लक्ष्मीपूजाको साँझ पनि भारतलाई बेचियो ३८० मेगावाट बिजुली

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लक्ष्मीपूजाको साँझ पिक आवरमा पनि बिजुली भारत निर्यात गरेको छ।

प्राधिकरणका अनुसार सोमबार साँझ पिक आवरमा बढी भएको ३८० मेगावाट बिजुली भारतीय बजारमा बेचिएको हो।

लक्ष्मीपूजाको साँझ ६ बजेर १० मिनेटमा नेपालमा सबैभन्दा धेरै बिजुली माग भएको थियो। त्यो समयमा १३०५ मेगावाट बिजुली खपत भएको थियो। निर्यातसहितको बिजुली जोड्दा त्यतिबेला प्राधिकरणको प्रणालीबाट १६८५ मेगावाट बिजुली आपूर्ति भएको थियो।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट आइएक्समा बिक्री सुरू गरेको थियो।

नेपालमा बढी भएको बिजुली भारतीय बजारमा बेच्न सुरू भएसँगै पहिलो पटक यसपालि प्राधिकरण लक्ष्मीपूजाको साँझ पनि बिजुली भारत पठाएको हो।

नेपाली विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा २० अर्ब रुपैयाँ बराबरको बिजुली भारतलाई बेच्ने लक्ष्य रहेको बताएका छन्।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ। प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ। विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ। प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घन्टा विद्युत निर्यात गरिन्छ।

कांग्रेसको घोषणापत्र आज सार्वजनिक हुने

काठमाडौं । कांग्रेसले सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार बिहान साढे १० बजे घोषणापत्र सार्वजनिक गर्ने तय भएको जानकारी दिए । यसअघि कांग्रेसले आइतबार अपराह्न ५ बजे घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम तय गरेको थियो । तर, केही विषय थप गर्नुपर्ने भएपछि मिति सरेको हो । कांग्रेसले डिजिटल घोषणापत्र सार्वजनिक गर्ने तयारी गरेको छ । समितिका प्रवक्ता सहमहामन्त्री जीवन परियारका अनुसार घोषणापत्रको डिजिटल कपी जुममार्फत सार्वजनिक गर्न लागिएको हो । ‘डिजिटल घोषणापत्र सार्वजनिक गरेर कांग्रेसका एजेन्डा धेरैभन्दा धेरैको पहुँचमा पुर्‍याउने तयारीमा छौँ,’ उनले भने, ‘सार्वजनिक कार्यक्रममा आ–आफ्ना निर्वाचन क्षेत्रमा रहनुभएका नेतादेखि विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि सहभागी गर्ने कार्यक्रम छ ।’

७० प्रतिशत मतपत्र छपाइ सकियो

काठमाडौं । प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यका लागि पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ४० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । योसँगै समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने प्रणाली दुवै गरी कुल सङ्ख्याको करिब ७० प्रतिशत मतपत्र छपाइ सम्पन्न भएको छ । आइतबारसम्म पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ एक करोड ६७ लाख पाँच सय मतपत्रको छपाइ सम्पन्न भएको छ । जसमा प्रतिनिधि सभाका लागि ८७ लाख एक हजार र प्रदेश सभाको ८० लाख ५७ हजार पाँच सय मतपत्र रहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको करिब चार करोड मतपत्र भने यसअघि नै छपाइ सम्पन्न भइसकेको छ । आयोगको पछिल्लो तथ्याङ्कअनुसार निर्वाचनमा कुल एक करोड ७९ लाख ८५ हजार ७० जना मतदाता रहेका छन् । यी मतदाताले समानुपातिक तथा पहिलो हुने निर्वाचित हुने दुई प्रणालीका लागि चारवटा मतपत्रमा भोट हाल्नुपर्ने हुन्छ । यसअनुसार आगामी निर्वाचनका लागि करिब आठ करोड मतपत्र आवश्यक पर्छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ भने ६८ जिल्लामा मतपत्र ढुवानी भइसकेको छ । अब नौवटा जिल्लामा मात्र मतपत्र ढुवानी हुन बाँकी छ । ढुवानी भएकामध्ये प्रदेश सभाका लागि एक करोड ९६ लाख १७ हजार तथा प्रतिनिधि सभातर्फ एक करोड ९३ लाख १३ हजार मतपत्र रहेको छ । अब प्रदेश सभाको पाँच लाख ६८ हजार तथा प्रतिनिधि सभाको पाँच लाख ५८ हजार मतपत्र मात्र ढुवानी हुन बाँकी छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तिहारको तेस्रो दिन आज कुकुर तिहार

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआराधनासहित मीठा मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्राडा देवमणि भट्टराई नरके चतुर्दशी र कुकुर तिहार सूर्योदयकालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । वैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ । घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरुको सङ्ख्यासमेत बढ्न थालेको छ । नरक चतुर्दशी आज बिहानै अरुणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको धर्मशास्त्रविद् गौतमले बताए । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्वपूर्ण पर्वका रुपमा मनाइन्छ ।

गठबन्धनको जित सुनिश्चित : देब गुरूङ

लम्जुङ । नेकपा माओवादी केन्द्रका महासचिव तथा लमजुङबाट प्रतिनिधि सभामा गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेका देव प्रसाद गुरूङले लमजुङमा गठबन्धनको जित सुनिश्चित रहेको बताएका छन् । गठबन्धन दल निकट लमजुङ काठमाडौं सम्पर्क समन्वय समिति र मन्चहरूले शनिबार काठमाडौंमा आयोजना गरेको दिपावली छठ लगायतका चाडपर्वको शुभकामना तथा उमेदवार परिचय कार्यक्रममा सम्वोधन गर्दै महासचिव गुरूङले राजनीतिक स्थिरता, सुशासन,लमजुङको विकास र समृद्धिको लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए । उनले भने हामीले हाम्रो उमेदवारी फगत निर्वाचन जित्नको लागि मात्रै नभएर लमजुङको विकास र समृद्धिको लागि दिएका हौं । उनले सुशासनसहितको विकास र बजार व्यवस्था सहितको उत्पादन प्रणालीमार्फत जनताको आर्थिक समृद्वि आफुहरूको मुख्य एजेण्डा रहेको बताए । उनले त्यसको लागि कृषिमा यान्त्रिकरण, भएका सडक कालोपत्रे, नयाँ सडक विस्तार गरि उत्पादन केन्द्र सम्म पुर्याउने र पर्यटन तथा जलविद्युत्का सम्भावनालाई अत्याधिक मात्रामा उपयोग गर्ने पनि आफ्नो योजना रहेको बताए । उनले गठबन्धन यो चुनावसम्म मात्रै नभएर सरकार निर्माण , संविधान रक्षा र शान्ति प्रक्रियाको पुर्णताको लागि पनि आवश्यक रहेकाले ढुक्कसँग मत दिन सबै मतदातालाई आग्रह पनि गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका पुर्व केन्द्रीय सदस्य दिलबहादुर घर्तीले ओली मण्डलीले संविधान मिच्ने र निरंकुशता लाद्ने प्रयास गरेकाले माओवादीसहितको गठबन्धन बनेकाले संविधानको रक्षा र लमजुङको विकास र समृद्धिको लागि गठबन्धनका उमेदवारलाई ढुक्कसँग भोट दिएर जिताउन कांग्रेस सहित सबै दलका कार्यकर्ता र मतदातालाई आग्रह गरे । उनले देव गुरूङ जस्तो नेतालाई आफुहरूले साझा उमेदवारको रूपमा प्रान्त गर्नु लमजुङको लागि गौरवको विषय भएको बताए । त्यसैगरी लमजुङको प्रदेश सभा क का उमेदवार तथा कांग्रेस लमजुङका सभापति डा। टकराज गुरूङले आफुहरूको लमजुङको विकास समृद्धि र संविधान रक्षा बाहेक कुनै स्वार्थ नरहेको भन्दै गठबन्धनको जितलाई कसैले रोक्न नसक्ने बताए । उनले लमजुङको भाग्य र भविष्यको जिम्मेवारी गठबन्धनमा रहेकाले प्रतिगमनकारी एमाले गठबन्धनलाई पराजित गरि लमजुङको विकास र समृद्धिको ज्ञारेन्टी गर्न पार्टी कार्यकर्ता र मतदातालाई आग्रह गरे । त्यसैगरी प्रदेश सभा ख का प्रत्यासी भेष बहादुर पौडेलले लमजुङको विकास र समृद्धि अब टाढा नभएको बताए । उनले गठबन्धनका उमेदवारहरूको साझा उमेदवारीले त्यो संकेत गरिसकेको बताए । उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको स्पष्ट पार्दै आफुसँग लमजुङको विकास पर्यटन, कृषि, उद्योग र जलविद्युत्मामार्फत हजारौंको रोजगारीको योजना रहेको बताए । कार्यक्रममा माओवादी केन्द्रका लमजुङ इन्चार्ज तथा समानुपातिक उमेदवार पारसमणी पौडेलले गठबन्धनका उमेदवारको जितलाई सुनिश्चित गर्न काठमाडौंवासी लमजुङका मतदाताहरूको निर्णायक भुमिका हुने बताए । कार्यक्रममा नेकपा एस का जिल्ला अध्यक्ष रामबाबु अधिकारीले गठबन्धनका दलहरूबीचमा कुनै समस्या नभएको तथा प्रतिद्वन्दी दल एमालेमा गम्भीर विवाद र असहमति देखिएकाले गठबन्धनका उमेदवारहरूको जित सुनिश्चित रहेको बताए । सो अवसरमा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा समानुपातिक उमेदवार उर्मिला माझी, तारा कुमाल, कांग्रेसको प्रदेश सभा उमेदवार टीका बस्याल, पार्वती तामाङले पनि गठबन्धनका उमेदवारलाई जिताउनु प्रमुख जिम्मेवारी रहेको बताउँदै आफ्नो दललाई समानुपातिक तर्फ मतदान गर्न अपिल गरेका थिए ।

