घर बनाउनका लागि दबाब दिन प्राधिकरण गाउँमा

गोरखा, असार ६ । गत वर्षको भदौमा रु ५० हजारका दरले अनुदान रकम लिए पनि घर निर्माण सुरु नगरेका भूकम्पपीडितलाई छिटो घर बनाउन दबाब दिन राष्ट्रिय पुनःनिर्माण प्राधिकरण गोरखाको गाउँगाउँ पुगेको छ ।

प्राधिकरणका जिल्ला प्रमुख राजेन्द्र कार्कीले सुलिकोट गाउँपालिका पुगेर छ हजार ६०७ जना लाभग्राहीमध्ये पाँच हजार ८८३ जनालाई पहिलो किस्ता उपलब्ध गराएपनि उनीहरुले घर नबनाएका कारण दोस्रो र तेस्रो किस्ता वितरण प्रभावित भएको बताउनुभयो ।

सुलिकोटमा बारपाक, स्वाँरा, सौरपानी, ताकुमाझ लाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवादेउराली गाउँ पर्छन् । यी गाउँका भूकम्पपीडितमध्ये ३१३ जनाले मात्रै दोस्रो किस्ताको रकम बुझेका छन् । पहिलो किस्ता बुझेर घरको जगसहित डिपिसी गरेपछि दोस्रो किस्ता माग गर्न पाइने प्रावधान रहेको छ । तर पहिलो किस्ता बुझेका अधिकांश भूकम्पपीडितले घर बनाउन सुरु नगर्दा दोस्रो किस्ता वितरण हुन सकेको छैन ।

सुलिकोटका ९०० भूकम्पपीडितले आफूहरु वास्तविक भूकम्पपीडित भए पनि लाभग्राहीको सूचीमा नपरेको भन्दै उजुरी दिएका थिए । तीमध्ये २२२ लाभग्राहीको सूचीमा परेको कार्की बताउनुहुन्छ । पुनःनिर्माणको वर्तमान अवस्था, गतिविधि, समस्या, चुनौती र समाधानका उपाय खोजी गर्ने उद्देश्यले आफूहरु गाउँ अभियानमा हिँडेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो – “आफ्नो गाउँ, टोल, गाउँपालिकामा किन घर बनेनन् भन्नेबारे जनप्रतिनिधिले चासो र चिन्ता लिनुपर्छ । प्राविधिक गाउँ–गाउँमा खटाएका छौँ । पहिलो किस्ता वितरण गरिसक्यौँ, दोस्रो किस्ता किन माग गर्नुहुन्न ? खुरुखुरु घर बनाउनुहोस् हामी अनुदान छिटोछिटो पठाउँछौँ ।” लालपुर्जा नभएका, सुकुम्बासीलगायतका समस्या पनि छिट्टै समाधान गरिने कार्की बताउनुहुन्छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यकारी प्रमुख, वडा सचिव, निर्वाचित अन्य सदस्य, प्राविधिक राखेर प्राधिकरणले अन्तक्र्रिया कार्यक्रम गरी पुनःनिर्माणलाई तीव्रता दिन आग्रह गरेको छ । कार्कीले भन्नुभयो – “घर भत्केर पनि लाभग्राहीको सूचीमा पर्नुभएको छैन भने अब वडाध्यक्षसहितको टोलीले लाभग्राही पहिचान गर्नेछ । त्यसका लागि छिट्टै कार्यविधि आउँछ । स्थानीयस्तरबाटै लाभग्राहीको पहिचान गरी अनुदान रकम दिने व्यवस्था मिलाउँछौँ ।”

सुलिकोट–६ का बाबुलाल गुरुङले चारपटकसम्म प्राविधिक तथा इञ्जिनियर बोलाएर घर देखाए पनि दोस्रो किस्ता नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो – “चारपटकसम्म प्राविधिक बोलाएर घर देखाए, तर मापदण्ड पुगेको छैन भनेर दोस्रो किस्ताको फाइल अघि बढाइदिनुभएन । मापदण्डमात्रै हेरेर हुँदैन, भूकम्पप्रतिरोधी घर छ भने अनुदान रकम पाउनुपर्छ ।”

