गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ ।

मन्त्रीहरु निर्धारित समयमै बालुवाटार पुगेका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ ।

बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज शुक्रबार १ बजे तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान देशकै डिम प्रोजेक्ट हाे : मन्त्री अथक

धनगढी । फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिले आगामी वर्षदेखी काम थाल्ने भएको छ । समितीको कार्यसुचि अन्तर्गत तालीका बनाएर काम अगाडी बढाइैने बताइएको हो । समितिले धनगढी उपमहानगरपालिकाभित्रको उपर्युक्त स्थानमा यथाशिघ्र कार्यालय स्थापना गर्ने, समितिका लागि आवश्यक कर्मचारीको अस्थायी दरबन्दी स्वीकृतिका लागि मन्त्रालयलाई सिफारिस गर्ने, डीपीआर तयारीका लागि कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गर्ने र डीपीआर तयारीका लागि परामर्शदाता छनोट गर्ने कार्य अघि बढाउँने, ईआईएको कार्य अघि बढाउँन कार्यक्षेत्रगत शर्त तथा लागत अनुमान तयार गरी परामर्शदाता छनौटको कार्य अघि बढाउँने, समितिलाई चाहिने आगामी आव २०७९–८० का लागि आवश्यक बजेट नेपाल सरकारबाट माग गर्ने लगायतका निर्णय गरेको जनाएको छ । युवा तथा खेलकुद मन्त्रालयका माननीय मन्त्री श्री महेश्वर जंग गहतराज (अथक)ले फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम सुदूरपश्चिमको मात्रै नभई देशकै विकासको कोशेढुंगा रहेकोले सरकारले यसलाई उच्च प्राथमिकतामा राखि निर्माणकार्यलाई द्रूत गतीमा अघि बढाउँने प्रतिबद्धता जनाएका छन् । उनले विकासमा राजनीति गर्न नहुने दोहोर्याउँदै रंगशाला निर्माण अभियानमा जोडिन सम्पूर्णलाई आह्वान गरेका छन् । यस्तै समितिका अध्यक्ष शाहीले सुदूरपश्चिमबासीले लामो समयदेखि देख्दै आएको फाप्लामा रंगशाला बनाउँने सपना साकार हुने भन्दै यस सपनालाई साकार गर्न सबै तहका सरकार तथा आम जनताको सहयोगका लागि अपिल गरेका छन् । सो क्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव डा.दमोदर रेग्मीले पूर्वाधार निर्माण सम्बन्धि जारी गठन आदेशले नेपालमा विकास पूर्वाधार निर्माणको नयाँ मोडल परिकल्पना गरेकाले यो पूर्वाधार निर्धारित समयमा बन्ने कुरामा आफू ढुक्क रहेको बताए । यस्तै समितिका नवनियुक्त कार्यकारी निर्देशक शेर बहादुर बि.सी.ले सुदूरपश्चिम क्षेत्रको विकासमा कोशेढुंगा सावित हुने पूर्वाधार निर्माण सम्बन्धि परियोजनाको मुख्य जिम्मेवारी सम्हाल्न पाउँदा खुशी लागेको बताउँदै यस अवसर र चुनौतीको सही सदुपयोग गर्दै समयमै सम्पन्न गर्ने कार्यमा आफ्नो पूर्ण प्रतिबद्धता व्यक्त गरे ।  

त्रिविले विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको भन्दै कारबाही गर्न निर्देशन

काठमाडौं ।त्रिभुवन विश्वविद्यालयले विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै तुरुन्त कारबाही गर्न शिक्षा तथा स्वास्थ्य समिति बैठक समितिले सरकारलाई निर्देशन दिएको छ । सभापति जयपुरी घर्तीको अध्यक्षतामा सिंहदरबारमा बसेको बेठकले उक्त निर्देशन दिएको हो । बैठकमा त्रिभुवन विश्वविद्यालयले संचालन गरेको स्नातक र स्नातकोत्तर तहको परिक्षामा गतसालको प्रश्नपत्रहरु हुबहु दोहोरिएर आएको र स्नातक तहको प्रश्नपत्रमा शीर्षक समेत अर्कै विषय लेखेको तर भित्र अर्को विषय भएको प्रति समितिले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सो छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देविन्द्र पौडेल, समितिका सदस्यहरु, मन्त्रालयका प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रेक्टर लगायतको सहभागिता रहेको थियो ।सभापति शैक्षिक क्षेत्रको लापरबाही टुलुटुलु हेरेर बस्न नहुने बताइन् ।