सत्तागठबन्धन पवित्र उद्देश्यबाट निर्देशित : माधव नेपाल

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले पवित्र उद्देश्यबाट निर्देशित भएर गठबन्धन गरेको बताएका छन्। आइतबार वीरेन्द्रनगरमा आयोजित सत्तागठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि आफूहरूले गठबन्धन गरेको जिकिर गरे। फरक सिद्धान्त बोकेका कांग्रेस र कम्युनिस्ट ०७ सालदेखि ०६४ सालसम्म आवश्यक पर्दा एकताबद्ध भएका स्मरण गराउँदै अध्यक्ष नेपालले अहिले पनि प्राप्त उपलब्धिहरू गुम्ने खतरा रहेकाले आफूहरूले गठबन्धन गरेको बताए। ‘त्यो एकताको क्रम अघि बढिरहेको छ। कहिले कांग्रेस–माओवादीसहितको सरकार, कहिले एमाले र कांग्रेसको सरकार, कहिले हामी सबैको संयुक्त सरकार विभिन्न समयमा बन्दै आएको छ। त्यसो हुनाले हामीबीचको यो एकता र गठबन्धन स्वाभाविक हो,’ उनले भने। प्रतिपक्षले राष्ट्रको हितमा कुठाराघात गर्नेहरूसँग गठबन्धन गररेको आरोप लगाउँदै नेपालले लोकतन्त्र र गणतन्त्र अहिले पनि जोखिममा रहेको जिकिर गरे।

सत्रकिलाेमा पहिराे, नारायणगढ-मुग्लिन सडक बन्द

चितवन — लगातार भारी वर्षाका कारण नारायणगढ-मुग्लिन सडककाे भरतपुर महानगरपालिका-२९ सत्रकिलाेमा पहिराे खसेपछि यातायात अवरूद्ध भएकाे छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) नरहरि अधिकारीका अनुसार बिहिबार बिहान ८:२० बजे लेदाेसहितकाे पहिराे आएर दुईतर्फी रूपमै यातायात बन्द भएकाे हाे ।

