जनप्रतिनिधीसँग वाँदर हेर्ने कर्मचारीको माग

प्रेम सुनार

गुल्मी, असार २२ । गुल्मीका विभिन्न स्थानमा बाँदरबाट आतंकित भएका कृषकहरुले उमेदावारहरु भोट माग्न जाँदा वाँदर नियन्त्रणको माग गरेको विजयी उमेदवारले बताएका छन् ।

‘अरु बरु पर्दैन्थ्यो, रातदिन खेतीवाली खाएर हैरान पारेका बाँदर लखेट्ने कर्मचारीको व्यवस्था मिलाई दिए धन्य हुने भनेर जनताले भोट माग्न जाने बेलामा माग गरेको रेसुङ्गा नगरपालिका वडा नम्वर ७ का नवनिर्वाचित वडाध्यक्ष मोहन पाण्डेले बताए । उनले भने, ‘यस वडाका जनता बाँदरबाट निकै आतंकित बनेका रहेछन् । ’ त्यस्तै रुरु गाउँपालिका अन्तरगत साविकको थानापति, ग्वादी, रेसुङ्गा नगरपालिकाको अर्खले लगायतका जनताले पनि वाँदरले हैरान पारेको दुखेसो भोट माग्न जाने उमेदवारहरुसंग गरेको विजयी उमेदवारले बताएका छन् ।

मुसिकोट नगरपालिकाका नव निर्वाचित मेयर सोमनाथ सापकोटाले यस्तै यस्तै झिनामसिना विषयहरु नै जनताले भोट माग्न जाने बेलामा माग गरेको बताए । उनले भने–‘मैले त जनताले ठूला ठूला विषय उठाउलान भनेको थिएँ, तर निकै झिना मसिमान कुरा जस्तै वाँदर आतंकबाट मुक्ति, कुला, नाला, दुई चार मिटर पाईप जस्ता विषय माग गरेका पाएँ ।’ उनले जनताले पहिला आधारभुत कुराहरुनै माग गरेकोले त्यो छिट्टै पुरा गर्न सकिने दावी गरे । उनले मुसिकोट नगरपालिकामा पहिलो काम प्रत्येक घरमा विद्युत सुविधा पुराउन पहल गरिने बताए ।

कर्णालीमा रगत अभाव

काठमाडौं, २३ असार । कालिकोटको तिलगुफा गाउँपालिकाकी गर्भवती ३५ वर्षीया सर्पना हमाललाई मंगलबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुर्याउँदा अवस्था सामान्य नै थियो । सर्पनाको कोखबाट राति २ बजेतिर छोरा जन्मियो पनि । सामान्य रुपमै बच्चा जन्मिएपछि सर्पनाका श्रीमान जयबहादुर हमाल खुसी भएका थिए । तर, केही क्षणमै जयबहादुरको खुसीको माहोल बिग्रिँदै आत्तिनुपर्ने अवस्थामा परिणत भयो । सर्पनाको रक्तश्राव हुन थालेपछि जयबहादुर मात्र होइन, डाक्टरसमेत आत्तिए । बच्चा जन्मिएको केही क्षणदेखि नै उनलाई रक्तश्राव भएको थियो । त्यसपछि मध्यरातमै नेपाली सेनाको भगवती दल गणका जवान, नर्सिङका विद्यार्थी तथा सशस्त्र प्रहरीले आवश्यक रगत प्रदान गरेपछि मात्रै सर्पनाको ज्यान बचाउन चिकित्सक सफल भए । यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हो । कर्णालीमा रगत अभाव हुँदा बिरामीको उपचारमा समस्या परिरहेको अन्नपूर्ण पोस्टमा खबर छ ।

