मन्त्री भुसालद्धारा कार्यविनायक र मछिन्द्रबहाल जोड्न झोलुङ्गे पुल उद्घाटन
काठमाडौं । ललितपुर महानगर पालिका वडा नं २२ स्थित धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने उद्देश्यले झोलुङ्गे पुलको निर्माण भएको छ । कार्यविनायक र मछिन्द्रबहालबीचको सहज सम्पर्क स्थापित गर्ने उद्देश्यबाट निर्माण गरिएको सो झोलुङ्गे पुलको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरिन् ।
पुलको लम्बाई १३५ मिटर रहेको छ । सो पुल ७९ लाख ७६ हजार ७८९ लागतमा निर्माण सम्पन्न भएको हो । उपत्यकामा रहेका झोलुङ्गे पुल पर्यटकीय आकर्षणका रुपमा रहँदै आएका छन् । कार्यविनायक र मछिन्द्रवहाललाई जोड्ने उक्त पुल निर्माणपछि दोहोरो पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने विश्वास व्यक्त गरिएको छ ।
सो स्थानमा पुल नहुँदा कार्यविनायक र मछिन्द्रबहाल पुग्ने पर्यटक एकअर्को स्थानमा जान कठिनाइ थियो । पुल बनेसँगै छोटो अवधिमा दुवै स्थानमा पुग्न सकिने भएको छ । पुल निर्माणसँगै आन्तरिक र बाह्य पर्यटकलाई दुवैस्थानको भ्रमणका लागि सहजीकरण हुने स्थानीयको भनाइ छ ।
सो क्षेत्रमा पर्यटकीय गतिविधि बढेसँगै स्थानीयको आयआर्जनमा महत्वपूर्ण सघाउ पुग्ने, विदेशी पर्यटकको आगावगमनले नेपालको हस्तकला, काष्ठकला तथा मूर्तिकलाको विश्वव्यापीकरणमा सहयोग मिल्ने छ । मन्त्री भुसालको पहलमा स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको बजेटबाट सो पुल निर्माण गरिएको हो ।
पुल उद्घाटन गर्दै मन्त्री भुसालले धार्मिक तथा पर्यटकीय केन्द्रलाई जोड्ने उक्त पुलले नेपालको हस्तकला, काष्ठकला र मूर्तिकलाको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन्। बाह्य र आन्तरिक पर्यटन प्रवद्र्धनमा पनि उक्त झोलुङ्गे पुल कोशेढुंगा सावित हुने बताईन् । मन्त्री भुसालले आन्तरिक तथा बाह्य पर्यटकका लागि लक्षित गर्दै ‘एक घर, एक पर्यटक’ अभियान चलाउन स्थानीयवासीसँग आग्रह गरिन् ।
“यसबाट आयआर्जनका साथै नेपालको कला संस्कृतिको प्रवद्र्धनमा पनि टेवा पुग्छ, स्थानीय उत्पादनको बजारीकरण गर्न पनि यसले सघाउ पु¥याउँछ”, उनले भनिन्।
वडा नं २२ का वडाध्यक्ष अम्बिरराज शाक्यले धार्मिक तथा सांस्कृतिको उच्च सम्भावना बोकेका दुई पर्यटकीय जोड्न पुलको आवश्यकता महसुस गर्दै पुल निर्माण गरिएको बताए। स्थानीयको आकांक्षालाई सरकारले सहयोग गरेको भन्दै भन्दै मन्त्री भुसाललाई आभार व्यक्त गरेका थिए ।
टीयूमा देखिएका समस्या तत्काल समाधान हुनुपर्छ: मन्त्री भुसाल
काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले ऐतिहासिक विरासत बोकेको त्रिभुवन विश्वविद्यालयमा चुनौती चुलिदै गएको बताएकी छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, त्रिभुवन विश्वविद्यालय केन्द्रीय समितिको चौथो राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रममा उनले विश्वविद्यालय सम्बद्ध पक्षले गम्भीर समीक्षा गरेर उत्पन्न चुनौतीलाई व्यवस्थापन गर्नेतर्फ लाग्न आग्रह गरिन् । व्यक्तिले खोलेका शिक्षण संस्थाले नाफा कमाउने र त्यहाँ विद्यार्थीको लाइन हुने तर त्रिभुवन विश्वविद्यालयका कुनै संकायमा विद्यार्थीभन्दा शिक्षक बढी हुने अवस्था कसरी आयो भन्दै मन्त्री भुसालले व्यवस्थापन, प्रशासन र प्राध्यापन तीनै क्षेत्रले गम्भीर भएर जवाफ दिने अवस्था आएकोे बताईन्। उनले भनिन् “एकले अर्कोलाई देखाउनेभन्दा पनि समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा विशेष ध्यान जानुपर्छ।” जनताको कर र जनताका छोराछोरीले तिरेको ‘फि’बाट चल्ने संस्थाले आफ्नो जिम्मेवारी भुल्न नहुने उल्लेख गर्दै मन्त्री भुुसालले साधन र स्रोतको सही तवरले सञ्चालन तथा व्यवस्थापन गरेर फाइदा लिनुपर्ने बताईन् । उनले भनिन् , “भिसी र रेक्टरकोमा ताला लागेको ६८ दिन भयो रे, एक दिन पनि बिलम्ब नगरी समस्याको समाधान खोज्नुहोस् ।” एकपछि अर्को समस्या त्रिभुवन विश्वविद्यालयबाटै उत्पन्न हुने गरेको उल्लेख गर्दै मन्त्री भुसालले शिक्षाले पार्ने प्रभाव व्यक्तिको जीवनभर र राष्ट्रको लागि सयौं वर्षसम्म पर्ने भएकाले उत्पन्न चुनौतिको व्यवस्थापन गर्नुपर्नेमा उनको जोड छ । त्रिभुवन विश्वविद्यालयले महत्वपूर्ण योगदान गरेको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, “अधिकांश सार्वजनिक क्षेत्रका जनशक्ति टीयूकै छन् । देशको विकासका निम्ति आवश्यक पर्ने जनशक्ति उत्पादनमा त्रिभुवन विश्वविद्यालयको महत्वपूर्ण योगदान छ ।” त्रिभुवन विश्वविद्यालयको कर्मचारी हुनुमा गर्व गर्न कर्मचारीलाई उनको सुझाव थियो । कार्यक्रममा त्रिभुन विश्वविद्यालयका शिक्षाध्यक्ष शिव भुसालले समग्र शैक्षिक सुधारका लागि त्रिभुवन विश्वविद्यालयको सुधार हुनुपर्ने बताईन् । उनले भनिन् “टियुले शैक्षिक गुणस्तरको नेतृत्व गर्नुपर्छ, त्यसका लागि निरन्तर काम गर्नुपर्छ ।” कार्यक्रममा शैक्षिक क्षेत्रमा योगदान गर्ने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।
खुसीको पहिलो ढोका शिक्षा हो : मन्त्री पौडेल
काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले खुसी हुने पहिलो ढोका शिक्षा रहेको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा मन्त्री पौडेलले राम्रो शिक्षा प्राप्त गरेका देशका नागरिक नै खुसी र सुखी हुने बताएका हुन्। उनले जुन देशमा शिक्षामा लगानी राम्रो हुन्छ उक्त देशमा नै अन्य भौतिक विकासले फड्को मार्ने उल्लेख गर्दै शिक्षालाई प्रयोग गरेर देशलाई समृद्धितिर लानु आजको आवश्यकता रहेको औंल्याए। उनले भने, ‘अहिले शिक्षाको प्रयोग प्रत्यक्ष रुपमा सीप र सिकाइसँग मेल खानुपर्छ, अन्यथा विकासको कल्पना गर्न सकिँदैन।’ शिक्षा प्रणाली सुधार गर्नु राज्यको एक्लो दायित्व नभएकाले त्यसका लागि निजी क्षेत्रको पनि उत्तिकै आवश्यकता रहने जनाउँदै उनले सकारात्मक सल्लाह लिएर मन्त्रालय आउन प्याब्सनलाई आग्रह गरे। राज्यको एक मात्र लक्ष्य हाल कार्यान्वयनमा रहेको शिक्षा प्रणाली सुधार गरी दक्ष जनशक्ति उत्पादन गर्नु रहेको पनि उनले बताए। कार्यक्रममा अध्यक्ष टीकाराम पुरीले सीपमूलक शिक्षा आजको आवश्यकता रहेको उल्लेख गर्दै यसका लागि राज्यले पहल गर्नुपर्ने धारणा राखे। हरेक दिन उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीको भीडले गिज्याइरहेको जनाउँदै अध्यक्ष पुरीले त्यसको जवाफ राज्यले दिनुपर्ने बताए। कार्यक्रममा प्याब्सनका पूर्वअध्यक्ष राजेश खड्कालाई ‘प्याब्सन गौरव सम्मान’ बाट सम्मानित गरिएको छ। त्यसैगरी वी एन्ड शर्मा, सानु अमात्य, डोलराज पाण्डे र नारायण अधिकारीलाई ‘प्याब्सन रत्न सम्मान’ बाट सम्मानित गरिएको छ। बिहीबारसम्म हुने महाधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन्। अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन्। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ। महाधिवेशनमा देशका विभिन्न स्थानबाट दुई हजार तीन सय प्रतिनिधि सहभागी रहेका छन्। (रासस)
