डुम्रे–छिर्कन सडक कालोपत्र गर्न गिट्टी राखिदै
तनहुँ । पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडकअन्तर्गत डुम्रे–छिर्कन छ किलोमिटर खण्ड कालोपत्र गर्न धमाधम गिट्टी राखिँदैछ । बन्दीपुर१ नाहलापुलबाट व्यास(१२ छिर्कनसम्म कालोपत्रको तयारी गरिएको हो ।
यसअघि कात्तिकमा उक्त सडकमा एकतर्फी कालोपत्र गरिएको थियो । पोखरा–मुग्लिन सडक आयोजना (पूर्वी खण्ड) का इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार कालोपत्र गर्न अर्कोतर्फकाे सडक कालोपत्रको चरणमा पुगेको हाे । त्यसमाथि राखिएको ‘बेस’ सुकेपछि प्राइम कोट प्रयोग गरी कालोपत्र गरिनेछ ।
उक्त राजमार्गको पूर्वी खण्डमा करिब १२ किलोमिटर एकतर्फी कालोपत्र भइसकेको छ । एक साताभित्र थप तीन किलोमिटर कालोपत्र गरिने इञ्जिनियर पाण्डेले राससलाई जानकारी दिनुभयो । आँबुखैरेनी खण्डमा करिब दुई किलोमिटर बाटो दुवैतर्फ कालोपत्र भइसकेको छ ।
पोखरा–मुग्लिन सडक योजना पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा ठेक्का लागेको हो । चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले आगामी वैशाखसम्ममा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको इञ्जिनियर पाण्डेले बताए ।
विपीन जोशीको रिहाइका निम्ति कूटनीतिक प्रयास जारी छ : परराष्ट्रमन्त्री साउद
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले आतंकवादी समूह हमासको अपहरणमा परेका विपीन जोशीको सकुशल मुक्तिका लागि सरकारले निरन्तर कूटनीतिक प्रयास गरिरहेको बताएका छन्। न्यूज लाइन्स मिडियाको ८ औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित ‘समुन्नत नेपाल निर्माणमा सञ्चारमाध्यमको भूमिका’ विषयको गोष्ठीमा उनले सो बताए । मन्त्री साउदले प्रजातन्त्र पुनःस्थापनापछि नेपाली पत्रकारिता क्षेत्रमा क्रान्तिकारी परिवर्तन आएको बताए। उनले २०४७ सालदेखि नेपाली पत्रकारिता क्षेत्रमा ठूलो परिवर्तन आएको बताए । उनले संविधान जारी गरेपछि तीनै तहको निर्वाचन गरेर सरकार लोकतन्त्रलाई सुदृढ तुल्याउन क्रियशाील भएको बताए।
सङ्घीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शनिबार दिउँसो काठमाडौंको सीतापाइलामा एकीकृत अखिल नेपाल शिक्षक संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले सो जानकारी दिए । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘‘तपाईहरू धेरैलाई सङ्घीय शिक्षा ऐन के हुन्छ भन्ने जिज्ञासा छ। अहिले संसद अधिवेशन समापन भएको छ। नयाँ अधिवेशन बोलाएपछि पहिलो काम नै सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी ऐन र सङ्घीय शिक्षा ऐन संसदबाट पारित गराउन पहल हुन्छ। यो ऐन सरकारको उच्च प्राथमिकतामा छ।’’ ‘‘तपाई शिक्षकहरूले आफ्ना माग र मुद्दा सम्बोधन गर्न सडकबाट समेत दवाव दिए। यसले सरकारलाई सहयोग पुगेको छ’’ प्रधानमन्त्रीले भने, ‘‘तपाईहरूले अहिलेको मस्यौदामा जुन सुझावहरू दिनुभएको छ, त्यसमध्ये जायज र सम्भव मागहरू सम्बोधन गरिनेछ।’’
मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउन आवश्यक : मन्त्री शर्मा
धनकुटा।सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको तीब्र विकासका लागि डिजिटल पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएकी छिन् । मध्यपहाडी राजमार्गअन्तर्गत कोशी खण्डअन्तर्गत धनकुटाको हिले एक्सचेन्ज सेन्टरमा सूचना महामार्ग अप्टिकल फाइवर नेटवर्क उद्घाटन गर्दै उनले देश विकासका लागि डिजिटलाइजेसन आवश्यक रहेको र डिजिटलाइजेसनका लागि डिजिटल पूर्वाधारको विकास अनिवार्य रहेको बताइन् । नेपाल दूरसन्चार प्राधिकरणको ग्रामीण दूरसन्चार विकास कोषको लगानीमा नेपाल टेलिकमले ६८३ किलोमिटर सडकमा अप्टिकल बिछ्याइएपछि यो खण्डमा सूचना महामार्ग तयार भएको हो । यो महामार्गको सहप्रयोगबाट जुनसुकै इन्टरनेट सेवा प्रदायक कम्पनीले पनि इन्टरनेट सेवा विस्तार गर्न पाउने छन् । मन्त्री शर्माले यो आयोजना मध्यपहाडी लोकमार्गको सबै खण्डमा विस्तार गरिने जानकारी पनि दिइन् । माओवादी सरकारमा आएपछि सुरु भएको मध्यपहाडी लोकमार्ग गणतन्त्र नेपालको उपहार भएको उल्लेख गर्दै मन्त्री शर्माले मध्यपहाडी राजमार्गलाइ लक्षित गरेर निर्माण गरी सञ्चालनमा ल्याइएको यो सूचना महामार्गले मध्यपहाडी राजमार्ग परियोजनालाई पूर्णता दिंदै मध्यपहाडी क्षेत्रका बासिन्दालाई दूरसञ्चारको मूल प्रवाहमा जोड्ने सरकारले विश्वास लिएको बताइन् । सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिदै उनले सूचना प्रविधिको आधारभूत पूर्वाधार दूरसञ्चार नै भएको उल्लेख गरिन् ।यसमा पनि अझ अप्टिकल फाइवरमा आधारित फाइवर टु द होम सेवा विस्तारलाई जोड दिएको उल्लेख गर्दै मन्त्री शर्माले यो वर्षमा मात्रै सरकारले ताप्लेजुङ, बझाङ, बाजुरा, रुकुमपश्चिम, जुम्ला र कालीकोटमा सेवा विस्तार गरेर एफटिटिएच पुगेका जिल्लाको संख्या ७३ पुर्याएको जानकारी दिइन् । नेपाल टेलिकममार्फत प्रारम्भ गरिएको फोरजी सेवा ७३९ स्थानीय तहमा पुर्याइएको र देशको कूल ६७ प्रतिशत क्षेत्रमा फोरजी सेवा विस्तार गरिएको जानकारी दिदै उनले यसलाई शत प्रतिशत क्षेत्रमा विस्तार गर्न आवश्यक रहेको बताइन् । सेव विस्तारसँगै सेवा गुणस्तर कायम गर्नु अर्को अनिवार्य शर्त भएको औंल्याउँदै उनले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुको मर्मत सम्भारलाई थप चुस्त र प्रभावकारी बनाउन विहान ७ देखि साँझ ७ बजेसम्मको मर्मत सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको जानकारी दिइन् । मन्त्री शर्माले नेपाल टेलिकमबाट वितरण भएका सम्पूर्ण सेवाहरुलाई नमूना दूरसञ्चार सेवाको रुपमा विकास गर्नका लागि १९ जिल्लालाई छनौट गरी पूर्वाधार विस्तार, सेवाको पहुँच, सेवाको गुणस्तर, मर्मत सम्भार सेवाको वितरण प्रभावकारी बनाउने व्यवस्था मिलाइएको र यो नमूना जिल्ला कार्यक्रमले ती जिल्ला मात्र होइन, आसपासका जिल्लाहरुमा पनि सेवा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिन् । उनले दूरसञ्चार क्षेत्रमा देखिने बेथिति र अन्योल हटाउन नीति र प्रशासनिक दुुबै खालका काम अघि बढाइएको र नयाँ फ्रिक्वेन्सी नीति २०८० जारी गरेर नेपालको विकासमा अत्यावश्यकीय र राष्ट्रलाई महत्वपूर्ण योगदान दिने दूरसञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्ने गरी अघि बढाइएको जानकारी दिइन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं नेपाल दूरसञ्चार कम्पनीका अध्यक्ष कृष्णबहादुर राउतको अध्यक्षता भएको कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनाल, नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक सङ्गीता पहाडी, धनकुटाका प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेललगयतले बोलेका थिए ।
आज काठमाडौँका यी ठाउँमा विद्युत बन्द हुने
