सप्तकोसीमा बगेकी बालिका मृत फेला

उम्मेदवार बन्न एक दर्जन शिक्षकले दिए राजिनामा

खोटाङ, वैशाख १३ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न जिल्लाका एक दर्जन शिक्षकले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा गाउँ प्रमुख र वडा प्रमुखका लागि उम्मेदवार बन्न १२ जना शिक्षकले राजीनामा दिएका हुन् । कतिपय शिक्षकले उम्मेदवार पाउने निश्चित भएपछि राजीनामा दिएका छन् भने कतिपयले पदबाट राजीनामा दिएर टिकटका लागि कसरत गरिरहेका छन् । जिल्ला शिक्षा कार्यालयका अनुसार सिम्पानी क्याम्पसका प्रमुख राजनप्रसाद ढकाल, माक्पा माविका शिक्षक विश्वनाथ निरौला, सरस्वती मावि डाँडाखर्क छितापोखरीका शिक्षक केशवराज कार्की, जनता मावि बतासेका शिक्षक वसन्त राई, पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका शिक्षक विमल खड्का, सरस्वती प्रावि पौवासेराका शिक्षक हरिकुमार राई, हीरा प्रावि महेश्वरीका शिक्षक राजेशकुमार राजभण्डारी, राष्ट्रिय मावि बास्पानीका शिक्षक खगेन्द्रबहादुर गुरुङ, प्रतिभा प्रावि मात्तिमका शिक्षक रोहित राई, शारदा मावि हौंचुरका शिक्षक यज्ञनारायण श्रेष्ठ, चन्द्र प्रावि सिमखर्क सुङ्देलका शिक्षक कालिकाप्रसाद रिजाल र डाँडाखर्क प्रावि बराहपोखरीका ढकबहादुर कार्कीले राजीनामा दिएका छन् । अस्थायी शिक्षकका रुपमा कार्यरत केशवराज कार्की, रोहित राई र यज्ञनारायण श्रेष्ठको भने विद्यालय व्यवस्थापन समितिले राजीनामा स्वीकृत गरेर जिल्ला शिक्षा कार्यालयमा जानकारी पठाएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले जानकारी दिए । अन्य स्थायी शिक्षकको भने राजीनामा स्वीकृतिका लागि शिक्षामा फायल आएको नेपालको भनाइ छ । उम्मेदवारका इच्छुक कतिपय शिक्षकले वैशाख ३ गतेअघि पनि राजीनामा दिइसकेको शिक्षा कार्यालयले जनाएको छ । पारिवारिक, घरायसी र व्यक्तिगत कारण देखाउँदै शिक्षकको राजीनामा आएको भएपनि अधिकांशले गाउँपालिका र वडा प्रमुखमा उठ्नका लागि राजीनामा दिएका स्रोतको दाबी छ । सरस्वती मावि डाँडाखर्क छितापोखरीको प्रधानाध्यापकबाट राजीनामा दिनुभएका कार्र्की र जनता मावि बतासेको जागीर छाड्नुभएका राई दिप्रुङ गाउँपालिकाको प्रमुखको टिकट हात पार्ने दौडधुपमा रहेका छन् । पञ्चकन्या आधारभूत विद्यालय डाँडागाउँका प्रअबाट राजीनामा दिनुभएका खड्का एमालेका तर्फबाट दिप्रुङ गाउँपालिका–५ छितापोखरीबाट वडा प्रमुखमा उठ्ने तयारीमा रहनुभको स्रोतले जनाएको छ । स्रोत व्यक्तिको पद छाडेर ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा उठ्ने तयारी गर्नुभएका निरौला नेपाली काँग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि समेत हुन् । दिप्रुङ गाउँपालिकाको प्रमुखको दौडमा लाग्नुभएका कार्की हाल काँग्रेसका महासमिति सदस्यको भूमिकामा छन् ।

छनोट प्रक्रिया केही दिनका लागि स्थागित

धनगढी, १३ वैशाख । नेपाली काँग्रेस कैलालीले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको छनोट प्रक्रिया केही दिनका लागि स्थागित गरेको छ । काँग्रेसका जिल्ला उपसभापति प्रकाश बमले वैशाख ३१ गतेका लागि तोकिएको निर्वाचनको मिति सरेर जेठ ३१ गते तोकिएपछि केही दिनका लागि उम्मेदवार छनोट प्रक्रिया स्थगित गरिएको बताउनुभयो । “केही दिन छनोट प्रक्रिया स्थगित गरेर वैशाख महिनाभित्रमा उम्मेदवारको टुङ्गो लगाइसक्छौँ,” उहाँले भन्नुभयो । काँग्रेसको तर्फबाट प्रमुख पदका लागि धनगढी उपमहानगरपालिकामा कृष्णबहादुर महरा र नृप ओड, टीकापुर नगरपालिकामा जङ्गबहादुर साउद र केशरी विष्ट, गोदावरी नगरपालिलकामा हेमप्रकाश उप्रेती, वीरेन्द्र भट्ट र खडक बडैला, गौरीगङ्गा नगरपालिकामा दिनेश जोशी, शेरबहादुर देउवा र भोजबहादुर बम, लम्कीचुहा नगरपालिकामा देवानन्द जैशी र भक्तबहादुर थापा तथा घोडाघोडी नगरपालिकामा लक्ष्मीराज जैशी र रीता चौधरीलगायतका आकाङ्क्षी रहेको जिल्ला उपसभापति बमले बताउनुभयो । नेकपा एमालेले भने जिल्लाका १३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा पार्टीबाट उठाइने प्रमुख, उपप्रमुखलगायत पदका उम्मेदवारको टुङगो लगाइसकेको छ । एमालेको– ७ नं प्रदेश सङ्गठन समितिको कार्यालयका सचिव दिनेशचन्द्र सुवेदीले धनगढी उपमहानगरपालिका, लम्की चुहा र गोदावरी नगरपालिकामा उम्मेदवारको टुङ्गो लगाउन बाँकी रहेको जानकारी दिनुभयो । सो पार्टीले टिकापुर नगरपालिकामा तपेन्द्र रावल, भजनी नगरपालिकामा प्रदीप मल्ल, घोडाघोडी नगरपालिकामा अमर साउद, गौरीगङ्गा नगरपालिकामा भीम देउवालाई प्रमुखको उम्मेदवार बनाउने टुङ्गो लगाएको छ । नेकपा (माओवादी केन्द्र)ले अधिकांश तहमा पार्टीका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले धनगढी उपमहानगरमा रामसमझ राना, गोदावरी नगरापलिकामा गोकर्ण भट्ट, भजनी नगरमा शेरबहादुर थारुलाई प्रमुख पदमा उठाउने निर्णय गरिसकेको छ । राप्रपा, नेकपा माले, राष्ट्रिय जनमोर्चा लगायतका दललेले उम्मेदवारको टुङ्गो अहिलेसम्म लगाउनसकेका छैनन् । चुनावी सरगर्मी बढ्दै जाँदा प्रायः सबै दलहरुले आ–आफ्नो प्रचारप्रसार अभियान गरिरहेका छन् । उद्योगी एवम् व्यापारी गोपाल हमाल धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै चुनावी अभियानमा लाग्नुभएको छ । रासस

पूर्वमा टेलिकमको सेवा अवरुद्ध

तेह्रथुम, वैशाख १३ । बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन् । पूर्वका तेह्रथुम, धनकुटा, सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, भोजपुरलगायतका जिल्लामा नेपाल टेलिकमको सो सेवा अवरुद्ध छ । यी जिल्लामा पछिल्लो केही महिनायता निरन्तर सेवा अवरुद्ध हुने गरेपनि सम्बन्धित निकायले बेवास्ता गरेको सेवाग्राहीको गुनासो छ । टेलिकमको सेवा भरपर्दो नभएपछि प्रयोगकर्तालाई निजी कम्पनीका सेवा लिनुपर्ने बाध्यता छ । टेलिकम बाहेकका मोबाइल नेटवर्क तथा इन्टरनेट भने चलिरहेका छन् । पटक-पटक नेपाल टेलिकमको सेवा अवरुद्ध हुँदासमेत दिगो व्यवस्थापनको बाटो नरोेजिएको म्याङलुङका रोशन श्रेष्ठले बताउनुभयो । नेपाल टेलिकमको इन्टरनेट, फोन र जिएसएम मोबाइल सेवा अधिक समय अबरुद्ध हुने गरेको उहाँको गुनासो छ ।

गोहीको आक्रमणमा परेका अर्जुनलाई थप सहयोग

रत्ननगर (चितवन), १३ वैशाख । चितवनको राप्ती नदीमा पौडी खेल्ने क्रममा गोहीले चपाएर पनि बाँच्न सफल १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि थप रु एक लाख ३४ हजार सहयोग प्राप्त भएको छ । आजसम्ममा कुल रु तीन लाख ५० हजारभन्दा बढी रकम सङ्कलन भइसकेको छ । ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ शीर्षकमा समाचार बाहिर आएपछि उनको उपचारका लागि देश र विदेशमा बस्ने नेपालीबाट यसरी सहयोग प्राप्त भएको हो । उनको सहयोग अभियानका अभियन्ता विकास पाठकका अनुसार पछिल्लो पटक चितवन समाज इजरायलबाट रु ५१ हजार तथा चितवन समाज युएईबाट रु ३३ हजार पाँचसय रकम प्राप्त भएको छ । चितवन युवा समूह अन्तर्राष्ट्रिय समन्वय समितिको पहलमा उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आज जानकारी दिनुभयो । यस्तै, ब्रदर्स नेपाल र हाम्रो जगतपुरको पहलमा सोही अभियानमा लागेका स्थानीयवासी कृष्ण शर्मामार्फत आज रु ५० हजार आर्थिक सङ्कलन भएको छ । यसअघि उनको उपचारका लागि करिब रु दुई लाख ३० हजारभन्दा बढी सङ्कलन गरिसकिएको छ । आजसम्म उनको उपचारका लागि साढे तीन लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन भइसकेको अभियन्ता विकास पाठकले जानकारी दिनुभयो । सङ्कलित रकममध्ये रु ४९ हजार अस्पतालमा बुझाएको र रु एक लाख २९ हजार परिवारको नाममा खोलिएको बैंक खातामा राखिएको छ । जम्मा भएको बाँकी रकम पनि आजै बैंकमा राखिने पाठकले बताउनुभयो । अझै अस्पतालमा तिर्न बाँकी रहेको ऋण खोजेर ल्याएको रकम फिर्ता गरेपछि रकम बाँकी रहेमा उनको शिक्षामा खर्च गरिने पाठकले बताउनुभयो । हालका लागि भने आर्थिक सङ्कलन अभियान स्थगित गरिएको छ । यसअघि उनको उपचारका लागि अमेरिकामा बस्दै आएका तनहुँ निवासी ध्रुवराज गिरीले रु ५१ हजार, चितवन सेवा समाज बहराइनबाट रु ३५ हजार ५००, दुबईमा रहनुभएका दिलीप विश्वकर्माको अगुवाइमा रु ५१ हजार तथा विभिन्न सङ्घसंस्था र व्यक्तिले सहयोग गरेका थिए । फेसबुक अभियान ‘हाम्रो जगतपुर’ र ‘हाम्रो पटिहानी, राम्रो पटिहानी’ले समेत सहयोग जुटाइरहेको छ । गत चैत २५ गते भरतपुर महानगरपालिका २३ जगतपुर घैलाघारीका बालक अर्जुनलाई साथीसँग पौडी खेल्ने क्रममा राप्ती नदीमा गोहीले आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रदेश नम्वर ७ मा कांग्रेससंगको एकता हल्ला मात्रः माअोवादी केन्द्र

काठमाडौं, बैसाख १३  ।  नेकपा माओवादी केन्द्रले स्थानीय निकायको निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेसस‌ंग ‍चुनावी एकताको कुरा हल्ला मात्र भएको बताएको छ । केन्द्रले कुनै चुनावी तालमेल नभएको स्पष्टिकरण दिएको छ । स्थानीय निकायको चुनावमा  प्रदेश नम्बर ७ मा काँग्रेस–माओवादी चुनावी तालमेल भएको भन्दै सञ्चारमाध्यममा समाचार प्रकाशन प्रसारण भएको थियो । माओवादी प्रदेश नम्बर ७ को सचिवालयले सञ्चारमाध्यमले भने जस्तो एकता नभएको स्पस्ट पारेको हो ।  सुदुरपश्चिम (प्रदेश नम्बर ७ ) मा चुनावी तालमेलका विषयमा काँग्रेस र एमालेका नेताहरुसंग छलफल भएको तर कुनै सहमति नभएको सचिवालयले जनाएको छ । माओवादी केन्द्र सचिवालयले जनाएअनुसार माअोवादी एक्लै चुनावी मैदानमा उत्रिने तयारीमा छ ।

