माओवादी केन्द्रका उम्मेदवार अझै वेपत्ता

इलाम, असार ९ । इलाम नगरपालिका–१२ का वडाध्यक्ष पदका उम्मेदवार नारायण राई बेपत्ता भएको एकसाता बिते पनि उनको अवस्था अझै अज्ञात छ ।

आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार हुन् । उनी आमसभा तयारीका सिलसिलामा गत शुक्रबार घरबाट निस्किएका थिए । त्यसपछि अहिलेसम्म सम्पर्कविहीन रहेको माओवादी केन्द्र इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए ।

बेपत्ता राईको खोजी कार्यका लागि नेपाल प्रहरीलाई परिचालन गरिएको छ भने पार्टीले पनि वाइसिएललाई परिचालन गरिएको जनाएको छ । बेपत्ता भएपछि केन्द्रले उनको ठाउँमा सोममाया राईलाई उम्मेदवार बनाएको छ ।

 

युवतीको ग्याङफाईट, एक गम्भिर घाईते

ललितपुर, असार ८ । ललितपुरको सातदोबाटोमाा मंगलबार दुई युवती समुहबीच झडप भएको छ ।  झडपमा धारिलो हतियार प्रहारले एक युवती गम्भीर घाईते भएकी छिन् । प्रहरीका अनुसार सामाजिक सञ्जालको सामुहिक च्याट रुमबाट परिचित बनेको काभ्रेकी कोपिला गिरी र ओखलढुङ्गाकी सलिना राई सुनवार समुहबीच झडप भएको हो । महानगरीय प्रहरी वृत्त सातदोवाटोकाा डिएसपी रामेश्वर यादवले चक्कु प्रहारवाट घाईते १७ बार्षिया कोपिला गिरीको सुमेरु अस्पताल धापाखेलमा उपचार भईरहेको बताएका नागरिक दैनिकमा खबर छ ।

विद्रोह गरी मनोनयन दर्ता गर्नेहरुको उम्मेद्वारी बदर

बाँके,  असार ८ । संघीय समाजवादी फोरम नेपालमा विद्रोह गरी नयाँ शक्तिसँगको गठबन्धनबाट मनोनयन दर्ता गर्नेहरुको उम्मेद्वारी बदर भएको छ । फोरम नेपालकै चुनाव चिह्न मसाल लिएर दर्ता गरेका कारण उनीहरुको उम्मेद्वारी बदर भएको कान्तिपुरमा खबर छ । फोरमले निर्वाचन आयोगमा पार्टीको आधिकारिक चिह्न भएको पुष्टि गरेपछि बदर भएको थियो ।  

माओवादीका ४ कार्यकर्ता पार्टीबाट निष्कासित

रूकुम, असार ८ । माओवादी केन्द्रले राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्यसहित ४ कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ । स्थानीय तह चुनावमा पार्टी निर्णय विपरित गतिविधि गरेको भन्दै राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य हर्कबहादुर कामी, केन्द्रीय सल्लाहकार लक्ष्मीप्रसाद पुन, जिल्ला सदस्य भरत पुन र जिल्ला सल्लाहकार मनिराम पुनलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जनाएको कान्तिपुरमा खबर छ । जिल्ला अध्यक्ष गोपाल शर्माले व्यक्तिगत स्वार्थपूर्तिका लागि पार्टीको निर्णयविपरित गएकालाई कारबाही गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।  

