रणनीतिक तेल भण्डारबारे छलफल गर्दै जी७ राष्ट्र

काठमाडौं । जी७ राष्ट्रका अर्थमन्त्रीहरू रणनीतिक तेल भण्डारको सम्भावित निष्कासनबारे छलफल गर्न सोमबार बैठक बस्ने योजनामा रहेका छन् । रोयटर्सले स्रोतले उद्धृत गर्दै यस्तो जानकारी दिएको फाइनान्सियल टाइम्सले जनाएको छ ।

फ्रान्सको अर्थ मन्त्रालयले सोमबार जी७ को बैठक हुने जनाएको छ । यो विशेष गरी पछिल्ला केही दिनका घटनाक्रमहरूको प्रतिक्रियास्वरूप आयोजना गरिएको बताएको छ ।

यो भिडियो कन्फरेन्सले खाडी क्षेत्रको स्थितिलाई आर्थिक दृष्टिकोणबाट समीक्षा गर्न सम्भव तुल्याउने मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

मन्त्रीहरूले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका कार्यकारी निर्देशक फातिह बिरोलसँग टेलिफोन संवाद गर्नेछन् । ‘एफटी’को रिपोर्टअनुसार, अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले तेलको मूल्य संकटका लागि आपतकालीन प्रणालीको रूपमा रणनीतिक भण्डारको समन्वय गर्दछ ।

जाडाे सकिएपछि खुले तल्लो मुस्ताङका विद्यालय

मुस्ताङ । यहाँस्थित तल्लो मुस्ताङका विद्यालय दुई महिनापछि खुलेका छन् । हिउँदयाममा चिसोका कारण बन्द भएका यहाँको बारागुङ, घरपझोङ र थासाङ गाउँपालिकाका विद्यालय साेमबारदेखि खुलेको शिक्षा विकास तथा समन्वय एकाइ मुस्ताङले जनाएको छ। यहाँका विद्यालयहरुले अर्धवार्षिक परीक्षा सकेर पुस महिनाको पहिलो हप्ता विद्यार्थीहरुलाई जाडो बिदा दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख रामेश्वर लामिछानेका अनुसार ती क्षेत्रमा १८ वटा विद्यालय छन्। मुस्ताङमा हिउँदयाममा पूरै विद्यालय बन्द गरेका शैक्षिक संस्थाले ४५ दिनको सरकारी बिदा र १५ दिनको सट्टा बिदा कटौती गर्ने गरी दुई महिना विद्यालय बन्द गर्ने गरेका छन्। त्यसैगरी जाडो छल्न बेँसी झरेका माथिल्लो मुस्ताङका विद्यालयहरुले ४५ दिने सरकारी बिदा गरेर वैशाख महिनामा साविकको स्थानमा शैक्षिक पठनपाठन सुरु गर्ने गर्छन्।

पर्यटकीय गन्तव्य बन्दै लमजुङको ‘घनपोखरा होमस्टे’