मुग्लिन–नारायणगढ सडकखण्ड रातमा बन्द

काठमाडौं, असार २१ । सरकारले यही सातादेखि लागू हुने गरी दैनिक ११ घन्टा मुग्लिन–नारायणगढ सडकमा सवारी आवागमन बन्द गर्ने भएको छ । साँझ ६ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भएको सडक विभागले जनाएको छ । सडक निर्माण कार्यलाई तीव्रता दिने भन्दै रात्रि समयमा आवागमनमा रोक लगाइएको हो । ‘चितवन प्रशासनसँग यस विषयमा छलफल सुरु गरिएको छ, भोलि वा पर्सिदेखि रात्रि यातायात सेवालाई पूर्ण रूपमा बन्द गरिनेछ,’ विभागका उपमहानिर्देशक तथा मुग्लिङ–नारायणगढ सडक आयोजनाका संयोजक सञ्जयकुमार श्रेष्ठले भने । भदौको पहिलो सातासम्म राति सवारीसाधन सञ्चालनमा रोक लगाउने विभागको योजना छ । हाल सडक निर्माणलाई तीव्रता दिने भन्दै दैनिक ६ घन्टा यातायात सञ्चालन गर्न बन्द गरिँदै आएको छ । गत १५ चैतदेखि दैनिक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म सडक बन्द गरी काम गर्न गर्ने गरिएको छ । त्यसअघि साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्र सडक बन्द गरिन्थ्यो ।, नयाँ पत्रिकामा खबर छ । ६ जनाको मृत्यु, ४० घन्टा सडकमै बास सो सडकखण्डमा पहिरोका कारण यो वर्षको तीन महिनामा ६ जनाको ज्यान गइसकेको छ । देशकै सबैभन्दा धेरै ट्राफिक हुने यो सडकमा दैनिक १४ हजार सवारीसाधन गुड्ने गरेको तथ्यांक छ । यात्रुले ४० घन्टासम्म सडकमै बिताउनुपर्ने बाध्यता पनि छ । मुग्लिन–नारायणगढ सडकखण्डमा अहिले नियमितजसो पहिरो गइरहेको छ । यसकारण दैनिक रूपमा आवतजावत गर्ने करीब १४ हजार सवारीसाधन प्रभावित हुने गरेका छन् । राती सडक बन्द गर्न विकास समितिको निर्देशन  संसद्को विकास समितिले मुग्लिन–नारायणगढ सडक डेढ महिनासम्म राति बन्द गर्न निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले राति बैकल्पिक मार्गको प्रयोग गर्न, सम्भव भएसम्म राति पनि सडक विस्तारको कार्य गर्न तथा जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्न वा तत्काल बैकल्पिक व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।  

कालीगण्डकीको पानीजहाज सेवा बन्द

काठमाडौं, असार २१ । मुलुककै सबैभन्दा ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) बर्षायामसँगै अवरुद्ध भएको छ । नदीमा पानीको वहाव बढेपछि दूर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर बन्द गरिएको हो । सेवा बन्द भएपछि पर्वत, स्याङ्जा र गुल्मी जिल्लाका ग्रामिण क्षेत्रका बासिन्दाले ४ घण्टा लामो यात्रा गर्नु परेको छ ।, नेपाल समाचारपत्रमा खबर छ ।

एमालेको नयाँ अड्को, फेरि अर्को संशोधन प्रस्ताव ल्याए मात्रै पास गर्ने

काठमाडौं । सरकारले तेश्रो पटक संविधान संशोधन प्रस्ताव दर्ता समेत असन्तुष्ट नेकपा एमालेले नयाँ संशोधन प्रस्ताव ल्याए पारित गर्न सहयोग गर्ने जनाएको छ । व्यवस्थापिका संसदमा दर्ता संशोधन आफूसँग सल्लाह नगरि ल्याएको भन्दै एमालेले त्यसमाथि समेत संशोधन गरेर नयाँ प्रस्ताव ल्याउन माग गरेको हो । मंगलबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै एमाले सचिव प्रदीप ज्ञवालीले भने, “अहिलेको संशोधन प्रस्ताव हामीसँग सल्लाह नगरी ल्याइएको हो । यो पास गर्न कुनै हालतमा सहयोग गर्दैनौं, साँच्चिकै संविधान संशोधन गर्नुपर्ने हो भने राजपासहित सबै मुलधारका दलहरु एक ठाउँमा बसेर छलफल गर्नुपर्छ ।’ एमाले सचिव ज्ञवालीले प्रदेश र संसदको चुनाव समयमै गर्न तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न माग गरे । कार्यक्रममा सत्तारुढ दल नेपाली कांग्रेसका नेता दिपक खड्काले असार २५ गतेभित्रै मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । साथै तेस्रो चरणको चुनाव अघि नै संविधान संशोधन प्रस्ताव पारित गराउने सरकारले तयारी गरेको समेत जानकारी दिए । उनले केहीदिनभित्रै राजपा नेपालले अघि सारेका राजनीतिक मागहरु पूरा हुने दाबी गरे । कार्यक्रममा राष्ट्रिय जनता पार्टी नेपालका नेता केशब झाले आफूहरुको माग पूरा नभए कुनै पनि निर्वाचनमा भाग नलिने बताए । आफूहरु निर्वाचन विरोधी नभएपनि माग पुरा नगरेर चुनावमा जानबाट रोकेको उनको दाबी छ ।

घट्यो हवाई भाडा, कहाँ जान कति लाग्छ ?

काठमाडौं, असार २० । नेपाल वायुसेवा सञ्चालक संघले हवाई भाडा घटाएको छ । आन्तिरकतर्फको हवाई इन्धनको मूल्य लिटरको ४ रूपैयाँ घटेसँगै देशका विभिन्न भागमा जाने हवाई भाडामा कमी आएको छ। नयाँ भाडा दर बुधबार देखि कार्यान्वनयमा आउने भएको सिम्रिक एयरका मार्केटिङ म्यानेजर प्रज्वल थापाले जानकारी दिए । हवाई भाडामा लामो दुरीमा २ सय रुपैयाँ सम्म घटेको छ । विराटनगर जाने यात्रुले यसअघि ७ हजार २ सय तिर्नुपर्दथ्यो । तर अब भने ७ हजार १ सय ४ रुपैयाँ मात्रै तिरे हुने भएको छ । भद्रपुरमा ८ हजार ७ सय रुपैयाँ तिर्दै आएका यात्रुले अब ८ हजार ५ सय ७६ रुपैयाँ तिरे पुग्ने भएको छ । त्यसैगरी माउन्टेन फ्लाइटमा यसअघि ११हजार तिर्दै आएकोमा अब १० हजार ८ सय ६२ मात्रै तिरे हुने भएको छ ।

बिप्लवद्वारा अनिश्चितकालिन यातायात बन्दको घोषणा

रोल्पा २० असार । गिरप्तार गरिएका कार्यकर्ता अझै रिहा नगरेको जनाउँदै नेपाल कम्युनिस्ट पार्टीले यहाँ अनिश्चितकालीन यातायात बन्द आह्वान गरेको छ । सो पार्टीका रोल्पा जिल्ला सेक्रेटरी दलकहादुर खत्रीले विज्ञप्ति जारी गरी निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका आफ्ना कार्यकर्ता अझै रिहा नगरेको भन्दै बन्द आह्वान गरिएको बताउनुभयो । रोल्पामा ११ जना र एक पत्रकारलाई गिरफ्तार गरी लामो समय हिरासतमा राखेर आइतबार राति १० बजे रिहा गरिए पनि केही दिनअघि अर्का कार्यकर्ता वीरबहादुर ओलीलाई गिरफ्तार गरी हालसम्म पनि रिहा नगरेको पार्टी रोल्पाले जनाएको छ । गिरतार गरिएका आफ्ना कार्यकर्ता रिहा नभएसम्म यातायात बन्द जारी रहने सो पार्टीले बताएको छ ।

