वाणिज्य महासंघका नयाँ पदाधिकारीहरुले आज पदबहाली गर्ने

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्दैछन् । गत चैत २८ र २९ गते काठमाडौंमा सम्पन्न विशेष अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले पद सम्हाल्न लागेका हुन् ।

महासंघको अध्यक्ष चन्द्र ढकाल,वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ,जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य,वस्तुगत उपाध्यक्ष हेमराज ढकाल,एसोसिएट उपाध्यक्ष ज्योत्सना श्रेष्ठलगायतले आज बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

यसअघि वरिष्ठ उपाध्यक्ष रहेका ढकाल स्वतः अध्यक्ष बनेका हुन् भने वरिष्ठ उपाध्यक्ष श्रेष्ठ निर्वाचनबाट चुनिएका हुन् । तीन वर्षे कार्यकाल पछि श्रेष्ठ स्वतः अध्यक्ष बन्ने छन् ।

हेर्नुहोस् आजको विनिमयदर (सूचीसहित)

काठमाडौं । आज अमेरिकी एक डलरको खरिद दर १३०.६७ रुपैयाँ रहेको छ । बिक्री दर भने १३१.२७ रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज एक युरोको खरिद दर १४४.४२ रुपैयाँ रहेको छ । बिक्री दर भने १४५.०९ रुपैयाँ रहेको छ । यस्तै, साउदी रियाल एकको खरिद दर ३४.८४ रुपैयाँ रहँदा बिक्री दर ३५ रुपैयाँ रहेको छ । आज मलेसियन रिंगिट एकको खरिद दर २९.६८ रुपैयाँ रहँदा बिक्री दर २९.८२ रुपैयाँ रहेको छ । आजको विनिमयदर

प्रतिनिधिसभाको बैठक आज, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक बस्न लागेको हो। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा तीनवटा विधेयक पेस गरिने र एउटा शोक प्रस्ताव पारित गरिनेछ। कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण सम्बन्धितीनवटा विधेयक पेस गरिनेछ । त्यसैगरी बैठकमा कांग्रेसका नेता तथा पूर्व सांसद तेजमान तुम्बाहाम्फेको निधन भएकोमा शोक प्रस्ताव पारित गरिनेछ ।

दाङमा बस दुर्घटना एक जनाको मृत्यु, तीन घाइते

दाङ । दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् । घोराहीबाट बुटवल जाँदै गरेको मिनी बस मसोटको तेस्रो घुम्तीमा ब्रेकफेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ । बस दुर्घटना हुने थाहा पाएपछि हाम फाल्दा बंगलाचुली गाउँपालिका–६ लापे निवासी ३० वर्षीया यमी घर्ती मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी राजन गौतमले जानकारी दिए । दिउँसो पौने १ बजे घोराहीबाट बुटवल जाँदै गरेको ना ४ ख ६९५० नम्बरको मिनी बस घुम्तीमा ठोक्किएको थियो । घाइते घर्तीको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ज्यान गुमाएकी घर्तीकी ५ वर्षीया छोरी आहाना घर्ती मगर, ऐरावती गाउँपालिका वडा नम्बर २ निवासी सरस्वती आचार्य, लमही नगरपालिका वडा नम्बर ५ निवासी ५ वर्षीय सुरज बस्नेत घाइते भएका छन् । घाइतेको लमही अस्पतालमा उपचार भइरहेको छ ।

नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता :राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन् । उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँंदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए । उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे ।राष्ट्रपति पौडेलले नेपालीहरु विश्वका कुना–कुनामा पुगेको बताउँंदै विदेशमा रहेर पनि नेपालीहरु आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामू चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।  

पोखराको सेती खोंचमा खसे बालक

पोखरा । पोखरामा एक बालक सेती खोंचमा खसेका छन् ।  आज दिउँसो खेल्न पुगेका पोखरा ८ का स्मिथ पराजुली सेती खोंचमा खसेको वडा प्रहरी कार्यालय रामबजारका इन्स्पेक्टर माधव केसीले बताए । केसीकाअनुसार पोखरा ८ नागढुंगा बस्ने स्मिथ तीनजना साथीसँग मिलेर खेल मैदानमा जाँदै गर्दा सेती खोंचमा खसेका हुन् । ‘घरबाट निस्केर खेल्न पोखरा १५ स्थित हरियो खर्कको खेलमैदानमा जाँदै गर्दा सेती नजिकैको भ्वाङमा परेको देखिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीको उद्धार टोलीले स्मिथको खोजीकार्य गरिरहेको छ ।

