दुई जिल्ला जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी । वारि भाइरल रत्ने चौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । 

यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।

म्याग्दीको बेनी नगरपालिका–१ रत्ने चौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्ने चौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताइन् ।

तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ढोडेनी खोलामाथि रु तीन करोड ५० लाखको लागतमा निर्माण गरेको यो पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा पनि महत्वपूर्ण सहयोग पुगेको बेनी नगरपालिका–१ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए ।

“पहिला पहिला कुडुले पुग्न एक डेढ घण्टा हिँड्नु पर्थ्यो । पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ,” वडाअध्यक्ष थापाले भने, “पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र बागलुङको पञ्चकोट, कुडुलेको शालग्राम सङ्ग्रहालयको अवलोकनका लागि आएका धार्मिक पर्यटक र रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोटमा आएका पर्यटकहरू समेत पुलमा पुगेर रमाउँदै म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन् ।”

बेनी–बागलुङ सडक खण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण भएको यो पुलले अर्जम, रत्ने चौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे, भान्सालगायतका गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपजको बजारीकरण र आर्थिक कारोबारमा पनि सुविधा पुगेको रत्नेचौरका मेखबहादुर बोगटीले बताए।

“पुलकै कारण बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठुलो मानव निर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुगेको छ ।”

म्याग्दीमा तीन सय मिटरभन्दा लामा तीन वटा पुल निर्माण भएका छन् । यसअघि उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेग र बादुक जोड्ने ३६५ दशमलव ८० मिटर लामो र १४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । त्यसैगरी, पश्चिम म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङ र धवलागिरि गाउँपालिका–६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।

कञ्चनपुरमा सिँचाइ अभावले चैते धान खेती घट्दै

कञ्चनपुर । कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । यहाँ सिँचाइ सुविधा नहुँदा ४०० हेक्टरमा खेती हुने गरेको चैते धान अहिले डेढ सय हेक्टरमा मात्रै हुने गरेको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्मबहादुर साउँदले हाल कञ्चनपुरमा १५० हेक्टर क्षेत्रमा खेती हुने गरेको बताए । “हामीले किसानलाई विभिन्न किसिमका कृषि उपकरण र सिँचाइका लागि बोरिङलगायतका सुविधा उपलब्ध गराउने गरेका छौँ,” साउँदले भने, “यसका लागि धेरै सिँचाइ आवश्यक हुन्छ, यहाँ सिँचाइ सुविधा उपलब्ध नहुँदा चैते धान खेती घट्दै गएको छ ।” अधिकृत साउँदका अनुसार ज्ञान केन्द्रबाट किसानलाई ५० प्रतिशत अनुदानमा सिँचाइका लागि बोरिङ उपलब्ध गराउँदै आएको भए पनि त्यसले पर्याप्त रूपमा सिँचाइ हुन नसकेको बताउनुभयो । कृषि ज्ञान केन्द्र कञ्चनपुरले चैते धान खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत किसानलाई बीउ, मलखाद, सिँचाइ र जोत्ने उपकरण समेत सहयोग गर्दै आएको छ । “चैते धान अन्य धानभन्दा उत्पादन धेरै हुन्छ,” अधिकृत साउँदले भने, “किसानलाई यहाँबाट प्राविधिकको समेत सहयोग हुन्छ ।” चैते धान अन्य धानको तुलनामा बढी फल्ने भए पनि सिँचाइ अभावकै कारण खेती गर्न नसकिएको यहाँका किसानको गुनासो छ । “उत्पादन राम्रो हुन्छ धेरै पानी चाहिन्छ यहाँ सिँचाइका लागि पर्याप्त पानीको सुविधा छैन,” यहाँका किसान खुसीराम चौधरीले भने, “चैत–वैशाखमा महाकाली सिँचाइ नहरमा पानी उपलब्ध हुँदैन बोरिङको पानीले चैते धानलाई पुग्दैन ।” सिँचाइकै कारण खेत बाँझो रहन थालेपछि चैत धान लगाउन छोडेको उनको भनाइ छ । एकातर्फ सिँचाइ अभाव र अर्कातर्फ छाडाचौपायाका कारण खेती गर्न निकै समस्या हुने गरेको यहाँका अर्का किसान पल्लवराज जोशी बताउँछन् । “सिँचाइको व्यवस्था भइदिए हाम्रो लागि उपयुक्त त चैते धान नै हो,” उनले भने, “चैते धानलाई पानीको आवश्यकता भएको समयमा यहाँ खडेरी हुन्छ ।” प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोन कार्यालयले पनि कञ्चनपुरमा लक्ष्य अनुसारको धान खेती हुन नसकेको जनाएको छ । कञ्चनपुरमा कुल खेतीयोग्य जमिन एक लाख ६१ हजार ७४१ हेक्टर रहेको छ । जसमध्ये ५९ हजार ६०२ हेक्टर अर्थात् ३६ प्रतिशत जमिनमा खेती हुने गरेको छ । यसको २९ प्रतिशत क्षेत्रफलमा मात्रै सिँचाइ सुविधा उपलब्ध हुने गरेको छ । कञ्चनपुरमा ४८ हजार ६०० हेक्टरमा धान खेती हुने गरेको छ । कञ्चनपुरमा हाल महाकाली सिँचाइ आयोजना पहिलो र दोस्रो चरणबाट ११ हजार ६०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध छ । विसं २०४२ मा सुरु भई २०४८ मा सम्पन्न भएको महाकाली सिँचाइ पहिलो चरणबाट चार हजार ८०० हेक्टर र २०५२ मा सम्पन्न भएको दोस्रो चरणबाट ६ हजार ८०० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ । पहिलो र दोस्रो चरणको सिँचाइबाट यहाँको भीमदत्त, बेदकोट नगरपालिका र बेलडाँडी गाउँपालिकासम्म सिँचाइ सुविधा उपलब्ध छ ।

