टाट पल्टिएको साउदीको कम्पनीले ५७१ नेपाली श्रमिकलाई बोलायो तलब लिन (सूचनासहित)
काठमाडौं । साउदी अरबको एक कम्पनीले नेपाली श्रमिकलाई बाँकी तलब र सुविधा लिन बोलाएको छ। मोहमद अल मोजिल ग्रुप कम्पनी टाट पल्टिएर श्रमिकको पारिश्रमिक समेत दिन नसक्ने अवस्थामा पुगेको थियो।
यसअघि टाट पल्टिएपछि पारिश्रमिक लगायत सुविधा नदिई कम्पनीले कर्मचारी बिदा गरेको थियो। ५ सय ७१ जना नेपाली श्रमिकले सो कम्पनीबाट तलब सुविधा लिन बाँकी छ।
तर कम्पनीबाट पाउनु पर्ने तलब तथा अन्य सुविधा लिन बाँकी रहेका नेपाली श्रमिकको सूची सार्वजनिक गर्दै सो कम्पनीले उनीहरुलाई बोलाएको हो।
कम्पनीले नेपाली कामदारहरुसँग सम्पर्क गराई कम्पनीबाट पाउनु पर्ने सुविधा भुक्तानीमा सहजीकरण गरिदिन रियादस्थित नेपाली दूतावासलाई समेत अनुरोध गरेको छ।
दूतावासले सूचना जारी गर्दै उक्त कम्पनीबाट सुविधा लिन बाँकी नेपालीलाई आवश्यक विवरण भर्न सूचना जारी गरेको छ।
कोइलाखानीको सुरूङमा मृत भेटिएका पुरूषको हत्या भएको पुष्टि, तीन जना पक्राउ
काठमाडौं । दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङमा मृत भेटिएका घोराही उपमहानगरपालिका – ६ अघरा ४५ शिवराज केसीको हत्या भएको पुष्ट भएको छ। घोराही – ६ अघरा टोल विकास संस्थाका अध्यक्षसमेत रहेका केसी पुस ८ गते घरदेखि घोराही बजार जान्छु भनेर निस्किएका थिए । उनी शुक्रबार सुरूङमा मृत बंगलाचुली गाउँपालिका ४ गदारी फाँटको जंगलमा रहेको कोइलाखानीको सुरूङमा मृत भेटिएका थिए । केसीको छातीलगायत शरीरका अन्य भागमा चोटपटक देखिएको छ। घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार केसीको हत्यामा संलग्न तीन जना पक्राउ परेका छन्। स्रोतका अनुसार केसीको हत्या गरी कोइलाखानीको सुरूङ मार्गमा लुकाएर ति तीन व्यक्तिहरू भारत भागेका थिए। उनीहरूलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको हो। घटनामा संलग्न अर्का एक व्यक्ति फरार रहेको र उनको खोजी तीव्र पारिएको छ। प्रहरीले आजै घटनाबारे जानकारी गराउने र पक्राउ परेका व्यक्तिहरू सार्वजनिक गर्ने तयारी गरेको छ।प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार लेनदेनका कारण केसीको हत्या गरिएको खुलेको छ।
कालीगण्डकी करिडोर अन्तर्गत नागढुङ्गा–काभ्रे खण्डको काम सुरु
म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको नागढुङ्गादेखि काभ्रे खण्डमा चार वर्षपछि सडक निर्माण पुनः प्रारम्भ भएको छ । विसं २०७६ चैतमा कोरोना महामारी फैलिएपछि रोकिएको अन्नपूर्ण गाउँपालिका–२ नागढुङ्गादेखि वडा नम्बर ३ को काभ्रे खण्डमा सडक निर्माणको काम यसै महिनादेखि सुरु भएको हो । नागढुङ्गा–काभ्रे खण्डको सडक विस्तार र कालोपत्रका लागि सञ्चालित योजनाका ठेकेदार चार वर्षपछि काममा फर्किएका अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले जानकारी दिए । उनले भने, ‘लामो समयको प्रतीक्षापछि ठेकेदार काममा फर्किएकाले सडकको अवस्था सुधार हुने अपेक्षा गरेका छौँ । निर्माणलाई गति दिन सहजीकरण र समन्वय गरिरहेका छौँ ।’ विसं २०७४ मा निर्माण कम्पनी शर्मा–गजुरमुखी नागढुङ्गा–कैकुखोला खण्डको १६ दशमलव ५ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो । विसं २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण नागढुङ्गा–काभ्रे खण्डको सडकमा क्षति भएको थियो । पहिरोपछि बीमा दाबी प्रक्रियामा भएको ढिलाइले रोकिएको सडक निर्माणलाई पुनः थालिएको शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए । ‘आगामी जेठ महिनाभित्र सडक निर्माणलाई पूर्णता दिने कार्ययोजनाका लागि उपकरण, मजदुर परिचालन गरेका छौँ’, उनले भने, ‘हाल एक सय १० जना मजदुर, चारवटा ब्रेकरसहितको डोजरलगायत आवश्यक उपकरण निर्माणस्थलमा ल्याइएको छ ।’ विसं २०७६ मा निर्माण सकिनुपर्ने यो सडकको निर्माण अवधिसँगै लागत पनि बढेको छ । पछिल्लोपटक भएको ‘भेरियसन अर्डर’सहित लागत ६३ करोड पुगेको छ । हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक योजनाका इञ्जिनियर विष्णु चापागाईँले बताए । घाँसा–कैकुखोला खण्डको दुई किलोमिटर सडकमा डीबीएसडी प्रविधिको कालोपत्र गर्ने काम सकिएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रे र बाँदरजुङभिर क्षेत्रमा करिब एक किलोमिटर दूरीमा विस्फोटक पदार्थको प्रयोग गरी सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ । सोही सडकमा ६ सय मिटर ढलानको तयारी गरिएको छ । पहिरो र कटानको उच्च जोखिमका कारण विभिन्न ठाउँमा २ दशमलव ५ किलोमिटर सडकलाई कालोपत्रबाट झिकिएको छ । नागढुङ्गा–काभ्रे खण्डमा ८ दशमलव ५ किलोमिटर दूरीमा डीबीएसडी प्रविधिको कालोपत्र गर्ने तयारी भएको हो । बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको बेगखोला–नागढुङ्गा खण्डको करिब १० किलोमिटर सडक पनि कालोपत्र सुरु भएको छ । शर्मा–युनाइटेड कम्पनीले ठेक्का लिएको यो सडकको नागढुङ्गादेखि बेगखोलातर्फ ‘प्राइम कोड’ बिछ्याउन थालिएको हो । यो खण्डमा सडक विस्तार, नाली, पर्खाल निर्माण सकेर ‘बेस’ र ‘सब बेस’सँगै प्राइम कोड बिछ्याउने काम भइरहेको आयोजनाले जनाएको छ । राहुघाट–बेगखोला खण्डको राहुपारेदेखि कुनौटासम्म ६ किलोमिटर सडक चार वर्षअघिनै कालोपत्र भए पनि धेरै ठाउँमा जीर्ण बनिसकेको छ । राहुघाट–बेगखोला खण्डको बाँकी भाग स्तरोन्नति र कालोपत्रको कामलाई नागढुङ्गा–बेगखोलाको काम सकेपछि पूर्णता दिने निर्माण कम्पनीले जनाएको छ । भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर लामो कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङस्थित चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने दुई सय दुई किलोमिटरसडक दुई लेनको कालोपत्र र ग्राभेल बनाउन विसं २०७३–०७४ देखि सुरु भएको योजनाको हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त सडकको छ खण्डमा ८५ किलोमिटर ग्राभेल र तीन खण्डमा १९ किलोमिटर कालोपत्र गरिएको छ । उक्त सडक योजनाअन्तर्गत १३ वटा पक्की पुल र तीन वटा बेलिब्रिज निर्माण भएका छन् ।
