चुनावलार्इ लक्षित गरी प्रशासनलार्इ आठ थान हतियार बुझाइयो

झापा, २० वैशाख । जिल्लामा एक हजार एक सय ६ वटा इजाजत प्राप्त हतियार भएपनि हालसम्म आठ जनाले मात्र जिल्ला प्रशासनलाई हतियार बुझाएका छन् ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयले इजाजत प्राप्त हतियार बुझाउन आग्रह गरेको थियो ।

कार्यालयले सार्वजनिक सूचना जारी गर्दै स्थानीय तहको निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न बन्दुक, पेस्तोललगायत हतियार तथा त्यसमा प्रयोग हुने गोली गठ्ठा निर्वाचन अवधिभरका लागि प्रशासनलाई बुझाउन आग्रह गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय अनारमनी र दमकमा तीन-तीन थान हतियार तथा काँकरभिट्टामा दुई थान हतियार बुझाइएको छ ।

प्रहरीलाई बुझाइएका हतियारमा थान २२ म्याग्नम दुरबिनसहितको एक थान, म्याग्नम सटगन एक थान र १२ बोरे एक नाले ६ थान रहेका छन् ।

बिप्लपका कार्यकर्ताले राखे उपमहानगरपालिकाको बोर्डमा जनपरिषद्

लोकेश धामी कैलाली, वैशाख १९ । नेत्रबिक्रम चन्द नेतृत्चवको नेपाल कम्युनिस्ट पार्टीले धनगढी उपमहानगरपालिका कार्यालयको गेटामा राखिएको बोर्डमा उपमहानगरपालिका मेटाएर जनपरिषद लेखेको छ । विप्लवका कार्यकर्ताहरुले सोमबार राती बोर्डमा नाम परिवर्तन गरी त्यहाँ जनपरिषद् लेखेका भएपनि मंगलबार मात्रै सो देखिएको थियो । चुनाव स्थगित गरी जनपरिषद गठन गर्नुपर्ने माग राख्दै सो पार्टीले चुनाव विरुद्धको देशव्यापी कार्यक्रम अन्तरगत उपमहानगरपालिकाको बोर्डमा जनपरिषद लेखिएको नेपाल कम्युनिष्ट पार्टी कैलालीका सचिव गणेश ढकालले बताए । संसदीय प्रणाली नेपालमा असफल भएको भन्दै नेपाल कम्युनिस्ट पार्टीले जनसरकारको घोषणा गरेको ढकालले बताए । स्थानीय तहको चुनाव जालझेल र जनतालाई धोका भएको दावी गर्दै सो पार्टीले चुनाव हुन नदिने बताएको छ । राजतन्त्रको अन्त्य भईसके पनि नेताहरुमा निरंकुश शैली कायमै रहेको सो दलको आरोप छ । सचिव ढकालले अब आफ्नो पार्टीले जनसरकार चलाउने बताए । धनगढी उपमहानगरपालिकाका प्रशासकिय अधिकृत सुरेन्द्रसिंह कार्कीले यसबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराइएको बताए । यसले सुरक्षा चुनौति देखिएको भन्दै कर्मचारीको सुरक्षा माग गरिएको उनले बताए । निर्वाचनको वातावरणलाई विथोल्ने गतिविधि भए पनि प्रशासनले गम्भीर रुपमा नलिएको कतिपयले बताएका छन् । गृह मन्त्रालयले विप्लव नेतृत्वको माओवादी चुनावी सुरक्षाको चुनौति रहेको निष्कर्ष निकालेको थियो ।

मिटर ब्याज र ढुकुटीले तरायाे धेरैकाे उठिवास !

