मधेसी मोर्चालाई निर्वाचनमा सहभागी हुन भारतको दवाव

काठमाडौं, बैसाख २ ।  सरकारले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा सहभागी हुन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई छिमेकी भारतको तर्फबाट दवाव दिएको छ ।

सरकारले दोस्रो पटक दर्ता गराएको संशोधन विधेयकलाई स्वीकार गरी स्थानीय निकायको निर्वाचनमा सहभागी हुन भारतीय पक्षले सुझाव दिएको मधेसी मोर्चाको उच्च स्रोतले जनाएको छ ।

शुक्रबार नयाँ बर्षको शुभकामना दिदै भारतीय राजदूत मञ्जिवसिंह पुरीले टेलिफोन सम्वादमार्फत मधेसी मोर्चाका नेताहरुलाई निर्वाचनमा सहभागी हुन आग्रह गरेका थिए ।

यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

टोखामा बिस्केट जात्रा

काठमाडौँ, वैशाख १ । काठमाडौँको टोखामा आजदेखि बिस्केट जात्रा सुरु भएको छ । प्राचीन संस्कृति, सभ्यता र मौलिकताले भरिएको नगरका रुपमा मानिने टोखाको बिस्केट जात्रामा स्थानीय कुमारी र गणेशलाई जात्रामा सहभागी गराइएपछि जात्रा सुरु भएको हो । प्रत्येक वर्ष वैशाख १ देखि ४ गतेसम्म सञ्चालन हुने सो जात्रामा स्थानीय ठनेलाछी टोलमा गणेश, चण्डेश्वरीलगायत देवीदेवतालाई सिन्दुर हालेर जात्रा निकालिनाका साथै स्थानीय विभिन्न देवदेवीको पूजा गरिन्छ । मौलिक परम्पराका साथ मनाइने उक्त जात्राका लागि अघिल्लो दिन स्थानीय देवदेवीलाई खुसी पार्न पञ्चबलिसमेत दिइन्छ । यसो गर्दा जात्रा अवधिभर बिघ्नबाधा नआउने जनविश्वास छ । यहाँको जात्रामा जिब्रो छेड्ने परम्परा भने छैन । सो जात्रा कहिलेदेखि सुरु भएको भनेर यकिनका साथ भन्न नसकिए पनि प्राचीन समयमा यहाँको बस्तीमा विभिन्न दानवीय शक्तिले सर्वसाधारणलाई दुःख दिन थालेपछि जनतालाई सुरक्षित बनाउन सो जात्राको प्रचलन सुरु गरिएको जात्रा व्यवस्थापन समितिका प्रतिनिधि देवराज डङ्गोलले जानकारी दिए । जात्रामा मेला भर्नका लागि काठमाडौँ तथा आसपास क्षेत्रबाट भक्तजनको सहभागिता छ । मेलामा सहभागी भक्तजनको व्यवस्थापनका लागि सुरक्षाकर्मीसहितको सहयोगमा स्थानीय क्लब तथा स्थानीय सङ्घसंस्थाको सहभागितामा स्वयंसेवक परिचालन गरिएको छ ।

