निर्वाचनकाे तयारी पूरा, मतदानका लागि देशभर उत्साहजनक वातावरण: आयाेग

काठमाडौँ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रित गर्दै देशभर सुरक्षित, व्यवस्थित र उत्साहजनक वातावरण तयार भएको छ । सरकारले सुरक्षादेखि मौसमसम्मका सबै पक्ष अनुकूल रहेको जनाएको छ । अब मतदाताले निर्धक्क भएर मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गर्न मात्रै बाँकी रहेको अधिकारीहरूको भनाइ छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मुलुकभरका सबै मतदानस्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् र उनीहरूले आवश्यक व्यवस्थापन पूरा गरेका छन् । “समग्र तयारी सम्पन्न भइसकेको छ । मतदाताले ढुक्क भएर मतदान गर्न सक्ने वातावरण सुनिश्चित गरिएको छ,” उनले बताए ।

निर्वाचनमा नेपाल सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीसहित तीन लाखभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् । निर्वाचनस्थलको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था मिलाइएको छ । यसले मतदान प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित हुने विश्वास बढाएको छ ।

निर्वाचनलाई थप मर्यादित र सहकार्यपूर्ण बनाउन केन्द्रदेखि वडा तहसम्म सर्वदलीय बैठक सम्पन्न भएका छन् । प्रदेश, जिल्ला, पालिका र वडा तहसम्म भएको संवादले राजनीतिक सौहार्दता अभिवृद्धि गरेको र सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाएको सरकारी निष्कर्ष छ ।

मौसम पनि मतदानका दिन अनुकूल रहने पूर्वानुमान छ । मौसमविद् हरिप्रसाद दाहालका अनुसार मतदानका दिन वर्षाको सम्भावना छैन र अधिकांश स्थानमा मौसम सफा रहनेछ । केही स्थानमा बिहान हुस्सु देखिए पनि त्यसले मतदान प्रक्रियामा असर नगर्ने जनाइएको छ ।

निर्वाचन आयोगले देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ । दुर्गम क्षेत्रमा समेत मतदान सामग्री समयमै पुर्‍याइएको छ । डोल्पा र हुम्लाका केही दुर्गम स्थानमा हेलिकोप्टरमार्फत सामग्री ढुवानी गरी सबै नागरिकलाई समान अवसर सुनिश्चित गरिएको छ ।

सुरक्षा संयन्त्रका अनुसार विगतका तुलनामा यसपटक सुरक्षा चुनौती न्यून रहेको छ । छिटपुट अवाञ्छित गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइएको छ, जसले शान्तिपूर्ण वातावरण कायम राख्न सहयोग पुगेको छ ।

प्रदेशस्तरमा वरिष्ठ प्रहरी अधिकृतको नेतृत्वमा विशेष समन्वय संयन्त्र गठन गरिएको छ । सातै प्रदेशमा उच्चस्तरीय कमान्ड संरचना परिचालन गरी आवश्यक स्थानमा थप जनशक्ति खटाइएको छ । यसले निर्वाचन सुरक्षालाई थप मजबुत बनाएको छ ।

समग्र तयारी, अनुकूल मौसम र राजनीतिक सहकार्यका कारण निर्वाचन सफल र शान्तिपूर्ण हुने विश्वास व्यक्त गरिएको छ । सरकार र सुरक्षा निकायले नागरिकलाई निर्धक्क भएर मतदान केन्द्रमा पुग्न आह्वान गरेका छन् । लोकतन्त्रको पर्वका रूपमा लिइने निर्वाचनमा सक्रिय सहभागितामार्फत नागरिकले आफ्नो अधिकारको प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ ।

दाङमा तालमा डुबेर एकजनाको मृत्यु

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ स्थित गगटैया तालमा डुबेर मंगलबार (फागुन १९) एकजनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर अन्दाजी १५ वर्षीय दिवस बुढामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रेशम बोहोराले जानकारी दिए ।  घोराही–१६, ठोक्रिया बस्ने मगर दिउँसो होली खेलेर पौडी खेल्ने क्रममा तालमा बेपत्ता भएका थिए । खोजतलास गर्दा बेलुका मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

बेरुतस्थित अमेरिकी दूतावास ‘अर्को सूचना नआएसम्मका लागि बन्द’