यस्तै सुलिकोट–१ बारपाकका वडाध्यक्ष रोशन विकले प्राधिकरणले घरका मापदण्ड तथा प्राधिकरण नै गठन हुनुपूर्व त्यहाँ बनिसकेका घरले अनुदान रकम पाउँछन् या पाउँदैनन् भन्दै प्रश्न गर्नुभयो । उहाँले प्राधिकरणले जारी गरेका बाहेक अन्य नक्सामा आधारित रहेर बनाइएका घरलाई पनि दोस्रो किस्ता वितरणमा आलटाल गरिएकामा स्थानीयवासीले दुःख पाएका बताउनुभयो ।

उहाँले भन्नुभयो – “बारपाकको दलित बस्तीमा भूकम्प स्मृति उद्यान बनाउने भनिएको छ । घेराबारका लागि टेन्डर पनि भइसक्यो भन्ने सुनेँ । त्यहाँका ४० घरधुरीका दलितलाई कहाँ स्थानान्तरण गर्ने हो कसैले चासो र चिन्ता देखाएका छैनन् ।”

सुलिकोट गाउँपालिकाका प्रमुख विष्णु भट्टले प्राविधिकबीच समन्वय गर्ने एकजना वरिष्ठ प्राविधिकको गाउँपालिकामा खाँचो रहेको बताउनुभयो । उहाँले भन्नुभयो – “गाउँमा जताततै घर बनाउनुपर्नेछ । निर्माण सामग्रीको मात्रै होइन प्राविधिकको पनि अभाव झेल्नुपर्दा पुनःनिर्माणले गति लिन सको छैन । बर्खा लाग्यो, पीडित टहरामा बसिरहेका छन् । धमाधम पीडितले घर बनाउन थाले र अनुदान रकम पनि वितरण गर्न सकियो भनेमात्रै पुनःनिर्माणले गति लिन्छ ।”

प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले निजी आवास पुनःनिर्माणलाई रु दुई अर्ब बजेट आएको भन्दै अहिलेसम्म जम्मा रु ५० करोडमात्रै खर्च भएको बताउनुभयो । उहाँले भन्नुभयो – “रु दुई अर्ब बजेटमध्ये एक वर्षमा जम्मा रु ५० करोड खर्च भएको छ । दोस्रो र तेस्रो किस्ता माग नभए असारपछि बजेट फ्रिज भएर जान्छ ।” गत वर्ष भदौमा ५४ हजार लाभग्राहीलाई पहिलो किस्ता वितरण गरिएको थियो ।

जिल्लाका ५८ हजार ५०३ लाभग्राहीमध्ये ५४ हजारले गत वर्ष भदौमा रु ५० हजारका दरले अनुदान रकम बुझेका थिए । तीमध्ये चार हजारले मात्रै दोस्रो किस्ता बुझेका छन् । पहिलो किस्ता बुझ्ने र दोस्रो किस्ता रकम माग गर्नेको सङ्ख्याबीच धेरै अन्तर छ । यसबाट अधिकांशले घर बनाएका छैनन् भन्ने देखिन्छ ।

शुद्ध पिउने पानी पाएपछि स्थानीयवासी खुसी

पाल्पा, असार ६ । वर्षौंदेखि खोलाको धमिलो पानी पिउन बाध्य रामपुर नगरपालिका–८ भुजात, सानो बगैँचाका स्थानीयवासीले अहिले शुद्ध पिउने पानी उपभोग गर्न पाएपछि खुसी भएका छन् । बस्ती नजिकै पानीको धारा, मूल, कुवा, इनार नहुँदा यहाँका स्थानीयवासीले खोलामा बगेर आएको पानी पिउन बाध्य थिए । स्थानीयवासीले घरघरमा अर्थ सङ्कलन गरेर बस्तीदेखि करिब चार किलोमिटर टाढा रहेको मूलको पानीलाई व्यवस्थित गरेर सबैका घरघरमा पानी आएपछि यहाँका स्थानीयवासीमा खुसीयाली छाएको छ । खोलामा बगेर आएको फोहर पानीले स्वास्थ्यमा प्रतिकूल असर पारेपछि चेतनाको विकास हुँदै जाँदा यहाँका स्थानीयले आफ्नै लगानी र जनश्रमदानमा खानेपानी योजना निर्माण गरेका हुन् । यहाँका ४७ घरधुरीका स्थानीयवासीले रु एकलाख २० हजारको लागतमा योजना निर्माण गरेर घरघरमा खानेपानी उपभोग गर्न थालेको स्थानीयवासी सरोज अधिकारीले जानकारी दिनुभयो । पहिले खानेपानीको अभावमा टाढाटाढासम्म गाग्री बोकेर पानी खोज्न बिहानभरको समय बिताउनु पर्दा घरायसी कामकाजमा समस्या आउने गरेको शान्ति विकको भनाइ छ । अहिले घरमै पानी आएपछि धेरै सहज भएको उहाँ बताउनुहुन्छ । फोहर दूषित पानी पिउनु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि खानेपानीको वैकल्पिक उपाय नहुँदा वर्षौंसम्म खोलाको पानी पिउन बाध्य भएको स्थानीय उमाकान्त खनालले बताउनुभयो ।

खोलाबाट बालिकाको सकुुशल उद्धार

म्याग्दी, असार ६ । बेनीमा म्याग्दी नदीले बगाएकी एक बालिकाको सोमबार उद्धार गरिएको छ । धौलागिरि गाउँपालिका–३ मुना घर भई हाल बेनी नपा–२ हाडेभिर बस्दै आएका बलबहादुर रसाइलीकी १० वर्षीया छोरी ममताको म्याग्दी नदीले बगाउँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो । म्याग्दी नदीको मोटरेबल पुलबाट खोलामा खसेको चप्पल छोप्न जाने क्रममा ममतालाई नदीले ५० मिटर तलसम्म बगाएको थियो । नदीले बालिकालाई बगाएको देख्ने बित्तिकै प्रत्यक्षदर्शीले सूचना गरेपछि घटनास्थल पुगेर सकुशल उद्धार गरेको प्रहरी निरीक्षक दिवाकर घिमिरेले बताउनुभयो । बालिकाको उद्धार गरी बेनी अस्पतालमा उपचार भइरहेको छ । यसअघि गत महिना पनि कालीगण्डकी नदीले बगाएर बीच भागमा रहेको ढुङ्गामा अड््किएका एक पुरुषको प्रहरीले सकुशल उद्धार गरेको थियो ।

अवैध कल वाइपास गरेको आरोपमा पक्राउ

गौशाला, असार ६ । महोत्तरी प्रहरीले अवैध रुपमा कल वाइपास गरेको आरोपमा जलेश्वर नगरपालिका– ५ बिसनपुर बस्ने ३१ वर्षीय मोहम्मद अजमतलाई आज पक्राउ गरेको छ । अजमतले डेढ महिनादेखि आफ्नै गाउँमा एउटा पुरानो घर भाडामा लिएर अवैध कल सेन्टर खोलेर कल वाइपास गर्दै आएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । उनले सञ्चालन गरेको अवैध कल सेन्टरबाट कल वाइपास गर्न प्रयोग हुने राउटर र माइक्रोवेभ एन्टिना युपिएस, स्टेब्लाइजर, पावरबोर्ड र झोला एक एक थान, ठूलो ब्याट्री, मोबाइल र स्पिकर दुई दुई थान, विभिन्न कम्पनीका प्रयोग भएका नेपाली रिचार्ड कार्ड पाँच थान, इलेक्ट्रोनिक्स केबुल २० मिटर र लाइन केबुल १५ मिटर बरामद गरिएको प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताउनुभयो । अजमतलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रासस

काँग्रेसको आक्रमणबाट मारिएका भनिएका एमाले कार्यकर्ताको मृत्यु हृदयघातबाट !

