श्रीमतीको मृत्यु भएको एक घण्टामै श्रीमानको पनि मृत्यु
सुनसरी, साउन १ । इटहरीमा श्रीमान् र श्रीमतीको एकै दिन मृत्यु भएको छ। श्रीमतीको मृत्यु भएको एक घण्टाको अन्तरमा श्रीमानको पनि मृत्यु भएको हो।
इटहरी उपमहानगरपालिका–१३ खनारकी ७८ वर्षीया नर्बदा भट्टराईको मंगलबार साँझ पौने ७ बजे मृत्यु भएको थियो। उनको मृत्युको शोकमा परेका उनका पति ८६ वर्षीय टीकाप्रसाद भट्टराईको पनि एक घण्टापछि हृदयघात कारण मृत्यु भएको हो ।
अछाममा ९ दिनदेखि १७ वर्षीया किशोरी बेपत्ता
अछाम, असार ५ । खप्तड राष्ट्रिय निकुञ्जमा गङ्गादशहरा मेलामा गएकी एक किशोरी ९ दिनदेखि बेपत्ता भएकी छन् । अछामको साँफेबगर नगरपालिका–१२ खप्तड भेरासैनकी १७ वर्षीया देवीकुमारी रोकाया बेपत्ता भएकी हुन् । रोकाया गत जेठ २८ गते रातिदेखि हराएकी हुन् । गाउँकै साथीहरुसँग मेला भर्न गएकी रोकाया बेपत्ता भएको उनका बुबा धनबहादुरले बताए । खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्र र अन्यत्र खोजी गर्दा फेला नपरेको उनले बताए । किशोरीको खोजी भइरहेको अछामका प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले बताए । उनी काडा भवानी मावि बाजुरामा कक्षा ९ मा अध्ययनरत रहेको रोकायाका काका रामबहादुर रावतले बताए ।
हिड्ने , हाँस्ने र जीबनमा केही गर्ने रहरको याचना ,सहयोगको अपेक्षा !( भिडियो सहित )
उत्सब बजगाईं, मानब जिबन न हो ! कति बेला कुन समय न त् घाम न त् पानि अनिस्चित् मौसम मा जे पनि हुन सक्छ ।मानब जिबन भनु नै पानि मा उठेको फोका जस्तै हो , कति खेर विलाऊछ भन्ने कुनै पत्तो ठेगान हुदैन ।अनेकौ दुख पिडा ,हासो रोदनको सघारबाट रुम्लियर सुन्दर सपनाको खोजि गर्दा गर्दै आफ्नो अमुल्य जिन्दगि गुमाउदा पिडा नीकै नै दर्धानक र अकल्पनीय नै हुन्छ । आफ्नो परिवार को मुहारमा खुसि बहाब छरौँला छोरा-छोरीको सुन्दर भविष्यको तय गरुला । भनि आफ्नो देश छाडी परदेशमा रगत पसिना बेच्दा बेच्दै कार्यब्यबस्थाको दौडाहनमा १२ चक्का भएको गाडी दुर्घटनामा ४०० मिटर तल खसी आफ्नो दुबै खुट्टा गुमाउन पुग्नु भएका बैतडी जिल्ला घर हुनुभएका बासुदेब जोशी को गाडी दुर्घटनामा परि दुबै खुट्टा नचल्ने भएको हुँदा सम्पूर्ण सहयोगी मनहरुले सहयोग गर्दिनुहोला र उहाँको मुहारमा खुसीको प्रतिक बनेर पिडाको मलम बनेर ग्रिनिज ओल्ड रेकर्ड होल्डर अर्थात चर्चित कलाकार मनिष श्रेष्टले आफुले सक्ने सहयोग गरिरहनु भएको छ । उहाँको आर्थिक अवस्था निकै नै नाजुक भएको कारणले गर्दा उहाँले आफ्नो सम्पूर्ण खुशी चाहना ,इच्छा र रहहरुलाई एउटा बन्द कोठामा र सपनामा सिमित पार्न बाध्य हुनुभएको छ । उहाँलाई बिभिन्न देशबाट पनि सहयोग सङ्कलन भइरहेको छ , भन्ने कुरा पनि जानकारी भएको छ । उहाँको खुशीका निम्ती सक्केको सहयोग गरि मानवताको परिचय दिनुहुन्छ भन्ने आशा ब्यक्त गर्दछु ।उहाँलाई सकेको सहयोग गरि खुट्टाको जोर्नी जोड्न मदत पुर्याऊ । आफनो रहर इच्छालाई गुमाएर राख्नु भएको रहेछ ।सबैले आ-आफनो ठाउँबाट सक्दो सहयोग गरेर आर्थिक सङकलनमा र उहाँको सपनाको सफलताको विन्दु भई साथ समर्थन दिनुहुन्छ भन्ने आशा गर्दछु। उहाँले खेलेको हासेको हामि हेर्न चाहान्छौ। हिमाललाई दुख पर्दा तराईले र पहाडलाई दुख पर्दा तराईले सहयोग गरेर नेपालि पन र नेपाली पहिचानको उदाहरण दिनु पर्दछ ।उहाँको त्यो मुहारमा पक्कै आशु मेट्टि खुसिको बहाब छरिन्छ र तपाई हाम्रो सानो सहयोगले कसैको जिन्दगी फेरिन्छ र गुजरिन्छ भने किन सहयोग नगर्न?? यो पढी सके पछि शेयर गरेर सयोगी मन सम्म पुय्राउनु हुन्छ भन्ने अपेक्षा गर्दछु ।