उपसभामुखमा गठबन्धनबाट भुसाल र एमालेबाट भट्टराईको उम्मेदवारी

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुईजनाको उम्मेदवारी दर्ता भएको छ। सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाल गौतम र प्रमुख प्रतिपक्ष दल एमालेको तर्फबाट सांसद विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी हुन् । बिहीबार संघीय संसद् भवन नयाँबानेश्वर पुगेर उनीहरूले उम्मेदवारी दर्ता गराएका हुन्। भुसालले माओवादी केन्द्रका देव गुरुङको प्रस्ताव र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा तथा भट्टराईले शान्ता चौधरीको प्रस्ताव र कृष्णभक्त पोखरेलको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् ।

विराटनगरको नाङ्लो रेष्टुरेन्टमा आगलागी

विराटनगर । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आगलागी भएको छ । बिहीबार दिउँसो रेष्टुरेन्टमा आगलागी भएको हो । आगलागीका कारण रेष्टुरेन्ट पूर्णरूपमा जलेको प्रहरीले बताएको छ । आगोले रेस्टुरेन्ट नजिक रहेको प्रतिनिधि सभा सदस्य मोति दुगडको घरमासमेत सामान्य क्षति पुगेको छ ।   आगो नियन्त्रणमा आए पनि क्षतिको विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

काठमाडौंमै चितुवाको आक्रमण, ५ जना घाइते

काठमाडौं । काठमाडौंमा चितुवाको आक्रमणमा परी पाँच जना घाइते भएका छन् । बुधबार राति साढे एक बजे नागार्जुन नगरपालिका८ भीमढुङ्गामा घरमा पसेर चितुवाले आक्रमण गर्दा पाँच जना घाइते भएका हुन् ।   भीमढुङ्गास्थित हर्सनखोलामा ४९ वर्षीय पन्चकुमार भट्टराईको घरमा चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट उनको परिवारका पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको मनमोहन अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको शरीका विभिन्न ठाउँमा चोट लागेको छ ।

सीपीसी विदेश विभाग प्रमुख लिउले भनेः बीपी, महेन्द्र र प्रचण्ड नेपालका धेरै अग्ला नेता हुन्

काठमाण्डौं । चार दिने नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले चिनियाँ माझ नेपालका तीन नेताको स्थान उच्च रहेको बताएका छन् । नेपालमा काँग्रेस संस्थापक बीपी कोइराला, तत्कालीन राजा महेन्द्र शाह र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको औसतभन्दा बढी राजनीतिक उचाइ हासिल गरेका नेता भएको उनको टिप्पणी थियो । लिउले मंगलबार माओवादी अध्यक्ष प्रचण्डसँग उनकै निवास खुमलटारमा भएको दुई घण्टा लामो वार्तामा प्रचण्डको खुलेरै प्रशंसा गरे । ‘चिनियाँहरुका बीचमा विशेष गरेर तीन जना नेपाली नेताहरु चर्चित र सम्मानित हुनुहुन्छ’, लिउको भनाइ उद्धृत गर्दै भेटमा सहभागी एक माओवादी नेताले भने, ‘बीपी कोइराला, राजा महेन्द्र र प्रचण्डको उचाइको नेता नेपालमा अरु छैनन् ।’ बीपी र महेन्द्र दिवंगत भइसकेको उल्लेख गर्दै उनले चीनका नेता र जनस्तरमा समेत धेरैपटक आफूले प्रचण्डका विषयमा चर्चा सुन्ने गरेको उल्लेख गरे । यस्तै पछिल्लोपटक अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) रोक्न निर्णायक भूमिका खेलेकामा पनि चिनियाँ नेताले प्रचण्डको प्रशंसा गरे । हिन्द प्रशान्त रणनीतिको अंगका रुपमा चीन घेर्ने उद्देश्यका साथ आएको एसपीपी रोकेर राम्रो काम गरेकामा उनले नेपालको सरकार, राजनीतिक दलका नेता र जनतालाई धन्यवाद दिए । दुई घण्टा अरु नेताहरुसहित सामूहिक वार्ता गरेका लिउ र प्रचण्डले एक घण्टा एक्लाक्लै कुराकानी गरेका थिए ।