एनसेलले ल्यायो ‘म्याजिक भ्वाइस’ सेवा

काठमाडौं, असार २० । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले एक नयाँ रोचक भ्यालु एडेड सर्भिसको मजा लिन सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘म्याजिक भ्वाइस’ सेवा ल्याएको छ, जस अन्र्तगत एनसेलका सबै ग्राहकले आफ्ना साथीभाई तथा परिवारसँग आफ्नो मोबाइलमा कुरा गर्दा आफ्नो आवाज र ब्याकग्राउण्ड साउण्ड परिवर्तन गरी मोबाइलमा कुरा गर्न सक्नेछन् । यो सेवा सुचारु गरे लगतै एनसेलका ग्राहकले आफ्नो आवाज परिवर्तन गरि कार्टुन क्यारेक्टर, महिला अथवा अन्य कुनै क्यारेक्टरको जस्तो आवाजमा कुरा गर्न सक्नेछन् । यसका साथ(साथै ग्राहकले कुरा गर्दा ट्राफिक जाम, एयरपोर्ट, फुटबल स्टेडिएम, बर्थडे टोन लगायतका विभिन्न ब्याकग्राउण्ड साउण्ड आफ्नो मोबाइलमा राख्न पनि सक्नेछन् । यो सेवा आईभिआरमा आधारित सेवा भएकोले कुनै पनि मोबाइल सेट प्रयोग गर्नुहुने एनसेल प्रयोगकर्ताले यो सेवा सजिलै प्रयोग गर्न सक्नेछन् । म्याजिक भ्वाइस सेवा सोमबार (असार १९) बाट लागु भएको छ । एनसेलका ग्राहकले दैनिक वा साप्ताहिक रुपमा यो सेवा एक पटक अथवा स्वतः नविकरण हुने गरी सुचारु गर्न सक्नेछन् । एनसेलका ग्राहकले कर सहित मात्र रु २ मा दैनिक म्याजिक भ्वाइस सेवा सुचारु गर्न सक्नेछन् भने साप्ताहिक रुपमा यो सेवा सुचारु गर्न कर सहित मात्र रु १० लाग्नेछ । मनोरञ्जनले भरिपुर्ण यो सेवा सुचारु गर्न चाहने ग्राहकले एस्ट्रिक्स१७१३५ह्यास डायल गरी अथवा १७१३५ डायल गरि यो सेवा निःशुल्क सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएस मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन् । दैनिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘एमभि१’ र स्वतः नविकरण हुने दैनिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘एमभि’ लेखि १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । त्यस्तै स्वतः नविकरण हुने साप्ताहिक सेवाको लागि अङग्रेजी ठूलो अक्षरमा ‘७एमभि’ र साप्ताहिक सेवा सुचारु गर्नका लागि अङ्ग्रेजी ठूलो अक्षरमा ‘७एमभि१’ टाइप गरी १७१३५ मा एसएमएस पठाउनु पर्नेछ । सेवा सुचारु गरेपछि एनसेलका ग्राहकले १७१३५ डायल गरि आफुले कुरा गर्न खोजेको नम्बर डायल गरी निर्देशन अनुसार १, २ वा ३ प्रेस गरी कुनै पनि आवाज छान्न सक्नेछन् भने ४, ५, ६ वा ७ प्रेस गरी आफुले चाहेको ब्याकग्राउण्ड साउण्ड छनोट गरी सेवाको मजा लिन सक्नेछन् । यो सेवा अन्तर्गतको म्याजिक भ्वाइस तथा ब्याकग्राउण्ड साउण्डमा कुरा गरीरहेको बेलामा डायल प्याडबाट ‘०’ पे्रस गरी प्रयोगकर्ताहरु आफ्नै आवाजमा फर्कन सक्छन् । म्याजिक भ्वाइसबाट कुरा गर्दा भ्वाइस सेवा अन्तर्गतको विद्यमान् शुल्क लाग्ने छ । ‘‘यो रोचक सेवा ग्राहकमाझ ल्याउन पाउँदा हामी निकै हर्षित छौ । हामीलाई विश्वास छ यसले ग्राहकलाई थप मुल्य प्रदान गर्ने छ र सेवा प्रयोगको अनुभव अभिवृद्घिमा योगदान गर्नेछ । साथै यो सेवामा हामी मासिक रुपमा थप विभिन्न क्यारेक्टरहरुको आवाज र ब्याकग्राउण्ड साउण्डहरु थप्दै लग्ने छौ,’’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो सेवा सुचारु गर्नुहुने ग्राहकले सेवा निष्कृय गर्न अङ्ग्रेजीमा ‘युएनएसयुबि एमभि’ (सुरुको यु र एमभि ठूलो अक्षरमा) लेखि १७१३५ मा एसएमएस पठाउन सक्नेछन् ।

बम फाल्ने आँट कसरी आयो दुर्गाबहादुर रानालार्इ ?

काठमाडौं, असार २० ।  मान्छेको जिवनमा कहिले के हुन्छ कसैलाई थाहा हुँदैन । त्यस्तै भयो ५ दिनका लागि दाङ काज खटिएका दुर्गाबहादुर सुवेदीको हकमा पनि । काठमाडौंबाट दाङ खटिँदा सामान्य हवल्दार थिए ५ दिनपछि फर्किंदा सेलीब्रेटी पनि भएका छन् । कुरा उनै बम समातेर फाली सर्वसाधारण जनताको ज्यान जोगाउने हवल्दार दुर्गाबहादुर रानाको हो ।  कसरी बम समातेर फाल्ने आँट आयो भन्ने प्रश्नमा उनले भने, प्रहीले दिएको जिम्मेवारी पूरा गर्न म सहित ६७ जनाको टिम दाङ पुगेका थियौं । र, मलाई तुलसीपुरस्थित अम्बास मतदान केन्द्रमा खटाइयो । बिहान नौ बजेसम्म केही पनि भएको थिएन । साढे ९ बजे बुथ केन्द्रमै पुग्ने गरी पूर्व दक्षिण भागबाट बम आयो । त्यस ठाउँमा हुस्सु लागेको थियो । कसले बम फाल्यो भन्ने थाहा हुन सकेन । बम खस्न लागेको मात्र देखें । मलाइ बमसम्बन्धी सामान्य जानकारी थियो । त्यो सकेट बम रहेछ । जति टाढा फाल्यो उति सुरक्षित भइन्छ भनेर आत्माले सोच्यो । र बम हातमा समात्नेबित्तिकै फाल्दिहालें । फालेको दुई-तीन सेकेन्डमा निकै ठूलो आवाजले पड्कियो । र सबैले सहज तरिकाले मतदान गरे,  नेपाल समाचरपत्रमा खबर छ ।