बाजुरा, असार ६ । कांग्रेसको आक्रमणबाट मारिएका भनिएका एमालेका कार्यकर्ता बाजुराको छेडेदह, सांदे निवासी हंसे रावतको मृत्यु हृदयघातबाट भएको स्थानीयवासीले बताएका छन् । निर्वाचनको विषयलाई लिएर नेपाली कांग्रेस तथा एमाले कार्यकर्ताबीच उनको घर नजिक भएको ढुंगा हानाहानबाट उनी निकै आत्तिएको स्थानीयबासीले बताए । दोहोरो ढुंगा हानाहानबाट आफ्नो घरमा क्षति पुगेकोले उनी आवेशमा आइ सबैलाई गाली गलौच गरेका थिए । त्यसको केही समयपछि उनी भुईमा लडेको प्रत्यक्षदर्शी जानकारी दिए । बेहोस बनेको रावतलाई प्रहरीले बोकेर तत्काल डोगडी स्वास्थचौकी पु¥याए पनि त्यहाँको स्वास्थ्यचर्कीले जिल्ला अस्पताल रिफर गरेको थियो । जिल्ला अस्पताल मार्तडी लैजादै गर्दा उनको बाटो मै मृत्यु भएको थियो । गएको चैत्रमा पुत्रशोकबाट बिक्षिप्त बनेका रावत एक्लै बर्बराउने र बेला बखत अचेत हुने गर्थे । झडपमा निकै आत्तिएका रावतको शरिरमा घाउचोट नदेखिएको र उनी झडपमा उनको संलग्नता नरहेकोले उनको मृत्यु हृदयघातबाट भएको स्थानीयबासी बताए पनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी छ । सोही घटनामा संलग्न भएको आरोपमा नेपाली कांग्रेस छेडेदहको अध्यक्षका उम्मेदवार नर रावतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाली कांगे्रसका कार्यकर्ताले घटनाको सत्यतत्य बुझ्न प्रहरीलाई आग्रह गर्दै तत्काल आफ्ना कार्यकर्ताको रिहाईमा माग गरेको छ ।

सेवा सुविधा नलिने घोषणा

इलाम, असार ६ । नेपाली काँग्रेस इलाम नगरपालिका–३ का वडाध्यक्षका उम्मेद्वार तीर्थराज गुरुङले आफू विजयी भएमा राज्यबाट प्रदान गरिने कुनैपनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिसकेपछि  संक्षिप्त कुराकानी गर्दै गुरुङले राज्यबाट प्रदान गरिने सेवा सुविधा सबै जनताको हितमा खर्चिने घोषणा गरे । “मैले जितेँ भने राज्यले पाँच वर्षमा कम्तीमा रु १५ लाख देला, त्यो रकम सबै गाउँको विकासमा लगाउँछु,” गुरुङ भन्नुहुन्छ “यहाँको जनतालाई सर्वाेपरि ठानेर काम गर्नेछु ।” इलाम नगरपालिका–३ साविक पुवामझुवा गाविस हो । यो विकास र शिक्षाको दृष्टिकोणले पछि परेको गाउँ हो । यहाँको दलित बस्तीमा खानेपानी, विद्युत्, सडक विस्तार नहुँदा यहाँका सर्वसाधारणले सास्ती खेप्नुपरेको बताउँदै उम्मेदवार गुरुङले आफूले जितेमा खानेपानी, विद्युत् र सडकमा आफूले पाउने पारिश्रमिक र भत्ताको रकम खर्च गर्छु, भने । उनले यहाँका दलित समुदायका बालबालिकाका लागि छात्रवृत्तिको व्यवस्था गर्ने समेत बताए ।