आजदेखि देशभर मौसमी गतिविधि बढ्ने

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि बढ्ने जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार विशेष मौसम बुलेटिन जारी गरी बिहीबारदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना पनि देखिएकाले मौसमको हालको प्रदूषणको अवस्थामा क्रमिक रूपमा सुधार हुने सम्भावना रहेको जनाएको हो । महाशाखाले नेपालको उपल्लो वायुमण्डलमा उच्च चापीय मौसम प्रणाली स्थिर रही पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुन नसकेको तथा वायुमण्डलको तल्लो तहमा न्यून चापीय गतिविधि बढ्न नसकेको कारणले पर्याप्त वर्षा हुन नसकी प्रदूषण वायुमण्डलको तल्लो तहमै सञ्चित रहँदा केही दिनदेखि देशका धेरै भू–भागमा तुवाँलो देखिएको उल्लेख गरेको छ । तुवाँलो लाग्दा स्वास्थमा पर्न सक्ने असरबाट बच्न आवश्यक सुरक्षाका उपाय अपनाउन पनि विभागका सूचना अधिकारी दिनकर कायस्थले अनुरोध गरेका छन् । साथै मौसम पूर्वानुमान महाशाखाले देशभरको मौसम प्रणालीलाई निरन्तर अनुगमन गरिरहेको र यस महाशाखाबाट दैनिक जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिनमासमेत सोहीअनुसार नियमित अद्यावधिक गर्दै जाने जनाएको छ ।

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन दूतावासकाे  अनुरोध

काठमाडाैं । साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो परिस्थितिमा साउदी अरेबियामा रहेका सम्पूर्ण नेपालीलाई आधिकारिक निकायबाट जारी हुने समाचार/निर्देशन/सूचना बमोजिम सजग रहन अनुरोध गरेको छ । दूतावासले बुधबार जारी गरेको अनुरोधपत्रमा भनिएको छ, “आधिकारिक रूपमा पुष्टि नभएका कुनै पनि प्रकारका समाचार, सूचना, जानकारी तथा फोटो, भिडियो सामाजिक सञ्जालमा नराख्न, सेयर र पोष्ट नगर्न र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिने स्थान वा बस्तुको फोटो नखिच्न र भिडियो नबनाउन अनुरोध गर्दछौँ ।” दूतावासले साउदी अरेबियाका आधिकारिक निकाय वा विश्वसनीय सञ्चार माध्यमबाट आएका समाचारलाई मात्र विश्वास गर्न र पुष्टि नभएका हल्लाकोपछि नलाग्न र राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्य दूतावासमा सम्पर्क गर्न अनुरोध गरेको छ । दूतावासले ०११४६१११०८, ०११२८८३७९५, मोबाइल नम्बर ह्वाट्सएप +९६६५०००२५९७३ र  ९६६५३४३४३२१३ सम्पर्क गर्न अनुरोध गरेको छ । त्यसैगरी नेपाली महावाणिज्य दूतावास, जेद्दास्थित फोन नं. ०१२६२२६६६५, ०१२६२२६६८३, मोबाइल नम्बर: ह्वाट्सएपः+९६६५३५०२४१६९. ९६६५५९७४४२५३, ९६६५३१२५४०९९ र +९६६५३१३२८९५७ मा सम्पर्क गर्नपनि अनुरोध गरेको छ ।

सुनसरीमा सवारी दुर्घटना, एकजनाको मृत्यु

सुनसरी । सुनसरीको कोसी गाउँपालिका–४ मा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको विष्णुपुर गाउँपालिका–२ का २८ वर्षीय अमरलाल साह रहेको प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत इनरुवाबाट कोसी ब्यारेजतर्फ जाँदै गरेको स१च ९२१ नम्बरको स्कोर्पियोले विपरीत दिशाबाट आउँदै गरेको मधेस प्र.०६–००१ प ०९५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक साह र पछाडि सवार २६ वर्षीया पुष्पा साह गम्भीर घाइते भएका थिए ।  गम्भीर घाइते भएका अमरलालको उपचारका क्रममा मृत्यु भएको प्रनाउ खड्काले जानकारी दिए । गम्भीर घाइते भएका पुष्पालाई थप उपचारका लागि गोल्डेन अस्पताल विराटनगर पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।  स्कोर्पियो र चालक सप्तरी बोधेबर्साइ नगरपालिका–६ का २६ वर्षीय रञ्जित चौधरी जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । 

आज कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५३ पैसा र बिक्रीदर १७१ रुपैयाँ २३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३१ पैसा, स्विस फ्रयांक एकको खरिददर १८८ रुपैयाँ ७५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।   अस्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ ३० पैसा र बिक्रीदर १०५ रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७५ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ११५ रुपैयाँ ९३ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ २८ पैसा र बिक्रीदर नौ रुपैयाँ ३२ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ४० पैसा र बिक्रीदर २१ रुपैयाँ ४९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ३२ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४८ पैसा कायम भएको छ ।   केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६३ पैसा र बिक्रीदर चार रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ एक पैसा र बिक्रीदर ४० रुपैयाँ १८ पैसा तोकिएको छ ।  मलेसियन रिंगट एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ दुई पैसा निर्धारण गरिएको छ ।  स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ र बिक्रीदर १६ रुपैयाँ सात पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८२ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा तोकिएको छ ।   राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८ रुपैयाँ ८५ पैसा, कुवेती दिनार एकको खरिददर ४८० रुपैयाँ ६ पैसा र बिक्रीदर ४८२ रुपैयाँ दुई पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ३८९ रुपैयाँ ६ पैसा र बिक्रीदर ३९० रुपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिददर ३८१ रुपैयाँ २१ पैसा र बिक्रीदर ३८३ रुपैयाँ ३०  पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

