न्यायाधीश बिदामा बसेपछि सन्दीपको मुद्दाको सुनुवाइ स्थगित
काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आइतबार पनि सुनुवाइ नहुने भएको छ।
आजका लागि इजलास नं १३ मा न्यायाधीश भोलानाथ ढकालको इजलासमा पेशी तोकिएको थियो। तर न्यायाधीश ढकाल बिदामा बसेका कारण सुनुवाइ नहुने भएको हो। मुद्दाको सुनुवाइ स्थगित गरिएको अधिवक्ता मुरारी सापकोटाले जानकारी दिए।
यसअघि वैशाख ११ गते अढाई घण्टा बहस भएर पनि मुद्दाको फैसला हुन सकेको थिएन। जाहेरवालाका ५ कानुन व्यवसायीले बहस गरेपनि न्यायाधीश दीपक ढकालले मुद्दा हेर्दाहेर्दैमा नराख्ने भनेपछि फेरि सुरुबाटै सुनुवाइ हुने भएको हो।
टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न कठिनाई : दूरसञ्चार प्राधिकरण
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन र इन्टरनेटका तार एकै पटक व्यवस्थित गर्न कठिनाई हुने भन्दै दूरसंचार सेवा अवरुद्ध नहुने गरी यसको व्यवस्थापन कार्य अगाडी बढाइएको जनाएको छ । काठमाडौं महानगरपालिकाले यही वैशाख २७ गतेसम्म महानगरपालिकाभित्रका तार व्यवस्थियत गर्न अल्टिमेटम दिएपछि दूरसञ्चार प्राधिकरणले विज्ञप्ति जारी गर्दै काम अगाडि बढाइएको तर एकै पटक व्यवस्थित गर्न कठिनाइ हुने जनाएको हो । विज्ञप्तिमा भनिएको छ, दीर्घकालीन रुपमा तार लगायत अन्य युटिलिटीहरुको व्यवस्थापनको लागि सडक निर्माण हुदाँ युटिलिटी डक्टको व्यवस्था गर्न आवश्यक कानुन निर्माण भईरहेको छ । यस्तै, दूरसंचार पूर्वाधार सेवा प्रदायकको व्यवस्था गर्न नेपाल सरकारलाइ यस अगाडिनै सिफारिस भई नियमावली पारित हुने अन्तिम चरणमा रहेकोले अव्यवस्थित तारको व्यवस्थान हुनुको साथै दोहोरो लगानीको समेत अन्त्य हुने कार्य भईरहेको प्राधिकरणले जनाएको छ । अव्यवस्थित रुपमा रहेको तारहरुलाई अल्पकालीनरुमा व्यवस्थापन गर्ने क्रमममा महानगरपालिका, इन्टरनेट सेवा प्रदायक संघ नेपाल र प्राधिकरण समेतको सहकार्यमा सिंहदरवार वरिपरी, पुतलीसडक, कमलादी, ठमेल, एयरपोर्ट, माइतीघर लगायत पाटन दरवार क्षेत्रको प्रयोगमा नरहेको तार हटाई बंडलिंग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । प्राथमिकताको आधारमा अन्य रुटमा समेत एबिल बनाई तार व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइने प्राधिकरणले जनाएको छ ।
मन्त्री बन्दै कांग्रेस नेता आचार्य, आजै शपथ
काठमाडौं । नेपाली कांग्रेसका नेता सुरेन्द्र आचार्य मन्त्री बन्दै छन् । उनलाई वर्तमान सरकारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बनाउन लागिएको हो । उनलाई आज मन्त्रीमा नियुक्त गर्ने तयारी छ । उनको पद तथा गोपनीयताको शपथ पनि आजै दिउँसो साढे १२ बजेका लागि निर्धारण गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आज
