भोजपुरमा एकसय ४४ मतदान केन्द्र

भोजपुर, चैत ११ । आगामी स्थानीय तहको निर्वाचनका लागि भोजपुरमा एकसय ४४ मतदान केन्द्र निर्धारण गरिएको छ ।

सगरमाथा आरोहण: पाइलाको छाप पछ्याउँदै बाटो खोज्नुपर्छ

सोलुखुम्बु, चैत १० । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने बाटो कस्तो होला ? ‘फराकिलो, चौडा, ढुङ्गा बिछ्याएकाे, अझ समाएर हिँड्नका लागि ठाउँठाउँमा फलामको रेलिङ, अनि सङ्केत चिन्ह् ?’ अधिकांशले यस्तै सोच्ने गर्दछन् । तर सगरमाथा जाने बाटो भने ठीक यसको उल्टो छ । खुम्जुङ गाविसको लबुचेदेखि गोरप्सेप हुँदै सगरमाथा आधार शिविरसम्म पुग्न अघिल्लो पदयात्रीको पाइला पहिल्याएको भरमा पुग्नुपर्छ । यस क्षेत्रमा पर्यटकका लागि सङ्केत चिन्ह्को समेत व्यवस्था छैन । सङ्केत चिन्ह्को अभावमा कयौँं पर्यटक बाटो बिराएर अन्यत्र समेत पुग्ने गरेको तीतो अनुभव पदयात्री सुनाउँछन् । विदेशी तथा स्वदेशीसमेत गरी वार्षिक एक लाखको हाराहारीमा पदयात्री आउने यस क्षेत्रको बाटो निर्माणका लागि अहिलेसम्म कसैले चासो नदिएको आधारशिविर नजिकैको गोरप्सेपका पेम्बा शेर्पा बताउनुहुन्छ । “पदयात्री हिँड्दाहिँड्दै बनेको पाइलाको छाप नै बाटो हो, अरु कसैले हालसम्म बाटो बनाएका छैननन्,” उहाँले भन्नुभयो । ढुङ्गामाथि टेक्दै हिँड्नु परेकाले एउटा यामका लागि प्रयोग हुने बाटो अर्को याममा पत्ता लगाउन नसकिने शेर्पाको भनाइ छ । “एउटै ठाउँबाट हिँड्ने निश्चित बाटो नै छैन, जहाँ मन लाग्यो त्यहीँबाट पदयात्री हिँड्छन्,” उहाँले भन्नुभयो । विश्वको प्रमुख पर्यटकीय गन्तव्य सगरमाथा जाने बाटो मात्र होइन, गोरक्सेपदेखि कालापत्थर, दिङबोचेदेखि छुकुङहँुदै आइस्ल्याण्ड पिक जाने बाटो, यस्तै लबुचे हँुदै गोक्यो जाने बाटोको अवस्था पनि यस्तै छ । चोला पास गर्नु अघि र गरेपछि पनि गोक्यो जाने बाटोको अवस्था उस्तै छ । ‘चोला पुग्न त अनुभवी शेर्पाको साथमा मात्र जानुपर्छ, होइन भने कुन बेला कहाँ पुगिन्छ थाहै हुँदैन,” जोङ्लाका आङनुरु शेर्पाले भन्नुभयो । सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालय, नाम्चेमा रहेको अभिलेख अनुसार वार्षिक करिब ३५ हजार विदेशीका साथै उनीहरुका गाईड, भरिया र स्वदेशी पर्यटकसहित एक लाखको हाराहारीमा मानिस सगरमाथा क्षेत्रमा पुग्छन् । यत्तिका धेरै मानिसको आवातजावत हुने यसक्षेत्रको बाटो निर्माण नहुँदा कयौँले बाटो भूल्ने गरेका छन् । “हिउँ परेको बेला सबै भाग उस्तै देखिन्छ, लडेर अङ्गभङ्ग हुने खतरा सधैँ रहन्छ,” आइसफल ट्रेक्स् एन्ड एक्सिपिडिसन्का आरोही सोनाम शेर्पाले भन्नुभयो । पर्यटक हिँड्ने एउटै बाटो भएको भए बिर्सने सम्भावना न्यून हुुनुका साथै सोधेर हिँड्नुपर्ने अवस्था नआउने उहाँको भनाइ छ । सगरमाथाको आरोहण शुल्कबापत उठाएको रकमको एक प्रतिशत मात्र खर्च गर्ने हो भने पनि यस क्षेत्रमा बाटो निर्माण गर्न सकिने खुम्बु रक क्लाइमिङ सेन्टरका अध्यक्ष पानुरु शेर्पाले बताउनुभयो । “रोयल्टी उठाएर सगरमाथा जाने तर बाटो निर्माण नगर्ने ?” शेर्पाले प्रश्न गर्नुभयो । सगरमाथा आरोहण शुल्कबाट सरकारले बर्सेनि रु ३० करोडभन्दा बढी राजस्व सङ्कलन गर्दै आएको छ । सगरमाथाको कुल रोयल्टीको ३० प्रतिशत रकम जिल्लाले पाउने गरेको भए पनि खुम्बु क्षेत्रमा खर्च नगरी अन्य क्षेत्रमा खर्च गर्ने गरेको पाइएको स्थानीय लाफुटी शेर्पाले बताउनुभयो । “राज्यले आफ्नै क्षेत्रमा रहेको सगरमाथाको रोयल्टी उठाएर स्थानीय विकास निर्माणका लागि विदेशीलाई गुहार्नु परेको छ,” शेर्पाले गुनासो गर्नुभयो । स्थानीय स्वायत्त शासन ऐन र नियमावली अनुसार हिमाल आरोहणबापत राज्यबाट सोलुखुम्बुले प्राप्त गर्नुपर्ने करिब रु ५२ करोड साविकको जिल्ला विकास समितिमा पर्यटन मन्त्रालयले पठाए पनि रु ४० करोडभन्दा बढी रकम काम नगरी थन्किएको छ ।