प्रतिशतमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै सुदूरपश्चिम सरकारको चर्को विरोध

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश बहादुर रावलले प्रदेश सभा बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०७९–०८० को बजेटमाथि चार सातापछि बुधबार मात्र छलफल सुरु भयो। छलफलमा भाग लिँदै सत्तापक्ष र प्रतिपक्ष सबै दलका सासंदहरुले आवश्यकता र औचित्यको आधारमा नभई बिचौलियाको सेटिङमा कमिशन खाएर बजेट विनियोजन गरिएको भन्दै चर्को बिरोध गरेका छन्। सासंदहरुले शंसोधन गरेर मात्र यो बजेट पारित हुनुपर्ने माग राखेका छन्। नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य कुन्ती जोशीले प्रतिशत कमिशन खाएर बजेट र योजना बितरण गरिएको भन्दै बिरोध गरिन्। उनले क्रमागत योजना, ठेक्का भएका योजनामा पनि बजेट विनियोजन नगरिएको बताइन्। नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले सरकारले ल्याएको बजेट देखेर लज्जाबोध भएको बताए। सरकारको नियत ठिक भएको भए बिगतका विकृती हटाएर ल्याउन सक्नु पर्नेमा त्यस अनुसार बजेट नआएको उनले बताए। सरकारले जनताको आवश्यकताको आधारमा नभई बिचौलियाको आधारमा ल्याएको बजेटका कारण जनतामा घृणा पैदा भएको बताए। प्रदेश संरचनामाथि नै वितृष्णा उत्पन्न भएको बताए। प्राविधिक दृष्टीकोणले त पास होला, स्वतन्त्ररुपमा बजेटको पक्षमा मत हालेमा मन्त्री बाहेक कुनै सासंदले मत हाल्दैन, ११ मन्तीमा पनि ४, ५ जनाले मत हाल्दैनन् गैर जिम्मेवार ढंगले सत्ताको प्रयोग गरिएको उनले बताए। ‘सत्ताको उन्माद लाग्नू नहुने उल्लेख गर्दै भोलिका दिनमा छिमेकी, वरपरका मान्छेले घृणा गर्ने, घरमा आगो लाग्ने र ठाउँ छोड्ने दिन नआओस’ उनले भने। ‘करको कुराको सूचना पनि चुहाइएको छ, यो अपराध हो, जनबिरोधी,राष्ट्र विरोधी काम हो।’ सत्ता पक्षका सासंदले विपक्षी दलका भन्दा बढी असन्तुष्टी र आक्रोश व्यक्त गरेका छन्। मुख्यमन्त्रीले सहकार्यको राम्रो कुरा गर्दै बजेट बनाउदाँ बिचौलियासँग सहकार्य गरेको हो भनेर उनले प्रश्न गरे। बिभागिय मन्त्रीलाई समेत योजना काटेको र कुन योजना हालेको थाहा नभएको उनले बताए। मन्त्रीसँग समेत सहकार्य नगरेको उनको भनाई छ। सरकारले ल्याएको बजेटका कारण प्रदेश संरचनामाथि नै वितृष्णा पैदा भएको उनले बताए। नेकपा माओवादी केन्द्रका प्रदेश शभा सदस्य महेश दत्त जोशीले बिचौलियाहरुको प्रभावबाट यो बजेट बनेको बताए । जनताले भनिरहेका छन् ‘दलालहरुका योजना परे, तपाईँहरुका योजना परेन। जनताले नमागेका ठाउँमा पनि बजेट गएका छन्।’ बिचौलियाकोे पोल्टामा नजाने गरी बजेट सन्तुलन हुने गरि बजेट शंसोधन भएमात्र पारित हुनुपर्छ। त्रुटीहरु सच्याईनुपर्छ। बजेटलाई निजी पेवा सम्पती बाँडे जस्तै बाडिएको उनले बताए। जनताले नमागेको ठाउँमा पनि बजेट विनियोजन गरेको उल्लेख गर्दै बिचौलिया र ठेकेदारले माग गरेर विनियोजन गरिएको उनको भनाई छ। ‘ बजेटमाथि सरकारले छानविन गर्नुपर्छ। एक दुई मन्त्रीको खल्तीको जस्तो बजेट भयो।‘ यती मनोमानी ढंगले बजेट ल्याइयो, व्यवस्था प्रति नै बितृष्ण पैदा हुने भो’ करका प्रवाधानमा पनि बिचौलियाको आधारमा हेरफेर गरेको सरकारको नियतमाथि शंका लाग्छु, उनले भने। यो बजेट सच्याउन उनले माग गरे। नेकपा एमालेका प्रदेशसभा सदस्य पठान सिंह बोहराले सत्तापक्ष र विपक्षी दलका सासंदहरुको बुझाई र धारणा एउटै रहेको बताए। यहाँ छलफलमा सासंदहरुको एउटै आवाज आउदाँ को सत्तापक्ष र को प्रतिपक्ष छुट्याउन सकिने अवस्था छैन। प्रतिपक्ष दलका एक सासंदलाई प्रलोभन दिएर बजेटको पक्षमा बोल्न आग्रह गरेको उल्लेख गर्दै सरकारको नियत नै गलत भएको बताए। ‘क्रमागत, बहुवर्षिय गौरवका योजना काटिएका छन्, शिक्षा, स्वास्थ्य,महत्वपुर्ण योजनामा न्युन बजेट छ। अनुत्पादक रुपमा बजेट वितरण गरिएको छ’ उनले भने, ‘शिक्षा, स्वास्थ्य, खेलकुदमा कम बजेट छ तर मन्दिरमा धेरै बढी बजेट छ, समाजिक मन्त्रालयमार्फत पनि मन्दिरमा बजेट छ।’ संसदमा आज मात्र छलफल सुरु भएपनि बिचौलियाको सेटिङमा, कमिशनको खेलमा ल्याइएको बजेटको कुरुप रुपवारे जनताका बिचमा पहिलेदेखि व्यापक छलफल भैसकेको उनले बताए। ‘यो संसदको कार्यकाल सकिदैछ, हामी के छोडेर जादै छौं, उनले प्रश्न गरे। नेकपा एकीकृत समाजवादीका सासंद शुसिला बुढाथोकीले बजेट सन्तुलित नभएको बताइन्। मुख्यमन्त्री र मन्त्रीको जिल्ला र निर्वाचन क्षेत्रमा धेरै बजेट बिनियोजन भएको तर सासंदहरुको निर्वाचन क्षेत्रमा न्युन बजेट बिनियोजन भएको उनले बताइन्। जनताको आवश्यकता अनुसार नभएर मन्त्रीको मनोमानीरुपमा बजेट विनियोजन भएको उनको भनाई छ। नेकपा एमालेका सासंद कृष्णराज सुवेदीले बजेट र योजनाको वितरणमा सेटिङ मिलाउन सरकारले धनगढीका दुई होटलमा बिचौलियासँग कुरा गरेको बताए। सरकारलाई सच्चिन उनले माग गरे। विपक्षी दलहरुसँग १४ बुदे सहमति भएपछि बुधबार प्रदेश सभा बैठकमा छलफल सुरु भएको हो। यसअघि प्रतिपक्ष दलका साथै सत्ता पक्षकै सासंदहरुले पनि चर्को असन्तुष्टी र विरोध गरेकाले बजेट माथिको छलफल नै हुन सकेको थिएन। बजेटमाथि छलफलका लागि असार ८ गते, असार १२ गते र असार १६ र असार २६ गतेको प्रदेश सभाको बैठक सुरु हुनुअघि नै सूचना टाँस गरेर स्थगित गरिएको थियो। बजेट प्रस्तुत पछि पहिलो पटक सोमबार बसेको प्रदेश सभा बैठकमा विपक्षी दल नेकपा एमाले, जसपा र लोसपाका सासंद अनुपस्थित भएकाले शभामुख अर्जुन बहादुर थापाले कामकारबाही सुरु नगरि बैठक स्थगितको घोषणा गरेका थिए। मंगलबार दिउँसो १२ बजको बसेको बैठकमा विपक्षी दलका साथै नेपाली काँग्रेस र एकीकृत समाजवादीका सासंद पनि अनुपस्थित थिए। गणपुरक संख्या नपुगेकाले शभामुख थापाले बैठक स्थगित गरेका थिए। भने दोश्रो पटक मंगलबार दिउँसो ३ बजे बसेको बैठक पनि विपक्षी दलको बहिष्कारका कारण शभामुख थापाले स्थगित गरे। मुख्यमन्त्री त्रिलोचन भट्ट र प्रतिपक्ष दल नेकपा एमाले, जसपा, लोसपाबीच बुधबार १४ बुँदे वार्ता भएपछि बजेटमाथिको छलफल सुरु भएको हो। बजेट शंसोधन गरेर मात्र पारित गरिनुपर्ने आफूहरुको माग सरकार सकरात्मक भएकाले बजेट छलफलमा सहभागी भएको नेकपा एमालेका सासंद वोहराले बताए। आफूहरुको कमजोरी भएको सरकारले स्विकारे गल्ती सुधार्ने प्रतिबद्धता भएपछि बजेटमाथि छलफल भएको उनले बताए। प्रदेश सरकारले १ असारमा आगामी आर्थिक वर्ष २०७९र०८० का लागि प्रदेश सरकारको ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजारको बजेट सार्वजनिक गरेको थियो।नागरिक दैनिकमा खबर छ ।

