प्रम स्वकीय सचिव प्रकाशका बारेमा प्रकाशित समाचारविरुद्ध उजुरी

काठमाडौं, पौष १४ । प्रधानमन्त्री प्रचण्डका स्वीकीय सचिव प्रकाश दाहालका बारेमा प्रकाशित समाचारविरुद्ध नेपाल प्रेस काउन्सिलमा उजुरी परेको छ ।

राजधानीबाट प्रकाशित हुने ‘नेपाल समाचारपत्र’को ब्यानर समाचारका रुपम प्रकाशित “महतोको लगानी शंकाको घेरामा, प्रधामन्त्री पुत्रलाई रसरङ्गमा भुलाएर अवैध धन्दा चलाईंदै” भन्ने समाचारले दाहालको मानमर्दन भएको भन्दै उजुरी परेको नेपाल प्रेस काउन्सिलले जनाएको छ ।

प्रम कार्यालय स्वकीय सचिवालयमा कार्यरत् दल बहादुर बिकका तर्फबाट दर्ता भएको उजुरीमा प्रकाशित समाचार अत्यन्तै गलत, भ्रामक, कपोकल्पित र एकपक्षीय ढंगले प्रवाह भएको उल्लेख छ । “स्वकीय सचिव प्रकाश दाहालको चरित्र हत्या गर्ने तथा प्रधानमन्त्रीलाई बदनाम गराउने कुत्सित मनसाय र योजनामा उक्त समाचार प्रकाशित गरिएकोमा शंका छैन” उजुरीमा भनिएको छ ।
उजुरीमा सम्बन्धित व्यक्तिको प्रतिक्रियासम्म नराखि कुनै तथ्य, प्रमाण र पुष््ट्याइबिना कसैको बदनाम गराउने नियोजित उद्देश्यका साथ एकपक्षीय ढंगले प्रकाशति समाचार आचार संहिता २०७३ विपरित रहेकोले कडा कारवाही गर्नुका साथै प्रकाशित स्थानमा नै क्षमा याचनासहितको खण्डन तत्काल प्रकाशित गर्न अनुरोध गरिएको छ ।

दलित महिला एलडीअाे सम्मानित

भोजपुर, पुस १४ । दलित महिला स्थानीय विकास अधिकारी सीता परियारलाई भोजपुरमा सम्मानित गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९ औं स्थापना दिवसका अवसरमा परियारलाई मंगलबार सम्मान गरेको छ । दलित समुदायको एकमात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ । रुपकोट–२ कास्कीमा जन्मिएकी परियार भोजपुर जिल्लाको ३२ औं स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी समेत रहेको छ । उनले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसकेको छ । कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताए ।  

स्यूचाटार सब–स्टेशनमा खराबी, विद्युत आपूर्तिमा समस्या

काठमाडौं, पुष १४ । बिहिबार बिहान देशैभरी बिजुली आउने जाने समस्या देखियो । कतै फेरी लोडसेडिङ हुने त हैन ? भन्ने प्रश्न समेत धेरैको मनमा उठ्यो । तर विद्युत प्राधिकरणले आज बिहान बिद्युत आपूर्तिमा देखिएको समस्या प्राविधिक खराबीका कारण भएको जनाएको छ । प्राधिकरणका अनुसार, स्युचाटार सब–स्टेशनमा प्राविधिक खराबी देखिएपछि विद्युत आपूर्तिमा समस्या भएको हो । अहिले प्राधिकरणले दक्ष प्राविधिकहरुलाई सिष्टममा देखिएको खराबी हल गर्न खटाइसकेको छ ।

विद्युत् प्राधिकरणका सञ्चालकलाई नहटाउन सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौँ,पुष १४ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका सञ्चालकलाई तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले आज यही पुस १९ गते दुवै पक्षलाई छलफलका लागि बोलाई त्यति बेलासम्मका लागि सञ्चालक समितिका सदस्यलाई नहटाउन अल्पकालीन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । आदेशमा प्राधिकरणका सञ्चालक लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई किन हटाइएको हो सोको कारण देखाउन ऊर्जा मन्त्रालयका नाममा कारण देखाउसहित नहटाउन भनिएको छ । प्राधिकरणमा निर्देशक कुलमान घिसिङ नियुक्त भएपछि असहयोग गरेको भन्दै सञ्चालक सदस्यत्रय लक्ष्मण अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई यही पुस ३ गते बर्खास्त गरिएको थियो । बर्खास्त गरिएका तीन सञ्चालकले हिजो मङ्गलबार आफूहरुको बर्खास्तीविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । रासस