ग्यालेनमा डिजेल भरेर गाडी चलाउन बाध्य !

जाजरकोट, चैत १० । यस जिल्लाको पूर्वी क्षेत्रको सडकमा निकै जोखिमपूर्ण ढङ्गले गाडी चलाउने गरिएको छ । अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ । जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवती तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ । बीस किलोमिटर दूरीमा चलाइने अधिकांश गाडीमा इन्धन ग्यालेनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पूरै सिसा फुटेका गाडी पनि असुरक्षित ढङ्गले चलाउने गरिएको छ । स्थानीय प्रशासनको लापरबाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सिटनजिकै राखिएका खुल्ला ग्यालेन राख्ने गरिएको छ । गाडीमा तेल भरिएका ग्यालेन खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायी । उक्त सडकमा साना गाडी चलाइरहेका जिप चालक खिमबहादुर मल्लले अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेपछि ग्यालेनमा तेल राखेर गाडी चलाउनु परेको बताउनुभयो । आगो लाग्ने जोखिम भए पनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको उहाँको भनाइ छ । गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक भएको रग्दाका रामबहादुर ध्यारले बताउनुभयो । गाडीमा खुल्ला ग्यालेनबाट तेल आपूर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभई अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम पनि निकै रहन्छ । जति जोखिमपूर्ण ढङ्गले चलाए पनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुको गुनासो छ । “एक त पहाडको बाटो निकै अप्ठेरो, त्यही पनि व्यवसायीले खुल्ला ग्यालेनमा तेल राखेर गाडी चलाउँछन्, यात्रा गर्न निकै डर लाग्यो,” उक्त सडकमा यात्रा गरेर खलङ्गा फर्किएकी खलङ्गाकी स्थानीय सुधा हमालले बताउनुभयो । प्रजिअ कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको बताउनुभयो । उहाँले जोखिमपूर्ण ढङ्गले गाडी चलाउन तत्काल बन्द गर्न प्रहरी परिचालन गरिएको पनि बताउनुभयो ।