शिक्षक पौडेल मृत फेला

फलेवास (पर्वत), ७ असार । पर्वतको कुस्मा नगरपालिका– १ पाङ घर भई कटुवाचौपारीस्थित आइबल एकेडेमी बोर्डिङ स्कुलमा पढाउँदै आउनुभएका एक शिक्षक नारायण पौडेलको शव १५ दिनपछि कालीगण्डकी नदीको किनारमा फेला परेको छ । बाग्लुङको जैमिनी गाउँपालिकाको बेल बगरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । बीस वर्षीय शिक्षक पौडेलले विगत एक महिनादेखि विद्यालयमा पढाउन सुरु गर्नुभएको थियो । विद्यालयमा विद्यार्थीलाई यातना दिएको भन्दै विद्यालय प्रशासनले विद्यालय नआउन भनेका पौडेल एकाएक हराएपछि घटना रहस्यमय बनेको थियो । गत जेठ २४ गतेदेखि बेपत्ता हुनुभएका शिक्षक पौडेल अन्तिमपटक २५ गतेसम्म परिवारको सम्पर्कमा रहेको भए पनि त्यसपछि उहाँ सम्पर्कविहीन हुनुभएको थियो । २७ गतेदेखि प्रहरीमा परेको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतले खोजी सुरु गरेको प्रहरी निरीक्षक मधुकरजङग विष्टले जानकारी दिनुभयो । मङ्गलबार पौडेलका परिवारले शवको पहिचान गरेपछि आज शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा ल्याइएको विष्टले बताउनुभयो । उहाँको के कारणले मृत्यु भएको हो भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ । रासस

अस्थायी शिक्षकको मागप्रति राजपाको ऐक्यबद्धता

काठमाडौँ, असार ७ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले अस्थायी शिक्षकको माग पूरा हुनुपर्ने भन्दै अनशनस्थल भद्रकालीमा पुगी आज ऐक्यबद्धता जनाउनुभएको छ । सामान्य प्रक्रिया पूरा गरेर कार्यरत सबै अस्थायी शिक्षकलाई स्थायी हुनुपर्ने माग गर्दै अस्थायी शिक्षक सङ्घर्ष समितिले यही असार २ गतेदेखि आमरण अनशनका कार्यक्रम जारी राखेको छ । राजपा अध्यक्ष मण्डलका ठाकुर, अनिलकुमार झालगायतले अनशनस्थलमा पुगी माग पूरा हुनुपर्ने बताउनुभएको हो । अध्यक्ष ठाकुरले शिक्षकका समस्याबारेमा आफूले प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा गरेर माग सम्बोधन गर्न आग्रह गरेको र उहाँहरुले सकारात्मक जवाफ दिनुभएको बताउनुभयो । सो स्थलमा छ दिनदेखि पाँच शिक्षक अनशनमा छन् ।रासस

बाजुरामा तीन दलित महिला निर्विरोध निर्वाचित

बाजुरा, असार ७ । दोस्रो चरणको स्थानीय चुनाव निर्वाचनमा बाजुरामा तीन जना दलित महिला निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेबाट बडिमालिका नगरपालिका–८  मा लुती नेपाली र नेकपा एमालेबाटै स्वामीकात्र्तिक गाउँपालिका–३ नानी ल्वार निर्विरोध निर्वाचित भएका हुन्  । त्यस्तै माओवादी केन्द्रका तर्फबाट हिमाली गाउँपालिका–२ मा रुपसरी सार्की निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मदिरा बिक्रीमा रोक लगाइने

दाङ, असार ७ । यहाँको स्थानीय प्रशासनले असार ८ गतेदेखि दाङमा मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको छ । मङ्गलबार दाङका प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको संयोजकत्वमा बसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । दाङका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक धिरजप्रताप सिंहका अनुसार जिल्लाका कुनै पनि सार्वजनिकस्थल, होटेल, रेस्टुरेन्ट लगायतका स्थानमा असार ८ गतेदेखि मदिराजन्य वस्तु बिक्री वितरणमा रोक लागाउने निर्णय भएको बताउनुभयो । त्यस्तै, सर्वदलीय सर्वपक्षीय बैठकले राजनीतिक दलका बीचमा चुनाव प्रचार प्रसारका क्रममा कुनै पनि समस्या उत्पन्न भएमा त्यो समाधान गर्नका लागि मुख्य निर्वाचन अधिकृत चुरामण खड्काको संयोजकत्वमा जिल्लामा क्रियाशील दलका प्रमुखहरु सदस्य रहेको एउटा समिति गठन भएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । बैठकले निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दललाई आग्रहसमेत गरेको छ ।

देशभर मनसुन सक्रिय

काठमाडौं, असार ७ । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए । विभागले यसवर्ष औसत वर्षा हुने अनुमान गरेको नयाँ पत्रिकामा खबर छ । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक अधिकांश भूभागमा वर्षा हुने महाशाखाको अनुमान छ । सुदूरपश्चिमकमो तराई क्षेत्रमा भने मौसम बदली मात्रज्ञ हुन सक्ने अनुमान छ ।