बेलीब्रिज जडानपछि गाईघाट–दिक्तेल यातायात सञ्चालन

गाईघाट (उदयपुर), १४ पुस । गाईघाट दिक्तेल सडकखण्डअन्तर्गत उदयपुर जिल्लाको आँपटारको फोक्सिङटार र खोटाङ जिल्लाको लिच्कीराम्चे गाविस बीचमा पर्ने सुनकोसी नदीमा बेलीब्रिज जडान कार्य सम्पन्न भएपछि उदयपुरको गाईघाटदेखि खोटाङको दिक्तेलसम्म सिधा यातायात सञ्चालन सुरु भएको छ । बर्खायाम लागेर सुनकोसी नदीमा पानीको बहाव बढेसँगै गत जेठ महिनामा फुकालिएको बेलीब्रिज मङ्सिर १३ गतेबाट पुनः जडान सुरु गरी सोमबार जडान कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको गाईघाट दिक्तेल सडक कार्यालयका प्राविधिक प्रमुख राजेन्द्र जोशीले बताएका छन् । मङ्गलबारदेखि गाईघाटबाट दिक्तेल र दिक्तेलबाट गाईघाट केही यातायातका साधन सञ्चालन हुन थालेको छ । गत जेठमा बेलीब्रिज फुकालिएपछि गाईघाट दिक्तेलसम्म सिधा यातायात सञ्चालन हुन सकेको थिएन । यता बेलीब्रिज जडानसँगै अब नियमित रुपमा गाईघाट दिक्तेल सडकमा ठूला सवारीका साधन बससमेत औपचारिक रुपमा सञ्चालन गर्न लागिएको हिमाली यातायात व्यवसायी सङ्घ उदयपुरका अध्यक्ष प्रेमकुमार राईले बताए । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले २०५१ सालमा औपचारिक उद््घाटन गरेका गाईघाट–दिक्तेल सडकखण्डको सुनकोसी नदीमा अझैसम्म पनि स्थायी पुल निर्माण हुन सकेको छैन । स्थायी पुल हुन नसक्दा हिउँदमा बेलीब्रिज जडान गर्ने र बर्खायाममा निकाल्ने कार्य हुँदै आएको छ । रासस फाइल तस्वीर

वरिष्ठ साहित्यकार कमलमणि दीक्षितको निधन

काठमाडौं, पुष १४ । वरिष्ठ साहित्यकार  कमलमणि दीक्षितको ८६ वर्षको उमेरमा आज बिहान निधन भएको छ । श्वासप्रश्वासको समस्याबाट पीडित  दीक्षितको बीएन्डबी अस्पतालमा उपचार भइरहेको थियो । बिहान दुई बजेर ४५ मिनेटमा ललितपुरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । मदन पुरस्कार गुठीले शोक विज्ञप्ति जारी गर्दै उनको आज बिहान ७ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाएको छ ।