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेको मुद्दाको अन्तिम बहसको पेशी आजलाई तोकिएको छ। गत वैशाख ११ गते मुद्दाको अन्तिम बहस सुरु भए पनि न्यायाधीश दीपक ढकालले लामो बहसपछि मुद्दा हेर्न नभ्याइनेमा राखेसँगै लगातार सुनुवाइ हुन सकेको थिएन। जसको पेशी आजका लागि तोकिएको छ। बलात्कार आरोप लागेका लामिछानेको मुद्दाको चाँडो किनारा लगाउन सर्वोच्चले आदेश दिएको भए पनि विभिन्न कारणले मुद्दाको अन्तिम सुनुवाइ प्रभावित हुँदै आएको छ। गत फागुन १५ गते फास्ट ट्र्याकबाट सन्दीपविरुद्धको मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार उनको मुद्दामा पेशी तोकिएपनि पटक–पटक विभिन्न कारणले ढिला हुँदै आएको छ। सन्दीपलाई काठमाडौँ जिल्ला अदालतले प्रारम्भिक सुनुवाइमा पुर्पक्षका लागि जेल चलान गरेको थियो। तर पाटन उच्च अदालतले उनलाई थुनामुक्त गरेको थियो भने विदेश जान रोक लगाएको थियो। सन्दीपले सर्वोच्चोमा पुनरावेदन गरेपछि उनलाई सर्वोच्चले विदेश जान अनुमति दिएको थियो। मुद्दाको अन्तिम फैसला भने जिल्ला अदालतमा हुन बाँकी छ।
मुगु हिमपहिरो अपडेटः यार्सागुम्बा संकलन गर्न गएका जुम्लाका तीनजनाको मृत्यु
जुम्ला । मुगुको च्यार्खु लेकमा हिउँ पहिरामा परेर जुम्लाको पातारासी गाउँपालिकाका तीनजनाको ज्यान गएको छ । पातारासी–२ तल्फीगाउँका ४० वर्षीय तारासिंह सार्की, ३६ वर्षीय पुन्न सार्की र ३६ वर्षीय वीर बोहोराको निधन भएको पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिइन्। यार्सागुम्बा संकलनका लागि पातारासीबाट गएका १४ जनाको टोलीमध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिइन्। उनका अनुसार अन्य सामान्य घाइते भएका छन् । दुई जना सकुशल छन्। उनीहरूको उद्धार गर्न मुगुको जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारलाई जानकारी गराएको उपाध्यक्ष रोकायाले जानकारी दिइन्। शनिबार दिउँसो खबर आएसँगै इलाका प्रहरी चौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले जानकारी दिए। यार्सागुम्बा संकलनका लागि गाउँपालिकाले आगामी जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने भनिए पनि त्यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हुँदै मुगुको पाटनमा पुगेका छन्। बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थियो।
संघीय संसद्का नवनियुक्त सचिवद्वय पाण्डे र डा. अर्यालले आज सपथ लिदै
काठमाडौं । सङ्घीय संसद् अन्तर्गतका सचिवद्वय पदमप्रसाद पाण्डे र डा. सुरेन्द्र अर्यालले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । सङ्घीय संसद् सचिवालय, सिंहदरवारमा आयोजना हुने एक समारोहका बीचमा उनीहरूले शपथ लिने भएका हुन् । शपथ समारोह बिहान १०ः १५ बजे कृषि समितिको हल, सिंहदरवारमा हुने तय भएको छ । प्रतिनिधिसभाका सचिव पाण्डे र राष्ट्रियसभाको सचिवमा डा. अर्याल गत बैशाख २१ गते नियुक्त भएका थिए । संघीय संसद् सचिवालयमा सहसचिव पदमा कार्यरत पाण्डे र अर्याललाई राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार सचिव पदमा नियुक्त गरेका हुन । उनीहरु दुवैजना नेपालको संविधानको धारा १०६ बमोजिम सचिव पदमा नियुक्त भएका हुन ।
आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै
काठमाडौं । आज आठौँ राष्ट्रिय पत्रकारिता दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । मुलुककै जेठो समाचारमूलक पत्रिका गोरखापत्रको प्रकाशन आरम्भ भएको दिन १९५८ वैशाख २४ गतेको अवसरमा हरेक वर्ष वैशाख २४ गते राष्ट्रिय पत्रकारिता दिवस मनाउने गरिएको छ । ‘पत्रकारितामा खोज र नवीनताः लोकतान्त्रिक गणतन्त्रको सफलता’ भन्ने मूल नाराका साथ पत्रकारिता दिवस मनाउन थालिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा वैशाख २४ गते दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा विशेष समारोह आयोजना गरिने भएको छ । सो समारोहमा नेपालको पत्रकारिताको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने दुई जना वरिष्ठ पत्रकारलाई सम्मान र छ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार प्रदान गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्रीका सञ्चारविज्ञ नरेन्द्र केसीले जानकारी दिए । समारोहलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रपतिदेखि वडाध्यक्षसम्मको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्छ : महामन्त्री थापा
धादिङ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्वास्थ्योपचारका नाममा राष्ट्रको ढुकुटीबाट हुने खर्च रोक्न सकेमात्रै पनि देशमा बढ्दै गएको आर्थिक मन्दी कम गर्न सकिने बताएका छन् । नेपाल वितरक सङ्घको ११ औँ वार्षिक साधारणसभालाई आज धादिङबेँसीमा सम्बोधन गर्दै महामन्त्री थापाले भने , ‘म यो वर्ष कुनै पनि ठाउँमा कसैलाई पनि स्वास्थ्योपचारका नाममा एक रुपैयाँ पनि राष्ट्रको ढुकुटीबाट खर्च गर्दिनँ भनेर सबैले व्यवहारमा लागू गर्न सक्नुपर्छ ।’ उनले देशको आर्थिक भार कम गर्न राष्ट्रपतिदेखि वडाध्यक्षसम्म सबैको तलबबाहेकका सबै सुविधा कटौती गर्नुपर्ने बताए । उनले भने, ‘सांसदले तलब पाउँछ, संसद् बैठक बसेको बेला सांसदहरूले बैठक भत्ता पाउँछ । त्यो ठूलो पैसा छैन । तर यो वर्ष अप्ठयारो परेको वर्ष भएकाले सांसदले हामी यसरी प्राप्त गरिरहेको सेवा सुविधा कटौती गर्छौँ भनेर लाग्यौँ भने बल्ल देशभित्रको आर्थिक व्यवस्थापन सहज बनाउन सहयोग पुग्नेछ’, । आर्थिक हिसाबले देश अप्ठ्यारो परेको वर्ष भएकाले राष्ट्रपतिदेखि सांसद हुँदै वडाध्यक्षसम्म सबैले अन्य सुविधा कटौती गरेर देशको अप्ठ्यारो फुकाउनेतर्फ लाग्नुपर्ने उनको भनाइ छ ।
रास्वपाद्वारा ३६ विभाग गठन कुन विभागको प्रमुख को ? (सूचीसहित)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले (रास्वपा) ३६ वटा विभाग गठन गरेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय समिति बैठकले ३६ वटा विभाग गठन गर्दै प्रमुखहरू तोकेको प्रवक्ता मुकुल ढकालले जानकारी दिए । हेर्नुस नामावली कुन विभागको प्रमुख को ?
