जुस सर्किएर बालकको मृत्यु

सुस्तःमनस्थिति बाल विद्या मन्दिरलाई फर्निचर हस्तान्तरण

बुटवल, जेठ २ । प्रभु बैंक लिमिटेडले यहाँको एक सुस्तः बाल विद्यालयलाई फर्निचर प्रदान गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं ७ को दीपनगरमा रहेको सुस्तःमनस्थिति बाल विद्या मन्दिरमा आठ वटा कुर्ची र दुई वटा टेबुल हस्तान्तरण गरेको हो । बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत बाल विद्या मन्दिरमा फर्निचर हस्तान्तरण गरेको बैंकका बुटवलका प्रमुख गणेशबहादुर पछाइले बताउनुभयो । उहाँले बैंकले यस प्रकारका सामाजिक कामलाई निरन्तरता दिने बताउनुभयो । बाल विद्या मन्दिरकी अध्यक्ष मीना भुसालले यहाँका बालबालिकालाई अध्ययनसँगै हेरचाहका लागि प्राप्त फर्निचरले सहज हुने बताउनुभयो । सो बाल विद्या मन्दिरमा ३५ बालबालिका छन् ।

‘बालमैत्री वातावरण निर्माण परियोजना’ का लागि रकम सङ्कलन

महोत्तरी, जेठ २ । मुठ्ठीदान अभियानमार्फत महोत्तरीको बर्दिबासस्थित जनता माध्यमिक विद्यालयले विद्यालयको परिसरमा शुरु गरेको ‘बालमैत्री वातावरण निर्माण परियोजना’ का लागि रु डेढ लाखभन्दा बढी रकम सहयोगस्वरुप सङ्कलन भएको छ । गत बिहीबारदेखि सुरु गरेको सो अभियानअन्तर्गत विगत चार दिनको अवधिमा रु एक लाख ६० हजार ३५५ सहयोग सङ्कलन भएको हो । मुठ्ठीदान अभियानअन्तर्गत बिहीबार पहिलो दिन रु ७८ हजार २९३, शुक्रबार रु २८ हजार ८३७, शनिबार रु ३७ हजार ९२५ र सोमबार रु १५ हजार ३०० गरी कुल रु एक लाख ६० हजार ३५५सङ्कलन भएकोे परियोजनाको सञ्चार सहयोगी तथा सामाजिक अभियन्ता राजकरण महतोले जानकारी दिनुभयो । जेठ महिनाभित्र निर्माण कार्य सम्पन्न हुने गरी विद्यालयमा सञ्चालित परियोजना सम्पन्न गर्न कुल रु ४८ लाख छ हजार ८२६ खर्च हुने अनुमान गरिएको अभियन्ता महतोले बताउनुभयो । परियोजनाभित्र ५०० मिटर पक्की बाटोमा सडकको दुवैतिर रेलिङसहितको अत्याधुनिक गार्डेन निर्माण गरिने योजना रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोले बताउनुभयो । विद्यालयको परिसरभित्र रहेको करिब एक बिगाहा क्षेत्रफलमा चिल्ड्रेन पार्क, अत्याधुनिक फाउन्टेन (झरना), सांस्कृतिक कार्यक्रमको लागि स्टेज, सवारी पार्किङ स्थल, खानेपानीको धारा निर्माण सो परियोजनाभित्र रहने उहाँले जानकारी दिनुभयो । विसं २०१६ मा स्थापित भएको सो विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्ममा गरी एक हजार छ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका सूचना अधिकारी सुशीलकुमार यादवले बताउनुभयो । समुदायबाट सहयोग सङ्कलन गर्न विद्यालयका शिक्षक, विद्यार्थीहरु समूहमा घर घर हिँडेर मुठ्ठीदान अभियानअन्तर्गत सहयोग सङ्कलन गरिरहेका छन् ।

