उपत्यकामा पानीको हाहाकार, घण्टौँ लाइन बसेर पनि खानेपानी पाइँदैन

काठमाडौँ, वैशाख ९ । डिल्लीबजार पिपलबोटका बासिन्दालाई घन्टौँ पानीको लाइन बसेर पानी भर्नुपर्ने समस्या भोग्न बाध्य छ ।

खानेपानीको समस्याका कारणले पानी किनेर पिउने, खाना पकाउने, लुगा धुने र अन्य काम गर्नुपर्ने बाध्यता छ । पानीको अभावका कारण सुन्दरीजल, चुच्चेपाटीमा रहेको पानीको टंयाकबाट सात आठ दिनमा एक पटकमात्र पानी दिने गरिएको छ । त्यो पनि बढीमा दुई घन्टामात्र आउने हुनाले यहाँका बासिन्दा मर्काका परेका हुन् ।

दैनिक जीवन धान्नका लागि पानीकै कारण समस्या भएको स्थानीयवासी वृद्धा परानमाया शाहीले दुःखेसो गर्नुभयो । आठ दिनमा एक पटक पानी आउँदा पनि डेरामा बस्नेलाई घरबेटीले पानी नदिने हुनाले बहालमा बस्नेको समस्या अझै दुःखदायी छ ।

पिपलबोटनेर डेरा गरी बस्ने कमला राई भन्नुहुन्छ, “पानीको समस्याले गर्दा पढ्न लेख्न पनि समस्या भएको छ । पढ्ने समयमा पानीको लाइन बस्न जानुपर्छ ।”

घरबेटी अन्जना शाहीले आफूहरुलाई पनि पानी नपुगेकाले बहालमा बस्नेका लागि दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पानी सात आठ दिनको एक पटक मात्र आउँछ, हामीलाई नै पुग्दैन, थोरै समय आउँछ, त्यसैले गर्दा हामीले डेरामा बस्नेलाई सात आठ दिन पुग्ने पानी दिन नसकेका छैनौँ ।”

ज्ञानेश्वरदेखि पिपलको बोटसम्मका मानिसले पानी भर्ने हुँदा त्यहाँ धेरै भिड भएको र लाइन बस्नुपरेको शाहीले बताउनुभयो । पानीको लाइन बसेर भर्दा झगडा हुनेजस्ता समस्या पनि देखापर्ने गर्छ ।

पानी खोल्ने र बन्द गर्ने समयअवधि सीमित नहुनाले कति बेला पानी आउँछ भन्ने थाहा नभएको र पानी बगेर खेर गइसकेपछि मात्र थाहा हुँदा एकै पटक पानी भर्न आउनेको भिड हुन्छ । पिपलबोटदेखि ज्ञानेश्वरसम्म १५–२० घरधुरी छन् ।

उक्त ठाउँमा प्रतिघर कम्तीमा पनि तीनदेखि चार परिवार डेरामा बसोबास गर्दै आएका छन् । जनसङ्ख्याको अत्याधिक चापका कारणले पनि पानीको समस्या आएको युवक राईले बताउनुभयो । स्थानीयवासीको भनाइअनुसार हप्ताको कम्तीमा दुई पटक भए पनि पानी आएमा समस्या कम हुन्छ ।

काठमाडौँमा ट्यांकर तथा जारको पानी ल्याउन यातायात तथा भण्डारणको समस्या छ । टोलका भाडामा बस्नेले मिलेर ल्याउन चाहे पनि धारामा आउने पानीको तुलनामा महँगो हुने गरेकाले सर्वसाधारणलाई झनै समस्याले पिरोल्छ ।

