केन्द्रमा नौ महिनामा सरकारी कार्यालयमा अनियमितता भएका ७७३ उजुरी दर्ता

काठमाडौँ, वैशाख ११ । राष्ट्रिय सतर्कता केन्द्रमा नौ महिनाको अवधिमा सरकारी कार्यालयमा अनियमितता भएका सात ७७३ वटा उजुरी दर्ता भएको छ ।

दर्ता भएका उजुरीमध्ये ४८३ वटा उजुरी फछ्र्यौट गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले राससलाई जानकारी दिनुभयो । विसं २०७३ असारसम्म फछ्र्यौट हुन बाँकी रहेका ६२२ उजुरीमध्ये चैत मसान्तसम्म ४०३ को किनारा लगाइएको छ ।

नौ महिनाको अवधिमा कुल ८८६ उजुरी फछ्र्यौट भएको प्रवक्ता लामिछानेले बताए । “उजुरी परेकामध्ये छानबिनका क्रममा ६८५ को कुनै सत्यता पाइएन, यी उजुरीको छानबिनका क्रममा कुनै प्रमाण प्राप्त हुन सकेन”– उनले भने ।

केन्द्रमा परेका उजुरीलाई मन्त्रालयगत रुपमा विभाजन गर्दा शिक्षा मन्त्रालय र अन्तर्गतका निकायको सबैभन्दा बढी १८२ उजुरी परेका छन् ।

शिक्षा मन्त्रालयअन्तर्गत शिक्षक राहत कोटा, विद्यार्थी सङ्ख्याका आधारमा वितरण गरिने पाठ्यपुस्तक, खाजाको पैसामा अनियमितता हुने गरेको उजुरी पर्ने गरेको निगरानी तथा अनुगमन शाखा प्रमुख कमलप्रसाद अधिकारीले बताए ।

करेन्ट लागेर बालिकाको मृत्यु

राजविराज, वैशाख १० । सप्तरीको शम्भुनाथ नगरपलिका–८ मा करेन्ट लागेर आज बिहान एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय सुनिलकुमार दासको नौ वर्षीया छोरी विभाहकुमारी दास रहेको इलाका प्रहरी कार्यालय, कल्याणपुरले जनाएको छ । नुहाउने क्रममा पानी तान्ने मोटरमा नाङ्गो तारमा अचानक छुँदा विभाहलाई करेन्ट लागेको थियो । करेन्ट लागेर गम्भीर घाइते भएकी उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै सप्तरीमा दुई दिन अगाडि पनि करेन्ट लागेर दुईजनाको मृत्यु भएको थियो ।

मानसिक सन्तुलन ठीक नभएको कार्की पन्ध्र दिनदेखि बेपत्ता

मेलम्ची, वैशाख १० । सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–१० बस्ने सहदेवकुमार कार्की १५ दिनदेखि बेपत्ता भएका छन् । केही वर्षदेखि मानसिक सन्तुलन ठीक नभएका कार्की गत चैत २६ गतेदेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी घरबाट मेलम्ची हुँदै काभ्रेपलाञ्चोकको बनेपासम्म पुगेको र खोजखबर गर्दा कुनै पत्ता नलागेको उनकी छोरी कविता कार्कीले बताइन् । सामान्य मान्छेको भन्दा कपाल लामो भएको र निलो रङको टिसर्ट लगाएका मानसिक अवस्था ठीक नभएका कार्कीलाई देख्नु वा फेला पार्नुभएमा ९८४३८२६०४८, ९८६०६१८९०७ वा निजको प्रहरी कार्यालयमा खबर गरिदिन परिवारले आग्रह गरेको छ । चालीस वर्षीय कार्कीले लामो समयदेखि मानसिक रोगको औषधि सेवन गर्दै आइरहेका थिए । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानाले उनको खोजी जारी रहेको बताउनुभयो ।

