सुर्खेतमा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु
सुर्खेत । सुर्खेतमा खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका– ९ मा घर बनाउन खनेको खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कालीकोटको तिलागुफा नगरपालिका– ९, चिल्खाया घर भई हाल वीरेन्द्रनगर नगरपालिका– ९ मा बस्ने टेकबहादुर कटुवालका सात वर्षका छोरा खेमराज कटुवाल र पाँच वर्षकी छोरी दीपिका कटुवालको मृत्यु भएको छ ।
उनीहरू बस्ने घरनजिकै घर बनाउन खनेको खाल्डोमा परी उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढथापाले बताए ।
उनीहरूलाई सोमबार साँझ स्थानीयले डुबेको अवस्थामा देखेका थिए ।स्थानीयको खबरपछि पुगेको प्रहरीले उद्धार गरी प्रदेश अस्पताल कालागाउँ पुर्याएको र उपचारमा संलग्न चिकित्सकहरूले दुवैलाई मृत घोषणा गरेकाे प्रहरीले जनाएको छ ।
राेल्पामा पहिरो पीडित उजेली घर्ती मगरलाई नयाँ घर हस्तान्तरण
रोल्पा । थबाङ गाउँपालिका–४ गुराँसे उवामा २०८२ साल साउन ४ गते राति परेको अविरल वर्षासँगै आएको भीषण बाढी–पहिरोमा परेर गोठे घर्ती मगरको ज्यान गएको तथा घर पूर्ण रूपमा पुरिएको घटनापछि सुरु गरिएको पुनर्वास अभियान सफलतापूर्वक सम्पन्न भएको छ। पहिरोमा श्रीमान् गुमाएकी उजेली घर्ती मगरलाई नयाँ घर निर्माण गरी विशेष कार्यक्रमका बीच चाबी हस्तान्तरण गरिएको हो। उक्त प्राकृतिक विपत्तिको रात उजेली घर्ती मगर संयोगवश घरबाहिर रहेकाले ज्यान जोगिएको थियो। तर श्रीमान् र सम्पूर्ण सम्पत्ति गुमाउँदा उनी गहिरो पीडामा परेकी थिइन्। प्रारम्भिक रूपमा अन्यत्र स्थानान्तरण गरिए पनि त्यहाँसमेत पहिरोको जोखिम देखिएपछि स्थायी पुनर्वासको आवश्यकता महसुस गरिएको थियो। घटनापश्चात् वडा अध्यक्ष हिकमत घर्ती मगरसँग समन्वय गरी पुनर्वास अभियान अघि बढाइएको थियो। अभियान दरजित रोका मगरको संयोजकत्वमा तथा रोल्पाली सेवा समाज, रोल्पा का केन्द्रीय अध्यक्ष दिलाराम वलीको सहजीकरणमा सञ्चालन गरिएको हो। करिब दुई महिनासम्म चलेको अभियानबाट रु. १ लाख ६८ हजार ३६० संकलन भई घर निर्माण कार्य सुरु गरिएको थियो। साथै नेकपा माओवादीका युवा नेताहरूको पहलमा रु. ३१ हजार ५०० नगद सहयोग प्राप्त भएको अभियान समितिले जनाएको छ। घर निर्माणका क्रममा स्थानीय थबाङवासीहरूले श्रमदानमार्फत महत्वपूर्ण योगदान पुर्याएका थिए। स्थानीय सरकार तथा सामाजिक संघ–संस्थाको समन्वयकारी भूमिकाले अभियानलाई सफल बनाउन उल्लेखनीय सहयोग गरेको बताइएको छ। घर हस्तान्तरण कार्यक्रममा अभियान संयोजक दरजित रोका मगर, वडा अध्यक्ष हिकमत घर्ती मगर, युवा नेता अमित घर्ती, सामाजिक अभियन्ता तथा गुराँसे उवाका स्थानीय बासिन्दाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा रोल्पाली सेवा समाज, रोल्पाका केन्द्रीय संगठन विभाग प्रमुख शेरबहादुर डाँगीले प्रमुख अतिथिका रूपमा उजेली घर्ती मगरलाई घरको चाबी हस्तान्तरण गरेका थिए। समाजका प्रवक्ता सूर्य घर्ती मगर र केन्द्रीय सदस्य धनमाया रोका मगरको समेत उपस्थिति थियो। अभियानमा आर्थिक सहयोग गर्ने देश–विदेशमा रहेका सहयोगीहरू, श्रमदान गर्ने स्थानीयवासी, अभियान सदस्यहरू तथा समन्वय र सहजीकरण गर्ने सम्पूर्ण व्यक्तित्वप्रति आयोजकहरूले धन्यवाद व्यक्त गरेका छन्। संकटको घडीमा देखिएको एकता, सद्भाव र मानवीयताले समुदायको शक्ति पुनः प्रमाणित गरेको भन्दै आगामी दिनमा पनि यस्तै सहकार्य र सहयोगको भावना कायम रहोस् भन्ने अपेक्षा गरिएको छ।
