प्रेमि डाक्टरले विवाह गर्न नमानेपछी नर्स अनुमाले आत्महत्या गरेको खुलासा
काठमाडौं । विवाह गर्न नमानेको भन्दै प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेकी छिन्। नर्स समेत रहेकी प्रेमिका अनुमा श्रेष्ठले आत्महत्या गरेकी हुन्।
प्रेमी सुजन ढकालले आफूसँग विवाह गर्न नमानको भन्दै प्रेमिका श्रेष्ठले शनिबार काठमाडौं बोहराटारस्थित सुजनको घरमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरी वृत्त बालाजुले अनुसन्धान अघि बढाएको छ। मृतक अनुमा स्टाफ नर्स हुन् भने प्रेमी भनिएका ढकाल डाक्टर रहेका पाइएको छ। अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा कार्यरत रहेका पाइएको छ।
लामो समय प्रेम सम्बन्धमा रहे पनि विवाह गर्न नमानेको भन्दै उनले आत्महत्या गरेको भन्ने खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी दिएका छन्।
‘शव भेटिएपछि हामीले अनुसन्धान अघि बढाएका छौं,’ जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता सिताराम रिजालले भने। प्रहरीले सुसाइड नोट समेत फेला पारेको छ।
रास्वपाको केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक आज बस्दैछ । उपनिर्वाचनबाट सभापति रवि लामिछाने पुनः निर्वाचित भएर आए पछि पहिलो पटक केन्द्रीय समिति र संसदीय दलको बैठक बस्न लागेको हो । रास्वपाअनुसार बिहान ११ बजे केन्द्रीय समितिको बैठक बस्नेछ भने दिउँसो ३ बजे संसदीय दलको बैठक बस्नेछ । साथै आजको बैठकले सभापति लामिछानेलाई पुनः संसदीय दलको नेतामा चयन गर्नेछ । यसअघि संसदीय दलको नेता रहेका उनी नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले सभापति र सांसद पद गुमेसँगै पदमुक्त भएका थिए । त्यस पछि रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई संसदीय दलको नेता चयन गरेको थियो । लामिछाने पुनः विजयी भएर आए पछि अर्यालले शनिवार नै राजीनामा दिइसकेका छन् ।
एयरपोर्टमा उत्रीए लगत्तै चन्द्र भण्डारीले भने– आगलागी सुरक्षा पाठ्यक्रममै समेट्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आगलागी सुरक्षाको विषयमा पाठ्यक्रममै समावेश गर्नुपर्ने बताएका छन् । भारतको मुम्बईस्थित नेसनल बर्न अस्पतालमा उपचार गराएर आइतबार साँझ स्वदेश फर्किएका भण्डारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरूसँग गाउँगाउँमा विद्युत तथा ग्यास पुगे पनि त्यसअनुसार पाठ्यक्रम परिमार्जन गर्न नसकेको बताए । ‘हामीले जसरी प्रविधिको विकास भयो, गाउँगाउँमा विद्युत पुग्यो, गाउँगाउँमा ग्यास पुग्यो, त्यो अनुसार हामीले पाठ्यक्रममा कसरी सिकाउने भनेर राख्दै राखेनौँ । त्यसको सिकार म त भइसकेँ पनि अरूलाई कस्तो भएको होला । यस्ता विषयमा जनरल नलेज हामीले दिनुपर्दो रहेछ । हामी ठूला कुरा गर्ने, साना कुरा गर्दै नगर्ने, मसिना कुरा हेर्दै नहेर्ने गर्नाले आज प्रत्येक ठाउँमा यस्तो दुर्घटना भइरहेको छ,’ उनले भने । नेता भण्डारीले आफू थप उपचारका लागि भारत गएकै दिन नेपाल सरकारले अर्को बर्न अस्पताल बनाउने निर्णय गरेकोमा खुसी लागेको उल्लेख गर्दै त्यस अस्पताल निर्माणको नेतृत्व पनि गर्न चाहेको बताए । स्वास्थ्यमा सुधार हुँदै गएपछि उनी स्वदेशमै बसेर उपचार गर्ने गरी स्वदेश फर्किएका हुन् । उनी गत फागुन ३ गते खाना पकाउने ग्यास लिक भएर घाइते भएका थिए । सोही घटनामा घाइते भएकी नेता भण्डारीकी आमाको उपचारको क्रममा निधन भएको थियो ।
तनहुँ उपनिर्वाचन अपडेट : डा स्वर्णिम वाग्लेको अग्रता कायमै
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । गए राति ११ः४५ बजेदेखि मतगणना सुरु भएकोमा आज बिहान ८ बजेसम्मको नतिजाअनुसार डा वाग्लेले अग्रता कायमै राखेका हुन्। हालसम्म आठ वडाको मतपरिणाम सम्पन्न हुँदा डा वाग्लेले ७ हजार दुई सय ९३ प्राप्त गरेका छन् । नेपाली कांग्रेसका गोविन्द भट्टराईले तीन हजार दुई सय ३४ र नेकपा एमालेका सर्वेन्द्र खनालले दुई हजार एक सय ३४ मत प्राप्त गरेका छन् । आँबुखैरेनी–१, आँबुखैरेनी–२, आँबुखैरेनी–३, भानु–१०, भानु–८, भानु–३, भानु–७ र भानु–४ को १३ हजार ६५ मतगणना सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिए । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो । जिल्ला समन्वय समितिको सभाहलमा दुई ठाउँमा मतगणना जारी छ ।
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिदैँ, सरकार ढल्ने निश्चित
दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले आज पुनः विश्वासको मत लिने भएका छन् । नेकपा माओवादी केन्द्र लगायतका दलले गत चैत १२ मा सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेका गिरीले विश्वासको मत लिन लागेका हुन् । सरकार बनेको १०३ दिनमा मुख्यमन्त्री गिरी नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढल्ने निश्चित जस्तै छ । सत्ता साझेदार दलहरुले समर्थन फिर्ता लिएपछि सरकार बनेको ७४ दिनमै अल्पमतमा परेको थियो । लुम्बिनीमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन माग गर्दै विभिन्न ८ दलका ५३ सांसदले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाइसकेका छन् । एमालेले भने विश्वासको मत नपाएमा ठूलो दलका हिसाबले सरकारको नेतृत्व दावी गर्ने तयारी गरेको छ । लुम्बिनीमा एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । ८७ सांसद मध्य लुम्बिनीमा बहुमतका लागि ४४ मत चाहिन्छ । मुख्यमन्त्रीको पक्षमा ३३ मत मात्रै देखिन्छ । जसले गर्दा संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकार ढल्ने निश्चित छ । त्यसपछी संविधानको धारा १६८ को ३ बमोजिम ठूलो दलको हैसियतमा सरकार बनाउने दाउमा एमाले छ । तर, अन्य राजनीतिक दलहरुले भने संविधानको धारा १६८ को २ बमोजिमनै सरकार बनाउनेगरी गृहकार्य थालेका छन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजे आयोजना गरिएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए । मुख्यमन्त्री गिरीले गत माघ ५ गते विश्वासको मत लिएका थिए । गिरी तत्कालीन सात दलीय गठबन्धनबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी
बारा । बारा–२ को मतगणना सुरु गर्न सर्वदलीय बैठक बस्दैछ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन राति नै सकिएको र आज सर्वदलीय बैठक बसेर मतगणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए । मतगणनाको लागि गए राती देखि नै सिसिटिभीको निगरानीमा सुरक्षासहित राजनीतिक दलका प्रतिनिधिहरुलाई बस्ने गरी ठुलो रुमको व्यवस्था मिलाइ सकेको छ । निर्वाचनमा सहभागी जनाएका ३४ जना उम्मेदवार बिच सहमति जुटाइएपछि मत गणना सुरु हुने छ । सर्वदलीय बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु गरिने उनको भनाइ छ । बारा २ को मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा ६८ हजार ८८७ मत खसेको छ । जिल्लाको ६ वटा स्थानीय तहमा गरी ३७ हजार ६४ पुरुष र ३१ हजार ८२३ महिला रहेका छन् ।
तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् । करिब आठ हजार मत गणना हुँदा वाग्ले निकटम् प्रतिस्पर्धी कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा दोब्बरभन्दा बढी मतले अगाडि छन् । निर्वाचन आयोगका अनुसार वाग्लेले चार हजार ३०३ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भट्टराईले १९३३ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार सर्वेन्द्र खनालले ११९८ मत पाएका छन् । आयोगका अनुसार अहिलेसम्म भानु नगरपालिका वडा नम्बर ७, ८ र १०, आँबुखैरेनी गाउँपालिका वडा नम्बर १ र २ को मतगणना गर्ने काम सकिएको छ । अन्य क्षेत्रको मतगणना जारी छ ।
अनेमसंघ(क्रान्तिकारी)बाग्मतीको प्रथम सम्मेलन सम्पन्न, अध्यक्षमा सुनिता गौतम
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जनवर्गीय संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) बाग्मति प्रदेशको प्रथम सम्मेलन सम्पन्न भएको छ । यही वैशाख ८ र ९ गते काठमाडौंको कोटश्वरमा सम्पन्न प्रथम सम्मेलनले अनेमसंघको प्रदेश कमिटी निर्माण गरेको हो । सम्मेलनले बाग्मतिको अध्यक्षमा सुनिता गौतमलाई चयन गर्नुका साथै नौ सदस्यीय पदाधिकारी र १७५ सदस्यीय समिति निर्माण गरेको नेतृ रमा गिरिले जानकारी दिइन् । यस्तो छ पदाधिकारी अध्यक्ष : सुनिता गौतम उपाध्यक्ष : कल्पना रिमाल उपाध्यक्ष : दिपा बोहरा उपाध्यक्ष : लक्ष्मी माझी सचिव : अनिता कार्की ढोलि सह सचिव : अम्बिका नेपाल सह सचिव : दिपा कंडेल सह सचिव : अम्बिका लामिछाने कोषाध्यक्ष : शृजना थिङ
सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ परेका युवक १ लाख धरौटीमा रिहा
काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा हमला गरेको आरोपमा पक्राउ परेका युवक १ लाख धरौटीमा रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश चन्द्रप्रकाश तिवारीको आजको इजलासले स्याङ्जाको वालिङ नगरपालिका–१० का सागर ढकाललाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशपछि ढकाल १ लाख तिरेर रिहा भएको प्रहरीको केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता पशुपति रायले जानकारी दिए । गत चैतमा ढकाललाई ब्यूरोको टोलीले पोखराबाट पक्राउ गरेको थियो । नेपाली सेनाले आफ्नो साइबर स्पेसमा हमला भएको भन्दै अनुसन्धान गरी कारबाही गरी पाउँ भन्दै साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसपछि साइबर ब्यूरोले पोखराबाट ढकाललाई पक्राउ गरेको थियो।
संविधानको व्यवस्था अनुरुप शिक्षा अनिवार्य तथा निःशुल्क गर्न क्रान्तिकारीको माग
काठमाडौं । माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल(क्रान्तिकार)ले संविधानमा व्यवस्था भए अनुरुप शिक्षा अनिर्वाय तथा निःशुल्क हुनुपर्ने बताएको छ । क्रान्तिकारी काठमाडौं जिल्ला कमिटीका ईन्र्चाज यादव ढुंगाना र अध्यक्ष लक्ष्मण वस्नेतद्धारा संयुक्त रुपमा हस्ताक्षर गरी विभिन्न माग सहित आइतबार जिल्ला शिक्षा समन्वय इकाई,काठमाण्डौंमा बुझाएको ज्ञापनपत्रमा सो कुरा उल्लेख गरिएको छ । आज हाम्रो समाजमा जनताका छोराछोरी विद्यालय शिक्षाबाट बन्चित हुनुपर्ने अवस्था शृजित भइरहेको छ । संबिधानमा व्यवस्था भएको अनिवार्य तथा निःशुल्क शिक्षा पनि आज विभिन्न शिर्षकमा (भर्ती शूल्क, वाषिर्क शूल्क , मासिक शुल्क, खाना शूल्क लगाएतका विभिन्न शूल्क) तिरेर पढ्नु पर्ने बाध्यकारी अवस्था निमार्ण गरिएको छ । विज्ञप्तिमा भनिएको छ । संविधानको कार्यान्वयनको निमित्त पनि शिक्षा निःशुल्क हुनुपर्ने क्रान्तिकारीले जनाएको छ । यस्ता छन् क्रान्तिकारी काठमाडौं जिल्ला कमिटीका माग सामुदायिक तर्फ १. संविधानमा व्यवस्था भएको विद्यालय शिक्षा पूर्ण रुपमा निःशुल्क हुन पर्ने ,कानुन भन्दा बाहिर गएर शुल्क लिने विद्यालयहरुलाई तुरुन्त कारवाही गरीयोस् । २.सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षक शिक्षिका लगायत सम्पूर्ण कर्मचारीहरुका छोरा छोरी सरकारी विद्यालयमा अध्यन गराउनु पर्ने । ३.जनप्रतिनिधि तथा सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा अध्यन गराउनु पर्ने । ४.सामुदायिक विद्यालयका शिक्षक शिक्षिका बाहेकका अन्य कर्मचारीहरुलाई स्थायी रुपमा व्यवस्थापन गर्नु पर्ने । ५. विद्यालय समायोजनका नाममा सरकारी विद्यालय घटाउने कार्य तुरुन्त बन्द गर्नु पर्ने । ६. विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष तथा सम्पूर्ण पदाधिकारी सो विद्यालयमा अध्यनरत विद्यार्थीको अभिभावक हुनुपर्ने व्यवस्था हुनुपर्ने । संस्थागत विद्यालय तर्फ १.शैक्षिक वर्ष २०८० सुरु हुनु अगावै विभिन्न बहानामा अनैतिक ढंगले गरिएको सम्पूर्ण विद्यार्थी भर्ना प्रक्रिया खारेज गरि नयाँ भर्ना अभियान सुरु गरिनुपर्ने । २. विद्यालयको मनपरी शुल्क वृद्धि तथा वर्षेनी लिने भर्ना शुल्क तुरुन्त फिर्ता गर्नु पर्ने । ३.नीजी विद्यालयले दिनुपर्ने छात्रवृत्तिको विवरण सार्वजनिक गर्नुपर्ने साथै वितरण प्रक्रियालाई पारदर्शी बनाउनु पर्ने संगसंगै जनयुद्ध जनाअन्दोलन लगायत परिवर्तकारी आन्दोलनका सहिद,बेपत्ता र घाइते परिवारका सन्ततिलाई विशेष छात्रवृत्तिको व्यवस्था हुनपर्ने । ४.विदेसी पाठ्यक्रम ,विदेसी नामाकरण र विदेसी व्यवस्थापन तथा सम्बन्धनबाट संचालित सबै विद्यालयहरु तुरुन्त खारेज हुन पर्ने । ५. नीजि विद्यालय भित्र पाठ्यपुस्तक तथा उत्तर पुस्तिकाको व्यापार गर्ने विद्यालयको समबन्धन खारेज गर्नुपर्ने । ६. पुस्तक व्यापारीसँग मिलेमत्तोमा वर्षेनी पुस्तक परिवर्तन गरि आर्थिक भार अविभावक र बिद्यार्थीलाइ पार्ने काम पूर्ण रुपमा बन्द गर्नुपर्ने । ७.नेपालको संबिधानमा ब्यबस्था भए बमोजिम १ देखि १२ सम्मको शिक्षा प्रणाली स्थानीय तहमा गइसकेपछी देखिएका तमाम समस्याहरु तत्काल समाधान गर्नुपर्ने । ८.जिल्लाभरिका बिधार्थीको विद्यालयमा पोशाकको एकरुपता प्रदान गर्नुपर्ने । ९. बर्तमान वेथितिलाई ध्यानमा राखी हाम्रो सङ्गठनको संलग्नतामा शक्तिशाली अनुगमन समिति निर्माण गरी आवश्यक प्रक्रिया अघाडी बढाउनुपर्ने ।
राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्थामा क्रमिक सुधार
काठमाडौं । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । उपचारमा संलग्न चिकित्सकले आज उनको स्वास्थ्य अवस्था क्रमिक सुधार भइरहेको जानकारी दिएको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। राष्ट्रपति पौडेलको स्वास्थ्योपचार बुधबारदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा भइरहेको छ। राष्ट्रपति पौडेल उपचारका लागि बुधबार नयाँ दिल्ली गएका हुन् । दूतावासले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको बताएका छन् ।’’ यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।
मतगणनास्थलमा तारजाली र सिसी टिभी क्यामेरा जडान
चितवन । चितवन मतगणनास्थललाई सुरक्षित बनाउन तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको छ। उपनिर्वाचनको मतगणना गरिने स्थान चितवन प्रदर्शनी केन्द्रमा तारजाली र सिसी टिभी क्यामेरा जडान गरिएको हो । मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्नेगरी तारजाली र सिसी टिभी क्यामेरा जडानको काम गरिएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए । उनले तारजालीसहित नौवटा सिसी क्यामरा जडान गरिएको बताए । आचार्यका अनुसार आजै सम्पूर्ण मतपेटिका मतगणनास्थलमा ल्याइने र सकेसम्म मतगणना सुरु गरिने छ । सर्वदलीय बैठकपछि मात्र मतगणनाको समय तय हुनेछ।
अनधिकृत रुपमा प्रकाशन भएका पात्रोहरू नियन्त्रण गर्न ७७ वटै जिल्ला प्रशासनलाई गृहको परिपत्र
काठमाडौं । अनधिकृतरुपमा प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोको निरीक्षण अनुगमन गरी नियन्त्रण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। मन्त्रालयका उपसचिव भीमकान्त शर्माले जारी गरेको परिपत्रमा मन्त्रिपरिषद्ले समेत सार्वजनिक बिदाका सम्बन्धमा निर्णय लिँदा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले तयार पारेको ‘डेट प्याड’ समेतलाई आधार लिने गरेको तथा पात्रो, भित्तेपात्रो र गोजीपात्रोको स्वीकृति दिने काम पनि समितिकै भएको उल्लेख छ। पात्रो, भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गरी बिक्री, वितरण गराउने काम समितिको गठन आदेश, २०७७ मा उल्लेख भएकाले अनधिकृतरूपमा स्वीकृति नलिई प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रोलाई कारबाही गर्न मन्त्रालयले परिपत्र गरेको हो। समितिको आन्तरिक व्यवस्थापन दिग्दर्शन, २०७९ मा पञ्चाङ्ग (पात्रो), भित्तेपात्रो र गोजीपात्रो प्रकाशन गर्न चाहनेले नियमानुसार स्वीकृति लिनुपर्ने उल्लेख छ। स्वीकृति लिएर प्रकाशन भएरनभएको स्थानीयरूपमा निरीक्षण तथा अनुगमन जिल्ला प्रशासन कार्यालयबाट हुने व्यवस्था समितिको दिग्दर्शनमा रहेको परिपत्रमा उल्लेख छ। सरकारले बिदा स्वीकृत गर्नुपूर्व नै स्वीकृति नलिई गलत मुहूर्त र चाडपर्व राखी प्रकाशन भएका पात्रो, भित्तेपात्रो र गोजीपात्रो बजारमा छ्याप्छ्याप्ती रहेकाले निरीक्षण एवं अनुगमन गरी सचेत गराउन र आगामी वर्षदेखि यस्ता काम कारबाही नियन्त्रण गर्नरगराउन पनि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको पत्राचारबमोजिम सबै जिल्ला प्रशासन कार्यालयहरूलाई परिपत्र गरिएको उपसचिव शर्माले राससलाई जानकारी दिनुभयो। गृह मन्त्रालयको परिपत्रपछि अनधिकृतरूपमा प्रकाशन भइरहेका पात्रो, भित्तेपात्रो र गोजीपात्रोका कारण चाड, पर्व, तिथि, मितिका बारेमा हुने समस्या समाधान हुने विश्वास लिएको समितिले जनाएको छ।
उपनिर्वाचनको मतगणना आज रातीबाट सुरु गर्ने आयोगको तयारी
काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि तीन वटा निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनको मतगणना आज रातीबाट सुरु गर्ने निर्वाचन आयोगको तयारी छ। आयोगले आज विज्ञप्ति जारी गर्दै मतदान सकिएपछि मतपेटिकाहरु मतगणना केन्द्रमा संकलन गर्ने कार्य सुरु भएसँगै मतगणनाको पनि तयारी गरिएको जनाएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारी अनुसार बारा जिल्ला निर्वाचन क्षेत्र न २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र चितवन जिल्ला क्षेत्र नम्बर २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य संघको हल, भरतपुरमा राति १० बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र दुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ,’ आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘मतपेटिका मतगणना स्थलमा ल्याइसकेपछि लगत्तै प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन मतगणना निर्देशिका, २०७९ र मतगणनासम्बन्धी आयोगले दिएको विशेष निर्देशन बमोजिम यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ।’
उपनिर्वाचन : प्रारम्भिक विवरण अनुसार ६० प्रतिशत मत खस्यो
काठमाडौं । तीन वटा निर्वाचन क्षेत्रमा भएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करिब ६० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ । जसअनुसार बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६४ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५३ प्रतिशत मतदान भएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६३ दशमलव ५६ प्रतिशत, चितवन जिल्ला निर्वाचन क्षेत्र नं २ मा ६७ दशमलव ६३ प्रतिशत र तनहुँ जिल्ला निर्वाचन क्षेत्र नं १ मा ५४ दशमलव ०३ प्रतिशत मतदान भएको थियो । यस निर्वाचनमा तीन वटै निर्वाचन क्षेत्रमा तीन लाख ५३ हजार २४७ मतदाता रहेका थिए । मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट आज साँझदेखि नै मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य हुनेछ । मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार बारा निर्वाचन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल शिक्षा तालिम केन्द्र, कलैयामा साँझ ८ बजेभित्र, चितवन क्षेत्र नं २ का मतपेटिका मतगणनास्थल उद्योग वाणिज्य सङ्घको हल, भरतपुरमा राति ११ बजेभित्र र तनहुँ निर्वाचन क्षेत्र नं १ को मतपेटिका मतगणनास्थल जिल्ला समन्वय समिति परिसर, दमौलीमा राति ११ बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइको छ । मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन ९मतगणना० निर्देशिका, २०७९ र मतगणनाबारे आज आयोगले दिएको विशेष निर्देशनबमोजिम दल तथा उम्मेदवारसँग सहमति जुटाई यही वैशाख १२ गतेभित्र परिणाम सार्वजनिक गर्ने गरी मतगणना प्रारम्भ गरिनेछ । निर्वाचनको स्वतन्त्रता र निष्पक्षतामा कहीँ कतैबाट विवाद हुन नदिन र त्यस्तो अवस्था सिर्जना भएमा निर्वाचन विवाद (सुनुवाइ र निरुपण) सम्बन्धी कार्यविधि, २०७६ बमोजिम विवाद निरुपण गरी कार्य गर्न आयोगले सम्बन्धित मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिइएको आयोगका उपसचिव कमल ज्ञवालीले जानकारी दिए ।
त्रिभुवन विमानस्थलको कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या, हवाई सेवा अवरुद्ध
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवरुद्ध हवाई सेवा सञ्चालन भएको छ। विमानस्थलको कम्युनिकेसन फ्रिक्वेन्सीमा समस्या आएपछि दिउँसो २ः३० देखि ३ः२० सम्म उडानमा समस्या आएको हो। जहाजसँग कम्युनिकेसन गर्ने प्रविधिमा नै समस्या आएपछि उपत्यकाबाहिरबाट आएका उडानलाई समेत डाइभर्ट गरिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार अहिले समस्या समाधान भइसकेको छ। एटिसी टावर र पाइलटबीच हुने मुख्य माध्यम ‘कम्युनिकेसन फ्रिक्वेन्सी’मा समस्या आएपछि उडान र अवतरण अवरुद्ध भएको थियो। वातावरणीय समस्याका कारण फ्रिक्वेन्सीमा समस्या आएको हुन सक्ने प्रवक्ता सिटौलाको अनुमान गरिएको छ । उनका अनुसार ३ः२० यता उडान र अवतरण सञ्चालन भएको छ।