नगरपालिका भवन बनाउन करोडौँको जग्गादान

गौशाला, जेठ २ । महोत्तरीको बर्दिवासमा नगरपालिकाको भवन निर्माण गर्नका लागि स्थानीयवासी १० जनाले रु पाँच करोड ५० लाख मूल्यबराबरको जग्गा दान गरेका छन्। स्थानीयवासी भवनाथ पोखरेल, रमेशकुमार, विनोद भण्डारी, गोपी पोखरेल, रामजी महतो, अर्जुनसिंह ठकुरी, शेखरकपिल हमाल र लालबहादुर हमाललगायतले दुई कठ्ठा १० धुर जग्गा दिनुभएको हो । बर्दिवास नगरपालिका कार्यालय निर्माणका लागि स्थानीयवासीले आफ्ना करोडौँ मूल्य पर्ने जग्गादान दिएपछि नगरपालिकाले उनीहरुलाई फूलमाला र अबिर लगाएर सम्मान गरेको नगरपालिकाका सूचना अधिकारी नारायणसिंह ठकुरीले बताउनुभयो ।

कृृषक समूहलाई पम्पसेट (बोरिङ) वितरण

राजविराज, जेठ २ । सेभ द सप्तरीको स्पोनसरसिप कार्यक्रमअन्तर्गत जिल्लाको दक्षिणी भेगमा रहेका दलित एवम् अति पिछडिएका परिवारलाई जीविकोपार्जनका लागि सोमबार यहाँ पम्पसेट (बोरिङ) प्रदान गरिएको छ । राजविराजस्थित सेभ द सप्तरीको कार्यालयमा आयोजित पम्पसेट वितरण कार्यक्रममा सेभ द सप्तरीका अध्यक्ष ध्रुवकुमार देवले तीनवटा कृषक समूहलाई सतप्रतिशत निःशुल्क सिँचाइ गर्नेगरी प्रत्येक समूहलाई एक÷एक वटाका दरले पम्पसेट (बोरिङ) प्रदान गर्नुभएको छ । सेभ द चिल्ड्रेनको सहयोग तथा सेभ द सप्तरीको आयोजनामा दिनारामभद्री कृषक समूह कोलाडी, सखडेश्वरी कृषक समूह छिन्नमस्ता, कमलामाई कृषक समूह कोचाबखारीसहित तीनवटा समूहलाई सो पम्पसेट (बोरिङ) वितरण गरिएको बताइएको छ । साथै, पम्पसेट (बोरिङ)सहित बोरिङ डेलिभरी पाइप, हेड कल (ट्युबेल) लगायतका सामानसमेत वितरण गरिएको छ । वितरण गरिएको पम्पसेट (बोरिङ) बाट धान, गहुँ, तथा तरकारी खेतीलगायत अन्य खेती गरी जीविकोपार्जन गर्न सकिने र यसबाट भएको आम्दानीले घरमा पढाइबाट वञ्चित रहेका बालबालिकालाई पढाउने उद्देश्यले पनि पम्पसेट (बोरिङ) बाँडिएको सेभ द सप्तरीका फिल्ड अफिसर परमेश्वरप्रसाद मण्डलले बताउनुभयो ।

प्रहरी इन्सपेक्टरको अन्तिम नतिजा सार्वजनिक

काठमाडौं, जेठ २ । प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर पदमा खुल्ला प्रतियोगिताद्वारा छनोट भएको उम्मेद्वारहरुको नाम सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयबाट २०७३ जेठ ५ गते प्रकाशित बिज्ञापन अनुसार दरखास्त दिई संचालन भएको अन्तरर्वार्ता परीक्षामा सहभागी भएका मुख्य तथा बैकल्पिक सूचीमा रहेका उम्मेदवारहरुको योग्यताक्रम अनुसारको अन्तिम नतिजा सोमबार प्रकाशित गरेको हो । अन्तिम नतिजामा उर्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य उम्मेदवारहरुले आवश्यक सम्पूर्ण कागजपत्र सहित जेठ ८ गते सोमबार ११ः०० बजे प्रहरी प्रधान कार्यालय, मानवस्रोत बिकास विभाग, कर्मचारी प्रशासन शाखामा सम्पर्क राख्न प्रहरी हेड्क्वार्टरले आग्रह गरेको छ ।

