वाटर इन्डस्ट्रीमा पेट्रोल बम प्रहार

काठमाडौँ, वैशाख २५ । शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले आज बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ ।

कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिनुभयो ।

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ ।

त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ ।

नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगानउनुभयो । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ ।

आज विश्व रेडक्रस दिवस

काठमाडौ, वैशाख २५ । अाज विश्व रेडक्रस दिवस,नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । रेडक्रस सोसाइटीका संस्थापक जाँ हेनरी ड्युनाको सम्झनामा हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको यो संस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयम्सेवकका रुपमा कार्यरत छन् । नेपालमा २०२० सालमा स्थापना भएको रेडक्रस सोसाइटीको अहिले सबै जिल्लामा शाखा र १ हजारभन्दा बढी उपशाखाहरु छन् । नेपालमा रेडक्रममा ११ लाखभन्दा बढी स्वयंसेवक  आवद्ध छन् । दिवसका अवसरमा जिल्ला शाखा तथा उपशाखाले देशैभरी र्याली, रक्तदान, विपद् व्यपस्थापन सम्बन्धी जनचेतना जगाउने कार्यक्रमहरु आयोजना गर्दैछन् । रेडक्रसको मुख्य कार्यहरुमा मानवताको संरक्षण अनि यूद्ध ग्रस्त क्षेत्रहरुमा घाईतेहरुको उद्धार रहेको छ । यो संसारले धेरै यूद्धहरु खेपेको छ, रक्तपातको ईतिहास बोकेको छ अनि हरेक यूद्धमा कैंयनका सख्यामा घाईतेहरु उपचार नपाईकन छटपटाएर मरेको छन् । हेनरी ड्यूनान्टले मानवताको मूल्य अनि सेवाको आवश्यक्तालाई महसुस गरेर रेडक्रस स्थापना गरेका थिए । अस्पताल, स्वास्थ्य सँस्था र स्वास्थ्यकर्मीहरु चिनाउनकालागि यही रातो क्रस चिह्नको प्रयोग गरिन्छ, पछील्लो समयमा रेडक्रस अनि स्वास्थ्यसेवाको चिह्नलाई फरक देखाउने विभिन्न प्रयास भएपनि आजको संसारमा एउटा बुझ्ने उमेरको सानो बच्चाले पनि रातो क्रस देख्ने वित्तिकै सहजै स्वास्थ्य सेवा भनेर बुझ्दछ । नेपालमा पनि सन् १९६३ बाट नेपाल रेडक्रस को शुरुवात भएको हो ।

काँग्रेस उम्मेदवारको गाडी आगजनीमा

पोखरा, २४ वैशाख । नेपाली काँग्रेसबाट माछापुच्छ«े गाउँपालिका–२ का वडाध्यक्षका उम्मेदवार गुञ्जमान गुरुङले चुनाव प्रचार प्रसारमा प्रयोग गरेको गाडीमा गए राति आगजनी गरिएको छ । गाउँपालिकास्थित सार्दीखोलामा पार्किङ गरिएको अवस्थामा रहेको ग १ ज ६४४५ नंको गाडी राति १२.०० बजेतिर अज्ञात समूहले आगजनी गरेको काँग्रेस कास्कीका उपसभापति हरि आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट गाडी पूर्ण रुपमा ध्वस्त भएको छ । उम्मेदवार गुरुङले माछापुच्छे« गाउँपालिका लाहाचोकका स्थानीयवासी एवम् पार्टीका क्रियाशील सदस्य मखलाल परियारको गाडी चुनावी प्रयोजनका लागि प्रयोग गर्दै आउनुभएको थियो । यसैबीच काँग्रेस कास्कीले आज विज्ञप्ति जारी आगजनीप्रति खेद प्रकट गरेको छ । पार्टीका सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा चुनावलाई प्रभावित गर्ने गरी हतास मनस्थितिका साथ गरिएका यस्ता कार्य निन्दनीय भएको उल्लेख गर्दै दोषीको पहिचान गरी तत्काल कारबाही गर्न माग गरिएको छ । आगामी दिनमा यस्ता कुनै पनि गतिविधि नगर्न पार्टीले चेतावनी दिएको छ ।