रास्वपा संसदीय दलको नेतामा रवि लामिछाने चयन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन् । पार्टीको सोमबार बसेको संसदीय दलको बैठकले उनलाई दलको नेता चयन गरेको हो । बैशाख १० मा सम्पन्न उपनिर्वाचनबाट चितवन २ मा पुन चुनाव जितेसँगै उनलाई संसदीय दलको नेता बन्ने बाटो खुलेको थियो । नागरिकताको विषयमा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेपछि उनी संसदीय दलको जिम्मेवारीबाट पनि मुक्त भएका थिए । उपनिर्वाचन जितेपछि लामिछानेलाई दलको नेता बनाउन डीपी अर्यालले पद शनिबार छाडेपछि सोमबारको बैठकले लामिछानेलाई दलको नेता चयन गरेको हो ।
अयोग्य लडाकुबारेको फैसला कार्यान्वयन गर्दा ‘स्याल हुइयाँ’ मच्चाइयो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिर्गमित लडाकुहरूलाई २ लाख दिने सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा गर्न गर्दा ‘स्याल हुइयाँ’ मच्चाउन खोजिएको बताएका छन्। अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अयोग्य अडाकुलाई २ लाख दिने निर्णय आफू प्रधानमन्त्री भएपछि नभएको पनि उनले स्पष्ट पारे। ‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थिति र देशको सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २ लाख दिनू भनेर गरेको फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुँइया मच्चाउन खोजिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। साथै, उनले उक्त निर्णय अर्कै सरकारको पालामा भएको पनि बताए। ‘हामीले हिजो क्रान्तिमा लागेका सहिदहरुलाई सहिद हुनुपर्छ भन्दा प्रहार भयो। भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘युद्धमा त्याग र बलिदान गरेका सबै योद्धालाई सम्मान गर्नुपर्छ भनेर भन्दा प्रहार भइरहेको छ। त्यो पनि मैले प्रधानमन्त्रीको रुपमा नयाँ आविस्कार गरेको निर्णय होइन।’ साथै, उनले प्रधानमन्त्री पद र जिम्मेवारीलाई आफूले ठूलो चुनौतीका रुपमा लिएको पनि बताए। ‘अहिले देशको प्रधानमन्त्री पद र जिम्मेवारीलाई निकै ठूलो चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु। तपाईंहरुले देख्नुभएको छ, हामीले गर्न खोजेका प्रत्येक सकारात्मक डिसिजनविरुद्ध प्रहार भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। उनले मजदुरहरुलाई सम्बोधन गर्दै अब नजाग्ने हो भने अपमानित गरे सहिदको त्यागलाई उल्ट्याउन प्रयास भइरहेको पनि बताए। ‘हामी नजाग्ने हो भने नगर्जिने हो भने समपूर्ण महान सहिदका त्यागलाई अपमानित गरेर उल्टाउने षडयन्त्र अझ अगाडि जानसक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी आन्दोलित नहुँदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाईं गर्न थालेका छन्। त्यसलाई छुट दिन सकिँदैन।’
फरार सांसद कोइरीलाई पक्राउ गर्न सहयोग माग्दै सभामुखलाई प्रहरीको पत्र
काठमाडौं । नेपाल प्रहरीले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी फरार रहेको सूचना संघीय संसद सचिवालयलाई पठाएको छ । प्रहरीले आज सभामुख देवराज घिमिरेलाई सम्बोधन गरेर हत्या अभियोग पुष्टि भएका कोइरी फरार रहेको पत्र पठाएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए। पत्रमा प्रहरीले सांसद कोइरी फरार रहेकाले पक्राउका लागि सहयोग गर्न आग्रह गरिएको छ। प्रहरीले यसअघि गत पुस ७ गते पनि पत्र पठाइएको थियो। मिति २०७७/०८/१९ गते सम्मानित उच्च अदालत जनकपुरबाट भएको आदेश कार्यान्वयन गर्ने सम्बन्धमा आवश्यक सहयोग गरिने व्यवस्था हुन सादर अनुरोध गरिएको छ,’ त्यतिबेलाको पत्रमा भनिएको थियो। तर पुसको पत्रलाई लिएर कुनै पनि प्रक्रिया अगाडि बढेको थिएन । अर्कोतिर उनले प्रतिनिधि सभाका केही बैठकमा भाग लिएका थिए। पछिल्लो समय उनले आफू बिरामी रहेको भन्दै सभामुखलाई पत्र पठाएका थिए। त्यसलाई अनुमोदन गर्न खोज्दा गत शुक्रबार प्रतिनिधि सभा बैठकमा विवाद भएको थियो। २०७२ को मधेस आन्दोलनका बेलामा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो। कोइरीमाथि विकको हत्या आरोप छ। प्रतिनिधि सभाको नियमावली अदालतको आदेश बमोजिम पुर्पक्षका लागि थुनामा बस्नुपर्नेमा त्यस्तो थुनामा नबसी फरार रहेको भएमा निजलाई सदस्यको हैसियतले कुनै कार्य गर्न वा कुनै अधिकार वा उन्मुक्ति प्राप्त हुने छैन र त्यस्तो अवधिभर निज निलम्बनमा रहने र पारिश्रमिक, सेवा र सुविधा स्थगित हुने व्यवस्था छ।