पुत्र मोहले गर्भपतन बढ्दै

सुर्खेत, असार ६ । सामाजिक चेतनास्तरमा वृद्धि भए पनि शिक्षित परिवारका सदस्यहरू नै छोरा मोहबाट मुक्त हुन सकेका छैनन् । सहरभित्रकै अधिकांश परिवारमा छोरा मोहका कारण महिलाहरू बारम्बार गर्भपतन गर्न बाध्य छन् । पटकपटक गर्भपतन गराउँदा महिलाको शारीरिक तथा मानसिक स्वास्थ्यमा गम्भीर असर देखिएको छ । वीरेन्द्रनगर निवासी डिला (नाम परिवर्तन) आठौं पटकसम्म गर्भवती हुनुभयो । धेरै पटक गर्भवती हुने उहाँको रहर भने होइन । परिवारले छोरा नै जन्माउन दबाब दिएपछि उहाँले आठांै पटकसम्म गर्भपतन गराउनुभयो । गर्भमा छोरी नै रहेको र परिवारले छोराको अपेक्षा गरेपछि उहाँ गर्भपतन गर्न बाध्य भए । परिवारले दबाब दिए पनि उनको गर्भबाट छोरा जन्मन भने सम्भव भएन । छोरोछोरी दुवै बराबर हुन् भन्ने डिलाको परिवारलाई राम्रो ज्ञान छ । चार छोरीलाई जन्म दिइसकेकी डिलाले गर्भपतन गराउन औषधि, बाख्राको पिसाब, कुबिन्डोको तरकारी र गहत खाएको बताए। ‘धेरैपटक गर्भपतन गराउँदा शारीरिक र मानसिक तनाव सहनुपर्‍यो’, उनले भने, ‘तर मैले छोरा जन्माउन सकिनँ, अहिले त अब आफैं शारीरिक रूपमा कमजोर भएको छु ।’ गर्भको लिंग पहिचान गरेर गर्भपतन गर्नु कानुनी अपराध हो तर छोराको मोहमा उनले आठ पटकसम्म गर्भपतन गर्नुपर्यो । जिल्लाको भेरीगंगा नगरपालिका निवासी माया (नाम परिवर्तन) ले छोराको आसमा पाँच छोरीलाई जन्म दिर्इन ।   छैटौंपटक गर्भवती भएकी मायाले गर्भमा छोरा भए नभएको जान्न नेपालगन्जमा जाँच गरिन । गर्भमा छोरी नै देखियो । उनले भनिन, ‘गर्भमा छोरी छ भन्ने थाहा पाएपछि गर्भपतन गरेर आएँ ।’ छोरा नभएपछि घरपरिवार र समाजले हेलाँ गर्ने गरेको दुखेसो पोखे । सुर्खेतकै रूपकला (नाम परिवर्तन) ले पनि छोराको चाहना पूरा गर्न तीनपटक लिंग पहिचान गरेर गर्भपतन गरार्इन । ‘मैले तीन पटकसम्म गर्भपतन गराएँ, छोरा नजन्मेपछि सबैले हेलाँ गर्छन् ।’ मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेन्डेट डाक्टर डम्बर खड्का लिंग पहिचानपछि गरिने गर्भपतन बड्दो रहेको बताउछन् । औषधि सेवन गरेर गर्भपतन गर्दा महिलामा अझ समस्या हुने गरेको उनले बताए । ‘विपन्नभन्दा हुनेखाने र अलि सम्पत्ति भएकाहरूले नै छोराको चाहाना राख्दछन्’,  सिविन नेपालका जिल्ला बाल संरक्षण अधिकृत संगीता वलीले छोराको चाहाना बढी हुँदा यो समस्या आएको बताए । कानुन कार्यान्वयन नहुँदा यो समस्या बढेको उनको भनाइ छ ।

