वीर अस्पतालमा राष्ट्रिय ब्रेन ट्युमर केन्द्र

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले वीर अस्पतालमा मस्तिष्क ९ब्रेन०को उपचारसँगै अध्ययन र अनुसन्धानका लागि राष्ट्रिय ब्रेन ट्युमर केन्द्र स्थापना गरेको छ ।

प्रतिष्ठानका उपकुलपति डा भुपेन्द्रकुमार खड्काले नेपालमा पहिलो पटक मस्तिष्कसम्बन्धी रोगको उपचार तथा अध्ययन अनुसन्धानका लागि केन्द्र स्थापना गरिएको जानकारी दिएका छन् । यसअघि नेपालमा ब्रेनको उपचार भएपनि अध्ययन अनुसन्धानका लागि कुनै निकाय थिएनन् । उनले भने, ‘केन्द्रमा ब्रेन ट्युमरका बिरामीको तथ्यांक पनि राख्ने र कस्ता बिरामी आउँछन् भनी त्यसको पनि अध्ययन गरिनेछ ।’

केन्द्रमार्फत नै यही मङ्सिर २४ गतेदेखि मस्तिष्क ट्युमरको उपचारका लाग विशेष क्लिनिक सेवा शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा श्रवणकुमार थापाले जानकारी दिएका छन् । उनका अनुसार हाललाई सो सेवा साताको दुई दिन आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सञ्चालन गरिएको छ ।

अस्पतालमा गत आइतबारदेखि राष्ट्रिय न्यूरो स्पाइन केन्द्रमार्फत विशेष न्यूरो स्पाइन क्लिनिक सेवा पनि सञ्चालन गरिएको छ । सो सेवा पनि आइतबार र बुधबार बिहान १० देखि १ बजेसम्म सञ्चालन भइरहेको छ । डा थापाले टाउकाको ट्युमर र मेरुदण्डको उपचार निःशुल्क गर्न सरकारसँग पहल भइरहेको बताएका छन् ।

पेट्रोल र डिजेलको मूल्य घट्यो ( मूल्यसहित)

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले शुक्रबार एक विज्ञप्तिमार्फत पेट्रोल र डिजेलको मूल्य घटेको जनाएको हो । पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर ३(३ रुपैयाँ घटेको छ । घटेको मूल्य शुक्रबार मध्यरातिदेखि लागु हुने छ । नयाँ मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६७ र डिजेलरमट्टितेल प्रतिलिटर १५७ रुपैयाँ पर्नेछ ।

गृहका २५ अधिकारीको सरुवा एवं पदस्थापन, को कहाँ ?

काठमाडौं। गृह मन्त्रालयले मातहतका २५ अधिकारीहरूको सरुवा एवम् पदस्थापन गरेको छ । त्यसमध्ये पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थापन भएका छन् भने एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन् । बाँकी सबै प्रमुख जिल्ला अधिकारीको रूपमा सरुवा तथा पदस्थापन भएका छन् । मन्त्रालयले वरिष्ठ अधिकारीहरूको सेवा अवधिको मापदण्डभित्र रही पदस्थापन गरेको हो ।

मर्जर र एफपीओबाट एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संकलन

काठमाडौं । सरकारले मर्जर र एफपीओमा कर लगाउने निर्णय लागू हुँदा एकै दिन ११ अर्ब ३ करोड रुपैयाँ कर संलग्न भएको छ । हिजो बिहीबार मर्जर र एफपीओमा कर असुल्ने सरकारको निर्णयलाई सर्बोच्च अदालतले सदर गरेपछि कर उठाउने बाटो खुलेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुझबुझ पूर्ण निर्णय गर्दै चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक विधेयकमा एफपीओ र मर्जरको आयमा कर लाग्ने व्यवस्था गरे। यसरी संवैधानिक व्यवस्था विपरीत नयाँ कर लगाएको र भूतप्रभावी कानुन ल्याएर लगानीको वातावरण बिगारेको भन्दै आर्थिक विधेयकको दफा २६ र २७ नम्वरको बुँदा बदर गर्न माग गर्दै १६ वाणिज्य बैंकले गत भदौ २९ गते सर्वोच्चको संवैधानिक इजलाशमा संयुक्त रिट दायर गरेका थिए । सरकारको उक्त निर्णय विरुद्ध परमादेश माग गर्दै बैंकर र बीमकले सर्वोच्चमा रिट दायर गरेका थिए । यसरी सरकारले कर उठाउन पाएको अवस्थामा बजारबाट सरकारलाइ करिव ४० अर्व रुपैयाँ कर उठ्ने बताइएको छ ।

