संचारको दुनियाँमा ‘जनभाव’ को सुरुवात

उदयपुर, माघ ३ । संचार क्षेत्रमा अर्काे एउटा नयाँ पत्रिकाको जन्म भएको छ । उदयपुरबाट प्रकाशन सुरु गरेको उक्त नयाँ पत्रिका ‘जनभाव दैनिक’को एक समारोहबीच विमोचन गरिएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय महासचिव उजिर मगरले पत्रिको सफलताको शुभकामना दिँदै पत्रकारहरुको रक्षा गर्दै अघि बढ्ने सञ्चार गृह सदैव सफल हुने बताएका छन् ।

उनले मोफसलमा पत्रिका प्रकाशन गर्नुभन्दा प्रशासन गृहमा काम गर्ने पत्रकारप्रति गम्भिर बन्ने मिडिया हाउस अति राम्रो भएको बताएका हुन् । उनले भने, ‘प्रकाशन गर्ने कामभन्दा पनि श्रमजीवि पत्रकारप्रति सञ्चार गृह गम्भिर बन्नुपर्छ । त्यो मिडिया हाउस सदैव सफल हुनेछ ।’

समाज रुपमान्तरण गर्ने सञ्चार माध्यमका पत्रकार महत्वपूर्ण अंगको रुपमा लिनुपर्ने बेला आएको भन्दै जनभावको टिमले परिवर्तनको उक्त बाटोलाई अंगाल्नेमा आशावादी रहेको मगरको भनाई थियो ।

अमर मिडिया प्राईभेट लिमिटेड उदयपुरद्वारा प्रकाशित उक्त दैनिकको बिमोचन समारोहमा बोल्दै मगरले ‘नेपाल पत्रकार महासंघको निर्वाचनबाट श्रमजीवि पत्रकारमुखी नेतृत्व आउने समेत बताएका थिए ।’

फरक प्रसंगमा बोल्दै मगरले भने, ‘विभिन्न राजनीतिक दलसंग आवद्ध पत्रकारले पत्रकारकै हकहितको नेतृत्व ल्याउने कोशिस गर्ने बेला पनि आएको छ ।’ एक महिनाभित्र हुने पत्रकार महासंघको निर्वाचनमा श्रमजीवी पत्रकारको एक हुनुपर्ने बेला आएको मगरको भनाइ छ ।

कार्यक्रममा प्रेस सेन्टर नेपालका केन्द्रिय महासचिव बिष्णु सापकोटा ‘जुगल’ले नयाँ नेपाल निर्माणमा केन्द्रका मिडिया हाउसभन्दा मोफसलका मिडिया एक कदम अगाडि भएको बताएका छन् ।

जनभावलाई शुभकामना मनतव्य दिदै उदयपुरका प्रमुख जिल्ला अधिकार कालिप्रसाद पराजुलीले सत्य, निषपक्ष समाचार प्रकाशन गर्न जनभाव टिमलाई सहयोग गराएका थिए । यसैगरी नेपाल पत्रकार महासंघ शाखा उदयपुरका अध्यक्ष कुशलबाबु बस्नेतले समाज रुपान्तरणमा जनभाव दैनिक जनताको भवनामा डुबेर व्यवसायी पत्रकारिता गर्न आग्रह गरेका थिए ।

जिल्लाबाट नियमित रुपमा प्रकाशन हुने अन्य पत्रिकाहरुको भीडमा जनभाव पनि आएको र यसले सबैभन्दा फरक बिचार र फरक समाचारको व्यवसायमा लाग्ने पत्रिकाका सम्पादकको भनाई थियो ।

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

रत्ननगर (चितवन), माघ ३ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणी’मा आगलागी भएको छ । गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उहाँले बताउनुभयो । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको रेडियोले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोलारको चार्ज कन्ट्रोलरबाट विद्युत् सर्ट भएको बताइएको छ । आगलागीपछि रेडियोको प्रसारण रातिदेखि नै बन्द भएको छ । ट्रान्समिटर र ब्याट्रीमा पनि असर गरेको भएमा करिब रु एक हजर चार सय १५ लाखको क्षति हुने देखिएको उहाँले बताउनुभयो । प्रहरीका अनुसार दमकलसमेत पठाइएको भए पनि थप क्षति हुनबाट जोगाउन ग्यासबाट आगो नियन्त्रणमा लिइएको थियो । रासस

