अशोक सिग्देललाई रथीमा बढुवा गर्ने सरकारको निर्णय

काठमाडौं । मन्त्रिपरिषद्ले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथी पदमा बढुवा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्ले उनलाई बढुवा, नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

जङ्गी अड्डाले मङ्सिर १७ मा उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न सिफारिस गरेको थियो । रक्षा मन्त्रीले जङ्गी अड्डाको सिफारिस मन्त्रिपरिषद्मा पेश गरेका हुन् । जङ्गी अड्डाले मङ्सिर ८ मा उनलाई बढुवा गर्नेबारे सूचना प्रकाशन गरेको थियो ।

यसअघि बढुवा सिफारिसका लागी जङ्गी अड्डाले सूचना निकालेपछि उपरथी तारा ध्वज पाण्डेको उमेर विवाद सतहमा आएपछि उनले राजीनामा दिए । पाण्डेको राजीनामा यसअघि नै मन्त्रिपरिषद्ले स्वीकृत गरेको थियो ।

रथीमा बढुवा भएसँगै प्रभुराम शर्मापछि सिग्देल प्रधान सेनापति हुने निश्चित भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी सुरक्षा परिषद् निर्देशक लाउबाचरबीच शिष्टाचार भेट

काठमाडौं । अमेरिकी राष्ट्रपतिका विशेष सहयोगी एंव अमेरिकाको तर्फबाट दक्षिण एसिया हेर्ने राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक इलिन लाउबाचरले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेकी छिन् । लाउबाचर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेट गर्न आज (बिहिबार) विहान प्रधानमन्त्री निवास वालुवाटार पुगेकी थिइन् । भेटका अवसरमा आपसी हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बुधबार नेपाल आएकी लाउबाचरले परराष्ट्रमन्त्री एनपी साउद, प्रधानसेनापति प्रभुराम शर्मा तथा राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीसँग भेटवार्ता गरिसकेकी छिन् ।

मिल्क होलीडे गराउन डिडिसीकै उच्चपदस्थ संलग्न : किसान संगठन (क्रान्तिकारी केन्द्र)

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रको किसान संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)ले डिडिसीकै उच्चस्तरका कर्मचारीको संलग्नतामा विदेशी धुलो दुध ल्याउने, सीमा क्षेत्रमा विदेशी कम गुणस्तरको र नक्कली दुध भित्राई विक्रि वितरण गर्ने वातावरण बनाई नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्ने र स्वदेशी दुधलाई निरुत्साहित गर्दै दुध विदा (मिल्क होलिडे)गर्ने कार्य भइरहेको खबरले आफुहरूलाई आक्रोशित तुल्याएको जनाएको छ । संंगठनका केन्द्रीय समिति अध्यक्ष चित्रबहादुर श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै डिडिसी र विभिन्न निजी क्षेत्रका दुध कम्पनीहरूबाट किसानहरूको अरबौँ रुपैयाँ भुक्तानी नगर्ने लज्जास्पद कार्य भएको बताउँनुका साथै त्यसको घोर निन्दा तथा भत्र्सना गरेको छ । संगठनले किसानहरूले प्राप्त गर्नुपर्ने रकम अबिलम्ब भुक्तानी तत्काल दिन समेत आग्रह गरेको छ । यस्तो छ प्रेस विज्ञप्ति

पाशुपत क्षेत्रमा मासु तथा मदिरा प्रयोगमा रोक

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपतिनाथ मन्दिर परिसर तथा आसपासको क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थ उत्पादन, बिक्रीवितरण, ओसारपसार, भण्डारण र सेवनमा रोक लगाएको छ । बालाचतुर्दशी पर्व (शतवीजारोपण पर्व) २०८० लाई मध्यनजर गर्दै आजदेखि मंसिर २७ गतेसम्मका लागि मदिराजन्य पदार्थको प्रयोगमा रोक लगाइएको हो । पावन पाशुपत क्षेत्रभित्र सुरक्षा लगायत धार्मिक, सांस्कृतिक, मर्यादा र पवित्रता कायम राख्ने उद्देश्यले गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुहृयेश्वरीदेखि दक्षिणभित्रका सबै भागमा निषेधाज्ञा लागू गरिएको हो । कोही कसैले सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारवाही हुने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