हत्याका अभियुक्त पक्राउ

भक्तपुर, वैशाख २४ । एकाबिहानै आफ्नै फुपूको छोरालाई खुकुरी हानेर फरार भएका मध्यपुरथिमि नगरपालिका–३ कौशलटारका २५ वर्षीय पारस कोइरालालाई प्रहरीले धादिङबाट पक्राउ गरेको छ । कौशलटार, सागबारीमा नेपाली सेनाका कर्णेल आनन्दसिंह भाटका घरमा भाडामा बस्दै आएका आफ्नै मामाका छोरा ३२ वर्षीय सरोज सुवेदीलाई कोइरालाले आज बिहान ७ः३० बजे कोठामै गएर खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिनुभयो । अभियुक्त कोइरालाको चौतर्फी खोजी गर्ने क्रममा मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा धादिङबाट पक्राउ गरी भक्तपुर ल्याइँदै गरेको बताइएको छ । झापा तामुङ्दुवा– ३ घर भई सागबारीमा बस्ने एसबिआई बैंक लैनचौरका प्रबन्धक सुवेदीको उपचारका लागि बिएन्डबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको छ । घरमा सुवेदीका श्रीमती, बच्चा र काम गर्ने महिला भएकै बेलामा बिहानै आएका कोइरालाले कोठामा बसिरहेका सुवेदीमाथि एक्कासि खुकुरी प्रहार गरेको प्रहरीको भनाइ छ ।

माइक्रोबसको ठक्करबाट मृत्यु

चितवन, वैशाख २४ । कुरिनटारमा माइक्रोबसको ठक्करबाट आज मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ । आज बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुग्लिनबाट काठमाडाँैतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा आज बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ ।

कार दुर्घटनामा एकको मृत्यु, दुई घाइते

काठमाडौँ, वैशाख २४ । गएराति बिजुलीबजारमा कार दुर्घटना हुँदा धनकुटा स्थायी घर भई शान्तिनगर बस्ने चन्द्र निरौलाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । तीनकुनेबाट बबरमहलतर्फ आइरहेको बा.१६.च ८६०३ नंकोे कार पोलमा ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका निरौलाको बानेश्वरस्थित एभरेष्ट नर्सिङहोममा उपचारका क्रममा निधन भएको प्रहरी प्रभाग, बानेश्वरले जनाएको छ । घाइते भक्त तामाङ र गणेश खत्रीको उपचार भइरहेको छ ।

सात नम्बर प्रदेशमा राप्रपा-एमाले र काँग्रेस-माओवादीबीच चुनावी तालमेल

कैलाली,वैशाख २४ । प्रमुख चार दलबीच केन्द्रीय स्तरमा स्थानीय तहको पहिलो चरणको निर्बाचनमा भएको चुनावी समिकरण सात नम्बर प्रदेशमा पनि हुने देखिएको छ । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच दोस्रो चरणमा सात नम्बरमा हुने स्थानीय तहको निर्बाचनका लागि समिकरणको प्रयास जारी रहेकै बेला नेकपा एमाले र राप्रपाबीच पनि तालमेलका लागि संवाद र छलफल शुरु भएको छ । माओवादी केन्द्रले सुदूरपश्चिमका अधिकांश स्थानीय तहमा उम्मेदवारहरु तय गरिसकेको छ । र केही तहमा मात्र उसले उम्मेदवार घोषणा गरेको छैन । उता एमालेले पनि अधिकांश तहमा उम्मेदवार चयन गरिसकेको छ । तर, दुबै पार्टीका नेताहरुले उम्मेदवारी घोषणा भईसकेपनि समिकरणमा त्यसले असर नगर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रका कार्यालय सदस्य तथा सात नम्बर प्रदेश ईञ्चार्ज लेखराज भट्टले नेपाली काँग्रेससंग चुनावमा मिलेर जान सहमतीका लागि प्रयास भईरहेको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री एनपी सावदसंग यो विषयमा दुई पटक र भौतिक पूर्बाधार तथा यायात मन्त्री रमेश लेखकसंग पनि एक पटक छलफल भईसकेको छ, माओवादी केन्द्रका नेता भट्टले भने, सरकार झै स्थानीय तहको निर्बाचनमा पनि मिलेर जाने विषयमा भएको छलफल सकारात्मक भएको छ । तर कुन ठाऊमा कसलाई कसले छोड्ने भन्ने विषयमा भने छलफल भईसकेको छैन । माओवादी नेता भट्टले भने, प्रारम्भिक चरणमा स्थानीय तहको निर्वाचनमा काँग्रेससंग मिलेर जाने लगभग निश्चित भएको छ । काँग्रेससंग सहमती भएमा अत्तरीया नगरपालिकामा माओवादीका तर्फबाट मेयरको उम्मेदवार घोषणा गरिएका गोकर्ण भट्ट दुईटै पार्टीका साझा उम्मेदवार हुने निश्चित छ । भट्ट माओवादी केन्द्रका कार्यालय सदस्य तथा पूर्व मन्त्री लेखराज भट्टका सहोदर भाई हुन् । कतिपय काँग्रेस र माओवादी कार्यकर्ताले आफ्नो भाईको जीत सुनिश्चित गर्न पनि माओवादी नेता भट्टले काँग्रेससंग सहमतीका लागि निकै जोड गरेको बताएका छन् । माओवादी नेता भट्टले मेयर पदका उम्मेदवार भट्ट आफ्नो भाई भएकै कारण टिकट पाएको र उनलाई जिताउन मात्र समिकरण भईरहेको भन्ने भनाई संकिर्ण भएको बताए । मेयर पदका उम्मेदवार गोकर्ण भट्टले मेरो भाई भएका कारण टिकट पाएका होईनन, माओवादी नेता भट्टले भने,पार्टीको कार्यकर्ताका हैसियतले उसले पु¥याएको योगदान र जित्न सक्ने व्यक्ति भएका कारण टिकट पाएको हो । अत्तरीया नगरपालिका काँग्रेसको गढ मानिन्छ । माओवादीले कैलारी गाँउपालिका र घोडाघोडी नगरपालिकामा पनि आफ्नो पार्टीलाई सहयोग गर्न काँग्रेससंग आग्रह गरिरहेको छ । अहिले कैलारी र घोडाघोडी नगरपालिकामा पनि काँग्रेस र माओवादीका बीचमा कडा प्रतिस्पर्धा छ । यदि काँग्रेससंग सहमती भएमा यी दुबै ठाऊमा माओवादीले जित्ने अनुमान गरेको छ । धनगढी उपमहानगरपालिकामा भने माओवादीले काँग्रेसलाई छोड्ने संकेत छ । माओवादी केन्द्रका नेता भट्टले सुदूरपश्चिमका ८८ वटा स्थानीय तहमध्ये २५ वटासम्ममा माओवादीले जित्ने दावी गरे । उनले आफ्नो पार्टी तेस्रो स्थानमा भएको समेत स्वीकार गरे । काँग्रेससंग सैद्धान्तिक मतभिन्नता रहेपनि चुनावमा भने मिलेर जान बैचारिक तथा सैद्धान्तिक मतभिन्नताले नछेक्ने स्पष्ट पारे । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले पनि सात नम्बर प्रदेशको स्थानीय तहको निर्वाचनमा माओवादीसंग मिलेर जाने विषयमा छलफल भएको स्वीकार गरे । तर कहाँ र कति तहमा सहमती गर्ने, कसले कसलाई कहाँ छाड्ने भन्ने सहमती भईनसकेको काँग्रेस नेता सावदले बताए । उता नेकपा एमालेका सात नम्बर प्रदेशका कार्यालय सचिव दिनेशचन्द्र सुवेदीले सात नम्बर प्रदेशमा राप्रपासंग मिलेर स्थानीय तहको निर्बाचनमा मिलेर लड्ने विषयमा छलफल भएको बताए । धनगढी उपमहानगरपालिकामा एमालेलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको नेता सुवेदीले बताए । धनगढी उपमहानगरपालिकामा राप्रपाले अहिलेसम्म उम्मेदवार तय गरेको छैन । पार्टीभित्र मेयर पदको आकांक्षी कोही नभएकोले पनि राप्रपा मौन देखिएको छ । एमाले नेता सुवेदीले पनि राप्रपासंग सहमतीको प्रयास भईरहेपनि सहमती भने भईनसकेको बताए । नेता सुवेदीले भने, केन्द्रीय स्तरमा राप्रपासंग सहमती भएकोले सात नम्बरमा त्यही सहमतीलाई निरन्तरता दिने विषयमा एमाले सकारात्मक छ, ।