विदेश पठाइदिन्छु भन्दै २५ लाख ठगी गर्ने व्यक्ति पक्राउ

‍‍‍‍‍‍‍‍‍‍‍‍‍काठमाडौं । वैदेशिक रोजगारीका लागि युरोपियन मुलुक ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरीले ललितपुर महानगरपालिका–१ बस्ने मोरङ पथरी शनिश्चरे नगरपालिका–३ का २२ वर्षीय संयोग राईलाई मंगलबार पक्राउ गरेको छ । राईले ग्रिस पठाइदिने भन्दै तीनजना पीडितबाट २५ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको पीडितहरूले उजुरी दिएका थिए । सोही आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको हो । राईलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ प्रहरीले जनाएको छ ।

कर्णाली नदी बगरमा लोभलाग्दो प्याजखेती

काठमाडौं । टीकापुर नगरपालिका–८ का पुनिराम थारू पाँच वर्ष पहिलेदेखि कर्णाली नदीको किनारमा बगरखेती गर्दै आएका छन् । सिँचाइको सहजता हुने र उत्पादन पनि राम्रो दिने भएपछि उनले कर्णाली नदी किनार तथा टापुको सदुपयोग गर्दै खेती गर्दै आएका हुन्। उनले त्यस क्षेत्रमा प्याजखेतीलाई प्राथमिकता दिए । उनको प्याजखेती निकै लोभलाग्दो छ । बर्सेनि १० देखि १२ क्विन्टल प्याज नदी टापुबाट उत्पादन गर्दै आएका उनले प्याजसँगै धनिया, मकै, बन्दागोभी, टमाटरसमेत उत्पादन गरेका छन् । “बालुवामा प्याजले राम्रो उत्पादन दिन्छ । प्याजलाई सिँचाइ धेरै चाहिने हुँदा सिँचाइको सहजता हुँदा प्याज राम्रो उत्पादन हुन्छ ।” उनी भन्छन्, “खाली खेर गइरहेको बगरको सदुपयोग भएको छ, स्थानीयको आम्दानीको स्रोत बनेको छ ।” कैलालीको टीकापुर र बर्दियाको राजापुर नगरपालिका जोड्ने सत्ती पुल आसपास क्षेत्रमा आजभोलि हरियाली छ । ढुङ्गा नभएको बालुवा भएको क्षेत्रमा सानासाना प्लट बनाइएका छन् । जहाँ लहरै प्याजको खेती छ । वडा नं ८ फाँटागाउँका ५०–६० घरपरिवारले कर्णाली नदी किनार तथा टापुमा प्याजखेती गर्दै आएका छन् । बर्सेनि उक्त सङ्ख्या बढ्दै गएको देखिन्छ । बगरबाट बर्सेनि लगभग ७०० क्विन्टल बढी प्याज उत्पादन हुने गरेको छ । “एक परिवारले न्यूनतम पाँच–छ क्विन्टल प्याज उत्पादन गर्नुहुन्छ । उत्पादन सोचेभन्दा राम्रो हुन्छ ।” स्थानीय सम्झनी चौधरी भन्छिन्, “अहिले बगरमा खेती गर्ने किसानको सङ्ख्या पनि बढेको छ । पहिलेको भन्दा क्षेत्र पनि बढेको छ ।” उनले अन्य खेतबारीमा लगाएको प्याजभन्दा बगरमा गरेको प्याजको उत्पादन राम्रो हुने गरेको बताइन्। टीकापुर नगरपालिका–८ बटनपुरकी सम्पुर्नी चौधरीले पहिलोपटक नदीको टापुमा प्याजखेती गरेकी छिन् । गत वर्ष अरुले खेती गरेको देखेर यसपटक पाँच केजी प्याज लगाएकी उनी सोचेभन्दा राम्रो उत्पादन दिनेमा विश्वस्त छिन् । हरेक बिहान प्याज सिँचाइ गर्न पुग्नुहुने सम्पुर्नीलाई आजभोलि अलि बढी खेती गरेको भए हुने थियो भन्ने लागेको छ । “मैले अपेक्षा गरेभन्दा राम्रो गरी प्याज फस्टाएको छ । बालुवाभित्रको जमिन ओसिलो हुने हुँदा होला, घामपानीको मात्रा मिलेको देखिन्छ”, सम्पुर्नी भन्छिन्, “मैले घरमा लगाएको प्याजभन्दा राम्रो बगरको भएको छ ।” बटनपुरकै पहारी चौधरीले पनि पहिलोपटक बगरमा प्याजखेती सुरु गरेका छन् । खेर गइरहेको बगरबाट उत्पादन हुन्छ भन्ने थाहा पाएपछि उनले आफूलाई घरका लागि चाहिने जति प्याज रोपेछ । “मलाई बिक्री गरेर आम्दानी गर्नुभन्दा पनि आफूलाई वर्षभरि पुग्ने प्याज उत्पादन भए पुग्छ”, उनी भन्छन्, “बरु अर्को वर्ष बिक्री गर्नेगरी लगाउनुपर्ला ।” बगरमा नयाँ किसानले परीक्षण गर्न भन्दै प्याजखेती गर्ने गरेको भए पनि विगतदेखि खेती गर्दै आएका किसानले व्यावसायिक रूपमा नै बगरको सदुपयोग गर्दै आएका छन् । खेती गरेबापत कसैलाई केही दिन नपर्ने भएपछि किसानले झन् उत्साहित भएर खेती विस्तार गर्दै आएका छन् । अस्वाभाविक रूपमा बगरबाट आम्दानी गर्न थालेपछि त्यस क्षेत्रका नागरिकहरू निकै उत्साहित छन् । सामान्य मलखाद अनि कम मिहेनतले राम्रो आम्दानी हुने गरेको छ । वर्षात्को समयमा त्यहीँ कर्णाली नदीका कारण रातभर जाग्राम बस्ने वस्ती आजभोलि त्यहीँ कर्णाली नदीका बालुवाका फाँटको उत्पादनले वर्षात्को पीडा बिर्सने गरेका छन् । “वर्षात्को समयमा यहीँ कर्णालीको बेगले जतिबेला जे पनि हुनसक्छ भन्ने चिन्ताले सताउने गर्छ । हिउँदमा निदाएको कर्णालीले स्थानीयलाई राम्रो आम्दानी दिँदै आएको छ ।” स्थानीय बृहस्पति थरूनी भन्छिन्, “किसान आजभोलि त्यो बर्खाको दुःख सम्झिँदैनन्, बर्खामा आजभोलि दिने उत्पादन बिर्सन्छन् ।”

देशभर २८९० उम्मेदवारको जमानत जफत

काठमाडाैं ।  फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ दुई हजार ८९० उम्मेदवारको जमानत जफत भएको छ। कुल सदर मतको १० प्रतिशत मत नपाउने उम्मेदवारहरूको जमानत जफत भएको निर्वाचन आयोगले जनाएको छ। आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार जमानत जफत भएकामध्ये ३५० उम्मेदवारको मत शून्य दखिएको छ। जमानत जफत भएकामध्ये  ३५० उम्मेदवारले कुनै पनि मत पाएनन्। ‘जमानत राखिएका उम्मेदवारहरूमध्ये जसले सदर मतको १० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरूको जमानत फिर्ता हुन्छ। तर, सदर मतको १० प्रतिशतभन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको जमानत जफत हुन्छ,’ उनले भने।

तेल भण्डार प्रयोग गर्न जी–७ तयार

काठमाडाैँ । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्न थालेपछि जी–७ देशका ऊर्जा मन्त्रीहरूले बजार स्थिर बनाउन आवश्यक परे रणनीतिक तेल भण्डार प्रयोग गर्नेसम्मका ‘सबै आवश्यक कदम’ चाल्न तयार रहेको बताएका छन् । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आइइए) सँग समन्वय गर्दै ऊर्जा आपूर्ति सुरक्षित राख्ने र मूल्यवृद्धि नियन्त्रण गर्ने उपायमा उनीहरू सहमत भएको जनाइएको छ। फ्रान्सको अध्यक्षतामा रहेको जी–७ समूहका ऊर्जा मन्त्रीहरूले बुधबार जारी गरेको संयुक्त विज्ञप्तिमा ऊर्जा बजारमा देखिएको अस्थिर अवस्थालाई ध्यानमा राख्दै सक्रिय कदम चाल्ने तयारी गरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा रणनीतिक तेल भण्डारको प्रयोगलाई समेत सम्भावित उपायका रूपमा समर्थन गरिएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले पनि मध्यपूर्वमा युद्धका कारण देखिएका आर्थिक प्रभावबारे छलफल गर्न जी–७ देशका नेताहरूको भिडियो सम्मेलन बोलाउने तयारी गरिएको जानकारी दिनुभयो । उक्त बैठकमा ऊर्जा आपूर्ति र तेल बजारको अवस्थाबारे विशेष रूपमा छलफल हुने अपेक्षा गरिएको छ। यसअघि मङ्गलबार पेरिसस्थित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका सदस्य राष्ट्रहरूले आपतकालीन बैठक गर्दै आपूर्ति सुरक्षाको अवस्थाबारे समीक्षा गरेका थिए । मध्यपूर्व युद्धका कारण विश्व ऊर्जा बजारमा परेको असर मूल्याङ्कन गर्नुका साथै आवश्यक परे आपतकालीन तेल भण्डार सार्वजनिक गर्ने सम्भावनाबारे पनि छलफल गरिएको थियो । जी–७ ऊर्जा मन्त्रीहरूले आफ्नो विज्ञप्तिमा जी–७ सदस्य राष्ट्रहरू, आइइएका सदस्य देशहरू तथा अन्य साझेदारहरूसँग घनिष्ठ समन्वय जारी रहेको बताएका छन् । उनीहरूका अनुसार आइइए सदस्य राष्ट्रहरूसँग मिलेर आवश्यक परे सबै उपायहरू लागू गर्न तयार रहने सहमति भएको छ । साथै जी–७ सदस्यहरूले जारी छलफलबाट आउने सिफारिसहरूलाई सावधानीपूर्वक विचार गर्ने पनि उल्लेख गरिएको छ । तर फ्रान्सका अर्थमन्त्री रोलान्ड लेस्क्योरले हालसम्म कुनै औपचारिक निर्णय भने नभएको बताउनुभएको छ । उहाँका अनुसार ऊर्जा आपूर्ति सुरक्षित राख्नका लागि विश्व बजारमा स्पष्ट सन्देश पठाउन आवश्यक रहेको छ । लेस्क्योरका अनुसार यदि होर्मुज जलडमरूमध्य खुला राख्न सम्भव नभए अन्य स्रोतबाट आउने तेलमार्फत विश्व बजारमा आपूर्ति कायम राखिने प्रयास गरिनेछ । उहाँले यस्तो सन्देशले बजारमा देखिएको अनिश्चितता कम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । यसैबीच वाल स्ट्रिट जर्नलले मङ्गलबार प्रकाशित गरेको रिपोर्टमा आइइएले युद्धका कारण बढ्दै गएको तेल मूल्य नियन्त्रण गर्न इतिहासकै ठूलो परिमाणमा तेल भण्डार सार्वजनिक गर्ने प्रस्ताव गरेको उल्लेख गरेको छ । उक्त प्रस्ताव सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि आइइए सदस्य राष्ट्रहरूले जारी गरेको १८ करोड २० लाख ब्यारेल तेलभन्दा ठूलो हुन सक्ने बताइएको छ । आइइएले भने यसबारे एएफपीको टिप्पणी अनुरोधलाई तत्काल प्रतिक्रिया दिएको छैन। गत