उदयपुरमा उम्मेदवार छान्न सकेन एमालेले, बैठकमा चर्काचर्की

उदयपुर, वैशाख १० । स्थानीय निकायका उम्मेदवारहरु छनौट गर्ने विषयमा उदयपुर एमालेमा ठूलो विवाद देखिएको छ । नेकपा एमालेले त्रियुगा, चौदण्डी र कटारी नगरपालिकाको प्रमुख उपप्रमुखमा सिफारिस गरेभन्दा बाहिरबाट नाम प्रस्ताव आएपछि विवाद सुरु भएको हो । यही विषयमा शुक्रबार बोलाइएको बैठक बिना निश्कर्ष टुंगिको थियो । छ।’ एमालेका पूूर्वअध्यक्ष तथा जिल्ला विकास सभापति बेदप्रसाद पोखरेल कटारी नगरपालिकामा, एमाले जिल्ला अध्यक्ष ईश्वरमणि राउले त्रियुगा नगरपालिका र एमालेका नेता तथा पत्रकार महासंघ उदयपुरका पूर्वअध्यक्ष कुशल बाबु बस्नेतले चौदण्डी गढी नगरपालिकाको प्रमुखको उम्मेदवार जिल्लाको बैठकमा प्रस्ताव गरेपनि त्यसमा सहमति भएको छैन त्रियुगा नगरपालिकाको प्रमुख पदमा अनन्त दनुवार, चन्द्र नारायण चौधरी, इन्द्रबहादुर थापा र फुल कुमारी चौधरीले उपमेयरमा आफूले टिकट पाउनुपर्ने दाबी गरेका छन्। यसअघि नगर समितिबाट मेयर पदमा एमालेका युवा नेता भागवत राउत, प्रकास बस्नेत र गीता रेग्मीको र उपमेयरमा सुनिता चौधरी, महेश्वरी राई र सिर्जना दनुवारको नाम सिफारिस भएको थियो। त्यसैगरी चौदण्डीगढी नगरपालिका पनि सोचे भन्दा बढी आंकक्षी बनेका छन चौदण्ढी गढी नगरपालिकामा नरेन्द्र राउत र कुशलबाबु बस्नेतले मेयरको र चुना थापाले उपमेयरको टिकट आफूले पाउनु पर्ने दावी बैठकमा गरेपछि थप विवाद भएको थियो । चौदण्डी गढी नगरसमितिबाट कालु लामा, कुमार सिंह कार्की, राजेन्द्र कटुवाल ९राजन० र शम्भु पौडेलको सिफारिस भएको थियो भने उपमेयरमा कान्ता राई, लीला रिजाल, मनिका दुलाल र रेवती राई रहेको नेकपा एमाले उदयपुरले जनाएको छ। अहिले दुईजना प्रमुखका आकांक्षी बढेपछि नगरपालिका प्रमुखको दाबी गर्नेको संख्या ६ पुगेको छ भने उपप्रमुखको दाबी गर्नेको संख्या पाँच जना पुगेको छ।

