रातभर जाग्राम बसेर श्रीकृष्ण जन्माष्टमीको व्रत समापन

काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन गरिने ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत शुक्रबार रातभर जाग्राम बसेर समापन गरिएको छ ।

अष्टमीका दिन पूजा आराधना गरी रात्रिकालमा जाग्राम बसेपछि ‘श्रीकृष्ण जन्माष्टमी’ व्रत समापन हुने विधि छ ।

वैदिक सनातन धर्मावलम्बीले भाद्र कृष्ण अष्टमीका दिन पूजा आराधना गरी देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरिएको थियो ।

शुक्रबार देशभरका कृष्णमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ ।

यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बसेका हुन् ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको पौराणिक मान्यता छ ।

कृष्ण जन्माष्टमीका दिन पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिर, राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाम, उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालय परिसरमा रहेको कृष्णमन्दिर, पशुपति, वसन्तपुर र भक्तपुर दरबार क्षेत्रलगायत देशभरका कृष्णमन्दिरमा भक्तजनको भीड लागेको थियो ।

लापरवाहीका कारण करेन्ट लाग्दा, पाँच जनाको मृत्यु

सप्तरी । तराई मधेसका जिल्लामा अत्याधिकरूपमा गर्मी बढेको छ । पानी परेको छैन, तापक्रम दिनदिनै बढ्दो छ । यसले मधेसमा गर्मी असह्य बनेको छ । बिहानैदेखि लाग्ने चर्को घामले जनजीवन कष्टकर बनाएको छ । उखरमाउलो गर्मीले सहर–बजारमा दिउँसो चहलपहल पातलिएको छ । गर्मी यति बिघ्न छ कि पङ्खाबिना एकै क्षण बस्न पनि गाह्रो छ । सप्तरीको बोदे बर्साईन नगरपालिका–३ मधुवनका रामअशिष यादवका छोरा १८ वर्षीय रामनरेश यादव आज घरबाहिर निस्कन सकेनन् । टन्टलापुर घाम र गर्मीका कारण घरबाट बाहिर निस्कन नसकेका उनी हावा खान घरकै बरन्डामा बसे । असह्य गर्मीका कारण पर्खालमा टेबल पङ्खा राखेर हावा लिन थाले । अचानक हातले पङ्खामा छुन पुगेका रामनरेश करेन्ट लागेर घाइते भए । घाइतेलाई उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराज ल्याइयो । चिकित्सकले ढिला भएको भन्दै मृत घोषणा गरे । करेन्ट लागेर सप्तरीमा योसमेत नयाँ आर्थिक वर्षमा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । साउन १८ गते कञ्चनरूपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको सप्तरीवासीले बिर्सिएका छैनन् । कञ्चनरूप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भनिने सौदानन्द सरदारको समेत मृत्यु भएको थियो । घर आँगनमा रहेको ट्युबवेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । यसैगरी सप्तरीको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुखी साहका छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत साउन १७ गते करेन्ट लागेर मृत्यु भएको थियो । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी उनको मृत्यु भएको हो । खडक नगरपालिका–११ लालपुरमा साउन ९ गते खेतमा सिँचाइ गर्नका लागि जडित मोटर खोल्ने क्रममा करेन्ट लागेर ६० वर्षीय शत्रुघ्न खङ्ग मण्डलको ज्यान गयो । लापरवाहीकै कारण सप्तरीमा गत एक वर्षको अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । यो वर्षको सुरुआतमै पाँच जनाको करेन्ट लागेर मृत्यु भइसकेको सप्तरी प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०७८–०७९ को तथ्याङक हेर्दा करेन्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ । ज्यान गुमाउनेमा चार महिला, छ पुरुष र दुई बालक रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको छ । घाइते हुनेमा १२ महिला, आठ पुरुष र छ बालक थिए । ज्यान गुमाउनुको मुख्य कारण मानिसहरूको लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष छ । सावधानीपूर्वक बिजुलीको प्रयोग गर्न, बिग्रेका विद्युत् उपकरणको समयमै मर्मत गरेर उपयोग गर्न र गैरकानूनी तरिकाले बिजुलीको दुरूपयोग नगर्न सप्तरी प्रहरीले अपिल गरेको छ ।

काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद : महामन्त्री शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् । उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताए । महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए । उनले भने, ‘शासनहरु बदलिन्छन् । राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तिन तहको सरकार हुँदै गर्दा पनि बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद कुरा हो । मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन÷तीन तहको सरकारले नसक्ने खालको लज्जित अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ ।’ उनले थपे, ‘काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने कुरा र यसको दीर्घकालीन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ दिएर बल पु¥याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तिन तहको सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एकाइसौं शताब्दीमा आँगनको फोहोर कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानिय तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।’ उनले समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताए ।

श्रमिकसँग श्रममन्त्रीले हप्ताको १ घण्टा छलफल गर्ने, यसरी गरौं कुरा

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले प्रत्येक आइतबार एक घण्टा श्रमिकसँग छलफल गर्ने भएका छन्। मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी र गुनासोलगायत विषयमा उनले आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्ने मन्त्रालयले जनाएको छ । उक्त कार्यक्रमलाई ‘श्रमिकसँग श्रममन्त्री’ नाम दिइएको छ । श्रमिकले पैसा नलाग्ने १११४ नम्बरमा टेलिफोन गरेर श्रममन्त्री कुँवरसँग गुनासो र उजुरी राख्न सक्नेछन् । त्यस्तै पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१५००५, ५९७००८ र ९८०१८०००१३ मा फोन गर्न सकिने छ । मन्त्री कुँवर उपत्यका बाहिर रहेको समयमा भने कार्यक्रम सञ्चालन नगरिने मन्त्रालयले जनाएको छ ।

थपिए ६२३ जना कोरोना संक्रमि, ४८७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा ६२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ४ हजार ९४५ वटा नमुना परीक्षण गर्दा ६२३ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, शुक्रबार ४८७ जना कोरोनाबाट संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २२४ पुगेको छ । कोरोनाका कारण शुक्रबार कसैको मृत्यु नभएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

जबर्जस्ती करणी गर्न खोज्ने अभियुक्त छुटाउन एमाले नेताको चर्को दवाब

काठमाडौं । आफ्नै भतिजी बुहारीलाई जबर्जस्ती करणी गर्न खोजेको अभियोगमा प्रक्राउ परेका रामेछाप उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं व्यवसायी पवन कठायतलाइ छुटाउन राजनीतिक दलका लागि परेका छन् । खासगरी रामेछापका केही एमाले जिल्ला नेताहरुले आरोपी पवन कठायतलाइ रिहा गराउन र पीडित भतिजी बुहारी बिनु यादबलाइ सहयोग नगर्न भन्दै एमालेको शीर्ष नेतृत्वसँग हार गुहार गरेको श्रोतले बताएको छ । कठायतले बुहारी बिनुलाई मन्थली नगरपालिका– १ मच्छेडाँडीनजिकैको आफ्नै घरमा जबर्जस्ती करणी गर्न खोजेको भन्दै कठायतविरुद्ध बिनुले गत साउन १५ गते रामेछाप प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीमा जाहेरी परेको थाहा पाएपछि फरार रहेका कठायतलाई गत बुधबार रामेछाप प्रहरीले सदरमुकाम मन्थलीबाट पक्राउ गरेको थियो । सञ्चार माध्यमको चर्को दबाब पछि फरार कठायतलाई मन्थलीबाट प्रहरीले पक्राउ गरेको हो । तर उनले भने प्रहरीलाई अनुसन्धानमा सहयोग गर्न प्रहरीसमक्ष आफै उपस्थित भएको दाबी गर्दै आएका छन् । पीडित बिनुले कारवाही पूरा नगरी नेताको दवाबमा अभियुक्त कठायतलाई छोड्ने गल्ती प्रहरीले गरेमा आफू प्रहरी प्रधान कार्यालयको मूल ढोका अगाडि आत्मदाह गर्न पछि नपर्ने बताएकी छिन । बिनुलाई काका ससुरा कठायतले २०७९ बैशाख ७ गते जवर्जस्ती करणी गर्न प्रयास गरेका थिए। बिनु आफ्नै श्रीमान प्रदीप कठायतबाट पीडित महिला हुन् । पवन र प्रदीपलाई जोगाउँन प्रदीपका मामा पर्ने प्रहरी नायव उपरीक्षक सुरज कार्की पनि लागि परेका बिनुको भनाई छ ।

भाषाविज्ञहरु भने – नेपालमा प्रचलित भाषाहरु लोप हुने अवस्थामा पुग्यो

काठमाडौं । नेपालमा प्रचलित कतिपय भाषा लोप हुने अवस्थामा पुगेको विज्ञहरुले बताएका छन् । भाषा तथा लोकवार्ता परिषद् नेपालले बिहीबार प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा आयोजना गरेको कार्यक्रममा ‘वर्तमान सन्दर्भमा नेपालका भाषाहरु र भाषायोजना’ विषयक अन्तक्र्रियामा उनीहरुले उक्त धारणा राखेका हुन् । कार्यक्रमका मुख्य प्रस्तोता भाषाविज्ञ डा. गोपाल ठाकुरले नेपालमा प्रचलित भाषाको अवस्था र कार्ययोजनाका बारेमा चर्चा गरे । उनले भाषा संवादको माध्यमसँगै आमसंस्कृतिको संवाहक भएको बताए । उनले भने, ‘नेपालमा संविधानको बहुभाषिक नीति कार्यान्वयनमा आउन सकेको छैन । यसलाई व्यवहारिक ढंगले राज्यले संबोधन गर्नुपर्दछ । भाषा म¥यो भने सिंगो सभ्यता मर्दछ । तसर्थ भाषाको संरक्षणमा राज्यले विशेष पहलकदमी लिनुपर्दछ ।’ भाषाविज्ञ ठाकुरले नेपालमा पछिल्लो समय शिक्षामा अंग्रेजी हाउगुजीका कारण नेपाली भाषा पनि संकटमा परेको जिकिर गरे । उनले मातृभाषाको पाठ्यक्रम राज्यले बनाए पनि दरबन्दी नराखेको बताउँदै यसमा गम्भीर बन्नु पर्ने धारणा व्यक्त गरे । उनले नेपालमा वैदेशिक रोजगारीले गर्दा कोरियाली, जापानी, चिनियाँ लगायतका भाषा सिक्नु पर्ने बाध्यता आएको जनाए । डा. ठाकुरले भाषा संरक्षणमा कम्तिमा ३ कक्षासम्म मातृभाषामा अध्ययन गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिँदै भने, ‘३ कक्षासम्म मातृभाषा भाषामा पठनपाठनको वातावरण बनाउन सकेमा भाषा संरक्षणमा महत्वपूर्ण योगदान हुन सक्छ । साथै शिक्षकको दरबन्दी पनि उचित ढंगले व्यवस्थापन गरिनु पर्दछ ।’ उनले लोपोन्मुख भाषाको संरक्षणका लागि अनौपचारिक तथा औपचारिक दुवै तरिकाले काम गर्नुपर्नेमा जोड दिए । डा. ठाकुरले मातृभाषामा काम गर्ने व्यक्तिलाई प्रोत्साहन दिन सम्मान तथा पुरस्कारको व्यवस्था गर्नुपर्ने धारणा राखे । उनले नेपालमा बोलिने सबै भाषाको संरक्षणका लागि राज्यले नीतिगत तथा व्यवहारिक पक्षलाई ध्यान दिँदै काम गर्नुपर्ने जनाए । कार्यक्रममा वाल्मीकि विद्यापीठका प्राचार्य प्रा.डा.भागवत ढकालले भाषाको विकास र संरक्षणमा सबै पक्ष गम्भीर भएर लाग्नुपर्ने विचार व्यक्त गरे । उनले संस्कृत भाषा सबैभन्दा पुरानो भाषा भएकाले यसको पनि सही ढंगले खोज अनुसन्धान हुनुपर्ने बताए । परिषद्का संयोजक डा. बालाकृष्ण अधिकारीले नेपालको संविधान २०७२ ले बहुभाषिक मुलुक भनेर मानेको जनाउँदै यसको कार्यान्वयन पक्षलाई सबल बनाउनु पर्ने विचार व्यक्त गरे । उनले भने, ‘मुलुकभित्रका भाषालाई समान ढंगले विकास गरिनुपर्दछ । यसमा राज्यले आवश्यक कानुन निर्माण गरेर भए पनि भाषाको विकास र संरक्षणमा विशेष पहल लिन जरुरी छ ।’ पूरक प्रस्तोता संस्कृतिकर्मी ईश्वरचन्द्र ज्ञवालीले भाषा गम्भीर व्यापक विषय भएकाले यसको मर्मलाई राज्यले संबोधन गर्नुपर्ने विचार व्यक्त गरे । उनले मानव सभ्यताको सिंगो इतिहास, राजनीति, सामाजिक परिवेश आदि सबैलाई भाषाले समेट्ने जनाउँदै मातृभाषाको विकास र संरक्षणमा राज्यले काम गर्नुपर्ने बताए । यस्तै, अर्का पूरक प्रस्तोता सहप्रा.डा. विष्णु दहालले निमाविभन्दा तल मातृभाषामा पढाउनु पर्ने बताउँदै भाषा मानिसको संवेदना र जीवनसँग जोडिएको विषय भएको धारणा व्यक्त गरे । सो कार्यक्रममा प्रा.डा. राजनप्रसाद दाहाल, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, प्रलेसका केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, भीम रेग्मी, अग्रज मिथिला कलाकार ससी सुमन, अग्रज कलाकार जुलुमलाल चित्रकार, प्रा.डा.देवनारायण यादव, प्रा.डा. गोपीन्द्र पौडेल, तेजनारायण यादव, चेतनाथ धमला, रमेश खतिवडा लगायतले नेपाली भाषा र तिनको अवस्थाका बारेमा बहस गरेका थिए । उपप्राध्यापक तेजविलास अधिकारीले भाषालाई संरक्षण गर्नुपर्ने दायित्य राज्यको भएको विचार व्यक्त गरे । उनले विद्यालयदेखि विश्वविद्यालयसम्म भाषालाई अध्ययनको विषय बनाउँदै तिनका विविध पक्षको अध्यापन गरिनुपर्नेमा जोड दिए । सो कार्यक्रममा प्राज्ञ प्रा.डा. गोपीन्द्र पौडेल, प्रलेस केन्द्रीय अध्यक्ष डा. मधुसूदन गिरी, प्रलेस केन्द्रीय कोषाध्यक्ष बाबा बस्नेत, जनसांस्कृतिक महासंघका उपाध्यक्षहरू देवेन्द्र थुम्केली, केशव सिलवाल, प्रगति महरा, भीम कुमाखी, डम्बर रोकाय, साहित्यिक पत्रकार संघका महासचिव चेतनाथ धमला, प्रा.डा. देवनारायण यादव, अखिल नेपाल लेखक संघका अध्यक्ष डा. धनप्रसाद सुवेदी, वाल्मीकि विद्यापीठका प्राध्यापकहरू डा. राजनारायण ठाकुर, विद्यार्थी रमेश खतिवडा, कर्मचारीहरू टेकनाथ पाण्डेय, घनश्याम सिग्देल र टेगराज पौडेल, विश्वभाषा क्याम्पसका प्राध्यापक भीमनाथ रेग्मी, ललितकलाका वरिष्ठ कलाकार जुलुमलाल चित्रकार, प्राज्ञ एस.सी. सुमन, पाल्साङमो लामा तथा नेपाली केन्द्रीय विभागका विद्यार्थीहरू– केशव सुवेदी, उमेश न्यौपाने, सुमन्द्रा साउद, दिवाकर विष्ट, सरोज तिमल्सिना अनि अन्य व्यक्तित्वहरू सन्तोष सिम्खडा, तेजनारायण ठाकुर, सुयशकुमार न्यौपाने तथा स्रष्टा शोभाराम ओलीलगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा स्रष्टा शोभाराम ओलीको बाछिट्टा संग्रह ‘अथाह’ को विमोचन गरियो । नेपालका भाषाहरूको भाषा तथा लोकवार्ता परिषद्का संयोजक डा.बालाकृष्ण अधिकारीले जनाए । उनले भूमिका र तिनको उत्थान, विकास र समृद्धिका राज्यका तर्फबाट योजनाबद्ध पहलकदमी लिनुपर्ने कुरामा यस कार्यक्रमले गहन सुझावहरू प्रदान गरेको बताए । उनले भने, ‘संविधानको प्रस्तावनामै उल्लिखित बहुभाषिक मुलुकका रूपमा नेपाललाई स्थापित गर्न अविलम्ब भाषायोजनाको कार्ययोजना ल्याउनुपर्ने, मातृभाषाहरूको विकासमा ध्यान दिनुपर्ने र संकटापन्न अवस्थामा रहेका भाषाहरूलाई संरक्षण र अभिलेखीकरण गर्न सरकार र भाषा आयोगले विशेष पहल गर्नुपर्ने लगायतका सुझावहरू आएका छन् ।’ समालोचक तथा वाल्मीकि विद्यापीठका उपप्राध्यापक तेजविलास अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रम परिषदका संयोजक डा. बालाकृष्ण अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सबै तहका कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै कर्मचारीले आत्मसम्मानका साथ काम गर्ने वातावरण पाउनुपर्ने बताएका छन् । अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघको चौथो राष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो पार्टी श्रमिकको पक्षमा र सामाजिक सुरक्षाको पक्षमा लड्दै आएको बताए । ‘मैले प्रधानमन्त्रीको बहन गर्ने अवसर पाउँदा अस्थायी र ज्यालादारी कर्मचारीको सेवा सुविधाको विषयमा हेरफेर गर्ने अवसर प्राप्त भयो । तपाईंहरुको ज्याला बढ्नुपर्छ भनेर पहल गरेको व्यक्ति हुनुको नाताले मैले अहिले पनि थप पहल गर्ने विश्वास दिलाउन चाहन्छु’ प्रचण्डले भने, ‘निजामती सेवा ऐनलाई अन्तिम रुप दिन लागेकाले अब संसदबाट पारित गर्ने चरणमा छ ।’ अस्थायी करार तथा ज्यालादारी कर्मचारीले निजामती कर्मचारी सरह सुविधा पाउनुपर्यो भन्नु जायज माग भएको प्रचण्डको भनाई छ । महंगी भक्ता, स्वास्थ्य वीमा र योगदानमा आधारित सामाजिक सुरक्षाको व्यवस्था हुनुपर्ने बताए । अस्थायी करार र ज्यालादारी कर्मचारीको फाइल अर्थ मन्त्रालयमा पुगेको बताउँदै प्रचण्डले त्यसमा पार्टीको तर्फबाट सकारात्मक भूमिका खेल्ने बताए ।

कुरिनटारमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

काठमाडौं । चितवनको ईच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोक्किँदा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका-६ का २५ वर्षीय सरोज रोकाया र पछाडी सवार काठमाडौंका ३२ वर्षीय सरोज माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिङले नियन्त्रणमा लिएको छ । Photo: Symbolic only

करेन्ट लागेर बाबु र ९ महिने छोराको मृत्यु

तनहुँ । तनहुँमा करेन्ट लागेर बाबुछोराको मृत्यु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ कोत्रेस्थित गुहेखोलामा माछा मार्ने बेला उनीहरुलाई करेन्ट लागेको थियो । घटनामा आमा घाइते भएकी छिन्। विद्युतीय तार प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेर उनीहरुको मृत्यु भएको हो। मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिका–५ घर भई शुक्लागण्डकी नगरपालिका–२ कोत्रेमा बङ्गुर फार्ममा काम गर्दै आएका २२ वर्षीय चित्रबहादुर ब्याम्बो र नौ महिनाका आदि ब्याम्बो प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए। करेन्ट लागेर तीनै जना घाइते भएका थिए। चित्रबहादुर र आदिको उपचारका क्रममा पोखरास्थित गण्डकी मेडिकल कलेजमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते दिलमायाको सोही अस्पतालमा उपचार भइरहेको छ।

माओवादी सांसद विशंखेले भनिन् – राष्ट्रपतिले विवेक प्रयोग गर्नुभएन

काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद अञ्जना विशंखेले राष्ट्रपति विद्यादेवी भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भण्डारीले विवेकको प्रयोग गर्न नसकेको आरोप लगाएकी हुन् । उनले संसदमा कसैले पनि विवेकको प्रयोग गर्न नसकेको बताइन् । सांसद विशंखेले संसदमा भएका सांसदहरुलाई विवेक प्रयोग गर्नसक्ने हिम्मत देखाउन चुनौती दिइन् । उनले नागरिकतामा राजनीति गर्नु नहुने भन्दै सबै नेपाली नागरिकले नागरिकता पाउनुपर्ने बताइन् । उनले नेपाली नागरिकसँग विवाह गर्नेले बस्न चाहेमा वा नचाहेमा पनि सहज रूपमा नागरिकता दिनुपर्ने बताइन् । सांसद विशंखेले नागरिकताका विषयमा फरक रूपमा रहँदा फरक तर्क गर्न नमिल्ने बताइन् । ‘छोरीसँग विवाह गरेर आउने ज्वाइँंले चाहन्छन् भने पनि र छोरासँग विवाह गरेर आउने बुहारीले चोहमा पनि नागरिकता दिन सक्नपर्छ । थर फेर्न, नाम फर्न चाहनेलाई पनि नागरिकता दिनुपर्छ । एउटै विषयलाई नेकपामा आउँदा अर्कै, एमाले बन्दा अर्कै, गठबन्धन गर्दा अर्कै किन रु विवेकको प्रयोग गरौँ,’ उनले भनिन्, ‘विवेकको प्रयोग गर्न सक्नुहन्छ ? ठूला बहस गर्नेलाई चुनौती छ ।’ सांसद विशंखेले सहज रूपमा नागरिकता दिने कुरामा सोच्न आवश्यक रहेको बताइन् ।

नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई कांग्रेसको आग्रह

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले नागरिकता विधेयकमाथि राजनीति नगर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गरेको छ । बिहीबार संसद बैठकमा कांग्रेस सचेतक मिनबहादुर विश्वकर्माले राष्ट्रिय सहमतिकै आधारमा सरकारले ल्याएको नागरिकता विधेयकमाथि राजनीति नगर्न एमालेलाई आग्रह गरेका हुन् । २०७२ सालको संविधान, २०६३ सालको अन्तरिम संविधान र केपी ओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशमै आधारित भएर सरकारले ल्याएको नागरिकता विधेयकमा कसैको पनि असहमति जनाउनुपर्ने कारण नरहेको उनले बताए । सचेतक विश्वकर्माले नागरिकता विधेयकलाई सर्वसम्मत ढंगले पारित गरिदिन पनि सबै सांसदहरूलाई अपिल गरे । सचेतक विश्वकर्माले नागरिकताबाट बञ्चित लाखौं नेपालीलाई नागरिकता दिने उद्देश्यका साथ आएको विधेयक पारित गर्ने काममा विलम्ब गर्न आवश्यक नरहेको बताए । उनले संविधान अनुसार नै राष्ट्रपतिले नागरिकता विधेयक प्रतिनिधिसभामा पुनर्विचारका लागि पठाउन मिल्ने व्यवस्था भए पनि त्यसमा दलहरू असहमत हुनुपर्ने कारण नरहेको बताए । सचेतक विश्वकर्माले विगतमा सहमति दिने तर अहिले आएर विधेयकमा असहमत हुने काम कुनै पनि राजनीतिक दलले गर्न नहुने बताए ।

हामी संघियताको विरोधी होइनौँ, प्रदेशमा समस्या रहेकाले उमेदवारी नदिने भनेका हौं : रवि लामिछाने

काठमाडौं । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेश संरचनामा समस्या रहेकाले आफूहरूले प्रदेशसभाका लागि उमेदवारी नदिने घोषणा गरेको बताएका छन् । बिहीबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर लामिछानेले आफूहरू व्यवस्थाको विरोधी नरहेको तर प्रदेशमा समस्या देखिएकाले उमेदवारी नदिने निर्णय गरेको बताए । ‘हामी अहिले प्रदेशसभाको निर्वाचनमा सहभागी हुँदैनौँ । यसमा समस्या छ भनेर बहस सुरु गरेका हौँ । हामी व्यवस्थाको विरोधी होइनौँ,’ सभापति लामिछानेले भने ।

बिहिबार ५४२ जनामा कोरोना संक्रमण, ४२१ संक्रमणमुक्त

काठमाडौैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो ।   पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार २६५ जना रहेको छ ।

नेप्सेमा हरियाली २८ अंकले वृद्धि , कारोबार पनि सुधार

काठमाडौं । साताको पाँचो कारोबार दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से २७.७२ अंक (१.३६ प्रतिशत) ले वृद्धि भएर २०६८.४२ अंकमा बन्द भएको हो । सोमबार ५५.८८ अंकले वृद्धि भएको नेप्से मंगलबार २४.८३ अंक र बुधबार ०.३६ अंकको सामान्य गिरावट भएर बिहीबार पुन वृद्धि भएको हो । बिहीबार सुरुवातबाटै वृद्धि भएको बजारमा केही उतारचढाव देखिए पनि अन्तिममा लगानीकर्तालाई उत्साह थपेर बन्द भएको हो । नेप्सेसँगै सबै उपसूक बढ्दा वित्त कम्पनी र विकास बैंक उपसूचक ३ प्रतिशत माथि र हाइड्रोपावर उपसूचक २.९८ प्रतिशतले बढेको छ । नेप्सेमा सुधार हुँदा कारोबार रकम पनि बढेको छ । बुधरबार कारोबार रकम घटेर डेढ अर्बबाट तल झरेको मा बिहीबार पुनः २ अर्ब नाघेको छ । बुधबार १ अर्ब ४० करोड ६० लाख कारोबार भएको बजारमा बिहीबार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको सर्वाधिक १० करोड ४३ लाख ५९ हजारको कारोबार भएको छ । यस्तै अपी पावरको ७ अर्ब ८० करोड २७ लाख र शिवम् सिमेन्टको ६ करोड ३ लाख ९४ हजारको कारोबार भएको छ । बिहीबार बजारमा कुल १८६ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयर मूल्य बढ्दा ३ कम्पनीको स्थिर छ । कारोबार भएकामध्ये मंदाकीनी हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै अपर हेवाखोला जलविद्युत् कम्पनी, श्वेतगंगा हाइड्रोपावर ९.९७ प्रतिशत र अपर सोलु हाइड्रो इलेक्ट्रिसिटी कम्पनीको सेयमूल्य ९.९६ प्रतिशतले बढेको छ । बुधबार सेयरमूल्य बढेर सकारात्मक सर्किट लागेको सपोर्ट लघुवित्तको सेयरमूल्य भने ३.२८ प्रतिशतले गिरावट भएको छ ।

विवेकशील साझाका प्रवक्ताले दिए राजीनामा

काठमाडौं। विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले राजीनामा दिएका छन्। बिहीबार विज्ञप्ति जारी गर्दै प्रवक्ताको जिम्मेवारीबाट राजीनामा पेश गरेको प्रवक्ता पाठकले जानकारी गराएका हुन्। पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्। पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए। विवेकशीलसँग पुनस् एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो। पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए।