मातृभाषाको प्रयोग बढाउँदै लैजानुपर्छ : मन्त्री शर्मा
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानले नेपाललाई बहुभाषिक मुलुकको रुपमा स्थापित गर्दै सबै मातृभाषालाई राष्ट्रभाषाको मान्यता दिएकाले राज्यका हरेक निकायमा यसको प्रयोग बढाउँदै लैजानुपर्ने बताएका छन् । मातृभाषाले राज्यप्रति सम्बन्धित समुदायको अपनत्व स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि उनले स्पष्ट गरे ।
राष्ट्रिय समाचार समितिको राष्ट्रिय (मातृभाषा)को समाचार सेवा शुभारम्भ गर्दै उहाँले पछिल्लो राजनीतिक परिवर्तनपछि नेपाल वास्तविक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक बनेको पनि स्पष्ट गरे। ‘हामीले संविधानमै राष्ट्रको परिभाषा स्पष्ट गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भनेका छौं’– मन्त्री शर्माले भने– ‘नेपालमा बोलिने सबै मातृभाषाहरू राष्ट्रभाषा हुन् ।’
त्यति मात्र होइन नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्न सक्ने स्पष्ट व्यवस्था संविधानले गरेको स्मरण गराउँदै उनले भाषा सम्बन्धी अन्य निर्णय गर्नुपरेमा आवश्यक सिफारिस गर्न भाषा आयोग पनि क्रियाशील रहेकाले अब भाषकै आधारमा कोही उत्पीडनमा परेको महसुस गर्नुनपर्ने बताए ।
राज्यका नीति निर्णयहरु जनताको बिचमा पुर्याउने र जनताका अपेक्षाहरु राज्यका निकायसम्म पुर्याउन पुलको भूमिका निर्वाह गर्ने मुख्य दायित्व बोकेका सरकारी सञ्चारमाध्यमहरुले मातृभाषाको प्रयोगलाई बढाउँदै लैजानुपर्ने उनले बताए । मन्त्री शर्माले समाचार बैंकको रुपमा रहेको राससले मातृभाषामा सामग्री उत्पादन गर्दा अब राज्यद्वारा सञ्चालित मिडियासँगै नीजि क्षेत्रमा सञ्चालन भएका मिडियालाई राज्यको आधिकारिक तथा विश्वसनीय समाचार संप्रेषण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
नेपालमा मातृभाषामा सञ्चालन हुने सञ्चारमाध्यमले जनशक्ति र आर्थिक स्रोतको अभावमा सम्बन्धित भाषामा आवश्यक सामग्री प्राप्त गर्न नसक्दा समस्या भोगिरहेको उल्लेख गर्दै उनले राससले सम्बन्धित भाषामै सामग्री उपलब्ध गराउन सकेका खण्डमा भाषाभाषीका सञ्चारमाध्यमले भोग्ने यस्ता समस्यालाई केही हदसम्म अन्त्य गर्न सकिने विश्वास व्यक्त गरे ।
‘राससले मातृभाषामा आफ्नो सेवा विस्तार गर्दा संविधानको संघीयता र समावेशीको मर्मलाई समेत आत्मसात गरेको ठहरिन्छ । संघीयता र समावेशीता कार्यान्वयन् गर्नु सरकारको दायित्व हो र राससले आजदेखि प्रारम्भ गरेको मातृ भाषा समाचार सेवालाई सरकारकै कार्यक्रमका रुपमा लिइनुपर्छ’– मन्त्री शर्माले भनिन्– ‘यसमा संघीय सरकारको मात्र नभई, प्रदेश र स्थानीय तहहरुको समेत दायित्व स्थापित गर्न खोज्नु अझ महत्वपूर्ण छ ।’
समाचार संकलनका क्रममा पत्रकार कुटपिट गरिएकोप्रति महासंघको ध्यानाकर्षण
काठमाडौं । नेपाल पत्रकार महासंघले महासंघ बागलुङ शाखाका सचिव विजय रानालाई समाचार संकलनका क्रममा प्रहरीले कुटपिट गरी घाइते बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रोसन पूरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् । महासंघ बागलुङ शाखाका अनुसार पुस २१ गते शनिबार बागलुङको धौलागिरी बहुमुखी क्याम्पस प्राङ्गणमा चलिरहेको बागलुङ महोत्सव हेर्न आएका सर्वसाधारणमाथि महोत्सव सकेर निस्कने क्रममा राति १०ः३० बजेको समयमा प्रहरीले लाठीचार्ज गरेको थियो । सोही घटनाको तस्बीर तथा भिडियो खिच्ने क्रममा प्रहरीले पत्रकार रानालाई निर्घात कुटपिट गरी गम्भीर घाइते