प्राधिकरणको ध्यान प्राविधिक चुहावट कम गर्नेतर्फ

काठमाडौँ,  चैत २९ । नेपाल विद्युत् प्राधिकरणले प्राविधिक चुहावट कम गर्नका लागि  ट्रान्सफर्मरको क्षमता वृद्धिलाई रणनीतिकरुपमा अगाडि लैजाने भएको छ । प्राधिकरणले चोरी तथा हुकिङलाई क्रमशः नियन्त्रणका क्रममा पु¥याएपछि प्राविधिक चुहावट कम गर्ने विषयलाई प्राथमिकतामा राखेर प्रक्रिया अगाडि बढाएको हो । प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा करिब २५ प्रतिशत चुहावट भइरहेकामा हाल चोरी नियन्त्रण तथा अन्य प्राविधिक कामलाई योजनाबद्ध रुपमा अगाडि बढाएपछि करिब चार प्रतिशत चुहावट कम भएको छ । चालु आवको अन्त्यसम्म पाँच प्रतिशत चुहावट कम गर्ने प्राधिकरणको लक्ष्य छ । चोरी नियन्त्रण गर्दामात्रै पाँच प्रतिशतको हाराहारीमा चुहावट कम भएपछि उत्साहित भएको प्राधिकरणको अबको ध्यान प्राविधिक चुहावट नियन्त्रणतर्फ रहेको छ । प्राधिकरणले मुलुकभर विद्युत् चोरीमा संलग्न करिब ४० हजार व्यक्तिलाई कारबाहीको दायरामा ल्याएको छ । सो कारबाहीबाट प्राधिकरणले रु एक अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चोरी नियन्त्रण अभियान निरन्तर अगाडि बढ्ने जानकारी दिँदै स्थानीय तहको निर्वाचनका कारण प्रहरी प्रशासन आवश्यक रुपमा परिचालन हुन नसकेपछि प्राधिकरणकै जनशक्ति परिचालित गरिएको बताउनुभयो । चुहावट नियन्त्रण गर्नु विद्युत् उत्पादन गर्नुसरह भएकाले कार्यकारी निर्देशक घिसिङले चुहावटका कारण खेर जाने रु १२ अर्ब बराबरको क्षति रोक्न सकिए त्यसले प्राधिकरणलाई नाफामा लैजाने बताउनुभयो । चोरीसँगै प्राविधिक चुहावट नियन्त्रणका लागि विद्युत् बढी माग हुने क्षेत्रमा ट्रान्सफर्मर थप गर्ने, भार व्यवस्थापन गर्ने, ट्रान्सफर्मर लोड सेन्टर राख्ने, उद्योगीलाई अनिवार्य रुपमा क्यापासिटर बैंक राख्न लगाउने, सवस्टेसनको क्षमता वृद्धि गर्ने, नयाँ सवस्टेसन थप गर्ने र सवस्टेसनमा क्यासिटर ब्याङ्क तथा ४०० केभी लाइनमा विद्युत् प्रवाहलाई सन्तुलित बनाउन आवश्यक उपकरण राख्ने प्राधिकरणको योजना छ । प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका निर्देशक ब्रजभूषण चौधरीकाअनुसार गत साउनमा २५.६३ प्रतिशत चुहावट रहेकोमा गत फागुनमा २१ प्रतिशतमा झरेको छ । वितरण लाइनको चुहावट समग्रमा १६.३१ प्रतिशत रहेको छ भने प्रसारण लाइनमा ५.२५ र उत्पादनमा ०.९५ प्रतिशत चुहावट रहेको छ । सो चुहावट नियन्त्रण गर्न सकिए प्राधिकरणलाई ठूलो लाभ हुने निर्देशक चौधरी बताउनुहुन्छ । प्राधिकरणका अनुसार सबैभन्दा बढी चुहावट जनकपुर क्षेत्रीय कार्यालयमा रहेको छ । सो क्षेत्रीय कार्यालयमा ४७.९५ प्रतिशत चुहावट रहेको छ । पोखरा क्षेत्रीय कार्यालयमा १२.४५ प्रतिशत चुहावट, विराटनगरमा २०.६७, हेटौँडा १८.३३, काठमाडौँ ११.२४, बुटवल १६.२९, नेपालगन्ज १९.१७ र अत्तरियामा १९.५५ प्रतिशत चुहावट रहेकामा हाल उल्लेख्य रुपमा घटाइएको छ । तर ती स्थानका प्राविधिक चुहावट तथा प्रसारण लाइनमा हुने चुहावटमा केही कमी आएको भए पनि उल्लेख्य रुपमा घटाउन सकिएको छैन । प्राविधिक चुहावट रहनुको पछाडि ओभरलोडमा ट्रान्सफर्मर सञ्चालन हुनु, लोड सेन्टरमा वितरण ट्रान्सफर्मर नहुनु, ११ केभीको प्रसारण लाइन लामो हुनु, मोटर, पङ्खा एसीजस्ता बढी विद्युत् खपत गर्ने उपकरणको सङ्ख्या बढ्दै जानु, ३३ केभी, ११ केभी र ४०० भोल्ट लाइनमा फुटेका इन्सुलेटरहरु समयमा नफेरिनु तथा लाइन छोएका रुखका हाँगा नियमित रुपमा कटान नहुनु पनि चुहावटको कारणका रुपमा रहेका छन् । चुहावट नियन्त्रण गर्न वितरण संरचना सुदृढीकरण कार्यक्रमका लागि रु पाँच अर्ब ३७ करोडमध्ये रु एक अर्ब विद्युत् प्रणाली सुधारका लागि खर्च गर्ने गरी उपलब्ध गराइएको छ । दुई लाख थान एकल फेजको मिटर खरिद प्रक्रिया अगाडि बढेको छ भने १० हजार थान औद्योगिक ग्राहकका लागि टिओडी मिटर खरिद कार्य अगाडि बढेको छ । तेत्तीस केभी र १३२ केभी प्रसारण लाइनको क्षमता वृद्धि गर्न बोलपत्र आह्वान गर्ने प्रक्रिया सुरु गरिएको छ । ओभरलोड भएका ३३ केभी एवम् ११ केभीका प्रसारण लाइनको क्षमता वृद्धिको प्रक्रिया भने सुरु भइरहेको प्राधिकरणले जनाएको छ ।

बाइसधारामा मेला भर्न घुइँचो

काठमाडौं, चैत २९ । प्रत्येक वर्षझैँ यसवर्ष पनि चैत पूर्णिमामा लाग्ने बाइसधारा मेला भर्न भक्तजनको घुइँचो लागेको छ । उक्त स्थानमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन मेला लाग्ने परम्परा छ । सो मेला भरेमा विभिन्न चर्म रोगबाट मुक्त भई दीर्घजीवन तथा पारिवारिक सुख, शान्ति एवं समृद्धि कायम हुने विश्वास छ । त्यहाँ आएकामध्ये कोही जामाचोमा रहेको बौद्ध चैत्यमा समेत जाने गर्छन् । उक्त चैत्यमा विपस्सी बुद्ध आएर ध्यान गरेको विश्वास छ । अघिल्लो दिन बौद्धनाथ चैत्यमा मेला भर्न आएका भक्तजनसमेत त्यहाँ आएर स्नान गरी स्वयम्भूमा दर्शन गर्न जाने प्रचलन छ । मेला भर्नका लागि काठमाडौँ उपत्यका तथा त्यस वरपर क्षेत्रबाट दर्शनार्थीको विशेष घुइँचो लागेपछि बालाजुबाट त्यस क्षेत्र चल्ने सवारी साधनको आवतजावत रोकिएको छ । बाइसधारा मेला व्यवस्थापन समितिका सदस्य राजु लामाले यस वर्ष मेलालाई व्यवस्थित बनाउन स्वयंसेवक खटाएर दर्शनार्थीसँग समन्वय गरी भिड व्यवस्थापन गरिएको जानकारी दिनुभयो । साँझसम्म करिब ५० देखि ६० हजार झक्तजन आउने अनुमान छ । मेलामा सहभागी भक्तजनको सुरक्षा व्यवस्थापनका लागि सुरक्षाकर्मी परिचालन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । केही संस्थाले निःशुल्क पिउने पानी वितरण गरेका छन् ।

वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु

काठमाडौँ,  चैत  २९ । काठमाडौँको उत्तरी भेगमा अवस्थित वज्रयोगिनी मन्दिरको पुनःनिर्माण सुरु भएको छ । गत वर्ष आएको भूकम्पका कारण सो मन्दिरमा क्षति पुगेपछि त्यसको पुनःनिर्माण गर्न लागिएको हो । पुरातत्व विभागले मन्दिर जीर्ण भएपछि त्यसलाई प्राचीन शैलीमा अत्याधुनिक प्रविधि तथा निर्माण सामग्रीको प्रयोग गरी बनाउन लागेको छ । करिब रु सात करोड ५० लाखको लागतमा पुनःनिर्माण गरिने लक्ष्य राखिएको छ । कुनै पनि समय मन्दिर भत्कन सक्ने जोखिम बढेपछि सो मन्दिर आसपास क्षेत्रका सर्वसाधारण त्रसित भएकाछन् । करिब चार सय वर्ष पुरानो सो मन्दिर पेगोडा शैलीमा निर्माण गरिएको थियो । स्थानीय प्रहरी हवल्दार नवराज खड्काले मन्दिरमा रहेका प्राचीन महत्वका सामान हराउने डर भएपछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिनुभयो । तान्त्रिक विद्याबाट पूजा हुने उक्त मन्दिरमा हिन्दू तथा बौद्ध धर्मावलम्बी दुवैले आस्था प्रकट गर्ने गर्छन् । मन्दिर वरपरका क्षेत्रमा आकर्षक मनोरम दृष्य र पर्यटकीय गन्तव्य रहेकाले पनि स्वदेश तथा विदेशबाट समेत त्यस क्षेत्रमा पर्यटक घुम्न आउने गरेको पाइएको छ । मन्दिरको स्रोतका रुपमा करिब एक हजार तीन सय रोपनी क्षेत्रफल जमिन रहेको छ । त्यसमा गुठियारले अतिक्रमण गरेकाले मन्दिरका विभिन्न जात्रापर्व सञ्चालन गर्न कठिनाइ रहेको पुजारी कनकमुनि वज्राचार्यले जानकारी दिनुभयो । त्यस क्षेत्रमा बौद्ध चैत्य, वज्रयोगिनीको रातो वर्णको मूर्ति, दक्षिणकालीको मूर्ति, महाकाल, भैरवलगायतका मूर्ति छन् । काठमाडौँबाट करिब २५ किमीको दूरीमा पर्ने त्यस क्षेत्रको संरक्षणका लागि सरकारले लगानी गर्नुपर्ने स्थानीयवासी प्रल्हाद खत्रीले माग गर्नुभयो । स्थानीय पूर्वाधार तथा विकास निर्माणका साथै व्यवस्थित शौचालयको व्यवस्था हुनुपर्ने सुझाव उहाँ दिनुहुन्छ । मन्दिर परिसरमा रहेका नौ कुण्ड र नौ गुफासमेत संरक्षण गर्न आवश्यक देखिएको छ । प्रत्येक वर्ष श्रीस्वस्थानी माताका बर्तालुलाई मन्दिर दर्शन गराउने गरिन्छ । चैत शुक्ल पूर्णिमाका दिन सो मन्दिरमा मेला लाग्ने गर्छ ।

विप्लव पार्टीलाई ललितपुरमा झड्का, नेवा अध्यक्षसहित डेढसय माओवादी केन्द्रमा प्रवेश

ललितपुर, चैत २९ । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ललितपुरमा ठूलो पहिरो गएको छ । विप्लव पार्टी निकट नेवा मुक्ति मोर्चाका जिल्ला अध्यक्ष रहेका सुविन्द्र महर्जन र केशव देशार सहित एकसय पचास जना भन्दा बढीले विप्लवको पार्टी राजनीतिक कार्यदिशामा अस्पष्ट रहेको भन्दै पार्टी परित्याग गरेर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । विप्लव नेतृत्वको पार्टी गठन भएदेखिसँगै रहेका महर्जन र देशार जिल्लामा खासगरी नेवार समुदायमा लोकप्रिय मानिएका छन् । महर्जनले गोदावरी नगरपालिकामा रहेका सबै वडाबाट सत्तरी जना लिएर माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरुसबैलाई उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले एक कार्यक्रमबीच पार्टी प्रवेश गराए । पार्टीका सविन्द्र महर्जनले विप्लवको पार्टीले लिएको कार्यदिशाप्रति असन्तुष्ट रहेको कारण पार्टी छोडेको प्रतिक्रिया दिए । उनले भने–न पार्टीको दीर्घकालीन राजनीतिक एजेण्डा छ, न त नेताको कार्यशैली नै प्रष्ट छ’ पार्टी छोड्नुको कारणबारे उनले भने–‘पार्टीभित्र व्यक्तिगत र आर्थिक अराजकता बढ्दै गएपछि पार्टी परित्याग गरेर माओवादी केन्द्र प्रवेश गरेका हौं ।’ माओवादी केन्द्रको गोदावरी नगरपालिका सम्मेलनमा महर्जनसहित सत्तरी जना प्रचण्ड नेतृत्वको माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गरेका हुन् ।  आरोपको खण्डन विप्लव पार्टी गठनभएदेखि नेवा मुक्ति मोर्चा लालितपुरका अध्यक्ष रहेका महर्जनलाई आर्थिक हिनामिना गरेको आरोपको उनले खण्डन गरेका छन् । एभरेष्टदैनिक डटकमसँग उनले भने आजसम्म मैले विप्लव पार्टीमा लागेर एक रुपैयाँ हिनामिना गरेको छैन, त्यो आरोप मेरो समाजसेवी छवि विगार्न, पद घटुवा गर्न गरिएको सुनियोजित कु– प्रचार हो यसमा कुनै सत्यता छैन ।’ महर्जन र देशारमाथि आर्थिक र सांगठनिक अनिमितता गरेको आरोपमा कारवाही गर्ने तयारी भएपछि पार्टी छोडेको भनेर गरिएको प्रचार झुठो र कपोलकल्पित भएको उनीहरुले स्पष्ट पारेका छन् । आफ्नो लोकप्रिय छवि देखेर पार्टीका केही व्यक्तिहरुले लान्छना लगाएकोप्रति उनले खेद प्रकट गरे । भने– ‘मलाई विप्लव मनपर्ने नेता हुन्, तर उनको पार्टीले लिएको बैचारिक लाइनप्रति मेरो सुरुदेखि असहमति थियो जुन कुरा मैले पटक पटक बैठकमा राखेको थिएँ ।’ विप्लव पार्टी ललितपुरका सेक्रेटरीले लगाएको गम्भीर आरोप पुष्टि गर्न उनले चुनौति दिएका छन् । बाहिर आरोप लगाएर प्रचारबाजी गरिएको जस्तो सजिलो हुँदैन, फागुन १३ गते राजिनामा बुझाएको मलाई कसले कारवाही गरेको हो जानकारी छैन,’ महर्जनले भने । उनले आफ्नो राजनीतिक इमान्दारिताप्रति फाइदा लिन नसकेका व्यक्तिहरुले जनतामा भ्रम सिर्जन ागर्न झुठो आरोप लगाइएको उनले आरोप लगाए ।

हावाहुरीका कारण तीन दिनदेखि विद्युत अवरुद्ध

खोटाङ, चैत २९ । खोटाङ जिल्लामा तीन दिनदेखि विद्युत अवरुद्ध हुँदा अझैसम्म पनि आपूर्ति गर्न सकेको छैन । गत आइतबार साँझदेखि दिक्तेल–गाईघाटमा ३३ केभी प्रसारण लाइनको तार चुडिँदा विद्युत् अवरुद्ध भएको हो । उक्त अवरुद्ध भएको विद्युत प्रचार लाइन मर्मतका लागि टोली खटाइ सकिएको नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय दिक्तेलले जनाएको छ । गत आइतबार राति चलेको हावाहुरीले रसुवा आसपासमा तार चुँडाएको अनुमान गरिएको प्राधिकरणले जनाएको छ । विद्युत् अवरुद्ध हुँदा खोटाङका साथै छिमेकी जिल्ला ओखलढुङ्गाको जनजीवनसमेत प्रभावित भएको छ । विद्युत् अवरुद्ध भएपछि सरकारी तथा गैरसरकारी कार्यालयका काम, वित्तीय कारोबार, व्यापार/व्यवसाय सञ्चालनमा समस्या हुनुका साथै जिल्लामा सञ्चालित विद्युतीय तथा छापा सञ्चारमाध्यमको प्रकाशन र प्रसारणमा समेत असर पुगेको छ । जिल्लामा पटकपटक लामो समयसम्म विद्युत् अवरुद्ध गराइएको भन्दै स्थानीय उपभोक्ता आक्रोशित भएका छन् । उनीहरुले प्राधिकरणका कर्मचारीको लापर्बाहीले विद्युत् अवरुद्ध भएको आरोप लगाएका छन् ।

आगलागी प्रभावितलाई राहत सामग्री वितरण

नेपालगन्ज, चैत २९ । बाँके जिल्लामा सोमबार आगलागीबाट प्रभावित परिवारलाई नेपाल रेडक्रस सोसाइटीले सोनारी गाउँपालिकामा गैरखाद्य राहत सामग्री वितरण गरेको छ । गत आइतबार सो गाविसको वडा नं ७ वसन्तपुरमा आगलागी हुँदा आठ घरपरिवारका २१ महिला २७ पुरुष प्रभावित भएका थिए । रेडक्रसले आगलागी प्रभावित प्रतिपरिवारलाई त्रिपाल, कम्बल, भाँडा सेट, कपडा, बाल्टी र त्रिपाल तान्ने डोरी वितरण गरेको थियो ।

गुण्डा नाईके दावा लामामाथि काठमाडौंमा गोली प्रहार

काठमाडौं, चैत २९ । गुण्डा नाइके दावा लामामाथि काठमाडौंमा गोली प्रहार भएको छ । मंगलबार विहान गौरीघाटको दिव्यश्वरी पाटी प्यालेसमा छिर्दै गर्दा लामामाथी अपरिचित समुहले ४ राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्ररिसर र महानगरीय प्रहरी अपराध महाशाखाले हालै बनाएको १ सय २२ जना गुण्डाको सूचीमा लामा पनि रहेका छन् । प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामाको कोखमा गोली लागेको महानगरिय अपराध महाशाखा प्रमुख प्रधुम्न कार्कीले बताए । घाईते लामालाई उपचारकालागि नेपाल मेडिकल कलेज जोरपाटी लगिएको छ । प्रहरीको मोस्ट वान्टेड सुचिमा रहेका लामालाई क वर्गको गुन्डा नाईकेको सुचिमा राखेर प्रहरीले निगरानी गरिरहेको थियो । काभ्रेपलाञ्चोक जिल्ला भुम्लुटार गाविसका दावा केही वर्षअघि नेपाली कांग्रेस प्रवेश गरेका थिए ।

महानिरिक्षक बनेको भोलिपल्ट प्रधानमन्त्री भेटे अर्यालले

काठमाडौं, चैत २९ । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ र नवनियुक्त प्रहरी महानरीक्षक प्रकाश अर्यालबीच भेटवार्ता भएको छ । सरकारी निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्यालको कार्यकाल सफलताको कामना दिएको उनको निजी सचिवालयले जनाएको छ । साथै आर्इजीपी प्रकाश अर्याललाई देशको शान्ति सुरक्षा कायम गर्ने विषयमा इमान्दारितापूर्वक काम गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले देशमा निर्वाचन घोषणा भइसकेको अवस्थामा शान्ति सुरक्षा कायम गर्दै निर्वाचन सफल पार्न नेपाल प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले कानूनले सुम्पेको जिम्मेवारी निष्पक्ष ढंगले निर्वाह गर्न निर्देशन दिए ।