महिनाको अन्त्यमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि कच्चा तेलको बजारमा तीव्र उतारचढाव देखिएको छ । त्यसको जवाफमा इरानले तेलसम्पन्न खाडी क्षेत्रका लक्ष्यहरूमा आक्रमण गर्नुका साथै विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने होर्मुज जलडमरूमध्यलाई प्रभावकारी रूपमा अवरुद्ध गरेको बताइएको छ। राष्ट्रपति म्याक्रोनले यसै साता जी–७ देशहरूले आवश्यक परे आपतकालीन तेल भण्डार प्रयोग गरेर तेल मूल्यमा हुने अत्यधिक वृद्धिको सामना गर्न सक्ने सम्भावनाबारे सङ्केत गर्नुभएको थियो। यस विषयमा जी–७ अर्थमन्त्रीहरूले सोमबार छलफल गरेका थिए भने मङ्गलबार ऊर्जा मन्त्रीहरूबीच पनि बैठक भएको थियो। वाल स्ट्रिट जर्नलको रिपोर्टपछि तेल बजार केही स्थिर हुन थालेको छ । बुधबार एसियाली सेयर बजारहरूमा पनि त्यसको सकारात्मक प्रभाव देखिएको छ। हाल आइइए सदस्य राष्ट्रहरूसँग करिब एक अर्ब २० करोड ब्यारेल सार्वजनिक आपतकालीन तेल भण्डार रहेको छ । यसका अतिरिक्त सरकारी निर्देशनअनुसार उद्योग क्षेत्रले राखेको करिब ६० करोड ब्यारेल तेल भण्डार पनि उपलब्ध छ। सन् १९७३ को विश्वव्यापी तेल सङ्कटपछि प्रमुख आपूर्ति अवरोधको अवस्थामा समन्वित प्रतिक्रिया दिन पेरिसमा आधारित अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी स्थापना गरिएको थियो। ऊर्जा सुरक्षा सुनिश्चित गर्न आइइएले आफ्ना सदस्य राष्ट्रहरूलाई कम्तीमा ९० दिनको शुद्ध तेल आयात बराबर आपतकालीन तेल भण्डार राख्नुपर्ने व्यवस्था गरेको छ।

भारतको सर्वोच्च अदालतद्वारा पहिलोपटक इच्छामृत्यु अनुमति

काठमाडौं। भारतको सर्वोच्च अदालत ले बुधबार इच्छामृत्युसम्बन्धी ऐतिहासिक फैसला सुनाउँदै १३ वर्षदेखि कोमामा रहेका ३१ वर्षीय युवक हरिश राणालाई इच्छामृत्युको अनुमति दिएको छ। उत्तर प्रदेश को गाजियाबाद निवासी राणा हाल ‘लाइफ सपोर्ट सिस्टम’मा रहेका छन्। न्यायाधीश जेबी पारदीवाला र केभी विश्वनाथन को इजलासले अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लाई उनको लाइफ सपोर्ट प्रणाली चरणबद्ध रूपमा हटाउन निर्देशन दिएको हो। अदालतले यो प्रक्रिया बिरामीको मर्यादा कायम राख्ने गरी गरिनुपर्ने उल्लेख गरेको छ। गम्भीर रूपमा बिरामी भएका व्यक्तिलाई जीवित राख्न प्रयोग हुने बाह्य ‘लाइफ सपोर्ट’ हटाइएपछि बिरामीको प्राकृतिक रूपमा मृत्यु हुने चिकित्सकीय प्रक्रिया हो। भारतमा यस प्रकारको अनुमति दिने यो पहिलो घटना भएको बताइएको छ। यो फैसला हरिशका आमा निर्मला राणा र बुवा अशोक राणाले दायर गरेको इच्छामृत्युसम्बन्धी निवेदनका आधारमा आएको हो। फैसला पछि उनका बुबा अशोकले भने, “हामी यसका लागि लामो समयदेखि लडिरहेका थियौँ। कुन आमाबुवाले आफ्नो छोराका लागि यस्तो चाहलान् र? पछिल्ला तीन वर्षदेखि हामीले यो मुद्दा लडिरहेका थियौँ। अब उनलाई एम्स अस्पताल लगिनेछ।” होस्टेलको चौथो तलाबाट खसेपछि कोमामा दिल्लीमा जन्मेका हरिश पञ्जाब विश्वविद्यालय, चण्डीगढमा बीटेक अध्ययनरत थिए। उनी विश्वविद्यालयका टपर विद्यार्थीसमेत थिए। सन् २०१३ मा होस्टेलको चौथो तलाबाट खसेपछि उनको शरीरमा गम्भीर चोट लाग्यो र उनी कोमामा पुगे। त्यसयता उनी बोल्न वा कुनै प्रतिक्रिया जनाउन नसक्ने अवस्थामा छन्। चिकित्सकहरूले उनलाई ‘क्वाड्रिप्लेजिया’ नामक रोगबाट पीडित भएको बताएका छन्। यस अवस्थामा बिरामी पूर्ण रूपमा ‘फिडिङ ट्युब’ र भेन्टिलेटरमा निर्भर रहन्छ र निको हुने सम्भावना अत्यन्तै न्यून हुन्छ। १३ वर्षदेखि ओछ्यानमा परेकाले उनको शरीरमा गहिरा घाउसमेत बनेका छन् र स्वास्थ्य अवस्था निरन्तर बिग्रिँदै गएको छ। लामो समयदेखि भेन्टिलेटर, औषधि, नर्सिङ र हेरचाहमा ठूलो खर्च हुँदा परिवार आर्थिक रूपमा पनि कमजोर बनेको बताइएको छ। यदि चाहनुहुन्छ भने म यसलाई अझै पत्रिकामा छाप्न मिल्ने गरी आकर्षक शीर्षक र छोटो/कडा सम्पादकीय शैलीमा पनि पुनःसम्पादन गरिदिन सक्छु।

थाइल्याण्डका ३०० भिक्षुद्वारा लुम्बिनी–रामग्राम शान्ति पदयात्रा

रुपन्देही । लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने उद्देश्यले थाइल्याण्डका करिब ३०० भिक्षुहरुले पदयात्रा सुरुवात गरेका छन् । ‘चारिक थुडोङ बुद्धभूमि’ नाम दिइएको उक्त पदयात्रा लुम्बिनीस्थित थाई मन्दिरबाट सुरु भई दुई दिन एक रातको पैदलयात्रापछि रामग्राम पुग्ने कार्यक्रम रहेको छ । पहिलो रात भैरहवास्थित शान्ति बौद्ध गुम्बामा बस्ने र अर्को दिन रामग्राम स्तुप पुग्ने कार्यक्रम रहेको छ । पदयात्रा टोलीका प्रमुख आचार्य चालान अनङ्कानोले बुद्धभूमि लुम्बिनीबाट यात्रा सुरु गर्न पाउनु आफूहरूका लागि ठूलो सौभाग्य भएको बताए । उनले यो यात्रा मन र आत्मालाई शुद्ध पार्ने, धर्मको अभ्यास गर्ने तथा समाजमा करुणा र दयाको भावना फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए । “हामी बुद्धका पाइलाहरू पछ्याउँदै धर्म अभ्यास गर्न यहाँ आएका हौँ”, उनले भने, “लुम्बिनी जस्तो पवित्र स्थलको संरक्षण गरिदिने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधुवाद र धन्यवाद व्यक्त गर्दछौँ ।” थाइल्याण्डको श्रीसाकेत प्रान्तस्थित ‘उद्यान धाम डोंग याङ’ बाट आएका भिक्षुहरुको टोलीको नेतृत्व आचार्य चरन अनङ्खानोले गरेका छन् । टोलीमा थाइल्याण्डका भिक्षुहरूका साथै लाओस, मलेसिया र भियतनामका भिक्षुहरू पनि सहभागी छन् । भन्ते विचयाका अनुसार यो पदयात्रा मुख्यतः शान्ति र आत्म अनुशासनको अभ्यासका लागि गरिएको हो । “मानिसले आफ्नो जीवनमा सहनशीलता र आत्मनियन्त्रण कति महत्वपूर्ण छ भन्ने अनुभव गर्न यस्तो यात्रा सहयोगी हुन्छ”, उनले भने । पदयात्राका सहभागीहरु प्रत्येक पाइला सचेतनता सहित हिँड्दै करुणा र मैत्रीभावको अभ्यास गर्ने लक्ष्यका साथ यात्रा गरिरहेका छन् । आयोजकका अनुसार यो यात्रा बुद्ध धर्मका अनुयायीहरूले बुद्धका जीवन र शिक्षालाई स्मरण गर्दै आध्यात्मिक साधना गर्ने अवसर पनि हो । रामग्राम पुगेपछि टोली भारततर्फ प्रस्थान गरी कुशीनगर, वैशाली हुँदै बोधगयासम्म पैदलयात्रा गर्ने कार्यक्रम रहेको जनाइएको छ । यस प्रकारको पदयात्रा आचार्य चरन अनङ्खानोको नेतृत्वमा हरेक वर्ष आयोजना हुँदै आएको टोलीमा सहभागी स्वयंसेवक अकनन्ले जानकारी दिए ।