निर्वाचनपछि विकास निर्माणले गति लिने: राज्यमन्त्री महतो

पाँचथर, चैत १० । भौतिक पूर्वाधार राज्यमन्त्री सीताराम महतोले स्थानीय तहको निर्वाचनले मात्रै विकास निर्माणले गति लिने बताउनुभएको छ । पाँचथरको फिदिममा आज बिहान पार्टी भेटघाट कार्यक्रममा बोल्दै उहाँले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने र निर्वाचनपश्चात् जनताले चाहेअनुरुपको विकास हुने बताउनुभयो । उहाँले मधेसवादी दललाई पनि सामेल गराएर स्थानीय तहको निर्वाचनमा सँगै लैजानुपर्ने पनि बताउनुभयो । अबको स्थानीय तहको निर्वाचनमा वडादेखि तहसम्मको चुनावमा नेपाली काँग्रेसले जित्नुपर्ने उहाँले बताउनुभयो । त्यसका लागि पार्टीका आम नेता तथा कार्यकर्तालाई चुनावी अभियानमा लाग्न समेत उहाँले आग्रह गर्नुभयो । पार्टीले विकास निर्माणको निम्ति नीतिनिर्माण गरिसकेको हुँदा नेपाली काँग्रेसले नै स्थानीय तहमा जित्नुपर्ने उहाँको भनाइ थियो ।

राउटे र दलितका लागि पाँच सय घर निर्माण हुने

कञ्चनपुर, चैत १० । जनता आवास कार्यक्रमअन्तर्गत कञ्चनपुरमा बसोबास गर्दै आएका दलित र राउटे समुदायका परिवारका लागि पाँच सय घर निर्माण हुने भएका छन् । सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीले घर निर्माणका लागि दलित समुदायका विपन्न, घर नभएका, अपाङ्गता भएका, असहाय र एकल महिला तथा राउटे परिवारको छनोटको कार्य सुरु गरेको छ । कार्यक्रमअन्तर्गत स्वीकृत डिजाइन र स्फेसिफिकेसनबमोजिम घर निर्माण गरी आवास सुविधा दिइने डिभिजन कार्यालयका इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय समिति कञ्चनपुरको गत पुस ३ गतेको बैठकमा साबिक सम्पूर्ण नगरपालिका र गाविसमा कार्यक्रम सञ्चलन गर्ने निर्णय गरिएको थियो । निर्णयअनुसार झलारी पिपलाडीमा ४०, वेदकोटमा ५३, बेलौरीमा ३२, पुनर्वासमा ५९, दोधारा चाँदनीमा ७४, कृष्णपुरमा ४७, बाइसे विचवा र रैकवार विचवामा १९, बेलडाँडीमा २६, रामपुर विलासिपुर र श्रीपुरमा १७ र भीमदत्तनगरपालिकामा एक सय २४ गरी कार्यक्रमअन्तर्गत पाँच सय घर निर्माण गरिनेछन् । प्रत्येक घर निर्माणका लागि रु दुई लाख १६ हजार रकम प्रदान गरिनेछ । सर्भेक्षण फाराम भरेका व्यक्तिको घरदैलो पुगी घर निर्माणका लागि सिफारिस गरिने इन्जिनियर श्रेष्ठले बताउनुभयो । “छनोटमा परेका परिवारको वैशाख १० गतेदेखि तोकिएको मापदण्डमा घर निर्माणको कार्य सुरु गरिनेछ,” उहाँले भन्नु भयो । सोही कार्यक्रमअन्र्तगत कैलालीमा समेत दलित, राउटे र मुस्लिम समुदायका पाँच सय घर निर्माण गरिने बताइएको छ ।

भारतबाट ६ नेपाली बालकको उद्धार

झापा, चैत १० । भारतको सिलिगुढी र दार्जीलिङमा अलपत्र अवस्थामा रहेका ६ नेपाली बालकको उद्धार गरी नेपाल ल्याइएको छ । महिला तथा बालबालिका कार्यालयको सहयोगमा ती बालकलाई बुधबार राति भारतबाट नेपाल ल्याइएको हो । इलाम साङ्रुम्बाका रोशन विक, जनकपुरका सागिर अन्सारी, झापा पृथ्वीनगरका मिलन सार्की, भद्रपुरका विवेक साह, इलाम जीतपुरका रोशन विक तथा ठेगाना बताउन नसक्ने सुदिप राई र भुवन मगरको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयका प्रमुख इन्दिरा ओझाले जानकारी दिनुभयो । उद्धार गरिएकाहरु ११ वर्षदेखि १५ वर्षसम्म उमेरका छन् । भारतको सिलिगुढी र न्यू जलपाइगुढीलगायत ठाउँमा अलपत्र अवस्थामा रहेका उनीहरुलाई भारतीय प्रहरीले सिलिगुढीस्थित बालगृहमा राखेको थियो । अहिले उनीहरुलाई काँकडभिट्टास्थित माइती नेपालको पुनःस्थापना गृहमा राखिएको छ । “ठेगाना पत्ता लागेकालाई सम्बन्धितको घरमा पुर्याइदिने र पत्ता लाग्न नसकेकालाई बाल गृहमा नै राख्छौँ,” ओझाले भन्नुभयो ।

टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी

पोखरा, चैत १० । पोखरा लेखनाथ महानगरपालिका–१७ रातोपैह्रास्थित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्विस विकास सहायताका प्रवर्तक टोनी हागनद्वारा खिचिएका फोटोको प्रदर्शनी सुरु भएको छ । तीन महिनासम्म सञ्चालन हुने सो प्रदर्शनीमा नेपालको विशेष गरी हिमाली क्षेत्रसहित काठमाडौँ र पोखराको विभिन्न स्थानबाट छ दशक पहिले खिचिएका १०५ वटा फोटो रहेका छन् । काठमाडौंँ विश्वविद्यालयका पूर्वउपकूलपति डा.सुरेशराज शर्माले सो प्रदर्शनीको आज यहाँ उद्घाटन गर्दै नेपालको शैक्षिक एवम् औद्योगिक विकासमा टोनी हागनको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । टोनी हागनका छोरी डा काट्रिन हागनले फोटोले विगतलाई जीवन्त राखेको बताउँदै प्रदर्शनीलाई सर्वसाधारणको पहँुचसम्म पु¥याउनुपर्नेमा जोड दिनुभयो । टोनी हागन फाउन्डेसनका अध्यक्ष प्रा प्रमोदकुमार झाले टोनी हागनले नेपालको ७५ जिल्लाको करिब ४० हजार किलोमिटर पैदलयात्रा सम्पन्न गरेको जानकारी दिनुभयो । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष आङछिरीङ शेर्पाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रथम उपाध्यक्ष एवम् सङ्ग्रहालयका संयोजक सान्तवीर लामाले फोटो प्रदर्शनीले सङ्ग्रहालयको गरिमालाई उच्च बनाएको बताउनुभयो ।

नेपाली सेनामा प्रवक्ताको जिम्मेवारी कडायतलाई

काठमाडौँ, चैत १०। नेपाली सेनाले सहायक रथी झङ्करबहादुर कडायतललाई प्रवक्ताको जिम्मेवारी तोकेको छ । प्रवक्ता ताराबहादुर कार्की केही दिनमै सेवानिवृत्त हुन लाग्नुभएकाले नेपाली सेनाले विशेष फौज (१० नं बाहिनी) का बाहिनीपति कडायतलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । नेपाली सेनामा ३५ वर्ष सेवा पु¥याउनुभएका कार्कीले डेढ वर्ष प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभयो । बाहिनीपति कडायतले भारतमा सैनिक सहचरीको जिम्मेवारी निभाउनुभएको थियो भने पाकिस्तानबाट एनडिसी कोर्ष गर्नुभएको छ । सैनिक मुख्यालयमा आज आयोजित समारोहमा सेवानिवृत्त हुन लाग्नुभएका मानार्थ उपरथी कार्कीले निष्पक्ष र वस्तुनिष्ठ समाचार सम्प्रेषण गरी नेपाली सेनाको सङ्गठनलाई सहयोग पु¥याएको भनी सञ्चार क्षेत्रको प्रशंसा गर्नुभयो । प्रवक्ताको जिम्मेवारी सम्हाल्न लाग्नुभएका कडायतले विगत झैँ नेपाली सेनाको सङ्गठनको श्रीवृद्धिमा सञ्चार क्षेत्रबाट उल्लेखनीय सहयोग हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा प्रधानसेनापति राजेन्द्र क्षत्री सहभागी हुनुहुन्थ्यो । रासस

मोरङमा बुधबार राति बस दुर्घटना,चारको मृत्यु, १९ घाइते

मोरङ (पथरी),  चैत ११ ।  पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ५३८७ नं.को बस बुधबार साँझ मोरङको पथरी सडकखण्डको छधारेमा दुर्घटना हुँदा चारजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा परी १९ यात्रु घाइते भएका छन् । सोही दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई बस सडक नजिकैको रुखमा गएर ठोक्किएको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक राजन कार्कीले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु भएका चारैजनाको सनाखत हुन सकेको छैन । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको र घाइते सबैलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको प्रहरीले जनाएको छ । रासस

थ्रेसहोल्ड व्यवस्थाकाे विराेधमा १९ साना दल

काठमाडौं, चैत ९ । राष्ट्रिय दलको मान्यता पाउन प्रत्यक्षतर्फ एक सिट र समानुपातिकमा तीन प्रतिशत ल्याउनै पर्ने व्यवस्थाको साना १९ दलले विरोध गरेका छन् । संसद बैठकमा साना दलका सांसदहरुले थ्रेसहोल्ड राख्ने व्यवस्था अप्रजातान्त्रिक भएको आरोप पनि लगाएका छन् । बैठकमा नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रिय दल बन्न तोकिएको मत र सिट ल्याउनु पर्ने व्यवस्था अप्रजातान्त्रिक र अराष्ट्रिय भएको आरोप लगाए । नेकपामा मालेका महासचिव सिपी मैनालीले ठूला दलले राजनीतिमा विकृती ल्याएको र त्यसको दोष साना दललाई दिँदै थे्रेसहोल्डको व्यवस्था थोपार्न लागिएको दाबी गरे । जनमोर्चाकी सांसद मिना पुन र परिवार दलका एकनाथ ढकालले बिदेशमा पनि कतै पनि थ्रेसहोल्डको व्यवस्था नभएको दाबी गरे । साना दलसँग प्रधानमन्त्री र बिपक्षीदलका नेताले एक दशमलव पाँच प्रतिशत मात्र थ्रेसहोल्ड राख्नु पर्नेमा सहमति जनाए पनि सहमति उलङ्घन भएको बताए । सद्भावना पार्टीका नरसिंह चौधरीले थ्रेसहोल्डले समानुपातिक प्रतिनिधित्वको अवस्था अन्त्य हुने पर्ने बताए । राज्य व्यवस्था समितिले राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तिमा एक सिट र समानुपातिकतर्फ कम्तिमा तीन प्रतिशत मत ल्याउनुपर्ने विधेयक तयार पारेको छ ।

नक्कली लाइसेन्स बनाउने गिरोह पक्राउ

काठमाडौं, चैत ९ । महानगरीय प्रहरी परिसर ललितपुरले नक्कली लाइसेन्स बनाउने गिरोहका दुई जनालाई पक्राउ गरेको छ । लाइसेन्स बनाउनका लागि यातायात जाने सर्वसाधारणलाई सजिलै तरिकाबाट लाइसेन्स बनाइदिने भन्दै पैसा असुल्ने ती दुई जनालाई एक सय २१ वटा नक्कली लाइसेन्ससहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीको भद्रकाली–४ का अनिलकुमार पाख्रिन र सिन्धुली भद्रकाली–९ का गणेशकुमार गोले रहेका छन् । उनीहरुको साथबाट विभिन्न व्यक्तीको नाममा बनाइसकेको नक्कली लाइसेन्स ६ वटा, एक सय १५ वटा प्रिन्ट गरेको लाइसेन्स गरी एक सय २१ वटा नक्कली लाइसेन्स, ३० वटा प्रिन्ट गर्न लागेको लाइसेन्स, यातायात कार्यालयको होलोग्राम एक सय १० वटा, कम्युटर, प्रिन्टर, छापलगायतका सामग्री बरामद गरेको छ । बरामद गरेको होलोग्राम सक्कली हुन सक्ने भन्दै यस विषयमा प्रहरीले थप अनुसन्धान थाल्ने बताएको छ । एक हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म लिएर उनीहरुले नक्कली लाइसेन्स बेच्चे गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।

प्रचण्डको चीन भ्रमण, कुनै सम्झौता नहुने (तालिकासहित)

काठमाडौं, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा कुने पनि सन्धी सम्झौतामा हस्ताक्षर नहुने भएको छ । आज एक पत्रकार सम्मेलनको आयोजना गरी परराष्ट्रमन्त्री प्रकाशशरण महतले आन्तरिक तयारी नपुगेका कारण सम्झौता प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशबीच कुनै पनि सम्झौता तथा साझदारीमा हस्ताक्षर नहुने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल बिहिबारदेखि एक साताका लागि चीन भ्रमणमा जाँदैछन् । महतले पूर्ववर्ति सरकारले चीनसँग गरेको सम्झौता कार्यान्वयन गर्न प्रतिवद्ध रहेको बताएकाका छन् । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण तालिका

अनलाइनमार्फत व्यक्तिगत घटना दर्ता हुने

काठमाडौँ, चैत ९ । सङ्घीय मामिला तथा स्थानीय मन्त्रालय, पञ्जीकरण विभागले व्यक्तिगत घटना तथा दुर्घटना दर्ता अनलाइनमार्फत गर्ने तयारी गरेको छ । विभागले आगामी वैशाखदेखि देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाअन्तर्गतका स्थानीय तहमा अनलाइनमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ र सम्बन्धबिच्छेद दर्ता गर्ने भएको विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले जानकारी गराउनुभयो । सर्वसाधारणले अनलाइनमा रहेको फाराम भरेर सम्बन्धित नगरपालिकामा पठाएपछि प्रमाणपत्र मात्र लिन जानुपर्ने छ । उहाँले पहिलो चरणमा सबै नगरपालिकामा गरिसकेपछि दोस्रो चरणमा सबै गाउँपालिकामा विस्तार गरिने बताउनुभयो । “देशभरि नै सबै नगरपालिका र गाउँपालिकामा एकैसाथ अनलाइनमार्फत सेवा सुरु गर्ने योजनामा थियाँै”, उहाँले भन्नुभयो, “सबै गाउँपालिका इन्टरनेटको पहुँच नपुगेकाले पहिलो चरणमा नगरपालिकामा सेवा सुरु गर्न थालेका हाँै ।” यसैगरी विभागले पहिले दर्ता भएका व्यक्तिगत घटना तथा दुर्घटना पनि अनलाइनमा राख्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ ।

बालविवाहका कारण महिलामा मानसिक समस्या

रुकुम, चैत ९ । बालविवाहका कारण ग्रामीण भेगका महिला मानसिक समस्या झेल्दै आएका छन् । बालविवाह गर्नेलाई कानुनी कारबाही नहुँदा बालविवाह घट्न सकेको छैन् । जनचेतनाको कमीले गाउँमा अझै पनि सानै उमेरमा विवाह गर्ने गरेका छन् । यसबाट महिला हिंसाका घटनामा समेत वृद्धि भएको छ । बहुविवाह र सम्बन्धविच्छेदका घटना समेत बढ्दै गएका छन् । बालविवाहकै कारण कतिपय महिलाले आत्महत्या समेत गर्ने गरेका महिला अधिकारकर्मी मनिषा भण्डारी बताउनुहुन्छ । बालविवाह न्यूनीकरणका लागि अभिभाकलाई सचेत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । अन्तर्जातीय विवाह भएमा झगडा प्रहरीसम्म पुग्ने र अन्य भए गाउँमै मिलाउने गरेको भण्डारीले बताउनुभयो । गाउँमा बालविवाह भए पनि आपसी मिलेमतोमा कुरा मिलाउने तथा प्रहरीसम्म पुगे पनि लेनदेनमा कुरा मिलाउने प्रचलन रहेको छ । बालविवाहसम्बन्धी मुद्दा चलाउन समस्या रहेको प्रहरी नायब उपरीक्षक अङ्गुर जिसी बताउनुहुन्छ । “दुवैपक्षको सहमति भएपछि मुद्दा चलाउन समस्या हुने गरेको छ,” उहाँले भन्नुभयो । महिला हिंसाका ८४ उजुरी दर्ता जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवमा महिला हिंसा सम्बन्धिका ८४ वटा उजुरी दर्ता भएका छन् । प्रहरीका अनुसार छवटा बहुविवाह, चारवटा आत्महत्या, नौवटा जबर्जस्ती करणी, तीनवटा जबर्जस्ती करणी उद्योग र ६३ वटा घरेलु हिंसाका उजुरी गर्दा भएका छन् । बालविवाह न्यूनीकरण र महिलामाथि हुने सबै प्रकारका हिंसाका घटनालाई निरुत्साहित पार्न सबैको सहयोग अपरिहार्य हुने प्रहरी नायब उपरीक्षक जिसी बताउनुहुन्छ ।