बनाउनुका साथै उनको मोवाइल फोनसमेत खोसेको शाखाले जनाएको छ । संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको उपभोगका क्रममा पत्रकारमाथि प्रहरीबाट भएकोे यो ज्यादती प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो । नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने प्रहरीबाट भएको यो घटनाले प्रेसको सुरक्षा अवस्था चुनौतीपूर्ण रहेको थप दर्साएको छ । महासंघ प्रेस स्वतन्त्रताविरुद्धको यो ज्यादतीमा संलग्नमाथि तत्काल कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइ प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको सुरक्षामा गम्भीर बन्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकार रानाको उपचारको व्यवस्था गर्न पनि माग गर्दछ ।
युवा शक्तिलाई विदेश पलायन कम गर्न पहल गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की
त्रिशूली । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् । यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले त्यसलाई कम गर्नका लागि विशेष पहल आवश्यक भएको बताइन् । “स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भनिन्, “दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ ।” नेपालको भूमि विश्वमै उत्कृष्ट भए पनि यहाँको प्राकृतिक स्रोतको उपयोग र उब्जनीयुक्त भूमिको उपयोगबाट मुलुकलाई आर्थिकरूपमा समृद्धि बनाउनतर्फ तीनै तहका सरकारलाई गम्भीर बन्न उनले ध्यानाकर्षण गराइन् । त्यस अवसरमा ‘यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्ट’ ले शैक्षिकसत्र २०७८ र २०७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको थियो ।
पेन्टी र ब्रामा सुन लुकाएर सुन ल्याउने एकजना पक्राउ
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ परेका छन् । दुबईबाट आएकी श्रृलंकाकी महिला कान्ति काभास्करलाई सुनसहित विमानस्थल प्रहरीले शनिबार राति पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान जारी राखेको छ । विमानस्थल प्रहरी प्रवक्ता एसपी पदम विष्टका अनुसार ती महिलाले सुन ब्रा र अन्डरवयरभित्र धुलो बनाएर ल्याएको बताए । “सुन एक किलोभन्दा बढी हुनसक्छ । धुलो बनाएर पेन्टी र ब्रामा सुन लुकाएर ल्याएकी छन्,” एसपी विष्टले जानकारी दिए ।
जयशंकर साहमाथि गोली चलाउने हवल्दार जिल्ला तानिए
काठमाडौँ । सर्लाहीको बरहथवामा जयशंकर साहमाथि गोली चलाएको आरोप लागेका प्रहरी जिल्ला तानिएका छन् । इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सोनेलाल यादवलाई जिल्ला प्रहरी कार्यालय सर्लाही तानिएको हो । आन्दोलनकारीले उनै हवल्दारले गोली चलाएको आरोप लगाएपछि उनलाई जिल्ला तानिएको जिल्ला प्रहरी प्रमुख प्रवीण धितालले जानकारी दिए । उनका अनुसार घटनाको छानबिन भइरहेको छ । गत शुक्रबार बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति विषयमा भएको प्रदर्शनका क्रममा स्थानीय युवक साहको मृत्यु भएको थियो । मृतक युवक सर्लाही होटेलका सञ्चालक तथा कुखुरा दानाका होलसेल विक्रेता रहेको बताइएको छ । आन्दोलनकारीले हतियार थुत्ने बेला वरिष्ठ हवल्दार यादवको बन्दुक पड्केर गोली चलेको हुन सक्ने प्रहरीले बताएको छ । मृतक परिवार र आन्दोलनरत पक्षले भने वरिष्ठ हवल्दार यादवले रिसीबी साध्न निर्दोष साहलाई जानेर गोली दागेर मारेको दाबी गरेका छन् ।
सडक पूर्वाधार विकासको विकासको आधार हो : प्रमुख दाहाल