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले काठमाडौँलगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर चिन्ताजनक रूपमा बढेको उल्लेख गर्दै आवश्यक सावधानी अपनाउन सार्वजनिक अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले प्रदूषण बढेकाले आज सार्वजनिक सूचना जारी गरेर आफ्नो स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन र सर्तकता अपनाउन अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार नेपाल प्रहरीले नागकिरमा छ बुँदे अनुरोध जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्किन आग्रह गरेको छ । त्यस्तै सकेसम्म समूहमा मिलेर वा एकापसलाई ‘लिफ्ट’ दिएर सवारीसाधनको कम प्रयोग गर्न, आफ्नो वरिपरि आगो लगाएर फोहर नजलाउन, वायु प्रदूषणको स्तर उच्च भएको बेला घर बाहिरको गतिविधि नगर्न प्रहरीले अनुरोध गरेको छ । विशेषतः बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासमा समस्या भएकाहरुले थप सावधानी अपनाउन अनुरोध गर्दै प्रहरीले नियमित मास्कको अनिवार्य प्रयोग गर्न पनि भनेको छ । श्वासप्रश्वाससम्बन्धी कुनै समस्या आएमा तत्काल नजिकैको अस्पताल, स्वास्थ्य केन्द्र वा चिकित्सकसँग सम्पर्क गर्न अनुरोध गरेको पनि प्रवक्ता काफ्लेले बताए । मौसममा आएको बदलीसँगै नेपालमा पनि प्रदूषणको मात्रा बढिरहेको छ । उपत्यकालगायत सहरी क्षेत्रमा बढी प्रभाव देखिएको छ । यो समयमा स्वास्थ्यको विशेष ख्याल गर्न स्वास्थ्य मन्त्रालयले सबैमा अनुरोध पनि गरिसकेको छ ।

