रामेश्वर क्याम्पसका स्ववियु सभापतिको चट्याङ लागेर मृत्यु

संखुवासभा, चैत ५ । रामेश्वर बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति नवीन जिमीको चट्याङ लागेर मृत्यु भएको छ । शुक्रबार साँझ परेको चट्याङ लागेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
एक्कासी चलेको हावाहुरी र पानीसहित परेको चट्याङले उनी गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा बाटैमा मृत्यु भएको थियो ।
रामेश्वर क्याम्पसमा वीएड पहिलो वर्षमा अध्ययनत उनले फागुन १८ गते भएको स्ववियु चुनावमा एमाले अखिलबाट सोही क्याम्पसमा सभापति जितेका थिए ।
तस्वीर:दीपेन्द्र

लुटेरा समूहले चलाएकाे गाेली लागी दुई महिलाको मृत्यु

मोरङ, चैत ४ । मोरङको कटारीमा डाँका समूहले चलाएको गोली लागी दुई महिलाको ज्यान गएको छ । कटारीस्थित आदर्शनगर –१ मा घरमा पुरुष नभएको मौका पारी डाँका समूहले प्रवेश गरी महिलामाथि गोली चलाएका थिए । डाँका समूहले चलाएको गोली लागी गीता अग्रवाल र अस्मीता अग्रवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । डाँका समूह को थिए र कहाँबाट आए र गए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

कोइरालाको आरोप-एमालेको नक्कली राष्ट्रवादले मुलूक जोखिममा

काठमाडौं, चैत ४ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले एमालेले नक्कली राष्ट्रवादको नारा लगाएर मूलूक र जनताको आँखामा छारो हाल्ने काम गरेको आरोप लगाएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड कर्मचारी संघ को चौथो केन्द्रीय महाधिवेसनको उदघाटन गर्दै कोईरालाले मधेसी मोर्चा र नेकपा (एमाले) को हठ र दम्भले मुलुक जटिल मोडमा पुगेको बताए । संसदमा रहेको संबिधान संशोधनको प्रस्तावलाई छलफल नै गर्न दिंदैनौ भन्ने एमाले र संशोधन प्रस्ताव पारित नभए चूनावमा जाँदैनौं भन्ने मधेसी मोर्चा दूबै अलोकतान्त्रिक र अतिवादी पार्टी भएको आरोप लगाए । कार्यक्रममा सांसद पूष्कर आचार्य, शिक्षक संघका पूर्वकेन्द्रिय अध्यक्ष मोहन ज्ञवाली लगायतले धारणा राखेका थिए ।

ब्राउन सुगरसहित चारजना पक्राउ

धनगढी, चैत ४ । धनगढी लागुऔषध ब्राउन सुगरसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– २ को मिलन चोकबाट गएराति उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनगढी—२ का सञ्जय न्यौपाने, डडेल्धुरा अमरगढी नगरपालिकाका सरोज भट्ट र सुरेन्द्र भट्ट तथा कैलाली अत्तरिया नगरपालिकाका सन्तोष भट्ट रहेका छन् । सेतीअञ्चल प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले १४ ग्राम ब्राउन सुगर, ४५ ट्याब्लेट नाइट्रोभेट, आठ ट्याब्लेट स्पास्मोप्रोक्सोभन र डाइलेक्स डिसी सिसि चार थानसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

ढाेका फाेरेर सुत्केरी महिलाकाे बलात्कार

रुकुम, चैत ४ । रुकुमकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी–२९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ । गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट–४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको बयान ती महिलाले दिएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए । विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए । घटनाकोबारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ । पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट, खलंगामा बस्दै आएका छन् ।

