वान बेल्ट वान रोडमा सम्झौता गर्न अर्थमन्त्री महरा चीन जाँदै

काठमाडौं, वैशाख १५ ।
बहुप्रतिक्षित ‘वान बेल्ट, वान रोड’ परियोजनामा सम्झौत ागर्न उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा चीन जाँदैछन् ।

चिनियाँ राष्ट्रपतिबाट प्रधानमन्त्री प्रचण्डलाई निमन्त्रणा प्राप्त भएको भएपनि चुनावका कारण प्रचण्ड व्यस्त हुने भएपछि महराले सम्झौतामा हस्ताक्षर गर्ने छन् ।

नेपालको हस्ताक्षर यस परियोजना सम्बन्धी आयोजना गरिएको सम्मेलनपूर्व नै हुन गइरहेको छ ।

चीनले बेइजिङमा मे १४ र १५ मा ओबर सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दैछ । उक्त सम्मेलनमा नेपालका तर्फबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की सहित परराष्ट्र, भौतिक योजना तथा निर्माण र वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिएको छ।

उपप्रधानमन्त्री महराको नेतृत्वमा बेइजिङ जाने टोलीले चीनसँग ओबरमा सम्झौता गर्ने तयारी भइरहेको र सम्झौता र सम्मेलनमा सहभागिता सम्बन्धी सम्पूर्ण तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको छ ।

रेल–वे, समुन्द्री मार्ग लगायतका पूर्वाधार निर्माण, व्यापारिक अन्तरसम्बन्धसहितको ओबर–पहलसम्बन्धी यो सम्मेलन चिनियाँ राष्ट्रपति सी जिनपिङले अघिल्लो वर्ष आव्हान गरेका हुन्। सम्मेलनमा २८ देशका नेता र १ सय १० देशका प्रतिनिधि सहभागी हुने  छ।

गत चैत्रमा भएको प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको समयमा चिनियाँ राष्ट्रपति सी जिङपिङले ओबर बारे जिज्ञासा राखेका थिए। चीन भ्रमणबाट फर्कने क्रममा प्रधानमन्त्री दाहालले आफुले ओबरमा प्रतिवद्धता जनाएको बताएका थिए।

चीनको महत्वकांक्षी ओबर परियोजनालाई संसार कै ठूलो आर्थिक करिडोरको रुपमा लिने गरिन्छ। परियोजनाले एसिया, युरोप र अफ्रिका जोड्ने छ।

ओबरलाई संसारकै ठूलो आर्थिक करिडोर र भौतिक पूर्वाधार निर्माण सम्बन्धी चिनियाँ पहलकदमीका रुपमा लिइन्छ । यसबाट ६६ देश लाभान्वित हुने चीनले बताउँदै आएको छ। यसका लागि चीनकै पहलमा एसियाली पूर्वाधार लगानी बैङ्क र सिल्क रोड फन्ड समेत स्थापना गरिएको छ।

रेल सेवा, सडक पूर्वाधार सञ्जाल, बन्दरगाह, अन्तर्देशीय विद्युत् प्रसारण लाइन निर्माण र आपसी व्यापारको व्यापक अवधारणालाई यो परियोजनाले समेटेको छ । चीनले एसिया, युरोप र अफ्रिकामा आफ्नो समग्र लगानी, व्यापार र सहयोगको अवधारणाअन्तर्गत यस क्षेत्रमा पूर्वाधार निर्माण, कृषि, ऊर्जा, पर्यटन र संस्कृतिका क्षेत्रमा सहयोग गर्ने चीनको प्रस्ताव छ ।

चीनको पहलमा एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकमा ४० अर्ब डलरको रेसमी मार्ग कोष स्थापना भएको छ । यो कोषको रकम नेपालजस्ता अति आवश्यक ठानिएका र न्यून आर्थिक क्षमता भएका मुलुकमा अनुदान वा ऋणका रूपमा लगानी गरिनेछ । यस दृष्टिले नेपालको पूर्वाधार विकासका लागि यो कोष महत्त्वपूर्ण स्रोत हुन सक्छ ।