५ वर्षमा धनगढीलाई नमूना शहर बनाउने हमालको घोषणा

धनगढी उपमहानगरपालिकाको मेयर पदका लागि स्वतन्त्र उमेदवारी घोषणा गरेका गोपाल हमालले चुनाव जितेमा धनगढीलाई नमूना शहर बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । ‘रोकौं शहरको विनासलाई, ६ भोट दललाई एक भोट विकासलाई’ भन्ने नारा सहित उमेदवारी घोषणा गरेका हमालले गर्नुभएको हो । स्थानीय निकायहरु भएका बेला चरम भ्रष्टाचार मौलाएको भन्दै, आफुले जितेमा भ्रष्टाचारमा सुन्य सहनसिलता अपनाउने बताए । घाेषणा सभामा उपमहानगरपालिकाका मेयरले पाउने सेवा सुविधा, गाडी र ईन्धन समेत नलिने उनले बताए । हचुका भरमा गरिएको एकीकृत सम्पत्ती करलाई बर्गिकरण गरी जनतालाई सहुलियत दिने, धनगढीको डुबान, खोलानाला अतिक्रमण हटाएर खोलानालामा सुद्ध पानी बग्ने बतावरण बनाउने, धनगढीलाई हरियालीयुक्त शहर बनाउने पनि उहाँको घोषणा पत्रमा उल्लेख छ । शहरका ग्रामीण क्षेत्रसम्म स्तरीय सडक बनाउने, बेहडाबाबा, जाखोर ताल जस्ता सम्पदाको संरक्षणका लागि प्रभावकारी योजना बनाउने र धनगढीलाई कृषि उब्जनीको थलो बनाउने उनले भने  । बढिरहेको बेरोजगारी कम गर्नका लागि युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने, बैदेशीक रोजगारीमा जानेहरुलाई भाषाका लागि काठमाण्डौ र ठुला शहरमा जाने बाध्यता हटाउन वडा वडामा भाषा कक्षाहरु सञ्चालन गर्ने, र धनगढीसँग जोडिएको भारतीय नाकाको स्तरोन्नती गरी धनगढीबासीलाई लाभ लिन सक्ने वातावरण बनाउने पनि घोषणापत्रमा उल्लेख छ । यस्तै, कागजमा नक्सा बनाएर भईरहेको प्लटिङ रोकेर सडक, यातायात, विजुली, खानेपानी र ढलको ब्यवस्था गरेर मात्रै प्लटिङ गर्न पाउने नियम कार्यान्वयन गर्ने, राना चौधरीको संस्कृती संरक्षणका लागि संग्रहालय निर्माण गरि वडा वडामा मनोरञ्जनका लागि पार्क स्थापना गरिने पनि हमालले घोषणा गर्नुभयो । सबै धर्मावलम्बीहरुका लागि अन्तेष्टिस्थल नभएकाले ब्यवस्थित अन्तेष्टीस्थल बनाउने, धनगढीसँग जोडिएको स्थानमा औद्योगिक क्षेत्र स्थापना गरि स्थानीय जनतालाई अधिकतम लाभ पुगाउने र पाँच वर्षमा नगरबासीको आम्दानी दोब्बर पुगाउने पनि हमालले घोषणा गर्नुभएको छ । खुटीया दिपायल फाष्ट ट्रयाक, गेटा मेडिकल कलेज, धनगढी विमानस्थल, क्षेत्रीय आर्युवेद औषधालय, क्षेत्रीय शहरी विकास आयोजना र सघन सहशी विकास आयोजनाहरुलाई समयमै सम्पन्न गराउन पनि घोषणापत्रमा प्रतिवद्धता ब्यक्त गरिएको छ । सेती अञ्चल अस्पतालको स्तरोन्नती गरी आईसीयु विस्तार गरिने र नगरबासीलाई कर, विजुली, पानी र विल घरमै बसीबसी तिर्ने ब्यवस्था मिलाउने, जेष्ठ नागरिक, अपांग, एकल महिलालाई दिईने सामाजिक सुरक्षा भत्ता घरमै उपलब्ध गराउने ब्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

मतदान केन्द्र पुग्न ३ दिन लाग्ने भएपछि भोट नहाल्ने घोषणा

जिल्लाभर स्थानीय तहको चुनावी रन्को बढेको छ। गाउँगाउँमा कसलाई मत दिने छलफल जारी छ। तर सदरमुकामबाट ६० कोस टाडाको हिमाली गाउँपालिका–३ गुम्बा गाउँका मतदाता भने चुनावी चर्चा गर्दागर्दै पनि मतदान गर्न नजाने निर्णयमा पुगेका छन्। यो खबर आजको राजधानीमा निमेन्द्र शाीले लेखेका छन्। गुम्बा गाउँका मतदाताले उम्मेदवार मन नपरेर या बहिष्कार नीतिका कारण भने मतदान नगर्ने निर्णय गरेका होइनन्। मतदान गरेर घर आइपुग्दा तीन दिन बित्ने भएपछि खर्च र समयको बर्बादी हुने भन्दै उनीहरू मतदान नगर्ने निर्णयमा पुगेका हुन्। २६ परिवारको थातथलो रहेको लाम्पाटा र गुम्बा गाउँका मतदाताका लागि निर्वाचन कार्यालयले डेढ दिन हिँडेर मात्र पुगिने गंगा आधारभूत विद्यालय बौडीमा मतदान केन्द्र कायम गरिदिएपछि उनीहरू रहर हुँदाहुँदै बाध्यतावश मतदान नै नगर्ने निष्कर्षमा पुगेका हुन्। ‘१९ वर्षपछि मत हाल्न पाइने आशा थियो तर मत हालेर आउँदै तीन दिन लाग्ने भएपछि बुढाबुढी र बिरामी लिएर जान नसकिने भएकाले हामीले मत नहाल्ने निर्णय गरेका छौं,’ स्थानीय छिरिङ घोर्चे लामा भन्छन्। गुम्बा गाउँमा ३० जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बाजुराकी प्रमुख सुभद्रा गौतम बताउँछिन्। यीमध्ये आठजना महिला र २२ जना पुरुष मतदाता छन्। मतदान केन्द्र टाढा भएका कारण यसअघिका निर्वाचनमा समेत मत हाल्न जान नसकेको लामाले बताए। दुःख गरेर मत हाल्न गए पनि बस्ने खाने र सहजीकरण गर्ने कार्यमा कसैले सहयोग गर्ने आश्वासन नदिएपछि उनीहरू मताधिकार पाएर पनि सदुपयोग गर्ने निर्णयमा पुगेका हुन्। ‘तीन दिन बिताएर के गर्ने ? हाम्रो सुख कसैले गर्ने होइन,’ लामा भन्छन्। गुम्बा गाउँकै छेवाङ लामा गाउँकै विद्यालयमा मतदान केन्द्र तोक्न सक्ने अवस्था हुँदाहुँदै जबर्जस्ती टाडा लगिएपछि मतदान गर्न जान नसक्ने बताउँछन्। ‘हाम्रो गाउँमा पनि स्कुल छ, तीन दिन हिँड्नुपर्ने ठाउँमा लानै नपर्ने अब हामी कसरी भोट हाल्न जान सक्छौं ?’ लामा गुनासो पोख्छन्। लामाका अनुसार गुम्बा गाउँबाट मतदान केन्द्र भएको ठाउँमा पुग्न युवाहरूलाई कस्सिएर हिँड्दासमेत एक दिन पूरै समय लाग्ने लामा बताउँछन्। गाउँमा ६० वर्ष नाघेका तीनजना छन् भने आठजना महिला मतदाता रहेका छन्। ‘दुई–तिन दिन खर्च गरेर कुनै उपलब्धि हँुदैन, समस्या जस्ताको त्यस्तै छन्, मतदान गरेर पनि के गर्ने ?’ स्थानीय कालिबहादुर गुरुङ भन्छन्। उनीहरूले २०७० सालको संविधानसभाको निर्वाचनमा पनि गाउँमै मतदान केन्द्र तोक्न पटकपटक माग गरे। तर, जिल्ला निर्वाचन कार्यालयले अर्को पटक व्यवस्था गर्ने आश्वासन दिएको थियो। गाउँपालिका निर्माणमा धेरै गाविसलाई मिलाइएको र मतदान केन्द्र तोक्दा सुगममा मात्र राखिएका कारण आफूहरू नचाहेर पनि मतदान गर्नबाट वञ्चित हुने अवस्था आएको भन्दै स्थानीय आक्रोसित समेत छन्। जिल्लाको विकट गाउँका रूपमा रहेको बिच्छ्याँको लाम्पाटा र गुम्बा गाउँमा राज्यले बेवास्ता गरेकाले निर्वाचनमा मतदान गर्ने अधिकारबाट वञ्चित हुनुपरेको इन्सेक बाजुरा प्रतिनिधि पदमबहादुर सिंह बताउँछन्।