गोरखा दरबारबाट फूलपाती हनुमानढोका पठाइयो

काठमाडौं । गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौंको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ। विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ७ बजेर १० मिनेटको शुभसाइतमा फूलपातीसहितको डोली काठमाडौं पठाएका हुन्। फूलपातीको डोली बा२झ ३८८२ नंको सरकारी गाडीमा राखेर हनुमानढोका दरबार पठाइएको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरिप्रसाद भुसालले जानकारी दिए। गोरखाबाट पठाइएको फूलपाती हनुमानढोका दरबार पु¥याइएपछि आज साँझ हर्षबढाइँका साथ हनुमानढोका दरबारमा फूलपाती भित्र्याउने प्रचलन रहँदै आएको छ। कार्यालयका कर्मचारीसमेत रहनुभएका चण्डीथानका पुजारी कुलबहादुर थापाको नेतृत्वमा हुनमानढोका दरबारमा फूलपाती पठाइएको कार्यालय प्रमुख भुसालले जानकारी दिए। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले काठमाडौँको हनुमानढोका दरबारबाट राजकाज सुरु गरेदेखि बर्सेनि बडादसैँको सातौँ दिन गोरखा दरबारको दसैं घरबाट फूलपातीसहितको डोली काठमाडौंको हनुमानढोका दरबार पु¥याएर भित्र्याउने प्रचलन रहँदै आएको छ। गोरखा दरबारको दसैँघरबाट सतिपिपलस्थित फूलपाती चौतारासम्म फूलपातीको डोली दरबारका सुसारेहरूले बोकेर ल्याई त्यहाँबाट हनुमानढोका दरबार पठाउने प्रचलन रहँदै आएको छ। विधिपूर्वक दसैँघरबाट सतिपिपल चौतारासम्म ल्याएर गोरखाबाट फूलपातीको बिदाइ गरिएको उनले बताए। गोरखा दरबारको दसैँघरमा पनि आजै साँझ फूलपाती भित्र्याइन्छ । गोरखा दरबार परिसरबाट गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायतले फूलपातीको बिदाइ गरेका थिए। त्यस्तै सतिपिपल चौताराबाट गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य, गोरखा नगरपालिकाका निवर्तमान नगरप्रमुख राजनराज पन्तलगायतले हनुमानढोका दरबारका लागि फूलपाती बिदाइ गरेका हुन्।

चार्ड पर्वको अवसरमा हुने कालोबजारी नियन्त्रण गर्न जन उपभोक्ता मंचको आग्रह

काठमाडौं । जन उभोक्ता मन्च नेपालले चार्ड पर्वहरूको अवसर पारेर हुने कालो बजारी, ठगी देखि लिएर यातायातमा मनपरी भाडा असुली, खाध्य वस्तुमा मिसावट लगायतका कार्यहरु गर्न नदिन संबन्धित पक्षलाई आग्रह गरेको छ । साथै, मंचले एक विज्ञप्ति जारी गर्दै आम उपभोक्ताहरुलाई पनि चनाखो र सचेत हुन आग्रह गर्नुकासाथै नेपालीहरूको महान चार्ड (२०७९)वडा दशै, दिपावली, छट लोसार , नेपाल संवत लगायतका पर्वहरुको शुभकामना व्यक्त गरेको छ ।

त्रिभुवन विमानस्थलको पाँच किलोमिटरभित्र ड्रोन उडाए कारबाही गरिने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउनेलाई कारबाही गरिने जनाएको छ । विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन उडाउने कार्यले विमानको उडान सुरक्षामा गम्भीर असर पर्ने भन्दै उक्त कार्य नगर्न÷नगराउन प्राधिकरणले आग्रह गरेको छ । नेपाल नागरिक उड्डययन प्राधिकरणले एक सूचना जारी गर्दै त्रिभुवन विमानस्थलको पाँच किलोमिटर क्षेत्रभित्र ड्रोन नउडाउन एक सूचना प्रकाशित गरी जानकारी गराएको र उक्त सूचनाको अटेर गरेमा कानूनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । ड्रोन उडानसम्बन्धी नियम २०२१ ले विमानस्थलको आसपास ड्रोन उडाउन बन्देज गरे पनि पछिल्लो केही समययता उक्त नियमलाई अटेर गरी ड्रोन उडाउने कार्य भइरहेको पाइएकाले ड्रोन उडाउन बन्द गरिएको प्राधिकरणको भनाइ छ ।

