परराष्ट्रमन्त्री श्रेष्ठ र चीनका उपविदेशमन्त्री वेइतोङबीच भेटवार्ता

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चीनका उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भेटवार्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित मन्त्रालयमा उपप्रधानमन्त्रबी श्रेष्ठ र उपविदेशमन्त्री सुन वेइतोङबीच शिष्टाचार भएको हो। भेटमा दुई पक्षीय हित, सहयोग र सम्बन्धका विविध पक्षमा छलफल भएको छ। भेटका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चीनले नेपालमा लामो समयदेखि विभिन्न क्षेत्रमा सहयोग गरिरहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपालको विकासका विभिन्न क्षेत्रमा सहयोग गरिरहेको र आगामी दिनमा पनि विकासमा निरन्तरता दिन आग्रह गरे। साथै, नेपालसँगका विभिन्न सीमा नाकाहरु सुचारु गर्ने सम्बन्धमा पनि छलफल भएको बताइएको छ।

समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरू भयो :  झलनाथ खनाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजवादी आन्दोलनको नयाँ प्रवाह सुरु भएको बताएका छन्।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै झलनाथ खनालले यस्तो बताएका हुन् । झलनाथ खनालले आफ्नो पार्टीले अघि सार्ने कार्यदिशा र कार्यक्रमले नयाँ प्रवाह ल्याउने बताए। उनले ठूलो लडाईं गर्नुपर्ने आवश्यकता अब नरहेको भन्दै सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्ने बताए। उनले सहमतिका साथमा नयाँ नेतृत्व निर्माण गर्नेकुरा आफूहरुको कार्यभार रहेको बताए। झलनाथ खनालले महाधिवेशनले सहमतिका साथमा नीति र दृष्टिकोणका आधारमा नयाँ नेतृत्व निर्माण गरेर अघि बढ्ने बताए । उनले अब नेपाली कम्युनिष्ट आन्दोलनमा एउटा नयाँ तरंग सिर्जना हुने दाबी गरे। सम्मानित नेता खनालले दक्षिणपन्थी यथास्थितिवादका विरुद्धमा भूकम्प सिर्जना गर्ने बताए।

जंगली च्याउ नखान स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । जंगली विषालु च्याउ खाँदा मकवानपुरमा एक साताभित्र तीनजनाको मृत्यु भएको छ । अन्य १६ जना बिरामी परेका छन् ।  यो एउटा पछिल्लो उदाहरण हो, वर्षाको यो मौसममा जंगली च्याउ खाएर ज्यान गुमाउने गरेका समाचार वर्षेनी आउने गरेको छ । काँहाको च्याउ विसालु हुन्छ र कहाँको स्वास्थवर्धक हुन्छ भन्ने थाहा नपाउँदा ज्यान समेत गुमाउन परेको छ ।  त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै पनि जंगली च्याउ नखान आग्रह गर्दै आएको छ।  वर्षा ऋतुको आगमनसँगै जंगली च्याउ उम्रिन थाल्छन् । जंगली च्याउ निकै विषालु हुन्छन् । त्यस्तो च्याउ खाँदा गम्भीर बिरामी परिने र मृत्यु समेत हुन सक्ने मन्त्रालयले जनाएको छ। पकाउँदा पनि जंगली च्याउमा हुने विष कम हुँदैन । त्यसैले जंगली च्याउ कहिल्यै नखान मन्त्रालयले आग्रह गरेको छ ।

यस्तो छ बुधबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं  । आज २०८१ साल असार १२ गते बुधबार सन् २०२४ जुन २६ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, युरो र कतारी रियालको मूल्य सामान्य अंकमा घटेको छ भने बेलायती पाउण्डको विनिमयदर बढेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २० पैसा र बिक्री दर १३३ रुपैयाँ ८० पैसा पुगेको छ।युरो एकको खरिद दर १४२ रुपैयाँ ७२ पैसा र बिक्री दर १४३ रुपैयाँ ३७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ शून्य पैसा र बिक्री दर १६९ रुपैयाँ ७७ पैसा रहेको छ।कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर 

आज यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती, कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै, आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी ,कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

बजेट राम्रो छ बहुमतले पास भयो  : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेट राम्रो भएकाले पास भएको प्रतिक्रिया दिएका छन्। मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीका क्रममा बजेट राम्रो रहेको बताएका हुन् । राम्रो छ र बहुमतले पास गर्‍यो, उनले भने।  तर, यसअघि बजेट आएलगत्तै ओलीले संसदीय दलको बैठकमा बजेट नेकपा (माओवादी केन्द्र) केन्द्रित भएर आएको प्रतिक्रिया दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालयगत बजेट विनियोजनमा असन्तुष्टि जनाएको विषयमा सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा उनले आफूलाई असन्तुष्टि जनाएको जानकारी नरहेको बताए ।

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८१ स्वीकृत भएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिएपछि बहुमतले स्वीकृत भएको हो ।   बैठकको अध्यक्षता गरिरहेकी उपसभामुख इन्दिरा रानाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेकी थिइन् ।  

कोशी सरकारविरुद्धको मुद्दामा बहस जारी

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा आज पनि बहस भइरहेको छ ।न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासमा अहिले जवाफी बहस भइरहेको छ । बहस सकिएमा सम्भवतः यस मुद्दामा आज नै अन्तिम फैसला आउने छ । गत जेठ ३१ गतेदेखि निरन्तर हुँदै आएको बहस हिजो पनि नसकिएपछि आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले संविधानको धारा १६८ को उपधारा (५)अनुसार बनेको आफू नेतृत्वको सरकार हुँदाहुँदै अर्को सरकार गठनका लागि आह्वान गर्नु संविधान विपरित रहेको भन्दै यसलाई रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए । उनले वर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई पदमुक्त गरी मुख्यमन्त्रीमा आफूलाई निरन्तरता दिन माग गरेका छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा हिक्मत कार्की संविधानको धारा १६८ को उपधारा (५) अनुसार नै हिक्मत कार्की मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग परिचालन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका बमोजिम सरकारले आवश्यक ठानेमा राजदूतलाई पदावधि पूरा हुनु अगावै निर्णय गरी फिर्ता बोलाउन सक्ने प्रावधान रहेको स्पष्ट पारे । राजदूतहरूको नियुक्तिमा राजनीति र व्यावसायिकताको सन्तुलनका लागि कम्तिमा पनि ५० प्रतिशत राजदूतहरू परराष्ट्र सेवाबाटै नियुक्त गर्ने नीतिलाई निरन्तरता दिइएको बताउँदै प्रधानन्त्री प्रचण्डले मुलुकको हित र कूटनीतिलाई मजबुत बनाउन वस्तुगत आधारमा राजदूतहरूको मूल्याङ्कन गरी सोहीअनुरूप व्यवस्थापन गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए। उनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिकालाई मूल आधार बनाई राजदुतहरूको नियुक्तिलाई थप व्यवस्थित, मर्यादित, पारदर्शी, दक्षतामा आधारित र कार्यसम्पादनमा आधारित बनाइने विश्वास व्यक्त गरे।

प्रतिनिधिसभा बैठक जारी (प्रत्यक्ष प्रसारण)

काठमाडौँ। सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक सुरु भएको छ । मङ्गलबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीहरुले जवाफ दिने कार्यसूची रहेको छ। त्यस्तै, सभामुख देवराज घिमिरेले विनियोजन विधेयक, २०८१ अन्तर्गत निम्नलिखित मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमा निम्नलिखित सांसदहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।

ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका अध्यक्ष धितालले लिए शपथ

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले  विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताललाई पद तथा गोपनियताको शपथ गराएका छन्। सिंहदरबारस्थित मन्त्रालयमा आज आयोजित विशेष समारोहमा मन्त्री बस्नेतले आयोगका अध्यक्ष धिताललाई पद तथा गोपनियताको शपथ गगराएका हुन्। सो अवसरमा अध्यक्ष धितालले आयोगका सदस्य डा मधुसुदन अधिकारी र झमकप्रसाद शर्मालाई पद तथा गोपनियताको शपथ गराएका थिए। डा धिताल आयोगको सदस्यको भूमिका यसअघि नै निर्वाह गरिसकेका छन्। उनी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको पूर्वकार्यकारी निर्देशक समेत थिए।  यही असार ७ गतेको मन्त्रिपरिषद्को बैठकले आयोगको अध्यक्षमा धिताल र सदस्यहरुमा डा अधिकारी र शर्मालाई नियुक्त गरेको थियो। आयोगमा अध्यक्षसहित चारजना सदस्य रहने प्रावधान छ। यसअघि नै आयोगमा गौतम बंगोल सदस्यका रुपमा कार्यरत थिए।  सो अवसरमा ऊर्जामन्त्री बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि आयोगको भूमिका महत्वपूर्ण हुने भएकाले कानुन प्रदत्त भूमिका निर्वाह गर्न आग्रह गरे। उनले आयोगमा पदाधिकारी नहुँदा बङ्गलादेशसँग विद्युत् निर्यातका सम्बन्धमा आवश्यक निर्णय गर्न कठिनाई भएको बताए। आयोगको पूर्णतासँगै सो प्रक्रिया समेत अगाडि बढ्ने उनको भनाइ थियो। सरकारले ऊर्जा क्षेत्रको विकासका लागि १२ वर्षे कार्ययोजना तयार पारेको र त्यसलाई पूर्णरुपमा कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षको सार्थक सहयोग र तत्परता जरुरी रहेको मन्त्री बस्नेतको कथन छ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।  बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।  परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।  यस्तो छ सम्भावित कार्यसूची 