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले विकासको पहिलो आधार सडक भएकाले सडकलाई प्राथामिकता दिएको बताएकी छिन् । शनिबार नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रमुख दाहालले सडक पूर्वाधार निर्माण भएपछि मात्रै जनताको जीवनस्तर सुधार गर्न सडक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने उल्लेख गरिन् । प्रमुख दाहालले भरतपुरको विकास यतिकै नभएको बताउदै उनले जनप्रतिनिधिको सक्रिय पहल र आमजनताको इच्छा चाहानाले मात्र भरतपुरको विकास सम्भव भएको प्रष्ट पारिन् । ‘बजेट सजिलै आउँदैन,उनले भनिन् ,‘एक पटक गएर हुदैन। पटक पटकको पहल, सक्रियाताले बजेट आउँछ । हिजोको दिनमा १० लाखको बजेट ल्याउन गाँउबाट डेलिगेशन जानुपर्ने अवस्था थियो।’ प्रमुख दाहालले नेपाल रेडक्रस सोसाईटी गीतानगर उपशाखाले मानविय, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पुराएको अतुल्नीय योगदानको उच्च कदर गरे । उनले गीतानगर उपशाखाको भवन निर्माणका लागि जग्गादाता जयलाल पौडेलले पुराउनु भएको योगदान र भवन निर्माण गर्ने स्थानीय दानवीरलाई धन्यवाद व्यक्त गरिन् । भरतपुर महानगरपालिका, स्थानीय चन्दाताको सहयोगमा रु १४ लाख ८३ हजार भवन निर्माण भएको हो । प्रमुख दाहालले भरतपुरको भगिनी सम्बन्ध स्थापना भएको जापनको यकोसुका सहरबाट ५/६ वटा एम्बुलेन्स सहयोग आउन लागेको र एक थान गीतानगर उपशाखालाई प्रदान गरिने बताइन्। रेडक्रसको जिल्ला भवन निर्माण गर्न महानगरबाट सहयोग भएको र गैर अवासीय नेपाली सघ एनआरएनएबाट सहयोग भएको रक्त सञ्चार एम्बुलेन्स पनि हस्तान्तरण गरिएको बताए। कार्यक्रममा रेडक्रसको भवन निर्माण गर्न सहयोग पुराउने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपप्रमुख चित्रसेन अधिकारी, वडा अध्यक्ष हरिकृष्ण श्रेष्ठ, राजेन्द्र साखाीलगायतको उपस्थिति रहेको थियो।
भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन : निधि
काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकरको संयुक्त अध्यक्षतामा काठमाडौँमा बिहीबार सम्पन्न नेपाल-भारत संयुक्त आयोगको सातौँ बैठकमा भएका सम्झौता तथा सहमतिको स्वागत गरेका छन् । यसले नेपाल-भारतबिच रही आएको विशिष्ट सम्बन्ध -युनिक रिलेसन_ लाई थप बल पुर्याएको उनले विश्वास व्यक्त गरेका हुन् । पूर्व उप-प्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका निधिले सामुदायिक विकास परियोजना कार्यान्वयनका लागि भारतीय अनुदान सहायता सम्बन्धी सहमति अनुसार अब भारतले २० करोड रुपैयासम्मको अनुदान दिन सक्ने भएको कुरा सकारात्मक रहेको उनको भनाई छ । ‘अनुदानमा आधारित यस्ता परियोजनाहरू धेरै पहिलेदेखि नै सञ्चालित रहेको छ । २ करोड अनुदानबाट प्रारम्भ हुँदै ५ करोडसम्मको रकम दिँदै आइरहेको थियो । यस्तो परियोजना छनौट र स्वीकृतिका लागि सुरुदेखि नै नेपाल सरकारको सम्बन्धित निकाय, सरोकारवाला मन्त्रालय र अर्थ मन्त्रालयको संलग्नता र सहमति अनिवार्य रहँदै आएको छ । यस पटकको सम्झौतामा ५ करोडबाट बढाएर २० करोड पुर्याएको मात्र हो । त्यसकारण भारत सरकारले मनमौजी ढङ्गबाट खर्च गर्ने सम्झौता भएको भन्नु आधारहीन र झुटो कुरा हो,’ उनले भनेका छन् । भारत सरकारबाट प्राप्त हुने त्यस्तो अनुदानबाट नेपालका कम्युनिस्ट पार्टीका नेताहरू, सबै पार्टीका नेताहरू र समाजका विभिन्न क्षेत्रका अगुवाहरूले पनि आ आफ्नो प्रभाव क्षेत्रमा खास गरी स्कुल, क्याम्पस भवन र पुल निर्माण गर्ने गरेको उनले बताएका छन् । ‘भवन शिलान्यास तथा उद्घाटन भारतीय राजदूत वा अधिकारीबाट गराउँदै आएका र आफू पनि सहभागी हुँदै आएका छन् । अहिले आएर त्यसको विरोध गर्नु द्वैध चरित्र प्रदर्शन गर्नु मात्र हो । नेपालको विकासमा भारत सरकारको यस किसिमको सदासयताको म समर्थन गर्दछु,’ उनले भनेका छन् । दुई देशबिच दीर्घकालीन ऊर्जा व्यापार सम्बन्धी सम्झौता अनुसार आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने भएको उनको जिकिर छ । यसबाट नेपालमा उत्पादित बिजुलीको बजार सुनिश्चित हुनुका साथै नेपाललाई वार्षिक १० खर्ब हाराहारी आम्दानी हुने उनले बताएका छन् । यसले भारतसँगको बढ्दो व्यापार घाटा कम गर्न उल्लेखनीय भूमिका निर्वाह गर्ने उनको जिकिर छ ।
बंगलादेशमा रेलमा आगलागी हुँदा चारजनाको मृत्यु
ढाका । बंगलादेशको राजधानी ढाकामा शुक्रबार राति एउटा यात्रीवाहक रेलमा आगलागी हुँदा कम्तीमा चारजनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमले बेनापोल एक्सप्रेस यात्रीवाहक रेलमा राति ९ः०५ बजे अज्ञात समूहले बंगलादेशको ढाकामा आम चुनाव हुनुअघि आगजनी गरेको जनाएकाे छन् । स्थानीय समयानुसार राजधानीको गोपीबाग क्षेत्रमा भएको आगलागी राति १०ः२० बजे नियन्त्रणमा लिइएको थियो । आगलागीमा मृत्यु भएकाहरूको तत्काल पहिचान हुन नसकेको ढाका महानगरीय प्रहरी उपायुक्त इकबाल हुसेनले पत्रकारलाई बताएका छन् । रासस सिन्ह्वा
म्याग्दीमा धारिलो हतियार प्रहार गरी वृद्धाको हत्या, जोगाउन जाने दुईजना घाइते
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ मा आज दिउँसो धारिलो ढुंगा (छपनी) प्रहार गरेर एकजनाको हत्या गरिएको छ । दुईजना घाइते भएका छन् । छपनी प्रहार गरिँदा मालिका–७, बिमवाङकी ७० वर्षीया मनीषा गर्बुजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनका अनुसार, मनीषाकी सात वर्षीया नातिनी प्रियंका गर्बुजा र छिमेकी ६६ वर्षीया अमृता जुग्जाली घाइते भएका छन् । घटनास्थलमा पुगेका प्रनाउ कुँवरले हत्यामा संलग्न व्यक्तिको पहिचान र खोजी भइरहेको बताए । मनीषालाई छपनी प्रहार गरेको देखेर बचाउन गएका प्रियंका र अमृतालाई चिर्पट प्रहार गरेर घाइते बनाई भागेका स्थानीयको भनाइ छ ।
सामाजिक सञ्जाल चलाउन दर्ता गर्नुपर्ने प्रस्ताव
काठमाडौं । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ । दर्ताबाहेकका अन्य कसुरमा पाँच लाख रुपियाँसम्म जरिबाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद्, केन्द्रलगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ । मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ । यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटकभन्दा बढी कसुर गरेमा जरिबाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ । कसुरका मुद्दाको सुरु क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ । सामाजिक सञ्जालको दुरुपयोगबाट पीडित व्यक्तिको गुनासो सुनुवाइका लागि पाँच सरकारी निकायलाई तोकिएको छ । सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीलाई गुनासो व्यवस्थापन गर्ने निकाय तोक्ने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहनेले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था प्रस्तावित छ । व्यक्ति, कम्पनी र संस्थाले प्लेटफर्म दर्ता गर्न सक्ने छन् । प्लेटफर्मको प्रकृति अनुसार विभिन्न १६ प्रकारका कागजात अनिवार्य गर्ने प्रस्ताव विधेयकमा छ । दर्ता नवीकरण र खारेजीको व्यवस्था पनि विधेयकमा प्रस्तावित छ । खारेजीपछि