भोजपुरकाे भुल्केगाउँका स्थानीयको पानीको समस्या अन्त्य
भोजपुर । रामप्रसादराई गाउँपालिका–३ भुल्केमा लामो समयदेखि रहँदै आएको खानेपानीको समस्या अन्त्य भएको छ । पुस्तौँदेखि पिउने पानीको अभाव झेल्दै आएका यहाँका स्थानीय अहिले प्रत्येक घरमा धारा जडान भएपछि राहत महसुस गरिरहेका छन् । गाउँका ४६८ घरमा ‘एक घर, एक धारा’ अभियानमार्फत पिउने पानी वितरण गरिएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । घरघरमा धारा पुगेसँगै घण्टौँसम्म पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छ । स्थानीय कल्पना भट्टराईका अनुसार घरमै धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको छ । पहिले घरमा धारा नहुँदा निकै सास्ती थियो, टाढाबाट बोकेर पानी ल्याउनुपथ्र्यो । अहिले घरमै पानी आउँदा धेरै सहज भएको छ । अर्की स्थानीय सरस्वती भट्टराईले पनि विगत सम्झिँदै भनिन्, “घरभन्दा परका तीनवटा धाराबाट डोको बोकेर पानी ल्याउनुपथ्र्यो, अहिले आँगनमै धारा जडान भएपछि सरसफाइमा सहज भएको छ । खेर जाने पानी करेसाबारीमा प्रयोग गरिरहेका छौँ ।” वडाध्यक्ष रामु थापामगरका अनुसार वडाभरिका सबै ४६८ घरमा धारा जडान सम्पन्न गरिएको छ । एक घर, एक धारा अभियान सफल भएको छ । अब स्थानीयले वर्षौँदेखिको पानीको समस्या भोग्नुपर्दैन । धारा जडानसँगै स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिँदै वडाले ‘एक घर, एक फिल्टर’ अभियान पनि सञ्चालन गरेको जनाएको छ । पानीजन्य रोगबाट बच्न प्रत्येक घरमा पानी फिल्टरसमेत वितरण गरिएको छ ।
रुकुम पूर्वमा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु
रुकुमपूर्व । जिल्ला सदरमुकाम रुकुमकोटमा सोमबार अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।
विश्वकाे तापक्रम लगातार उकालो लाग्दै
काठमाडाैँ । विश्व तापक्रम लगातार उकालो लागिरहेकै बेला सन् २०२६ को दोस्रो आधामा एल निनो पुनः विकसित हुन सक्ने सम्भावनाले वैज्ञानिकहरूलाई सतर्क बनाएको छ । अमेरिकी नेसनल ओसेनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन (एनओएए) का अनुसार जुलाईदेखि सेप्टेम्बरसम्म एल निनो गठन हुने सम्भावना ५० देखि ६० प्रतिशत छ, जसले विश्वव्यापी तापक्रमलाई नयाँ उचाइमा पुर्याउन सक्ने आकलन गरिएको छ । विश्व मौसम विज्ञान सङ्गठनले यसबारे अद्यावधिक विवरण सार्वजनिक गर्ने तयारी गरेको छ। एल निनो उष्णकटिबन्धीय प्रशान्त महासागरमा देखिने प्राकृतिक जलवायु चक्र एल निनो–दक्षिणी दोलन (इएनएसओ) को तातो चरण हो । यसको विपरीत अवस्था ला निना हो भने दुवैबीच तटस्थ अवस्था पनि रहन्छ । १९औँ शताब्दीमा पेरु र इक्वेडोरका माछा मार्नेहरूले क्रिसमस नजिकिँदै गर्दा समुद्रको पानी असामान्य