मध्यपूर्व युद्धको प्रभावः १७ लाखभन्दा बढी नेपाली जोखिममा, एकको मृत्यु, १४ घाइते

काठमाडौं । मध्यपूर्व क्षेत्रमा चर्किँदै गएको युद्ध र सैन्य तनावले त्यहाँ रहेका १७ लाखभन्दा बढी नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चिन्ता उत्पन्न भएको छ। अमेरिका र इजरायलले इरानमाथि गरेको सैन्य आक्रमणपछि क्षेत्रीय द्वन्द्व तीव्र बन्दै गएको छ, जसको प्रत्यक्ष प्रभाव खाडी तथा पश्चिम एसियामा रोजगारी र बसोबास गर्दै आएका नेपालीमाथि पनि पर्न थालेको छ। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म उक्त द्वन्द्वका क्रममा एक नेपाली नागरिकको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्। मन्त्रालयले दिएको विवरणअनुसार इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी गरेको ड्रोन र मिसाइल आक्रमणका क्रममा ती नेपाली घाइते भएका हुन्। घाइतेमध्ये अधिकांश संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपाली कामदार रहेका बताइएको छ। उनीहरू आक्रमणको समयमा आफ्नो कार्यस्थल नजिकै रहेका बेला विस्फोट र आक्रमणको असरमा परेका थिए। घाइतेहरूलाई तत्काल स्थानीय अस्पतालमा उपचार गरिएको र उपचारपछि उनीहरू पुनः आफ्नो काममा फर्किसकेको मन्त्रालयले जनाएको छ। यसैबीच, इरानले गरेको आक्रमणका क्रममा केही दिनअघि युएईमा कार्यरत एक नेपाली नागरिकको मृत्यु भएको पुष्टि भएको छ। गोरखा घर भएका ती नेपाली श्रमिकको मृत्यु मिसाइल आक्रमणबाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको मन्त्रालयले जनाएको छ। मृतकको पहिचान र पार्थिव शरीर नेपाल ल्याउने प्रक्रियाबारे सम्बन्धित नेपाली दूतावासले पहल गरिरहेको बताइएको छ। अमेरिका–इजरायलको आक्रमणपछि युद्ध चर्कियो मध्यपूर्वको वर्तमान तनाव फागुन १६ गते अमेरिका र इजरायलले इरानमाथि अचानक सैन्य आक्रमण गरेपछि तीव्र रूपमा बढेको हो। उक्त आक्रमणपछि इरानले त्यसको प्रतिशोधस्वरूप इजरायलसँगै मध्यपूर्व तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गरी लगातार ड्रोन र मिसाइल आक्रमण गर्दै आएको छ। सुरक्षा विश्लेषकहरूका अनुसार इरानले खाडी क्षेत्रका विभिन्न देशमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई मुख्य लक्ष्य बनाउँदै आक्रमण विस्तार गरेको छ। विशेष गरी युएई, साउदी अरब, कतार, कुवेत, ओमान, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य संरचनाहरूलाई लक्षित गरी इरानले बारम्बार आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसका कारण मध्यपूर्वको सुरक्षा अवस्था अत्यन्त संवेदनशील बन्दै गएको छ। विभिन्न देशहरूले हवाई सुरक्षालाई उच्च सतर्कतामा राखेका छन् भने कतिपय अन्तर्राष्ट्रिय उडानहरू समेत प्रभावित भएका छन्। १७ लाखभन्दा बढी नेपाली मध्यपूर्वमा परराष्ट्र मन्त्रालयका अनुसार हाल मध्यपूर्व र खाडी क्षेत्रमा १७ लाख २९ हजार २८८ भन्दा बढी नेपाली नागरिक रोजगारी, व्यवसाय वा अध्ययनका लागि बसोबास गरिरहेका छन्। यीमध्ये ठूलो हिस्सा वैदेशिक रोजगारीका लागि गएका श्रमिकहरूको रहेको छ। सबैभन्दा धेरै नेपाली संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका छन्। मन्त्रालयको तथ्यांकअनुसार युएईमा करिब सात लाख नेपाली बसोबास वा कार्यरत छन्। त्यस्तै साउदी अरबमा तीन लाख ८४ हजार ८६५ नेपाली रहेका छन् भने कतारमा तीन लाख ५७ हजार ९१३ नेपाली कार्यरत छन्। कुवेतमा करिब एक लाख ७५ हजार नेपाली रहेको तथ्यांक छ। ओमानमा २५ हजार, बहराइनमा २८ हजार, इराकमा करिब ३० हजार र साइप्रसमा १७ हजार नेपाली रहेका छन्। यसबाहेक इजरायलमा करिब ६ हजार ५०० नेपाली कार्यरत वा बसोबास गरिरहेका छन् भने इजिप्टमा करिब ५००, लेबनानमा एक हजार ५०० नेपाली रहेको मन्त्रालयले जनाएको छ। इरानमा भने हाल जम्मा ६ नेपाली मात्र रहेको जानकारी मन्त्रालयले दिएको छ। विशेषज्ञहरूका अनुसार खाडी क्षेत्रमा रहेका नेपाली श्रमिकहरू निर्माण, सेवा, होटल, सुरक्षा तथा अन्य विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। युद्ध चर्किँदै जाँदा उनीहरूको सुरक्षा, रोजगारी र आवागमनमा प्रत्यक्ष असर पर्ने जोखिम बढ्दै गएको छ। नेपालीमा बढ्दो त्रास युद्धको जोखिम बढ्दै जाँदा खाडी क्षेत्रमा रहेका नेपालीहरूमा त्रास बढेको छ। कतिपय नेपालीहरूले सामाजिक सञ्जालमार्फत आफूहरू असुरक्षित महसुस गरिरहेको र स्थिति बिग्रिएमा उद्धारको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। विशेष गरी अमेरिकी सैन्य अड्डा नजिकका क्षेत्रहरूमा कार्यरत नेपालीहरू बढी चिन्तित देखिएका छन्। आक्रमणको जोखिमका कारण कतिपय कम्पनीहरूले आफ्ना कामदारलाई सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जानकारी प्राप्त भएको छ। सरकारको चासो बढ्यो मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षाबारे नेपाल सरकारले विशेष चासो देखाउन थालेको छ। परराष्ट्र सचिव अमृतबहादुर राईको संयोजकत्वमा ‘इमरजेन्सी रेसपोन्स टिम’ (ईआरटी) गठन गरिएको छ। उक्त टोलीले पश्चिम एसिया क्षेत्रमा रहेका नेपाली नागरिकको सुरक्षा, हित र कल्याण सुनिश्चित गर्न आवश्यक समन्वय र पहललाई निरन्तरता दिने निर्णय गरेको मन्त्रालयले जनाएको छ। मंगलबार परराष्ट्र मन्त्रालयमा बसेको ईआरटीको दोस्रो बैठकले क्षेत्रीय अवस्थाबारे विस्तृत समीक्षा गर्दै आवश्यक तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ। बैठकले आवश्यक परेमा नेपाली नागरिकको उद्धारका लागि हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे अध्ययन गर्ने निर्णय गरेको छ। साथै विदेशस्थित नेपाली दूतावास, कन्सुलर कार्यालय तथा इमरजेन्सी कन्ट्रोल रुममार्फत सम्पर्कमा आएका नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था मिलाइने जनाइएको छ। ५७ हजार नेपालीले टिपाए विवरण मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्था बुझ्न सरकारले अनलाइन दर्ता प्रणाली सञ्चालनमा ल्याएको छ। कन्सुलर सेवा विभागले सुरु गरेको उक्त प्रणालीमा हालसम्म ५७ हजारभन्दा बढी नेपालीले आफ्नो विवरण दर्ता गराएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार हालसम्म ५७ हजार १०० नेपालीले आफ्नो व्यक्तिगत विवरण, बसोबासको स्थान, कार्यस्थल तथा सम्पर्क विवरण प्रणालीमा टिपाएका छन्। सरकारले यो विवरणलाई प्राथमिकताका साथ अध्ययन गर्दै आवश्यकताअनुसार सुरक्षा, समन्वय तथा सम्भावित उद्धार कार्यको तयारी गरिरहेको जनाएको छ। मन्त्रालयका अधिकारीहरूका अनुसार यदि मध्यपूर्वको युद्ध अझै विस्तार भयो वा अवस्था गम्भीर बन्यो भने नेपाल सरकारले आवश्यकताअनुसार आफ्ना नागरिकको उद्धारका लागि विशेष योजना लागू गर्न सक्नेछ। हालका लागि भने विदेशस्थित नेपाली दूतावासहरूलाई सतर्क रहन, नेपाली नागरिकसँग नियमित सम्पर्कमा रहन तथा सम्भावित आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।

सार्क–जापान विशेष कोषसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । जापान सरकारले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सचिवालयलाई रु एक करोड २० लाख प्रदान गर्ने भएको छ । सचिवालय र जापान सरकार बीच सार्क–जापान विशेष कोषअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न जापानले उक्त रकम प्रदान गर्न लागेको हो । सार्क सचिवालयका अनुसार उक्त सहयोगसम्बन्धी समझदारीपत्रमा  हस्ताक्षर भएको छ । सचिवालयमा आयोजित कार्यक्रममा सार्कका महासचिव गोलाम सरवर र नेपालका लागि जापानका राजदूत माएदा तोरुले उक्त सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको सार्क सचिवालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । उक्त कार्यक्रमले जापान र सार्क मुुलुकबीचको मैत्री, सहकार्य तथा आपसी सम्बन्ध सुदृढ बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

आजकाे माैसम: आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ । तराई तथा उपत्यकाका केही स्थानहरूमा तुवाँलो पनि लागेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ। तराई तथा उपत्यकाका थोरै स्थानहरूमा तुवाँलो पनि रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा  मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।  आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको सहित  कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।