लमजुङ । लमजुङको मर्स्याङदी गाउँपालिका–१ स्थित नायुँ र घनपोखरा होमस्टे पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ । विसं २०७२ को भूकम्पबाट क्षति पुगेको घनपोखराको गुरुङबस्ती पुनर्निर्माण गरेर विसं २०७६ साल (घरबास) होमस्टे सञ्चालन भएसँगै नायुँ र घनपोखरा घुम्न आउने पर्यटकको घुइँचो लाग्न थालेको हो। सार्क राष्ट्रकै नमूना गाउँका रुपमा परिचित घलेगाउँबाट जम्मा दुई किलोमिटर दूरीमा रहेको नायुँ र त्यसभन्दा केही माथि रहेको घनपोखरा पछिल्लो समय आन्तरिक र बाह्य पर्यटकको घुमघाम गर्ने रोजाइको गन्तव्य बनेको हो। यहाँबाट मनास्लु, ङादीचुली, अन्नपूर्ण, अन्नपूर्ण (चौथो)लगायतका एक दर्जन बढी हिमशृङ्खला अवलोकन गर्न सकिन्छ । लमजुङ मध्यनेपाल नगरपालिका–१ जिताबाट घनपोखरा घुम्न आका सुमन घिमिरे घनपोखराको आतिथ्यता र त्यहाँबाट देखिने दृश्यावलोकनले आफूलाई ज्याँदै आनन्दित तुल्याएको बताउँछन् । यहाँको हावापानी र सुन्दर, मनोरम दृश्यले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक बढ्न थालेका छन्। नायुँ र घनपोखरा घुम्न आउने पर्यटकलाई घरबास सञ्चालकले गाउँघरमै उब्जाइएका धान, मकै, कोदो, भटमास, साग, सिस्नो, कुरिलो, टुसा, स्थानीय कुखुरा, खसीबोका, भेडाको मासुबाट तयार हुने स्वादिष्ट परिकार पस्कने गरेका छन्। आफ्ना कला संस्कृति जोगाइराख्न रोधीसमेत बस्ने गरेका छन् । गाउँमा आएका पर्यटकलाई स्वागत, सम्मान र बिदाइमा सेतो टीका, फूलको माला, गुच्छा र खादाबाट सम्मान गरिँदै आएको छ । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तको दृश्यसँगै देखिने हिमाल, मस्र्याङ्दी नदी किनाराका फाँट, मिदिम नदीका किनाराले पर्यटकलाई थप आनन्दित बनाउँदै आएको छ । समुद्री सतहदेखि दुई हजार १५० उचाइमा रहेको रमणीय घनपोखरामा गुरुङ समुदायको ६५ घर रहेका छन् । जसमध्ये ११ घरमा होमस्टे सञ्चालन गरिएको छ । यो गाउँमा प्राचीन मौलिकता जोगाउने गरी परम्परागत घुमाउने घरसँगै स्थानीयको कला, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ गुरुङ सङ्ग्रहालयसमेत स्थापना गरिएको छ। नायँ र घनपोखरामा मात्र एक रातमा १०० जना पाहुना सजिलै बस्न सक्छन् । नायुँ घनपोखरा होमस्टेका सञ्चालक कालीमाया गुरुङ शुक्रबार र शनिबार आफ्नो होमस्टे आउने पर्यटकको संख्या बढी हुने बताउँछन् । “यहाँ मासिक ४०० देखि ५०० पाहुनाहरु आउनुहुन्छ, शुक्रबार र शनिबार भने धेरै हुने गर्छ”, उनले भने। होमस्टेमा आएका पाहुनालाई जानेबित्तिकै ‘वेलकम ड्रिङ्क्स’, चिया, कफीले स्वागत गर्ने चलन रहेको छ । राती स्थानीयस्तरमा उत्पादित अग्र्यानिक खाना र बिहानको खाजा उपलब्ध गराउँदै आइएको सञ्चालक गुरुङ बताउँछन्। यहाँ जानवित्तिकैको खाजा, रातिको खाना, विहानको खाजा र सुतेको प्रतिव्यक्ति जम्मा रु एक हजार २५० शुल्क लाग्ने गरेको छ। मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ नायुँ र घनपोखराको पर्यटनलाई थप विकास गर्नका लागि गाउँपालिकाले योजना बनाएर काम गरिरहेको बताउँछन् । “होमस्टेलाई थप व्यवस्थित बनाउनका लागि स्थानीय तहमा उत्पादित खानालाई प्रोत्साहन गरेका छौँ”, उनले भने। त्यसैगरी घनपोखरा र नायुँको होमस्टेलाई थप व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि होमस्टे सञ्चालकलाई कुकिङ तालिम, होमस्टे सञ्चालन तालिम, विभिन्न बैठक तथा गोष्ठी सञ्चालन गरिरहेको अध्यक्ष गुरुङ बताउँछन् । घनपोखरा र नायुँमा चैत–वैशाखमा फुल्ने विभिन्न थरीका लालीगुराँस, फुल्ने काफल र ऐँसेलुले पर्यटकलाई थप लोभ्याउने गरेको छ । ग्रामीण जीवनशैलीलाई घनपोखराले जीवन्त राखेको छ । घनपोखरा लमजुङको सदरमुकाम बेँसीसहरबाट २७ किलोमिटर पार गरेपछि पुगिन्छ । यहाँ जानका लागि ठुलो बसमा रु ३५० र जिपमा रु ४५० भाडा लाग्ने गरेको छ । पछिल्लो समय लमजुङ सदरमुकाम बेँसीसहर, काठमाडौँ र पोखराबाट घनपोखरा र नायुँ जाने पाहुनाहरु बढेका छन्।

आज सुनचाँदीकाे मूल्य कतिले घट्यो ?

काठमाडौं । नेपाली बजारमा सोमबार (फागुन २५) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा तीन हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख १३ हजार २०० रुपैयाँ कायम छ । आइतबार (फागुन २४) छापावाल सुन प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला पाँच हजार ४१० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला पाँच हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

आजकाे माैसम: काठमाडौंसहित यी स्थानमा वर्षाको पूर्वानुमान

काठमाडौं । देशका केही स्थानमा आज (फागुन २५) वर्षाको पूर्वानुमान छ । यस दिन दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । “कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभामामा  साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ,” महाशाखाले सोमबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । यति बेला देशका थोरै स्थानमा पानी परिरहेको छ । काठमाडौंमा पनि वर्षाको सम्भावना रहेको त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेलले बताएका छन् । “काठमाडौं उपत्यकामा केही वर्षाको सम्भावना छ, तर पछिल्ला केही दिनदेखि अत्यधिक बढेको प्रदूषणलाई हटाउन यो वर्षा पर्याप्त देखिँदैन,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणालीको आंशिक प्रभाव छ । नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको पनि आंशिक प्रभाव भएको महाशाखाले जनाएको छ । यस दिन राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने पूर्वानुमान छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा पनि साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ । “बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र कोसी, वाग्मती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।

रोल्पामा समानुपातिकमा नेकपा पहिलाे

खुमबहादुर सुनार रोल्पा । रोल्पा जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिम परिणाम सोमबार सार्वजनिक गरिएको हो। राजनीतिक रूपमा सचेत र परिवर्तनको आधारभूमि मानिने रोल्पामा आएको यो परिणामले जिल्लाको राजनीतिक सन्तुलनमा केही नयाँ संकेत दिएको छ। विगतमा सशस्त्र विद्रोहदेखि शान्तिपूर्ण राजनीतिसम्म महत्त्वपूर्ण भूमिका खेलेको रोल्पाको चुनावी नतिजालाई देशभर चासोका साथ हेरिन्छ। अन्तिम मतपरिणाम अनुसार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) पहिलो शक्तिका रूपमा उभिएको छ। नेकपाको ‘तारा’ चिन्हमा २५ हजार ६२ मत खसेको छ। प्रत्यक्षतर्फ सोही पार्टीका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुन निर्वाचित भइसकेका छन्। समानुपातिकतर्फ पनि अग्रता कायम राख्नुले जिल्लामा पार्टीको संगठन बलियो रहेको संकेत गर्छ। यस निर्वाचनको उल्लेखनीय पक्ष भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मत वृद्धि हो। प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेको रास्वपाले समानुपातिकतर्फ दोस्रो स्थान हासिल गरेको छ। रास्वपाले १३ हजार ६ सय ३८ मत प्राप्त गरेको छ। यसले जिल्लामा वैकल्पिक राजनीतिको खोजी भइरहेको संकेत दिएको विश्लेषण गरिएको छ। नेपाली कांग्रेस भने समानुपातिकतर्फ तेस्रो स्थानमा सीमित भएको छ। ‘रुख’ चिन्हमा कांग्रेसले ११ हजार ४ सय ९९ मत प्राप्त गरेको छ। प्रत्यक्षतर्फ कडा प्रतिस्पर्धा गरेको कांग्रेसले समानुपातिक मतमा अपेक्षित परिणाम ल्याउन नसकेको देखिएको छ। त्यसैगरी नेकपा एमाले चौथो स्थानमा रहेको छ। एमालेको ‘सूर्य’ चिन्हमा १० हजार ९ मत खसेको छ। नेकपा माओवादीले ‘गुलाफ’ चिन्हमा २ हजार ६ सय १५ मत प्राप्त गरेको छ। अन्य दलहरूको मत यसप्रकार छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ८ सय ८६, श्रम संस्कृति पार्टी ७ सय ८८, जनता लोकतान्त्रिक पार्टी नेपाल–३ मत छ ।  निर्वाचन कार्यालयका अनुसार समानुपातिकतर्फ कुल ७० हजार १ सय ५४ मत खसेको थियो। जसमध्ये २ हजार ५ सय ७८ मत बदर भएका छन् भने ६७ हजार ५ सय ७६ मत सदर भएका छन्। यसपटक समानुपातिकतर्फ मत बदर हुने दर प्रत्यक्षतर्फको तुलनामा कम रहेको देखिएको छ। प्रत्यक्षतर्फ ३ हजार १ सय ४४ मत बदर भएकाे छ । जिल्लामा कुल ५७ वटा दलका चुनाव चिन्हमा मत खसेको तथ्यांकले मतदाता छनोट निकै फराकिलो रहेको देखाएको छ। प्रत्यक्षतर्फ भने केवल १० वटा दल मात्र चुनावी प्रतिस्पर्धामा थिए। मतगणना प्रक्रिया शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिएका छन्। उनले निर्वाचन सम्पन्न गराउन सहयोग गर्ने राजनीतिक दल, सुरक्षाकर्मी तथा कर्मचारीप्रति धन्यवाद व्यक्त गरेका छन्।  