जेठदेखि पैदलयात्रुलाई झन कडाइ

काठमाडौं, बैसाख १३ ।  चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ । महाशाखाका डिआयजी मिङ्मार लामाले जेब्रा क्रसिङमा गाडी नरोक्ने चालक, फुटपाथबाट नहिँड्ने र जेब्रा क्रसिङबाट सडक नकाट्ने पैदलयात्रीलाई कडा कारबाही गर्ने तयारी भइरहेको बताए । पहिलो चरणमा जनचेतनामूलक अभियान चलाउने भन्दै उनले फुटपाथ प्रयोग नगर्ने, जेब्रा क्रसिङ प्रयोग नगर्ने व्यक्तिले २ सय रुपैयाँ जरिवाना तिर्नुपर्ने बताए । यो खबर आजको कान्तिपुरमा छ ।  

उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी बन्दै

काठमाडौं, बैसाख १३ ।  सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ खानेपानी तथा सरसफाइ मन्त्रालयले सात दिनभित्र उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी राख्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)लाई निर्देशन दिइसकेको छ । मन्त्रालयका अनुसार ट्यांकीमा राखिएको पानी सीधै पिउन सकिनेछ । खानेपानी ट्यांकी राख्न १० लाख खर्च खानेपानी ट्यांकी निर्माणका लागि सरकारले १० लाख रुपैयाँ खर्च गर्ने भएको छ । ट्यांकी राख्नुअघि केयुकेएलले पहिलो चरणमा खानेपानीको संकटग्रस्त क्षेत्र पहिचान गर्ने भएको छ । उपत्यकाका सुक्खा क्षेत्र र पानीको संकट भएका ठाउँमा स्थानीयको सहभागितामा उपभोक्ता समिति गठन गरिनेछ । केयुकेएलका महाप्रबन्धक महेश भट्टराईका अनुसार निर्माण गरिएको ट्यांकी सोही समितिलाई हस्तान्तरण गरिनेछ । ‘खानेपानीको संकटग्रस्त ठाउँलाई पहिलो प्राथमिकता दिइनेछ । ट्यांकी निर्माणपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ,’ भट्टराईले भने । केयुकेएलका अनुसार एउटा ट्यांकी पाँच हजारदेखि १० हजार लिटर क्षमताका हुनेछन् । रुटिङ मिलाएर ट्यांकीमा केयुकेएलले नियमित ट्यांकरबाट खानेपानी भर्नेछ । ‘ट्यांकीको क्षमता पाँच हजारदेखि १० हजार लिटरको हुनेछ । शुद्ध पानी राखिने भएकाले सीधै खानयोग्य हुनेछ,’ भट्टराईले भने । यसअघि सयभन्दा बढी स्थानमा ट्यांकी राखिए केयुकेएलका अनुसार खानेपानीको संकटग्रस्त क्षेत्रमा अहिले पनि एक सयभन्दा धेरै सार्वजनिक ठाउँमा ट्यांकी राखिएका छन् । ती सबै ट्यांक पाँच हजारदेखि १० हजार लिटर क्षमताका छन् । निर्माण गरिएका सबै ट्यांकी स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिसकिएको छ । उपभोक्ता समितिकै तजबिजमा उक्त क्षेत्रमा खानेपानीको उपभोग हुँदै आएको छ । खानेपानी उत्पादन वृद्धि गर्न मन्त्रीको निर्देशन खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले सुक्खायामलाई लक्षित गरेर खानेपानीको उत्पादन बढाउन केयुकेएललाई निर्देशन दिएका छन् । यस्तै, बेल तथा ट्युबबेलको आवधिक मर्मत गर्नसमेत भनिएको छ । खानेपानीको अभाव हुन नदिन ट्यांकर भाडामा लिएर भए पनि नागरिकलाई सहुलियत रूपमा खानेपानी उपलब्ध गराउन मन्त्री शाहीको निर्देशनमा भनिएको छ  । यो खबर आजको नयाँ पत्रिकामा छ ।