काठमाडौं । लेबनानको राजधानी बेरुतस्थित अमेरिकाको दूतावास अर्को सूचना नआएसम्मका लागि बन्द रहने भएको छ । दूतावासले भनेको छ, “अन्य सबै नियमित र आपतकालीन कन्सुलर भेटघाटहरू रद्द गरिएका छन् ।” दूतावास पुनः खुलेपछि अपडेट दिइने पनि जानकारी गराइएको छ । हालैका दिनमा बेरुत र दक्षिणी लेबनानका केही भागमा इजरायली आक्रमणहरू भएका छन् । इजरायलले लेबनानमा आधारित इरान समर्थित सशस्त्र समूह हिजबुल्लाहबाट भएका आक्रमणको जवाफमा यो कारबाही गरिएको बताएको छ । यो घोषणा ड्रोन आक्रमण भएपछि अमेरिकाले कुवेतस्थित आफ्नो दूतावास र साउदी अरबको रियादस्थित कूटनीतिक नियोग अर्को सूचना नआएसम्मका लागि बन्द गरेलगत्तै आएको हो ।   अमेरिकाले हिजो जोर्डनस्थित दूतावास नजिकै विष्फोटको आवाज सुनिएपछि त्यहाँबाट पनि कर्मचारीहरूलाई सुरक्षित स्थानमा सारेको थियो । ओमानको मस्कटस्थित अमेरिकी दूतावासले ‘सेल्टर इन प्लेस’ आदेश जारी गरेको थियो, तर अहिले त्यसलाई आंशिक रूपमा हटाइएको छ । 

आज देशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १४६ रुपैयाँ ६६ पैसा तोकिएको छ ।                                         युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २० पैसा र बिक्रीदर १६९ रुपैयाँ ९० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६५ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८५ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८६ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।                                                 अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ १० पैसा र बिक्रीदर ११४ रुपैयाँ ५७ पैसा तोकिएको छ ।   जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २८ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ १७ पैसा र बिक्रीदर २१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३९ रुपैयाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ०६ पैसा र बिक्रीदर ४० रुपैयाँ २२ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।  मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ०९ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।  स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५ रुपैयाँ ८० पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ६५ पैसा र बिक्रीदर २२ रुपैयाँ ७५ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ४७९ रुपैयाँ २८ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ६६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३८० रुपैयाँ ९४ पैसा रहेको छ  ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

देशभरको मौसम आज मुख्यतया सफा रहने

काठमाडौं । देशभरको मौसम आज मुख्यतया सफा रहनेछ । तराई भूभागका केही स्थानमा बिहानको समयमा हुस्सु लागेको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।   राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणालीको प्रभाव रहेको विभागले बताएको छ । 

आज सार्वजनिक बिदाका दिन आवश्यक व्यवस्था मिलाइएको आयोगको जानकारी

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित शाखालाई नियमित सञ्चालनको आवश्यक व्यवस्था मिलाइएको जनाएको छ ।  फागुन २१ गतेका दिन हुने प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई मध्यनजर गरी सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण सो अवधिमा वित्तीय पक्षका सारभूत कार्य तथा सेवामा असर पर्न नदिन आयोगको निर्णय तथा अनुरोधअनुरूप महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको उल्लेख गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गराइएको छ ।  सो कार्यका निम्ति उक्त कार्यालयले प्रणाली सञ्चालनका लागि प्राविधिक जनशक्ति खटाई निर्वाध सेवा प्रवाहको व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ । नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उमेदवारका निर्वाचन प्रचारप्रसार बैंक खाता सञ्चालन गर्ने बैंक तथा वित्तीय संस्थाद्वारा रकम दाखिला तथा भुक्तानीलगायत वित्तीय सेवा उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाइएको छ । भुक्तानीसम्बन्धी तथा आवश्यक प्रणालीको निर्वाध सञ्चालनको प्रबन्ध मिलाइएको आयोगले जानकारी दिएको छ । मुलुकभरका मतदाताले एकैपटक मतदान गर्ने दिन भएकाले सो दिन वित्तीय एवं बैंकिङ सेवा सञ्चालन नहुने र सोको भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

माेरङ-४ मा जनमतका उम्मेदवार जीवन गुप्ताद्वारा पाँचकुने ताराका अमनलाल मोदीलाई समर्थन