भरतपुर महानगरमा भूमिको निस्सा वितरण कार्य तीव्र
चितवन । चितवनमा राष्ट्रिय भूमि आयोग चितवनले लालपूर्जा वितरणको प्रक्रियाकालागि भूमिको निस्सा वितरण कार्य तीव्र पारेको छ । सोही अभियान अन्र्तगत आयोगले आज भरतपुर महानगरपालिका वडा नं. २२ का १ सय २५ जना भुमिहिन सुकुमबासीहरूलाई निस्सा प्रदान गरेको वडा विष्णुराज महत्तोले जानकारी दिए । एक समारोहका विच भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल, उपमेयर पार्वती शाह राष्ट्रिय भुमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिना, विज्ञ सल्लाहर नीरप्रसाद लामिछाने, सदस्य लक्ष्मीकान्त दवाडी र भरतपुर वडा २२ का वडा अध्यक्ष वडाध्यक्ष विष्णुराज महत्तोले संयुक्त रुपमा भूमिको निस्सा कागज वितरणसगैँ जग्गाको नापजाँच सुरु गरेका थिए । निस्सा पाएपछि आफूहरूको माग पूरा हुनेमा विश्वस्त रहेको सुकुम्बासीहरूले बताएका छन् । उनीले नेताहरूले बोलेको कुरा पूरा गर्न लागेको भन्दै खुसी व्यक्त गरे । सो अवसरमा बोल्दै मेयर रेनु दाहालले चुनावी वाचा अनुसार जनताको आधारभूत आवश्यकता वासको लागि भूमि वितारण गर्न पाउँदा खुसी लागेको बताइन् । यस्तै उपमेयर पार्वती शाहले जनताको चाहना पुरा गर्न पाउदा आफुहरुलाई सन्तुष्टि मिलेको बताईन् । यसैगरि आयोगका अध्यक्ष तिमिल्सिनाले भूमिहिन मुक्त अभियान जारी रहेको भन्दै लालपुर्जा पाउनेमा ढुक्क रहन आग्रह गरे । उनले भुमाफीया र जनताले विरोधीले भूमि आयोगको सक्रियतालाई गलत ढंगले प्रचारप्रसार गरेको बताउदै हल्ला भन्दा कामको पछि लाग्न अपिल गरे । चितवनको ३ वटा स्थानीय तहमा लालपूर्जा वितरणको लागि आयोगका अध्यक्ष बद्री तिमिल्सिनासहितको टोली निरन्तर आफै फिल्डमा खटिएर स्थलगत खटिएर काम गरिरहेका छन् । चितवनको भरतपुर महानगरमा मात्रै १० हजार २९, कालिका नगरमा पाँच हजार ५५९ र माडीनगरमा पाँच हजार ४५६ दलित, भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबास गर्नेले लालपुर्जाको माग गर्दै निवेदन दिएका छन् ।
जिल्ला अदालत कास्कीमा तोडफोड
पोखरा । जिल्ला अदालत कास्कीमा तोडफोड भएको छ। मंगलबार राति अदालतको १ नम्बर च्याम्बर,६ नम्बर इजलास र बेन्चमा तोडफोड भएको हो । बुधबार बिहान कर्मचारी कार्यालय पुग्दा तोडफोड भएको अवस्था रहेको अदालतले जनाएको छ। तोडफोडका लागि प्रयोग गरिएको रडलगायतका समाग्री भेटिएको भए पनि अन्य विवरण प्राप्त हुन सकेको छैन । तीनवटा कोठामा रहेका चारवटा दराज चाबी भेटिएकाजति खोलेको, अरु फुटाएको र चाबी फुटाउन नसकेको दराज त्यसै छाडिएको अवस्थामा देखिएको अदालतको भनाइ छ। तोडफोडबारे जानकारी पाइएलगत्तै प्रहरीलाई खबर गरिएको र अहिले अनुसन्धान जारी रहेको बताइएको छ। तोडफोडमा संलग्नको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ। चोरी नै भएको हो कि तोडफोड मात्र हो भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको छ।
लोकन्थलीमा शववाहनमा ठोक्किदा मोटरसाइकल जल्यो, चालक घाइते
काठमाडौं । भक्तपुरको लोकन्थलीमा शववाहन र मोटरसाइकल ठोक्किएका छन् । ठोक्किएपछि मोटरसाइकलमा आगो लागेको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको समिट अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोकबाट शव लिएर पशुपतिस्थित आर्यघाट आउँदै गरेको प्रदेश ३–०१ ०२३ च २३५६ नम्बरको शववाहन र विपरीत दिशामा रहेको बा ५२ प ५३८५ नम्बरको मोटरसाइकल आज बिहान करिब साढे ९ बजेतिर ठोक्किएको प्रहरीले जनाएको छ ।
१० जिल्लाका डिएसपी फेरिए, २५ जनाको काज सरुवा
काठमाडौं। नेपाल प्रहरीका २५ जना प्रहरी नायब उपरीक्षकहरूको काज सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागले स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा काज सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालयले जारी गरेको सूचना अनुसार काज भए सरुवासँगै १० पहाडी जिल्लाका प्रहरी प्रमुखहरु परिवर्तन भएका छन्
फागुन २७ पछि आज कोरोनाबाट एक जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । विगत १० दिनयताको यो पहिलो पटक कोभिड–१९बाट मृत्यु भएको घटना हो । यसअघि फागुन २७ गते नेपालमा एक जना संक्रमितको मृत्यु भएको थियो । त्यसयता चैत ८ गते अर्थात् आज एक जना संक्रमितको मृत्यु भएको तथ्याङ्क स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको हो । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस अवधिमा ४८१ जना संक्रमणमुक्त भएका छन् । हाल सक्रिय संक्रमितको सङ्ख्या २ हजार ६ सय ८८ रहेको छ भने, पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ९४ जनाको नमुना परीक्षण गरिएको थियो ।
आवेदन दिएकै साता लाइसेन्स परीक्षा दिन पाउने व्यवस्था गरिंने
काठमाडौं । यातायात व्यवस्था विभाग, काठमाडौंले चालक अनुमति पत्र (लाइसेन्स) परीक्षाका लागि आवेदन दिएको एक हप्ताभित्र परीक्षा हुने व्यवस्था गर्ने तयारी गरेको बताएको छ । अहिले परेको आवेदनको परीक्षा लिइसकेपछि यस्तो व्यवस्था सुरु गरिने विभागको भनाई छ । आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै विभागले केही दिनअघि सूचना प्रकाशित गरेर अनिश्चितकालका लागि आवेदन प्रणाली बन्द गरेको थियो । विभागका अनुसार हाल लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको छ। परेको आवेदन आगामी जेठ १६ गतेभित्र सक्ने गरी लागेको विभागले जनाएको छ । परीक्षा कोटा बढाउने तीन सिफ्टमा परीक्षा सञ्चालन गर्ने तयारी विभागको छ। विभागको सूचना प्रविधि शाखाले बिहान, दिउँसो बेलुका गरी तीन सिफ्ट गरेर देशैभरका यातायात कार्यालयहरूबाट परीक्षा लिइने कार्यतालिका तयार गरिरहेको विभाग बताउछ । अबको लाइसेन्स आवेदन प्रणाली खुला भएपछि आवेदन दिएकै हप्ताभित्र परीक्षा दिन पाउने गरी व्यवस्था गरिने भएको हो । हाल आवेदन दिएर परीक्षाका लागि वर्षौं कुर्नुपर्ने बाध्यता छ। कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाँप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुई वर्ष कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो । यो जम्मा भएको चाँप सकेर थोरै–थोरै आवेदन लिने र परीक्षा पनि लिइहाल्ने व्यवस्था मिलाउने विभागको योजना छ। देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयहरूमा छ। उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्। परीक्षा उत्तीर्ण गरेकाले पनि लामो समयदेखि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन्। नवीकरण गर्नेहरू पनि पर्खाइमा छन्। विभागले दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ। गत मंसिरमा आएको १४ लाख नयाँ कार्डमा अब साढे दुई लाख छाप्न बाँकी रहेको विभागले बताएको छ। यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भएको हो। त्योभन्दा अगाडिको समयमा विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो। कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा लाइसेन्स परीक्षा नै हुन सकेको थिएन। निषेधाज्ञा समयमा लाइसेन्स छपाइ पनि रोकिएको थियो। लामो समयसम्म स्मार्ट लाइसेन्स छपाइ बन्द हुँदा अहिले लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित छन्। नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गरिहेका छन् । तर पछिल्लो समय ट्रायल उत्तीर्ण भएकाहरूलाई परीक्षणकालीन लाइसेन्स दिन थालेपछि केही सहज भने भएको विभागको भनाई छ। स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको हो। यस्तो लाइसेन्स ट्रायल पास भएर राजश्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ। अस्थायी कार्ड वितरण सुरू भएसँगै पछिल्लो समय खरिद गरेको १४ लाख कार्डले अझै केही समय थेग्ने विश्वास विभागको छ। अस्थायी कार्डलाई विभागले एक वर्षको मान्यता दिएको छ। एक वर्षसम्म पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे यो कार्ड खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्। यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागका महानिर्देशक नमराज घिमिरेको भनाइ छ। उनका अनुसार विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।
एमसीसीले भन्यो : अधिग्रहण गरेको जग्गा तत्काल खाली गर
काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजनाअन्तर्गत् सब स्टेशन निर्माणका लागि नुवाकोटमा अधिग्रहण गरिएका घरजग्गा तत्काल खाली गर्न एमसिएले आग्रह गरेको छ । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति काठमाडौंले एक सूचना जारी गर्दै अधिग्रहण गरिएका घरजग्गा ३५ दिनभित्र खाली गर्न भनेको हो । एमसीए–नेपालद्वारा निर्माण गर्न लागिएको ४०० केभी रातमाटे सब–स्टेसनका लागि आवश्यक जग्गा अधिग्रहण गर्न जग्गा प्राप्ति ऐन, २०३४ अनुसार जिल्ला प्रशासन कार्यालय, नुवाकोटबाट विभिन्न मितिमा सूचना प्रकाशन गरी मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू समेत निर्धारण भई सोको वितरण तथा जग्गाको लगत कट्टा एवं नामसारी समेत भइसकेको भन्दै सूचना जारी गरेको हो । “ती अधिग्रहण गरिएका जग्गामा स्वीकृत कार्यक्रम अनुरूप सब–स्टेसन निर्माणका लागि तारबार गर्ने कार्यलाई अविलम्ब अगाडि बढाउनु परेकोले मुआब्जालगायत क्षतिपूर्ति तथा पुनर्वास सहायता रकमहरू बुझिसकेका महानुभावहरूले अधिग्रहण गरिएका घरजग्गाहरू यो सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र खाली गरिदिनुहुन अनुरोध सहित यो सूचना प्रकाशित गरिएको छ,” सूचनामा उल्लेख छ।
प्रहरी बताउने समुहले कञ्चनपुरबाट एक नेपालीलाई भारतमा लगेर बन्धक बनाएकाे खुलासा
काठमाडौं ।आफूलाई प्रहरी बताउँदै एक समूहले कञ्चनपुरबाट आइतबार साँझ एक नेपालीलाई बन्धक बनाएर भारत लगेको खुलेको छ । कञ्चनपुरको बेतकोट नगरपालिका–७ स्थित आफ्नो ससुरालीमा बस्दै आएका कैलालीको जानकी गाउँपालिका–६, जगतपुरका मीनबहादुर शाहलाई बन्धक बनाएर भारत पुर्याइएको हो । उनलाई बन्धक बनाएर भारत लगेको नेपालको सीमा प्रहरीले समेत चाल पाएन । मीनबहादुर पछिल्लो एक महिनादेखि श्रीमतीसहित कञ्चनपुरमा रहेको ससुरालीमा बस्दै आएका थिए । स्कुटरमा आएका दुईजनाले आफूहरु प्रहरी भएको र ‘काम छ’ भन्दै मीनबहादुरलाई लिएर गएका थिए । आफन्तले प्रहरी कार्यालयमा सम्पर्क गर्दा उनी त्यहाँ नभएको जानकारीपछि अनुसन्धान सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भइरहेको बताएको छ । प्रहरीले कुनै पनि प्रहरी टोलीले उनलाई नलगेको जनाएको छ । उनलाई लैजाने को हुन् भन्नेबारे अनुसन्धान भैराखेको छ । प्रहरी अनुसन्धानका क्रममा बम कञ्चनपुरको सीमावर्ती भारतीय सहर बनबासामा प्रहरी हिरासतमा रहेको खुलेको छ । नेपाली नागरिक नेपालका सुरक्षा निकायको समन्वयबिना भारतीय प्रहरीको नियन्त्रणमा पुग्नु गम्भीर विषय भएको सुरक्षा अधिकारीहरु बताउछन् । प्रहरीका अनुसार केही समयअघि मीनबहादुर दम्पती भारतको गुडगाउँमा बस्दै आएका थिए । उनीहरू त्यहाँ बस्दा एक घरमा लुटपाट भएको र सो लुटपाटमा मीनबहादुरको नाम समेत जोडिएकाले लगेको हुन सक्ने आशंका नेपाल प्रहरीले गरेको छ ।
कुनैपनि बहानमा विद्युतिकरणमा ढिलाई हुँदैन, दुईवर्षमा सबैका घर बिजुली बल्छ: मन्त्री भुसाल
रुकुम पश्चिम । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले कुनैपनि बहानमा विद्युतिकरणमा ढिलाई नहुने बताएकी छन् । उनले अबको दुई वर्षमा सबैका घरमा बिजुली बाल्ने गरी कार्यक्रम तयार पारिएको बताएकी हुन् । मन्त्री भुसालले सबै नेपालीका घरमा दुई वर्षभित्रै बिजुली बाल्ने गरी योजना बनाएर मन्त्रालय कार्यान्वयनमा लागेको बताईन् । सोमबार मुसीकोट नगरपालिका–३ मा निर्माण भएको विद्युत् सबस्टेसनको उद्घाटन गर्ने क्रममा मन्त्री भुसालले आधारभूत आवश्यकताको रुपमा रहेको बिजुली सबै नेपालीको घरघरमा पुर्याउन सरकारको दाईत्व भएको बताईन् । त्यसका लागि सरकारले आवश्यक योजना र बजेटको समेत व्यवस्था गरिसकेको उनको भनाइ छ । ‘भौगोलिक विकटता, सडक असुविधा लगायत कारणले समयमै कति काम सम्पन्न नभएका हुन सक्छन्,’ मन्त्री भुसालले भनिन्, ‘अब कुनै पनि बहानामा विद्युत् विस्तार, विद्युतीकरणको काम नरोकियोस् भन्नेतर्फ सरकारले ध्यान दिइरहेको छ ।’ विद्युत्को पहुँच नपुगेको ठाउँमा विद्युतीकरणमा जोड दिएर जनताको दैनिकीलाई सजिलो बनाउने सरकारको प्राथमिकता रहेको मन्त्री भुसालको भनाइ छ । उनले जिल्लाका आठबीसकोट, चौरजहारी र मुसीकोट नगरपालिकाका अन्य विकासे योजनाको अनुगमन समेत गरेकी छन् ।
जातीय विभेद तथा छुवाछुत मानव समाजका कलङ्क हुन् : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ५७औंं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा जातीय विभेद उन्मूलनका लागि सङ्घर्ष गर्ने सम्पूर्ण अधिकारकर्मी, योद्धा तथा अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।आज सोमबार २१ मार्चमा ५७ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस मनाइँदैछ । दिवसका अवसरमा शुभकामना सन्देशमार्फत देउवाले जातीय विभेद तथा छुवाछुत मानव समाजको कलङ्क भएको उल्लेख गर्दै २१ औं शताब्दीमा कोही पनि मानिस जातीय विभेद र छुवाछुतबाट अपहेलित र अपमानित हुन नहुने बताएका छन् । मानव अधिकारको विश्वव्यापी घोषणापत्रले सबै मानिस समान हुन् भन्दै सबैलाई स्वतन्त्रता र आत्मसम्मानपूर्वक बाँच्न पाउने हकको प्रत्याभूति गरेको छ । साथै, संयुक्त राष्ट्र सङ्घको जातीय भेद्भाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ र अन्य विभिन्न घोषणा तथा प्रतिज्ञापत्रले पनि जातीय भेदभावलाई कानूनतः दण्डनीय बनाउँदै सबै मानवका लागि समानता, स्वतन्त्रता र अविभेदको सुनिश्चितता गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल यी अन्तर्राष्ट्रिय सन्धि तथा प्रतिज्ञापत्रहरूको पक्ष राष्ट्र भएको नाताले तिनमा भएका व्यवस्थाहरूको कार्यान्वयन गर्नु हाम्रो कानुनी र नैतिक दायित्व हुने बताए । नेपालको संविधानले सबै नागरिकलाई स्वतन्त्रता र समानताको हक सुनिश्चित गरी छुवाछुत तथा भेदभाव विरुद्धको हकलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ । उनले तिनै विभिन्न ऐन, नियम तथा निर्देशिका एवं संरचनागत व्यवस्थामार्फत जातीय भेदभाव तथा छुवाछुतलाई उन्मूलन गर्न विभिन्न प्रयासहरू भएको बताए। “आज मुलुकमा जातीय छुवाछुत भेदभाव (कसुर र सजाय) ऐन, २०६८ र मुलुकी देवानी तथा फौजदारी संहिता जारी भई दलित तथा बहिष्करणमा परेका समुदायलाई न्याय र समानता सुनिश्चित गर्ने र उनीहरूलाई दुव्र्यवहार गर्ने विरुद्ध कानुनी कारबाही हुनसक्ने स्थिति निर्माण भएको छ । यी कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गरी सबै नागरिकलाई सम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ”, प्रधानमन्त्री देउवाले भनेका छन् । उनले आजभन्दा करिब २४ वर्ष अगाडि आफ्नै प्रधानमन्त्रित्व कालमा विसं २०५४ असोज १५ गते उपेक्षित, उत्पीडित, दलित वर्ग उत्थान विकास समिति र मिति २०५८ साउन ३२ गते राष्ट्रिय दलित आयोग गठन भएको स्मरण गराएका छन् । विसं २०६३ जेठ २१ गतेका दिन नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरिएको हो । आज दलित र बहिष्करणमा परेका समुदायको हकअधिकार संरक्षण र संवद्र्धनका लागि राष्ट्रिय दलित आयोग र समावेशी आयोगजस्ता छुट्टै स्वतन्त्र र अधिकारसम्पन्न संवैधानिक निकायहरूको व्यवस्था भइसकेको छ । दलित र बहिष्करणमा परेकालाई राज्यको सबै क्षेत्रमा समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न आरक्षण र सकारात्मक विभेदलगायतका विभिन्न व्यवस्था गरिएको उनले अवगत गराएका छन् । प्रधानमन्त्री देउवाले यी कानुनी व्यवस्था तथा संरचनाहरूलाई थप प्रभावकारी बनाउँदै यस वर्गभित्र पनि सीमान्तीकृत र विपन्न समूहलाई बढी लाभ पु¥याउने गरी कार्य गर्न सबैमा आग्रह गरेका छन् । उनले मुलुकमा जातीय भेद्भाव र छुवाछुतलाई पूर्ण रूपमा अन्त्य गरी सबै नेपाली नागरिकलाई समानताको आधारमा आत्मसम्मानपूर्ण व्यवहार सुनिश्चित गर्न सबैलाई दिवसले अभिप्रेरणा दिन सकोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
वाईसिएल उदयपुर जिल्लाकाे विस्तारित भेला तथा प्रशिक्षण सम्पन्न
उदयपुर । वाईसिएल उदयपुरले सदरमुकाम गाईघाटमा विस्तारित भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । गाईघाटको टाउन होटलमा सम्पन्न भेलाले ज्ञानेन्द्र मगरको अध्यक्षतामा २५ सदस्यिय जिल्ला समितीको गठन गरेको छ । कार्यक्रम जिल्लाका ६ सय युवाको सहभागितामा भएको थियो । कार्यक्रमका प्रमुख अतिथि संघिय सांसद सुरेश राई हिमालले माओवादी केन्द्रलाई स्थानीय चुनावमा जिताउने कार्यमा महत्वपुर्ण भुमिका युवाहरुको हुने बताए । उनले एमाले कांग्रेस पुरातनवादी भएको भन्दै देशको निकास र विकासका लागि माओवादीले चुनाव जित्नुपने धारणा राखेका थिए । माओवादीले चुनाव नजिते प्रतिगमन हावी हुने भन्दै सांसद राईले युवाहरुलाई एमाले कांग्रेसको भम्र चिर्दै गाँउघरमा जनताको दैलोमा पुगेर जनताको मन जित्न निर्देशन दिए । उदयपुर जिल्ला वाईसिएलले उदयपुर माओवादीको राम्रो जनाआधार भएको क्षेत्र भएकोले आठ वटा पालिका जित्ने गरी अभियान चलाएको बताएको छ ।
भूमन्त्री श्रेष्ठले गरिन् १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण
भूमिहीनता अन्त्य सरकारको उच्च प्राथमिकतामा रहेको भनाई काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयको जिम्मेवारी लिएपछि मन्त्री शशी श्रेष्ठ भूमि विहिनहरुलाई लालपुर्जा वितरणमा वेस्त छन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी छन् । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ । मन्त्री शशी श्रेष्ठले संविधानमा लिपिबद्ध गरिएका जनताका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्ने विषय अहिलेको सरकारको प्राथमिकतामा रहेको बताइन्। शुक्रवार भक्तपुरमा आयोजित जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण समारोहमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् । उनले मध्यथिमी नगरपालिका (साविक वडा नं. ६ र ८) का ४५६ जग्गाविहीनहरूलाई जग्गाधनी दर्ता प्रमाण पुर्जा वितरण गर्दै संविधानमा व्यवस्था भएअनुसार भूमिहीन दलित, भूमिहीन सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरूो व्यवस्थापन गर्ने कार्य सम्पन्न गर्न राष्ट्रिय भूमि आयोगले नेपालको इतिहासमै पहिलो पटक ऐन बनाएर अघि बढेको पनि बताइन्। ‘संविधानमा नै व्यवस्था भएको मुक्त कमैया, कमलरी, हरुवाचरुवा, हलिया, भूमिहीन सुकुम्वासीहरू पहिचान गरेर बसोबासका लागि घरघडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमिन वा रोजगारीको व्यवस्था गर्दै पुनः स्थापना गर्ने भन्ने विषय पनि प्राथमिकतामा छ,’ उनले भनिन् । मन्त्री श्रेष्ठले संविधानमा भएको नागरिकको हक कार्यान्वयनलाई अहिलेको सरकारले पहिलो प्राथमिकतामा राखेको भन्दै जनताको काम गर्न स्थानीय तहका जनप्रतिनिधि र मातहतका कर्मचारीलाई इमान्दार भएर लाग्न आग्रह समेत गरिन् । मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुुषा, सुनसरी र चितवन र काठमाडौंको किर्तिपुर नगरपालिकाको गाउँब्लकमा रहेका भूूमि विहिनहरुलाई लालपूर्जा वितरण गरेकी छन् । मन्त्री श्रेष्ठले मन्त्रालय संहालेपछि हालसम्म देशभरको गाउँब्लकमा रहेका १५ हजार घरपरिवारलाई लालपूर्जा वितरण गरि सकिएको छ । २०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रुपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।
जनयुद्धका सहिद परिवारलाई सम्मानसहित एक लाखको चेक प्रदान
बारा । मधेस प्रदेश सरकारले जनयुद्धका सहिदका परिवारजनका सदस्यहरूलाई सम्मानसहित रु. एक लाखको चेक प्रदान गरेको छ । बाराको सिमरामा मधेस प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय मधेसी सहिद प्रतिष्ठानले बाराका ६० जना सहिदहरूका परिवारलाई सम्मान गरेको हो । सङ्घीय सरकारका पूर्व मन्त्री मातृका प्रसाद यादव र प्रदेश सरकारका आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहले दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै जनही सहिदका परिवारहरूलाई रु १ लाखको चेक हस्तान्तरण गरेक हुन् । अहिलेका सम्पुर्ण उपलब्धिहरू जनयुद्धका सहिदहरूकै देन भएकाले सहिदका परिवारजनहरूले गर्व गर्नुपर्ने पूर्व मन्त्री यादवले बताए । कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गोपाल ठाकुर, जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य क्षेत्र बहादुर श्रेष्ठ अनिल, संविधान सभा सदस्य जयराम दाहाल, केन्द्रिय सदस्य उद्धव पोख्रेल, प्रदेश सदस्य राजन पौडेल, गीता कँडेल लगायतको सहभागिता रहेको थियो ।