‘राजपाको दोहोरो चरित्र, कतै उम्मेदवारी कतै विरोध’ : गृहमन्त्री शर्मा

धनगढी, असार ७ ।  राष्ट्रिय जनता पार्टीलाई लक्षित गर्दै गृहमन्त्री जनार्दन शर्माले एउटा जिल्लामा उम्मेदवारी दर्ता गर्ने र अर्कोमा विरोध प्रदर्शन गर्न नसुहाउने बताएका छन् । चुनाव बहिष्कार गरी आन्दोलनमा उत्रिएको राष्ट्रिय जनता पार्टी पनि दोस्रो चरणको चुनावमा सहभागी भएको उनको दावी छ । धनगढीमा क्षेत्रीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री शर्माले कतै चुनावमा सहभागी हुने र कतै विरोध प्रदर्शन गर्ने दोहोरो चरित्र देखाउन नहुने बताए । उनले प्रहरी सुधार कार्ययोजना केही दिनमै सार्वजनिक गर्ने पनि बताए छ । चुनाव सफल पारेमा सुरक्षा निकायको उचित मूल्यांकन हुने उनले बताए । सोमबार नेपालगञ्जमा भएको सुरक्षा गोष्ठीमा पनि गृहमन्त्री शर्माले राष्ट्रिय जनता पार्टी दोस्रो चरणको चुनावमा स्वतन्त्र रुपमा सहभागी भएको बताए । गृहमन्त्री शर्माले चुनाव बहिष्कार गर्न खोजेको राष्ट्रिय जनता पार्टी सरकारको निरन्तरको पहलकदमिका कारण स्थानीय तहको दोस्रो चरणको चुनावमा सहभागी हुने अवस्था आएको दावी गरे । उनले मधेस केन्द्रीत दलहरुका असन्तुष्टी क्रमशः समाधान हुने चरणमा रहेको पनि जानकारी दिए । दुई नम्बर प्रदेशमा चुनाव हुनुभन्दा पहिले नै अहिले देखिएका असन्तुष्टी समाधान हुने उनको दावी छ । गृहमन्त्री शर्माले आगामी माघभित्रै तीनवटै चरणको चुनाव सम्पन्न गरी संविधानलाई पूर्ण कार्यान्वयनको चरणमा पुर्याउन आवश्यक भएको पनि बताए ।  

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

चितवन, असार ७ । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला र चारकिलोमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । ईच्छाकामना गाउँपालिका–६ को कालीखोला र चारकिलोमा बुधबार बिहान दुई बजे ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अरु धेरै ठाउँमा पनि सानासाना पहिरो खसिरहेकाले बाटो खुलाउन समस्या भएको छ । अहिले कालिखोलामा भने एकतर्फी बाटो खुलाइएको प्रहरीले जनाएको छ । दुई वटा डोजरले बाटो खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध भएपछि सयौं गाडी रोकिँदा हजारौ यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।

केरुङ- रसुवागढी दृष्य: पारि रौनक, वारि उराठ

केरुङ, असार ७ । रसुवागढीस्थित भोटेकोसी नदीकाे तीरम उभिएर चीन र नेपालतर्फ एकसाथ  हेर्दा दुई फरक देखिन्छन् ।  नेपालतर्फ प्रहरीहरु टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै ब्यवस्थित कार्यालय छैनन् ।  साँघुरो ग्राभेल विग्रिएर खाल्डैखाल्डायुक्त सडक । भुकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आशिंक पन्छाईदिएका । न भन्सार काार्यालय ब्यवस्थित छ न सामान लिएर आएका ट्रक ब्यवस्थित गर्ने स्थान । नाका सबै पक्ष भद्रगोल देखिन्छ । चीनतर्फ भने त्यसको ठिक विपरित पक्की र ठुला र भवन तथा कार्यालय । दुई लेनको पिच सडक । ब्यवस्थित भन्सार । आधुनिक मेसिन र क्यामेरा जडित उच्च सतर्क एवं सुरक्षित नाका, कान्तिपुरमा खबर छ ।