रूपमा तातो भएको देखेपछि त्यसलाई ‘एल निनो’ नाम दिएका थिए । स्पेनी भाषामा ‘एल निनो’ को अर्थ ‘बालक’ वा ‘बाल येशू’ हुन्छ । एल निनो हुँदा प्रशान्तमा पूर्वदेखि पश्चिमतिर बहने व्यापारिक हावा कमजोर भई समुद्री सतहको तापक्रम विशेषगरी मध्य र पूर्वी प्रशान्तमा बढ्छ । यसले विश्वभरि वर्षा र हावाको ढाँचा बदल्छ । अतिरिक्त समुद्री ताप वायुमण्डलमा ऊर्जा बनेर विश्व औसत तापक्रम अस्थायी रूपमा बढ्न सक्छ । एनओएएका मौसमविद् नेट जोनसनका अनुसार सामान्य एल निनोले औसत तापक्रममा करिब ०.१ देखि ०.२ डिग्री सेल्सियससम्म वृद्धि गराउन सक्छ । एल निनो सामान्यतः दुईदेखि सात वर्षको अन्तरालमा देखापर्छ। यसको प्रभाव क्षेत्रअनुसार फरक पर्छ । दक्षिणपूर्वी एसिया, अस्ट्रेलिया, दक्षिणी अफ्रिका र उत्तरी ब्राजिलमा प्रायः सुक्खा अवस्था देखिन्छ भने हर्न अफ अफ्रिका, दक्षिणी संयुक्त राज्य अमेरिका, पेरु र इक्वेडरमा बढी वर्षा हुन्छ । पछिल्लो एल निनो २०२३–२०२४ मा भएको थियो, जसले २०२३ लाई दोस्रो सबैभन्दा तातो वर्ष र २०२४ लाई अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बनाउन योगदान गरेको थियो । युरोपेली सङ्घ (इयु) को कोपर्निकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुन्टेम्पोका अनुसार यस वर्ष एल निनो विकसित भए सन् २०२६ अर्को रेकर्ड तोड्ने वर्ष हुन सक्छ । आयरल्यान्डको राष्ट्रिय मौसम सेवाका वैज्ञानिक टिडो सेमलरले एल निनोको पूर्ण प्रभाव देखिन समय लाग्ने भएकाले सन् २०२७ मा तापक्रम झन् उच्च हुन सक्ने चेतावनी दिनुभयो । उहाँका अनुसार विश्व तापवृद्धिको दीर्घकालीन प्रवृत्तिका कारण एल निनो नहुँदा पनि सन् २०२६ तातो वर्ष बन्ने जोखिम कायमै छ । ला निना भने यसको चिसो चरण हो, जसले पूर्वी प्रशान्तलाई एकदेखि तीन वर्षसम्म चिसो बनाउँछ र एल निनोको उल्टो प्रभाव पार्छ । अस्ट्रेलिया, भारत, दक्षिणपूर्वी एसिया र दक्षिणपूर्वी अफ्रिकामा बढी वर्षा गराउँछ भने दक्षिण अमेरिकाका केही भागमा सुक्खा अवस्था ल्याउँछ । डिसेम्बर २०२४ मा सुरु भएको पछिल्लो ला निना छोटो र कमजोर रहँदै तटस्थ चरणमा प्रवेश गरेको थियो, तर त्यसले पनि सन् २०२५ लाई तेस्रो सबैभन्दा तातो वर्ष हुनबाट रोक्न सकेन । यसबीच एनओएएले एल निनो मापन गर्ने विधि परिमार्जन गरेको छ । पुरानो ओसेनिक निनो इन्डेक्स (ओएनआई) ले ३० वर्षको औसत तापक्रमसँग तुलना गर्थ्याे, तर तीव्र गतिमा तातिरहेका समुद्रका कारण त्यो आधार पुरानो हुने भएकाले नयाँ रिलेटिभ ओसेनिक निनो इन्डेक्स (रोनी) अपनाइएको छ । यो विधिले पूर्व–मध्य प्रशान्तलाई बाँकी उष्णकटिबन्धीय क्षेत्रसँग तुलना गर्दै वास्तविक समयमा अवस्था मूल्याङ्कन गर्ने अधिक स्पष्ट र भरपर्दो उपाय प्रदान गर्ने एनओएएको दाबी छ।