मालपोत कार्यालयका तीन कर्मचारी घुस लिएको अभियोगमा पक्राउ

चितवन, वैशाख ९। जिल्ला प्रशासन कार्यालयले मालपोत कार्यालय भरतपुरका दुई कर्मचारी र एक लेखापढी व्यवसायीलाई सेवाग्राहीसँग घुस लिएको आरोपमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत कार्यालयका नासु, मनोज निरौला, कम्युटर अपरेटर प्रदीप पौडेल र लेखापढी व्यवसायी फडीन्द्रराज तिवारी छन् । उनीहरुमध्ये निरौलाले चण्डीभन्ज्याङका बिर्खलाल गुरुङको हजुरबुबाका नामको जग्गा हजुरआमाका नाममा नामसारी गर्न नाममा मणि र मनि नमिलेको भन्दै रु छ हजार मागेको गुरुङले आरोप लगाउनुभयो । त्यस्तै कम्युटर अपरेटर तिवारीले रु ५०० लिएको अभियोग लगाइएको छ । । लेखापढी व्यवसायीले बिचौयियाको काम गरेको आरोप छ । जिल्ला प्रशासन कार्यालयका बजार संरक्षण अधिकृत ओमनारायण शर्माको नेतृत्वमा उपभोक्ता अधिकार संरक्षण मञ्च र जिल्ला प्रहरीसहितको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । अभियुक्तलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले उनीहरुलाई कारबाहीका लागि आइतबार जिल्ला प्रशासन कार्यालय पठाइने बताउनुभयो । यसैबीच भरतपुरको चौबिसकोठीमा ट्राफिक जनचेतनाका लागि निर्माण गरिएको डिजिटल सूचना पाटी तोडफोड गरेको अभियोगमा नेपाल कम्युनिस्ट पार्टी निकटअखिल (क्रान्तिकारी) सप्तगण्डकी क्याम्पस एकाइका अध्यक्ष सुरेन्द्र पौडेललाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरीक्षक थापाका अनुसार पौडेलसहित तीन जनाले गए राति १२ बजे र १९ मिनेट जाँदा टेलिभिजनसहितको सूचना पाटी तोडफोड गरेका हुन् । फरार अन्य दुईको खोजी भइरहेको बताइएको छ । रासस

उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै विश्व बैंकले गर्यो नेपालको प्रशंसा

काठमाडौं, वैशाख  ९ ।  नेपालको मुख्य दाता विश्व बैंकले उच्च आर्थिक वृद्धि हासिल गरेको भन्दै प्रशंसा गरेको छ । अमेरिकाको वासिङटन डिसीमा भएको बैठकमा बैंक अधिकारीले नेपालको प्रशंसा गरेका हुन् । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशत हुने प्रक्षेपण विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले गरेका छन् । केही महिनाअघि साढे ५ प्रतिशतको आर्थिक वृद्धि प्रक्षेपण गरेको आइएमएफले हालै मात्र आफ्नो प्रक्षेपण बढाएर साढे ६ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । विश्व बैंक समूहमध्येका एक कार्यकारी निर्देशक एन्डिन ह्यादियान्तोले नेपालले आर्थिक वृद्धिदर उच्च बनाएको भन्दै नेपाली टोलीलाई बधाई दिएका थिए । उनले विश्व बैंक समूहमा नेपालसहित ब्रुनाई, फिजी, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, सिंगापुर, थाइल्यान्ड, टोंगा र भियतनामका लागि प्रतिनिधित्व गर्छन् । नेपालको आर्थिक विकासलाई अझ तीव्र पार्न विश्व बैंकको सहयोग जारी रहने उनले बताए । विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए) कार्यक्रमअन्तर्गत विकासोन्मुख मुलुकलाई सहयोग गर्दै आएको छ । ‘आइडिए १८’ मा विश्व बैंक सहायता निकायअन्तर्गतको सहयोग दोब्बर गरिने उनले जानकारी दिए । सन् २०१८ मा आइडिएले प्रवाह गर्ने सहायतालाई ‘आइडिए १८’ भनिएको हो । यसले सन् २०१८ मा नेपालकोे आर्थिक वृद्धिदर उच्च पार्न सहयोग पुग्ने अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख वैकुण्ठ अर्यालले बताए । बैठकमा मलेसियाका अर्थमन्त्री जोहरी अब्दुल घारी र इन्डोनेसियाका अर्थमन्त्री मुल्यानी इन्द्रावतीले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालमार्फत नेपाल सरकारलाई अनौपचारिक बधाई सन्देश दिएको अर्थ मन्त्रालयले बताएको छ । यो खबर अाजको नयाँ पत्रिकामा छ ।