विकासका लागि दलहरु मिलेर अघि बढ्नुपर्छः मन्त्री भण्डारी

तनहुँ, माघ ३। वन तथ भू–संरक्षणमन्त्री शङ्कर भण्डारीले सबै राजनीतिक दल मिलेर विकास निर्माणको कार्यमा अघि बढ्नुपर्ने बताएका छन्  । छैठौं तनहुँ महोत्सवको  आइतबार समापन गर्दै उनले ४ नं प्रदेशअन्र्तगत तनहुँलाई नमूना जिल्लाका रुपमा स्थापित गर्न उद्योग वाणिज्य सङ्घ र राजनीतिक दलको सहकार्य हुनुपर्ने बताए । पृथ्वीराजमार्गअन्र्तगत दमौलीको भोर्लेटार चोकमा आकाशे पुल निर्माणका लागि जिल्ला विकास समितिसँग सहकार्य गरेर अघि बढ्न लागिएको उनको भनाइ थियो । महोत्सवको अन्तिम दिन रु ५५ लाखको आर्थिक कारोबार हुनुका साथै ४५ हजार दर्शकले महोत्सवको अवलोकन गरेको महोत्सवका प्रवक्ता ईश्वर विष्टले जानकारी दिए । रासस

आबुधाबी पुगेर प्रचण्डले भने– विदेशमा नेपालीले बगाएको पसिना सदुपयोग होस् भन्नेमा सरकार सचेत

आवुधावी, माघ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको लक्ष्य भनेको देश विकास र समृद्धि रहेको बताएका छन् । दशौं विश्व भविष्य उर्जा सम्मेलनमा भाग लिन युएई आई पुगेका प्रधानमन्त्री प्रचण्डले त्यहाँको नेपाली दुताबासमा नेपालीहरुसँग अन्तरक्रिया गर्दै आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको बताए । प्रधानमन्त्री प्रचण्डले भने, ‘राजनीतिक रुपमा राष्ट्रिय एकताका लागि संविधान कार्यान्वयन, आर्थिक रुपमा पूर्वाधार निर्माण र समृद्धिमा सरकारले जोड गरेको छ ।’ वर्तमान सरकारले विदेशमा रहेका नेपालीहरुका समस्यालाई उच्च प्राथमिकता दिएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘तपाईहरुले यहाँ हासिल गरेको अनुभव र पूँजी नेपालको विकासको लागि आधारशिला हो, पूँजी हो । तपाईहरुले बगाएको पसिनाको सदुपयोग होस् भन्नेमा सरकार सचेत छ ।’ नेपालको राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौं, सबैका भावना छन्, राष्ट्रिय एकता हासिल गर्नुछ, कसैलाई पेलेर वा ठेलेर समस्याको हल हुँदैन । सरकार सबैसँग समान रुपले सम्वादमा छ र त्यो सकारात्मक दिशामा छ । राष्ट्रिय सहमति बनाएर संविधान कार्यान्वयन गर्नेमा सरकार छ ।’ उर्जा सम्मेलनबारे बोल्दै प्रधानमन्त्रीले प्रचण्डले भने, ‘उर्जा सम्मेलन हाम्रा लागि धेरै महत्वको छ । हाम्रो ध्यान यसमा छ । हामीले वैदेशिक रोजगारीबाट आएको पूँजीलाई विकास आयोजनामा केन्द्रित गर्न खोजेका छौं । म विकासका कामलाई केन्द्रमा राखेर विकासका आयोजनाहरुको अनुगमन गरिरहेको छु । राजनीतिक विवादमा अल्झिएर हामीले विकासलाई उपेक्षा गरियो, अब त्यसो गर्नु हुँदैन । ईच्छाशक्तिका साथ नेतृत्वले देशको विकास लागि केही गर्नैपर्छ ।’ भेटमा उर्जामन्त्री जनार्दन शर्मा, परराष्ट्र सचिव शंकरदास बैरागी, युएईका लागि नेपाली कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन, शिष्टाचार महापाल दीपक अधिकारी लगायत सहभागी रहेको थियो । सो अवसरमा सहभागीहरुले वैदेशिक रोजगारीका क्रममा आफूले भोग्नुपरेका समस्या र अवस्थाबारे प्रधानमन्त्रीलाई अवगत गराएका थिए ।