रुसी सैनिकमा भर्ती गराउने गिरोहका १२ जना सार्वजनिक

काठमाडौं। रसियामा सैनिकमा भर्ती गराउने भनी नेपाली नागरिकलाई पठाउने गिरोहका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले बुधबार पत्रकार सम्मेलनमार्फत उनीहरूलाई सार्वजनिक गरेको हो । गिरोहमा सङ्लन्न दिपेन परियार, क्षितिज गिरी, सुभाष लामा, मनिष न्यौपाने, रोजल महर्जन, हरिबहादुर विश्वकर्मा, ईश्वर अधिकारी, गोकर्ण अर्याल, सुजता दाहाल, सन्तोष अधिकारी, सन्तोष नेपाल र द्रोण डाँगीलाई प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले सैनिक लगायत अन्य विभिन्न पेसामा जाने भनी विभिन्न एजेन्ट, फर्म, राहदानी र व्यक्तिगत विवरण पठाएका पीडित सम्पर्कमा आएको बताए । रसिया जाने क्रममा ६ जनाको मृत्यु भएको घटनापछि काठमाडौँ मात्र नभई अन्यत्र जिल्लामा ठगी तथा मानव तस्करी हुन सक्छ भनी सरकार गम्भीररुपमा रहेका अवस्थामा विभिन्न माध्यमबाट प्राप्त गरेको सूचनाको आधारमा उनीहरूलाई नियन्त्रणमा लिइएको उनको भनाइ छ ।

नसेलविरुद्ध उच्च अदालतमा रिट

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेलको ८० प्रतिशत शेयर बिक्री अवैध भएको भन्दै अन्तरिम आदेशबाट बदर गर्न माग गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको छ । बाजु्रामा गोकुलबहादुर रोकायाले पाँच वर्षअघि स्वीडिस कम्पनी टेलियासोनेरासँग १.३ विलियन अमेरिकी डलरमा आजियाटाले किनेको एनसेलको ८० प्रतिशत सेयर अहिले ५० मिलियन अमेरिकी डलरमा किस्ताबन्दीमा भुक्तानी गर्ने गरी भएको बिक्री शंकास्पद भएको भन्दै अनुसन्धानका लागि पनि आदेश माग गरिएको छ । यसअघि यही मंसिर १४ गते रिट दायर गरेका रोकायाको रिटमा मंसिर १५ मा उच्च अदालतका न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउँ आदेश जारी गरेको थियो । त्यसबेला एनसेलको शेरय बिक्री भइसकेको थिएन । उक्त रिटमा उनले यसअघिको बिक्रीवापतको पुँजीगत लाभकर नै तिरिनसकेको अवस्थामा पुनः बिक्री गर्न रोक लगाउनुपर्ने दाबी गरेका थिए । रोकायको रिटमा उच्च अदालतले बिहिबारको पेसी तोकेको छ ।

एनसेलको सेयर अध्यावधिक भएको छैन : रजिष्ट्रार

काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार दीपककुमार पहाडीले एनसेलको सेयर अध्यावधिक नभएको बताएका छन् । संसद्को सार्वजनिक लेखा समितिको बैठकमा उनले एनसेलको सेयर अहिलेसम्म अध्यावधिक नभएको बताएका हुन् । आजियाटाले टेलिया सनेराबाट रेनोल्ड्स होल्डिङ किनेको थियो । उनले विदेशी लगानीकर्ताले विधि पुर्याएपछि रजिष्ट्रारको कार्यालयमा दर्ता गर्न आउने बताए । “दूरसञ्चार कम्पनीले दूरसञ्चार प्राधिकरणबाट अनुमति लिएपछि दर्ता हुन आउने हो,” उनले भने । एनसेल वि.सं.२०७७ अघि प्राइभेट कम्पनी थियो । सार्वजनिक बनाउन उनीहरूले ११ प्रतिशत सेयर ६ जनालाई थपेर सार्वजनिक कम्पनी बनेको उनको भनाइ छ ।टेलिया सनेराले आफ्नो सेयर अफशोर मै बिक्री गरेको उनले बताए । अहिले आजियाटा मालिक भए पनि सेयर रेनोल्ड्सको नै भएको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ । आजियाटाले होल्डिङ नै बिक्री गरेकाले सेयर अद्यावधिक नभएको उनले बताए । थपिएका सेयर होल्डरहरु लेना केशरी कंशाकार, कवीन मुर, समीर गौतम, कञ्चन सिंह कार्की, ज्योती दाहाल, उमा महर्जन हुन् । ११ प्रतिशत सेयर थपेर सार्वजनिक कम्पनी बनेको पहाडीले स्पष्ट पारे । २० प्रतिशत नेपाली पार्टनर र ८० प्रतिशत रेन्होल्डसकै हो । “यो अनुसन्धानको विषय हो । छलफल गर्ने विषय हो । किन कम मूल्यमा बेचियो, काम गर्न वातावरणको विषयमा लगाएको आरोप गम्भीर छ,” रजिष्ट्रार पहाडीले भने, “५०÷६० अर्ब थप दायित्व झेल्नु पर्छ भनेर गएको भए बेग्लै कुरा हो ।” रेन्होल्ड्स कम्पनी परिवर्तन नभएको उनले जानकारी दिए । “एनसेलका कर्मचारीले धेरै थाहा छैन भन्नुभएको छ । हाम्रो काम दर्ता गरेर अभिलेख राख्ने र अपडेट गर्ने हो,” पहाडीले भने, “प्राधिकरणबाट आए थाहा हुने हो । अहिलेसम्म हामीकहाँ जानकारी आएको छैन ।”

एनसेलको खरिद– बिक्री छानबिन हुन्छ : प्राधिकरणका अध्यक्ष

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषोतम खनालले एनसेलको खरिद बिक्री अस्वभाविक रहेको बताएका छन्। बुधबार बसेको अर्थसमितिको बैठकमा बोल्ने क्रममा उनले सन् २०२९ सम्म नाफा लैजाने गरि सेयर कारोबार देखिएको पनि दाबी गरे। उनले नियामकका रूपमा कडाइ गर्न दूरसञ्चार विधेयक धेरै समयदेखि संसद्मा अड्किएको पनि बताए। दूरसञ्चार ऐन २०५३ लाई प्रतिस्थापन गर्न सके धेरै नीतिगत छिद्रता हटेर जाने पनि उनको तर्क छ। प्राधिकरण नियामक निकाय भएकाले नेपाली कानुनको अक्षरश पालना गर्दै छानबिन गर्ने अध्यक्ष खनालले बताए।

बचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन : अर्थमन्त्री डा.महत

नवलपरासी । अर्थमन्त्री डा. प्रकाशशरण महतले बचतकर्तालाई सरकारले अन्याय नगर्ने स्पष्ट पारेका छन् । मंगलबार नवलपरासीमा स्थापित रेडबुल फ्याक्ट्रीको उद्घाटन गर्नेक्रममा मन्त्री डा.महतले भने, ‘ऋण तिर्दिन भन्नु समस्याको समाधान होइन । यो वचतकर्ताको पैसा हो । ऋण मिनाह भनेको वचतकर्ताको वचत सकिनु हो । त्यसको क्षतिपूर्ति कसले तिर्ने ? त्यही पैसा फिर्ता भएर वचतकर्ताले आवश्यक पर्दा लिन सक्छन् । वचतकर्तालाई सरकारले अन्याय गर्न सक्दैन ।’ उनले भने, ‘सहकारी, वित्तीय संस्था र बैंकबाट धेरैले ऋण लिएका छन्, तिर्न कठिनाइ भएको छ । त्यसकारण अर्थतन्त्र खत्तम भयो भनेर प्रचारबाजी भएको छ । अवश्य पनि उनीहरुका लागि समस्या आयो । जसलाई समस्या परेको छ, उसले व्यक्त गरेको हो ।’ ‘नेपालको अर्थतन्त्र विग्रियो, शिथिल भयोे, बजारमा माग छैन, ऋण लिएको छ, तिर्न सकिएको छैन भन्ने सर्वसाधारणमा चिन्ता छ । अवश्य पनि केही समययता, नेपालको अर्थतन्त्रमा विविध कारणले समस्या थियो, तत्कालीन सरकारले सीमित साधन श्रोत ठेक्कामुखी टावरमा लगानी गरे, राष्ट्र बैंकले अथाह पूँजी प्रवाह ग¥यो, बैंकले सस्तै दरमा ऋण दिएको छ भन्ने आम मान्छेलाई लाग्यो’ मन्त्री डा. महतले भने, ‘कहाँ लगानी गर्ने ? प्रतिफल आउँछ कि आउँदैन भन्ने सोच विचार नगरी ऋण लिए । घरजग्गामा अत्याधिक लगानी भयो, मागभन्दा बढी प्लटिङ भयो । सेयर बजारमा लगानी भयो । कतिपयले क्रिप्टोमा पनि लगानी गरेका रहेछन् । ती लगानीको प्रतिफल आइरहेको छैन । माग र आपूर्तिको असन्तुलन भएपछि समस्या आउँछ ।’ अर्थमन्त्री डा. महतले थाइल्यान्डमा उत्पादन सुरु भएको रेडबुल ब्रान्ड आयात रोकिएपछि फ्याक्ट्री नै नेपाल आएको बताउनुभयो । ‘रेडबुल अब नेपालमै उत्पादन सुरु भएको छ, यसले रोजगारी दिनेछ, माग अनुसार तीनवटै सिफ्ट फ्याक्ट्री सञ्चालन भयो भने तीन गुणा रोजगारी बढ्छ । आम्दानी पनि यो क्षेत्रका लागि तीन गुणा बढ्छ, सँगसँगै राजश्व पनि देशका लागि तीन गुणा बढ्छ मन्त्री डा. महतको भनाइ थियो ।’ ‘राजश्वबारे म एकदमै चिन्तित छु, परिवारमा जति धेरै आम्दानी भयो, त्यत्ति बढी खर्च गर्ने क्षमता हुन्छ । परिवारको आवश्यकता पूर्ति गर्न सक्छ । देश भनेको पनि ठूलो परिवार–परिवार मिलेर बनेको ठूलो परिवार हो’ मन्त्री डा.महतले भने, ‘देशलाई पनि आम्दानी हुने श्रोत र आम्दानीको आवश्यकता छ । सरकारले जति धेरै आम्दानी गर्छ, त्यत्ति नै हामी पूर्वाधारमा लगानी गर्न सक्छौं । यसका लागि निजी क्षेत्रबाट लगानी वृद्धि हुनुपर्छ ।’ उनले भने, ‘सरकारले फ्याक्ट्री चलाएर हुँदैन, यो निजी क्षेत्रले चलाउनुपर्छ । उद्यमशील नागरिकले फ्याक्ट्री चलाउनुपर्छ । सरकारले प्रतिस्पर्धा सुनिश्चित गर्छ, गुणस्तर जाँच गर्छ । एउटैले आदिपत्य जमाएको छ भने त्यो सरकारले हेर्छ । यस्तो परिवेशमा धेरै लगानी आउँछ, लगानी आएपछि रोजगारी बढ्छ । रोजगारी बढेपछि आम्दानी बढ्छ, आम्दानी बढेपछि राज्यको राजश्व बढ्छ । राजश्व बढ्यो भने शिक्षा, स्वास्थ्यलगायत हाम्रा आवश्यकताअनुसारको पूर्वाधार विकासमा सरकारले बढी लगानी गर्न सक्छ ।’ ‘सडक निजी क्षेत्रले बनाउँदैन, निजी क्षेत्रले आम्दानीका लागि ५० वर्ष पर्खिन सक्दैन । निजी क्षेत्रको शिक्षा र स्वास्थ्य सेवा सर्वसधारणले लिन सक्दैन । त्यसकारण दीर्घकालीन लगानी राज्यले गर्छ । लगानी गर्नका लागि श्रोत चाहिन्छ । निजी क्षेत्रलाई उत्पादनमा लगाइयो भने श्रोत बनाउन सकिन्छ । यो सिद्धान्तमा नेपाली कांग्रेस र यो गठबन्धन सरकार चलेको छ’ मन्त्री महतले भने ।

अवैध सुन कारोबारमा संलग्न पक्राउ

काठमाडौं । नेपाल प्रहरीले काठमाडौँको न्युरोडबाट अवैध सुन कारोबारमा संलग्न एक जनालाई सात केजी सुनसहित पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले न्युरोडमा अवैध सुन कारोबारमा संलग्न कैलाली घर भई हाल काठमाडौँको नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिने छ ।

भरतपुरमा समुदायसँग ‘मेयर’ स्वास्थ्य कार्यक्रम

भरतपुर । भरतपुर महानगर पालिकाले घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु गरेको छ । स्वास्थ्यकर्मीहरुले विषेश गरी नसर्ने रोग लागेका विरामीलाई सेवा दिने छन् । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर २४ मा समुदायसँग मेयर स्वास्थ्य कार्यक्रम उद्घाटन गरिन् । प्रमुख दाहालले दाहालले स्वास्थ्य सामग्री स्वास्थ्यकर्मीहरुलाई हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गरेकी हुन् । कार्यक्रमको उद्घाटन गर्दै महानगर प्रमुख रेनु दाहालले महानगरवासी सामान्य स्वास्थ्य उपचारबाट वञ्चित हुनु नपरोस् भनेर यो कार्यक्रम आयोजना गरिएको बताइन् । यस कार्यक्रममा समस्या देखिएका बिरामीहरुको थप उपचार शिवनगर र शारदानगरको प्राथमिक स्वास्थ्य चौकीमा गरिने उनले बताइन् । उनले भनिन् “थप उपचारका लागि भरतपुर अस्पतालसँग समन्वय भएको छ ।” यस कार्यक्रमअन्तर्गत महानगरपालिकाका ज्येष्ठ नागरिक, अशक्त, अपाङ्गता भएकाको घरघरमा पुगेर स्वास्थ्य परीक्षण गरिनेछ । महानगरभित्र रहेका ६८ वर्षमाथिका करिब २५ हजार ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर मधुमेह, उच्च रक्तचाप, उचाइ र तौल लिइने छ । दाहालका अनुसार पहिलो चरणमा महानगरको १४ वटा वडामा यो कार्यक्रम लागु हुन्छ । पहिलो चरणको कार्यक्रम २५ दिनसम्म सञ्चालन हुन्छ । बाँकी १५ वडामा अर्को चरणको कार्यक्रम सञ्चालन हुनेछ । यस क्रममा आएका जनताका समस्यालाई समाधानका लागि शिविरमार्फत स्वास्थ्य समस्या समाधान गरिने उनले जानकारी दिइन्। उनका अनुसार यस कार्यक्रममा एक सय स्वास्थ्यकर्मी परिचालन हुनेछन् । अभियानका क्रममा स्वास्थ्यकर्मीले घरघरमा सामान्य औषधिसमेत लिएर जानेछन् । सो अभियानमा नसर्ने रोगका विषयमा बढी ध्यान दिइनेछ ।पहिलो चरणमा महानगरका १४ वडामा यो कार्यक्रम लागू गरिने महानगरको जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख दीपक सुवेदीले जानकारी दिए। करिब ६० प्रतिशत जनतामा नसर्ने रोगको समस्या रहेको सुवेदीले बताए । स्वास्थ्य कार्यक्रमका लागि महानगरले स्वास्थ्य विज्ञका रुपमा फिजिसियन डा. भोजराज अधिकारीलाई नियुक्त गरेको छ । महानगरभित्र प्राथमिक स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्र, आधारभूत स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र आयुर्वेद स्वास्थ्य केन्द्र गरी ४० स्वास्थ्य उपचार केन्द्र रहेका छन् । वडा नं २४ का वडाध्यक्ष रामबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा घरघर जाने स्वास्थ्यकर्मीलाई स्वास्थ्य परीक्षणका सामग्री हस्तान्तरण गरिएको थियो । यससँगै महानगर प्रमुख दाहालको उपस्थितिमा स्थानीय ७२ वर्षीय टीकाराम भट्टराईको स्वास्थ्य परीक्षण गरेर कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या

सल्यान । धारिलो हतियार प्रयोग गरी सल्यानमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । यहाँको सिद्धकुमाख गाउँपालिका–३, उचाल्नेका ४५ वर्षीय डम्मर सार्कीले गए राति ४० वर्षीया श्रीमती सितली सार्कीको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रवक्ता भवानीप्रसाद धमलाले धारिलो हतियार प्रहारबाट सितली सार्कीको घटनास्थलमै मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार श्रीमतीको हत्या गर्ने वर्ष ४० का डम्मर सार्की हत्यापछि प्रहरी चौकी ढोडचौर आउँदै गर्दा प्रहरीले पक्राउ गरेको हो । हत्या आरोपी सार्कीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखिएको छ । घटनास्थलबाट प्रहरीले रगत लागेको बन्चरो र दाउरा बरामद गरेको प्रहरीले जनाएको छ । मृत सितली सार्कीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान ल्याइएको र घटनाको थप अनुसन्धान भइरहेको छ ।

सरकारको ध्यान शासकीय प्रणाली सुधारमा केन्द्रित छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ध्यान शासकीय प्रणालीमा सुधार गर्ने कुरामा केन्द्रित रहेको बताएका छन् । बुधबार ललितपुरमा नेपालको अर्थतन्त्र र शासकीय सुधार विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले समग्र शासकीय प्रणालीमा सुधार गरेर अघि बढ्ने सरकारको सोच रहेको बर्ताए । प्रधानमन्त्री प्रचण्डले शासकीय प्रणालीमा समग्र सुधारका लागि सरकारले शासकीय सुधार आयोग निर्माण गरेर अघि बढ्ने तयारी गरिरहेको पनि बताए । उनले जनताले अनुभूति गर्ने गरी सेवा प्रवाहको कामलाई अघि बढाउनका लागि समेत मुलुकको समग्र शासकीय प्रणालीमा सुधार गर्नुको विकल्प नरहेको दोहोर्‍याए । ‘‘सोचेजस्तो शासकीय सुधारको काम गर्न सकिएन । अब सरकारको ध्यान शासकीय सुधार गर्ने कुरामा खाली प्रशासकीय मात्रै होइन । समग्र शासकीय प्रणालीमा नै सुधार गर्ने कुरामा हामी छलफल गरेका छौँ । र, शासकीय सुधार आयोग निर्माण गरेर यसको समग्र समीक्षा गर्ने र अगाडि जाने प्रक्रियातिर हामी छौँ । त्यसकारण यो छलफलले हाम्रो त्यो सोचलाई प्रत्यक्षरुपले सहयोग पुग्छ भन्ने मैले महसुस गरेको छु ।,’’ प्रधानमन्त्री प्रचण्डले भने, ‘‘हामीले सेवा प्रवाहको क्षेत्रमा सानासाना कामहरूमा सुधार गरेर अनि ठुलाठुला कामहरूलाई प्रायोटाईज गरेर जान जरुरी छ । जनताले प्रत्यक्ष रूपमा आफूलाई सेवा प्राप्त भएको अनुभूत गरेन भने सरकारप्रति पनि, राजनीतिक दलहरूप्रति पनि र हाम्रो कर्मचारीतन्त्रप्रति पनि जनताको भरोसा कमजोर हुँदै जाने, विश्वास टुट्दै जाने हुन्छ ।’’ प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व लिने बेलामा नतिजामुखी काम गर्न मन्त्रालयका सचिवहरूलाई दिएको निर्देशन अनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे । उनीले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि आमूल परिवर्तनकारी सोचका साथ अघि बढ्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, ‘‘तत्काल जनतालाई सेवा प्रवाह गर्ने कुरालाई कसरी कुन कुरामा केन्द्रित गरेर हामीले विद्यमान ऐन, कानुन भित्रै बसेर सुधार गर्ने सकिने सेवा प्रवाह के हो, हामीले ऐनहरू संशोधन गरेर दीर्घकालीन ढङ्गले जानुपर्ने के हो ? भनेर ठोस निष्कर्षमा हामी पुग्नुछ । आफ्नो र आफू अन्तर्गतको निकायको नियमित कामहरूलाई नतिजासँग कसरी जोड्ने भन्ने छ । यहाँ प्रसङ्ग आयो । मैले पहिलोचोटी सचिवहरूलाई निर्देशन दिँदैगर्दा जुन ठोस रूपमा प्रस्तुत गर्ने कोसिस गरिएको थियो ।’’   प्रधानमन्त्री प्रचण्डले जनतामा उत्साह आउने गरी परिणाममुखी काम गर्न पनि मातहतका सबै निकायलाई सचेत गराए। ‘‘त्यो नतिजा र परिणाममा हेर्दा त्यो उत्साहजनक होइन, निराशाजनक रह्यो । भने जसरी अगाडि जान सकेन । त्यसकारण कहीँ न कहीँ यसमा समस्या छ । र यसको समाधान गर्ने उपाय पनि हामीले खोज्नै पर्नेछ । अर्थतन्त्रको कुरा गर्दा गत साल मैले सरकार प्रमुखको हैसियतले अर्थतन्त्रका समस्या समाधान सामान्य सुधारका उपायद्वारा हुने देखिएन ।,’’ उनले भने, ‘‘विगतका तमाम कामहरूको योगदानको कुल योगफलले के देखाउँछ भने हामीले कहीँ न कहीँ रेडिकल्ली सोच्नुपर्ने हुन्छ । त्यसका लागि आफू परिवर्तनको दिशातिर जानुपर्ने हुन्छ । आउने वर्षहरूमा ती कुराहरूमा हामीले गुणात्मक सुधारका उपायहरूको खोजी गर्न जरुरी छ ।’