राजनीतिक जीवन चितवनमैं बिताउने प्रचण्ड पुत्रीको घोषणा

चितवन, वैशाख १५ । भरतपुर महानगरपालिकामा मेयर पदमा उम्मेदवार बनेकी रेणु दाहालले राजनीतिकरुपमा चितवनमा नै सक्रिय हुने घोषणा गरेकी छिन् । स्थानीय तह उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नेतृ रेणु दाहालले निर्वाचनमा जित्ने पूर्ण विश्वास रहेको बताईन । “चितवनमा नै बाँकी राजनीतिक जीवन बिताउँछु ।” उनले भनिन, “हारेपनि जितेपनि यही मेरो राजनीतिक थलो हुने छ ।” भाषणका क्रममा आत्मविश्वासी देखिएकी रेणुले चुनाव जित्नेमा ढुक्क भएको बताइन । लामो समय चितवनको राजनीतिबाट अलग भएकोले जनता र कार्यकर्तासँग घुलमिलमा समस्या भएको स्वीकार्दै दाहालले २०६४ सालको जस्तै लहर जिल्लामा ल्याउनुपर्ने बताइन् । आफूलाई ‘प्रचण्डकी छोरी’ भनेर  मात्र चिनाइएकोमा उनको गुनासो थियो ।

भिरबाट खस्दा एकको मृत्यु

पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खस्दा मृत्यु भएको छ । मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको आज बिहान घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो । रासस

स्कुटर पछाडि बसेकी महिलाको सडक दुर्घटनामा मृत्यु

 वैशाख १५। गएराति स्वयम्भू नजिक ठाडो भ¥याङमा भएको सडक दुर्घटनामा काठमाडौँ बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु १ ख ९९९६ नंको ट्रकले स्वयम्भूबाट सीतापाइला आउने क्रममा बा ८२ प ३२२ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर पछाडि बसेकी अर्यालको घटनास्थलमा नै मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । प्रहरीका अनुसार दुबै सवारीसाधन चालकको नाम खुल्न सकेको छैन । स्कुटी चालकको सहिद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा संलग्न दुवै साधन महानगरीय प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छ । रासस

सरकार र विद्यार्थी नेताहरु बिच वार्ता हुँदै

काठमाडौं, वैशाख १५ । शिक्षा मन्त्रालयले निजी विद्यालयको शुल्कवृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुलाई वार्तामा बोलाएको छ । मन्त्रालयका प्रवक्ता हरि लम्सालले विद्यार्थी नेताहरुलाई आज दिउँसो एक बजे वार्तामा बोलाइएको जानकारी दिए । शिक्षा मन्त्री र मन्त्रालयका अधिकारीहरुलाई सार्वजनिक बहिस्कार गर्ने निर्णय विद्यार्थी संगठनहरुले सार्बजनिक गरेलगत्तै मन्त्रालयले वार्ताका लागि आब्हान गरेको हो । निजी विद्यालयले सरकारले तोकेको सिलिङ र सर्वोच्च अदालतको आदेशविपरीत मनोमानी ढंगले शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरुले बिहीबार आन्दोलनका नयाँ कार्यक्रम सार्बजनिक गरेका थिए । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रमअनुसार आज बिहान १० बजे देशभरका जिल्ला शिक्षा कार्यालयमा र दिउँसो एक बजे शिक्षा विभागमा तालाबन्दी गर्न तय भएकाे ५ ।  १७ गते शिक्षा मन्त्री, शिक्षा मन्त्रालयका अधिकारी र निजी विद्यालय सञ्चालकहरुलाई सार्वजनिक वहिस्कार गर्ने तथा १८ गते सरकारी गाडीहरु चलाउन रोक लगाउने निर्णय समेत भैसकेकाे छ ।  