कर्मचारीको व्यक्तिगत विवरण राख्न पिआइएस क्लिनिक सञ्चालन

भद्रपुर, माघ २ । निजामती कर्मचारी किताबखानाले कर्मचारीको व्यक्तिगत विवरण (पिआइएस) अद्यावधिक गर्न झापामा पिआइएस क्लिनिक सञ्चालन गरेको छ । अब आफू कार्यरत स्थानमा नै कर्मचारीको व्यक्तिगत विवरण अद्यावधिक हुने छ । कर्मचारीको सरुवा–बढुवा, वैदेशिक भ्रमण, सन्तति छात्रवृत्ति लगायत विवरण पनि त्यसमा रहने छ । निजामती कर्मचारी किताबखानाका महानिर्देशक गङ्गाराम गेलालले तीन वर्षीय रणनीतिक योजनाबाट सेवाग्राहीमैत्री सूचना प्रविधिमा आधारित आधुनिक मानव संसाधन सूचना केन्द्रका रुपमा निजामती किताबखानाको पहिचान कायम हुने बताए ।

डडेल्धुरा जिल्ला भूकम्पको उच्च जाेखिममा !

डडेल्धुरा, माघ २ । समुद्री सतहदेखि करिब दुई हजार ६ सय मिटर उचाइमा रहेको डडेल्धुराको भू–बनोट कमजोर भएकाले भूकम्पको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । पुरानै शैलीमा निर्मित घर भएकाले भूकम्प जाने हो भने ठूलो धनजनको क्षति हुनसक्ने सर्वसाधारणको समेत बुझाइ छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ उदयबहादुर सिँंले घरहरु बिनामापदण्ड मनपरी किसिमले बनाइएकाले भूकम्प गयो भने क्षति पुग्न सक्ने जनाउँदै सतर्कता अपनाउन सुझाव दिए । सदरमुकाम डडेल्धुरा उच्च जोखिममा रहेको उनको भनाइ छ । जिल्लामा भवन तथा भौतिक कुरा निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता पूर्ण रुपमा पालना गर्नुपर्ने र भूकम्परहित घरको निर्माण हुनुपर्नेमा सरोकार भएकाहरुको भनाइ छ । भिरालो जमिनमा घर बनाइएकाले डडेल्धुरा उच्च जोखिममा रहेको जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामकुमार श्रेष्ठले बताएको छ । यहाँ नयाँ बनेका घर पनि भूकम्प प्रतिरोधात्मक नभएर मनोमानी रुपमा निर्माण भइरहेको इञ्जिनियर श्रेष्ठको जिकिर छ ।

भट्टराईले भने-न्यायाधीस नियुक्तिको विवाद झिकेर प्रधानन्यायधीस हटाउने खेल

काठमाडौं, माघ २ । बारका पूर्व उपाध्यक्ष एवम् बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले सर्वोच्च अदालतकी प्रधानन्यायधीश सुशीला कार्कीलाई विवादमा तान्ने खेल भैरहेको आरोप लगाए। उनले न्यायधीश नियुक्तीलाई लिएर बारले असन्तुष्टि जनाएको कुरामा पनि फेद न टुप्पोको भएको टिप्पणी गरे। उनले भने,‘बारको विज्ञप्ती आयो, तर उसको असन्तुष्टि के मा हो ? प्रक्रियामा हो कि वा व्यक्तिमा हो र ?’ शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘अन्तर कुन्तरमा उहाँलाई विवादमा तान्ने खेल भैरहेको छ, उहाँको नेतृत्वमा साहसिक निर्णयहरु भैरहेका छन्, त्यसलाई बद्नाम गराउने काम भैरहेको छ।’ उनले सर्वाेच्च अदालतमा कार्की प्रधानन्यायधीस भए आएपछि धेरै मुद्याहरुमा साहसिक निर्णय भएकाले उनलाई हटाउने काम हुन थालेको बताए । ‘वहाँलाई जसरी पनि विवादमा तानेर हटाउन खोजिएको छ। यही आधारमा तीन जना सांसदलाई अघि सारेर महाभियोग प्रस्ताव लाउने खेल पनि भइरहेको छ,’ भट्टराईले भने ।