पुनः दर्ता र सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभर सञ्चालन रोक लगाउन सक्ने अधिकार पनि सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रलाई दिने प्रस्ताव गरिएको छ । सामाजिक सञ्जाल सञ्चालकले प्लेटफर्ममा प्रकाशन प्रसारण भइसकेका सामग्री हटाउनुपर्ने प्रावधान पनि विधेयकमा समेटिएको छ । सामाजिक सञ्जाल व्यवस्थापनको केन्द्र र सम्बद्ध निकायले हटाउन निर्देशन दिएका सामग्री हटाउनुपर्ने छ । यस्ता सामग्री नहटाए मन्त्रालयले पटकैपिच्छे १० लाख रुपियाँका दरले जरिबाना गर्न सक्ने व्यवस्था प्रस्तावित विधेयकमा उल्लेख छ । प्रस्तावित विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि पालना गर्नुपर्ने सर्त पनि उल्लेख गरेको छ । मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताविपरीतका कार्य सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गर्न नहुने सर्त तोकिएको छ । यस्तै घृणाजन्य अभिव्यक्ति दिन नहुने, गाली बेइज्जती र हेट स्पिच हुने कार्य गर्न नहुने पनि सर्त राखिएको छ । मिथ्या सूचना, दुष्प्रचार प्रकाशन प्रसारणमा रोक लगाइएको छ । कानुनले निषेध गरेका विज्ञापन र कारोबार गर्न नहुने पनि सर्त तोकिएको छ । साइबर बुलिङ र अनलाइन बुलिङ गर्न नहुने, फेक आइडी, पेज तथा ग्रुप निर्माण गर्न नहुने, सामाजिक सद्भाव र सहिष्णुताविपरीत कार्य गर्न नहुने पनि प्रस्तावित विधेयकमा उल्लेख छ । बालश्रम, बहुविवाह तथा जातीय छुवाछुत प्रोत्साहन गर्न नहुने, महिलालाई हानि पुर्याउने गरी सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, बालबालिकालाई हानि पुर्याउने सामग्री प्रकाशन प्रसारण गर्न नपाइने, फिसिङ गर्न नमिल्नेलगायतका विषय पनि प्रस्तावित विधेयकमा समेटिएका छन् । निर्वाचनलाई प्रभावित पार्न, बीभत्स तस्बिर प्रयोग गर्न, विपत्मा अफवाह फैलाउन, मानहानि गर्न, तस्बिरको स्वरूप बिगारी प्रकाशन गर्न वैयक्तिक गोपनीयता भङ्ग गर्न नमिल्ने व्यवस्था पनि प्रस्तावित विधेयकमा उल्लेख छ । सामाजिक सञ्जाल प्रयोग र नीतिगत व्यवस्थाका लागि सामाजिक सञ्जाल व्यवस्थापन परिषद् गठन हुने विधेयकले प्रस्ताव गरेको छ । परिषद्को अध्यक्ष सञ्चार तथा सूचना प्रविधिमन्त्री हुने र समितिमा मन्त्रालयका सचिव, सूचना प्रविधि विभागका महानिर्देशकलगायत सदस्य हुने व्यवस्था प्रस्तावित छ । परिषद्लाई सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त निर्धारण, प्रयोगको नीतिगत व्यवस्था गर्ने अधिकार प्रस्तावित छ । गोरखापत्रबाट
प्रहरी प्रतिष्ठानमा ध्यान कार्यशाला
काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा ‘ध्यानद्वारा उर्जा जागरणको एक दिवसीय कार्यशाला’ सुरु भएको छ। प्रहरी संगठनसहित गृह मन्त्रालय मातहतका निकायमा योगाभ्यास, प्राणायाम र उर्जाध्यानको संस्कृति स्थापित गर्ने अभियान अन्तर्गत नै यो कार्यशाला सुरु भएको हो। कार्यशालामा प्रशिक्षक रमेश नेपालले दुईसय भन्दा बढी प्रहरीलाई योगाभ्यास सिकाउनु हुनेछ। शनिबार दिनभरी चल्ने कार्यशालाको उद्घाटन उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरे। त्यसक्रममा उनले ध्यानलाई धर्मसँग होइन विज्ञानसँग जोडेर हेर्नुपर्ने, स्वजागरणका रुपमा हेर्नुपर्ने र आफुलाई चिन्न, बदल्न, असल बन्न तथा स्वच्छ बन्न यो आवश्यक हुने बताए। पूर्वीय सभ्यताको रूपमा स्थापित ध्यानलाई हाल पश्चिमाले समेत अनुसरण गर्न थालेको उनले बताए । प्रतिष्ठानका प्रमुख एवम एआइजी सन्दीप भण्डारीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यशालामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुवर सहितका प्रहरी अधिकारीहरूको सहभागीता छ।