लोकेश धामी धनगढी, बैशाख १९ । धनगढी बजार क्षेत्रमा चर्को मिटर ब्याज र ढुकुटीले थुप्रैको घरबार विगँ्रदै गैरहेको छ । प्रहरी र स्थानीय प्रशासनको मौन स्विकृतिमा फैलिदो रुप लिई रहेको मिटर ब्याज र ढुकुटीकाका कारण केही रातारात करौडौको सम्पत्ति जोड्न सक्षम भएका छन् भने केहि आत्महत्यासम्म गर्ने प्रयास र ठाउँ छोडेर भागेका छन् । केही समय अघि मात्रै मिटर व्याज र ढुकुटीको सिकार भएर परिवार सहित धनगढी छोडेर भागेका डेरी व्यवसायी दीपक खड्का, खाद्यान्न व्यवसायी विकाश अग्रवाल, राजेश गुप्ता, नितेश शर्मा लगायत आधा दर्जन भन्दा बढी व्यवसायीहरु चर्को मिटर व्याज तिर्न नसकेर भाग्न बाध्य भएका हुन् । श्रीमतीलाई अगाडी सारेर ढुकुटीको कारोवार गरिरहेका धनगढीका सम्भ्रान्त परिवारका पुरुषहरु त्यहि पैसामा विलासिताको जीवन बिताई रहेका छन् । ‘हिजोसम्म भारतीय बजार गौरीफन्टाबाट चिनी र दाउरा ल्याएर बेचेर गुजारा गरिरहेकाहरु अहिले आलिसान महलमा बसिरहेका छन्’ धनगढीका बिशाल साउँदले भने । मिटर ब्याजको कारोवारले महंगा गाडी चढ्न सफल उनीहरु केहि स्थानीय राजनैतिक दलको आडमा तथा केहि प्रहरी प्रशासनको आडमा नै अबैध मिटर व्याज र ढुकुटीको कारोबार भैरहेको उनी बताउँछन् । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले दैनिक जसो ४ देखि ६ जनासम्म मिटर व्याज र ढुकुटीले फसाएको भन्दै उजुरी गर्न आउने गरेको बताउँछन । नगद कारोवार गर्ने हुँदा प्रशासनले केही पनि गर्न नसक्ने भन्दै प्रमुख जिल्ला अधिकारी रिजालले दुवै पक्षलाई बोलाएर छलफल गर्न बाहेक आफूले केहि पनि गर्न नमिल्ने बताए । त्यस्तै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक अर्जुन चन्दले फाटफुट रुपमा केहि उजुरी परेपनि सबुत प्रमाण सहित ठगिएको भनेर कोही पनि नआउने गरेको बताए । तर कारोवार गर्दा चेकमार्फत गरेमा गरेमा कारवाही गर्ने आधार बन्न सक्ने उनले बताए । घरायसी गर्जो टार्न होस वा औषधी उपचारका लागि वा बैदेशिक रोजगारीमा जाने अथवा उच्च शिक्षा हासिल गर्न विदेश जानेहरुलाई दिईने सापटी रकमलाई मिटर व्याजको कारोबार गर्नेहरुले प्रलोभनमा पारेर चाहिएजति पैसा दिने गर्दछन् । जस्तो ३० लाख रुपैया आवश्यक परेको व्यक्तिलाई शुरुमै ब्याज वाफत २० प्रतिशत (६ लाख) रकम कटाएर दिने गर्दछन् । त्यसपछि प्रत्येक महिना पुनः ३० लाखकै १० प्रतिशत (.३ लाख) का दरले व्याज लिने गर्दछन् । १ वर्ष भित्र तिर्न नसके रकमको ब्याज दोब्बर बनाउदै लैजाने गर्दछन् । यसरी ३० लाख रुपैया सापटी भनेर लिएको व्यक्तिले शुरुमै ६ लाख कटाएर २४ लाख रुपैया मात्रै पाउँछ र वर्षभरि उसले ३० लाखको मासिक ३ लाखका दरले ३६ लाख र सुरुमै तिरेको ६ लाख गरि ४२ लाख रुपैया त व्याज मात्रै तिनु पर्छ । यसरी व्याज वाफत पाएको रकम प्रहरी र प्रशासनलाई समेत दिईने गरेकाले अबैध मिटर व्याज र ढुकुटी संचालकहरु खुलेआमरुपमा समाजमा आफ्नो धाक जमाएर बस्ने गरेका छन् । कसरी खेलाईन्छ ढुकुटी ? ५ करोडको ढुकुटीमा १० जनालाई समावेश गराएर मासिक ५० लाख रुपैया किस्ता तिर्ने गरि संचालकले ढुकुटी शुरु गर्छ । पहिलो ढुकुटी खानेले संचालककै आदेश अनुसार २ करोड ५० लाखमा खान्छ जसका लागि किस्ता तिर्नेहरुलाई २५ लाख तिरे पुग्छ । सो वाफत संचालकले ढुकुटी खाने संग १० लाख रुपैया लिन्छ । यसरी प्रत्येक महिना १० लाखका दरले संचालकले ९ महिना सम्म ९० लाख रुपैया कमाई सकेको हुन्छ र अन्त्यमा संचालकले पुरै ५ करोड पाउँछ । यसरी ढुकुटी खेल्नेहरुले मासिक २५ लाखका दरले ९ महिना सम्म २ करोड २५ लाख र अन्तिम किस्ता वाफत ५० लाख गरेर २ करोड ७५ लाख तिर्छन् । आफुले ढुकुटी खादा २ करोड ४० लाख मात्रै पाउँछ भने १० महिनामा तिर्दा २ करोड ७५ लाख तिर्नु पर्छ । अझै यसमा कुनै एक व्यक्ति भागेको भएको खण्डमा उसको भागमा पर्ने रकम संचालक बाहेक सबैले दामासायीले तिर्नु पर्छ । ढुकुटी खेलाईने स्थान भने महिनैपिच्छे फरक फरक हुन्छ, कहिले जाखौर ताल, कहिले बडहरा जंगल क्षेत्र त कहिले व्युटिपार्लर त कहिले रेष्टुरेन्ट र होटलहरुमा । ढुकुटी खाने दिन नगद मै कारोवार गर्ने हुँदा फरक फरक स्थानलाई छनौट गर्ने गर्दछन् । यसरी ढुकुटी खाएपछि त्यो पैसा बैकमा नराखेर मिटर व्याजमा लगाउने गरिन्छ । बैकको व्याज भन्दा मिटर व्याजमा राम्रो आम्दानी हुने हुदा मिटर व्याजको जालो बढ्दो छ ।

निर्वाचन आचारसंहिताबारे संचारमाध्यमहरुबीच छलफल

काठमाडौं, वैशाख १९ । राजधानीमा स्थानीय तहको निर्वाचन आचारसंहिताको अनुगमन गर्ने सम्वन्धमा वृहत छलफल भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना गरेको उक्त छलफलमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सार्वजनिक सम्पत्ति तथा स्रोतसाधनको दुरुपयोग गर्ने प्रबृत्तिलाई निरुत्साहित पार्दै निर्वाचनलाई स्वच्छ, निश्पक्षरुपमा सम्पन्न गर्न प्रभावकारी अनुगमन र निगरानी गर्नुपर्ने धारणा व्यक्त गरेका थिए । पूर्व प्र.नि.आ.उप्रेतीले देशभरका मिडिया खासगरी एफएम रेडियो तथा अनलाइनतर्फ काउन्सिल केन्द्रीत भई अनुगमन गरी गल्ती गर्ने र पीडित पक्ष दुवैलाई ठीक लाग्नेगरी कारवाही थाल्नुपर्ने, महिला, दलित र पिछडिएका वर्गको प्रतिनिधित्व हुनैपर्ने संविधानिक सुनिश्चिताले उम्मेदवारको ब्यक्तिगत चरित्र हत्या, लाञ्छना, भेदभाव हुनेगरी प्रकाशन÷प्रसारण हुन सक्नेतर्फ सचेत गराएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले मिडिया कोही कसैप्रति पूर्वाग्रही नहुन र सन्तुलन कायम राख्न मिडियाले जोड दिएका थिए । तस्विर रिपोर्ट : महेन्द्रराज सिंह, काठमाडौं

फरार १९ प्रतिवादी पक्राउ

गौशाला, वैशाख १९ । महोत्तरी जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद र जरिवाना तोकिएर वर्षौदेखि फरार रहेका १९ जना प्रतिवादीलाई प्रहरीले एक साताभित्र पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालका अनुसार जिल्लाका विभिन्न गाउँ ठाउँमा वारदात गरी अदालतबाट दोषी ठहर भई कैद र जरिवाना तोकिएर फरार रहेका अभियुक्तलाई पक्राउ गरिएको हो । स्थानीय तहको निर्वाचनमा फरार प्रतिवादीले अवाञ्छित गतिविधि गर्न सक्ने सम्भावना बढेकाले जिल्ला अदालतको आदेशमा प्रहरीले फरार प्रतिवादी पक्राउ गर्न विशेष अभियान चलाएको छ । कुटपिट, जालसाजी, ठगी, चोरी, परीक्षामा अनियमित गतिविधिलगायत विभिन्न मुद्दामा फरार रहेकाहरुलाई पक्राउ गरिएकामा १८ जनासँग जरिवाना असुल र एक जनालाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हिमपातः धोदेखि साल्दाङ जान हेलिकप्टर

डोल्पा, वैशाख १९ । स्थानीय तहको चुनाव गराउनका लागि उपल्लो डोल्पा हिँडेको निर्वाचन अधिकृत, सुरक्षाकर्मी तथा अन्य कर्मचारीसहितको टोलीलाई विकट क्षेत्र धोबाट साल्दाङ जानका लागि हेलिकप्टर प्रयोग गरिएको छ । मौसम खराबीसँगै भएको भारी हिमपातले धो–साल्दाङ जाने बाटो अवरुद्ध भई धो पुगिसकेको उक्त कर्मचारीको टोली जान नसकेपछि सेनाको हेलिकप्टर व्यवस्था गरिएको जिल्ला निर्वाचन कार्यालय, डोल्पाले जनाएको छ । उक्त टोलीलाई आज सेनाको हेलिकप्टरबाट धोबाट साल्दाङ पु¥याइएको जिल्ला निर्वाचन अधिकारी रामबहादुर बुढाले जानकारी दिनुभयो । थुप्रै भौगोलिक कठिनाइबीच पनि उपल्लो डोल्पामा निर्वाचन गराउन कर्मचारी हिँड्ने क्रम जारी रहेकाले यही वैशाख २१ गतेसम्म सबै कर्मचारी हिँडिसक्ने र वैशाख २७ गतेभित्र पुगिसक्ने समेत निर्वाचन अधिकारी बुढाले जानकारी दिनुभयो । उपल्लो डोल्पाका २२ वटै मतदान केन्द्रमा निर्वाचन अधिकृत पुगेर पनि आज धमाधम उम्मेदवार मनोनयन दर्ता कार्य भइरहेको समेत बुढाले जानकारी दिनुभयो ।