कैलालीबाट ठूलो परिमाणमा बाघ र चितुवाको छाला बरामत

लोकेश धामी कैलाली, जेठ १ । कैलालीको दुई छुट्टाछुट्टै ठाउँबाट ठूलो संख्यामा बाघ र चितुवाको छाला बरामत गरिएको छ । आइतबार गोदावरी नगरपालिका बडा नम्बर १२ चौकिगाउँ र जिल्ला घोडाघोडी नगरपालिका ७ कृतिपुर भन्ने ठाउँबाट उक्त परिणाममा बहुमूल्य छाला बरामत गरिएको हो । उक्त स्थानमा पाटेबाघको छाला, चितुवाको छाला र हड्डीको कारोबार भइ रहेको छ भन्ने विशेष सूचना आधारमा क्षेत्रिय प्रहरी कार्यालयबाट खटिएको विषेश अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय कैलालीबाट गएको संयक्त प्रहरी टोलीले ठूलो परिमाणमा वन्यजन्तुको छाला र हड्डी बरामत गरिएको प्रहरीले जनाएको छ । बरामत गरिएकोमा पाटेबाघको छाला १ थान, चितुवाको छाला ३ थान र चितुवाको हड्डी ६ किलो ७ सय ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अर्जुन चन्दले जानकारी दिए । यस्तै ओसारपसारमा प्रयोग भएका दुइ थान मोटरसाइकल सहित ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका ४ बस्ने ७० वर्षिय धर्मराज पौडेल, गोदावरी नगरपालिका १२ का ५० वर्षिय पूर्ण बहादुर ओली, धनगढी उप–महानगरपालिका १६ का ३० वर्षिय राम बहादुर चौधरी, जोशीपुर गाउँपालिका–५ का ३५ वर्षिय रमेश चौधरी, घोडाघोडी नगरपालिका–८ बस्ने गगन साउँद र जोशीपुर गाउँपालिका– १ का ३७ वर्षिय लोकबहादुर बि.क रहेका छन् । उनीहरुलाई कारबाहीको लागि जिल्ला वन कार्यालयमा बुझाउने पक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख चन्दले जानकारी दिए । बरामत छाला र हड्डीबा संलग्न २ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक जानकारी अनुसार उक्त बरामत भएको चितुवाको छाला डोटीबाट पाटेबाघको छाला शुक्लाफटाबा ल्याएको हुनसक्ने जनाइएको छ ।

घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ

झापा, जेठ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताए । सेवाग्राहीको रु ३० हजारमा हुने कामका लागि उनले छ लाख ८० हजार रुपैयाँ रकम मागेपछि पक्राउ गरिएको बस्नेतले बताए । मण्डललाई आज दिउँसो अख्तियारको टोलीले उनकै कार्यकक्षबाट रङ्गेहात पक्राउ गरेको हो । दमकका एक जग्गा व्यवसायीको प्लटिङको जग्गाको काम मिलाइदिने भन्दै घुस लिँदालिँदै उनलाई पक्राउ गरेको बताइएको छ ।

हत्यामा संलग्न भएको आरोपमा पाँच पक्राउ

तनहुँ, जेठ १ । तनहुँको व्यासीमा आइतबारे विक्रम परियारको हत्यामा संलग्न भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुईजना महिला पनि छन् । उनीहरुलाई आइतबार राति व्यासीकै एक घरबाट लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । अनुसन्धान चलिरहेको भन्दै प्रहरीले पक्राउ परेकाको नाम खुलाएको छैन । आइतबार मतदान गरेर बजार घुम्न निस्किएका बेला नचिनेका मानिसको समूहले परियारको हत्या भएको थियो । उनको शव पोष्टमार्टमका लागि दमौली अस्पतालमा राखिएको छ ।

कालीकोटमा एक जनाको ज्यान गयो

कालीकोट, जेठ १ । जिल्लाका नरहरिनाथ गाउँपालिकाअन्तर्गत नन्दादेवी मावि, सेरापाटा मतदान केन्द्रमा गएराति भएको सेना प्रहरी र नेपाल कम्युनिस्ट पार्टीबीचको दोहोरो झडपमा परी घाइते भएका एक जनाको आज बिहान मृत्यु भएको छ । सो झडपमा नरहरिनाथ गाउँपालिका (साविकको माल्कोट गाविस–५) निवासी धनरुप बटालाको मृत्यु भएको हो । उनको उपचार नपाएर मृत्यु भएको स्थानीयवासीले बताएका छन् । अन्य पाँच जना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ । प्रहरीले चलाएको गोलीबाट बटाला सख्त घाइते भएका थिए । अहिले सो क्षेत्रमा नेपाली सेनाको हेलिकप्टर पठाइएको र व्यापकरुपमा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गिरिधारी सुवेदीले बताउनुभएको छ । अहिले जिल्ला सदरमुकाम मान्ममा सर्वदलीय बैठक बसिरहेको छ ।