पत्रकारहरु नगदले सम्मानित

पुष्पा महरा काठमाडौँ, वैशाख ८ । नेपाल पत्रकार महासङ्घ, काठमाडौँले नेपाली पत्रकारिता क्षेत्रमा योगदान पु¥याउने पत्रकारहरुलाई नगदसहित पत्रकारिता पुरस्कार प्रदान गरेको छ । काठमाडौँ शाखाको १० औँ अधिवेशनको उद्घाटन गर्दै आज मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले पत्रकारिताका विभिन्न विधामा योगदान पु¥याउने पत्रकारहरुलाई पुरस्कार प्रदान गरिएको हो । महासंघले ‘अग्नितारा पत्रकारिता पुरस्कार’बाट पत्रकार गगन विष्टलाई सम्मान गरेको छ भने ‘स्व डम्बर गिरी पत्रकारिता पुरस्कार’ बाट पत्रकार तेजेन्द्रकुमार प्रसार्इंलाई, ‘स्व अशोक श्रेष्ठ पत्रकारिता पुरस्कार’ पत्रकार करूण अर्याल, ‘शक्ति लम्साल स्मृति पत्रकारिता पुरस्कार’ धनबहादुर मगर, ‘वासुदेव दाहाल स्मृति पत्रकारिता पुरस्कार’ प्रह्लाद रिजाललाई प्रदान गरेको छ । त्यस्तै ‘स्व यशोधा स्मृति पत्रकारिता पुरस्कार’ पवन थापा, ‘शोभा शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार उषा लोहनी र ‘विशाल खत्री स्मृति पत्रकारिता पुरस्कार’ विष्णु प्रसाईंलाई प्रदान गरिएको छ । यी पुरस्कारको राशि जनही रु १५ हजार रहेको छ । शाखाले लामो समयदेखि बिरामी परेका पत्रकार मुरारी गौतम, विके पाल्पाली, रामचन्द्र हुमागार्इं, विजय विस्पोट, गोविन्दसिंह थापा र चक्रपाणि नेपाललाई पनि जनही रु सात–सात हजार आर्थिक सहयोग प्रदान गरेको छ । सो अवसरमा मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले सञ्चारमाध्यम मुलुक परिवर्तनको संवाहक भएकाले यसको पेशागत संरक्षण गर्नु सरकारको दायित्व रहेको बताए । त्यस्तै सभामा उपस्थित वक्ताहरुले साना मिडियाहरुलाई वचाइराख्नुपर्नेमा जोड दिएका छन् । भोलिसम्म चल्ने अधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

प्रचण्ड क्रान्तिकारी र अनेरास्ववियुबीच झडप, आधा दर्जन घाइते

चितवन, वैशाख ८ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा दुई विद्यार्थी सङ्गठनबीच झडप भएको छ । नयाँ विद्यार्थीले कलेज प्रवेश गर्दा लगाउने टिसर्टको डिजाइनका विषयमा विवाद हुँदा शुक्रवार दुई संगठनबीच भएको झडपमा आधा दर्जन घाइते भएका छन् । नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुबीच झडप हुँदा दुवै पक्षका तीन÷तीन जनागरी छ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा अनेरास्ववियुका पोषण साह, रोहित ढकाल सुदीप भुजेल रहेका छन् भने क्रान्तिकारीका निरज सिंह, सुवज अधिकारी र नोवेल आचार्य रहेका छन् । घाइतेहरूको चितवन मेडिकल कलेजमा उपचार भइरहेको बताइएकाे छ ।

निर्वाचन तोकीएकै समयमा हुन्छ : नेम्वाङ

काठमाडौं, वैशाख ८ । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवास नेम्बाङले स्थानीय तहको निर्वाचन हुँदैन कि भनेर कोही पनि अन्योलमा नरहन आग्रह गरे । एमाले ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्चले नयाँ वर्ष २०७४ सालको अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा स्थानीय तहको निर्वाचनको सन्दर्भमा आयोजित कार्यक्रममा उनले तोकिएको समयमा नै निर्वाचन हुने भन्दै निर्वाचन हुदैन कि भनेर भ्रममा नपर्न आग्रह गरे । उनले मुलुकभर निर्वाचनको वातावरण बनिसकेको बताउँदै निर्वाचन नभए जनताले नै सरकारको प्रतिकार गर्ने धारणा राखे । पूर्व सभामुखसमेत रहेका नेता नेम्बाङले मधेसी मोर्चा निर्वाचनका सन्दर्भमा गरेको आन्दोलनको तुक नभएको भन्दै त्यसले निर्वाचनमा कुनै असर नपर्ने बताए । उनले निर्वाचनमा पार्टी एक ढिक्का लागेर लाग्ने भन्दै पार्टीले गुटउपगुटलाई नहेरी सक्षम र योग्यलाई उम्मेदवार बनाउने जानकारी गराए । कार्यक्रममा सचिव योगेश भट्टराईले निर्वाचन अब कसैले पनि चाहेर रोक्न नसक्ने दाबी गरे। ‘देश चुनावमय भइसकेको छ । जनता मतदान गर्न आतुर छन्’ उनले भने– ‘अब कसैले पनि नजिक आएको निर्वाचन रोक्न सक्दैन ।’