परीक्षाफल प्रकाशित

काठमाडौँ, ६ असार । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ साल पुस÷माघ महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष २०७२ को नेपाल भाषा र संस्कृत विषयको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । रासस

उजिर मगरको ‘अंश’ बजारमा

काठमाडौं, असार ६ । नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको संस्मरणात्मक कृति ‘अंश’ सार्वजनिक भएको छ । माओवादी सशस्त्र युद्दकालको सेरोफेरोमा समेटिएका संस्मरणसहित लेखिएको पुस्तकको आज एक समारोहबीच लोकार्पण भएको छ । नाउर प्रकाशनले प्रकाशित गरेको कृतिको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले लोकार्पण गरे । उक्त अवसरमा पत्रकार मगरको रिपोर्टिङसँग प्रत्यक्षरुपमा सम्बन्धित सम्पादक युवराज घिमिरे, नारायण वाग्ले र गुणराज लुईंटेलले पुस्तक तथा लेखकको बारेमा चर्चा गरेका थिए । यसका साथै पत्रकार सूर्य थापा, पत्रकार महासंघका सभापति महेन्द्र विष्ट, पत्रकार गोविन्द आचार्यले समेत पुस्तकका बारेमा आफ्ना धारणा राखेका थिए ।

अछाममा नमुना मतदान, ४ मत बदर

होम साउद, अछाम, असार ६ अछाममा भएको नमुना मतदानमा निकै न्यून म तबदर भएको छ । निर्वाचन आयोगले मंगलसेन नगरपालिकाको प्राङ्गणमा गरेको नमुना मंगलसेन नगरपालिका भित्रका ६२ जना स्थानीय मतदाताहरुले सहभागिता जनाएका थिए । खसेका ६२ मत मध्ये ४ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी चुडाराज सापकोटाले जाँनकारी दिए । नमूना मतदानमा केहीले ल्याप्चे लगायको, केहीले कुनै कोलम खाली छाडेको र पट्याँउदा मसि लतपतिएको अवस्थामा मत खसेको सापकोटाले जाँनकारी दिए । नमूना मतदान कार्यक्रमलाई उदघाटन गर्दै जिल्ला न्यायधिस तथा अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिप्रसाद शर्मा उपाध्याय पंज्ञनीले २० वर्ष पछि गते हुन लागेको स्थानयि निर्वाचनको महाँसंग्राममा उत्साहपूर्ण सहभागी भईदिन मतदातालाई अनुरोध गरे । यस महाँन कार्यमा सहभागी भई हाम्रो भन्दा राम्रो प्रतिनिधी निर्वाचित गर्न पंज्ञनीले अपिल गरे । मत बदर नहुने गरी आफुले चाहेको प्रतिनिधी चयन गर्न र आफ्नो गाँउठाँउको विकास गर्न सुनौलो अवसर स्थानिय निर्वाचन भएको उनको भनाई थियो । असार १४ का लागि निर्धारित निर्वाचन कार्यतालिका अन्र्तगत अछाममा सम्पूर्ण कामहरु शान्तिपूर्ण रुपमा अगि बढिरहेका छन । आईतवार मनोनयन दर्ता पनि सोमवार दावी बिरोध र त्यस उपर छानविनको कार्य गरिएको तथा मंगलवार अन्तिम नामावलि प्रकाशन गरिएको र उम्मेद्धारलाई चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रधानमन्त्रीसँग नर्वेका राजदूतको भेट

काठमाडौँ, असार ६ । प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेपालका लागि नर्वेका राजदूत चेल तोर्मोड पिटरसेनले शिष्टाचार भेट गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको सो भेटमा राजदूत पिटरसेनले आफ्नो कार्यकाल समाप्त भएकाले आफू स्वदेश फर्कन लागेको अवगत गराउनुभयो ।उहाँले आगामी दिन दुई देशबीचको सम्बन्ध थप विस्तार हुने विश्वास पनि व्यक्त गर्नुभएको थियो। यसैगरी प्रधानमन्त्री देउवासँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक भ्यालेरी जुलियान्ड र संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायोगका प्रतिनिधि केविन जे एलेनले पनि शिष्टाचार भेट गर्नुभयो। रासस