यी हुन रुकुममा एमालेबाट स्थानीय तह प्रमुखमा उठने उम्मेदवारहरु

रुकुम, वैशाख १० । आगामी ३१ गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचनको लागि नेकपा एमालेले रुकुममा सबै स्थानीय तहका लागि उम्मेदवार टुँगो लागाएको छ । जिल्ला कमिटि रुकुमले गरेको निर्णयलाई प्रदेश कमिटिले अनुमोदन गरेपछि ३ नगरपालिका, ६ गाउँपालिकाको प्रमुख, उपप्रमुख र अध्यक्ष उपाध्यक्षको टुंगो लागाएको जिल्ला सचिव हरिप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९ स्थानीय तहमध्ये एउटामा महिला र अन्य ८ वटा स्थानीय तहको प्रमुख तथा अध्यक्षमा पुरुषलाई अघि सारिएको छ । एमालेले मुसीकोट नगरपालिकामा विमलकुमार पुनलाई प्रमुख तथा केशरी गौतमलाई उपप्रमुख, चौरजहारी नगरपालिकामा शेरबहादुर केसीलाई प्रमुख तथा कल्याणी खड्कालाई उपप्रमुख र आठ विसकोट नगरपालिकामा हरिप्रसाद शर्मालाई प्रमुख तथा भगवती शाहीलाई उपप्रमुखमा अघि सार्ने निर्णय गरेको छ । यसैगरी पुथाउत्तरगंगा गाउँपालिकामा भिउमान घर्तीलाई अध्यक्ष, सीता घतानेलाई उपाध्यक्ष, भूमे गाउँपालिकामा आशा स्वर्णकारलाई अध्यक्ष कमानसिङ डाँगीलाई उपाध्यक्ष, सिस्ने गाउँपालिकामा नन्दलाल शर्मालाई अध्यक्ष नुमेन्द्रा खड्कालाई उपाध्यक्ष, बाँफीकोट गाउँपालिकामा विद्यापति रिजाललाई अध्यक्ष व्युझना पुनलाई उपाध्यक्ष, त्रिवेणि गाउँपालिकामा  गणेश खड्कालाई अध्यक्ष कल्पना ओलीलाई उपाध्यक्ष, र सानीभेरी गाउँपालिकामा मनवीर घर्तीलाई अध्यक्ष तथा लक्ष्मी घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत भएको एमालेले जनाएको छ । स्थानीय तहको मुख्य पदका उम्मेदवार टुङ्गो लागेपनि वडा अध्यक्ष तथा सदस्यको भने केही दिन भित्रै लाग्ने एमालेले जनाएको छ । कान्तिपुर दैनिकबाट

चुनाव लड्न ५ शिक्षकले दिए राजीनामा

बैतडी, वैशाख १०। स्थानीय चुनाव लड्नका लागि बैतडीका पाँच शिक्षकले राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकले टिकट पक्का भएपछि राजीनामा दिएको बताएका छन् । जिल्ला शिक्षा कार्यालय, बैतडीका नायब सुब्बा वसन्तबहादुर सिंहका अनुसार राजीनामा दिने शिक्षकहरुमा सीताराम प्रावि खेती थलाकाडामा कार्यरत शेरबहादुर चन्द, कैलपाल मावि ढाडवमा कार्यरत रामबहादुर कुँवर, ज्ञानेश्वर मावि सिद्घेश्वरमा कार्यरत पृथ्वीराज पन्त, शिवलिङ्ग मावि बगर धौलाडीमा कार्यरत रामसिंह धामी र कुलाउ मावि कुलाउमा कार्यरत गोरखबहादुर चन्द रहेका छन् । राजीनामा दिने शिक्षकहरु २५ वर्षभन्दा बढी शिक्षण पेसा गरिसकेका रहेका जिल्ला शिक्षा कार्यालय, बैतडीले जनाएको छ । चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह जिल्ला शिक्षा कार्यालय, बैतडीले जिल्लामा कार्यरत शिक्षकलाई चुनावी प्रचारप्रसारमा नलाग्न आग्रह गरेको छ । निर्वाचन आचारसंहिता विपरीत पार्टीको झन्डा बोकेर चुनावी प्रचारप्रसारमा शिक्षक लागेको पाइएमा शिक्षा ऐनअनुसार कारबाही हुने जिल्ला शिक्षा अधिकारी लालसिंह टेरले जानकारी दिनुभयो । पछिल्लो समयमा शिक्षकलगायत सरकारी कर्मचारीहरु पार्टीको प्रचारप्रसारमा बढी केन्द्रित हुने गरेका छन् । चुनाव नजिकिएसँगै कर्मचारीहरु पार्टीको झन्डा बोक्दै चुनावी प्रचारमा लागेकाले जिल्लामा कार्यरत कर्मचारीलाई प्रचारप्रसारमा नलाग्न जिशिका, बैतडीले आग्रह गरेको छ । गाउँपालिका अध्यक्षका लागि राजीनामा बैतडीको तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष पदमा चुनाव लड्नका लागि कुलाउ माविका प्राचार्य गोरखबहादुर चन्दले राजीनामा दिएको बताउनुभएकोे छ । स्थानीय तहको चुनावमा पञ्चेश्वर गाउँपालिकाका लागि एमालेबाट अध्यक्ष पदको उम्मेदवारीका लागि चन्दले प्राचार्य पदबाट राजीनामा दिनुभएको हो । तल्लोस्वराड क्षेत्र थुप्रै सम्भावना भएकाले ती सम्भावनाको खोजी र प्रयोगका लागि आफूले पहल गर्ने चन्दले बताउनुभयो । रासस