शीतल निवासमा बिहेको चटारो

काठमाडौं – शीतल निवासमा केही दिनदेखि विवाहको चटारो छ । राष्ट्रपति विद्यादेवि भण्डारीकी कान्छी छोरी निशाकुसुमको विवाहको तयारी सकिएको छ । उनको विवाहको लगन सोमबारलाइ जुराइएको खबर आजको कान्तिपुरमा छ । निशाकुसुमको गणतन्त्र नेपालको पहिलो राष्ट्रपति रामवरण यादवका भतिजा अभिशेकसँग विवाह हुन लागेको हो । दुलाहा बन्न लागेका अभिशेक पूर्वराष्ट्रपति यादवकी भतिजी एवम् महोत्तरीबाट निर्वाचित सांसद किरण यादवका छोरा हुन् । दुई महिनाअघि नै दुलाहा, दुलहीबीच शीतल निवासमा इन्गेजमेन्ट टिकाटालो भएको थियो । कान्तिपुर दैनिकमा प्रकाशित

बरालडाँडा भगवतीमा माघेसङ्क्रान्ति मेला सुरु

पोखरा, माघ १ । कास्की जिल्लाको सैमराङ गाविस–८ र ९ को बीचमा पर्ने बरालडाँडामा आजदेखि बरालडाँडा भगवती माघेसङ्क्रान्ति मेला सुरु भएको छ । ‘बरालडाँडा भगवती मन्दिरमा जाऔं, भगवती माईको दर्शन गरौं, माघेसङ्क्रान्ति मेलामा रमाऔं’ भन्ने मूलनाराका साथ आयोजना गरिएको सो मेला भोलिसम्म चल्ने छ । बरालडाँडा तमु समाज सेवा समितिको आयोजनामा भएको सो मेलामा गाविसस्तरीय पुरुष भलिबल प्रतियोगिता, दोहोरी गीत प्रतियोगिता, विविध सांस्कृतिक कार्यक्रम र छेलो हान्ने प्रतियोगिता हुने छन् । पुरुष भलिबल प्रतियोगितामा १३ टोलीले भाग लिएका छन् । प्रतियोगितामा प्रथम र द्धितीय हुने टोलीलाई क्रमशः रु.२५ हजार र रु। १५ हजार पुरस्कार दिइने मेला व्यवस्थापन समितिका संयोजक चीनबहादुर गुरुङले बताए ।

तीन करोड लगानी गरेर ३६७ घरधुरीलाई खानेपानी

म्याग्दी, माघ १ । बेनी नगरपालिका २ र ३ मा करिब रु तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ । खानेपानी तथा सरसफाइ सव–डिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ । रु दुई करोड ९८ लाख ७२ हजार २८५ लागत अनुमान गरिएको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको सवडिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए । आयोजनामा उपभोक्ताको रु ५९ लाख ७४ हजार ४५७ बराबरको नगद तथा श्रमदान सहभागिता रहने कार्यालयले जनाएको छ । गत वर्ष रु दश लाख बराबरको काम भएको आयोजनाका लागि यस वर्ष रु ५५ लाख बजेट प्राप्त भएको छ । बिमीराबोटमा रहेको मुहानमा इन्टेक, ग्राभिटी ट्याङ्की र एक किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिसकेको छ । मुख्य पाइपलाइन बिछ्याउनका लागि उपभोक्ताले श्रमदान गरेर नाली खन्ने काम गरिरहेका छन् । भकुण्डेमा एक लाख लिटर र अर्जममा पचास हजार लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की निर्माण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले बताए । प्रतिसेकेन्ड १.२ लिटर पानी आपूर्ति हुने आयोजनाबाट सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए । भकुण्डे र अर्जममा विसं २०३१ सालमा निर्माण भएको आयोजनाबाट खानेपानी आपूर्ति हुँदै आएको छ । पर्याप्त खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीलाई समस्या भएको छ । नयाँ आयोजनामा एक घर एक निजी धारा हुने जनाइएको छ । उपभोक्ता समितिले सक्रियता देखाएर समयमै काम हुन सकेमा यसवर्ष सम्पन्न गर्नेगरी थप बजेट माग गर्न सकिने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले जनाएको छ ।