विराटनगर । जनमत पाटीका उम्मेदवार जीवन गुप्ताले मोरङ क्षेत्र नम्बर ४ मा नेकपाका उम्मेदवार अमनलाल मोदीलाई समर्थन गर्ने घोषणा गरेका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत गुप्ताले प्रतिनिधि सभाको निर्वाचनका लागि मोदीलाई समर्थन गर्ने निर्णय सार्वजनिक गरेका हुन् गुप्ताले मोरङ–४ को समग्र विकास, जनभावनाको कदर र जनताको पक्षमा काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै मोदी त्यसका लागि उपयुक्त उम्मेदवार रहेको बताए। “मोरङ क्षेत्र नम्बर ४ का लागि आवश्यक नेता अमललाल मोदी नै हुनुहुन्छ। उहाँलाई विजयी गराउन सम्पूर्ण मतदातामा आग्रह गर्दछु,” गुप्ताले भने। उनले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा मोदीलाई समर्थन गर्दै मोरङ–४ का मतदातालाई विकासको पक्षमा मतदान गर्न आह्वान समेत गरेका छन्।

खाडी क्षेत्रमा रहेका नेपालीलाई विवरण भर्न आग्रह

काठमाडौं । मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यान दिँदै परराष्ट्र मन्त्रालयले सञ्चालनमा ल्याएको पोर्टललाई खाडी क्षेत्रका विभिन्न दूतावासले आवश्यक प्रचारप्रसार र समन्वय गरेका छन् । नेपाली दूतावास रियादले नेपालीको नाम दर्ताका लागि पोर्टल सञ्चालनमा ल्याएको जानकारी दिँदै आवश्यक सूचना उपलब्ध गराउन नेपाली श्रमिकलाई आग्रह गरेको छ । दूतावासका अनुसार नेपाली नागरिकको अवस्था तथा आवश्यक कारबाहीको प्रयोजनका लागि सूचना संकलनका लागि पोर्टल सञ्चालनमा ल्याइएको हो । परराष्ट्र मन्त्रालयको तयार पारेको सो पोर्टलमा साउदी अरेबिया, यमनमा रहेका नेपालीका बारेमा सूचना संकलन गरिनेछ । विभिन्न राजनीतिक दलसम्बद्ध प्रवासी संघसंस्थाले पनि नेपालीको सहयोगका लागि विभिन्न सम्पर्क व्यक्ति तोकिएको जनाएका छन् ।

भक्तपुरमा कार दुर्घटनामा परी ३ जनाको मृत्यु, २ घाइते उपचाररत

भक्तपुर । नगरकोटबाट सुडालतर्फ आउँदै गरेको बा५च ७८८१ नम्बरको कार भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुरस्थित वडा कार्यालयनजिक सोमबार दिउँसो दुर्घटनामा पर्दा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौँ महानगरपालिका–३२ जडीबुटी निवासी ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले दिएको जानकारीअनुसार योगेन्द्र र सुरेन्द्रको मध्यपुर अस्पतालमा तथा कृष्णमायाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा घाइते अन्य दुई जनाको मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

ललितपुरमा गस्ती प्रहरीमाथि ढुंगामुढा गरी आक्रमण, हवाई फायरपछि चार जना पक्राउ

ललितपुर । ललितपुरमा गस्तीमा खटिएको प्रहरी टोलीमाथि ढुंगामुढा गरी आक्रमण भएको छ। घटनामा संलग्न चार जनालाई प्रहरीले एक राउन्ड हवाई फायर गरी नियन्त्रणमा लिएको जनाएको छ। नेपाल प्रहरीका अनुसार, प्रहरी चौकी लुभुबाट खटिएको टोलीमाथि महालक्ष्मी नगरपालिका–७ चाँगाथली क्षेत्रमा सोमबार बेलुका करिब १०ः४५ बजे आक्रमण भएको हो। आक्रमणपछि आत्मरक्षाका लागि एक राउन्ड हवाई फायर गरी स्थिति नियन्त्रणमा लिइएको र थप प्रहरी टोली परिचालन गरी संलग्नहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा घाइते एक प्रहरी कर्मचारीको किष्ट अस्पताल, इमाडोलमा उपचार भइरहेको ललितपुरका प्रहरी प्रमुख एसपी गौतम मिश्रले जानकारी दिए। पक्राउ पर्नेहरूमा मकवानपुरगढी–मकवानपुर घर भई हाल ललितपुर बस्दै आएका बुद्ध तामाङ, सल्यान घर भई भक्तपुर बस्दै आएका रमेश शाही र शंकर शाही तथा रुकुम घर भई भक्तपुर बस्दै आएका राजु मगर रहेका छन्। उनीहरूविरुद्ध उत्तेजना र रिसको आवेशमा कुटपिट गरेको कसुरमा ललितपुर जिल्ला अदालतबाट आठ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। यसैबीच, आइतबार झम्सिखेलस्थित द ग्रोभ रेस्टुरेन्टअगाडि ड्युटीमा खटिएका प्रहरीमाथि मदिरा सेवन गरी झैझगडा तथा दुर्व्यवहार गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

उदयपुरकाे चाैदण्डीगढीमा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय

उदयपुर । उदयपुरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रीय पारेको छ । मदन भण्डारी लोकमार्गअन्तर्गत चौदण्डीगढी नगरपालिका–२ स्थित लाटी खोलाको पुल नजिक मंगलबार साँझ बमजस्तो देखिने वस्तु फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी निरञ्जन थापाका अनुसार सडकमा बमजस्तो देखिने वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।  सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र पशुपति प्रसाद गण पिपलटार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले उक्त वस्तु निष्क्रिय पारेको हो । प्रारम्भिक जाँचका क्रममा उक्त वस्तु विस्फोटक पदार्थ नभएको देखिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको डिएसपी थापाले जानकारी दिए ।

चितवनमा म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु, चालक फरार

चितवन । म्याजिकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।  भरतपुर महानगरपालिका-६ इन्द्रपुरी चोकनजिकै गीतानगरबाट भरतपुरतर्फ जाँदै गरेको ना १ ज ८५२५ नम्बरको  म्याजिकको ठक्करबाट पैदलयात्री भरतपुर महानगरपालिका-१७ बस्ने ४२ वर्षीय प्रकाश सुनारको गए राति मृत्यु भएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।  दुर्घटनापछि फराक म्याजिक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मतदानकाे लागि राष्ट्रिय परिचयपत्र वा राहदानीकाे मान्य हुने

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाताले आफ्नो मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र साथै लिएर मतदान केन्द्रमा जानुपर्ने निर्वाचन आयोगले जनाएको छ। यही फागुन २१ गते हुने निर्वाचनमा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जा वा सवारी चालक अनुमतिपत्र पनि मतदानका निम्ति मान्य हुने आयोगले बताएको छ। आयोगले सार्वजनिक गरेको अन्तिम मदाता नामावलीमा नाम भएका र यही फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भएका मतदाताले निर्वाचनमा तोकिएको मतदान केन्द्रमा गई मतदान गर्न पाउनेछन्।

निर्वाचनमा खटिने कर्मचारीले पालना गर्नुपर्ने यस्ता छन्- आचरण

काठमाडौँ । निर्वाचनमा खटिने कर्मचारीले आफ्ना सेवा समूहसम्बन्धी कानुनमा व्यवस्था भएका आचरणका अतिरिक्त निर्वाचन आचारसंहिता, २०८२ मा व्यवस्था भएका आचरणसमेत पालना गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ मा कुनै कर्मचारीले उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुनेलगायतका आचरणका व्यवस्थाहरु गरिएका छन् । आचारसंहितामा निर्वाचनमा संलग्न रहने कर्मचारी तथा सुरक्षाकर्मीले आफ्नो पदीय कर्तव्य तथ्य र निष्पक्ष रही गर्नुपर्ने, निर्वाचन अवधिभर मुलुकको प्रतिनिधित्व हुने गरी विदेश भ्रमणमा जानबाहेक अन्य प्रयोजनका लागि नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका कर्मचारी वा सार्वजनिक पद धारण गरेको व्यक्ति निर्वाचन आयोगको पूर्वस्वीकृतिविना विदेश भ्रमणमा जान वा पठाउन नहुने भनिएको छ । यसैगरी, उम्मेदवार, राजनीतिक दल, राजनीतिक दलको भ्रातृ सङ्गठन वा सम्बन्धित व्यक्तिलाई नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह वा सार्वजनिक संस्थान भवन, अतिथि गृह, सभागृह, सवारी साधन वा अन्य सामग्री प्रयोग गर्न दिन नहुने आयोगले जनाएको छ ।

मध्यपूर्वमा युद्धको असर : इराकमा कार्यरत १५० नेपाली सुरक्षित स्थानमा सारिए

काठमाडौं । मध्यपूर्वमा अमेरिका/इजरायल र इरानबीच चर्किएको युद्धको प्रभाव इराकसम्म फैलिँदा त्यहाँ कार्यरत १५० नेपालीलाई सुरक्षित स्थानमा सारिएको छ। इराकको कुर्दिस्तान क्षेत्रस्थित एर्बिल सहरमा रहेको एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपालीहरूलाई संभावित सुरक्षा जोखिमका कारण उद्धार गरी सुरक्षित होटेलमा राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मंगलबार (फागुन १९) आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले “एर्बिल अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत १५० नेपालीलाई सो स्थानबाट उद्धार गरेर सुरक्षित होटेलमा राखिएको अवस्था छ,” उनले भने । क्षेत्रीय तनाव तीव्र बन्दै गएपछि इरानले युनाइटेड अरब इमिरेट्स, साउदी अरेबिया, कतार, कुवेत, बहराइन, ओमान, इराक र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गरेको बताइएको छ। यही अवस्थाले एर्बिल विमानस्थल क्षेत्र असुरक्षित बनेपछि नेपाली कामदारहरूलाई तुरुन्तै सुरक्षित स्थानमा सारिएको हो। इराकसम्बन्धी कूटनीतिक कार्य हेर्ने जिम्मेवारी कुवेतस्थित नेपाली दूतावासको रहेको छ भने कतारको दोहास्थित दूतावासमार्फत प्राप्त सूचनाका आधारमा परराष्ट्र मन्त्रालयले आवश्यक समन्वय गरेको जनाएको छ। सरकारले इराकसहित मध्यपूर्वका प्रभावित क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षा अवस्थामाथि निरन्तर निगरानी राखिएको र आवश्यक परे थप उद्धार तथा समन्वयका कदम चालिने स्पष्ट पारेको छ।

हजयात्रामा गएका ३६ नेपाली साउदीमै रोकिए, दूतावास भन्छ- राख्न पर्याप्त स्रोत छैन

काठमाडौं । हज र उमराहका लागि साउदी अरेबिया पुगेका ३६ नेपाली स्वदेश फर्किने क्रममा उतै अलपत्र परेका छन्। अमेरिका/इजरायल र इरानबीचको तनाव मध्यपूर्व क्षेत्रमा चर्किएपछि हवाई उडान प्रभावित हुँदा उनीहरू साउदीमै रोकिएका हुन्। मंगलबार (फागुन १९) आयोजित पत्रकार सम्मेलनमा मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले हज र उमराहका लागि गएका ३६ नेपाली फर्किने क्रममा अड्किएको जानकारी दिए। “हज र उमराह गर्न जानुभएका ३६ नेपाली फर्किने क्रममा अड्किनुभएको छ,” उनले भने। रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट उमराहका लागि गएका ती नेपालीको मदिनाबाट सारजहा हुँदै मंगलबार नै काठमाडौं फर्कने हवाई टिकट थियो। तर, निर्धारित उडान रद्द भएपछि उनीहरू साउदीमै बस्न बाध्य भएका छन्। महाशाखा प्रमुख खड्काका अनुसार मदिनाबाट पाकिस्तान र बंगलादेशतर्फ नियमित उडान भइरहेकोले ढाका हुँदै नेपाल फर्किने विकल्पबारे ट्राभल एजेन्सीहरूसँग समन्वय गर्न सुझाव दिइएको छ। यसबीच, साउदी अरेबियाको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासलाई उनीहरूको खानाबस्नको अस्थायी प्रबन्ध मिलाइदिन अनुरोध गरिएको छ। तर दूतावासले पर्याप्त स्रोत साधन नभएकाले सबैलाई राख्न कठिन हुने जनाएको छ। दूतावासले एयरलाइन्स र स्थानीय नेपाली समुदायसँग समन्वय गरी समस्या समाधानको पहल गर्न सकिने बताएको छ। हवाई उडान अनिश्चित बन्दै जाँदा ती नेपालीको स्वदेश फिर्ती कहिले सम्भव हुन्छ भन्ने अन्योल कायमै छ।