त्रिविले भन्यो-‘मनोनयन दर्ता भएका क्याम्पसमा मात्र स्ववियु निर्वाचन’

काठमाडौं फागुन १६ । त्रिभुवन विश्वविद्यालयले मोनयन दर्ता भएका क्याम्पसमा मात्रै स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गराउने भएको छ । त्रिविका प्रवक्ता भोला ढकालका अनुसार आइतबारसम्म मनोनयन दर्ता भएका मुलुकभरका २५ वटा क्याम्पसमा त्रिविले तोकेकै समयमा चुनाव गराउने भएको हो ।

त्रिवि र विभिन्न विद्यार्थी संगठनबीच भएको सहमति अनुसार आज विहान साढे १० बजेसम्म मनोनयन दर्ता गर्ने समय तोकिए पनि विद्यार्थी संगठनकै आपसी मतभेदका कारण थप क्याम्पसमा मनोनयन दर्ता हुन सकेन । मुलुकभरका ६० वटा क्याम्पस मध्ये २५ वटामा मात्र मनोनयन दर्ता भएको त्रिविले जनाएको छ ।

फागुन १४ गतेका लागि तोकिएको स्ववियु निर्वाचनको मिति फागुन १८ गतेलाई सारिए पनि सबै क्याम्पसमा निर्वाचनको वातावरण बन्न सकेको छैन । धेरै क्याम्पसमा माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले जित हासिल गरिसकेको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जानकारी दिए । उनले भने-  ‘सोमबार विहान ११ बजेसम्म हामीले देशभरका १५ वटा क्याम्पसमा निर्विरोध र चुनावी प्रतिस्पर्धा गरेर विजयी भएका छौं ।’

एमाले अखिल बलियो रहेको भनिएका रत्नराज्य लक्ष्मी क्याम्पसको लेखा शाखामा अखिलकै व्यक्तिहरुको संम्लग्नतामा आइतबार आगजनी भएको छ भने नेविसंघ बलियो भनिएको त्रिचन्द्र क्याम्पसमा पनि उनीहरुले तालाबन्दी गरेका छन् ।

सप्तरीमा तीस दल दर्ता

सप्तरी, फागुन १६ । स्थानीय निकायको निर्वाचन घोषणा भइसकेको वर्तमान परिस्थितिमा सप्तरी जिल्लामा हालसम्म ३० वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये ८१ वटा दलले दल दर्ता नगराएको बताइएको छ । मधेस केन्द्रित दल तराई मधेस लोकतान्त्रिक पार्टी, मधेसी जनअधिकार फोरम (गणतान्त्रिक), थरुहट तराई पार्टी, चुरे भावर पार्टीलगायतका थुप्रै पार्टीले निधारित मितिमा दल दर्ता नगराएको कारण दल दर्ता म्याद नथपिएकाले र स्थानीय निकायमा भाग लिन नपाउने अवस्था सिर्जना भएको सो कार्यालयले जनाएको छ । निर्वाचन आयोगले गत माघ १७ गतेसम्म दल दर्ता गर्न दिएको म्यादभित्र दल दर्ता गराएका दलले मात्र स्थानीय निकाय तहको निर्वाचनमा सहभागी हुन पाउने जानकारी दिँदै कार्यालयका निर्वाचन अधिकारी महेश ठाकुरले दललाई सूचना जारी गरी जानकारी दिएको बताउनुभयो । धेरै पार्टीको स्थानीय तहमा कार्यालय नरहेको बताउँदै उहाँले जिल्लामा कार्यालय सम्पर्कमा रहेका पार्टीलाई पत्रमार्फत र टेलिफोनमार्फत जानकारी गराएको उल्लेख गर्नुभयो । कार्यालयले दलको ठेगाना सम्पर्क नम्बर कार्य समिति विवरण, पार्टीको छापसहितको विवरण भरेर दल दर्ताको लागि सूचना जारी गराइएको जानकारी दिएको छ । रासस

तस्करीहरू पेसा परिवर्तन गर्दै !