झण्डै सत्तरी करोड शिक्षण अस्पताललाई सहयोग

काठमाडौँ, पुस १३ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई स्वास्थ्यसम्बन्धी उपकरण सुधार परियोजनाका लागि रु ६९ करोड २० लाख अनुदान सहयोग प्रदान गर्ने जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले सहमति गरेको छ । उक्त सहमति पत्रमा आज अर्थ सचिव शान्तराज सुवेदी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले हस्ताक्षर गरेका छन् । यसैगरी जाइकाले जापानको आव २०१६ को अनुदान सहयोग योजनाअन्तर्गत नेपाल सरकारलाई रु ३२ करोड १० लाख अनुदान सहयोग गर्न सहमति जनाएको छ । सो सहमति पत्रमा मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल र जाइका नेपालका वरिष्ठ प्रतिनिधि हिरोयसु तोनोकावाले हस्ताक्षर गरेको छ । सो अवसरमा अर्थ सचिव सुवेदीले जापान सरकारले नेपालको सामाजिक आर्थिक विकासमा गर्दै आएको सहयोगप्रति अभार व्यक्त गर्दै जाइकाको सहयोगपछि आउने नयाँ उपकरणले शिक्षण अस्पतालको स्वास्थ्य सेवा र शिक्षामा संख्यात्मक र गुणात्मक सुधार हुने बताए । राजदूत ओगावाले नेपाल र जापानबीच कूटनीतिक दौत्य सम्बन्धको ६० औँ वर्षगाँठ पुगेकोमा खुसी व्यक्त गर्दै सहयोग आदानप्रदानले दुवै देशबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप प्रगाढ हुँदै जाने विश्वास व्यक्त गरे । अस्पतालका कार्यकारी निर्देशक प्रा.डा दीपकप्रकाश महराले सर्जिकल, क्यान्सर, अर्थोपेडिक्स, प्याथोलोजि, गाईनोकोलोजिकल, रेडियोलोजिकललगायतका विभागसँग सम्बन्धित उपकरणको सहयोगपछि अस्पातालको स्वास्थ्य सेवामा संख्यात्मक र गुणस्तर वृद्धि हुने बताएका छन् । अस्पतालले गुणस्तरीय उपकरण आओस् भनेर सोहीअनुसारको प्रस्ताव पेश गरेको जानकारी गराउँदै उनले त्यस्ता आधुनिक उपकरणको जडानपछि स्वास्थ्य उपचार सेवा अझै सुनिश्चित हुने बताए । उपकरण सन् २०१७ को सेप्टेम्बरसम्म अस्पतालमा आइपुगेका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

काठमाडौ, पुस १३ । सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ । विज्ञान तथा प्रविधि र इन्जिनियङ संकायका विद्यार्थीहरुले ल्याब स्थापनाको माग गर्दै मुख्य गेटमै तालाबन्दी गरेका छन् । क्याम्पस प्रशासनले आफ्नो मागको सुनवाई नगरेको भन्दै विद्यार्थीहरुले विश्वविद्यालयका पदाधिकारीको राजीनामा समेत माग गरेका छन् । विद्यार्थीको तालाबन्दीपछि विश्वविद्यालयको पठन पाठन ठप्प भएको छ । विश्वविद्यालयमा तालाबन्दी गरिएको अवस्थामा समस्या समाधान गर्नुको साटो उपकुलति डा. भूषण श्रेष्ठ र रजिष्ट्रार द्विजराज भट्ट काठमाडौंतर्फ हिँडेको विद्यार्थीहरुले बताएका छन् । “हाम्रो भविष्यसँग जोडिएको कुरामा विश्वविद्यालयका पदाधिकारी संवेदनशील देखिएनन्, आन्दोलनको विकल्प छैन” विद्यार्थीहरुले सामूहिक रुपमा भने ।

झारपातलाई पोलेर बायो ऊर्जा उत्पादन

सिन्धुपाल्चोक, पुस १३ । वनजंगललमा खेर गइरहेको झारपातलाई प्रयोग गरी वायो ऊर्जा उत्पादन गरिएको छ । जिल्लाको अत्तरपुर गाविसमा वनमा खेर गइरहेको पातपतिंगर र काम नलाग्ने झाडीलाई पोलेर त्यसबाट वायो ब्रिकेट र कोइला उत्पादन गरिएको हो । हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत जैविक ऊर्जा परियोजनाको सहयोग तथा हिमालयन नेचुरल प्रालिको सक्रियतामा वायोब्रिकेट र चारकोल कोइला उत्पादन गरिएको हो । जाडोयाममा कोठा न्यानो बनाउन र इँटा–भट्टामा इँटा पोल्नका लागि प्रयोग गरिने बायो ऊर्जा उत्पादनबाट स्थानीयले रोजगारसमेत पाएका छन् । अत्तरपुर ८ की सपना श्रेष्ठ बिहान बच्चाबच्चीलाई विद्यालय पठाएर घरको धन्दा सकेर १२ बजेतिर ब्रिकेट बनाउन आउने गरेको छ । दिनभरि विक्रेट बनाउँदा उनलाई दैनिक पाँच सयदेखि सात सय रुपैयाँसम्म आम्दानी हुने गर्दछ । यस्तै अत्तरपुरकै जमुना शाक्य पनि बिहान घरको धन्दा सकेर ब्रिकेट बनाउन आउँदा दैनिक रु पाँच÷सात सय आम्दानी गरेको छ । उक्त गाविसमा मात्र ब्रिकेट उत्पादन कम्पनीमा २०० भन्दा बढी मानिसले रोजगारी पाएका छन् । सुरुमा खाल्डो खनेर पातपतिङ्गर पोलेर कोइला र ब्रिकेट बनाउने गरेपनि हेल्भेटास र हिमालय नेचुरल प्रालिको सहयोगपछि आधुनिक प्रविधिमार्फत बनाउन थालिएको प्यूखर्क वायोब्रिकेट उद्योगका अध्यक्ष यामबहादुर श्रेष्ठले बताएको छ । उनले भने– ‘सुरुका दिनमा गुणस्तरीय सामान बनाउन गाह्रो हुन्थ्यो, अहिले गुणस्तरीय सामान उत्पादन गर्न सक्षम भएका छौँ ।” उक्त उद्योगहरुमा पाँँच इञ्च गोलाई, १ः३० इञ्च उचाइ र ५ इञ्च गोलाइ र तीन इञ्च उचाइका दुईथरि ब्रिकेट उत्पादन हुने गरेको छ । धसिङ्ग्रे ब्रिकेट उद्योगका अध्यक्ष शशीकुमार शाक्य ब्रिकेट उत्पादनबाट एक सिजनमा रु एक लाखदेखि डेढ लाखसम्म आम्दानी हुने गरेको बताए । उनले भने– ‘सरकारी क्षेत्रबाट यस्तो काममा सहयोग हुने हो भने धेरै युवाले रोजगार पाउने थिए ।’ हेल्भेटासकी वायो ऊर्जा परियोजना अनुगमन अधिकृत उषा पाण्डेय समुदायलाई स्वावलम्बनतिर लैजान र विदेशबाट दैनिक रुपमा भित्रने गरेको ऊर्जालाई कम गर्ने काममा सहयोग पुगोस् भन्ने उद्देश्यका साथ हेल्भेटासले यस्तो कार्यक्रममा सहयोग गरेको बताए । उनले भने– ‘ग्रामीण क्षेत्रमा रहेका बेरोजगार युवालाई गाँउमै रोजगार दिन यस्तो कार्यक्रमले सहयोग पुग्नेछ ।’ हिमालयन नेचुरल प्रालिका कार्यकारी निर्देशक सुशील ज्ञवाली ऊर्जाका नाममा विदेशिएको रकम रोक्ने उद्देश्यका साथ बायो ऊर्जा उत्पादनमा आफ्नो संस्था लागेको बताए । उनले भने– भन्नुहुन्छ– ‘सरकारले सहयोग गरे हामी २० हजार सिलिण्डर बराबरको वायोमास उत्पादन गर्न सक्छौँ ।’ हिमालय नेचुरल प्रालिले हाल भक्तपुर, ललितपुर, मकवानपुर, नुवाकोट सिन्धुपाल्चोक र काभ्रे जिल्लामा वायोमास उत्पादन गरिरहेको छ । जसको माध्यामबाट एक हजारभन्दा बढी व्यक्तिलाई रोजगार दिएको छ । जसमध्ये ४० प्रतिशत महिला रहेका छन् । सिन्धुपाल्चोकका जिल्ला वन अधिकृत शिव सापकोटा वनमा खेर गइरहेको झाडीलाई सदुपयोग गरी बायोब्रिकेट उत्पादन गरी उर्जा अभावलाई सहयोग गरेको बताउनुुहुन्छ । उनले भने– ‘वनको वार्षिक कार्यक्रममा झाडी व्यवस्थापन पनि रहेको हुँदा बायो ऊर्जाले झाडी व्यवस्थापनमा सहयोग पुगेको छ ।’ सरकारले यस्तो काममा सहयोग गरे नाकाबन्दीजस्ता आपतकालीन समयमा थोरै भएपनि राहत पुग्ने गरेको छ ।