कपडा सिलाउँदै एमबीबीएस टप

काठमाडौं, असार ६ । परिवारको नाममा एक टुक्रो जमिनसमेत थिएन । दिनभर अर्काको कपडा सिलाएर कमाएको दुईचार रुपैयाँको भरमा भाडाको कोठामा चारजनाको परिवार पाल्नु बाबु गंगारामको दायित्व थियो । त्यही कामका लागि पनि दीर्घ रोगी बाबुलाई साँझबिहान र बिदाको समय सिलाइमा सघाएर बचेको समय स्कुलका लागि हुन्थ्यो । जति नै दःख परे पनि लेटाङ मोरङका सुजितकुमार दर्नालको पढाइको भोक घटेन । बरु बढ्यो । त्यही भोकले विपन्न दलित परिवारमा जन्मिएका उनी डाक्टर बने । नेपालमै सबैभन्दा महँगो विषय चिकित्सा शिक्षा पढ्ने र सफलता पाउने कुरा निम्नवर्गीय परिवारमा जन्मिएका व्यक्तिका लागि कल्पनाभन्दा बाहिरको विषय हो । ‘डाक्टर बन्ने त सोचेकै थिइनँ, मेहनत मात्रै गरेँ’, सुजितले भने, ‘समयले बाटो देखायो र डाक्टर बनायो ।’ नागरिक दैनिकमा खबर छ ।

आमा छोरी एउटै पदमा भिड्दै

खोटाङ, असार ६ ।  स्थानीय तहको निर्वाचनका लागि खोटाङमा फरक पार्टीबाट एउटै पदमाा आमा छोरी चुनावी मैदानमा उत्रिएका छन् । बाह्रपोखरी गाउापालकिा ३ साउनचौरमा दलित महिला सदस्य पदमा आमा र छोरीले मनोनयन दर्ता गराएको हुन् ।  आमा मनमाया बिक र छोरी अनिता बिकले मनोनयन दर्ता गराएका छन् । साकिको साउनेचौर ५ की आमा मनमायाँलाई नेपाली कांग्रेसर छोरी अनितालाई नेकमा माओवादी केन्द्रले वडा सदस्यमा टिकट दिएको नागरिकमा खबर  छ ।

प्रदेश ७ मा नौ जना निर्विरोध निर्वाचित

धनगढी, असार ६ । प्रदेश नम्बर ७ मा मतदाताको अन्तिम नामावली प्रकाश अगावै नौ जना निर्विरोध निर्वाचित भएका छन । विभिन्न स्थानीय तहका निर्वाचन कार्यालयहरुका अनुसार बझाङको काँडा गाँउपालीका ५ बाट एमालेले विजयी सुरुवात गरेको छ । काँडा गाउँपालीका वडा नम्बर ५ बाट नेकपा एमालेका तर्फ बाट वडा अध्यक्षमा धनजय बोहराको प्यानल नै निर्विरोध निर्वाचित भएको निर्वाचन कार्यालयले जनाएको छ । आइतबार भएको मनोनय दर्ताको वेला वडा नं ५ बाट अन्य दलको उम्मेदवारी नपरेपछि वडा अध्यक्षमा एमालेका धनजय बोहरा, महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य पदमा डब्बल बोहरा र कलु बोहरा निर्विरोध निर्वाचित भएका अन्नपूर्ण पोस्टमा खबर छ । वडा नम्बर ५ मा दलित महिला सदस्यको उमेदवारी नै नपरेकोले उक्त पद भने खाली हुने भएको छ । यस्तै बझाङकै काँडा गाँउपालीका वडा नं ४ को दलित महिला सदस्यमा नेपाली कांग्रेसकी दलित महिला उम्मेदवार अमृता विक निर्विरोध निर्वाचीत भएका छन । कैलालीको भनजीत्रिशक्री नगरपालिकामा माओवादी केन्द्रले पनि खाता खोलेको छ । भजनीत्रिशक्ति नगरपालिका वडा नम्बर ६ बाट नेकपा माओवादी केन्द्रकी दलित महिला सदस्य कमला ज्ञवाली श्रीपाइली निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रको प्रदेश नम्बर सातको सञ्चार समितिले जनाएको छ । बाजुराको पनि बडिमालिका नगरपालिकामा नेकपा एमालेबाट दलित वडा सदस्यमा लुती नेपाली निर्विरोध निर्वाचित भएका छन । अछामको मंगलसैन नगरपालिकामा पनि नेकपा एमालेका तर्फबाट ३ जना वडा सदस्य निर्विरोध निर्वाचत भएका छन् । मंगलसेन वडा नम्बर २ मा बमबहादुर बोगटी, सोही वडाबाट महिला वडा सदस्यमा सुनिता बोगटी र वडा नम्बर ७ मा महिला वडा सदस्यमै जमुना जैसी निर्विरोध निर्वाचित भएका हून ।