जंगली हात्तीले लियो वृद्धको ज्यान

सिरहा । सिरहामा जंगली हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । गोलबजार नगरपालिका–१ लमाडडामा शुक्रबार राती नाच हेर्न गएका बेला हात्तीको आक्रमणबाट गोलबजार नगरपालिका–३ गोलामुक्सारका ७४ वर्षीय तुलबहादुर आलेमगरको मृत्यु भएको हो । नाच हेरेर फर्किने क्रममा गोलबजार नगरपालिका–१ गुलरियामा एक्कासी हात्ती देखिएपछि अन्य साथीहरू भागेको र तुलबहादुर भाग्न नसक्दा हात्तीको आक्रमणमा परेको वडा नं ३ का अध्यक्ष धनप्रसाद लामाले जानकारी दिए । घटनालगत्तै पुगेको प्रहरी टोलीले हात्ती धपाएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक डुपेन्द्रप्रसाद बुढाथोकीले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल लहान लगिएको छ

इलाममा नयाँ वर्षको मेलामा भागदौड, १७ जना घाइते

इलाम । नयाँ वर्षको अवसरमा इलाम सदरमुकामको ठुलो टुँडिखेलमा चलिरहेको मेलामा भागदौड हुँदा मेला हेर्न गएका १७ जना घाइते भएका छन् । घाइते मध्ये छ जनालाई थप उपचारका लागि झापाका अस्पतालमा रेफर गरिएको छ। सामान्य घाइते भएका भने इलाम अस्पतालमा सामान्य उपचार पछि घर फर्किएका छन् । इलाम स्थित राहसल बाल अनाथालयको आर्थिक सहयोगको लागि आयोजना गरिएको मेलामा हिजो बेलुकाको साङ्गीतिक कार्यक्रममा प्रमोद खरेलको प्रस्तुति हेर्न मानिसहरू ठुलो सङ्ख्यामा भेला भएका थिए । टिकट काटेर कार्यक्रम हेर्न गएका मानिसहरू भीड धेरै भएपछि टुँडिखेल छिर्ने गेटमै ठेलमठेल हुँदा गेट भत्किए पछि मानिसहरू घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरूमा इनपा–७ का प्रज्ञा भट्टराई र प्रभा भट्टराई, सूर्योदय नगरपालिका–१४ की कुमारी लिम्बु, देउमाई नगरपालिका–६ की अन्जु राई, सूर्योदय–१४ का मिलन लिम्बु, देउमाई–२ की प्रविना राई, फाकफोकथुम गाउँपालिका–७ की दृष्टि भुजेल, फाल्गुनन्द गाउँपालिका–५ का सन्दीप चेम्जोङ, सोही गाउँपालिकाका वडा नम्बर २ की टेकमाया राई, इनपा–५ की काजल राई, इनपा–७ का रमेश बुढाथोकी, इनपा–८ का सुनिता तामाङ र लक्की शेर्पा र फाकफोकथुम गाउँपालिका–२ का नाबालक साजन राई रहेका छन् ।

मुलुकको समस्या समाधानका लागि दलबीच एकता आवश्यक छ : सभापति लामिछाने

तनहुँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलकुको समस्या समाधानको लागि दलबीच एकता आवश्यक रहेको बताएका छन् । नेता मिल्न नसक्दा नेपाल विकासमा पछि परेको भन्दै उनले सो कुरा बताएका हुन् । भानु नगरपालिका–५ मा गरेको कोण सभालाई शुक्रबार सम्बोधन गर्दै उनले भने ‘देशको समस्या सबै दलको साझा समस्या हो। समस्या समाधानका लागि सबै दल एकजुट हुनु आवश्यक छ। पार्टीबीच सिद्धान्त फरक भए पनि मुलुक साझा एजेण्डामा दलबीच फरक मतभेद हुनु हुँदैन।’ उनले एक अर्कामा मिलेर समस्याको समाधान गर्नुपर्ने बताए। उनले भने,‘झैं–झगडा गर्ने नभई देशको विकासका लागि मेलमिलाप गर्नुपर्छ।’ सभापति लामिछानेले इमानको राजनीतिमा सम्झौता नगर्ने बताउँदै गलत काम गर्ने कसैलाई पनि छुट दिन नसकिने बताए ।