बिराटनगर उपमहागरमा माओवादीको उम्मेदवार तय

विराटनगर, बैशाख ९ । नेकपा माओवादी केन्द्रले विराटनगर उपमहानगरपालिकाको मेयर र उपमेयरसहित वडाको उम्मेदवार टुंगो लगाएको छ । स्थानीय तहको निर्वाचनका लागि केन्द्रले विराटनगर उपमहानगरापलिकाको मेयरमा भोगेन्द्र यादव र उपमेयरमा नमिता न्यौपानेलाई उम्मेदवार बनाएको हो । यादव माओवादी केन्द्र विराटनगरका इन्चार्ज हुन् भने उपमेयरका उम्मेदवार न्यौपाने संयोजक हुन् । माओवादी केन्द्रले ४, १०, १४ र १५ वडा वाहेका अन्य वडाका उम्मेदवारको नाम समेत सार्वजनिक गरेको छ । बिराटनगर उपमहानगरमा १९ वडा छ । चार वडाका उम्मेदवार टुंगो लागिनसकेको निर्वाचन परिचालन संमितिले जनाएकाे छ । तीन नम्वर वडामा सबै उम्मेदवार महिला माओवादीले विराटनगरको ३ नम्वर वडामा वडाध्यक्षसहित सवै उम्मेदवार महिला अघि सारेको छ । शुशीलादेवी भट्टराई वडाध्यक्ष, महिला वडा सदस्यमा कल्पना पोख्रेल र दलित महिलामा लक्ष्मीदेवी विक उम्मेदवार छिन् दुई सदस्यमा अप्सरा निरौला र हिरा घिमिरे छिन् । अप्सार निरौला स्थानीय सचारकर्मीसमेत हुन ।

दैलेख कारागार कैदीबीच झडप, सात जना घाईते, दुई गम्भिर

दैलेख, बैशाख ९ । जिल्ला कारागार दैलेखमा पानीको निहुँमा विवाद हुँदा कैदीबन्दीबीच शनिवार झडप भएको छ । झडपमा सात जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको बताइएको छ । खानेपानीको विषयलाई लिएर कारागारमा रहेका नारायण शाही र उपेन्द्र पुनबीच भएको भनाभनपछि दुई समूहबीच झडप भएको प्रहरी निरीक्षक योगेन्द्र खड्काले जानकारी दिए । घाइतेमध्ये शाही र पुनलाई जिल्ला अस्पताल दैलेखमा उपचारका लागि लगिएको छ । अन्य पाँच जना भने सामान्य घाइते छन् । दैलेख कारागारमा ८० जना पुरुष र २० जना महिला राख्ने क्षमता भए पनि १ सय ५३ जना राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी राखिंदा कारागारमा पटकपटक विवाद र झडप हुने गरेका छन् ।

भ्यानको ठक्करबाट स्कुटी चालकको मृत्यु

चितवन, वैशाख ९ । चितवनको नारायणगढमा म्याजिक भ्यानको ठक्करबाट शनिबार मध्यान्ह एक किशोरीको मृत्यु भएको छ । चितवनको भरतपुरबाट नारायणगढको पुलचोकतर्फ जाँदै गरेको ना १ च ५४२२ नम्बरको म्याजिक भ्यानले सोही दिशातर्फ जाँदै गरेको ना ३६ प ५११२ नम्बरको स्कुटीलाई पछाडिबाट ठक्कर दिँदा स्कुटी चालक पश्चिम चितवनको पटिहानीकी– १९ वर्षीया वर्षा आचार्यको मृत्यु भएको हो । मध्यान्ह १२ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएकी आचार्यको उपचारका लागि चितवन मेडिकल कलेज पुर्याइएकोमा १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । सो दुर्घटनापछि म्याजिक चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