अनियन्त्रित ट्रकको ठक्करबाट दुईको मृत्यु, आठ घाइते, चार वटा सवारीसाधनमा क्षति

काठमाडौं, चैत ४ । काठमाडौंको गुर्जुधारामा ट्रकको ब्रेक फेल भएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य नौ जना घाइते भएका छन् । त्यस्तै ब्रेक फेलभएको ट्रकले ठक्कर दिँदा चार वटा सवारी साधनमा क्षति भएको थानकोट प्रहरी वृत्तका डिएसपी कृष्णप्रसाद पंगेनीले जानकारी दिएका छन् । बे्रक फेल भई अनियन्त्रित ना ३ ख ९७७३ नम्बरको ट्रकले स्कुटर, ट्याक्सी र मिनिट्रकलाई ठक्कर दिएको थियो । दुर्घटनामा मृत्यु हुनेमा झापा अनारमनिका ३७ बर्षिय डम्बर पोख्रेल र काभ्रेपलाञ्चोक पनौतीका ४६ बर्षिय कान्छाबली लामा रहेका छन् । शुरुमा मे १ ख २४३९ नंबरको मिनिट्रकलाई ठक्कर दिएको थियो । त्यसपछि ठक्कर खाएको मिनिट्रकले बा १ ज ७९६७ नंबरको ट्याक्सीलाई ठक्कर दिएको थियो । ठक्कर दिने क्रममा बा ६९ प ६२८५ नम्बरको स्कुटर पनि दुर्घटनामा परि क्षतबिक्षत भएको प्रहरीले जनाएको छ । दुर्घंटनामा परी नाम नखुलेका बा ३ ख ९७७३ नम्बरको ट्रकका चालक गंभिर घाइते भएका छन् । साथै अर्को ट्रकका चालक र सहचालक पनि घाइते भएका छन् । यस्तै ट्याक्सीमा सबार २ यात्रुसहित चालक र स्कुटीमा सबार २ जना गरी ८ जना घाइते भएको पोखरेलले जानकारी दिए । घाइतेको वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले भने- ‘भारत हेप्न चाहन्छ हामी हेपिन चाहँदैनौं’

महेन्द्रनगर, चैत ४ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले निर्धारित मितिमै चुनाव गर्न सरकारलाई दबाब दिने उद्देश्यले मेची–महाकाली अभियान सुरु गरेको दाबी गरेका छन् । फागुन २१ गते झापाको काकडभित्ताबाट सुरु भएको पार्टीको मेची–महाकाली राष्ट्रिय अभियान सुदूरपश्चिमको कञ्चनपुरमा समापन भएको घोषणा गर्दै ओलीले समयसीमाभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्नका लागि उचित वातावरण निर्माण गर्न र सरकारलाई दबाब दिन सञ्चालन गरेको जानकारी दिए । पत्रकार सम्मेलनमा उनले भने- ‘यो असाधारण अभियान हो, अभियानको मुख्य उद्देश्य संविधान कार्यान्वयनका लागि जनदबाब सृष्टि गर्नु, तीनै तहको निर्वाचन गरेर राजनीतिक स्थायित्व कायम गर्न उचित वातावरण तयार गर्नु रहेको छ ।’ उनले मुलुकको राष्ट्रिय स्वाभिमान र स्वाधिनतामाथि देखिन थालेको अतिवादका कारण खल्बलिन थालेको सामाजिक सदभावलाई सुदृढ गर्नु पनि अभियानको उद्देश्य रहेको बताए । अध्यक्ष ओलीले २०७४ माघ ७ भित्र तीनै तहको निर्वाचन भइसक्ने संवैधानिक व्यवस्था भएकोले निर्धारित समयसीमाभित्र चुनाव हुन नसके मुलुकमा गम्भीर संवैधानिक संकट, अन्योल र जटिलता उत्पन्न हुने बताए । ओलीले सरकारलाई निरीह बनेको आरोप लगाए । उनले कानुन नमान्नेहरु पूर्णरुपमा डामेर छाडेका साँढे जस्ता भए पनि सरकारले तिनीहरुलाई केही गर्न नसकेको बताए । अध्यक्ष ओलीले सरकारले ७ महिनामा चुनावको मिति घोषणा गर्नु बाहेक अन्य काम गर्न नसकेकोमा असन्तुष्टि जनाए । तर चुनाव नगराउन प्रधानमन्त्री आँफै षडयन्त्र गरिरहेका वा कसैको षडयन्त्रमा परेका छन् कि भन्ने शंका लाग्न थालेको ओलीले बताए । आफूले शुक्रबार बिहानै प्रधानमन्त्रीसँग यसबारे कुरा गरेको ओलीले जानकारी दिए । पुर्वप्रधानमन्त्री समेत रहेका ओलीले सिंहदरबारमा केन्द्रीत रहेको राज्यसत्तालाई गाउँ गाउँ र टोल पुर्याउन संघीयता ल्याइएको दाबी गरे । तर, अझै अधिकार केन्द्रमा राख्ने षडयन्त्र भइरहेको टिप्पणी गरे । ‘नगर प्रमुख र उपप्रमुखहरुलाई राज्यसभाका लागि मतदान गर्न पाउने अधिकार बञ्चित गरिँदैछ, स्थानीय निकायको संख्यामा विवाद गरिँदैछ’ उनले भने, ‘कहिले केन्द्रको कहिले प्रदेशको नियन्त्रणमा स्थानीय तहको माग उठिरहेको छ ।’ कांग्रेसप्रति असन्तुष्ट देखिएका ओलीले काठमाडौं पुगेर शेरबहादुरजीसँग यसबारे कुरा गरेर कांग्रेसको धारणा बुझ्ने बताए । अध्यक्ष ओलीले भारत जस्तो ठूलो देशले सीमाका ससाना समस्यामा लफडा गर्न नहुने बताए । ‘सतहमा जे देखा परे पनि नेपालीहरु गहिराइमा हस्तक्षेप र हेपिएको मन पराउँदैनन्’ उनले भने, नेपाली जनतालाई थिचोमिचो गर्ने कामबाट भारत अलग रहनु पर्छ ।’ सीमास्तम्भ हराएपछि भारतीय सुरक्षाकर्मी नेपाल पस्ने गरेको उनले बताए । ‘भारत हेप्न चाहन्छ हामी हेपिन चाहँदैनौं’ उनले भने । अध्यक्ष ओलीले पुनर्वास घटनाका घाइतेको उपचार खर्चका लागि पार्टीको तर्फबाट ५० हजार प्रदान गरेका छन् ।

बीसलाख भारतीय नोटसहित चारजना पक्राउ

वाँके, चैत ४ । भारतीय र नेपाली नोटसहित प्रहरीले बाँकेबाट चारजनालाई पक्राउ गरेको छ । स्रोत नखुलेको भारतीय २० लाख चारहजार दुईसय ८० र नेपाली सात लाख ३२ हजार आठसय ४० रुपैयाँ सहित नेपालगन्ज धम्बोजीका सन्तोष रायसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । सन्तोषको डेरामा संकलित सो रकम सहित उनका साथीहरु बाँके कट्कुइया–५ का अहमद अन्सारी, सोही स्थानका नोर महमद खाँ र नेपालगन्ज–१ धम्बोजीका राजेश कुम्हारलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

चट्याङ लागेर एकको मृत्यु, दुई घाइते

बाजुरा, चैत ४ । उत्तरी भेगको सिहमाली गाउँपालिका साबिकको रुगिन–४ बोर्तामा बिहीबार करिब ८ बजे राति चन्दन कार्कीको घरमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ भने दुई बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । मृत्यु हुनेमा चन्दन कार्कीका १४ वर्षीय छोरा शेरबहादुर कार्की रहेका छन् । कार्कीकै १७ वर्षीया छोरी झुमकला कार्की र १० वर्षीया जुनु कार्की चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक सुदाम रावलले बताउनुभयो । घाइते भएका दुई दिदीभाइको चट्याङका झिल्का लागेर हातखुट्टा जलेको प्रहरीले जनाएको छ । चट्याङ लागेर दुई गोरु र एक बाख्रा मरेको पनि बताइएको छ । घाइते भएका दुवै दिदीभाइलाई उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रहरी र स्थानीयवासीको सक्रियतामा ल्याइएको निमित्त प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिनुभएको छ । घरको पूर्व भित्तामा चट्याङ परेर घटना भएको बताइएको छ । रासस