दलित समुदायको पुर्खौली पेसा संकटमा

कैलाली, वैैशाख १९ । कैलालीको गौरीगंगा नगरपालिका–९ भगवानपुर भन्ने ठाउँका रहेका दलित समुदायको पुर्खौली पेसा संकटमा पर्दै गएको छ । आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम र बांँस तथा वेदबाट निर्माण गरिने सामग्री अभाव हुन थालेपछि उनीहरुको पहिलेदेखि चल्दै आएको पेसा संकटमा पर्दै गएको हो । उक्त सामग्री बनाउनका लागि कच्चा पदार्थ संकलन गर्न धेरै टाढा धाउनुपर्ने हुन्छ । मिहिनेतअनुसार फल नपाएपछि उनीहरु वर्षौदेखिको पुर्खौली पेसाको विकल्प खोज्न थालेका छन् । उक्त बस्तीमा करिब १२० घरधुरी दलित समुदायको छ । पहिले यो समुदायका अधिकांश व्यक्ति पुर्खौली पेसाबाट निकै सन्तुष्ट देखिन्थे । तर, हिजोआज भने सामग्री निर्माणका लागि कच्चा पदार्थ अभाव हुँदा उनीहरुको पेसा संकटमा परेको छ । यो वस्तीमा अधिकांशले बाँस अनि बेदबाट बन्ने डोको, नांङलो, डालोलगायतका सामग्री निर्माण गर्छन । यिनै सामग्री बिक्री भएको पैसाबाट गर्जो टार्दै आएका छन् । पहिले यी सामग्री बचेर जीवन गुजारा चलाउन त्यति समस्या नभएपनि अचेल भने यो पेसाबाट घरव्यवहार चलाउन निकै समस्या भइरहेको स्थानीय उज्वल भूलले गुनासो गरे । विभिन्न घरायसी सामग्री निर्माण गरेपनि नजिक बजार नहुँदा आफूहरुलाई झनै समस्या भएको उनले बताइन् । सामान बनाए पनि मेहनत अनुसार मूल्य नपाउँदा पुर्खौली पेसाको विकल्प रोज्नुपर्ने बाध्यता आएको उनको भनाइ छ । सरकारले पनि अन्य नागरिकभन्दा फरक ठानेको यो बस्तीका दलित अगुवाको गुनासो छ । चुनावको बेला मात्रै निकै मिठा भाषण दिने तर, चुनाव जितेपछि भने फर्केर नहर्ने गरेको अर्की स्थानीय मैनादेवी भूलले आक्रोश पोखिन् । सरकारले पनि आफूहरु जस्ताको पेसा संकटबाट जोगाउन सहयोग गरेमा जीवन निर्वाह गर्न निकै मद्दत पुग्ने उनले आशा व्यक्त गरिन् । पुर्खौदेखि बाउ बाजेले आरनमा बनाईने कृषि औजारदेखि सिलाईको काम गरेर जीवन निर्बाह गरेकामा अब भने यही व्यवसाय गरेर जीवन धान्न मुस्किल भइरहेको सो वस्तीका व्यक्तिको भनाइ छ । यस वस्तीका अधिकांश परिवारको जग्गा जमिन पनि थोरै छ । जस कारण पनि बर्षदिनमा केही नगरी खान नपुग्ने गरेको स्थानीय धनबहादुर भूलको भनाइ छ । भएको जग्गा पनि अधिकांशको एलानी नै रहेको उनको गुनासो छ । यो बस्तीका अधिकांश व्यक्तिमा केही न केही सिप छ । तर, उक्त सीपले आधुनिकरुप लिन नसक्दा उनीहरुको आय आर्जनको माध्यम टुट्दै गएको छ । अब सरकारले उनीहरुको सीपको मूल्याङ्कन गर्दै उत्पादित सामग्रीको बजारीकरणमा सहयोग गर्नुपर्ने दलित अगुवा गंगाराम सुनारले बताए ।