उपत्यकाका प्रमुख नदीबाट ३७ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, ९ वैशाख । उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ३७ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । बाग्मती सफाइको २०६औँ हप्तामा आज थापाथली पुलमा सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बिहान सिमसिमे पानी परे पनि सफाइमा ६ सय ५० भन्दा बढीको सहभागिता जुटेको सफाइ अभियन्ता एवम् अधिकारसम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य नारायण श्रेष्ठले राससलाई जानकारी दिनुभयो । सफाइमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव दिनेश थपलियाले सफाइका सहभागीलाई शपथ खुवाउनुहुँदै बाग्मती सफाइ महाअभियानको ३०० औँ हप्तासम्म सात सय ४४ वटै स्थानीय तहमा सफाइ अभियान सञ्चालन गरिने जानकारी गराउनुभयो । बाग्मती सफाइ महाअभियानको २००औँ हप्ताका अवसरमा फागुन २८ गते शङ्खमूलमा आयोजित मूल कार्यक्रममा सरकारका मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गर्नुभएको १० बुँदे घोषणापत्र बमोजिम शुक्रबार दिउँसो २ देखि ३ बजेसम्म ३१ वटै मन्त्रालयमा सफाइ सुरु गरिएको उहाँले बताउनुभयो । रुद्रमती सफाइको १६५औँ हप्तामा रातोपुलबाट सिफल हुँदै कालोपुल–सहिदमार्ग–ज्ञानेश्वरसम्म सफाइसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो । त्यस अवसरमा बाटाको फोहरसमेत सफाइ गरी एक मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । विष्णुमती सफाइको १३७औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको घलेपुलमा सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरियो । यसैगरी गुह्येश्वरमाथिको बाग्मतीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजले गरेको १६७औँ हप्ताको सफाइमा पनि एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । तिलगङ्गा महिला समूहले पशुपति क्षेत्रमा गरेको ११४ औँ हप्ताको सफाइमा पनि जनचेतनामूलक अभियानसहितको सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरियो । बाग्मती सफाइ महाअभियान २०० औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारका मुख्यसचिव सुवेदीले जारी गर्नुभएको १० बुँदे घोषणापत्रबमोजिम गत हप्ता शनिबारदेखि घर टोल सफाइ अभियान चक्रपथको ग्रिन सिटी अस्पताल अघिबाट सुरु गरिएको थियो । सो अभियानअन्तर्गत आज वसुन्धरामा भएको सफाइमा १६ मेट्रि«क टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत सङ्घसंस्थाको सहभागिता थियो ।

महानगरका प्रमुख र उप–प्रमुख पदमा सिफारिस गर्न मतदान

पोखरा, वैशाख ९ । नेकपा एमाले पोखरा–लेखनाथ महानगर सङ्गठन कमिटीले महानगरको प्रमुख र उप–प्रमुख पदका लागि मतदान प्रकृयाबाट तीन-तीन जनाको नाम सिफारिस गरेको छ । गएराति १ बजेतिर सकिएको सो मतगणनापछि महानगरको प्रमुख पदमा पार्टीका वैकल्पिक पोलिटब्यूरो सदस्य एवम् पूर्व जिल्ला कमिटीका अध्यक्ष मानबहादुर जिसी, पोखरा उपमहानगरपालिकाका पूर्वप्रमुख तथा जिल्ला कमिटिका अध्यक्ष कृष्ण थापा र एमालेकी महिला नेतृ मित्रकुमारी गुरुङ सुवेदीलाई प्राप्त मतका आधारमा सिफारिस गरिएको हो । त्यस्तै नगर उपप्रमुख पदमा पार्टीका उप–सचिव प्रभा कोइराला, जिल्ला सदस्य मञ्जु गुरुङ, पूर्व जिल्ला उपसचिव देवका पहारीलाई पनि मतदान प्रक्रियाबाट सिफारिस गरिएको हो । सो मतदान प्रक्रियामा पार्टीका महानगर सङ्गठन कमिटीका ३९९ सदस्यले मतदान गर्नुभएको थियो । यसअघि महानगरको प्रमुखमा १० र उपप्रमुखमा आठ जनाले दाबी गरेका थिए । सिफारिसमा परेका दाबेदारलाई जिल्लाले प्रदेशमा र प्रदेशको सिफारिसमा स्थायी कमिटीले उम्मेदवार तोक्ने जिल्ला कमिटीका कार्यालय सचिव बैनबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

कागवेनीमा बस दुर्घटना, पाँच जनाको मृत्यु

पोखरा, वैशाख ९ । कागवेनीमा बस दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । प्रसिद्ध तीर्थस्थल मुक्तिनाथबाट मुस्ताङको सदरमुकाम जोमसोम आउँदै गरेको ना ५ ख ६०६७ नम्बरको बस कागवेनीको उकालोमा पल्टिँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनायो । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन । म्याग्दी बस सञ्चालक समितिद्वारा सञ्चालित बसमा ३५ जना यात्रु रहेका र अघिकांश यात्रु घाइते भएको बताइएको छ । घाइतेहरुको उपचारको लागि मुस्ताङ्ग जिल्ला अस्पताल जोमसोम ल्याइएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाहरु अहिले घटनास्थलमा पुगी उद्धारको काममा खटिएका छन् ।