देशको समस्या हामी सबैको हो, ग्वार्को घटनालाई राजनीतीकरण नगरौं : दयाहाङ राई
काठमाडौं । कलाकार दयाहाङ राईले देशको समस्या सबैको समस्या भएको बताउँदै कोही कसैले उद्देलित र आक्रोशित बनाउँन नहुने बताएका छन् । उनले समाजिक संजाल फेस्बुकमा स्टाटस लेख्दै ग्वार्को मा जे नहुनु थियो भयो त्यसलाई राजनीतीकरण नगरौ भनेका हुन् । उनले सामाजिक संजालमा लेखेका छन् -‘जे नहुनु थियो भयो अब यसलाई राजनीतीकरण नगरौ, युबाहरूमा निरस र आक्रोस आउनु देखिनु तपाई हामी नै जिम्मेवार हुनुपर्छ यो गाऊँ समाज अनी देशको समस्या हो र हाम्रो समस्या हो । अझ उद्देलित र आक्रोशित नबनाऊ सत्तापक्ष र प्रतिपक्ष दुबैले होस् पूर्याउ’
महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जवल छ : अर्थमन्त्री डा.महत
नुवाकोट । अर्थमन्त्री डा.प्रकाशशरण महतले महिलाको हातमा रहेको सहकारीको भविष्य उज्जल रहेको बताएका छन् । नुवाकोट पञ्चकन्या ४ स्थित थप्रेकमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री डा.महतले भने, महिलाहरु पुरुषको तुलनामा काममा बढी समर्पित हुन्छन् । पुरुषहरु एउटा जिम्मेवारीमा केन्द्रित हुन सक्दैनन् । महिला दिदीबहिनीको हातमा कुनै जिम्मेवारी पर्यो भने, त्यसलाई गम्भीररुपमा लिनुहुन्छ, परिणाम ल्याउन रातदिन काम गर्नुहुन्छ ।’ उक्त सहकारी संस्था ४ वर्ष अगाडि स्थानीय महिला दिदीबहिनी मिलेर निर्माण गरेका हुन् । सानातिना आवश्यकता पूर्ति गर्न र आम्दानी बचत गर्न सहकारी स्थापना गरिएको हो । सहकारीमा बचत भएको रकम जसलाई आवश्यकता पर्छ, उसले प्राप्त गर्छन् । सरकारले यसमा सहयोग पनि गरिरहेको कार्यक्रममा अर्थमन्त्री डा। महतले बताए । उनले भने, ‘आफूले उत्पादन गर्न खोजेको वस्तु पूँजीको अभावमा समस्या भोग्नुपर्थ्यो, त्यसको निराकरण गर्न सहकारीको ठूलो भूमिका देशैभरि रहेको छ । पछिल्लो समय सहकारी बद्नाम पनि भयो । कतिपय सहकारीले ठूलो आकार लियो, ठूलो सहकारीमा व्यवस्थापक कहाँ छ थाहा हुँदैन, बचतकर्ता देशैभरि छन् । व्यवस्थापकले बचतकर्ताको विश्वास दुरुपयोग गरे ।’ साना किसान सहकारी स्थानीय तहमा केन्द्रित छ । आफै मिलेर बचतलाई संरक्षण गर्छ त्यसलाई नेतृत्व चुनिन्छ, जिम्मेवारी पाउँछ, जसले गर्दा यसको दुरुपयोग हुन पाउँदैन, मन्त्री डा. महतले भने । युवाहरु विदेशिएका छन्, सहर पसेका छन् । घर सञ्चालनको जिम्मेवारी महिला दिदीबहिनीमा आएको छ । घरभित्र मात्र होइन, घर बाहिरको जिम्मेवारी पनि महिलाको हातमा आएका मन्त्री डा। महतले बताए ।, ‘महिला दिदीबहिनी समाजको महत्वपूर्ण अंग बनेको स्मरण गर्नुहुँदै मन्त्री डा.महतले भने, ‘महिलाहरु घर बाहिर उत्पादन र व्यवसायमा लागिरहेका छन् । अब हामीले महिला उद्यमशीलतामा ज्यादा जोड दिनुपर्छ ।’ गाउँघरको विकास अब महिला दिदीबहिनीको नेतृत्वमा अगाडि बढ्छ । जति पनि विकास निर्माणको काममा महिलाको चासो र चिन्ता बढेको छ मन्त्री डा. महतले बताए ।
खेलाडी सवार बस दुर्घटना : एकको मृत्यु, १३ घाइते
कपिलवस्तु। मकवानपुरमा सञ्चालन भएको अन्तर प्रदेश स्तरीय राष्ट्रिय उसु प्रतियोगितामा सहभागी भएर फर्किएको टोली सवार गाडी दुर्घटना हुँदा १ खेलाडीको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ चोर खोलामा शनिबार राति १ बजे खेलाडी सवार बस ट्रकसँग ठोकिएको थियो । हेटौडाबाट धनगढी जाँदै गरेको सु.प. ०१–००१ ख ३३९२ नम्बरको बस र लु १ ख ८६०८ को ट्रक एकापसमा ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक तारिकचन्द्र चौधरीले बताए । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका-१२ वर्षकी उसु खेलाडी निता खड्का रहेको प्रहरीले जनाएको छ । बसमा सवार अन्य १३ जना घाइते हुनुभएको छ । घाइतेमध्ये ३ जनाको चौराहा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक चौधरीले बताए । घाइते हुनेमा उसु खेलाडी पुष्पा कुँवर, सपना तामाङ, सृजना बिसी, मुकेश कार्की, अस्मिता गाहा मगर, अभि महतो, हरिचन्द्र कार्की, दीपक चौधरी, ज्ञानु विक र निर्णायक खुसीराम थारु, राजीव गुप्ता, एलिसा खाती रहेको सुदूर पश्चिम प्रदेश खेलकुद परिषद्ले विज्ञप्तिमार्फत जनाएको छ ।
लेखनाथ महोत्सवको गेटमा बस दुर्घटना, फुटपाथ व्यापारीको मृत्यु
पोखरा । पोखरामा चलिरहेको लेखनाथ महोत्सव स्थलको गेट नजिकै बसको ठक्करले एक जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भएर महोत्सव स्थल नजिकै फुटपाथमा व्यापार गरिरहेका व्यापारीलाई ठक्कर दिएको हो । उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विरोध गर्नु राष्ट्र हित विपरित : मन्त्री किराँती
काठमाडौं । संस्कृति तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको बिरोध गर्नु राष्ट्र हित विपरित भएको बताएका छन् । शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरण को २५ औँ वार्षिकोत्सव ९रजत० का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् । मन्त्री किराँतीले निजगढ विमानस्थल अहिले बनाउन नदिइ विरोध गर्नेहरुले १० वर्षपछि देशलाई हुने घाटा व्यहोर्नुपर्ने बताए । उनले निजगढ बनाउन लाग्दा बाधा अवरोध गर्नु राष्ट्र हित विपरित हुने बताए । मन्त्री किराँतीले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जतिसुकै ठूलो बनाए पनि त्यसले परिणाम दिन नसक्ने बताए। उनले काठमाडौंको एयरपोर्ट बनाउनु र ९० वर्षकी आमालाई लिपिस्टिक पाउडर लगाएर राम्री बनाउनु उस्तैउस्तै भएको टिप्पणी गरे। उनीले काठमाडौंको विकल्प सरकारले खोज्नैपर्ने भन्दै यसको विकल्प निजगढ विमानस्थल भएको बताए ।
‘सिप बिल्डिङ’का सबैलाई इपिएस परीक्षामा सामेल गराइने
काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत पानीजहाज निर्माण (सिपबिल्डिङ) क्षेत्रमा आवेदन दिएका परीक्षार्थीले पनि उत्पादन क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरेर पानीजहाज निर्माण क्षेत्रको परीक्षामा सहभागीहरूलाई पुस १६ देखि १८ गतेसम्म आवेदन दिन भनेको हो । पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएका १८ जना परीक्षार्थीले उत्पादन क्षेत्रको पनि परीक्षा दिन पाउनुपर्ने माग गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । अदालतले ‘निवेदकको माग बमोजिम गर्न’ आदेश दिएपछि विभागले आवेदन खुलाएको हो । विभागका अनुसार पानीजहाज निर्माण क्षेत्रमा आवेदन दिएकाहरूले मात्र उत्पादन क्षेत्रको भाषा परीक्षामा दिन पाउने छन् । उनीहरूबाहेक अरूले आवेदन दिए स्वतः रद्द हुने विभागले जनाएको छ ।
बालकुमारी प्रकरण : मानव अधिकार आयोगले थाल्यो अनुगमन
ललितपुर । ललितपुरको बालकुमारी सडक क्षेत्रमा भएको झडपमा दुई जनाको मृत्यु भएको घटनाप्रति राष्ट्रिय मानव अधिकार आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षामा आवेदन दिन पाउनुपर्ने माग गर्दै युवाहरुले गरेको आन्दोलनको क्रममा शुक्रबार प्रहरीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको थियो । ‘ईपीएस परीक्षाका सबैतर्फको छनौट प्रक्रियामा सहभागी हुन पाउनुपर्ने माग राखी प्रदर्शनमा उत्रिएका युवाहरुमाथि प्रहरीले बल प्रयोग गर्दा प्रहरी र प्रदर्शनकारीहरु बिच झडप भएको, झडपमा परी गम्भीर घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको, अन्य थप केही घाइते भएका र केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको पाइएको छ’, आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रदर्शनकै क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले प्रयोग गर्ने गरेको सवारी साधनमा आगजनी गरेको पाइएको भन्दै आयोगले गाडीमा सवार सबैजना सकुशल रहेको भए पनि गाडी तथा गाडीमा रहेका कागजातहरू जलेर पूर्ण रूपमा नष्ट भएको जनाएको छ । यस सम्बन्धमा थप अनुगमन गर्नका लागि आयोगको टोली आजै घटनास्थलतर्फ गइसकेको प्रवक्ता टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
मुख्यमन्त्रीहरूले ‘मुख्यमन्त्री संयन्त्र’ निर्माण गर्ने
काठमाडौं। सातै प्रदेशका मुख्यमन्त्रीहरूले तीनै तहका सरकारको कार्य जिम्मेवारी र अधिकार क्षेत्रमा स्पष्टता ल्याउन कार्य विस्तृतीकरणमा गर्नुपर्ने परिमार्जनका लागि सबै प्रदेशका मुख्य न्यायाधिवक्ता रहेको कार्यदल गठन गर्न माग गरेका छन् । हेटौँडामा शुक्रवार सम्पन्न मुख्यमन्त्रीहरूको भेलाले प्रदेशहरूको बीचमा बनेका कानुन र अब बन्ने कानुन तथा सङ्घ, प्रदेश र स्थानीय कानुनहरू बीचमा तादाम्यता कायम गर्न गर्नुपर्ने कार्यहरू पहिचान गरी नियमित रूपमा मुख्यमन्त्रीहरूको संयन्त्रमा पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् । नौ बुँदे साझा पत्र सार्वजनिक गर्दै मुख्यमन्त्रीहरूले साबिकमा जिल्ला वन अधिकृतबाट कारबाही किनारा हुने वनसम्बन्धी मुद्दाको निरूपण प्रदेशको डिभिजन वन अधिकृतले गर्न सक्ने गरी शीघ्र कानुनी व्यवस्था गर्न माग गरेका छन् । त्यसैगरी प्रदेशका साझा सवालमा