५ वर्षीय बालिका करणीको आरोपमा ८५ वर्षीय बृद्ध पक्राउ

गोरखा, साउन १९। गोरखाको पालुङटार नगरपालिका–५ मा पाँच वर्षीयालाई करणी गरेको आरोपमा ८५ वर्षीय भीमबहादुर भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार बालिकालाई फकाइफुलाई गरी करणी गर्ने प्रयास गरेको पीडित बालिकाकी आमाको जाहेरीका आधारमा भण्डारीलाई पक्राउ गरिएको हो ।

भण्डारी विरुद्ध बिहीबार जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको जिप्रका गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

जिसस कञ्चनपुरको निर्वाचन साउन २२ गते

कञ्चनपुर, साउन १९ । जिल्ला समन्वय समिति, कञ्चनपुरको निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको कार्यतालिकामा समन्वय समितिको निर्वाचन साउन २२ गते हुने जनाइएको छ । निर्वाचन कार्यक्रमअनुसार साउन १७ गते नामावली प्रकाशन, नामावली सच्याउने वा छुट नाम समावेश गर्ने दरखास्त दिने, १८ गते संशोधित मतदाता नामावली प्रकाशन, मतदाताको विरोधमा उजुरी दिने, अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, साउन १९ गते उम्मेदवारको सूची प्रकाशन गर्ने रहेको छ । साउन २० गते मनोनयन पत्रको जाँच र उजुरीउपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, साउन २१ गते उम्मेदवारले आफ्नो नाम फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेदवारलाई चिह्न प्रदान गर्ने र साउन २२ गते मतदान गर्ने कार्यक्रम सार्वजनिक गरिएको सहायक निर्वाचन अधिकृत जनकसिंह बोहराले बताउनुभयो ।

धौलागिरिकै पहिलो मानव निर्मित पोखरीको संरक्षण शुरू

बेनी (म्याग्दी), साउन १९ । म्याग्दीको बेनीनगरपालिका–१ रत्नेचौरमा धौलागिरि अञ्चलकै पहिलो मानव निर्मित बुढोपोखरीको संरक्षणका लागि काम शुरू भएको छ । ऐतिहासिक महत्व बोकेको बेनी–बागलुङ सडकखण्डअन्तर्गत पर्ने पोखरीको संरक्षणमा स्थानीयवासी जुटेका छन् । सन् १८४० मा रत्नेचौरमा खानेपानीको अभाव भएपछि निर्माण गरिएकोे पोखरी संरक्षणको अभावमा जीर्ण बनेपछि पटक–पटक संरक्षणको पहल भएको वडाध्यक्ष टेकबहादुर रावलले बताउनुभयो । “गिर्वाणयुद्ध विक्रम राजाले उपहारस्वरुप दिएको जग्गामा पोखरी बनाइएको हो । पोखरी बनेपछि मानव बस्तीको विस्तार भएको किम्बदन्ती छ”, वडाध्यक्ष रावलले भन्नुभयोे । अध्यक्ष रावलका अनुसार गिर्वाणयुद्ध विक्रमको पालामा दिइएको जग्गामा स्थानीय वसन्त बोगटीका बाजेको सन् १८३६ मा लडाइँमा मृत्यु भएपछि बोगटीको स्मृतिमा विभिन्न स्थानबाट ठूलो जनशक्तिको प्रयोग गरी पोखरी निर्माण र बस्ती विस्तार गरिएको थियो । बुढोपोखरीलाई अञ्चलकै पहिलो मानवनिर्मित पोखरी भएको दाबी समेत गर्ने गरिएको छ । तत्कालीन समयमा आफ्ना हजुरबुवाले युद्धमा खेलेको भूमिकालाई उच्च मूल्याङ्कन गरिँदा यहाँका ठूला समाजसेवी वसन्त बोगटीले रत्नेचौर, रघुगंगा गाउँपालिकाको पिप्ले, मुस्ताङको मुक्तिनाथलगायतका स्थानमा सयौँ रोपनी जग्गा उपहार पाएका थिए । ती जग्गा वसन्त सदावर्त गुठी अन्तर्गत रहेका छन् । वसन्त वोगटीको पनि करिब आधा शताव्दी अगाडी नै निधन भइसकेको छ भने उनका सन्तान यहाँ रहेका छन् । करिब तीन दशकसम्म पोखरीमा जम्मा भएको खानेपानी प्रयोग गर्ने गरिएको स्थानीय बूढापाकाको भनाइ छ । पोखरी संरक्षणमा जुटेका स्थानीयलाई बेनी नगरपालिकाबाट रु ४० हजार, जिल्ला भू–संरक्षण कार्यालयबाट रु एक लाख प्राप्त भएको छ । त्यसैगरी स्थानीयले रु एक लाख ५० हजारको जनश्रमदान गरी पोखरीलाई पुरानै स्वरुपमा फर्काउने प्रयास भइरहेको छ । स्थानीयतहको निर्वाचनलगत्तै जनप्रतिनिधिले गाउँमा अति आवश्यक र अलपत्र परेका योजनालाई प्राथमिकता दिइरहेका छन् । जनप्रतिनिधिको सक्रियताले जनश्रमदानमा समेत आनाकानी गर्ने स्थानीयवासीलाई दबाबका साथै बजेट दुरुपयोग समेत रोकिएको छ । “यसलाई पर्यटकीय गन्तव्य बनाउने अभियानमा छाँै”, भानु माविका प्रधानाध्यापक भरत खत्रीले भन्नुभयो । प्रअ खत्रीका अनुसार करिब ५० मिटर चौडाइ र ७० मिटर लम्बाइ रहेको पोखरी आसपासको क्षेत्रमा समेत बगँैचा विस्तार गर्न सात रोपनी जग्गा रहेको छ । करिब २२० मिटर माथि ढोरेनीखोलाबाट ल्याइएको पानी पोखरीमा हालिएको छ । छिमेकी जिल्ला बागलुङबाट २० मिनेट, म्याग्दीको सदरमुकाम बेनीबाट २५ मिनेट र पर्वत जिल्लाको कुस्माबाट एक घण्टामा रत्नेचौरमा रहेको सो पोखरीमा पुग्न सकिन्छ ।

नेस्याङमा जडीबुटीबाट रु १६ लाख राजस्व

मनाङ, १९ साउन १९। हिमालपारिको जिल्ला मनाङ नेपालकै महत्वपूर्ण जडीबुटी पाइने क्षेत्र हो । यस क्षेत्रमा पाइने जडीबुटी यार्सागुम्बा, जिम्बु, वन लसुन र सतुवा कानूनी रुपमा संकलन गर्न मान्यता दिइएको छ । यिनै जडीबुटीबाट वर्षौं लाखौँलाख राजस्व संकलन हँुदै आएको छ । गत आव २०७३÷२०७४ मा नेस्याङ गाउँपालिकामा मात्रै रु १५ हजार ९८ हजार ३२५ राजस्व संकलन भएको छ । सबैभन्दा महँगो र महत्वपूर्ण मानिने यार्सागुम्बा ६२.५५ केजी संकलन भएको थियो जसको प्रतिकेजी रु २५ हजार ००१ का दरले जम्मा रु १५ लाख ६३ हजार ८७५ राजस्व संकलन भएको छ । यस्तै, जिम्बु २५०० केजीबाट रु २५००, वनलसुन ४६० केजीबाट रु छ हजार ९०० र सतुवा १७० केजीको रु दुई हजार ५५० गरी जम्मा रु १५ लाख ९८ हजार ३२५ राजस्व संकलन भएको अन्नपूर्ण संरक्षण क्षेत्र मनाङका प्र्रमुख बाबुलाल तिरुवाले बताए  । मनाङमा पाइने अन्य जडीबुटी – कुट्की, पाँचऔँले, निरमसीजस्ता जडीबुटीलाई संकलनका लागि कानूनीरुपमा मान्यता दिइएको छैन ।

लक्ष्य भन्दा बढी राजस्व संकलन सफल

लोकेश धामी/कैलाली, साउन १९ ।  आन्तरिक राजस्व कार्यालय कैलालीले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । एक अर्ब ९४ करोड ६७ लाख रुपैया राजस्व संकलन गर्ने लक्ष्य राखेको सो कार्यालयले २ अर्ब १८ लाख रुपैया राजस्व संकलन गरेको प्रमुख कर अधिकृत कृष्ण बहादुर बोहराले जानकारी दिए । आन्तरिक राजस्व कार्यालयले सबै भन्दा बढी गत आर्थिक वर्षमा अन्तर शुल्कबाट ८० करोड ८६ लाख ८३ हजार रुपैया कर संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षमा आन्तरिक राजस्वबाट ६९ करोड ५४ लाख ६१ हजार कर संकलन गरेको थियो । गत आर्थिक वर्षमा आय कर मार्फत ६३ करोड ८४ लाख १० हजार कर संकलन भएको छ भने आर्थिक वर्ष २०७२÷०७३ मा ४५ करोड ४० लाख ६६ हजार कर संकलन गरिएको थियो । घरबहाल करबाट गत आर्थिक वर्षमा ३ करोड २७ लाख ४३ हजार, ब्याज करबाट २ करोड १५ लाख १५ लाख १० हजार राजस्व संकलन भएको जनाइएको छ । यस्तै मूल्य अभिवृद्धि करबाट ४८ करोड १४ लाख ८६ हजार राजस्व संकलन गरिएको छ । गत आर्थिक वर्षमा स्वास्थ्य सेवा करबाट २४ लाख २८ हजार र शिक्षा सेवा करबाट ५७ लाख ४ हजार रुपैया राजस्व संकलन भएको आन्तरिक राजस्व कार्यालयले जानकारी दिएको छ ।

सिजनल इन्फ्लुएन्जा ६ जनामा पोजेटिभ, वालिङका स्थानीय त्रसित

वालिङ, साउन १८ । स्याङ्जाको वालिङबाट परीक्षणका लागि लगिएका २० ओटा नमुनामध्ये ६ ओटामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) देखिएको छ । ‘साउन ९ गते वालिङ १४ का खुमप्रकाश अर्यालको सिजनल इन्फ्लुएन्जाका कारण मृत्यु भएपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौंबाट आएर हामीले सम्भावित बिरामीको नमुना संकलन गरेका थियौं’–इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले भने–‘२० ओटा परीक्षण गरिएकामध्ये पाँचजनामा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) र एकजनामा इन्फ्लुएन्जा ‘बी’ देखिएको छ ।’ ‘पोजेटिभ देखिएकामध्ये चारजनाको उपचारपछि निको भइसकेको छ’–जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाका जनस्वास्थ्य अधिकृत यामप्रसाद शर्माले भने–‘अरु दुईजनाको उपचार भइरहेको छ ।’ वालिङ तथा आसपासका क्षेत्रमा सिजनल इन्फ्लुएन्जाका बिरामी अरुपनि हुनसक्ने भन्दै स्थानीय त्रसित भएका छन् भने स्वास्थ्यकर्मीले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । यस रोगबाट बच्न खोक्दा हाच्छियूँ गर्दा सफा कपडा वा रुमालको प्रयोग गर्ने, साबुन पानीले मिचीमिची हात धुने, पोसिलो झोलिलो खानेकुरा खाने, अनावश्यक मानिसको भीडभाडमा नजाने, आँखा, नाक, मुखमा अनावश्यक हात नलैजाने, हात नमिलाउने, अंकमाल गर्न नहुने वालिङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रवीण घिमिरेले बताए । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणकाक्रममा सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान पोजेटिभ) देखिएपछि अब यसको रोकथामका लागि फेरि विशेषज्ञको टोली वालिङ आउने बताइएको छ । पछिल्लो एक सातामा वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा रुघाखोकीका बिरामीको चाप निक्कै बढेको डा. घिमिरेले बताउँछन् । स्थानीय त्रसित रहेको अवस्थामा स्वास्थ्यकर्मीले भने विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले निरिक्षण गरेकै साँझ चितवनकाे कालीखोलामा बस खस्यो

नारायणघाट, साउन १८ । मुग्लिङ–नारायणघाट सडक खण्डको काली खोलामा बस दुर्घटनामा परेको छ । काठमाडौंबाट इलाम जाँदै गरेको बस उक्त सडक खण्डको काली खोलामा खसेको थियो । बस अनियन्त्रित हुन थालेपछि यात्रुहरु सबै झरेको कारण कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । बस खस्न थालेपछि चालकले ब्याक गर्दा सबै यात्रु सकुशल झर्न सफल भएका थिए । चालकसहित बस खोलामा खसेपनि अहिले चालक सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनाको खबर थाहा पाउने बित्तिकै सशस्त्र प्रहरीको टोली आवश्यक उपकरणसहित घटनास्थल पुगेको थियो । आज बिहान मात्रै प्रधानमन्त्री शेर बहादुर देउबाले उक्त सडकखण्डको निरिक्षण गर्दै नौ बुँदे निर्देशन दिएका थिए ।

भैंसीले पाए सुत्केरी भत्ता !

बैतडी, साउन १८ । बैतडीको दशरथचन्द नगरपालिकाका किसानले पालेका २२ वटा भैंसीलाई जिल्ला पशुसेवा कार्यालयले सुत्केरी भत्ता वितरण गरेको छ । प्रतिभैंसी २५ सयका दरले सुत्केरी भत्ता वितरण गरिएको हो । भैसी पालन व्यवसायलाई प्रवद्र्धन गर्नका लागिआर्थिक वर्ष २०७३/७४ मा जिल्ला पशुसेवा कार्यालयले किसानहरुसँग आवेदन मागेको थियो । त्यसैको आधारमा भैँसीपालक किसानहरुलाई भैसी सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालय पाटनका सूचना अधिकृत शिवराज भट्टले जानकारी दिए । गएको आर्थिक वर्षदेखि भैंसी सुत्केरी भत्ता कार्यक्रम सञ्चालनमा ल्याइएको हो । गतवर्ष सुत्केरी भैंसीले भत्ता पाउन सकेका थिएनन् । भैंसीको विमा गरेका किसानलाई मात्रै भैंसी सुत्केरी भत्ता दिएको भट्टले जानकारी दिए ।। उनले भने, ‘भैसीको विमा गरेका किसानले मात्रै भैसी सुत्केरी भत्ता पाएका छन्, अघिल्लो वर्ष कसैले पनि विमा नगराएका कारण बजेट फ्रिज भएको थियो ।’

अव्यवस्थित सवारी पार्किङले सडक दुर्घटनाको जोखिम बढ्यो

लोकेश धामी कैलाली, साउन १८ । धनगढी बजारमा अव्यवस्थित सवारी पार्किङले दुर्घटनाको जोखिम बढाएको छ । सवारी पार्किङका लागि पार्किङस्थल नहुँदा अव्यवस्थित रुपमा जथाभावी पार्किङ गरिदिदा दुर्घटनाको जोखिम बढेको हो । धनगढीको सबैभन्दा व्यस्तक्षेत्र अस्पताल लाइन, एलएनचौक, बसपार्क लगायत हुन् । तिनै क्षेत्रमा व्यवस्थित पार्किङ छैन । जसले गर्दा आवतजावत गर्न नै अप्ठ्यारो भएको पैदलयात्री रमेश जोशीले बताए । जथाभावी सवारी पार्किङले सडक दुर्घटनाको जोखिम त बढाएको छ नै, नगरक्षेत्रको सुन्दरतामा समेत ह्रास ल्याएको नगरबासीको भनाइ छ । सबैभन्दा भीडभाड हुने ठाउँमा व्यवस्थित पार्किङ नहुँदा सेवाग्राहीलाई सेवा लिन पनि समस्या भएको कञ्चनपुरबाट उपचारका लागि धनगढी आएका शिद्धराज जोशीले बताए । अव्यवस्थित पार्किङले गर्दा बजार क्षेत्रका व्यवसायीलाई झनै समस्या भएको छ । पसल अगाडी जथाभावी सवारी पार्किङ गर्दा ग्राहक नै नआउने गरेको व्यापारी डिल्लीराज भट्टले गुनासो गरे । अस्तव्यस्त सवारी पार्किङले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनगढीका प्रमुख दिपक पातलीले बताए । विकास निर्माणका कामसंगै बजार क्षेत्रको पार्किङस्थलको समस्यालाई पनि अगाडी बढाउने योजना रहेको धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले बताए । सार्वजनिक सवारी साधन पार्किङको समस्या समाधान गर्नतर्फ नवनिर्वाचित जनप्रतिनिधिले ध्यान दिनु पर्नेमा नगरवासीको जोड छ ।

अबको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम मिल्छ : कमल थापा

जनकपुरधाम, साउन १८ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राप्रपालाई उत्साहजनक परिणाम प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । राप्रपा धनुषा जिल्ला कार्यसमितिले आयोजना गरेको पत्रकारसम्मेलनमा बोल्दै नेता थापाले तेस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनलाई आफ्नो दलले उच्च प्राथमिताका साथ तयारी गरिहेको बताए । अध्यक्ष थापाले राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी हुने वातावरणको निर्माण कार्य सरकार र प्रतिपक्षी दलले गर्नु जरुरी छ भन्दै नेपाली काँगेसले राष्ट्रिय जनता पार्टी चुनावमा सहभागी हुन नपाओस् भनी षडयन्त्र गरिरहेको आरोप लगाए । संविधान संशोधनको विधेयक संसद्मा निर्णायार्थ प्रस्तुत हुन नदिन नेपाली काँगे्रस नियोजित रूपमा लागेका छ भन्दै उनले सविधान संशोधन विधेयक पारित गराउने बारेमा आफ्ना दलका सांसदको अनुपस्थित प्रसङ्ग नेपाली काँगे्रस र माओवादी केन्द्रको प्रोपोगण्डा भएको बताए । एक प्रसङ्गमा उनले आफ्नो दल सरकारमा नजानेसँग संविधान संशोधन विधेयकको कुनै सरोकार छैन भन्दै देउवा नेतृत्वको सरकारमा आफ्नो दल नजाने प्रस्ट गरे।