जिप्रकाको निर्देशन टेरेनन्

नेपालगन्ज, वैशाख ९ । स्थानीय निकाय निर्वाचनलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालयले निश्चित समय अवधिका लागि नागरिकसँग भएको हतियार बुझाउन गरेको आग्रहलाई यथोचित पालना गरिएको छैन । स्थानीय प्रशासन कार्यालयले गत चैत ९ गते सूचना जारी गरी चैत २४ गतेसम्म हतियार बुझाउन आग्रह गरेकोमा त्यसको बेवास्ता भएपछि पुनः वैशाख ५ गतेसम्म बुझाउनका लागि म्याद दिइएको थियो । यहाँका नागरिकसँग भएको अनुमति प्राप्त हतियार बन्दुक, पेस्तोल र सटगन बुझाउन गरेको आग्रहलाई अहिलेसम्म ५० जनाले मात्र पालना गरेका छन् । प्रमुख जिल्ला अधिकारी रविलाल पन्थकाअनुसार, हतियार खरिदका लागि बाँके जिल्लाबाट अनुमति लिएका र अन्य जिल्लामा खरिद गरी यहाँ नवीकरण गरेकाको सङ्ख्या जिल्लामा ८०० रहेको छ । गृह मन्त्रालयले हिजो हतियार बुझाउनका लागि जारी गरिएको सूचनामा वैशाख १५ गतेसम्मको अवधि दिएकोमा यस जिल्लामा पनि सोही अवधि लागू हुने प्रजिअ पन्थले बताउनुभयो । ‘मन्त्रालयको सूचनालाई बेवास्ता गरी तोकिएको अवधिमा हतियार नबुझाउनेलाई कानुन अनुसार कारबाहीको दायरामा ल्याइने छ’—प्रजिअ पन्थले भन्नुभयो । यसैबीच, स्थानिय निकाय निर्वाचनको सुरक्षा व्यवस्थालाई चुस्त,दुरुस्त बनाउन अपनाउनुपर्ने रणनीतिका सम्बन्धमा प्रजिअ पन्थको नेतृत्वमा जिल्लाका प्रहरी प्रमुख, सशस्त्र प्रहरी, नेपाली सेनाका पदाधिकारी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकारीको टोली आज जिल्लाको राप्तीपारी क्षेत्रको अनुगमनमा गएको छ ।

काठमाडौँको महासङ्घमा अाइतबारमात्र निर्वाचन हुने

काठमाडौँ, वैशाख ९ । नेपाल पत्रकार महासङ्घ काठमाडौँको नयाँ नेतृत्वका लागि आइतबार निर्वाचन हुने भएको छ । शुक्रबार शाखाको १० अौँ अधिवेशनको उद्घाटन भएपछि नयाँ नेतृत्वका लागि निर्वाचन आइतबार बिहान १० देखि अपराह्न ४ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत गोविन्द पोखरेलले जानकारी गराउनुभयो । निर्वाचन सम्पन्न भएको एक घन्टापछि मतगणना गरिने छ । आइतबार निर्वाचनका लागि आज उम्मेदवारले मनोनयनपत्र दर्ता गराउने छन् । आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शाखा कार्यालय भृकुटीमण्डपमा कार्यसमितिका लागि बिहान ११ देखि १ बजेसम्म र केन्द्रीय पार्षद् तथा प्रदेश पार्षद्का लागि बिहान २ देखि बेलुका ५ बजेसम्म उम्मेदवारी मनोनयन गराउने समय तोकिएको पोखरेलले जानकारी गराउनुभयो । नयाँ नेतृत्वका लागि शन्तराम बिंडारी र रामकृष्ण अधिकारीले उम्मेदवारी घोषणा गर्नुभएको छ । चैतमा हुनुपर्ने अधिवेशन सदस्य विवादका कारण रोकिएको थियो । शाखामा करिब एक हजार तीन सय ५० मतदाता छन् ।