विश्वभाषा क्याम्पसमा क्रान्तिकारीवाट प्रकाश थापाको जित्ने दावी

काठमाडौं, फागुन ११ । विश्वका विभिन्न प्रख्यात १५ वटा भाषा पढाइ हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वभाषा क्याम्पसमा अखिल क्रान्तिकारीले प्रकाश थापालाई स्ववियु सभापतिको उम्मेदवारमा अघि सारेको छ।

उम्मेदवार वने लगत्तै थापाले प्रचार अभियानलाई तिब्र पारेका छन्। क्रान्तिकारीको विश्वभाषा क्याम्पस समितिका अध्यक्ष समेत रहेका थापा विद्यार्थी माझ अत्यन्तै लोकप्रिय र सक्रिय रहेकाले उनलाई सर्वसम्मत रुपमा स्ववियु सभापतिमा उठाइएको अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले जनाए।

यसपटकको स्ववियु निर्वाचनमा उम्मेदवार वन्न २८ वर्षे उमेरहद लगाइएकाले पाल्पा पालुङमैनादी -५ का २७ वर्षीय थापा उम्मेदवार वनेका हुन्। थापाले विद्यार्थी माझ सरल,जुझारु र इमानदार विद्यार्थी नेताको छवि वनाएका छन्।

उम्मेदवार वने लगत्तै अखिल क्रान्तिकारीको बलियो पकड मानिने विश्वभाषा क्याम्पसमा आफ्नो विजय सुनिश्चित रहेको थापाले दावी गरे।

मुआब्जाका लागि बूढीगण्डकी प्रभावितसँग लालपुर्जा मागियो

गोरखा, फागुन ११ । बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको छ । पहिलो चरणमा मुआब्जा वितरण गर्न लागिएको गोरखाको घ्याल्चोक, भुम्लिचोक र दर्बुङ गाविसका बूढीगण्डकी प्रभावितलाई डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा रकम लिन लालपुर्जा माग गरिएको हो । राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय गोरखामा खाता खोल्ने प्रयोजनका लागि उनीहरुबाट लालपुर्जा सङ्कलन गरिएको छ, मुआब्जा समितिका संयोजक तथा गोरखाका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भने– अहिलेसम्म ९६ जनाको बैंकमा शून्य मौज्दातमा खाता खोलिसकिएको छ । बूढीगण्डकी प्रभावितमध्ये ४२ जनाको लालपुर्जा सरकारलाई प्राप्त भइसकेको र ती सबैको नाममा बैंकमा खाता पनि खोलिसकिएको छ” उनले भने, “केही दिनमा प्रभावितको खातामा रकम पठाउँछौँ ।” आयोजनाको सिउरेनीटारमा रहेको कार्यालयका कर्मचारीलाई जतिसक्दो छिटो प्रभावित बासिन्दाको लालपुर्जा सङ्कलन गर्न र बैंक खाता खोल्न पनि निर्देशन दिइसकिएको प्रजिअ बस्नेतले बताए । पहिलो चरणमा तीन गाविसका करिब एक हजार जनालाई मुआब्जा वितरण गर्ने तयारी सुरु गरेपनि ती मध्ये करिब दुई सय जनाले मात्र मुआब्जा पाउँ भन्दै निवेदन दिएका छन् । पुनर्वासको टुङ्गो नलाग्दा मुआब्जाका लागि निवेदन नदिएको बताइएको छ ।