एकरूपता कायम गरी समन्वय, सहजीकरण र सहकार्यका लागि अन्तर प्रदेश मुख्यमन्त्री संयन्त्र निर्माण गर्ने उनीहरूको निर्णय छ । ‘उक्त संयन्त्रको बैठक सामान्यतया प्रत्येक तीन महिनामा एक पटक बस्ने । संयन्त्रको बैठक आयोजना गरेको प्रदेशको मुख्यमन्त्रीले अर्को बैठकसम्म संयन्त्रको संयोजन र नेतृत्व गर्ने । साथै, यस संयन्त्रको आगामी बैठक लुम्बिनी प्रदेशमा गर्ने’, साझा पत्रमा भनिएको छ ।
अधिकारी र चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त
काठमाडौं। रामकृष्ण अधिकारी र सुशीला चौधरी गोरखापत्र संस्थानको सल्लाहकार नियुक्त भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई व्यवस्थापन, आर्थिक एवम् प्रिन्टिङ र चौधरीलाई कानुनी सल्लाहकार नियुक्त गरेको हो। नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर २ घर भएका अधिकारी लामो समयदेखि पत्रकारितामा सेवामा सक्रिय छन् । उनी राजधानी, नयाँ पत्रिका, अन्नपूर्ण पोस्ट दैनिक, रेडियो मिर्मिरे र मेरो न्युज डटकममा काम गरिसकेका छन् । पत्रकारिता विषयमा स्नातकोत्तर अधिकारी नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्यसमेत रहेका हुन । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १७ घर भएकी चौधरी लामो समयदेखि कानुन व्यवसायमा सक्रिय छिन्। राजनीतिशास्त्रमा स्नातकोत्तर चौधरीले कानुन विषयमा एलएलबी गरेकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १४ को उपदफा (१) बमोजिम अधिकारी र चौधरीलाई सल्लाहकारमा नियुक्त गरेको हो।
बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैन : मन्त्री ज्वाला
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् । ईपीएस परीक्षामा सहभागी हुन नपाएका युवाहरुले शुक्रवार मन्त्री ज्वालाको गाडी रोकेर आगजनी गरेका थिए । त्यसपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको मृत्यु भएको थियो । एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताएका हुन् । उनकाे गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकेर, हावा खुस्काइ र जलाइएको थियो ।
बालकुमारी तनाबपछि अदालतको अन्तरिम आदेश -‘आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउनू’
काठमाडौं । उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश दिएको हो ।
अंकमा आधारित कार्य सम्पादन मूल्यांकन प्रणाली लागु गर्न मन्त्री शर्माको निर्देशन
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले मन्त्रालयअन्तर्गतका निकाय र महाशाखाहरुको कार्य सम्पादन मूल्यांकन प्रभावकारी बनाउन अंकमा आधारित नजिता प्रणाली लागु गर्ने बताएकी छिन् । आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक कार्यक्रम कार्यान्वयनको प्रगति समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले मन्त्रालयमाताहतका निकाय र महाशाखाहरुको कार्य सम्पादन सन्तोषजनक नभएको भन्दै अंकमा आधारित नतिजा प्रणालीमार्फत