फत रोक्का राखिएको घर जग्गा तथा लिगलिगापातको मुआब्जा वर्तमान दररेट अनुसार एक महिनाभित्र उपलब्ध गराउन माग गरिएको समिति महासचिव रञ्जित प्रसाईँले बताए। यस्तै, समितिले आफूहरूले उठाएको माग पूरा नगरे रेल्वे पीडित तथा प्रभावितहरू अन्य जनमानसलाई साथ लिई कानुनी उपचार तथा संघर्षको कार्यक्रममार्फत आन्दोलनमा उत्रने चेतावनी पनि दिएको छ ।
सुदूरपश्चिम प्रदेशबाट माओवादी केन्द्रकी नेतृ रेणुले पनि दर्ता गराइन् उम्मेदवारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी नेतृ रेणु चन्दले सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी छन्। सोमबार धनगढीस्थित निर्वाचन अधिकृतको कार्यालय पुगेर चन्दले उम्मेदवारी दर्ता गराएकी हुन्। चन्द पूर्व संविधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिम गठबन्धनबाट माओवादीकी चन्दसँगै काँग्रेसका नारायणदत्त भट्ट र बलदेव बोहरा उम्मेदवार बनेका छन्।