राष्ट्रिय हितमा सन्तुलित परराष्ट्र नीति लागू गर्नुपर्छ : सचिव लम्साल

काठमाडौं। नवनियुक्त परराष्ट्र सचिव सेवा लम्सालले देशको राष्ट्रिय हितलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् शुक्रबार परराष्ट्र मन्त्रालय सचिवको पदभार ग्रहण गरेपछि उहाँले यस्तो प्रतिबद्धता जनाएकी हुन् । उनले सरकारले सुम्पेको जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आफू प्रतिबद्ध रहेको बताइन् । उनले भनिन्, ‘‘मन्त्रालयका सबै सहकर्मीको साथ र सहयोगले सरकारले दिएको जिम्मेवारीलाई समर्पित भएर पूरा गर्नेछु। ’’ देशको परराष्ट्र नीतिअनुसार द्विपक्षीय र बहुपक्षीय सम्बन्धलाई प्राथमिकतामा राखेर छिमेकी मुलुकसँगको सम्बन्धलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ। सचिव लम्सालले इजरायलमा हमास समूहको बन्धकमा रहेका विपिन जोशीको सुरक्षित रिहाइका लागि कूटनीतिक प्रयास दोब्बर पार्नेसमेत बताइन् छ। नेपालसँग श्रम सम्झौता नभएका मुलुकमा गैरकानुनी रूपमा वैदेशिक रोजगारीमा नजान नेपालीलाई अनुरोध गर्दै उनले वैदेशिक रोजगारीमा जान चाहनेलाई सरकारले रोजगार अनुमति दिने उल्लेख गरिन। उहाँले अनौपचारिक माध्यमबाट ज्यान जोखिममा राखेर वैदेशिक रोजगारीमा नजान सुझाव दिइन् । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले वरिष्ठ सहसचिव लम्साललाई परराष्ट्र सचिवमा बढुवा गरेको हो।

सुर्तीजन्य पदार्थ बिक्री बितरण रोक्ने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुर्तीजन्य पदार्थ बिक्री बितरणमा रोक लगाउने काठमाडौं महानगरको निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीशहरू जनक पाण्डे र ब्रजेश प्याकुरेलको संयुक्त इजलासले रिटको अन्तिम टुंगो नलागेसम्म निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेको हो । टोवागो उद्योग प्रालिको निवेदनमा अदालतले उक्त निर्णय गरेको हो । काठमाडौं महानगरपालिकाभित्र सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको बिक्री बितरण र प्रयोग गर्न नपाइने निर्णय गरेको थियो ।

धनुषामा बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला

काठमाडौं । धनुषामा बुधबार साँझदेखि हराइरहेकी बालिकाको शव नग्न अवस्थामा पोखरीमा फेला परेको छ। धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको हो । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए-नभएको खुल्ने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ राखी विवाहपञ्चमीको अवसरमा मटकोरको लागि निकालिएको रथ यात्रामा गएकी ती बालिका बुधबार साँझबाट बेपत्ता भएकी थिइन्।