थवाङबासी दोधारमा

काठमाडौं, असार ६ । विगतमा निर्वाचनका बेला अलग निर्णय गरेर छुट्टै इतिहास बनाएको थवाङमा यतिबेला चुनावी सर्गर्मी बढेको छ । सँधै एकजुट बनेर ‘विद्रोह’ गर्ने यहाँको राजनीतिमा स्थानीय निर्वाचनका कारण विभाजनको रेखा कोरिन थालेको छ । विप्लव नेतृत्वको नेकपाको बाहुल्य रहेको थवाङमा यतिखेर माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् । नेकपाले थवाङका कुनैपनि उम्मेद्वार आफ्नो नभएको दाबी गरे पनि उसकै विद्यार्थी संगठनका नेताले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । मतदानको दिन नजिकिँदै गर्दा थवाङबासी दोधारमा परेका छन् । हिजोसम्म सबै एक हुने गरेकोमा चिनजानका मान्छे नै फरकफरक राजनीतिक झन्डा लिएर चुनावमा आएपछि थवाङबासी कसलाई भोट दिने भन्ने अन्योलमा परेका नागरिक दैनिकमा खबर छ ।

जन्ती बसको छतमा करेन्ट लाग्दा दुई घाइते

लहान, ५ असार । लहान नगरपालिका–१५ शोभापुरस्थित मोहनपुर गाउँबाट विवाह पश्चात सर्लाहीको लालबन्दी फर्कँदै गर्दा आज विवाहको जन्ती बोकेको ना २ ख ५८५७ नं को बसको छतमा बसेको बेला करेन्ट लागेका सर्लाही लालबन्दी–१५ परवानीपुर बस्ने वर्ष १९ का बुधबहादुर दोङको अवस्था चिन्ताजनक रहेको छ । करेन्ट लागेर सोही ठाउँकै सञ्जय वाइवा गम्भीर घाइते भएका छन् । घाइते दुवै जनाको रामकुमार शारडा–उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भइरहेको छ । रासस

आगलागीबाट सात घर जलेर नष्ट

मुगु, ५ असार । सोरु गाउँपालिका–८ गिलाह गाउँमा आज आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन् । आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएको पीडित दानबहादुरका छोरा गणेशबहादुरले बताउनुभयो । आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने जयबहादुरको घरमा पसल गर्ने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ । वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस ––––––––

पत्रकारहरुसँग के भने प्रधानमन्त्री देउवाले ?

काठमाडौं, असार ५ । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल पत्रकार महासंघको प्रतिनिधिमण्डलले भेट गरेको छ । उक्त भेटका अवसरमा सभापति देउवालाई नेपाली प्रेसले भोग्नु परेको समस्याका बारमो सभापति महेन्द्र विष्टले ध्यानाकर्षण गराएका थिए । श्रमजीवि पत्रकारको अधिकारदेखि प्रेसमाथि भइरहेका ज्यादती र हिंसाबारे विष्टले जानकारी गराए । महासंघ प्रतिनिधिहरुका कुरा सुनेपछि श्रमजीवी पत्रकारका समस्या समाधानका लागि यससँग सम्बन्धित ऐन–कानुन लागू गर्न आफ्नो नेतृत्वको सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता प्रधानमन्त्री देउवाले व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको प्रतिनिधिमन्डलसँग आफ्नै कार्यालय सिंहदरबारमा सोमबार भेट गर्दै प्रधानमन्त्री देउवाले पत्रकारिता क्षेत्रसँग अथाह शक्ति रहेकाले मुलुकका समस्या समाधानमा केन्द्रित हुन पनि आग्रह गरे । उनले आसन्न निर्वाचनहरुमा नेपालको पत्रकारिता क्षेत्रको सकारात्मक सहयोगको अपेक्षा गरेको पनि बताए । नेपाल पत्रकार महासंघका अध्यक्ष डा। महेन्द्र विष्टले नेपाली पत्रकारिता क्षेत्रमा सुरक्षा चुनौती अझै रहेको भन्दै श्रमजीवी पत्रकारहरुका समस्या समाधानका लागि पटक–पटक प्रयास भएपनि अझै समाधान हुन नसकेकोमा सरकारको ध्यानाकर्षण गराए । डा। विष्टले मुलुकलाई संवैधानिक ‘लिक’मा हिँडाउन पनि आसन्न निर्वाचनहरु गर्नैपर्ने भएकाले नेपाली पत्रकारिता जगत निर्वाचन सफल बनाउने पक्षमै केन्द्रित रहेको स्पस्ट पारेका थिए । मुलुकलाई ध्रुवीकृत हुन नदिने प्रधानमन्त्रीकारुपमा भूमिका खेल्न उनले प्रधानमन्त्री देउवाको ध्यानकर्षण पनि गराए ।

