काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई सौन्दर्यीकरण गर्ने
काठमाडौं । काठमाडौं महानगरपालिकाले दरबारमार्गलाई ठाउँअनुसारको पहिचान दिनेगरी सौन्दर्यीकरण गर्ने भएको छ। संघीय राजधानीका मुख्य क्षेत्रको सौन्दर्यीकरण गर्ने क्रममा कामपाले दरबारमार्गको सौन्दर्यीकरण गर्न लागेको हो।
त्यसको निम्ति बुधबार दरबारमार्गमा कामपा सार्वजनिक निर्माण विभाग निर्देशक रामबहादुर थापासहित वडा कार्यालयसहितको बैठक बसेको थियो।
बैठकमा नामअनुसारको क्षेत्रको परिचान गर्न सौन्दर्यीकरण अपरिहार्य रहेकोले आवश्यकताको आधारमा बजेट व्यवस्थापन गर्ने गरी सौन्दर्यीकरण गरिने सम्बन्धमा छलफल भएको थियो।
सार्वजनिक निर्माण विभागका निर्देशक थापाका अनुसार दरबारमार्गमा प्रविधिमैत्री फुटपाथ निर्माण, ढल व्यवस्थापन, पार्किङ व्यवस्थापन डिस्प्ले बोर्ड राखने, वृक्षरोपण गर्नेलगायतका योजना बनेको छ।
उनले भने, ‘रेलिङ निर्माण गर्नेछौं, सवारी साधनको व्यवस्थापन गर्न भूमिगत तलामा अनिवार्य पार्किङ गर्ने व्यवस्था मिलाउन लागेका छौं।’ यसअघि कामपाले न्युरोड क्षेत्रमा कुमारी र काण्ठमण्डपको आकृति सहितको रेलिङ राखेको थियो ।
दरबारमार्गमा नारायणहिटी दरबारको झल्को आउनेगरी रेलिङ राख्ने तयारी गरेको छ। राजधानीको सबैभन्दा व्यस्त बजारको रूपमा रहेको दरबारमार्गको विकास गर्न स्थानीय सुधार समिति, कामपा र वडा कार्यालयको सहभागिता रहनेछ ।
कामपाले हाल सो क्षेत्रको डिजाइन तयार गरिरहेको छ । थापाले सो क्षेत्रको नक्साङ्कन गर्ने र सुझाव लिने काम भइरहेको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
ट्याक्टरले किचेर एकजनाको मृत्यु
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका २ रिङरोडमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्याक्टरका हेल्पर सैनामैना नगरपालिका ४ झारबैराका ६० वर्षीय ठगे थारु रहेका प्रहरीले जनाएको छ । तिनाउ अस्पताल वुटवलमा उपचारको क्रममा हिजो साँझ ६ बजे थारुको मृत्यु भएको हो । हिजो साँझ सवा ५ बजे लु २ त ६१८५ नम्बरको ट्याक्टरबाट खसेका थारुलाई सोही ट्याक्टरको पछाडिको चक्काले किचेको थियो । ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रन्यौराले जानकारी दिएको छ ।
माओवादी बैठक जारी : चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल हुँदै
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ।आइतवार दिउँसो अढाई बजेपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा मंसिर ४ को चुनावी समीक्षा, नयाँ सरकार निर्माण र समसामयिक विषयमा छलफल हुने भएको छ। माओवादी प्रवक्ता कृष्णबहादुर महराका अनुसार बैठकमा चुनावी समीक्षा र समसामयिक राजनीतिबारे छलफल हुँदैछ। शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सरकार गठनबारे सबै विकल्प खुला गरेको थियो। माओवादीले सरकार बनाउन एमालेसँग पनि मिल्नुपर्ने नेताहरुले धारण राखेका थिए । निर्वाचनका क्रममा ४७ स्थानमा उम्मेदवारी दिएको माओवादी १७ सिटमा खुम्चिएको छ । कांग्रेससँको गठबन्धनले क्षति पुगेको माओवादीका कतिपय नेताहरुले बताउने गरेका छन् । माओवादी बृत्तमा कांग्रेससँग भन्दा कम्युष्टिहरु मिलेर अघि बढ्नुपर्ने धारणा पनि उत्तिकै रहेको छ । त्यही अनुरुप माओवादीले शनिबारको बैठकबाट एमालेसँग पनि मिलेर सरकारमा जानुपर्ने विकल्पमा नेताहरुले धारणा राखे । बैठकले निर्वाचनको समग्र विषयमा समीक्षा गरेर अघि बढ्ने निर्णय लिने पार्टीका महासचिव देवप्रसाद गुरुङले बताएका छन्। शनिबारको बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार नआएको टिप्पणी गरेका थिए।