छोराको खुकुरी प्रहारबाट बाबुको मृत्यु
रुकुम, जेठ ९ । रुकुम पूर्वको भूमे गाउँपालिका–७ गुनाम गाउँमा छोराले बाबुको हत्या गरेका छन् । २० वर्षीय विरत विकले आफ्नै बाबु अन्दाजी ४२ वर्षीय रमन विकलाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । विरतले आफ्ना बाबुको बिहान ५ बजे खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका प्रहरी निरीक्षक वीरबहादुर सुनारले जानकारी दिए । प्रारम्भिक जानकारीअनुसार घरायसी कारणले हत्या भएको हुनसक्ने अनुमान गरिएको छ । विरतलाई प्रहरीले पक्राउ गरेर थप अनुन्धान थालेको छ ।
मन्तव्य राख्दै गर्दा शिक्षकको मृत्यु
पाँचथर, जेठ ६ । पाँचथरमा मन्तव्य राख्ने क्रममा एक जना शिक्षकको मृत्यु भएको छ । जिल्लाको फिदिम नगरपालिका–१४, स्थित महादेव गुप्तेश्वर माविका शिक्षक लालबहादुर फागोको मन्तव्य राख्ने क्रममा मृत्यु भएको हो । सोमबार विद्यालयका शिक्षक अशोक तिम्सिनाको बिदाई तथा नवनियुक्त शिक्षक फागोकै स्वागतका लागि आयोजित कार्यक्रममा मन्तव्य राख्ने क्रममा उनको निधन भएको स्थानीय राम बाँस्कोटाले जानकारी दिए । स्थानीयकाअनुसार शिक्षक फागो कार्यक्रममा मन्तव्य राख्नेबित्तिकै बेहोस भएर ढलेका थिए । अचानक बेहोस भएर ढल्न पुगेका फिदिम–११, मूलडाँडा स्थायी घर भएका ३५ वर्षीय शिक्षक फागोको केहीबेरमै मृत्यु भएको बताइएको छ । उहाँको शवलाई पोस्टमर्टमका लागि सरदरमुकाम फिदिमतर्फ ल्याइँदै गरेको फिदिम–८, तमाखेस्थित प्रहरी चौकीले जनाएको छ । शिक्षक फागोलाई केही दिनअघि मात्र करारमा नियुक्त गरिएको थियो ।
यौन क्रियाकलापमा संग्नल ५ जना प्रहरीको फन्दामा
संखुवासभा, जेठ ५ । अनैतिक क्रियाकलापमा संग्लन भएको आरोपमा संखुवासभाको सदरमुकाम खाँदबारीको एक होटलबाट ५ जना पक्राउ परेका छन् । विशेष सुराकीका आधारमा होटल सञ्चालकसहित ५ जना पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार पक्राउ पर्नेहरूमा दुईजना पुरुष र तीनजना महिला रहेका छन् । रातको समयमा होटलभित्र अनैतिक क्रियाकलाप गरेको आरोपमा होटल सञ्चालकलाई समेत पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
दारी ग्याङ धनगढीद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग
कैलाली, जेठ ६ । दारी ग्याङद्वारा दृष्टि फाउन्डेसनलाई सहयोग हस्तान्तरण गरेको छ । ‘जात्रै जात्रा’ को च्यारेटी सो मार्फत संकलित रकमबाट ३४ हजार बराबरको सामान फाउन्डेसनलाई आज सहयोगस्वरुप हस्तान्तरण गरेको हो । जेठ ३ गते जोशी टाकिजमा भएको चलचित्रको च्यारिटि सो बाट ७४ हजार रकम सङ्कलन भएको थियो । त्यसबाट अन्य खर्च कटाई ३४ हजार बराबरको दराज, प्रिन्टर, बुफर लगायतका सामान हस्तान्तरण गरिएको र ७ हजार दारी ग्याङको खातामा रहेको दारी ग्याङ धनगढी संयोजक दिनेश बोहराले जानकारी दिए ।
मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना !
गोरखा, जेठ ५ । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएको १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’ यो नियमबारे गाउँपालिका र प्रहरीलाई समेत जानकारी गराइएको उनले बताए । उनका अनुसार जरिबानाबापत संकलन हुने रकम अहिंसा अभियानमै खर्च गरिनेछ । ‘हाम्रो वडा क्षेत्रभित्र काटेर खाने उद्देश्यले चौपाया किनबेच नगर्न छिमेकीी वडामा समेत पत्राचार गरिएको छ,’ ‘उनले भने, ‘हाम्रो वडाभित्र त अब मासु खाने उद्देश्यले पशुपन्छी किनबेच हुँदै हुँदैन । यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट लिइएको हो ।
दलित जनप्रतिनिधि संजालले बुझायो मेयर–उपमेयरलाई ज्ञापन
धनगढी, जेठ २ । कैलालालीको धनगढी उप–महानगरपालिकामा रहेका दलित जनप्रतिनिधीको संजालले बिहीबार नगरप्रमुख र उप–प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । स्थानीय तहमा टोल तथा वडा तहमा योजना तर्जुमा प्रकृया चलिरहेको बेला धनगढी उप–महानगरपालिकामा दलित जनप्रतिनिधीले संजालमार्फत ज्ञापनपत्र बुझाएका हुन् । उप–महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायका साझा समस्या तथा कार्यक्रम समेटिनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ । दलित समुदायको पेशागत आधुनिकिकरण,आधुनिक सिलाईकटाई तालिम, पञ्चेबाजा प्रवद्र्धन तालिम, सुधारिएको आईरन तथा ग्रील संचालन, दलित महिलाका लागि खेलौना बनाउने तालिम, दलित किशोर–किशोरीका लागि सिकर्मी तथा डकर्मी तालिम लगायतका कार्यक्रम समावेश गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । प्रमुख नृपबहादुर वडले जायज मागहरुलाई सम्बोधन गरिने बताए । उनले भने, ‘सामाजिक तथा आर्थिक रुपले बछाडि परेका समुदायलाई मुलप्रवाहीकरणमा ल्याउन हामी लागिपरेका छौं ।’ ज्ञापनपत्र बुझ्दै उप–प्रमुख सुशिला मिश्र भट्टले मागहरु पूरा गर्नका लागि हदैसम्म प्रयास गरिने बताइन् । नीति तथा कार्यक्रम पूर्व ज्ञापनपत्र प्राप्त भएकाले पनि योजनामा राख्न सजिलो हुने उप–प्रमुख भट्टले बताइन् । दलित जनप्रतिनिधी संजालका संयोजक राधा विकले दलित समुदायका सवाललाई प्रभावकारी रुपमा उठान गर्नका लागि बिहीबार नै संजाल गठन गरिएको जानकारी दिइन् । गठन भएको पहिलो दिनबाट नै आफ्ना गतिविधीहरु अगाडि बढाएको पनि संयोजक विकले बताइन् ।
एकैसाता तीन किशोरीलाई बलात्कार गर्ने पक्राउ