महोत्सवको तयारी पूरा

पाल्पा, फागुन ११ । सदरमुकाम तानसेनमा आयोजना हुने पाल्पा महोत्सवको तयारी पूरा भएको छ । पाल्पा उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा हुने ११आँै संस्करणको सो महोत्सवको दुई लाख ५० हजार व्यक्तिले अवलोकन गर्ने र करिब रु आठ करोड बराबरको कारोबारको लक्ष्य रहेको आयोजक समितिका संयोजक मोहनप्रसाद श्रेष्ठले जानकारी दिए । महोत्सवको आम्दानीबाट संस्थाको बहुउद्देश्यीय भवन निर्माण तथा जिल्लाको विकास निर्माणमा गरिने छ । महोत्सवबाट करिब रु ७० लाख आम्दानी हुने अनुमान गरिएको छ । संघको बहुउद्देश्यीय भवन निर्माणका लागि ४० प्रतिशत, सचिवालय व्यवस्थापनमा ३०, पर्यटन प्रवद्र्धनमा १५, स्वर्ण महोत्सवका लागि १० तथा टुँडिखेलको स्तरोन्नतिका लागि ५ प्रतिशत खर्च गरिने समितिका प्रचारप्रसार उपसमितिका संयोजक शैलेन्द्र भट्टराईले बताए । महोत्सवमा चार सय ६३ कक्ष रहने छन् । महोत्सवको मुख्य आकर्षणको रुपमा कर्णेल उजिरसिंह थापाको पूर्णकदको शालिक, राउटेद्वारा निर्मित सामाग्रीको प्रदर्शनी, फोटो प्रदर्शनी तथा कृषिजन्य सामाग्रीको प्रदर्शनी रहनेछ । नेपाल उद्योग वाणिज्य महासङ्घ, सह–आयोजक जिल्ला विकास समिति, तानसेन नगरपालिका, जिल्ला कृषि विकास कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, कृषि उद्यम केन्द्र र नेपाल पर्यटन बोर्ड रहेका छन् । महोत्सवमा जेष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । महोत्सव फागुन १२ गतदेखि २२ गतेसम्म सदरमुकाम तानसेनमा आयोजना हुने छ ।

राष्ट्रिय युवा नायक अवार्ड पाए थापाले

प्रकाश पन्थी जापान, फागुन ११ । विभिन्न विधामा उत्कृष्ट भएका आधारमा गरिने राष्ट्रिय नायक अवार्डबाट जापानमा एक नेपाली सम्मानित भएका छन् । सामाजिक काममा सक्रिय भएर उत्कृष्ट भएको भन्दै जापानको एक संस्थाले प्रत्येक वर्ष प्रदान गर्दै आएको राष्ट्रिय युवा नायक अवार्डबाट पहिलो पटक नेपाली युवा ३७ वर्षका जिज्ञानकुमार थापा सम्मानित भएका हुन् । नेपाली नागरिक भएर पनि जापानबाट सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको भन्दै थापासहित अन्य चार जना जापानी नागरिकलाई मंगलबार टोकियोको सहायक पर्यटकीय व्यापारिक केन्द्र मानिने रोप्पोंगीमा एक कार्यक्रमका बीच युवानायक अवार्ड प्रदान गरिएको थियोे । सन् २००० मा अध्ययनका लागि काठमाडौँबाट जापान आएका थापा गैरआवासीय नेपाली सङ्घको सल्लाहकार र नेपाल जापानको सम्बन्ध विकासमा सहयोगी तथा भूकम्प प्रभावित नेपाली बालबालिकालाई कुखुराको फुल कार्यक्रम चलाउँदै आएको छ । ‘सामाजिक काममा उष्कृष्ट योगदान पुर्याएको’ लेखिएको अवार्ड पाएपछि थापाले सामाजिक दायित्वमा जिम्मेवारी थपिएको अनुभव भएको भन्दै सम्मानले नेपाल र नेपालीको हौसला बढेको बताएको छ । सम्मानित भएपछि जापानस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्याल, गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष भवन भट्ट, गैरआवासीय नेपाली सङ्घ, जापानका अध्यक्ष सुदन थापासहित जापानस्थित विभिन्न संघसंस्थाले बधाई दिएका छन् । विगत सात वर्षदेखि प्रदान गर्दै आएको राष्ट्रिय युवा अवार्ड ८ औँ वर्षमा आउँदा प्रदान गरिने विधालाई परिमार्जन गरी पहिलोपटक नेपाली युवा थापासहित अपाङ्ग भएर पनि सबलाङ्ग सरह योगदान पुर्याएको भन्दै ३६ वर्षीय स्थानीय महिला ओदा युरिको योउइची सम्मानित हुँदा धेरैजना अचम्मित भएका थिए । जापानको युवा विकास संघ नामक संस्थाले स्थापना गरेको अवार्ड ७ वर्षसम्म अनौठो मानिएको विवाहित जोडी र विदेशी नागरिकलाई सम्झना गरिएको थिएन । अनौठो विवाहितजोडिलाई अपाङ्ग भएर पनि विचारमार्फत समाज परिवर्तनमा सफल रहेको भनिएको थियो । सम्मानित भएकी योउइची आफूले एक्लै खान, पिउन तथा कपडा लगाउन र हिँडडुल गर्न सक्दिनन् । युवा नायक अवार्ड वितरण कार्यक्रममा प्राप्त गरेको अवार्ड र माइक समाउन पतिलाई सहायक बनाएकी थिइन् । केही गर्न नसक्ने मलाई माया गर्ने सबलाङ्ग पतिलाई मञ्चबाटै खोज्न आग्रह गर्दा धेरै मानिस भावुक पनि देखिएका थिए । बाँच्नका लागि गरेको योउइचीको साहस र नेपाली युवाको जागर तथा अन्य विधामा उत्कृष्टताका आधारमा ३४ वर्षका हानायागी कोतोओमी, ४० बर्षका फुजीसावा रेचु र ४२ वर्षीय इवाफु युकालाई पनि युवानायक अवार्ड प्रदान गरिएपछि जापानी सामाजिक सञ्जालमा धेरैले बधाई दिएका छन् ।

दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा चारको मृत्यु

लहान, फागुन ११ । सिरहाका छुट्टाछुट्टै स्थानमा गएराति भएका ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ। सिरहाको पिप्रा प्र.पि.–५ स्थित भित्री सडकखण्डमा राति ८ बजे अनटेस्ट लेखिएको ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार पिप्रा प्र.पि.–५ निवासी रुपेश यादव, सोही ठाउँका हरेराम यादव र नितेश यादवको मृत्यु भएको छ । रुपेश र हरेरामको घटनास्थलमै तथा नितेशको उपचारका क्रममा सिरहा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसैगरी, पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–८ स्थित सडकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ३२४८ नम्वरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा सिरहाको धनगढीमाई नगरपालिका–१० निवासी मोहनती यादवको मृत्यु भएको छ । राजमार्गमा अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोहनतीको लहानस्थित रामप्रसाद उमादेवी स्मारक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ ।

पर्वतबाट ९८ हजार मतदाता निर्वाचनमा सहभागी हुने

पर्वत, फागुन ११ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पर्वत जिल्लाबाट ९८ हजार मतदाताले सहभागिता जनाउने भएका छन् । जिल्ला निर्वाचन कार्यालय पर्वतका अनुसार हालसम्म ९८ हजारले फोटोसहितको मतदाता नामावलीमा नाम लेखाएका हुन् । गत असोज मसान्तसम्ममा जिल्लामा ९७ हजार ३९३ जनाले मतदाता नामावलीमा नाम लेखाएका छन् भने ६ सय जनाभन्दा बढीले अन्य जिल्लामा नाम लेखाएकाले ९८ हजारभन्दा बढीले मतदानमा सहभागिता जनाउन पाउने भएको जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले जानकारी दिए । जिल्लामा संकलन भएका ९७ हजार ३९३ जना मतदातामध्ये ४६ हजार १८६ पुरुष र ५१ हजार २०७ महिला रहेका छन् । पुरुष बढी मात्रामा वैदेशिक रोजगारीका लागि मुलुक बाहिर भएकाले पनि महिलाहरुको सङ्ख्या बढी भएको हो । मतदाता नामावलीमा नाम लेखाएका मध्ये दुईहजार ९३० जनाले भने मतदानमा सहभागी हुन नपाउने भएका छन् । उनीहरु फागुन मसान्तसम्म १८ वर्षभन्दा कम उमेर समूहका हुने भएकाले उनीहरुले स्थानीय तहको निर्वाचनमा सहभागिता जनाउन नपाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिए । सरकारले सोमबार आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेपछि मंगलबारदेखि नै मतदाता नामावली सङ्कलन कार्य रोकिएको छ । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय, हुवासबाट समेत मतदाता नामावली संकलन हुँदै आएकोमा मंगलबारदेखि सबैठाउँमा रोकिएको हो । उनका अनुसार स्थानीय तहको निर्वाचनसम्म मतदाता नामावली संकलनको कार्य हुँदैन । विदेशमा भएका वा अन्य कुनै कारणले छुटेकाहरुले स्थानीय निर्वाचनपछि मात्र पुनः मतदाता नामावलीमा नाम लेखाउन पाउने भएका छन् । निर्वाचन कार्यालयले २०७० सालको सविधान सभा निर्वाचन अघिदेखिनै मतदाता नामावली सङ्कलन गर्दै आएको थियो । उक्त अभियानबाट हालसम्म ९९ हजार १३० जनाले नाम लेखाएको भएपनि दुई हजार ९३० जना १८ वर्षभन्दा कम उमेर समूहका रहेकाले मतदान गर्नका लागि अयोग्य रहेको कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालय पर्वतले सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै सबैजसो तयारी सुरु गर्न थालेको जनाएको छ ।

माओवादी केन्द्र निसी–६ नम्बर वडापालिकाको भेला सम्पन्न

कृष्ण कँडेल/  बागलुङ फागुन ११ । नेकपा माओवादी केन्द्रि प्रस्तावित निसीखोला गाउँपालिकाको वडा नम्बर–६ को भेला सम्पन्न भएको छ । भेलाले निसीखोला गाउँपालिकाको प्रस्तावित वडा नम्बर–६ को भेला आयोजक समिति तथा वडा पालिका स्तरिय अन्य विभिन्न समितिहरु गठन गरेको छ । भेलाले ईन्द्रबहादुर घर्ती संयोजक र श्यामलाल विका सहसंयोजक रहेको माओवादी केन्द्रको ५१ सदस्यीय वडा पालिका स्तरिय भेला आयोजक समिति गठन गरेको छ । त्यस्तै दुर्गाबहादुर छत्यालको संयोजकत्वमा ५ सदस्यीय आर्थिक समिति, डिलबहादुर घर्ती संयोजक र राजकुमार विक सहसंयोजक रहेको १५ सदस्यीय वाईसिएल समिति र कुम्बिर विश्वकर्माको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति गठन गरेको छ । भेलामा बोल्दै नेकपा माओवादी केन्द्र प्रश्तावित निसीखोला गाउँपालिका ईन्चार्ज प्रेमबहादुर घर्तीले सरकारले घोषणा गरेको स्थानिय तहको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिए । घर्तीले गणतन्त्र, संविधान सभाबाट संविधान निर्माण, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता लगायतका मुद्धा माओवादी आन्दोलनले राष्ट्रिय राजनितिमा स्थापित गरेको भन्दै अब निर्वाचनबाट त्यसको व्यवहारिक कार्यान्वयन गर्न सवै राजिनितिक दल एक ढिक्का भएर अघि बढ्नुपर्ने धारणा रखे । कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारी बागलुङका कोषाध्यक्ष कमला पुन लगायतले प्रशिक्षण मुलक मन्तव्य रखेका थिए । भेला नेकपा माओवादी केन्द्र निसीगाउँ कार्यासमिति ईन्चार्ज नरेन्द्रबहादुर घर्तीको अध्यक्षता र भुमिराज घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो ।

मोर्चाद्वारा राजविराजमा प्रदर्शन

राजविराज, फागुन  ११। सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेकोमा विरोध जनाउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले मंगलबार साँझ सप्तरीको सदरमुकाम राजविराजमा मसाल जुलुस प्रदर्शन गरेका छन् । राजविराजस्थित शिव मन्दिरको प्राङ्गणबाट निस्केको मोर्चाको मसाल जुलुसमा सरकारविरुद्ध नाराबाजी गर्दै आफूहरुको माग सम्बोधन नहुन्जेलसम्म कुनै पनि निर्वाचन हुन नदिने भन्दै राजविराजका विभिन्न भागको परिक्रमा गर्दे स्थानीय जनआन्दोलन चोकमा गएर सम्पन्न भएको थियो । सरकारले घोषणा गरेको निर्वाचनको विरोधमा उत्रिएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको मधेस बन्दको पूर्वसन्ध्यामा मङ्गलबार साँझ मसाल जुलुस प्रदर्शन गरेको मोर्चाले जनाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले आउँदो वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने मिति घोषणा गरेको थियो । त्यस्तै, मोर्चाका कार्याकर्ताले जिल्लाको भारदह, कञ्चनपुर, हनुमाननगरलगायतका ठाउँमा समेत मसाल जुलुस प्रर्दशन गरेको प्रहरीले जनाएको छ । रासस

इटहरीमा धार्मिक तीर्थस्थलदेखि शव दाहस्थलसम्म सरसफाइ अभियान

इटहरी, फागुन १० । नेपाली सेनाका पूर्वी पृतना मुख्यालय इटहरीअन्तर्गत रहेको बटुक दल गणका प्रमुख सेनानी शुलभ खड्काको नेतृत्वमा रहेको १०० भन्दा बढी सैनिक जनशक्तिले आज बृहत् सरसफाइ अभियान सम्पन्न गरेको छ । नेपाली सेनाले इटहरी उपमहानगरपालिकामा रहेको बूढीगङ्गा जमुना धार्मिक तीर्थस्थल क्षेत्रको मन्दिर परिसर, शव दाहस्थल र बूढीगङ्गा जमुना नदी क्षेत्र समेतको सफाइ गरेका छन् । प्रमुख सेनानी खड्काले सप्ताहव्यापी सफाइ अभियानको क्रममा बूढी गङ्गा जमुना क्षेत्रलाई सुन्दर सफा र बाहिरबाट आउने मानिसले हेर्नासाथ अति सफाइ क्षेत्रको पहिचान नै इटहरी बनाउने उद्देश्यले यो सफाइ अभियान चलाएको उनले बताए । सफाइका क्रममा बूढीगङ्गा जमुना नदीमा भएको फोहर तथा बूढीगङ्गा जमुना शव दाहस्थल र आसपासका क्षेत्रमा फेला परेका फोहर जम्मा पारेर डढाउने तथा त्यसलाई व्यवस्थित तुल्याई राख्ने कार्यमा नेपाली सेनाले सशक्त योगदान पुर्याएको भन्दै श्री कृष्ण राधाकृष्ण प्रणामी मन्दिरका ज्येष्ठ नागरिकले नेपाली सेनाले उत्कृष्ट काम गरेको भन्दै सफाइ अभियानको प्रशंसा गरेको छ । नेपाली सेनाको बटुक दल गणले एक हप्ताभरि सञ्चालन गर्ने यो सफाइ अभियानका क्रममा इटहरीको राधाकृष्ण मन्दिर, लक्ष्मीनारायण, शनि मन्दिरलगायतका क्षेत्रमा सरसफाइ अभियान चलाइ इटहरीवासीलाई आफ्नो धार्मिक तीर्थस्थल क्षेत्रलाई सधैं सफा राख्न सन्देश दिने कार्य समेत गरिने योजना रहेको प्रमुख सेनानी खड्काले बताए ।

अलपत्र छोडिएको विद्यालय भवन नेपाली सेनाले बनायो

रसुवा, फागुन १० । नेपाली सेनाले धुन्चेस्थित रसुवा माविको अधुरो भवन बनाउन आजदेखि सुरु गरेको छ । प्रअ तेम्पारिसाङ घलेका अनुसार- ‘भूकम्पअगावै थाम उठाई ढलान भएपनि विविध कठिनाइले दुई तलासम्म बनाइसकिएको विद्यालय भवन अधुरै रहेकाले लाङ्टाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना नारायणदल गणले निर्माणको काम सुरु गरेको हो ।’ लाङ्टाङ निकुञ्जको जैविक संरक्षणका साथसाथै सामाजिक कार्यमा समेत योगदान पु¥याउँदै आएको नारायणदल गणले भूकम्पले जीर्ण बनाएको धुन्चेस्थित शिव मन्दिर पुनःनिर्माण, धुन्चे–४ भिमली प्राविमा चारकोठे शौचालय निर्माण गर्नाका साथै धुन्चे प्रवेशद्वार नजिक प्राकृतिक स्रोतलाई संरक्षण गर्दै पानीट्याङ्की तथा धारा पनि बनाएको छ ।

सर्लाहीमा ट्रयाक्टर दुर्घटना, चालकको ज्यान गयो

काठमाडौं, फागुन १० । सर्लाहीको रामनगर–९ मा गएराति ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै ज्यान गएको छ । ना ४ त १७७ नम्बरको ट्रयाक्टर गएराति साढे ११ बजे सडकबाट झण्डै १० मिटर तल खसेको इलाका प्रहरी कार्यालय गडहियाले जानकारी दिएको छ । दुर्घटनामा ट्रयाक्टर चालक रामनगर बहुअर्वाका इन्द्रजित यादवको ज्यान गएको हो । मृतकको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल मलंगवा पठाइएको छ ।

सहिद स्मृति दिवसमा रक्तदान

काठमाडौं, फागुन ९ । जन–आन्दोलनका शहिद कृष्णप्रसाद पौडेलको स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । ढोरेली सेवा समाजले वनस्थलीस्थित राष्टि«य मृगौला केन्द्रमा सो बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । नेपाल सरकारका सचिव विष्णु प्रसाद लम्सालको प्रमुख आतिथ्यमा आयोजित सो कार्यक्रममा उपस्थित वक्ताहरुले शहिदले परिवर्तका लागि दिएको वलिदान संविधानको सफल कार्यन्वयन गरी राष्ट्रको संमृद्धीबाट मात्र सार्थक हुने बताएका थिए । समाजका तर्फबाट अध्यक्ष युवाराज थापाले रक्तदान जिवन जस्तो उत्कृष्ट मानवीय सेवा गरी शहिदको उच्च सम्मान गरेको बताए । तत्कालिन विभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहने शहिद कृष्ण प्रसाद पौडेल तत्कालिन राज्य प्रहरीले कार्यक्रम स्थलबाट तितरबितर पार्ने क्रममा २०४६–११–५ गते पक्राउ गरी यातना दिएर तीनदिनपछि उपचारका क्रममा मृत्यु भएको थियो । साथै कार्यकम्रको सह–आयोजक रहेको राष्ट्रिय मृगौला उपचार केन्द्रले निशुल्क मृगौला चेकको अवसर प्रदान गरेको थियो । कार्यक्रमस्थलमा मा ९५ जनाले निशल्क मृगौला चेकअप गराएका थिए भने ६२ जनाले रक्तदान गरेका थिए । रक्तदान गर्नेहरुलाई समाजले प्रशंसा–पत्र प्रदान गरेको थियो ।

विद्यार्थीको रहस्यमय मृत्युपछि स्थिती तनाव

बनेपा, फागुन ९ । बनेपाको ज्ञानकुञ्ज माध्यमिक विद्यालयको होस्टेल बसेका एक विद्यार्थीको रहस्यमय मृत्यु भएपछि घटनाले उग्र रुपमा लिएको छ । घटनाबारे सत्यतथ्य छानविन गर्नु पर्ने भन्दै दोषीलाई कारवाहीको गर्नुपर्ने माग राख्दै उत्तेजित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले सात राउण्ड हवाइ फायर समेत गरेको छ । आक्रोशित भीडले विद्यालयमा तोडफोड गर्न थालेपछि प्रहरी र स्थानीयवीच दोहोरो झडप समेत भएको थियो । झडपमा तीन प्रहरी र तीन स्थानीय बासिन्दा सामान्य घाइते भएका बताइएको छ । विद्यालयमा दुई महिनादेखि छात्रावासमा रहँदै आएका काभ्रेपलाञ्चोकको उग्रतारा जनागाल–८ निवासी १७ वर्षका कृष्णराम पुर्कोटी (प्रमोद)को रहस्यमय ढङ्गले ज्यान गएको छ । कक्षा १० मा अध्ययनरत पुर्काेटीको विद्यालय व्यवस्थापनको लापर्वाहीका कारण मृत्यु भएको परिवारजनको आरोप छ । प्रहरीले भने अस्पतालमा उपचारको क्रममा उनको ज्यान गएको जनाएको छ । मृतकका फुपू सारिका पुर्कोटीले मृतकको शरीर र घाँटीमा नीलडाम भएको जिकिर गर्दै घटनाको सत्यतथ्य छानविन गर्न माग गरेकी छिन् । जनजीवन सामान्य भएपनि पीडितका आफन्तले अहिले पनि प्रहरी कार्यालय बनेपामा घेराउ गरिरहेका छन् । कक्षा १० मा अध्ययनरत विद्यार्थी पुर्कोटी प्रवेशिका परिक्षाको तयारी थिए । प्रहरीले कृष्णरामको कोठामा सुतेका विद्यार्थीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ ।

बालविवाह गराउने चारजना प्रहरी हिरासतमा

गुल्मी, फागुन ९ । बालविवाहका अभियोग लागेका चारजनालाई प्रहरीले हिरासतमा लिएको छ । हिरासतमा लिएकाहरुमा गुल्मी खड्गकोट गाविस–४ का पवन ढकाल, पर्वत शङ्कर पोखरी गाविस–९ की सुशीला भुसाल, पर्वत देवीस्थान–७ की सीता भुसाल र सोही गाविस–२ का नारायणप्रसाद कँडेल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । मुलुकी ऐन, २०२० को विवाहवारी महलअनुसार बालविवाह गरेको पाइएमा रु १० हजार जरिवाना र छ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । जिल्लामा बालविवाह सम्बन्धीे घटनामा प्रहरीसमक्ष धेरै कम उजुरी आउने गरेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार पाँच वर्षको अवधिमा बालविवाहको कसुरमा उजुरी दर्ता भएको यो दोस्रो पटक हो ।

बालबालिकाहरु विद्यालयका पढाई छोडेर गिट्टी कुट्दै

दाङ, फागुन ९ । तुलसीपुर झरेका अधिकांश बालबालिका पातुखोलामा गिट्टी कुट्न बाध्य छन् । स्थायी घर सल्यान, रुकुम, रोल्पा र प्युठान बताउने बालबालिका विद्यालय जानुको सटृा जीविकोपार्जनका लागि यहाँ आइपुगेका हुन् । छात्रवृत्ति पाउने आशाले भने विद्यालयमा भर्ना भएका बालबालिका पनि आम्दानीका लागि गिट्टी कुटन आएको बालबालिकाको भनाइ छ । गिट्टी कुट्दा आम्दानी धेरै हुने र लगानी नपर्ने बालक सुरेन्द्र परियार बताए । पातुखोलामा आठ वर्षदेखि १५÷१६ वर्ष उमेरका बालबलिका गिट्टी कुट्नमा व्यस्त हुन्छन् । आय स्रोत नभएको र बाबु आमाको कमाइले मात्र बिहान बेलुकाको छाक टार्न नसक्ने हुँदा आफू पनि गिट्टी कुट्न बाध्य भएको बालिका अन्जु विक उल्लेख गर्छिन् । विद्यालय जाने चाहना हँुदा हुँदै पनि गरिबीका कारण मजदुरी गर्नु परेको बालबालिकाहरुको भनाइ छ । ‘मलाई स्कुल जाने रहर छ तर मेरो आमा बुबा यहाँ हुनुहुन्न म मामाघरको हजुरआमासँग बस्छु बालक रिदम परियारले भने । पारिवारिक अवस्था र आमा बुबाको लापर्बाही र जनचेतनाको अभावले हातमा कापी कलम लिएर विद्यालय जाने उमेरमा ढुङ्गा गिट्टी कुटेर बस्नुपर्ने परिस्थिति आएको महिला स्वास्थ्य स्वयम्सेविका यमुना परियारले बताए । शिक्षामा पहुँच पु¥याउनका लागि श्रमबाट मुक्त गरी विद्यालयमा भर्ना गरेका बालबालिका धेरै छन् तर तुलसीपुरका बालबालिका भन्दा अन्य जिल्लाबाट आएका बढी भएकाले तुलसीपुर नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्र्न चुनौतीको विषय भएको नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डाँगीले बताए । तुलसीपुर बजार राप्ती अञ्चलकै व्यापारिक केन्द्र भएकाले यो क्षेत्र बालबालिका र अभिभावकको रोजगार थलो बनेको हो ।

खुकुरी प्रहारबाट एकको मृत्य

डडेल्धुरा, फागुन ९ । खानेपानीको विषयलाई लिएर भएको विवादमा खुकुरी प्रहारबाट यहाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डडेल्धुरा कोटेली गाविस–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउद रहेका छन् । खानेपानीको विषयलाई लिएर भएको सामान्य विवादले चर्को रुप लिएपछि सोही ठाउँका २४ वर्षीय भीमबहादुर भुलले खुकुरी प्रहार गर्दा साउदको आइतबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल, डडेल्धुरामा ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । खुकुरी प्रहार गर्ने भीमबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेकाले सो सम्बन्धी पटक पटक विवाद हुँदै आएकोस्थानीयवासीको भनाइ रहेको छ । मृतक साउद कोटेली गाविसस्थित मानवअधिकार निगरानी समूहका अध्यक्ष समेत रहेको थियो ।