हर्षाेल्लासका साथ माघी पर्व मनाइँदै

धनगढी, माघ १ । पश्चिम तराईका जिल्लामा बसोवास गर्ने चौधरी–थारू समुदायमा नयाँ वर्ष आरम्भका रुपमा मनाइने ‘माघी’ पर्व हर्षोल्लासका साथ मनाइरहेका छन् । थारू चौधरी समुदायका बस्तीमा ‘माघी’ पर्व मनाउनका लागि तीन दिनअघिबाट नै चहलपहल सुरु भएको थारु अगुवाहरुले बताएका छन् । वर्षभरी गर्नुपर्ने सार्वजनिक कामका साथै गाउँको मुख्य व्यक्तिका रुपमा छनोट गरिने भलमन्सा, अघरियालगायतका पदमा क–कसलाई छनोट गर्ने भन्ने विषयमा बस्तीमा एक–आपसमा छलफल हुन थालेका छन् । यी पदमा सकभर सहमति गर्ने र सहमति हुन नसके निर्वाचनद्वारा छनोट गर्ने गरिन्छ । थारुका घर–घरमा तीन दिनअघिदेखि नै सुगुर र बंगुर काटेर मासुको जोहो गर्ने गरेका छन् । घरकै अनाज प्रयोग गरी जाँड, ढिक्री, अन्दी रोटी, अन्दी भात तयार गर्न यतिखेर थारु महिलाको व्यस्तता बढेको छ । यसरी तयार पारिने खानाका परिकार सामूहिक रुपमा खानपिन गरी टोल टोलमा रमाइलो गर्ने चलन यो समुदायमा रहेको छ । माघेसङ्क्रान्तिको अघि पछि गरी चार–पाँच दिनसम्म मनाइने यो पर्वका बेला प्रत्येक गाउँको मूलघरमा भेला भई खानपिन गरेर रमाइलो गर्ने, प्रत्येक घरमा अंशवण्डा सम्बन्धी काम गर्ने, वर्षभरीमा गाउँमा काम गर्दा भएका कमी कमजोरी सच्याउने प्रतिबद्धता गर्ने गरिन्छ । पर्वका बेला आ–आफ्ना विवाहिता छोरीबहिनीलाई घरमा बोलाई दक्षिणाको रुपमा निसराउ अर्थात् नुन र चामल दिने प्रचलन पनि छ । मकर सङ्क्रान्तिको अवसरमा पहाडी समुदायका घरघरमा भने बिहान पकाइने खाना पहिले कागलाई दिएर खाने परम्परागत छ । कागलाई यमराजको दूत र खबर आदानप्रदान पक्षीका रुपमा लिइने विश्वासमा बिहान ‘का…कौवा’ भन्दै घरपरिसरमा टपरी वा पातमा खाना राखेर दिने गरिएको जानकार लेखराज ओझाले बताएको छ । यस बाहेक सङ्क्रान्तिको आज तरुल पिँडालुलगायतका कन्दमूल उसिनेर खाने गरिन्छ ।  