भक्तपुर, जेठ १ । एकैसाता तीन किशोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी परिसर भक्तपुरले ३ जनालाई पक्राउ गरेको छ । पन्ध्र वर्षीया किशोरीलाई डर धम्की दिई पटक–पटक बलात्कार गरेको अभियोगमा प्रहरीले सिरहा पदमपुर घर भई हाल भक्तपुर नगरपालिका–२ सल्लाघारी बस्ने १८ वर्षीय विजय भुजेललाई पक्राउ गरेको छ । गत वैशाख २८ गते सर्लाही हरिवन नगरपालिका–११ घर भई हाल सल्लाघारी बस्ने ती बालिकालाई पटकपटक बलात्कार गरेको अभियोगमा पीडित किशोरीकी आमाले जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए । त्यसैगरी सूर्यविनायक नगरपालिका–९ नङ्खेलको सिटी गाउँ होटलमा गत वैशाख २७ गते लगेर डर धम्की दिई १५ वर्षीया अर्की किशोरीलाई बलात्कार गरेको अभियोगमा बर्दिया बैदी नगरपालिका–१० घर भई हाल चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २० वर्षीय आशिष चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ । किशोरीकी आमाले किटानी जाहेरी दिएपछि पक्राउ गरेको प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए । यसैगरी सिन्धुपाल्चोक चौतारा गाउँपालिका–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–७ मा परिवारसँगै बस्दै आएकी १० वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोलुखुम्बु जिल्ला सोताङ्ग गाउँपालिका–४ घर भई हाल मध्यपुरथिमी नगरपालिका–९ बोडे बस्ने ३२ वर्षीय प्रेम राईलाई पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनालाई नै हिरासतमा राखेर जबरजस्ती करणीको अभियोगमा मुद्दा दायर गरी आवश्यक अनुसन्धान अगाडि बढाएको बताए ।
२५ रुपैयाँमा पेटभरी खाना !
भैरहवा, जेठ १ । २५ रुपैयाँमा खाना ! सुन्दा पत्यार नलाग्न सक्छ । तर, सत्य हो । भैरहवामा एक व्यवसायीले २५ रुपैयाँमा पेटभरी खाना खुवाउन थालेका छन् । भैरहवाका व्यवसायी रविकुमार रौनियारले आफ्नी स्वर्गीय आमा मायादेवीको च्यारिटेबल फाउण्डेसनअन्तर्गतको ‘अन्नपूर्ण भोजनालय’ मार्फत खाना खुवाउने जमर्को गरेका हुन् । मंगलबारबाट खाना खुवाउन थालिएको छ । शाहाकारी खाना निम्न आय भएका वर्गलाई खुवाउने व्यवसायी रौनियारले उद्देश्य राखेका छन् । विशेष गरी अस्पताल, सरकारी विद्यालय र मजदुरलाई कार्यस्थलमा फाउण्डेसनले घुम्ती सेवाबाट खाना खुवाउने छ । यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकबाट लिइएको हो ।
राजधानीमा बढ्यो खुलमखुला यौन क्रियाकलाप, नियन्त्रण गर्न सादा पोसाकमा प्रहरी परिचालन
काठमाडौं, वैशाख ३१ । महानगरीय प्रहरी परिसर (काठमाडौं) ले राजधानीका विभिन्न स्थानमा हुने यौन क्रियाकलाप तथा खुलमखुला रूपमा हुने यौन बार्गेनिङ रोक्न अभियान सुरु गरेको छ । सार्वजनिक स्थानमा अपाच्य हुनेगरी यौन लक्षित क्रियाकलाप बढ्न थालेको भन्दै परिसरले त्यस्ता गतिविधि रोक्न विशेष अभियान आइतबार सुरु गरेको हो । मानिसलाई पच्नै नसक्ने गरी अनैतिक क्रियाकलाप हुन थालेपछि प्रहरीले राजधानीमा त्यस्ता गतिविधि रोक्न अभियान सुरु गरेको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले बताएका छन्। आइतबार मात्रै प्रहरीले राजधानीका नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, कलंकीलगायतका क्षेत्रबाट १०० बढी व्यक्ति पक्राउ गरेको छ।
भारतको सीतामढी शहरबाट २८ बालकको उद्धार
काठमाडौं, बैशाख ०७ । महोत्तरी, धनुषा, सिरहा र सर्लाहीका २८ जना बालकलाई केन्द्रीय बाल कल्याण समितिले भारतबाट उद्धार गरेको छ। चार जिल्लाबाट विभिन्न बहानामा भारत प्रवेश गराई रोजगारीका लागि चेन्नई लैजाँदै गरिएका ती बालकलाई भारतको बिहार राज्यको सीतामढी शहरका विभिन्न बाल आश्रमबाट शुक्रबार केन्द्रीय बाल कल्याण समितिले उद्धार गरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। ती बालकलाई १४ चैतमा भारतको विहारस्थित सीतामढी नाका हुँदै चेन्नई लैजाँदै गर्दा सीतामढी प्रशासनले नियन्त्रणमा लिएको थियो। सीतामढी प्रशासनले ती बालकलाई महोत्तरी सीमा भिट्ठामोडबाट नेपाललाई हस्तान्तरण गरेको प्रजिअ ढकालले जानकारी दिए। चेन्नईमा रोजगारीका लागि लैजाँदै गरेका महोत्तरीका १२, धनुषाका ११, सिराहाका तीन र सर्लाहीका दुई जना गरी कुल २८ जना बालकलाई भारतीय प्रशासनले नियन्त्रणमा लिएको हो। १५ देखि १७ वर्ष उमेरका ती बालकलाई बाल कल्याण समितिले जनकपुर लगेको छ। चार वटै जिल्लाका अभिभावकलाई जिल्ला प्रशासन कार्यालय धनुषामा बोलाएर नागरिकताको प्रतिलिपि, सन्तानको जन्मदर्ता, नाता प्रमाणितको प्रमाणसहित वडा कार्यालयको सिफारिश लिएर आएमा अभिभावकलाई जिम्मा लगाइने प्रजिअ ढकालले बताए। नेपाल खबरबाट
सुन धितो लिएर चर्को ब्याज असुल्ने पक्राउ
घोराही, वैशाख ६ । गत असोजमा तुलसीपुरकी १९ वर्षीया विपना रेग्मीले तुलसीपुर उपमहानगरपालिका –६ का तुलसीराम गुप्तालाई आफ्नो भएको सुनको गहना धितो राखेर ऋण लगिन । उनले वार्षिक १५ प्रतिशत ब्याज दिने शर्तमा ६० वर्षीय गुप्तासँग रु ४० हजार ऋण लगेकि थिइन । उनले यही वैशाख १ गते सावाँसहित तोकिएको सबै ब्याज पनि बुझाइन । सुन फिर्ता माग्दा गुप्ताले ‘१५ प्रतिशतले हुँदैन ४८ प्रतिशत ब्याज दिए मात्र म सुन दिन्छु ।’ भन्दै सुन दिन मानेनन् । गुप्ताले कुनै पनि हालतमा सुन नदिने बताएपछि रेग्मीले जिल्ला प्रहरी कार्यालयमा ठगी मुद्दाको निवेदन दिइन । उनको जाहेरी दरखास्तका आधारमा जिल्ला प्रहरी कार्यालयले गुप्तालाई पक्राउ गर्यो । पक्राउ गरेसँगै गुप्ताको घरकोठा खानतलासी गर्ने क्रममा अन्य विभिन्न मानिसका २०६ पोका सुनका गरगहना फलामको घर्रामा राखेको भेटियो । गुप्ताले लामो समयदेखि त्यहाँका मानिसका गरगहना राख्ने र चर्को व्याजदरमा ऋण लगानी गर्ने गरेको पाएपछि गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विनोदविक्रम शाहले जानकारी दिए । “मान्छेको विवरण र सुन राखेको भेटाएका छौँ”, शाहले भने “अवैध रुपमा सुनको कारोवार गरेको हुँदा र बरामद गरिएका अन्य सुनलगायतका सबुद प्रमाणको आधारमा गुप्ताविरुद्ध नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ विपरीतको कसूरमा मुद्दा चलाइएको छ ।” उनले गुप्तालाई जिल्ला अदालतले थप पाँच दिन म्याद दिएको हुँदा थप अनुसन्धान गरिरहेको जानकारी दिए । बरामद भएका सुनका पोका अदालतको आदेशपछि मात्रै खोलिने हुँदा के कति छन् भन्ने बारेमा जानकारी नभएको बताइएको छ । रासस
भक्तपुरको बिस्केट जात्राः रथ तान्ने क्रममा ढुंगा हानाहान हुँदा ९ जना घाइते
भक्तपुर, बैशाख ०६ । भक्तपुरमा मनाइने बिस्केट जात्राको अन्तिम दिन बिहीबार राति भैरवको रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा ९ जना घाइते भएका छन् । घाइते हुनेमा भक्तपुर नगरपालिका १३ का ३८ वर्षीय माइला दुवाल, भक्तपुर नगरपालिका–४ गपलीका २३ वर्षीय रोजेश शिलाकार, भक्तपुर नगरपालिका – १ का २२ वर्षीय अशिष शिलाकार, रौतहट चन्द्रपुर घर भई भक्तपुर चोछे बस्ने १७ वर्षीय उमेश कुमार, काभ्रे मण्डन देउपुर नपा–२ देउपुर घर भई भक्तपुर व्यासी बस्ने २३ वर्षीय विकास तामाङ्ग, भक्तपुर नगरपालिका–६ इताछे बस्ने १८ वर्षीय मनिष कासुला, भक्तपुर नगरपालिका – २ इताछे बस्ने १८ वर्षीय रिमेश शाही घाइते भएका छन् । त्यस्तै, रथबाट खसेर भक्तपुर नगरपालिका ५ चोछेका ३० वर्षीय पूण्यराम सितिखु घाइते भएका छन् । रथलाई सुकुलढोका पुर्याएपछि सामान्य ढुङ्गाहानाहान भएको र स्थिति आफैँ नियन्त्रणमा आएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। केही ढुङ्गाहानाहान, केही रथबाट खसेर र केही रथको डोरी तान्ने क्रममा घाइते भएको उनले जानकारी दिए । बिहीबार साँझ ५ बजे गःहिटीबाट तान्न सुरु गरिएको रथ घरमा ठोक्किए पछि ढुङ्गा हानाहान भएको हो । स्थिति नियन्त्रणमा आएपछि मध्यराति पुनस् रथ तान्न सुरु गरिएको थियो । रथलाई टौमढी, गःहिटी हुँदै वंशगोपालसम्म पुर्याइएको थियो । बिहान ४ बजे वंंशगोपाल मै रथलाई छाडेर रथबाट देवतालाई झिकेर भैरव मन्दिर लगिएपछि जात्रा सम्पन्न भएको थियो । रथ तान्ने क्रममा घाइते भएकाहरुको भक्तपुर अस्पतालमा उपचार भैरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले जानकारी दिए । समाचार उज्यालोबाट लिइएको हो ।
पूर्व-पश्चिम राजमार्गमा ज्यानमारा खाल्डाखुल्डी
बर्दिया, बैशाख ०५ । राजमार्गमा सुरक्षित रुपमा सवारी साधन कुदाएर गन्तव्यमा पुर्याउने र पुग्ने चाहना सवारी चालक र यात्रा गर्ने यात्रु दुवैको हुन्छ । तर सडकमा सवारी साधन कुदाउन त के चलाउनै डरलाग्दो भए के गर्ने ? पूर्व-पश्चिम राजमार्गअन्तर्गत पर्ने बर्दियाका धेरै ठाउँमा यस्तै खतरापूर्ण ३० भन्दा धेरै ज्यानमारा खाल्डाखुल्डी छन् । पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि माछागढ, ककौरा, बनगाईँ, बैदीनजिक ठूल्ठूला खाल्डा छन् । तीव्र गतिमा आएका सवारी साधन त्यहाँ पुग्दा गड्याङगुडुङ आवाज आउँछ, यात्रुहरु दुर्घटना पो भयो कि भनेर तर्सिन्छन् । राजमार्गमा यस्तो समस्या देखिएको ६ महिनाभन्दा बढी भैसक्यो । तर मर्मतका लागि सडक विभागले चासो दिएको छैन । राजमार्गका विभिन्न ठाउँमा टाढाबाट नदेखिने यस्ता खाल्डाखुल्डीमा परेर कति दुर्घटना भए त्यो तथ्याङ्क छैन । तर स्थानीयका अनुसार, मोटरसाइकललगायतका सवारी साधन दुर्घटना हुँदा धेरै घाइते भएका छन् । सवारी साधन चलाउनेहरु खाल्डाका कारण दुर्घटनाको जोखिम रहेको बताउँछन् । तर दुर्घटना हुने ज्यानमारा सडकको मर्मत भने गरिएको छैन । बाँकेको कोहलपुरनजिक सुस्त गतिमा कतैकतै काम गरेको देखिन्छ तर बर्दियाका खाल्डा मर्मतका लागि कहिले आउने हो अत्तोपत्तो छैन । यो राजमार्ग हुँदै देशका संघ तथा प्रदेशका मन्त्री र सांसदहरु यात्रा गर्छन् । आयोजनाका प्रमुख, प्रजिअ, एसपीलगायतले पनि राजमार्गमा भएको खाल्डो देख्छन् । ओहो राजमार्ग पनि यस्तो, कस्तो लापर्बाही, कमसेकम मर्मत त गर्नुपर्छ, यस्तै यस्तै एकछिन गफ गर्छन् तर सम्बन्धित निकायलाई भनेर मर्मत गराउनतर्फ कसैले चासो दिँदैनन् । तर सवारी चालकहरु ठूलो जोखिम मोलेर यात्रुहरुलाई यात्रा गराउन बाध्य छन् । सवारी चालकले सास्ती बेहोरेको लामो समयसम्म पनि राजमार्गको मर्मत भएको छैन । अब पूर्व(पश्चिम महेन्द्र राजमार्ग पनि सानो र साँघुरो भैसक्यो । गाडीको चाप उत्तिकै बढेको छ, राजमार्गमा । महिनौं बितिसक्दा समेत मर्मतको काम नहुनुले सडक विभागको चरम लापर्बाही देखिन्छ । ‘वर्षा याममा पानी पर्यो भने त झन् जोखिम हुन्छ । खाल्डो कत्रो छ थाहा हुन्न, दुर्घटना हुने खतरा बढी हुन्छ’, सवारी चालक शंकर थारुले भने । ‘सडकको बीचमा ज्यानमारा खाल्डाखुल्डी छन् । मोटरसाइकल, अटो, कार, बस, ट्रकजस्ता गाडीहरु त्यस्तो खाल्डामा परे भने उछिट्टिएर अर्कोतिर पुग्छन्, यस्तो समस्या हुँदा पनि खाल्डो पुर्ने काम भएको छैन’, भेरी बागेश्वरी यातायातका काउण्टर प्रमुख लक्ष्मीकान्त शर्माले भने । राजमार्गमा धेरै मानिसको ज्यान जोखिममा रहेकाले मर्मतको काम हुने भनिए पनि अझै भएको छैन । खाल्डो दिनहुँ ज्यानमारा बन्दै गइरहेको छ । ‘हरेक दिन सडकका खाल्डाखुल्डीमा दुर्घटनाहरु भइरहन्छन् । तर, सडकको खाडल पुर्नेसम्मको कामसमेत भएको छैनु, माछागढका एक स्थानीयले भने । खाल्डोका कारण सवारीसाधन ओहोरदोहोर गर्न समस्या भएको छ । साह्रै कष्ट बेहोर्नु परेको छ । बर्दियाको मानखोलादेखि ककौरा, माछागढ, बनगाईँ बैदीको बीचमा पर्ने सडकका खाल्डोको कारणले ६ महिनायता ५ वटा दुर्घटना भएको स्थानीयको भनाइ छ । राजमार्गको खाल्डोकै कारण पटकपटक दुर्घटना निम्तिए पनि मर्मतका लागि सडक विभागले चासो नदिएको स्थानीयको भनाइ छ । अझै पनि खाल्डा पुर्ने काम नगरेमा कतिबेला दुर्घटना हुन्छ र कसको ज्यान जाने हो ठेगान छैन । ‘खाल्डोकै कारण दुर्घटना भएर कतिको ज्यान गयो, कति घाइते भए भन्ने रेकर्ड त राखिएको छैन, तर राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि बनगाँई बैदीनजिक ग्याङ खोलासम्म राजमार्ग भत्केर दुर्घटनाको जोखिम छ’, इलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक वसन्त गौतमले भने । बर्दिया जिल्लामा पर्ने राजमार्गको खाल्डो छिटो छरितो रुपमा मर्मत गर्न सडक विभागलाई आग्रह गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारीले बताए । सडक विभाग भन्छः खाल्डो सानो छ, असारसम्म खाल्डो पुरिन्छ पूर्व-पश्चिम राजमार्गमा भएका ठूल्ठूला खाल्डाखुल्डीका कारण दुर्घटना बढेको भए पनि सडक विभाग भने यो कुरा स्वीकार गर्दैन । राजमार्गमा भएका खाल्डाखुल्डी सानो र सामान्य ठान्छ । पूर्व-पश्चिम राजमार्गमा पर्ने बर्दियाको मानखोलादेखि कर्तनिया बैदीसम्म सडकमा दुर्घटना हुने खालका खाल्डाखुल्डी ३० भन्दा धेरै छन् नि ? भन्ने प्रश्न गर्दा सडक विभाग नेपालगञ्जका डिभिजन प्रमुख रामकुमार देवले भने, ‘राजमार्गमा ३० होइन, ५० वटै खाल्डा होलान् तर तपाईँले भनेजस्तो ठूला छैनन् खाल्डा साना छन्, त्यही सानो खाल्डोकै कारण दुर्घटना त हुँदैन । अरु कारणले हुन्छ ।’ ? खाल्डाखुल्डी पुर्ने काम बाँकेको कोहलपुरदेखि सुरु भएको र बर्दियाको मानखोलासम्म अब केहीदिनभित्रै पुग्ने बताउँदै राजमार्गका सबै खाल्डाखुल्डी पुर्ने काम पनि तीव्र गतिमा सुरु हुने उनले बताए । ‘यो आर्थिक वर्षमा के भइदियो भने पुष महिनासम्म एक महिनादेखि दुई महिनाभन्दा बढी कोही पनि कार्यालय प्रमुखहरु बस्न नपाएर सरुवा हुने समस्याले गर्दा ढिला भएको हो । म आएको पनि २ महिना मात्रै भयो, अब काम सुरु हुँदैछ । टेण्डरको काम सकियो, ठेकेदारहरु मोभिलाइज हुँदैछन् । असारसम्म काम सकिन्छ’, उनले भने । सबैभन्दा बढी चाप हुने पूर्व(पश्चिम राजमार्गको हालत यस्तो छ भने अरू सडकको त झन् के होला? राजधानी काठमाण्डौलगायत देशका विभिन्न जिल्लासम्म पुग्ने सवारीसाधनहरु दिनरात हजारौंको संख्यामा यही राजमार्ग भएर ओहोरदोहोर गर्छन् । तर, सडक विभागले मर्मत गर्नतर्फ हेलचेक्र्याइँ गरिरहेको छ । राजमार्गमा भएका खाल्डाका कारण कुनबेला कतिखेर कहाँ के हुने हो भन्ने चिन्तामा यात्रा गर्नुपर्ने बाध्यता छ । सडक विभागले दुर्घटना निम्त्याउने सडकका खाल्डाखुल्डी पुर्न हतार गर्नु हुँदैन । जतिसक्दो छिटो राजमार्गमा भएका खाल्डा पुरियो भने सवारी साधनका चालकले ढुक्क भएर सवारी साधन चलाउन र यात्रा गर्ने यात्रुले पनि ढुक्क भएर यात्रा गर्न पाउने छन् । त्यसैले सम्बन्धित निकायको बेलैमा ध्यान जान जरुरी छ । यो समाचार आजको उज्यालो अनलाइनबाट लिइएको हो ।