महानगर प्रमुखमा ज्ञवाली एमाले उम्मेदवार

चितवन, वैशाख १९ । नेकपा (एमाले) ले भरतपुर महानगरको प्रमुख पदमा पार्टीका केन्द्रीय सल्लाहकार देवी ज्ञवालीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेको सोमबारको बैठकले भरतपुर महानगरको प्रमुखमा केन्द्रीय सल्लाहकार ज्ञवाली र उपप्रमुखमा चितवन जिल्ला कमिटी सदस्य दिव्य आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला उपाध्यक्ष तेजेन्द्र खड्काले जानकारी दिनुभयो । यसअघि गत वैशाख ९ गते एमाले चितवनले प्रमुखका लागि नेताहरु विजय सुवेदी, देवी ज्ञवाली, केशवलाल श्रेष्ठ तथा उमा कार्कीको नाम केन्द्रमा पठाएको थियो । ज्ञवाली पार्टीका केन्द्रीय सल्लाहकार, सुवेदी प्रदेश सदस्य हुनुहुन्छ भने श्रेष्ठ पूर्वमन्त्री भइसक्नुभएका नेता हुनुहुन्छ । विसं २०६४ को संविधानसभा निर्वाचनमा ज्ञवाली र सुवेदी दुवैजना उम्मेदवार हुनुभएको थियो । देवी ज्ञवालीसँग विगतको उपप्रमुख बनेको अनुभव छ । यसअघि एमालेले चितवनको रत्ननगर नगरपालिकाको प्रमुखमा संस्थापक नगरप्रमुख नारायण वन र उपप्रमुखमा विमला दुवाडीको टुङ्गो लगाइसकेको छ । यस्तै, खैरहनी नगरपालिकाको प्रमुखमा पूर्वसांसद लालमणि चौधरी र उपप्रमुखमा सुनिता थपलिया, राप्तीमा प्रभा बराल र इमानसिंह लामा, कालिकामा खुमनारायण श्रेष्ठ तथा कमला भट्टराई प्रमुख र उपप्रमुख उठाउने निर्णय गरेको छ । यसैगरी माडी नगरपालिकामा नादरमणि पौडेल र ताराकाजी महतोलाई उम्मेदवार बनाएको जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । यस्तै, ईच्छाकामना गाउँपालिकाको अध्यक्षमा नारायण अधिकारी र उपाध्यक्षमा जुनाराज भण्डारीलाई अध्यक्ष र उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय एमालेले गरिसकेको छ । नाम टुङ्गो लागेका उम्मेदवारहरु अहिले भोट माग्नमा व्यस्त छन् । माओवादी केन्द्रले भने भरतपुर महानगरमा रेणु दाहाललाई प्रमुखको उम्मेदवार छानेको छ ।

बाह्रै महिना गर्मी नहुने जेफाले: पर्यटकलाई आकर्षणको केन्द्र

मोरङ, वैशाख १९ । मोरङ भन्नासाथ आमनेपालीले समथर भूभागको कल्पना गर्छन् । धान फल्ने फराकिला खेत र फाँटिलो भूभाग सबैको मस्तिष्कमा उपस्थित हुन्छ । त्यही मोरङ जिल्लाका केही गाविसमा स्वास्थ्य, शिक्षा र सडकको पहुँच पुगेको छैनभन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर उत्तरी मोरङको विकट पहाडी गाउँ सिंहदेवीका अधिकांश गाउँमा ६ महिना मात्र सडकको पहुँच पुग्छ । सडक, सञ्चार र सुरक्षाको व्यवस्था नभए पनि आन्तरिक र बाह्य पर्यटनका लागि आकर्षणको केन्द्र बन्दै गएको छ – उत्तरी मोरङको सिंहदेवी–५ स्थित जेफाले सामुदायिक होमस्टे । होमस्टेका लागि सुविधासम्पन्न पाँचवटा घर र सम्पूर्ण पूर्वाधार तयार भएपनि त्यहाँसम्म पुग्ने सडक, सञ्चार र सुरक्षाको व्यवस्था नहुँदा जेफाले ओझेलमा परेको हो । धनकुटाको भेडेटार र नाम्जेलाई बिर्साउने जेफाले सुगम जिल्लाको दुर्गम गाउँमा भएपनि यतिबेला पूर्वमा पहिलो रोजाइको गन्तव्य भएको छ । जेफालेमा निर्माण गरिएको भ्यू टावरबाट पूर्वाञ्चलका १६ वटै जिल्लाको अवलोकन गर्न सकिन्छ । त्यति मात्र होइन, प्राकृतिक सौन्दर्यले भरिपूर्ण जेफालेबाट सगरमाथा, कञ्चनजङ्घा र मकालु हिमाल पनि देख्न सकिन्छ । आकाश खुलेको बेला तराईका फाँटिला जग्गा, गाउँ सहरको मनोरम दृश्य देखिने जेफालेको भ्युटावर समुन्द्र सतहदेखि एकहजार नौसय ७० मिटरको उचाइमा रहेको छ । जिल्ला समन्वय समिति मोरङको रु ३६ लाख ५० हजार, धनकुटा जिविसको रु पाँच लाख, विराट पर्यटन केन्द्र, काँकडभिट्टाको रु २१ लाख र स्थानीयवासीको रु आठ लाख बराबरको जनश्रमदान गरी कुल रु ७० लाखमा भ्युटावरको निर्माण गरिएको हो । सिंहदेवीको बिहीबारे बजारबाट तीनसय मिटर उत्तर पुगेर एक हजारवटा सिँढी चढेपछि भ्युटावर पुगिन्छ । चारतले भ्युटावर बनेपछि सूर्योदय, सूर्यास्त, हिमाल, पहाड र तराईको दृश्यावलोकन गर्न आन्तरिक पर्यटक आउन थालेको जेफाले पर्यटन विकास समितिका सदस्य भीम ठकुरीले बताउनुभयो । धेरै सम्भावना हुँदाहुँदै पनि त्यहाँसम्म पुग्ने सजिलो मोटर बाटो, प्रहरी सुरक्षा र सञ्चारको व्यवस्था नहुँदा त्यहाँ पुगेका पर्यटकलाई असजिलो हुने गरेको छ । स्थानीयवासी मनोज अधिकारी भन्नुहुन्छ, “सञ्चारका लागि टेलिफोनको टावर, एउटा प्रहरी पोष्ट र सडकको व्यवस्था सरकारले गरिदिए जेफालेको पर्यटन प्रवद्र्धन आफैँ हुन्छ ।” पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको कोसीहरैचा नगरपालिकास्थित खोर्सानेबाट ३४ किमी उत्तरमा रहेको जेफाले डाँडामा छिनछिनमा हुस्सु र कुहिरो लाग्छ । छिनभरमा घाम झुलुक्क देखिन्छ अनि छिनभरमै पानी पर्न थाल्छ । बाह्रै महिना गर्मी नहुने जेफालेको मुख्य विशेषता नै चिसो मौसम भएको सदस्य ठकुरीले बताउनुभयो । भ्युटावरको दक्षिण पश्चिममा पाथिभरा देवीको मन्दिर रहेको छ जसले धार्मिक पर्यटकलाई पनि आकर्षित गर्ने स्थानीयवासी युवराज खड्काको भनाइ छ । जेफाले क्षेत्रमा मृग, हरिण, बँदेल, खरायो, लोखर्केजस्ता जङ्गली जनावर हेर्न पाइन्छ । जेफाले सामुदायिक वनले सो क्षेत्रमा सिकार गर्न बन्देज लगाएपछि जङ्गली जनावर, कालिजलगायत चराचुरुङ्गीले जेफालेको सुन्दरता अझ बढाएका छन् । छिनछिनमा कुहिरोले छोप्ने अनि छिनभरमा उघ्रने, पानी पर्ने, घाम देखिने जेफालेको मुख्य आकर्षण यति मात्र होइन । शान्त वातावरणमा उत्तरतर्फ बाह्रै महिना हरियो देखिने जङ्गलको थुम्कोमा भ्युटावर छ, त्यही डाँडाको काखमा जिल्लाको एक मात्र मातृभूमि चिया बगान बसेको छ । जेफाले वरिपरिका कुनै पनि डाँडा रुखो छैनन् । अदुवा, अलैँची, अम्लिसो र चियाले भरिभराउ भएका डाँडा साँच्चिकै लोभलाग्दा देखिन्छन् । जेफालेमा सञ्चालित होमस्टेमा स्थानीय उत्पादनमा आधारित खाद्यान्नबाट पाहुनालाई स्वागत गर्ने र हुर्रा नाचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने गरिएको छ । त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृश्यको प्रचार हुन सके बाह्य पर्यटकलाई समेत आकर्षण गर्न सकिने होमस्टे सञ्चालक उमा ठकुरीले बताउनुभयो । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउन सक्ने व्यवस्था मिलाइएको जेफाले सामुदायिक होमस्टेका सचिव भीम ठकुरीले बताउनुभयो ।

पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ

झापा, वैशाख १९ । झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह १५ थान मानव खप्परसहित सोमबार राति पक्राउ परेका हुन् । पूर्वी नाका काँकडभिट्टा भएर नेपालतर्फ आउँदै गरेका उनलाई चेकजाँचका क्रममा इलाका प्रहरी कार्यालय काँकडभिट्टा र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मानव खप्परसहित पक्राउ परेका उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