दाङको लमहीमा भ्यूटावरको शिलान्यास

दाङ,वैशाख २४ । दाङको लमहीमा भ्यूटावरको शिलान्यास गरिएको छ । लमही बजारसँगै उत्तरी भेगमा जोडिएको अजमरी सामुदायिक वन उपभोक्ता समूहको हाताभित्र निर्माण हुन लागेको ग्रिनपार्कभित्र निर्माण गर्न लागेको साततले भ्यूटावरको शनिबार शिलान्यास गरिएको हो । लमहीलाई पर्यटकीय सुन्दरनगरका रुपमा विकास गर्न र लमहीको चिनारीका रुपमा उक्त टावर निर्माण हुन लागेको हो । करिब २० बिगाहा क्षेत्रफलमा उपभोक्ता समूहले ग्रिनपार्क, भ्यूटावर, बालउद्यान, सिमसार, नर्सरीलगायतका १९ वटा कार्य गर्ने निर्णय गरेलगत्तै जिल्ला वन कार्यालयले सहमति दिएको थियो । जिल्ला वन कार्यालयको सहमति तथा लमही नगरपालिकाको आर्थिक सहयोग प्राप्त गरेलगत्तै ग्रिनपार्कको निर्माण प्रक्रिया अगाडि बढेको छ । जसमध्ये एक भ्यूवार निर्माण पनि हो । रु एक करोड २२ लाखको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने सो टावरको यसवर्ष भने पहिलो चरणको कार्यमात्र हुने अजमरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष केसीले बताउनुभयो । पहिलो चरणको कार्यका लागि लमही नगरपालिकाबाट रु ५० लाख, जिल्ला वन कार्यालय दाङबाट रु छ लाख उपभोक्ताबाट रु १५ लाख गरी रु ७१ लाखको लगानी हुने भएको छ । सो भ्यूटावर निर्माण भएलगत्तै भ्यूटावरमा चढेर लमही बजारलगायत देउखुरीका धेरैजसो स्थानको दृश्यावलोकन गर्न सकिने छ ।

भक्तपुरकाे तेखापुखुमा आगलागी

भक्तपुर, वैशाख २४ । भक्तपुर नगरपालिका वडा नं १ तेखापुखुमा आगलागी भएको छ । इन्द्र शिल्पकारको घरबाट खाना पकाउने काठको भुस बलेर आगलागी सुरु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । आगलागीबाट आठ घरपरिवार बस्दै आइरहेको पाँचवटा घर पूर्णरुपमा ध्वस्त भएको छ । इन्द्र शिल्पकार, कृष्ण शिल्पकार, दानबहादुर शिल्पकार, चन्द्रलाल शिल्पकार, लक्ष्मीप्रसाद शिल्पकार, नारायण शिल्पकार र पुरुषोत्तम शिल्पकारको परिवार बस्दै आएको घरमा आगलागी भएको हो । आगलागीमा मानवीय क्षति नभए पनि घरभित्र रहेका अधिकांश सामग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रसूति समस्याका कारण नवजात शिशुको मृत्यु, सात महिनामा १५ गर्भ तुहियो 

रोल्पा, वैशाख २३ । सुत्केरी हुन जिल्ला स्वास्थ्य कार्यालय रोल्पा आएकी जंकोट–९ रोल्पाकी ३० वर्षीया खुमीसरा वलीको नवजात शिशुको शुक्रबार (हिजो)प्रसूति गराउने क्रममा निधन भयो । शिशु जन्मन एक हप्ता बाँकी रहेकै बेला शुक्रबार राति करिब १ बजेदेखि प्रसवपीडा भएपछि बिहान परिवारका साथमा वलीलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पताल आइपुग्दा वलीको पाठेघरको मुख खुलिसकेको तथा शिशु उल्टो जन्मिएको प्रसूतिमा संलग्न डा. नजिर खानले जानकारी दिए । उनका अनुसार शिशुको टाउकामा दुई पटक नाल बेरिएको र साल पाठेघरको भित्री भागमा टाँसिएर बस्नाका साथै शिशु धेरै ठूलो भएको हुँदा सहजै जन्मन सकेन । पाठेघरको मुख खुलिसकेका कारण शल्यक्रिया गर्न नमिल्ने र त्यस्तो अवस्थामा बाहिर सिफारिस गर्न नमिल्ने भएपछि थप समस्या निम्तिएको थियो । निकै जोखिम अवस्थामा सुत्केरी भएकी वलीको अधिक रक्तश्राव भएका कारण जिल्ला अस्पतालका ल्याब टेक्निसियन विजयकुमार शाहले एक पिन्ट रक्तदान गरेका थिए । रक्तदानपछि थप उपचारका लागि सुत्केरी वलीलाई शनिबार बिहान २ बजे भेरी अस्पताल नेपालगन्जमा लगिएको छ । अहिले उनको भेरी अस्पतालमा उपचार भइरहेको छ । ‘निकै प्रयास गर्दापनि अभिभावकलाई जीवित बच्चा बुझाउन सकिएन तर अथक प्रयासबाट आमाको ज्यान बच्यो यो नै खुसीको कुरा हा’, डा.खानले भने । वलीका तीन सन्तान उल्टो नै जन्मिएको आफन्तले जनाएका छन् । जिल्ला अस्पतालमा ब्लड बैंक नहुँदा पटक पटक स्वास्थ्यकर्मी तथा त्यहाँका कर्मचारीले नै रगत दिने गरेको अस्पतालले जनाएको छ । डा.खानका अनुसार चालु आवमा मात्र जिल्लामा दुई महिलाले ‘इक्ल्याम्सिया’का कारण ज्यान गुमाएको तथा करिब सात महिनामा १५ गर्भ तुहिएका छन् । करिब सात महिनाका अवधिमा ४० गर्भवतीको सफल शल्यक्रिया भएको छ । स्वास्थ्यकर्मीका अनुसार रोल्पामा अन्धविश्वासका कारण अझैपनि जोखिम निम्तिएपछिमात्र अस्पताल आउने गरेका छन् । सुरु सुरुमा धामीझाँक्रीकै भरपर्ने र अवस्था जोखिम भएपछि अस्पताल आउने बिरामीको सहज रुपमा उपचार हुन नसक्ने डा.खानले बताए ।

सशस्त्र प्रहरीका पुर्व एआइजीमाथि आक्रमण

काठमाडौं, वैशाख २३ । सशस्त्र प्रहरीका पुर्व एआइजी ठाकुरमोहन श्रेष्ठमाथि राजधानीमा आक्रमण भएको छ । अंगरक्षकसँग हिँडेका बेला धुम्बाराहीस्थित उनीमाथि ५/६ जनाको समूहले आक्रमण गरेका हुन् । आक्रमणबाट उनको दाहिने हातमा चोट लागेको छ। उनका अंगरक्षक पनि सामान्य घाइते भएका छन् । श्रेष्ठमाथि कसले र किन आक्रमण गर्यो भन्नेबारे अहिलेसम्म केही खुलेको छैन । महाराजगन्जबाट खटेको प्रहरीले श्रेष्ठमाथि आक्रमण गर्ने केहीलाई पक्राउ गरेको छ भने अन्यको पनि खोजी कार्य भइरहेको बताएको छ ।