धनगढीमा भूकम्प प्रतिरोधी संरचना निमार्ण कार्यन्वयन फितलो

धनगढी,वैशाख १३ । धनगढी उपमहानगरपालिका क्षेत्रमा २०७० भदौ देखि राष्ट्रिय भवन संहिता लागू भए पनि त्यसको पूर्ण कार्यान्वयन हुन सकेको छैन । भवन संहिता लागू भएपछि भूकम्प प्रतिरोधी संरचनाको नक्सा पास हुने गरे पनि अधिकांश भवन नक्साअनुसार बनेका छैनन । नक्सा पास गरे पनि धेरैजसोले नक्सा अनुसार घर बनाउदैनन । भवन संहिता लागू भएपछि भूकम्प प्रतिरोधी नक्सा पास गरेर सोही अनुसार घर निर्माण गर्नुपर्ने व्यवस्था छ । अनुगमनको अभाव, खर्च बढी लाग्छ भन्ने मान्यता, सचेतनाको कमीजस्ता कारणले कतिपयले भूकम्प प्रतिरोधी घर बनाउँदैनन् । गत आर्थिक वर्षमा ८ सय २८ भवनको नक्सा पास भएका थिए । चालु आर्थिक वर्षको चैत मसान्तसम्म ७ सय २८ नक्सा पास भएका छन् । अनुगमनलाई प्रभावकारी बनाउन नसक्दा संहिता पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको उपमहानगरपालिकाले जनाएको छ । यद्यपि विगतका वर्षहरुमा भन्दा अहिले भूकम्प प्रतिरोधी घर बनाउने क्रम बढेको उपमहानगरपालिकाको भनाई छ । अहिले धेरैजसोले भवन संहिता पालना गरेर भूकम्प प्रतिरोधी घर बनाउन थालेको उपमहानगपालिकाका इन्जिनियर कमलराज ओझाले बताए । नक्साअनुसार घर बने नबनेकोबारे अनुगमन पनि हुने गरेको छ । तर जनशक्तिको अभावमा अनुगमनलाई नियमित र प्रभावकारी बनाउन नसकिएको इन्जीनियर ओझाले बताए ।

कहिले आउला बजेट?

काठमाडौं,  बैसाख १३ ।  स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ । अर्थ मन्त्रालयमा भएको छलफल जेठ १५ गते बजेट पेस गर्नुपर्ने संविधानको धारा निलम्बन गरी यसपालि असार ३० गते बजेट पेस गर्ने निष्कर्षमा टुंगिएको स्रोतले बतायो । उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अर्थको निष्कर्षमै प्रधानमन्त्रीलाई सहमत गराउने जिम्मा लिएका छन् । संविधानमा जेठ १५ मा बजेट संसद्मा पेस गर्नुपर्ने बाध्यात्मक प्रावधान छ । स्रोतका अनुसार छलफलमा उक्त धारालाई संशोधन नगरी निलम्बन मात्र गरी यसपालि स्थानीय तह निर्वाचन सकिएपछि बजेट पेस गर्ने गरी निष्कर्ष निकालेको थियो । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

आज आमाको मुख हेर्ने दिन

काठमाडौँ,  वैशाख १३ । नौ महिनासम्म गर्भमा राखेर जन्म दिने आमालाई सम्मान गर्न वैशाख कृष्णऔँसीका दिन आज आमाको मुख हेर्ने दिनका रुपमा मनाइँदैछ । जीवित आमालाई मीठो खान लाउन दिई सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले तृप्ति पाउने शास्त्रमा उल्लेख गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । “शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, ‘आचार्यदेवो भवः’ भनिन्छ, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ”– उहाँले भन्नुभयो । “कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् । मुलुकका विभिन्न भागबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवङ्गत आमाको मुख हेर्ने गर्दछन् । दिवङ्गत आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने दर्शनार्थीको समेत भीड लाग्ने गर्दछ । आज यहाँ आई आमाको नाममा सङ्कल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भई दिवङ्गत माता खुसी हुने शास्त्रमा वर्णन गरिएको गौतमले जानकारी दिनुभयो । आजको दिन मातातीर्थमा रोटी खसेको र उक्त रोटी खसेको ठाउँमा दिवङ्गत आमाका मुख देखेको जनविश्वास छ । द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेका थिए । संयोगले त्यो दिन वैशाख कृष्ण औँसीको दिन परेको थियो । कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको मातातीर्थ संरक्षण तथा विकास समितिका सल्लाहकार भाइकृष्ण बलामीले जानकारी दिनुभयो । आमा हुनेहरूले आजका दिन आफूलाई मन पर्ने मीठा मीठा खानेकुरा र वस्त्र आमा लगायत गुरुआमा, सासू र काकीहरूलाई दिने र आशीर्वाद ग्रहण गर्छन् । रासस

सडक दुर्घटनामा एकको मृत्यु, ६ घाइते

धनुषा, १२ वैशाख । जनकपुर–ढल्केवर सडक खण्डमा विपरीत दिशाबाट आउँदै गरेका बस र टाटा सुमो आज दिउँसो एकापसमा ठोक्किँदा एकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुरस्थित मुजेलियमा भएको यो दुर्घटनामा एकजना गम्भीर रुपले घाइते भएका छन् । दिउँसो करिब अढाई बजेको समयमा ना २ ख ५२२६ नम्बरको जनकपुरबाट जाँदै गरेका यात्रुबाहक बस र ढल्केवर तर्फबाट आउँदै गरेको ना १५ च १७५० नम्बरको टाटासुमो ठोक्किएको हो । घटनामा टाटासुमोमा सवार ४० वर्षका एक पुरुषको ज्यान गएको छ । सुमोका चालकको अवस्था चिन्ताजनक छ । उनीहरुको नाम खुल्न सकेको छैन । घाइतेहरुलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । दुर्घटना ‘अभरटेक’ गर्न खोज्दा भएको प्रत्यक्षदर्शीले बताएका छन् । बसका चालक तत्कालै फरार भएका थिए । रासस

बाबुरामका ट्विट भन्दा भँगेराको चिरबिर मीठो– डा. श्रेष्ठ

काठमाडौं, वैशाख १२ । वातावरण तथा सामाजिक अध्ययनका क्षेत्रमा विशेषज्ञता हासिल गरेका डा. तीर्थ बहादुर श्रेष्ठले नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईमाथि व्यंग प्रहार गरेका छन् । शिक्षक मासिकको एक आलेखमा डा. श्रेष्ठले बाबुराम र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटका बारेमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्– बिहानै घरको झ्यालमा सुनिने भँगेराको चिरविर डोनाल्ड ट्रम्प वा बाबुरामका ट्वीट भन्दा अवश्व मीठो हुन्छ, सुनिहेरौं । नेपालका राजनीतिज्ञहरुमा सबैभन्दा बढी ट्विट र फेसबुकमा स्टाटस राख्ने नेताका रुपमा बाबुराम भट्टराई चिनिन्छन् ।