भीषण वर्षाका कारण जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध अवरुद्ध

महोत्तरी गौशाला, असार २० । महोत्तरी जिल्लामा गएराति परेको भीषण वर्षाका कारण जिल्लाको मुख्य बाटो जलेश्वर–जनकपुर सडकखण्ड अवरुद्ध भएको छ । रातभरिको भीषण वर्षाका कारण जिल्लाको जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिट्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका बाटो पनि अवरुद्ध भएको छ । जिल्लाका प्रायः सबै बाटामा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँठाउँमा खाल्डाखुल्डी भएकाले ती खाल्डाखुल्डीमा पानी जमेर यातायातका साधन चलाउन नसकिने भएको छ । सबै बाटोमा माटाका थुप्रा यततत्र रहेकाले पानी परेपछि सबैतिर हिलैहिलो भएर यातायातका साधन फस्ने र दुर्घटना हुने डर भएकाले बाटो अवरुद्ध भएको छ । भीषण वर्षाका कारण हिलो र पानी जमेर कुनै पनि बाटोमा बस, जिप, ट्र्याक्टर, ट्रक, टेम्पु, अटोरिक्सा र मोटरसाइकलसमेत चलाउने अवस्था नभएपछि जिल्लाका सबै बाटो अवरुद्ध भएको हो । यसैबीच, जिल्लाभित्रको एकमात्र जलेश्वर–बर्दिवास पक्की बाटो भएकाले सो बाटो भने अवरुद्ध नभएको तथा बाटो सुचारु नै रहेको देखिएको छ ।

महालेखा परीक्षकले के दिए निर्देशन

काठमाडौँ, असार २० । महालेखा परीक्षक टङ्कमणि शर्मा दङ्गालले आव २०७३/७४ को लेखापरीक्षण सम्बन्धमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपाल, सो बैंकका उच्च पदाधिकारीहरु तथा लेखापरीक्षकहरुसँग छलफल गरे  । महालेखा परीक्षकको कार्यालयका अनुसार छलफलका क्रममा महालेखा परीक्षक शर्माले नेपाल राष्ट्र बैंकलाई लेखापरीक्षणको कार्यमा सहयोग गर्न, आन्तरिक नियन्त्रण प्रणालीलाई मजबुत पार्दै नियमनकारी कार्यलाई प्रभावकारी बनाउन निर्देशन पनि दिए  । त्यसैगरी, महालेखापरीक्षक शर्माले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीसहितको टोलीसँग नेपाल नागरिक उड्डयन प्राधीकरण, नेपाल वायुसेवा निगम, नेपाल पर्यटन बोर्ड, पशुपति क्षेत्र विकास कोष तथा अन्तर्गतका नियकाहरुमा लेखा, लेखापरीक्षण, आन्तरिक नियन्त्रण तथा अन्य विषयमा देखिएका समस्याहरुबारे समेत छलफल गरे  । त्यस क्रममा ती कार्यालयहरुको आन्तरिक नियन्त्रण प्रणालीमा सुधार गर्ने, आन्तरिक लेखापरीक्षणलाई प्रभावकारी बनाउने, तोकिएको ढाँचामा समयमै वित्तीय विवरणहरु तयार गरी समयमै लेखा परीक्षण सम्पन्न गराउने र बक्यौता लेखापरीक्षण भदौ मसान्त भित्रै सम्पन्न गर्ने गरी काम कारबाही गर्न निर्देशन दिए ।

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

काठमाडौं, असार २० । ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी तथा नगद रुपैयाँ असुली गरेको फेला परेपछि कारबाही गरिएको महाशाखाका डिआइजी मिङमार लामाले बताए । उनका अनुसार कारबाहीमा पर्नेमा दुई हवल्दारसहित आठजना प्रहरी जवान छन् । लामाले प्रहरी हवल्दारद्वय लेखनाथ यादव र दीपक बोहोरा, प्रहरी जवानहरु भरत कार्की, मानदेव चौधरी, भरतबहादुर चन्द, लक्षुमन साह, रमेश राउत, विनोदकुमार गिरी, बालेश्वर यादव र गोपाल पोखरेल कारबाहीमा परेको बताए, नयाँ पत्रिकामा खबर छ ।