पृथ्वी राजमार्ग धमाधम कालोपत्रे
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । सो सडकको पूर्वी खण्डमा हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुग्लिन–पोखरा सडक र नारायणगढ बुटवल सडकखण्डको सडक आयोजनाको प्रधानमन्त्री कार्यालय सिंहदरबारको कट्रोलबाट अनुगमन गरेर कामलाई तिब्रता दिन निर्देशन दिएका थिए । ततपश्चात दुवै क्षेत्रको सडक खण्डको कामले तिब्रता पाएको हो । आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको छ । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको छ । पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कलभर्ट निर्माणको कामले पनि गति लिएको छ । राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा ६३१ घरटहरा भत्काइने छ । त्यसका लागि २२ करोड ४५ लाख रुपियाँ मुआब्जा वितरण गरिने छ । पूर्वी खण्डको कामका लागि २०७७ साल माघ १७ गते सम्झौता भई २०७८ साल वैशाख २ गतेदेखि काम सुरु भएको थियो । यो खण्डमा तीन ठुला र चार साना पुल निर्माण गरिने छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल वैशाखसम्म छ । पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे गर्ने तयारी थालिएको छ । तनहुँको जामुनेबाट पोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्रे थाल्ने तयारी गरिएको हो । पश्चिम खण्डका प्रमुख राजेश पौडेलले त्यसका लागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको जानकारी दिए । केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको र १४ प्रतिशत काम पूरा भएको उनले जानकारी दिए। सडक कालोपत्रेका लागि करिब दुई किलोमिटर आधारको काम सकिएको पश्चिम खण्डले जनाएको छ । पश्चिम खण्डका अनुसार माघ महिनाको पहिलो हप्ताबाट कालोपत्रे भइरहेको छ । २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा छ । पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म २०७८ साल जेठ २ गते सम्झौता भई सोही सालको भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद २०८१ साल भदौसम्म छ । यो खण्डको ठेक्का सात अर्ब ४० करोड ४६ लाख रुपियाँमा लागेको हो। २०२६ सालमा रेखाङ्कन भएको सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४६ मिटर फराकिलो बनाइने तर एकतर्फी २१ र अर्कोतर्फी २१ गरी ४२ मिटर सडक बन्ने जानकारी दिए । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।
ललितपुरको प्रजिअमा तुलसीबहादुर र प्रहरी प्रमुखमा खनाल
काठमाडौं । गृह मन्त्रालयले ललितपुरको प्रमुख जिल्ला अधिकारीमा तुलसीबहादुर श्रेष्ठलाई पठाएको छ । यसैगरी मन्त्रालयले प्रहरी प्रमुखमा एसएसपी शेखर खनाल लाई पठाएको छ । बालकुमारी घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित गृह मन्त्रालय र ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाह प्रहरी हेडक्वार्टरमा तानिएका थियो ।
एमालेले ६ जनालाई गर्यो केन्द्रीय सदस्यमा मनोनित
काठमाडौं। नेकपा एमालेले ६ जनालाई पार्टी केन्द्रीय सदस्यमा मनोनित गरेको छ । शुक्रबार बसेको केन्द्रीय सचिवालय बैठकले कोशीका तुलसीप्रसाद न्यौपाने, वागमतीका केशवराज पाण्डे, कर्णालीका विनोद शाह, सुदूरपश्चिमका दामोदर भण्डारी, मधेस रामअवतार यादव र झापाका दिपक कार्कीलाई केन्द्रीय सदस्यमा मनोनित गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । मनोनितमध्ये कार्की बाहेकका ५ जना तत्कालीन प्रदेश अध्यक्ष रहेका थिए भने कार्की झापा जिल्लाका अध्यक्ष रहेका थिए ।