विराटनगर, फागुन १५ । मोरङ प्रहरीले सीमावर्ती क्षेत्रमा कडा निगरानी र अपराधीलाई कारबाहीको दायरामा ल्याउन थालेपछि तस्करहरुमा पेसा परिवर्तन गर्ने लहर चलेको छ । विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने प्रहरीले कडा निगरानी र कारबाही थालेपछि उनीहरु पेसा परिवर्तन गर्न बाध्य भएका हुन् । तस्करहरूले नशाजन्य पदार्थ, इलेक्ट्रोनिक्स एवं दैनिक तथा अन्य प्रतिबन्धित सामग्री आसपासका विभिन्न क्षेत्रबाट तस्करी गर्दै आएका थिए । प्रहरीको कडा निगरानीबीच केही नलागेपछि उनीहरु विभिन्न व्यापार व्यवसायमा लागेका छन् । तस्करी छाडेर सिटी रिक्सा सुरु गरेका विराटनगर– १९ का समशेर आलमले भने, “सामान किनेर ल्याउँदा आफ्नो पनि खुब पैसा लागेको हुन्छ । प्रहरीले माल खोस्छ, अनि कारबाही पनि गर्छ । यस्तो लफडामा किन लाग्नू भनेर रिक्साको काम सुरु गरेंँ । धेरै साथीहरुले वारपारको काम छाडिसके ।” राजस्व चुहावट तथा लागुऔषध ओसारपसार रोक्नका लागि गस्ती टोलीलाई प्रभावकारी रुपमा परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।” विगतमा चोरी, निकासी, पैठारीमा संलग्न तस्करलाई छाडेर सामान मात्र बरामद गर्ने कार्य हुन्थ्यो, अब हामीले अपराधीलाई पनि कारबाहीको दायरामा ल्याउन थालेका छौंँ”, प्रहरी निरीक्षक सन्दीप भण्डारीले बताए ।

स्ववियु निर्वाचनमा विद्यार्थीको प्रतिवद्धता

भद्रपुर, फागुन १५ । स्ववियुको यही फागुन १८ गते हुने निर्वाचनलाई द्वन्द्वरहित ढङ्गले सम्पन्न गर्न विद्यार्थी सङ्गठनका नेताहरुले सातबुँदे प्रतिबद्धता व्यक्त गरेका छन् । संवाद समूहको सचिवालयको संयोजनमा बिर्तामोडमा भएको छलफलमा विद्यार्थी सङ्गठनका नेताहरुले स्ववियु निर्वाचन शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन प्रतिबद्धता व्यक्त गरेका हुन् । उनीहरुले स्ववियु निर्वाचनमा आचारसंहिता पूर्ण पालना गर्ने÷गराउने तथा निर्वाचनका सन्दर्भमा गरिने प्रचारप्रसार तडकभडक रहित, कम खर्चिलो र स्वस्थ बनाउन समेत सहमति जनाएका छन् । एकले अर्को सङ्गठन तथा अर्को सङ्गठनका विद्यार्थी नेता, कार्यकर्ताको सम्मान तथा सम्बन्धलाई सुमधुर बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनीहरुले क्याम्पसका शिक्षक, प्रिन्सिपल र निर्वाचन समितिलाई निष्पक्ष र पारदर्शी व्यवहार गर्न आग्रह गरेका छन् । स्थानीय शान्ति समिति झापाका संयोजक जयबहादुर श्रेष्ठ र संवाद समूह सचिवालयका संयोजक दीपेन्द्र भट्टराईले सहजीकरण गरेको छलफलमा नेविसङ्घका केन्द्रीय सदस्य सन्तोष उप्रेती र झापाका उपसभापति राजेन्द्र उप्रेती, अनेरास्ववियुका झापा अध्यक्ष रोशन सुवेदी र पूर्वअध्यक्ष नवीन ढुङ्गाना, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अनिल सुवेदी र खगेन्द्र सुवेदी, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका केन्द्रीय सदस्य राजु अधिकारी तथा सङ्घीय विद्यार्थी युनियनका केन्द्रीय सदस्य ज्वाला इम्बुङले स्ववियु निर्वाचनका बारेमा आफ्ना धारणासहित प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् ।