पुनःनिर्माणमा रेडक्रसले रु सात अर्ब ७२ करोड खर्च गर्दै

काठमाडौँ, वैशाख १२ । नेपाल रेडक्रस सोसाइटीले आफूले पुनःनिर्माण गर्ने जिम्मा पाएको भूकम्पबाट क्षतिग्रस्त सात हजार आवासमध्ये पाँच सय ६८ आवास निर्माण सम्पन्न गरिसकेको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र सोसाइटीका बीच विसं २०७३ जेठ १० गते भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये नुवाकोट, रामेछाप, सिन्धुली, ओखलढुङ्गा, रसुवा, काभ्रेपलाञ्चोक र मकवानपुरका ११ गाविसमा सात हजार निजी आवास निर्माण गर्ने सहमति भएको थियो । यहाँ आज आयोजित कार्यक्रममा सोसाइटीका अध्यक्ष सञ्जीव थापाले हालसम्म छ हजार तीन सय ७५ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझिसकेको तथा आठ सय दुई लाभग्राहीले दोस्रो किस्ता र पाँच सय ६८ लाभग्राहीले अन्तिम किस्ता बुझिसकेको जानकारी दिनुभयो । सोसाइटीले भूकम्पबाट अतिप्रभावित १४ जिल्ला गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ओखलढुङ्गा, काभ्रेपलाञ्चोक र रामेछापमा विभिन्न देशका रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा भूकम्प प्रतिकार्य कार्यक्रम गत वर्षदेखि सञ्चालनमा ल्याएको थियो । विपद्को सामना गर्न सक्नेगरी समुदायको क्षमता विकास गराउने, विपन्न तथा सङ्कटापन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराई पहिलेकै सुरक्षित अवस्थामा पु¥याउने, अतिविपन्न तथा सीमान्तकृत समुदायको आर्थिक एवम् सामाजिक जीवनस्तर माथि उठाउनका लागि टेवा पु¥याउन आवास निर्माण, खानेपानी, सरसफाइ तथा स्वच्छता, स्वास्थ्य, जीविकोपार्जनका साथमा सोसाइटीको संस्थागत विकास गर्न सो कार्यक्रम केन्द्रित छ । कार्यक्रमले अतिप्रभावित १४ वटै जिल्लाका चार हजार दुई सय जनालाई भूकम्प प्रतिरोधी घर बनाउन डकर्मी तालिम र करिब ४४ हजार व्यक्तिलाई सुरक्षित रूपमा आवास निर्माण विषयमा प्राविधिक ज्ञान प्रदान गरेको अध्यक्ष थापाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । अर्कातर्फ सोसाइटीले भूकम्पपछि उद्धार तथा राहत वितरणका साथमा ४० हजार दुुई सय ९७ घरपरिवारलाई रु १५ हजारका दरले रु ६० करोड ४४ लाख ५५ हजार तथा गत वर्ष जाडोबाट बच्न ४९ हजार नौ सय ९६ घरपरिवारलाई रु १० हजारका दरले रु ४९ करोड ९९ लाख ६० हजार नगद नै वितरण गरेको थियो । यसैगरी सोसाइटीले पुनःनिर्माण तथा एकीकृत कार्यक्रमका लागि रु सात अर्ब ७१ करोड ९३ लाख दिने प्रतिबद्धता व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा भूकम्प प्रतिकार्य कार्यक्रमका संयोजक उमेश ढकालले सोसाइटीले जिम्मा पाएको आवास निर्माणमध्ये अगामी वर्ष पुनःनिर्माण सम्पन्न गरिसक्ने जानकारी दिँदै पुनःनिर्माणका साथमा छ वटा कार्यक्रम पनि साथ साथमा सञ्चालन भइरहेको बताउनुभयो । उहाँले भूकम्पले क्षतिग्रस्त खानेपानी आयोजनाको पुनःनिर्माण, थप खानेपानी आयोजना सञ्चालन, खानेपानी उपभोक्ता समूहलाई आवश्यक तालिम, शौचालय पुनःनिर्माण, स्वच्छता प्रवद्र्धनसम्बन्धी गतिविधि सञ्चालन तथा खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने सरकारको अभियानमा सहयोग गर्ने कार्य पनि अगाडि बढाइरहेको जानकारी दिनुभयो । सञ्चारकर्मीका जिज्ञासामा संयोजक ढकालले जीविकोपार्जनअन्तर्गत कृषि तथा पशुपालनसम्बन्धी तालिम, पशु नश्ल सुधार, पशुधन बिमा प्रवद्र्धन, स्थानीय सीप, स्रोत साधनमा आधारित साना व्यवसाय सञ्चालन, स्थानीय बजारमा भएका गैरकृषि उत्पादन प्रवद्र्धन, सिँचाइ सुविधाजस्ता १५ हजारभन्दा बढी योजना १४ जिल्लामा सञ्चालनमा रहेको र यसले स्थानीय समुदायमा सकारात्मक परिवर्तन ल्याएको जिकिर गर्नुभयो । सोसाइटीका महामन्त्री देवरत्न धाख्वाले भविष्यमा हुन सक्ने विपद्मा मानवीय सहायता पु¥याउन आवश्यक सामग्रीको भण्डारण, आवश्यक स्वास्थ्य प्रतिकार्य एकाइ स्थापना, जलजन्य रोग तथा स्वास्थ्यका आपत्कालीन चरणलाई सम्बोधन गर्न लागिएको जानकारी दिनुभयो । अर्कातर्फ नुवाकोटको किस्पाङ गाउँपालिकाअन्तर्गत काउले र भाल्चेका भूकम्पपीडितले पर्म विधिद्वारा गरिरहेका आवास निर्माणलाई सोसाइटीले आर्थिक एवम् प्राविधिक सहयोग गरिरहेको छ । भाल्चेमा पनि निजी आवास निर्माण गर्न सातसमूह सक्रिय छन् । ती समूहमा रहेका सबै पर्मद्वारा नै आवास निर्माणमा जुटिरहेका छन् । सोसाइटीले भूकम्प प्रतिकार्य कार्यक्रमअन्तर्गत अमेरिकी रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा ती दुई गाउँका एक हजार नौ सय ५८ निजी आवास निर्माण, जीविकोपार्जनलगायत अन्य आय आर्जन बढाउन उनीहरूलाई आर्थिक एवम् प्राविधिक सहायता प्रदान गरिरहेको छ । भूकम्प प्रतिकार्य कार्यक्रम, नुवाकोट जिल्ला कार्यक्रम संयोजक शारदा खतिवडाका अनुसार हाल ती दुई गाउँका अधिकांशले पहिलो किस्ताबापतको रकम प्राप्त गरिसकेका छन् । डिपिसीसम्म सम्पन्न चार सय ३० लाभग्राहीमध्ये दुई सय ४४ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझिसकेको र बाँकीले प्राविधिक अनुगमनका साथ घर बनाउन तीव्रता दिइरहेका छन् । स्वास्थ्य केन्द्र बन्दै भूकम्पले क्षति पु¥याएका स्वास्थ्य संस्थाको पुनःनिर्माणमा पनि सोसाइटीले सहयोग गरिरहेको छ । भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य संयोजक डा मौसम बोहराका अनुसार भूकम्प अतिप्रभावित धादिङ, सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाका २९ स्वास्थ्यचौकीमा पुनःनिर्माण जारी रहेकामध्ये चार वटा सम्पन्न भइसकेका छन् । रसुवाको जिल्ला अस्पताल भने निर्माणाधीन छ । स्वास्थ्य संस्था भवन पुनःनिर्माण गरी सेवा सञ्चालन गर्न, स्वास्थ्य संस्थाको स्तरोन्नति, समुदायमा आधारित स्वास्थ्य प्रवद्र्धनका लागि प्राथमिक उपचार, पोषण, पूर्णखोप, सुरक्षित मातृत्व, स्वास्थ्य व्यवहार तालिम सञ्चालन एवम् मनोसामाजिक सहायता जारी रहेको पनि जनाइएको छ ।

हत्या आरोपमा भाइ र छोरी पक्राउ

धनगढी, वैशाख १२ । कैलालीको घोडाघोडी नगरपालिका—९ गोदनी गाउँका ३६ वर्षीय सनी भनिने मानबहादुर सार्कीको हत्याको आरोपमा उनकै छोरी र सहोदर भाइलाई प्रहरीले आज पक्राउ गरेको छ । मानबहादुरकी १५ वर्षीया छोरी विमला र कालु भनिने भाइ पदमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सोमबार घटनास्थल पुगेको प्रहरी टोलीले गरेको खोज एवम् अनुसन्धानका क्रममा मानबहादुरको शव सडेगलेको अवस्थामा नजिकैको जनता सामुदायिक वन परिसरकोे खाल्डामा पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले बताउनुभयो । हत्या घटना चैत २२ गते साँझ भए पनि घटना लुकाउन खोजिएको कारण ढिलो गरी सोमबार मात्र प्रहरीलाई खबर आएको बुढा मगरले बताउनुभयो । सो दिन साँझ मादक पदार्थ सेवन गरी घरमा पुगेका मानबहादुरले आफ्नै छोरी विमलालाई कुटपिट गर्न थालेपछि पदमले प्रतिकार गरेको र विमलाले प्रहार गरेको काठको भाटा टाउकामा लागेर निजको मृत्यु भएको बयान उनीहरुले प्रहरीसमक्ष दिएका छन् ।

पाकिस्तानी दूतावासद्वारा निबन्ध प्रतियोगिता

काठमाडौँ, वैशाख १२ । ‘पाकिस्तानी–राजदूत प्रथम वक्तृत्वकला एवम् पाँचौँ वार्षिक निबन्ध प्रतियोगिता’ का विजयीलाई आज दूतावासद्वारा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ। कार्यक्रममा उच्च शिक्षा तहका नेपालका विभिन्न शिक्षालयका करिब दुई सय सहभागी विद्यार्थीमध्ये दुई विधामा छ जनालाई पदकसहितको पुरस्कार र २० जनालाई विशेष प्रोत्साहन पुरस्कार दिइएको थियो । ‘शिक्षा केवल रोजगारीका लागि मात्र होइन, जीवनका लागि हो’ शीर्षक निबन्ध प्रतियोगितामा बजिता पन्थी प्रथम, दुर्गा नेपाल द्वितीय र अरुण पोखरेल तृतीय हुनुभयो । उहाँहरुले क्रमशः रु ३५, ३० र २५ हजार राशि प्राप्त गर्नुभएको छ । यस्तै ‘आर्थिक विकासमा सञ्चारको भूमिका’ विषयको वकृत्वकलामा ऋषभ न्यौपाने अर्जुन कार्की र लज्जु श्रेष्ठ क्रमशः प्रथम, द्वितीय र तृतीय हुनुभयो । उहाँहरुले पनि उत्तिकै राशि प्राप्त गर्नुभयो । सो अवसरमा शिक्षामन्त्री धनीराम पौडेलले दुई देशबीचको शैक्षिक आदानप्रदान र नेपाली विद्यार्थीको प्रतिभा प्रस्फुरणका लागि यस्ता कार्यक्रम आयोजना गरेकामा पाकिस्तानी सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । नेपालका लागि कावा राजदूत जावेद अमरानीले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।