प्रत्यक्षतर्फ र समानुपातिकतर्फ भोलिसम्म मतगणना सकिने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को प्रत्यक्षतर्फको मतगणना आज सकिने भएको छ ।  समानुपातिकतर्फको मतगणना भोलिसम्म सकिने निर्वाचन आयोगले बताएको छ । हालसम्म प्रत्यक्षतर्फ १६० निर्वाचन क्षेत्रको नतिजा  घोषणा भइसकेको छ । बाँकी पाँच निर्वाचन क्षेत्रको मतगणना जारी रहेको आयोगले जनाएको छ । आज दिउँसोसम्ममा सबै निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको मतगणना सम्पन्न हुने अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन् ।  “फागुन २७ गते बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको छ,” उनले भने, “समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि थ्रेसहोल्ड पार गरेका दलहरूले प्राप्त गरेको मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको संख्या निर्धारण गर्नेछ ।”  निर्धारित संख्यामा समानुपातिक कलष्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ ।   दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि सो नामावली समावेशी कलष्टर बमोजिम मिले अथवा नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम एकिन गरी प्रमाणपत्र  उपलब्ध गराइने उनले प्रस्ट पारे ।   चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको उनको भनाइ छ । 

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ आज

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज (सोमबार) पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ कार्यक्रम दिउँसो २ बजे सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा हुने जनाइएको छ। नवनिर्वाचित सदस्यहरूलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल ले पद तथा गोपनीयताको शपथ गराउने छन् ।  सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता अनन्तप्रसाद कोइरालाका अनुसार गत माघ ११ गते निर्वाचित भएका राष्ट्रिय सभाका १८ जना सदस्यलाई शपथ समारोहमा उपस्थित हुन सचिवालयले अनुरोध गरेको छ। शपथ ग्रहणका लागि नवनिर्वाचित सदस्यहरूले निर्वाचित भएको प्रमाणपत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक–एक प्रति साथमा ल्याउनुपर्ने व्यवस्था गरिएको छ। शपथग्रहण कार्यक्रमपछि अध्यक्ष दाहालले संक्षिप्त धारणा राख्ने कार्यक्रम पनि तय गरिएको छ। यसैबीच, कार्यकाल सकिएका २० जना राष्ट्रिय सभा सदस्यको बिदाइ कार्यक्रम पनि आजै राखिएको छ। सङ्घीय संसद् सचिवालयका अनुसार बिदाइ कार्यक्रम अपराह्न ४ बजे नयाँ बानेश्वरस्थित एक होटेलमा आयोजना हुनेछ। सो अवसरमा नवनिर्वाचित सदस्यलाई सभाको ‘लोगो’ प्रदान गरिनेछ भने कार्यकाल सकिएका सदस्यलाई मायाको चिनो दिइने कार्यक्रम रहेको छ।

तनहुँमा ६ हजार मत बदर

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा ६ हजारभन्दा बढी मत बदर भएको छ । तनहुँका दुवै निर्वाचन क्षेत्रमा गरी ६ हजार २५२ मत बदर भएको हो । जिल्ला निर्वाचन कार्यालय तनहुँले सबै वडामा स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको जनाएको छ । तनहुँ क्षेत्र नम्बर १ मा दुई हजार ७३० र क्षेत्र नम्बर २ मा तीन हजार ५२२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी विकास लम्सालले जानकारी दिए । क्षेत्र नम्बर १ अन्तर्गत एक लाख २६ हजार ८८२ मतदाता रहेकामा ६८ हजार १४९ मत खसेको थियो । त्यसमध्ये ६५ हजार ४१९ मत सदर भएको छ ।क्षेत्र नम्बर २ अन्तर्गत ६६ हजार १०० मत खसेकामा ६२ हजार ५७९ मत सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको लम्सालको भनाइ छ ।

महिला र बालबालिकासम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले महिला र बालिकाको हक, अधिकारका सम्बन्धमा नेपालको संविधान, राष्ट्रिय र अन्तरराष्ट्रिय कानुनी व्यवस्था प्रभावकारी कार्यान्वयन गर्न आग्रह गरेको छ । आयोगले महिला र बालबालिकासम्बन्धी प्रभावकारी कार्यान्वयन गर्न, समानता, सशक्तिकरण तथा सम्मानप्रति संवेदनशील भई महिला र बालिकाहरूलाई हिंसा, शोषण र भेदभावबाट संरक्षण गर्न आग्रह गरेको हो । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले समान न्यायका लागि विद्यमान संरचनात्मक अवरोधहरू हटाउन, समाजका हानिकारक अभ्यासहरू र नकारात्मक सामाजिक मान्यतालाई निर्मूल गर्न सरकारलाई आयोगले आग्रह गरेको बताए। “संवैधानिक, राष्ट्रिय तथा अन्तरराष्ट्रिय कानुनी व्यवस्थाले महिलाको अधिकार सुनिश्चित गरिए तापनि परम्परागत हानिकारक प्रचलनका कारण किशोरी तथा बालिकामाथि हुने शारीरिक तथा मानसिक हिंसाका घटना बढिरहेको छ”, ११६औँ अन्तरराष्ट्रिय महिला दिवस (८ मार्च) का अवसरमा आज प्रेस विज्ञप्ति जारी गरी भनिएको छ, “घरेलु हिंसा, मानव बेचबिखन, बालविवाह, डिजिटल हिंसा, यौनहिंसा, बलात्कार, सामाजिक विभेद, आर्थिक असमानता, राजनीतिमा न्यून सहभागिता, दण्डहीनता र न्यायमा पहुँच हुन नसक्दा महिला र बालिकाको मानव अधिकार उपभोगमा चुनौती देखिएको छ ।” आयोगले महिला तथा बालिकाको मानव अधिकार उल्लङ्घनका घटनामा निरन्तर अनुसन्धान र अनुगमन गरी नेपाल सरकारलाई सिफारिस गर्दै आइरहेको छ । आयोगले बालविवाहले मानव अधिकार उपभोगमा पारेको प्रभाव सम्बन्धमा राष्ट्रिय जाँचबुझ कार्यक्रम गर्नाका साथै एकल महिलाको अधिकार सम्बन्धमा भएका कानुनी व्यवस्था र कार्यान्वयन पक्षको अनुगमन गरी प्रतिवेदन तयार गरिरहेको छ । आयोगको लैङ्गिक परीक्षण, अन्तरराष्ट्रिय लैङ्गिक सम्मेलन आयोजना, जबर्जस्ती करणी, छाउपडीलगायत विषयमा अनुगमन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । महिला तथा बालिकाको मानव अधिकार उपभोगमा बाधा पु¥याउने नीतिनियम तथा कानुनहरूको सुधार सम्बन्धमा नेपाल सरकारलाई ध्यानाकर्षण गराउँदै आएको छ । हरेक वर्ष मनाइँदै आएको अन्तरराष्ट्रिय महिला दिवस (मार्च ८) यसवर्ष ‘सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्यसहितको अवसर’ भन्ने नारासहित विश्वभर मनाइएको छ ।

आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार (फागुन २४)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १९६ रुपैयाँ २३ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ४७ पैसा र बिक्रीदर १८८ रुपैयाँ २४ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २४ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६८ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११४ रुपैयाँ ९१ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ३  पैसा र बिक्रीदर ३९ रुपैयाँ १९ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १६ पैसा र बिक्रीदर ४० रुपैयाँ ३३ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार, थाइ भाट एकको खरिददर चार रुपैयाँ ५९ पैसा र बिक्रीदर चार रुपैयाँ ६१ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४० रुपैयाँ ०५ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १२ पैसा र बिक्रीदर ३७ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८५ पैसा र बिक्रीदर १५ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७० पैसा र बिक्रीदर २२ रुपैयाँ ८० पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, कुवेती दिनार एकको खरिददर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा, बहराइन दिनार एकको खरिददर ३८८ रुपैयाँ ५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६४ पैसा, ओमनी रियाल एकको खरिददर ३८० रुपैयाँ ४९ पैसा र बिक्रीदर ३८२ रुपैयाँ ५ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

आज यी भूभागमा चट्याङसहित हल्का वर्षा

काठमाडौं । देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । पाँचवटा प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराई भूभागका केही स्थानमा बिहान हुस्सु लाग्नेछ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । देशको बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।   विभागले राति कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभामामा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा र वाग्मती  प्रदेशको पहाडी र हिमाली क्षेत्र तथा कोसी प्रदेशको तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना छ । तराई भूभागका थोरै स्थानमा तुँवालो लाग्नेछ ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभागनजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको विभागले बताएको छ ।

आजको मौसम: हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लागेको छ । बाँकी भू–भागमा आंशिक बादल लागेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । देशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा÷हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । विभागका अनुसार आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ ।