रास्वपाको मकवानपुर सभापति हटाउन २४० जनाको हस्ताक्षर, केन्द्रीय कार्यालयमा इमेल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी, मकवानपुरका सभापति राजकुमार न्यौपानेलाई हटाउन माग राख्दै २ सय ४० जना सदस्यले पार्टी केन्द्रीय कार्यालयमा पत्राचार गरेका छन्। मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेससभा निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरेको भन्दै उनीहरूले राजकुमारको बर्खास्तीको माग गर्दै पत्राचार गरेका हुन्। २४० जना सदस्यले हस्ताक्षरसहित केन्द्रीय कार्यालयमा इमेल गरेका हुन्। उनीहरूले समानुपातिक उम्मेदवारलाई विपक्षी दलका उम्मेदवारको घरमै लगेर भेटघाट गराएको आरोप लगाएका छन्। यता सभापति न्यौपानेसँग यसबारेमा बुझ्न खोज्दा उनले आफूलाई हटाउन चलखेल सुरु भएको बताए। ‘यहाँ मलाई सभापतिबाट हटाउन गुटबन्दी भइरहेको छ। मैले पार्टीभित्र कुनै पनि खाले अन्तर्घात गरेको छैन। यो सरासर झुटो आरोप हो’, उनले भने। उनले हस्ताक्षर कीर्ते गरेर पठाइएको पनि बताए। ‘हस्ताक्षर पनि कीर्ते गरेर पठाइएको छ। यो गुटबन्दीको चरम पराकाष्ठा हो। म यसबारेमा केन्द्रमा कुरा गर्दैछु’, सभापति न्यौपानेले भने।
जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ
डोल्पा । जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । डोल्पाको ठूलीभेरी नगरपालिका ५ का २६ वर्षीय कुमार बुढालाई जबर्जस्ती करणी गरेको अभियोगमा शनिबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । अभियुक्त बुढाले ती बालिकालाई गत बुधबार सोही ठाउँस्थित लाग्माको जंगलमा जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी माझफालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसबारे थप अनुसन्धान गरिरहेको पनि प्रहरीले बताएको छ । –न्युज कारखाना
माया लुहारका हत्या आरोपी सशस्त्रका जवान कोली पक्राउ
काठमाडौं । बैतडीको पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ की माया लुहारको हत्याका आरोपी सशस्त्र प्रहरी जवान भरत कोली पक्राउ परेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) मोहनकुमार आचार्यका अनुसार कोली आइतबार बिहान कञ्चनपुरबाट पक्राउ परेका हुन्। महेन्द्रनगरको बसपार्कमा हिँडिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको हो। उनलाई आजै बैतडीलाई लैजान लागिएको सुदूरपश्चिम प्रहरीका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक भोलाप्रसाद रावलले जानकारी दिए। गत बुधबार दिउँसो घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव शिवनाथ गाउँपालिका वडा नम्बर ६ को जंगलमा फेला परेको थियो। २१ वर्षकी माया गत मंसिर ४ मा भएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा म्यादी प्रहरीका रूपमा चुनावमा खटिएकी थिइन्। उनी शिवनाथ गाउँपालिका वडा नम्बर ४ को मतदान केन्द्रमा खटिएकी थिइन्। त्यही क्रममा उनको भेट कोलीसँग भएको थियो। पछि उनैले मायाको हत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको थियो।
दोलखामा पछि परे माओवादीका कार्की
काठमाडौं । दोलखामा एमालेका बालकृष्ण शिवाकोटीले लिड गरेका छन् । ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् । माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि बढेका हुन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्कि अगाडि थिए ।
स्याङ्जा–२ (२) बाट काँग्रेसका महेश भट्टराई विजयी
स्याङ्जा। स्याङ्जा क्षेत्र नं २ (२) मा नेपाली काँग्रेसका महेश भट्टराई प्रदेशसभा सदस्यमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार बुद्धिमान श्रेष्ठले भन्दा भट्टराईले १ हजार ७ सय ८६ मत बढी ल्याई विजयी भएका हुन्। निर्वाचन कार्यालयका अनुसार काँग्रेस उम्मेदवार भट्टराईले १८ हजार ७ सय ८ र उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार २ मत प्राप्त गरेका हुन् ।
सातै प्रदेशमा प्रदेश सरकार गठनको तयारी सुरु
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आइनसक्दै सातै प्रदेशमा प्रदेश सरकार गठन र नेतृत्वको लागि अनौपचारिक गृहकार्य सुरु भएको छ । समानुपातिक र प्रत्यक्ष निर्वाचनतर्फको घोषित नतिजाले कुनै पनि एक दलले प्रदेशमा बहुमतको सरकार बन्ने अवस्था छैन् । तर, अधिकांश प्रदेशसभा वर्तमान सत्तारुढ गठबन्धनको सरकार बन्ने सम्भावना देखिएको छ । सात प्रदेशमध्ये सुदुरपश्चिम प्रदेश सरकारको नेतृत्वको लागि सत्तागठबन्धनकै दलहरूबीच कसरत सुरु भएको छ । ५३ सदस्यीय सुदुरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ । प्रत्यक्षतर्फ कांग्रेस ११, माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, एमाले ३, नेकपा एस २ र स्वतन्त्रले १ क्षेत्रमा निर्वाचन जितेका छन् । समानुपातिकतर्फ कांग्रेस ६, माओवादी केन्द्र ३, नेकपा एमाले ७ र एकीकृत समाजवादीले १ सिट पाउने निश्चित भएको छ । यसकारण सुदुरपश्चिम प्रदेशमा वर्तमान सत्तागठबन्धनको स्पष्ट बहुमत देखिएको छ । अन्तिम नतिजा नआउँदै प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस र माओवादी केन्द्रबीच रस्साकस्सी सुरु भएको छ । त्यसो त चुनावअघि नै कांग्रेस सभापति शेरवहादुर देउवाले माओवादी केन्द्रका प्रदेशसभा सदस्य खगराज भट्टराई मुख्यमन्त्रीको आश्वासन दिएको चर्चा सार्वजनिक भएको थियो । तर, अघिल्लो कार्यकाल माओवादीले नेतृत्व गरेकाले अब कांग्रेसले अवसर पाउनुपर्ने कांग्रेसका नेताहरूको जिकिर छ । तर, दुवै दलका नेताहरू भने गठबन्धनको भावनाअनुसार केन्द्रको निर्देशन र सहमतिका आधारमा टुंगो लाग्ने बताउँछन् । गठबन्धनमा प्रदेश सरकारको नेतृत्वबारे टुंगो नलाग्दै कांग्रेसका आधा दर्जन प्रदेश सांसदहरू लागिपरेका छन् । मुख्यमन्त्रीको लागि कांग्रेस सुदुपश्चिम प्रदेश महामन्त्री मेघराज खड्का र बहादुरसिंह थापा