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आज काठमाडौँका केही स्थानमा विद्युत कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत रत्नपार्क वितरण केन्द्रको टेकु थापाथली फिडर अन्तर्गत पर्ने क्षेत्रमा चार घण्टा विद्युत बन्द हुने बताएको हो । प्राधिकरणका अनुसार थापाथली चोकदेखि नेपाल आँखा अस्पताल, राहदानी कार्यालय, दशरथ रङ्गशाला हुँदै ब्लु क्रस अस्पताल क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म फिडर सटडाउनमा राख्नुपर्ने भएका विद्युत सेवा अवरूद्ध हुने भएको हो । यसैगरी, महाराजगञ्ज वितरण केन्द्रको शिवपुरी फिडर अन्तर्गत डाँडागाउँ, पासिकोट, भष्मथली, टोखा, पंचेटार, मेगासिटी, ढलमल क्षेत्रमा पनि विद्युतीय तार भूमिगत गर्ने कामका लागि ती क्षेत्रहरूमा आज बिहान साढे ९ बजेदेखि दिउँसो २ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ।
राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्छन् : महासचिव गुरुङ
लमजुङ । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले निषेधको राजनीतिले मुलुक अघि बढ्न नसक्ने बताएका छन् । आज बेँसीसहरमा आयोजित कार्यक्रममा बोल्दै उनले सबै राजनीतिक दलबीच सहमति र सहकार्य गरेरै मात्र जनताले विकास पाउन सक्ने बताए । सामाजिक एकताका लागि सबै जातजाति, भाषाभाषी एकजुट भएमा देशको समृद्धि र विकास सम्भव रहेको उनको भनाइ छ ।
कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुरका भाई, गृहमन्त्री श्रेष्ठका दाईको निधन
काठमाडौं । नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नेमध्यका एक नरबहादुर कर्मचार्यका भाईको निधन भएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठका दाजुसमेत रहेका लक्ष्मण बहादुर कर्माचार्य ९६ बर्षको उमेरमा गएराति निधन भएको गृहमन्त्री श्रेष्ठले जानकारी दिएका छन् । गृहमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भौतिक रुपमा हामी सबैबाट बिदा हुनुभयो । उहाँको दुःखद निधनबाट स्तब्ध भएको छु । उहाँप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दछु ,श्रध्देय भाउज्यु लगायत शोकाकुल सबैमा गहिरो समवेदना प्रकट गर्दछु र यस क्षणमा हामी सबैमा दुःख सहने र धैर्य धारण गर्ने शक्ति प्राप्त हुन सकोस भन्ने कामना गर्दछु । नेकपाका संस्थापक सदस्य क। नरबहादुर कर्माचार्यका भाई समेत रहनु भएका श्रध्देय दाज्यु सदा स्मरणीय रहनुहुनेछ । ललितपुरको कुम्भेस्वर स्थित उहाँको घर गत क़रीब ९ दशक देखि लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनको एउटा महत्वपूर्ण केन्द्र रहँदै आएको छ । दुवै दाज्युहरु आज हामीसँग नरहनु भएपनि उहाँहरु र त्यो घर हामी सबैको आस्था र प्रेरणाको केन्द्र रहिरहनेछ ।’ कर्मचार्यको अन्तिम संस्कारको कार्य आज बिहान ८ बजे पशुपति आर्यघाटमा गरिने श्रेष्ठले जानकारी दिए ।
खुला विश्वविद्यालयका विद्यार्थीलाई अधिवक्ता लाइसेन्सको परीक्षामा वञ्चित नगर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीहरुलाई कानून व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासले शुक्रबार ती विद्यार्थीलाई परीक्षामा सामेल हुनबाट वञ्चित नगर्नु भनी नेपाल कानून व्यवसायी परिषदको नाममा आदेश दिएको हो ।