९ महिनाको सन्तान छाडेर आमा टाप कसेपछि

प्रेम सुनार/ गुल्मी, साउन १८  । गुल्मीको दर्लामचौर गाउँमा गत  चार  दिन देखि नौ महिनाको दुधे वालक आमाले छाडेर अन्यत्रै टाप कसेपछि ति वालक र अन्य दुई नावालकहरु  विचल्लीमा परेका छन् । ईस्मागाउँपालिका वडा नम्वर ३ , दर्लामचौर सिमपानीका  वावुराम घर्ति  थापा की ३० वार्षिया  श्रीमति बिना घर्ति रोका साउन–१५ गते विहान देखि घरबाट हिडेर सम्पर्कविहिन बनेपछि उनको ९ महिनाका सन्तान चौविसै घण्टा हामा खोजेर रोई रहेका छन् भन्ने दुई नावालकहरु पनि विचल्लीमा परेका छन् । उनि घरबाट हिड्नुको दुई दिन अघि मात्र उनका श्रीमान घर्ति घर आएका थिए । त्यसको पनि तिन दिन अघि उनै श्रीमतिले घरमा परपुरुष संग लसपस  गरेको आरोपमा उनकी सासुले गाउँवासी गुहारेकी थिईन् । श्रीमतिको त्यस्तो यौन चर्तिकलाको खवर पाएर घर आएका घर्तिलाई श्रीमतिले ४ लाख रुपैयाँ तम्घासको बैंकमा राखेकी छु झिकेर आउँछु भनेर आईतवार विहानै घरबाट हिडेको तर तम्घास पुगे पछि सम्पर्क विहिन भएको उनले बताए । तिन वर्ष अघि वावु आमा संग छुट्टाएर बेग्लै घर बनाएर राखेकी उनकी श्रीमतिले पाँच दिन अघि  गाउँवासीको नजरमा अपरिचीत युवालाई घरमा ल्याएर राखेको र उनकी सासुले आशंका गरी चियो गर्दा अर्धनग्न अवस्थामा बुहारी र पलङ्गमुनी लुकेर वसेको अवस्थामा निज युवालाई फेला पारको  उनकी सासुको आरोप छ  । भारतमा कमाएको न पैसा भयो न श्रीमति  उनका श्रीमानको पिडा यस्तो छ –‘वाल्यपन देखि मजदुरी गर्न भारतका विभिन्न शहरमा पुगेको थिएँ ।  गाडी चलाउन थालेको करिव २३ वर्ष भयो । करिव १९ लाख श्रीमतिबाट अहिले सम्म  हिनाविना भएको छ । चार लाख केहि समय अघि पठाएको थिएँ । त्यो पैसा खोई भन्दा बैंकमाछ झिकेर आउँछु भनेर हिडिन् ।  घरका भैसी बाख्रा बेचिएको छ । दुई तोला सुन, अन्य जिन्सी र महत्वपुर्ण कागज पत्र पनि लगेर हिडेकी छन् । तिन वर्ष अघि सम्म बुढो घरमै बस्थीन र कुनै शंका लाग्दो ब्यबहार पाएको थिईन । जव घर देखि माथी एक्लो ठाउँमा घर बनाएर राखे तव देखि श्रीमतिको खर्च र रवाफ बढ्दै गयो । दशैमा आएर गएको थिएँ  । त्यो श्रीमति संग बस्यो भनिएको केटा को हो रु गाउँवासीले चिन्दैनन । तम्घासबाट गाडी चढेर हिडे भन्ने सुईको पाएको छु । उसको खुशीका लागि वावु आमाको मन दुखाएर भए पछि छुट्टाएँ , अहिले न श्रीमति न पैसो भएँ । पुम्पुरोमा हात लगाउँदै र सुस्केरा फेर्दै घर्तिले भने हामी जस्ता मुग्लानीको पसिनाको मोल उसले नबुझे पनि अरु महिलाले बुझी देउन भन्ने कामना गर्दछु ।  वालवच्चको विचल्ली र घरको विल्लीफाँट देखेर चिन्तामा डुबेका घर्तिलाई भित्र पसेर चुलो जलाउने जाँगर छैन् । अरु भन्दा पनि ति दुधेवालकको आमा खोजाईको रोदनले त्यहाँ पुग्ने धैरैले आँशु बगाउँछन् । कस्तो बैश होला त्यस्तो दुधेवालक पनि छोडेर हिड्ने भन्दै ति महिलाको सत्तोसराप गर्नेहरु पनि छन् । ति महिला संग भने टेलिफोन सम्पर्क हुन सकेन् । घर्तिले खोजतलासका लागि ईस्मा प्रहरी चौकीमा उजुरी दिएको र गाउँ प्रमुख लक्ष्मण बिष्ट संग पनि गुनासो पोखेको बताए । स्मरण रहोस  गुल्मीमा बिदेशमा रहेका कतिपय पुरुषका श्रीमतिहरु यसरी परिवारको सल्लाह विना घर छाडेर हिड्ने  र एकादुई वर्ष पछि फर्केर आई श्रीमान संग अंशको दावी गर्ने गरेका केहि घटना  रहेको अधिवक्ताहरु बताउँछन् ,।  उनिहरुका अनुसार यस्ता विषयमा पुरुषका लागि कानुन कम्जोर छ ।