‘माटो बेचेर डलर’ कमाउन घरेलु प्रदर्शन’

काठमाडौँ, फागुन १५ । घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको २८ औँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा माटो बेचेर डलर कमाउने उद्देश्यका साथ घरेलु सामग्री प्रदर्शन गरिएको छ । समितिका पूर्व कार्यकारी निर्देशक निलम ताम्राकारले ‘माटोबाट डलर’ कमाउने उद्देश्यका साथ माटोबाट बनेका साम्रगीको स्टल राखेको हो । करिब एक वर्ष समितिको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेकी ताम्राकारले कच्चा माटो र खेर गएको कपडाको प्रयोग गरेर फूलदानी निर्माण गरेकाे हो। अठ्ठाइसौँ औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनीमा बुद्ध ह्यान्डीक्राफ्टको नामबाट स्टलमा आफ्ना उत्पादित वस्तु प्रदर्शनीमा राखेकी उनले स्वदेशमै केही गर्नुपर्छ भन्ने मान्यताअनुसार घरेलु उद्योग विभागमा आफ्नो कार्यकारी निर्देशक पद सकिएलगत्तै उद्योग दर्ता गरेर काम गर्दै आएका छन् । नेपाल घरेलु उद्योग महासङ्घको उपत्यका उपाध्यक्षसमेत रहनुभएकी ताम्राकारले ७५ वटै जिल्लाका उद्योगीलाई उद्योगसम्बन्धी परामर्शसमेत दिँदै आएकी छिन् । यस्तै मेलामा भोजपुरे खुकुरी पनि आकर्षण ढङ्गले राखिएको छ । हजुरबुबा सिङ्गावीर विश्वकर्माको पेसालाई निरन्तरता दिन उनका नाति पूर्णबहादुर विश्वकर्मा लागेका छन् । विस २०४२ देखि खुकुरी निर्माणमा लाग्नुभएका उहाँले भोजपुरे खुकुरी ह्यान्डीक्राफ्टमार्फत भोजपुरे खुकुरी बनाउँदै आएकी छ । विश्वकर्माले गत वर्ष मात्र रु एक लाख ११ हजार ११ मूल्य पर्ने खुकुरी प्रदर्शनमा राखेको थियो । सागदेखि मासुसम्म सजिलै काट्न सकिने खुकुरी बनाउने पेसा आफ्ना सन्ततिले निरन्तरता नदिने हुन् कि भन्ने चिन्ता उहाँमा छ । उनीले कच्चापदार्थको अभाव र जनशक्ति कम हुँदा खुकुरी बनाउने पेसा सङ्कटमा पर्दै गएकामा चिन्ता व्यक्त गर्दै नेपाली हतियारलाई सरकाले विशेष प्राथमिकता दिनुपर्ने बताए । यसैगरी मेलामा रुकुमका उद्यमी मङ्गलबहादुर वादीले मादल प्रदर्शन गरेका छन् । दसैँ, तिहार, तीज लगायतका महत्वपूर्ण चाडमा धेरै बिक्री हुँदै आउने मादल बेचेर उनीले २२ जनाको परिवार पाल्दै आएको छ । उनीको एउटा मादललाई रु एक हजार पाँच सयदेखि रु १० हजारमा बिक्री गर्दै आएको बताएका छन्। मेलामा नमुना कलेक्सन अचार उद्योग इलामबाट बनाइएको अचार प्रदर्शनमा राखिएको छ । ओखलढुङ्गा औद्योगिक व्यापार मेलामा तेस्रो तथा विराटनगर औद्योगिक मेलामा दोस्रो भएको उक्त उद्योगबाट डल्लेखुर्सानी, मूला, कागती, आँप लगायका अचार प्रदर्शनमा राखिएका छन् । इलाम उद्योग वाणिज्य सङ्घको प्रेरणाअनुसार उद्योग सञ्चालन गरेकी कमला बाँस्कोटा (रिजाल) अचार बेचेर मासिक रु २० देखि ३० हजारसम्म आम्दानी हुने बताएका छन् । उनी भने- “म त एउटा सफल उद्यमी बनेँ मेरा दुई/चार जना महिला उद्यमीलाई रोजगार दिने उद्देश्य छ ।” समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्याय देशको सुगम तथा दुर्गम क्षेत्रमा रहेका उद्यमीको सीप, प्रविधि र उद्यमशीलताको कदर गर्नका लागि मेला आयोजना गरिएको बताएका छन् । उनी भने, “स्वदेशी युवा शक्तिलाई विदेश जानबाट रोक्न र स्वदेशमै रोजगार प्रदान गर्ने हाम्रो मुख्य उद्देश्य हो ।” उपाध्ययले घरेलु उद्योगलाई थप प्रोत्साहन गर्नका लागि मेला अवधिभर उद्यमीसँग घरेलु तथा साना उद्योगसम्बन्धी सम्बन्धित सङ्घसंस्थासँग अन्तक्र्रिया र छलफल गरेको बताए । मेलामा प्रत्येक जिल्लामा कम्तीमा दुई स्टल नघटाईकन तीन सयभन्दा बढी स्टल राखिएको छ ।