बर्खास्तीमा परेका राखेप बोर्ड सदस्यको रिट खारेज

काठमाडौं । आफ्नो बर्खास्तीविरुद्ध राखेपका पाँचजना बोर्ड सदस्यले उच्च अदालत पाटनमा दायर गरेको रिट खारेज भएको छ । योसँगै अदालतमा पुगेको राखेप बोर्ड सदस्य विवाद तत्कालका लागि समाधान भएको छ । उच्चअदालतका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले राखेप बोर्डमा पुनर्बाहालीको मागसहित दायर गरेको रिट बुधबार खारेज गर्ने निर्णय गरेको हो । युवा तथा खेलकुद मन्त्रालयले गत मंसिर ३ गते राखेपका ९ जना बोर्ड सदस्यलाई बर्खास्त गरेको थियो । तीमध्ये रेणुका श्रेष्ठ, सुवर्ण श्रेष्ठ, सुभास श्रेष्ठ, सम्पन्न श्रेष्ठ र रिम रानाभाटले मंसिर ८ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उच्च अदालतले १० मंसिरमै प्रारम्भिक सुनुवाइपछि पदमुक्त गर्ने निर्णय लागू नगर्न युवा तथा खेलकुद मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको थियो । अन्तरिम आदेशपछि पुनर्बहाली भएका ती सदस्यलाई गत वैशाख ९ गते बसेको राखेप बोर्ड बैठकमा आमन्त्रण गरिएको थिएन । आफूहरुलाई बोर्ड बैठकमा आमन्त्रण नगरिएको भन्दै उनीहरुले वैशाख २५ गते अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । बुधबारको इजलासले दावी नपुगेको भन्दै सो रिट पनि खारेज गरिदिएको छ । खेलकुद मन्त्रालयले मंसिर १० गते ८ जना बोर्ड सदस्य नियुक्त गरेको थियो । अदालतको अन्तरिम आदेशसँगै उनीहरुले जिम्मेवारी लिन पाएका थिएनन् । अब उनीहरुलाई पदमा राख्ने बाटो खुलेको छ । मन्त्रालयले काठमाडौंका मोहम्मद फाजिल, हेटौंडाकी पेमा डोल्मा लामा, मकवानपुरका जनकप्रसाद बर्तौला, बर्दियाका दीपेन्द्र विष्ट, रुकुमका प्रकाशकुमार कुसारी, भक्तपुरकी विना नवाछे श्रेष्ठ, गोरखाका अन्जन धमला र बाँकेका श्रीमान थापामगरलाई मंसिरमा गरेको नियुक्ति अब कार्यान्वयन हुने भएको छ ।