भक्तपुरमा आज दुई वटा जात्रा मनाइँदै, सुजनले पहिलोपटक जिब्रो छेडाउँदै

काठमाडौं । भक्तपुरको मध्यपुर ठिमीस्थित बोडेमा आज जिब्रो छेड्ने जात्रा मनाइँदै छ। हरेक वर्ष वैशाख २ गते ‘जिब्रो छेड्ने जात्रा मनाइन्छ। जसअनुसार आज बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले पहिलो पटक जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै छन्। जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ। यही परम्पराअनुसार यस वर्ष सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिन लागेका हुन्। सुजन नौपटक जिब्रो छेडेका बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन्। थिमी नगरपालिका र मध्यपुर पर्यटन विकास समितिले जारी गरेको जात्रा तालिका अनुसार जिब्रो छेडाउने जात्रा दिउँसो १२ बजे सुरु हुनेछ। जिब्रो छेड्ने व्यक्तिले तीन दिनदेखि शुद्ध भई पानी मात्र खाएर व्रत बस्नुपर्छ। एक महिनादेखि तेलमा डुबाइराखेको करिब ११ इन्च लामो सुइरोले जिब्रो छेडिन्छ। विशेष पहिरन र खुटटामा तान्त्रिक घण्टी लगाई जिब्रो छेड्नुअघि शक्तिपीठको दर्शन गर्ने परम्परा छ। जिब्रो छेड्ने व्यक्तिले महादीप बोकेर नगरपरिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेपछि जात्रा सम्पन्न हुन्छ। यसैबीच मध्यपुरथिमि क्षेत्रमै आज ३२ खटसहितको सिन्दुर जात्रा पनि मनाइँदैछ। बिस्केट जात्राको अवसरमा मध्यपुरथिमिका स्थानीयवासीले बिहानैदेखि हर्षोल्लासका साथ सिन्दुर खेलेर सिन्दुर जात्रा मनाउने गर्दछन्।

शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन

काठमाडौं। शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ। सय वर्षीय राधादेवीको आज बिहान ५ बजे र १५ मिनेटमा ललितपुरको ग्वार्कोस्थित किष्ट अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । मुटुमा समस्या देखिएपछि उनलाई चैत १६ गते अस्पताल भर्ना गरिएको अस्पतालले जानकारी दिएको छ । ८४ वर्षभन्दा लामो समयसम्म सहयात्रामा रहेका पति सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो। जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त आआफ्नो शरीर दानको घोषणा गरेका थिए ।

तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा जुडशितल पर्व मनाइँदै

जनकपुरधाम । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदै छ । वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ । आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ । सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो । नयाँ वर्षमा जल सिंचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ । आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन् । आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ । जुडशीतलको अवसरमा मधेश प्रदेशमा आज सार्वजनिक बिदा रहेको छ ।

सुदूरपश्चिममा एमाले नेताले आफैलाई लगाए सिस्नु

धनगढी। नेकपा (एमाले) का नेताहरुले एक–अर्कालाई सिस्नु लगाएका छन् । पार्टीको सुदूरपश्चिम प्रदेश कमिटीद्वारा धनगढीमा आयोजित कार्यक्रममा केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शुक्रबार मञ्चमा रहेका नेतालाई सिस्नु लगाएर कार्यक्रमको उदघाटन गरेका हुन् । सुदूरपश्चिममा मिसन ग्रासरुट अभियानका क्रममा विसु पर्व एंव नयाँ वर्षको उपलक्ष्यमा एमालेका नेताहरु सिस्नु लगाएका हुन् । वर्षभर भएका मनमुटाव अन्त्य गर्ने, एकता र भाइचारा वृद्धि गर्ने उदेश्यले यो पर्व मनाउने गरिन्छ ।