विदुर र तारकेश्वरमा एमाले तथा ककनी, शिवपुरी र तादीमा कांँग्रेसको अग्रता

नुवाकोट, जेठ १ । जिल्लामा नौ स्थानमा मतगणना जारी रहेको छ भने अन्य स्थानमा तयारी भइरहेको छ । विदुर र बेलकोेटगढी नगरपालिका तथा ककनी, तारकेश्वर, तादी, शिवपुरी, लिखु, सूर्यगढी र मेघाङ गाउँपालिकामा मतगणना भइरहेको छ । अहिले विदुरको वडा नं १ को मतगणना भइरहँदा नेकपा(एमाले)बाट प्रमुृखका उम्मेदवार सञ्जु पण्डितले दुई सय , नेपाली काँग्रेसका धु्रव अधिकारीले एक सय ३६ र नेकपा(माअ‍ोवादी केन्द्र)का लीलानाथ न्यौपानेले २१ मत ल्याउनुभएको छ । तादीमा अहिलेसम्म कांग्रेसबाट अध्यक्षका उम्मेदवार नारायणप्रसाद पाण्डेले तीन सय ४८, एमालेका केपी लामिछानेले दुई सय ८५ र माओवादी केन्द्रका मानसिंह तामाङले एक सय ५४ मत ल्याउनु भएकोछ । ककनीमा अध्यक्षमा कांँग्रेसका दीपेश लामाले ५१, माओवादी केन्द्रका मानबहादुर लामाले ४० र एमालेका जितबहादुर बलामीले ३८ मत ल्याउनु भएको छ । बिहान ४ बजेदेखि सुुरु भएको ककनी – १ को मतगणना जारी छ । तारकेश्वरमा एमालेबाट अध्यक्षका उम्मेदवार रमेश वस्तीले ३९, कांग्रेसका उम्मेदवार चोकराज शाक्यले २९ र माओवादी केन्द्रका राजेन्द्र न्यौपानेले १७ मत ल्याउनु भएको छ । यस्तै शिवपुरीमा कांग्रेसका अध्यक्षका उम्मेदवार रामकृष्ण थापाले ७८ तथा एमालेका पदम उप्रेती र माओवादी केन्द्रका मीनबहादुर तामाङले ५६– ५६ मत आएको छ । पञ्चकन्यामा बिहान १० बजेदेखि मतगणना गरिने दलीय सहमति भएको छ । बेलकोटगढी – १ बाट मतगणना सुरु भएको छ । यस्तै सूर्यगढीको वडा नं १ बाट मतगणना आरम्भ भएको छ । यस्तै किस्पाङमा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । दलीय सहमतिपछि केही समयमा नै मतगणना आरम्भ गरिने किस्पाङ गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै मेघाङमा पनि भर्खरै मतगणना सुुरु भएको छ ।

धादिङमा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको छ ।  झडपमा एमालेका तीन कार्यकर्ता गम्भीर घाइते भएका छन् । निर्वाचन परिणाम आफ्नो पक्षमा आइसकेको भन्दै कांग्रेसका कार्यकर्ताले आक्रमण गरेको एमाले कार्यकर्ता भिमबहादुर थापाले जनाएका छन् । कांग्रेसको वडा अध्यक्षको उम्मेदवार हस्तबहादुर थापा मगरको नेतृत्वको टोलीले गरेको आक्रमणमा परि एमाले कार्यकर्ताहरु ललित थापा मगर, गणेश थापा मगर र राजेन्द्र थापा मगरलाई गम्भीर घाइते भएका छन् । झडपका क्रममा कांग्रेस कार्यकर्ता मिलन भन्ने धनबहादुर मगर पनि घाइते छन् । घाइतेहरुलाई हिजैराति धादिङ बेसीबाट गएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि काठमाडौं ल्याएको छ ।  

चन्द्रागिरीका माओवादी केन्द्रका उम्मेदवारको अग्रता

काठमाडौं, जेठ १  । काठमाडौंको चन्द्रागिरी नगरपालिकाको मतगणना जारी छ। आइतबार रातिबाट सुरु भएको मतगणनामा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन्। सोमबार बिहानसम्म भएको मत गणनामा माओवादी केन्द्रका उम्मेदवारले ३३१ मत पाएका छन् भने कांग्रेसका उम्मेदवारले २९३ मत पाएका छन्। तेस्रो स्थानमा रहेका एमाले उम्मेदवारले १०६ मत पाएका छन्। मत गणना जारी छ।

वडा स्तरमा चुनावी सभा गर्दै माओवादी

धनगढी,जेठ १ । आगामी जेठ ३१ गते तोकिएको स्थानीय तहको निर्वाचनको तयारीका लागि प्रचारप्रचार अभियानलाई तीव्र पारेको नेकपा माओवादी केन्द्रले धनगढी उपमहानगरपालिकाका वडा स्तरमा चुनावी सभा गरिरहेको छ । घरदैलोमा गएर मतदाता भेटघाटसंगै वडा स्तरमा चुनावी सभाहरु भईरहेका नेकपा माओवादी केन्द्रका धनगढी नगर इन्चार्ज रमेश धामीले बताए । धनगढी उपमहानगरपालिकाका सबै वडामा चुनावी सभाहरु गरिने उल्लेख गर्दै उनले हाल सम्म ४ वडामा चुनाव सभा सम्पन्न भईसकेका बताए । माओवादीकै नेतृत्वमा भएको आन्दोलनका कारण राजनीतिक परिवर्तन भएको र सिंहदरबारका अधिकार जनताको घरदैलोसम्म पुगेका भन्दै माओवादीले मतदातासंग मत मागिरहेको छ । देशमा आमूल परिवर्तनको नेतृत्व माओवादीले गरेको र अब विकास र समुन्नती पनि माओवादीकै नेतृत्वमा हुने इन्चार्ज धामीले बताए । ‘१० वर्षे जनयुद्धकै कारण मुलुकमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र स्थापना भएको हो । माओवादी जनयुद्धको जगमा मुलुकमा आमुल राजनीतिक परिवर्तन भए ।’ माओवादी केन्द्रीय सम्मेलन आयोजक समिति सदस्य समेत रहेका धामीले भने–‘मुलकमा अब विकास र आर्थिक क्रान्तिको खाँचो छ । निर्वाचनमार्फत हामीलाई मत दिएर त्यसको नेतृत्व पनि जनताले माओवादीलाई दिनेछन् भन्नेमा हामी आशावादी छौं ।’ चुनावी सभासंगै घरदैलोमा गएर मतदाता भेटघाटसंगै स्थानीय स्तरमा जनताका समस्या र गुनासाहरु सुन्ने कार्य भईरहेको माओवादी धनगढी नगर इन्चार्ज निर्मल शाहले बताए । निर्वाचनको प्रचारप्रसारलाई व्यापक बनाइएको उल्लेख गर्दै उनले माओवादीप्रति जनताको उत्साह बढेको दावी गरे । माओवादीले धनगढी उपमहानगरपालिकाको मेयर, उपमेयर तथा सबैजसो वडाका अध्यक्ष र सदस्यका उम्मेदवार घोषणा गरेर प्रचारप्रसार गरिरहेको छ । धनगढीमा अन्य पार्टीले उम्मेदवार तय गर्न सकेका छैनन्, यद्यपि चुनावी प्रचारमा सबै दलहरु लागि परेका छन् । माओवादीबाट धनगढी उपमहानगरपालिकाको मेयरका उम्मेदवार रामसमझ रानाले प्रदेश नम्बर सातको प्रमुख शहरको रुपमा रहेको धनगढीलाई नमुना शहरको रुपमा विकास गर्ने आफ्नो चुनावी एजेण्डा रहेको बताए । उनले छिट्टै आफ्नो चुनावी प्रतिवद्धता पत्र पनि सार्वजनिक गर्न लागिएको बताए । उम्मेदवार रानाले आफू मेयरमा निर्वाचित भए धनगढीमा व्याप्त, डुवान, अतिक्रमणलगायतका समस्या समाधान गर्ने, उपमहानगरपालिकाका सबै क्षेत्रमा समानुपातिक विकास गर्ने र धनगढीलाई अत्याधुनिक सुविधा सम्पन्न शहरको रुपमा विकास गर्ने बतँए । यसैबीच नेकपा माओवादी केन्द्रले धनगढी उप–महानगरपालिका–१२, जुगेडामा आइतबार चुनावी सभा गरेको छ । सभामा माओवादी नेताहरुले मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने पार्टीलाई मतदान गरि विजयी गराउन आग्रह गरेका थिए । कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य खगराज भट्टले राजनीतिक परिवर्तनपछि अब देशमा आर्थिक परिवर्तन आवश्यक रहेको र त्यसको नेतृत्व माओवादीले मात्र गर्नसक्ने बताए । कार्यक्रममा माओवादीका धनगढी नगर इन्चार्ज रमेश धामी, नगर अध्यक्ष निर्मल शाह, मेयर पदका उम्मेदवार रामसमझ राना, उपमेयर पदका उम्मेदवार शान्ती अधिकारी, धनगढी–१२, का अध्यक्ष पदका उम्मेदवार खडकराज भट्टलगायतले मन्तव्य व्यक्त गरेका थिए । माओवादी केन्द्रले हालसम्म धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६, ७, १२, १६, मा चुनावी सभा सम्पन्न गरिसकेको माओवादी धनगढी नगर समितिका प्रवक्ता रमेश भट्टराईले जानकारी दिए ।