दरखास्त लिई उनीहरुलाई समेत परीक्षामा भाग लिन दिनु भनी सर्वोच्च अदालतले परिषदलाई भनेको छ । खुला विश्वविद्यालयले तय गरेको कानूनको स्नातक तहको पाठयक्रम सीमित प्रकृतिको भएको र त्यसक्रममा हुनुपर्ने जति विषयवस्तु नभएको भन्दै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीलाई अधिवक्ता हुनका लागि आवश्यक पर्ने परीक्षामा सामेल हुन दिएको थिएन । लामो दुरीमा सिकाइ हुने गरेको, प्रयोगात्मक अभ्यासहरु हुन नसकेको लगायतका कारण देखाउदै परिषदले खुला विश्वविद्यालयबाट पास भएका विद्यार्थीहरुलाई लाइसेन्स परिक्षामा अस्विकार गर्दै आएका थिए । उच्च अदालत पाटनले खुला विश्वविद्यालयका विद्यार्थीलाई वञ्चित नगर्नु भनी आदेश दिइसकेको थियो । नेपाल कानून व्यवसायी परिषदको नियमावली संविधानसँग बाझिएको भनी केही विद्यार्थीले सर्वोच्च अदालतमा चुनौती दिएका थिए । तिनै निवेदनमाथिको प्रारम्भिक छलफलपछि सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
पत्रकारहरूको भैरहवा-लुम्बिनी पैदल यात्रा, बुद्धजन्मस्थलको पर्यटन प्रवर्द्धन उदेश्य
लुम्बिनी । पत्रकारहरूले शुक्रबार पर्यटन प्रवर्द्धन र विश्वशान्तिको सन्देश दिने उद्देश्यले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म बौद्ध सञ्चार पैदल यात्रा गरेका छन्। लुम्बिनी प्रेस क्लबको आयोजनामा भैरहवादेखि लुम्बिनीसम्म २२ किलोमिटर पैदल यात्रा गरिएको हो। करिब ४ घन्टा पैदल हिँडेर लुम्बिनी मायादेवी मन्दिर पुगेका पत्रकारसहितको टोलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) ले स्वागत गरे। उपाध्यक्ष डा.लामाले बौद्ध सञ्चार यात्राले विश्वमाझ शान्ति र अहिंसाको सन्देश प्रवाह गरेको बताए। उनले पत्रकारहरूले भैरहवादेखि बुद्धजन्मस्थल लुम्बिनीसम्म पैदल यात्रा गरेर विश्वभरका शान्ति, अहिंसाको सन्देशसँगै पर्यटन प्रवर्द्धनमा ठूलो योगदान दिएको बताए। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले बुद्धले बुद्धत्व प्राप्त गर्न जाँदा र शान्तिको सन्देश दिँदा हिँडेरै दिएको भन्दै लुम्बिनीमा पदयात्रा र आध्यात्मिक कार्यक्रम धेरैभन्दा भेरै हुन जरुरी रहेको बताए। लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बुद्धले पैदल हिँडेर आफ्नो ज्ञान र सन्देश बाँडेको बताउँदै त्यसैलाई पत्रकारहरूले अनुशरण गर्नु सकरात्मक भएको बताए। २२ किलोमिटर लामो मौन पदयात्राले शान्ति, अहिंसा र आध्यात्मिकताका लागि विश्वभर सन्देश पैदा गरेको क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझीले बताए।
निर्वाचन आयोगद्धारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । शुक्रबार आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति कार्यालयमा पुगेर वार्षिक प्रतिवेदन बुझाएका हुन् । राष्ट्रपति कार्यालयका सहसचिव कृष्णप्रसाद लम्सालका अनुसार आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रधानमन्त्रीको निर्देशनपछि तात्यो प्राधिकरण, बक्यौता नतिर्ने ४ उद्योगको काटियो बिजुली
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि नेपाल विद्युत प्राधिकरण सक्रिय बनेको छ । प्रधानमन्त्री प्रचण्डले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई दिएको निर्देशन पश्चात आज सोही मन्त्रालय मातहतको नेपाल विद्युत प्राधिकरणले बक्यौता रकम नतिरेका चार ठूला उद्योगको बिजुली काटेको हाे। जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्टको बिजुली लाइन काटिएको प्राधिकरण स्रोतले जनाएको छ। प्राधिकरणका अनुसार जगदम्बाले डेडिकेटेड लाइनको चार अर्ब १४ करोड रूपैयाँ तिर्न बाँकी छ। त्यस्तै रिलायन्सले एक अर्ब ९४ करोड रूपैयाँ र घोराही सिमेन्टले एक अर्ब ३६ करोड रूपैयाँ तिर्न बाँकी छ। अर्घाखाँचीको एक अर्ब ३० करोड बक्यौता रहेको प्राधिकरणले जनाएको छ।