झापाका २८सामुदायिक विद्यालयमा प्रयोगशाला

झापा,  वैशाख १९ । झापाका २८ वटा सामुदायिक विद्यालयमा विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिने भएको छ । शिक्षा मन्त्रालयले प्रयोगशाला निर्माणका लागि रु ४२ लाख प्रदान गरेसँगै झापाका २८ वटा सामुदायिक विद्यालयमा प्रयोगशाला निर्माण गर्न लागेको जिल्ला शिक्षा कार्यालय झापाका सूचना अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो । पाण्डेका अनुसार प्रत्येक विद्यालयलाई रु एक लाख ५० हजारका दरले प्रयोगशाला निर्माणका लागि रकम प्रदान गरिनेछ । जिल्लास्तरीय प्राविधिक समितिका संयोजक उद्धव विष्टको अध्यक्षतामा बसेको बैठकले जिल्लाका २८ वटा विद्यालयलाई प्रयोगशाला निर्माणका लागि छनौट गरेको र रकम प्रदान गर्ने तयारी भइरहेको बताइएको छ । विद्यालयमा प्रयोगशाला निर्माण भएसँगै विज्ञान, गणित र अङ्ग्रेजी विषय पढ्ने विद्यार्थीका लागि सहज हुने बताइएको छ । झापाका खजुरगाछी मावि, खजुरगाछी, शान्ति आदर्श मावि शान्तिनगर, आदर्श मावि बुधबारे, भानु मावि शिवसताक्षी, बालकल्याण मावि मेचीनगर, सरस्वती मावि बाहुनडाँगी, सरस्वती मावि सुरुङ्गा, मोति मावि गौरादह, पथरिया मावि पथरिया, भानु मावि अर्जुनधारा, वीरअमरसिंह मावि चारपाने, पञ्चरत्न मावि जलथल, प्रगति मावि जुरोपानी, सहिद दशरथ चन्द्र मावि चारआली, वर्ने मावि शान्तिनगर, भृकुटी मावि कनकाई, वाणी मावि लखनपुर, ज्योति मावि तोपगाछी र जनता मावि बाहुनडाँगीलाई रकम प्रदान गरिने भएको छ । त्यस्तै, अर्जुनधारा संस्कृत मावि अर्जुनधारा, भगवती मावि शिवसताक्षी, नरेन्द्र जनता मावि तोपगाछी, त्रिभुवन मावि बुधबारे, मोहनमाया मावि बिर्तामोड, भानु मावि धरमपुर, फूलबारी मावि चकचकी, पञ्चरत्न मावि चारपाने र अरनिको मावि भद्रपुरलाई पनि रकम प्रदान गरिने भएको छ । सबै विद्यालयमा यसै शैक्षिकसत्रभित्र सुविधासम्पन्न विज्ञान, गणित र अङ्ग्रेजी प्रयोगशाला निर्माण गरिसक्ने जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले जानकारी दिनुभयो ।

यार्सागुम्बा व्यवस्थापन गर्न निर्देशिका जारी

काठमाडौँ,  वैशाख १९। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यार्सागुम्बालाई व्यवस्थित गर्न ‘यार्सागुम्बा व्यवस्थापन (सङ्कलन तथा ओसारपसार) निर्देशिका–२०७३’ जारी गरेको छ । हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटीलाई व्यवस्थित गराउनका लागि विभागको अग्रसरतामा वन तथा भूसंरक्षण मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका जारी गरिएको विभागका सूचना अधिकारी नारायण रुपाखेतीले जानकारी दिए। यार्सागुम्बा पाइने संरक्षित क्षेत्रमा कञ्चनजङ्गा राष्ट्रिय निकुञ्ज, मकालु बरुण राष्ट्रिय निकुञ्ज, ढोरपाटन शिकार आरक्ष, शे फोक्सुन्डो राष्ट्रिय निकुञ्ज र अपी नाम्पा वन्यजन्तु आरक्ष क्षेत्र रहेका छन् । निर्देशिकामा यार्सागुम्बा टिप्नका लागि संरक्षित क्षेत्रभित्रका जनतालाई रु पाँच सय, संरक्षित क्षेत्र बाहिरका सोही जिल्लाका व्यक्तिलाई रु एक हजार र जिल्ला बाहिरकालाई रु दुई हजार राजस्व तिनुपर्ने निर्देशिकामा उल्लेख छ । जेठको दोस्रो हप्तादेखि असार मसान्तसम्म पाइने यार्सागुम्बा टिप्नका लागि १६ वर्ष नाघेका व्यक्तिलाई मात्र स्वीकृति दिइएको छ भने सङ्कलन भएको यार्सागुम्बा बिक्री–वितरणका लागि सम्बन्धित कार्यालयको अनुमति लिनुपर्ने निर्देशिकामा जनाइएको छ ।