रुपन्देहीबाट १ सय ३५ जना मुस्लिम साउदी अरेबिया जाने

भैरहवा, साउन १८ । रुपन्देहीबाट यस वर्ष मुस्लिम समुदायका १ सय ३५ जना हज गर्न साउदी अरेबियाको मक्कामदिना जाने भएका छन् । अरब सरकारले नेपाललाई हजयात्राका लागि १ हजार २ सय कोटा दिएको छ । त्यसका लागि देशभर बाट १ हजार ९ सय १६ जनाले आवेदन दिएका थिए । जसमध्ये ६ सय १५ जना गतवर्ष छनोटमा नपरेकाले यस वर्ष पहिलो प्राथमिकतामा परेका छन् । कोटाभन्दा बढी आवेदन परेकाले केन्द्रीय हज समितिबाट गठित कार्य सम्पादन उपसमितिले जनसंख्या, उमेर, रकम पेश्की भौचर र आवेदन मितिका आधारबाट हजयात्रामा जानेको नाम छनोट गरेको मुस्लिम वेलफेयर सोसाइटीका हज व्यवस्थापन उपसमितिका अध्यक्ष अब्दुल रहमान खाँनले जानकारी दिए । मक्कालाई अल्लाहको घर र मोहम्मदको जन्मथलो मानिन्छ । रुपन्देहीको हज तीर्थयात्रीको टोली साउन २८ र २९ गते त्यसतर्फ प्रस्थान गर्ने बताइएको छ ।

प्रचण्डले ल्याए जनकपुर विकासको नयाँ खाका

जनकपुर ,साउन १८ ।  माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले जनकपुर उपमहानगरपालिकालाई महानगरपालिका बनाएर एकीकृत सहरी विकास पूर्वाधार निर्माण गर्ने आफ्नो पार्टीको योजना रहेको बताएका छन् । आफू प्रधानमन्त्री रहेको बेला तराईका दुई उपमहानगरपालिका विराटनगर र वीरगन्जलाई महानगर बनाएको उल्लेख गर्दै उनले ऐतिहासिक तथा धार्मिक नगर जनकपुरको गरिमालाई स्थापित गर्न धार्मिक पर्यटकिय सहरको रुपमा विकास गर्ने उल्लेख गरे । आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी चुनाव परिचालन समितिका सदस्यलाई प्रशिक्षण दिन सोमबार जनकपुर आएको प्रचण्डले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनकपुरको विकासबारे लामो धारणा राखेका छन् । सहरी विकास मन्त्री प्रभु साह, मन्त्रालयका सचिव र प्राविधिकसँग छलफल गरिसकेको उल्लेख गर्दै उनले जनकपुरको एकीकृत सहरी विकास योजनाअनुरुप तत्काल काम सुरु गरेर अबको तीन वर्षभित्र जनकपुरलाई विश्वकै नमुना सहर बनाउने बताए ।

नेपालमा बसेर अस्ट्रेलियामा आतंक !