मूल्यांकन गर्ने बताइन् । त्यसका लागि कार्यतालिका बनाएर हरेक महिनाको प्रगति विवरण मन्त्रालयमा पेश गर्न पनि उनले सम्बन्धित निकाय र महाशाखाका प्रमुखहरुलाई निर्देशन दिइन् । छलफलमा सबै राम्रो भएजस्तो देखिने तर परिणाममा कमजोरी देखिने कारण के भन्ने प्रश्न गर्दै मन्त्री शर्माले आफ्नो कामप्रति प्रतिबद्ध भएनौं कि भनेर हरेक निकाय, महाशाखा र शाखाको नेतृत्वले समीक्षा गर्नुपर्ने बताइन् । ‘प्रधानमन्त्रीले मन्त्रीहरुको कार्य सम्पादन हेरिरहनुभएको छ, हामीले तपाइँहरुको कार्य सम्पादन हेरिरहेका छौं’– उनले भनिन्– ‘हरेक मन्त्रलायका निकाय, महाशाखा, विभाग, शाखाहरुले राम्रो कार्य सम्पादन गरेपछि मात्रै समग्र सरकारको कार्य सम्पादन नतिजा प्रभावकारी हुने भएकाले हामी सबै गम्भीर हुनुपर्छ । हामी कुनै पनि तहका रहेकाहरुले निर्धारित कार्य सम्पादन गर्न सकेनौं भने पद मात्रै ओगटेर बस्नु हुँदैन ।’ मन्त्रालयका हरेक निकाय, महाशाखा र विभागहरुले आफ्नो गर्न सक्ने कामको योजना आर्थिक वर्षको अघि नै माइलस्टोनको रुपमा तय गर्ने गरेका हुन्छन् । तर, आफैले तय गरेका माइलस्टोन कार्यान्वयन गर्न गर्न नसकेको असन्तुष्टि जनाउँदै मन्त्री शर्माले प्रश्न गरिने– ‘गर्न सकिदैन भने योजना बनाउनु हुँदैन तर आफैले छानेका माइलस्टोन योजना किन पूरा भएनन् ?’ अब हरेक महिना नजिता बढाउने गरी काम गर्न पनि उनले निर्देशन दिइन् । मन्त्रालयका कतिपय योजनामा अर्थमन्त्रालयले समयमै सहमति नदिंदा पनि काम गर्न समस्या भएको उनले जानकारी दिइन् । मन्त्री शर्माले भनिन्– ‘अर्थमन्त्रालयले समयमै सहमति नदिंदा विभिन्न निकायको पुनःसंरचना, साइबर सुरक्षा केन्द्र स्थापना, एक पालिका एक हुलाकको अवधारणा रोखिएका छन्, यसमा हामीले मन्त्रालयस्तरबाटै पहल गरिरहेका छौं तर संरचना, जनशक्ति र बजेट भएका निकायमा कुनै पनि बहाना चल्दैन, सबै निकायले माइलस्टोन पूरा गरेकै हुनुपर्छ ।’ मन्त्रालयका सचिव कृष्णबहादुर राउतले माताहतका निकायहरुको प्रगतिकै आधारमा मन्त्रालयको प्रगति निर्धारण हुने भएकाले कार्य सम्पादन सम्झौताअनुसार काम गर्न र गरेका कार्य प्रगतिको यथार्थ विवरण प्रणालीमा प्रविष्ट गराउन आग्रह गरे। प्रगति विवरण उत्साहजनक नभएको उल्लेख गर्दै उनले कुनै पनि बहाना नगरी कार्य सम्पादन नतिजा कमजोर बनाउन नपाइने बताइन् । कार्यक्रम सहजीकरण मन्त्रालयका आर्थिक तथा योजना महाशाखा प्रमुख बाबुराम भण्डारीले गरेका थिए ।
शेर्पालीलाई पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा वाइसिएलका अध्यक्ष सुबोध शेर्पालीका दिवङ्गत बुवा तेजबहादुर शेर्पालीलाई पार्टीको झन्डा ओढाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रद्धाञ्जलि अर्पण गरेका छन् । वाइसीएल नेपालका केन्द्रिय अध्यक्ष सुबोधराज शेर्पालीका बुबा तेज बहादुर शेर्पाली उपाचारको कममा ६७ वर्षको उमेरमा मनमोहन मेमोरीयल मेडिकल कलेज शिक्षण अस्पताल स्वायम्बूममा हिजो साँझ निधन भएको थियो ।