अब नयाँ र पुराना दलका संरक्षक म नै होः प्रचण्ड

  रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा रुकुमपूर्वबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल प्रचण्ड ले नयाँ र पुराना दलहरूको संरक्षक आफू नै रहेको बताउनुभएको छ । आज प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । वरिष्ठ नेतामध्ये जनताले आफूलाई मात्र जिताएर पठाएको कारण अब सबै दलको संरक्षण गर्ने काम आफूले गर्ने उहाँले बताउनुभयो । अहिले देशमा राष्ट्रिय स्वतन्त्र पार्टी को लहर चलेको छ । त्यसको जिम्मा पनि आफूले नै लिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । हिजो नेकपा एमाले र नेपाली कांग्रेस लाई दुई तिहाइको अहंकार नगर्न बारम्बार संसदमा चेतावनी दिएको स्मरण गर्दै उहाँले भन्नुभयो, “भ्रष्टाचारविरुद्ध लड्दा र विकास तथा समृद्धिका लागि संघर्ष गर्दा संख्याको अहंकारले मलाई बाहिर पठायो । त्यही बेला मैले चुनौतीका साथ भनेको थिएँ-संख्याले मात्रै सबै कुरा नापिँदैन । बंगलादेश मा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि हालत के भयो, देखिएकै छ ।” अहिले विजयी भएका नयाँ पार्टीलाई बधाइ दिँदै उहाँले त्यही अहंकार नयाँ दलले दोहोर्‍याए देशका लागि दुर्भाग्य हुने बताउनुभयो । त्यसकारण नयाँ दलको नेतृत्व पनि आफूले नै गर्नुपर्ने महसुस गरेको उहाँको भनाइ थियो । साथै धेरै सिट ल्याएका दलहरूलाई अहंकारबाट बच्न उहाँले अनुरोध गर्नुभयो । “मेरो इतिहासका आधारमा म तपाईंहरूका लागि धेरै ठूलो गुरु हुन सक्छु,” संयोजक दाहालले भन्नुभयो, “तपाईंहरूजस्तै लहर मैले २०६४ मै देखिसकेको छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्छ भन्ने महसुस गरेको उहाँले बताउनुभयो । रुकुमपूर्वले भारी मतले जिताएर ठूलो जिम्मेवारी दिएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी आफ्नो काँधमा आएको महसुस भएको बताउनुभयो । पूर्व प्रधानमन्त्रीहरूमध्ये अहिले आफू मात्रै विजयी हुने विचित्रको स्थिति आएको भन्दै उहाँले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताउनुभयो । “जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुंग्याएर यो देशमा स्थायित्वका लागि भए पनि मैले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको छ,” उहाँले भन्नुभयो ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार (फागुन २२)का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ २९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर १८८ रुपैयाँ २५ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ११ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ २५ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६९ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०३ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ९७  पैसा र बिक्रीदर ३९ रुपैयाँ १३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ १० पैसा र बिक्रीदर ४० रुपैयाँ २७ पैसा कायम गरिएको छ । थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३७ रुपैयाँ १० पैसा र बिक्रीदर ३७ रुपैयाँ २५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ०९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ०९ रुपैयाँ ९८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ९० पैसा र बिक्रीदर १५ रुपैयाँ ९६ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ७३ पैसा र बिक्रीदर २२ रुपैयाँ ८२ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७० पैसा र बिक्रीदर १८ रुपैयाँ ७८ पैसा, कुवेती दिनार एकको खरिददर ४७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ६५ पैसा, बहराइन दिनार एकको खरिददर ३८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३७९ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुन सक्नेछ । अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

नेकपाका संयोजक प्रचण्ड रुकुमपूर्वमा

रुकुमपूर्व । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानपछि आफ्नो निर्वाचन क्षेत्र रुकुमपूर्व पुग्नुभएको छ। उहाँले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा पर्ने भरतपुर महानगरपालिका–१४ स्थित नेपाल प्रहरी विद्यालय, शान्तिपुरबाट मतदान गर्नुभएको थियो। सोही क्षेत्रमा नेकपाबाट भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेनु दाहाल उम्मेदवार रहनुभएको छ। प्रचण्ड यसपटक भने रुकुमपूर्वबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुनुहुन्छ। मतदानपछि उहाँ आजै रुकुमपूर्व पुगेर विभिन्न मतदान केन्द्रको अवलोकन गर्नुभएको सचिवालयले जनाएको छ। रुकुमपूर्वस्थित रुक्मिणी माध्यमिक विद्यालय मतदान केन्द्रको पनि उहाँले निरीक्षण गर्नुभएको बताइएको छ। मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै संयोजक प्रचण्डले ‘नयाँ र पुराना’ भन्ने भाष्य देश र लोकतन्त्रको हितमा नभएको बताउनुभयो। उहाँले नयाँ–पुराना भन्दा पनि सही–गलतको आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिनुभयो। “यो सवाल नयाँ र पुरानाको होइन, सही र गलतको हो,” उहाँले भन्नुभयो, “कसको योजना के छ, कार्यक्रम के छ भनेर हेर्नुपर्छ। राष्ट्र, जनता, लोकतन्त्र र प्रगतिको पक्षमा को उभिएको छ भन्ने आधारमा निर्णय गर्नुपर्छ।” उहाँले सबै मतदातालाई विवेक प्रयोग गरी सहीको पक्षमा उभिन अपिल गर्नुभएको छ।