तेह्रथुममा मुढाले किचेर एकको मृत्यु, सात पक्राउ

तेह्रथुम, वैशाख १५ । गोलियाका लागि काटेको रूखको मुढाले लागेर तेह्रथुुममा एक जनाको मृत्यु भएको छ । खोरुङ्गा खोलामा माछा मार्दै गर्दा बिहीबार माथिबाट पल्टाइएको मुढाले लाग्दा मेन्छ्यायेम गाउँपालिका–४ साबिक मोराहाङ–६ का ४० बषृका चन्द्रबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव यादवले बताए । प्रहरीले गोलिया पल्टाउँदै गरेका सातजनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । प्रहरीले स्थानीयवासी सुवास तामाङ, पुष्प तामाङ, टेकबहादुर भुजेल, टीकाराम प्याकुरेल, मानबहादुर भुजेल, बिजुलीबहादुर तामाङ र श्यामबहादुर तामाङलाई पक्राउ गरेको ५ । मृतक नेपालीको शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । गत साता मात्रै गोलियाका लागि ढालेको रूखले किचेर खाम्लालुङमा दुईजनाको ज्यान गएको थियो ।

पूर्ण साक्षर बनाउने कांग्रेसको संकल्प

काठमाडौँ, वैशाख १४ । नेपाली काँग्रेसले स्थानीय सरकारको पाँच वर्षको अवधिभित्र १५ देखि २४ वर्ष उमेर समूहका नेपालीलाई शतप्रतिशत साक्षर गराउने सङ्कल्प गरेको छ । काँग्रेसले प्रत्येक स्थानीय तहमा माध्यमिक तहसम्म पूर्ण निःशुल्क, अनिवार्य र गुणस्तरीय शिक्षा सर्वसुलभ गराउनुका साथै १२ कक्षाको अन्तिम परीक्षामा सहभागी भएका युवालाई लक्षित गरी तरूण सीपवृत्ति योजनाअन्तर्गत स्थानीय प्रशासनमा इन्टर्नसीप गर्ने कार्यक्रममा संलग्न गराइने घोषणापत्रमा सङ्कल्प गरेको छ । स्थानीय तहमा रोजगारमूलक तथा स्व–उद्यम प्रवद्र्धन गर्ने प्राविधिक एवम् सीप सिकाइ शिक्षालयको व्यवस्था गरी युवालाई रोजगारमुखी सीपमूलक तालिम दिइने काँग्रेसको घोषणापत्रमा उल्लेख छ । ‘नेपाली काँग्रेसको नेतृत्वमा शान्ति र संविधान, नेपाली काँग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ भन्ने मूल नाराका साथ स्थानीय तह निर्वाचनका लागि पार्टीको घोषणापत्र सार्वजनिक गरिसकेको छ । निजी क्षेत्रलाई रोजगारमुखी प्राविधिक शिक्षालय खोल्न प्रोत्साहन गरिनुका साथै “एक विपन्न परिवार : सीप सिकाइ केन्द्रमा एक निःशुल्क अवसर” कार्यक्रम लागू गरिने पनि सङ्कल्प गरिएको छ । काँग्रेसले शिक्षालाई रोजगारीसँग जोड्न युवा विद्यार्थी, विद्यालय र बंैकिङ एवम् व्यावसायिक प्रतिष्ठानलाई संलग्न गरी युवा रोजगारी प्रोत्साहित गर्ने नीति अवलम्बन गर्ने जनाएको छ । माध्यमिक शिक्षाको राष्ट्रिय मानक निर्धारण र विकासका लागि सङ्घीय शिक्षा आयोग गठन गरी निश्चित विषयको पठनपाठन राष्ट्रिय रुपमा एकैप्रकारका हुनेगरी स्थानीय सरकारले आवश्यकताअनुसार थप विषय अध्ययन अध्यापन गर्ने व्यवस्था मिलाइने काँग्रेसले प्रतिबद्धता गरेको छ । निर्वाचनमा पार्टीले आधारभूत तहमा तालिम प्राप्त र विषयगत योग्यता भएका शिक्षकको व्यवस्था र आधुनिक प्रविधिमार्फत शिक्षणको व्यवस्था गर्न पुराना स्थायी शिक्षकलाई स्वेच्छिक अवकाशको व्यवस्था गरी नयाँ शिक्षक भर्नाद्वारा शिक्षक रुपान्तरणको योजना अघि सारेको छ । साथै लोकतन्त्र, शान्ति, मानवअधिकार, नैतिक शिक्षा र अहिंसाजस्ता अवधारणालाई विद्यालयस्तरको शैक्षिक पाठ्यक्रममा समावेश गरिने घोषणापत्रमा उल्लेख छ । काँग्रेसले पार्टीको नेतृत्वमा सबै स्थानीय तहमा वाइफाइ इन्टरनेट र आधुनिक पुस्तकालयसहितको एउटा सामुदायिक स्रोतकेन्द्र बनाइने र एक वडा–एक पुस्तकालय एव्म एक वडा–एक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको स्थापनामा गर्ने योजना अघि सारेको छ । एक टोल–एक शिशु विकास केन्द्र कार्यक्रम सञ्चालन गरी न्यून एवम् मध्यम आय भएका परिवारका शिशुको प्रारम्भिक शिक्षालाई समेत सहज बनाइ बालबालिकाको शिक्षाको निरन्तरताका लागि आमालाई नगद प्रोत्साहन दिइने काँग्रेसको कार्यक्रम छ । विद्यालयको प्राथमिक तहदेखि नै नेपालीबीच प्रचलनमा रहेका विभिन्न जाति, भाषा र संस्कृति तथा सांंस्कृतिक–ऐतिहासिक सम्पदाको संरक्षण र सम्वद्र्धनसम्बन्धी शिक्षालाई अनिवार्य गरिने घोषणापत्रमा जनाइएको छ । घोषणापत्रमा उल्लेख भएअनुसार काँग्रेस नेतृत्वको स्थानीय सरकारले शौचालय, सुरक्षा एवम् यातायातको अभावबाट छात्राको अध्ययनमा असर पर्न नदिन विशेष व्यवस्था गरी भर्ना र उत्तीर्ण दरलगायत अन्य सूचकमा छात्र र छात्राबीच स्थानीय तहमा रहेका सबै प्रकारका विभेदको अन्त्य गर्नेछ । रासस

स्थानीय तहको निर्वाचनमा सेना परिचालन गरिने

काठमाडौँ, वैशाख १४ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट स्थानीय निकायको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान भएको छ । स्थानीय तहको विसं २०७४ वैशाख ३१ गते हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भएअनुसार संविधानबमोजिम राष्ट्रपतिबाट स्वीकृति प्रदान भएको राष्ट्रपति कार्यालयले जनाएको छ । सुरक्षा निकाय एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्को गत चैत १२ र मन्त्रिपरिषद्को चैत २९ गतेको निर्णय तथा प्रधानमन्त्रीको पत्रमा उल्लेखित सिफारिसबमोजिम वैशाख ३१ गते हुने निर्वाचनको कार्यमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान भएको जनाइएको छ ।  

माटो परिक्षण गर्दा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौँ, वैशाख १४ । चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डास्थित बल्खु खोलाको पुल बनाउने स्थानको माटो परीक्षण गर्ने क्रममा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ । माटो परीक्षण गर्ने यन्त्रद्वारा फलामको खम्बा गाडेर माथि उठाउने क्रममा खम्बाले विद्युतको तारमा छुँदा करेन्ट लागेर ढुङ्गेअड्डा बस्दै आएका मुगु नागरपुर–३ का नरजङ्ग शाही र नारायण राउतको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको सहिद मेमोरियल अस्पताल कलङ्कीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते मन्चन शाहीको भने उपचार भइरहेको छ ।

राष्ट्रिय पोसाकको माग गर्दै राजधानीमा अर्धनघ्न प्रदर्शन

काठमाडौं वैशाख १४ । मुलुकलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने गरी राष्ट्रिय पोसाक स्थापना गर्नुपर्ने माग गर्दै राजधानीमा युवाहरुले अर्धनघ्न प्रदर्शन गरिएको छ । १३ बढी संघसंस्थाका युवाको सहभागीतामा श्रद्धावान् नेपाल राष्ट्रिय पोसाक संरक्षण महाअभियान नेपालले सो प्रदर्शन गरेको हो । सालको पातबाट बनेको पोसाक लगाएर युवाहरुले आज अर्धनग्न भई माइतीघर मण्डलाबाट नयाँबानेश्वरसम्म र्‍याली निकालेका थिए । बिदेश भ्रमण वा औपचारिक कार्यक्रममा सहभागी भएका समय उच्चपदस्थ सरकारी अधिकारीले समेत बिदेशी पोसाक लगाउने गरेको भन्दै उनीहरुले आपत्ति जानाएका थिए । हिमाल, पहाड र तराईका १ सय २५ जातजातिको साझा पोसाक स्थापना गरी विदेशी औपचारिक भम्रणका समयमा देशलाई चिनाउने साझा पोसाक आवश्यक रहेको श्रद्धावान् नेपालका अध्यक्ष राजानन्द माण्डव्यले बताए । विगत पाँच वर्षदेखि अभियानले हरेक वर्ष पुस १७ गतेलाई राष्ट्रिय पोसाक दिवस घोषणा गर्न माग गर्दै आएको छ ।

सिमेन्ट उद्योगलाई कच्चा पदार्थ अभाव

लुम्बिनी, वैशाख १४ । सिमेन्ट उत्पादनका लागि आवश्यक किलिङ्कर तथा अन्य कच्चा पदार्थको अभावका कारण रुपन्देहीमा सञ्चालित विभिन्न सिमेन्ट उद्योग समस्यामा परेका छन् । भैरहवा लुम्बिनी करिडोरमा सञ्चालित सिमेन्ट उद्योगले पर्याप्त मात्रामा कच्चा पदार्थ नपाउँदा करिब ६० प्रतिशत उत्पादन घटाउनु परेको छ । मुलुकमा राष्ट्रिय गौरवका आयोजनासँगै पुनःनिर्माणले गति लिइरहेका बेला उद्योगमा देखिएको समस्याका कारण आयोजनाको निर्माण कार्य प्रभावित भएको छ । भारतरबाट आयात गरिने किलिङ्कर तथा अन्य कच्चा पदार्थमा कडाइ गरिएपछि नेपाली सिमेन्ट उद्योग सङ्कटमा परेका हुन् । किलिङ्कर, फलाइएस, जिपसनलगायत कच्चा पदार्थका लागि यहाँका अधिकांश उद्योग भारतमाथी निर्भर बन्नु परेको छ । भारतको मात्रै भर परेका कारण नेपाली सिमेन्ट उद्योगले बेलाबेलामा विभिन्न सङ्कट बेहोर्ने गरेका छन् । अन्डर लोडिङका कारण भारतबाट विगतको तुलनामा झन्डै ६० प्रतिशत कम कच्चा पदार्थ आयात हुने गरेका कारण यहाँका उद्योगी मारमा परेका सिद्धार्थ सिमेन्ट उद्योगका सञ्चालक रोहित अग्रवाल बताउनुहुन्छ । कच्चा पदार्थको अभाव, ढुवानीको समस्या तथा ढुवानी दर बढेको भन्दै उद्योगले पहिलाको तुलनामा आठदेखि १० प्रतिशतसम्म सिमेन्टको मूल्यमा वृद्धि गरेका छन् । “भारतमा अन्डर लोडिङको समस्याका कारण नेपाली उद्योग बन्द हुने अवस्थामा पुगेका छन्,” अग्रवालले भन्नुभयो । भारतको सरदारनगरबाट चार हजार टन कच्चा पदार्थ नेपाल ल्याउनका लागि ८०-९० वटा ट्रक भए पुग्नेमा अहिले झन्डै १५० देखि २५० वटा ट्रक आवश्यक पर्ने भएको छ । “अन्डर लोडिङसँगै ट्रकको अभाव देखिएको छ,” उहाँले भन्नुभयो– “यस्तो अवस्थामा कसरी उद्योग चलाउन सकिन्छ ।” कच्चा पदार्थको अभावका कारण रुपन्देहीका केही उद्योगले उत्पादन बन्द गरेका छन् । नेपालमा थर्मलप्लान्ट उद्योग नभएका कारण फ्लाइएसका लागि भारतसँग निर्भर रहनुपरेको छ । सरदारनगरमा मात्रै रहेको र्याक प्वाइन्टलाई सरकारको पहलबाट भारतका अन्य स्थानमा पनि सार्नुपर्ने उद्योगीको माग छ । कच्चा पदार्थको अभावमा सिमेन्ट उद्योगका गोदाम खाली भएका छन् । पश्चिमाञ्चल सिमेन्ट उत्पादक सङ्घका महासचिव तथा जगदम्बा सिमेन्ट उद्योगका महाप्रबन्धक विदुर ढुङ्गाना ट्रकको अभावसँगै ढुवानी लागत समेत बढेको बताउनुहुन्छ । यस्तै भारतले बिएस थ्रीका गाडीको नयाँ दर्तामा बन्देज लगाएपछि ट्रकको अभाव भएको बृज सिमेन्ट उद्योगका महाप्रबन्धक रविरञ्जन कुमारले बताउनुभयो । उहाँले बजारमा बिएस फोरका गाडी आइनसकेका र बिएस थ्रिका गाडी दर्तामा रोक लगाएपछि गाडीको अभाव देखिएको बताउनुभयो । बजारमा सिमेन्ट अभाव हुँदा सर्वसाधारणले निर्माण गर्दै गरेका घर बीचमै रोक्नुपर्ने अवस्था आएको छ ।

हावाहुरीको कारण प्रसूति सेवा बन्द

बैतडी, वैशाख १४ । बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–५ कुवाकोटको सुनजुनीमा सुरक्षित प्रसूति सेवा केन्द्रमा वर्षासँगै चलेको हावाहुरीले क्षति पुर्याउँदा प्रसूति सेवा बन्द हुन पुगेको छ । आइतबार बेलुका वर्षासँगै चलेको हावाहुरीले तीनकोठे भवनको छानो उडाएपछि सुरक्षित प्रसूति सेवा केन्द्रभित्र राखिएका औषधि, सुत्केरी समान, सुत्केरी गराउने श्ययामा क्षति पुगेको कुवाकोट स्वास्थ्यचौकीका इन्चार्ज लोकेश जोशीले जानकारी दिए । “हावाहुरीले छानो उडाएपछि भित्र रहेका सबै सामान भिजेर नष्ट भएका छन्”, उनले भने, “सुरक्षित प्रसूति सेवा केन्द्रमा क्षति पुगेकाले तत्कालका लागि सुरक्षित प्रसूति सेवा दिन सकिँदैन ।” सुरक्षित प्रसूति सेवाका लागि तत्काललाई त्यस क्षेत्रका गर्भवती महिलाले कुवाकोट स्वास्थ्यचौकीमा आउनुपर्ने समेत उनले बताए। साथै, सुनजुनीमा रहेको सुरक्षित प्रसूति सेवा केन्द्रको भवन पुनर्निर्माण नहुँदासम्म सो ठाउँबाट सेवा प्रवाह गर्न नसकिने बताइएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर, वैशाख १४ । पाँचथर जिल्लाको याङबरक गाउँपालिका–१ स्थित च्याङथापु बजारमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। मृत्यु हुनेमा याङबरक गाउँपालिका–२ बस्ने मचिन्द्र बेघाका छोरा सन्तोष बेघा रहेका छन् । यस्तै, सोही ठाउँ बस्ने मिलन चुहान घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्य चौकी च्याङथापुमा उपचार भइरहेको स्थानीयवासी मङ्गल बेघाले जानकारी दिए। फलैँचाबाट च्याङथापु आउने क्रममा मे ८ प ९२३६ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलले जानकारी दिए ।

यस्ता छन बैध्य माओवादी गोरखाका उम्मेदवार

गोरखा,वैशाख १४ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि गोरखामा उम्मेदवार सिफारिस गरेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालमार्फत गोरखा नगरपालिकाको प्रमुखमा अमृत राना, पालुङटार नपाको प्रमुखमा भूमिनारायण मल्ल, अजिरकोट गाउँपालिकाको प्रमुखमा तेजबहादुर गुरुङ, सिरानचोक गाउँपालिका प्रमुखमा छविलाल घले, गण्डकी गाउँपालिका प्रमुखमा राम नेपाली, पालुङटार नपा–६ वडा प्रमुखमा रमेश क्षेत्री, सिरानचोक गाउँपालिका–७ श्रीनाथकोट वडा प्रमुखमा हरिबहादुर गुरुङलाई उम्मेदवार बनाउने गरी केन्द्रमा सिफारिस गरेकाे छ  । पार्टीका नेता नारायण अधिकारीले दुई नगरपालिका, नौ गाउँपालिका र ९४ वडा रहेको गोरखामा  अन्यत्र भने उम्मेदवार चयन गर्न बाँकी रहेको  जानकारी दिए ।

राजश्व छलीबारे लेखा समितिको चासो

काठमाडौ,बैशाख १४ । राजश्व छलीबारे ब्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले चासो देखाएको छ । संसद सचिवालय सिंहदरवारमा समितिको बैठक सुरु भएको छ । बैठकले भारत लगायतका मुलुकबाट निर्यात भैरहेका बस्तुमा ब्यापक राजश्व छली भैरहेकोमा सरकार र संवन्धित निकायको ध्यानाकर्षण गर्नेछ ।

चालु अावमा ६२ हजार पर्यटक इलाम भित्रिए

इलाम,  वैशाख १४। चालु आर्थिक वर्षको चैत मसान्तभित्रमा ६२ हजार पर्यटक जिल्ला भित्रिएका छन् । इलामको कोल्बुङस्थित पर्यटन सूचना केन्द्र जोरकलशका अनुसार २०७३÷७४ मा गत आवको भन्दा चार गुणा बढी पर्यटक भित्रिएका हुन् । सूचना केन्द्रका गगन घिमिरेका अनुसार गत आवमा देशमा भूकम्प, मधेस आन्दोलनजस्ता ठूला सङ्कट परेकाले जिल्लामा कम मात्र पर्यटक भित्रिएका थिए । जिल्ला भित्रिनेमध्ये ९० प्रतिशत आन्तरिक पर्यटक रहेको र बाँकी १० प्रतिशत मात्र बाह्य पर्यटक रहेको तथ्याङ्क रहेको छ । जिल्ला भित्रिएका मध्ये पनि ४० प्रतिशत पर्यटक इलामका श्रीअन्तु, कन्याम मात्र घुमेर जाने गरेको घिमिरेले जानकारी दिए। इलाम आउनेमध्ये ४० प्रतिशत पर्यटक भ्रमणका लागि र विभिन्न विषयवस्तु अवलोकन गर्न आउने गरेका छन् ।