यी उद्योगको लाइन शुक्रबारै काटिएको हो। बक्यौता तिरेपछि मात्रै बिजुली पठाउने प्राधिकरणको भनाइ छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको संयुक्त समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्युतको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काटेर कर प्रणालीलाई व्यवस्थित गर्न निर्देशन दिएका थिए ।
विज्ञापन बजारलाई पारदर्शी बनाउने प्रक्रिया थालनी भएको छ : मन्त्री शर्मा
काठमाडौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले स्वस्थ्य प्रतिष्पर्धामा आधारित पारदर्शी विज्ञापन बजारले मात्रै विज्ञापन व्यवसायलाई प्रवर्धन गर्ने बताएकी छिन् । नेपाल बिज्ञापन सङ्घ (आन)को २४ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले पारदर्शी बिज्ञापन बजारले बिज्ञापनदाता, मिडिया र व्यवसायी तीनै पक्षको हित गर्ने बताइन् । आर्थिक संकुचलनले मुलुकको समग्र आर्थिक क्षेत्र प्रभावित भएको र यसको मारमा विज्ञापन बजार पनि परेको उल्लेख गर्दै उनले विज्ञापन बजारमा संकुचन आउँदा विज्ञापन बजारमा कार्यरत जनशक्ति र मिडियामा समस्या आएको बताइन् । । उनले भनिन् विज्ञापन बजारमा आएको संकुचनले विज्ञापन चक्रमा नै असर परिरहेको छ । आर्थिक क्रियाकलाप बढेसँगै विज्ञापन बजार पनि बढ्ने नै छ भन्ने विश्वास गर्न त सकिन्छ, साथसाथै विज्ञापन बजारलाई थप पारदर्शी र प्रतिष्पर्धी बनाउँदै लैजान पनि ध्यान दिनुपर्ने अवस्था छ । आफूले सञ्चार मन्त्रालय सम्हालेपछि मिडिया क्षेत्रबाट विज्ञापन बजार पारदर्शी भएन भन्ने ठूलो गुनासो सुनेपछि सरोकारवालासित छलफल गरेर विज्ञापन नियमावली संशोधनमार्फत विज्ञापन बजारलाई पारदर्शी र प्रतिष्पर्धी बनाउने प्रक्रियाको थालनी गरिएको जानकारी दिइन् । खासगरी सरकारी कार्यालयबाट वितरण हुने विज्ञापनमा चरम बेथिति रहेको र अस्वभाविकरुपमा कमिसनको दुरुपयोग हुने गरेको सूचनाले आफूलाई गम्भीर बनाएको उल्लेख गर्दै अब विज्ञापन नियमावली संशोधनमार्फत मिडियाको बिल बिजक र विज्ञापन एजेन्सीको शुल्कसमेत कागजात पेश गरेपछि मात्रै भुक्तानी हुने प्रावधानको थालनी गरिएको छ र यसले विज्ञापनको सबै हिस्सा मिडियासम्म पुग्ने र विज्ञापन एजेन्सीहरुले पाउनुपर्ने सेवा शुल्क पारदर्शीरुपमा पाउने वातावरण बन्ने छ भन्ने सरकारको विश्वास रहेको स्पष्ट गरिन्। विज्ञापन सामग्रीहरु लक्षित समुदायमा केन्द्रित नगरी औपचारिकताका लागि मात्रै सरकारी सूचना प्रवाह गर्ने देखिएको उल्लेख गर्दै मन्त्री शर्माले कुनै निश्चित जिल्लाको निश्चित पालिका वा समुदायका लागि आवश्यक सूचना त्यो ठाउँसम्म पहुँच नभएका मिडियामा दिने गरेकाले यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्ने बताइन् । विज्ञापन बजारका हिसाबले हेर्दा सार्वजनिक सूचना आर्थिक पक्षसँग पनि जोडिएला तर सरकार र जनताको आँखाबाट हेर्दा त यो जनताको सूचनाको हकसँग सम्बन्धित विषय भएको चर्चा गर्दै उनले विज्ञापनदाता वा विज्ञापन एजेन्सीहरुले जुन क्षेत्र र समुदायका लागि लक्षित सूचना हो, सोही ठाउँका मिडियाबाट प्रकाशन प्रसारण गर्ने व्यवस्था मिलाउनुपर्ने बताइन् । अहिले विज्ञापनको केही