प्रतिनिधिसभा निर्वाचन: मौन अवधिमा के गर्न हुँदैन ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । मतदानको ४८ घण्टाअघिदेखि निर्वाचनको मौन अवधि लागु हुन्छ । सोमबार राति १२ बजेदेखि आसन्न निर्वाचनको प्रचारप्रसार गर्न नपाइने कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जलेसम्म निर्वाचन आयोगले प्रचारप्रसार निषेध अवधि तोकेको छ । यो अवधिमा राजनीतिक दल, उमेदवार, सञ्चारकर्मी, सञ्चारमाध्यम, मतदातालगायत सरोकारवाला सबै पक्षले पालना गर्नुपर्ने विशेष आचरण तोकिएको छ । आयोगले फागुन ४ देखि १८ गतेसम्मका लागि निर्वाचन प्रचारप्रसारको समय निर्धारण गरेको थियो । मतदाताहरूले शान्त वातावरणमा बसेर उपयुक्त उमेदवार चयन गरुन् भन्ने मनशायमा विश्वव्यापी रूपमा नै मतदानअघिको केही समयलाई प्रचारप्रसार निषेध गर्ने प्रचलन रहेको आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए । प्रचारप्रसार निषेध अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाइँदैन । मतदान हुने दिनको ४८ घण्टाअघि मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उमेदवारका प्रचारप्रसार सामग्री हटाउन पनि सम्बन्धित दललाई आयोगले निर्देश गरेको छ । यो अवधिमा राजनीतिक दल तथा उमेदवार, दलका भ्रातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरेका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रचारप्रसार निषेध अवधिमा सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उमेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार सामग्री पोष्ट गरेको पाइए कारबाही हुने चेतावनी दिए । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदै छ ।
आज अमेरिकी डलरको मूल्य कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६० पैसा, स्वीस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८९ रुपैयाँ ३० पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३७ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ३३ पैसा तोकिएको छ । NMB Bank जापानी येन १० को खरिददर नौ रुपैयाँ ३१ पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३९ रुपैयाँ सात पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४० रुपैयाँ १३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ६४ पैसा र बिक्रीदर चार रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ दुई पैसा र बिक्रीदर १० रुपैयाँ छ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ दुई पैसा र बिक्रीदर १६ रुपैयाँ नौ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९३ पैसा र बिक्रीदर २३ रुपैयाँ दुई पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ । बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ दुई पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६१ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ १३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ६९ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
आज तराईका जिल्लामा होली मनाइँदै