आत्मनिर्भर बन्दै कोसीपीडित महिला

इनरुवा, चैत ४ । सुनसरी जिल्ला हरिपुर गाविस–३ की सङ्गीतादेवी ठाकुरलाई पहिले मैनबत्ती बनाउन आउँदैनथ्यो । विद्युत्भार कटौती भएको बेला पसलबाट रु पाँचदेखि १० मा मैनबत्ती किनेर ल्याई बाल्नुहुन्थ्यो । तर अहिले उहाँ आफै‌ मैनबत्ती बनाउनुहुन्छ । सङ्गीतादेवी मात्र नभई हरिपुर–३ की सुलेखादेवी झाको पनि कुरा उही हो । उहाँलाई पनि मैनबत्ती कसरी बनाइन्छ भन्ने ज्ञान थिएन । तर हरिपुर गाविसमै रहेको सामुदायिक कोसीपीडित संस्थाबाट मैनबत्ती बनाउने सीप सिक्नुभयो । उहाँ अहिले तालिम लिएर मैनबत्ती बनाउन थालेपछि अब मोम, मैनबत्ती बनाउने फर्मा लगायतका सबै सामग्री भयो भने आफैँले मैनबत्ती बनाएर आयआर्जन गर्न सक्ने बताउनुहुन्छ । महिला घरमा बसेर चुल्होचौको सम्हाल्नेबाहेक गरिखाने खास सीप नभएको बेला कोसीपीडित संस्थाले दिएको एकहप्ते मैनबत्ती बनाउने तालिमले सुलेखा, सङ्गिता लगायतका यहाँका महिलालाई निक्कै सहयोगी बनेको छ । उक्त संस्थाले दुई समूहमा करिब ८० जना स्थानीय महिलालाई मैनबत्ती बनाउने तालिम दिएको थियो । हरिपुर–३ की ऋचा पाठकले पनि यही संस्थाबाट मैनबत्ती बनाउने तालिम लिनुभएको हो । घरमा फुर्सदिलो र बेरोजगारीको जीवन बिताइरहेका बेला पाएको मैनबत्ती बनाउने तालिमले उहाँलाई निक्कै राहत दिएको छ । बेरोजगार बसेका महिला तालिमपछि मैनबत्ती बनाउन सिपालु भई उनीहरुमा उद्यमशीलता बढेको देख्दा प्रशिक्षक लक्ष्मण मेहतालाई पनि खुसी लागेको छ । गरिखान सीप नै चाहिन्छ । कोसीको बाढीले बिजोग बनाएका परिवारका महिलालाई गरिखान सघाउ पुग्नेगरी मैनबत्ती बनाउने तालिम दिनसकेकामा आयोजक सामुदायिक कोसीपीडित संस्थाका अध्यक्ष धिरेन्द्र पाठक खुसी हुनुहुन्छ । विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले दिएका धेरैजसो तालिमबाट समुदाय लाभान्वित भएको कमै सुनिन्छ । तर कोसीपीडित महिलाले पाएको मैनबत्ती बनाउने तालिमले उनीहरुको जीवनमा थोरै भए पनि उज्यालो दिएको छ । रासस

पुटिनसमक्ष ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ, चैत ४। रुसी महासङ्घका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले मोस्कोस्थित ग्राण्ड क्रेमलिन दरबारमा बिहिबार आयोजित एक समारोहबीच त्यहाँका राष्ट्रपति भ्लादिमिर भ्लादिमिरोभिच पुटिन समक्ष आफ्नो ओहदाको प्रमाणपत्र पेस गर्नुभयो । समारोहमा राजदूत घिमिरेले नेपालको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुसी महासङ्घको निरन्तर प्रगति र समृद्धिको कामना गर्नुभएको सन्देश प्रदान गर्नुभएको थियो । राष्ट्रपति पुटिनले घिमिरेको स्वागत गर्दै उहाँको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुद बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको नेपाली राजदूतावास मस्कोद्वारा आज जारी विज्ञप्ति उल्लेख छ । रासस

ट्रक र चालकसहित तीन सय केजी गाँजा बरामद

हेटौँडा, चैत ३ । मकवानपुरको मनहरिबाट अवैध रुपमा भारत लान लागिएको तीन सय सात केजी गाँजा प्रहरीले बरामद गरेको छ । गाँजासहित भारतको रक्सौलतर्फ जाँदै गरेको एक भारतीय ट्रक र त्यसका चालकलाई प्रहरीले आज बिहान नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकामा भारत मोतीहारीका अशोककुमार दुबे र डब्ल्यु बी११–८५२४ नंको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चालक दुबेले ट्रकको भित्रपट्टि फल्स बटम बनाई १६ वटा बोरामा लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक वसन्त लामाले जानकारी दिए ।

युएईमा अपाङ्ग तथा अनाथ बाल-बालिकाको सहयोगार्थ ‘सास्कृतिक साँझ २०७४’ हुने

दुबई १६ मार्च । वैदेशिक रोजगारीको शिलसिलामा युएईमा रहेका काभ्रेलीहरुको साझा समाजिक संस्था काभ्रे सेवा समाज युएईले नयाँ वर्ष २०७४ को विशेष अवसर पारेर आगामी अप्रिल १४ मा अपाङ्ग तथा अनाथ बाल-बालिहरुको सहयोगार्थ ‘सांस्कृतिक साँझ २०७४’ को आयोजना गर्ने भएको छ । विशुद्व सामाजिक सेवा गर्ने उदेश्यले ८ अगस्ट २०१४ मा स्थापित (काभ्रे सम्पर्क समिति) हाल परिमार्जित पछि काभ्रे सेवा समाज युएईले विभिन्न क्षेत्रहरुमा सामाजिक सेवाहरु प्रदान गर्दै आउने क्रम सँगै यहि आउदो नेपाली नयाँ वर्ष २०७४ को पावन अवसरमा अपाङ्ग तथा अनाथ बालबालिकाहरुको सहयोगार्थ संस्कृतिक साँझ २०७४ कार्यक्रम अन्तिम तयारीमा रहेको समाजका संरक्षक दामोदर दाहालले जानकारी दिएका छन् । यहि आउदो नया बर्ष २०७४ बैशाख १ गते (१४ अप्रिल २०१७) शुक्रबारको दिन हुन गइरहेको संस्कृतिक कार्यक्रममा नेपालबाट संगीतकार तथा चर्चित गायक विश्व दोङ, पछिल्लो चरण व्यस्त गायिका भनेर चिनिने लोक तथा आधुनिक गायिका रिता केसी, चर्चित नायिका तथा आईटम डान्सर रिया श्रेष्ठ लगायतका कलाकारहरु युएई आउने भएका छन् । नेपालबाट आउने कलाकारहरुको साथमा युएईमा रहेका नेपाली कलाकारहरु गोपीकृष्ण पंगेनी, निश्चल श्री, सन्ध्या सुस्केरा, अन्जुली लोप्चन, ईन्द्र सिन्चुरी, रोसनी शुब्ब, सोनी राना मगर, प्रवेग दोङ, डिभि समर्पण लगायतका दर्जनौं कलाकारहरुको बिजोड प्रस्तुति रहने समाजका महासचिब उत्तम बिकले जानकारी दिएका छन् । दुबईको देरा स्थित कर्लटन टावर होटलको हलमा दिनको २ बजे बाट शुरु हुने कार्यक्रमको लागि युएईबासि सम्पूर्णलाई उपस्थित भई कार्यक्रम सफल परिदिन काभ्रे सेवा समाज युईका अध्यक्ष दिल लामाले युएईबासि नेपालीहरुलाई आग्रह गरेका छन् । उक्त कार्यक्रमको लागि TRUST GENIC कम्पनी, मारहाबा ट्राभल्स, अन्नपूर्ण सुनचादी पसल, बिजेता ग्रुप कम्पनी, फिस्टल ट्रभल्स, नेपालीको सगरमाथा रेष्टुरेन्ट, भावर्ची रेष्टुरेन्ट, फलाफिल्गी रेष्टुरेन्ट, नेपाली रेष्टुरेन्ट , काठमाडौं रेष्टुरेन्ट, ग्रिन्ड डान्सबार, नमस्ते रेष्टुरेन्ट, भान्छाघर रेस्टुरेन्ट, इभरेष्ट एच.आर कन्सलटेन्सी, नमस्ते ट्राभल्स, जि.के.एस. टायर लगायत ईसपोन्सर रहेको आयोजकले जानकारी दिइएको छ ।