उडिरहेको जहाजमा चुरोट तान्ने यात्रु पक्राउ

काठमाडौं । काठमाडौँबाट धनगढी उडेको बुद्ध एयरको जहाजमा चुरोट तान्ने एक यात्रु पक्राउ परेका छन्। उडान नं २५३ बाट आज अपरान्ह धनगढी उडेको जहाजको सीट नं ‘११ ए’ मा बसेका कैलाली टीकापुर नगरपालिकाका नारायण उपाध्यायले शौचालय छिरेर चुरोट तानेपछि उडान अवधिभर उडानमा खटिएका कर्मचारीले निगरानीमा राखेको बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णले जनाएका छन्। कर्णका अनुसार धनगढी अवतरण भइसकेपछि ती यात्रुलाई धनगढी प्रहरीको जिम्मा लगाइएको छ। उपाध्यायलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रेस युनियनको महासचिवमा उम्मेदबारी दिएका अर्याल को हुन् ?

काठमाडौं । नेपाल प्रेस युनियनको महासचिवमा पत्रकार नकुल अर्यालले दावेदारी पेश गरेका छन् । डेढ दशकदेखि व्यवसायिक पत्रकारितामा सक्रिय अर्याल नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य एवं प्रेस युनियन काठमाडौं शाखा पूर्व अध्यक्षसमेत हुन् । चुनावका बेलामा मात्रै अधिकारका कुरा नगरी पत्रकारको हकहितका लागि सधै सक्रिय रहने प्रतिवद्धतासहित अर्याल महासचिवको उम्मेदवार बनेका हुन् । लोकतन्त्रवादी पत्रकारहरुको संस्था युनियनको नवौं महाधिवेशन यही साउन ६ र ७ गते हेटौंडामा हुँदैछ । आफूले पत्रकारिता गर्दा देखे भोगेका समस्याहरुको समाधानका लागि सक्रिय हुनु नै आफ्नो उम्मेदवारीको कारण रहेको अर्यालको भनाई छ । ‘डेढ दशक लामो पत्रकारिताका दौरान देखे भोगेका समस्याहरुको समाधान गर्न प्रेस युनियनलाई सक्रिय राख्नु नै मेरो उद्देश्य हो । यही उद्देश्यभित्र निहित सबै लक्ष्य हासिल गर्न महासचिवका रुपमा काम गर्न चाहन्छु’, अर्यालले भनेका छन् । प्रेस स्वतन्त्रता, व्यवसायिक पत्रकारिता र पेशागत सुरक्षाका लागि प्रेस युनियनले महत्वपूर्ण ट्रेड युनियन संस्थाको रुपमा काम गर्नुपर्ने अर्यालको भनाई छ । पत्रकार महासंघको केन्द्रीय सदस्य हुँदा अर्यालले पहिलो बैठकमै महासंघको सदस्यता शुद्धिकरण, पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता, श्रमजीवी पत्रकारको पक्षमा सशक्त आन्दोलन लगायतका विषयमा लिखित एजेण्डा प्रस्तुत गरेका थिए । महासचिका बलियो दाबेदार उनलाई अध्यक्षका सबै उम्मेदबारले आफ्नो टिममा राखेर अघि बढ्न चाहेका छन् । पत्रकारिता क्षेत्रमै देखिएका विकृतिहरुलाई निर्मूल पार्न पनि युनियनजस्ता संस्थाहरु सक्रिय हुनुपर्ने अर्याल बताउँछन् । युनियन अन्तर्राष्ट्रिय पत्रकार संघमा आवद्ध नेपालकै अग्रणी संस्थाको रुपमा रहेकोले सदस्यहरुको वृत्तिविकास र अवसर वृद्धिमा युनियनले योजनाबद्ध ढंगले काम गर्नुपर्नेमा अर्यालको जोड रहेको छ । सरकारी स्वामित्वका सञ्चारमाध्यमका सेवाहरु निःशुल्क हुनुपर्ने एजेण्डा पनि पत्रकारिता क्षेत्रमा प्रवेश गराउने अर्याल नै हुन् । उनले महासंघको केन्द्रीय सदस्य छँदा राज्यले सूचनाको बिक्रीवितरण गर्न नमिल्ने भन्दै राष्ट्रिय समाचार समिति लगायत सरकारी स्वामित्व रहेका सेवा निशुल्क गर्न लिखित प्रस्ताव गरेका थिए । प्रेस स्वतन्त्रता र पत्रकार हकहितका लागि भएका सबैजसो आन्दोलनमा अग्रमोर्चामा खटिने अर्यालले राजनीतिक बिटमा कलम चलाउँदै आएका छन् । चितवनको कायाकैरन राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका अर्यालले चितवनकै सिनर्जी एफ।एम। र आक्रमण साप्ताहिकमा पनि काम गरेका थिए । काठमाडौंमा एभिन्यूज टेलिभिजन, न्यूज २४ टेलिभिजन, हिमालय टेलिभिजन, एपीवान टेलिभिजन र योहो टेलिभिजनमा काम गरेको अनुभव अर्यालसँग छ । उनले हिमालय टाइम्स राष्ट्रिय दैनिक र देशान्तर मिडिया ग्रुपमा पनि काम गरेका छन् । रेडियो नेपालको चर्चित कार्यक्रम ‘घटना र विचार’को सञ्चालक रहीसकेका अर्याल हाल नेपाल प्रेसको समाचार संयोजक रहेका छन् ।

पूर्वअर्थमन्त्री शर्मामाथि छानबिन गर्न गठित समिति अर्थ मन्त्रालय जाँदै

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा बिचौलियाको प्रयोग गरेको सम्बन्धमा सत्यतथ्य छानबिन गर्न बनेको संसदीय समिति बुधबार अर्थ मन्त्रालय जाँदै छ । ११ सदस्यीय समितिले मंगलबारदेखि आफ्नो कामकारबाही सुरु गरेको हो । बुधबार भने उक्त विषयमा सत्यतथ्य जानकारी लिन समितिका सदस्यहरू अर्थ मन्त्रालयमा जाने भएको समितिका एक सदस्यले जानकारी दिए ।जनार्दन शर्माले बजेट निर्माण गर्दा बिचौलियाको प्रयोग गरेको भन्दै संसदमा पनि चर्को विरोध भएपछि अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए । शर्माले राजीनामा दिएपछि त्यसबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन भएको थियो।

भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्छ : मेयर रेनु दाहाल

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढ्ने बताएकी छन् । नेपाल मगर संघ जिल्ला समन्वय समिति चितवनले भरतपुर गरेको नवनिर्मित ट्रस उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर दाहालले विगत ५ वर्षमा पनि सबै क्षेत्रलाई साथमा लिएर अगाडि बढेको स्मरण गरिन् । मेयर दाहालले विगतमा राज्यद्धारा गरिएका थिचोमिचो, विभेद अन्य गर्न व्यवस्था परिवर्तनको लडाईमा होमिएकाले यसको मर्म अनुसार सबैलाई समान दृष्टिकोण राख्नुपर्ने उल्लेख गरिन् । ‘पहिचानको अधिकारका लागि लडेर आएका हौ,उनले भनिन् ,‘संर्घषको फलस्वरुप व्यवस्था परिवर्तन भएको छ । अहिले राज्यको महत्वपूर्ण ठाँउमा सबै क्षेत्र, धर्म, वर्ग, समुदायको प्रतिनिधित्व भएको छ ।’ मेयर दाहालले अहिले मगर समुदायबाट राज्यको सम्माननीय पदको नेतृत्व सम्हाली रहनु भएको बताइन् । ‘उपराष्ट्रपति नन्द बहादुर पुन तपाईकै समुदायबाट हुनुहुन्छ, उनले भनिन् ,‘ओनसरी घर्ती सभामुख हुनुभयो, उप्रधानमन्त्री रामबहादुर थापा हुनुभयो । अरु मन्त्रीहरु हुनुहुन्छ । यो पहिचानको लडाईले ल्याएको परिवर्तन हो ।’ मेयर दाहालले मगर समुदाय लगायत सबै समुदायको अधिकारका लागि महानगरपालिकाको अभिभावक भएको नाताले सधै साथमा रहने प्रतिवद्धता पनि व्यक्त गरिन् । यसैबीच मेयर दाहालले भरतपुर १ मा रहेको नेपाल मगर संघ चितवन शाखाको सभाहलको उद्घाटन गरिन्। हल निर्माणका लागि महानगरले पाँच लाख साठी हजार सहयोग प्रदान गरेको थियो । सो अवसरमा मेयर दाहालले मगर संघको कार्यालयको थप स्तरोन्नतीका लागि महानगरपालिकाले बजेट विनियोजन गर्ने पनि प्रतिवद्धता गरिन् ।

महिला साफ च्याम्पियनसिप नेपालमा गर्ने प्रस्ताव स्वीकृत

काठमाडौं । महिला साफ च्याम्पियनसिप नेपालमा हुने भएको छ । ढाकाको इन्टरकन्टिनेन्टल होटलमा बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारण काँग्रेसले नेपालमा साफ आयोजना गर्ने प्रस्ताव स्वीकृत गरेको हो ।   साफ नेपालमा भदौ १३ देखि २५ सम्म हुने । साफले साफ यू–१७ च्याम्पियनसिप ५ आयोजना श्रीलंकामा हुने बताएको हो । साफको काँग्रेसले काजी मोहम्मद सलाहुद्दिनलाई दक्षिण एसियाली फुटबल महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ ।

बुहारीलाई बलात्कार गरेको अभियोगमा जेठाजु पक्राउ

गुल्मी। गुल्मीमा जबर्जस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर–६ निवासी ३५ वर्षका पुरुषलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) भीमबहादुर दाहालले बताए । आफनै भाइ बुहारी नाता पर्ने १९ वर्षकी महिलालाई जबर्जस्ती करणी गरेको सूचनाको आधारमा पक्राउ गरिएको दाहालले जानकारी दिए । पक्राउ परेका आरोपित पुरुषमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोरखाका २० वर्षीय युवकको करेन्ट लागेर मृत्यु

गोरखा । गोरखाका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ । आरुघाट गाँउपालिका वडा नं. ४ थुमीका २० वर्षीय प्रेम बरामको करेन्ट लागेर मृत्यु भएको हो । हिजो साँझ रसुवा जिल्लको नौकुण्ठ गाँउपालिका वडा नं. ५ मा वाइफाइको तार बिछ्याउने क्रममा बरामलाई करेन्ट लागेर घाइते भएका थिए । उनलाई उपचारका लागि त्रिशुली जिल्ला अस्पताल पुर्याएको थियो । उपचारको क्रममा आज बिहान १ बजे अस्पतालले उनलाई मृत घोषणा गरि दिएको परिवार स्रोतले जानकारी दिएको छ ।