काठमाडौं । रङहरूको पर्व होली आज तराईका जिल्लाहरूमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा फागु पूर्णिमा मनाइएको भोलिपल्ट तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा यो पर्व हर्षोल्लासपूर्वक मनाउन लागिएको हो । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । फागुन शुक्ल अष्टमीका दिन वसन्तपुरस्थित गद्दी बैठकअगाडि मैलको रूखलाई रंगीचंगी ध्वजापताकासाथ सिँगारी गाडिएको चीरमा पूजाआजा गरेपछि फागु सुरु हुन्छ । त्रेतायुगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसैबेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको विश्वास गरिन्छ ।
झापामा तीन अस्थायी मतदान केन्द्र, ६ हजार भन्दा बढी अस्थायी मतदाता
झापा । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापामा प्रतिनिधिसभा निर्वाचनका लागि तीन वटा अस्थायी मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले झापा कारागार, कर्मचारी मिलन केन्द्र चन्द्रगढीको भवन र दमक नगरपालिकाको कार्यालयमा अस्थायी मतदान केन्द्र रहेको जानकारी दिए। उनले जिल्लामा ६ हजार ३८० अस्थायी मतदाता रहेको बताए । जसमध्ये कारागारमा १०७ जनाले कर्मचारी मिलन केन्द्रमा ५५६ जनाले र दमक नगरपालिकाको कार्यालयमा ३१५ जना अस्थायी मतदाताले मतदान गर्ने जनाइएको छ । उनका अनुसार कारागारका कैदीबन्दी, मतदान केन्द्रमा नखटिएका सङ्घीय, प्रदेश र स्थानीय तहका सरकारका कर्मचारी, सुरक्षाकर्मीले ती तीन वटा अस्थायी मतदान केन्द्रबाट समानुपातिकतर्फ मतदान गर्ने छन् । झापामा सात लाख १३ हजार ५३७ मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको छ । निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम आज बिहानैदेखि कार्यक्षेत्रमा खटाउने क्रम सुरु भएको कार्यालयले जनाएको छ । यहाँ निर्वाचनलाई समावेशी र उत्साहजनक बनाउन यसपटक मेची रङ्गशालामा रहेका तीनवटा मतदान केन्द्रको पूर्ण नेतृत्व महिला कर्मचारीलाई प्रदान गरिएको छ।
पाेखरामा होलीमा रमाए विदेशी पर्यटक
कास्की । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा सोमबार स्वदेशी तथा विदेशी पर्यटकले होली मनाएका छन् । विगतमा यहाँ भव्य रूपमा होली उत्सव मनाउने गरिए पनि यस पटक औपचारिक कार्यक्रम गरिएको थिएन, तर लेकसाइड क्षेत्रमा रहेका पर्यटकले स्थानीयसँगै मिलेर रङ्ग खेलेर होली मनाएका हुन् । रङ खेल्न पाउँदा पर्यटकहरू दङ्ग देखिन्थे । पोखरामा पहिलोपटक आएकी चिनियाँ पर्यटक सियोङले रङ खेलेर रमाइलो गर्दा धेरै खुसी लागेको बताए । “हामी धेरै खुसी भयौँ। नेपालीसहित साथीहरू मिलेर निकै रमाइलो गर्यौँ”, उनले भनिन् । जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताका कारण होलीका लागि अनुमति नदिएपछि औपचारिक कार्यक्रम नगरिए पनि पर्यटकहरूले स्वतःस्फूर्त रूपमा रमाइलो गरेको रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराका अध्यक्ष विश्वराज पौडेलले बताए । “यति बेला पोखरामा विदेशी पर्यटक राम्रै छन् । उनीहरूले स्थानीयसँग मिलेर होलीमा रमाइलो गरेका हुन्”, उनले भने । लेकसाइडको मुख्य सडक क्षेत्रसहित ताल किनारमा बसेर स्वदेशी तथा विदेशी पर्यटकले विभिन्न रङमा रङ्गिएर रमाइलो गरेका हुन् । विगतका वर्षमा पोखरामा सार्वजनिक रूपमा होली उत्सव आयोजना हुने गरेको थियो । यस वर्ष भने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा संवेदनशीलता र निर्वाचन आचारसंहितालाई मध्यनजर गरेर होलीलगायत अन्य सार्वजनिक कार्यक्रममा जिल्ला प्रशासनले रोक लगाएको छ ।
मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत
कैलाली । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण गरिएको हो । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कञ्चनपुरले यहाँ तटबन्ध निर्माण गरेपछि वर्षौँदेखि नदी कटानको त्रासमा रहेका नागरिकले राहत महसुस गरेका छन् । आयोजनाका इन्जिनियर उत्तम सुवेदीले भ्याटसहित रु चार करोड ११ लाखको लागतमा तटबन्ध निर्माण गरिएको र यसले नदी कटान नियन्त्रणमा सघाउ पुगेको बताए । यसअघि नदीको कटानले नेपाल–भारत सीमामा रहेको १०५ नम्बर सीमास्तम्भसमेत जोखिममा परेको थियो । तटबन्ध निर्माणपछि तटीय क्षेत्रमा बसोबास गर्ने दुई दर्जनभन्दा बढी परिवारले राहत महसुस गरेका स्थानीय खडग धामीले बताए । “वर्षौँदेखि नदी कटानको जोखिम भोग्दै आएका थियौँ । बर्खायाममा कतिबेला घर बगाउने हो भन्ने त्रास हुन्थ्यो, सयौँ बिघा जमिन कटान गरेपछि कतिपय परिवार विस्थापित भइसकेका छन् । अब त्यसबाट जोगिने आशा जागेको छ”, उनले भने । यहाँ कतिपय परिवारको हातमा लालपुर्जा छ, तर जमिन छैन । ती परिवारको खेतीयोग्य जमिन नदी तथा बगरमा परिणत भएको छ । धामीले भने, “यो तटबन्ध पाँच वर्षअघि निर्माण भएको भए धेरै परिवार विस्थापित हुनुपर्ने थिएन । यसबारे पटक पटक मन्त्रालय र नेताहरूलाई पनि भन्यौँ । अन्तिममा हाम्रो मागको सुनुवाइ भई तटबन्ध बनेको छ । यसले थप जोखिमबाट जोगिएका छौँ ।” यहाँ गत आर्थिक वर्षको बजेटबाट तटबन्ध निर्माण गरिएको हो । स्थानीय रणसिंह धामीले तटबन्ध निर्माणपछि अब थप जोखिम नहुने आशा जागेको बताए । “नदीले कटान गरेर दुःख दिइरहेको थियो, बर्खा लागेपछि त ढुक्क भएर निदाउन पनि पाइने अवस्था थिएन । तटबन्ध बनेपछि त्यसबाट राहत मिलेको छ”, उनले भने । पूर्वसांसद न्यौपानेले तटबन्ध निर्माणपछि मोहना नदीले कटान गरेर बर्सेनि दिँदै आएको पीडाबाट ठूलो राहत भएको बताए । “बर्खायाममा मात्रै होइन, सुक्खायाममा पनि नदीले कटान गर्ने गरेको थियो, जनता त्रासमा थिए । हामी पनि यही क्षेत्रको प्रतिनिधि भएकामा तटबन्ध निर्माणका लागि निकै दबाबमा थियौँ”, उनले भने, “सबैको पहलपछि यहाँ तटबन्ध निर्माण भएको छ । सरकारले जनता पीडा र हाम्रो आवाजको सुनुवाइ गरेकामा खुसी लागेको छ ।” सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमन्त्री डा रणबहादुर रावलले तटबन्धमा ढिलाइ हुँदा धेरैले जमिन गुमाएको र अब भने त्यो जोखिम नदोहोरिने विश्वास व्यक्त गरे । “सरकारले कर्णाली र मोहना नदीमा तटबन्ध गरे पनि यहाँको केही भागमा बाँकी थियो, जसले गर्दा नदी छेउका धेरै नागरिकको जमिन कटान भयो । ढिलै भए पनि हामी सबैको पहलले समस्या समाधानका लागि तटबन्ध निर्माण भएको छ”, उनले भने । मोहना नदी कटानले नेपाली भूभाग भारततर्फ गएको छ । आफ्नो जमिन नदीपारि भारततर्फ गएपछि यहाँका नागरिकले त्यहाँ गएर खेतीपाती गर्न सकेका छैनन् ।
आज कहाँ-कहाँ छ वर्षाको सम्भावना ?
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ। कोशी प्रदेशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशको पहाडी र हिमाली भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ। कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।
गण्डकीकाे तनहुँ, बागलुङ र म्याग्दीमा मतगणनास्थल तयार
तनहुँ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँका दुवै निर्वाचन क्षेत्रमा मतगणनास्थल तयार गरिएको छ । मतदान सम्पन्न भएपछि मतगणना गरिने स्थानको टुङ्गो लगाएर आवश्यक व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए । उनका अनुसार तनहुँ क्षेत्र नं १ को मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गरिनेछ भने क्षेत्र नं २ का लागि शुक्लागण्डकी नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिने छ । मतगणनास्थलमा आवश्यक सुरक्षा प्रबन्ध, सिसी क्यामेरा जडान, तारजाली, अवलोकनकक्ष तथा उम्मेदवार/प्रतिनिधि बस्ने व्यवस्था मिलाइएको जनाउँदै प्रजिअ तिवारीले मतपेटिका सुरक्षित रूपमा राख्नका लागि कडा सुरक्षासहितको कोठा तयारी गरिएको बताए । दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको तनहुँको क्षेत्र नं १ मा एक लाख २६ हजार ८८२ र र क्षेत्र नं २ मा एक लाख २७ हजार ५१५ मतदाता कायम गरिएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले बताए । मुख्य निर्वाचन अधिकृतको कार्यालयले कारागार कार्यालय तनहुँ र कृषि विकास कार्यालय गरी जिल्लामा दुई अस्थायी मतदान केन्द्र तोकिएको जनाएको छ । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीले समानुपातिकतर्फ मतदान गर्न सक्ने भएकाले सोका लागि अस्थायी मतदान केन्द्र बनाइएको उनले जानकारी दिए । बागलुङमा दुई वटा निर्वाचन क्षेत्र रहेको बागलुङमा दुईवटा मतगणनास्थल तारजाली र सिसी क्यामेरासहित तयार पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र निर्वाचन अधिकृतको कार्यालय रहेको ढोरपाटन नगरपालिका–२ कुथाप्लोमा मतगणनास्थल तयार गरिएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय रहेको दुई स्थानमै फलामे तारजाली लगाइएको छ भने ध्वनिसहित भिडियो रेकर्ड गर्ने सिसी क्यामेरा राखिएको मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीले जानकारी दिइन् । म्याग्दीमा पनि प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बेनीस्थित जिल्ला समन्वय समितिको सभाहलमा तारजाली लगाएर मतगणनास्थल तयार पारेको हो । मतगणनालाई व्यवस्थित, छिटो र सुरक्षित तवरले सम्पन्न गर्न मतगणनास्थललाई तारजाली, सिसीटिभी जडानलगायत कामह सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश सूर्यबहादुर थापाले जानकारी दिए । मतगणनास्थलमा तारजाली लगाउने, सुरक्षा पोस्ट र आवश्यक अन्य संरचना निर्माण गरिएको गणनास्थलमा सिसी क्यामेरासहित भरपर्दो सुरक्षाको प्रबन्ध मिलाइएको छ । मतगणनास्थलमा बाहिरबाट कोही पनि भित्र पस्न नसकुन् भनेर तारजाली लगाइएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । मतगणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले बाहिरबाट भित्र मतगणना हेर्न मिल्ने गरी तारजाली लगाइएको सहायक निर्वाचन अधिकृत जगतबहादुर भण्डारीले बताए । उनका अनुसार जिल्ला समन्वय समितिको कार्यालयका कोठाहरूमा मतपेटिका सङ्कलन गर्ने ठाउँसमेत तयार पारिएको छ । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा छ वटा स्थानीय तह र ४५ वटा वडा रहेका छन् । यहाँ ८२ वटा मतदानस्थलमा सोमबार कर्मचारी र सुरक्षाकर्मी पुगेर मतदानको तयारी गरेका छन् । एक सय २२ मतदान अधिकृत, १२२ सहायक मतादन अधिकृतसहित एक हजार ७४ जना निर्वाचन कर्मचारी खटिएका छन् । एक स्वतन्त्रसहित १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना अन्य मतदाता रहेका छन् । कारागार र कर्मचारीहरूको समानुपातिक मतदानका लागि एक अस्थायी मतदान केन्द्र तोकिएको छ ।
मुस्ताङमा निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
पोखरा । मुस्ताङको निर्वाचनमा खटिएका कर्मचारीको दुर्घटनामा परेर मृत्यु भएको छ । मुस्ताङ भन्सार कार्यालयका कर्मचारी ३२ वर्षीय सुनिल घतानेको थासाङ गाउँपालिका–२, खन्तीमा ग ७ प १४८६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो । प्रदेश अस्पताल मुस्ताङका प्रमुख डा. समीक्षा कँडेलका अनुसार, दुर्घटना भएको भन्दै लिएर आएका व्यक्तिको अस्पताल आइपुग्दा मृत्यु भइसकेको थियो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङकिप्पा लामाका अनुसार, कोबाङको खन्ती बजारमा भएको मोटरसाइकल दुर्घटनामा परेर घाइते भएकालाई उपचारका लागि प्रदेश अस्पताल मुस्ताङ पुर्याइएको थियो । अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरेका हुन् । घताने फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–२ को झोङमा निर्वाचनका लागि खटिएका थिए ।
सहकारी पीडितका बचतकर्ताको रकम फिर्ता गराउन पहल गर्छु : तिमिल्सिना
पर्वत। पर्वतबाट प्रतिनिधिसभाका उम्मेदवार मनहरी तिमिल्सिनाले सहकारीमार्फत भएको ठगीप्रति कडा असन्तुष्टि जनाउँदै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराउन आफू प्रतिबद्ध रहेको बताएका छन्। कुस्मा नगरपालिकाका विभिन्न वडामा आयोजित आन्तरिक भेटघाट कार्यक्रममा उनले सहकारी क्षेत्रमा देखिएको विकृति र दुरुपयोगप्रति शून्य सहनशीलताको नीति अपनाइने स्पष्ट पारे। “जीवनभरको श्रम र पसिनाबाट जम्मा गरेको रकम असुरक्षित हुनु कुनै पनि हालतमा स्वीकार्य हुँदैन,” उनले भने, “बचतकर्ताको विश्वास जोगिनु र उनीहरूको रकम सुरक्षित फिर्ता हुनु अत्यावश्यक छ। आफ्नो जिम्मेवारीको स्थानबाट आवश्यक पहल गर्नेछु, सम्बन्धित निकायलाई सक्रिय बनाउनेछु र पीडितको पक्षमा दृढ रूपमा उभिनेछु।” चुनावी अभियानका क्रममा घरदैलोमा पुग्दा सहकारी पीडितहरूको पीडा प्रत्यक्ष सुन्नुपरेको उल्लेख गर्दै तिमिल्सिनाले धेरै बचतकर्ता रोइरहेको दृश्यले आफूलाई भावुक बनाएको बताए। “राजनीतिक आवरणमा बसेर सहकारीमार्फत ठगी गर्ने र दुरुपयोग गर्ने जुनसुकै शक्तिलाई छुट दिन सकिँदैन,” उनले भने। पार्टीको नाम र प्रभाव प्रयोग गरी पर्वतका हजारौँ बचतकर्तालाई समस्यामा पारेकोप्रति उनले दुःख व्यक्त गर्दै पीडितलाई न्याय दिलाउन निरन्तर पहल गर्ने प्रतिबद्धता जनाए। तिमिल्सिनाले सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र कानुनी दायराभित्र सञ्चालन गर्न नीतिगत सुधार आवश्यक रहेको उल्लेख गरे। बचतकर्ताको अधिकार संरक्षणका लागि संसदीय तहबाट पहल गर्ने उनको भनाइ छ। यसैबीच, उनले फागु पूर्णिमाको अवसरमा शुभकामना व्यक्त गर्दै पर्वलाई सुरक्षित र वातावरणमैत्री रूपमा मनाउन आग्रह गरे। “ऋतु परिवर्तनसँगै आउने यस उत्सवले प्राकृतिक रंग, स्वच्छता र स्वस्थ जीवनशैली अपनाउने प्रेरणा दिओस्,” उनले भने, “आपसी सद्भाव, सकारात्मक ऊर्जा र आत्मीयता बढोस्।” उनले सम्पूर्ण नेपालीमा स्वास्थ्य, खुशी र उज्यालो भविष्यको कामना पनि व्यक्त गरे।
काभ्रेपलाञ्चोकमा निर्वाचन कर्मचारी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु
काभ्रेपलाञ्चोक । रामेछापमा निर्वाचनमा खटिएका कर्मचारी सवार गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछाप नगरपालिका–२ सिरुबारी भन्ने ठाउँमा ना ७ ख ६७६८ नम्बरको बोलेरो जित दुर्घटनामा परेको थियो । सो जिप भिरबाट खस्दा एक जना सुरक्षाकर्मीको मृत्यु भएको हो । उक्त जिपमा निर्वाचनमा खटिएका कर्मचारीदेखि सुरक्षाकर्मी समेत थिए । गाडीमा निर्वाचन सामग्रीसहित १०/११ जना निर्वाचनमा खटिएका कर्मचारी थिए । अहिले उद्धारका काम भइरहेको र थप विवरण आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