भक्तपुरमा बालश्रम न्युनीकरण हुँदै

भक्तपुर, चैत ३ ।  सूर्योदय सेवा समाजको आयोजनामा जिल्ला समन्वय समिति भक्तपुरमा सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । २०७३ साल चैत्र २ गते भक्तपुरको जिल्ला समन्वय समितिको सभाहलमा उक्त बैठक सम्पन्न भएको हो । बैठकमा जिल्ला समन्वय समितिका प्रमुख स्थानीय विकास अधिकारी (तत्कालिन जिल्ला विकास समिति, हाल जिल्ला समन्वय समिति) धु्रवप्रसाद कोइराला, सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी खतिवडा, नेपाल पत्रकार महासंघ भक्तपुरका पूर्व सभापति विकल श्रेष्ठ, जिल्ला शिक्षा कार्यालय भक्तपुरका प्रतिनिधि विमल निरौला, महिला विकास कार्यालय, जिल्ला घरेलु कार्यालय, जिल्ला बाल कल्याण समिति भक्तपुरका प्रतिनिधि र सुर्योदय समाज सेवाका कार्यकारी निर्देशक तारा बहादुर ग्यापक, ग्लोवल फेयरनेश इनिसियेटिभका क्षेत्रीय कार्यक्रम अधिकृत चिरञ्जीवी न्यौपाने, नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव, विभिन्न सञ्चार माध्यमका प्रतिनिधिहरुको सहभागितामा बेटर ब्रिक नेपाल परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक बसेको हो । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी खतिवडाले बालश्रम अन्त्यबारे सरोकारवाला पक्षसँग जिल्ला प्रशासन कार्यालयको अगुवाईमा निरन्तर छलफल जारी रहेको र बालश्रम न्युनीकरण हुँदै गएको बताइन । उनले आगामी पाँच वर्ष भित्रमा भक्तपुर जिल्लामा बालश्रम पूरै अन्त्य गर्ने लक्ष्य लिइएको समेत सहभागीहरुलाई बताइन । त्यसैगरी बैठकका स्थानीय विकास अधिकारी ध्रुवप्रसाद कोइरालाले भक्तपुर जिल्लामा अझै पनि बालश्रमको ठूलो समस्या रहेको बताउँदै यसको अन्त्यको लागि सामूहिक प्रयत्न गर्नुपर्ने बताए । उनले भने बालश्रम हटाउन सरकार, गैरसरकारी संस्थाका साथै सञ्चार जगतको समेत महत्वपूर्ण भूमिका रहने भन्दै सबै पक्षको समन्वयबाट बाल श्रम अन्य गर्न सकिने बताए । सो अवसरमा कोइरालाले भने बाल श्रम अन्त्य गर्न कसले के काम गरिरहेको छ, त्यसबारे एक अर्कालाई जानकारी हुनुपर्ने भन्दै यसो भयो भने अनुगमनमा समेत सहज हुने बताए । गैर सरकारी संस्थाले गर्ने काममा पारदर्शिता हुनुपर्ने र दाताबाट प्राप्त हुने सहयोग इमान्दारपूर्वक लक्षित वर्गमा पु¥याउन आवश्यक रहेको कोइरालाले बताए । बैठकमा परियोजनाको गतिविधि तथा आगामी दिनमा हुने कार्यक्रमको बारेमा बेटर ब्रिक नेपाल परियोजनाका फिल्ड संयोजक मनिषा मोक्तनले प्रस्तुतीकरण गरेकी थिइन । सो अवसरमा मोक्तानले भक्तपुर जिल्लामा रहेको इट्टा उद्योगको अवस्था, बाल श्रमिकको अवस्थाबारे बेटर ब्रिक नेपालले गरेको गतिविधिबारे प्रष्ट पारेकी थिइन् । कार्यक्रममा सञ्चारकर्मी तथा सहभागीहरुले राखेको जिज्ञासाको जवाफ सूर्योदय समाज सेवाका कार्यकारी निर्देशक ताराबहादुर ग्यापकले दिएका थिए ।

शहीद गोविन्द गौतमका परिवारलाई एमालेले ५ लाख दिने घोषणा

महेन्द्रनगर, चैत ३ । भारतीय सीा सुरक्षा बल( एसएसबी)ले हत्या गरेका गोविन्द गौतमको परिवारलाई नेकपा एमालेले ५ लाख सहयोग दिने भएको छ । एमालेको मेची-महाकाली अभियान अन्तर्गत कञ्चनपुरको महेन्द्रनगरमा आयोजित अन्तिम सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले शहीद गोविन्द गौतमको परिवारलाई ५ लाख राहत रकम एमालेका तर्फबाट उपलब्ध गराउने घोषणा गरे । घोषणा लगत्तै एमाले अध्यक्ष केपी ओलीले पाँच लाखको चेक एमाले कञ्चनपुरका अध्यक्ष तारा लामालाई प्रदान गरेका छन् । सरकारले शहीद गौतमका छोराछोरीलाई उच्चशिक्षासम्म निःशुल्क अध्ययनको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरेकोबारे ओलीले शहीदका छोराछोरीलाई कसैले नहेरे एमालेले हेर्ने दावी गरे । कञ्चनपुर पुनर्वास नगरपालिका आनन्दबजारका गौतम परिवालाई फागुन २६ गते एसएसबीले गोली हानेका थिए । उनले एसएसबीको यस हर्कतप्रति निन्दा गर्दै यस घटनाबारे भारतले नेपाल र नेपाली जनतासमक्ष माफी माग्नुपर्ने माग गरे । यसबारे आफूले प्रधानमन्त्री प्रचण्डसँग पनि कुरा गरिसकेको एमाले अध्यक्ष ओलीले बताए । सीमा विवाद उत्कर्षमा पुग्दा गत बिहीबार भएको झडपमा भारतीय एसएसबीले गोली प्रहार गर्दा गोविन्द गौतमको मृत्यु भएको थियो । उनलाई सरकारले शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरेको थियो ।

डढेलो नियन्त्रणका लागि ३६ जिल्लामा करिब २०० पोखरी निर्माण

काठमाडौँ, चैत ३ । वन विभागले वनमा हुने डढेलो नियन्त्रणका लागि चुरे क्षेत्रसँग जोडिएका ३६ जिल्लामा करिब २०० पोखरी निर्माण गरेको छ । बर्सेनि लाग्ने डढेलोका कारण पशुपक्षी र जनधनको क्षति भएकाले त्यसको रोकथाम गर्न पोखरी निर्माण गरेको विभागका उपसचिव मोहनराज काफ्लेले जानकारी दिनुभयो । अत्याधिक आगलागी हुने डडेलधुरा, कैलाली, कञ्चनपुर, सुर्खेत, दाङ, बारा, पर्सा, रौतहट, झापालगायत चुरेसँग जोडिएका जिल्लाका वनमा पोखरी निर्माण गरिएको छ । यस्तै आगालागी नियन्त्रणका लागि स्वयम्सेवक, सुरक्षा निकाय र सुराकी परिचालन गरिएको छ । आगो नियन्त्रण कार्यमा प्रभावकारी भूमिका खेल्ने संस्थालाई पुरस्कार समेत प्रदान गरिने काफ्लेले बताए । वनमा डढेलो नियन्त्रण गर्न सकियोस भन्ने उद्देश्यले यही चैत १ गतेदेखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन जनचेतना सप्ताह’ सञ्चालन गरिएको छ । वनमा आगो लगाउनेलाई विगोसहित रु १० हजार जरिवना वा एक वर्ष कैद वा दुबै सजाय हुने कानुनी प्रावधान रहेको छ ।