सुदूरका पहाडमा अप्टिकल फाइबर

बैतडी, चैत २९ । सुदूरपश्चिमका सात पहाडी जिल्लामा अप्टिकल फाइबर (एडिएसएस) बिछ्याउन सर्वेका कामा थालिएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुरा हुँदै बैतडी र बैतडीदेखि दार्चुलाको गोकुलेश्वरसम्म सर्वे गरिने छ । डडेल्धुरादेखि दीपायल हुँदै अछाम सदरमुकामसम्म सर्वेको कार्य सुरु गरिएको मिसन कन्सट्रक्सन प्रालि काठमाडौँका टिम लिडर सरोज रायमाझीले बताउनुभयो । प्रत्येक जिल्ला सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने सरकारको उद्देश्यअनुसार नेपाल टेलिकमले कन्सल्टेन्सीमार्फत अप्टिकल फाइबर जडान गर्न सर्वे थालेको नेपाल टेलिकम सुदूरपश्चिम क्षेत्रीय निर्देशनालयका सहायक प्राविधिक अधिकृत नारायण भट्टले बताउनुभयो । “दुई वर्षभित्र सुदूरपश्चिमका पहाडी जिल्लाका सदरमुकामसम्म अप्टिकल फाइबरको पहुँच पु¥याउने उद्देश्यले काम भइरहेको छ ।” अत्तरियादेखि डडेल्धुरासम्म नेपाल विद्युत् प्राधिकरणको हाइटेन्सन लाइनमार्फत ओपिजिडब्लु अप्टिकल फाइबर पु¥याइनेछ । अप्टिकल फाइबर बिछ्याएपछि दु्रत गतिको इन्टरनेट सेवा र ल्यान्डलाइन फोन सेवा सञ्चालन गर्न सकिने र सेवामा समेत गुणस्तरीयता बढ्ने भट्टले बताउनुभयो । सुदूरपश्चिमका पहाडी जिल्लामा अहिलेसम्म माइक्रोवेभ प्रणालीमार्फत टेलिकमले आफ्नो सेवा दिइरहेको छ तर त्यसमा ब्यान्डविथ सीमित हुुने भएकाले समस्या आउने गरेको छ । अप्टिकल फाइबर बिछ्याएपछि ब्यान्डविथ असीमित हुने र सेवा प्रभावकारी हुने भट्टको भनाइ छ । रासस

तीन जना अपहरणकारी पक्राउ

झापा, चैत २८ । जिल्ला प्रशासन कार्यालय झापाका खरिदारसहित तीनलाई प्रहरीले मानव अपहरण तथा शरीर बन्धक बनाएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका घर भई जिल्ला प्रशासन कार्यालय झापामा कार्यरत खरिदार तेजेन्द्र न्यौपाने, सोही स्थानका प्रेम न्यौपाने र भूपू कान्छा भनिने अजय राई रहेका छन् । उनीहरुलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक शैलेश थापा क्षेत्रीका अनुसार उनीहरुले शनिश्चरेका जीवन विष्टलाई अपहरण गरी खाली कागजमा हस्ताक्षर गराउँदै रु १५ करोड मूल्य पर्ने जग्गा प्रेम न्यौपानेका नाममा रजिष्ट्रेशन पास गराएका थिए । विष्टको नाममा दर्ता कायम रहेको अनारमनी–७ स्थित भद्रपुर रोडको १६९ र १७० कित्ता नम्वरको ५ कठ्ठा १६ धुर जग्गा उनीहरुले शरीर बन्धक बनाएर गत मागमा न्यौपानेको नाममा रजिष्ट्रेसन पास गरेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको र आज जिल्ला अदालत झापाबाट उनीहरुलाई मानव बेचविखन तथा शरीर बन्धक मुद्दामा म्याद थप गर्ने तयारी गरिएको प्रहरी उपरीक्षक क्षेत्रीले बताए ।

आगो नियन्त्रणबाहिर, ४० घर जलेर नष्ट, बारूद्धयन्त्र अझै घटनास्थल पुगेन

सिराहा, चैत २८ । सिरहाको सखुवा नन्कारकटी–८ सिमराहास्थित दलित वस्तीमा सुरु भएको आगोले भिषण रुप लिएको छ । साँझ ५ बजेबाट आगो सुरु भएको उक्त क्षेत्रमा हालसम्म ४० वटा भन्दा बढी घर जलेर नष्ट भइसकेको छ । स्थानीय हरिनारायण मण्डल (खत्बे)को परालको थुप्रोबाट उक्त आगो लाग्न सुरु भएको थियो । चर्काे हावा हुरीका कारण आगो नियन्त्रण बाहिर गएको इलाका प्रहरी कार्यालय सिरहाले जनाएको छ । घटनास्थल लहान नगरपालिकाबाट झण्डै डेढ घण्टाको दूरीमा पर्छ । विकट क्षेत्र भएको उक्त घटनाबारे लहान, सिरहा र राजविराज नगरपालिकाको बारुणयन्त्रहरुलाई खबर गरेपनि अपायक बाटोका कारण हालसम्म कुनै पनि आइपुगेका छैनन् । आगो नियन्त्रणमा कठिनाई भइरहेको प्रहरी नायब निरीक्षक रामकृष्ण चौधरीले जानकारी दिए । स्थानीयवासिन्दा र प्रहरीले संयुक्त रुपमा आयो नियन्त्रणका लागि प्रयास गरिरहेको भएपनि अझैसम्म आगो नियन्त्रणमा ल्याउन सकिएको छैन । आगलागी अझै जारी रहेकाले आगलागीबाट अहिलेसम्म के कति धनजन क्षति भयो भन्नेबारे यकिन विवरण आइसकेको छैन ।

तस्बिर खिच्दा एक विदेशीको मृत्यु

विराटनगर, चैत २८ । तस्बिर खिच्ने क्रममा सोमबार बिहान सोलुखम्बुमा एक विदेशी नागरिकको मृत्यु भएको छ ।  स्वीट्जरल्यान्डका ७२ वर्षीय ज्याक्युसन एरिक मोर्जाएरको मृत्यु भएको इलाका प्रहरी लुक्लालाई उद्धत गर्दै पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ । पासाङल्हामु गाउँपालिका–२ स्थित लुक्ला आधारभूत विद्यालयमा अभिभावक दिवस तथा परीक्षाफल कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा तस्बिर खिच्ने क्रममा अचानक लडेपछि उनको टाउकोमा चोट लागेको थियो । गम्भीर अवस्थामा उनलाई पासाङल्हामु निकी अस्पताल लुक्लामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त विद्यालयको उनी सहयोगी दातासमेत थिए ।

मधेस केन्द्रीत दलका सांसदद्वारा संसद बहिस्कार

काठमाडौँ, चैत २८ । मधेस केन्द्रीत दलले सोमबारको संसद बैठक पनि वहिष्कार गरेका छन् । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको जनाउ दिएलगत्तै मधेसी दलका सांसदहरु उठेर विरोध जनाएका थिए । संविधान संशोधनको मागसहित आन्दोलनमा रहेका ती दलले लामो समयदेखि बैठक बहिस्कार गर्दै आएका छन् । सभामुखले समय दिएपछि बोलेका थरुहट तराई पार्टीका सांसद गोपाल दहितले सम्मानित सदनले आफुहरुको माग सुनुवाई नगरेको भन्दै कैलालीका प्रहरी नियन्त्रणमा रहेका थारुहरुलाई छोड्न सरकारसँग माग गरे । त्यसैगरी, आफ्ना मागहरुको सुनुवाई नभएसम्म संसद बैठक वहिष्कार गर्ने भन्दै उनले आयोगमा दर्ता भएका सबै दललाई चुनाव चिन्ह दिन माग गरे । सांसद दहितले बोलेपछि थरुहट तराई पार्टी र मधेस केन्द्रीत दलबाट संसदमा उपस्थित सांसदहरु बैठक बहिष्कार गरी बाहिरिएका थिए ।

अमिन जोशी ३० हजार घुससहित पक्राउ

धनुषा,  चैत  २० ।  धनुषा जिल्लामा रहेकाे नापी कार्यालयका अमिन कृष्ण जोशीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासले आइतबार दिउँसो ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेका छन् । अमिन जोशीले एक सेवाग्राहीसँग जग्गाको कित्ताकाँट र नामसारीका लागि ३० हजार रुपैयाँ घुस लिएको बेला उनलाई पक्राउ गरेको एसपी लम्सालले जानकारी दिए ।