हिस्सा सामाजिक सञ्जाल मार्फत पनि जाने गरेको उल्लेख गर्दै उनले विज्ञापन नियमावली २०८० ले सामाजिक सञ्जालबाट हुने विज्ञापनको नियमन गर्ने बाटो समेत खुलाएको र यसका आधारमा विज्ञापन बोर्डले चाँडोभन्दा चाँडो नियमनको प्रक्रिया सुरु गर्नु आवश्यक रहेको बताइन्। सामाजिक सञ्जालमा हुने विज्ञापनले एकातिर नेपाली मुद्रा बिदेशिने खतरा बढाएको र अर्कोतिर नेपालमा दर्ता नभएका प्लेटर्फमा हुने कारोवारको जानकारी नै नेपाल सरकारलाई नहुने अवस्थाले समस्या सिर्जना गर्दै गएकाले सरकारले मस्यौदा गरिरहेको सामाजिक सञ्जालको प्रयोग तथा नियमनसम्बन्धी विधेयकमा पनि सामाजिक सञ्जालमा हुने विज्ञापनलाई निरुत्साहित गर्ने गरी प्रावधान समेटिने जानकारी दिइन् । विज्ञापनसँग जोडिएका अन्य केही थप सवालहरु पनि ध्यान दिन आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले खासगरी विज्ञापन उत्पादनको सवालमा देश, काल, परिस्थितिलाई ध्यान दिनुपर्ने बताइन् । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेर महिलालाई मुलुकको राष्ट्रपति बनाइसक्ने अवस्थामा पुग्दा पनि महिलाको भूमिकालाई चुलो चौका र भात भान्सामै केन्द्रित गर्ने आशयका विज्ञापन उत्पादन गर्ने, नेपालको संविधान र कानुनले प्रतिबन्ध गरेका विभिन्न कुप्रथालाई प्रोत्साहन गर्ने खालका विज्ञापन पनि उत्पादन र प्रकाशन प्रसारण गर्ने गरेको पाइएको उल्लेख गर्दै उनले यसमा विज्ञापनदाता, एजेन्सी र मिडियाहरु सचेत हुन आवश्यक रहेको बताइन्।
धनुषामा झडप : स्थानीय आक्रोशित, प्रहरीको गोली लागेर दुईजना घाइते
काठमाडौं । धनुषाको हंसपुर नगरपालिका–५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको प्रहरीको कुटाइपछि मृत्यु भएसँगै आक्रोशित स्थानीय प्रहरीचौकी घेराउ गर्न पुगेका थिए । सो क्रममा स्थानीय र प्रहरीबीच झडप भएको हो । भीडलाई हटाउन प्रहरीले गरेको हवाईफायरका क्रममा दुईजनालाई गोली लागेको छ । गोली लागेर सुगा निकासका ३६ वर्षीय शंकर मण्डल र १८ वर्षीय मतलुब अन्सारी घाइते भएका छन् । घाइते अन्सारीको बायाँ पाखुरामा गोली लागेको छ । अर्का घाइते मण्ड़लको दाहिने हातमा गोली लागेको हो । प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते भएका स्थानीयले बताएका छन् । स्थानीयको भीडले इलाका प्रहरी कार्यालयमा आगजनी गर्न थालेपछि आत्मरक्षाका निम्ति गोली चलाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आक्रोशित स्थानीयको भीडले प्रहरीमाथि आक्रमण गर्न खोजेको र सशस्त्र प्रहरीको एउटा मोटरसाइकल पूर्ण रूपमा जलाइदिएको तथा नेपाल प्रहरीको एउटा मोटरसाइकलमा समेत आगजनी गरी क्षतिग्रस्त बनाइदिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीय दीपा मण्डललाई स्थानीयबीचको विवादका क्रममा पक्राउ गरी इलाका प्रहरी कार्यालयमा लगिएको थियो । सो क्रममा प्रहरीका सई तुलानन्द ठाकुरको कुटाइबाट मण्डलको संवेदनशील अंगमा चोट लागेको थियो । उपचारका क्रममा उनको मृत्यु भएको स्थानीयले बताएका छन् । गोली लागेर घाइतेमध्ये अन्सारीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ । घाइते मण्डललाई थप उपचारका निम्ति काठमाडौं ‘रिफर’ गरिएको छ । प्रहरीको गोली लागी घाइते भएका दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग गरिएको छ ।
नेपाल सुपर लिग आज दुई खेल हुँदै
ठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन् । आज दिउँसो १ बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने पहिलो खेलमा शीर्ष दुई टोली पोखरा थन्डर्स र धनगढी एफसी बीच प्रतिस्पर्धा हुने छ । पोखराले प्लेअफमा आफ्नो स्थान बनाइसकेको छ भने शीर्ष दुईमा आफ्नो स्थान पक्का गर्न आजको खेलमा जित निकाल्ने लक्ष्यका साथ मैदानमा उत्रँदै गर्दा धनगढीलाई भने प्लेअफमा स्थान बनाउन जित्नै पर्ने दबाब छ । यस्तै, आज साँझ ५ बजे हुने अर्को खेलमा झापा एफसी र एफसी चितवन भिड्ने छन् । झापा आजको खेल जित्दै प्लेअफको सम्भावना जीवित राख्न चाहन्छ भने चितवन प्लेअफ यात्राबाट बाहिरिसकेको छ । जारी लिगमा झापा १० अङ्कका साथ तालिकाको चौथो स्थानमा छ भने चितवनले ६ अङ्क जोडेको छ ।
प्रधानमन्त्री प्रचण्ड विराटनगरमा : यस्ता छन् कार्यक्रम
विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो विराटनगर आइपुगेका छन् । प्रधानमन्त्रीले आज विराट एक्स्पोको उद्घाटन गर्दैछन् । प्रधानमन्त्री प्रचण्डले आजबाट विराटनगरमा सुरु हुने ‘विराट एक्स्पो’को उद्घाटन गर्न लागेका हुन् । यसअघि बिहान १० बजे प्रधानमन्त्रीले प्रचण्डले सुनसरीको इनरुवामा विद्युत् प्रसारण लाइनको उद्घाटन गर्ने र दिउँसो मोरङको मिक्लाजुङमा माओवादी पार्टीको रूपान्तरण अभियान अन्तर्गत आयोजना गरिएको सभालाई सम्बोधन गर्नेछन् । भोक्राहा नरसिंह गाउँपालिका इनरुवामा प्रधानमन्त्री प्रचण्डले सबस्टेसन ४००, २२०, १३२, ३३ केभी सबस्टेसनको समुद्घाटन गर्ने छन्। कार्यक्रममा उर्जा जलश्रोत तथा सिँचाई मन्त्री तथा नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिका अध्यक्ष शक्ति बहादुर बस्नेत, कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्की, सुनसरी क्षेत्र नम्बर ४ का सङ्घीय सांसद ज्ञानेद्र बहादुर कार्की र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लागयत सहभागी हुने छन् । मुलुकको आर्थिक मन्दीबाट बाहिर ल्याउन उल्लेख्य भूमिका खेलेको औद्योगिक नगरी विराटनगरलाई थप आर्थिक रुपमा बलियो बनाउन र आर्थिक क्रियाकलाप चलायमान बनाउने उद्देश्यका साथ विराटनगरमा व्यापार मेलाको आयोजना गरिएको आयोजकले जनाएका छन् । विराटनगर–२ स्थित शंकरपुर मार्गमा सुरु हुने ‘विराट ट्रेड एक्स्पो–२०२३’ मेला आगामी पुस १६ गतेसम्म जारी रहनेछ । आयोजकका अनुसार एक्स्पोमा स्वदेशी तथा विदेशी गरी कुल २४० वटा स्टल रहने छन् ।
यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक २०८० पुस ५ गते सिंहदरबारमा सम्पन्न भयो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको उक्त मन्त्रिपरिषद् बैठकले विभिन्न् निर्णय गरेको छ । यस्ता छन् प्रमुख निर्णय १. राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा २ को खण्ड (ख)को प्रयोजनका लागि राष्ट्रिय जनगणना, २०७८ को कूल जनसंख्याको ०.५ (शून्य दशमलब पाँच) प्रतिशतभन्दा कम जनसंख्या रहेका अल्पसंख्यक जातजाति (दलितबाहेक)लाई अल्पसंख्यकको रुपमा तोक्ने । २. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको सरकारी कार्यालयले सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० स्वीकृत गर्ने । ३. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको अपाङ्गता भएका व्यक्ति सम्बन्धी राष्ट्रिय नीति, २०७९ स्वीकृत गर्ने । ४. मन्त्रिपरिषद्, सामाजिक समितिबाट पेश भएको राष्ट्रिय बालबालिका नीति, २०७९ स्वीकृत गर्ने ।

