हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

राजविराज, पुस १०। हात्तीको आक्रमणबाट सप्तरीमा एक वृद्धको मृत्यु भएको छ । स्थानीइ भारदह– ९ स्थित भलुवामा जङ्गली हात्तीको आक्रमणबाट ६० वर्षीय रघुनाथ खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कोसी टप्पु वन्यजन्तु आरक्षबाट आएका हात्तीको एक समूहले खड्कालाई लखेटेरै मारेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यलायले जनाएको छ ।

केही दिनयता सो क्षेत्रसहित जिल्लाको पूर्वी भेगका भारदह, पोर्ताहा, बरमझिया, बेरवा, कञ्चनपुर, घोघनपुर लगायत ठाउँमा दिनहुँ हात्ती आएर आतङ्क मच्चाउने गरेको बताइएको छ ।

संघीयताको बिरोध गणतन्त्र सिध्याएर राजा ल्याउने षडयन्त्र – प्रचण्ड

घोराही, पौष ९ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयता खारेज भएर गणतन्त्र जोगिन नसक्ने बताउनु भएको छ । माओवादी केन्द्रको पाँच नम्वर प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी—समानुपातिक र सामाजिक न्यायजस्ता मुद्धा जनयुद्धका मुद्दा हुन्, माओवादीका मुद्दा हुन् । एकथरी मान्छेहरु संघीयतामा जानु गल्ती भयो भन्दैछन् । संघीयता उल्टियो भने यो मात्रै उल्टिने छैन, यसको सम्बन्ध परिवर्तनका मुद्धाहरुसँग छ । संघीयता उल्टियो भने गणतन्त्र उल्टिन्छ, समावेशिता उल्टिन्छ, धर्मनिरपेक्षता पनि उल्टिन्छ । संघीयता उल्टिएर अरु मुद्दा जीवित रहन्छन् भन्ने कसैले सोचेको छ भने त्यो भयानक भूल हो ।’ संघीयता उल्टाएर माओवादी जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले भन्नुभयो, ‘आफूलाई कम्युनिष्ट र प्रगतिशील भन्नेहरुलाई पनि अहिलेको संविधान मन परेको छैन । बन्द कोठाभित्र बरु राजा नै ठीक थिए भन्नेसम्मका छलफल चल्न थालेका छन् । परिवर्तनका मुद्दा उल्टाएर जनयुद्धलाई आपराधिक गतिविधिमा दर्ज गर्ने सपना देखिँदैछ । तर, कसैले चाहँदैमा परिवर्तन उल्टिँदैन, सरकार संविधान कार्यान्वयन गर्न प्रतिवद्ध छ, कसैले चाहँदैमा संविधान खारेज हुँदैन ।’ प्रशिक्षण कार्यक्रममा राष्ट्रवादका नाममा पहाड र मधेशलाई मिल्न नदिने षड्यन्त्र भएको उहाँले बताउनुभयो । प्रचण्डले भन्नुभयो, ‘कुरा त राष्ट्रवादको गरिएको छ । तर, त्यसभित्र पहाड र मधेशलाई मिल्न नदिने र देशलाई साम्प्रादायिक द्धन्द्ध र भड्खालोमा हाल्ने गम्भीर षड्यन्त्र लुकेको छ । कसैलाई धकेलेर राष्ट्रियता जोगिदैन, झन् कमजोर हुन्छ । सरकार हिमाल, पहाड र तराईलाई मिलाएर बलियो राष्ट्रिय एकता कायम गर्न चाहन्छ । त्यसैका लागि संविधान संशोधनको प्रस्ताव गरिएको हो ।’ सरकार प्याकेजमै सहमतिको पक्षमा रहेको बताउँदै प्रचण्डले भन्नुभयो, ‘संसदमा संविधान संशोधन प्रस्ताव, महाअभियोग प्रस्ताव र निर्वाचन सम्बन्धि विद्येयक दर्ता भएका छन् । सरकार प्याकेजमै सहमति खोजेर निर्वाचनमा जान चाहन्छ । प्रतिपक्षी साथीहरुले प्याकेजमा सहमति वा संसदीय विधिमध्ये एउटा रोज्नुपर्छ । संसदीय प्रक्रियामा विश्वास गर्ने दलले संसद अवरुद्ध गरेर निर्वाचन रोक्नु शोभनीय हुँँदैन ।’ प्रशिक्षणमा माओवादी केन्द्रका नेताहरु नारायणकाजी श्रष्ेठ, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षामान पुन लगायतले संविधान कार्यान्वयनका लागि निर्वाचनमा जानुको बिकल्प नभएको भन्दै त्यसका लागि जनतामा जान नेता कार्यकर्तालााई आग्रह गर्नुभयो ।