एक सय बढी निलगाई फेला

गौशाला, वैशाख २३  । महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकामा अवस्थित आधा दर्जन गाउँमा एक्कैसाथ एक सय भन्दा बढी निलगाई फेला परेको छ । स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुको रुपमा रहेको निलगाई एकसय भन्दा बढीको सङ्ख्यामा देखिएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर निलोरङ्गको ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताउनुभयो । एकसय भन्दा बढीको सङ्ख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बालीमा हुलका हुल गरेर सबै तरकारी खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताउनुभयो । सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती जनावरलाई धपाउनका लागि जाने मानिसहरुलाई देख्ने बित्तिक्कै भाग्ने गरेको छ । दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायतका विभिन्न वनमा दौडादौड मचाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिरहेको सम्सीका विजय साहले बताउनुभयो । गर्मीयाम आउने वित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वन जङ्गलमा डढेलो, चोरी सिकारी जस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासी बताउछन् ।

चितवन ल्याइएका दुई वटा बाह्रसिङ्गे मर्यो

चितवन, वैशाख २३ । शुक्लाफाँटाबाट चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको दुई वटा बाह्रसिङ्गे मरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक मानबहादुर खड्काले निकुञ्जमा ल्याइएकामध्ये दुई वटा पोथी बाह्रसिङ्गे मरेको आज जानकारी दिनुभयो । केही दिनअघि एउटा बाह्रसिङ्गे ल्याएकै दिनमा मरेको हो भने अर्काे ल्याएको एक दिनपछि मरेको हो । टाढाबाट १६,१७ घन्टाको यात्रामा ल्याइएकाले दबाब परेको र गर्मी पनि बढेकाले बाह्रसिङ्गे मरेको अनुमान गरिएको निकुञ्जले जनाएको छ । बाह्रसिंगे अति संवेदनशिल जनावर हो । गर्मी बढेकाले अहिले स्थानान्तरण प्रक्रिया स्थगित गरिएको चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनमा कर्मचारी पनि खटाउनु पर्ने अबस्था आएकाले पनि कार्यक्रम रोक्नु परेको हो । चितवन निकुञ्जमा ल्याइएको सात मध्य २ वटा बाह्रसिंगे मरेपछि पाँच वटा मात्रै रहेका छन् । जसमा २ भाले र ३ पोथी रहेको अर्यालले जानकारी दिनभयो । कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ वटा बाह्रसिंगे ल्याउने योजना छ । जाडो मौसमको उपयुक्त समयमा अन्य बाह्रसिंगे ल्याईने निकुञ्ज विभागका महानिर्देशक खड्काले जानकारी दिनुभयो । स्थानान्तरणको काम यही वैशाख १३ गतेदेखि शुरु भएको थियो । बाह्रसिंगे नियन्त्रणमा लिन चितवन निकुञ्जका बरिष्ठ पशु चिकित्सक कमल गैंरेको नेतृत्वमा बर्दिया र शुक्लाफाँटाका कर्मचारी तथा प्राविधिकहरु गरी ३० जनाको टोली खटिएका थिए । सरकारी निर्णय अनुसार प्रजाती संरक्षण र विस्तारका लागि यसरी स्थानान्तरण गरिएको चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले जानकारी दिनुभयो । चितवन निकुञ्ज भित्रको पुरानो पदमपुरमा ३० हेक्टर क्षेत्रमा तारबार लगाएर अर्ना र बाह्रसिंगे राखिएको छ ।

तरकारी र अालु खेतीमा किरा लागेपछि किसान चिन्तित बन्दै

बाजुरा, वैशाख २३ । तरकारी र आलुखेतीमा किरा लागेपछि किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा रोगकिरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताउनुभयो । उहाँले गहुँखेती छाडेर आलुखेती गर्नुभएको हो । “किरा लागेर बीउको मूल्य समेत आउने अवस्था छैन्,” उहाँले भन्नुभयो । गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ । उनीहरुले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ । “समस्या बुझ्ने कोही छैनन्, अब कहाँ गएर गुनासो गर्नु ?,” कठायतले भन्नुभयो । किसानले लगाएको प्याज, धनिया र लसुनबाहेक सबै जसो तरकारीमा रोगकिरा लागेको स्थानीय जङ्ग रावलले बताउनुभयो । बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारी खेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् । जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत डा रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफै गर्नसक्ने बताउनुभयो । गाईवस्तुको पिसाब सङ्कलन गरी विविन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उहाँको भनाइ छ ।