सर्लाहीको बरहथवामा गोली चल्दा एक जनाको मृत्यु
सर्लाही। सर्लाहीको बरहथवामा शुक्रबार दिउँसो प्रहरीले गोली चलाएको छ । गोली लागेर एक जनाको मृत्यु भएको छ । बरहथवा नगरपालिका–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेस, जनमत, जसपासहितका दलले गरेको प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरीले गोली चलाएको जनाएको छ । गोली लागी सोही वडाका जयशंकर साहको मृत्युभएको बताइएको छ । तर प्रहरीले अहिलेसम्म त्यसको पुष्टि गरेको छैन । उनी आन्दोलनकारी नभएर सडकमा हिँडिरहेको बटुवा रहेको आन्दोलनकारीको दाबी छ । आन्दोलनकारीबाट नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको निजी घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले घटनास्थलको थप विवरण आउन बाँकी रहेको र स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए । बरहथवा बजार क्षेत्रमा अहिले व्यापक मात्रामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । गत असोज ९ गते बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । पुस १८ गते बसेको कार्यपालिका बैठकमा बहुमत सदस्यले सो निर्णय तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । कांग्रेससहित केही दलका जनप्रतिनिधि भने निर्णय कार्यान्वयन हुनुपर्ने पक्षमा छन् । यही विषयमा छलफल गर्न शुक्रबार बिहान सर्वदलीय बैठक बोलाइएकोमा नगरपालिकाले सूचना निकालेर बैठक स्थगित गरेको छ । नगरप्रमुख कल्पनाकुमारी कटुवालसहित बहुमत कार्यपालिका सदस्य प्राथमिक स्वास्थ्य केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण नगर्ने पक्षमा रहेका छन् ।
भरतपुर भ्रमण वर्ष २०२४ : समुद्घाटन फागुन १८ गते
काठमाडौं । भरतपुर भ्रमण वर्ष २०२४ को समुद्घाटन फागुन १८ अर्थात् मार्च १ तारिख हुने भएको छ । भरतपुर महानगरपालिकाको शुक्रबार बसेको ९० औँ कार्यपालिका बैठकले पूर्वनिर्धारित तालिकाअनुसार नै सन् २०२४ भर विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । यो निर्णय आगमी १४ औँ नगर सभाले अनुमोदन गर्ने छ । यस अघि भरतपुर भ्रमण वर्ष २०२४ जनवरी १ तारिख उद्घाटन गर्ने कार्यक्रम स्थगन गरिएको थियो । भरतपुरको मुख्य सडक, मुग्लिन नारायणगढ सडक, नारायणगढ बुटवल सडकखण्डलगायतका सडक तीब्र निर्माणको चरणमा रहेकाले केही समयपछि भ्रमण वर्ष सार्ने निर्णय गरिएको थियो । यस्तै ९० औँ कार्यपालिका बैठकले चालु आर्थिक वर्ष ०८०/०८१ को वार्षिक नीति, कार्यक्रम र बजेज कार्यन्वनको समिक्ष गरेको छ । बैठकको समिक्षालाई आगामी पुस २२ गते हुने नगर सभाको १४ औँ अधिवेशनमा पेश गर्ने निर्णय गरेको महानगरका प्रशासन शाखा प्रमुख झलककुमार श्रेष्ठले जानकारी दिए । नगर सभाको १४ औँ अधिवेशनबाट पुरक बजेट परित गर्ने निर्णय पनि भएको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै गत आर्थिक वर्षमा उपभोक्ता समितिमार्फत सञ्चालित योजनाहरुको म्याद थप नगर्ने निर्णय पनि गरेको छ । भरतपुर महागनरपालिको १४ औँ नगर सभा भरतपुर २८ को गोलाघाटमा गर्ने तयारी गरिएको छ । यस अघि भरतपुरको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अडेटेरियम हलमा हुने गरेको नगर सभा पश्चिम चितवनको पर्यटकीय स्थल गोलाघाटमा हुन लागेको हो ।