ठेकेदार बेपत्तापछि भवन निर्माण अलपत्र

सोलुखुम्बु, माघ १ । ठेकेदारको बेवास्ताका कारण सोलुखुम्बुको स्वास्थ्य र वन कार्यालयको भवन निर्माण कार्य नौ महिनादेखि अलपत्र परेको छ । जिल्ला स्वास्थ्य कार्यलयको फाप्लुमा निर्माण हुँदै गरेको भवन र जिल्ला वन कार्यलयको भवन गत वैशाख महिनादेखि नै निर्माण कार्य रोकिएको हो । निलगिरि निर्माण सेवा प्रालिले ठेक्कामा लिएको भवन आगामी महिना हस्तान्तरण गरिनुपर्ने भए पनि दुवै भवन आधा निर्माण गरी अलपत्र छाडिएको छ । सहरी विकास तथा भवन निर्माण कार्यालय ओखलढुङ्गाको बजेटमा निर्माण भइरहेको ती भवनको ठेकेदारका बारेमा सहरी विकास कार्यालयलाई समेत जानकारी छैन । वैशाख १८ गतेदेखि सम्पर्कविहीन भएको ठेक्केदार कम्पनीका मानिस अहिलेसम्म सम्पर्कमा नआएको सहरी विकास तथा भवन निर्माण कार्यलयका प्रमुख सुवास बस्नेतले जानकारी दिए । जिल्ला स्वास्थ्य कार्यालयको भवन रु दुई करोड ३८ लाखमा ठेक्का सम्झौता भएको हो भने जिल्ला वन कार्यलयको भवन रु.एक करोड २९ लाखमा सम्झौता भएको थियो । दुवै भवनको आधा काममात्रै सकिएको छ । दुवै कार्यालयको भवन निर्माण अवधि दुई वर्ष तोकिएको थियो । ठेक्केदार बेपत्ता भएपछि स्थलगत रुपमा खटिने कामदारले समेत पारिश्रमिक पाएका छैनन् । सहरी विकास तथा भवन निर्माण कार्यालयका प्रमुख बस्नेतले भने ठेकेदार बेपत्ता भएपछि खोजीका लागि ठेक्का कम्पनीले कारोबार गर्ने नेपाल बङ्गलादेश बैंकमा खाता रोक्का गर्न निवेदनसमेत पठाइसकेको बताए । भवन निर्माण नहुँदा जिल्ला स्वास्थ्य कार्यालय भाडाको भवनमा छ भने वन कार्यालयले इलाका रेन्जपोस्टको साँघुरो भवनमा काम गरिरहनुपरेको जिल्ला वन कार्यलयका प्रमुख मेघराज रायले बताए ।  

घिउचाकु दलेर नारायण मेला सुरु

भक्तपुर, माघ १ । माघे सङ्क्रान्तिका अवसरमा आज यहाँका नारायण मन्दिरमा मेला लागेको छ । घिउ, चाकु, तिलको लड्डु, हरियो साग, तरुललगायत खाएर मनाइने यस पर्वका दिन आज तौमढीस्थित तिलमाधवनारायण र सूर्यमढीस्थित वाकुपति नारायण मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । ती मन्दिरमा रहेका देवताको शरीरमा घिउ र चाकु लगाइदिने गरिन्छ । गर्भवतीले प्रसादका रुपमा नारायण देवताको नाइटोमाथिको घिउचाकु खाएमा छोरा र नाइटोमुनि लगाइएको घिउचाकु खाए छोरी प्राप्त हुने जनविश्वास छ । नेवारी भाषामा ‘घ्यचाकु सल्हुँ’ भनिने आजको दिन भक्तपुरका चाँगुनारायण, आशापुरी महादेव र डोलेश्वर महादेव मन्दिरमा पनि ठूलो मेला लागेको छ । आज नुहाइधुवाइ गरी जिउमा तेल घसेर घिउचाकु, तिलको लड्डु, सागपात, तरुल खानाले शरीरमा गर्मीको मात्रा बढ्ने ह्रष्टपुष्ट हुने धार्मिक मान्यता छ । आजैदेखि दिन लामो र रात छोटो हुने तथा जाडो घट्दै जाने जनविश्वास छ । आजै भक्तपुरको तलेजुमा पनि विशेष पूजा गरिन्छ । गुठी संस्थानले उपलब्ध गराएको रकमबाट तलेजुका मूल पुजारी उत्तमाङ्गराज राजोपाध्यायले विभिन्न परिकार चढाई विशेष पूजा गरेको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । रासस

घुम्ती शिविरबाट पाँच सयलाई नागरिकता

चौतारा, माघ १ । सेवाग्राहीलाई गाउँघरबाटै सुविधा प्रदान गर्ने उद्देश्यले सिन्धुपाल्चोकको ठोकर्पा गाविसमा आयोजित एकीकृत घुम्ती शिविरबाट पाँच सय ३८ जनालाई नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ । जिल्लास्थित सरकारी कार्यालयद्वारा बिहीबार आयोजित शिविरबाट ठोकर्पा, कालिका, यमुनाडाँडा, सुनखानी र लिसङ्खुसहित पाँच गाविसका बासिन्दालाई विभिन्न सेवा प्रदान गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टाढाटाढाबाट आएका सेवाग्राहीलाई ध्यानमा राखी चिसोको समेत पर्वाह नगरी राति ९ बजेसम्म बसेर सेवा प्रदान गरिएको कामु प्रजिअ अन्तरबहादुर सिलवालले बताए। रासस