सेवा सुविधा नपाएको कैलालीका मुक्त हलियाको गुनासो

कैलाली, वैशाख ३१ । कैलालीका अधिकांश मुक्त हलिया परिवारले अझै पनि सरकारले प्रदान गर्ने सुविधा पाउन सकेका छैनन् । राज्यले उनीहरुको नाममा विभिन्न सेवा सुविधाको घोषणा गरे पनि लक्षित समुदायसम्म भने यसको प्रभाव पुग्न नसकेको हो । नेपाल सरकारले नै वि.सं २०६५ सालमा हलिया मुक्तिको घोषणा गरे पनि कतिपय ठाउँमा हालसम्म पनि उनीहरुको अवस्थामा कुनै परिर्वतन आउन सकेको छैन । अहिले पनि कतिपय मुक्त हलिया परिवारहरु अरुको घरजग्गामा बस्नु पर्ने बाध्यता छ । न उनीहरुसँग खानलाई गास छ नत ओत लाग्ने बास नै । हलिया मुक्तिपछि मुलुकमा सरकारको नेतृत्वमा थुप्रै फेरबदल भएको छ । तर, आफूहरुको अवस्थामा फेरबदल नभएको मुक्त हलियाहरुको गुनासो छ । पुनःस्थापनाको लागि प्रभावकारी काम हुन नसक्दा मुक्तिपछि पनि हलियाहरुको अवस्था पुरानै जस्तो रहन पुगेको हो । कैलालीको गौरीगंगा नगरपालिका १ बस्ने गिता नेपालीले हलियाको परिचय पत्र पाएको झण्डै १ दशक पुग्न लाग्यो । तर, अवस्था भने उहि दशक अघि कै छ । न उनीसंग बस्नलाई घर छ नत खेती गर्नलाई जमिन नै । आफूहरु पहिलेको अवस्थाबाटै गुज्रिरेहको उनले दुखेसो गरिन्। उनले सरकारले प्रदान गर्ने दुई लाख रुपैया पाउन लामो समय देखि निकै संघर्ष गरेकी छिन् । कति सरकार बदलिए तर, गिताको दैनिकी भने बद्लिन सकेको छैन। उनले राज्यले हलियाका लागि दिने दुइ लाख रकम लिन सम्बन्धित ठाउँ धाएको बर्षौ बितिसक्यो । तर, उनको मिहिनेतले हालसम्म सार्थक मोड लिन सकेको छैन। यस्तै गौरीगंगा नगरपालिका २ का नरेश शिलाधरले पनि हलियाको परिचय पत्र पाएको धेरै भयो । तर, उनको अवस्था पनि गिताको भन्दा फरक छैन । जुन ठाउँ जाँदा पनि आश्वासन मात्रै पाइन्छ, काम हुने कुनै छाँटकाट नै देखिदैन । उनलाई सरकारप्रति वितृष्णा जागेको छ । उनले मुक्त हलियाको सवालमा सरकार लाचार रहेको भन्दै आक्रोस पोखे । कैलालीमा सुदूरपश्चिमका अन्य जिल्ला भन्दा हलियाको संख्या कम रहेका बताइएको छ । हाल कैलालीमा १ सय २० जना हलिया रहेका छन् । यी मध्ये अधिकांश प्रमाणिकरण भइ सकेका छन् । भने, कतिपय हुन बाँकी छन् । केहिले हलियाको परिचयपत्र समेत पाउन सकेका छैनन् । अधिकांश हलियाहरुको अवस्था दयनीय रहेको हलियाको क्षेत्रमा क्रियाशिल संस्था एनएनएसडब्लुओका जिल्ला सहजकर्ता बिन्दा देवलले बताइन् । राज्यले वि.