अस्ट्रेलियालाई पराजित गर्दै भारत सेमिफाइनलमा

काठमाडौं । सुपर–८ को आफ्नो अन्तिम खेलमा अस्ट्रेलियाविरुद्ध २४ रनको जित निकाल्दै भारतले आईसीसी ट्वान्टी–२० विश्वकपको सेमिफाइनलको यात्रा तय गरेको छ। सोमबार ग्रोस इजलेमा सम्पन्न खेलमा भारतले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८१ रनमात्र बनाउन बनायो । अस्ट्रेलियाका ओपनर ट्राभिस हेडले ७६ रन बनाए पनि टिमको हारलाई उनले रोक्न सकेनन्। कप्तान मिचेल मार्सले ३७ रन थपे । ग्लेन म्याक्सवेलले २०, टिम डेविडले १५ र प्याट कुमिन्सले ११ रन जोडे । भारतका अर्शदीप सिंहले तीन विकेट लिए । कुलदीप यादवले दुई विकेट लिँदा जसप्रित बुमराह र अक्षर पटेलले समान एक विकेट लिए।त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २०५ रनको योगफल तयार गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहितले ९२ रनको आक्रामक इनिङ खेले । उनले ४१ बलमा सात चौका र आठ छक्का प्रहार गरे । १९ बलमै अर्धशतक बनाएका रोहित जारी विश्वकपमा सबैभन्दा छिटो ५० रन बनाउने ब्याटरसमेत बने । उनीपछि रहेका अमेरिकाका आरोन जेम्सले २२ बलमा अर्धशतक बनाएका थिए ।  रोहितले ६–१ को स्थितिबाट ऋषव पन्तसँग ८७ रनको साझेदारी गर्दै भारतको इनिङ उकासेका थिए । पन्तले १५ रन थपे । सूर्यकुमार यादवले ३१, सिवम दुवेले २८ र हार्दिक पन्ड्याले २६ रन थपे । भारतका ओपनर विराट कोहली भने शून्य रनमा आउट भएका थिए।अस्ट्रेलियाका मिचेल स्टार्क र मार्कुस स्टोइनिसले समान दुई विकेट लिए । जस हेजलवुडको नाममा एक विकेट रह्यो । जितसँगै सुपर–८ को समूह–१ बाट भारत अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको हो। भारतले अब फाइनल प्रवेशका लागि समूह–२ को उपविजेता इंग्ल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ। यता, तीन खेलमध्ये दुईमा जित र एक खेलमा हार बेहोरेको अस्ट्रेलियाको भने सेमिफाइनल पुग्ने गणितीय सम्भावनामात्र बाँकी छ । मंगलबार हुने अफगानिस्तान र बंगलादेशबीचको खेलले अस्ट्रेलियाको आगामी यात्रा निर्धारण गर्नेछ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। यस्तै, सुनसरीस्थित सप्तकोसीको चतारा र त्यस आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि साधरणतया बदली रहने छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । आज सूर्योदय बिहान ५ बजेर १० मिनेटमा भयो भने सूर्यास्त साँझ ७ बजेर ३ मिनेटमा हुनेछ ।

आगामी आर्थिक वर्षमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्छौं  : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री बस्नेतले सरकारले आगामी आर्थिक वर्षमा कुल विद्युत् उत्पादन ४५ सय मेगावाट पुर्‍याउने लक्ष्य राखेको बताएका हुन् ।  उनले आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने लक्ष्य राखिएकोे जानकारी दिए । मन्त्री बस्नेतले निजी क्षेत्रलाई विद्युत् व्यापारमा संलग्न गराउन सरकारले कानुनी व्यवस्था गरेको बताए । ऊर्जा क्षेत्रमा निजी क्षेत्रको सहभागितालाई अझै वृद्धि गरिने उनको भनाइ छ ।  “आगामी १२ वर्षमा कुल विद्युत् उत्पादन क्षमता २८ हजार ५०० मेगावाट पुर्‍याउने र सो अनुसारको प्रसारण र वितरण प्रणालीको क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहितको ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८० कार्यान्वयनमा लगिएको छ । आगामी आथिक वर्षमा हाम्रो कुल विद्युत् उत्पादन हाम्रो क्षमता ४५०० मेगावाट पुर्‍याउने हाम्रो लक्ष्य रहेको छ,” मन्त्री बस्नेतले भने । उनले सोलारलगायत वायु ऊर्जामा पनि काम गरिराखेको जानकारी दिँदै ८०० मेगावाट सोलार उत्पादनका लागि पीपीएको काम गर्न लागिएको बताए । 

काठमाडौं महाननगरले ल्यायो २५ अर्ब ६३ करोडको बजेट

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि २५ अर्ब ६३ करोड ७० लाख २५ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपमेयर सुनिता डंगोलले उक्त बजेट पेश गरेकी छन्।डंगोलले बजेटमा ११ वटा महानगर गौरवका आयोजनालाई ३ अर्ब ८० करोड बजेट विनियोजन गरेकी छन्। आगामी आवको बजेट चालुभन्दा १७ करोडले ठूलो हो । महानगरको सञ्चित कोषमा जम्मा हुने २४ अर्ब २० करोड ६३ लाख २५ हजार र जग्गा एकीकरण आयोजनाबाट हुने आम्दानी १ अर्ब ५० करोड छ । स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास कार्यक्रमलाई १९ करोड ९ लाख विनियोजन गरिएको छ । यो कुल बजेटको ०।७९ प्रतिशत हो । उपमेयर डंगोलले कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रलाई ३ अर्ब ४९ रकोड ४५ लाख २९ हजार विनियोजन गरेकी छन् । यो कुल बजेटको १४.४४ प्रतिशत रहेको छ । पूर्वाधार विकासका लागि १४ अर्ब ८१ करोड ५१ लाख ५१ हजार विनियोजन गरिएको छ । यो कुल बजेटको ६१.२० प्रतिशत हो । महानगरले सामाजिक क्षेत्रका लागि ३ अर्ब ८१ करोड ३६ लाख १५ हजार बजेट छुट्याएको छ। यसमा कुल बजेटको १५.७५ प्रतिशत विनियोजन गरिएको हो । उता सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रलाई १ अर्ब ८९ करोड २१ लाख ३० हजार बजेट विनियोजन गरिएको छ । कुल बजेटको ७।८२ प्रतिशत बजेट यसमा राखिएको छ । महानगरले सञ्चित कोषमा २४ अर्ब २० करोड ६३ लाख २५ हजार आम्दानी हुने अनुमान गरेको छ । जसमा आन्तरिक स्रोतबाट १९ अर्ब १५ करोड ६६ लाख स्रोत व्यवस्थापन हुने अनुमान छ । संघीय सरकारबाट आउने सशर्त अनुदानतर्फ १ अर्ब ४५ करोड र प्रदेश सरकारबाट ४ करोड ४७ लाख अनुमान गरिएको छ । संघीय राजस्व बाडफाँडबाट १ अर्ब ९९ करोड २० लाख २५ हजार, प्रदेश राजस्व बाँडफाँडबाट ५५ करोड, स्थानीय राजस्व बाँडफाँडबाट १० करोड ५० लाख, समानीकरण अनुदानबाट ८० करोड, प्रदेश सरकार समानीकरण अनुदानबाट १० करोड र आन्तरिक जनसहभागिताबाट ८० लाख प्राप्त हुने अनुमान महानगरले गरेको छ । महानगरको बजेट ल्याउने क्रममा उपमेयर डंगोलले अधिकतम् स्थानीय स्रोत र साधन परिचालनको योजना ल्याएकी छन् । उनले बजेटमार्फत गरिबी निवारणलाई पनि जोड दिएकी छन् ।