छातीमा असहज भएपछि उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ गंगालाल अस्पतालमा भर्ना

काठमाडौं । छातीमा असहज महसुस भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मंगलबार राति सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । उपप्रधान तथा गृहमन्त्रीका सहयोगी सुरेशकाजी श्रेष्ठका अनुसार छातीमा असहज महसुस भएपछि मंगलबार राति उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा लगिएको हो । उनका अनुसार गृहमन्त्री श्रेष्ठको एन्जियोप्लास्टी गरिएको छ । उनको लेफ्ट एन्टेरियर डिसेन्डिङ आर्टरीको एन्जियोप्लास्टी गरिएको हो । यसअघि करिब ७ साताअघि चीन भ्रमणको क्रममा उनको लेफ्ट सर्कमफ्लेक्स आर्टरीमा एन्जियोप्लास्टी गरिएको थियो । गृहमन्त्री श्रेष्ठको स्वास्थ अवस्था स्थिर रहेको उनको सचिवालयले जानकारी दिएको छ । उपप्रधानमन्त्री श्रेष्ठ मंगलबार साँझ बालुवाटारमा प्रधानमन्त्रीले बोलाएको सत्ता गठबन्धनको बैठकमा सहभागी भएपछि अस्पताल गएका हुन् ।

एनसेलको शेयर खरिद-विक्रीबारे यस्तो छ सरकारको आधिकारिक धारणा

काठमाडौं । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद विक्रीका सम्बन्धमा प्रकाशित समाचारबारे नेपाल सरकारले प्रवत्ता मार्फत आधिकारिक धारणा सार्वजनिक गरेको छ । आज सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् प्रवक्ता नेपाल सरकार रेखा शर्माले एक विज्ञप्ति जारी गर्दै र एनसेलको शेयर खरिद विक्रीका सम्बन्धमा प्रकाशित समाचाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तिमा भनिएको छ -‘एनसेलको शेयर खरिद विक्रीका सम्बन्धमा प्रकाशित समाचाप्रति नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारी समेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने यो कारोबारका सम्बन्धमा अध्ययन गर्न सम्माननीय प्रधानमन्त्रीले मिति २०८० मंसिर १८ गते सम्बन्धित निकायलाई निर्देशन दिइसक्नु भएको छ।’ नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्ने जनाएको छ । विज्ञप्तिमा थप भनिएको छ -‘नेपाल सरकारले एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा प्रचलित कानुनी प्रावधान तथा अन्तर्राष्ट्रिय विधि र प्रक्रियाको पालना एवम् यस्ता क्रियाकलापबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर तथा नेपाल सरकारको राजस्व लगायतका विषयमा पर्ने प्रभावका बारेमा विस्तृत अध्ययन तथा छानबिन गर्नेछ ।यस अध्ययन तथा छानबिनबाट कुनै अनियमितता भएको पाइएमा नेपाल सरकारले सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारवाहीको दायरामा ल्याउनेछ । नेपाल र नेपालीको हित संरक्षण तथा प्रचलित कानुनको पालना गर्न गराउन नेपाल सरकार प्रतिबद्ध रहेको छ ।’ सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् प्रवक्ता नेपाल सरकाररेखा शर्माद्धारा जारी विज्ञप्ति

सोती हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

काठमाडौं । रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ । न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् । यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् । नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २/२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।