काठमाडौं, साउन १८ । उच्च शिक्षा र आर्थिक रुपमा सक्षम बन्ने लक्ष्य लिएर ९ वर्षअघि अस्ट्रेलिया गएका ३२ वर्षीय कुमुदप्रसाद शाह अहिले प्रहरी केन्द्रीय अनुसन्धान व्यूरोको हिरासतमा छन् । उनीविरुद्ध नेपालमा मात्रै हैन, अस्ट्रेलियामा समेत अनुसन्धान भइरहेको छ । जर्मनीमा रहेका नेपाली नागरिक आत्मराम थपलियालाई नेपाल ल्याउन ब्यूरोले प्रक्रिया सुरु गरेको छ । उनलाई नेपाल डिपोर्ट गराउन ब्यूरोले जर्मनीमा रहेको इन्टरपोल शाखासँग पत्राचार गरिसकेको छ । मलेसियामा रहेका २ नेपालीलाई झिकाउने प्रक्रिया अगाडि बढिसकेको छ । ब्यूरोले उनीहरुलाई फर्काउन मलेसियामा रहेको इन्टरपोल शाखासँग समन्वय गरिरहेको छ, नागरिकमा खबर छ । सामाजिक सञ्जालमार्फत आवेश र आक्रोस पोख्ने क्रममा शब्दको ख्याल नगर्दा बर्सेनि ५० भन्दा बढी नेपाली पक्राउ गरिहेका छन् । यो प्रवृत्तिबाट विभिन्न उद्देश्यले विदेशिएका नेपालीसमेत जोगिन सकेका छैनन् । अस्ट्रेलियामा एसएमएस आतंक छातीमा गोली हानेर शव टुक्रा पारेर फाल्ने सन्देशले अस्ट्रेलियामा आतंक मच्चियो । एसएमएस पाउने व्यक्तिको संख्या बढेसँगै अस्ट्रेलियाको प्रहरीमा उजुरी संख्या बढ्यो । युरोप र अमेरिकी मुलुकमा आतंकवादी घटना बढिरहेको अवस्थामा यस्तो सन्देशले सनसनी मच्चाएपछि अस्ट्रेलियाली प्रहरीले अनुसन्धान अगाडि बढायो । अनुसन्धानमा सन्देशको उदगमस्थल नेपाल देखिएपछि इन्टरपोलमार्फत नेपाल प्रहरीमा सन्देशसहितको रिपोर्ट आयो । केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गर्दा लहानमा रहेको कुमुदप्रसाद शाह पक्राउ परे ।

प्रहरीको सेवा अवधि ३० वर्षे बनाउनेमा मत बाझियाे

काठमाडौं ,साउन १८ । संघीय प्रहरीको अवधारणामा नेपाल प्रहरीका अधिकृतहरूको मत बाझिएको छ । गृहमन्त्री जनार्दन शर्माले डीआईजी र एसएसपी तथा एसपीहरूबीच सुझाव लिने क्रममा उनीहरूको मत बाझिएको हो । प्रहरी ऐन संशोधन र प्रहरी सेवा अवधिमा उनीहरूको मत बाझिएको हो । गृह मन्त्रालयले संघीय प्रहरी ऐनको मस्यौदा तयार पारिसकेको अवस्थामा गृहमन्त्री शर्माले प्रहरी अधिकृतहरूको राय सुभाव माग्दा प्रहरीको सेवा अवधि ३० वर्षे बनाउने कि नबनाउने भन्ने विषयमा मत बाझिएको थियो । डीआईजीहरूले प्रहरी सेवा अवधि ३० वर्षबाट हटाएर ३२ वर्ष बनाउनुपर्ने सुझाव दिएका थिए भने एसएसपी र एसपीहरूले भने ३० वर्षे सेवा अवधि नहटाउन सुझाव दिएका थिए । संघीय प्रहरी कस्तो संरचनाको बनाउने भन्ने विषयमा छलफल भइरहँदा एसएसपी र एसपीहरूले केन्द्र र संघीय प्रहरीको ड्रेस एकै प्रकारको हुनपर्ने, कमान्ड कन्ट्रोल केन्द्रबाट हुनुपर्ने, स्वतन्त्र प्रहरी सेवा आयोग गठन हुनुपर्ने, लोक सेवा आयोग अनिवार्य सदस्य हुनुपर्ने, भौतिक पूर्वाधार निर्माण तथा स्पष्ट अधिकार नहुँदासम्म नाम मात्रको संघीय प्रहरी बनाएर कोही कसैलाई जागिरको कमान्डर मात्र बनाउन नहुनेजस्ता सुझाव दिएका छन् । यसअघि डीआईजीहरूसँगको छलफलमा भने केन्द्रमा महानिर्देशक राख्ने र प्रदेशमा महानिरीक्षक बनाउनेजस्ता सुझावलाई उनीहरूले हाकिमको जागिर खाने मेलो मात्रै भएकाले पद ठूलो बनाउने भन्दा पनि संघीय प्रहरीलाई कसरी अधिकार सम्पन्न बनाउने भन्ने विषयमा ध्यान दिन सुझाव दिएका छन् । ३० वर्षे सेवा अवधि हटाउनुपर्छ भनेर उनीहरूले शब्दोच्चारण गरेनन् बरु डीआईजीहरूले राखेको सुझावमा उनीहरूले जागिर लम्ब्याउने मेलो मात्र भएको आरोप लगाए,’ गृहमन्त्रालय स्रोतले भन्यो । डीआईजीहरूले संघीय प्रहरीमा अहिले नै एआईजीलाई कमान्ड सम्हाल्न पठाउनुपर्ने सम्मको सुझाव दिएका थिए । छलफलमा सहभागी डीआईजीहरू प्रस्तावित एआईजीहरू थिए । उपत्यकामा रहेर छानिएका एसएसपी र एसपीहरूको सहभागी रहेको सो सुझाव कार्यक्रममा एसएसपी सर्वेन्द्र खनालले ट्राफिक प्रहरीको कमान्ड केन्द्रले नै गर्नुपर्ने सुझाव दिएका थिए । ‘ड्रेस एउटै हुनुपर्ने र कमान्ड केन्द्रीय प्रहरीबाट हुनुपर्ने, लिडरसिप डाइनामिक भए रोबटजस्तै खट्नसक्ने प्रहरी बनाउन सकिने सुझाव दिए,’ स्रोतले भन्यो । त्यसैगरी एसएसपी दिनेश अमात्यले सरुवा बढुवाको व्यवस्था ऐनमा नै उल्लेख गर्नुपर्ने सुझाव दिएका थिए । त्यसैगरी केदार रिजालले स्वतन्त्र प्रहरी सेवा आयोग गठन गरी त्यसले निर्धारण गरेका विषयवस्तुसहित संघीय प्रहरीको संरचना तयार पार्न सुझाव दिएका थिए ।

विश्व शान्तिको कामना गर्दै ललितपुरमा ‘नरसिंह जात्रा’

ललितपुर, साउन १८ । ललितपुरको राजोपाध्याय समुदायको उपाकर्म गुथिबाट वर्षेनी संचालन हुँदै आएको नरसिंह जात्रा आगामी साउन २८ मनाइने भएको छ । नरसिंह जात्रा समारोह समितिले मंगलबार ललितपुरमा आयोजित कार्यक्रममा हरेक वर्ष भाद्र कृष्ण पञ्चमीको दिन मनाइने जात्रा यसपालि श्रावण २८ गते मनाउन लागिएको जानकारी दिइयो । आगामी साउन २८ गते शनिबारका दिन बाजागाजा, भजन, विभिन्न झाँकिसहित उत्सवकै रुपमा मनाउन लागिएको समारोह समितिका संयोजक माधवश्याम शर्माले बताए । संस्कृतिविद् डा. सत्यमोहन जोशीले यस जात्रालाई अन्तर्राष्ट्रिय जगतमै प्रचार–प्रसार गर्नुपर्ने बताउँदै देशमा गणतन्त्र स्थापित भइसकेकाले मौलिक परम्परागत जात्रालाई पनि समयानुकुल सन्चालन गर्नुपर्नेमा जोड दिए । संयोजक शर्माले समस्त प्राणीमात्रको सु–स्वास्थ्य र विश्व शान्तिको कामना गर्दै मनाइने यस जात्रा हेर्न सबैलाई ललितपुर आउनका लागी अनुराध गरेका छन् । ललितपुरका राजोपाध्याय समुदायमा ज्येष्ठताको आधारमा पालै–पालो हस्तान्तरण हुँदै सन्चालन हुने भएकोले यसपाली भने ललितपुर तुइलाक्व टोलका घनश्याम शर्माको घरबाट सन्चालन हुनेछ ।