व्यापारी हमालले गरे उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढीमा उपमहानगरपालिकाको प्रमुखमा यहाँको उद्योगी एवम् व्यापारी गोपाल हमालले आफ्नो स्वतन्त्र उम्मेदावरी घोषणा गरेका छन् । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्षसमेत रहेका हमालले आज आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताए । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुन् । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

व्यापारी हमालद्वारा उम्मेदवारी घोषणा

धनगढी, वैशाख ८ । निर्वाचनको सरगर्मी बढ्दै जाँदा धनगढी उपमहानगरपालिकाको प्रमुखमा यस क्षेत्रका उद्योगी एवम् व्यापारी गोपाल हमालले बिहीबार आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । कैलाली उद्योग वाणिज्य सङ्घ पूर्व अध्यक्ष समेत रहनुभएका हमालले आज यहाँ आयोजित सभामा धनगढीबाट विकास र समृद्धिको अभियान सुरु गर्न आफूले सो उपमहानगरको प्रमुखमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो । धनगढी उपमहानगरको प्रमुखमा औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा गर्ने हमाल पहिलो व्यक्ति हुनुहुन्छ । उपमहानगरको प्रमुख र उप प्रमुखमा नेकपा माओवादी केन्द्रले पार्टीका तर्फबाट उठाउने उम्मेदावारको टुङ्गो लगाइसकेको छ । सो पार्टीले प्रमुखमा रामसमझ राना र उप प्रमुखमा शान्ति अधिकारी क्षेत्रीलाई उठाउने तय गरिसकेको छ । नेपाली काँग्रेस, नेकपा एमाले राप्रपा नेकपा माले लगायतका दलले उपमहानगरको प्रमुख उप प्रमुखमा कसलाई उठाउने भन्ने टुङ्गो अझै लगाउन सकेका छैनन् । सात नं प्रदेशको एकमात्र उपमहानगर धनगढी भएकाले महानगरको प्रमुख तथा उप प्रमुखको पदको टिकट हत्याउन विभिन्न दलमा आन्तरिक प्रतिस्पर्धा निकै बढेको छ । साविक सुदूरपश्चिमको मुख्य व्यापारिक केन्द्र रहेको र गएको संविधान सभाको निर्वाचनमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विजयी क्षेत्र भएकोले पनि यो उपमहानगरको निर्वाचनलाई दलहरुले आ–आफ्नो प्रतिष्ठाको विषय बनाउने अनुमान सबैको छ ।

जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा, भारतले दुई अर्ब सहयोग

जनकपुर, वैशाख ८ । जनकपुर व्रोडगेज रेल सेवा निर्माणको कार्य तीव्रगतिमा भइरहेको छ । भारत सरकारको २ अर्ब रुपैंयाँको सहयोग र नेपाल सरकारको अनुगमनमा व्रोडगेज रेल सेवाको निर्माण भईरहेको हो । भारतको जयनगरदेखि नेपालको जनकपुर बर्दिबाससम्म ७१ किलो मिटर दूरीमा व्रोडगेज रेल सेवा निर्माण कार्य जारी रहेको नेपाल रेल कम्पनीले जनाएको छ । अहिले रेल गुड्ने ठाउँमा पुल, टेरक, स्टेशन भवन सहितको निर्माण कार्य भइरहेको छ । रेल संचालनमा आएपछि जनकपुरमा पर्यटक बढ्ने समेत अपेक्षा स्थानीयले गरेका छन् । ऐतिहासिक जानकी मन्दिरको दर्शन गर्न बर्षेनी हजारौं भारतीय पर्यटक जनकपुर पुग्ने गरेका छन् ।

नेकपा संयुक्तले २१ जिल्लामा उम्मेदवारी दिने

काठमाडौँ, वैशाख ८ । स्थानीय तह निर्वाचनमा नेकपा (संयुक्त) ले  देशका २१ जिल्लामा उम्मेदवारी दिने भएको छ । पार्टीको सङ्गठन तथा सञ्जाल देशभर सबै जिल्लामा नभएका कारण सीमित स्थानमा मात्र उम्मेदवारी दिने तयारी गरिएको छ । पार्टीका अध्यक्ष गणेश साहका अनुसार पछिल्लो संरचनाअनुसार प्रदेश नं.६ का कुनै पनि स्थानमा पार्टीले उम्मेदवारी दिने छैन् । पार्टीले भ्रष्टाचार मुक्त समाज, समानतामा आधारित न्याय, नागरिक सम्मानजस्ता विषयलाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको छ । स्थानीय तहमा रोजगार सिर्जना गरी बेरोजगारी समस्या समाधान गर्ने वातावरणमैत्री समाज निर्माण गर्ने विषयलाई केन्द्रमा राखेर घोषणापत्र निर्माण पूरा गरिने छ । पार्टीको केन्द्रीय अध्यक्ष साहको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन भइसकेको छ । उम्मेदवारी दिने जिल्ला अध्यक्षको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन समिति गठन गरिएको छ । सम्बन्धित समितिको सिफारिसमा उम्मेदवार जिल्ला कार्यसमितिले चयन गर्ने छ। मुलुकमा भइरहेको राजनीतिक अवस्थाकाबारेमा जनतालाई बुझाउने र पार्टीको एजेन्डाप्रति उनीहरुलाई सकारात्मक बनाउन उम्मेदवारी दिने क्षेत्रमा चुनावी सभाका साथै पार्टीले प्रगतिशील बामपन्थी लोकतान्त्रिक शक्तिसँग तालमेल समेत गर्ने छ ।

राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

काठमाडौँ, वैशाख ८। सूचनाको हकको प्रभावकारी प्रचलनका लागि राष्ट्रिय सूचना आयोगद्वारा आयोजित राष्ट्रिय सम्मेलन सातबुँदे घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न भएको छ । सम्मेलनले नेपालको संविधानको धारा २७ मा सूचना माग्ने र पाउने हकका साथै प्रवाहको हक पनि थप गर्नुपर्ने, संविधानको त्यस धारामा रहेको ‘नागरिक’ को सट्टा ‘व्यक्ति’ शब्द प्रयोग गर्नुपर्ने माग गरेको छ । सङ्घीय सूचना आयोग र प्रादेशिक सूचना आयोगको कार्यक्षेत्रको विभाजनसहितको छाता कानुन तर्जुमा गर्नुपर्ने, सूचना माग र प्रवाहको वर्तमान कार्यविधिमा सुधार गरी सङ्क्षिप्त र छिटो सूचना प्राप्त हुने व्यवस्था गर्नुपर्नेसमेत सम्मेलनले माग गरेको छ । आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले घोषणापत्र जारी गर्दै राष्ट्रिय सूचना आयोगलाई आर्थिक र प्रशासनिक स्वतन्त्रता प्रदान गर्दै त्यसको संस्थागत विकासमा उच्च प्राथमिकता दिनुपर्ने माग गर्नुभयो । ‘नागरिकबाट माग हुने सूचना यथाशक्य शीघ्र उपलब्ध गराउन र तीन÷तीन महिनामा स्वतः प्रकाशन गर्न आ–आफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने र मातहत निकायलाई पनि त्यसैअनुरूप उत्प्रेरित गर्नेछौँ – घोषणापत्रमा भनिएको छ । सम्मेलनले मुलुकका पचहत्तरै जिल्लामा सूचनाको हकको जानकारीमूलक कार्यक्रम सञ्चालन गर्ने पनि निर्णय गरेको छ ।

मारुतीले ठक्करबाट दुर्इ महिलासहित तीन गम्भीर घाइते

गौशाला, वैशाख ८ । महोत्तरीको मटिहानीमा बिहीबार साँझ मारुतीले ठक्कर दिँदा दुई महिलासहित तीनजना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा मटिहानी–४ का ३२ वर्षीया हसिना खातुन, धीरापुर–६ बस्ने २० वर्षीय बबलु साह र धनुषा जिल्लाको तुल्सियाही जब्दीकी ४० वर्षीया खैरुना खातुन रहेको जिल्ला प्रहरी कार्यालय, महोत्तरीले जनाएको छ । मटिहानीबाट जलेश्वर आउँदै गरेको बिएसआर १ बिएल ०४७६ नंको भारतीय मारुतीले मटिहानी–४ स्थित सडकमा भारतबाट कपडा किनेर आउँदै गरेका तीनैजनालाई ठक्कर दिँदा उनीहरु गम्भीर घाइते भएको प्रहरी नायब उपरीक्षक दीपक पोखरेलले बताउनुभयो । घाइतेमध्ये महिला दुवैको पेटमाथिबाट चक्का चलेको र तीनै जनाको शरीरको अन्य भाग पनि किचिएकाले उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते दुवै महिलालाई गएराति अञ्चल अस्पताल जनकपुरमा प्राथमिक उपचारपश्चात् विशेष उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ भने युवक साहको उपचार भारतको मधवापुरस्थित एसएसबी क्याम्पमा भइरहेको छ । ठक्कर दिने मारुती र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिप्रका, महोत्तरीले जनाएको छ ।

शौचालय अभावमा खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य माझीगाउँ

काठमाडौं, बैसाख ८ ।  गत बर्षको भूकम्पले सिन्धुपाल्चोक, तल्लो माझीगाउँका श्रीमान माझीको घर भत्कियो । घरविहीन भएपछि उनी बारीको कान्ला, बोराले बारेको छाप्रो हुँदै अहिले टिनको टहरमा बस्छन् । यो सिंगो सिन्धुपाल्चोकको कथा व्यथा हो । माझीगाउँलाई टाउको लुकाउने छत र दुई छाक जुटाउन जति गाह्रो छ, त्यो भन्दा बढी गाह्रो छ दिसापिसाब व्यवस्थापन । भूकम्पले घरसँगै शौचालय पनि भत्किएपछि माझीगाउँले खुल्ला ठाउँमा दिसापिसाब गर्न बाध्य भए । यो खबर आजको कान्तिपुरमा छ ।

आइजी नियुक्ति प्रकरणः डकुमेन्ट लिकेजबारे छानबिन गर्न आदेश

काठमाडौं, बैसाख ८ ।  सर्वोच्च अदालतले विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेस गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानवीनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिइएको छ । डीआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक पदमा आफ्नो दावीका रुपवमा प्रस्तुत गरेको गोप्य कार्यसम्पादन मूल्याङकन फारम कसरी उनको हात पर्यो, त्यसको छानबिन गर्न मन्त्रिपरिषदले आदेश दिएको हो । ‘ति गोप्य र बाहिर ल्याउन नमिल्ने सरकारी कागजात कसरि बाहिर गयो भन्ने बिषयमा छानबिन गर्ने निर्णय भएको विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंहले बताए । सिलवालले पेश गरेको भनिएको कागजात कीर्ते भएको भन्दै मन्त्रिपरिषद्ले कार्यसम्पादन मूल्यांकनमा प्रकाश अर्याल र उनको नम्बर हेरफेर गरी बुझाइएको ठहर गरेको छ । सर्वोच्च अदालत र मन्त्रिपरिषद्बीच क्षेत्राधिकारससम्बन्धी विवाद चर्किरहँदा बिहीबारको मन्त्रिपरिषद् निर्णयपछि घटनाले नयाँ मोड लिएको छ । पूर्वमहान्यायाधिवक्ता बाबुराम कुवँरले यो निर्णयद्वारा मन्त्रिपरिषद्ले अदालतसमक्ष विचाराधीन मामिलालाई प्रभावित गर्न खोजेको र प्रहरी महानिरीक्षक नियुक्ति सम्बन्धमा अदालतले दिइसकेको आदेशलाई कार्यकारी अधिकारको दुरुपयोगद्वारा विचलित गर्ने षड्यन्त्र गरेको बताए । ‘अदालतको निर्णयमा चित्त नबुझे अदालतमार्फत मात्र त्यसको निराकरण खोज्नुुपर्ने मान्यताविपरीत मन्त्रिपरिषद् षड्यन्त्रमा उत्रिएको उनले बताए । सिलवालले सर्वोच्चमा दायर गरेको रिटमा आफ्नो र प्रहरी महानिरीक्षक अर्यालको चार वर्षको कार्यसम्पादन मूल्यांकनको नक्कलप्रति पनि पेस गर्नुभएको छ । सिलवालले पेस गरेको उक्त कार्यसम्पादन मूल्यांकनमा आर्थिक वर्ष ०७२/७३ को उक्त फाइल किर्ते गरेको ठहर मन्त्रिपरिषद्को छ । मन्त्रिपरिषद्ले सिलवालले ०७२/७३ को कार्यसम्पादन मूल्यांकन फाइललाई किर्ते गरेर आफ्नोलाई प्रकाश अर्यालको र अर्यालको फाइललाई आफ्नो बनाएको भन्दै त्यस विषयमा छानबिन गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको हो । मन्त्रिपरिषद्ले अदालतमा पेस भएको कार्यसम्पादन मूल्यांकन फाइल पनि अनुसन्धानका लागि मगाई छानबिन गर्न निर्देशन दिएको छ । यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