स. २०६५ सालमा हलिया मुक्तिको घोषणा गरेको थियो । तर, सरकारले न्यायिक तवरले पुनःस्थापना प्याकेज वितरण गर्न नसक्दा उनीहरुको अवस्था फेरिएको छैन । झण्डै १ दशक अघि सरकारले दिने दुई लाख रुपैयाले हाल, हात्तिको मुखमा जिरा भएकाले पनि उनीहरुको अवस्थामा सुधार नआएको कतिपयको भनाइ छ । सरकारले प्रदान गर्दै आएको पुनःस्थापना प्याकेज हलियालाई निल्नु न ओकल्नु भएको हलियाको क्षेत्रमा काम गर्ने संस्था एनएनएसडब्लुओका कैलालीका कार्यक्रम अधिकृत किरण पौडेलले बताए । राज्यले दिदै आएको सुविधा बढाउन अब दबाबको आवश्यकता परेको कतिपयको भनाइ छ । हलियाको जीवनस्तर परिर्वतन गर्नका लागि आन्दोलनको आवश्यकता छ रहेको लामो समयदेखि हलियाको क्षेत्रमा कार्यरत मनिराम देवलले बताए । हलियाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाले पनि प्रभावकारी कार्य नगरेको कतिपय हलियाको गुनासो छ । सरकारले अन्य नागरिक सरह आफूहरुलाई हेर्नु पर्ने मुक्त हलियाले बताएका छन् ।

लुटतन्त्रको प्रतिकार गर्न जनता तयार : नेता यादव

बीरगन्ज, बैशाख ३१ । नेपाल संघीय समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष राजकुमार यादवले लुटतन्त्रको प्रतिकार गर्न जनता तयार रहेको बताएका छन् । पाटीले पोखरीया नगरपालिका ३ मुडलीमा शनिवार आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष यादवले ठूला दलका नेताहरुले ग्रामीण क्षेत्रहरुमा आफ्ना आसेपासेहरुलाई प्रयोग गरी लुटतन्त्र मच्चाएको अरोप लगाए । जिल्लाका ग्रामिण तथा नगर क्षेत्रमा निर्वाचनको नाममा चन्दा आतंक, कमिसनको खेल, आर्थिक कुनिती तथा भ्रष्टचार जस्ता कार्यहरु भइरहेको बताए । स्थानिय व्रहमदेव मेहताको सभापतित्वमा सम्पन्न आमसभामा संघिय समाजवादी पार्टीका केन्द्रिय सदस्य नथुनी प्रसाद कुशवाहा भिखम सिंह, दिपनारायण रौीनयार, राहुल सर्राफ, गोरख साह कानु, जितेन्द्र पटेल लगायतका वक्ताहरुले मनतव्य व्यक्त गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले माओवादी केन्द्र, फोरम नेपाल लगायतका राजनैतिक दलहरु परित्याग गरि संघीय समाजवादीमा प्रवेश गर्नेहरुलाई फुल अविर लगाएर नेताहरुले स्वागत गरेका थिए ।