मेलम्ची खानेपानी आयोजनाको ट्याङ्की निर्माणस्थलमा तालाबन्दी

काठमाडौं, असार १९ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका ९ का स्थानीयबासीले काममा लापरबाही गरेको भन्दै मेलम्ची खानेपानी आयोजनाको आरुबारीस्थित ट्याङ्की निर्माणस्थलमा आज तालाबन्दी गरेका छन् । खानेपानीको पाइप बिच्छ्याउन सडकमा खनिएको खाल्डोमा वर्षापछि पानी जिमेर सडकमा हिड्न र सवारी चलाउन गाह्रो भएको भन्दै स्थानीयबासीले प्रदर्शनसहित तालाबन्दी गरेका हुन् । आवत जावत गर्ने मुख्य सडकमात्र नभएर वैकल्पिक सडक पनि प्रभावित भएको भन्दै विकासको नाममा नागरिकालाई सास्तीे सहन गाह्रो भएको स्थानीयले बताएका छन्।

मर्मतका लागि सिङ्गापुर लगिदैं निगमको बोइङ

काठमाडौं, असार १९ । नेपाल बायुसेवा निगमको बोइङ मर्मतका लागि सिङ्गापुर लगिने भएको छ । अन्तर्राष्ट्रिय उडान भर्दै आएको नेपाल वायु सेवा निगमको एक मात्र बोइङ कलसाइन ९ एनएसिबी मर्मत गर्न सिङ्गापुर लगिने भएको छ । एक साता बढीदेखि ग्राउन्डेड रहेका उक्त बोइङको मर्मत गर्न करिब ४५ देखि ६० दिन लाग्न सक्ने निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार यकिन मिति तय नभए पनि आगामी असार ३० र ३१ गतेका दिन बोइङ सिङ्गापुर लगिनेछ । उक्त बोइङको सट्टामा निगमले भुटानबाट लिजमा विमान ल्याउने तयारी गरेको छ । भुटान एयरलाइन्सको विमान भाडामा ल्याएर सेवा दिने प्रवक्ता श्रेष्ठले बताए । निगमले एक बोइङ र दुई एयरबसबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएकोमा पछिल्लो केही दिनयता एक मात्र बोइङ ग्राउन्डेड भएको थियो । नेपालमै मर्मत गरे पनि नबनेपछि थप मर्मतका लागि उक्त बोइङलाई सिङ्गापुर लगिने भएको हो । निगमले अर्को पुरानो बी ७५७–२०० ९ एन–एसिए विमान बिक्रीका लागि पटक–पटक ‘ग्लोबल टेन्डर’ आह्वान गरिसकेको छ । निगमले हाल आठ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।

पखालाबाट एकको ज्यान गयो

गोरखा, असार १९ । दुई सातादेखि फैलिएको झाडापखालाबाट गोरखाको सुलिकोट गाउँपालिका–२ बारपाकमा एक बालकको ज्यान गएको छ । बारपाकको कोजे गाउँका १५ महिने बालक अमृत घलेको मृत्यु भएको हो । झाडापखालाको समस्या देखिएको सूचना प्राप्त हुनासाथ त्यसको नियन्त्रण गर्न र दूषित पानी प्रयोग नगर्न जनचेतना जगाउन स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले जानकारी दिए । दिनहुँ चार पाँचजना पखालाका बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य चौकी बारपाकका प्रमुख अनिलकुमार शाहले बताए । दूषित पानीको प्रयोगले गर्दा पखालाको समस्या देखिएको हो ।

१८ जिल्लाको मतगणना सकियो, ९१ स्थानीय तहमा मतगणना जारी, ६ स्थानमा स्थगित

काठमाडौं, असार १९ । यही असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । प्रदेश नं. १, ५ र ७ का ३५ जिल्ला मध्ये १८ जिल्लाको सबै स्थानीय तहको मतगणना सकिएको छ । दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तह मध्य केहीसमय अघिसम्म २ सय ३७ स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । संयुक्त निर्वाचन परिचालन केन्द्रका अनुसार हाल ९१ स्थानीय तहको मतगणना कार्य भइरहेको र ६ स्थानीय तहमा स्थगित भएको छ । स्थगित भएका स्थानमा मतगणना कार्य सुचारु गर्ने प्रयास भइरहेको पनि निर्वाचन आयोगले जनाएको छ ।