नेपाल पत्रकार महासङ्घको सदस्यता छानबिन गर्न माग

काठमाडौँ, माघ १ । क्रान्तिकारी पत्रकार महासङ्घले नेपाल पत्रकार महासङ्घमा विधानले व्यवस्था गरेबमोजिम योग्य हुँदाहुँदै पनि आस्थाका आधारमा सदस्यता लिनबाट ठाउँठाउँमा बञ्चित गरिएको आरोप लगाएको छ । महासङ्घका अध्यक्ष इन्द्र राउतले आज विज्ञप्ति जारी गर्दै आफू अनुकूल मापदण्ड, समयसीमा तोक्ने र भागबण्डा गरेर गैर पत्रकारलाई महासङ्घको विधानविपरीत सदस्यता दिइएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ– “सर्वदलीय र सर्वपक्षीय एउटा अधिकार सम्पन्न छानबिन आयोग गठन गरी थपिएका नयाँ सदस्य र पुराना सदस्य, जो प्रत्यक्ष/परोक्षरुपले पत्रकारिता पेसासँग संलग्न छैनन्, त्यस्तालाई महासङ्घको सदस्य खारेज गर्न विशेष माग गर्दछौँ ।” माग पूरा नभए आफ्नो सङ्गठनले चरणबद्ध सङ्घर्षको घोषणा गर्ने विज्ञप्तिमा उल्लेख छ । रासस

मिति सकिएको सामान बेच्नेलाई जेल सजाय हुनुपर्छ – मन्त्री बोहरा

काठमाडौँ, माघ १। गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको नैसर्गिक अधिकारको संरक्षण र सम्वद्र्धन गर्न उपभोक्ता संरक्षणसम्बन्धी कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको छ । अनुचित व्यापारिक क्रियाकलापलाई निवारण गरी स्वच्छ बजार संरक्षण गर्न, उपभोक्तालाई प्राप्त हकको प्रचलनका लागि न्यायिक उपचार तथा हानिनोक्सानीबापत क्षतिपूर्ति उपलब्ध गराउन सो कानुन संशोधन र एकीकरण गर्नुपर्ने भएको हो । नेपाल कानुन आयोगले  शुक्रबार आयोजना गरेको कार्यक्रममा ‘उपभोक्ता संरक्षणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ माथिको छलफलमा आपूर्तिमन्त्री दीपक बोहराले अखाद्यय वस्तु बेच्नेका लागि कडा कानुनको व्यवस्था गर्नुपर्ने बताए । “व्यक्ति हत्या गरेबापत २० वर्ष जेल बस्नुपर्छ, मिति सकिएको सामान बेच्नेलाई पनि त्यस्तै सजाय हुनुपर्छ, त्यो पनि जेल सजाय हुनुपर्छ, त्यसपछि मात्र उत्पादक तथा बिक्रेता सचेत हुन्छन”– मन्त्री बोहराले थपे । मन्त्री बोहराले सामग्रीको छ महिना समय बाँकी रहँदा वस्तु आयात गर्न बञ्चित गर्नुपर्ने र तीन महिना बाँकी रहँदा सिलबन्दी गर्नुपर्ने व्यवस्था कानुनी रुपमा गर्नुपर्नेमा जोड दिँदै कानुनी रुपमै नियन्त्रण जरुरी भएको बताए । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव टेकप्रसाद ढुङ्गानाले सातवटै प्रदेशमा उपभोक्ता अदालत खोल्नका लागि प्रधानमन्त्री कार्यालयमा छलफल भइसकेको बताए । आपूर्ति मन्त्रालयका सचिव प्रेमकुमार राईले कार्यान्वयन गर्न सकिने खालका कानुन निर्माण गर्नुपर्ने उल्लेख गर्दै अहिले निर्माण गरेका कानुन ३०÷४० प्रतिशत मात्र कार्यान्वयन भएको टिप्पणी गरे । आयोगका अध्यक्ष माधवप्रसाद पौडेलले सबै सुझावलाई समेटेर उपभोक्ताको विषयमा बृहत् छलफल गरी विधेयकलाई अन्तिम रुप दिइने जानकारी गराए । रासस