क्रिसमसमा सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं, पौष ९ । सरकारले इसाई धार्मिक पर्व क्रिसमसका अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । क्रिश्चियन धर्म मान्ने धर्मावलम्बीहरुले सार्वजनिक विदाको माग गर्दै आएपछि सरकारले क्रिसमसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । नेपालको अन्तरिम संविधान २०६३ मा नेपाललाई धर्म निरपेक्षा घोषणा गरिएपछि तत्कालिन माओवादी नेतृत्वको सरकारले २०६५ सालमा विदा दिने निर्णय गरेपनि केपी ओली सरकारको पालामा यो विदा कटौती गरिएको थियो । २०७२ सालसम्म विदा हुँदै आएपनि केपी ओली सरकारले मन्त्रीपरिषदबाट उक्त विषयमा सच्च्याउनुपर्ने भन्दै सामाजिक समितिमा पठाएका थिए । मन्त्रिपरिषदको सामाजिक समितिमा यो विषयमा छलफल भइरहँदा समेत तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले सो समितिका अध्यक्ष र सदस्यहरुलाई क्रिसमसलगायत नेपालका आदिवासी जनजाति समुदायले मनाउने ल्होछार लगायतका चाडपर्वमा पनि सार्वजनिक विदा काट्न दबाब दिएका थिए । यसरी तत्कालिन प्रधानमन्त्रीको दबाबका कारण क्रिसमसको दिन विदा कटौती भएको थियो । मन्त्रीपरिषदको बैठकले यसबारेमा पुरानो निर्णय उल्ट्याउँदै क्रिसमसका दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

हट्यो जनताको सास्ती, अनलाइनबाटै भर्नुस् लाइसेन्स फर्म

काठमाडौं, पुस ९ । अब चालक अनुमति पत्रका लागि घन्टौ लाइन बस्न नपर्ने भएको छ । आगामी सोमबारदेखि लागु हुने गरी अब लाइसेन्सका लागि अनलाइन फाराम भर्न पाइने भएको छ । शनिबार रिपोर्टर्स क्लबमा भएको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सोमबारदेखि चालक अनुमति पत्रको लागि अनलाइन फाराम भर्न पाइने बताएका छन् । कार्यक्रममा मन्त्री लेखकले आइतबार दिउँसो ३ बजे चालक अनुमति पत्रको लागि अनलाइन फारामको उद्घाटन गर्ने र सोमबारदेखि अनलाइन फर्म भर्न पाइने जानकारी दिएका हुन् । यातायात व्यवस्थाको सुधारको लागि आफू गम्भीर रहेको भन्दै मन्त्ती लेखकले हाल चालक अनुमतिपत्र लिनका लागि देखिएको समस्याको समाधानको लागि काम अनलाइन फर्म संचालन अघि सारिएको बताएका छन् । ‘आइतबार दिउँसो ३ बजे यातायात कार्यालय एकान्तकुनामा हामीले अनलाइन फारामको शुभाराम्भ गर्नेछौं त्यसपछि एकान्तकुनासँगै थप तीन ठाउँ कलंकी, चावहिल र भक्तपुरमा कार्यालय राख्नेछौ । काम अगाडी बढीसकेको छ ।’ सरकारले काठमाडौं–तराई द्रुत मार्ग निर्माणको लागि कार्यदल गठन गरिसकेको बताउँदै ७ सदस्यीय कार्यदल गठन भैसकेको छ र अब एक महिनाभित्र रिपोर्ट मिल्ने उनले बताए । त्यस्तै उनले सरकारले हुलाकी सडक निर्माण कार्य पनि अघि बढाइसकेको जानकारी दिए ।

उपत्यकाका नदीबाट तेह्र मेट्रिक टन फोहर !

काठमाडौँ, पुस ९ । उपत्यकाका प्रमुख नदीहरुबाट १३ मेट्रिक टन फोहर मैला निकाली व्यवस्थापन गरिएको छ । बागमती सफाइको एकसय ८९ औँ हप्ताको कार्यक्रम हालसम्म उपत्यकाका नदीहरुबाट १३ मेट्रिक टन फोहोरमैला निकाली त्यसको व्यवस्थापन गरिएको बताइएको हो । गुह्येश्वरीमाथिको बागमती सफाइको एक सय ५० औँ हप्ताको सफाइमै केन्द्रित भइ अधिकार सम्पन्न सो बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले सो जानकारी दिएका हुन् । गुह्येश्वरीमाथि सफाइ अभियान सुरु गरिएको एक सय ५० औँ हप्तामा शनिवार गोठाटार र जोरपाटी जोड्ने पुलमुनिको बागमती क्षेत्रमा सफाइ गरियो । सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी काठमाडौँ महानगरपालिका, राम्रो जोरपाटी हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिलगायत संस्थाको सक्रियता थियो । सफाइमा कुल ५५० व्यक्तिको सहभागिता रहेको र तीन मेट्रिक टन फोहर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती समितिका वरिष्ठ डिभिजनल इन्जिनियर प्रभात श्रेष्ठले बताए । अर्को हप्तादेखि बागमती सफाइ महाअभियान शङ्खमूल– गुह्येश्वरीखण्डमा केन्द्रित हुने भएको छ । यो खण्डमा बागमती सफाइको २०० औँ हप्तासम्म स्नानयोग्य बनाउन ११ हप्ता शङ्खमूल–गुह्येश्वरी खण्डमा सफाइ केन्द्रित गरिने सफाइ महाअभियानका अभियानकर्मी एवम् अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले जानकारी दिए ।

टोपबहादुर, अनन्त, नारायणकाजी र बादल एउटै मञ्चमा, प्रधानमन्त्री बने भावुक

चुनवाङ, रुकुम पुस ९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमको चुनवाङदेखि म्याग्दीको बेनीसम्म जोडिने गुरिल्ला ट्रेल एवं जनयुद्धको ऐतिहसिकता झल्कने युद्ध संग्रहालयको उद्घाटन गरेका छन् । शनिबार रुकुमको चुनवाङमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले गुरिल्ला ट्रेलको उद्घाटन गरेका हुन् । जनवादी गणतन्त्र स्थापनाको कार्यनीतिलाई बदलेर संघीय लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरेर विश्वस्तरमै चर्चा बटुलेको रुकुमको चुनवाङ बैठकको स्मरणमा गुरिल्ला ट्रेल र युद्ध संग्रहालय स्थापना गरिएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्रीले भने– ‘भर्खरै जस्तो लाग्छ, १२ वर्ष बितिसकेछ । यही घरमा केन्द्रीय समितिको पूर्ण बैठक बसेको थियो । चुनवाङ बैठकका नामले परिचित त्यो बैठक माओवादी पार्टीको जीवनमा मात्रै नभएर देशमै उथलपुथल ल्याउने युगान्तकारी बैठक बन्यो । चुनवाङ बैठकको निर्णयबाट नै हामी १२ बुँदे समझदारीमा पुग्यौं, जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रमा पुग्यौं । आज १२ वर्षपछि जनमुक्ति सेनाले पैदल यात्रा गरेको स्मरणमा गुरिल्ला ट्रेल र जनयुद्धको ऐतिहासिक झल्कने युद्ध संग्रहालयको उद्घाटन गर्न पाउँदा हर्षित् र भावुक पनि भएको छु ।’ चुनवाङ बैठकले नेपालको राजनीतिमा गुणात्मक परिवर्तन ल्याएको उनले बताए । ‘केन्द्रीय कार्यालयका बरिष्ठ नेता साथीहरु पनि सँगै हुनुहुन्छ, आज मलाई पूनर्मिलनको अनुभूति भएको छ । चुनवाङ बैठक नै त्यस्तो बैठक हो, जसले नेपालको राजनीतिलाई नै मोडिदियो । तर, राजनीतिमा आएको परिवर्तन अनुसार तपाईहरुको जीवनमा अझै गुणात्मक परिवर्तन आउन सकेको छैन । सबै परिवर्तन एकैचोटी सम्भव हुँदैन । तर, परिवर्तनको युगान्तकारी नेतृत् वगर्ने यस ठाउँको मुहार फेर्नैपर्छ । सरकार त्यसका लागि गम्भीर र जिम्मेवार भएर लाग्नेछ,’ प्रचण्डले भने । कार्यक्रममा माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ ‘प्रकाश’, रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, वर्षमान पुन ‘अनन्त’, गणेशमान पुन, जोखबहादुर महरा लगायतको उपस्थिति थियो । तात्कालीन ने.क.पा. (माओवादी) ले म्याग्दीको बेनी आक्रमणमा चुनवाङदेखि बेनीसम्म पैदल याात्रा गरेको वीरताको इतिहासलाई स्मरण गरि चुनवाङदेखि बेनीसम्म गुरिल्ला ट्रेलको परिकल्पना गरिएको र अहिले पर्यटकीय पदमार्गको रुपमा स्थापित हुँदै गएको माओवादी नेता एवं पूर्वमन्त्री गणेशमान पुनले बताए। गुरिल्ला ट्रेलका लागि जिल्ला विकास समिति रुकुमले आर्थिक र प्राविधिक सहयोग गर्दै आएको सो अवसरमा जानकारी दिइयो । पोखरादेखि बेनी हुँदै रोल्पा र रुकुमका रमणीय गाउँहरु पार गर्दै चुनवाङ आइपुग्न १५ दिनको समय लाग्नेछ । यसैगरी चुनवाङदेखि घोराहीसम्म पद यात्रा गर्न सकिने पूर्वमन्त्री पुनले जानकारी दिए । गुरिल्ला ट्रेलसँगै उद्घाटन गरिएको युद्ध संग्रहालयमा तात्कालीन ने.क.पा. (माओवादी) को नेतृत्वमा सञ्चालित जनयुद्ध, त्यसका ऐतिहासिक घटनाक्रम, महत्वपूर्ण निर्णय लगायतका जनयुद्धसँग सम्बन्धित ऐतिहासिक सामाग्रीहरु सुरक्षित रहनेछन् ।

स्थानीयलाई खाद्यान्न ढुवानी गर्न मुस्किल

जाजरकोट, पुस ९ । यहाँको सदरमुकाममा रहेको नेपाल खाद्य संस्थानमा चामल बिक्री हुन सकेको छैन । बजारमा पाइने चामल र संस्थानमा पाइने चामलको मूल्य एकै भएपछि चामल बिक्री नभएको संस्थानले जनाएको छ । गाउँका खाद्य डिपो भने रित्तै छन् । जिल्लाका नायकवाडाको घाट, पजारुको घोगी र दसेराका खाद्य अहिले रित्तै छन् । ढुवानी जिम्मा लिएका ठेकेदारले समयमै डिपोमा चामल नपुुर्याउँदा यस्तो अवस्था आएको हो । गाउँका स्थानीयवासीले संस्थानले बिक्री गर्ने सहुलियतको चामल पाउन सकेका छैनन् । सदरमुकाम खलङ्गामा रहेको संस्थानको गोदाममा बिक्री नहुँदा दुई हजार १७२ क्विन्टल चामल मौज्दात छ । चालू आवमा ३०० क्विन्टल चामल मात्र ढुवानी भएको छ । चालु आवका लागि स्वीकृत तीन हजार १०० क्विन्टल चामल ढुवानी हुन बाँकी नै रहेको संस्थानले जानकारी दिए । सबै स्वीकृत चामल आएमा राख्ने ठाउँको समेत समस्या हुने संस्थान प्रमुख धर्मबहादुर बस्नेतले जानकारी दिए । यो आवमा जिल्लाका तीन डिपोमा भने चालु आवमा चामल पुग्न सकेको छैन । नायकवाडा खाद्य डिपोमा चामल ढुवानी गर्ने जिम्मा लिएका लक्ष्मण निर्माण सेवाका भक्तबहादुर बस्नेतले चालु आवमा तीन क्वीन्टल मात्र चामल ढुवानी गरेका छन् । नायकवाडामा माग अत्यधिक रहे पनि ठेकेदारले समयमा चामल ढुवानी नगर्दा समस्या भएको स्थानीय प्रेम शाहीले बताए । ठेकेदारलाई डिपोमा चामल लिन ताकेता गरिए पनि कतिपयले अटेरी गर्दा समस्या भएको खाद्य संस्थान प्रमुख धर्मबहादुर बस्नेतको भनाइ छ । उत्ता दसेरा र पजारु खाद्य डिपोमा खाद्यान्नको अत्यन्त माग भए पनि गत वर्ष ढुवानीको जिम्मा लिएका विकेन्द्र कन्स्ट्रक्सनएन्ड विकेन्द्र सप्लायर्सले ताकिएको दुई हजारमध्ये १०० क्वीन्टल मात्र ढुवानी गर्दा स्थानीयवासीले चामल खाना पाएका थिएनन् । यी दुई डिपोका लागि संस्थानको अञ्चल कार्यालय नेपालगन्जले ढुवानी गराउँदै आएको छ । चालु आवमा पनि दसेरामा खाद्यान्न ढुवानी जिम्मा लिएको आइडी सप्लायर्स कोहलपुर–४ बाँकेले चामल ढुवानी नगरेको खाद्य संस्थानले जनाएको छ । त्यस्तै पजारुका लागि पहिलो पटक खोलिएको बोलपत्र अस्वीकृत भएपछि पुनः खोलिएको र केही दिनमै ढुवानीकर्ता छनोट हुने अञ्चल कार्यालय नेपालगञ्जका प्रमुख मोतीराज ज्ञवालीले बताउनुभयो । दसेरामा तत्काल चामल ढुवानी गर्न संस्थानले सप्लायर्सलाई ताकेता गरिरहेको उनले जानकारी र्दिए । संस्थानले चारवटै डिपोमा एक, एक हजार क्विन्टलका दरले चामलको कोटा निर्धारण गरेको छ । तर, सदरमुकाममा गतवर्षकै चामल बिक्री नभएपछि चार हजार क्विन्टल कोटाबाट तीन हजार एक सयमा सीमित भएको छ । जिल्लाका सवै ठाउँमा यातायात सुविधा नपुगेका कारण यहाँका स्थानीयले भनेको समयमा खाद्यान्न ढुवानी गर्न मुस्किल छ । जिल्ला सदरमुकाममा जतिसुकै चामल थन्किएपनि गाउँमा भने सधै खाद्यान्न अभाव नै हुँने गरेको छ । सिचाई योग्य जमिन कम, वर्षेनी उत्पादनमा आएको गिरावटले गर्दा यो समस्या आएको हो ।

स्थानीय बासिन्दाद्धारा स्वास्थ्य चौकीलाई जग्गादान

बैतडी, पुस ९। पुर्चौडीका स्थानीय बासिन्दाले हाट स्वास्थ्य चौकीलाई निःशुल्क पाँच रोपनी जग्गादान गरेका छन् । डिलाशैनी–७ का गङ्गादत्त जोशी (तीन रोपनी) र हाट–३ का गगन सिंह बोहरा, दलबहादुर बोहरा, कलावती बोहरा, पार्वतीदेवी बोहराले सगोल रुपमा (दुई रोपनी) निःशुल्क जग्गादान गरेको हाट स्वास्थ्य चौकीका इन्चार्ज विनोद कुँवरले बताउनुभयो । यसअघि स्वास्थ्य चौकीका लागि सुविधा सम्पन्न भवन बनाउन जग्गा अभाव रहेको थियो । निःशुल्क जग्गा पाएसँगै अब सुविधा सम्पन्न स्वास्थ्य चौकीको भवन निर्माण गरिने उहाँले बताउनुभयो । रासस

कार्यालय प्रमुख नहुँदा नागरिकता वितरण ठप्प

रामपुर (पाल्पा),  पुस ९ । कार्यालय प्रमुख नहुँदा इलाका प्रशासन कार्यालय रामपुरबाट नागरिकता प्रमाणपत्र वितरण हुन नसक्दा जनताले सास्ती खेप्नुपरेको छ । गत कात्तिक १६ गते कार्यालय प्रमुख किरणचन्द्र सुवेदी रामपुरबाट सरुवा भएपछि नागरिकता वितरण गर्ने कार्य रोकिएको हो । कार्यालयमा ९० भन्दा बढी आवेदन सङ्कलन भइसकेको र आवेदन दिएका सेवाग्राहीको दैनिक आउने जाने काम मात्र भइरहेको छ । नागरिकता कहिले बन्छ भन्ने विषयमा नागरिक नै अन्यौलमा छन् । कार्यालय निमित्त प्रमुख विनोद विष्टका अनुसार नागरिकता बनाउन दैनिक फर्म सङ्कलन भए पनि वितरण गर्न नसक्दा समस्या भएको छ । उहाँले कार्यालय प्रमुख नभएपछि आफूहरुले वितरण गर्न नमिल्ने बताउँदै आएको फर्म मात्र बुझ्ने गरेको बताउनुभयो । इलाका प्रशानसन कार्यालय रामपुरमा दैनिक करिब १० वटा नागरिकताका लागि आवेदन सङ्कलन हुने गरेकोछ । रामपुर नगरपालिकासहित पूर्वी क्षेत्रका सात गाविसका नागरिकलाई नागरिकता बनाउने सेवा दिइएको छ । दुर्गम क्षेत्रका बाकामलाङ, गल्धा, झिरुवास, मित्यालबाट नागरिकता बनाउन इलाका प्रशासन कार्यालय आउनेलाई झनै समस्या भएको छ । कार्यालय प्रमुख नहुँदा नागरिकता वितरणमा समस्या भएको गुनासो आफूसँग पनि आएको प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले बताउनुभयो । उहाँका अनुसार सरुवा भएर आएको कर्मचारीलाई तत्कालै अन्यत्र सरुवा गरेकाले समस्या भएको हो । कर्मचारी नभएको विषयमा गृहमन्त्रालयमा पनि जानकारी गराइसकेको बताउँदै सङ्कलन भएको नागरिकता वितरण गर्नका लागि सोमबारसम्म कर्मचारी खटाउने गौतमले जानकारी दिनुभयो । रासस    

२४० निर्वाचन क्षेत्रमा एकैपटक राप्रपाले क्षेत्रीय अधिवेशन गर्ने

काठमाडौँ, पुस ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी माघ २१ गते २४० निर्वाचन क्षेत्रमा एकै पटक क्षेत्रीय अधिवेशन गर्ने भएको छ । राप्रपा र राप्रपा नेपालबीचको एकीकरणपछि जिल्ला, गाउँ, नगरमा एकीकरणका क्रममा रहेको पार्टीले माघ २५ गते देशका ७५ जिल्लामा जिल्ला अधिवेशन गर्ने सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी  दिए । पार्टीले क्षेत्रीय र जिल्ला अधिवेशन सम्पन्न गरेपछि फागुन २ गतेसम्म महाधिवेशन प्रतिनिधि छनोट गरी केन्द्रीय निर्वाचन समितिमा नाम पठाउनुपर्ने छ । पार्टी महाधिवेशन फागुन ६ देखि ९ गतेसम्म काठमाडौँमा हुने निर्णय भइसकेको छ । यस पटक दुवै पार्टीभित्रको सन्तुलन मिलाउन करिब चार हजार प्रतिनिधि छनोट हुने बताइएको छ । गत मङ्सिर ६ गते पार्टी एकीकरण भएपछि दुवै पार्टीको जिल्ला तहदेखि नै एकीकरण सुरु गरिएको छ । अहिलेसम्म ७० जिल्लामा एकीकरण सम्पन्न भइसकेको छ । गत मङ्सिर २५ गतेभित्र जिल्ला तहको एकीकरण पूरा गर्ने भनिए पनि पार्टीभित्रका आन्तरिक विवाद तथा जिल्ला तहमा नेतृत्व लिने नेताबीचको द्वन्द्वका कारण प्रक्रिया केही लम्बिएको हो । गत मङ्सिर ३० गतेदेखि यही पुस १८ गतेसम्म पार्टीले तत्कालीन पाँचै विकास क्षेत्रमा आधारित भई क्षेत्रीय बैठक तथा सभा गरिरहेको छ । पार्टीले झापामा बैठक सम्पन्न गरी आज आमसभा गर्दै छ । रासस

जग्गा अतिक्रमण गरेर बनाइएका तीस पसल हटाइए

रुकुम, पुस ९ । सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाएका ३० गुम्टी(सडक किनारका ससाना काठका पसल) शुक्रबार हटाइएको छ । मुसिकोट नगरपालिका, खलङ्गा बजार क्षेत्रमा रहेका गुम्टीलाई नगरपालिकाले राजनीतिक दलको सहयोगमा हटाइएको कार्यकारी अधिकृत चन्द्रकान्त पौडेलले जानकारी दिए । खलङ्गा बजार क्षेत्रअन्तर्गत सहिद मैदान, पुष्पलाल चोक, कालिका मन्दिरलगायत ठाउँमा त्यस्ता गुम्टी थिए । सार्वजनिक ठाउँमा बनाइएका पसलघरले बजार क्षेत्रको बाटो साँघुरो हुनाका साथै फोहर पनि बढ्न थालेको थियो । गुम्टीमा आफ्नो व्यापार व्यवसाय सञ्चालन गरिरहेकाहरुले भने आफूहरुलाई नगरपालिकाले आफूहरुको गाँस खोसिदिएको आरोप लगाएका छन् । खलङ्गा बजार क्षेत्रका सबै सडकमा ढलान गर्ने नगरपालिकाको योजना छ । रासस

यौन व्यवसाय गरेको आरोपमा भक्तपुरको एक रेस्टुराँबाट १० पक्राउ

भक्तपुर, पुस ९ । महानगरीय प्रहरी वृत्त जगातीले यौनधन्दा गरेको आरोपमा विभिन्न रेस्टुराँ एवम् गेस्ट हाउसमा छापा मारी १० जनालाई शुक्रबार पक्राउ गरेको छ । अरनिको राजमार्ग खण्डअन्तर्गत सडकको दायाँबायाँ सञ्चालित रेस्टुराँ, गेस्ट हाउस र क्याफेमा व्यापक रुपमा यौनधन्दा हुने गरेको गुनासो बढेपछि प्रहरीले शुक्रबार साँझ पाँच रेस्टुराँ तथा गेस्ट हाउसमा साँझ छापा मारेको थियो । जगातीका ट्रपिकल प्याराडाइज रेस्टुराँ र गार्डेन होम रेस्टुराँमा महिलालाई यौनधन्दामा लगाएको आरोपमा रेस्टुराँ सञ्चालकसहित छ पुरुष र चार महिलालाई पक्राउ गरिएको प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माले जानकारी दिए । रासस फाइल तस्वीर

फरार अपराधी १६ वर्षपछि पक्राउ

तुलसीपुर (दाङ), पुस ९ । चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ । विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद र रु ९९ हजार ७२ जरिवाना फैसला गरेको थियो । फरार व्यक्ति पक्राउ, गुण्डागर्दी तथा तस्करी नियन्त्रणको अभियान थालेको जिल्ला प्रहरी कार्यालय दाङले चौधरीलाई घरबाटै पक्राउ गरेर कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । यसैबीच जबर्जस्ती करणी मुद्दाका फरार रहेका एक जनालाई करिब साढे चार वर्षपछि पक्राउ गरिएको छ । विसं २०६९ असार २६ गते अर्घाखाँची जलुके–६ बस्ने सुमन कुमाल एक किशोरीलाई जबर्जस्ती करणी गरी भागेका थिए । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको विशेष प्रहरी टोलीले गोबरडिहा–१ जुरैनीस्थित चिसापानीबाट कुमाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ । रासस

योगश भट्टराईले भने– ‘कुनै हालतमा संविधान संशोधन प्रक्रिया अघि बढ्न दिदैँनौं’

धनकुटा, पुस ८ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले संसद्मा पेस गरिएको संविधान संशोधनको प्रक्रिया कुनै पनि हालतमा अघि बढ्न नदिने बताएका छन् । शुक्रबार प्रेस चौतारी धनकुटाको आठौँ अधिवेशनको उद्घाटन कार्यक्रममा नेता भट्टराईले आफूलाई मधेसको ठेकेदार ठान्ने केही पार्टीले मधेसी जनताको नाममा व्यक्तिगत स्वार्थ पूर्तिका लागि संविधान संशोधन प्रस्ताव ल्याएको कारण नेकपा ९एमाले० यसको विरुद्धमा रहेको बताए । संविधान संशोधनको विषयले अदालतमा समेत प्रवेश पाएको कारण संसद्मा छलफल गर्नुभन्दा फिर्ता लिनु उचित हुने उनको तर्क थियो । संविधान कार्यान्वयनको परीक्षण चुनावबाट हुने भएकाले सरकारले चुनाव घोषणा गरे प्रतिपक्षमा बसेर एमोल चुनावमा भाग लिने बताए । कार्यक्रममा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत,एमाले धनकुटाका अध्यक्ष राजेन्द्र राई, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य गणेश पोखरेललगायतले शुभकामना मन्तव्य दिए ।

बिराटनगर र हृटौडा महानगरपालिका नबन्ने, आयोगले बुझायो अन्तिम रिपोर्ट

काठमाडौं, पुस ८ । महानगरपालिका बनााउन दौडधुप गरेपनि बिराटनगर महानगरपालिका नबन्ने भएको छ । स्थानीय तह पुनसंरचना आयोगले देशभरिमा दुईवटा मात्रै महानगरपालिका बनाउने प्रस्ताव गरेपछि नेपालको दोस्रो ठूलो शहरको रुपमा रहेको बिराटनगर महानगरन नबनने भएको हो । यसैगरी महानगरको सूचिमा रहेका वीरगञ्ज र हेटौंडापनि महानगर बनाउन नसकिने आयोगले प्रतिवेदन बुझाएको छ । आयोगले बुझाएको प्रतिवेदनमा काठमाडौंपछि पोखरालाई महानगरपालिका बनाउन सुझाव दिएको छ ।

एकै पटक ५ सय ४७ इन्सपेक्टरको सरुवा !

काठमाण्डौ‌ं, पुस ८ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा प्रहरी निरिक्षक (इन्सपेक्टर)को सरुवा गरेको छ । शुक्रबार प्रधान कार्यालयले निकालेको सूचनामा ५ सय ४७ इन्सपेक्टरको सरुवा गरिएको उल्लेख गरेको छ । यो सरुवा प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा गरिएकाे यो सबैभन्दा धेरै सरुवा हाे । । हेर्नुहाेस् काे कहाँ पुर्याइए ?