सांसदद्वारा पत्रकार महासंघलाई सहयोग

बिर्तामोड, फागुन १५ । सांसद सरिता प्रसाईंले नेपाल पत्रकार महासंघ झापा शाखालाई ४३ हजार रुपैयाँ सहयोग प्रदान गरेकी छिन् । सांसद प्रसाईंका प्रतिनिधि टीकाप्रसाद प्रसाईंले आज आइतबार उक्त रकम बिर्तामोडमा महासंघ झापा शाखाका अध्यक्ष भीम नेम्वाङलाई हस्तान्तरण गरे । झापा क्षेत्र नं.४ बाट समानुपातिक तर्फकी सांसद प्रसाईंले पत्रकारिता क्षेत्रको विकासका लागि उक्त रकम प्रदान गरेको महासंघ झापाका सचिव एकराज गिरीले जानकारी दिए । उनले सांसद विकास कोष अन्तर्गत उक्त रकम सहयोग गरेको बताइएको छ ।

सवारीसाधन कारबाहीमा

रसुवा, फागुन १५ । नेपाल–चीन केरुङबीच व्यवसाय सञ्चालन भएपछि पासाङल्हामु राजमार्गमा ट्राफिक नियम उल्लङ्घनका कार्य बढ्न थालेको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनको सङ्ख्या गत साउनयता तीन हजार नौ सय ५० पुगेको र उनीहरूलाई कारबाहीस्वरुप जरिवाना हुँदा रु ३० लाख २५ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयका निमित्त ट्राफिक इन्चार्ज प्रेमप्रसाद धमलाले गत वर्षको यस अवधिमा रु आठ लाख दुई हजार ६ सय जरिवाना गरिएको जानकारी दिए । नेपाल–चीनको व्यावसायिक कारोबार सञ्चालन भएपछि यातायात व्यवस्था विभागको अनुमति बिना नै सबारी साधन सञ्चालन हुँदै आएका छन् । यस्तै गत साउनदेखि माघ मसान्तसम्म रसुवा जिल्लामा ३६ वटा साना–ठूला सवारीसाधन दुर्घटनामा परेका र त्यसबाट दुई जनाको मृत्यु तथा ११ जना घाइते भएको निमित्त इन्चार्ज धमलाले बताए ।

संशोधन प्रस्तावको विरुद्धमा मत दिने एमाले नेता नेपालको भनाई

पोखरा, फागुन १५ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन मिति घोषणासँगै मुलुकमा संविधान कार्यान्वयनको प्रक्रिया अगाडि बढेको बताएका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाद्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले राजनीतिक दलहरु निर्वाचनमा जुटिसकेका छन् र आयोगले पनि निर्वाचन सम्बन्धी कार्यतालिका अगाडि बढाइसकेको हुँदा यसबारे शङ्का नगर्न आग्रह गरे । पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले संविधान कार्यान्वयन, राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, सङ्घीयता र समावेशीताजस्ता प्राप्त उपलव्धिको रक्षा गर्दै समृद्धिका लागि मुलुकमा शान्तिपूर्ण निर्वाचनको अपरिहार्य आवश्यकता रहेको छ बताएका छन् । स्थानीय तहको निर्वाचन लगत्तै आयोगमार्फत १६५ निर्वाचन क्षेत्रको सिमाङ्कन टुङ्ग्याएर प्रादेशिक निर्वाचनमा जुट्नुपर्नेमा जोड दिदैं उनले भने- “नेपाल र नेपाली जनताको हित विपरीत आएको संविधान संशोधनको प्रस्तावका विपक्षमा एमाले सहितका राजनीतिक दल छौ ।”

चैतलो पर्व सम्पन्न

हुम्ला, फागुन १५ । जिल्लाको पूर्वमा पर्ने सिमीकोट, ठेहे र स्याँडामा यस वर्षको चैतलो पर्व सम्पन्न भएको छ । यही फागुन १२ गतेदेखि १५ गते दौडा नाच, महाकालु देवताको पूजा, केटाकेटीले ढालतरबार नाच, लोकदोहोरी गर्दैछन् । काला सिद्ध धामी छोबन रोकायाले पूजाआजा गर्नुभयो ।

बिजुली ल्याउन पहल

हुम्ला, फागुन १५ । यहाँको दिनप्रतिदिन विद्युतभार कटौती भइरहेको छ । यहाँका बासिन्दा सल्लाको दियो बाल्न बाध्य भएका छन् । हिर्दुम जलविद्युत् आयोजनामा खराबी आएकाले बिजुली बलेको छैन । स्थानीय बासिन्दाको मर्का बुझी हुम्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष नाङ्मेल तामाङले ह्याक्पाखोला र डोजङखोलाबाट बिजुली ल्याउन पहल भइरहेको जानकारी गराए।

बम निष्क्रिय

रौतहट, फागुन १५ । नेपाली सेनाले पेट्रोल पम्पमा राखिएको सुतली बम आज बिहान ९:३० बजे निष्क्रिय गरेको छ । सरमुज्वा गाविस–८ बङ्कुल बजारस्थित रहेको ओम आयल ट्रेड कन्र्सनमा गए राति अज्ञात व्यक्तिले राखेको सुतली बम आज बिहान स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । अमर दल गुल्म पुरेनवाबाट आएको सेनाको टोलीले बम निष्क्रिय गरेको प्रहरी चौकी बङ्कुलका प्रहरी सहायक निरीक्षक रामेश्वर ठाकुरले बताए । बम किन कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको छ । बजारको पेट्रोल पम्पमा बम राखिएको खबरले स्थानीय व्यापारी त्रसित भएको स्थानीयवासी राजन जैसवालले बताए ।

घोषित मितिमै चुनाव गर्न त्रिविद्वारा संशोधित तालिका प्रकाशन, उम्मेदवारी दर्ता सोमबारसम्म थप

काठमाडौं, फागुन १५ । । त्रिभुवन विश्वविद्यालयले फागुन १८ गते स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) चुनाव गर्नेगरी संशोधित कार्यतालिका प्रकाशन गरेको छ । शनिबारलाई तोकिएको उम्मेदवारी मनोनयन दर्ता प्रक्रिया १६ गते विहान १० वजेसम्म गर्न पाइने त्रिविले जनाएको छ । तर, त्रिविले विभिन्न विद्यार्थी संगठनको विरोधका बाबजुद पनि फागुन १८ गते स्ववियु चुनाव गर्ने स्पष्ट पारेको छ । स्ववियु चुनावका लागि फागुन १४ गते सवै क्याम्पसहरुमा हुनुपर्ने उमेद्वारी दर्ता विद्यार्थी संगठनको अवरोधका कारण हुन नसकेपछि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन समन्वय समिति त्रिवि किर्तिपुरले आइतबार एक विज्ञप्ति जारी गर्दै स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गर्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ । त्रिविले यसअघि विभिन्न अवरोध भई तालिका अनुसार काम नभएका क्याम्पसहरुमा पनि फागुन १८ मै निर्वाचन सम्पन्न गर्नेगरी तालिका मिलाई अघि बढ्न सवै क्याम्पसहरुलाई परिपत्र जारी गरेको छ ।

विदेशमा कमाएको पैसा श्रीमतीले लिएर भागेपछि श्रीमानको बिजोग

कञ्चनपुर, फागुन १५ । चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ । मलेसियामा चार वर्ष दुःख गरेर कमाएको रु १० लाख र घरभित्र रहेका सबै गरगहना लिएर ३९ वर्षीया श्रीमती मञ्जुदेवी भागेपछि डगौरा बिजोगमा परेका हुन् । दुई छोरा र एक छोरीकी आमा रहेकी मञ्जु भोजराज मलेसियाबाट फर्कनुभन्दा तीन दिनअघि मात्रै नगद र गरगहना लिएर भागेकी हुन् । माइतीमा रहेकी बज्यैलाई भेट्न भनेर गएकी उनी बेलौरी नगरपालिका–७ भकुण्डाका खुसिराम डगौरासँग भागेर गएको भोजराजले बताए । विदेशमा छँदा मेरै घरमा खुसिरामको आउजाउ बढेको रहेछ उनले भने– “उनले श्रीमतीसँगै कमाएको पैसासमेत लगेका छन् ।” उनले भने– “भगाएर लगेकी श्रीमतीलाई उनले नै लुकाएर राखेका छन् ।” खुसिरामविरुद्ध भोजराजले जिल्ला अदालत, कञ्चनपुरमा मुद्दासमेत दायर गर्नुभएको छ । भोजराजले बूढीआमाको ज्येष्ठ नागरिक भत्ताबापतको रु १० हजार, छोरीको कानमा लगाएको आधा तोला सुन, घरमा रहेको अरु अढाइ तोला सुन र वृद्ध आमाको सुनको फुलीसमेत निकालेर लगेको बताए । विदेशबाट प्रतिमहिना आइएमई गरेर पैसा पठाउँथेँ उनले बैंकमा पैसा राख्दै आएको जवाफ दिन्थिन् उनले भने– “विदेशबाट फर्केर बैंक खातामा हेर्दा रु एक लाख ८८ हजार नगद रकम मात्रै फेला परेको छ ।”

शनिबारदेखि धुम्मिएको आकाश आज दिनभर रहने, भिजिविलिटी ह्वात्तै घट्यो

काठमाडौँ, फागुन १५ । भारतको जम्मु कश्मिरबाट मुलुकको पश्चिमी भाग हुँदै भित्रिएको मौसमी प्रणालीका कारण शनिबार रातिदेखि नै देशभरको आकाश धुम्मिएको छ । ‘अकस्मात कश्मिरबाट शनिबार राति आएको डिस्ट्रबेन्सले वायुमण्डल धुम्मिएको हो,’ जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने– ‘यो आज दिनभरी नै रहने देखिन्छ ।’ बाक्लो बादलसंगै उपत्यकाको वायुमण्डल र तल्लो तहमा तुँवालो लागेका कारण ‘भिजिबिलिटि’ पनि ह्वात्तै घटेको मौसमविद्ले बताएका छन् । श्रेष्ठका अनुसार कश्मिरमा विकसित भएको प्रणाली सूदूरपश्चिमको डडेलधुरा, धनगढी हुँदै शनिबार राति काठमाडौंको वायुमण्डलमा आएको हो । ‘मनसुनमा बाहेक सबैजसो मौसमी प्रणाली पश्चिमबाट भित्रिने भएकाले बेलाबेलामा यस्तो गडबडी आइरहन्छ,’ उनले भने । महाशाखाका अर्का मौसमविद् सुवास रिमालले मध्य नेपाल र पूर्वी पहाडीक्षेत्रमा देखा परेको ‘लो प्रेशर सिस्टम’ का कारण पनि मौसममा बदली भएको हो । ‘आकाशमा बादल र तल बाक्लो तुवाँलोका कारण अँध्यारो छाएको छ,’ मौसमविद् रिमालले भने, ‘पानी नपरुन्जेल र उच्च गतीको हावा नआउन्जेज बिहान यस्तो खालको तुवाँलो (हेज) रहिरहन्छ ।’ दिउँसो भने घाम लागेसंगै केही खुल्दै जाने उनले बताए । आगामी सोमबार पश्चिमी क्षेत्रमा अर्को मौसमी प्रणाली विकसित हुने देखिएकाले त्यस क्षेत्रमा भने वर्षा हुने महाशाखाले अनुमान गरेको छ । मुलुकभर भने अहिले नै वर्षाको संकेत नदेखिएको रिमालले बताए ।

वनतरुल खन्दा बम भेटियो, ३ दिनदेखि पुगेन डिस्पोजल टोली

रुकुम, फागुन १५ । रुकुममा बनतरुल खन्दा बम भेटिएको छ । चौरजहारी नगरपालिका–८, घर्तीकाँडामा जयप्रकाश बोहराले वनतरुल खन्ने क्रममा दुईवटा बम फेला पारेका हुन् । गत शुक्रबार तरुल खन्दा बम भेटिनेवितिक्कै उनले प्रहरीलाई खबर गरेका थिए । एउटा बमको केही भाग देखिएको छ भने अर्को प्लाष्टिक भित्र राखेको अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । बम डिस्पोजल टोली आइनपुगेका कारण प्रहरी चौकी सर्केनाले तीनदिनदेखि बमको पहरा दिएर बसेको छ । जिल्ला प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक अंगुर जिसीले उक्त बम सशस्त्र युद्धको क्रममा गाडेको हुन सक्ने बताए । बम डिस्पोजल प्रहरीले गर्न नमिल्ने भएकाले तीनदिनदेखि पहरा दिइरहेको उनको भनाइ छ । नेपालगञ्जबाट बम डिस्पोजल टोली बोलाइएको र डिस्पोजको तयारी भइरहेको उनले बताए । ठूलो प्लास्टिक भएकाले अरु धेरै बमहरु पनि मुनि हुन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् । बम भेटिएलगत्तै प्रहरीले ज्वालादल गणलाई खबर गरेर जानकारी गराएको थियो । चौरजहारीमा रहेको व्यारेकबाट नेपाली सेना आएर बम हेरेर डिस्पोजल सोही दिन नै टोली बोलाउने भन्दै फर्किएको थियो । तर तीनदिन वितिसक्दा पनि डिस्पोजल हुन सकेको छैन ।

ट्रकको पछाडी मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, अर्का एक गम्भीर

खोटाङ, फागुन १४ । ट्रकको पछाडीपट्टी मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका एक जनाको मृत्यु भएको छ भने अर्का एक जना भने गम्भिर घाइते भएका छन् । शनिबार हलेसीबाट जयरामतर्फ जाँदै गरेको बा २ ख ५२०८ नम्बरको ट्रक र सोही दिशामा आइरहेको स ४ प ४८६१ नम्बरको मोटरसाइकल ट्रकको पछाडीपट्टि ठोक्किएको थियो । दुर्घटनापछि मोटरसाइकलमा सवार त्रियुगा नगरपालिका–२ का कमल राईको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बाहुनीडाँडा–५ कदुवाको रातोडाँडामा भएको दुर्घटनामा राईकी श्रीमती पबि राई गम्भीर घाइते भएकी छन् । घाइतेको आस्था मेडिकल हल हर्कपुर ओखलढुंगामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताए । मोटरसाइकल चाकलले लगाएको हेल्मेट समेत ट्रकमा ठोक्किएर फुटेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि गाईघाट पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।