एउटै प्रदेशमा तीन महानगरपालिका

काठमाडौँ, चैत ९ । सङ्घीय संरचनाअनुसार प्रदेश नं ३ मा सबैभन्दा बढी तीनवटा महानगरपालिका रहेका छन् । अर्को एउटा महानगरपालिका प्रदेश नं ४ मा परेको छ । तीन नं प्रदेशमा काठमाडौँ, ललितपुर र भरतपुर महानगरपालिका तथा ४ नं प्रदेशमा पोखरा लेखनाथ महानगरपालिका निर्धारण गरिएको छ । जनसङ्ख्यालाई आधार मान्दा सबैभन्दा ठूलो काठमाडौँ महानगरपालिका रहेको छ । ४९ दशमलव ४५ वर्ग किलोमिटर क्षेत्रफल तथा ३२ वडा कायम गरिएको यस महानगरपालिकाको जनसङ्ख्या नौ लाख ७५ हजार रहेको छ । त्यस्तै ४३२ दशमलव ९५ वर्ग किमी क्षेत्रफल रहेको भरतपुर महानगरपालिकामा २९ वडा रहेका छन भने जनसङ्ख्या दुई लाख ८० हजार रहेको छ । क्षेत्रफलको हिसाबले सबैभन्दा सानो ललितपुर महानगरपालिका हो । ३६ दशमलव १२ वर्ग किलोमिटर क्षेत्रफल तथा २९ वडा रहेको यस महानगरपालिकाको जनसङ्ख्या दुई लाख ८४ हजार रहेको छ । त्यसैगरी प्रदेश नं ४ मा रहेको पोखरा लेखनाथ महानगरपालिका क्षेत्रफलको हिसाबले सबभन्दा ठूलो हो । ३३ वडा भएको उक्त महानगरपालिकाको क्षेत्रफल ४६४ दशमलव २४ वर्ग किमी रहेको छ भने त्यहाँ चार लाख १४ हजार नागरिकको बसोबास रहेको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङका अनुसार महानगरपालिका हुनका लागि कम्तीमा तीन लाख जनसङ्ख्या, रु ४० करोडभन्दा बढी वार्षिक खर्च हुनुपर्ने, प्रतिवडा ११ हजार जनसङ्ख्या हुनुपर्ने सरकारी मापदण्ड रहेको छ । “ललितपुर र भरतपुर महानगरपालिमा सरकारी मापदण्ड पुरा भएको पाइँदैन,” तामाङले भन्नुभयो । नेपाल नगरपालिका कर्मचारी सङ्घका कार्यकारी सचिव कलानिधि देवकोटा पनि महानगरपालिकाले सरकारी मापदण्ड नै पूरा नगरेका बताउनुहुन्छ । “सरकार आफैले नियम बनाए पनि पालना गरिएको छैन,” उहाँले भन्नुभयो । सातवटा प्रदेशमा एक–एकवटा महानगर निर्माण गर्ने अवधारणासहित अघि बढ्नुपर्नेमा देवकोटाले जोड दिनुभयो । काठमाडौँ महानगरपालिका यसअघि नै महानगर थियो । ललितपुर र लेखनाथ उपमहानगरपालिका थिए भने भरतपुर नगरपालिका थियो । त्यतिबेला २१७ नगरपालिका र तीन हजार १५७ गाविस रहेका थिए । सरकारले २०७३ फागुन २७ गते राजपत्रमा सूचना प्रकाशित गरी ७४४ स्थानीय तह घोषणा गरेको हो । जिविसलाई जिल्लाभित्रका नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने गरी जिल्ला समन्वय समितिमा परिणत गरिएको छ । नयाँ संरचनाअनुसार सरकारले चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका, ४८१ गाउँपालिका र वडाको सङ्ख्या छ हजार ६८० पुगेको छ । विराटनगर, इटहरी, धरान, जनकपुर, हेटौँडा, जीतपुरसिमरा, कलैया, वीरगन्ज, बुटवल, तुल्सीपुर, घोराही, नेपालगन्ज र धनगढी उपमहानगरपालिका कायम गरिएको छ ।

हतियार बुझाउन आग्रह

कोहलपुर (बाँके),चैत ९ । जिल्ला प्रशासन कार्यालय बाँकेले आफूहरुसँग भएका सम्पूर्ण हातहतियार यही चैत २४ गतेभित्र बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण एवम् भयरहित तरिकाले सम्पन्न गराउनका लागि नागरिकसँग भएका बन्दुक, पेस्तोललगायत हातहतियार सङ्कलन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । “स्थानीय तहको निर्वाचन अवधिसम्मका लागि कानुनबमोजिम अनुमति प्राप्त गरेका बन्दुक, पेस्तोल हातहतियार नेपाल प्रहरीको अधीनमा राख्नुपर्ने भएकाले सम्पूर्ण नागरिकलाई हातहतियार बुझाउनका लागि अनुरोध गरेका हौँ”, सहायक प्रजिअ कृष्णबहादुर खड्काले भन्नुभयो “सूचना प्राप्त गरेपछि यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा लगी हतियार बुझाइदिनुहोला ।” खड्काद्वारा हस्ताक्षर गरी जारी गरिएको विज्ञप्तिमा यही चैत २४ गतेभित्र नजिकैको प्रहरी कार्यालयमा हतियार बुझाउनुपर्ने जनाइएको छ । स्थानीय प्रशासनले समयमै हातहतियार नबुझाए कानुनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ । रासस