तीन दलकाे बैठकमा “संशाेधन प्रस्तावमा के काे अापत्ती ?” भन्दै ओलीसँग कड्किए देउबा

काठमाडौं, पौष १३ । “तपाईलाई संशोधन प्रस्तावमा के को आपत्ती हो ?” देउबा कड्किएपछि एकछिन बैठकको माहौल तात्यो । “तपाईले नै ल्याएको प्रस्ताव हैन ?” देउबा अझै जंगिए, “दुई चार जिल्ला यता उता पर्दा के फरक पर्छ ? के को आपत्ती हो ?” आफैले हस्ताक्षर गरेको सीमांकनको प्रस्ताव अहिलेको सरकारले ल्याउँदा एमालेले जनाएको आपत्ती अर्थहीन भन्दै देउबाले सदन अवरोध गर्नुको कारण सोधे ओलीसँग । प्रधानमन्त्री प्रचण्डले सदनको गतिरोध अन्त्य गर्न सहमति जुटाउने उद्देश्यले नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रको बैठक डाकेका थिए । बैठकमा एमाले अध्यक्ष ओलीमाथि देउबा खनिएपछि बैठकको वातावरण तातेको हो । आज बिहान ११ बजे सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका संसदको गतिरोध अन्त्य गर्न संविधान कार्यान्वयनसँग जोडिएका विषयहरुमा सहमति खोज्न आग्रह गरेका थिए । प्रधानमन्त्रीका पे्रस संयोजक गोविन्द आचार्यका अनुसार, प्रधानमन्त्रीले संशोधन प्रस्ताव, निर्वाचन विधेयक, राज्य पुनसंरचना र लोकमान सिंह कार्कीविरुद्धको महाअभियोगलगायतका विषयमा प्याकेजमा सहमति गरेर देशलाई निकास दिन प्रस्ताव गरेका थिए । तर प्रधानमन्त्रीको प्रस्तावमाथि छलफल हुन नपाउँदै एमालेका तर्फबाट भने संशोधन प्रस्ताव फिर्ता लिएमात्रै अन्य विषयमा सहमति गर्न सकिने पूर्व अडान दोहोरिएपछि नेपाली कांग्रैसका सभापति शेर बहादुर देउबा कड्किएका थिए । देउबाले सदन अवरोध राखेर संविधान कार्यान्वयन हुन नदिएको भन्दै एमालेलाई जिम्मेवारी प्रतिपक्षको भूमिको निर्वाह गर्न आग्रह गरेका थिए । “तपाईहरु आफुले त्यतिबेला प्रस्ताव गर्ने, अहिले संविधान कार्यान्वयनलाई नै असफल पार्न खोज्ने ?” उनको आशय थियो । सदनमा छलफलका क्रममा आफ्ना फरक मत राख्न र आवश्यक परे प्रस्ताव फेल गर्न सक्ने हुँदाहुँदै पनि सदन अवरोध गर्नु लोकतान्त्रिक चरित्र नभएको भन्दै देउबाले ओलीसँग चर्को असन्तुष्टि पोखे । एमाले अध्यक्ष ओलीले भने सरकारले एमालेलाई ‘बाइपास’ गरेर जान खोजेको संकेत गरे । “न्यायपरिषददेखि कतिपय नियुक्तिमा एमालेलाई उपेक्षा गरियो । सरकारी संरचनामा हामीलाई सिध्याउने काम भयो अनि हामीसँग सहमतिको कुरा गर्ने ?” ओलीले यही आशयको कुरा बैठकमा राखेको एक सहभागीले जानकारी दिए । “ओलीजीको आशय सत्तारुढ गठबन्धनले प्रतिपक्षलाई पेल्न खोजेको र उसको अस्तित्व नै मान्न नखोजेको भन्ने थियो ।” उनले भने । बैठकमा चर्काचर्की परेपनि निर्वाचनमा जाने विषयमा भने दलहरु सहमतिमा पुगेका छन् । राज्य पुनःसंरचनाबारेमा आयोगको प्रतिवेदनमा छलफल गर्ने विषयमा समेत उनीहरुबीच कुरा मिलेको छ । एमालेले संशोधन प्रस्ताव मान्दै नमान्ने र त्यसलाई छलफलमा समेत लैजान नदिने अडान कायमै राखेपछि अबको राजनीतिक अभ्यास कसरी अगाडि बढाउने भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले नयाँ रणनीति बनाउने देखिन्छ ।

परीक्षाफल प्रकाशित

काठमाडौं, पुष १३ । व्यवस्थापन संकायतर्फको स्नातक बिबिएस तेस्रो बर्षको परीक्षाको परिक्षाफल प्रकाशित भएको छ । त्रिभुवन बिश्वबिद्यालय परीक्षा नियन्त्रण कार्यलय बल्खुले २०७३ जेठमा लिएको चार वर्षे स्नातक बिबिएसको तेस्रो वर्षको परीक्षाफल मंगलबार प्रकाशित गरेको हो । जम्मा २८०१८ जना सहभागी परीक्षार्थीमध्ये ७६७० जना उत्तिर्ण भएको परीक्षा नियन्त्रण कार्यलय बल्खुले जनाएको छ । यसको नतिजा   edusanjal.com, educationsanar.com, र tu.ntc.net.np मा हेर्न सकिन्छ ।

सहमति खोज्न सत्तारुढ कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी एमालेको बैठक सिंहदरबारमा

काठमाडों, पुष १३ । सत्तारुढ नेपाली कांग्रेस, माओवादी केन्द्र र प्रतिपक्षी नेकपा एमालेबीच छलफल हुँदैछ । प्रधानमन्त्री प्रचण्डको पहलमा डाकिएको बैठक अहिले ११ बजे सिंहदरबारमा बस्ने भएको छ । छलफलमा मंगलबार साँझ मधेसी मोर्चासँग भएको सहमतिमाथि एमालेको सहमति खोजिने माओवादी केन्द्रको सचिवालयले जनाएको छ । मंगलबार साँझ मधेसी मोर्चा, नेपाली कांग्रेस र माओवादी केन्दबीच भएको छलफलमा निर्वाचनसम्बन्धी विधेयक र संविधान संशोधन प्रस्तावलाई सँगै छलफलमा लगेर गतिरोधको अन्त्य गरी संविधान कार्यान्वयनको दिशामा अघि बढ्ने सहमति भएको थियो । नेकपा एमालेले भने निर्वाचन विधेयकमा छलफल गर्न सकिने तर त्यसका लागि संविधान सशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान राख्दै आएको छ । प्रतिपक्षी एमालेले संविधान संशोधनमा आफ्नो मत संसदको छलफलमा राख्न मधेसी मोर्चाले समेत आग्रह गर्दै आएको छ । आजको छलफलमा दुबै विधेयकलाई सँगै लैजाने विषयमा एमालेसँग छलफल हुने छ । एमालेले उक्त प्रस्ताव नमानेको खण्डमा सदनको गतिरोध कसरी खोल्ने विषयमा फेरी छलफल हुने बताइएको छ ।

‘दिगो पुनःनिर्माण हाम्रो अभियान’ नारा लगाउँदै पुनः निर्माणको लागि जनदबाब

त्रिशूली (नुवाकोट), पुस १३ । भूकम्पपछिको पुनः निर्माणको अभियानलाई तीव्र पार्नका लागि दबाब दिन भूकम्पपीडित र अधिकारकर्मीले जनपरिचालन गरेका छन् । मङ्गलबार बट्टारबाट सुरु भएको जनपरिचालन विदुरमा आएर कोणसभामा परिणत भएको छ । ‘पिपुल क्याराभान’ नाम दिइएको अभियानमा जिल्लाका २० भन्दा बढी संस्थाको संलग्नता रहेको थियो । मानवअधिकार एलाइन्सको अगुवाइमा भएको जनदबाब अभियानका वक्ताले राजनीतिक दल सत्ता परिवर्तनको कार्यसूचीमा लाग्दा नागरिकको आवास अभियान तथा पुनःनिर्माणले गति लिन नसकेको गुनासो गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकार एलाइन्सका केन्द्रीय अध्यक्ष मीनबहादुर शाहीले भूकम्पबाट भत्किएका संरचना पुनःनिर्माण गर्ने जिम्मा राज्यको भएकाले यो वा त्यो बहानामा राज्य पन्छिन नमिल्ने बताए । ‘दिगो पुनःनिर्माण हाम्रो अभियान’, ‘पुनः निर्माणमा महिलालाई सहभागी गराऔँँ’, ‘आधा पुरुष, आधा नारी जमिनमा हक बराबरी’, ‘पीडितको माग र अवस्थाः सुरक्षित आवासको व्यवस्था’लगायत नारा लेखेको प्लाकर्ड बोकेर अधिकारकर्मी र भूकम्पपीडित सहभागी भएका थिए । मङ्गलबार नै पुनःनिर्माणमा देखिएका समस्या र राज्यले निर्वाह गर्नुपर्ने भूमिका समेटिएका छसूत्रीय माग राखी प्रजिअलाई ज्ञापनपत्रसमेत बुझाइएको छ । पत्रमा नुवाकोटमा आठ हजारभन्दा बढी परिवारले वर्षौंदेखि जोतभोग गर्दै आएको जमिनलाई आफ्नो नाममा ल्याउन नसक्दा भूमिहीनका रुपमा बस्न बाध्य भएको जनाइएको छ । नुवाकोटमा छ हजार सात सय २३ परिवार गुठीको जग्गामा तथा एक हजार पाँच सय ४९ परिवार बिर्ताको जग्गामा बस्दै आएका छन् । सहायक प्रजिअ कमलराज ढकाललाई बुझाइएको ज्ञापनपत्रमा रु पाँच पाँच लाख अनुदान रसहुलियत ब्याजमा ऋण उपलब्ध गराउन माग गरिएको छ । रासस  

धनुषा–महोत्तरीका दर्जनौँ पुल जोखिममा

महेन्द्रनगर (धनुषा), पुस १३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषा–महोत्तरी जिल्लामा पर्ने एक दर्जनभन्दा बढी पुल जोखिममा परेका छन् । धनुषाका बसाइ, औरही, हर्दिनाथ, जलाद, चारनाथ र कमला नदीका पुल र महोत्तरीका रातु, भब्सी, गन्डन्ता, मरहा, ढोलनखोला र बाँके लगायत नदीमा पुलमुनिबाट ढुङ्गा–गिट्टी उत्खनन् गर्ने क्रम तीव्र बढेपछि पुल चाँडै ढल्न सक्ने खतरा बढेको सडक डिभिजन कार्यालय मुजेलिया जनकपुरले जनाएको छ । धनुषामा पूर्वपश्चिम राजमार्गका २९ किमीमा ११ पुल रहेकामा बडहरी बाहेक १० वटा जीर्ण छन् । एक पटक बाढीले बगाएपछि सो पुल चीन सरकार तथा ढल्केवरदेखि पूर्व भारत र पश्चिमका पुल रुस सरकारले बनाइदिएको थियो । विसं २०७१ साउन २८ को राति महोत्तरी र धनुषाको सीमा छुट्याउने रातुखोला पुल अचानक भासियो । पुलको ११ नं स्तम्भ धसिएपछि झन्डै एक महिना यातायात प्रभावित भएको थियो । पूर्वी धनुषाको कमलादेखि सर्लाहीको पश्चिमी सीमा वाग्मती नदीसम्म पर्ने राजमार्गको ७७ किमी खण्डमा सानाठूला गरी ४० पुल छन् । तीमध्ये रुस र भारत सरकारको सहयोगमा सन् १९७२ सालमा निर्मित ३९ पुल जर्जर अवस्थामा रहेको सडक डिभिजन कार्यालय जनकपुरले जनाएको छ । कार्यालयका अनुसार यस खण्डको धनुषास्थित बडहरी खोलाको पुलबाहेक सबै पुनः निर्माण गर्नुपर्ने अवस्था छ । पूर्वी नेपाललाई राजधानीसँग जोड्ने सो राजमार्गमा सवारीको चाप र समयका हिसाबले पनि यी पुल निकै पुरानो भइसकेका छन् । तराई–मधेसलाई राजधानी काठमाडौँसँग जोड्ने ‘लाइफलाइन’का रुपमा रहेको महोत्तरी सीमामा पर्ने राजमार्गको १७ किमी खण्डमा पर्ने बाँके, ढुलन खोला, भब्सी मरहा, जङ्गहा र रातु पुलसहित १५ पुलको नजिकबाट जथाभाबी ढुङ्गा–गिट्टी उत्खनन गरिएकै कारण पुल कमजोर बनेको हो । क्रसर सञ्चालन हुँदा लामो समय नदीबाट अवैध रुपमा ढुङ्गा–गिट्टी झिक्ने गरिएको छ । पुलका स्तम्भको जगसमेत देखिने गरी क्रसर व्यवसायीले उत्खनन गरिरहेका छन् । देशलाई जोड्ने मेरुदण्डजस्तो प्रमुख सडकको पुल मर्मतमा सरकारले गम्भीरता देखाउनुपर्ने स्थानीयवासीको माग छ । रासस

घुस खाएको आरोपमा प्रहरी जवान निलम्बित

बनेपा,  पुस १३। काभ्रेपलाञ्चोकमा एक प्रहरी जवान निलम्बनमा परेका छन् । केही दिनअघि काममा खटिएका बेला एक प्रहरीले बिपी राजमार्ग हुँदै चल्ने टाटासुमोसँग दुई हजार रुपैयाँ घुस खाएको आरोपमा उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार घुस नदिएका कारण ती प्रहरी जवानले सुमोलाई अघि बढ्न नदिएपछि रु दुई हजार घुस दिएका थिए । तर पुनः फर्केर सुमोका चालकले आफूले दिएको दुई हजार रुपैयाँ फिर्ता मागेपछि किन दिने रु भनेर जवाफ फर्काएपछि प्रहरी उपरीक्षक सहकुल थापाले उनलाई पक्राउ गर्न निर्देशन दिएका थिए । सो घटनामा काभ्रेभञ्ज्याङ प्रहरी चौकीमा कार्यरत ऋषिदेव कुशहवालाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । रामेछापको मन्थली जान हिँडेको सो सुमोमा जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक सहकुल थापा अनुगमनका लागि सवार थिए। प्रहरी उपरीक्षक थापाले सो घटना भएको स्वीकार गर्दैै विभागीय कारबाही हुने बताए । रासस  

‘माले, मसाले र मण्डले एकै ठाउँमा– मन्त्री बुढाथोकी

भक्तपुर, १२ पुस । सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले सत्ता पक्ष र प्रतिपक्षबीचको द्वन्द्वले देश गम्भीर सङ्कटमा परेको बताउनुभएको छ । आज राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घ भक्तपुरको प्रथम साधारण सभामा उहाँले भन्नुभयो– “अहिलेको अवस्थामा सत्ता पक्ष र प्रतिपक्ष मिलेर संविधान कार्यान्वयनमा नगए देशले अनिष्ट भोग्नुपर्दछ ।” मन्त्री बुढाथोकीले “यतिखेर माले, मसाले र मण्डले एकै ठाउँमा उभिएका छन्, यो निकै चिन्ता मान्ने बेला हो, यसवाट हामी सचेत हुनुपर्दछ” भन्दै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत हुन नदिन र संविधान कार्यान्वयन हुन नदिन अहिले विभिन्न शक्ति केन्द्र सक्रिय रहेको बताउनुभयो । अहिले ‘माओवादी केन्द्र’ बाहेकका सबै कम्युनिस्ट एमालेको नेतृत्वमा एकै ठाउँमा आएर संसद् रोकी संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र गरिहेको आरोप लगाउँदै उहाँले एमाले विधिको शासनबाट भाग्न खोजेको टिप्पणी गर्नुभयो । मन्त्री बुढाथोकीले “संविधान संशोधन प्रस्ताव मतदानमै जान नदिने, यो विधिको शासनबाट एमाले भाग्दैछ, मतदानमै गएर यसलाई टुङ्गोमा पु¥याउनुपर्छ” भन्दै एमालेकै कारण संविधान कार्यान्वयन र निर्वाचन हुन नदिन एमालेले षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो । कार्यक्रममा सांसदद्धय शिवबहादुर खड्का र रामेश्वर ढुङ्गेल, काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले संसद् खुलाएर देशलाई अगाडी बढाउन ठूला दल मिल्नुपर्नेमा जोड दिनुभयो । सङ्घका भक्तपुर अध्यक्ष सुरेश राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ, नेपाल ट्रेड युनियन काँग्रेसका केन्द्रीय अध्यक्ष खिलनाथ दाहाल, काँग्रेसका नेता गणेशमान चक्रधर, मदनकृष्ण श्रेष्ठ, विकास थापालगायतले अपाङ्लाई शिक्षा, रोजगारीलगायत हरेक क्षेत्रमा समान अवसरको व्यवस्था गर्नुपर्ने र अपाङ्ग मैत्री भवन निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।