करेन्ट लागेर एकको मृत्यु

सिन्धुली, वैशाख २३ । सिन्धुलीको तीन पाटन गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । तिनपाटन गाउँपालिका– २ निवासी ४७ वर्षीय खड्गप्रसाद श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो । तीनपाटनकै बेलघारीमा कुखुरा लिन जाने क्रममा चदाहा खोलामा करेन्ट लागेर श्रेष्ठको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलघारीका प्रहरी नायब निरीक्षक ज्ञानेन्द्र झाले जानकारी दिनुभयो । पैदल हिँड्ने क्रममा श्रेष्ठले अचानक नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियो । प्रहरीकाअनुसार हावाहुरीका कारण बिजुलीको तार भुइँमा लत्रेको र त्यही नाङ्गो तारमा छुँदा श्रेष्ठको मृत्यु भएको हो । यता नेपाल विद्युत् प्राधिकरणले ग्रामीण क्षेत्रमा वितरण गरेको विद्युतिकरण जोखिम बन्दै गएको छ । स्थानीय पोलको प्रयोग, विद्युत् पोलको समयमा नै मर्मत नगर्दा ग्रामीण विद्युतिकरण जोखिम बन्दै गएको छ । सिन्धुलीका ग्रामीण क्षेत्रमा वितरण गरिएका अधिकांश स्थानमा प्राधिकरणले लापरबाही तवरले विद्युत् विस्तार गरेको छ । स्थानीयवासीले विद्युत् पोल मर्मत गर्न प्राधिकरणलाई जानकारी गराउँदा समेत प्राधिकरणले बेवास्ता गर्ने गरेको स्थानीयवासीको भनाइ छ ।

तीनवटा ग्रामीण बस्तीमा खानेपानी आयोजना निर्माण

म्याग्दी, वैशाख २३। म्याग्दीको तिनवटा ग्रामीण बस्तीमा एकै साथ खानेपानी आयोजना निर्माण भएको छ । जिल्ला समन्वय समिति अन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत निर्माण भएको आयोजनाबाट एक सय भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । अन्नपूर्ण गाउँपालिका– ६ घारमा बिरौटा, मङ्गला– २ तल्लो हिदीमा पात्लेपानी र मालिका– ४ ओखरबोटमा खालखोला खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको परियोजनाले जनाएको छ । एक करोड १६ लाख ७५ हजार १४५ रुपैयाँको लागतमा निर्माण भएको तिनवटा आयोजनाबाट एक सय १९ घरधुरीका सात सय ७३ जनसङ्ख्या लाभान्वित भएका परियोजनाका सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिनुभयो । यसै महिना सञ्चालनमा आएका तिनवटै आयोजनामार्फत प्रभावित क्षेत्रका सबै उपभोक्ताको घरमा निजी धारा जडान भएको छ । परियोजना, जिल्ला समन्वय समिति र गाउँपालिकाको अनुदान सहयोगमा उपभोक्ताले श्रमदान गरेर आयोजना निर्माण गरेका हुन् । उपभोक्ताले कुल लागतको ३५ प्रतिशत श्रमदान गरेका छन् । सार्वजनिक धारा र असुरक्षित मुहानको पानी खानेपानी उपभोग गर्दै आएका सर्वसाधारणको घरमै धारा जडान भएपछि समयको बचतसँगै दैनिकी सहज भएको बिरौटा खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष ठाकुर बरुवालले बताउनुभयो । उहाँकाअनुसार पानीको मितव्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि मिटर जडान तथा मासिक न्युनतम शुल्क निर्धारण गरिएको छ । परियोजनामार्फत म्याग्दीमा थप चारवटा खानेपानी आयोजना निर्माणाधिन छन् ।