शौचालय हिँडेकी बालिका बलात्कृत

सिरहा, असार ५ । सिरहाको धनगढीमाई नगरपालिकामा एक बालिका बलात्कार गरेर दुई युवक फरार भएका छन् । घरमा सुतिरहेकी बालिका शनिबार राति चर्पी जान निस्किएका बेला दुईजना युवकले नजिकैको उखुबारीमा ३ घण्टा नियन्त्रणमा राखेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ । उनीहरुले राति एक बजेदेखि नियन्त्रण लिएर बिहान ४ बजेतिर ती बालिकालाई छोडेको प्रहरीले जनाएको छ । बालिका बिहान पखमात्र वेहोशी अवस्थामा घरमा आइपुगेकी थिइन् । घरमा आउनासाथ आँगनमा बेहोस् भएर लडेकी उनको उपचार भइरहेको छ । स्थानीय बासिन्दाले घटना भएको थाहा पाउन साथ गाउँमै मिलाउने प्रयास गरेको थाहा पाएपछि प्रहरीले घटनाबारे जानकारी पाएको थियो । प्रहरीले घटनाको विषयमा जानकारी पाउना साथ बालिकालाई सुरक्षित स्थानमा उपचारको लागि पठाइएको जनाएको छ । घटनामा संलग्न युवकहरु फरार छन् । उनीहरुको खोजी भइरहेको गोलबजार प्रहरी प्रमुख इन्सपेक्टर राजेन्द्र कुमार उपाध्यायले जानकारी दिए ।

मजदुरबीच झडप हुँदा एकको मृत्यु, एक घाइते

दाङ, असार ५ । दाङमा मजदुर मजदुरबिच झडप हुँदा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–९ दुबीचौरस्थित गणपति प्लाई सप्लायर्स उद्योगमा कार्यरत मजदुरबिच कुटपिट हुँदा सुनसरी ईनरुवाका २० वर्षका रितेश झा को ज्यान गएको हो भने हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादव घाइते भएका छन् । आइतबार राति सामान्य विवादमा झडप हुँदा गम्भीर घाइते भएका झाको उपचारको क्रममा राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा ज्यान गएको प्रहरीले जनाएको छ । उद्योगका कामदार बाँके, फत्तेपुर गाउँपालिका–७ बस्ने २३ वर्षका जितराम चौधरी, सोही गाउँपालिका–९ बस्ने २३ वर्षका राज चौधरी र बाँके, हिर्मुनिया–२ बस्ने २३ वर्षका निर्मल राजपुतले रितेश झा र बाँके, हिर्मुनिया–२ बस्ने १९ वर्षका जगतराम यादवलाई कुटपिट गरेका थिए । घाइते जगतलाई थप उपचारको लागि नेपालगंज बाँके रिफर गरिएको छ । कुटपीटमा संलग्न केहीलाई प्रहरीले पक्राउ गरेको छ ।