मूल्य बढाउन किसानहरूको माग

सर्लाही । सर्लाहीका उखु उत्पादक किसानले सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असन्तुष्टि जनाएका छन् । उनीहरूले सरकारले निर्धारण गरेको मूल्य बढाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल उखु उत्पादक किसान महासङ्घ, उखु उत्पादक किसान हकहित संरक्षण समिति र मिलगेड उखु उत्पादक किसान समितिले चालु यामका लागि सरकारले निर्धारण गरेको उखुको मूल्यप्रति असहमति जनाउँदै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालाई ज्ञापनपत्र बुझाएका हुन् । सरकारले गत वर्षभन्दा उखुको मूल्य प्रतिक्विन्टल २५ बढाएको छ । हाल उखुको मूल्य प्रतिक्विन्टल रु पाँच सय ६५ निर्धारण गरिएको छ । चालु यामका लागि उखुको मूल्य प्रतिक्विन्टल रु सात सय ५० कायम गर्नुपर्ने माग राख्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको नेपाल उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले जानकारी दिए। उखुको मूल्य नबढाएसम्म उद्योग सञ्चालन नगर्ने उनको भनाइ छ । मिलगेड उखु उत्पादक किसान समितिका अध्यक्ष राजकुमार उप्रेती सरकारले उखुको मूल्य निर्धारण गर्दा चिनीको बढेको मूल्य, उखु उत्पादनमा लाग्ने हालको लागत, उखुको सहउत्पादनसमेतको आधारमा गरिनुपर्ने बताउँछन् । बजारमा चिनीको माग बढेको समयमा मूल्य बढाउने र उखु क्रसिङ गर्ने समयमा मूल्य घटाएर उखु उत्पादक किसानलाई कम पैसा दिने उद्योगीको नीतिले उखु उत्पादक किसान मारमा परेका उनको भनाइ छ । प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा गत वर्षको अनुदानबापतको रकम यथाशीघ्र भुक्तानी गरिदिन माग गरिएको छ । गत वर्ष बेचेको उखुको अनुदानबापतको रकम अझैसम्म उखु उत्पादक किसानले पाएका छैनन् । तर जिल्लाका चिनी मिलले चालु यामको उखु क्रसिङको काम सुरु गरिसकेका छन् । यसप्रति किसानले आपत्ती जनाएका छन् । उचित मूल्य निर्धारण नभएसम्म चिनी उद्योग सञ्चालन गर्न नदिने किसानको भनाइ छ ।

तराईमा बाक्लो हुस्सु कुहिरो, सवारी साधन चलाउँदा ध्यान दिनुपर्ने

काठमाडौं । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ । तराईका केही भू–भागमा हुस्सु कुहिरो लागेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका भू–भागहरूमा लागेको हुस्सु कुहिरो पश्चिम तराईमा मध्याह्नसम्म क्रमिक रुपमा सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मध्य र पूर्वी तराईमा अपराह्नसम्म क्रमिक रुपमा सुधार हुँदै सम्भावना रहेको छ । हुस्सुरकुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत आंशिक प्रभाव पर्नसक्ने सम्भावना रहेको विभागको भनाइ छ । त्यसैले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागको आग्रह छ । आज दिउँसो सुदूरपश्चिम प्रदेशसहित पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा राति आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न अदालतको आदेश (फैसलासहित)

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्ने आदेश गरेको छ । उच्च अदालतका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई बिहीबार ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । यही मंसिर १५ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएको थियो । उनीहरूबीच राय बाझिएका कारण तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुरुप बिहीबार कोइरालाको इजलासमा सुनुवाइ भएको हो । कोइरालाले मंसिर १५ गते न्यायाधीश पाण्डेले राखेको रायसँग सहमति जनाउँदै खाँणलाई धरौटीमा छाड्न आदेश दिएका हुन् । उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले खाँण धरौटीमा रिहा हुने आदेश जानकारी गराउँदा अदालतभित्रै पुगेका खाँणका समर्थकहरूले खुसी व्यक्त गरेका थिए ।

परराष्ट्रको विशिष्ट श्रेणीमा लम्साल बढुवा

काठमाडौं। सरकारले नेपाल परराष्ट्र सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बैठकको निर्णय सार्वजनिक गर्दै नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको जानकारी दिइन् । यसैगरी बैठकले विद्युत खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रपतिसमक्ष तीन राजदूतद्वारा ओहदाको प्रमाणपत्र पेश

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका राजदूतले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरूले छुट्टाछुट्टै कार्यक्रममा प्रमाणपत्र पेश गरेका हुन् । राष्ट्रपति भवनमा बिहीबार आयोजित कार्यक्रममा राष्ट्रपतिसमक्ष नेपालका लागि श्रीलंकाका राजदूत राजदुत सुदर्शना पथिरानाले ओहोदाको प्रमाणपत्र पेश गरे । यसैगरी, राष्ट्रपतिसमक्ष पानामाका राजदुत यसेल एलिन्स बुइलोरिभेरा र बेल्जियमका राजदुत दिदीएर एना एल भ्यान्डेरह्यासेल्टले ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।

१४ किलो सुन प्रकरण : विमानस्थलकै सरसफाइ सुपरभाइजर पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरेको १४ किलो सुन प्रकरणमा विमानस्थलकै सरसफाइ सुपरभाइजर सुशीला पाण्डे पक्राउ परेकी छन्। बिहीबार काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले भक्तपुरबाट उनलाई पक्राउ गरेको हो। मंसिर २१ गते राति दुबईबाट काठमाडौं आएका गोरखाका चन्द्र घले १४ किलो सुनसहित पक्राउ परेका थिए।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसिरहेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरू भएको हो। आजको बैठक नियमित बैठक हो ।

ओलीलाई कालो झन्डा देखाउने ‘पहिचानवादी’ पक्राउ

विराटनगर । नेकपा (एमाले)को संकल्पयात्राका क्रममा भोजपुर पुगेका पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पहिचानवादी पक्षधरले कालो झन्डा देखाएका छन् । बिहीबार सदरमुकाम भोजपुर बजारबाट धनकुुटा जाने क्रममा कालो झन्डा देखाइएको हो । एमाले पार्टी कार्यालयनजिकै विरोध प्रदर्शन गर्दै पहिचानवादीले कालो झन्डा देखाएपछि धरपकड समेत भएको जनता समाजवादी पार्टी (जसपा)का सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमले बताए । कालो झन्डा देखाएको आरोपमा प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा जसपा भोजपुरका जिल्ला उपाध्यक्ष मञ्जु राई, जिल्ला सदस्य धीरज राई, दिनेश राई, मणि राई, विद्यार्थी नेता धीरेन खिम्बू, तयाबङु राई र विकास राई छन् । हालसम्म कोसी प्रदेशका विभिन्न स्थानमा गरी ३० पहिचानवादी पक्राउ परेको माखिमको भनाइ छ । धनकुटामा बन्द गराउँदै हिँड्ने नौजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा किराँत राई यायोख्खाका धनकुटाका अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङ चुम्लुङ जिल्ला अध्यक्ष कमलसिंह तिगेला, उमा चाम्लिङ, जितेन्द्र माम्पाङ, करवील कुलुङ, जुद्ध राई, शोकुल राई र पनित कुलुङ छन् । ती सबै पहिचानवादीलाई धनकुटा र भोजपुरको सीमावर्ती लेगुवा क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता एवं डीएसपी राजबाबु महर्जनले बताए । यसैबीच, झुलाघाट–चिवाभञ्ज्याङ संकल्पयात्रा धनकुटामा प्रवेश गरेको छ । यात्रा सुरु भएको १५औँ दिन पूर्वको अरुण तरेर धनकुटामा प्रवेश गरेको हो । अध्यक्ष ओली धनकुटाको कार्यक्रम सकाएर तेह्रथुमको वसन्तपुरमा आयोजित सभामा सहभागी हुन त्यसतर्फ लागेका छन् । यही मंसिर १४ गते बैतडीको झुलाघाटबाट यात्रा सुरु गरिएको थियो । यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ ।

पूर्वगृहमन्त्री खाणको निवेदनमाथि उच्च अदालत पाटनमा सुनुवाइ जारी

काठमाडौं । उच्च अदालत पाटनमा नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि सुनुवाइ जारी रहेको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासमा सुनुवाइ भइरहेको छ । यसअघि मङ्सिर १५ गते अरुका हकमा राय मिलेको भए पनि खाणको हकमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबीच राय बाझिएकाले तेस्रो न्यायाधीशकोमा सुनुवाइ हुन लागेको हो । पूर्व गृहमन्त्री खाणका विषयमा न्यायाधीशद्वयकोे राय बाझिएको थियो । न्यायाधीश पाण्डेले ३० लाख धरौटीमा रिहाको आदेश गर्न र अर्का न्यायाधीश खरेल थुनामै राख्न आदेश भएको थियो । यसैले खाणको विषय तेस्रो न्यायाधीशसमक्ष पेस भएको हो । आज सुनुवाइ गर्नुहुने न्यायाधीशले यसअघिका दुईमध्ये जुन न्यायाधीशको राय समर्थन गर्छन्, त्यही आदेश कार्यान्वयन हुनेछ । तर यी न्यायाधीशले अघिका दुई बाहेक तेस्रो राय दिएमा निवेदन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्नेछ । उच्च अदालत पाटनले मङ्सिर १५ गते नक्कली भुटानी शरणार्थी प्रकणमा पूर्वमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, आङटावा शेर्पासहित नौ जनालाई थुनामै राख्न आदेश दिएको थियो । भुटानी शरणार्थीका नेता टेकनाथ रिजालसहित केहीलाई भने अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।