रूखले छेक्यो पेट्रोल पाइपलाइन

काठमाडौं, बैशाख १९ ।  पेट्रोलियम पाइपलाइनमा पर्ने रूख काट्न वन मन्त्रालयले स्वीकृति नदिँदा रक्सौल-अमलेखगन्ज पेट्रोल पाइपलाइन परियोजना निर्माण लम्बिने भएको छ। राष्ट्रिय प्राथमिकताको पाइपलाइन परियोजनाको बिचमा पर्ने करिब १३ हजार रूख काट्न नेपाल आयल निगमले आपूर्ति मन्त्रालयमार्फत वन मन्बालयमा प्रस्ताव पठाएको नागरिक दैनिकमा खबर छ। आपूर्तिले फाष्ट ट्रयाकबाट रूख काट्न अनुरोध गरे पनि  वन मन्त्रालयले फेरि वातावरणीय प्रभाव मूल्याङ्कन गर्ननिर्देशन दिएपछि थप डेढ वर्ष लम्बिने संकेत देखिएको छ।  

राजपाको सरकारलाई फेरि समर्थन

काठमाडौं, बैशाख १९ । राष्ट्रिय जनता पार्टीले ‘बदलिँदो परिस्थितिको आँकलन गर्दै’ सरकारलाई समर्थन गर्ने भएको छ। राजपाको सोमबार राजधानीमा बसेको अध्यक्ष मण्डलको बैठकले संविधान संशोधन विधेयक परिमार्जन गर्न सरकार फेरि तयार भएको तथा सप्तरी घटनाका सहिद परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचारलगायत त्यसअघि गिरफ्तारलाई रिहाई आदिका लागि सहमत भएकाले यसअघिको समर्थन फिर्ताको निर्णय पुनर्विचार गर्ने निर्णय गरेको आजको कान्तिपुरमा खबर छ । राप्रपाको बहिर्गमनसँगै सरकारलाई संविधान संशोधनको लक्ष्यमा पुग्न बाधा अड्चन आउन सक्ने सम्भावना आँकलन गर्दै बैठकले सरकारलाई संसदमा विश्वासको मत आवश्यक परे सघाउने समेत निर्णय गरेको हो। बैठकले प्रधानन्यायाधीश सुशीला कार्की प्रकरणलाई चासोका विषय नबनाउने, संविधान संशोधनमै केन्द्रित हुने निर्णय पनि गरेको नेता सरतसिंह भण्डारीले बताए।

माओवादी केन्द्रबाट काठमाडौं महानगरकाे मेयरमा सर्वोत्तम डंगोलको उमेरदवारी

काठमाडौं, बैशाख १९ । नेकपा माओवादी केन्द्रले काठमाडौं महानगरपालिकामा सर्वोत्तम डंगोललाई मेयरको उमेदवार बनाएको छ । माओवादी केन्द्रले उपमेयरमा सुशीला पौडेललाई उमेदवार बनाएको जनाएको छ ।  कांग्रेस, एमाले लगायतका दलले भने अहिलेसम्म उमेदवार टुंगो लगाउन सकेका छैनन् ।

विद्युत खरिद सम्झौता (पीपीए) छुट्टै गर्ने निर्णय

काठमाडौं, बैशाख १९ । नेपाल विद्युत प्राधिकरणले एक घण्टादेखि माथको अर्धजलाशय (पिकिङ रन अफ दि रिभर) आयोजनाका लागि छुट्टै विद्युत खरिद सम्झौता (पीपीए) गर्ने निर्णय गरेको छ। उर्जा मन्त्रालयले तोकोको अर्धजलाशयको पीपीए दरमा ४ देखि ६ घण्टामा पिकिङ दिनसक्ने आयोजनालाई मात्र दिने गरी दर तोकेकोमा मन्त्रालयसँग समन्वय गरी प्राधिकरण सञ्चालक समितिको ७५१ औं बैठकले एक घण्टादेखिकै दर निर्धारण गर्ने निर्णय गरेको आजको कारोबारमा खबर छ। अर्धजलाशययुक्त आयोजना निर्माण गर्ने प्रर्वधक कम्पनीहरुले १ देखि २ घण्टासम्म पिकिङ दिने आयोजनालाई प्रतियुनिट ८.५० रुपैयाँ, २ देखि ३ घण्टाको प्रतियुनिट ८.८०, ३ देखि ४ घण्टाको ९.४० तथा ४ देखि ६ घण्टाको प्रतियुनिट १०.५५ रुपैयाँ पाउनेछन् ।