टेलिफोन र इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको लाइसेन्स खारेज हुने

काठमाडौं, बैसाख ८ । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको  छ  । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर कायम नगर्ने कम्पनीलाई ५० हजार रुपैयाँ जरिवानादेखि लाइसेन्स खारेजसम्मको कारबाही गर्ने व्यवस्था गरेको हो । अब मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ । विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा गरेको समयावधि (पल्स) बराबरको शुल्क वा फोनकल दरबराबरको रकम सेवाप्रदायकले क्षतिपूर्तिका रूपमा ग्राहकलाई उपलब्ध गराउनुपर्नेछ । सोबमोजिमको क्षतिपूर्ति सेवाप्रदायकले स्वचालित रूपमा ग्राहकले सेवा लिएको खातामा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्नेछ । यसरी क्षतिपूर्तिबराबरको रकम प्रदान गरेको बारेमा सम्बन्धित ग्राहकलाई जानकारीसमेत गराउनुपर्ने विनियमावलीमा उल्लेख छ । प्राधिकरणले विनियमावली ल्याएर आधारभूत फोन (ल्यान्डलाइन), मोबाइल र इन्टरनेट (डाटा) सेवाको गुणस्तर निर्धारण गरेको छ । प्राधिकरणले मापदण्डअनुसारको गुणस्तर कायम गर्न सेवाप्रदायकलाई निश्चित म्याद दिनेछ । तोकिएको समयमा पनि गुणस्तर नसुधार्ने कम्पनीलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरिनेछ । जरिवानापछि पनि गुणस्तर नसुध्रिए कम्पनीको लाइसेन्स नै खारेज गरिने विनियमावलीमा उल्लेख छ । प्राधिकरणले कल स्थापित (फोन लागिसक्नुपर्ने) समय ५ सेकेन्ड तोकेको छ । जसअनुसार एउटा मोबाइलबाट अर्को कुनै मोबाइलमा फोन गर्दा पाँच सेकेन्डमा फोनकल स्थापित (कल कनेक्सन) हुनुपर्नेछ । तोकिएको समयमा कल स्थापित नभए सेवा गुणस्तरहीन भएको ठहरिनेछ । यो खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

काठमाडौंमा फेरि रात्री बस

काठमाडौं, बैसाख ८ ।  काठमाडौं महानगरपालिकाले दुई महिनाभित्र फेरि रात्री बस सञ्चालनमा ल्याउने भएको छ । तीन बषैदेखि सञ्चालनमा आउन नसकेको रात्रीबस पुन सञ्चालन गर्न महानगरले गृहकार्य गरेको छ । तत्कालिन उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री नारायणकाजी श्रेष्ठले २०६९ भदौ १ गते तामझामसहित रत्नपार्कमा रात्रिबस उद्घाटन गरेका थिए । २०७० जेठबाट रात्रिबस काठमाडौंमका देखिएनन् । यो खबर आजको अन्नपूर्ण पेस्टमा छ ।