अग्रपंंक्तिमा देखिए । आकांक्षी धेरै भएपछि कांग्रेसभित्र किचलो हुने संकेत देखिएको छ । तर, प्रदेश महामन्त्री खड्का पार्टीभित्र कुनै विवाद नहुने जिकिर गर्छन। २०७४ सालको आमनिर्वाचनमा वामगठबन्धनको तर्फबाट निर्वाचित माओवादी केन्द्रका त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए। तत्कालिन नेकपा विघटन भएसँगै वाम गठबन्धनबाट मुख्यमन्त्री भएका अन्य प्रदेशमा सरकार परिर्वतन भए पनि सुदुरपश्चिम प्रदेश सरकारले भने पूर्ण कार्यकाल बिताएको छ ।
स्याङ्जा र पर्वतका ५ शहिदको स्मृतिमा वालिङमा कार्यक्रम
स्याङ्जा । नेकपा (माओवादी केन्द्र) स्याङ्जा र पर्वतमा जनयुद्धकाका क्रममा हत्या गरिएका शहिदको स्मृतिमा एक कार्यक्रम सम्पन्न गरेको छ । तात्कालीन जनयुद्धमा स्याङ्जा र पर्वत जिल्लाका उच्च स्तरका नेतृत्वको रुपमा स्थापित ५ जनाको हत्या भएको दिन पारेर उक्त कार्यक्रम गरिएको माओवादी केन्द्र स्याङ्जाका संयोजक प्रकाश न्यौपाने ‘किरण’ले जानकारी दिए । कार्यक्रम शहिद स्मृती भवन वालिङ् १४ मा भएको थियो । शहिद कुविजा पराजुलीकी आमा पार्वती पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन माओवादी केन्द्र पैयुँका अध्यक्ष रेशम सापकोटाले गरेका थिए । उक्त कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सल्लाहकार सदस्य जयनारायण तिवारी, स्याङ्जा जिल्ला संयोजक प्रकाश न्यौपाने लगायतले मन्तब्य राखेका थिए । कार्यक्रममा बोल्ने वक्ताहरुले माओवादी आन्दोलनका विभाजित धाराहरू र अबको कम्युष्टि आन्दोलनबारे विचार विमर्स गरेको सहभागीले बताए ।
२४ घण्टामा ८४३ नमुना परीक्षण : तीनजनामा संक्रमण, २१ निको
काठमाडौं । नेपालमा थप तीनजनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८४३ वटा स्वाब नमुनाको पीसीआर परीक्षण गर्दा तीनजनामा संक्रमण देखिएको हो । यो अवधिमा एन्टिजेन विधिबाट परीक्षण गरिएका ३३५ नमुनामा कोरोना देखिएन ।यो अवधिमा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर २१ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ८८ हजार ७६३ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या १२१ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार जनाएको छ ।
जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्छ : सीके राउत
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले जनतासँग गरिएका प्रतिबद्धता इमानदारिताका साथ पूरा गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले जनताको साथका कारण नै आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्न सफल भएको उल्लेख गरे । निर्वाचनमा पाएको साथ र समर्थन काम गर्दा अझै बढी आवश्यक पर्ने उनले बताए । राउतले आफूहरूले काम गर्न नसके देश र जनता निराशामा जाने भन्दै पाएको जिम्मेवारी ‘गर वा मर’को अवस्थामा पूरा गर्नुपर्ने धारणा राखे । उनले पुराना दललाई छाडेर नयाँ दललाई विश्वास गरेर सप्तरीका जनताले बहुआयामिक सन्देश दिएको तर्क गरे । उनी योपटक सप्तरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
विश्वकप फुटबल : अन्तिम १६ मा कुन कुन टिम भिड्दैछन् ?