खोटाङमा गुडिरहेको बसमा आगलागी

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित कदुवानजिकैको घुम्तीमा गुडिरहेको बसमा आगलागी भएको छ। काठमाडौंबाट यात्रु लिएर खोटाङतर्फ आइरहेको बा३ख ८९८१ नंको यात्रुवाहक बसमा आज साँझ एक्कासी आगलागी भएको हो। बसमा आगलागी हुँदा कुनै मानवीय क्षति भने नभएको घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गुडिरहेको बसमा एक्कासी आगलागी हुँदा बससहित बसमा भएका सामान जलेर नष्ट भएको छ। बसमा आगलागी भएपछि त्यसमा सवार यात्रु अलपत्र परेका छन्। बसमा ३२ यात्रु सवार थिए। उनीहरूलाई गन्तव्यसम्म पुर्‍याउन दिक्तेलबाट अर्को बस मार्फत गन्तब्यमा पुर्याइएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङ्माङले जानकारी दिए। गुड्दै गरेको बसको इन्जिनबाट आगो निस्केको यात्रुले बताएका छन् । आगलागी भएको बस पुरानो भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रामबालक रायले जानकारी दिए।

आयात प्रतिस्थापन गर्न मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प छैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आयात प्रतिस्थापनको लागि मुलुकभित्र उत्पादन वृद्धि गर्नुको विकल्प नभएको बताउनुभएको छ । मंगलबार काठमाडौंमा भएको निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । शर्माले सरकारको मुख्य उद्देश्य आयात प्रतिस्थापन र व्यापार घाटासँग भएको भन्दै कृषि क्षेत्रको उत्पादन वृद्धि र कृषिबाट उत्पादित वस्तुलाई आन्तरिक बजार मात्रै नभएर अन्तर्राष्ट्रिय बजारमा समेत निर्यात गर्न सक्नुपर्ने बताए । मन्त्री शर्माले नेपाली उत्पादनमा वृद्धी गरी विदेशमा निर्यात बढाउनको लागि बैंक तथा वित्तीय संस्थाको लगानी उत्पादन उद्योगमा बढाउन आवश्यक भएको बताए । उनले उत्पादनमूलक उद्योगमा दिने एक करोडसम्मको कर्जाको सीमा बढाउनुपर्ने धारणा राखे । मन्त्री शर्माले औद्योगिक क्षेत्रमा लगानीको अभावका कारण धरासायी हुने अवस्था आएको भन्दै उद्योगलाई सरकारले संरक्षण गर्ने बताए । उनले लगानी अभावका धरासायी हुने अवस्थामा पुगेका औद्योगिक क्षेत्रलाई सरकारले बचाउन नसके देशको आर्थिक विकास र समृद्धि सम्भव नभएको दाबी गरे । अर्थमन्त्री शर्माले उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम संशोधन गर्नुपर्ने भन्दै उत्पादनशील क्षेत्रको कर्जाको प्रिमियम २ प्रतिशत बढी भएकाले कम गर्न राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ध्यानाकर्षण गराए । “अब उत्पादनशील क्षेत्रमा २ प्रतिशत प्रिमियम बढी भयो, यसले धेरै उद्योग समस्यामा छन्, यसलाई संसोधन गर्नुपर्छ । प्रारम्भिक १ करोड भनिएको छ, त्यसले पुग्दैन त्यो नीतिलाई पनि संशोधन गर्नुपर्नेछ,” शर्माले भने, “औधोगिक क्षेत्रहरु लगानीको अभावका धरासायी हुने अवस्था छ त्यसबाट सरकारले बचाउनु पर्छ । त्यसलाई बचाउन सकेनौँ भने देशको आर्थिक विकास र समृद्धि सम्भव छैन । त्यसतर्फ राष्ट्र बैंकका गभर्नर साबको पनि ध्यानाकर्षण गराउन चाहन्छु ।” मन्त्री शर्माले उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने भन्दै चालु आर्थिक वर्षमा ३० प्रतिशत आयात कम गर्ने सरकारको उदेश्य रहेको बताए । उनले तरलता चाप समस्या समाधानको लागि राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालय र बैंक तथा वित्तिय संस्थाहरुसँग बृहत् छलफल गरेर समाधान खोज्ने बताए । “उत्पादनको क्षेत्रमा लगानी वृद्धि गरेर मात्रै समग्र राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सक्छौँ र यो चालु आर्थिक वर्षको मुल उद्देश्य त्यही हो । ३० प्रतिशतसम्म आयात कम गर्ने लक्ष्य लिएका छौँ,” शर्माले भने, “अहिले बजारमा भएको तरलता अभावको समस्या समाधानको लागि राष्ट्र बैंकको नेतृत्वमा अर्थ मन्त्रालय र बैंक तथा वित्तिय संस्थाहरुसँग वृहत छलफल गरेर समाधान गर्नेछ ।” अर्थमन्त्री शर्माले साना किसान र ग्रामीण अर्थतन्त्रको विकास गर्न नसके मुलुक आर्थिक समृद्धिको बाटोमा जान नसक्ने बताए । उनले मुलुकमा आर्थिक समृद्धि ल्याउनको लागि ग्रामीण अर्थतन्त्रमा जोड दिन आवश्यक रहेको बताए । मन्त्री शर्माले सरकारले अब ग्रामीण अर्थतन्त्रलाई जोड दिएर ग्रामीण क्षेत्रमा भएको स्रोत र साधनको प्रयोग गरी उत्पादन वृद्धि गर्ने बताए । उनले साना किसान र ग्रामीण अर्थतन्त्र सबल बनाउनको लागि अहिले बैंक तथा वित्तीय संस्थाहरुको कर्जा नीतिहरु परिर्वतन गर्न आवश्यक रहेको बताए । “कृषि कर्जा लिएर जग्गामा लगानी गर्ने अवस्थाको अन्त्य हुनुपर्छ । यसका लागि बैंकको नीति बदल्नुपर्छ । देशको आवश्यकताका आधारमा नीतिहरु विकास र बिस्तार गर्नुपर्छ,” शर्माले भने, “सर्वसाधारण जनताको विश्वास जित्नेगरी वित्तीय क्षेत्रले काम गर्नुपर्छ । परियोजनालाई कसरी सम्पत्ति मान्ने छुट्टै धितो चाहिने अवस्था छ त्यसको लागि कस्तो नीति आवश्यक छ भन्ने विषय सोच्नुपर्छ ।” मन्त्री शर्माले सरकारले लघुवित्त लगानी कोष बनाउने तयारी गरेको बताए । उनले सरकारी संस्थानहरुमा भएको कोषको समेत लगानी रहने गरी मन्त्रालयले लघुवित्त लगानी कोष नियमावली र कार्यविधि बनाइरहेको जानकारी दिए ।

८० प्रतिशत हवाई टिकट अग्रिम बुकिङ

काठमाडौँ । आन्तरिक हवाई उडान गर्दै आएका हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि मात्रै ८० प्रतिशत अग्रिम टिकट बुकिङ भएको जनाएका छन् । केही दिन पहिले आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले दशैका लागि हवाई टिकट बुकिङ खुला गरेसँगै अहिलेसम्म ८० प्रतिशत टिकट बुकिङ भएको जनाएका छन् । हालसम्म सबैभन्दा बढी श्री एयरलाइन्सले ८० प्रतिशत टिकट बुकिङ गरिसकेको कम्पनीका प्रवक्ता अनिल मानन्धरले जानकारी दिनुभयो । यसैगरी बुद्ध एयरको हालसम्म ४० प्रतिशत अग्रिम बुकिङ गरेको छ भने यती एयरलाइन्सले ७० प्रतिशत, गुण एयरलाइन्सले ८० प्रतिशत बुकिङ गरेको जनाएका छन् । दशैँ आउन एक साता बाँकी हुँदा हवाई टिकट ८० प्रतिशत सकिएको बताइएको छ । हवाई सेवाको अग्रिम टिकट बुकिङ सँगसँगै आन्तरिक हवाई सेवा प्रदायक कम्पनीले टिकट भाडामा पनि वृद्धि गरेका छन् । विगतमा काठमाडौँ–धनगढी हवाई भाडा रु सात हजार पाँच सय रहेकामा अहिले अधिकतम रु १७ हजार कायम गरिएको छ । सबैभन्दा कम टिकटको मूल्य विराटनगर–काठमाडौँ रहेको छ । विराटनगर–काठमाडौँ एकतर्फी भाडा न्यूनतम रु चार हजार पाँच सय अधिकतम भाडादर रु १० हजार कायम गरिएको छ । अग्रिम टिकट बुकिङसँगै हवाई भाडामा पनि उकालो लागेको गुण एयरलाइन्सका प्रवक्ता प्रज्वल थापाले जानकारी दिए । उहाँका अनुसार काठमाडौँ फर्कनका लागि टिकाको भोलिपल्ट देखिका लागि पनि ७० प्रतिशत टिकट अग्रिम बुकिङ भइसकेको छ । रासस

जनसाँस्कृतिक महासंघ कर्णाली प्रदेशको अध्यक्षमा कटुवाल

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट संगठन ‘जनसाँस्कृतिक महासंघ नेपाल’ कर्णाली प्रदेशको पहिलो सम्मेलन सम्पन्न भएको छजनसांस्कृतिक महासंघ नेपाल कर्णाली प्रदेशको प्रथम सम्मेलन सोमबार विरेन्द्रनगर सुर्खेतमा भव्यतापूर्वक सम्पन्न भएको हो । सम्मेलनमा लालबहादुर कटुवालको नेतृत्वमा ५१ सदस्यीय जनसांस्कृतिक महासंघ कर्णाली प्रदेश गठन गरिएको छ । अध्यक्षमा लालबहादुर कटुवाल (एल.वि.कटुवाल) रहेका छन भने उपाध्यक्षमा रण बहादुर बुढा, सचिवमा धिरेन थापा अनुपम, सहसचिवमा गणेश ओली र लगायत कर्णाली प्रदेशका १० वटा जिल्लावाट प्रतिनिधित्व गराई ५१ सदस्यीय समिति गठन गरिएको हो । जनसांस्कृतिक महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष भिम कुमाखीको अध्यक्षतामा भएको कार्यक्रमको नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश उपाध्यक्ष कृष्ण जिसिले उद्द्घाटन गरेका थिए । महास‌ंघका केन्द्रिय सदस्य यदु विक्रम शाहिले सञ्चालन गरेको कार्यक्रमा महास‌ंका केन्द्रिय महासचिव सुवर्ण मल्लको विषेश आथित्यता रहेको थियो । संगठनको कोषाध्यक्ष भने जनसाँस्कृतिक महासंघ नेपाल कर्णाली प्रदेशको पहिलो बैठकले टुङ्गो लगाउने अध्यक्ष लालबहादुर कटुवालले जानकारी दिए ।

मकवानपुरमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।

गएराति वकैया–११ आहालडाँडाका करिब ५५ वर्षीय आइतसिंह भोलनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरमा बसिरहेको अवस्थामा चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो । यसैगरी चट्याङ लागेर स्थानीय भीमबहादुर तामाङको गोठमा रहेको एउटा गोरुसमेत मरेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए।

पोखरामा अवैध संरचना हटाउन मेयर आचार्यको निर्देशन

काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले अवैध संरचना हटाउने बताएका छन । फेवाताल किनाराका अवैध संरचनाको निरीक्षण गर्न पुग्नु भएका आचार्यले नगर प्रहरीलाई अवैध संरचना हटाउन निर्देशन दिएका हुन । फेवातालदेखि ६५ मिटरभित्र कुनै पनि नयाँ संरचना बनाउन नपाईने नियम रहेको छ । पछिल्लो समय संरचना बन्न नरोकिएको सूचना पाएपछि मेयर आचार्यले निरीक्षण गरे । महानगरको निर्देशनलाई अटेर गरी संरचना निर्माण गरे भत्काउन लाग्ने खर्च समेत सम्बन्धित व्यक्तिबाट अशुलउपर गर्ने पनि उनले बताए। महानगरले अवैध संरचना निर्माणमा प्रयोग भएको रेडी मिक्सचर समेत नियन्त्रणमा लिएको छ ।