रास्वपाको केन्द्रीय समितिको बैठक जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक जारी छ। सरकारलाई दिएको समर्थनका विषयमा निर्णय गर्न रास्वपाको बैठक पार्टी कार्यालय बसुन्धरामा बसिरहेको हो। बैठकमा उपचुनावमा पार्टीले प्राप्त गरेको जनमत, सरकारलाई दिएको समर्थन तथा सरकारमा सहभागिता र आगामी कार्यदिशाबारे छलफल भइरहेको नेताहरुले जानकारी दिएका छन्। बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने वा कायम राख्ने अथवा सरकारमा सहभागी हुने विषयमा निर्णय गर्ने प्रवक्ता डा. मुकुल ढकालले जानकारी दिए। प्रतिनिधि सभाको निर्वाचनमा २० वटा सिट जितेको रास्वपाले वैशाख १० गते भएको उपनिर्वाचनबाट थप १ सिट जितेको छ। चितवन २ बाट रास्वपा सभापति रवि लामिछाने पुनः निर्वाचित भएका छन् भने तनहुँ १ बाट स्वर्णिम वाग्ले विजयी भएका छन्। प्रतिनिधि सभाका रास्वपाका सांसदको संख्या २१ पुगेको छ। केन्द्रीय समितिको बैठकपछि आजै दिउँसो ३ बजे रास्वपाको संसदीय दलको बैठक पनि बस्ने छ।
प्रम प्रचण्डद्धारा मौलाकालिका केबलकार उद्घाटन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवलपरासी गैंडाकोटमा मौलकालिका केबलकार उद्घाटन गरेका छन् ।
रास्वपा कार्यालयमा साइकल निषेध, साइकलकै कारण गेटबाटै फर्किए शाह
काठमाडौं । विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहले राष्ट्रिय स्वतन्त्र पार्टी कार्यालयमा साइकल निषेध गरिएको बताएका छन् । पार्टी उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डिपी अर्यालले निमन्त्रणा गरेर कार्यालय पुगेको बताएका शाहले सुरक्षा गार्डले मोटरसाइकल र गाडी छिराउन मिले पनि साइकल नमिल्ने बताएको उल्लेख गरेका छन् । उपाध्यक्ष अर्याललाई फोन गर्दा नउठेपछि आफू भिज्दै निस्केको शाहको गुनासो छ। उनले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् : ‘घन्टी घरको कथा ‘ माननीय डि पि अर्याल : राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्षले चिया गफको लागि बिहान निम्ता दिनुभएको थियो ।अध्यक्ष ज्युलाई नि भेट्नु पर्यो भनेर पुरानो कोट भिरेर सिमसिम पानीमा भिज्दै घन्टी घर बसुन्धारा पुगेँ । पालेज्युले साइकललाई घन्टी घर भित्र प्रबेश छैन भन्नु भो । ढोका खुल्लै देखेर म साइकल लिएरै भित्र पसेँ । भित्र मोटर साइकल चै छिर्न दिइएको रैछ । मैले त्यो बारे प्रश्न गरेँ । पालेले गाडी र मोटर साइकल त पाउँछ भने । पालेज्युको आदेश मानेर म बाहिर निस्केँ । माननिय डि पि अर्याललाई फोन गरेँ : फोन उठेन । थोत्रो कोट भिजाउँदै घर फर्केँ । झ्याक्ने साइकले जिन्नगी 😢
मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना
काठमाडौं । अनुचित लेनदेन मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय स्थापना भएको छ । सरकारको निर्णयअनुसार आयोगको केन्द्रीय कार्यालय जनकपुरमा स्थापना गरिएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आइतबार जनकपुरधाममा केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन । कार्यालयको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले जनयुद्ध तथा विभिन्न आन्दोलनले सामन्तीहरूको पतन भए पनि मिटरब्याजीको रूपमा सामन्ती अवशेष अझै बाँकी रहेको बताए । उनले मिटरब्याजीलाई सहयोग गर्ने कुनै पनि राजनीतिक दल वा पार्टीको नेतालाई नछाड्ने दाबी गर्दै कारबाहीको दायरामा ल्याउने चेतावनीसमेत दिए ।