काठमाडौं । फिफा विश्वकप २०२२ को समूह चरणका खेल सकिएका छन्। समूह ‘जी’ का अन्तिम दुई खेलसँगै समूह चरणका खेल सकिएका हुन्। अन्तिम खेलमा क्यामरुनले ब्राजिललाई १० गोलले हराउँदा सर्वियामाथि स्विट्जरल्यान्डले ३–२ गोलको जित निकाल्यो। अन्तिम १६ मा युरोपबाट ८ टिम पुगे। एसियाबाट ३ तीनले अन्तिम १६ मा स्थान बनाए। यस्तै अफ्रिका र दक्षिण अमेरिकाबाट २–२ टिमले अन्तिम १६ मा स्थान बनाए। उत्तर अमेरिकाबाट १ टिम अन्तिम १६ मा पुग्यो। अब शनिबार रातिदेखि अन्तिम १६ का खेल हुँदैछन्। आज राति नेदरल्यान्ड्स र अमेरिका तथा अर्जेन्टिना र अस्ट्रेलिया भिड्दैछन्। शनिबार राति सुरु हुने अन्तिम १६ का खेल मंगलबार राति सकिनेछन्। अन्तिम १६ का खेल नेदरल्याण्ड्स भर्सेस अमेरिका अर्जेन्टिना भर्सेस अस्ट्रेलिया फ्रान्स भर्सेस पोल्याण्ड इंग्ल्याण्ड भर्सेस सेनेगल जापान भर्सेस क्रोएसिया ब्राजिल भर्सेस दक्षिण कोरिया मोरक्को भर्सेस स्पेन पोर्चुगल भर्सेस स्विट्जरल्याण्ड
नेकपाका महासचिव विप्लवलाई मातृशोक
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई मातृशोक परेको छ । महासचिव चन्दकी आमा आशिकादेवी चन्दको शनिबार बिहान ९ बजे निधन भएको नेकपाले जनाएको छ । सो पार्टीले स्वर्गीय आशिकादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव लगायत सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयको लिफ्टमा थुनिए कर्मचारी
काठमाडौं । महान्यायाधिवक्ता कार्यालयमा लिफ्ट बिग्रिएर आधा घन्टा कर्मचारी थुनिएका छन्। कार्यालयमा खाजा पुर्याउन गएका क्यान्टिनका एक कर्मचारी र एक सरकारी वकिल थुनिएका हुन्। २ बजेतिर लिफ्ट चढेका उनीहरू लिफ्ट बिग्रिएर नखुलेपछि आधा घन्टा थुनिएका हुन्। खाजा पुर्याउन गएका कर्मचारी नआएपछि क्यान्टिन सञ्चालकले खोज्ने क्रममा लिफ्टमा रहेको थाहा पाए। उनले प्रयास गर्दा पनि लिफ्ट खुलेन। पछि ५–६ जना भएर काठ, रडलगायतको सहायताले लिफ्टको ढोका खोलेर उनीहरूको उद्धार गरिएको थियो।
स्याङ्जा–२(२) एमालेका श्रेष्ठको अग्रता
स्याङ्जा । स्याङ्जा क्षेत्र नं २ (२) मा प्रदेशसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार डा.बुद्धिमान श्रेष्ठले अग्रता कायम गरेका छन् । उनी निकटतम प्रतिद्धन्दी नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराईभन्दा एक सय ९० मतले अगाडि छन् । एमाले उम्मेदवार श्रेष्ठले दुई हजार एक सय ४६ मत प्राप्त गर्दा काँग्रेसका भट्टराईले दुई हजार तीन सय ३६ मत ल्याएका छन् । अहिलेसम्म कालीगण्डकी गाउँपालिकाको वडा नं १,२ र ३ को मतगणना सम्पन्न भएको छ । यस निर्वाचन क्षेत्रमा कालीगण्डकी गाउँपालिका, चापाकोट नगरपालिका र गल्याङ नगरपालिकाको १, २, ३, ४, ५, ८, ९, १० र ११ पर्दछन् ।