शैक्षिक सत्र सुरु नहुँदै जुम्लामा पुगे किताब

जुम्ला । हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा किताब (पाठ्यपुस्तक) पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै किताब पुग्ने भएका हुन् । आवश्यक किताब जिल्लामा आइपुगेको जुम्लामा रहेको सन्ध्या स्टेशनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका झन्डै सात सय थान किताब आइसकेका छन् । जिल्लाको हिमा र तातोपानी गाउँपालिकाको मागअनुसार किताब पुगेको उहाँको भनाइ थियो । यही वैशाख ३ गतेदेखि हिमा गाउँपालिकामा किताब पुग्ने भएको छ । तातोपानी गाउँपालिकाले पनि किताब माग गरेको छ । अरू पालिकाबाट पनि माग आउन थालेको र थप किताब पनि आउने काम भइरहेको सञ्चालक खड्काले जानकारी दिनुभयो । अहिले छ हजार एक सय थान किताब जिल्लामा पुगेको जिपी स्टेशनरीका सञ्चालक गणेश रोकायाले बताउनुभयो । सामुदायिक विद्यालयका विद्यार्थी सङ्ख्याका आधारमा शैक्षिक सत्रका लागि कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई लक्ष्य गरेर किताब आएको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु हुँदा पनि किताब आइपुग्दैनथ्यो । यो वर्ष समयमै किताब आएकाले विद्यार्थीलाई सहज हुने देखिएको छ । जनक शिक्षा सामग्री केन्द्रले यो वर्ष समयमै किताब छापेकाले चाँडै ल्याउन सकिएको यहाँका स्टेशनरी सञ्चालकले बताए । स्थानीय पुस्तक तथा स्टेशनरी व्यवसायीले आउँदो शैक्षिक सत्रका लागि सरकारी विद्यालयलाई किताब बिक्री गर्न थालिसकेका छन् । जिल्लामा एक सय ८४ सामुदायिक विद्यालयमा झन्डै ४० हजार हाराहारीमा विद्यार्थी सङ्ख्या रहेको शिक्षा समन्वय इकाइले जनाएको छ । हिमाली जिल्लाहरूमा फागुनदेखि विद्यालय सञ्चालनमा आएपछि किताब नपुग्दा विद्यार्थीहरूको पढाइमै असर परेको थियो । मतपत्र समयमै पुग्ने तर विद्यार्थीका लागि किताब नपुग्नुको कारणबारे जिल्लाका सांसदले सांसदमै आवाजसमेत उठाएका थिए । पालिकाबाट किताब पुग–अपुग भएको सन्दर्भमा केही जानकारी नआएको यहाँका सामुदायिक विद्यालयले जनाएका छन् । जुम्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा वैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेसँगै जुम्लामा पनि त्यहीअनुसार शैक्षिक कार्यक्रम लागू हुने भएको हो । विसं २०७९ माघ ६ गतेको मन्त्रिस्तरीय निर्णयबाट सबै जिल्लामा वैशाखदेखि नै शैक्षिक सत्र सुरु गर्ने सरकारको तयारी छ तर अघिल्ला वर्षमा हिमाली जिल्लामा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो । हिमाली जिल्लाले पुस १० देखि माघ २५ गतेसम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए ।रासस

मिटरब्याज पीडित र सरकारी टोलीबीचको वार्ता निष्कर्ष विहीन्

काठमाडौं । मिटरब्याज पीडित र सरकारी वार्ता टोलीबीच भएको वार्ता विना निष्कर्ष टुिङ्गएको छ । सह सचिव प्रदिप कोइरालाको नेतृत्वको टोली र विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको हो । रत्नपार्कस्थित शान्तिबाटिकामा दुई पक्षबीच भएको वार्ता सकारात्मक भए पनि कुनै सहमति भने नभएको र भोली (सोमबार) फेरी छलफल गर्नेगरी आजको वार्ता सकिएको हो । विभिन्न ६ बुँदे माग राख्दै काठमाडौंसम्म आइपुगेर मिटरब्याज पीडितहरुले आन्दोलन गरिहरेका छन् । आन्दालेनमा उत्रिएपछि गृह मन्त्रालयले वार्ता गर्न भन्दै समिति बनाएको थियो । मिटरब्याजीले बनाएको फर्जी तमसुक खारेज गर्नुपर्ने, मिटरब्याज पीडितविरुद्ध विभिन्न अदालतमा रहेका मुद्दा खारेज हुनुपर्नेलगायत पीडितका माग रहेका छन्।

करोडौ मागेको अडियो सार्वजनिक भएपछि सांसद श्रेष्ठ निलम्बित

काठाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग आर्थिक लेनदेनको फोन टेप बाहिरिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद डा.ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ । श्रेष्ठलाई निलम्बन गरेर उनीमाथि छानिबिन अगाडि बढाउने निर्णय गरेको हो । उनलाई सांसद वा पार्टी सदस्यका रूपमा कुनै पनि काम गर्न नमिल्ने गरी निलम्बन गरिएको छ । समानुपातिक पद्धतिबाट सांसद बनेका श्रेष्ठले स्वास्थ्य मन्त्री बन्ने चर्चा चलेको थियो । उनले व्यवसायी प्रसाईंसँग आफू मन्त्री भएपछि सहयोग गर्छु भन्दै दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ ।